सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू (अंश १४)
समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्वरले मात्र तँलाई छानबिन गर्नुहुन्न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्वरले मन पराउनुहुन्न भनी हेर्नको लागि चिरफार गर्न सिक्नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्ने प्रमाण हो। सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्वरको निन्दा गर्ने, परमेश्वरको डर नमान्ने, र आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र अवरोध पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा बाधा पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्बन्ध छैन भन्ने समेत तँलाई लाग्नेछ। मण्डलीका कार्य र परमेश्वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक अविश्वासी, एक श्रमिक बनाउँछ। तँ परमेश्वरबाट आउने कुरा खान्छस्, परमेश्वरबाट आउने कुरा पिउँछस्, र परमेश्वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्बन्धित छैन भन्ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्ने धोकेबाज होस्। यदि तैँले परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्वरमा विश्वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको ढोँग गर्छस्, र तँ परमेश्वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, तँ मान्छे होइन पिशाचजस्तो छस्, र तँ स्पष्ट रूपमै अविश्वासी होस्। यदि तँ परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्वरको पक्षमा उभिएर बोल्नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्लन मन लाग्दा, ग्लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्नेछस्, “मैले हात बाँधेर बस्नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई पर्दाफास गर्नैपर्छ, मैले यसलाई रोक्नैपर्छ ताकि परमेश्वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।” यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्न मात्र सक्नेछैनस्, बरु तैँले त परमेश्वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ। यदि तैँले आफ्नो कर्तव्यलाई तेरो जिम्मेवारी र दायित्व अनि परमेश्वरले दिनुभएको आज्ञाको रूपमा लिन्छस् र यो परमेश्वर र तेरो आफ्नै विवेकको सामना गर्न नभई नहुने कुरा हो भनी महसुस गर्छस् भने, के तँ सामान्य मानवताको निष्ठा र गरिमामा बाँचिरहेको हुनेछैनस् र? तेरा कार्य र बानीबेहोरा उहाँले बताउनुभएको “परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने” किसिमको हुनेछ। तैँले यी वचनहरूका सारलाई पूरा गरिरहेको र तिनको वास्तविकतामा जिइरहेको हुनेछस्। जब सत्यता व्यक्तिको जीवन बन्छ, तब तिनीहरू यो वास्तविकतामा जिउन सक्नेछन्। तर तँ अझै पनि यो वास्तविकतामा प्रवेश गरेको छैनस् भने, जब तैँले छल, धोका, वा देखावटी रूप प्रकट गर्छस्, वा जब ख्रीष्टविरोधीहरूको दुष्ट शक्तिले परमेश्वरको घरको काममा बाधा र अवरोध खडा गरिरहेको देख्छस्, तँलाई केही पनि अनुभूति हुँदैन, र तँलाई कुनै कुरा पनि अवगत हुँदैन। तेरै आँखैअगाडि यस्ता घटनाहरू घट्दा समेत, तँ हाँस्न सक्छस्, र सहज विवेक लिएर खान र सुत्न सक्छस्, र तँलाई अलिकति पनि आत्मधिक्कारको अनुभूति हुँदैन। तैँले जिउन सक्ने यी दुई वटा जीवनमध्ये, तँ कुनलाई छनौट गर्छस् त? कुन जीवन साँचो मानव रूप र सकारात्मक कुराहरूको वास्तविकता हो, अनि कुनचाहिँ दुष्ट दानव प्रकृति र नकारात्मक कुरायुक्त हो भन्ने कुरा स्पष्ट छैन र? उत्तर आफैमा स्पष्ट छ। जब सत्यता मानिसहरूको जीवन बनेको हुँदैन, तब तिनीहरूले जिउने शैली निकै दयनीय र दुःखलाग्दो हुन्छ। अभ्यास गर्न चाहेर पनि सत्यता अभ्यास गर्न नसक्नु; प्रेम गर्न चाहेर पनि परमेश्वरलाई प्रेम गर्न नसक्नु; र अति इच्छा गरेर पनि आफूसँग आफूलाई परमेश्वरमा समर्पित गर्ने सामर्थ्य नहुनु—जिम्मेवारी उठाउन नसक्नु—यो भ्रष्ट मानिसहरूको दयनीय अवस्था र शोकको कुरा हो। यो समस्यालाई समाधान गर्नको लागि, व्यक्तिले सत्यतालाई स्वीकार र खोजी गर्नुपर्छ; तिनीहरूले नयाँ जीवन प्राप्त गर्नको लागि सत्यतालाई आफ्नो हृदयमा स्वागत गर्नुपर्छ। तिनीहरूले जेसुकै गरे वा आफैले सोचे पनि, सत्यता स्वीकार्न नसक्नेहरूले सत्यता अभ्यास गर्न पनि सक्दैनन्, र बाहिर तिनीहरूले राम्रै गरेजस्तो देखिए पनि त्यो नाटक र छल नै हो—त्यो पाखण्ड नै हो। तसर्थ, यदि तँ सत्यता पछ्याउँदैनस् भने तैँले जीवन प्राप्त गर्नेछैनस्, र त्यही नै समस्याको जड हो।
धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र इच्छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्याइरहेका, र परमेश्वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, “परमेश्वरको घरका हितहरूमा हानि पुग्नुसँग मेरो के सम्बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्बन्ध छैन। यो मेरो जिम्मेवारी होइन।” त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। यस्ता भ्रष्ट स्वभावहरूले तेरो सोच्ने शैलीलाई सञ्चालित गर्छन्, तेरो हातखुट्टा बाँध्छन्, र तेरो बोलीवचन नियन्त्रित गर्छन्। तेरो मनमा जुरुक्क उठेर बोल्ने चाहना हुन्छ, तर तँमा यी कुराहरूको बारेमा सन्देह हुन्छ र तैँले बोलिहाले पनि, घुमाउरो पाराले कुरा गर्छस्, र पछि चलखेल गर्ने ठाउँ छोड्छस्, वा कुटिल रूपमा बोल्छस् तर सत्य बोल्दैनस्। स्पष्टता भएको मान्छेले यो कुरा बुझ्न सक्छ; वास्तवमा, तैँले भन्नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, तैँले केवल झारा टार्ने काम मात्र गरेको छस्, र समस्या समाधान गरिएको छैन भन्ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के यो साँचो हो? अनि के तैँले वास्तवमा सोच्ने कुरा यही हो? त्यसो भए के तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको नियन्त्रणमा छैनस् र? तैँले भनेका केही कुराहरू मुख्य बिन्दु र महत्त्वपूर्ण विषयहरूमा तथ्यसँग मिल्दो भए पनि, तँ ठग्छस् र मानिसहरूलाई छल गर्छस्, जसले तँ झुट बोल्ने र आफ्नो शैतानी स्वभावअनुसार जिउने व्यक्ति होस् भन्ने प्रमाणित गर्दछ। तैँले भन्ने र सोच्ने सबै कुरा तेरो मस्तिष्कद्वारा प्रशोधित भएको हुन्छ, र यसले गर्दा तेरो हरेक बोली बनावटी, रित्तो, र झूट हुन्छ; वास्तवमा तैँले भनेको हरेक कुरा तथ्यविपरीत हुन्छ, तेरो आफ्नै औचित्य पुष्टि गर्नको लागि, तेरो आफ्नै फाइदाको लागि हुन्छ, र तैँले जब मानिसहरूलाई बहकाएको र विश्वासमा पारेको हुन्छस्, तँलाई आफ्नो उद्देश्य हासिल गरिसकेको अनुभूति हुन्छ। तैँले बोल्ने शैली यही हो; यसले तेरो स्वभावको प्रतिनिधित्व पनि गर्छ। तँ पूर्ण रूपमा तेरो आफ्नै शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छस्। तैँले भन्ने र गर्ने कुरामा तेरो कुनै नियन्त्रण हुँदैन। तैँले चाहे पनि, तैँले सत्यता बताउन वा तैँले वास्तवमा के सोचेको छस् त्यो कुरा भन्न सक्दैनस्; तैँले चाहे पनि, तैँले सत्यताको अभ्यास गर्न सक्दैनस्; तैँले चाहे पनि, तैँले आफ्ना जिम्मेवारीहरूलाई पूरा गर्न सक्दैनस्। तैँले भन्ने, गर्ने, र अभ्यास गर्ने सबै कुरा झूट हुन्छ, र तँ बस झाराटारुवा मात्र हुन्छस्। तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको बन्धन र नियन्त्रणमा हुन्छस्। तैँले सत्यता स्विकार्नु र अभ्यास गर्न चाहन्छस् होला, तर त्यो तेरो हातको कुरा होइन। तँलाई तेरो शैतानी स्वभावले नियन्त्रण गरेपछि, त्यो शैतानी स्वभावले तँलाई जे भन्छ तँ त्यही गर्छस् र त्यही भन्छस्। तँ भ्रष्ट देहको कठपुतलीबाहेक केही पनि होइनस्, तँ शैतानको औजार बनेको छस्। पछि, तैँले फेरि भ्रष्ट देहलाई पछ्याएकोमा र तँ कसरी सत्यता अभ्यास गर्न असफल हुन सक्थिस् भनेर पछुतो महसुस गर्छस्। तँ मनमनै सोच्छस्, “म आफैँ यो देहलाई परास्त गर्न सक्दिनँ र मैले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ। म मण्डलीको काममा बाधा पुर्याउनेहरूलाई रोक्न खडा भइनँ, र म मेरो विवेकको भार महसुस गरिरहेको छु। मैले अब फेरि यस्तो भयो भने, म कर्तव्य निर्वाहमा कुकर्म गर्ने र मण्डलीको काममा बाधा पुर्याउनेहरूविरुद्ध खडा भएर तिनीहरूलाई काँटछाँट गर्नैपर्छ भन्ने निर्णय गरिसकेँ, ताकि तिनीहरूले आफूलाई सम्हालून् र लापरवाही ढङ्गले काम गर्न छोडून्।” तैँले अन्ततः जसोतसो बोल्ने साहस जुटाएपछि, अर्को कुनै व्यक्ति रिसाएर टेबल ठटाउनेबित्तिकै डराएर पछि हट्छस्। के तँ परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छस्? दृढ सङ्कल्प र इच्छाशक्तिको के काम? ती दुवै बेकार कुरा हुन्। तिमीहरूले यस्ता थुप्रै घटनाहरूको सामना गरेको हुनुपर्छ: जब तिमीहरू अप्ठ्यारोमा पर्छौ अनि हार मान्छौ, तिमीहरूलाई आफू केही गर्न सक्दिनँ जस्तो लाग्छ र हताश हुन्छौ, तिमीहरू निराशामा डुब्छौ र अब कुनै आस बाँकी नरहेको र यसपालि तिमीहरूलाई पूर्ण रूपमा हटाइएको निष्कर्षमा पुग्छौ। तँ सत्यता पछ्याउँदैनस् भनेर स्वीकार गर्छस्, त्यसोभए किन पछुतो गर्दैनस् त? के तैँले सत्यता अभ्यास गरेको छस्? तैँले पक्कै पनि वर्षौँसम्म प्रवचनमा सहभागी भएर पनि केही पनि नबुझेको त छैनस् होला। तँ किन फिटिक्कै सत्यता अभ्यास गर्दैनस्? तँ कहिल्यै सत्यताको खोजी गर्दैनस्, अभ्यास गर्नु त परको कुरा हो। तँ केवल निरन्तर प्रार्थना गर्छस्, सङ्कल्प गर्छस्, आकाङ्क्षा राख्छस् र आफ्नो मनमा प्रतिज्ञा गर्छस्। अनि यसको परिणाम के निस्कन्छ त? तँ चापलुस नै रहन्छस्, आफूले सामना गर्ने समस्याहरूबारे खुलस्त हुँदैनस्, दुष्ट मानिसहरूलाई देखेर पनि वास्ता गर्दैनस्, कसैले दुष्कर्म गर्दा वा बाधा पुर्याउँदा केही गर्दैनस्, र आफूलाई व्यक्तिगत रूपमा असर नपरेसम्म तर्केर परै बस्छस्। तँ सोच्छस्, “म आफूसँग सरोकार नभएका कुनै पनि कुराको बारेमा कुरा गर्दिनँ। मेरो रुचि, अभिमान र छविलाई असर नगरेसम्म म हरेक कुरालाई बिना अपवाद बेवास्ता गर्छु। म अत्यन्तै चनाखो हुनुपर्छ, किनकि टाउको उठाउने चराले नै गोली खान्छ। म बेवकुफी गर्नेछैनँ!” तँ तेरो दुष्ट, छली, कठोर, र सत्यताप्रति प्रतिकूल रहने भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा र बलियोसँग नियन्त्रित छस्। तेरा लागि यो वानर राजाले लगाउने कसिलो सुनौलो फेटाभन्दा[क] असहनीय भएको छ। भ्रष्ट स्वभावहरूको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो! तिमीहरू यसलाई के भन्छौ: यदि तिमीहरूले सत्यताको खोजी गर्दैनौ भने, के तिमीहरूको भ्रष्टतालाई त्याग्न सहज हुन्छ त? के यो समस्यालाई समाधान गर्न सकिन्छ त? म तिमीहरूलाई भन्छु: यदि तिमीहरू सत्यतालाई पछ्याउँदैनौ र आफ्नै आस्थामै अलमलिएर बस्छौ भने, यदि तिमीहरू बर्षौंसम्म सत्यता अभ्यास नगरी प्रवचन मात्र सुनेर बस्छौ, यदि तिमीहरू अन्त्यसम्मै विश्वास गर्छौ, तर अरूलाई बहकाउन केही शब्द र धर्मसिद्धान्तहरू उच्चारण गर्न मात्र सक्छौ भने, तिमीहरू पूर्ण रूपले धार्मिक ढोँगी हौ, पाखण्डी फरिसी हौ, र यसरी तिमीहरूको अन्त्य हुनेछ। तिमीहरूको परिणाम यही नै हुनेछ। यदि तँ योभन्दा खराब छस् भने यस्तो समय आउन सक्छ, जसमा तँ प्रलोभनमा पर्नेछस्, आफ्नो कर्तव्य त्याग्नेछस्, र परमेश्वरलाई धोका दिने व्यक्ति बन्नेछस्—जुन अवस्थामा तँ पछि परेको हुनेछस् र हटाइनेछस्। यो भनेको सधैँ भीरको किनारामा रहनु हो! त्यसैले अहिले सत्यता पछ्याउनुभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन। सत्यता अभ्यास गर्नुभन्दा राम्रो कुरा केही छैन।
फूटनोटहरू:
क. वानर राजाको सुनौलो फेटा प्राचीन चिनियाँ उपन्यास “पश्चिमतिरको यात्रा” मा देखापर्ने एक महत्त्वपूर्ण वस्तु हो। त्यस कथामा वानर राजाको उद्दण्ड व्यवहारको प्रतिक्रियास्वरूप उक्त सुनौलो फेटा उनको खप्पर वरपर दुख्ने गरी कसेर उनका विचार र कार्यहरूलाई नियन्त्रण गर्न प्रयोग गरिएको थियो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।