सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ (भाग एक)

जीवन प्रवेश भनेको के हो? यो तब हुन्छ, जब सत्यता बुझेर मानिसहरू परमेश्‍वरलाई चिन्‍न, उहाँमा समर्पित हुन, र आफ्ना भ्रष्ट स्वभावहरूलाई मनन गर्न र चिन्‍न अनि त्याग्‍न थाल्छन्, र यसरी सत्यतालाई व्यवहारमा उतार्न सक्षम बन्छन्। जब कोही सत्यता अभ्यास गर्न र परमेश्‍वरमा साँच्चै समर्पित हुन सक्षम हुन्छन्, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यता अभ्यास गर्न सक्‍नेहरू जीवन प्रवेश हासिल गरेकाहरू हुन्। सत्यता कसैको जीवन बन्नेबित्तिकै, तिनीहरूलाई कुनै पनि व्यक्ति, घटना, वा वस्तुले बन्धनमा पार्नेछैन—तिनीहरू साँच्चै परमेश्‍वरमा समर्पित हुन, र साँच्चै परमेश्‍वरलाई प्रेम गर्न र आराधना गर्न सक्षम हुनेछन्। सत्यता वास्तविकता र साँचो गवाही प्राप्त गर्नु भनेको यही हो; त्यो जीवन प्रवेशको अन्तिम परिणाम हो। यदि कुनै व्यक्तिले धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छ, तर अझै पनि शैतानी स्वभावसाथ जिँउछ, आफ्नै इच्छाअनुसार काम गर्छ, सत्यताको खोजी वा प्रार्थना गर्दैन, अलिकति पनि परिवर्तन नभई वर्षौँसम्म विश्‍वास गर्छ, र ऊ एक गैरविश्‍वासीभन्दा धेरै फरक छैन भने, त्यस्तो व्यक्तिले जीवन प्रवेश पाएको छैन, उसले सत्यता प्राप्त गरेको छैन, र उसले जीवन पनि प्राप्त गरेको छैन। यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तँ शैतानको शक्तिमुनि जिइरहेको छस्। तँ चाहेर पनि परमेश्‍वरमा समर्पित हुन, परमेश्‍वरलाई प्रेम गर्न, सत्यता अभ्यास गर्न वा दह्रिलो हुन सक्दैनस्। यदि तँ दह्रिलो हुन सक्दैनस् भने, तँ कस्तो स्थितिमा फस्नेछस्? के तँ सधैँ नकारात्मकताको स्थितिमा फस्नेछैनस् र? तँ सधैँ आफ्नो वातावरणबाट नियन्त्रित हुनेछस्, तँलाई आफूलाई हटाइने डर हुनेछ, परमेश्‍वर अप्रसन्‍न बन्‍नुहोला भन्‍ने डर हुनेछ, र यो वा त्यो कुराको डर हुनेछ, अनि तँ निष्क्रिय र अनिच्छुक रूपमा अलिअलि कर्तव्य निभाउनेछ्स्, र अलिअलि असल कर्महरू तयार गर्नेछ्स्। मुख्य गरी, तँलाई तान्दै, अगुवाइ गर्दै, लतारेर सँगै लगिनेछ, र तँभित्र क्रियाशील र सक्रिय भाग अत्यन्तै थोरै हुनेछ, त्यसैले तैँले आफ्नो कर्तव्य निभाउँदा प्राप्त गर्ने परिणामहरू असन्तोषजनक हुनेछन्। त्यस्ता मानिसहरू कहिल्यै पनि आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्षम हुँदैनन्, र त्यसैले तिनीहरू धेरै मानिस, घटना र कामकुराहरूद्वारा बाँधिएका र सीमित पारिएका हुन्छन्, र तिनीहरू सधैँ नकारात्मक स्थितिमा फसेका हुन्छन्। यही कारणले गर्दा, तिनीहरू निकै थकाइलाग्दो जीवन जिइरहेका हुन्छन्। तिनीहरू ठूलो पीडामा हुन्छन्, र तिनीहरूले स्वतन्त्रता र मुक्ति पाउन सक्दैनन्। केही समयपछि, तिनीहरूलाई आफ्नै इच्छाशक्तिले पनि टिकाइरहन सक्दैन, र तिनीहरू हरेक दिन गैरविश्‍वासीहरूजस्तै शैतानी स्वभावमा जिउँछन्। के परमेश्‍वरप्रतिको यस्तो विश्‍वासले व्यक्तिलाई मुक्ति प्राप्त गर्न सक्षम बनाउन सक्छ? केही मानिसहरू यसो भन्छन्: “म उत्साहपूर्ण छु, म परमेश्‍वरका लागि कार्यहरू गर्न इच्छुक छु। म जवान छु, मसँग ऊर्जा र सङ्कल्प छ, र म कठिनाइहरूसँग डराउँदिनँ।” के त्यो सबको कुनै उपयोग छ? छैन। तँसँग जतिसुकै ऊर्जा भए पनि, त्यो बेकार छ। मान्छेमा भएको त्यो सानो बूताले तिनीहरूलाई कहिलेसम्म टिकाउन सक्छ र? तिनीहरू अझै पनि बारम्बार असफल हुनेछन् र ठक्‍कर खानेछन्, र नकारात्मकतामा पर्दा स्तब्ध हुनेछन्। यदि तैँले सत्यता बुझ्दैनस् भने, वा यदि तँसँग साँचो विश्‍वास छैन भने परमेश्‍वरमा विश्‍वास गरेर काम छैन। यदि तँसँग केवल उत्साह वा ऊर्जा छ भने, यो कुनै कामको हुनेछैन। ती कुराहरू जीवन होइनन्, ती केवल व्यक्तिको क्षणिक उत्साह र चासो हुन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ। चाहे तिनीहरू पुरुष होऊन् वा महिला, वृद्ध होऊन् वा जवान, तिनीहरू सबैमा ऊर्जाका क्षणिक विस्फोटहरू, क्षणिक उत्साह र क्षणिक आवेगहरू हुन्छन्; तिनीहरू सबै कहिलेकाँही तात्तिन्छन्, र उत्तेजित हुन्छ्न्, तर त्यो रगत उम्लिएर उत्पन्‍न हुने साहस हो, र त्यो टिक्दैन। मान्छेका सिद्धान्तवाद, आदर्श र सपनाहरू आँखा झिमिक्क गर्दा ध्वस्त हुनेछन्, र सत्यताविना मानिस दृढ भई उभिनसमेत सक्दैन। के तातो रगतले जिउने मानिसले आफ्नो कर्तव्य राम्रोसँग निभाउन सक्छ? के तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? (अहँ, तिनीहरूले सक्दैनन्।) त्यसैले तिनीहरूले जीवनप्रवेश हासिल गर्नैपर्छ, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्नैपर्छ। केही यस्ता मानिसहरू छन्, जो भन्छन्: “सत्यता वास्तविकतामा प्रवेश गर्न किन यति कठिन छ? म किन यति धेरै जालहरूले बाँधिएको छु? मैले के गर्नुपर्छ?” के यो समस्या समाधान गर्न मानिसहरू आफैमा भर पर्न सक्छन्? केही मानिसहरू छन्, जो भन्छन्: “मसँग इच्छाशक्ति र सङ्कल्प छ। म कठिनाइहरूसँग डराउँदिनँ। मैले अठोट गरिसकेँ। म हरेक अवरोध पार गर्नेछु, म यी चुनौतीहरूलाई अँगाल्नेछु। मलाई कुनै कुराको डर लाग्दैन। जतिसुकै गाह्रो परे पनि म दृढ भई अन्त्यसम्‍मै लागिरहनेछु!” के यो उपयोगी छ? यसले तिनीहरूलाई केही समयका लागि वास्तवमै टिकाउन सक्छ, तर तिनीहरूको व्यावहारिक कठिनाइहरू अझै पनि रहिरहनेछन्, र भ्रष्ट स्वभाव अझै पनि तिनीहरू भित्र जरा गाडेर बसेको हुनेछ, र त्यो परिवर्तन भएको हुनेछैन। यदि तँ अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउनमा टिकिरहन सक्छस्, तर तैँले आफ्नो जीवन स्वभाव परिवर्तन गरेको वा सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस् भने, के तैँले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्छस्? तैँले अझै सक्दैनस्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तँ अन्त्यसम्मै दृढ रहन सक्छस् कि सक्दैनस् भन्‍ने होइन। मुख्य कुरा भनेको तैँले सत्यता, जीवन र परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने हो। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि कुनै व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैन भने, यदि उसले सत्यतालाई आफ्नो जीवन बनाउन सक्दैन भने, के उसको उत्साह वा जोसको प्रस्फुटन धेरै लामो समयसम्म टिक्नेछ? यो टिक्न सक्दैन। मानिसहरूले सत्यता बुझ्नैपर्छ, र त्यसलाई प्रतिस्थापन गर्न सत्यता प्रयोग गर्नुपर्छ। जब व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव समाधान गरेको र सत्यता अभ्यास गर्ने विश्‍वास र सिद्धान्तहरू धारण गरेको हुन्छ, तब तिनीहरू अडिग भई लागिपर्न सक्षम हुनेछन् र तिनीहरूले सबै अवरोधहरूको बावजूद प्रयास गरिरहनेछ्न्। तिनीहरूले जस्तोसुकै वातावरण, बाधाहरू, वा प्रलोभनहरू सामना गरे पनि, तिनीहरू सधैँ परमेश्‍वरमा भर पर्नेछन् र शैतानमाथि विजय प्राप्त गर्नहेतु नजर उठाएर उहाँतर्फ हेर्नेछन्। यो नतिजा प्राप्त गर्नका लागि, तँ बारम्बार परमेश्‍वरसामु आउनुपर्छ, उहाँसँग आत्मीय संवाद गर्नुपर्छ, उहाँलाई प्रार्थनामा आफ्ना कठिनाइहरू बताउनुपर्छ, र उहाँसँग सत्य बोल्नुपर्छ। साथै, तैँले वास्तविक संसारमा आफ्नो कर्तव्य गर्दैगर्दा, र तेरो वास्तविक जीवनको दौरान, तैँले सत्यता अभ्यास गर्नका निम्ति कसरी कार्य गर्ने भनी खोजी गर्नुपर्छ। तैँले सत्यता बुझ्ने र सत्यता बोध गर्ने क्षमता भएका मानिसहरू खोजेर तिनीहरूसित सङ्गति गर्नुपर्छ, र त्यसो गरेर थोरै भए पनि अन्तर्दृष्टि र सुधार प्राप्त गर्नुपर्छ, र अभ्यासको मार्ग फेला पार्नुपर्छ। जब तँ सत्यता अभ्यास गर्न सक्षम हुन्छस्, के यसले तेरो समस्या समाधान गर्नेछैन र? यदि तँ सधैँ पछि हट्छस् र सङ्गति गर्दैनस्, अनि आफै यसो सोच्छस् भने: “सायद एक दिन मेरो कद बढ्नेछ, र मैले प्राकृतिक रूपमै सत्यता बुझ्नेछु, त्यसैले मैले अहिले यसको सामना गर्नैपर्दैन”—यसप्रकारको सोच अस्पष्ट र अवास्तविक हुन्छ र यसले ढिलाइ निम्त्याउन सक्छ। यो समस्या सत्यता बुझ्ने मानिसहरू खोजेर तिनीहरूसित सङ्गति गरी समाधान गर्न सकिन्छ। यदि तँसँग बोध गर्ने क्षमता छ भने, तैँले परमेश्‍वरको वचन पढेर पनि समस्या समाधान गर्न सक्छस्। यो समस्या समाधान गर्ने कार्यलाई किन गम्भीरतापूर्वक लिँदैनस्? यदि तैँले यसको समाधान गर्न सत्यता खोज्दैनस् भने, के समस्या आफै हट्नेछ र? त्यो मूर्ख सोच हो।

अहिले जब तँमाथि कुनै कुराहरू आइपर्छन्, के तँ सत्यता खोज्न सक्षम छस्? के तैँले सत्यता कसरी खोज्ने भनी सिकेको छस्? आफ्नो व्यावसायिक क्षेत्रका केही सिद्धान्तहरूमा निपुण हुनुबाहेक, तेरो आफ्नै जीवन प्रवेशको कुरा आउँदा, के तँ सत्यता खोज्न सक्षम छस्—के आफ्ना विभिन्न स्थिति सुधार गर्न र आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न सक्षम छस्? यदि तैँले सिद्धान्त उल्लङ्घन गर्ने केही कार्य गरेको कारण तँलाई काटछाँट गरिँदा, तँ अझै पनि गुनासो गर्छस् भने, यदि तँलाई काटछाँट गरिएको कारण तँ अझै पनि बाँधिएको महसुस गर्छस् भने, र यदि तँ आफूलाई हटाइनेछ भन्‍ने सोच्दै हिम्मत हार्ने हदसम्म पुग्छस्, र नकारात्मक र सुस्त बन्छस् भने, के तेरो शैतानी स्वभाव तँ आफैलाई निसास्याउने गरी कठोर छैन र? सत्यता बुझ्‍ने कुरामा, मानिसहरूका कठिनाइहरू कैयौँ अनि ठूला हुन्छन्; अनि, जब तिनीहरूले समस्याहरू सामना गर्छन्, तिनीहरूका नकारात्मक भागहरू अत्यन्तै चाँडो र निकै लामो समयसम्म देखा पर्छन्, र तिनीहरूले एकदम थोरै र निकै सुस्त रूपमा सत्यता अभ्यास गर्छन्। जब मानिसहरूले निश्‍चित वातावरण सामना गर्छन्, वा अरूको निश्‍चित हेराइ देख्‍छन्, वा निश्‍चित शब्दहरू बोलिएको सुन्छन्, वा कुनै निश्‍चित प्रकारका जानकारी पत्ता लगाउँछन्, समय वा स्थान जे-जस्तो भए पनि, तिनीहरूमा नकारात्मक कुराहरू उत्पन्न हुन्छन्। यी भ्रष्ट स्वभावका प्राकृतिक प्रकटीकरणहरू हुन्। यसले के प्रमाणित गर्छ? यसले प्रमाणित गर्छ कि मानव जीवनमा सत्यताको कुनै तत्त्व नै छैन। मानिसहरूले स्वाभाविक रूपमा प्रकट गर्ने अप्रशोधित कुराहरू, चाहे तैँले ती कुरा दिमागभित्र सोचे पनि वा मुखले बोले पनि, वा ती कुराहरू तेरा अभिप्राय वा योजना भए पनि—चाहे ती मनसायपूर्ण वा मनसायरहित भए पनि—यी सबै कुराहरू तेरो भ्रष्ट स्वभावसँग सम्बन्धित छन्। मानिसहरूको भ्रष्ट स्वभाव कहाँबाट प्रकट हुन्छ? निश्‍चित रूपमा यो भन्न सकिन्छ कि मानिसहरूको भ्रष्ट स्वभाव उनीहरूको शैतानी प्रकृतिबाट प्रकट हुन्छ, त्यही नै स्रोत हो। मानिसहरूले प्रकट गर्ने भ्रष्ट कुराहरूलाई ध्यानमा राख्दा, मानिसहरूमा कुनै सत्यता वास्तविकता छैन, तिनीहरूमा कुनै सामान्य मानवता छैन, र तिनीहरूसँग कुनै सामान्य समझ छैन भन्‍ने प्रष्ट हुन्छ। अहिले, तिमीहरूले आफैलाई चिरफार गर्न सक्छौ। यदि तिमीहरूले ध्यान दिएर आत्मचिन्तनमा केन्द्रित भयौ भने, आफ्ना अभिप्राय, विचार, र दृष्टिकोणहरू सही छन् कि छैनन्, र ती सत्यतासँग मेल खान्छन् कि खाँदैनन् भनेर जान्न सक्छौ। सामान्यतया, तिमीहरूले यी कुराहरूलाई अलिअलि खुट्टयाउन र बुझ्न सक्षम हुनेछौ। त्यसो भए, यी कुराहरू बुझेपछि, के तिमीहरू समाधान पाउनका निम्ति सत्यता खोजी गर्न सक्षम हुनेछौ? कि यी कुराहरूलाई आफै विकसित हुन दिँदै यस्तो सोच्नेछौ: “म यसरी सोच्न चाहन्छु, यसरी सोच्नु मेरा लागि फाइदाजनक छ। अरू मानिसहरूलाई यसमा हस्तक्षेप गर्ने कुनै अधिकार छैन। यदि मैले यी कुराहरू बोल्‍दिनँ, वा यी कुराअनुसार व्यवहार गर्दिनँ भने, र यदि म यी कुराबारे सोच्ने मात्रै गर्छु भने, के त्यो ठिकै छैन र?” के यस्तो सोच्‍ने मानिसहरू छैनन् र? यो केको प्रकटीकरण हो? यसरी सोच्नु गलत हो भनेर तिनीहरूलाई स्पष्ट रूपमा थाहा छ, तर तिनीहरू सत्यता खोजी गर्दैनन्, तिनीहरू यी विचारहरूलाई पन्छाउने वा तीविरुद्ध विद्रोह गर्ने गर्दैनन्। तिनीहरू पुरै चिन्तारहित रूपमा त्यस तरिकामै सोच्न र व्यवहार गर्नमा लागिरहन्छन्। यी मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, र यिनीहरू दृढ भई खडा हुन सक्दैनन्।

केही मानिसहरू कर्तव्य निभाउँदैनन्, र कोही पनि तिनीहरूसँग गम्भीर हुँदैनन्—यी मानिसहरूले परमेश्‍वरका विश्‍वासीहरूको रूपमा, केवल परमेश्‍वरका वचनहरू पढ्नु, मण्डली जीवन जिउनु, र सामान्यतया गैरविश्‍वासीहरूले जस्तो नराम्रो काम वा दुराचारी व्यवहार नगर्नु नै पर्याप्त छ भनी सोच्छन्। तिनीहरूले सोच्छन् कि सायद अन्तिममा तिनीहरूले केही आशिष्‌हरू पाउनेछन् र बाँच्न सक्षम हुनेछन्। मानिसहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यस प्रकारको अभिलाषापूर्ण सोच पक्रिरहन्छन्। सतहमा, तिनीहरूले कुनै गम्भीर गल्तीहरू गर्दैनन्, तर तिनीहरूको जीवन प्रवेश भएकै हुँदैन, न त तिनीहरूले कुनै सत्यता वास्तविकता प्राप्त गरेका नै हुन्छन्। जब कोही तिनीहरूसँग गम्भीर हुन्छ, त्यही क्षणदेखि तिनीहरूले के महसुस गर्छन् भने, तिनीहरू समस्या र कमीहरूले भरिएका छन्, र तिनीहरू यस्तो सोच्दै नकारात्मक हुन्छन्: “सबै सकियो, होइन र? मैले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु, तर मैले यसबाट केही पनि प्राप्त गरेको छैन। परमेश्‍वरमा विश्‍वास गर्न साँच्चै सजिलो छैन जस्तो देखिन्छ!” तिनीहरू भावनाहीन हुन्छन्, र तिनीहरू त्यसउप्रान्त सत्यता पछ्याउन इच्छुक हुँदैनन्। केही समयपछि, तिनीहरू रित्तो महसुस गर्छन् र तिनीहरूले आशा पाउन सत्यता पछ्याउनुपर्छ भन्‍ने महसुस गर्छन्। जब तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न थाल्छन्, र मानिसहरू फेरि तिनीहरूसँग गम्भीर हुन्छन्, तब तिनीहरूले बल्ल महसुस गर्छन् कि “मानिसहरूसँग सत्यता हुनुपर्छ, नत्र तिनीहरूले सजिलै गल्तीहरू गर्न सक्छन्। यदि मानिसहरूले सत्यता पछ्याएनन् भने, तिनीहरूले सधैँ अपराधहरू गर्नेछन्, र तिनीहरूलाई काटछाँट गरिनेछ। यदि तिनीहरू कामकुराहरू गर्न आफ्नो उत्साहमा भर पर्छन् भने पनि, तिनीहरूलाई काटछाँट गरिनेछ। म सबै कुरामा होसियार हुनुपर्छ। मैले लापरवाह रूपमा बोल्नु वा व्यवहार गर्नु कदापि हुँदैन। मैले हरेक कुरामा नाक घुसाउनु हुँदैन। भीडको ध्यान खिच्‍नुभन्दा कायर हुनु राम्रो हो।” तिनीहरूले सोच्छन् कि यस तरिकाले अभ्यास गर्नु पूर्ण रूपमा उपयुक्त छ र कसैले यसमा कुनै गल्तीहरू औँल्याउन सक्दैन, तर तिनीहरूले सबैभन्दा महत्त्वपूर्ण बुँदा अर्थात् तिनीहरूले सत्यता पछ्याउनुपर्छ भन्‍ने कुरालाई बेवास्ता गरेका छन्। तिनीहरूले न त सत्यता पछ्याउँछन्, न त तिनीहरू आफ्नै जीवन प्रवेशको पछि लाग्छन्, र यो तिनीहरूको घातक त्रुटि हो। जब तिनीहरू आफ्नो कर्तव्य निभाउँछन्, तिनीहरू काम पूरा गर्नमै सन्तुष्ट हुन्छन्। आफ्नो काम पूरा गर्न बिहानदेखि बेलुकासम्म परिश्रम गर्छन् र कहिलेकाहीँ तिनीहरू यति व्यस्त हुन्छन् कि दुई छाक खाना छुटेको पनि वास्ता गर्दैनन्। तिनीहरू साँच्चै कष्ट भोग्न र मूल्य तिर्न सक्छन्, तर तिनीहरूले जीवनप्रवेश गरेकै हुँदैनन्। गल्ती गरिएला र काटछाँट हुनुपर्ला भन्‍ने डरले, हरेक मोडमा तिनीहरू अरूविरुद्ध आफ्नो प्रतिरक्षामा उभिएका हुन्छन्। के यस्तो स्थिति सही हो? के यो सत्यता पछ्याउने व्यक्ति हो? यदि मानिसहरूले अन्त्यसम्मै आफ्नो कर्तव्य यसरी नै गर्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् वा सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (सक्दैनन्।) के तिमीहरूमाझ यस्ता धेरै मानिसहरू छैनन् र? के तिमीहरू प्रायः यही स्थितिमा हुँदैनौ र? (हुन्छौँ।) के तिमीहरू यो त व्यवहार गर्ने खराब तरिका हो, जीवन जिउने नकारात्मक तरिका हो भन्‍ने सोच्दै, सचेत् हुन्छौ त? जब केही कुराहरू आइपर्छन्, तिमीहरू सधैँ कायरझैँ व्यवहार गर्छौ, सधैँ अरूलाई रिझाउने मानिसहरूजस्तो व्यवहार गर्छौ, सधैँ सम्झौता गर्छौ, सधैँ बीचको बाटो लिन्छौ, कहिल्यै कसैलाई अपमान गर्दैनौ वा हरेक कुरामा नाक घुसाउँदैनौ, कहिल्यै धेरै टाढा जाँदैनौ—तिमीहरू आफ्नै स्थानमा खडा भइरहेका, आफ्नै कर्तव्यमा अडिग भइरहेका, जे गर्न भनियो त्यही गरिरहेका, न अगाडि न पछाडि उभिई प्रवाहसँगै बगिरहेका झैँ देखिन्छौ—मलाई भन, के तिमीहरू अन्त्यसम्मै यसरी नै आफ्नो कर्तव्य निभाउन अडिग रहेमा परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्षम भइन्छ भन्‍ने सोच्छौ? के तिमीहरू यस प्रकारको अवस्था एकदम खतरनाक हुन्छ, यसरी तिमीहरू परमेश्‍वरको सिद्धता प्राप्त गर्न मात्र असमर्थ हुनेछैनौ, तिमीहरूले परमेश्‍वरको स्वभाव चिढ्याउनेसमेत सम्भावना हुन्छ भन्‍नेबारे सचेत छौ? के यस प्रकारको मनतातो व्यक्तिले सत्यता पछ्याउँछ? के तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा रहने व्यक्ति हुन्? यस प्रकारको स्थितिमा बस्ने व्यक्तिले प्रायः अरूलाई प्रसन्‍न पार्ने विचारहरू पोख्छ, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। यदि कसैले बिनाकारण डर र त्रास मात्र महसुस गर्छ भने, के त्यो परमेश्‍वरको डर मान्ने हृदय हो? (होइन।) तिनीहरूले आफ्नो सम्पूर्ण अस्तित्व कर्तव्यमा लगाए पनि, आफ्नो जागिरबाट राजीनामा दिए पनि र आफ्नो परिवार त्यागे पनि, यदि तिनीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिँदैनन् भने र परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छन् भने, के त्यो राम्रो स्थिति हो? के त्यो सत्यता वास्तविकतामा प्रवेश गर्ने सामान्य स्थिति हो? के त्यो स्थितिको भावी विकासक्रम डरलाग्दो छैन? यदि मान्छेले यो स्थिति जारी राख्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले जीवन प्राप्त गर्न सक्छन्? के तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (सक्दैनन्।) के तिमीहरूको अवस्था पनि यस्तै छ भनेर तिमीहरू सचेत छौ? जब तिमीहरू यसबारे सचेत हुन्छौ, के तिमीहरू यस्तो सोच्छौ: “म किन सधैँ परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छु? म किन सधैँ यसरी सोच्छु? यसरी सोच्नु साह्रै डरलाग्दो हुन्छ! यो त परमेश्‍वरको विरोध गर्नु र सत्यता अस्वीकार गर्नु हो। परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्नु उहाँको विरोध गर्नुजस्तै हो”? परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्नु भनेको चोर हुनुजस्तै हो—तिमीहरू ज्योतिमा जिउने आँट गर्दैनौ, आफ्नो राक्षसी अनुहार खुलासा गर्न डराउँछौ, र साथै, त्रसित भई यस्तो सोच्छौ: “परमेश्‍वरसँग जोरी खोज्नु हुँदैन। उहाँले हर समय र स्थानमा मानिसहरूलाई न्याय र सजाय गर्न सक्नुहुन्छ। परमेश्‍वरलाई क्रोधित तुल्याइयो भने, हल्का अवस्थामा उहाँले काटछाँट गर्नुहुनेछ, तर गम्भीर अवस्थामा उहाँले दण्ड दिनुहुनेछ, बिरामी बनाउनुहुनेछ, वा कष्ट भोगाउनुहुनेछ। मानिसहरूले यी कुराहरू सहन सक्दैनन्!” के मानिसहरूमा यस्ता गलत बुझाइ छैनन्? के यो परमेश्‍वरको डर मान्‍ने हृदय हो? (होइन।) के यस्तो स्थिति डरलाग्दो हुँदैन? जब मान्छे यस स्थितिमा हुन्छ, जब तिनीहरूले परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छन्, र सधैँ यी विचारहरू अँगाल्छन्, जब तिनीहरूसँग परमेश्‍वरप्रति सधैँ यसप्रकारको मनोवृत्ति हुन्छ, के तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरजस्तै व्यवहार गरिरहेका हुन्छन्? के यो परमेश्‍वरमाथिको विश्‍वास हो? जब मान्छेले परमेश्‍वरमा यस तरिकाले विश्‍वास गर्छ, जब तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरजस्तै व्यवहार गर्दैनन्, के त्यो समस्या होइन? न्यूनतम रूपमा, मानिसहरूले परमेश्‍वरको धर्मी स्वभावलाई स्वीकार गर्दैनन्, न त उहाँको कामको तथ्यलाई नै स्वीकार गर्छन्। तिनीहरू सोच्छन्: “यो सत्य हो कि परमेश्‍वर कृपालु र प्रेमिलो हुनुहुन्छ, तर उहाँ क्रोधपूर्ण पनि हुनुहुन्छ। जब परमेश्‍वरको क्रोध कुनै व्यक्तिमाथि पर्छ, त्यो विनाशकारी हुन्छ। उहाँले जुनसुकै बेला मानिसलाई प्रहार गरी मार्न सक्नुहुन्छ, जसलाई चाह्यो उसलाई नष्ट गर्न सक्नुहुन्छ। परमेश्‍वरको क्रोधलाई ननिम्त्याऊ। यो सत्य हो, उहाँको प्रताप र क्रोधले उल्लङ्घनको कुनै अनुमति दिँदैन। उहाँबाट आफ्नो दूरी राख!” यदि मान्छेमा यस्तो मनोवृत्ति र यी विचारहरू छन् भने, के तिनीहरू पूर्ण रूपमा र इमानदारीपूर्वक परमेश्‍वरको सामु आउन सक्छन्? सक्दैनन्। के तिनीहरू र परमेश्‍वरबीच दूरी छैन? के ती दुईलाई अलग गर्ने धेरै कुराहरू छैनन्? (छन्।) कुन कुराहरूले मानिसहरूलाई परमेश्‍वरसामु आउन अवरोध गर्छ? (उनीहरूका भविष्य र गन्तव्यहरूले।) (ख्याति, लाभ र हैसियतले।) अरू के-के छन्? कुन कुराहरूले मानिसहरूमा सत्यताप्रति वितृष्णा जगाउँछ, तिनीहरूलाई सत्यता अस्वीकार गर्ने, परमेश्‍वरको जीवन आपूर्ति र उहाँको मुक्ति अस्वीकार गर्ने बनाउँछ? यसबारे विचार गर: मानिसहरूको कुन भागले उनीहरूलाई इमानदारीपूर्वक परमेश्‍वरसामु आउन र सत्यता अभ्यास गर्नबाट, अनि आफ्नो शरीर र हृदय परमेश्‍वरको स्वामित्व र सार्वभौमिकतामा सुम्पनबाट रोक्छ? कुन कुराले मानिसहरूलाई परमेश्‍वरको डर मान्ने र परमेश्‍वरलाई गलत बुझ्ने तुल्याउँछ? मानिसहरूमा भ्रष्ट स्वभाव, साथै शैतानी दर्शनहरू, र शैतानी विचारहरू छन्; तिनीहरू छली छन्, र हरेक मोडमा तिनीहरू परमेश्‍वरबाट आफ्नो प्रतिरक्षा गर्छन्, र उहाँलाई अविश्‍वास गर्ने र गलत बुझ्ने गर्छन्। जब मान्छेहरू यी सबै कुराहरूद्वारा प्रदूषित बन्छन्, के तिनीहरूले साँच्चै परमेश्‍वरमा भरोसा गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्वीकार गर्न सक्छन्? केही मानिसहरू भन्छन्‌: “म हरेक दिन परमेश्‍वरको वचन खान्छु र पिउँछु। जब म उहाँका वचनहरू पढ्छु र ती वचनहरूद्वारा उत्प्रेरित हुन्छु, म प्रार्थना गर्छु। म परमेश्‍वरका वचनहरूलाई सत्यता मानेर कदर गर्छु। म ती वचनहरू हरेक दिन पढ्छु, र म प्रायः चुपचाप प्रार्थना गरिरहन्छु, र परमेश्‍वरको प्रशंसा गर्ने भजनहरू गाइरहन्छु।” यसप्रकारको आत्मिक जीवन राम्रो भए पनि, यदि यी मानिसहरू अझै पनि आफूमाथि आइपर्ने कुराहरूप्रति प्रतिक्रिया जनाउँदा, आफ्नै विचारहरूमा भर पर्छन् भने, यदि तिनीहरूले सत्यता खोजी गर्दैनन्, र तिनीहरूले बुझेको कुनै पनि धर्मसिद्धान्तले तिनीहरूमा प्रभाव पार्दैन भने, त्यहाँ के भइरहेको छ? मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरूको कदर गर्ने दाबी गर्छन्, तर आफूलाई ती वचनहरूसँग तुलना गर्दैनन्, र ती वचनहरू अभ्यास गर्दैनन्। यो निकै समस्याजनक छ, र तब मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न धेरै गाह्रो हुन्छ। मानिसहरूले सत्यता कहिल्यै बुझ्दैनन्, न त तिनीहरूसँग परमेश्‍वरबारे अलिकति पनि ज्ञान नै छ, त्यसैले तिनीहरूमा निश्‍चय नै परमेश्‍वरबारे धारणा र गलतफहमीहरू छन्, र तिनीहरू र परमेश्‍वरबीचमा पर्खाल छ। के तिमीहरू सबैसँग यस्तो व्यक्तिगत अनुभव छैन र? तँ भन्छस्: “म परमेश्‍वरदेखि आफूलाई प्रतिरक्षा गर्न चाहन्‍नँ, म उहाँमा साँच्चै भरोसा गर्न चाहन्छु, तर जब मलाई केही हुन्छ, म उहाँदेखि आफूलाई प्रतिरक्षा नगरी बस्न सक्दिनँ। मलाई आफैलाई गुटमुट्याउन र परमेश्‍वरबाट आफैलाई अलग गर्न, अनि आफ्नो सुरक्षाका लागि शैतानी दर्शनहरू प्रयोग गर्न मन लाग्छ। ममा के समस्या छ?” यसले देखाउँछ कि मानिसहरूसँग सत्यता छैन, तिनीहरू अझै पनि शैतानी दर्शनद्वारा बाँचिरहेका छन्, र तिनीहरू अझै पनि शैतानद्वारा नियन्त्रित छन्। यो शैतानी स्वभावका कारण मानिसहरूमा भएको दयनीय स्वरूप हो—तिनीहरूलाई सत्यता अभ्यास गर्न गाह्रो हुन्छ। सत्यता अभ्यास नगर्नु जीवन प्रवेशको सबैभन्दा ठूलो बाधा हो। यदि यो समस्या समाधान भएन भने, व्यक्तिले आफ्नो हृदय परमेश्‍वरलाई दिन, उहाँको काम प्राप्त गर्न, वा सत्यता वास्तविकतामा प्रवेश गर्न गाह्रो हुन्छ। के तिमीहरू सबैले यो अनुभव गरेका छौ? यो मामिला कसरी समाधान गर्न सकिन्छ? तिमीहरूले चिन्तन गर्नुपर्छ र आफैलाई चिन्ने प्रयास गर्नुपर्छ, र कुन कुराहरूले तिमीहरूलाई सत्यता अभ्यास गर्न बाधा पुर्‍याइरहेको छ भनेर हेर्नुपर्छ। यो समस्या समाधान गर्नु महत्त्वपूर्ण कुरा हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्