कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३१)
मानिसहरूसँग भ्रष्ट स्वभावहरू हुने भएकाले उनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अक्सर झारा टारुवा हुन्छन्। यो सबैभन्दा गम्भीर समस्यामध्ये एक हो। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू उचित तरिकाले गर्ने हो भने, पहिला झारा टारुवा शैलीको यो समस्या हल गर्नुपर्छ। उनीहरूसँग यस्ता झारा टारुवा मनोवृत्ति भइन्जेलसम्म, उनीहरू आफ्ना कर्तव्यहरू उचित तरिकाले गर्न सक्षम हुनेछैनन्। त्यसको अर्थ, झारा टारुवा शैलीको समस्या समाधान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। त्यसोभए, उनीहरूले कसरी यसलाई अभ्यास गर्नुपर्छ? सर्वप्रथम, उनीहरूले आफ्नो मनस्थितिको समस्या समाधान गर्नुपर्छ; उनीहरूले आफ्ना कर्तव्यहरूलाई सही तरिकाले लिनुपर्छ, छली र लापरवाह हुने अभिप्राय राख्नुहुन्न, गम्भीरतासाथ र जिम्मेवारीको भावले काम गर्नुपर्छ। कर्तव्य परमेश्वरको लागि निर्वाह गरिन्छ, कुनै व्यक्तिको लागि गरिँदैन; यदि मानिसहरू परमेश्वरको छानबिन स्वीकार गर्न सक्षम छन् भने, उनीहरूसित सही मनस्थिति हुनेछ। त्यसबाहेक, मानिसहरूले केही काम गरेपछि त्यसलाई जाँच्नुपर्छ र त्यसबारे चिन्तन गर्नुपर्छ, अनि यदि उनीहरूको हृदयमा कुनै असहजता छ, र राम्ररी निरीक्षण गर्दा साँच्चै समस्या रहेको पत्ता लाग्यो भने, उनीहरूले त्यसमा परिवर्तनहरू गर्नुपर्छ; यी परिवर्तनहरू गरिसकेपछि उनीहरूले हृदयमा सहजता महसुस गर्नेछन्। जब मानिसहरूले असहजता महसुस गर्छन्, यसले कुनै समस्या छ भन्ने प्रमाणित गर्छ र उनीहरूले आफूले गरेको कुरालाई, विशेष गरी मुख्य चरणहरूलाई लगनशील भई जाँच गर्नुपर्छ। यो आफ्नो कर्तव्यलाई पूरा गर्ने कार्यप्रतिको जिम्मेवार मनोवृत्ति हो। जब व्यक्ति गम्भीर बन्न सक्छ, उसले जिम्मेवारी लिन्छ, र आफ्नो सारा हृदय र शक्ति लगाउँछ, तब काम उचित तरिकाले पूरा हुनेछ। कहिलेकाहीँ, तँ गलत मनस्थितिमा हुन्छस्, र तैँले दिनको उज्यालोजस्तो स्पष्ट गल्ती पनि पत्ता लगाउन वा भेट्टाउन सक्दैनस्। यदि तँ सही मनस्थितिमा हुन्थिस् भने, पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइद्वारा, तैँले समस्या पहिचान गर्न सक्नेथिइस्। यदि पवित्र आत्माले तँलाई डोऱ्याउँदै र सचेत गराउँदै हृदयमा स्पष्ट हुन र गल्ती कहाँ छ भनेर जान्न सहायता गर्नुभएको भए, तँ विचलनलाई सच्याएर सत्यता सिद्धान्तहरूका लागि लागिपर्न सक्नेथिइस्। यदि तँ गलत मनस्थितिमा भएको अनि बेहोसी र लापरवाह बनेको भए, के तैँले यो गल्ती देख्न सक्नेथिइस्? तैँले देख्न सक्नेथिइनस्। यसबाट के देखिन्छ? यसले के देखाउँछ भने मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सहकार्य गर्नु अत्यन्तै महत्त्वपूर्ण छ; तिनीहरूको मनस्थिति एकदमै महत्त्वपूर्ण छ, र तिनीहरूले आफ्ना सोच र विचारहरू कता निर्देशित गर्छन् भन्ने पनि महत्त्वपूर्ण छ। मानिसहरूको मनस्थिति कस्तो छ, र आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा तिनीहरूले कति शक्ति लगाउँछन् सो परमेश्वरले सूक्ष्म छानबिन गर्नुहुन्छ र देख्न सक्नुहुन्छ। मानिसहरूले आफूले गर्ने कार्यमा तिनीहरूको सारा हृदय र शक्ति लगाउनु निकै महत्त्वपूर्ण छ। तिनीहरूको सहकार्य महत्त्वपूर्ण तत्त्व हो। यदि मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कुराहरूमा कुनै पछुतो नगर्ने, र परमेश्वरको निम्ति ऋणी नबन्ने प्रयास गरे भने मात्रै, तिनीहरूले आफ्नो सम्पूर्ण हृदय र शक्तिले काम गरिरहेका हुन्छन्। यदि तँ आफ्नो कर्तव्य निभाउन पूरै हृदय र शक्ति निरन्तर लगाउन सक्दैनस्, यदि तँ झारा टारुवा भइरहन्छस्, र कामलाई ठूलो हानि पुऱ्याउँछस्, अनि परमेश्वरले माग गर्ने परिणाम हासिल गर्न सक्दैनस् भने, तँलाई एउटै कुरा हुन सक्छ: तँ हटाइनेछस्। अनि के त्यसपछि पछुतो गर्ने अझै समय रहनेछ? रहनेछैन। यी कार्यहरू अनन्त पछुतो, कलङ्क हुनेछन्! निरन्तर झाराटारुवा हुनु कलङ्क हो, यो गम्भीर अपराध हो—हो कि होइन? (हो।) तैँले आफ्नो दायित्व, र गर्नुपर्ने सबै कुरा आफ्नो सारा हृदय र शक्तिले पूरा गर्ने प्रयास गर्नैपर्छ, तँ झाराटारुवा पटक्कै हुनु हुँदैन, वा पछुतो गर्नुपर्ने ठाउँ छोड्नै हुँदैन। यदि तैँले त्यसो गर्न सकिस् भने, तेरो कर्तव्य निर्वाहलाई परमेश्वरले स्मरण गर्नुहुनेछ। परमेश्वरले स्मरण गर्ने कुराहरू असल कार्य हुन्। त्यसोभए, परमेश्वरले स्मरण नगर्ने कुराहरू के-के हुन् त? (ती अपराधहरू र दुष्ट कर्महरू हुन्।) यदि वर्तमानमा तीबारे यसरी व्याख्या गरियो भने तैँले ती दुष्ट कार्यहरू हुन् भनेर स्वीकार नगर्न सक्छस्, तर यदि यी कुराहरूको गम्भीर परिणामहरू देखा पर्ने दिन आयो, र तिनले नकारात्मक प्रभाव उत्पन्न गराए भने, यी कुराहरू व्यवहारगत अपराध मात्रै होइनन्, ती दुष्ट कार्यहरू नै हुन् भन्ने तैँले थाहा पाउनेछस्। जब तैँले यस्तो महसुस गर्छस्, तँलाई पछुतो हुनेछ, र तैँले मनमनै विचार गर्नेछस्: “मैले अलिकति होसियारी अपनाएको भए हुनेथियो! सुरुमै अलिकति बढी सोचेको र प्रयास गरेको भए, यो परिणामलाई पन्छ्याउन सकिन्थ्यो।” तेरो हृदयबाट यो अनन्त कलङ्कलाई कुनै कुराले पनि हटाउन सक्नेछैन, र यदि यसले तँलाई स्थायी रूपमा ऋणी तुल्यायो भने तँ समस्यामा पर्नेछस्। त्यसैले, तैँले आज प्रत्येक कर्तव्यलाई सफा विवेकले, कुनै पछुतोविना, र परमेश्वरले स्मरण गर्ने शैलीमा पूरा गर्न आफ्नो सारा हृदय र शक्ति परमेश्वरले तँलाई दिएको आज्ञामा लगाउने प्रयास गर्नैपर्छ। तैँले जे गरे पनि, झाराटारुवा नबन्। यदि तैँले आवेगमा गल्ती गरिस् र त्यो गम्भीर अपराध हो भने, यो अनन्त कलङ्क बन्नेछ। तँलाई पछुतो भइसकेपछि, तैँले त्यो परिपूर्ति गर्न सक्नेछैनस्, र त्यो स्थायी पछुतो हुनेछ। यी दुवै मार्ग स्पष्ट रूपमा देखिनुपर्छ। परमेश्वरको अनुमोदन पाउन तैँले रोज्नुपर्ने मार्ग कुन हो? आफ्नो कर्तव्य सारा हृदय र शक्तिले पूरा गर्नु, र कुनै पनि पछुतो नहुने गरी असल कार्यहरू गर्ने तयारी गर्नु र त्यस्ता कार्यहरू बढाउनु। तैँले जे गरे पनि, अरूको कर्तव्य पालनमा बाधा पुग्ने दुष्ट काम नगर्, सत्यता र परमेश्वरविरुद्ध हुने परमेश्वरको प्रतिरोध गर्ने कुनै पनि काम नगर्, र आफूलाई जीवनभरि पछुतोमा नहाल्। व्यक्तिले धेरै अपराध गरेको छ भने के हुन्छ? तिनीहरूले परमेश्वरको उपस्थितिमा तिनीहरूमाथि उहाँको क्रोध सङ्ग्रह गरिरहेका हुन्छन्! यदि तैँले अझै बढी अपराध गर्छस् भने, र तँप्रतिको परमेश्वरको क्रोध अझै बढ्दै गयो भने, अन्तिममा तँलाई दण्ड हुनेछ।
बाहिरबाट हेर्दा, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने समयभरि कतिपय मानिसहरूसँग कुनै पनि गम्भीर समस्या नभएजस्तो देखिन्छ। तिनीहरूले खुल्लमखुल्ला कुनै दुष्ट काम गर्दैनन्; तिनीहरूले अवरोध वा बाधा ल्याउँदैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्। आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा, तिनीहरूले कुनै ठूलो गल्ती गर्दैनन् वा सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू पैदा हुँदैनन्, तर थाहै नपाई केही वर्षमा नै तिनीहरूले सत्यतालाई पटक्कै स्वीकार नगरेको, तिनीहरू गैरविश्वासीहरू भएको कुरा प्रकट हुन्छ। किन यसो हुन्छ त? अन्य मानिसहरूले समस्या देख्दैनन्, तर परमेश्वरले यी मानिसहरूको हृदयको गहिराइलाई छानबिन गर्नुहुन्छ, र समस्या देख्नुहुन्छ। तिनीहरू आफ्ना कर्तव्यहरूको पालनमा सधैँ झारा टार्ने र पश्चात्तापहीन रहँदै आएका हुन्छन्। समय बित्दै जाँदा, प्राकृतिक रूपमै तिनीहरूको प्रकट हुन्छ। पश्चात्तापहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरूले सधैँ आफ्ना कर्तव्यहरू निर्वाह गरेका भए पनि तिनीहरूमा तीप्रति सधैँ गलत मनोवृत्ति रहेको हुन्छ, अर्थात् बेहोसी र लापरवाह मनोवृत्ति, र तिनीहरू कहिल्यै पनि विवेकशील हुँदैनन्, आफ्ना कर्तव्यहरूलाई आफ्नो पूरै हृदय दिने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गर्न सक्छन्, तर तिनीहरूले झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरूमा आफ्नो सम्पूर्णता दिइरहेका हुँदैनन्, र तिनीहरूको अपराधको कहिल्यै अन्त्य हुँदैन। परमेश्वरको नजरबाट हेर्दा तिनीहरूले कहिल्यै पश्चात्ताप गरेका हुँदैनन्; तिनीहरूले सधैँ झारा टार्ने काम गर्दै आएका हुन्छन् र तिनीहरूमा कहिल्यै कुनै परिवर्तन भएको हुँदैन—अर्थात्, तिनीहरूले आफ्नो हातको दुष्टतालाई त्याग्दैनन् र उहाँको सामुन्ने पश्चात्ताप गर्दैनन्। परमेश्वरले तिनीहरूमा पश्चात्तापको मनोवृत्ति देख्नुहुन्न, र उहाँले तिनीहरूको मनोवृत्ति बदलिएको देख्नुहुन्न। तिनीहरूले त्यस्तै मनोवृत्ति र विधिअनुसार आफ्ना कर्तव्यहरूलाई र परमेश्वरका आज्ञाहरूलाई निरन्तरता दिन्छन्। पूरै समय, यो जिद्दी, हठी स्वभावमा कुनै परिवर्तन आउँदैन, यति मात्र होइन, तिनीहरूले कहिल्यै पनि परमेश्वरप्रति ऋणी अनुभव गरेका हुँदैनन्, तिनीहरूको झाराटारुवापन अपराध हो, दुष्कर्म हो भन्ने तिनीहरूले कहिल्यै अनुभव गरेका हुँदैनन्। तिनीहरूको हृदयमा, कुनै पनि ऋणी अनुभव, कुनै ग्लानि, कुनै आत्मधिक्कार हुँदैन, आत्म-दोषारोपणको कुरा त परै राखौँ। अनि समय बित्दै जाँदा, परमेश्वरले यस्तो प्रकारको मानिसलाई सुधार गर्न सकिँदैन भन्ने देख्नुहुन्छ। परमेश्वरले जे भन्नुभए पनि, र तिनीहरूले जति धेरै प्रवचन सुने पनि वा तिनीहरूले जति धेरै सत्यता बुझे पनि, तिनीहरूको हृदयमा प्रभाव पर्दैन र तिनीहरूको मनोवृत्ति परिवर्तन हुँदैन वा गलत बाटोबाट फर्की आउँदैन। परमेश्वरले यो देख्नुहुन्छ र भन्नुहुन्छ: “यो व्यक्तिको निम्ति कुनै आशा छैन। मैले भन्ने केही कुराले पनि तिनीहरूको हृदयलाई छुँदैन, र मैले भन्ने कुनै कुराले पनि तिनीहरूलाई गलत बाटोबाट फर्काउँदैन। तिनीहरूलाई परिवर्तन गर्ने कुनै माध्यम नै छैन। यो व्यक्ति आफ्नो कर्तव्य पूरा गर्नको निम्ति उपयुक्त छैन, र तिनीहरू मेरो घरमा श्रम गर्ने योग्यका छैनन्।” किन परमेश्वरले यसो भन्नुहुन्छ त? किनभने जब तिनीहरूले आफ्नो कर्तव्य निभाउँछन् र काम गर्छन्, तिनीहरू निरन्तर झाराटारुवा हुन्छन्। तिनीहरूलाई जति नै काटछाँट गरिए पनि, र तिनीहरूप्रति जति नै सहनशीलता र धैर्यता देखाए पनि, त्यसको कुनै प्रभाव हुँदैन र त्यसले तिनीहरूलाई साँच्चै पश्चात्ताप गराउन वा बदल्न सक्दैन। यसले तिनीहरूलाई कर्तव्य राम्ररी निभाउने तुल्याउन सक्दैन, यसले तिनीहरूलाई सत्यता खोजी गर्ने मार्ग लिन दिँदैन। त्यसकारण, यो व्यक्तिलाई सुधार गर्न सकिँदैन। जब त्यो व्यक्तिलाई सुधार गर्न सकिँदैन भन्ने परमेश्वरले निर्धारित गर्नुहुन्छ, के उहाँले यो व्यक्तिलाई अझै पनि दह्रो गरी पक्रिराख्नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। परमेश्वरले तिनीहरूलाई छाडिदिनुहुनेछ। कतिपय मानिसहरू सधैँ यसो भन्दै बिन्ती गर्छन्, “हे परमेश्वर, मसँग कठोर व्यवहार नगर्नुहोस्, मलाई कष्ट नदिनुहोस्, मलाई अनुशासनमा नराख्नुहोस्। मलाई केही स्वतन्त्रता दिनुहोस्! मलाई अलिअलि लापरवाह रूपमा कार्य गर्न दिनुहोस्! म अलिअलि छाडा बनूँ! म आफ्नै मालिक बनूँ!” तिनीहरू रोकिन चाहँदैनन्। परमेश्वर भन्नुहुन्छ, “तैँले सही मार्गमा हिँड्न नचाहने हुनाले, म तँलाई जान दिनेछु। म तँलाई बेलगाम छोडिदिनेछु। जा अनि तँलाई जे मन लाग्छ त्यही गर्। म तँलाई मुक्ति दिनेछैन, किनभने तँलाई सुधार गर्न सकिँदैन।” सुधार गर्न नसकिनेहरूमा विवेकको अनुभूति हुन्छ त? के तिनीहरूसँग ऋणी भएको आभास हुन्छ त? के तिनीहरूसँग दोषारोपणको आभास हुन्छ त? के तिनीहरूले परमेश्वरको धिक्कार, अनुशासन, प्रहार, र न्यायलाई अनुभूति गर्न सक्छन् त? तिनीहरूले यो कुरा अनुभूति गर्न सक्दैनन्। यी कुराहरूको बारेमा तिनीहरू अनभिज्ञ हुन्छन्; तिनीहरूको हृदयमा यी कुराहरू अस्पष्ट रूपमा हुन्छन् वा मौजुद समेत हुँदैनन्। जब कुनै व्यक्ति यो चरणसम्म आइपुग्छ र उसको हृदयमा अबउप्रान्त परमेश्वर नै हुनुहुन्न, तब के उसले मुक्ति प्राप्त गर्न सक्छ त? यो कुरा भन्न गाह्रो छ। जब व्यक्तिको विश्वास त्यस्तो बिन्दुमा आइपुगेको हुन्छ, तिनीहरू खतरामा हुन्छन्। यो परिणाम टार्न र त्यस्तो स्थिति पैदा नहुने कुरा सुनिश्चित गर्नको लागि, तिमीहरूले कसरी पछ्याउनुपर्छ, कसरी अभ्यास गर्नुपर्छ र कुन मार्ग रोज्नुपर्छ भन्नेबारे के तिमीहरूलाई थाहा छ? सबैभन्दा महत्त्वपूर्ण कुरा त, सर्वप्रथम सही मार्ग रोज्नुपर्छ र त्यसपछि तिमीले हाल निर्वाह गर्नुपर्ने कर्तव्यलाई राम्रोसँग निर्वाह गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। यो नै न्यूनतम मानक, सबैभन्दा आधारभूत मानक हो। यसकै आधारमा तिमीहरूले सत्यता खोज्नुपर्छ र आफ्नो कर्तव्य पर्याप्त मात्रामा पूरा गर्ने मानकहरूका लागि प्रयास गर्नुपर्छ। किनभने तँलाई परमेश्वरसँग जोड्ने बन्धनलाई सबैभन्दा स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने कुरा भनेको परमेश्वरले तँलाई सुम्पने विषयहरू र उहाँले तँलाई अह्राउनुहुने कर्तव्यहरूप्रति तैँले गर्ने व्यवहार, र तँसँग भएको मनोवृत्ति हो। सबैभन्दा प्रत्यक्ष रूपमा देखिने र सबैभन्दा व्यावहारिक कुरा यही हो। परमेश्वर कुरिरहनुभएको छ; उहाँ तेरो मनोवृत्ति हेर्न चाहनुहुन्छ। यो महत्त्वपूर्ण मोडमा, तैँले झट्टै परमेश्वरलाई आफ्नो स्थान थाहा दिनुपर्छ, उहाँको आज्ञा स्विकार्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ। जब तैँले यो महत्त्वपूर्ण कुरालाई बुझेर परमेश्वरले तँलाई दिनुभएको आज्ञा पूरा गर्छस्, तब परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ। जब परमेश्वरले तँलाई कुनै काम सुम्पनुहुन्छ वा कुनै निश्चित कर्तव्य पूरा गर्न लगाउनुहुन्छ, तब यदि तेरो मनोवृत्ति सतही र उदासीन किसिमको हुन्छ, र तैँले यसलाई गम्भीरतासाथ लिँदैनस् भने, के यो तेरो सारा हृदय र शक्ति दिनुको ठिक विपरीत कुरा हुँदैन र? के तँ यसरी आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छस्? पक्कै पनि सक्दैनस्। तैँले आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउने छैनस्। त्यसकारण, आफ्नो कर्तव्य पूरा गर्दा तैँले धारण गर्ने मनोवृत्ति, साथै तैँले छनौट गर्ने विधि र मार्ग पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले जति नै वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि, आफ्नो कर्तव्य निभाउन नसक्नेहरूलाई हटाइनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।