कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३५)

अब, के तेरा धारणाहरूसँग नमिल्ने कुराहरू आइपर्दा त्यसले तेरो कर्तव्यपालनमा असर पार्न सक्छ? उदाहरणको लागि, कार्यव्यस्तता आउन सक्छ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मानिसहरूले केही कठिनाइ सहनुपर्ने र अलिअलि मूल्य चुकाउनुपर्ने हुन्छ; त्यसपछि कतिपय मानिसहरूले दिमागमा धारणाहरू विकास गर्छन् र तिनीहरूमा प्रतिरोध उत्पन्न हुन्छ, अनि तिनीहरू नकारात्मक बनेर आफ्नो कार्यमा सुस्ताउन सक्छन्। कहिलेकाहीँ काममा व्यस्तता हुँदैन, र मानिसहरूलाई कर्तव्य निर्वाह गर्न सजिलो बन्छ, र त्यसपछि कतिपय मानिसहरू खुसी महसुस गर्छन् र यस्तो सोच्छन्, “मेरो कर्तव्य निभाउन सधैँ यति सजिलो हुने भए त गज्जब हुनेथ्यो।” तिनीहरू कस्ता खालका मानिसहरू हुन्? तिनीहरू अल्छी व्यक्तिहरू हुन् जो दैहिक आरामको लोभ गर्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्यनिर्वाहमा बफादार हुन्छन्? (हुँदैनन्।) यस्ता मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन इच्छुक भएको दाबी गर्छन्, तर तिनीहरूको समर्पणमा सर्तहरू हुन्छन्—तिनीहरू समर्पित हुनको लागि परिस्थिति तिनीहरूको आफ्नै धारणासँग मिल्‍नुपर्छ र त्यसले तिनीहरूलाई कुनै कठिनाइ भोगाउनु हुँदैन। यदि तिनीहरूले प्रतिकूलता सामना गरेर कठिनाइ सहनुपर्‍यो भने, तिनीहरूले गुनासै गुनासो गर्छन् र परमेश्‍वरविरुद्ध विद्रोह र विरोधसमेत गर्छन्। तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन्। जब परमेश्‍वरका कार्यहरू तिनीहरूका धारणा र चाहनाहरूसित मिल्छन्, र तिनीहरूले कठिनाइ सहनुपर्ने वा मूल्य चुकाउनुपर्ने हुँदैन, तब तिनीहरू समर्पित हुन सक्छन्। तर यदि परमेश्‍वरको काम तिनीहरूका धारणा र रुचिहरूसँग मिल्दैन, र त्यसको लागि तिनीहरूले कठिनाइ सहनुपर्ने वा मूल्य चुकाउनुपर्ने हुन्छ भने, तिनीहरू समर्पित हुन सक्दैनन्। तिनीहरूले खुल्लमखुल्ला विरोध नगरे पनि, हृदयमा तिनीहरू प्रतिरोधी र रिसाएका हुन्छन्। तिनीहरू आफूले ठूलो कठिनाइ सहिरहेको ठान्छन् र हृदयमा गुनासो पाल्छन्। यो कस्तो समस्या हो? यसले तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भन्‍ने देखाउँछ। के प्रार्थना, प्रतिज्ञा, वा सङ्कल्पले यो समस्या समाधान हुन सक्छ? (अहँ, सक्दैन।) त्यसोभए, यो समस्या कसरी समाधान गर्नुपर्छ? पहिला, तैँले परमेश्‍वरका अभिप्राय र उहाँका मापदण्डहरू अनि साँचो समर्पण के हो, त्यो बुझ्‍नुपर्छ। तैँले विद्रोहीपन र विरोध के हुन् भनेर बुझ्‍नुपर्छ, के-कस्ता भ्रष्ट स्वभावहरूले परमेश्‍वरप्रतिको तेरो समर्पणलाई रोकिरहेको छ भनी चिन्तन गर्नुपर्छ, र यी मामिलाहरूबारे छर्लङ्ग हुनुपर्छ। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले देहविरुद्ध, विशेषगरी तेरा दैहिक रुचिहरूविरुद्ध विद्रोह गर्न र त्यसपछि परमेश्‍वरप्रतिको समर्पण अभ्यास गर्न, र उहाँका मापदण्डहरूअनुसार कार्य गर्न सक्नेछस्। यस तरिकाले, तँ तेरो भ्रष्टता र विद्रोहीपन समाधान गर्न र परमेश्‍वरप्रति समर्पण हासिल गर्न सक्षम हुनेछस्। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले यी मामिलाहरू छर्लङ्गै बुझ्न सक्नेछैनस्, तेरा भित्री स्थितिहरू चिन्न सक्नेछैनस्, र परमेश्‍वरप्रतिको तेरो समर्पणलाई के कुराहरूले रोकिरहेका छन् भनी बुझ्न सक्नेछैनस्। अन्ततः तेरो लागि देहविरुद्ध विद्रोह गर्न र परमेश्‍वरप्रतिको समर्पण अभ्यास गर्न असम्भव हुनेछ। यदि व्यक्तिले आफ्ना दैहिक अभिरुचिहरूविरुद्ध विद्रोह गर्न समेत सक्दैन भने, तिनीहरूलाई आफ्नो कर्तव्य गराइमा बफादारी हासिल गर्न निकै कठिन हुनेछ। के यस्ता मानिसहरूलाई परमेश्‍वरप्रति समर्पित हुने मानिस मान्न सकिन्छ? बफादारीबिना, के मानिसहरू पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्छन्? कदापि सक्दैनन्। यदि व्यक्तिले पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छ भने, ऊ कम्तीमा पनि सत्यता अभ्यास गर्न र इमानदारीपूर्वक परमेश्‍वरप्रति समर्पित हुन सक्षम हुनुपर्छ। यदि व्यक्तिले आफ्नो दैहिक अभिरुचिहरूविरुद्ध विद्रोह गर्न सक्दैन भने, उसले व्यवहारमा सत्यता लागू गर्न सक्दैन। यदि तँ सधैँ आफ्नै इच्छाअनुसार कार्य गर्छस् भने, तँ परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति होइनस्। तँ कहिलेकाहीँ उहाँमा समर्पित भए पनि, त्यसमा सर्त हुन्छ; परिस्थितिहरू तेरा आफ्नै धारणाहरूसँग मिल्दा र तँ राम्रो मुडमा हुँदा मात्र, तँ समर्पित हुन सक्छस्। यदि परमेश्‍वरका कार्यहरू तेरा धारणाहरूसँग मिल्दैनन् भने, यदि परमेश्‍वरले तेरो लागि बन्दोबस्त गर्नुभएको कर्तव्य र उहाँले तेरो लागि योजनाबद्ध गर्नुभएका परिवेशहरूले तँलाई ठूलो कठिनाइ, असहजता, वा घोर असन्तुष्टिको भावना ल्याउँछन् भने, के तँ समर्पित हुन सक्‍नेछस् र? तँलाई समर्पित हुन कठिन हुनेछ; परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँको विरोध गर्न तैँले थुप्रै कारणहरू भेट्टाउनेछस्। पछि आत्मचिन्तन गर्दा पनि, तँलाई देहविरुद्ध विद्रोह गर्न सजिलो हुनेछैन, किनकि देहविरुद्ध विद्रोह गर्नु चानचुने कुरा होइन। व्यक्तिले कसरी देहविरुद्ध विद्रोह गर्छ? स्वाभाविक रूपमै उसले सत्यता खोज्‍नुपर्छ। उसले आफ्नो भ्रष्ट सार र भ्रष्ट कुरूपता पनि चिन्‍नुपर्छ, र ऊ आफूलाई घृणा गर्ने र आफ्नो दैहिक अभिरुचिहरू र देहको सारलाई पनि घृणा गर्ने बिन्दुमा पुग्‍नुपर्छ। त्यसपछि मात्र ऊ देहविरुद्ध विद्रोह गर्न इच्छुक हुनेछ। यदि उसले सत्यता बुझ्दैन भने, उसले दैहिक कुराहरूलाई घृणा गर्न सक्नेछैन, र त्यस्तो घृणाबिना, देहविरुद्ध विद्रोह गर्न असम्भव हुन्छ। त्यसकारण, पछ्याउने मार्ग प्राप्त गर्नको लागि परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमाथि भरोसा राख्न आवश्यक छ। सत्यताबिना, मानिसहरूमा शक्ति हुँदैन, र तिनीहरूले चाहेर पनि व्यवहारमा सत्यता लागू गर्न सक्दैनन्। व्यक्तिले बिलकुल परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्नैपर्छ।

कतिपय मानिसहरूले सत्यता पछ्याउँदैनन्; तिनीहरू दैहिक आरामको लोभ मात्र गर्छन्, र तिनीहरू सत्यता प्राप्त गर्नहेतु कठिनाइ सहन अनिच्छुक हुन्छन्। जब तिनीहरूले सानो कठिनाइ सामना गर्छन्, तिनीहरू परमेश्‍वरविरुद्ध गुनासो र दोषारोपण गर्छन्, र तिनीहरू समस्या समाधान गर्न सत्यता खोजी गर्दैनन्। बरु तिनीहरू यसो भन्दै परमेश्‍वरलाई प्रार्थनासमेत गर्छन्, “हे परमेश्‍वर, तपाईंको पहिचान र सार अति कुलीन छ। म तपाईंलाई प्रेम गर्न लायकको छैनँ, तर म तपाईंप्रति समर्पित हुन इच्छुक छु। जस्तोसुकै परिस्थिति आए पनि, म तपाईंप्रति समर्पित हुन इच्छुक छु। तपाईंले मलाई मार्गदर्शन, ज्योति र अन्तर्दृष्टि दिनुहोस्। यदि मैले तपाईंलाई साँच्चिकै प्रेम गर्न र तपाईंप्रति समर्पित हुन सकिनँ भने, मलाई छानबिन गरेर दण्डित गर्नुहोस्। तपाईंको न्याय ममाथि पर्न दिनुहोस्।” यसरी प्रार्थना गरेपछि, तिनीहरू त्यसबारे राम्रो महसुस गर्छन्, तर के यो खोक्रो वचनहरूको थुप्रो मात्र होइन र? के निरन्तर खोक्रो वचनहरूद्वारा प्रार्थना गर्नाले र केही शब्द र धर्मसिद्धान्तहरू जप्‍नाले समस्याहरू समाधान हुन सक्छ? (अहँ, सक्दैन।) जब व्यक्तिले खोक्रो वचनहरूमार्फत प्रार्थना गर्छ, यो कस्तो समस्या हो? के त्यसमा अलिअलि छली प्रकृति हुँदैन र? के परमेश्‍वरसामु यसरी प्रार्थना गर्नु उपयोगी हुन्छ? अल्छी हुनु र कष्ट सहन असक्षम हुनु, दैहिक आरामको लोभ गर्नु, सत्यता चिन्नु तर त्यसप्रति समर्पित हुन नसक्नु, आफ्नो कर्तव्यबारे थाहा हुनु तर त्यसको परिपालन गर्न नसक्नु, र आफूले आफ्नो सारा हृदय र शक्ति नलगाएको थाहा हुँदाहुँदै पनि परमेश्‍वरलाई प्रेम गर्ने चाहनाबारे बोल्नु—के यो परमेश्‍वरलाई छल गर्नु होइन र? परमेश्‍वरले धार्मिक संस्कारका प्रार्थनाहरूभन्दा बढी अरू कुनै कुरालाई घृणा गर्नुहुन्‍न। प्रार्थनाहरू निष्कपट छन् भने मात्रै परमेश्‍वरले स्वीकार गर्नुहुन्छ। यदि तँसँग कुनै पनि इमानदार कुरा भन्‍नु छैन भने, चुप लाग्; सधैँ झूटा वचनहरू बोल्दै परमेश्‍वरसामु नआइज वा उहाँलाई छल गर्न आँखा चिम्लेर सपथ नखा। तैँले उहाँलाई कति धेरै प्रेम गर्छस्, तँ उहाँप्रति कति धेरै निष्ठावान हुन चाहन्छस् भन्‍नेबारे कुरै नगर्। यदि तैँले आफ्‍ना इच्‍छाहरूलाई पूरा गर्न सक्दैनस् भने, यदि तँसँग यो सङ्कल्‍प र कदको कमी छ भने, तैँले परमेश्‍वरसामु आएर यसरी प्रार्थना गर्नै हुँदैन। त्यो त परमेश्‍वरलाई गिल्ला गर्नु हो। गिल्ला गर्नु भनेको के हो? गिल्‍ला गर्नु भनेको कसैलाई ठट्टामा उडाउनु, तिनीहरूलाई खेलौना ठान्‍नु हो। जब मानिसहरू यस्तो स्वभाव लिएर परमेश्‍वरको सामुन्ने प्रार्थना गर्न आउँछन्, तब यो कम्तीमा पनि यो धोका हो। सबैभन्दा खराब स्थितिमा, यदि तैँले बारम्‍बार यसो गर्छस् भने, तँ अत्यन्तै तुच्छ चरित्रको होस्। यदि परमेश्‍वरले तँलाई दोषी ठहराउनुपर्ने हो भने, परमेश्‍वरले त्यसलाई ईशनिन्दा भन्नुहुनेथ्यो! मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय छैन, तिनीहरूलाई कसरी परमेश्‍वरको डर मान्ने, वा उहाँलाई कसरी प्रेम गर्ने र सन्तुष्ट तुल्याउने भन्‍ने थाहै छैन। यदि तिनीहरूको निम्ति सत्यता स्पष्ट छैन, वा तिनीहरूमा भ्रष्ट स्वभाव छ भने, परमेश्‍वरले यसलाई छोडिदिनुहुनेछ। तर तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरूमा जिएर परमेश्‍वरसामु आउँछन्, र अरू मानिसहरूलाई ठग्ने गैरविश्‍वासीहरूका विधिहरू परमेश्‍वरमाथि प्रयोग गर्छन्, र तिनीहरू “गम्भीर भएर” परमेश्‍वरसामु घुँडा टेकेर प्रार्थना गर्छन्, र यी शब्‍दहरू प्रयोग गरेर परमेश्‍वरलाई ठग्ने प्रयास गर्छन्। जब तिनीहरूले प्रार्थना गरिसक्छन्, तिनीहरूले आत्मधिक्कारको अनुभूति नगर्ने मात्र होइन, तिनीहरूको कार्यमा पनि कुनै गम्भीरताको अनुभूति समेत हुँदैन। त्यसो भएको हुँदा, के परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्छ त? परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्न। के त्यो व्यक्ति जो पूर्ण रूपमा परमेश्‍वरविहीन छ, उसले उहाँको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छ त? के उसले सत्यतासम्बन्धी अन्तर्दृष्टि प्राप्त गर्न सक्छ त? (अहँ, उसले सक्दैन।) त्यसपछि तिनीहरू समस्यामा हुन्छन्। के तिमीहरूले यसरी धेरैपटक प्रार्थना गरेका छौ? के तिमीहरू बारम्बार यसो गर्दैनौ र? (गर्छौँ।) जब मानिसहरूले बाहिरी संसारमा अत्यन्तै धेरै समय बिताउँछन्, तिनीहरू समाजको दुर्गन्धले गन्‍हाउँछन्, तिनीहरूको फोहोरी प्रकृति अति गम्भीर बन्छ, र तिनीहरू शैतानी विष र दर्शनहरूले भरिन्छन्; तिनीहरूको मुखबाट झूट र छलका शब्‍दहरू आउँछन्, र तिनीहरूका प्रार्थनाहरू खोक्रो वचन र धर्मसिद्धान्तका वचनहरूले भरिएका हुन्छन्, त्यसमा हृदयबाटै आउने बोली वा तिनीहरूका वास्तविक कठिनाइहरूको कुरा केही बोलिएको हुँदैन। तिनीहरू सधैँ आफ्ना व्यक्तिगत रूचिहरूको लागि परमेश्‍वरलाई बिन्ती चढाउँछन् र उहाँका आशिष्‌हरू पाउन खोज्छन्, तिनीहरूमा सत्यता खोज्ने हृदय विरलै हुन्छ, र तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने हृदयको आधारमा प्रार्थना गर्दैनन्। यस्ता प्रार्थनाहरूले छल र झूट मात्र प्रकट गर्छन्। यी मानिसहरूमा गम्भीर भ्रष्ट स्वभावहरू छन्, तिनीहरू जीवित राक्षस बनेका छन्। परमेश्‍वरसामु प्रार्थनामा आउँदा, तिनीहरू मानव वचनहरू बोल्ने वा हृदयबाट बोल्ने गर्दैनन्। बरु, तिनीहरू परमेश्‍वरसामु शैतानको छल र झूट ल्याउँछन्। के यसले परमेश्‍वरको स्वभाव चिढ्याउँदैन र? के परमेश्‍वरले त्यस्ता प्रार्थनाहरू सुन्न सक्नुहुन्छ र? परमेश्‍वर त्यस्ता मानिसहरूदेखि वितृष्ण मान्नुहुन्छ र तिनीहरूलाई उहाँ निश्‍चय नै मन पराउनुहुन्न। त्यस्ता प्रार्थनाहरूलाई परमेश्‍वरलाई छल गर्ने र मूर्ख बनाउने प्रयास भन्न सकिन्छ। यी मानिसहरूले बिलकुलै सत्यता खोजिरहेका हुँदैनन्, न त मनबाट बोलिरहेका र परमेश्‍वरसित आफ्ना कुरा खोलिरहेका हुन्छन्। तिनीहरूका प्रार्थनाहरू परमेश्‍वरका अभिप्राय र उहाँका मापदण्डहरूसँग मिल्दैनन्। भित्री रूपमा, यो भ्रष्टताको क्षणिक प्रकटीकरणले भन्दा पनि मानव प्रकृतिको कारणले भएको हो। यी मानिसहरूले यस्तो सोच्छन्, “म परमेश्‍वरलाई देख्न वा अनुभूति गर्न सक्दिनँ, र परमेश्‍वर कहाँ हुनुहुन्छ भनेर मलाई थाहा छैन। म परमेश्‍वरलाई यसै केही शब्दहरू भन्‍नेछु, उहाँले सुनिरहनुभएको छ कि छैन, कसलाई के थाहा।” तिनीहरू परमेश्‍वरलाई सन्देह र जाँच गर्ने मानसिकताले प्रार्थना गर्छन्—त्यसरी प्रार्थना गरेपछि तिनीहरूमा कस्तो भावना हुन्छ? के त्यो अझै पनि खोक्रोपन नै हुँदैन र? यसरी बिलकुलै भावनारहित हुनु समस्याजनक कुरा होइन र? प्रार्थना त आस्थाको जगमा बनेको हुन्छ। यो परमेश्‍वरलाई आफ्नो हृदयभित्र प्रार्थना गर्नु, परमेश्‍वरसित हृदयदेखि बोल्नु, उहाँसित आफ्नो हृदय खोल्नु, र उहाँबाट सत्यता प्राप्त गर्न खोज्नु हो। जब व्यक्तिले यस तरिकाले प्रार्थना गर्छ, उसलाई भित्रैदेखि शान्तिको आभास र परमेश्‍वरको उपस्थिति अनुभूत हुनेछ। यो परमेश्‍वरले देखा नपरीकनै तिनीहरूको कुरा सुन्नुभएको हो। जब व्यक्तिले परमेश्‍वरलाई हृदयबाटै यसरी प्रार्थना गर्छ, उसलाई परमेश्‍वरसँग व्यक्तिगत साक्षात्कार भएझैँ अनुभूत हुनेछ। उसको आस्था बलियो बन्‍नेछ, परमेश्‍वरसँग उसको सम्बन्ध झन् आत्मीय बन्नेछ, र ऊ उहाँको एक कदम नजिक पुग्‍नेछ। उसलाई परिपूर्तिबोध अनुभूत हुनेछ र ऊ विशेष रूपले हृदयमा अडिग हुनेछ। प्रार्थनापछि उत्पन्न हुने सच्चा भावनाहरू यिनै हुन्। धार्मिक प्रार्थनाहरू जपेर, मानिसहरू झारा टार्ने काम मात्र गर्छन्, हरदिन उही थोरै वाक्यांशहरू यतिसम्म दोहोर्‍याउँछन् कि तिनीहरूलाई ती वाक्यांशहरू फेरि बोल्‍न पनि मन लाग्दैन। त्यस्ता प्रार्थनाहरूपश्‍चात, तिनीहरूलाई केही अनुभूत हुँदैन, र कुनै नतिजा प्राप्त हुँदैन। के यस्ता मानिसहरूमा साँचो आस्था हुन सक्छ त? त्यो असम्भव छ।

कतिपय मानिसहरू आफ्नो कर्तव्यपालनमा बफादार हुँदैनन्। तिनीहरूले सधैँ झारा टार्ने, वा आफ्नो कर्तव्य अति कठिन वा थकानयुक्त भएको महसुस गर्ने गर्छन्। तिनीहरू समर्पित हुन चाहँदैनन्, तिनीहरू निरन्तर आफ्नो कर्तव्यबाट उम्कन र त्यसलाई नकार्न चाहन्छन्, र तिनीहरू सधैँ त्यस्ता कर्तव्यहरू मात्र निभाउन चाहन्छन् जुन सजिला हुन्छन्, जसले तिनीहरूलाई कठिनाइमा पार्दैन, जसमा कुनै जोखिम हुँदैन र जसले तिनीहरूलाई दैहिक आरामहरू दिन्छन्। हृदयमा, तिनीहरूलाई आफू अल्छी छु, दैहिक आरामहरूको लोभ गर्छु, र कठिनाइ सहन सक्दिनँ भन्‍ने थाहा हुन्छ। तैपनि, तिनीहरू आफ्नो खिल्ली उडाइएला भन्‍ने डरले आफ्ना साँचो विचार कसैसँग कहिल्यै व्यक्त गर्दैनन्। मौखिक रूपले तिनीहरू यसो भन्छन्, “मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ र म परमेश्‍वरप्रति बफादार हुनुपर्छ,” र जब तिनीहरू केही पनि राम्ररी गर्न सक्दैनन्, तिनीहरूले सबैलाई यसो भन्छन्, “मेरो कर्तव्य गराइमा कुनै मानवता र बफादारी छैन।” तर वास्तवमा, तिनीहरू त्यस्तो बिलकुलै सोच्दैनन्। जब कुनै व्यक्ति त्यस्तो स्थितिमा हुन्छ, उसले कसरी समझपूर्ण तरिकाले प्रार्थना गर्न सक्छ र? प्रभु येशूले आफ्नो हृदयद्वारा र इमानदारीसाथ परमेश्‍वरलाई आराधना गर्नू भन्नुभएको छ। जब तँ परमेश्‍वरसामु आउँछस्, तेरो हृदय इमानदार र झूटरहित हुनुपर्छ। आफ्नो हृदयमा एउटा कुरा सोचेर अरूसामु अर्कै कुरा नभन्। यदि तँ कुनै खोल ओडेर परमेश्‍वरसामु आउँछस्, र निबन्ध नै लेखिरहेजस्तो गरेर केही कर्णप्रिय र सुन्दर शब्दहरू ओकल्छस् भने, के त्यसो गर्नु परमेश्‍वरलाई छल्नु होइन र? यसको फलस्वरूप, तँ हृदयबाट र इमानदारीसाथ परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति होइनस् भनेर उहाँले देख्नुहुनेछ। उहाँले तेरो हृदय इमानदार छैन, त्यो अत्यन्तै पापी र दुष्ट छ, र तैँले दुष्ट अभिप्रायहरू राख्छस् भनेर देख्नुहुनेछ, अनि उहाँले तँलाई त्याग्नुहुनेछ। त्यसकारण, मानिसहरूले आफूलाई बारम्बार आइपर्ने कुराहरू र आफूले प्रायः दैनिक जीवनमा सामना गर्ने समस्याहरूबारे कसरी प्रार्थना गर्नुपर्छ? तिनीहरूले परमेश्‍वरसित हृदयबाट बोल्न सिक्‍नुपर्छ। तँ यसो भन्छस्, “हे परमेश्‍वर, मलाई यो कर्तव्य अत्यन्तै थकानयुक्त लागिरहेको छ। म त्यस्तो व्यक्ति हुँ जो दैहिक आरामको लोभ गर्छ, जो अल्छी छ, र जो कडा मेहनत गर्न रुचाउँदैन। तपाईंले मलाई सुम्पनुभएको कर्तव्यमा म आफ्नो बफादारी देखाउन सक्दिनँ, र म त्यसलाई मेरो सारा शक्तिले निर्वाह गर्न पनि सक्दिनँ। म सधैँ त्यसबाट उम्कन र त्यसलाई नकार्न चाहन्छु, र म सधैँ झाराटारुवा हुन्छु। कृपया मलाई अनुशासित गराउनुहोस्।” के यी साँचा शब्दहरू होइनन् र? (हो, साँचा हुन्।) के तँलाई त्यसरी बोल्‍ने आँट छ? त्यसो भनेपछि परमेश्‍वरले एकदिन तँलाई साँच्चिकै अनुशासित गराउनुभयो भने के होला भनेर तँलाई डर लाग्छ, र तँ भयभीत, तनावपूर्ण र चिन्तित बन्छस्। मानिसहरू कर्तव्य निर्वाह गर्दा, सधैँ कठिनाइबाट पन्छिन चाहन्छन्। तिनीहरू दैहिक आरामहरूको लोभी हुन्छन् र सानो कठिनाइ सामना गर्दा नै, केही जोड लाउनुपर्दा वा अलिकति थकित महसुस हुँदा नै तिनीहरू पछि सर्छन्। तिनीहरू निरन्तर छान्ने र रोज्ने काम गर्छन्, अनि आफूलाई सानो कठिनाइ अनुभव हुँदा नै तिनीहरू यस्तो सोच्छन्, “के परमेश्‍वरलाई थाहा हुन्छ? के उहाँले याद गर्नुहुनेछ? त्यस्तो ठूलो कठिनाइ सहेपछि, के मैले भविष्यमा कुनै इनाम प्राप्त गर्नेछु?” तिनीहरू सधैँ प्रतिफल खोजिरहेका हुन्छन्। यी सबै समस्याहरू समाधान गरिनुपर्छ। विगतमा, मैले एकजनालाई सन्देश पुर्‍याउने काम दिएँ, जब ऊ फर्केर मलाई रिपोर्ट गर्न आयो, उसले पहिला आफ्ना ठूला उपलब्धिहरूबारे बतायो। उसले आफूले यसरी समस्या समाधान गरेँ भन्दै व्याख्या गर्‍यो, उसले त्यसबारे यति चिन्ता लिएँ र यति धेरै बोल्नुपर्‍यो, त्यो व्यक्तिलाई सम्हाल्न यति गाह्रो भयो, र त्यस व्यक्तिसित यति धेरै कर्णप्रिय शब्दहरू प्रयोग गरेँ, अनि अन्ततः काम फत्ते गरेँ भनेर सुनायो। उसले निरन्तर त्यसको श्रेय लियो र त्यसबारे बोलिरह्यो। यसको अन्तर्निहित तात्पर्य के हो? “तपाईंले मेरो प्रशंसा गर्नुपर्छ, मलाई वाचा गर्नुपर्छ, र मैले भविष्यमा कस्ता इनामहरू पाउछु भनेर मलाई भन्‍नुपर्छ।” उसले खुल्लमखुल्ला इनाम खोजिरहेको थियो। ल भन् त, के यो सानो काम गर्नु प्रशंसायोग्य कुरा हो? यदि व्यक्तिले अलिकति आफ्नो कर्तव्य निर्वाह गर्दैमा सधैँ प्रशंसा चाहन्छ भने, त्यो कस्तो स्वभाव हो? के त्यो शैतानको प्रकृति होइन र? उसले यो सानो कामको लागि प्रशंसा र इनामको अपेक्षा गर्‍यो—के यसको मतलब उसले महत्त्वपूर्ण काम जिम्मा लिने वा ठूलो काम पूरा गर्ने हो भने उसको व्यवहार झनै खराब हुनेछ भन्‍ने होइन र? यदि उसले परमेश्‍वरको अनुमोदन र आशिष्‌ प्राप्त गर्न सकेन भने, के उसले विद्रोह गर्दैन र? के ऊ तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग विवाद गर्दैन र? अनि, परमेश्‍वरमाथिको विश्‍वासमा ऊ हिँडिरहेको मार्ग कस्तो हो? (ख्रीष्टविरोधीहरूको मार्ग।) पावलको जस्तै ख्रीष्टविरोधीहरूको मार्ग। पावल सधैँ परमेश्‍वरबाट इनाम र हैसियत पाउन खोज्थ्यो। यदि परमेश्‍वरले त्यो कुरा प्रदान गर्नुहुन्थेन भने, ऊ नकारात्मक बन्थ्यो र आफ्नो काममा सुस्ताउँथ्यो, प्रभूको विरोध गर्थ्यो, र उहाँलाई विश्वासघात गर्थ्यो। ल भन् त, कस्तो व्यक्तिले आफ्नो कर्तव्यमा थोरै कठिनाइ सहेबापत इनाम चाहन्छ? (दुष्ट व्यक्तिले।) तिनीहरूको मानवता अति दुष्ट हुन्छ। के सामान्य मानिसहरूभित्र यस्ता स्थितिहरू हुन्छन्? हरेक व्यक्तिमा यस्ता स्थितिहरू हुन्छन्। हरेक मान्छेको प्रकृति सार एउटै हुन्छ, यति मात्र हो कि कतिपय मानिसहरूले उतिकै जोडदार रूपमा त्यो प्रस्तुत गर्दैनन्। तिनीहरूमा तर्कसङ्गतता हुन्छ र तिनीहरूलाई थाहा हुन्छ कि यस्ता कार्य र सोचहरू गलत हुन्, र तिनीहरूले परमेश्‍वरलाई इनाम माग्न मिल्दैन। तर त्यस्तो स्थितिबारे व्यक्तिले के गर्नुपर्छ? व्यक्तिले सत्यता खोजेर त्यसलाई समाधान गर्नुपर्छ। सत्यताको कुन पक्षले यो स्थिति समाधान गर्न सक्छ? व्यक्तिले आफू को हुँ, आफू कुन स्थानमा उभिनुपर्छ, आफूले कुन मार्ग पछ्याउनुपर्छ, र आफू कस्तो व्यक्ति हुनुपर्छ भनेर जान्नु अत्यन्तै महत्त्वपूर्ण छ। व्यक्तिले जान्नुपर्ने न्यूनतम कुराहरू यिनै हुन्। यदि कुनै व्यक्तिलाई यी कुराहरूसमेत थाहा छैन भने, ऊ सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, वा मुक्ति पछ्याउनबाट निक्कै टाढा छ।

जब केही विशेष कर्तव्यहरू वा बढी तनावपूर्ण र थकानयुक्त कर्तव्यहरू निभाउने कुरा आउँछ, एकातिर, ती कर्तव्यहरू कसरी निर्वाह गर्नुपर्छ, आफूले कस्ता कठिनाइहरू सहनुपर्छ, र आफूले आफ्नो कर्तव्य कसरी परिपालन गर्नुपर्छ र कसरी आफू समर्पित हुनुपर्छ भनी मानिसहरूले सधैँ मनन गर्नुपर्छ। अर्कोतिर, मानिसहरूले आफ्ना अभिप्रायहरूमा कस्ता दुषित कुराहरू छन् र यी कुराहरूले तिनीहरूको कर्तव्य गराइमा कसरी असर पार्छन् भनेर पनि जाँच्नुपर्छ। मानिसहरू कठिनाइ सहन नचाहने प्रवृत्तिसाथ जन्मिन्छन्—कसैले पनि धेरै कठिनाइ सहेर बढी उत्साह वा बढी आनन्द प्राप्त गर्दैन। यस्ता मानिसहरू त अस्तित्वमै छैनन्। देहले कठिनाइ सहनेबित्तिकै मान्छेले चिन्ता र दुःख महसुस गर्नु मान्छेको देहको प्रकृति हो। तर अहिले आफूले निभाउने कर्तव्यमा तिमीहरूले कति कठिनाइ सहनुपर्छ? तैँले केवल थोरै दैहिक थकान सहनुपर्छ र अलि मेहनत लगाउनुपर्छ। यदि तँ यति सानो कठिनाइ पनि सहन सक्दैनस् भने, के तँसँग सङ्कल्प भएको मान्न सकिन्छ र? के तँलाई इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्ने मान्न सकिन्छ र? (सकिँदैन।) यसरी हुँदैन। जब तँ परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छस्, कसैले पनि तेरो सुपरिवेक्षण गरिरहेको हुँदैन। त्यो पूर्ण रूपमा तेरो आफ्नै पहलमा निर्भर हुन्छ। परमेश्‍वरको घरमा कार्य बन्दोबस्त र प्रणालीहरू हुन्छन्, अनि व्यक्तिहरूले आफ्नो आस्था, आफ्नो विवेक र समझमा भरोसा गर्नुपर्छ। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस् कि गर्दैनस् भनेर परमेश्‍वरले मात्र छानबिन गर्नुहुन्छ। यदि मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा आफ्ना वरिपरिका मानिस, घट्ना वा कामकुराहरूसँग अन्तर्क्रिया गर्दा, तिनीहरूले जे-जस्तो भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनीहरू त्यसबारे सधैँ अनभिज्ञ हुन्छन् र धिक्‍कार अनुभूति गर्दैनन् भने, के यो असल कुरा हो कि खराब? (यो खराब कुरा हो।) यसलाई किन खराब कुरा मानिन्छ? मान्छेको विवेक र समझको न्यूनतम मापदण्ड हुन्छ। यदि तेरो विवेकमा कुनै चेतना छैन र त्यसले तँलाई खराब कुराहरू गर्नबाट रोक्दैन, वा तेरो व्यवहार संयमित पार्दैन भने, यदि तँ प्रशासनिक आदेशहरू र सिद्धान्तहरू उल्लङ्घन गर्दै मानवतारहित तरिकाले व्यवहार गर्छस्, तर तेरो हृदयमा कुनै धिक्‍कार महसुस हुँदैन भने, के यो नैतिक आधार नहुनु होइन र? के यो तेरो विवेक चेतनारहित हुनु होइन र? (हो।) के तिमीहरू प्राय आफूले केही गलत गर्दा, वा सिद्धान्तहरू उल्लङ्घन गर्दा, वा लामो समयसम्म आफ्नो कर्तव्य निर्वाह गर्नमा बफादार नहुँदा, त्यसबारे सचेत हुन्छौ? (हुन्छौँ।) त्यसपछि, के तेरो विवेकले तँलाई संयमित पार्दै तँलाई तेरो विवेक र समझअनुसार, अनि सत्यता सिद्धान्तहरूबमोजिम कामकुरा गराउन सक्छ? यदि तँ सत्यता बुझ्ने व्यक्ति होस् भने, के तँ आफ्नो विवेकको आधारमा व्यवहार गर्ने तौरतरिकाभन्दा माथि उठेर सत्यता सिद्धान्तहरूबमोजिम व्यवहार गर्न सक्छस्? यदि तैँले त्यसो गर्न सक्छस् भने, तैँले मुक्ति प्राप्त गर्न सक्छस्। आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइ सहन सक्‍नु सजिलो कार्य होइन। विशेष प्रकारको काम राम्ररी गर्नु पनि सजिलो छैन। यी काम गर्न सक्ने मानिसहरूमा निश्‍चय नै परमेश्‍वरका वचनहरू र सत्यताले काम गरिरहेका हुन्छन्। तिनीहरू कठिनाइ र थकानको डरबिना जन्मेका होइनन्। त्यस्तो व्यक्ति त कहाँ भेट्न सकिएला र? यी सबै मानिसहरूमा केही न केही उत्प्रेरणा हुन्छ, र तिनीहरूसँग जगको रूपमा परमेश्‍वरका वचनहरूको केही सत्यता हुन्छ। जब तिनीहरूले आफ्ना कर्तव्यहरू स्विकार्छन्, तिनीहरूका विचार र दृष्टिकोणहरू परिवर्तन हुन्छन्—अनि तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न सजिलो हुन्छ र देहका केही कठिनाइ र थकान सहनु मामुली कुरा लाग्न थाल्छ। तर जो सत्यता बुझ्दैनन् र कामकुरासम्बन्धी जसका विचारहरू परिवर्तन भएका हुँदैनन्, तिनीहरू मानव विचार, धारणा, स्वार्थी चाहना र व्यक्तिगत अभिरुचिहरूअनुसार जिउँछन्, त्यसैले तिनीहरू आफ्नो कर्तव्य निभाउन हिच्किचाउँछन् र अनिच्छुक बन्छन्। उदाहरणको लागि, फोहोरी र थकाइलाग्दो काम गर्ने सम्बन्धमा, कतिपय मानिसहरू यसो भन्छन्, “म परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्नेछु। मण्डलीले मेरो लागि जे कर्तव्य बन्दोबस्त गरे पनि, म त्यो गर्नेछु, चाहे त्यो फोहोरी होस् वा थकाइलाग्दो, र चाहे त्यो भव्य होस् वा साधारण। मसँग कुनै मागहरू छैनन्, म त्यसलाई आफ्नो कर्तव्यको रूपमा स्विकार्नेछु। यो परमेश्‍वरले मलाई दिनुभएको आज्ञा हो, र यो थोरै मैला र थकान मैले सहनुपर्ने कठिनाइहरू हुन्।” यसको फलस्वरूप, तिनीहरू आफ्ना काममा संलग्न हुँदा कुनै कठिनाइ सहिरहेको छु भन्‍ने अनुभूति बिलकुलै गर्दैनन्। अरूलाई त्यो फोहोरी र थकाइलाग्दो लागे पनि, तिनीहरूलाई त्यो सजिलो लाग्छ, किनभने तिनीहरूको हृदय शान्त र अविचलित हुन्छ। त्यो तिनीहरूले परमेश्‍वरको लागि गरिरहेकोले तिनीहरूलाई त्यो कठिन भएजस्तो लाग्दैन। कतिपय मानिसहरू फोहोरी, थकाइलाग्दो, वा सामान्य काम गर्नुलाई तिनीहरूको हैसियत र चरित्रको अपमानको रूपमा लिन्छन्। तिनीहरू त्यसलाई अरूले तिनीहरूलाई सम्मान नगरेको, हेपेको, र तुच्छ नजरले हेरेको रूपमा लिन्छन्। फलस्वरूप, उही काम र कार्यभार सामना गर्नुपर्दा पनि, तिनीहरूलाई त्यो मुस्किल लाग्छ। तिनीहरूले जे गरे पनि, तिनीहरू हृदयमा आक्रोशको भावना बोकेर हिँड्छन्, र परिस्थिति आफूले चाहेजस्तो वा सन्तोषजनक नभएको अनुभूति गर्छन्। भित्री रूपमा, तिनीहरू नकारात्मकता र प्रतिरोधले भरिएका हुन्छन्। तिनीहरू किन नकारात्मक र प्रतिरोधी हुन्छन्? त्यसको जड के हो? धेरैजसो यस्तो किन हुन्छ भने, आफ्नो कर्तव्य निर्वाह गरेर तिनीहरूलाई तलब प्राप्त हुँदैन; सित्तैमा काम गर्नुपरेजस्तो लाग्छ। यदि इनामहरू हुँदो हो त, तिनीहरूलाई यो स्वीकार्य हुन सक्थ्यो, तर तिनीहरूले इनाम पाउँछन् कि पाउँदैनन् भनेर तिनीहरूलाई थाहै हुँदैन। त्यसकारण, मानिसहरूलाई कर्तव्य निभाउनु सार्थक छैन, त्यो व्यर्थमा काम गर्नुसरह हो भन्‍ने लाग्छ, र त्यसैले तिनीहरू कर्तव्य निभाउने सवालमा प्रायः नकारात्मक र प्रतिरोधी बन्छन्। यस्तै हुन्छ होइन र? स्पष्ट रूपमा भन्नुपर्दा, यस्ता मानिसहरू कर्तव्य निभाउन अनिच्छुक हुन्छन्। तर तिनीहरूलाई कसैले जबरजस्ती गरिरहेका छैनन्, तैपनि तिनीहरू किन कर्तव्य निर्वाह गर्न आइरहेका छन् त? किनभने तिनीहरू आफैलाई यसो गर्न जबरजस्ती गर्छन्—आशिष्‌ प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने तिनीहरूको चाहनाको कारण तिनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गर्नुबाहेक अरू कुनै विकल्प छैन। यो तिनीहरू कति विवश छन् भन्‍ने कुराको प्रकटीकरण हो। तिनीहरूले परमेश्‍वरसित कारोबार गर्ने कोसिस गर्नुपछाडिको मानसिकता यही हो। त्यस्ता मानिसहरूले कसरी हृदयमा नकारात्मकता र प्रतिरोध हुने समस्या समाधान गर्न सक्छन् भनी कतिपयले सोध्छन्। यो समस्या त सत्यता सङ्गति गरेर मात्र समाधान गर्न सकिन्छ। यदि तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूसँग जे-जसरी सत्यता सङ्गति गरे पनि, तिनीहरूले त्यो स्विकार्न सक्दैनन्। त्यस्तो अवस्था हेर्दा, तिनीहरू अविश्‍वासीहरू हुन्, र तिनीहरूको प्रकाश भएको छ। तिनीहरू कारोबार गर्न चाहने र आफूलाई लाभ प्राप्त नहुञ्जेल केही नगर्ने भएकाले, यदि परमेश्‍वरले तिनीहरूलाई इनाम र स्वर्गको राज्यमा प्रवेश दिने वाचा गर्नुभयो, र तिनीहरूलाई एउटा प्रत्याभूतिपत्र लेखिदिनुभयो भने, तिनीहरूले निश्‍चय नै उत्साहसाथ आफ्ना कर्तव्यहरू निर्वाह गर्नेछन्। वास्तवमा, परमेश्‍वरको वाचा खुला हुन्छ, र सत्यता पछ्याउनेहरूले त्यो प्राप्त गर्न सक्छन्। तर सत्यता नपछ्याउनेहरूले त्यो प्राप्त गर्न सक्दैनन्। यो होइन कि तिनीहरू परमेश्‍वरको वाचाबारे सचेत छैनन्; बरु कुरा के हो भने, तिनीहरूलाई हृदयमा त्यो अमूर्त र अनिश्‍चित लाग्छ। तिनीहरूको लागि, परमेश्‍वरको वाचा बाउन्स हुने चेकजस्तै हो—तिनीहरू यसमा विश्‍वास गर्न सक्दैनन्, र यसमा तिनीहरूको साँचो आस्था हुँदैन, र यसमा केही गर्न सकिँदैन। तिनीहरू मूर्त कुराहरू चाहन्छन्, र यदि तैँले तिनीहरूलाई तलब दिन्थिस् भने, तिनीहरू निश्‍चय नै ऊर्जाशील बन्थे। तर विवेक र समझ नभएकाहरू ऊर्जाशील नबन्‍न पनि सक्छन्; तिनीहरू अत्यन्तै फोहोरी हुन्छन्। तिनीहरूलाई बाहिरी संसारमा रोजगार दिइन्थ्यो भने पनि, तिनीहरूले लगनसाथ काम गर्दैनथे, तिनीहरू धूर्त हुन्थे र सुस्ताउँथे, अनि तिनीहरू निश्‍चय नै बर्खास्त हुन्थे। यो विशुद्ध रूपमा तिनीहरूको प्रकृतिसम्बन्धी समस्या हो। जो आफ्नो कर्तव्यनिर्वाहमा निरन्तर झाराटारुवा हुन्छन्, तिनीहरूको हकमा एउटै मात्र समाधान भनेको तिनीहरूलाई निकाल्ने र हटाउने हो। सत्यता स्वीकार नगर्नेहरूको लागि अरू कुनै मार्ग हुँदैन। तिनीहरूका सबै बहाना र औचित्य पुस्ट्याइँहरू अनुचित हुन्छन्, र तिनीहरूको मानवताको गुणस्तरबारे छलफल गर्नु आवश्यक छैन।

आजभोलि, अधिकांश मानिसहरूले कर्तव्य निर्वाह गर्न थालेका छन्। के तिमीहरू कर्तव्यहरू के हुन्, ती कसरी उत्पन्न हुन्छन्, र ती कोद्वारा प्रदान गरिन्छन् भनेर बुझ्छौ? (परमेश्‍वरद्वारा मानिसहरूलाई दिइने आज्ञा नै कर्तव्यहरू हुन्।) त्यो ठिक हो। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँको घरमा आउँछस् भने, यदि तँ परमेश्‍वरको आज्ञा स्विकार्न सक्छस् भने, तँ उहाँको घरको सदस्य होस्। परमेश्‍वरको घरले तेरो लागि बन्दोबस्त गर्ने कार्यहरू, परमेश्‍वरले तँलाई पछ्याउन लगाउनुहुने मार्गहरू, र परमेश्‍वरद्वारा तँलाई दिइने आज्ञाहरू नै तेरा कर्तव्यहरू हुन्, र ती तँलाई परमेश्‍वरले दिनुभएका कुराहरू हुन्। जब तँ परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, उहाँका अभिप्राय बुझ्छस्, र परमेश्‍वरको घरका बन्दोबस्तहरू सुन्छस् र बुझ्छस्, जब तैँले निर्वाह गर्नुपर्ने कर्तव्य र तैँले पूरा गर्न सक्ने जिम्मेवारीहरू तँलाई हृदयमा थाहा हुन्छ, र जब तैँले परमेश्‍वरको आज्ञा स्विकारेर कर्तव्य निर्वाह गर्न थाल्छस्, तब तँ परमेश्‍वरको घरको एक सदस्य र सुसमाचार विस्तारको एउटा पाटो बन्छस्। परमेश्‍वरले तँलाई उहाँको घरको एउटा सदस्य र उहाँको कामको विस्तारको एउटा पाटोको रूपमा मान्नुहुन्छ। यस बिन्दुमा, तँसँग तैँले निभाउनुपर्ने कर्तव्य हुन्छ। तँ जे गर्न सक्षम भए पनि, तैँले जे हासिल गर्न सक्ने भए पनि, ती तेरा जिम्मेवारीहरू र तेरा कर्तव्यहरू हुन्। यो भन्‍न सकिन्छ कि ती परमेश्‍वरको आज्ञा, तेरो मिसन, र तेरो अनिवार्य कर्तव्य हुन्। कर्तव्यहरू परमेश्‍वरबाट आउँछन्; ती परमेश्‍वरले मानिसलाई सुम्पनुहुने जिम्मेवारी र आज्ञाहरू हुन्। त्यसो भए, मानिसले यसलाई कसरी बुझ्‍नुपर्छ? “यो मेरो कर्तव्य र परमेश्‍वरले मलाई दिनुभएको आज्ञा भएकोले, यो मेरो दायित्व र जिम्मेवारी हो। मैले यसलाई मेरो अनिवार्य कर्तव्यको रूपमा स्वीकार गर्नु पूर्ण रूपमा सही हो। मैले यसलाई अस्वीकार वा इन्कार गर्नु हुँदैन; मैले रोज्नु र छनौट गर्नु मिल्दैन। ममाथि जे आइपर्छ त्यो निश्‍चय नै मैले गर्नुपर्ने कुरा हो। मसँग छनौट गर्ने अधिकार नभएको होइन—तर मैले छनौट गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ यही हो।” यो समर्पणको मनोवृत्ति हो। कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर रोजीछाडी गर्छन्, सधैँ सजिलो र आफ्नो रुचिको काम मात्र गर्न चाहन्छन्, र परमेश्‍वरको घरका बन्दोबस्तहरूप्रति समर्पित हुन सक्दैनन्। यसले देखाउँछ कि तिनीहरूको कद अत्यन्तै सानो छ, र तिनीहरूमा सामान्य मानव समझ छैन। यदि तिनीहरू जवान व्यक्ति हुन् र तिनीहरूलाई घरमा कुनै कठिनाइ भोग्‍न नदिई पुलपुल्याइएको र लाडप्यार गरिएको छ भने, तिनीहरू अलि जिद्दी हुनु ठिकै हो। जबसम्म तिनीहरूले सत्यता स्विकार्न सक्छन्, तबसम्म यो बिस्तारै परिवर्तन हुँदै जानेछ। तर यदि तीस वा चालिस पार गरेको वयस्कले यस्तो घिनलाग्दो तरिकाले व्यवहार गर्छ भने, त्यो अल्छीपनको समस्या हो। अल्छीपन जन्मजात रोग हो र यो उपचार गर्न सबैभन्दा कठिन हुन्छ। यो व्यक्तिको प्रकृतिसम्बन्धी समस्या हो, र अन्य कुनै पनि विकल्परहित विशेष परिवेश वा परिस्थितिहरूमा मात्र यस्ता मानिसहरूले अलिअलि कठिनाइ र थकान सहन सक्छन्। यो कतिपय मगन्तेहरू मगन्ते भएकै कारण अरूको तिरस्कार र विभेद भोग्नुपर्नेबारे सचेत हुँदाहुँदै पनि तिनीहरूको अल्छीपन र काम गर्ने अनिच्छाले गर्दा, तिनीहरूसँग मगन्ते जीवन अँगाल्नुको विकल्प नहुनुजस्तै हो। अन्यथा, तिनीहरूले भोकभोकै मर्नुपर्नेछ। निष्कर्षमा भन्नुपर्दा, यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य विवेकपूर्वक र जिम्मेवारीपूर्वक निर्वाह गर्न सक्दैन भने, ढिलोचाँडो उसलाई हटाइनेछ। सबैभन्दा ठूलो अपराध भनेकै परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति समर्पित नहुनु हो। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न अस्वीकार गर्छस् वा तँ निरन्तर रूपले कठिनाइहरू भोग्न चाहँदैनस् र परिश्रम गर्न डराउँछस् भने, तँ विवेक र समझ नभएको व्यक्ति होस्। तँ कर्तव्य निर्वाह गर्न लायकको छैनस्, तँ निस्केर जान सक्छस्। कुनै दिन, जब तैँले आफ्नो कर्तव्य निर्वाह नगर्नु भनेको सृष्टिकर्ताले तँलाई दिनुभएको आज्ञा अस्वीकार गर्नुजस्तै हो, र तँ परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्, र तँसँग विवेक र समझ छैन भन्‍ने महसुस गर्छस्, र जब तैँले परमेश्‍वरमा विश्‍वास गर्नेहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ र त्यसो गर्नु आवश्यक छ भन्‍ने महसुस गर्छस्, तब तैँले आफै उचित व्यवहार गर्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यो नै समर्पण हो। यदि व्यक्ति आफ्नो कर्तव्यमा विद्रोही वा नकारात्मक छ भने, अर्थात् यदि उसले परमेश्‍वरप्रति बिलकुलै समर्पण देखाउँदैन भने, त्यस्तो व्यक्तिले उहाँको लागि इमानदारीपूर्वक आफूलाई समर्पित गरिरहेको हुँदैन। स्वेच्छाले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु नै परमेश्‍वरप्रतिको समर्पणको न्यूनतम अभिव्यक्ति हो। त्यसोभए, कर्तव्यहरू कसरी पैदा हुन्छन्? (कर्तव्यहरू परमेश्‍वरबाटै आउँछन्; ती परमेश्‍वरले मानिसहरूलाई दिनुभएका जिम्मेवारीहरू हुन्।) कर्तव्यहरू परमेश्‍वरले मानिसहरूलाई दिनुभएका जिम्मेवारीहरू हुन्, त्यसो भए के गैरविश्‍वासीहरूसँग कर्तव्यहरू हुन्छन् त? (अहँ, हुँदैनन्।) तँ किन तिनीहरूसँग कर्तव्य हुँदैन भनेर भन्छस्? (तिनीहरू परमेश्‍वरको घरका मानिसहरू होइनन्।) त्यो ठिक हो, गैरविश्‍वासीहरू आफ्नो दैहिक जीवनमा मात्र आफूलाई व्यस्त राख्छन्, र तिनीहरूका कार्यहरू कर्तव्य भन्नलायक हुँदैनन्। गैरविश्‍वासीहरू सांसारिक र शैतानका मानिसहरू हुन्। परमेश्‍वरले तिनीहरूको जीवन नियति—तिनीहरू जन्मेको समय, तिनीहरू जन्मेको परिवार, हुर्केपछि तिनीहरूले गर्ने काम, र तिनीहरूको मृत्युको समय—मात्र बन्दोबस्त गर्नुहुन्छ, उहाँले तिनीहरूलाई न त चुन्‍नुहुन्छ, न त मुक्ति नै दिनुहुन्छ। परमेश्‍वरमा विश्‍वास गर्नेहरू फरक हुन्छन्। सीमित अर्थमा, परमेश्‍वरको घरमा तिनीहरूले गर्ने हरेक काम नै तिनीहरूले निभाउनुपर्ने कर्तव्य हो। बृहत् अर्थमा, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाभित्र, हरेक सृजित प्राणीले निर्वाह गर्ने कर्तव्य परमेश्‍वरको कामसँग सहकार्य गर्नु हो। सरल रूपमा भन्नुपर्दा, तिनीहरूले यसरी परमेश्‍वरको व्यवस्थापन योजनाको लागि सेवा गरिरहेका हुन्छन्। तर तैँले बफादारीसाथ सेवा गरे पनि वा नगरे पनि, तँ परमेश्‍वरको इच्छा पछ्याउने व्यक्ति हुनबाट टाढा छस्। खासमा, व्यक्तिले आफ्नो कर्तव्य साँच्चिकै निर्वाह गर्न, परमेश्‍वरलाई साक्षी दिने परिणाम हासिल गर्न, र उहाँको अनुमोदन प्राप्त गर्न सकेपछि मात्र उसलाई परमेश्‍वरका मानिसहरूमध्येको एक र योग्य सृजित प्राणी मान्न सकिन्छ। यदि तँ परमेश्‍वरले तँलाई सुम्पनुभएको हरेक कर्तव्य राम्ररी निर्वाह गर्छस्, र आवश्यक मापदण्डहरू पूरा गर्छस् भने, तँ परमेश्‍वरको घरको सदस्य र परमेश्‍वरद्वारा उहाँको घरको मान्छेको रूपमा पहिचान गरिएको व्यक्ति होस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्