सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू (अंश ११)
कुनै पनि कुरालाई राम्ररी गर्नको लागि, सत्यता सिद्धान्तको खोजी गर्नु आवश्यक हुन्छ। कुनै काम गर्ने क्रममा त्यसलाई कसरी राम्ररी गर्ने भनेर एकाग्र भई विचार गर्नुपर्छ, र आफैलाई शान्त पारेर परमेश्वरको अघि प्रार्थना गर्नु र खोजी गर्नु आवश्यक हुन्छ। कुनै पनि कुरा गर्नुभन्दा पहिले, अरूसँग सङ्गति गर्नु आवश्यक हुन्छ, र सङ्गति गर्नको लागि कोही पनि छैन भने, व्यक्तिले आफै त्यस विषयमा चिन्तन गर्नुपर्छ र आफै प्रार्थना गर्नुपर्छ, अनि यो कार्य राम्ररी गर्ने तरिका खोजी गर्नुपर्छ। परमेश्वरको अघि आफैलाई शान्त पार्नु भनेको यही हो। परमेश्वरको अघि शान्त हुनको लागि तैँले केही पनि विचार गर्नु हुँदैन भन्ने छैन; तैँले आफ्नो हृदयमा खोजी र प्रतीक्षा गर्ने मनोवृत्तिको साथ यस मामलालाई सम्हाल्ने उचित तरिकाको खोजी गर्दै एकसाथ काम पनि गर्ने र मनन पनि गर्ने गर्नुपर्छ। यदि त्यस मामलाको बारेमा तँलाई अलिकति पनि ज्ञान छैन भने, खुट्ट्याउन र सोधपुछ गर्नका निम्ति कुनै व्यक्ति खोज्। तैँले यो सोधपुछ गर्ने अवधिमा कस्तो मनोवृत्ति राख्नुपर्छ? तैँले वास्तवमा परमेश्वरले कसरी काम गर्नुहुन्छ भनेर खोजी र प्रतीक्षा गरिरहेको, हेरिरहेको हुनुपर्छ। तेरो हृदयलाई एकैचोटि ज्योति दिनको लागि प्रकाश बालेको जस्तै गरी पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिने र अगुवाइ गर्ने गर्नुहुन्न। तँलाई घचघच्याउन अनि बुझ्ने तुल्याउनका लागि परमेश्वरले प्रायः कुनै व्यक्ति वा घटनाको प्रयोग गर्नुहुन्छ। प्रार्थना गर्नको लागि गम्भीर तरिकाले घुँडा टेक्ने र त्यहाँ घण्टौँ बस्नेबाहेक खोजी गर्ने अरू धेरै तरिकाहरू छन्; त्यसरी बसेर त अरू सबै कुराहरूमा ढिलाइ मात्र हुन्छ। कहिलेकाहीँ, हिँड्दै गर्दा पनि व्यक्तिले कुनै विषयको बारेमा मनन गर्न सक्छ; कहिलेकाहीँ, जब मामला देखा पर्छ, व्यक्ति तुरुन्तै समूहमा यसको बारेमा छलफल गर्न जान सक्छ; कहिलेकाहीँ, व्यक्तिले माथिबाट सहयोग खोजी गर्न सक्छ; कहिलेकाहीँ, व्यक्तिले आफै बसेर परमेश्वरका वचनहरू पढ्न सक्छ; यदि मामला अत्यन्तै जरुरी छ भने, व्यक्तिले परिस्थितिको वास्तविकतालाई बुझ्न हतार गर्न सक्छ, त्यसपछि सिद्धान्तहरूअनुसार त्यसलाई सम्हाल्दै, सत्यता खोजी गर्न सक्छ, यस क्रममा मनमनै प्रार्थना र खोजी गर्न सक्छ। तिमीहरूले यही तरिकाले काम गर्नुपर्छ—परिपक्व तरिका यही हो! जब कुनै घटना आइपर्दा तँ अस्थिर हुन्छस्, आत्तिन्छस् र अत्तालिन्छस् भने तेरो कद अत्यन्तै सानो छ, तैँले यसअघि केही अनुभव गरेको छैनस् र आफ्नो कद बढाउन हेतु तैँले कामकुरा अनुभव गर्नुपर्छ र आफैलाई तालिम दिनुपर्छ। तिमीहरूले खोजी गर्ने विभिन्न तरिका सिक्नुपर्छ: जब तिमीहरू आफ्नो कर्तव्यमा व्यस्त हुन्छौ, तिमीहरू जति व्यस्त छौ सोहीअनुसार नै खोजी गर; जब तिमीहरूसँग समय हुन्छ, आफूसँग समय भएको परिस्थितिअनुसार नै खोजी र प्रतीक्षा गर। यी फरक फरक तरिका हुन्। यदि प्रतीक्षा गर्ने पर्याप्त समय छ भने, केही समय प्रतीक्षा गर। तैँले ठूलाठूला मामलाहरूमा हतार गर्नु हुँदैन; हतारमा गल्ती गरेको कारण आउने परिणामहरू असोचनीय हुनेछन्। सर्वोत्तम परिणामहरू हासिल गर्नका लागि, तैँले यसपछि के हुन्छ भनेर हेर्दै प्रतीक्षा गर्नुपर्छ, अथवा परिस्थितिको बारेमा ज्ञान हुने कसैले तँलाई जानकारी दिनेछ कि दिनेछैन भनेर हेर्नुपर्छ। यी सबै खोजी गर्ने तरिका हुन्। परमेश्वरले मानिसहरूलाई अन्तर्दृष्टि दिन एउटै विधिको मात्रै प्रयोग गर्नुहुन्न; न त उहाँले तँलाई उहाँका वचनहरूमार्फत मात्रै अन्तर्दृष्टि दिनुहुन्छ, न त तँलाई अगुवाइ गर्नको लागि सधैँ तेरो नजिकका मानिसहरूको प्रयोग गर्नुहुन्छ। तेरो विशेषज्ञताभन्दा बाहिरका मामलाहरूका बारेमा, तैँले पहिले कहिल्यै नजानेका कुराहरूका बारेमा परमेश्वरले तँलाई कसरी अन्तर्दृष्टि दिनुहुन्छ? उहाँले कहिलेकाहीँ तँलाई विभिन्न मानिस, घटना र कामकुराद्वारा अन्तर्दृष्टि दिनुहुन्छ, जुन अवस्थामा तैँले कुनै विशेषज्ञ वा तँलाई सल्लाह दिन त्यो क्षेत्र बुझ्ने कुनै व्यक्ति खोज्नुपर्छ। तैँले त्यो क्षेत्र बुझ्ने मान्छे खोज्न हतार गर्नुपर्छ, ऊबाट केही इसाराहरू लिनुपर्छ अनि त्यसपछि सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ, र त्यो काम गर्ने क्रममा परमेश्वरले तँलाई डोऱ्याउनुहुनेछ। तैपनि तँसँग त्यस विषयसँग सम्बन्धित व्यावसायिक सीप वा विशेषज्ञताको बारेमा केही बुझाइ हुनैपर्छ, र यसको बारेमा केही अवधारणा हुनुपर्छ; यही जगको आधारमा परमेश्वरले तँलाई के गर्ने हो भन्नेबारेमा अन्तर्दृष्टि दिनुहुनेछ।
व्यक्तिले जेसुकै गर्दा पनि, सम्भाव्य मार्ग निर्धारण गर्नका लागि सोच्न, परिकल्पना गर्न, योजना बनाउन, परामर्श लिन अनि थुप्रै स्रोतबाट यसबारे सोधखोज गर्न सक्छ, तर सफलता त अझै पनि परमेश्वरमै निर्भर हुन्छ। “मान्छेले योजना बनाउँछ तर परिणाम ईश्वरकै हातमा हुन्छ,” भन्ने भनाइ सत्य हो। गैरविश्वासीहरूले अनुभवद्वारा यस भनाइलाई सार-सङ्क्षेप गरेका छन्, यो अविश्वसनीय कुरा हो, अनि यदि परमेश्वरको कुनै विश्वासीले यसलाई स्पष्टसँग बुझ्न सक्दैन भने ऊ अत्यन्तै अज्ञानी भएको छ र उसले कुनै पनि सत्यता बुझेको छैन। परमेश्वर यावत् थोकमा सार्वभौम हुनुहुन्छ र मानिसले गर्न चाहने कुरा परमेश्वरका अभिप्रायअनुसारको छ भने त्यो आशिषित हुनेछ भनेर मानिसहरूले आफ्ना हृदयमा दह्रिलो गरी विश्वास गर्नैपर्छ। तैँले आफ्नो हृदयमा यो नियम सँगाल्नै पर्छ, परमेश्वर सबै कुराको सार्वभौम हुनुहुन्छ अनि अन्तिम निर्णय मानिसले गर्दैन भनेर थाहा पाउनैपर्छ। तसर्थ, मानिसले जेसुकै गरे पनि उसको हृदय उत्प्रेरित भएको छ कि छैन भनेर हेर्न पहिला परमेश्वरलाई प्रार्थना गर्नैपर्छ, त्यसपछि त्यो कार्य सत्यताअनुसार छ कि छैन र त्यो सम्भव छ कि छैन हेर्न सत्यता खोजी गर्नैपर्छ। यदि यस कुराको निर्धारण तत्कालै गर्न सकिँदैन भने तैँले पर्खिनैपर्छ। कार्य गर्न हतार नगर्। मामला राम्ररी नबुझेसम्म, तँलाई काम गर्ने सही समय आयो, अब पर्खिनु पर्दैन र यो गर्नुपर्छ भन्ने नलागेसम्म, अनि तेरो हृदयमा पनि त्यो गर्ने पर्याप्त निश्चितता नभएसम्म पर्खी—त्यसपछि तैँले कार्य गर्न सक्छस्। यदि तैँले मामला राम्ररी बुझ्न सकिरहेको छैनस्, केही दिन पर्खेपछि तेरो रुचि हराउँछ, अनि यो सफल हुनेछ भनेर तँ पक्का छैनस् भने, यो मामिला मान्छेको इच्छाबाट उत्पन्न भएको हो अनि परमेश्वरले यसको अनुमति दिनुभएको छैन भन्ने पुष्टि हुन्छ, त्यसैले तैँले यसलाई तुरुन्तै त्याग्नुपर्छ। जब परमेश्वरबाट कुनै कुरा आउँछ, तब तैँले जहिले पनि त्यसमा आस्थाको अनुभूति गर्नेछस् अनि त्यो आस्था जस्तोसुकै परिस्थिति आइपरे पनि कम हुनेछैन भन्ने अनुभूति गर्नेछस्। अन्त्यमा, तेरो हृदय झन् झनै स्पष्ट हुँदै जानेछ, मानौँ तैँले यो कुरा छर्लङ्गै देखेको छस्। परमेश्वरबाट कुनै कुरा आउँदा यस्तै हुन्छ। परमेश्वरले मानिसहरूलाई पर्खन लगाउनु हुन्छ र यसको अर्थ परमेश्वरबाट प्रकाश पर्खनु हो, यसपछि तँलाई मामिला स्पष्ट हुन्छ, त्यसैले यो पर्खाइ आवश्यक छ। यद्यपि, तैँले सहकार्य गर्नुपर्ने तरिकाहरूको सन्दर्भमा भन्नुपर्दा, तैँले कार्य गर्नैपर्छ र सोधखोज गर्नैपर्छ, अनि सोधखोज गर्ने प्रक्रियामा, परमेश्वरले कुनै व्यक्ति वा घटनामार्फत तँलाई तथ्य भन्नुहोला। यदि तैँले सोधखोज गर्दैनस् अनि तेरो हृदय अन्योलमा र अनिश्चित छ भने, तथ्य के हो भनेर तैँले थाहा पाउनेछैनस्। तर यदि तैँले सोधखोज गर्छस् भने तथ्य पत्ता लगाउनेछस् र तँलाई ती ज्ञात गराउने परमेश्वर नै हुनुहुनेछ। के परमेश्वरका कार्यहरू व्यावहारिक छैनन् र? परमेश्वरले तँलाई मानिस, घटना र कुराहरूमार्फत डोऱ्याउनुहुन्छ र अन्तर्दृष्टि दिनुहुन्छ, अनि कसरी कार्य गर्नुपर्ने हो, सो औँल्याएर उहाँले तँलाई अनुभव गर्ने प्रक्रियामा बुझ्न र अन्तर्दृष्टि पाउन निर्देशन गर्नुहुन्छ। परमेश्वरले तँलाई कुनै वाक्य, विचार वा सोच अचानक दिनुहुन्न, परमेश्वर त्यसो गर्नुहुन्न। जब तैँले सोधखोज गर्छस् अनि परिस्थितिबारे सबै तथ्य प्रकट गरिएको हुन्छ, तब तैँले आफूमा पहिला त्यस्ता विचार र अनुभूतिहरू किन आए भनेर थाह पाउनेछस्, आफ्नो हृदयमा यो बुझ्नेछस्। के तैँले सोधखोज गरिसक्ने बित्तिकै यस्तो परिणाम देखा पर्दैन त? तैँले कसरी काम गर्नुपर्ने हो भन्ने कुरा आउँदा, त्यसमा परमेश्वर मुछिनुहुनेछैन; तँलाई कार्य गर्ने तरिका अगावै थाहा हुनेछ। परमेश्वर यसरी काम गर्नुहुन्छ र मानिसहरूलाई डोऱ्याउनुहुन्छ, यो तरिका अद्भुत अनि व्यावहारिक दुवै छ, यो अलिकति पनि अलौकिक छैन। अल्छी मानिसहरू सदैव अलौकिक माध्यमद्वारा यस्तो होस् भन्ने चाहन्छन्, तिनीहरू परमेश्वरले तिनीहरूलाई के गर्ने भनी सिधै बताइदिनुभएको चाहन्छन्, तिनीहरू चोरबाटो अपनाउन चाहन्छन् र परमेश्वरले नै तिनीहरूका निम्ति त्यो काम गरिदिनुभएको चाहन्छन्, अनि तिनीहरू सक्रिय रूपमा तलासी वा खोजी गर्दैनन्, र तिनीहरू सहकार्य पटक्कै गर्दैनन्, त्यसैले तिनीहरूका इच्छाहरू पूरा हुँदैनन्। भक्त मानिसहरू, सत्यता-प्रेमीहरू सबै कुरामा परमेश्वरसामु जिउँछन् र परमेश्वरसामु आफ्नो हृदय शान्त राख्छन्। तिनीहरूलाई केही आइपर्दा र के गर्ने भनी थाहा नहुँदा, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न र परमेश्वरबाट खोजी गर्न अनि परमेश्वरको इच्छा के हो भनी बुझ्न सक्षम हुन्छन्। तिनीहरूमा खोजी गर्ने हृदय हुन्छ, त्यसैले परमेश्वर तिनीहरूलाई यस मामलामा मार्गदर्शन गर्नुहुन्छ। अनि अन्त्यमा नतिजा प्रकट हुँदा, तिनीहरूले परमेश्वरका हातका योजनाबद्ध कार्यहरू देख्न सक्छन्। परमेश्वर यावत् थोकका सार्वभौम हुनुहुन्छ भन्नु खोक्रो कुरा होइन। तसर्थ, तैँले यस्ता थुप्रै मामला अझै अनुभव गरेर परमेश्वर काल्पनिक हुनुहुन्न, उहाँ मिथ्या हुनुहुन्न अनि उहाँ खोक्रो हुनुहुन्न भन्ने थाहा पाउनेछस्। परमेश्वर तेरो छेउमै हुनुहुनेछ; तैँले उहाँको अस्तित्व, उहाँको डोऱ्याइ अनि उहाँका हातका योजनाबद्ध कार्य र प्रबन्धहरू महसुस गर्न सक्नेछस्। यस प्रकार तैँले परमेश्वरको वास्तविकता अनि व्यावहारिकता झन्-झन् धेरै महसुस गर्नेछस्। यद्यपि, यदि तैँले यसरी अनुभव गर्न सक्दैनस् भने कहिल्यै पनि यी कुराहरू महसुस गर्न सक्नेछैनस्। तैँले सोच्नेछस्, “परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न? उहाँ कहाँ हुनुहुन्छ? मैले यति धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छु अनि उहाँ अस्तित्वमा हुनुहुन्छ भनेर सबै जना भन्छन्, तर मैले भने उहाँलाई कसरी देख्न सकेको छैन? तिनीहरू सबैले उहाँ मानिसलाई मुक्ति दिनुहुन्छ भन्छन्, तर परमेश्वरले मानिसहरूमा कार्य गरेको मैले किन महसुस गरेको छैनँ?” तैँले यी कुराहरू कहिल्यै महसुस गर्नेछैनस्, त्यसैले तँलाई हृदयमा कहिल्यै ढुक्क लाग्नेछैन। तैँले यी कुराहरू आफै महसुस गरेर मात्रै अरूले भन्ने र अनुभव गर्ने कुरा परमेश्वरको कार्य हो भनेर पुष्टि गर्न सक्नेछस्। परमेश्वरको कार्य अद्भुत र बोध गर्न गाह्रो छ, तर यो व्यावहारिक पनि छ; तैँले यी दुई पक्षलाई बोध गर्नैपर्छ। परमेश्वरको कार्य अद्भुत र बोध गर्न गाह्रो छ भन्नुको अर्थ परमेश्वरले गर्ने हरेक कुरा बुद्धिमान्, र मानिसको पहुँचबाहिर छ; यो परमेश्वरको पहिचान र उहाँको सारद्वारा निर्धारित हुन्छ। यद्यपि, अर्को पक्ष पनि छ, त्यो के हो भने परमेश्वरका कार्यहरू एकदमै व्यावहारिक हुन्छन्। यो “व्यावहारिक” भन्नुको अर्थ के हो? यसको अर्थ हो, मानिसले परमेश्वरका कार्यहरू बोध गर्न सक्छ, मानिसको सोचाइ, मन, विचार, बौद्धिकता, साथै मानिसको प्रवृत्ति र क्षमताले परमेश्वरका कार्यहरू बोध गर्न सक्छन्—परमेश्वरका कार्यहरू अलौकिक वा खोक्रा छैनन्। जब तँ कुनै कुरा सही रूपमा गर्छस्, तब परमेश्वरले तँलाई यो सही छ भनेर थाहा दिनुहुनेछ, र तैँले यसलाई पुष्टि गरेको हुनेछस्; जब तँ कुनै गलत कुरा गर्छस्, तब परमेश्वरले तँलाई बिस्तारै बुझ्ने तुल्याउनुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ, अनि तैँले यो गलत गरेको छस्, र यो तेरो भ्रष्ट स्वभावको प्रकटीकरण हो भनेर थाहा पाउने तुल्याउनुहुनेछ, अनि त्यसपछि तँलाई परमेश्वरप्रति ऋणी महसुस हुनेछ। “व्यावहारिक” भनेको यही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।