परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो (भाग एक)

जब परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासको कुरा आउँछ, आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्ने बाहेक, मुख्य कुरा भनेको सत्यतालाई बुझ्‍नु, सत्यता वास्तविकतामा प्रवेश गर्नु, र जीवन प्रवेशमा थप प्रयत्न लगाउनु हो। जेसुकै भए पनि, यसमा सिक्‍नुपर्ने पाठहरू छन्, त्यसैले यसलाई त्यतिकै हल्कासित जान नदेऊ। तिमीहरूले यसबारे आपसमा सङ्गति गर्नुपर्छ, र त्यसपछि पवित्र आत्माले तिमीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तिमीहरूले सत्यता बुझ्न सक्‍नेछौ। तिमीहरूले सङ्गतिमार्फत अभ्यासको मार्ग प्राप्त गर्नेछौ र परमेश्‍वरको काम कसरी अनुभव गर्ने सो जान्‍नेछौ, अनि तिमीहरूले थाहै नपाई तिमीहरूका कतिपय समस्या समाधान हुनेछन्, तैँले स्पष्टसित देख्‍न नसक्‍ने कुराहरू झन्झन् कम हुँदै जानेछन्, र तैँले झन्झन् धेरै सत्यता बुझ्नेछस्। यसरी, तँलाई थाहै नभई तेरो कद बढ्नेछ। तैँले सत्यतामा लागिपर्न पहल गर्नैपर्छ र सत्यतमा आफ्नो हृदय लगाउनैपर्छ। कतिपय मानिसहरूले भन्छन्, “मैले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै वर्ष भयो र मैले धेरै धर्मसिद्धान्त बुझेको छु। अब मसँग एउटा जग छ। अहिले, हाम्रो विदेशका मण्डलीहरूमा जीवन राम्रो छ, दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरमाथिको विश्‍वासका मामलाहरूमा सङ्गति गर्न दिनभरि भेला हुन्छन्, यसरी म जे देख्छु र जे सुन्छु त्यसबाट प्रभावित हुन्छु, र त्यसबाट भरणपोषण प्राप्त गर्छु—र त्यो नै पर्याप्त छ। मैले मेरो आफ्‍नै जीवन प्रवेशका समस्याहरूलाई वा मेरो आफ्‍नै विद्रोहीपनका समस्याहरूलाई समाधान गर्नको लागि प्रयास गर्नु पर्दैन। यदि मैले हरेक दिन प्रार्थना गर्ने, परमेश्‍वरको वचन खाने र पिउने, भजनहरू गाउने, आफ्नो कर्तव्य निर्वाह गर्ने, र आफूले गर्नुपर्ने कर्तव्य पूरा गरेँ भने, मेरो जीवनमा स्वाभाविक रूपले वृद्धि हुनेछ।” अलमलिएका विश्‍वासीहरूले यही सोच्छन्। यी मानिसहरूले सत्यता फिटिक्‍कै स्वीकार गर्दैनन्। तिनीहरू केवल धार्मिक अनुष्ठानहरूमा संलग्‍न हुन्छन्, धाराप्रवाह रूपमा बोल्छन्, रित्तो नारा लाउँछन्, शब्द र धर्मसिद्धान्तहरूका कुरा फलाक्छन् र आफूले राम्रो गरेको महसुस गर्छन्। फलस्वरूप, अरू मानिसले केही सत्यता अभ्यास गरेर आफूमा केही परिवर्तन ल्याउँदा, यी अलमलिएका विश्‍वासीहरूसँग चाहिँ अनुभवात्मक गवाही फिटिक्‍कै हुँदैन। तिनीहरू आफ्नो ज्ञानबारे समेत बोल्‍न सक्दैनन्। तिनीहरू खाली हात हुन्छन् र केही प्राप्त गर्दैनन्। के तिनीहरू गरिब र दयनीय छैनन् र? मुक्ति पाउनका लागि सत्यता स्विकार्नु र सत्यता पछ्याउनुभन्दा बढी यथार्थ वा व्यावहारिक मार्ग अर्को छैन। यदि तैँले सत्यता प्राप्त गर्न सक्दैनस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वास रित्तो हुन्छ। शब्द र धर्मसिद्धान्तहरूका रित्ता शब्दहरू बोल्ने, सधैँ नाराहरू फलाक्‍ने, आडम्बरी कुरा गर्ने, प्रावधानहरू पालन गर्ने तर सत्यता अभ्यास गर्नमा कहिल्यै ध्यान नदिनेहरूले जति नै धेरै वर्षदेखि विश्‍वासमा रहे पनि, केही प्राप्त गर्दैनन्। केही प्राप्त गर्ने मानिसहरूचाहिँ को हुन् त? तिनीहरू ती व्यक्तिहरू हुन्, जो आफ्नो कर्तव्य इमानदारीसाथ निर्वाह गर्छन् र सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, जो आफूलाई परमेश्‍वरले सम्पिनुभएको कुरालाई मिसनको रूपमा लिन्छन्, जो आफ्नो सारा जीवन खुसीसाथ परमेश्‍वरमा समर्पण गर्दै बिताउँछन् र आफ्नो फाइदाको खातिर षड्यन्त्र रच्दैनन्, जो धरातलमा अडिग भएर आफूलाई आचरणमा ढाल्छन्, र जो परमेश्‍वरका योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू बुझ्न सक्षम हुन्छन् र सबै मामलाहरूलाई सही तरिकाले ध्यानपूर्वक हेरचाह गर्छन्, र त्यसरी तिनीहरू परमेश्‍वरको गवाहीको प्रभाव हासिल गर्न, र परमेश्‍वरका अभिप्राय पूरा गर्न सक्छन्। आफ्नो कर्तव्यपालनको दौरान कठिनाइहरू आइपर्दा, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन् र परमेश्‍वरका अभिप्रायहरू बुझ्ने प्रयास गर्छन्, तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र कामकुरा गर्दा सत्यताको खोजी र अभ्यास गर्छन्। तिनीहरूले नाराहरू सुगारटाइ गर्ने वा आडम्बरी कुरा गर्ने गर्दैनन्, बरु धरातलमा अडिग भई गर्न र सावधानीपूर्वक सिद्धान्तहरू पछ्याउन ध्यान दिन्छन्। तिनीहरू आफूले गर्ने सबै कुरामा हृदय लगाउँछन्, र हरेक कुरालाई पूर्ण हृदयसाथ बुझ्न सिक्छन्, र धेरै कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, र त्यसपछि तिनीहरूले ज्ञान र बुझाइ प्राप्त गर्छन्, र पाठहरू सिक्‍न र साँचो अर्थमा केही प्राप्त गर्न सक्षम हुन्छन्। अनि आफूमा गलत विचार आउँदा वा गलत स्थिति हुँदा, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन् र ती विचार हटाउन सत्यता खोजी गर्छन्; तिनीहरूले जुनै सत्यता बुझे पनि, तिनलाई आफ्नो हृदयमा कदर गर्छन्, र आफ्ना अनुभवात्मक गवाहीबारे बोल्न सक्छन्। यस्ता मानिसहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्। ती मानिसहरू जो लापरवाह छन् र ध्यान दिँदैनन्, तिनीहरूले कसरी सत्यता अभ्यास गर्ने भनेर कहिल्यै सोच्दैनन्। तिनीहरूले प्रयास खर्चन र काम गर्न, अनि आफ्नो प्रदर्शन र देखावटी गर्न मात्रै ध्यान दिन्छन्, तर तिनीहरू कसरी सत्यता अभ्यास गर्ने भनी कहिल्यै खोजी गर्दैनन्, जसले गर्दा तिनीहरूलाई सत्यता प्राप्त गर्न गाह्रो हुन्छ। यसबारे सोच्, कस्ता प्रकारका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (तिनीहरू जो वास्तविक धरातलमा अडिग उभिने, व्यावहारिक र कामकुरामा मन लगाउने खालका छन्।) वास्तविकतामा उभिएर कामकुरामा मन लगाउने, र हृदय भएका मानिसहरू: यस्ता मानिसहरूले कार्य गर्दा वास्तविकतामा र सत्यता सिद्धान्तहरूको प्रयोगमा धेरै ध्यान दिन्छन्। साथै, तिनीहरू सबै कुरामा व्यावहारिकतालाई ध्यान दिन्छन्, तिनीहरू यथार्थपरक हुन्छन्, र तिनीहरू सकारात्मक कुराहरू, सत्यता, र वास्तविक कुराहरू मन पराउँछन्। अन्त्यमा सत्यता बुझ्‍न र प्राप्त गर्न सक्‍ने मानिसहरू यिनै हुन्। तिमीहरू कस्तो खाले व्यक्ति हौ? (अव्यावहारिक, जो सधैँ देखाउनको लागि कामकुराहरू गर्न चाहन्छ, र जो छलकपटमा भर पर्छ।) के यसो गरेर केही प्राप्त गर्न सकिन्छ? (सकिँदैन।) के तिमीहरूले आफ्ना समस्याहरू हल गर्ने उपाय फेला पारेका छौ? यदि तँ यसलाई महसुस गरेर परिस्थिति बदल्न सुरु गर्न सक्छस् भने, के तँलाई आफ्ना धारणा र कल्पनाहरू, अनि विभिन्‍न कुराहरूबारे आफ्नो दृष्टिकोण बदलिएको छ कि छैन भनेर थाहा हुनेछ? (मलाई ती अलिअलि बदलिएका छन् जस्तो लाग्छ।) परिणाम र प्रगति आउन्जेलसम्म, तैँले यसबारे सङ्गति गर्नुपर्छ र अरूलाई सुध्रने मौका दिनुपर्छ। तेरो अनुभव सीमित भए पनि, यो अझै पनि जीवनवृद्धिकै अनुभव हो। जीवनवृद्धिको प्रक्रिया भनेकै परमेश्‍वरमाथि तैँले विश्‍वास गरेको अनुभव हो, यो परमेश्‍वरको वचन अनुभव गरेर तेरो जीवन वृद्धि हुँदै जाने कुरा हो। यी अनुभवहरू सबैभन्दा बहुमूल्य हुन्छन्।

तिनीहरू सबै परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरको वचन पढ्ने र आफ्नो कर्तव्य पूरा गर्ने भएकाले, किन केही वर्षपछि तिनीहरू एकअर्काभन्दा भिन्न हुन्छन्, तिनीहरूमा उतार-चढावदेखापर्छ र तिनीहरूको वास्तविक रूप खुलासा हुन्छ? वास्तवमा, प्रत्येक व्यक्ति आफ्नो प्रकारअनुसार वर्गीकृत हुन्छ। केही मानिसहरू आफ्नो अनुभवात्मक गवाहीबारे कुरा गर्न सक्छन्, जबकि केहीसँग अनुभवात्मक गवाही नै हुँदैन। केही मानिसहरू धेरै सत्यताहरू बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छन्, जबकि केही मानिसहरूले कुनै पनि सत्यता प्राप्त गरेका वा आफ्नो स्वभाव अलिकति पनि परिवर्तन गरेका हुँदैनन्। केही मानिसहरूले आफ्नो कर्तव्यमा परिणामहरू प्राप्त गर्छन्, तिनीहरू समस्या समाधान गर्न सत्यता खोज्न सक्षम हुन्छन्, र बिस्तारै आफ्ना कर्तव्यहरू पर्याप्त रूपमा निभाउँदै जान्छन्। कतिपय मानिसहरू आफ्नो कर्तव्य निभाउँदा भरहीन र लापरवाह हुन्छन्, झारा मात्रै टार्छन् र सत्यता बुझे पनि सत्यता अभ्यास गर्दैनन्। तिनीहरू सबै भेलामा उपस्थित हुने, परमेश्‍वरको वचन पढ्ने र आफ्नो कर्तव्य पूरा गर्ने गर्छन्, तर परिणामहरूचाहिँ किन फरक हुन्छन् त? किन केही मानिसहरू सत्यता पछ्याउने मार्गमा लाग्न सक्छन् जबकि केही मानिसहरू आफ्नै बाटोमा हिँड्छन्? किन केही मानिसहरू सत्यता स्विकार्न सक्छन् जबकि केहीले सक्दैनन्? यो कसरी हुन सक्छ? किन केही व्यक्तिहरू काटछाँट सामना गर्दा त्यो स्विकार्न र आज्ञाकारी हुन सक्छन्, जबकि केही मानिसहरू प्रतिरोध महसुस गर्दै तर्क, विद्रोह र बखेडासमेत गर्छन्? तिनीहरू सबै भेलाहरूमा परमेश्‍वरका वचनहरू खाने र पिउने, प्रवचन र सङ्गतिहरू सुन्‍ने, मण्डली जीवन बिताउने र आ-आफ्ना कर्तव्यहरू निभाउने गर्छन्, तैपनि तिनीहरूबीच किन यति ठूलो भिन्नता हुन्छ? के तँ यो समस्या बुझ्न सक्छस्? यो असल र खराब मानवताबीचको भिन्नता हो, र यो मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्‍ने कुरासँग प्रत्यक्ष सम्बन्धित हुन्छ। वास्तवमा, व्यक्तिको क्षमता जतिसुकै होस्, जबसम्म उसले सत्यता स्विकार्न, आफ्नो कर्तव्य लगनसाथ पूरा गर्न र आफैबारे चिन्तन गर्न अनि आफैलाई चिन्न सक्छ, तबसम्म उसले जीवन प्रवेश हासिल गर्नेछ, उसले साँचो परिवर्तन अनुभव गर्नेछ, र ऊ आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउन सक्षम हुनेछ। यदि तँ परमेश्‍वरका वचनहरू पढ्नमा लगनशील छैनस्, र तँ सत्यता बुझ्दैनस् भने, तैँले आफ्‍नो बारेमा मनन गर्न सक्दैनस्; तँ नाममात्रको प्रयास गर्न र कुनै दुष्कर्म वा अपराध नगरी बस्‍न पाउँदा मात्रै पनि सन्तुष्ट हुन्छस्, र यसलाई पूँजीको रूपमा प्रयोग गर्छस्। तँ हरेक दिन झारा टार्दै बिताउँछस्, अन्योलको स्थितिमा जिउँछस्, समयतालिकाअनुसार मात्रै काम गर्छस्, आफूलाई जाँच्न हृदय प्रयोग गर्ने वा आफूलाई चिन्न प्रयत्‍न लगाउने कहिल्यै गर्दैनस्, सधैँ लापरवाह हुनेछस्। यसरी, तैँले कहिल्यै पनि स्वीकार्य मापदण्डको स्तरमा आफ्‍नो कर्तव्य पूरा गर्नेछैनस्। कुनै कुरामा आफ्‍नो सम्पूर्ण प्रयास लगाउनको लागि, तैँले सुरुमा यसमा आफ्‍नो सारा हृदय लगाउनुपर्छ; तैँले कुनै कुरामा आफ्‍नो सारा हृदय लगाइस् भने मात्रै तैँले यसमा आफ्‍नो सम्पूर्ण प्रयास लगाउन, अनि सक्दो राम्रो गर्न सक्छस्। आज, कतिपय व्यक्तिहरू आफ्‍नो कर्तव्यपालनमा लगनशील हुन थालेका छन्, तिनीहरूले परमेश्‍वरको हृदय सन्तुष्ट पार्नको लागि सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी उचित रूपमा निर्वाह गर्ने भनी विचार गर्न थालेका छन्। तिनीहरू नकारात्मक र अल्छी हुँदैनन्, निष्क्रिय भई माथिबाट आदेशहरू जारी गरियोस् भनेर पर्खिँदैनन्, बरु केही अग्रसरता देखाउँछन्। तिमीहरूको कर्तव्यपालनको मूल्याङ्कन्‌ गरेर हेर्दा, तिमीहरू पहिलेभन्दा अलिक बढी प्रभावकारी भएका छौ, र यो अझै मापदण्डको स्तरमा पुग्‍न नसकेको भए पनि, थोरै वृद्धिचाहिँ भएको छ—जुन राम्रो कुरा हो। तर तिमीहरू यथास्थितिमै सन्तुष्ट भएर बस्‍नु हुँदैन, तिमीहरूले खोजी गरिरहनुपर्छ, तिमीहरू वृद्धि भइरहनुपर्छ—त्यसपछि मात्रै तिमीहरूले आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्नेछौ, र स्वीकार्य मापदण्डमा पुग्‍नेछौ। तथापि, आफ्‍नो कर्तव्य निर्वाह गर्दा, कतिपय मानिसहरू कुनै कसर बाँकी नछोडी तनमन दिएर लागिपर्दैनन्, केवल ५० देखि ६०% प्रयास मात्रै लगाउँछन्, र आफूले गर्दै गरेको काम पूरा भइञ्‍जेलसम्‍म कामचलाउ प्रयास मात्र गर्छन्। तिनीहरूले कहिल्यै पनि सामान्य स्थिति कायम राख्दैनन्: तिनीहरूलाई रेखदेख गर्ने वा सहयोग गर्ने कोही नहुँदा, तिनीहरू सुस्त हुन्छन् र जाँगर गुमाउँछन्; जब सत्यताको सङ्गति गर्ने कोही हुन्छ, तब तिनीहरू उत्साहित हुन्छन्, तर केही समयसम्‍म सत्यताको बारेमा सङ्गति दिइएन भने, तिनीहरू उदासीन बन्छन्। यसरी तिनीहरू सधैँ घरि यता, घरि उता गरिरहनुमा के समस्या छ? मानिसहरूले सत्यता प्राप्त नगरेको अवस्थामा, तिनीहरू यस्तै हुन्छन् र यसरी नै जोसमा जिउँछन्, जुन जोस कायम राखिराख्‍न गाह्रो हुन्छ: तिनीहरूलाई हरदिन कसै न कसैले प्रचार र सङ्गति गर्नुपर्छ; तिनीहरूलाई मलजल र भरणपोषण गर्ने, र तिनीहरूलाई साथ दिने कोही छैन भने, तिनीहरूको हृदय फेरि चिसो भइहाल्छ, र तिनीहरू फेरि सुस्त बन्छन्। अनि, तिनीहरूको हृदय सुस्त हुँदा, तिनीहरू आफ्‍नो कर्तव्यमा कम प्रभावकारी हुन्छन्; यदि तिनीहरूले थप परिश्रम गरे भने, प्रभावकारितामा वृद्धि हुन्छ, तिनीहरूको कर्तव्यपालनका नतिजाहरू अझ राम्रा हुनेछन्, र तिनीहरूले अझै धेरै कुरा प्राप्त गर्छन्। के तिमीहरूको अनुभव यस्तै छ? सायद तिमीहरू यसो भन्छौ होला, “किन हामीलाई आफ्‍नो कर्तव्य पूरा गर्न सधैँ समस्या हुन्छ? यी समस्याहरू समाधान हुँदा, हामीमा जोसजाँगर आउँछ; यी समाधान नहुँदा, हामी उदासीन बन्छौँ। हामीले आफ्‍नो कर्तव्य निर्वाह गर्दा केही नतिजा हात लाग्यो भने, हाम्रो वृद्धिको लागि हामीलाई परमेश्‍वरले अनुमोदन गर्नुभयो भने, हामी प्रसन्‍न हुन्छौँ, र हामी बल्‍ल वृद्धि भएका छौँ भन्‍ने हामीलाई अनुभूति हुन्छ, तर चाँडै नै, हामीले कुनै कठिनाइको सामना गर्नुपर्छ, र हामी फेरि पनि नकरात्मक बन्छौँ—किन हाम्रो स्थिति कहिल्यै एकरूपको हुँदैन?” वास्तवमा, यसका मुख्य कारणहरू के हुन् भने, तिमीहरूले अत्यन्तै थोरै मात्र सत्यता बुझेका छौ, तिमीहरूमा अनुभव र प्रवेशको गहिराइको कमी छ, तिमीहरूले अझै पनि धेरै सत्यता बुझ्दैनौ, तिमीहरूमा इच्‍छाशक्तिको कमी छ, र आफ्‍नो कर्तव्य निर्वाह गर्न सकेकोमै तिमीहरू सन्तुष्ट हुन्छौ। यदि तिमीहरू सत्यता बुझ्दैनौ भने, कसरी आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न सक्छौ? वास्तवमा, परमेश्‍वरले मानिसहरूलाई जे गर्न लगाउनुहुन्छ त्यो सबै कुरा मानिसहरूले गर्न सक्छन्; जबसम्म तिमीहरूले आफ्‍नो विवेक लगाउन सक्छौ, र आफ्‍नो कर्तव्य पूरा गर्दा विवेकलाई पछ्याउन सक्छौ, तबसम्म तिमीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुनेछ—र यदि तिमीहरूले सत्यता स्वीकार गर्न सक्छौ भने, पर्याप्त रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्छौ। तिमीहरूले यसरी सोच्‍नुपर्छ: “यतिका वर्षमा परमेश्‍वरमा विश्‍वास गरेर, यतिका वर्षसम्‍म परमेश्‍वरका वचनहरू खाएर-पिएर, मैले धेरै कुरा प्राप्त गरेको छु, र परमेश्‍वरले मलाई ठूला अनुग्रह र आशिष्‌हरू दिनुभएको छ। म परमेश्‍वरको हातमा जिउँछु, उहाँको अधीन र सार्वभौमिकतामा जिउँछु, र उहाँले मलाई यो सास दिनुभएको हो, त्यसैले मैले मेरो मनमस्तिष्क लगाउनुपर्छ, र सारा शक्तिले आफ्‍नो कर्तव्य पूरा गर्न लागिपर्नुपर्छ—यही नै मुख्य कुरा हो।” मानिसहरूमा इच्‍छाशक्ति हुनैपर्छ; इच्‍छाशक्ति भएकाहरू मात्रै सत्यताप्रति लागिपर्न सक्छन्, र तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न, अनि शैतानलाई लाजमा पार्न सक्छन्। यदि तँमा यस्तो इमानदारिता छ, र आफ्‍नै खातिर योजना बनाउँदैनस्, बरु सत्यता प्राप्त गर्ने र आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गर्ने योजना मात्रै बनाउँछस् भने, तेरो कर्तव्यपालन सामान्य बन्छ, र सधैँ एकसमान रहिरहन्छ; तैँले जस्तोसुकै परिस्‍थितिको सामना गर्नुपरे पनि, तँ आफ्‍नो कर्तव्य पूरा गर्नमा लागिरहन सक्छस्। तँलाई बहकाउन वा बाधा दिन जोसुकै आए पनि, र तेरो मनस्थिति राम्रो भए पनि नराम्रो भए पनि, तैँले सामान्य रूपमै आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछस्। यसरी, परमेश्‍वर तँप्रति ढुक्‍क बन्‍नुहुनेछ, र पवित्र आत्‍माले तँलाई सत्यता सिद्धान्तहरू बुझ्‍न अन्तर्दृष्टि दिन सक्‍नुहुनेछ, र सत्यता वास्तविकतामा प्रवेश गर्न तँलाई अगुवाइ गर्नुहुनेछ, फलस्वरूप, तेरो कर्तव्यपालन अवश्य नै मापदण्डको स्तरमा पुग्‍नेछ। जबसम्म तँ इमानदारीपूर्वक परमेश्‍वरमा समर्पित हुन्छस्, आफ्‍नो कर्तव्य व्यावहारिक रूपमा पूरा गर्छस्, र धूर्त तरिकाले काम वा चलाकी गर्ने प्रयास गर्दैनस्, तबसम्म तैँले परमेश्‍वरको मापदण्ड पूरा गर्नेछस्। परमेश्‍वरले मानिसहरूका मन, सोच, अभिप्राय, र मनसायहरूको छानबिन गर्नुहुन्छ। यदि तेरो हृदयले सत्यताको तृष्णा गर्छ र तँ सत्यताको खोजी गर्न सक्छस् भने, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ। कुनै पनि मामलामा, तैँले जबसम्म सत्यता खोजी गर्छस्, तबसम्म परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले ज्योतिको निम्ति तेरो हृदय खोलिदिनुहुनेछ र तँलाई अभ्यासको मार्ग दिनुहुनेछ, अनि तेरो कर्तव्यपालनले फल फलाउनेछ। परमेश्‍वरको अन्तर्दृष्टि उहाँको अनुग्रह र आशिष्‌ हो। मामूली कुराहरूमा पनि, यदि परमेश्‍वरले अन्तर्दृष्टि दिनुहुन्न भने, मानिसहरूले कहिल्यै प्रेरणा पाउनेछैनन्। प्रेरणाबिना मानिसहरूलाई आफ्ना समस्याहरू समाधान गर्न गाह्रो हुन्छ, र तिनीहरूले आफ्नो कर्तव्यमा परिणाम हासिल गर्नेछैनन्। मानिसहरूले मानव प्रज्ञा, बुद्धि र क्षमताले मात्र, वर्षौँको अध्ययनपछि पनि, कैयौँ कुराहरू पार गर्नै सक्दैनन्। किन सक्दैनन्? किनभने परमेश्‍वरद्वारा तोकिएको समय अझै आएको छैन। यदि परमेश्‍वरले कार्य गर्नुहुन्न भने, मानिस जतिसुकै सक्षम भए पनि त्यो बेकार हुन्छ। यो कुरा स्पष्ट रूपमा बुझ्नैपर्छ। तैँले सबैथोक परमेश्‍वरको हातमा छ, र मानिसहरूले केवल सहकार्य मात्र गर्दै छन् भन्ने कुरा विश्वास गर्नैपर्छ। यदि तँ इमानदार छस् भने, परमेश्‍वरले त्यो देख्‍नुहुनेछ, र उहाँले हरेक परिस्थितिमा तेरा लागि मार्ग खोलिदिनुहुनेछ। कुनै पनि कठिनाइ पार गर्न नसकिने हुँदैन, र तँमा यही विश्‍वास हुनुपर्छ। त्यसकारण, कर्तव्य पूरा गरिरहेको बेला, तँमा कुनै पनि आशङ्का हुनु जरुरी छैन। जबसम्म तैँले पूर्ण हृदयले आफ्नो सम्पूर्ण बल त्यसमा लगाउँछस्, तबसम्म परमेश्‍वरले तँलाई कठिनाइ प्रदान गर्नुहुनेछैन, न त तँलाई तैँले सम्हाल्नै नसक्‍ने कुराहरू नै जिम्‍मा लगाउनुहुन्छ। यदि तँ गम्भीर नभई बोल्छस्, कुरा मात्रै गर्छस् र काम गर्दैनस्, र राम्रो सुनिने कुराहरू बोल्छस् तर साँचो रूपमा आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्दैनस् भने मात्र तैँले चिन्ता लिनुपर्छ—किनकि त्यसपछि त सबै सक्‍किनेछ। यदि तेरो कर्तव्य र परमेश्‍वरप्रतिको मनोवृत्ति यस्तो हुन्छ भने, के तैँले परमेश्‍वरको आशिष् प्राप्त गर्नेछस् र? बिल्कुलै गर्नेछैनस्। यदि तैँले झाराटारुवा शैलीमा परमेश्‍वरलाई व्यवहार गर्छस् र उहाँलाई धोका दिन्छस् भने, परमेश्‍वरले तँलाई वास्ता गर्नुहुनेछैन र हटाइदिनुहुनेछ; परिणाम त्यही हुनेछ। यदि तैँले परमेश्‍वरलाई धोका दिन्छस् भने, आफैलाई धोका दिन्छस्। परमेश्‍वरले भन्नुहुनेछ, “यो व्यक्तिको हृदय अति छली छ, र त्यसमा इमानदारीको कुनै निशान छैन। यसलाई कुनै पनि कुरामा भरोसा गर्न वा कुनै पनि कुरा जिम्‍मा दिन सकिँदैन। यसलाई अलग राखियोस्।” यसको अर्थ के हो? यसको अर्थ तँलाई एक्लै छोडिनेछ र बेवास्ता गरिनेछ। यदि पश्‍चात्ताप नगरे, तँलाई पूर्णतया त्यागिनेछ। तँलाई दण्ड दिन शैतान, दुष्टात्मा र अशुद्ध आत्माहरूको हातमा सुम्पिइनेछ। यसरी एक्लै छोडेर बेवास्ता गर्दा व्यक्ति कस्तो स्थितिमा हुन्छ? यसको अर्थ पवित्र आत्माले अबउप्रान्त तँमा काम गरिरहनुभएको छैन भन्‍ने हो। तैँले स्पष्ट रूपमा केही देख्नेछैनस्, र अरूले सधैँ अन्तर्दृष्टि र ज्योति पाउँदा, तैँले पाउनेछैनस्; तँ भावशून्य रहनेछस्। सत्यता र जीवन प्रवेशबारे कसैले सङ्गति गर्दा तँ सधैँ झुल्दै निदाउनेछस्। यो कस्तो घटना हो? परमेश्‍वरले काम नगरिरहनुभएको घटना। यदि परमेश्‍वर काम गरिरहनुभएको छैन भने, के मान्छे जिउँदो लास बन्दैन र? परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँको उपस्थिति महसुस नगर्नु निकै डरलाग्दो हुन्छ। यस्तो व्यक्तिले आफ्नो जिउने आत्मविश्‍वास र आफ्नो प्रेरणा गुमाउँछ। आफ्नो जिउने सबै पुँजी गुमाउँछ। यस्तो जीवनको के मूल्य हुन्छ? के तँ सुँगुर र कुकुरभन्दा पनि नराम्रो हुँदैनस् र? तेरा कार्यहरू र व्यवहारको कारण, परमेश्‍वरले तँ भर र विश्‍वास गर्न लायक छैनस् भन्‍ने देख्नुहुन्छ। परमेश्‍वरले हृदयको गहिराइबाटै तँलाई घृणा गर्नुहुन्छ, र यसरी तँलाई या त त्याग्‍नुहुन्छ या त केही समयको लागि पन्छ्याउनुहुन्छ। मलाई अचम्म लाग्छ, यस्तो व्यक्तिलाई आफ्नो मनको पीडा र असहजता किन थाहा हुँदैन? तिनीहरूको हृदयमा के खराबी छ? के त्यहाँ विवेकको बोध त छ? तैँले परमेश्‍वरमा जति नै वर्षसम्म विश्‍वास गरेको भए पनि, वा तेरो विश्‍वास चाहे साँचो वा झूटो नै भए पनि, तैँले आचरणका केही धर्मसिद्धान्तहरू पहिल्यै बुझिसकेको छस्, र तँ कसैको भर नपरी जिउन र बाँच्न सक्छस्, तर यदि तैँले तँलाई प्रकाश गरिएको र परमेश्‍वरले पहिल्यै तँलाई त्यागिसक्नुभएको कुरा थाहा पाइस् भने, के तँ अझै जिइरहन सक्छस्? के तेरो जीवनको अझै अर्थ हुन्छ? त्यसबेला तँ रुनेछस् र अँध्यारोमा दाह्रा किट्नेछस्। मण्डलीमा, प्रायः हामी त्यस्ता मानिसहरू देखिरहन्छौँ, जो आफूहरूलाई प्रकाश गरिएपछि र हटाइएपछि र मण्डलीले खेदाउन लागेपछि, आँखा रातो हुने गरी रुन्छन् र जिउने इच्छा गुमाई मर्नेसमेत सोच बनाउँछन्। तिनीहरूले रुँदै पश्‍चात्ताप गर्ने कसम खान्छन्, तर त्यति बेलासम्म, धेरै ढिलो भइसकेको हुन्छ। यो कफिनबक्स नदेखेसम्म आँसु नबगाउनुजस्तै हो। त्यसैले, यदि तँ पश्‍चात्ताप गर्न चाहन्छस् भने, अहिल्यै गर्नुपर्छ। तुरुन्तै तेरो कर्तव्यपालनमा के समस्या बाँकी छ, तँ झाराटारुवा छस् कि छैनस्, र तँ गैरजिम्मेवार भएको कुनै क्षेत्र छ कि छैन, मनन गर्। तैँले आफ्नो कर्तव्य निभाएर वास्तवमै नतिजाहरू प्राप्त गरेको छस् कि छैनस्, सोच्—यदि गरेको छस् भने, तैँले त्यो किन हासिल गरिस्, र यदि गरेको छैनस् भने, किन हासिल गरेको छैनस्, चिन्तन गर्। चिन्तनमार्फत यी कुराहरूमा स्पष्टता प्राप्त गर्, र यदि समस्याहरू बाँकी छन् भने, ती हल गर्न सत्यता खोज्। यसो गर्दा, तँलाई कर्तव्य निभाउन कुनै कठिनाइ हुनेछैन। समस्या आइपर्दा त्यसलाई सुल्झाउन सत्यता खोज्न सक्‍नेहरू सबैलाई कर्तव्य निभाउन झन् कम कठिनाइ हुने मात्र होइन, तिनीहरू ती कर्तव्य निभाउन झन् प्रभावकारीसमेत हुनेछन्, र त्यस दौरान तिनीहरूले जीवन प्रवेश पनि हासिल गर्नेछन्। उदाहरणमार्फत, केही मानिसहरूले धेरै चरणको काटछाँट भोगेपछि सत्यता बुझ्न थाल्छन्। तिनीहरू प्रायः आफैबारे चिन्तन गर्न सक्षम हुन्छन्, र जबजब आफूले केही गल्ती गरेको भेट्टाउँछन्, तिनीहरूलाई आफूबाट सत्यता सिद्धान्तहरू उल्लङ्घन भएको थाहा हुन्छ, अनि तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन्, र विशेष रूपले पछुताउँछन्। कहिलेकाहीँ, तिनीहरू आफैलाई घृणा पनि गर्छन् र आफैलाई थप्पड हान्दै यसो भन्छन्: “मैले फेरि गल्ती गरेर परमेश्‍वरलाई कसरी दुःख दिन सकेँ? म अति हृदयहीन छु! परमेश्‍वरले कति धेरै बोल्नुभएको छ—म किन ती कुरा लामो समयसम्म याद राख्न सक्दिनँ? म किन परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्दिनँ? म साँच्चै शैतानद्वारा निकै गहन रूपमा भ्रष्ट पारिएको छु। मेरो हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ छैन, र म सत्यताको कदर गर्दिनँ। म सँधै शैतानी दर्शनसाथ जिइरहेको हुन्छु, र म परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्दिनँ। मसँग साँच्चै विवेक वा समझ छैन। म परमेश्‍वरप्रति अति विद्रोही छु!” यसरी, तिनीहरूले पश्‍चात्ताप गर्नमा ध्यान केन्द्रित गर्छन् र सत्यता अभ्यास गर्ने, आफ्नो कर्तव्य राम्रोसँग निभाउने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने अठोट गर्छन्। तिनीहरूसँग साँच्चै पश्‍चात्ताप गर्ने हृदय हुन्छ, तर भ्रष्ट स्वभाव त्याग्नु त्यति सजिलो कुरा होइन—अलिअलि परिवर्तित हुन सक्षम हुनुअघि पनि व्यक्तिले केही परीक्षा र शोधन अनुभव गर्नुपर्छ। अहिले धेरै मानिसहरू छन् जसले सत्यतामा आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन्, जो सत्यता वास्तविकतामा प्रवेश गर्ने र परमेश्‍वरप्रति समर्पित हुने मानिसहरू बन्न इच्छुक छन्। त्यसोभए, साँच्चै पश्‍चात्ताप गर्ने हृदय हुने व्यक्तिले कसरी अभ्यास गर्नुपर्छ? यसको एउटा पक्ष भनेको उसले आफूमा भएका समस्याहरू समाधान गर्दै र आफ्नो कर्तव्यनिर्वाहमा अभ्यासको मार्ग खोज्दै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र अझ बढी सत्यता खोज्‍नुपर्छ। यसको अर्को पक्ष भनेको उसले सत्यता बुझ्ने र ऊसँग सङ्गति गरिदिने कुनै व्यक्ति खोज्नुपर्छ, जसले आफ्नै विद्रोहीपन, आफ्नै प्रकृति सार, अनि आफूले परमेश्‍वरको प्रतिरोध गर्ने क्षेत्रहरू चिरफार गर्छ। उसले यी समस्याहरू स्पष्ट रूपमा चिन्‍नुपर्छ, त्यसपछि परमेश्‍वरका वचनहरूलाई राम्ररी विचार गर्नुपर्छ र ती आफैमा कसरी लागू हुन्छन्‌ भनेर हेर्नुपर्छ; बारम्बार, उसले परमेश्‍वरका ती महत्त्वपूर्ण वचनहरूलाई विचार गरिहनुपर्छ, र साँचो ज्ञान प्राप्त नगरेसम्म, आफ्नै समस्याहरू र प्रकृति सारतर्फ आफ्नो आत्मचिन्तन लक्षित गरिरहनुपर्छ। यसरी, उसले साँचो पश्‍चाताप प्राप्त गर्न र आफैलाई घृणा गर्न सक्छ। त्यसपछि, उसले कर्तव्य निभाउँदा आइपर्ने कठिनाइहरू खुलासा गर्नुपर्छ र ती समाधान गर्न सत्यता प्रयोग गर्नुपर्छ। यसरी, उसले कर्तव्य निभाउँदा कठिनाइहरू कम हुँदै जानेछन्, र यसमा एक प्रभाव पनि हासिल भइसकेको हुनेछ। यदि व्यक्ति साँच्चै पश्‍चात्ताप गर्न चाहन्छ भने, उसले यसरी नै अभ्यास गर्नुपर्छ। साँचो पश्‍चात्तापको एकमात्र मार्ग यही हो।

सत्यता पछ्याउँदा कस्तो प्रभाव हासिल हुनेछ? यसको एउटा पक्ष भनेको व्यक्तिको भ्रष्ट स्वभाव त्याग्नको लागि सत्यता पछ्याइन्छ; अर्को पक्षचाहिँ के हो भने, कर्तव्य निभाउँदा व्यक्तिलाई सत्यता अभ्यास गर्ने र साँच्चै परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति बन्ने तुल्याउन यसो गरिन्छ। यो साँचो पश्‍चात्तापको गवाही हो। साँच्चै पश्‍चात्ताप गर्नको लागि, प्रभाव हासिल नहुन्जेलसम्म व्यक्तिले सत्यता बुझ्नु र अभ्यास गरिरहनुपर्छ। यदि तँ समस्या समाधान गर्न सत्यता खोज्दैनस् भने, र यदि तेरो पश्‍चात्ताप तैँले भन्‍ने कुरा मात्र हो भने, यसले प्रभाव हासिल गर्न सक्दैन। यसरी तँ शान्त वा स्थिर महसुस गर्नेछैनस्। यदि तँ प्रार्थनामा साँच्चै पश्‍चात्ताप गर्न चाहन्छु भनेर मात्र भन्छस् तर आफ्नो कर्तव्य निभाउँदा, समस्या समाधान गर्न र सन्तोषजनक रूपमा कर्तव्य निभाउन सत्यता खोज्दैनस् भने, तँ परमेश्‍वरलाई धोका दिन खोज्दै छस्। साँचो पश्‍चात्ताप मुख्यतया बफादारी, सिद्धान्तहरूअनुसारको व्यवहार, सत्यता अभ्यास, र कर्तव्य निभाउँदाको साँचो गवाहीको रूपमा प्रकट हुन्छ। यी साँचो पश्‍चात्तापका सङ्केतहरू हुन्, र ती साँचो पश्‍चात्तापका गवाही पनि हुन्। यदि व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग ननिभाई प्रार्थनामा परमेश्‍वरसँग पश्‍चात्तापको कुरा मात्र गर्छ भने, के उसले परमेश्‍वरलाई धोका दिन खोजिरहेको छैन र? यदि कुनै कुराले कम्तीमा व्यक्तिको विवेक पनि पार गर्न सक्दैन भने, त्यो कुरा परमेश्‍वरसम्म कसरी पुग्‍न सक्छ? तेरो वर्तमान परिस्थिति जस्तोसुकै होस्, तैँले परमेश्‍वरको लागि तेरो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न नसकेसम्म, र तेरो कर्तव्यपालनमा धेरै समस्याहरू रहिरहेसम्म, र त्यो समाधान गर्न तैँले सत्यता खोज्दैनस् भने, तेरो समस्या ठूलो छ र तैँले यसबारे इमानदारीपूर्वक प्रार्थना र आफैबारे चिन्तन गर्नुपर्छ। यदि तँ साँच्चै पश्‍चात्ताप गर्न सक्दैनस् र सधैँ आफ्नो कर्तव्य खराब तरिकाले निभाउँछस् भने, तैँले निश्‍चित रूपमा हटाइने खतरा सामना गर्नेछस्। तैँले परमेश्‍वरमा कति वर्ष विश्‍वास गरेको छस् भन्‍ने कुराले फरक पार्दैन—तँ आफ्नो कर्तव्य निभाउनमा सधैँ झाराटारुवा रहुञ्जेल, सधैँ आफ्नो फाइदाको पछि लागुञ्जेल, तैँले अलिअलि पनि सत्यता स्वीकार वा अभ्यास नगरी सधैँ परमेश्‍वरको घरको फाइदा उठाउञ्जेल, तँ परमेश्‍वरको साँचो विश्‍वासी हुँदैनस्। तँ सत्यताबारे वितृष्णा पाल्ने व्यक्ति हुन्छस्, केवल आफ्नो भागको रोटी खाने अभिप्राय भएको अविश्‍वासी हुन्छस्। तँ अझै परमेश्‍वरको घरमा जिइरहेको हुन सक्छस्, र तैँले अझै पनि परमेश्‍वरको विश्‍वासी हुँ भन्न सक्छस्, तर तथ्य यो हो कि तेरो अब परमेश्‍वरसँग कुनै सम्बन्ध हुँदैन। परमेश्‍वरले लामो समयदेखि तँलाई एक छेउमा पन्छाइदिनुभएको हुन्छ, र तँ आत्माहीन भूस, एक जिउँदो लास बनेको हुन्छस्। तब, जिउनुको अर्थ के नै हुन्छ र? साँच्‍चै भन्‍ने हो भने, यस चरणमा पुगेका कसैसँग पनि कुनै गन्तव्य नै हुँदैन। तिनीहरूको एउटै निकास भनेको झट्टै परमेश्‍वरसामु आएर पाप स्विकार्नु मात्र हो। यदि तँ साँच्चै इमानदार छस् र साँच्चै पश्‍चात्ताप गर्छस् भने, परमेश्‍वरले तेरा अपराधहरू बिर्सिदिनुहुनेछ। तर तैँले एउटा कुरा याद गर्नुपर्छ: चाहे जुनसुकै बेला होस्, र चाहे तँसँग परमेश्‍वरबारे ज्ञान होस् वा नहोस्, वा उहाँबारे धारणा वा गलत अवधारणाहरू होस् वा नहोस्, तैँले कहिल्यै उहाँविरुद्ध लड्नु वा चुनौती दिनु हुँदैन। नत्र तैँले पक्कै पनि प्रतिशोध भोग्नेछस्। यदि तैँले आफ्नो हृदय हठी भएको पाउँछस्, र “म यो काम यसरी नै गर्नेछु, हेरौँ, परमेश्‍वरले मलाई के गर्न सक्नुहुन्छ। म कसैसँग डराउँदिनँ, मैले पहिला पनि सधैँ यसरी नै काम गरेको छु” भन्‍ने स्थितिमा हुन्छस् भने, तँ समस्यामा हुन्छस्। यो शैतानी प्रकृतिको विष्फोटन हो; यो हठीपन हो। तँलाई तैँले गरिरहेको कुरा गलत र खतरनाक छ भनेर पहिले नै राम्रोसँग थाहा हुन्छ, तर तैँले यसलाई गम्भीरतापूर्वक लिँदैनस्। तेरो हृदयले डर मान्दैन, कुनै आरोप वा दोष स्विकार्दैन, र चिन्तित वा दुःखी पनि हुँदैन—तँलाई पश्‍चात्ताप गर्न पनि आउँदैन। यो हठी स्थिति हो, र यसले तँलाई समस्या ल्याउनेछ। यसले परमेश्‍वरलाई तँलाई पन्छाउन सजिलो बनाउँछ। यदि व्यक्ति यो बिन्दुमा पुग्छ र अझै पनि अति भावशून्य हुन्छ, र सुध्रनुपर्छ भनेर जान्दैन भने, के परमेश्‍वरसँगको उसको सम्बन्ध पुनर्स्थापित गर्न सकिन्छ र? यो सजिलैसँग पुनर्स्थापित हुनेछैन। त्यसोभए, तैँले परमेश्‍वरसँगको सामान्य सम्बन्ध कसरी पुनर्स्थापित गर्न सक्छस्, जसले तँलाई उहाँको नजिक जानु पूर्णतः प्राकृतिक र न्यायोचित कुरा हो भन्‍ने महसुस गराउँछ? तैँले कहाँ समर्पित हुन, झुक्न र आफूसँग भएका सबै कुरा उहाँलाई अर्पण गर्न, उहाँको डर मान्न र तैँले बुझे वा नबुझे पनि उहाँका वचनहरूलाई सत्यताको रूपमा स्विकार्न, अनि सत्यता खोज्न र समर्पणता अभ्यास गर्न सक्छस्? तँ कहिले यो स्थितिमा पुनर्स्थापित हुन सक्छस्? यो स्थिति पुनर्स्थापित गर्न तैँले कुन हदसम्म जानुपर्छ? मलाई डर छ, यो निश्‍चित रूपमा गाह्रो हुनेछ किनभने यो समयावधि, वा यात्राको लम्बाइ वा पार गर्नुपर्ने दूरीको सवाल होइन। यो तेरो जीवन स्थिति, र तैँले साँच्चै सत्यता वास्तविकतामा प्रवेश गरेको छस् कि छैनस् भन्‍ने कुराको सवाल हो। यदि तैँले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तैपनि तँ आफूभित्रका समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्षम छैनस् भने, र यदि यी समस्याहरूको गम्भीरताबारे अनजान छस्, प्रायः बिनाकुनै चेतना विद्रोही स्थितिमा मक्ख परेर जिउँछस्, गलत कामहरू गर्छस्, गलत शब्दहरू बोल्छस्, परमेश्‍वरविरुद्ध हठी हृदयले विरोध, प्रतिरोध र विद्रोह गर्छस्, अनि आफ्नै धारणा, कल्पना, विचार र दृष्टिकोणहरूमा अडिग रूपमा अल्झिरहन्छस् तर यसबारे तँलाई पत्तै हुँदैन भने, तँसँग कुनै सत्यता वास्तविकता छैन, तँ परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति होइनस्, र तँ अझै पनि परमेश्‍वरका मापदण्डहरू पूरा गर्नबाट धेरै टाढा छस्। तँ आफ्नो हृदयमा यसबारे स्पष्ट हुनुपर्छ। यदि तँ आफ्नो साँचो स्थिति स्पष्ट रूपमा देख्न सक्दैनस् भने, र सधैँ आफूले विश्‍वास गर्ने तरिका ठीक छ, परमेश्‍वरप्रति अर्पित हुन सक्षम छु, दुःख भोगेको छु र मूल्य चुकाएको छु भन्ठान्छस्, र आफू स्वर्गको राज्यमा प्रवेश गर्ने कुरा निश्‍चित छ भन्‍ने विश्‍वास गर्छस् भने, तँमा अलिकति पनि समझ छैन। तँमा कुनै सत्यता वास्तविकता छैन, तर तँलाई त्यो थाहा पनि छैन। यसको मतलब, तँसँग अस्पष्ट मन छ, तँ अन्योलमा छस्, तँ बेबकुफ व्यक्ति होस्, र तँ सत्यता बुझ्न वा आफैलाई चिन्न पर्याप्त क्षमताको छैनस्, र तसर्थ तँलाई परमेश्‍वरद्वारा मुक्ति दिन सकिँदैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्