सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ (भाग दुई)

के सत्यता पछ्याउनु कुनै विद्वत्‌ विषयको अध्ययन गर्नुजत्तिकै जटिल वा गाह्रो छ? यो वास्तवमा त्यति गाह्रो छैन, यो केवल व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍नेमा भर पर्छ। सत्यता पछ्याउन आफैमा गाह्रो छैन; यसका लागि विज्ञानको विशेष क्षेत्रको अध्ययन गर्नुभन्दा कम परिश्रम लाग्छ—यो जीविकोपार्जन गर्नुभन्दा पनि सजिलो छ। त्यस्तो किन हुन्छ? सत्यताको वास्तविकता भनेको सामान्य मानवता भएकाहरूले जीउनुपर्ने र तिनीहरूसँग हुनुपर्ने कुरा हो। यो मानिसहरूको सामान्य मानवतासँग सम्बन्धित छ, त्यसैले यो तिनीहरूका विचार र अवधारणाहरूबाट, तिनीहरूले सोच्ने सबै कुराबाट, तिनीहरू दैनिक जीवनमा संलग्न हुने सबै कार्य र व्यवहारहरूबाट, वा तिनीहरूको मन-मस्तिष्कबाट असम्बन्धित हुँदैन। सत्यता कुनै सिद्धान्त होइन, न त यो कुनै प्राज्ञिक क्षेत्र हो, न यो कुनै पेशा हो। सत्यता रित्तो छैन। सत्यता सामान्य मानवतासँग घनिष्ठ रूपमा सम्बन्धित छ—सत्यता भनेको सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने जीवन हो। यसले तेरा त्रुटिहरू, तेरा खराब बानीहरू, र तेरा नकारात्मक र गलत विचारहरू सबै सच्याउन सक्छ। यसले तेरो शैतानी स्वभाव रूपान्तरित गर्न सक्छ, यो तेरो जीवन बन्न सक्छ, यसले तँलाई मानवता र तर्कसङ्गतता प्राप्त गर्न सक्षम बनाउन सक्छ, यसले तेरा विचार र तेरो मानसिकता सामान्य बनाउन सक्छ—यसले तेरो हरेक भाग सामान्य बनाउन सक्छ। सत्यता तेरो जीवन बनेमा, तैँले जिउने कुराहरू र तेरा मानवताका सबै अभिव्यक्ति सामान्य हुनेछन्। त्यसकारण, सत्यता पछ्याउने र अभ्यास गर्ने कार्य कुनै अस्पष्ट र अकल्पनीय कुरा होइन, न त यो विशेष गाह्रो कुरा नै हो। अहिले, तिमीहरूले सत्यतालाई अलिअलि प्रेम गरे पनि र तिमीहरू अझै राम्रो बन्ने प्रयास गर्न इच्छुक भए पनि, तिमीहरूले अझै यो मार्ग छोएका पनि छैनौ। पहिलो कदम सधैँ सबैभन्दा कठिन हुन्छ। जबसम्म तिमीहरूले सत्यता अभ्यास गर्न र यसको मिठास चाख्‍न सक्छौ, तबसम्म तिमीहरूले सत्यता पछ्याउनु सजिलो कुरा हो भन्‍ने नै सोच्नेछौ।

यदि व्यक्तिले सत्यतालाई आफ्नो जीवनको रूपमा लिँदैन र सधैँ भ्रष्ट स्वभावमा जीवन बिताउँछ भने, त्यो कुरा कसरी प्रकट हुन्छ? जब व्यक्तिले सत्यता प्राप्त गरेको हुँदैन, तिनीहरूसँग प्राकृतिक रूपमा आफ्नो शैतानी प्रकृतिको बाधा र बन्धनहरू हटाउने कुनै उपाय हुँदैन। स्वाभाविक रूपमै, तिनीहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू भनेका अहङ्कार र घमण्ड, मनपरीतन्त्र, स्वेच्छाचारी र लापरवाही व्यवहार, झुट र धोका, कपट र छल, प्रतिष्ठा र हितहरूको लालच, अनि केवल नाफाको खोज, र स्वार्थ र नीचता हुन्। यसबाहेक, तिनीहरू अरू मानिसहरूसँगको व्यवहारमा अविश्‍वास, आलोचना र आक्रमण गर्नमा अग्रसर हुन्छन्। तिनीहरू सधैँ आफ्ना प्राथमिकताहरूमा आधारित भएर बोल्‍ने र कार्य गर्ने गर्छन्; तिनीहरूसँग सधैँ व्यक्तिगत अभिप्राय र उद्देश्यहरू हुन्छन्, र तिनीहरूसँग सधैँ अरूको बारेमा पूर्वकल्पित धारणाहरू हुन्छन्। अवरोध वा असफलता सामना गर्दा तिनीहरू सधैँ नकारात्मक हुन्छन्। कहिलेकाहीँ, तिनीहरू अहङ्कारीभन्दा परका हुन्छन्; कहिलेकाहीँ, तिनीहरू यति नकारात्मक हुन्छन् कि तिनीहरूले आफैलाई खाडलमा गाड्न सक्छन्। तिनीहरू जहिले पनि चरम सीमामा पुग्छन्—यदि तिनीहरू दाह्रा देखाइरहेका र नङ्ग्रा निकालिरहेका छैनन् भने, तिनीहरू नकारात्मक भइरहेका र दयनीय व्यवहार देखाउन खोजिरहेका हुन्छन्। तिनीहरू कहिल्यै सामान्य हुँदैनन्। अहिले तिमीहरू भएको स्थिति यही हो। तिमीहरू दुःख भोग्न र मूल्य चुकाउन तयार छौ, र तिमीहरू सङ्कल्प र दृढताले भरिपूर्ण छौ, तर तिमीहरूसँग सत्यता वास्तविकता छैन। यदि कसैले सत्यता वास्तविकतालाई आफ्नो जीवनको रूपमा लिन्छ भने, त्यो कसरी प्रकट हुन्छ? सबैभन्दा पहिले, तिनीहरू परमेश्‍वरमा समर्पित हुन, र मानव स्वरूपमा जिउन सक्षम हुनेछन्; तिनीहरू जीवन स्वभाव परिवर्तन भएका इमानदार व्यक्ति हुनेछन्। जीवन स्वभावमा परिवर्तनका धेरै विशेषताहरू छन्। पहिलो विशेषता भनेको सही र सत्यताअनुरूप रहेका कुराहरूमा समर्पित हुन सक्षम हुनु हो। वृद्ध वा जवान जसले विचार राखे पनि, तेरो उनीहरूसँग तालमेल मिलोस् वा नमिलोस्, तिमीहरू उनीहरूलाई चिन वा नचिन, उनीहरूसँग परिचित होऊ वा नहोऊ, वा तिमीहरूको उनीहरूसँग सम्बन्ध राम्रो होस् वा खराब, जबसम्म उनीहरूले भनेको कुरा सही, सत्यताअनुरूप, र परमेश्‍वरको घरको काममा लाभदायी हुन्छ, तबसम्म तँ कुनै पनि कुराको प्रभावमा नपरी त्यो सुन्‍न, अपनाउन र स्विकार्न सक्षम हुन्छस्। सही र सत्यताअनुरूप रहेका कुराहरू स्विकार्न र तिनमा समर्पित हुन सक्षम हुनु नै पहिलो विशेषता हो। दोस्रो विशेषताचाहिँ केही कुरा आइपर्दा सत्यता खोज्न सक्षम हुनु हो; यो सत्यता स्विकार्न सक्षम हुनु मात्र नभई, सत्यता अभ्यास गर्ने, र आफ्नो इच्छाअनुसार मामिलाहरू नसम्हाल्‍ने कुरा पनि हो। तँलाई जेसुकै हुँदा पनि, तैँले ती कुराहरू स्पष्टसित नबुझेमा खोजी गर्न सक्छस्, र तैँले कसरी समस्या सम्हाल्ने र कसरी सत्यता सिद्धान्तअनुरूप र परमेश्‍वरका मापदण्डहरू पूरा हुने गरी अभ्यास गर्ने भनेर हेर्न सक्छस्। तेस्रो विशेषताचाहिँ तैँले जुनसुकै समस्या सामना गरे पनि परमेश्‍वरका अभिप्रायलाई विचार गर्नु, र परमेश्‍वरप्रति समर्पित हुन देहविरुद्ध विद्रोह गर्नु हो। जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्नेछस्, र तैँले परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नेछस्। यस कर्तव्यका लागि परमेश्‍वरका मापदण्डहरू जेसुकै भए पनि, तैँले यो कर्तव्य निभाउँदा ती मापदण्डहरूअनुसार नै व्यवहार गर्नेछस्, र तैँले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनकै लागि काम गर्नेछस्। तैँले यो सिद्धान्त बुझ्नैपर्छ, र आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक र निष्ठापूर्वक निर्वाह गर्नैपर्छ। परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्नु भनेको त्यही हो। यदि तँलाई कुनै निश्‍चित मामिलामा कसरी परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्ने वा परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने भनेर थाहा छैन भने, तैँले खोजी गर्नैपर्छ। तिमीहरूले स्वभावगत परिवर्तनका यी तीन विशेषताहरूसँग आफूलाई दाँज्नुपर्छ, र तिमीहरूसँग यी विशेषताहरू छन् कि छैनन् भनेर हेर्नुपर्छ। यदि तिमीहरूसँग यी तीन क्षेत्रहरूमा व्यावहारिक अनुभव र अभ्यासका मार्गहरू छन् भने, तिमीहरूले सिद्धान्तअनुरूप मामिलाहरू सम्हालिरहेका हुनेछौ। तिमीहरूलाई जे आइपरे पनि वा तिमीहरूले जुनै समस्या सम्हालिरहेका भए पनि, तिमीहरूले सधैँ अभ्यासका सिद्धान्तहरू के-के हुन्, प्रत्येक सत्यता सिद्धान्तमा के-कस्ता कुराहरू समावेश छन् र सिद्धान्तहरू उल्लङ्घन नगरी कसरी अभ्यास गर्ने भन्‍नेबारेमा खोजी गर्नैपर्छ। यी समस्याहरूमा स्पष्टता हासिल गरिसकेपछि, तिमीहरूले स्वाभाविक रूपमै कसरी सत्यता अभ्यास गर्ने भनेर थाहा पाउनेछौ।

जब सबै कुरा ठिक हुन्छ, कतिपय मानिसहरू कुनै स्पष्ट भ्रष्ट स्वभावहरू प्रकट नगर्नेजस्ता देखिन्छन्, र यसकारण, तिनीहरूले आफू असल भएको, आफू परिवर्तित भएको, र आफूमा सत्यता वास्तविकता भएको सोच्छन्। तर जब तिनीहरूमाथि परीक्षाहरू वा सत्यता सिद्धान्तहरू समावेश भएका महत्त्वपूर्ण मामलाहरू आइपर्छन्, तिनीहरूको भ्रष्ट स्वभाव आफै प्रकट भइहाल्छ। तिनीहरू अभ्यास गर्ने उचित तरिका नजानेर र कठिनाइहरूद्वारा घेरिएर नकारात्मकता र अन्योलमा डुब्छन्। उदाहरणका लागि, इमानदार व्यक्ति बन्‍नु र सत्य बोल्नु भनेको सत्यता अभ्यास गर्नु हो। जब तँ सत्य बोल्ने प्रयास गर्छस्, तैँले के-कस्ता कठिनाइहरू सामना गर्छस्? तँ के-कस्ता अवरोधहरूको सम्‍मुख हुन्छस्? तँलाई बाधा दिने, बाँध्‍ने, र सत्य बोल्नबाट रोक्‍ने कुराहरू कुन-कुन हुन्छन्? घमण्ड, हैसियत, आडम्बर, साथै तेरा भावनाहरू, र व्यक्तिगत प्राथमिकताहरू—यी सबै कुराहरू जुनसुकै बेला पनि उत्पन्न हुन सक्छन्, र यी कुराले मानिसहरूलाई पछाडि नै रोकिराख्छन् र तिनीहरूलाई सत्यता अभ्यास गर्नमा अवरोध गर्छन्। यी कुराहरू भ्रष्ट स्वभावहरू हुन्। तँ जस्तोसुकै अवस्थामा भए पनि, भ्रष्ट स्वभावले तेरो स्थितिलाई असामान्य बनाइदिन सक्छ, हरप्रकारका नकारात्मक कुराहरू पैदा गर्न सक्छ, तँलाई हरतरिकाले बाँध्न र नियन्त्रण गर्न सक्छ, र तँलाई पछाडि रोकिराखेर सत्यता अभ्यास गर्न र परमेश्‍वरको सेवा गर्न गाह्रो बनाउन सक्छ। यो सबैले तँलाई निकै थकित महसुस गराउनेछ। सतहमा, मानिसहरू स्वतन्त्र देखिन्छन्, तर तिनीहरू वास्तवमा आफ्नो भ्रष्ट, शैतानी स्वभावद्वारा बाँधिएका हुन्छन्। तिनीहरूसँग छनौट गर्ने कुनै स्वतन्त्रता हुँदैन, तिनीहरूलाई एक कदम चाल्न पनि अत्यन्तै गाह्रो हुन्छ, र तिनीहरू थकित जीवन बिताउँछन्। धेरैजसो समय, यदि सत्य बोल्‍नु वा कुनै पनि व्यावहारिक काम गर्नुपर्‍यो भने, तिनीहरूले धेरै प्रयास गर्नुपर्छ। तिनीहरूले चाहेर पनि आफ्नो कर्तव्य राम्रोसँग निभाउन वा परमेश्‍वरप्रति बफादार हुन सक्दैनन्, र यदि तिनीहरू सत्यता अभ्यास गर्न वा परमेश्‍वरको गवाही दिन चाहन्छन् भने, त्यो अझै गाह्रो हुनेछ। कस्तो थकाइलाग्दो! के तिनीहरू आफ्नो भ्रष्ट, शैतानी स्वभावको पिँजरामा जिइरहेका छैनन् र? के तिनीहरू शैतानको अँध्यारो प्रभावमा जिइरहेका छैनन्‌ र? (छन्।) त्यसो भए, मानिसहरूले यसलाई कसरी हटाउन सक्छन्? के सत्यता अभ्यास गर्नु र जीवन प्रवेश प्राप्त गर्नुबाहेक के कुनै अर्को मार्ग छ? बिल्कुलै छैन। के परम्परागत संस्कृतिको ज्ञानले मानिसहरूलाई मुक्ति दिन र शैतानको प्रभावबाट मुक्त गर्न सक्छ? के बाइबलको ज्ञानको बुझाइले त्यो गर्न सक्छ? के आत्मिक धर्मसिद्धान्तहरू बोल्न सक्षम हुनुले त्यो गर्न सक्छ? अहँ, यीमध्ये कुनै पनि कुराले मानिसहरूलाई मुक्ति दिन र शैतानको प्रभावबाट मुक्त गर्न सक्दैन। परमेश्‍वरको काम र परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताहरू स्विकार्दा मात्र भ्रष्ट स्वभावको समस्या समाधान गर्न सकिन्छ; तब मात्र मानिसहरूले सत्यताको बुझाइ प्राप्त गर्न, सत्यता प्राप्त गर्न र शैतानको प्रभावबाट मुक्त हुन सक्छन्। यदि कोही असल व्यक्ति बन्न र केही नराम्रो कुरा नगर्न लागिपर्छ, तर उसले आफ्नो स्वभाव परिवर्तन गर्दैन भने, के ऊ शैतानको प्रभावबाट मुक्त हुन सक्छ? के मान्छेले ताओ ते चिङ, बौद्ध धर्मग्रन्थ वा परम्परागत संस्कृति अध्ययन गरेर सत्यता प्राप्त गर्न सक्छ? के तिनीहरूले परमेश्‍वरलाई चिन्न सक्छन्? के तिनीहरूले परम्परागत संस्कृति अवलम्बन गरिरहे तर सत्यता पछ्याएनन् भने तिनीहरूको भ्रष्ट स्वभाव पखालिन सक्छ? के तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्? त्यसो गर्ने मानिसहरूले आफैलाई धोका दिइरहेका छन्, र तिनीहरूले आफ्नो कुनै पनि समस्या समाधान गर्न सक्दैनन्। धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका धेरै मानिसहरू छन्, तर तिनीहरूको विश्‍वास अझै अस्पष्ट छ। तिनीहरू सत्यता पछ्याउन कुनै चासो राख्दैनन्; तिनीहरू केवल आफ्नो कर्तव्य निभाएर नै सन्तुष्ट छन्। तिनीहरू सोच्छन् कि जबसम्म तिनीहरूले कुनै दुष्ट काम गर्दैनन्, वा कम दुष्टता गर्छन्, र जबसम्म तिनीहरूले राम्रा र परोपकारी कामहरू अझ धेरै गर्छन्, जबसम्म तिनीहरूले अरूलाई प्रेमिलो रूपमा मद्दत गर्न अझ धेरै काम गर्छन्, जबसम्म तिनीहरूले मण्डली छोड्ने वा परमेश्‍वरलाई धोका दिने गर्दैनन्, तबसम्म त्यसले अरू मानिसहरूलाई खुसी पार्नेछ, र परमेश्‍वरलाई प्रसन्न तुल्याउनेछ, र तिनीहरू परमेश्‍वरको राज्यका भागीदार हुनेछन्। के यो विचार मान्य छ? के असल व्यक्ति बन्‍ने कार्यले मान्छेलाई आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्षम पार्न सक्छ? के तिनीहरूले यसरी मुक्ति प्राप्त गर्न सक्छन्? के राज्यमा तिनीहरूको भागीदारी हुनेछ? तिमीहरू सबैले देख्न सक्छौ, संसारमा धेरै तथाकथित “असल मानिसहरू” छन्, जो उच्च आदर्शका शब्दहरू बोल्छन्—सतहमा, तिनीहरूले कुनै ठूलो दुष्कर्म गरेजस्तो देखिँदैन, तर तिनीहरू वास्तवमा औधी छली र कुटिल हुन्छन्। तिनीहरू जता हावा बग्यो उतै बग्नमा सिपालु हुन्छन्, तिनीहरू चिप्लो र चतुर रूपमा बोल्छन्। तिनीहरू झूटा असल मानिसहरू र ढोँगीहरू हुन्—तिनीहरू केवल असल भएको नाटक गरिरहेका हुन्छन्। मध्यमार्गीहरू सबैभन्दा कपटी मानिसहरू हुन्। तिनीहरू कसैलाई चिढ्याउँदैनन्, तिनीहरू चिप्लो र चतुर हुन्छन्, तिनीहरू सबै परिस्थितिहरूमा मिल्न सिपालु हुन्छन्, र कसैले पनि तिनीहरूको गल्ती देख्न सक्दैन। तिनीहरू जीवित शैतानहरूजस्तै हुन्छन्! के तिमीहरूमाझ यस्ता मानिसहरू छन्? (छन्।) के तिमीहरूलाई यसरी जिउनु थकाइलाग्दो हुन्छ जस्तो लाग्दैन? (हो, यो थकाइलाग्दो हुन्छ।) त्यसो भए, के तिमीहरूले परिवर्तन हुने तरिका सोचेका छौ? तिमीहरू कसरी परिवर्तन हुन्छौ? यसमा सफलताको सुरुवात कहाँ-कसरी गर्नुपर्छ? (सत्यता अभ्यास गरेर।) “सत्यता अभ्यास गरेर” वा “सत्यता बुझेर” वा “सत्यता वास्तविकतामा प्रवेश गरेर” नभन। यो ठूलो गफ हो, र यो मानिसको पहुँचबाहिर छ, त्यसैले यी शब्दहरू रित्ता लाग्‍छन्। बरु, हामीले विस्तृत विवरणबाट सुरु गर्नुपर्छ। (एक इमानदार व्यक्ति भएर।) त्यो ठोस अभ्यास हो। एक इमानदार व्यक्ति बन्‍नु, वा अलि विस्तृत विवरण दिँदा: एक सरल र खुला व्यक्ति बन्‍नु, जो कुनै पनि कुरा ढाकछोप गर्दैन, जो झूट बोल्दैन, जो शब्दहरू घुमाएर बोल्दैन, र एक सीधा व्यक्ति बन्‍नु, जोसित न्यायको बोध छ र जो सत्य बोल्न सक्छ। मानिसहरूले पहिला यो कुरा हासिल गर्नुपर्छ। मानौँ, एउटा दुष्ट व्यक्तिले मण्डलीको काम बिथोलिरहेको छ, र यो परिस्थितिलाई राम्रोसँग बुझ्नका लागि एक अगुवा तँकहाँ आउँछ। तँलाई यो कसले गरेको हो भन्‍ने थाहा छ, तर त्यो व्यक्तिसँग तेरो राम्रो सम्बन्ध भएकोले र तैँले उसलाई चिढ्याउन नचाहेकोले, तँ झूट बोल्छस् र तँलाई थाहा छैन भनेर भन्छस्। अगुवाले थप विवरणहरू माग्छ, र तँ त्यो दुष्ट व्यक्तिलाई ढाक्‍ने बहाना बनाउँदै कुरा घुमाउँछस्। के त्यो छलपूर्ण हुँदैन र? तैँले अगुवालाई परिस्थितिबारे सत्य बताइनस्, बरु कुरा लुकाइस्। तँ किन यस्तो गर्छस्? किनभने तँ कसैलाई चिढ्याउन चाहँदैनस्। तैँले अन्तरवैयक्तिक सम्बन्ध रक्षा गर्नु र कसैलाई नचिढ्याउनुलाई पहिलो प्राथमिकता दिन्छस्, र तैँले सत्य बोल्नु र सत्यता अभ्यास गर्नुलाई अन्तिममा राख्छ्स्। तँ केद्वारा नियन्त्रित भइरहेको छस्? तँ तेरो शैतानी स्वभावद्वारा नियन्त्रित भइरहेको छस्, यसले तेरो मुख बन्द गरेको छ र तँलाई सत्य बोल्नबाट रोकेको छ—तँ तेरो शैतानी स्वभावद्वारा मात्र बाँच्न सक्षम छस्। भ्रष्ट स्वभाव भनेको के हो? भ्रष्ट स्वभाव भनेको शैतानी स्वभाव हो, र आफ्नो भ्रष्ट स्वभावद्वारा जिउने व्यक्ति जीवित शैतान हो। तिनीहरूको बोलीमा सधैँ परीक्षाहरू हुन्छन्, त्यो सधैँ घुमाउरो हुन्छ, र कहिल्यै सीधा हुँदैन; कुटेर मारे पनि तिनीहरू सत्य बोल्दैनन्। जब व्यक्तिको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ, तब यस्तो हुन्छ; तिनीहरूले पूर्णतया आफ्नो मानवता गुमाउँछन् र दियाबलस बन्छन्। तिमीहरूमध्ये धेरैले अरूसँगको आफ्नो सम्बन्ध, र अरू मानिसहरूमाझको आफ्नो हैसियत र प्रतिष्ठा सुरक्षित गर्नका निम्ति परमेश्‍वरलाई चिढ्याउन र धोका दिन रुचाउँछौ। के यसरी काम गर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्छ? के तिनीहरू सत्यता पछ्याउने व्यक्तिहरू हुन्? तिनीहरू त आँखा खोलेरै परमेश्‍वरलाई धोका दिने, र अलिकति पनि परमेश्‍वरको डर मान्ने हृदय नभएका व्यक्तिहरू हुन्। तिनीहरू परमेश्‍वरलाई धोका दिने दुस्साहस गर्छन्; तिनीहरूको महत्वाकाङ्क्षा र विद्रोह साँच्चै ठूलै हुनुपर्छ! त्यस्ता व्यक्तिहरूले प्रायजसो अझै पनि आफूले परमेश्‍वरलाई प्रेम गर्छु र परमेश्‍वरको डर मान्छु भन्‍ने सोच्छन् र प्रायः यसो भन्छन्: “जब म परमेश्‍वरबारे सोच्छु, म उहाँ कति विशाल, कति महान् र कति अथाह हुनुहुन्छ भनेर सोच्छु! परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, उहाँको प्रेम कति वास्तविक छ!” तैँले राम्रो सुनिने शब्दहरू बोल्न सक्छस्, तर तैँले कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा पुर्‍याएको देखिस् भने त्यसको खुलासा गर्दैनस्। तिमीहरू मान्छे रिझाउने व्यक्तिहरू हौ, परमेश्‍वरको घरको हित रक्षा गर्नुको सट्टा, आफ्नो ख्याति, लाभ र हैसियत मात्र रक्षा गर्छौ। मामिलाहरूको वास्तविक अवस्था थाहा पाउँदा पनि, तिमीहरू साँचो रूपमा बोल्दैनौ, तिमीहरू दुष्ट मानिसहरूको रक्षा गर्दै, कुरा घुमाउँछौ। यदि तँलाई सत्य बोल्न भनियो भने, त्यो तेरा लागि धेरै गाह्रो हुनेछ। सत्य बोल्नबाट बच्नका लागि, तँ धेरै नचाहिने कुरा बोल्छस्! जब तँ बोल्छस्, तँ कुरा घुमाएको घुमाई गर्छस्, तँ धेरै विचार खर्चन्छस्, र यस्तो थकाइलाग्दो तरिकामा बाँच्छस्, र यो सब आफ्नै प्रतिष्ठा र गौरव रक्षा गर्न गर्छस्! के यस्तो व्यवहार गर्ने मानिसहरूबाट परमेश्‍वर प्रसन्न हुनुहुन्छ? परमेश्‍वर छली मानिसहरूलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। यदि तँ शैतानको प्रभावबाट मुक्त हुन र मुक्ति प्राप्त गर्न चाहन्छ्स् भने, तैँले सत्यता स्विकार्नैपर्छ। तैँले यो कुरा पहिला इमानदार व्यक्ति बनेर सुरु गर्नुपर्छ। स्पष्ट हो, सत्य बता, आफ्नो भावनाको बन्धनमा नपर्, आफ्नो ढोँग र छललाई फाल्, सिद्धान्तअनुसार बोल् र मामिलाहरू सम्हाल्—यो जिउने सहज र आनन्दपूर्ण तरिका हो, र तँ परमेश्‍वरअघि जिउन सक्षम हुनेछस्। यदि तँ सधैँ शैतानी दर्शनअनुसार जिउँछस्, र दिनहरू कटाउन सधैँ झूट र छलमा भर पर्छस् भने, तँ शैतानको शक्तिमुनि जिइरहेको हुनेछस्, र तँ अन्धकारमा जिइरहेको हुनेछस्। यदि तँ शैतानको संसारमा जिउँछस् भने, झन्-झन् छली हुनेछस्। तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तैँले धेरै प्रवचनहरू सुनेको छस्, तर तेरो भ्रष्ट स्वभाव अझै पखालिएको छैन, र तँ अहिले पनि आफ्नो शैतानी स्वभावले जिइरहेको छस्—के तँलाई यसबाट घृणा लाग्दैन? के तँलाई लाज लाग्दैन? तैँले जति समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, यदि तँ अझै पनि गैरविश्‍वासीजस्तै छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ भयो? के तैँले यसरी परमेश्‍वरमा विश्‍वास गरेर साँच्चै मुक्ति पाउन सक्छस्? तेरो जीवन लक्ष्यहरू परिवर्तन भएका छैनन्, न त तँसँग सिद्धान्त र विधिहरू छन्; तँसँग भएको एउटा मात्र कुरा जुन एक गैरविश्‍वासीसँग छैन, त्यो “विश्‍वासी” को उपाधि हो। तैँले बाहिरी रूपमा परमेश्‍वरलाई पछ्याए पनि, तेरो जीवन स्वभावमा बिलकुलै परिवर्तन आएको छैन, र अन्त्यमा तैँले मुक्ति प्राप्त गर्नेछैनस्। के तँ व्यर्थमै आशा गरिरहेको छैनस् र? के परमेश्‍वरमाथिको यस प्रकारको विश्‍वासले तँलाई सत्यता र जीवन प्राप्त गर्न मद्दत गर्न सक्छ? बिलकुलै सक्दैन।

आज हामीले स्वभावगत परिवर्तनका तीन विशेषताहरूबारे सङ्गति गरेका छौं। ती तीन विशेषताहरूको सारसङ्क्षेप बताओ त। (पहिलो विशेषता भनेको सही र सत्यतासँग मेल खाने कुराहरू स्विकार्ने र त्यसमा समर्पित हुने क्षमता हो। दोस्रो विशेषता भनेको तँमाथि केही आइपर्दा सत्यता खोज्ने र त्यसलाई अभ्यास गर्ने, तर आफ्नै इच्छामा आधारित भएर मामिलाहरू सम्हाल्ने काम नगर्ने क्षमता हो। तेस्रो विशेषता भनेको जे सुकै आइपरे पनि परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्ने, देहको विरोध गर्ने र परमेश्‍वरप्रति समर्पित हुने क्षमता हो।) तिमीहरू सबैले यी तीन विशेषताहरूबारे मनन र सङ्गति गर्नुपर्छ। तिमीहरूले आफ्नो वास्तविक जीवनमा ती विशेषताहरूसँग आफूलाई तुलना गर्नुपर्छ, र तिनलाई अभ्यास गर्न र तिनमा प्रवेश गर्न आफैलाई प्रशिक्षित गर्नुपर्छ—यसरी तिमीहरू सत्यता प्राप्त गर्न र स्वभावगत परिवर्तन हासिल गर्न सक्षम हुनेछौ। सत्यताको जुनसुकै पक्ष सङ्गति गरिँदै गरिएको भए पनि, सत्यतालाई प्रेम गर्नेहरूले यो स्वीकार गर्न सजिलो हुनेछ। सत्यतालाई अभ्यास गर्न चाहनेहरू सत्यता हासिल गर्न सक्षम हुनेछन्, र सत्यता हासिल गर्नेहरू स्वभावगत परिवर्तन हासिल गर्न सक्षम हुनेछन्। विवेक वा समझ नभएकाहरू, जो सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरू सत्यता स्वीकार वा अभ्यास गर्न सक्दैनन्, त्यसैले तिनीहरूले सत्यता हासिल गर्न सक्नेछैनन्। कुनै व्यक्तिले सत्यता प्राप्त गर्न, वा स्वभावगत परिवर्तन हासिल गर्न सक्छ वा सक्दैन भन्‍ने कुरा, तिनीहरूको व्यक्तिगत पछ्याइमा निर्भर हुन्छ।

अगष्ट १६, २०१५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्