कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३०)

कर्तव्य भनेको के हो? परमेश्‍वरले मान्छेलाई सुम्पनुभएको आज्ञा नै मान्छेले निर्वाह गर्नुपर्ने कर्तव्य हो। उहाँले तँलाई चाहे जे सुम्पनुभए पनि, त्यसलाई निर्वाह गर्नु नै तेरो कर्तव्य हो। तेरो कर्तव्य निर्वाह गर्नलाई तैँले आफ्नै धरातलमा उभिनुपर्छ र आफ्नो पहुँचबाहिरको कुरा पाउने कोसिस गर्नु हुँदैन। सधैँ आफ्नोभन्दा अरूको जीवन राम्रो छ भनेर नसोच् र आफूले गर्न नसुहाउने कुराहरू गर्ने जिद्दी नगर्। कतिपय मानिसहरू पाहुना राख्‍ने काममा सुहाउने हुन्छन्, तर तिनीहरू अगुवा नै बन्न मरिहत्ते गर्छन्; अरू कतिपयलाई अभिनेता हुन सुहाउँछ, तर तिनीहरू निर्देशक हुन चाहन्छन्। सधैँ उपल्लो पदमा पुग्ने कोसिस गर्नु राम्रो होइन। व्यक्तिले आफ्नै भूमिका र पद खोज्नु र तोक्नुपर्छ—समझ भएको व्यक्तिले यसै गर्छ। त्यसपछि उसले परमेश्‍वरको प्रेमको ऋण तिर्न र उहाँलाई सन्तुष्ट पार्न अडिग र स्थिर मनोवृत्तिसहित आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ। यदि कर्तव्य निभाउने क्रममा व्यक्तिमा यस्तो मनोवृत्ति छ भने, उसको हृदय स्थिर र शान्त हुनेछ, उसले आफ्नो कर्तव्यमा सत्यता स्विकार्न सक्नेछ, र उसले बिस्तारै परमेश्‍वरका आवश्यकताहरूबमोजिम आफ्नो कर्तव्य निर्वाह गर्न थाल्नेछ। ऊ आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, परमेश्‍वरका सबै बन्दोबस्तप्रति समर्पित हुन, र योग्य रूपमा आफ्नो कर्तव्य निभाउन सक्षम हुनेछ। यही नै परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने तरिका हो। यदि तैँले साँच्चिकै परमेश्वरप्रति आफूलाई समर्पित गर्न र उहाँलाई प्रेम गर्ने र सन्तुष्ट तुल्याउने सही मानसिकताले आफ्नो कर्तव्य निभाउन सक्छस् भने, तँलाई पवित्र आत्माको कामले अगुवाइ र मार्गदर्शन गर्नेछ, तँ आफ्नो कर्तव्य निभाउने क्रममा सत्यता अभ्यास गर्न र सिद्धान्तहरूबमोजिम कार्य गर्न इच्छुक हुनेछस्, अनि तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्नेछस्। यस तरिकाले तैँले पूर्ण रूपले साँचो मानव स्वरूप जिउनेछस्। मानिसहरूको जीवन तिनीहरूले आफ्नो कर्तव्य निभाउने क्रममा बिस्तारै वृद्धि हुँदै जान्छ। ज-जसले कर्तव्य निभाउँदैनन्, तिनीहरूले जति नै वर्ष विश्‍वास गरे पनि, सत्यता र जीवन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरूमा परमेश्‍वरको आशिष्‌ हुँदैन। परमेश्‍वरले त तिनीहरूलाई मात्र आशिष्‌ प्रदान गर्नुहुन्छ जो साँच्चिकै उहाँप्रति आफूलाई समर्पित गर्छन् र जो आफ्नो क्षमताले भ्याएसम्म राम्ररी कर्तव्य निभाउँछन्। तैँले जे-जस्तो कर्तव्य निर्वाह गर्छस् र तैँले जे गर्न सक्छस्, त्यसलाई तेरो जिम्मेवारी र कर्तव्य ठान्, त्यसलाई स्वीकार गर् र त्यो काम राम्ररी गर्। तैँले कसरी त्यसलाई राम्ररी गर्छस्? ठ्याक्कै परमेश्‍वरका मागहरूअनुसार गरेर—तेरो सारा हृदय, सारा दिमाग, र सारा शक्ति लगाएर। तैँले यी वचनहरू मनन गर्नुपर्छ र आफूले कसरी सारा हृदयले आफ्नो कर्तव्य निभाउन सक्छु भनी विचार गर्नुपर्छ। उदाहरणको लागि, यदि तैँले कुनै व्यक्तिलाई सिद्धान्तहरूबिना, लापर्बाहीपूर्वक र आफ्नै इच्छाअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेको देख्छस्, र तैँले “मलाई मतलब छैन, त्यो मेरो जिम्मेवारी होइन” भनी मनमनै सोच्छस् भने, के यो सारा हृदयले आफ्नो कर्तव्य निभाउनु हो त? होइन, यो गैरजिम्मेवार हुनु हो। यदि तँ जिम्मेवार व्यक्ति होस् भने, तँलाई यस्तो परिस्थिति आइपर्दा, तैँले यसो भन्‍नेछस्, “यसरी हुँदैन। यो मेरो रेखदेखको दायरामा नपर्ला, तर म यो समस्या अगुवालाई रिपोर्ट गरेर सिद्धान्तहरूबमोजिम सम्हाल्न लगाउन सक्छु।” त्यसो गरेपछि, त्यो उचित थिएछ भनी सबैले देख्नेछन्, अनि तेरो हृदय शान्त हुनेछ, र तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। त्यसपछि तैँले सारा हृदयले आफ्नो कर्तव्य निभाएको हुनेछस्। तैँले जे कर्तव्य निभाइरहेको भए पनि, यदि तँ सधैँ ध्यान दिँदैनस्, र यसो भन्छस् भने, “यदि मैले यो कर्तव्य सरल तरिकाले र सरसर्ती गरेँ भने, मैले त्यसलाई कामचलाउ तरिकाले गर्न सक्छु। आखिर, कसैले चेकजाँच गर्ने पनि होइन। मैले आफूसँग भएको सीमित क्षमता र पेशागत सीपद्वारा आफूले सक्दो राम्रो गरेको छु। त्यो जसोतसो पूरा गर्दा भइहाल्छ। यसबाहेक, कसैले त्यसबारे सोध्नेछैन वा मलाई गम्भीर रूपमा लिनेछैन—त्यो त्यति महत्त्वपूर्ण छैन।” के यस्तो आशय र यस्तो मानसिकता हुनु सारा हृदयले आफ्नो कर्तव्य निभाउनु हो र? होइन, यो झाराटारुवा हुनु हो, र यो तेरो शैतानी, भ्रष्ट स्वभावको प्रकटीकरण हो। के तैँले तेरो शैतानी स्वभावमा भरोसा गरेर सारा हृदयले आफ्नो कर्तव्य निभाउन सक्छस्? सक्दैनस्, त्यो सम्भव हुनेछैन। त्यसो भए, आफ्नो सारा हृदयले कर्तव्य निभाउनुको मतलब के हो? तैँले यसो भन्‍नेछस्: “माथिबाट यो कार्यबारे सोधपुछ गर्नुभएको छैन, र परमेश्‍वरको घरका सबै कामहरूमध्येमा यो धेरै महत्त्वपूर्ण देखिँदैन, तैपनि म यो काम राम्ररी गर्नेछु—यो मेरो कर्तव्य हो। कुनै काम महत्त्वपूर्ण हुनु वा नहुनु एउटा कुरा हो; मैले त्यो काम राम्रोसित गर्न सक्नु वा नसक्नु अर्कै कुरा हो।” महत्त्वपूर्ण कुरा के हो? तैँले आफ्नो कर्तव्य राम्ररी र तेरो सारा हृदयले निभाउन सक्नु वा नसक्नु, र तैँले सिद्धान्तहरू पालना गर्न र सत्यताबमोजिम अभ्यास गर्न सक्नु वा नसक्नु। महत्त्वपूर्ण कुरा यही हो। यदि तँ सत्यता अभ्यास गर्न र सिद्धान्तहरूबमोजिम कामकुरा गर्न सक्छस् भने, तँ साँच्चिकै तेरो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। यदि तैँले एक प्रकारको कर्तव्य राम्ररी निर्वाह गरेको छस्, तर तँ अझै सन्तुष्ट छैनस् र त्योभन्दा झन् बढी महत्त्वपूर्ण खालको कर्तव्य निर्वाह गर्ने चाहना गर्छस्, अनि तँ त्यसलाई राम्ररी निर्वाह गर्न सक्षम छस् भने, यो झन् ठूलो मात्रामा तेरो सारा हृदयले कर्तव्य निर्वाह गर्नु हो। अनि, यदि तँ तेरो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम छस् भने, यसले के सङ्केत गर्छ? एकातिर, यसले तँ परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूबमोजिम आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस् भन्‍ने अर्थ दिन्छ। अर्कोतिर, यसको अर्थ तैँले परमेश्‍वरको छानबिन स्वीकार गरेको छस् र तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ भन्‍ने हुन्छ; त्यसको मतलब तँ देखाउनको लागि मात्र, वा आफूलाई जसरी मन लाग्छ त्यसरी मात्र, वा आफ्नो अभिरुचिअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेको छैनस्—बरु तैँले त्यसलाई परमेश्‍वरले तँलाई दिनुभएको आज्ञाको रूपमा लिइरहेको छस् र तैँले त्यसलाई त्यस्तो जिम्मेवारीसाथ र हृदय लगाएर, अनि तेरो आफ्नै इच्छाअनुसार नभएर पूर्ण रूपमा परमेश्‍वरका आवश्यकताहरूअनुसार निर्वाह गरिरहेको छस्। तैँले तेरो सारा हृदय आफ्नो कर्तव्यमा लगाउँदै छस्—यो नै तेरो सारा हृदयले आफ्नो कर्तव्य निभाउनु हो। कतिपय मानिसहरू कर्तव्य निभाउने सत्यताहरू बुझ्दैनन्। जब तिनीहरूलाई कुनै कठिनाइ आइपर्छ, तिनीहरू गुनासो गर्छन्, र सधैँ आफ्ना व्यक्तिगत स्वार्थ, लाभ र क्षतिहरूबारे हल्लीखल्ली गर्छन्। तिनीहरू यस्तो सोच्छन्, “यदि मलाई अगुवाले दिएको कामलाई मैले राम्ररी निर्वाह गरेँ भने, त्यसबाट तिनीहरूलाई सम्मान र गौरव प्राप्त हुनेछ, तर मलाई कसले सम्झनेछ? त्यो काम मैले गरेको भन्‍ने कुरा कसैले थाहा पाउनेछैन, र त्यसको सबै श्रेय अगुवाले पाउनेछ। के मैले यस तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु अरूको सेवा गर्नु होइन र?” यो कस्तो प्रकारको स्वभाव हो? यो विद्रोहीपन हो—तिनीहरू बेतुके खालका मानिसहरू हुन्। तिनीहरू परमेश्‍वरको आज्ञालाई सही तरिकाले बुझ्दैनन्। तिनीहरू सधैँ अख्तियारवाला पदमा रहन, श्रेय लिन र इनाम प्राप्त गर्न, अनि आफूलाई राम्रो देखाउन चाहन्छन्। तिनीहरू किन सधैँ ख्याति र लाभमा केन्द्रित हुन्छन्? यसले देखाउँछ कि तिनीहरूमा प्रसिद्धि र लाभको अत्यन्तै बलियो चाहना छ, र तिनीहरू बुझ्दैनन् कि कुनै कर्तव्य निर्वाह गर्नु भनेको त परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनलाई हो, वा परमेश्‍वरले हरेक व्यक्तिको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ। ती मानिसहरूमा परमेश्‍वरमाथिको साँचो आस्था हुँदैन, त्यसैले तिनीहरू तिनीहरूको आफ्नै आँखाले देख्न सक्ने तथ्यहरूको आधारमा फैसलाहरू पारित गर्छन्, जसले गर्दा तिनीहरू गलत विचार निर्माण गर्न पुग्छन्। परिणामस्वरूप, तिनीहरू आफ्नो काममा नकारात्मक र निष्क्रिय बन्छन् र आफ्नो सारा हृदय र सारा शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। तिनीहरूमा साँचो आस्था नभएकोले र परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ भनी तिनीहरूलाई थाहा नभएकोले, तिनीहरू अरूले देखून् भनेर आफ्नो कर्तव्य निभाउन, तिनीहरूले सहने कष्ट र कठिनाइबारे अरूलाई थाहा दिन, र अगुवा र सेवकहरूबाट प्रशंसा र अनुमोदन पाउन केन्द्रित हुन्छन्। तिनीहरू सोच्छन् कि तिनीहरूले यस तरिकाले कर्तव्य निर्वाह गरे मात्र त्यो सार्थक हुन्छ र तिनीहरूले त्यो काम गरेको सबैले देखेमा मात्र त्यो गौरवपूर्ण हुन्छ। के यो नीचता होइन र? तिनीहरू परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूमा आस्था नभएको मात्र नभई तिनीहरूले कुनै मात्रामा पनि सत्यता स्विकारेका वा बुझेका हुँदैनन्। यस्ता मानिसहरूले कसरी राम्ररी कर्तव्य निर्वाह गर्न सक्छन् र? के तिनीहरूको स्वभावमा समस्या छैन र? यदि तैँले तिनीहरूसित सत्यता सङ्गति गर्न खोजे पनि तिनीहरूले त्यो स्विकार्दैनन् भने, तिनीहरूमा दुष्ट स्वभाव छ। तिनीहरूले आफ्नो सही कर्तव्य पूरा गर्न सक्दैनन् र तिनीहरू आफ्नो कर्तव्यमा अडिँदैनन्। ढिलोचाँडो तिनीहरूलाई हटाइनुपर्छ। कर्तव्य निर्वाह गर्नेहरू सामान्य मानवता भएका मानिसहरू हुनुपर्छ। तिनीहरूसँग राम्रो समझ हुनुपर्छ र तिनीहरूले परमेश्‍वरका सबै बन्दोबस्त र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन सक्‍नुपर्छ। परमेश्‍वरले फरक-फरक मानिसहरूलाई फरक-फरक क्षमता र वरदान प्रदान गर्नुहुन्छ, र फरक-फरक मानिसहरू फरक-फरक कर्तव्यहरू निर्वाह गर्न सबैभन्दा उपयुक्त हुन्छन्। तँ रोजीछानी गर्ने हुनु हुँदैन र तैँले आफ्नो रुचिको आधारमा कुनै कर्तव्य रोज्नु हुँदैन, तेरो आफ्नो इच्छासँग मिल्दो, सहज र सजिलो कर्तव्य मात्र छान्‍नु हुँदैन। यो गलत हो। यो तेरो सारा हृदयले कर्तव्य गर्नु होइन, यो त कर्तव्य निर्वाह गर्नु नै होइन। कुनै कर्तव्य निर्वाह गर्नका लागि तैँले गर्नैपर्ने पहिलो काम भनेको आफ्नो सारा हृदय त्यसैमा लगाउनु हो। त्यसपछि, तैँले जे गरिरहेको भए पनि, चाहे त्यो कार्य ठूलो होस् वा सानो, फोहोरी होस् वा थकानयुक्त, मानिसहरूको अगाडि गरिने होस् वा तिनीहरूले नदेख्नेगरी गरिने, वा चाहे त्यो महत्त्वपूर्ण होस् वा महत्त्वहीन, तैँले ती सबैलाई आफ्नो कर्तव्य ठान्नुपर्छ र आफ्नो सारा हृदय, सारा दिमाग र सारा शक्तिले कामकुराहरू गर्ने सिद्धान्त पालना गर्नुपर्छ। आफ्नो कर्तव्य निर्वाह गरेपछि, अन्त्यमा यदि तँलाई तैँले गरेका केही कामबारे तेरो विवेक पूर्ण सफा छैन, र तैँले आफ्नो सारा हृदय त्यसमा लगाएको भए पनि तेरा केही काम राम्ररी पूरा भएका छैनन् र तेरो प्रयासका नतिजाहरू खासै राम्रा छैनन् भन्‍ने महसुस भयो भने, तैँले के गर्नुपर्छ? कतिपय मानिसहरू यस्तो सोच्छन्, “हुन त, मैले आफ्नो सारा हृदय मेरो कर्तव्यमा लगाएको छु, तर नतिजाहरू खासै राम्रा भएनन्। त्यो मेरो समस्या होइन। अब त्यो परमेश्‍वरकै हातमा छ।” यो कस्तो विचार हो? के यो सही विचार हो? तिनीहरूले साँच्चिकै परमेश्‍वरप्रति आफूलाई समर्पित गरिरहेका छैनन् किनकि तिनीहरू सत्यता खोजेर समस्याहरू समाधान गर्न अनिच्छुक छन्; तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न अनिच्छुक छन् र तिनीहरू अझै पनि आफ्नो कर्तव्यमाथि झाराटारुवा दृष्टिकोण राख्छन्। यस्ता मानिसहरूमा हृदय नभएझैँ देखिन्छ। जब हामी तेरो सारा हृदयले तेरो कर्तव्य गर्नेबारे कुरा गर्छौँ, त्यसको मतलब तेरो पूरै हृदय प्रयोग गर्नु हो—तैँले आधा मनले आफ्नो कर्तव्य गर्न मिल्दैन, तैँले आफूलाई समर्पित गर्नुपर्छ, ध्यानपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, आफ्नो बफादारी देखाउनुपर्छ, कामकुराहरू राम्ररी गरिनेछ भन्‍ने सुनिश्‍चित गर्न जिम्मेवार मनोवृत्ति अँगाल्नुपर्छ, र आफूले हासिल गर्नुपर्ने नतिजाहरू हासिल गर्नुपर्छ। त्यसपछि मात्र यसलाई आफ्नो सारा हृदयले कर्तव्य निर्वाह गरेको भन्न सकिन्छ। यदि तैँले तेरो कर्तव्यका नतिजाहरू खासै राम्रा नभएको देखिस् र मनमनै यस्तो सोचिस् भने, “मैले आफूले सक्दो राम्रो गरेको छु। मैले निन्द्रा त्यागेको छु, खाना छोडेको छु, र राती अबेरसम्म बसेको छु, कहिलेकाहीँ अरूहरू आराम गर्न र डुल्न निस्केको बेला पनि म गइनँ। मैले कठिनाइहरू सहेको छु र देहसुखको लोभ गरेको छैनँ। त्यसको मतलब मैले आफ्नो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गरेको छु।” के यो विचार सही हो? तैँले समय लगाएको र परिश्रम गरेको छस्। बाहिरी रूपमा, तैँले यी सबै कार्यहरू औपचारिकताका लागि पूरा गरेजस्तो देखिन्छ, तर तैँले प्राप्त गरेका नतिजाहरू राम्रा छैनन्, र तँ यसको जिम्मेवारी स्विकार्दैनस् र यसप्रति मतलब राख्दैनस्। के यो तेरो सारा हृदयले तेरो कर्तव्य गर्नु हो त? (होइन।) यो तेरो सारा हृदयले तेरो कर्तव्य गर्नु होइन। जब कुनै व्यक्तिले कुनै काम आफ्नो सारा हृदयले गरिरहेको छ कि छैन भनी परमेश्‍वरले निर्धारण गर्नुहुन्छ, उहाँले के कुरा हेर्नुहुन्छ? एकातिर, उहाँले तँ त्यो कुरालाई विवेकी र जिम्मेवार मनोवृत्तिले लिन्छस् कि लिँदैनस् भनी हेर्नुहुन्छ। अर्कोतिर, तैँले त्यो काम गर्दा तँ के सोचिरहेको हुन्छस्, तैँले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य ध्यानपूर्वक निर्वाह गरिरहेको छस् कि छैनस्, र तैँले निरन्तर रूपमा सत्यता सिद्धान्तहरूबमोजिम त्यो गरिरहेको छस् कि छैनस्, अनि तँलाई कठिनाइ आइपर्दा आफूले राम्ररी कर्तव्य निर्वाह गर्न सकूँ भनेर मन लगाएर सत्यता खोजिरहेको हुन्छस् कि हुँदैनस् भनी हेर्नुहुन्छ। मान्छेले कामकुराहरू गर्दा परमेश्‍वरले हेर्नुहुन्छ र छानबिन गर्नुहुन्छ। उहाँ तिनीहरूको हृदयलाई सधैँ नियालिरहनुहुन्छ। मानिसहरूलाई थाहा नभए पनि, तिनीहरूले कहिलेकाहीँ उहाँले छानबिन गर्नुभएको महसुस गर्न सक्छन्। कतिपय मानिसहरू आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा हुन्छन्, र अन्ततः परमेश्‍वरले वातावरणको बन्दोबस्त गरेर तिनीहरूलाई प्रकाश गर्नुहुन्छ। त्यस बिन्दुमा, तिनीहरूले उहाँद्वारा परित्याग गरिएको महसुस गर्छन्, अनि सबैले बुझ्छन् कि तिनीहरू विश्‍वासीजस्ता देखिँदैनन्—तिनीहरू गैरविश्‍वासी, दियाबलस, र शैतानजस्ता देखिन्छन्। यस्ता मानिसहरू तिनीहरूको कर्तव्य गराइको क्रममा हटाइन्छन्। कतिपय मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा आफूबारे बारम्बार चिन्तन गर्छन्। कहिलेकाहीँ तिनीहरूले प्राप्त गर्ने नतिजाहरू राम्रा हुँदैनन्, वा कुनै समस्या उत्पन्न हुन्छ, र तिनीहरूले त्यो कुरा आफ्नो हृदयमा महसुस गर्न सक्छन्, अनि तिनीहरू यस्तो सोच्छन्, “के म फेरि पनि झाराटारुवा बनिरहेको छु?” तिनीहरूले धिक्‍कारिएको अनुभूति गर्छन्। यस्तो कसरी हुन्छ? त्यो परमेश्‍वरले गराउनुभएको हो, त्यो पवित्र आत्माको अन्तर्दृष्टि हो। त्यसोभए, परमेश्‍वरले किन तँलाई अन्तर्दृष्टि दिइरहनुभएको छ? उहाँले केको आधारमा तँलाई अन्तर्दृष्टि दिइरहनुभएको छ? उहाँले कुन प्रसङ्गमा तँलाई धिक्‍कारिरहनुभएको छ? यसमा तँसित सही मानसिकता हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, “मैले मेरो सारा हृदयले आफ्नो कर्तव्य निभाउनुपर्छ, त्यसको मतलब सत्यताबमोजिम त्यो निर्वाह गर्नु हो। के मैले साँच्चिकै आफ्नो सारा हृदयले आफ्नो कर्तव्य गरेको छु त?” यदि तँ यसरी यसबारे विचार गरिरहन्छस् भने, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ र तँलाई यस्तो महसुस गराउनुहुनेछ, “मैले त्यो कार्य मेरो सारा हृदयले गरिनँ। मलाई त राम्रै गरिरहेछु जस्तो लाग्थ्यो, म त आफूलाई १०० मा ९९ अङ्क दिने थिएँ। तर अहिले देख्दै छु, यथार्थ त्यस्तो रहेनछ—वास्तवमा म जसोतसो पास गर्न सक्‍ने मात्र रहेछु।” त्यसपछि मात्र तैँले परमेश्‍वर सन्तुष्ट हुनुहुन्‍न भनेर थाहा पाउनेछस्। यो परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएको र तैँले वास्तवमा कति राम्ररी आफ्नो कर्तव्य निर्वाह गर्छस् र उहाँका आवश्यकताहरूबाट तँ अझै कति टाढा छस् भनी तँलाई बुझाउनुभएको हो। यदि कोही आफ्नो कर्तव्य गराइमा न्युनतम मापदण्डभन्दा निकै तल भए, के परमेश्‍वरले उसलाई अझै अन्तर्दृष्टि दिनुहुनेछ? सायद दिनुहुनेछैन। परमेश्‍वरले कसलाई अन्तर्दृष्टि दिनुहुन्छ? पहिलो, सत्यतालाई प्रेम गर्नेहरूलाई; दोस्रो, समर्पणकारी मनोवृत्ति भएकाहरूलाई; तेस्रो, सत्यताको तृष्णा गर्नेहरूलाई; र चौथो, हरेक हिसाबमा आफूमाथि जाँच र चिन्तन गर्नेहरूलाई। परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्ने मानिसहरू यिनै हुन्। यस तरिकाले अभ्यास र अनुभव गरेपछि, तेरो सारा हृदयले आफ्नो कर्तव्य गर्ने तेरो व्यक्तिगत अनुभव—अर्थात् सत्यता अभ्यासको यो पक्ष र वास्तविकताको यो पक्ष—झन्झन् बढेर अझ ठूलो ठूलो हुँदै जानेछ। बिस्तारै, कस्ता मानिसहरूले आफ्नो सारा हृदयले कर्तव्य निर्वाह गर्छन् र कस्ता मानिसहरू गर्दैनन् भन्‍नेबारे र कर्तव्य निभाउनेप्रति विविध व्यक्तिहरूको मनोवृत्ति र व्यवहारहरूबारे तँ प्रस्ट हुनेछस्। जब तैँले आफूलाई चिन्छस्, तँ अरूलाई खुट्याउन सक्षम हुनेछस्, र तँ आफ्नो कर्तव्यमा झन्झन् ध्यानमग्‍न बन्दै जानेछस्। तैँले झाराटारुवा हुने अवस्थालाई थोरै पनि बेवास्ता गर्नेछैनस्, र त्यो समस्या समाधान गर्न सत्यता खोज्न सक्नेछस्। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तैँले सिद्धान्तहरूबमोजिम कामकुराहरू सम्हाल्न सक्नेछस्, तैँले झन्झन् बढी सत्यता अभ्यास गरिरहेको हुनेछस्, अनि तेरो हृदय स्थिर र शान्त हुनेछ। यदि कुनै दिन तैँले आफ्नो कर्तव्य राम्ररी ननिभाएको तँलाई हृदयमा थाहा भयो भने, तैँले के गर्नुपर्छ? तैँले त्यसबारे मनन गर्नुपर्छ, जानकारी खोज्नुपर्छ, अनि अरूसँग सल्लाह माग्‍नुपर्छ, त्यसपछि तैँले थाहै नपाई त्यस विषयमा बुझाइ प्राप्त गर्नेछस्। के यसले तँलाई आफ्नो कर्तव्य गराइमा मद्दत गर्नेछैन र? (गर्नेछ।) त्यो सहयोगी हुनेछ। तैँले जुनै कर्तव्य निर्वाह गरिरहेको भए पनि यही नै हुनेछ। मानिसहरूले आफ्नो सारा हृदयले कर्तव्य निभाउने, सत्यताका सिद्धान्तहरू खोज्‍ने, र आफ्नो कोसिसमा लागिपर्ने गरुन्जेल, तिनीहरूले अन्त्यमा नतिजा प्राप्त गरिछोड्‍नेछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्