कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३३)

कतिपय मानिसहरू परमेश्‍वरको काम अनुभव गर्न अनि परमेश्‍वरका वचनहरू आफ्नो कर्तव्यपालन वा वास्तविक जीवनमा लागू गर्न जान्दैनन्। तिनीहरू सधैँ सत्यता प्राप्त गर्न र जीवनमा वृद्धि हुन धेरै भेलाहरू धाइरहने कुरामा भर पर्छन्। तर यो अवास्तविक कुरा र खरो उत्रन नसक्ने तर्क हो। जीवन त परमेश्‍वरको वचन अनि उहाँको न्याय र सजाय अनुभव गरेर प्राप्त गरिन्छ। उहाँको काम अनुभव गर्न जान्नेहरूले, जुनसुकै कर्तव्य निर्वाह गरे पनि, सत्यता बुझ्न र अभ्यास गर्न, काटछाँट स्विकार्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, आफ्नो स्वभावमा परिवर्तन ल्याउन, र कर्तव्यपालनको दौरान परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छन्। अल्छे र आरामको लोभ गर्ने मानिसहरू कर्तव्य निभाउन अनिच्छुक हुन्छन्, अनि तिनीहरू कर्तव्य निर्वाह गर्दा परमेश्‍वरको काम अनुभव गर्दैनन्, तिनीहरू त बस परमेश्‍वरको घरले तिनीहरूलाई भेला, प्रवचन र सत्यताबारे सङ्गति उपलब्ध गराओस् भनी निरन्तर माग मात्र गरिरहन्छन्। फलस्वरूप, दस वा बिस वर्षको विश्‍वासपछि पनि र असङ्ख्य प्रवचनहरू सुनिसकेपछि पनि, तिनीहरूले सत्यता बुझेका वा प्राप्त गरेका हुँदैनन्। तिनीहरूलाई परमेश्‍वरको काम कसरी अनुभव गर्ने त्यो थाहै हुँदैन, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासको अर्थ के हो त्यो बुझ्दैनन्, र तिनीहरू आफूलाई चिन्‍न अनि सत्यता र जीवन प्राप्त गर्न परमेश्‍वरको वचन कसरी अनुभव गर्ने त्यो जान्दैनन्। तिनीहरू आरामको लालसा गर्ने र आफ्नो कर्तव्यबाट पन्छिने मानिसहरू हुन्; त्यसकारण, तिनीहरूले जे-जसरी कर्तव्य निभाउँछन् त्यसैको कारण तिनीहरूलाई प्रकाश गरिन्छ र हटाइन्छ। अहिले, आफ्नो कर्तव्य निर्वाह गर्नमा सन्तुष्ट हुने र सत्यता पछ्याउने कार्यलाई महत्त्व दिने सबै मानिसहरूले कर्तव्य निभाउने क्रममा केही जीवन प्रवेश हासिल गरेका छन्, तिनीहरू भ्रष्टता प्रकट गर्दा आफूलाई चिन्न आत्मचिन्तन गर्छन्, र तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कठिनाइहरू सामना गर्दा समस्या समाधान गर्नहेतु सत्यताको खोजी र सत्यताबारे सङ्गति गर्छन्। अनजानमै, वर्षौँको कर्तव्य निर्वाहपश्चात् तिनीहरूले स्पष्ट प्रतिफल प्राप्त गर्छन्, केही अनुभवात्मक गवाहीबारे बोल्न सक्छन्, परमेश्‍वरको काम र उहाँको स्वभावबारे केही ज्ञान धारण गर्न सक्छन्, र यसरी आफ्नो जीवन स्वभावमा परिवर्तन ल्याउन सक्छन्। हाल, हरठाउँका मण्डलीहरूले दुष्ट मानिस अनि बाधा र अवरोध गर्ने मानिसहरूलाई सफाइ गरिरहेका छन्। मण्डलीमै रहिरहेकाहरू सामान्यतया आफ्नो कर्तव्य निर्वाहमा डटिरहने, एक हदसम्म बफादार, र समस्याहरू समाधान गर्न सत्यता खोज्‍ने कार्यलाई महत्त्व दिने मानिसहरू हुन्। तिनीहरू आफ्नो गवाहीमा दृढ रहन सक्ने मानिसहरू हुन्। तिमीहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्दै र काममा लगाउँदै वास्तविक जीवनमा अनि तिमीहरूले गर्ने कर्तव्यहरूमा उतार्न सिक्नुपर्छ, अनि जब समस्या र कठिनाइहरू देखा पर्छन्, तिनलाई समाधान गर्न तिमीहरूले सत्यता खोजी गर्नुपर्छ। यसअतिरिक्त, तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्न सिक्‍नुपर्छ, र हरमामिलामा सिद्धान्तअनुसार सत्यता अभ्यास गर्ने र कामकुराहरू सम्हाल्ने काममा लाग्नुपर्छ। तैँले परमेश्‍वरप्रतिको प्रेम अभ्यास गर्न सिक्नुपर्छ, र परमेश्‍वरलाई प्रेम गर्ने हृदयसाथ उहाँको बोझलाई ख्याल गर्नुपर्छ र उहाँलाई सन्तुष्ट पार्न सक्ने हदमा पुग्नुपर्छ। यस्तो व्यक्ति मात्रै परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति हो। यस तरिकाले अभ्यास गर्दा, तैँले पूर्ण रूपमा सत्यता नबुझे पनि, आफ्नो कर्तव्य पर्याप्त रूपमा गर्न सक्नेछस्, अनि तैँले आफ्नो झाराटारुवापन समाधान गर्न सक्ने मात्र नभई, कर्तव्य निर्वाह गर्दा परमेश्‍वरप्रतिको प्रेम अभ्यास गर्न, उहाँप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्नसमेत सक्नेछस्—जीवन प्रवेशको पाठ भनेकै यही हो। यदि तँ हरमामिलामा यसरी नै सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छस् भने, तँ सत्यता वास्तविकतामा प्रवेश गरिरहेको छस् र तेरो जीवन प्रवेश हुनेछ। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा तँ जतिसुकै व्यस्त भए पनि, यदि तैँले जीवन प्रवेशको फल प्राप्त गरेको र जीवनमा प्रगति गरेको छस् भने, र तँ परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सक्छस् भने, तैँले आफ्नो कर्तव्य पालन गर्दा आनन्द महसुस गर्नेछस्। जतिसुकै व्यस्त हुँदा पनि तैँले थकान महसुस गर्नेछैनस्। तेरो हृदयमा सधैँ शान्ति र हर्ष हुनेछ र तैँले विशेष रूपमा समृद्ध र शान्त महसुस गर्नेछस्। तँलाई जस्तोसुकै कठिनाइ आइपरे पनि, तैँले सत्यता खोजी गर्दा, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। अनि, तैँले परमेश्‍वरको आशिष् पाउनेछस्। साथै, आफ्नो कर्तव्यको दौरान व्यस्तता भए नि नभए नि, तैँले बेलाबेलामा उपयुक्त व्यायाम र व्यावहारिक तन्दुरुस्ती क्रियाकलापहरूमा संलग्न हुनु महत्त्वपूर्ण छ। यसले रक्तसञ्चार प्रवर्धन गर्नेछ र उच्च ऊर्जा कायम गर्नमा मद्दत पुर्‍याउनेछ र यो निश्‍चित व्यावसायिक रोगहरू रोक्न प्रभावकारी हुन सक्‍नेछ। यो कुरा तैँले आफ्ना कर्तव्यहरू राम्ररी गर्नको निम्ति अत्यन्तै उपयोगी हुन्छ। त्यसैले, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, यदि तैँले धेरै पाठहरू सिक्न सक्छस् भने, र धेरै सत्यताबारे बुझाइ प्राप्त गर्न, परमेश्‍वरलाई साँच्चै चिन्न, र अन्त्यमा परमेश्‍वरको डर मान्न र दुष्टतादेखि अलग बस्‍न सक्छस् भने, तँ पूर्ण रूपमा उहाँका अभिप्रायअनुरूपको हुनेछस्। यदि तँ परमेश्‍वरप्रतिको प्रेम प्राप्त गर्न सक्छस्, उहाँको लागि गवाही दिन सक्छस्, र उहाँसँग हृदय र इच्छाको एकता हासिल गर्न सक्छस् भने, तँ उहाँद्वारा सिद्ध पारिने बाटोमा हिँडिरहेको छस्। यस्तो व्यक्तिले परमेश्‍वरको आशिष् प्राप्त गरेको हुन्छ, र यो निकै आशिषित कुरा हो! यदि तैँले इमान्दारीसाथ परमेश्‍वरप्रति आफूलाई समर्पित गर्छस् भने, तैँले निश्‍चय नै उहाँबाट प्रशस्त आशिष् पाउनेछस्। के परमेश्‍वरप्रति आफूलाई समर्पित नगर्ने र आफ्नो कर्तव्य नगर्ने मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले मुक्ति पाउन सक्छन्? यो भन्न गाह्रो छ। सबै आशिष्‌हरू कर्तव्यपालन र परमेश्‍वरको कामको अनुभवमार्फत मात्रै प्राप्त गर्न सकिन्छ। व्यक्तिले परमेश्‍वरको काम कसरी अनुभव गर्ने अनि न्याय र सजाय, परीक्षा र शोधन, साथै काटछाँट कसरी अनुभव गर्ने भनी जान्‍ने भनेको कर्तव्यपालनकै क्रममा हो। अनि, आशिषित हुन सबैभन्दा योग्य कुराहरू पनि यिनै हुन्। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्‍यो र पछ्यायो भने, उसले अन्ततः सत्यता प्राप्त गर्नेछ, आफ्नो जीवन स्वभाव परिवर्तन गर्नेछ, परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछ र उहाँद्वारा आशिषित व्यक्ति बन्नेछ।

कतिपय मानिसहरू आफ्नो कर्तव्य-निर्वाहको दौरान केही कामकुरा आइपर्दा सत्यता खोजी गर्दैनन्, सधैँ आफ्नै धारणा र कल्पनाअनुसार जिउँछन्, आफ्नै व्यक्तिगत रुचिअनुसार काम गर्छन् अनि आँखा चिम्लेर आफ्नै इच्छाअनुसार व्यवहार गर्छन्। फलस्वरूप, तिनीहरूले धेरै कुरामा गल्ती गर्छन् र मण्डलीको काममा ढिलाइ गराउँछन्। काँटछाँट सामना गर्दा, तिनीहरू सत्यता स्विकार्दैनन् र आफ्नो हठी र लापरवाही व्यवहार जारी राख्छन्। परिणामतः तिनीहरूले पवित्र आत्माको काम गुमाउँछन् र परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वास भ्रमित र अन्धकारमय बन्छ। कतिपय मानिसहरू ख्याति र लाभको सौखिन हुन्छन्, र तिनीहरू हैसियतको पछि लाग्छन्, अनि परमेश्‍वरका अभिप्रायको ख्याल नगरी वा सत्यताबारे कुनै पनि सङ्गति नस्विकारी यिनै कुरामा व्यस्त भइरहन्छन्। अन्ततः तिनीहरू प्रकाश हुन्छन् र हटाइन्छन्, र अन्धकारमा डुब्छन्। कतिपय विश्‍वासीहरूले परमेश्‍वरको देहधारणलाई स्विकारे पनि तिनीहरू हृदयदेखि स्वर्गका परमेश्‍वर र परमेश्‍वरका आत्मामा मात्रै विश्‍वास गर्छन्। तिनीहरूसँग व्यावहारिक परमेश्‍वरबारे निरन्तर धारणाहरू हुन्छन् र उहाँले तिनीहरूको वास्तविक रूप थाहा पाउनुहुने डर मान्दै तिनीहरू हृदयमा उहाँप्रति सतर्क रहन्छन्। तिनीहरू हरकदममा परमेश्‍वरदेखि तर्किन्छन्, र जब तिनीहरूले उहाँलाई देख्छन्, तब उहाँलाई यसरी हेर्छन् कि मानौँ उहाँ कुनै नौलो व्यक्ति हुनुहुन्छ। फलस्वरूप, कैयौँ वर्षको विश्‍वासको बाबजुद पनि तिनीहरूले केही पनि प्राप्त गरेका हुँदैनन् र तिनीहरूमा उहाँप्रति अलिकति पनि विश्‍वास हुँदैन। तिनीहरू अविश्‍वासीहरूभन्दा केही फरक हुँदैनन्। यो पूर्णतया तिनीहरूले सत्यता नपछ्याउनुको कारणले भएको हो। कतिपय मानिसहरू निरन्तर व्यावहारिक परमेश्‍वरलाई भेट्न चाहन्छन्। तिनीहरू परमेश्‍वरलाई खुसी पार्न र उहाँसँग आफ्नो हैसियत बढाइमाग्न चाहन्छन्, ताकि तिनीहरूले मण्डलीमा प्रभाव जमाउन सकून्। परिणामस्वरूप, तिनीहरू आफ्नो बेइमानी, स्पष्टताको कमी, परमेश्‍वरको अनुमोदन भावमाथि निरन्तर अवलोकन, अनि उहाँको अभिप्रायबारे अन्दाज-अनुमानको कारण उहाँद्वारा तिरस्कृत हुन्छन्। अब उप्रान्त, परमेश्‍वर त्यस्ता मानिसहरूलाई हेर्न चाहनुहुन्न। यी मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको उद्देश्य के हो? परमेश्‍वरले त्यत्ति धेरै सत्यताहरू व्यक्त गरिरहनुहुँदा पनि, किन तिनीहरू अझै उहाँलाई विश्लेषण गर्छन्? यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् भने, किन तिनीहरू सत्यता पछ्याउँदैनन्? किन तिनीहरू निरन्तर महत्त्वाकाङ्क्षी र अभिलाषी हुन्छन्, अनि ख्याति, लाभ, हैसियत, हित र फाइदा पछ्याउँछन्? परमेश्‍वरमाथिको विश्‍वासपछाडि तिनीहरूले दुर्भावनापूर्ण अभिप्रायहरू पालेका हुन्छन् र मानिसहरूको नजरमा तिनीहरू बुझ्नै नसकिने हुन्छन्। यी सबै अविश्‍वासीका व्यवहारहरू हुन्। ठ्याक्कै भन्नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्ने तर सत्यता स्वीकार नगर्ने जोकोही अविश्‍वासी हो। सत्यता पछ्याउने, आफ्ना कर्तव्यहरू राम्ररी गर्न खोज्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्ने मानिसहरू मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन् र तिनीहरूले मात्रै उहाँको अनुमोदन प्राप्त गर्न सक्छन्।

अहिले, तिमीहरूको जीवनमा बितेर जाने हरेक दिन र हरेक वर्षको मोल हुन्छ। यो मोल केमा हुन्छ? जब कुनै व्यक्ति सृष्टिकर्तासामु आउँछ, र जब उसले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउँछ र सृष्टिकर्ताबाट सत्यता प्राप्त गर्छ, तब परमेश्‍वरको नजरमा ऊ उपयोगी हुन्छ। आफ्ना विनीत प्रयासहरू परमेश्‍वरको व्यवस्थापन योजनाको लागि समर्पित गर्नुले नै तेरो जीवनको हरेक दिन मूल्यवान्‌ बनाउने होइन र? (हो।) जीवनको हरेक दिनको मोल यही हो, र यो बहुमूल्य छ! यदि तेरो जीवनको हरेक दिनको यस्तो मोल छ भने, आफ्नो कर्तव्य निभाउँदा आइपर्ने अलिकति कष्ट वा बिमारी के नै हो र? मानिसहरूले गुनासो गर्नुहुन्न। परमेश्‍वरको उपस्थितिसामु रहेर मानिसहरूले धेरै लाभ प्राप्त गरेका छन्; तिनीहरूले अदृश्य अनुग्रह र आशिष् अनि कल्पना गर्न वा देख्न सकिने जुनसुकै कुरालाई मात खुवाउने अदृश्य सुरक्षा पाएका छन्। मानिसहरूले कति धेरै कुरा पाएका छन्—कुनै मामुली बिमारीको के अर्थ हुन्छ र? मानिसहरूले सिक्नुपर्ने पाठ यही होइन र? यदि कुनै व्यक्तिले बिमारीमार्फत सत्यता बुझ्न, परमेश्‍वरप्रति समर्पणता प्राप्त गर्न र उहाँलाई सन्तुष्ट पार्न सक्छ भने, त्यो उहाँले दिनुभएको अर्को आशिष् होइन र? यो संसारमा गुजारा चलाउनेहरूमध्ये कसले चाहिँ शारीरिक बिमारी अनुभव गर्दैन र? तिनीहरूलाई कुनै बिमारी छ कि छैन भनेर कसलाई मतलब हुन्छ र? कसैलाई मतलब हुँदैन, कसैले सोध्दैन र तिनीहरूलाई आश्‍वस्तता प्रदान गर्ने कोही हुँदैन। परमेश्‍वरको घरमा कर्तव्य गर्ने तिमीहरूसँग कुनै आश्‍वस्तता छ त? (छ।) परमेश्‍वरप्रति इमान्दारीसाथ आफूलाई समर्पित गर्ने सबैसँग आश्‍वस्तता हुन्छ र तिनीहरूले उहाँको आशिष् पाउँछन्। तिमीहरू कस्तो खालको आश्‍वस्तता देख्छौ र चिन्छौ? (म अबउप्रान्त संसारका दुष्ट प्रवृत्तिहरूद्वारा प्रभावित वा दूषित हुन्नँ; म गैरविश्‍वासीहरूको हेपाइ र हानिबाट टाढा रहेको छु, र मसँग सबै कुरामा परमेश्‍वरको संरक्षण र आशिष् छ। म अबउप्रान्त ठूलो रातो अजिङ्गरको पक्राउ वा सतावटमा पर्नेछैनँ। म परमेश्‍वरको घरमा बस्नेछु, अन्य दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्नेछु, अनि मेरो हृदय शान्त, आनन्दित र स्थिर हुनेछ। म हरेक दिन परमेश्‍वरको वचन खाने र पिउनेछु र सत्यता सङ्गति गर्नेछु, अनि मेरो हृदय झन्झन् उज्यालो हुनेछ। सत्यता बुझेपछि, मेरो हृदय विशेष रूपले आनन्दित बन्छ, मेरो आत्माले स्वतन्त्रता र मुक्ति पाउँछ, र त्यसउप्रान्त म दुष्ट र छली मानिसहरूको हातबाट छलिने वा हानि बेहोर्ने छैनँ। त्यसअतिरिक्त, परमेश्‍वरको संरक्षण र आशिष् देखिसकेपछि, अब ममाथि कुनै विपद्‌ आइपर्दा म डराउँदिनँ; र मेरो हृदयले स्थिर र शान्त महसुस गर्छ। मैले भविष्यमा मेरा आधारभूत आवश्यकताहरू पूरा हुन्छन् कि हुँदैनन्, वा म वृद्ध भएपछि कसैले मेरो भरणपोषण गर्छ कि गर्दैन भन्‍ने सुर्तालाई पन्छाइसकेको छु। परमेश्‍वरको उपस्थितिसामु जिउनु साँच्चै नै आशिष् र हर्षको कुरा हो!) तिमीहरूले अहिले अनुभव गरिरहेको कुरा सीमित छ, तर तिमीहरूले महाविपद्पश्‍चात् धेरै कुराहरू स्पष्टसित बुझ्नेछौ र देख्नेछौ। यो सबै परमेश्‍वरको सुरक्षा र उहाँको आशिष् हो। अहिले, तिमीहरूले कहिलेकाहीँ काटछाँट सामना गर्नुपरे पनि, अनि परीक्षा र शोधनबाट गुज्रनुपरे पनि, र कहिलेकाहीँ परमेश्‍वरको न्याय र सजाय अनुभव गर्नुपरे पनि, र उहाँको वचनमार्फत कष्ट भोग्नुपरे पनि, यो सबै मुक्ति प्राप्त गर्ने र सिद्ध पार्ने कष्ट हो—यो गैरविश्‍वासीहरूको जस्तो कष्ट होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, परमेश्‍वरको घरमा आफ्नो कर्तव्य गरेर तँ उपयोगी सृष्टि गरिएको प्राणी बन्छस् र तैँले मूल्यवान्‌ र अर्थपूर्ण जीवन जिउँछस्—शैतान र देहको लागि जिउनुको साटो, तँ सत्यता पछ्याउन र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि जिउँछस्। आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा तैँले धेरै सत्यता र परमेश्‍वरका अभिप्रायबारे बुझाइ प्राप्त गर्छस्। यो सबैभन्दा बहुमूल्य कुरा हो। तैँले सत्यता बुझिसकेपछि, सत्यता वास्तविकतामा प्रवेश गरिसकेपछि, अनि तेरो जीवनको रूपमा सत्यता हासिल गरिसकेपछि, तँ परमेश्‍वरको उपस्थिति, र ज्योतिमा जिइरहेको हुनेछस्। तँ अब हरेक दिन आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेको हुन्छस्, तँ जिउने हरेक दिनको आफ्नै प्रतिफल र महत्त्व हुन्छ। तैँले सत्यता पनि प्राप्त गरेको हुन्छस्, र तँ परमेश्‍वरको उपस्थितिसामु जिउँछस्। के यो आफूसँग आश्‍वस्तता हुनु हो? (हो।) यो कस्तो आश्‍वस्तता हो? (शैतानको कब्जामा नपर्ने आश्‍वस्तता।) शैतानको कब्जामा नपर्नेबाहेक, अझै महत्त्वपूर्ण कुरा के हुन्छ? परमेश्‍वरले तँलाई मानवको रूपमा सृष्टि गर्नुभयो, र अहिले तँ आफ्नो कर्तव्य पूरा गर्न, उहाँका अभिप्राय बुझ्न, सत्यता वास्तविकता धारण गर्न, उहाँको मार्ग पछ्याउन र उहाँका अभिप्रायअनुसार जिउन सक्छस्। परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुन्छ, र उहाँले तँलाई नष्ट गर्नुहुनेछैन भन्‍ने कुराको आश्‍वस्तता र ग्यारेन्टी नै त्यही हो। के यो तेरो जीवनको पुँजी होइन र? यी कुराबिना तँ जिइरहन योग्य छस् त? (छैनँ।) व्यक्तिले यो योग्यता कसरी हासिल गर्न सक्छ? के यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न अनि परमेश्‍वरका अभिप्राय सन्तुष्ट पार्न र उहाँको मार्ग पछ्याउन सक्षम भएर, साथै सत्यता वास्तविकता प्राप्त गरेर, अनि परमेश्‍वरको वचनलाई आफ्नै जीवनजस्तो व्यवहार गरेर होइन र? (हो।) यी कुराहरूले गर्दा तँ उहाँको आराधना गर्न सक्छस्, र उहाँको नजरमा तँ एक सन्तोषजनक सृष्टि गरिएको प्राणी होस्। उहाँ कसरी तँबाट खुसी हुन सक्नुहुन्न र? परमेश्‍वरले नष्ट गर्न चाहनुहुने मानिसहरू को हुन्? तिनीहरू कस्ता सृष्टि गरिएका प्राणी हुन्? (तिनीहरू दुष्कर्मीहरू हुन्।) दुष्कर्म गर्ने जोकोहीले परमेश्‍वरको प्रतिरोध गरिरहेको हुन्छ, र उहाँप्रति उसले वैरभाव राखिरहेको हुन्छ—तिनीहरू परमेश्‍वरका दुश्मनहरू हुन् र सबैभन्दा पहिले तिनीहरूलाई नै नष्ट गरिनेछ। परमेश्‍वरसँग हैसियतको लागि प्रतिस्पर्धा गर्ने ख्रीष्टविरोधीहरू, अविश्‍वासीहरू; सत्यतादेखि वितृष्ण भएकाहरू, परमेश्‍वरप्रति वैरभाव राख्नेहरू, सत्यता नपछ्याउने अनि अन्त्यसम्मै उहाँको विरोध गर्नेहरू, अनि सृष्टि गरिएको प्राणीको रूपमा कुनै हदसम्म पनि आफ्नो कर्तव्य निभाउन नसक्नेहरू—परमेश्‍वरले नष्ट गर्न चाहनुहुने मानिसहरू यिनै हुन्। आफ्नो कर्तव्य ननिभाउने कतिपय मानिसहरू अविश्‍वासीहरू हुन्। अन्य मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू जहिल्यै झाराटारूवा हुन्छन्, र तिनीहरूले दुष्कर्म गर्न र विघ्नबाधा ल्याउन अनि परमेश्‍वरको प्रतिरोध र विरोध गर्न पनि सक्छन्। के यस्ता मानिसहरू परमेश्‍वरको नजरमा सन्तोषजनक सृष्टि गरिएका प्राणी ठहरिन सक्छन् र? (अहँ, सक्दैनन्।) सन्तोषजनक नठहरिएका सृष्टि गरिएका प्राणीहरूको अन्तिम नतिजा के हुनेछ? (परमेश्‍वरले तिनीहरूलाई हटाउनुहुनेछ र नष्ट गर्नुहुनेछ।) के सन्तोषजनक नठहरिएका सृष्टि गरिएका प्राणीहरूको जीवनको कुनै मोल हुन्छ र? (हुँदैन।) तिनीहरूले “मेरो जीवनको मोल छ। म जिउन चाहन्छु। म मेरो जीवनमा राम्रा कामहरू गर्न सक्छु!” भनेर सोच्न सक्छन्। तर परमेश्‍वरको नजरमा तिनीहरूले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो आधारभूत कर्तव्य पनि निभाउन सक्दैनन्। यदि तिनीहरू आफ्नो कर्तव्य मानक अनुरूप गर्न सक्दैनन् भने, के तिनीहरूको जीवन जिउनलायक हुन्छ र? के तिनीहरूको अस्तित्वको कुनै मोल हुन्छ र? यदि तिनीहरूको अस्तित्वको कुनै मोल छैन भने, के परमेश्‍वर अझै पनि तिनीहरूलाई चाहनुहुन्छ र? (चाहनुहुन्न।) परमेश्‍वरले के गर्नुहुनेछ? उहाँले तिनीहरूलाई हटाउनुहुनेछ। हल्का मामिलामा पर्नेहरूलाई पाखा लगाइनेछ र तिनीहरूलाई अशुद्ध दियाबलस र दुष्टात्माको हातमा सुम्पिइनेछ, जबकि गम्भीर मामिलामा पर्नेहरूलाई सजाय दिइनेछ, र अझै गम्भीर मामिलामा पर्नेहरूलाई त नष्ट नै गरिनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्