सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्‍वरबारे आफ्‍ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ (भाग दुई)

काम गर्ने क्रममा कतिपय मानिसहरूले आफ्‍नै इच्‍छा पछ्याउँछन्। तिनीहरूले सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, अनि तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूले केवल शब्दहरूले मात्र अहङ्कारी भएको स्विकार्छन् र तिनीहरूसँग सत्यता नभएकोले मात्रै तिनीहरूबाट गल्ती भएको हो भन्छन्। तिनीहरूले आफ्नो हृदयमा भने यसो भनेर गुनासो गर्छन्, “मबाहेक अरू कसैले पनि खतरा मोल्दैनन्—अनि अन्तिममा, केही गलत हुँदा, तिनीहरूले सबै जिम्मेवारी ममाथि थोपर्छन्। के यो मेरो मूर्खता होइन र? अर्को पटक म त्यसरी खतरा मोलेर त्यही कुरा गर्न सक्दिनँ। थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ!” यस मनोवृत्तिको बारेमा तिमीहरूलाई के लाग्छ? के यो पश्‍चात्तापको मनोवृत्ति हो? (होइन।) यो के मनोवृत्ति हो त? के तिनीहरू धूर्त र छली बनिरहेका छैनन् र? तिनीहरूले आफ्नो मनमा यस्तो सोच्छन्, “यस पटक म भाग्यशाली भएँ, यसले विपत्ति ल्याएन। भनाइ नै छ, हरेक गल्तीबाट सिकिन्छ। भविष्यमा म अझै होसियार हुनुपर्छ।” तिनीहरूले सत्यता खोजी गर्दैनन्, कुनै मामलासँग व्यवहार गर्न र त्यसलाई सम्हाल्न आफ्‍नो छुद्र चाल र चतुर युक्ति प्रयोग गर्छन्। के तिनीहरूले यसरी सत्यता प्राप्त गर्न सक्छन् र? सक्दैनन्, किनभने तिनीहरूले पश्‍चात्ताप गरेकै हुँदैनन्। पश्‍चात्ताप गर्दा गर्नुपर्ने पहिलो कुरा आफूले गरेको गल्ती पहिचान गर्नु हो: तैँले कहाँ गल्ती गरिस्, समस्याको सार के थियो, अनि तैँले कस्तो भ्रष्ट स्वभाव प्रकट गरिस् भनी बुझ्नु हो; तैँले यी कुराहरू मनन गर्नु र सत्यता स्विकार्नुपर्छ, त्यसपछि सत्यताअनुसार अभ्यास गर्नुपर्छ। यो मात्रै पश्‍चात्तापको मनोवृत्ति हो। अर्कोतर्फ, यदि तैँले विस्तृत रूपमा धूर्त शैलीहरूका बारेमा विचार गर्छस्, तँ पहिलेभन्दा छली बन्छस्, तेरा तरिकाहरू अझै चलाख र गुप्त हुन्छन्, अनि तँसँग परिस्थिति सामना गर्ने अझै बढी विधिहरू हुन्छन् भने, यो समस्या केवल छली बन्‍नुजस्तो सरल छैन। तैँले छलपूर्ण माध्यमहरूको प्रयोग गरिरहेको छस् र तँसँग रहस्यहरू छन्, जसलाई तँ खोल्न सक्दैनस्। यो दुष्टता हो। तैँले पश्‍चात्ताप नगरेको मात्र छैनस्, तँ झन् धूर्त र छलीसमेत बनेको छस्। परमेश्‍वरले तँलाई अत्यन्तै हठी र दुष्ट, सतही रूपमा आफ्नो गल्ती मान्‍ने अनि काटछाँट स्विकार्ने, तर वास्तवमा अलिकति पनि पश्‍चात्तापी मनोवृत्ति नभएको व्यक्तिको रूपमा हेर्नुहुन्छ। म किन यसो भन्छु? किनभने यो घटना भइरहेको वा भएपछिको अवस्थामा, तैँले सत्यता बिलकुलै खोज्दै खोजिनस्, चिन्तन गर्ने वा आफूलाई चिन्‍ने प्रयास गर्दै गरिनस्, र सत्यताअनुसार अभ्यास गर्दै गरिनस्। तेरो मनोवृत्ति भनेको समस्या समाधान गर्नको लागि शैतानका दर्शन, तर्क र विधिहरू प्रयोग गर्नु हो। वास्तवमा, तैँले यो समस्यालाई पन्छाइरहेको छस्, र यसलाई अरूले देख्दै नदेखून् भनेर, गल्तीको निशान नछोडी, राम्रोसित पोको पार्दै छस्। अन्त्यमा, तँलाई तँ निकै बाठो छस् भन्‍ने लाग्छ। परमेश्‍वरले यी कुराहरूलाई हेर्नुहुन्छ, तैँले आफूमाथि समस्या आइपर्दा साँचो रूपमा मनन गरेको, आफ्नो पाप स्वीकार गरेको, र पश्‍चात्ताप गरेको, त्यसपछि सत्यताको खोजी गर्न र सत्यताअनुसार अभ्यास गर्न अघि बढेको कुरालाई हेर्नुहुन्‍न। तेरो मनोवृत्ति सत्यताको खोजी गर्ने वा सत्यताको अभ्यास गर्ने मनोवृत्ति होइन, न त यो परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुने मनोवृत्ति नै हो, बरु यो त तेरो समस्यालाई समाधान गर्नको लागि शैतानका तरिका र विधिहरूको प्रयोग गर्ने मनोवृत्ति हो। तैँले अरूमा गलत छाप छोड्छस् र परमेश्‍वरद्वारा प्रकाश गरिने कुराको प्रतिरोध गर्छस्, अनि तँ परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका परिस्‍थितिहरूविरुद्ध प्रतिरक्षा र मुकाबला गर्छस्। यसको अर्थ तेरो हृदय पहिलेको भन्दा बढी बन्द र परमेश्‍वरदेखि छुटिएको छ। अनि यसरी, के यसबाट कुनै राम्रो नतिजा आउँछ त? के तँ अझै पनि ज्योतिमा, शान्ति र आनन्दमा रमाउँदै जिउन सक्छस्? सक्दैनस्। यदि तँ सत्यताबाट अलग बस्छस् र परमेश्‍वरबाट पनि अलग बस्छस् भने, तँ निश्‍चय नै अन्धकारमा खस्‍नेछस् अनि रुनेछस् र दाह्रा किट्नेछस्। के यस्तो स्थिति मानिसहरूमा व्याप्त छ? (छ।) कतिपय मानिसहरू बारम्बार यसो भन्दै आफूलाई चेतावनी दिन्छन्, “यस पटक मेरो काटछाँट गरिएको छ। अर्को पटक, म अझै बढी मतलबी र होसियार बन्नुपर्छ। सबै मामिलामा म चनाखो बन्नुपर्छ ताकि म नहारूँ; जो मानिसहरू मतलबी छैनन् तिनीहरू मूर्ख हुन्छन्।” यदि तैँले सधैँ आफूले आफैलाई निर्देशित र सचेत गरिरहेको छस् भने, के तैँले कहिल्यै राम्रा नतिजाहरू हासिल गर्न सक्नेछस्? के तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्? यदि कुनै समस्या तँमाथि आइपर्छ भने, तैँले सत्यताको एउटा पक्ष खोज्नु र बुझ्नुपर्छ र सत्यताको त्यो पक्ष प्राप्त गर्नुपर्छ। सत्यतालाई बुझेर के हासिल गर्न सकिन्छ त? जब तैँले सत्यताको एउटा पक्ष बुझ्छस्, तब तैँले परमेश्‍वरका अभिप्रायको एउटा पक्ष बुझ्छस्; परमेश्‍वरले किन तँमाथि यो कुरा गर्नुभयो, उहाँले किन तँबाट यस्तो अपेक्षा गर्नुहुन्छ, तँलाई ताडना दिन र अनुशासनमा राख्‍न उहाँले किन यस्तो परिस्‍थिति योजनाबद्ध गर्नुहुन्छ, उहाँले तँलाई काटछाँट गर्न किन यो समस्या प्रयोग गर्नुहुन्छ, र तँ यो समस्याको सन्दर्भमा किन पतन, असफल भएको, र प्रकाश गरिएको छस् भनी बुझ्छस्। यदि तैँले यी कुराहरू बुझ्छस् भने, तैँले सत्यता खोजी गर्न सक्‍नेछस् र जीवन प्रवेश हासिल गर्नेछस्। यदि तैँले यी कुराहरू बुझ्दैनस् र यी तथ्यहरूलाई स्वीकार गर्दैनस्, बरु विरोध र प्रतिरोध गर्न, आफ्‍नै युक्तिहरूको प्रयोग गरी छद्म भेष धारण गर्न, अनि अरू सबैलाई र परमेश्‍वरलाई गलत मुहार देखाउन जिद्दी गर्छस् भने, तैँले सदासर्वदा नै सत्यता प्राप्त गर्न सक्‍नेछैनस्। यदि तँसँग सत्यता स्विकार्ने र त्यसमा समर्पित हुने इमानदार मनोवृत्ति छ, अनि जे भए पनि, तेरो हृदयमा जतिसुकै पीडा भए पनि वा तँ जतिसुकै अपमानित भए पनि सधैँ सत्यता स्विकार्न र त्यसमा समर्पित हुन सक्छस्, र “परमेश्‍वरले गर्नुहुने सबै कुरा सही छ र मैले यसलाई स्विकार्नैपर्छ” भन्दै परमेश्‍वरलाई अझै पनि प्रार्थना गर्न सक्छस् भने, यो समर्पणकारी मनोवृत्ति हो। तर, स्विकार्ने प्रक्रियाको दौरान तैँले निरन्तर आत्मचिन्तन गर्नैपर्छ, आफ्ना कार्य र व्यवहारमा कहाँ त्रुटिहरू भएका छन् भन्‍नेबारे चिन्तन गर्नुपर्छ, र तैँले सत्यताको कुन पक्ष उल्लङ्घन गरेको छस् भनेर चिन्तन गर्नुपर्छ। तैँले आफ्नो वास्तविक स्थिति र कदलाई स्पष्टसँग देख्न सक्षम हुन आफ्नै अभिप्रायलाई पनि विश्लेषण गर्नुपर्छ। तैँले त्यसपछि सत्यता खोजिस् भने, सिद्धान्तहरूअनुसार सत्यता कसरी अभ्यास गर्ने भनेर जान्नेछस्। तैँले यसरी अभ्यास र अनुभव गरिस् भने, थाहा हुनुअगावै प्रगति गर्नेछस्। सत्यताले तँभित्र जरा गाड्नेछ; यो फस्टाउनेछ, फल्नेछ र तेरो जीवन बन्नेछ। तेरो भ्रष्टता प्रकटीकरणका सबै समस्या बिस्तारै समाधान हुँदै जानेछन्। अनि कुराहरू आइपर्दा तेरो मनोवृत्ति, दृष्टिकोण र स्थिति झन्-झन् सकारात्मकता उन्मुख हुँदै जानेछ। के त्यतिबेला तँ अझै पनि परमेश्‍वरबाट टाढा हुनेछस्? सायद तँ अझै पनि उहाँबाट टाढा रहनेछस्, तर त्यो दूरी घट्दै जानेछ, अनि परमेश्‍वरप्रति तैँले पालेका शङ्का, अनुमान, गलतफहमी, गुनासो, विद्रोहीपन र प्रतिरोध पनि घट्दै जानेछ। जब ती घट्छन्, तब कुराहरू आइपर्दा तँलाई आफूलाई परमेश्‍वरसामु शान्त राख्न, उहाँलाई प्रार्थना गर्न, सत्यता खोज्न र अभ्यासको मार्ग खोज्न झनै सजिलो हुनेछ। यदि तँ कुराहरू आइपर्दा तिनलाई स्पष्टसँग देख्न सक्दैनस्, उल्टै अत्यन्तै अन्योलमा हुन्छस् र अझै पनि सत्यता खोज्दैनस् भने, त्यहाँ समस्या हुनेछ। तैँले निश्चित रूपमा मामलाहरूलाई समाधानका मानव उपायहरू प्रयोग गरेर सम्हाल्नेछस्, र अनि तेरा संसारसँग व्यवहार गर्ने दर्शन, धूर्त विधि र चलाक तरिकाहरू सबै देखा पर्नेछन्। मानिसहरूले आफ्नो हृदयमा सुरुमा कामकुराप्रति यसरी नै प्रतिक्रिया जनाउँछन्। कतिपय मानिसहरू कामकुराहरू आइपर्दा कहिल्यै आफ्नो हृदयलाई सत्यतातर्फ लगाउँदैनन्, उल्टै ती कुराहरूलाई मानव उपायहरूद्वारा सम्हाल्नेबारे सोचिरहन्छन्। परिणामस्वरूप, तिनीहरू लामो समयसम्म यताउता भौँतारिइरहन्छन्, थाकेर अनुहार मलिन नभएसम्म आफूलाई पीडा दिन्छन्, तैपनि सत्यता अभ्यास गर्दैनन्। सत्यतालाई नपछ्याउने मानिसहरू यस्तै दयनीय हुन्छन्। अहिले तैँले आफ्‍नो कर्तव्य स्वेच्‍छाले निर्वाह गरिरहेको हुन सक्‍ने, अनि तैँले स्वेच्छाले त्याग गर्न र आफूलाई समर्पित गर्न सक्ने भए पनि, यदि तँसँग अझै पनि परमेश्‍वरप्रति गलत बुझाइ, अनुमान, शङ्का, वा गुनासो, वा उहाँविरुद्ध विद्रोहीपन र विरोधसमेत छ भने, वा यदि तैँले उहाँलाई विरोध गर्न र तँमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गर्न विभिन्‍न विधि र तरिकाहरू प्रयोग गर्छस् भने—यदि तँ यी कुराहरू समाधान गर्दैनस् भने—सत्यता तेरो व्यक्तित्वको मालिक बन्‍न करिब-करिब असम्‍भव हुनेछ, र तेरो जीवन थकाइलाग्दो हुनेछ। दलदलमा डुबेझैँ गरी मानिसहरू प्रायजसो यी नकारात्मक स्थितिहरूमा रही सङ्घर्ष गर्छन् र कष्ट भोग्छन्, अनि तिनीहरू सधैँ सही र गलत अवधारणाको भुमरीमा फसेका हुन्छन्। तिनीहरूले कसरी सत्यता पत्ता लगाउन र बुझ्न सक्छन्? सत्यताको खोजी गर्नको लागि, व्यक्ति सुरुमा समर्पित हुनुपर्छ। अनि, अनुभवको एक अवधिपछि, तिनीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्न सक्‍नेछन्, र त्यो अवस्थामा सत्यता बुझ्‍न सहज हुन्छ। यदि कुनै व्यक्ति सधैँ सही र गलत के हो भन्‍ने कुरालाई छुट्ट्याउने प्रयास गरिरहन्छ र साँचो र झूटो के हो भन्‍ने कुरामै अलमलिन्छ भने, ऊसँग सत्यता पत्ता लगाउने वा बुझ्‍ने कुनै उपाय हुँदैन। अनि, यदि व्यक्तिले कहिल्यै सत्यता बुझ्‍न सक्दैन भने, यसले के निम्त्याउँछ? सत्यता नबुझ्दा परमेश्‍वरबारे धारणा र गलत बुझाइ पैदा हुन्छ; जब व्यक्तिमा परमेश्‍वरबारे गलत बुझाइ पैदा हुन्छ, तब उसले उहाँबारे गुनासो गर्ने सम्भावना हुन्छ; जब यी गुनासाहरू प्रकट हुन्छन्, तब ऊ विरोधी बन्छ; परमेश्‍वरको विरोधी हुनु भनेको परमेश्‍वरको प्रतिरोध गर्नु हो, र यो गम्भीर अपराध हो। यदि व्यक्तिले धेरै अपराध गरेको छ भने, उसले अनेक दुष्कर्म गरेको हुन्छ, र उसलाई दण्डित गरिनुपर्छ। सत्यता बुझ्‍न सधैँ असक्षम हुँदा आउने परिणाम यही हो। त्यसकारण, सत्यताको खोजी तँलाई तेरो कर्तव्य राम्ररी निर्वाह गर्न, आज्ञाकारी बन्‍न, नियमहरूअनुसार व्यवहार गर्न, भक्त देखिन, वा सन्तको जस्तो मर्यादा प्राप्त गर्न लगाउने माध्यम मात्रै होइन। यो यी कुराहरू हासिल गर्ने तरिका मात्रै होइन; मुख्यतः यो त परमेश्‍वरप्रति तैँले पालेर राखेका विभिन्न गलत दृष्टिकोणहरू समाधान गर्ने तरिका हो। सत्यता बुझ्‍नुको उद्देश्‍य मानिसका भ्रष्ट स्वभावहरू समाधान गर्नु हो; जब ती भ्रष्ट स्वभावहरू समाधान हुन्छन्, मानिसहरूसँग त्यसउप्रान्त परमेश्‍वरको बारेमा कुनै गलत बुझाइ हुँदैन। यी दुई कुराहरू जोडिएका छन्। मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव समाधान गर्दै गर्दा तिनीहरू र परमेश्‍वरबीचको सम्‍बन्ध क्रमिक रूपमा सुधार हुँदै जान्छ र झन्-झन् सामान्य हुँदै जान्छ। भ्रष्ट स्वभाव समाधान भएपछि, परमेश्‍वरसम्‍बन्धी मानिसका सन्देह, शङ्का, परीक्षा, गलत-बुझाइ, प्रश्‍न, र गुनासाहरू, अनि तिनीहरूको प्रतिरोधसमेत सबै अलि-अलि गर्दै समाधान हुनेछन्। व्यक्तिको भ्रष्ट स्वभाव समाधान भएपछि तत्‍कालीन रूपमा के प्रकटीकरण हुन्छ? परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ। तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने हृदयसाथ हरकुराको सामना गर्न सक्छन्, र त्यसपछि उहाँसँग तिनीहरूको सम्बन्ध सुधार हुनेछ। यदि तिनीहरू सत्यता बुझ्छन् भने त्यसलाई अभ्यास गर्न सक्नेछन्। तिनीहरूसँग परमेश्‍वरप्रति समर्पित हुने हृदय हुन्छ, त्यसैले तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा लापरवाह हुनेछैनन्, न त परमेश्‍वरलाई धोका नै दिनेछन्। यसरी तिनीहरूमा परमेश्‍वरबारेका गलतफहमी र धारणाहरू झन्-झन् कम हुँदै जानेछन्, उहाँसँग तिनीहरूको सम्बन्ध झन्-झन् सामान्य बन्दै जानेछ, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा पूर्णतः परमेश्‍वरप्रति समर्पित हुन सक्नेछन्। यदि तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्दैनन् भने, कहिल्यै पनि परमेश्‍वरसँग सामान्य सम्बन्ध बनाउन सक्नेछैनन्, र उहाँप्रति समर्पणकारी हृदय हासिल गर्न कहिल्यै पनि सक्नेछैनन्। गैरविश्‍वासीहरूझैँ, तिनीहरू पनि अत्यन्तै विद्रोही हुनेछन्, आफ्नो हृदयमा सदैव परमेश्‍वरलाई अस्वीकार र प्रतिरोध गर्नेछन्, र तिनीहरूलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असम्भव हुनेछ। यसै कारण, सत्यता पछ्याउनु र अभ्यास गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ! तँ सत्यता पछ्याउँदैनस्, तैपनि परमेश्‍वरबारे आफ्ना धारणा, गलतफहमी र गुनासाहरू समाधान गर्न चाहन्छस्—के तँ यो प्राप्त गर्न सक्छस् त? पक्कै पनि सक्दैनस्। कतिपय मानिसहरू भन्छन्, “म एउटा साधारण व्यक्ति मात्र हुँ, ममा धारणा, गलतफहमी वा गुनासो जस्तो कुनै पनि कुरा छैन। म यी कुराहरूबारे सोच्दिनँ।” यदि तँ धारणाहरूबारे सोच्दैनस् भने, के तँ आफूमा कुनै पनि धारणा छैन भनेर ग्यारेन्टी गर्न सक्छस् त? के तँ भ्रष्ट स्वभावबारे नसोचेर त्यसलाई प्रकट हुनबाट रोक्न सक्छस् त? व्यक्तिले जस्तोसुकै भ्रष्टता प्रकट गरून्, यो जहिले पनि तिनीहरूको प्रकृतिद्वारा निर्धारित हुन्छ। सबै मानिसहरू आफ्ना शैतानी प्रकृतिअनुसार जिउँछन्; तिनीहरूका शैतानी स्वभावहरू तिनीहरूभित्र गहिरोसँग गडेका हुन्छन्, र ती तिनीहरूको प्रकृति सार बनेका हुन्छन्। मानिसहरूसँग आफ्नो शैतानी स्वभाव उन्मूलन गर्ने कुनै माध्यम हुँदैन, तिनीहरूले सत्यता र परमेश्‍वरका वचनहरू प्रयोग गरेर मात्रै आफ्ना भ्रष्ट स्वभावका सबै समस्याहरू बिस्तारै समाधान गर्न सक्छन्।

व्यक्तिको परमेश्‍वरसँगको सम्बन्धमा भएको सुधार, वा त्यसको कमी कहाँ प्रकट हुन्छ? त्यो तैँले मानिस, घटना र कामकुराहरू सामना गर्दा तेरो मनोवृत्ति र दृष्टिकोणमा प्रकट हुन्छ। यदि तेरो मनोवृत्ति र दृष्टिकोण संसारसँग व्यवहार गर्ने शैतानी दर्शन, वा ज्ञान र सिद्धान्तहरूबाट आउँछन् र तैँले यी कुराहरूलाई आफ्नो जीवन दर्शन र नारा बनाउँछस् भने, के तँ सत्यता पछ्याउने व्यक्ति होस् त? के तैँले सत्यता प्राप्त गरेको छस् त? (छैनँ।) यसबाट तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भनेर निश्चित रूपमा भन्न सकिँदैन; सायद तँ सत्यता पछ्याउने बाटोमा छस्, तर कम्तीमा पनि यसले के देखाउँछ भने, तँ सत्यता वास्तविकताहरूमा प्रवेश गरिसकेको छैनस्। यदि तँ आफ्ना धारणाहरूसँग मेल नखाने कुनै कुरा सामना गर्दा तुरुन्तै रिसाउँछस्, टेबल ठोक्छस् र मानिसहरूमाथि चिच्याउँछस्, अनि त्यो स्विकार्न मान्दैनस् र समर्पित हुँदैनस् भने, यहाँ समस्या के हो? के यो परमेश्‍वरसामु जिउने व्यक्ति हो? तँ किन सत्यताको खोजी गर्न असमर्थ छस्? यसले के देखाउँछ भने, सत्यताले अझैसम्म पनि तेरो हृदयमा हैकम जमाएको छैन! यदि तँ यस्ता सानातिना कुरामा पनि तँ शान्त रहन सक्दैनस् भने र यति सानो मामलाले तेरो कुरूप स्थिति खुलासा गर्छ भने, यसले तँ समस्याहरू समाधान गर्नहेतु सत्यताको प्रयोग गर्न सिपालु छैनस्, र रिसाउँदा सत्यताको खोजीलाई पन्छाइदिन्छस् भन्‍ने प्रमाणित गर्दछ। यदि मामला यही हो भने, तैँले जीवन प्रवेश कसरी पाउन सक्छस्? कतिपय मानिसहरूले कयौँ वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, तर चाहे जेसुकै होस्, तिनीहरू गैरविश्‍वासीझैँ व्यवहार गर्छन्, शैतानी दर्शनअनुसार जिउँछन् र सत्यता कहिल्यै खोज्दैनन् वा अरूसँग अन्तरक्रिया गर्ने र मामिलाहरू सम्हाल्ने तरिकामा आफ्नो दृष्टिकोण बदल्दैनन्। तिनीहरूले कुनै स्पष्ट दुष्कर्म नगरेका भए पनि वा कुनै ठूलो गल्ती नगरेका भए पनि, र तिनीहरू असल मानिसझैँ देखिए पनि, तिनीहरूले कयौँ वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि जीवन प्रवेश पाएका हुँदैनन् र सत्यता कहिल्यै अभ्यास गरेका हुँदैनन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरको मुक्ति पाउन सक्छन् त? तिनीहरूलाई मुक्ति पाउन गाह्रो हुनेछ। कतिपय मानिसहरूले कयौँ वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, र चाहे जेसुकै होस्, तिनीहरू सधैँ यसो भन्‍ने गर्छन्, “मेरो विचारमा यस्तो-यस्तो…,” “मेरो योजना यो-यो…,” र “म यस्तो र उस्तो सोच्छु…,” वा तिनीहरू भन्छन्, “यो पुरानो भनाइले यसलाई राम्रोसँग भन्दछ…,” र “यो त त्यो प्रसिद्ध व्यक्तिले भनेको…जस्तै छ।” सधैँ यसरी कुरा गर्ने मानिसहरूमा समस्या हुन्छ, किनभने यसले तिनीहरू शैतानका मान्छे हुन्, हृदयमा रत्तिभर सत्यता नभएका मान्छे हुन् भन्‍ने प्रमाणित गर्दछ। केही हुँदा, यदि तँ सधैँ “मलाई याद छ परमेश्‍वरका वचनहरूले यसो भन्छन्…,” “परमेश्‍वरले एकपटक भन्नुभएको थियो…,” वा “परमेश्‍वरको घरको एउटा प्रवचनमा के भनिएको थियो भने…,” “परमेश्‍वरका वचनहरूको भजनमा एउटा पङ्क्ति छ, जसले के भन्छ भने…,” भनेर भन्‍ने गर्छस् भने, यदि तँ सधैँ समस्याहरूबारे सोचविचार गरी यसरी कुरा गर्छस् भने, यसले तँ सत्यतालाई प्रेम गर्ने र केही सत्यता वास्तविकता भएको व्यक्ति होस् भनेर प्रमाणित गर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिलाई जेसुकै आइपरे पनि, तिनीहरूले सबभन्दा पहिले परमेश्‍वरका वचनहरूले के भन्छन् भनेर खोज्नुपर्छ, हरकुरालाई परमेश्‍वरका वचनहरूसँग तुलना गरेर हेर्नुपर्छ र परमेश्‍वरका वचनहरूलाई आधार, जग र सुरुवाती बिन्दुको रूपमा प्रयोग गर्नुपर्छ। के सत्यता पछ्याउँदा र अभ्यास गर्दा तिनीहरूमा हुनुपर्ने मनोवृत्ति यही नै होइन र? कम्तीमा पनि यति चाहिँ हुनुपर्छ। अचेल, मानिसहरूले प्रवचन सुन्ने र हर दिन परमेश्‍वरका वचनहरू पढ्ने गरे पनि, कुराहरू आइपर्दा तिनीहरू अझै पनि यसो भन्छन्, “मेरी आमाले भन्नुभएको थियो…,” “एउटा पुरानो भनाइ के छ भने…,” “फलानो-फलानो प्रसिद्ध व्यक्तिले के भनेका छन् भने…,” “एउटा उखानले भन्दछ…,” अनि “एउटा भनाइले यसो भन्छ…”। तिनीहरूले खाएका अनि पिएका परमेश्‍वरका वचनहरू कहाँ गए त? तैँले यी मानिसहरूको मनोवृत्ति र प्रतिक्रियाहरूबाट तिनीहरूले अझै पनि सत्यता प्राप्त गरेका छैनन् वा सत्यता वास्तविकताहरूमा प्रवेश गरेका छैनन्, अनि तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय छैन र सधैँ गैरविश्‍वासीको लवजमा बोल्दछन् भन्‍ने कुरा देख्न सक्छस्। यस्ता मानिसहरूको अनुहार भावशून्य र बोधो हुन्छ। यसको कारण के हो? (यसको कारण सत्यता नपछ्याउनु हो।) मानिसहरू बाहिरबाट भावशून्य र बोधो देखिन सक्छन्, तर भित्र तिनीहरू कस्ता हुन्छन्? भित्र तिनीहरू ओइलाएका हुन्छन्, अर्को शब्दमा भन्नुपर्दा, तिनीहरूले अझै पनि सत्यताबाट मलजल र पोषण पाएका हुँदैनन्। तिनीहरू अझै पनि भोकै छन्, र तिनीहरूले अझैसम्म सत्यता प्राप्त गरेका छैनन्। त्यसैले, तिनीहरू भावशून्य, थकित जीवन जिउँछन्, प्रतिक्रिया जनाउनमा सुस्त हुन्छन् र केही आइपर्दा तिनीहरू अत्यन्तै असहाय हुन्छन्, अनि बेलाबेलामा भन्‍ने गर्छन्, “परमेश्‍वर, मलाई के गर्ने भनेर थाहा छैन!” “म अन्योलमा छु!” वा “मसँग कुनै मार्ग नै छैन!” यी शब्दहरू जहिले पनि तिनीहरूका ओठमा हुन्छन्। के यी असल शब्दहरू हुन्? (अहँ, होइनन्।) त्यसोभए, केही मानिसहरूले सधैँ यस्ता शब्दहरू किन सिक्छन् त? ती लोकप्रिय नाराहरू समेत बनेका छन्। यी शब्दहरू मलाई किन यति अनौठा लाग्छन्? ती असल शब्द होइनन्, र त्यस्ता शब्दहरू सिक्ने कुनै आवश्यकता छैन। लोकप्रिय कुराहरूमा ध्यान नदे, बरु सत्यता र आफ्ना व्यावहारिक समस्याहरू समाधान गर्ने कुरामा ध्यान दे। तैँले केही आइपर्दा आफ्ना दृष्टिकोण, मनोवृत्ति, अभिप्राय र सुरुवाती बिन्दुले भ्रष्ट स्वभाव प्रकट गर्छन् कि गर्दैनन् भन्‍ने कुरामा चिन्तन गर्नैपर्छ। तैँले यसबारे चिन्तन गर्नैपर्छ। चाहे जेसुकै भएको होस्, के तँ त्यसलाई समाधान गर्न शैतानी दर्शनमा भर पर्ने र मानव तरिका प्रयोग गर्ने गर्छस्, कि सत्यताको खोजी गरेर त्यसलाई परमेश्‍वरका वचनहरूअनुसार समाधान गर्ने गर्छस्, कि सम्झौता गर्ने मध्यमार्गी तरिका अपनाउँछस्? तँ सत्यतालाई प्रेम गर्ने र पछ्याउने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरा तेरो छनोटले सबैभन्दा राम्ररी प्रकट गर्दछ। यदि तँ समस्या समाधान गर्न सधैँ शैतानी दर्शन र मानव तरिकाहरूमा नै भर पर्ने छनोट गर्छस् भने, परिणामस्वरूप तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, न त तैँले पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन नै पाउन सक्नेछस्। अझ भन्नुपर्दा, तँमा परमेश्‍वरबारे धारणा र गलतफहमीहरू उत्पन्न हुनेछन्, अनि अन्ततः उहाँले तँलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ। तर यदि तँ सबै कुरामा सत्यताको खोजी गर्न सक्छस् र परमेश्‍वरका वचनहरूअनुसार तिनलाई समाधान गर्न सक्छस् भने, तँ पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन पाउन सक्षम हुनेछस्। सत्यताबारे तेरो बुझाइ झन्-झन् स्पष्ट हुँदै जानेछ र तैँले परमेश्‍वरलाई झन्-झन् चिन्दै जानेछस्; यसरी तैँले परमेश्‍वरप्रति साँच्चै समर्पित हुन र उहाँलाई प्रेम गर्न सक्नेछस्। केही समय यसरी अभ्यास र अनुभव गरेपछि तेरा भ्रष्ट स्वभाव अझ धेरै धोइनेछन् र तैँले परमेश्‍वरविरुद्ध गर्ने विद्रोहका घटना झन्-झन् कम हुँदै गएर अन्तमा तैँले उहाँसँग पूर्ण अनुकूलता हासिल गर्नेछस्। यदि तँ सधैँ सम्झौता गर्ने मध्यमार्गी तरिका रोज्छस् भने, तँ समस्याहरू सम्हाल्नका निम्ति वास्तवमा अझै पनि शैतानी दर्शनहरूमा नै भर परिरहेको हुन्छस्। यसरी जिउँदा तैँले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन आर्जन गर्नेछैनस्, तँ केवल प्रकाश गरिएर हटाइनेछस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्ने गलत तरिका, अर्थात् धार्मिक तरिका रोजेको छस् भने, तैँले आफ्नो बाटो तुरुन्तै मोड्नुपर्छ, किनाराबाट कदम पछाडि लानुपर्छ र सही मार्ग अपनाउनुपर्छ। तब तैँले मुक्ति प्राप्त गर्ने आशा अझै पनि हुन सक्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्ग प्राप्त गर्न चाहन्छस् भने, तैँले त्यसका लागि आफैले खोजी गर्नुपर्छ र यताउति हेर्नुपर्छ। आत्मिक बुझाइ भएको व्यक्तिले केही समयको अनुभवपछि सही मार्ग भेट्नेछ।

त्यसोभए, हामीले भर्खरै के कुराबारे सङ्गति गर्‍यौँ? (हामीले सत्यतालाई पछ्याउँदा यसले मुख्य गरी कुन कुरा समाधान गर्छ भन्‍ने कुरा, अर्थात् यसले परमेश्‍वरको बारेमा मानिसहरूमा हुने विभिन्न त्रुटिपूर्ण दृष्टिकोण, र मानिसहरूको भ्रष्ट स्वभाव समाधान गर्छ भन्‍नेबारे सङ्गति गर्‍यौँ। हामीले मानिसमाथि कुराहरू आइपर्दा तिनीहरूको दृष्टिकोण, मनोवृत्ति र अभिप्राय कस्तो हुन्छ, अनि मानिसहरूले काम-कुराहरूलाई शैतानी दर्शन र मानव धारणा र कल्पनाहरूसाथ व्यवहार गर्छन् कि त्यसलाई सत्यताको खोजीद्वारा समाधान गर्छन् भन्‍ने कुराबारे पनि सङ्गति गर्‍यौँ।) यी शब्दहरू सम्झन सजिलो छ, तर मुख्य कुरा भनेको कुनै कुरा आइपर्दा तँ त्यसलाई परमेश्‍वरका वचनअनुसार मापन गर्न सक्छस् कि सक्दैनस् र तैँले अभ्यासका सिद्धान्तहरू फेला पार्न सक्छस् कि सक्दैनस् भन्‍ने हो। यदि तँ सिद्धान्तहरू लागु गर्न सक्छस् भने, तँ सत्यता अभ्यास गर्न सक्षम हुनेछस् र यदि तँ सत्यता अभ्यास गर्न सक्छस् भने, तँसँग सत्यता वास्तविकताहरू हुनेछन्। सत्यता बुझ्नुको अर्थ तैँले सत्यता प्राप्त गरेको छस् भन्‍ने हुँदैन। सत्यता अभ्यास गर्न सके मात्र तैँले सत्यतालाई साँच्चै बुझ्न सक्नेछस्। यदि तँ बारम्बार सत्यता अभ्यास गर्छस् र त्यो कार्य पूर्ण रूपमा सिद्धान्तअनुरूप गर्छस् भने, यो सत्यता प्राप्त गर्नु हो। केवल शब्द र धर्मसिद्धान्तहरूबारे बोल्न सक्नुलाई राम्रो क्षमता मान्न सकिँदैन। यदि तँ कुराहरू आइपर्दा तिनलाई समाधान गर्न सत्यता खोज्न सक्छस् भने मात्र तँसँग बुझ्ने क्षमता हुन्छ। सबभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यावहारिक समस्याहरू समाधान गर्न सक्षम हुनु हो। उदाहरणका लागि, यदि कुनै दाजुभाइ वा दिदीबहिनीसँग तेरो राम्रो सम्‍बन्ध छ, र तिनीहरूले आफूमा भएको गलत कुरालाई औँल्याउन तँलाई अनुरोध गर्छन् भने, तैँले कसरी यो काम गर्नुपर्छ? यो कुरा तैँले त्यस मामलालाई कसरी लिन्छस् भन्‍ने तरिकासँग सम्‍बन्धित छ। के तेरो तरिका सत्यता सिद्धान्तहरूमा आधारित छ, कि तैँले संसारसँग व्यवहार गर्ने दर्शन प्रयोग गर्छस्? तिनीहरूमा समस्या छ भनेर स्पष्टसित देख्दा पनि तैँले आफ्नो सम्बन्धमा हानि नपुगोस् भनेर तिनीहरूलाई सीधै त्यो बताउँदैनस्, बरु “मेरो कद अहिले सानो छ र मैले तपाईँका समस्याहरू पूर्ण रूपमा बुझेको छैन, पूर्ण रूपमा बुझेपछि म तपाईँलाई बताउनेछु” भन्दै बहाना बनाउँछस् भने, त्यसोभए समस्या के हो त? यसमा संसारसँग व्यवहार गर्ने दर्शन समावेश हुन्छ। के यो मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइन र? तैँले स्पष्टसित जति देख्छस् त्यति बोल्‍नुपर्छ; र यदि कुनै कुरा तेरो लागि स्पष्‍ट छैन भने, स्पष्‍ट छैन भन्। आफ्‍नो मनमा जे छ त्यही भन्‍नु भनेको यही हो। यदि तँमा केही विचारहरू छन् र निश्‍चित कुराहरू तँलाई स्पष्ट भयो, तर तिनीहरूलाई चिढ्याउँछु, तिनीहरूको भावनामा चोट पुर्‍याउँछु भन्‍ने डर मानेर तैँले केही पनि नभन्‍ने निर्णय गर्छस् भने, यो संसारसँग व्यवहार गर्ने दर्शनअनुसार जिउनु हो। यदि तैँले कुनै व्यक्तिमा समस्या छ वा ऊ बरालिएको छ भन्‍ने पत्ता लगाइस् भने, तैँले उसलाई प्रेमसाथ सहयोग गर्न नसके पनि, कम्तीमा तैँले समस्या औँल्याउनुपर्छ ताकि उसले यस कुरालाई मनन गर्न सकोस्। यदि तैँले यसलाई बेवास्ता गरिस् भने, के यो उसलाई हानि गर्नु होइन र? यदि तैँले एक पटक उसलाई मद्दत गर्दा उसले सत्यता स्वीकार गर्दैन, ऊ अव्यावहारिक छ, उसको स्वभाव दुष्ट छ र मूलभूत रूपमा ऊ सत्यतालाई प्रेम गर्दैन भनी देख्छस् भने, तैँले उसको समस्या उसलाई औँल्याएर नदेखाउनु नै बुद्धिमानी हो। तर यदि तैँले सत्यता स्वीकार गर्न सक्ने व्यक्तिलाई उसका समस्याहरू औँल्याउँदैनस् भने, तँमा प्रेम छैन। यदि तँ आफ्ना दाजुभाइ र दिदीबहिनीहरूसँग यसरी अन्तरक्रिया गर्छस् भने, तैँले खेल मात्र खेलिरहेको, चतुर शब्दहरूले मानिसहरूलाई छलछाम गरिरहेको हुन्छस् र सदैव अरू मानिसहरूलाई हाँसोमा उडाउन चाहिरहेको हुन्छस्। यस्तो व्यवहार गर्ने मानिसहरू असल मानिस होइनन्, र यसमा एक प्रकारको स्वभाव रहेको हुन्छ। यस्ता मानिसहरू पूर्ण रूपमा शैतानी दर्शनअनुसार जिइरहेका हुन्छन्, तिनीहरूले सामान्य मानवताको समझद्वारा बोलिरहेका वा कार्य गरिरहेका हुँदैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गरिरहेका हुन्छन्। त्यसोभए, सत्यता सिद्धान्तहरूअनुसार तैँले यस विषयलाई कसरी सम्बोधन गर्नुपर्छ? कुन कार्य सत्यताअनुरूप हुन्छ? सान्दर्भिक सिद्धान्तहरू कति वटा छन्? पहिलो, कम्तीमा पनि अरूलाई पछारिन नदे। तैँले सुरुमा अरूको कमजोरीको बारेमा र तिनीहरूसँग कुन तरिकाले बोल्दा तिनीहरू पछारिँदैनन् भन्‍ने बारेमा विचार गर्नुपर्छ। कम्तीमा पनि यो कुरालाई ध्यान दिनुपर्छ। दोस्रो, यदि तिनीहरू साँच्‍चै परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता स्विकार्न सक्‍ने व्यक्ति हुन् भनेर तँलाई थाहा छ भने, तैँले तिनीहरूमा समस्या रहेको देखेपछि, तिनीहरूलाई मद्दत गर्न अघि सर्नुपर्छ। यदि तैँले केही गर्दैनस् र तिनीहरूलाई हाँसोमा उडाउँछस् भने, यो तिनीहरूलाई चोट पुर्‍याउनु र हानि गर्नु हो। यसो गर्ने व्यक्तिमा विवेक वा समझ हुँदैन, र उसमा अरूप्रति प्रेम पनि हुँदैन। अलिकति भए पनि विवेक र समझ हुनेहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई हाँसोमा उडाउनु हुँदैन। तिनीहरूलाई आफ्नो समस्या समाधान गर्न मद्दत गर्न उनीहरूले विभिन्‍न तरिकाहरूबारे विचार गर्नुपर्छ। उनीहरूले त्यो व्यक्तिलाई के भएको हो र कहाँ उसको गल्ती भएको छ भनेर बुझ्न मद्दत गर्नुपर्छ। तिनीहरूले पश्‍चात्ताप गर्न सक्‍ने वा नसक्‍ने कुरा तिनीहरूको आफ्नै मामिला हो; हामीले त आफ्नो जिम्मेवारी निभाइसकेका हुनेछौँ। तिनीहरूले अहिले पश्‍चात्ताप गरेनन् भने पनि, ढिलोचाँडो एक दिन तिनीहरूको होस खुल्नेछ, र तिनीहरूले तेरो बारेमा गुनासो गर्नेछैनन् वा तँमाथि आरोप लगाउनेछैनन्। कम्तीमा, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई व्यवहार गर्ने तरिका विवेक र समझका मापदण्डभन्दा तल हुनु हुँदैन। आफूलाई अरूको ऋणी नबना; तिनीहरूलाई सक्दो सहयोग गर्। मानिसहरूले गर्नुपर्ने यही हो। आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेमपूर्वक र सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्‍ने मानिसहरू नै सर्वोत्तम प्रकारका मानिस हुन्। तिनीहरू सबैभन्दा दयालु हृदयका पनि हुन्छन्। निस्सन्देह नै, सत्यता स्विकार्न र अभ्यास गर्न सक्‍ने मानिसहरू नै साँचो दाजुभाइ-दिदीबहिनी हुन्। यदि कुनै व्यक्तिले आफ्नो रोटी लिन वा आशिष्‌ प्राप्त गर्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छ, तर सत्यता स्विकार्दैन भने, ऊ दाजुभाइ वा दिदीबहिनी होइन। तैँले साँचो दाजुभाइ-दिदीबहिनीलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। तिनीहरूले जसरी परमेश्‍वरमा विश्‍वास गरे पनि वा जुनै मार्ग अपनाए पनि, तैँले तिनीहरूलाई प्रेमभावले सहयोग गर्नुपर्छ। व्यक्तिले हासिल गर्नुपर्ने न्यूनतम परिणाम के हो? पहिलो, तिनीहरूलाई पछारिन, र नकारात्मक बन्‍न नदिनु हो; दोस्रो, तिनीहरूलाई सहयोग गर्नु, र गलत मार्गबाट फर्कन लगाउनु हो; अनि तेस्रो, तिनीहरूलाई सत्यता बुझ्न र सही मार्ग लिन लगाउनु हो। यी तीन प्रकारका परिणामहरू तिनीहरूलाई प्रेमभावले सहयोग गरेपछि मात्र हासिल गर्न सकिन्छ। यदि तँमा साँचो प्रेम छैन भने, तैँले यी तीन प्रकारका प्रभावहरू हासिल गर्न सक्दैनस्, र हदै भए एउटा वा दुइटा मात्र हासिल गर्न सक्छस्। यी तीन प्रकारका परिणामहरू अरूलाई मद्दत गर्ने तीन सिद्धान्तहरू पनि हुन्। तँलाई यी तीन सिद्धान्तहरू थाहा छ र ती तैँले बुझेको पनि छस्, तर वास्तवमा ती कसरी लागु गरिन्छ? के तैँले अरूको कठिनाइलाई साँचो रूपमा बुझ्छस्? के यो अर्को समस्या होइन र? तैँले यो कुरा पनि सोच्‍नुपर्छ: “तिनीहरूको कठिनाइको स्रोत के हो? के म तिनीहरूलाई सहयोग गर्न सक्षम छु? यदि मेरो कद अत्यन्तै सानो छ र म तिनीहरूको समस्या समाधान गर्न सक्दिनँ, र लापरवाही रूपमा बोल्छु भने, मैले तिनीहरूलाई गलत बाटोमा डोर्‍याउन सक्छु। यसबाहेक, यो व्यक्तिको बुझ्ने क्षमता कस्तो छ, र उसको क्षमता कति छ? के ऊ हठी छ? के ऊसँग आत्मिक बुझाइ छ? के ऊ सत्यता स्वीकार गर्न सक्छ? के ऊ सत्यताको खोजी गर्छ? यदि उसले म ऊभन्दा सक्षम रहेको देख्यो, अनि मैले ऊसँग सङ्गति गरेँ भने, के उसमा डाहा वा नकारात्मकता पैदा हुनेछ?” यी सबै प्रश्‍नहरूलाई ध्यान दिनुपर्छ। तैँले यी प्रश्‍नहरूबारे विचार गरिसकेपछि र यीबारे तँ स्पष्ट भइसकेपछि, गएर त्यो व्यक्तिसँग सङ्गति गर्, उसको समस्यामा लागु हुने परमेश्‍वरका वचनहरूका धेरै खण्डहरू पढ्, र उसलाई परमेश्‍वरका वचनहरूको सत्यता बुझ्न र अभ्यासको मार्ग भेट्टाउन सक्षम बना। त्यसपछि, त्यो समस्या समाधान हुन्छ, र ऊ आफ्नो कठिनाइबाट मुक्त हुनेछ। के यो सामान्य कुरा हो? यो सामान्य कुरा होइन। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले जति नै बोले पनि त्यो बेकार हुनेछ। यदि तँ सत्यता बुझ्छस् भने, तैँले उसलाई केही वाक्यबाटै अन्तर्दृष्टि दिन र लाभ पुर्‍याउन सक्छस्। मानिसलाई प्रेमपूर्वक सहयोग गर्नेसम्बन्धी मुख्य कुरा भनेको समस्याबारे परमेश्‍वरका वचनहरूको केही खण्डहरूमा सङ्गति गर्नु हो र यो विधि सबभन्दा प्रभावकारी हुन्छ। यदि तँ परमेश्‍वरका वचनहरूमा सङ्गति गर्दैनस्, र केवल मानव शब्दहरू प्रयोग गर्ने प्रयास गर्छस् भने, तैँले जतिसुकै धेरै शब्दहरू बोले पनि, कुनै पनि व्यावहारिक समस्यालाई कहिल्यै समाधान गर्ने छैनस्। कतिपय मानिसहरू अरूलाई उत्साहित मात्र गर्न सक्छन् र अरू मानिसहरूले जस्तोसुकै समस्या सामना गरे पनि यसो भन्‍नेछन्, “परमेश्‍वरका वचनहरू धेरै पढ्नुहोस् र त्यसमा सत्यता खोजी गर्नुहोस्, अनि समस्या समाधान गर्न सजिलो हुनेछ,” वा “तपाईँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र त्यति गरे पुग्छ। तपाईँ कहिल्यै नकारात्मक हुनुहुनेछैन, किनभने परमेश्‍वरलाई प्रेम गर्नाले तपाईँका सबै समस्याहरू समाधान हुनेछन्।” यो त्यस्तो सरल पनि छैन। के परमेश्‍वरलाई प्रेम गर्ने कुरा तैँले भन्‍नेबित्तिकै अभ्यास गर्न सक्ने कुरा हो त? मानिसहरूले सत्यता बुझ्दैनन् भने, परमेश्‍वरलाई कसरी प्रेम गर्छन्? मानिसहरूले परमेश्‍वरको काम चिन्दैनन् भने, उहाँलाई कसरी प्रेम गर्न सक्छन्? यदि मानिसहरूले वास्तवमै परमेश्‍वरलाई प्रेम गर्छन् भने, तिनीहरू कहिल्यै नकारात्मक हुनेछैनन्, र तिनीहरूलाई कुनै कठिनाइ हुनेछैन। परमेश्‍वरलाई प्रेम गर्नु सरल मामला होइन, र के यो केही धर्मसिद्धान्तहरूबारे बोलेर वा केही नाराहरू लगाएर मात्रै हासिल हुने कुरा हो र? परमेश्‍वरमा समर्पित हुनु झनै सरल छैन, र कसैलाई उत्साहका केही शब्द बोल्दैमा उहाँमा समर्पित हुने तुल्याउन सकिन्छ भन्‍ने होइन। परमेश्‍वरका वचनहरूमा सङ्गति गर्नाले त्यो बेला मानिसहरूलाई अलिकति फाइदा पुगे पनि, तैँले तिनीहरूसँग एकचोटी सत्यतामा सङ्गति गरेरै तिनीहरूको विद्रोहीपनको समस्या समाधान गरेर तिनीहरूलाई परमेश्‍वरप्रति समर्पित हुने तुल्याउन सक्छस् भन्‍ने चाहिँ होइन, र यो तैँले सत्यताबारे स्पष्टसँग सङ्गति गर्दा मानिसहरू तुरुन्तै परमेश्‍वरमा समर्पित हुन सक्नेछन् भन्‍ने पनि होइन। मानिसहरूले नतिजाहरू हासिल गर्नका लागि न्याय, सजाय, अनि काटछाँट अनुभव गर्नैपर्छ। अरूलाई उत्साहित गर्न सधैँ शब्द र धर्मसिद्धान्तहरूबारे बोल्ने मानिसहरू सबभन्दा सतही हुन्छन्। तिनीहरूसँग कुनै सत्यता वास्तविकता हुँदैन, तिनीहरू अरूलाई मद्दत गर्न सधैँ शब्द र धर्मसिद्धान्तहरू बोल्ने कुरामा भर पर्छन्, र तिनीहरूले कुनै परिणाम हासिल गर्दैनन्। यसलाई झारा टार्नु भनिन्छ, र यो मानिससँग व्यवहार गर्ने इमानदार तरिका होइन, यो अत्यन्त नक्कली कुरा हो, यो दयालु हुनु होइन। सङ्क्षेपमा भन्नुपर्दा, यस्तो व्यक्ति पाखण्डी हो। यदि तँसँग अरूका लागि सहानुभूति वा प्रेमको हृदय छैन भने, तैँले मानिसहरूलाई कसरी सहयोग गर्न सक्छस्? कुनै पनि समस्यालाई साँचो रूपमा समाधान गर्न सजिलो छैन। तैँले सत्यता बुझ्नैपर्छ, समस्याको सार छर्लङ्ग देख्नुपर्छ र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अरूसँग स्पष्टसँग सङ्गति गर्नुपर्छ, र अरूले बुझ्ने तरिकाले अभ्यासको मार्गबारे सङ्गति गर्न सक्नुपर्छ। यसरी मानिसहरूले सत्यता बुझ्ने मात्र होइन, तिनीहरूसँग यसलाई अभ्यास गर्ने मार्ग पनि हुनेछ, त्यसपछि मात्रै त्यो समस्या समाधान भएको मान्न सकिन्छ। तैँले यी सबै कुरा भोग्नुपर्छ, बुझाइ तेरो व्यावहारिक, आफ्नो व्यक्तिगत अनुभवबाट आउनेछ। तैँले जति सत्यताबारे सङ्गति गर्दछस्, त्यो त्यति स्पष्ट हुनेछ, अनि तेरो हृदय त्यति आश्‍वस्त हुँदै जानेछ र तँसँग त्यति नै धेरै अगाडि बढ्ने मार्ग हुनेछ। जब तैँले सत्यता साँच्चै बुझ्छस्, तब तँलाई त्यसलाई अभ्यासमा कसरी ल्याउने भनी थाहा हुनेछ। परमेश्‍वरका विश्‍वासीहरूले यसरी नै अनुभव गर्नुपर्छ, तिनीहरूले एक-एक गरी आफ्ना समस्या समाधान गर्नुपर्छ र हरेक पटक समस्या समाधान गर्दा तिनीहरूले कुनै न कुनै प्रकारको भ्रष्ट स्वभाव समाधान गर्नुपर्छ। तिनीहरूले धेरै समस्याहरू समाधान गरिसकेपछि, तिनीहरूका भ्रष्ट स्वभावहरू पनि धेरथोर समाधान भएका हुनेछन्। यस प्रकारले तिनीहरूले जति धेरै समस्या समाधान गर्छन्, तिनीहरूसँग त्यति थोरै भ्रष्ट स्वभाव हुनेछ र त्यति नै धेरै परमेश्‍वरप्रति समर्पणताको वास्तविकता हुनेछ। यसरी, मानिसहरू थाहै नपाई सत्यता वास्तविकतामा प्रवेश गर्नेछन्। मानिसहरूले जति धेरै समस्या समाधान गर्छन्, र जति धेरै सत्यता बुझ्छन्, तिनीहरूसँग त्यति धेरै अभ्यासका मार्गहरू हुनेछन्; तिनीहरूले जति धेरै समस्या समाधान गर्दछन् र जति धेरै भ्रष्ट स्वभावलाई धुन्छन्, तिनीहरू त्यति नै धेरै सत्यता वास्तविकताहरूमा प्रवेश गर्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया यही हो: तँ निरन्तर समस्याहरू पत्ता लगाएर तिनलाई समाधान गर्छस्—एउटा समस्या समाधान गरेपछि, तँ अर्को समस्या पत्ता लगाएर त्यसलाई पनि समाधान गर्छस्, र अन्तमा तैँले धेरै समस्याहरू समाधान गर्छस्, सत्यता बुझ्न थाल्छस्, अनि कुनै समस्या फेरि देखिएमा, तँ आफै त्यसलाई तुरुन्तै समाधान गर्न सक्षम हुन्छस्। तेरो कद क्रमिक रूपमा बढ्दै जाने यसरी नै हो। जब थोरैभन्दा थोरै समस्या र कठिनाइ हुन्छन्, तब तैँले पक्कै पनि कम भ्रष्टता प्रकट गर्नेछस्, तँ परमेश्‍वरमा झन् धेरै समर्पित हुनेछस् र तँसँग झन् धेरै अनुभवात्मक गवाही हुनेछ। यसरी, थाहै नपाई, तेरो जीवन स्वभाव परिवर्तन हुनेछ र अन्ततः परमेश्‍वरसँग अनुकूलता हासिल गर्नेछस्। तँमा कुनै विद्रोहीपन हुनेछैन, अनि तैँले जुनसुकै कुरामा पनि सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्नेछस्। यसको अर्थ, तेरो कद बढेको हुनेछ र तैँले पूर्ण रूपमा मुक्ति हासिल गरेको हुनेछस्।

सत्यता अभ्यास गर्न वास्तवमा निकै सरल छ, तर यदि तँसँग पर्याप्त बोध गर्ने क्षमता छैन भने वा तेरो हृदय यसमा लाग्दैन भने र तँ सधैँ सुस्त र झाराटारुवा हुन्छस् भने, तैँले कहिल्यै सत्यता हासिल गर्नेछैनस्। त्यसोभए, व्यक्तिले सत्यता कसरी प्राप्त गर्न सक्छ? के यो सन्दिग्ध चाल वा बल प्रयोग गरेर प्राप्त हुन्छ? हुँदैन। यो वास्तविक जीवनमा अघि बढ्दै गर्दा बिस्तारै, थोरै-थोरै गरेर, जोड्दै लगेर, खोजी गरेर, व्यक्तिगत अनुभव हासिल गरेर र खोजखाज गरेर प्राप्त गरिन्छ। यो तँलाई पवित्र आत्माले मार्गदर्शन गर्ने तरिका पनि हो, त्यसमा उहाँले कहिलेकाहीँ तँलाई थोरै वचनहरू मात्र दिनुहुन्छ, जुन तैँले त्यो बेला बुझ्दैनस्, तर सत्यताको खोजीद्वारा केही दिनपछि बुझ्छस्, र त्यसपछि तेरो हृदय उज्यालो हुन्छ, अनि तैँले मार्ग पाउँछस्। तैँले प्राप्त गर्छस्, तर अरूले गर्दैनन् र तँ सत्यताको यो पक्षमा बढ्छस्। त्यो कृपा देखाइनु हो। सत्यताका केही विवरणहरू महसुस र अनुभव गरिनुपर्छ, र तेरो अनुभव गहन र विवरणगत हुँदै जाँदा, तैँले आफ्नो मार्ग अझ सटीक रूपमा महसुस गर्नेछस्। थाहै नपाई तैँले सत्यता खोज्न र अभ्यास गर्नहेतु यो मार्ग पछ्याउनेछस्। तेरो सत्यताबारे बुझाइको जगमा तैँले थप अन्तर्दृष्टि पाउनेछस्, अनि सत्यताका अझ धेरै विवरण र अझ धेरै सत्यता वास्तविकता बुझ्नेछस्। यही नै सत्यता पछ्याउने मार्ग हो। यदि तैँले यसलाई अनुभव र अभ्यास गर्न सक्छस् भने, सत्यता अभ्यास गर्न कठिन छैन भन्‍ने महसुस गर्नेछस्, तर तैँले यसरी अभ्यास गर्दैनस् भने, सधैँ यसलाई निकै अमूर्त र कठिन पाउनेछस्, विश्‍वविद्यालय जानु वा कुनै उन्नत प्रविधिबारे अनुसन्धान गर्नुभन्दा पनि कठिन। तर वास्तवमा, यो भनेको केवल तेरो हृदय प्रयोग गर्ने मामला हो। कुनै पनि पेशागत ज्ञान वा सिद्धान्तको सिकाइ व्यक्तिको स्मरण र मानसिक विश्लेषण एवम् अनुसन्धानमा भर पर्छ, तर सत्यता मात्र प्राप्त गर्न तेरो हृदयको प्रयोग आवश्यक हुन्छ। तैँले यसलाई अनुभव गर्न र यसको स्वाद चाख्न आफ्नो हृदय प्रयोग गर्नुपर्छ र यसलाई कसरी अनुभव गर्ने भन्‍नेबारे सोचविचार गर्न प्रयास गर्नुपर्छ। बिस्तारै-बिस्तारै तैँले सत्यता अभ्यास गर्ने सही मार्ग भेट्टाउन अनि हासिल गर्न थाल्नेछस्। तब, तैँले खजाना पाएको हुनेछस्। सत्यता प्राप्त गर्ने रहस्य के हो? सबभन्दा पहिले, तेरो आसपासमा हुने घटनाहरूलाई सम्हाल्न संसारसँग व्यवहार गर्ने शैतानी सोच, तर्क, दर्शन वा तरिकाहरूको प्रयोग नगर्। यो एउटा गतिरोध हो, किनभने यदि तँ शैतानी दर्शनअनुसार जिउँछस् भने तैँले कहिल्यै सत्यता प्राप्त गर्न सक्नेछैनस्। तँलाई कुराहरू आइपर्दा, यदि तेरो पहिलो प्रतिक्रिया मानव विधि र तरिका प्रयोग गरेर ती कुरालाई सम्हाल्न र समाधान गर्ने हुन्छ र तँ सधैँ आफ्नो व्यक्तिगत स्वार्थ र छविको रक्षा गर्न चाहन्छस् भने, यसले तँलाई गतिरोधमा पुर्‍याउँछ। यदि तँ समस्या सामना गर्दा सत्यता खोज्न सक्छस्, यदि तँ परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँका अभिप्राय खोज्न सक्छस्, र तँलाई आफूले कुन-कुन पाठ सिक्नुपर्छ र परमेश्‍वरका प्रबन्धभित्र रहेर तैँले कुन-कुन सत्यता बुझ्नुपर्छ भन्‍ने थाहा हुन्छ भने, यो सही हुन्छ। तसर्थ, सत्यता नपछ्याउने मानिसहरू, चाहे जे भए पनि, सदैव भावशून्य, अप्ठ्यारो, हिचकिचाउने, असहाय र मार्गरहित हुन्छन्। वास्तवमा, परमेश्‍वरले मानिसलाई सत्यता प्राप्त गर्ने धेरै मौकाहरू दिनुहुन्छ, तर तिनीहरूले सत्यतालाई प्रेम नगर्ने भएकाले गलत बाटो रोज्छन् र सत्यता प्राप्त गर्न असफल हुन्छन्।

भ्रष्ट स्वभावहरूको बीचमा जिउने मानिसहरू हैसियत, आडम्बर, लाभ र चाहनाका लागि जिउँछन्। सम्पूर्ण भ्रष्ट मानवजाति यस्तै छ, तिनीहरू वस्तुतः लगभग एकै प्रकारका छन्, भिन्नताहरू थोरै मात्र छन्। व्यक्तिमा चाहे जतिसुकै भ्रष्ट स्वभाव भए पनि, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि सत्यतालाई प्रेम गर्नेहरू सबैले परमेश्‍वरका वचनहरू खानपिन र अनुभव गरेर आफ्नो भ्रष्ट स्वभावहरू बुझ्न सक्छन् र तिनीहरूका धेरै भ्रष्ट स्वभावहरू बिस्तारै समाधान हुँदै जानेछन्, अनि तिनीहरूले थोरैभन्दा थोरै भ्रष्टता प्रकट गर्न थाल्नेछन्। तिनीहरू गैरविश्‍वासीहरूभन्दा बिलकुलै फरक हुन्छन्, तिनीहरू दुई फरक प्रकारका मानिसहरू हुन् र के यो सत्यता पछ्याएर हासिल भएको परिवर्तन होइन र? परमेश्वरमा विश्वास गर्न थाले पछि, यी मानिसहरू गैरविश्वासी दियाबलसहरूबाट वास्तविक मानिसमा रूपान्तरित हुन्छन् जसले सत्यता प्राप्त गरेका हुन्छन् र जो मानव रूपमा जिउँछन्; यो परमेश्‍वरमा विश्‍वास गर्नुको लाभ र फल हो। तर परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि सत्यतालाई पटक्कै नपछ्याउनेहरू वर्षौँको विश्‍वासपछि पनि बदलिँदैनन् र अझै पनि गैरविश्‍वासीहरूझैँ रहन्छन्। यस प्रकारका व्यक्तिलाई हटाइनेछ। समान रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य निर्वाह गर्ने मानिसहरूबीच किन यति ठूलो फरक हुन्छ? महत्त्वपूर्ण कुरा भनेको सत्यताप्रति तिनीहरूको मनोवृत्ति फरक हुनु हो। सत्यतालाई प्रेम गर्नेहरूले जति धेरै परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरूको हृदय झन्-झन् उज्यालो हुँदै जानेछ र तिनीहरूले जति धेरै प्रवचन सुन्छन्, त्यति नै धेरै बुझ्नेछन्—तिनीहरू सदैव प्रगति गरिरहेका हुन्छन्। तर सत्यतालाई प्रेम नगर्नेहरू परमेश्‍वरका वचनहरू पढ्न आनन्द मान्दैनन्, न त तिनीहरू सत्यता अभ्यास गर्ने प्रयास नै गर्छन्, त्यसैले तिनीहरूको भ्रष्ट स्वभाव समाधान गर्न वा हटाउन सकिँदैन। तिनीहरूले कोसिस गरे पनि आफ्नो भ्रष्ट स्वभाव लुकाउन सक्दैनन्, र चाहे पनि त्यसलाई ढाकछोप गर्न सक्दैनन्। यसो हुनुको कारण के हो भने, भ्रष्ट मानवहरू सबैलाई शैतानले भ्रष्ट तुल्याएको छ, चाहे तिनीहरू गैरविश्‍वासीहरू हुन् वा परमेश्‍वरमा विश्‍वास गर्नेहरू, तिनीहरूको भ्रष्ट शैतानी स्वभावको सार वास्तवमा एउटै हुन्छ र तिनीहरू सबै हैसियत, छवि, लाभ र चाहनाका लागि जिउँछन्। मानिसहरू केका खातिर बहस गर्छन्? तिनीहरू किन कुनै कुराका लागि एकअर्कासँग मारपिट गर्छन्? यो सबै यही कुराहरूका लागि हुन्, र चाहे जुनसुकै विधि, तरिका वा स्वरूप अपनाइए पनि, लक्ष्य वास्तवमा एउटै हुन्छ। शैतानलाई किन हावामा फालियो? (किनभने त्यसले परमेश्‍वरसँग हैसियतका लागि प्रतिस्पर्धा गर्‍यो।) शैतानको वास्तविक अनुहार यही नै हो। अचेल, शैतानका “वंशाणु” भ्रष्ट मानवमा सारिएका छन्, यसले तिनीहरूलाई भ्रष्ट बनाइरहेको छ, त्यसैले मानिसहरू शैतानजस्तै बनेका छन्, तिनीहरूले शैतानको रूप धारण गरेका छन्, र उनीहरूले जिउने कुरा शैतान जस्तै छ। यदि तँ शैतानको प्रकृति सारभित्रका भ्रष्ट स्वभावहरूलाई चिन्न सक्छस् अनि तिनलाई एक-एक गरी समाधान गर्न सक्छस् भने, तैँले मुक्ति पाउनेछस् र शैतानको प्रभावबाट उम्कन सक्नेछस्। के भ्रष्ट स्वभावका समस्या समाधान गर्न कठिन छ? (सत्यता पछ्याउनेहरूका लागि त्यो कठिन छैन, तर प्रायजसो हामी सत्यता अभ्यास गर्न इच्छुक हुँदैनौँ, र आफ्नै इच्छाअनुसार मात्रै कार्य गर्छौँ। अनिच्छापूर्वक सत्यताअनुसार अभ्यास गर्नुअघि, हामीलाई काटछाँट गरिँदा, हामी नकारात्मक बन्छौँ र केही समय दुःखी हुन्छौँ।) सत्यतालाई प्रेम नगर्ने सबै जना यस्तै हुन्छन् र सत्यतालाई अलिकति अभ्यास गराउनका लागि मात्रै पनि तिनीहरूलाई अरूले आग्रह गर्नुपर्छ, तान्नु र ठेल्नुपर्छ। सत्यता अभ्यास गर्ने कुरामा सबभन्दा ठूलो कठिनाइ के हो? अहिले कतिपय मानिसहरूले सबभन्दा ठूलो कठिनाइ मुख्य रूपमा भ्रष्ट स्वभावबाट निस्कने बाधाहरू हुन् भनेर स्पष्टसँग देख्न सक्छन्। त्यो मानिसहरूको प्रसिद्धि, लाभ, हैसियत, आडम्बर र छविप्रतिको मोहको कारण नै हो। मानिसहरूबीच हुने संवाद, विवाद र बहस को वरिष्ठ हो भनेर हेर्ने प्रतिस्पर्धा हो—जसले अर्को पक्षलाई विश्‍वस्त बनाउन सक्छ, ऊ राम्रो देखिन्छ। तिनीहरू सबै कोसँग अन्तर्दृष्टि, सक्षमता वा अख्तियार छ र अन्तिम निर्णय कसको हुनेछ भन्‍नेबारे प्रतिस्पर्धा हुन्। यी कुराहरूमा हुने प्रतिस्पर्धाको कुनै अन्त छैन र यी सबको पछाडि शैतानको स्वभाव लुकेको हुन्छ, जुन प्रसिद्धि, लाभ र हैसियतका लागि जिउँछ। यो कुरा छर्लङ्ग देखेमा समस्या सजिलैसँग समाधान हुन सक्छ। कम्तीमा पनि, समाधान गर्न सहज ती सतही तहका कुराहरूलाई समाधान गर् र त्यसपछि बिस्तारै-बिस्तारै परमेश्‍वरको बारेमा तेरो भित्री हृदयमा रहेका गलतफहमी, अनुमान, शङ्का र गुनासाहरू समाधान गर्, साथै त्यहाँ लुकेका विरोध, परीक्षा र प्रतिस्पर्धाको भावनालाई पनि समाधान गर्। यी कुराहरू पूर्ण रूपमा समाधान भएपछि, तँ अय्यूबजस्तै बन्नेछस्, परमेश्‍वरको नजरमा एउटा सिद्ध व्यक्ति बन्नेछस्। परमेश्‍वरले अय्यूब सिद्ध व्यक्ति थियो भनेर किन भन्नुभयो? परमेश्‍वरले उसलाई लिनुभएको परीक्षालाई हेर्दा हामी के देख्न सक्छौँ भने, परमेश्‍वरको कुरा आउँदा ऊभित्र कुनै विरोध वा परीक्षाको भावना थिएन। आफ्नो जीवनअवधिमा र सबथोकमा परमेश्‍वरको सार्वभौमिकता अनुभव गर्दाको समयमा, उसका विद्रोहीपन र प्रतिरोधजस्ता कुराहरू सबै काटछाँट गरेर समाधान गरिए। यी नकारात्मक कुराहरू समाधान भएपछि, उसले परमेश्‍वरका परीक्षाहरू सामना गर्दा उसको व्यवहार सम्पूर्ण भ्रष्ट मानवजातिभन्दा बिलकुलै भिन्न थियो। के उसले परीक्षाहरू सामना गर्दा भनेको “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” धर्मसिद्धान्त हो त? पक्कै पनि होइन। यी शब्दहरूमा वजन छ, र यसभन्दा पहिले यी शब्दहरू कसैले बोलेको थिएन। यी शब्दहरू सबभन्दा पहिले अय्यूबले नै बोलेको थियो र यो उसकै व्यक्तिगत अनुभवहरूबाट आएको थियो।

आफूले दैनिक रूपमा यति धेरै भ्रष्टता प्रकट गरेको र त्यति परिवर्तित नभई, आफू सधैँ शैतानी स्वभावहरूमाझ जिएको देख्दा, के तिमीहरू चिन्तित हुन्छौ। (हो, म चिन्तित हुन्छु, र कहिलेकाहीँ पीडा महसुस गर्छु।) यातना महसुस गर्नु र चिन्ता गर्नु पनि सामान्य कुरा हो। तर तैँले जतिसुकै चिन्ता वा पीडा महसुस गरे पनि, तँ शान्त रहनुपर्छ र आफ्नो भ्रष्ट स्वभाव कसरी समाधान गर्ने भनेर खोज्नुपर्छ। यो नै सही मनस्थिति हो। यदि तँ वर्षौँदेखि पीडा महसुस गरिरहेको छस् र तेरो भ्रष्ट स्वभाव अझै पनि समाधान भएको छैन भने, यसले काम गर्ने छैन र पीडाको यो भावना बेकार छ। तैँले यी कुरा मनन गर्नुपर्छ, “मेरा कुन समस्याहरू समाधान भएका छन् त? मेरा कुन भ्रष्ट स्वभावहरू समाधान भएका छन् त? कुन मामिलाहरूमा मैले परमेश्‍वरबारे गुनासो गर्न छोडेको छु?” तैँले सधैँ आफूलाई यो कुरा सोध्नुपर्छ। यदि तँ “यस्तो कुरा सामना गर्दा म सधैँ गुनासो र गनगन गर्थेँ, र परमेश्‍वरबारे गलतफहमी पाल्थेँ, तर फेरि यस्तो हुँदा म अहिले गुनासो गर्दिनँ र परमेश्‍वरबारे कुनै पनि गलतफहमी पाल्दिनँ,” भन्छस् भने, यसले तैँले आफ्नो समय बरबाद गरेको छैनस् भनी देखाउँछ। एकपटक तैँले सत्यता बुझेर प्राप्त गरेपछि, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति फरक हुनेछ र स्वाभाविक रूपमै तँसँग परमेश्‍वरको डर मान्ने हृदय र समर्पणकारी मनस्थिति हुनेछ। यो सामान्य शिष्टता होइन, न त यो परबाट आदर देखाउनु, वा तृष्णा, प्रेम, लगाव र निर्भरता नै हो; यो केवल यी कुराहरू मात्र होइन, यो वास्तविक डर हो। आजका भ्रष्ट मानवजातिका लागि परमेश्‍वरको डर मान्नेबारे कुरा गर्नु अझै पनि असामयिक नै हुन्छ, यो निकै टाढाको कुरा हो। त्यसैले, तिमीहरूले अहिले सबभन्दा पहिले के पछ्याउनुपर्छ त? जेसुकै भए पनि परमेश्‍वरलाई शङ्का नगर्नु। शङ्कालु हुनबाट तिमीहरू कसरी जोगिन सक्छौ त? सबभन्दा पहिले, तिमीहरूले परमेश्‍वरका अभिप्राय के हुन् र सत्यता के हो भनेर जान्नुपर्छ। दोस्रो, कुराहरू तिमीहरूको धारणाअनुरूप नहुँदा परमेश्‍वरबारे गुनासो नगर्नू वा उहाँबारे कुनै गलतफहमी नराख्नू। कुनै पनि गलतफहमी पैदा हुनबाट तिमीहरू कसरी बच्न सक्छौ? तिमीहरूले सत्यता बुझ्न जरुरी छ, र त्यसपछि बिस्तारै, परमेश्‍वरबारे आफूभित्र रहेका धारणा र गलत बुझाइलाई एक-एक गरी चिर्दै सुल्झाउनुपर्छ। अनि त्यो दिन आउनेछ जब तैँले सामना गर्ने जाँच वा परीक्षा जतिसुकै ठूलो भए पनि तैँले प्रतिरोध गर्नेछैनस्, उल्टै तँमा परमेश्‍वरको डर मान्ने हृदय हुनेछ र उहाँले तँलाई जसरी जाँच्नु भए पनि तँ समर्पित हुन सक्षम हुनेछस्। त्यसपछि तँ सफल भएको हुनेछस्। तिमीहरू अहिले कुन चरणमा छौ? कुनै कुरा आइपर्दा, तँ यसो सोच्छस्, “के यो परमेश्‍वरले नै गर्नुभएको हो त? के उहाँले यसो गर्नु सही हो त?” वा कहिलेकाहीँ यसो समेत सोच्छस्, “परमेश्‍वर कहाँ हुनुहुन्छ? के परमेश्‍वर हुनु पनि हुन्छ? म किन उहाँलाई महसुस गर्न सक्दिनँ?” यस्ता धेरै सोच र स्थितिहरू आउँछन्, र यो ठीक होइन, किनभने तँ सिद्ध पारिने बाटोमा लाग्नबाट अझै पनि धेरै टाढा छस्। तैँले आफ्नो खोजीमा निकै मेहनत गर्नुपर्छ, किनभने हाल तेरो कद अझै पनि निकै सानो छ, सत्यता वास्तविकता प्राप्त गर्ने स्तरबाट टाढा छ। तँ ठीक छस्, तँसँग केही वास्तविकताहरू छन्, अनि तँ स्वर्ग जान अनि स्वर्गदूत बन्न सक्छस् भन्‍ने नसोच्। तँसँग भएका थोरै वास्तविकता अझै पनि निकै कम छन्, तँलाई पखेटा लगाइदिए पनि तँ स्वर्गदूत हुँदैनस्। आफूलाई धेरै राम्रो र अति उच्च नसोच्, तँमा केही आत्मचेतना हुनुपर्छ। के तँ परमेश्‍वरको गवाही दिन सक्छस्? के तँ परमेश्‍वरको उपयोगमा आउन योग्य छस्? यस मापदण्डका आधारमा मापन गर्दा, तँ अझै पनि परमेश्‍वरको मागबाट निकै पर छस्, र तँलाई अझै कयौँ वर्षको अनुभव चाहिन्छ।

मार्च ११, २०१८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्