कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३६)

“इमानदार व्यक्ति हुनु एकदमै खुसीको कुरा हो” भन्‍ने गीतका सबै शब्द निकै व्यावहारिक छन् र मैले सङ्गति गर्न यसबाट केही हरफहरू लिएको छु। ल, सबभन्दा पहिले हामी यस हरफबारे सङ्गति गरौँ, “म पूरै हृदय र मनले आफ्नो कर्तव्य पालना गर्छु र मलाई देहको कुनै चिन्ता छैन।” यो कस्तो स्थिति हो? पूरै हृदय र मनले आफ्नो कर्तव्य पालना गर्ने व्यक्ति कस्तो खालको व्यक्ति हो? के ऊसँग विवेक छ? के उसले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो जिम्मेवारी पूरा गरेको छ? के उसले कुनै पनि तरिकाले परमेश्‍वको ऋण तिरेको छ? (छ।) उसले पूरै हृदय र मनले आफ्नो कर्तव्य पालना गर्न सक्छ भन्‍ने तथ्यले उसले गम्भीरतापूर्वक, जिम्मेवार भएर, झारा नटारी, चलाकी नगरी र सुस्त नभई, र जिम्मेवारीबाट नभागी यसलाई पूरा गर्दछ भन्‍ने अर्थ दिन्छ। उसको मनोवृत्ति सही छ, अनि उसको स्थिति र मानसिकता सामान्य छ। ऊसँग समझ र विवेक छ, उसले परमेश्‍वरको ख्याल गर्छ, अनि आफ्नो कर्तव्यप्रति बफादार र समर्पित छ। “देहको कुनै चिन्ता छैन” भन्नुको अर्थ के हो? यहाँ पनि केही स्थितिहरू छन्। यसको मूल अर्थ के हो भने ऊ आफ्नो देहको भविष्यबारे चिन्ता गर्दैन र आफ्नो भविष्यका लागि योजना बनाउँदैन। यसको मतलब वृद्ध भएपछि के गर्नेछ, उसको हेरविचार कसले गर्नेछ वा त्यो बेला ऊ कसरी जिउनेछ भन्‍ने कुराबारे उसले ख्याल गर्दैन। ऊ यी कुराहरूको ख्याल गर्दैन, बरु सबै कुरामा परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुन्छ। आफ्नो कर्तव्य राम्ररी निभाउनु नै उसको पहिलो र सबैभन्दा प्रमुख कार्य हुन्छ—आफ्नो कर्तव्य पालना गर्नु र परमेश्‍वरको आज्ञा पालना गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। जब मानिसहरूले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्, तब के तिनीहरूमा केही मानव स्वरूप हुँदैन र? यो मानव स्वरूप हुनु नै हो। मानिसहरूले कम्तीमा आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ, निष्ठावान् हुनुपर्छ, अनि आफ्नो पूरै हृदय र मन यसमा लगाउनुपर्छ। “आफ्‍नो कर्तव्य पालना गर्नु” भनेको के हो? यसको अर्थ मानिसहरूले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, कर्तव्य नत्याग्नु, भगुवा नहुनु, वा आफ्‍नो जिम्‍मेवारीबाट पछि नहट्नु भन्‍ने हो। तिनीहरूले आफूले सक्ने जति सबै गर्छन्। आफ्‍नो कर्तव्य पालना गर्नु भनेको यही हो। उदाहरणको लागि, मानौँ, तेरो लागि केही काम गर्ने बन्दोबस्त मिलाइएको छ अनि तँलाई रेखदेख गर्ने, सुपरिवेक्षण गर्ने वा गर्-गर् भन्‍ने कोही छैन। तैँले आफ्‍नो कर्तव्य पालना गर्नु भनेको कस्तो हुनेथियो? (परमेश्‍वरको सूक्ष्म जाँचलाई स्वीकार गर्नु र उहाँको उपस्थितिमा जिउनु।) परमेश्‍वरको सूक्ष्म जाँचलाई स्वीकार गर्नु पहिलो कदम हो; यो यसको एउटा भाग हो। अर्को भाग भनेको आफ्‍नो सारा मन र मस्तिष्कले आफ्नो कर्तव्य निभाउनु हो। आफ्‍नो सारा मन मस्तिष्कले कर्तव्य निभाउन सक्षम हुनको निम्ति तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई स्वीकार गरेर अभ्यास गर्नुपर्छ; अर्थात् तैँले परमेश्‍वरका जुनसुकै मागहरूलाई स्वीकार गर्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ; तैँले आफ्‍नो कर्तव्यलाई आफ्‍नै व्यक्तिगत मामिलाहरू सम्हाले झैँ गरी सम्हाल्नुपर्छ, र त्यसको लागि तँलाई कसैको निगरानी, परिवेक्षण, तैँले सही तरिकामा कर्तव्य गरिरहेको छस् कि छैनस् भनेर जाँच, प्रोत्साहन, निरीक्षण वा काटछाँटको समेत खाँचो हुनु हुँदैन। तैँले मनमा यस्तो सोचेको हुनुपर्छ, “यो कर्तव्य पूरा गर्ने मेरो जिम्‍मेवारी हो। यो मेरो भाग हो, र यो काम गर्न मलाई दिइएको हुनाले, र मलाई सिद्धान्तहरू बताइएको र मैले ती बुझेको हुनाले, म एकोहोरो भएर लागिरहनेछु। यसलाई राम्ररी पूरा गर्न म आफूले सकेजति गर्नेछु।” तँ यो कर्तव्य निभाउन दृढ रहनुपर्छ, र कुनै व्यक्ति, घटना वा कुराको बन्धनमा पर्नुहुन्न। आफ्‍नो सारा मन र मस्तिष्कसहित आफ्‍नो कर्तव्य पालना गर्नु भनेको यही हो र मानिसहरूमा हुनुपर्ने स्वरूप यही हो। त्यसो भए, आफ्‍नो कर्तव्य सारा मन र मस्तिष्कसहित पालना गर्नको लागि मानिसहरू के कुराले सुसज्‍जित हुनुपर्छ? सर्वप्रथम, तिनीहरूमा सृष्टि गरिएको प्राणीहरूमा हुनुपर्ने विवेक हुनुपर्छ। न्यूनतम कुरा त्यही हो। त्यसबाहेक, ऊ निष्ठावान् पनि हुनुपर्छ। व्यक्तिले एक मानवको रूपमा, परमेश्‍वरको आज्ञा स्वीकार गर्नका निम्ति ऊ निष्ठावान् हुनुपर्छ। व्यक्ति परमेश्‍वरप्रति मात्र पूर्ण रूपमा निष्ठावान् हुनुपर्छ, र ऊ आधा मनको हुनु हुँदैन, वा जिम्मेवारी उठाउन असफल हुनु हुँदैन; आफ्नै रुचिहरू वा मनस्थितिको आधारमा कार्य गर्नु गलत हो, यसो गर्नु निष्ठावान् हुनु होइन। निष्ठावान् हुनुको अर्थ के हो त? यसको अर्थ यही हो कि तैँले आफ्ना कर्तव्यहरू निर्वाह गर्छस् र आफ्नो मनस्थिति, वातावरण, वा अरू मानिस, घटना र कामकुराहरूद्वारा प्रभावित र बाध्य हुँदैनस्। तैँले मनमनै यस्तो सोच्नैपर्छ, “मैले यो आज्ञा परमेश्‍वरबाट स्वीकार गरेको छु; उहाँले मलाई यो दिनुभएको हो। मैले गर्नुपर्ने यही नै हो, त्यसकारण, म यसलाई मेरो आफ्नै मामिलाहरू गरे झैँ गरी, राम्रा परिणामहरू ल्याउने जुनसुकै तरिकाद्वारा र परमेश्‍वरलाई सन्तुष्ट पार्ने कुरालाई महत्त्व दिँदै गर्नेछु।” जब तँ यस्तो अवस्थामा हुन्छस्, तेरो विवेक नियन्त्रणमा हुने मात्र होइन, तर तँभित्र निष्ठा पनि हुन्छ। यदि तँ दक्ष बन्‍ने र परिणामहरू प्राप्त गर्ने आकाङ्क्षा गर्दैनस्, त्यो कार्य सम्पन्‍न गर्दा नै सन्तुष्ट हुन्छस्, अनि त्यसमा आफ्नो पूरै प्रयास लगाउनु नै पर्याप्त हुन्छ भनी विचार गर्छस् भने, त्यो मानिसहरूको विवेकको मापदण्ड पूरा गर्नु मात्र हो, र त्यसलाई निष्ठा मान्‍न सकिँदैन। परमेश्‍वरप्रति निष्ठावान् हुनु, विवेकको मापदण्डभन्दा उच्‍च माग र मापदण्ड हो। यो आफ्नो पूरै प्रयत्न लगाउने कुरा मात्र होइन; त्यसमा तैँले आफ्नो सम्पूर्ण हृदय पनि लगाउनुपर्छ। तैँले आफ्नो हृदयमा सधैँ आफ्नो कर्तव्यलाई आफूले गर्नुपर्ने कामको रूपमा लिनुपर्छ, त्यस कामको लागि बोझ लिनुपर्छ, यदि तैँले सानो गल्ती गरिस् वा तँ लापरवाह स्थितिमा भइस् भने तैँले केही गाली सहनुपर्छ, र तैँले यस्तो आचरण देखाउनुहुँदैन भनी महसुस गर्नुपर्छ किनकि यसले तँलाई परमेश्‍वरप्रति अत्यन्तै ऋणी बनाउँछ। जुन मानिसहरूमा साँच्‍चै विवेक र समझ हुन्छ, उनीहरूले कसैले निगरानी वा सुपरिवेक्षण गरिरहेको भए वा नभए पनि आफ्नो कर्तव्य आफूले गर्नुपर्ने कामजस्तै ठानेर निर्वाह गर्छन्। परमेश्‍वर उनीहरूसँग खुसी हुनु भए पनि वा नहुनु भए पनि र परमेश्‍वरले उनीहरूसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, आफ्ना कर्तव्यहरू राम्ररी गर्न अनि परमेश्‍वरले उनीहरूलाई सुम्पनुभएको आज्ञा पूरा गर्न उनीहरूले सधैँ आफैसँग कठोर मापदण्डहरू राख्छन्। यसैलाई निष्ठा भनिन्छ। के यो विवेकको मापदण्डभन्दा पनि उच्‍च मापदण्ड होइन र? विवेकको मापदण्डअनुसार व्यवहार गर्दा, मानिसहरू प्राय बाहिरी कुराहरूद्वारा प्रभावित हुन्छन्, वा आफ्नो कर्तव्यमा आफ्नो सबै प्रयास लगाउनु मात्रै पनि पर्याप्त हुन्छ भन्ठान्छन्; शुद्धताको स्तर त्यति उच्‍च हुँदैन। तर, बफादारी र बफादारीसाथ आफ्‍नो कर्तव्य पालना गर्न सक्‍ने क्षमता बारे कुरा गर्दा, शुद्धताको स्तर उच्‍च हुन्छ। यो प्रयास लगाउनु मात्रै होइन; यसको लागि तैँले आफ्‍नो कर्तव्यमा आफ्नो सारा हृदय, मन र शरीर, लगाउनु आवश्यक हुन्छ। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न कहिलेकाहीँ थोरै शारीरिक कठिनाइ सहनैपर्छ। तैँले मूल्य चुकाउनैपर्छ र आफ्नो सम्पूर्ण ध्यान आफ्नो कर्तव्य निर्वाह गर्नमा केन्द्रित गर्नुपर्छ। तैँले जुनसुकै परिस्थितिको सामना गरे पनि त्यसले तेरो कर्तव्यमा असर पार्नेछैन वा तेरो कर्तव्य निर्वाहनमा ढिलासुस्ती निम्त्याउने छैन र तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्नेछस्। यसो गर्न तैँले मूल्य चुकाउन सक्नैपर्छ। तैँले आफ्नो दैहिक परिवार, व्यक्तिगत मामिला र स्वार्थ त्याग्नैपर्छ। तैँले आफ्नो घमण्ड, अभिमान, भावना, भौतिक सुख अनि तेरो युवा अवस्थाका उत्कृष्ट वर्षहरू, तेरो विवाह, तेरो भविष्य र तेरो भाग्यजस्ता कुराहरूसमेत, सबै छोड्नुपर्छ र त्याग्नुपर्छ, र तैँले स्वेच्छाले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। त्यसपछि, तैँले निष्ठा हासिल गरेको हुनेछस् र यसरी जिएर तँसँग मानव स्वरूप हुनेछ। यस्ता मानिसमा विवेक हुने मात्रै होइन, तिनीहरूले विवेकको मापदण्डलाई परमेश्‍वरले मानिससँग माग गर्नुहुने निष्ठा आफैबाट माग गर्ने आधारका रूपमा अनि यो निष्ठालाई आफैलाई मूल्याङ्कन गर्ने साधनका रूपमा प्रयोग गर्छन्। तिनीहरू लगनका साथ यस लक्ष्य तर्फ लागि पर्छन्। यस्ता मानिसहरू पृथ्वीमा दुर्लभ हुन्छन्। परमेश्‍वरद्वारा चुनिएका हजारौँ वा दशौँ हजारमा, यस्तो मान्छे एक जना मात्र हुन्छ। के यस्ता मानिसले मूल्यवान् जीवन जिउँछन्? के तिनीहरू परमेश्‍वरले कदर गर्नुहुने मानिस हुन्? निश्चय नै, तिनीहरूले मूल्यवान् जीवन जिउँछन् र तिनीहरू परमेश्‍वरले कदर गर्नुहुने मानिस हुन्।

यो गीतको अर्को हरफले यसो भन्छ, “मेरो क्षमता कम भए पनि, मसँग इमानदार हृदय छ।” यी वचनहरू अत्यन्तै वास्तविक सुनिन्छन्, र परमेश्‍वरले मानिसबाट गर्नुहुने एउटा मागबारे कुरा गर्छ। कस्तो माग? यो माग के हो भने, यदि मानिसहरूमा क्षमताको कमी छ भने, त्यो संसारको अन्त्य होइन, तर उनीहरूमा इमानदार हृदय हुनुपर्छ र छ भने, उनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। तेरो परिस्थिति वा पृष्ठभूमि जस्तोसुकै भए पनि, तँ इमानदार व्यक्ति हुनुपर्छ, इमानदारीसाथ बोल्नुपर्छ, इमानदारीसाथ व्यवहार गर्नुपर्छ, तेरो सम्पूर्ण मनमस्तिष्कले आफ्नो कर्तव्य पूरा गर्न सक्‍नुपर्छ, तँ आफ्नो कर्तव्य निभाउनमा निष्ठावान् हुनुपर्छ, तैँले झारा टार्न खोज्नु हुँदैन, छट्टु वा छली व्यक्ति हुनुहुँदैन, झुट बोल्नु वा धोका दिनु हुँदैन, र घुमाएर कुरा गर्नुहुँदैन। तँ त्यस्तो व्यक्ति बन्‍नुपर्छ, जसले सत्यताअनुसार कार्य गर्छ, र जो सत्यतालाई पछ्याउँछ। धेरै मानिसहरू आफ्नो क्षमता कमजोर भएको र आफूले कहिल्यै आफ्नो कर्तव्य राम्ररी वा मापदण्डअनुरूप ननिभाएको सोच्छन्। तिनीहरूले आफूले गर्ने काम सक्दो राम्ररी गर्छन्, तर कहिल्यै सिद्धान्त बुझ्न सक्दैनन् र अझै पनि त्यत्ति राम्रा परिणामहरू प्राप्त गर्न सक्दैनन्। अन्ततः, उनीहरू केवल आफू कम क्षमताको भएको गुनासो गर्छन् अनि नकारात्मक हुन्छन्। त्यसोभए, के कमजोर क्षमता भएको व्यक्तिका लागि अघि बढ्ने मार्ग नै छैन त? कमजोर क्षमता हुनु कुनै घातक रोग होइन र परमेश्‍वरले कमजोर क्षमता भएका मानिसहरूलाई म मुक्ति नै दिन्नँ भनेर कहिल्यै भन्नुभएन। परमेश्‍वरले पहिले भन्नुभएझैँ, उहाँ इमानदार तर अज्ञानी व्यक्तिहरूले गर्दा दुखी बन्नुहुन्छ। अज्ञानी हुनुको अर्थ के हो? अज्ञानता धेरैजसो कमजोर क्षमता हुँदा देखा पर्छ। जब मानिसहरू कमजोर क्षमताका हुन्छन्, तब तिनीहरूमा सत्यताबारे सतही बुझाइ हुन्छ। यो विशिष्ट वा पर्याप्त व्यावहारिक हुँदैन, र प्रायः सतही स्तर वा शाब्दिक बुझाइमा सीमित हुन्छ—यो धर्मसिद्धान्त र प्रावधानहरूमा सीमित हुन्छ। त्यसैले तिनीहरूले धेरै समस्याहरूलाई बुझ्न सक्दैनन् र कर्तव्य निर्वाह गर्दा कहिल्यै सिद्धान्तहरू आत्मसात् गर्न, वा आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनन्। त्यसोभए, के परमेश्‍वरले कमजोर क्षमता भएका मानिसहरू चाहनुहुन्न? (चाहनुहुन्छ।) परमेश्‍वरले मानिसलाई कुन मार्ग वा दिशा देखाउनुहुन्छ? (इमानदार व्यक्ति बन्ने।) के त्यति भनेर मात्र तिमीहरू इमानदार व्यक्ति बन्न सक्छौ? (सक्दैनौँ, हामीमा इमानदार व्यक्तिको प्रकटीकरण हुनैपर्छ।) इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैँ परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, “मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।” तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा बफादार भएर लाग्‍नुपर्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ। यसले आफूलाई धेरै तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निभाउन आफ्‍नो सारा हृदय र बल लगाउनु, सबै काम उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि तैँले आफूले जानेको र बुझेको कुरा गर्दैनस्, अनि आफ्नो प्रयासको ५० वा ६० प्रतिशत मात्र लगाउँछस् भने, त्यसमा आफ्नो सारा हृदय र सारा बल लगाइरहेको छैनस्। बरु तँ धूर्त होस् र सुस्त हुँदै छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्‍वरलाई यस्ता धूर्त र छली मानिसहरूको कुनै काम हुँदैन; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्‍वरले इमान्दार मानिसहरूलाई मात्र कर्तव्य निभाउन प्रयोग गर्नुहुन्छ। बफादार श्रमकर्ताहरूसमेत इमानदार हुनैपर्छ। लामो समयदेखिका झाराटारुवा मानिसहरू, धूर्त र सुस्त हुन खोज्ने मानिसहरू सबै छली हुन्, तिनीहरू सबै पिशाच हुन्, तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरमा साँचो विश्‍वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ। कतिपय मानिसहरू सोच्छन्, “इमानदार व्यक्ति बन्‍नु भनेको सत्य बोल्‍नु र झूट नबोल्‍नु मात्रै हो। इमानदार व्यक्ति बन्‍न साँच्‍चै सहज हुन्छ।” यो विचार तिमीहरूलाई कस्तो लाग्छ? के इमानदार व्यक्ति बन्नुको दायरा यति सीमित छ? निश्चित रूपमा छैन। तैँले आफ्नो हृदयलाई प्रकट गर्नुपर्छ र त्यो परमेश्‍वरलाई दिनुपर्छ। इमानदार व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। त्यसैले त इमानदार हृदय अत्यन्तै बहुमूल्‍य हुन्छ। यसले के सङ्केत गर्छ? यसले के सङ्केत गर्छ भने, इमानदार हृदयले तेरो व्यवहारलाई नियन्त्रण र तेरो स्थितिलाई परिवर्तन गर्न सक्छ। यसले तँलाई सही निर्णय गर्न, र परमेश्‍वरमा समर्पित भएर उहाँको अनुमोदन प्राप्त गर्न अगुवाइ गर्न सक्छ। यस्तो हृदय साँच्चै मूल्यवान् हुन्छ। यदि तँसँग यस्तो इमानदार हृदय छ भने, तँ जिउनुपर्ने स्थिति त्यही हो, तैँले त्यसरी नै व्यवहार गर्नुपर्छ र त्यसरी नै आफूलाई समर्पित गर्नुपर्छ। तैँले यी गीतका बोललाई राम्रोसँग मनन गर्नुपर्छ। कुनै पनि वाक्य त्यसको शाब्दिक अर्थ जत्तिकै सरल हुँदैन र यसलाई मनन गरेर साँच्चै बुझिस् भने तैँले केही प्राप्त गरेको हुनेछस्।

यस गीतको अर्को हरफ हेरौँ: “सबथोकमा पूरै भक्तिभावसहित परमेश्‍वरका अभिप्रायलाई सन्तुष्ट पार।” यी शब्दहरूमा अभ्यासको मार्ग छ। केही मानिसहरू कर्तव्य निर्वाह गर्ने सिलसिलामा कठिनाइहरू सामना गर्दा नकारात्मक बन्छन्, र यसले तिनीहरूलाई कर्तव्य निभाउन अनिच्छुक बनाउँछ। यी मानिसहरूमा केही त खराबी छ। के तिनीहरूले इमानदारीपूर्वक आफूलाई परमेश्‍वरमा समर्पित गरिरहेका पनि छन् र? तिनीहरूले कठिनाइहरू सामना गर्दा तिनीहरू किन नकारात्मक हुन्छन्, र समस्याहरू समाधान गर्न किन सत्यता खोजी गर्न सक्दैनन् भनेर चिन्तन गर्नुपर्छ। यदि तिनीहरू आत्मचिन्तन गर्न र सत्यता खोज्न सक्छन् भने, तिनीहरूले आफ्ना समस्याहरू बुझ्न सक्नेछन्। वास्तवमा, मानिसहरूको सबभन्दा ठूलो कठिनाइ भनेको मुख्यतः भ्रष्ट स्वभावको समस्या हो। यदि तैँले सत्यता खोज्न सक्छस् भने तेरो भ्रष्ट स्वभाव ठीक गर्न सजिलो हुनेछ। आफ्नो भ्रष्ट स्वभाव ठीक गर्नेबित्तिकै, तैँले परमेश्‍वरका अभिप्रायलाई सन्तुष्ट पार्न सबै थोकमा आफ्नो सारा निष्ठा अर्पण गर्न सक्नेछस्। “सबैथोक” भनेको कुरा जेसुकै होस्, चाहे त्यो परमेश्‍वरले तँलाई दिनुभएको कुनै कुरा होस्, अगुवा वा कामदारले तेरा लागि प्रबन्ध गरेको कुनै कुरा होस्, वा तैँले अचानक सामना गरेको कुनै कुरा नै किन नहोस्, जबसम्म यो तैँले गर्नुपर्ने कुरा हुन्छ र जबसम्म तैँले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छस्, तबसम्म तँ यसमा आफ्नो सारा बफादारी लगाउनुपर्छ, आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य पूरा गर्नुपर्छ, अनि परमेश्‍वरका अभिप्रायलाई सन्तुष्ट पार्नुलाई नै आफ्नो सिद्धान्त बनाउनुपर्छ। यो सिद्धान्त अलिक भव्य सुनिन्छ र मानिसहरूलाई यसअनुसार जिउन अलिक कठिन हुन्छ। अलि व्यावहारिक शब्दमा भन्दा, यसको अर्थ तैँले आफ्नो कर्तव्य राम्ररी निभाउनु हो। कर्तव्य पालना गर्नु र यसलाई राम्ररी पूरा गर्नु सजिलो छैन। चाहे अगुवा हुँदा होस् वा कामदार हुँदा, वा अरू कुनै कर्तव्य गर्दा होस्, तैँले केही सत्यताहरू बुझ्नैपर्छ। के तैँले सत्यता नबुझी आफ्नो कर्तव्य राम्रोसँग निभाउन सक्छस्? के तैँले सत्यताका सिद्धान्तहरू पालना नगरी यसलाई राम्रोसँग निभाउन सक्छस्? यदि तैँले सत्यताका सबै पक्ष बुझ्छस् र सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य राम्रोसँग निभाएको, कर्तव्य पालना गरेको, र सत्यता वास्तविकतामा प्रवेश गरेको हुनेछस् अनि परमेश्‍वरका अभिप्रायलाई सन्तुष्ट पार्न सक्नेछस्। अभ्यास गर्ने मार्ग यही हो। के यो गर्न सजिलो छ? तैँले निर्वाह गर्ने कर्तव्य तँलाई मन पर्छ र त्यसमा सिपालु छस् भने, तैँले यो आफ्नो जिम्मेवारी र दायित्व हो, अनि यो कार्य गर्नु पूर्णतः प्राकृतिक र न्यायसङ्गत हो भन्‍ने महसुस गर्नेछस्। तँ हर्षित, खुसी र सहज महसुस गर्नेछस्। यो तैँले गर्न चाहेको कुरा हुनेछ, अनि तैँले यसमा आफ्नो सारा निष्ठा लगाउन सक्नेछस् र आफूले परमेश्‍वरलाई सन्तुष्ट बनाइरहेको महसुस गर्नेछस्। तर कुनै दिन तैँले आफूलाई मन नपर्ने वा पहिले कहिल्यै नगरेको कर्तव्य सामना गर्दा, के तँ त्यसमा आफ्नो सारा निष्ठा दिन सक्नेछस्? यसले तैँले सत्यता अभ्यास गरिरहेको छस् कि छैनस् भनेर परीक्षण गर्नेछ। उदाहरणका लागि, यदि तेरो कर्तव्य भजन समूहमा छ, र तँ गाउन सक्छस् अनि तँलाई मन पर्छ भने, तँ यो कर्तव्य निर्वाह गर्न इच्छुक हुनेछस्। यदि तँलाई अर्को कर्तव्य दिइयो, त्यसमा तँलाई सुसमाचार प्रचार गर्न भनियो र यो काम अलिक कठिन छ भने, के तैँले यो पालन गर्न सक्नेथिइस्? तैँले यसबारे सोच्नेछस् अनि यसो भन्‍नेछस्, “म गीत गाउन मन पराउँछु।” यसको अर्थ के हो? यसको अर्थ यो हो कि तँ सुसमाचार सुनाउन चाहँदैनस्। यसको स्पष्ट अर्थ यही हो। तैँले केवल यसो भनिरहनेछस्, “म गीत गाउन मन पराउँछु।” यदि कुनै अगुवा वा सेवकले “तपाईँले सुसमाचार प्रचार गर्ने तालिम लिएर आफूलाई अझ धेरै सत्यताले सुसज्जित गर्दा हुँदैन र? यो तपाईँको जीवन वृद्धिका लागि अझ बढी फाइदाजनक हुनेछ।” भनेर तँसँग तर्क गरे भने, तँ अझै पनि जिद्दी गर्दै यसो भन्छस्, “मलाई गीत गाउन मन पर्छ, मलाई नाच्न मन पर्छ।” चाहे तिनीहरूले जेसुकै भनून्, तँ सुसमाचार प्रचार गर्न चाहँदैनस्। तँ किन जान चाहँदैनस्? (रुचिको कमीका कारण।) तँलाई रुचि छैन, त्यसैले तँ जान चाहँदैनस्—यहाँ रहेको समस्या के हो? समस्या के हो भने तँ आफ्नो कर्तव्य आफ्ना प्राथमिकता र व्यक्तिगत रुचिअनुसार छनोट गर्छस् र समर्पित गर्दैनस्। तँमा समर्पणता छैन, र समस्या त्यही नै हो। यदि तँ यस समस्याको हल गर्न सत्यता खोज्दैनस् भने, तैँले साँचो समर्पणता खासै देखाइरहेको छैनस्। तैँले यस अवस्थामा साँचो समर्पणता देखाउन के गर्नुपर्छ? तैँले परमेश्‍वरका अभिप्राय सन्तुष्ट पार्न के गर्न सक्छस्? यही बेला हो, जब तैँले सत्यताको यस पक्षबारे चिन्तन-मनन गरेर सङ्गति गर्नुपर्छ। यदि तँ परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सबथोकमा आफ्नो पूरै बफादारिता अर्पण गर्न चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य निभाएर त्यसो गर्न सक्दैनस्; तैँले परमेश्‍वरले तँलाई दिनुहुने कुनै पनि आज्ञालाई स्वीकार गर्नुपर्छ। चाहे त्यो तेरा चाखअनुसार होस् वा नहोस् अनि तेरा रुचिहरूसित मेल खाओस् वा नखाओस्, वा त्यो तँलाई गर्न आनन्द नलाग्ने वा तैँले अघि कहिल्यै नगरेको कुरा होस् वा गाह्रो कुरा होस्, तैँले अझै पनि त्यसलाई स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। तैँले त्यसलाई केवल स्वीकार गर्ने मात्रै होइन, बरु त्यसलाई अनुभव गर्दै गर्दा र त्यसमा प्रवेश गर्दै गर्दा तैँले सक्रिय रूपमा सहकार्य पनि गर्नुपर्छ, र त्यसबारेमा सिक्‍नुपर्छ। तैँले कष्ट भोग्‍नुपरे पनि, तँ थकित, अपहेलित, वा बहिस्कृत भए पनि, तैँले अझै पनि त्यसमा आफ्‍नो पूरै बफादारिताभाव लगाउनुपर्छ। यसरी अभ्यास गरेर मात्रै तैँले सबथोकमा पूरै बफादारिताभाव लगाउन अनि परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सक्नेछस्। तैँले यसलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य मान्‍नुपर्छ, व्यक्तिगत व्यवसायजस्तो ठान्‍नु हुँदैन। तैँले कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? सृष्टिकर्ता परमेश्‍वरले कसैलाई दिनुभएको कामको रूपमा हेर्नुपर्छ; मानिसहरूले पाउने कर्तव्य यसरी नै आउँछ। परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो, र तैँले परमेश्‍वरले मापदण्ड दिनुभएअनुसार आफ्‍नो कर्तव्य निभाउनु पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो। यदि तँ यो कर्तव्य परमेश्‍वरको आज्ञा हो, र यो तँमाथि आइरहेको परमेश्‍वरको प्रेम र आशिष् हो भनी स्पष्टसँग देख्‍न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रेम गर्ने हृदयले आफ्‍नो कर्तव्य स्वीकार गर्न र आफ्‍नो कर्तव्य निभाउँदा तैँले परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्न सक्‍नेछस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न तैँले सबै कठिनाइहरू पार गर्न सक्‍नेछस्। परमेश्‍वरको लागि साँचो रूपमा आफैलाई समर्पित गर्नेहरूले कहिल्यै पनि परमेश्‍वरको आज्ञालाई इन्कार गर्न सक्दैनन्; तिनीहरूले कहिल्यै पनि कुनै कर्तव्य इन्कार गर्न सक्दैनन्। परमेश्‍वरले तँलाई जे-जस्तो कर्तव्य सुम्पनुभए पनि, यसमा जति नै कठिनाइ आइपर्ने भए पनि, तैँले यसलाई इन्कार गर्नु हुँदैन बरु स्वीकार गर्नुपर्छ। अभ्यासको मार्ग यही हो, र यही नै परमेश्‍वरलाई सन्तुष्ट पार्न सबै कुरामा सत्यताको अभ्यास गर्नु र आफ्नो पूरै बफादारिताभाव लगाउनु हो। यहाँ मुख्य कुरा के हो? “सबै कुरा” भन्‍ने शब्द हो। “सबै कुरा” ले तँलाई मन पर्ने वा तँ सिपालु रहेको कुरालाई जनाउँछ भन्‍ने आवश्यक छैन, तँ परिचित रहेका कुराहरूलाई जनाउनु त परको कुरा हो। कहिलेकाहीँ, केही कुराहरू हुन्छन् जसमा तँ सिपालु हुँदैनस्, जुन तैँले सिक्‍नुपर्ने हुन्छ, जुन कठिन हुन्छन् र जसमा तैँले पीडा भोग्नुपर्ने हुन्छ। तैपनि, चाहे कुरा जेसुकै नै होस्, यदि परमेश्‍वरले तँलाई त्यो सुम्पनुभएको छ भने, तैँले त्यो उहाँबाट आएको भनी यसलाई स्विकार्नुपर्छ; तैँले यसलाई स्वीकार गर्नुपर्छ र राम्रोसित निर्वाह गर्नुपर्छ, र आफ्नो पूरै बफादारिता दिनुपर्छ र परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्नुपर्छ। अभ्यासको मार्ग भनेको यही हो। जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यताको खोजी गर्नुपर्छ र कस्तो अभ्यास परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन्छ भन्‍ने पत्ता लगाएपछि, तैँले त्यसरी नै अभ्यास गर्नुपर्छ। यसो गरेर मात्रै तँ सत्यता अभ्यास गरिरहेको हुन्छस्, र यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्।

यस गीतको एउटा अर्को हरफ छ, जसले भन्छ, “म खुला र सोझो छु, छल रहीत छु, ज्योतिमा जिइरहेको छु।” मानिसलाई यो मार्ग कसले दिन्छ? (परमेश्‍वरले दिनुहुन्छ।) यदि कोही खुला र सोझो छ भने ऊ इमान्दार व्यक्ति हो। उसले आफ्‍नो हृदय र आत्मा पूर्ण रूपमा परमेश्‍वरको निम्ति खोलिदिएको छ र ऊसँग लुकाउनु पर्ने केही कुरा छैन न त ऊ कुनै कुराबाट लुक्नु पर्ने नै छ। उसले आफ्‍नो हृदय परमेश्‍वरलाई दिएको छ, र उहाँसामु खोलेर देखाइदिएको छ, अर्थात् उसले आफ्नो सम्पूर्ण अस्तित्व उहाँमा सुम्पिदिएको छ। त्यसोभए, के ऊ परमेश्‍वरबाट अझै पनि टाढा हुन सक्छ त? अहँ, हुन सक्दैन र त्यसैले उसलाई परमेश्‍वरमा समर्पित हुन सहज हुन्छ। यदि परमेश्‍वरले ऊ छली छ भनी भन्नुभयो भने उसले त्यो कुरा स्विकार्छ। यदि परमेश्‍वरले ऊ अहङ्कारी र स्वधर्मी छ भनी भन्नुहुन्छ भने, उसले त्यो पनि स्विकार्छ र उसले यी कुराहरूलाई स्विकारेर त्यतिकै छोड्ने काम गर्दैन—ऊ पश्‍चात्ताप गर्न, सत्यता सिद्धान्तहरूतर्फ लागिपर्न, र आफू गलत भएको महसुस गर्दा त्यसलाई सच्याउन र आफ्ना गल्तीहरू सुधार्न सक्षम हुन्छ। थाहै नभई, उसले आफ्‍ना धेरै गलत शैलीहरू सुधार गरिसकेको हुन्छ, र ऊ बिस्तारै कमभन्दा कम छली, धोकेबाज, झाराटारुवा हुँदै जान्छ। ऊ जति लामो समय यस प्रकारले जिउँछ, त्यत्ति नै बढी खुला र सम्मानजनक बन्नेछ, र त्यति नै बढी इमानदार व्यक्ति बन्ने लक्ष्यको नजिक पुग्नेछ। ज्योतिमा जिउनु भनेकै यही हो। यो सबै महिमा परमेश्‍वरलाई जान्छ। जब मानिसहरू ज्योतिमा जिउँछन् यो परमेश्‍वरले गर्दा नै भएको हुन्छ—यो तिनीहरूले घमण्ड गर्ने कुरा होइन। जब मानिसहरू ज्योतिमा जिउँछन्, तब तिनीहरूले हरेक सत्यता बुझ्छन्, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, तिनीहरूलाई आफूले सामना गर्ने हरेक समस्यामा सत्यता खोजी गर्न र त्यसलाई अभ्यास गर्न आउँछ, र तिनीहरू विवेक र समझसाथ जिउँछन्। तिनीहरूलाई धर्मी मानिसहरू भन्‍न नसकिए पनि, परमेश्‍वरको नजरमा तिनीहरूमा केही न केही मानव स्वरूप हुन्छ, र कम्तीमा पनि, तिनीहरूका बोली र कार्यले परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेका हुँदैनन्, कामकुरा आइपर्दा तिनीहरूले सत्यता खोजी गर्न सक्छन्, र तिनीहरूमा परमेश्‍वरप्रति समर्पणकारी हृदय हुन्छ। तसर्थ, तिनीहरू तुलनात्मक रूपमा सकुशल र सुरक्षित हुन्छन्, र सम्भवतः परमेश्‍वरलाई धोका दिँदैनन्। उनीहरूमा सत्यताको त्यति गहन ज्ञान नभए पनि, उनीहरू आज्ञापालन गर्न र समर्पित हुन सक्छन्, तिनीहरूसँग परमेश्‍वरको डर मान्ने, र दुष्टताबाट अलग रहने हृदय हुन्छ। जब उनीहरूलाई कुनै कार्य वा कर्तव्य दिइन्छ, उनीहरूले आफ्नो सम्पूर्ण हृदय र मनले त्यो गर्न, र आफ्नो क्षमताले भ्याएसम्म गर्न सक्छन्। यस प्रकारको व्यक्ति भरोसायोग्य हुन्छ र ऊप्रति परमेश्‍वरलाई आत्मविश्‍वास हुन्छ—यस्ता मानिसहरू ज्योतिमा जिउँछन्। के ज्योतिमा जिउनेहरूले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्छन्? के उनीहरूले अझै पनि परमेश्‍वरबाट आफ्नो हृदय लुकाउन सक्छन्? के अझै पनि तिनीहरूले परमेश्‍वरलाई भन्‍न नसक्‍ने गोप्य कुराहरू हुन्छन्? के तिनीहरूले अझै पनि कुनै गोप्य युक्तिहरू लुकाएर राखेका हुन्छन्? हुँदैनन्। तिनीहरूले परमेश्‍वरसामु पूर्ण रूपमा हृदय खोलेका हुन्छन्, र तिनीहरूले लुकाइरहेको र आँखाबाट ओझेल गरिरहेको कुनै पनि कुरा हुँदैन। तिनीहरूले खुलेर परमेश्‍वरलाई आफ्ना व्यक्तिगत कुराहरू बताउन, उहाँसँग कुनै पनि कुराको बारेमा सङ्गति गर्न, र उहाँलाई सबै कुरा थाहा दिन सक्छन्। तिनीहरूले परमेश्‍वरलाई नभन्‍ने र नदेखाउने कुरा केही पनि हुँदैन। जब मानिसहरूले यो मापदण्ड हासिल गर्छन्, तब तिनीहरूको जीवन सहज, स्वतन्त्र र मुक्त हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्