सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ (भाग दुई)

कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि तिनीहरूको हृदय अझै पनि सांसारिक दुनियाँमा हुन्छ; तिनीहरूले कर्तव्य पालना गर्न त सक्छन्, तर तिनीहरू अझै पनि धनी हुने सपना देख्छन्। तिनीहरूको हृदय अशान्त र असन्तुष्ट हुन्छ, र कहिलेकाहीँ तिनीहरू परमेश्‍वरको घर छोड्न चाहन्छन्, तर आशिष् नपाइएला, विपत्तिमा परिएला भनेर डराउँछन्। त्यसैले, तिनीहरूले झाराटारुवा शैलीमा कर्तव्य निर्वाह गर्न मात्र सक्छन्। कहिलेकाहीँ तिनीहरूले नकारात्मकता फैलाउन र केही गुनासो गर्न सक्छन्, र तिनीहरूले धेरै दुष्कर्म नगरे पनि सकारात्मक भूमिका खेल्दैनन्। के तिनीहरूको यो व्यवहार परमेश्‍वरलाई थाहा हुन्छ? (थाहा हुन्छ।) के मानिसहरूलाई थाहा हुन्छ? मानिसहरूले अक्सर यो देख्दैनन्। तिनीहरूलाई त यस्ता मानिसहरू असल हुन्छन्, कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरू सबेरै उठ्छन् र अबेर सुत्छन्, तिनीहरू कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्, तर बस कहिलेकाहीँ तिनीहरूले कमजोर महसुस गर्छन् र अरूसँग कुराकानी गर्न चाहँदैनन् भन्‍ने लाग्छ। तर यी मानिसहरूले हृदयमा के सोच्छन् र कसरी कार्य गर्छन् भन्‍ने परमेश्‍वरलाई थाहा हुन्छ, र तिनीहरूको लागि उहाँसँग उपयुक्त बन्दोबस्त हुन्छ। समय आएपछि उहाँले तिनीहरूमाथि रोगहरू बर्सिन दिनुहुन्छ र बिरामी परेपछि तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। यसको अर्थ के हो? यसको अर्थ कर्तव्य निर्वाह गर्ने श्रेणीबाट तिनीहरूलाई हटाइन्छ। के यो असल कुरा हो कि खराब? (यो खराब कुरा हो।) तिमीहरू सबै आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न चाहन्छौ। तिमीहरू कष्ट, बिराम वा पीडा सामना गर्न चाहँदैनौ र यी कुराहरूले गर्दा कर्तव्यपालनमा ढिलाइ हुन्छ भन्‍ने तिमीहरूलाई लाग्छ। तर आफ्नो कर्तव्य निर्वाह गर्न नचाहनेहरूलाई कष्ट वा बिराम आइपर्नु राम्रो कुरा हो भन्‍ने लाग्नेछ र तिनीहरूले यस्तो सोच्छन्, “यसपालि त मैले कारण र बहाना भेट्टाएँ; अब मैले कर्तव्य निर्वाह गर्नुपर्दैन।” वास्तवमा, यो खराब कुरा हो: यसको अर्थ हो, परमेश्‍वरले अब तिनीहरूलाई चाहनुहुन्‍न, तिनीहरूको गन्ती हुँदैन र यो तिनीहरूलाई पखाल्ने परमेश्‍वरको तरिका हो। पखालिएपछि, तिनीहरूको बिमारी अचानक हराउन पनि सक्छ, र निको भएपछि तिनीहरू काममा जानेछन् र पैसा कमाउनेछन्, अनि आफ्नै जीवन जिउनेछन् र धनसम्पत्ति थुपार्नेछन्। परमेश्‍वरले यसप्रकारको व्यक्तिलाई चाहनुहुन्‍न—परमेश्‍वरले कुनै व्यक्तिलाई अबउप्रान्त नचाहनुको अर्थ के हो? यसको अर्थ यो व्यक्तिको कुनै परिणाम हुँदैन; ऊ परमेश्‍वरको नजरबाट ओझेल भएको छ, र ऊसँग अब मुक्ति पाउने कुनै मौका छैन। परमेश्‍वरले पूर्वनिर्धारित गरी उसलाई छान्नुभएको थियो, तर अबदेखि उसलाई तिरस्कार गर्नुहुन्छ; उहाँ यसप्रकारको व्यक्तिलाई मुक्ति नदिने, बरु आफ्नो घरबाट हटाउने निर्णय गर्नुहुन्छ। यसप्रकारको व्यक्तिले परमेश्‍वरबाट कहिल्यै मुक्ति पाउनेछैन। यसउप्रान्त उसले मुक्तिको सबै मौका गुमाइसकेको छ। उसले जे गरे पनि वा जसरी व्यवहार गरे पनि, परमेश्‍वरले अब उसलाई चाहनुहुन्‍न। यदि परमेश्‍वरले कुनै व्यक्तिलाई अबउप्रान्त चाहनुहुन्‍न भने, के यो नै अन्त्य त होइन? यो व्यक्तिको कथा अझै सकिएको छैन। परमेश्‍वरले कुनै व्यक्तिलाई चुन्नुअघि ऊ शैतानको शक्तिअन्तर्गत जिउँछ। परमेश्‍वरले उसलाई चुनेपछि ऊ परमेश्‍वरको घरमा आउँछ र उहाँको रेखदेख र संरक्षणमा जिउँछ। जब उसले परमेश्‍वरको प्रतिरोध गरी उहाँलाई धोका दिन्छ र परमेश्‍वरले उसलाई हटाउनुहुन्छ, तब ऊ कहाँ फर्कन्छ? (शैतानको शक्तिमा।) ऊ फेरि शैतानको शक्तिमा फर्कन्छ। यसको अर्थ परमेश्‍वरले उसलाई फेरि यसो भन्दै शैतानको हातमा सुम्पनुभएको छ, “म अब यो व्यक्तिलाई चाहन्‍नँ। यसले सत्यता स्विकार्दैन; म यसलाई तेरो हातमा दिन्छु,” र उसलाई शैतानले लिन्छ। त्यो व्यक्ति शैतानकहाँ फर्कन्छ र ऊसँग अब मुक्तिको कुनै मौका हुँदैन। परमेश्‍वरले कुनै व्यक्तिलाई शैतानको हातमा फिर्ता दिनुहुँदा, त्यो व्यक्तिले के गुमाउँछ? ऊमाथि कस्तो दुष्परिणाम र अन्त्य आइपर्नेछ? तिमीहरू यसबारे स्पष्ट हुनुपर्छ। परमेश्‍वरबाट हटाइनु सामान्य कुरा होइन, र यो अवस्था व्यक्तिको क्षणिक अपराधको कारणले आएको पक्कै होइन, किनभने परमेश्‍वरले हदैसम्म मानिसलाई मुक्ति दिनुहुन्छ र कसैलाई पनि सजिलै हटाउनुहुन्‍न। परमेश्‍वरले कुनै व्यक्तिलाई चुन्नुहुँदा, त्यो व्यक्तिले उहाँबाट के प्राप्त गर्छ? (मुक्ति पाउने मौका।) अरू के प्राप्त गर्छ? (सत्यता प्राप्त गर्छ।) हो, परमेश्‍वरको मुक्ति पाउन स्वाभाविक रूपमै उसले सत्यता प्राप्त गर्नुपर्छ। जब परमेश्‍वरले कुनै व्यक्तिलाई चुन्नुहुन्छ र उसलाई शैतानको शक्तिबाट आफ्नो घरमा ल्याउनुहुन्छ, तब के शैतानले परमेश्‍वरसामु कुनै सर्त राख्ने हिम्मत गर्छ? त्यसले कुनै सर्त राख्ने हिम्मत गर्दैन, न त कुनै कुरा भन्‍ने नै हिम्मत गर्दछ। यदि परमेश्‍वरले “यो व्यक्ति मेरो हो, तँलाई अबउप्रान्त यसलाई छुने अनुमति छैन” भनी भन्‍नुभयो भने शैतानले आज्ञापालन गर्दै त्यो व्यक्तिलाई छोडिदिन्छ। त्यो व्यक्तिको गाँस, बास, कपास, यातायात र हरेक चाल परमेश्‍वरको रेखदेख र नजरमा हुन्छ, र परमेश्‍वरको अनुमतिबिना शैतानले त्यो व्यक्तिलाई फेरि छुने हिम्मत गर्नेछैन। यसको तात्पर्य के हो? यसको तात्पर्य त्यो व्यक्ति पूर्णतया परमेश्‍वरको रेखदेख र संरक्षणमा जिउँछ, र बाह्य शक्तिबाट हुने हस्तक्षेप वा अतिक्रमण हुँदैन, र उसको दैनिक सुख, दुःख र पीडा सबै परमेश्‍वरको छानबिनमा, र उहाँको रेखदेख र संरक्षणमा हुन्छन्। कुनै विपत्ति वा आपत् आइपरेमा परमेश्‍वरले उसलाई त्यसबाट बचाउनुहुनेछ र ऊ सकुशल हुनेछ; जबकि गैरविश्‍वासीहरू र परमेश्‍वरले नचुन्‍नुभएका मानिसहरूले जुन नियति भोग्नुपर्ने हो त्यही नियति भोग्नेछन्। तिनीहरू मर्नुपर्नेछ भने मर्नेछन्; विपत्तिमा पर्नुपर्नेछ भने विपत्तिमा पर्नेछन्। कुनै व्यक्तिले पनि यो कुरा बदल्न सक्दैन र कुनै व्यक्तिले पनि अर्को कसैलाई बचाउन सक्दैन। जब विपत्तिहरू आइपर्छन्, ती धेरै मानिसमाथि बर्सिनेछन्; तर ती विपत्ति तँमाथि कसरी बर्सिएनन्? यो परमेश्‍वरको संरक्षण हो। न त शैतानले, न त ससाना पिशाचहरूले, न त दुष्टात्माहरूले नै तँलाई छुने आँट गर्छन्। जब तिनीहरू तँतिर आउँछन्, तब अगाडिको निषेधित क्षेत्रले तिनीहरूलाई छेकेजस्तो हुन्छ, लाग्छ तिनीहरूले “यो व्यक्तिलाई नछुनू,” भन्‍ने शब्दहरू देखिरहेका छन्, लाग्छ तिनीहरूले स्वर्गको आदेश देखिरहेका छन्, अनि तिनीहरूले तँलाई छुने आँट गर्दैनन्, र तँ सुरक्षित हुन्छस्। तैँले यी वर्षमा धेरै राम्रो जीवन जिएको छस्, सबै कुरा राम्रो भएको छ र तैँले आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सकेको छस्—यो त व्यक्तिले परमेश्‍वरको हातबाट संरक्षण पाइरहेको कुरा हो। तर मैले भर्खरै बताएको व्यक्तिले परमेश्‍वरको संरक्षण पाएपछि, न त यसलाई महसुस गर्छ, न त यसबारे आफूलाई सचेत नै बनाउँछ। बरु उसले यसो भन्छ, “यतिका वर्षसम्म म शान्तिले जिउन पाएको अनि त्यो शैतान र ती ससाना पिशाचहरू मबाट पर बसेको त सायद संयोग वा सौभाग्यले गर्दा हो।” यो व्यक्तिले यो भन्दैन कि त्यो परमेश्‍वरको संरक्षण थियो, न त उसलाई परमेश्‍वरको प्रेम र अनुग्रहको ऋण चुक्ता गर्नुपर्छ भन्‍ने नै थाहा हुन्छ। उसले आफ्नो कर्तव्य राम्ररी गर्दैन, बरु बाधा र अवरोध उत्पन्न गर्छ र खराब काम मात्र गर्छ। परमेश्‍वरले उसको निरन्तरको व्यवहार हेर्नुहुन्छ, उसको अन्तर्मन छानबिन गर्नुहुन्छ र उसलाई धेरै वर्षसम्म समय र अवसर दिनुहुन्छ, तैपनि उसले पश्‍चात्ताप गर्दैन। त्यसैले, परमेश्‍वरले यो व्यक्तिलाई मुक्ति दिन सकिँदैन भनेर भन्‍नुहुन्छ र अन्ततः उसलाई शैतानलाई नै फिर्ता दिने निर्णय गर्नुहुन्छ। यो व्यक्ति बेकारको हुन्छ र परमेश्‍वरले अबउप्रान्त उसलाई चाहनुहुन्‍न। परमेश्‍वरले यस व्यक्तिलाई हटाउँदा को सबभन्दा बढी खुसी हुन्छ? शैतान सबभन्दा बढी खुसी हुन्छ र त्यसले भन्छ, “मेरो शिविरमा अर्को सानो पिशाच, अर्को सहयोगी हुनु, कस्तो राम्रो कुरो”। सरल मनको र डराउन नजान्ने त्यो व्यक्ति यसरी शैतानको अँगालोमा फर्किन्छ। अनि, शैतानले उसलाई के गर्छ? (कुल्चिन्छ र हानि पुर्‍याउँछ।) शैतान मानिसहरूलाई हानि गर्न यति सिपालु छ कि तिनीहरूमध्ये कोही पिशाचको वशमा पर्छन्, कसैलाई अनौठो रोग लाग्छ र कोही अचानक असामान्य व्यवहार देखाउँदै पागलझैँ पैशाचिक रूप देखाउँछन्। शैतानले प्रायः यसरी नै मानिसहरूलाई हानि गर्छ र निल्छ। यो शैतानको व्यवहारको प्रकृति हो: त्यसले चलाकी र दुष्टता अपनाउँछ, मानिसहरूलाई लोभ्याएर वशमा पार्न, हानि गर्न र निल्न विभिन्न विधिहरू प्रयोग गर्छ। के मानिसहरूलाई हानि गर्ने शैतानका विधिहरू यतिमै सीमित हुन्छन् त? पक्कै हुँदैनन्। मानिसहरूले भनेजस्तो शैतानले मानिसहरूलाई हानि गर्ने, बरबाद पार्ने र बिगार्ने गरेर मात्र भ्रष्ट बनाउँदैन। त्योसँग अझ धेरै कपटपूर्ण र क्रूर माध्यमहरू हुन्छन्, र भ्रष्ट मानवजातिले ती सबैको प्रत्यक्ष अनुभव गर्छन्। मानिसहरूलाई शैतानको हातमा सुम्पिइएपछि तिनीहरूमध्ये कतिपय अचानक एकदमै चलाख भई चाल चल्न सिपालु बन्छन्; अचानक तिनीहरूको करियरको बाटो अत्यन्तै सरल बन्छ, तिनीहरूको पदोन्नति हुन्छ र तिनीहरू धनी बन्छन्। यो राम्रो कुरा हो कि नराम्रो? (नराम्रो।) मान्छेको नजरमा त यो राम्रो कुरा हो, अनि कसरी यसलाई नराम्रो कुरा मान्‍ने? (ती मानिसहरू शैतानको चालमा परेका छन् र तिनीहरू परमेश्‍वरबाट झन्झन् टाढा हुनेछन्।) तिनीहरू पदोन्नति पाएर धनी हुन्छन् र तिनीहरूको हकमा सबै कुरा राम्रो हुन्छ; चाँडै नै, पैसा, हैसियत र प्रसिद्धि पाएर तिनीहरू ठूलो धनपति बन्छन्। तिनीहरू मज्‍जाले जिउँछन् र पूरै सांसारिक दुनियामा फर्कन्छन्। त्यो समयमा, के तिनीहरूले अझै परमेश्‍वरबारे सोच्न सक्छन्? के तिनीहरू अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छन्? के तिनीहरूको हृदयमा अझै पनि परमेश्‍वर हुनुहुन्छ? (अहँ।) तिनीहरूले आफूलाई परमेश्‍वरबाट पूर्णतया अलग गरेका र साँचो मार्गबाट टाढा लगेका बरालिएका हुन्छन्, र तिनीहरूलाई शैतानले पूर्ण रूपमा बन्दी बनाएको हुन्छ। तिनीहरू अबउप्रान्त परमेश्‍वरको घरको सदस्य हुँदैनन्; तिनीहरू गैरविश्‍वासी भइसकेका हुन्छन् र यसरी तिनीहरू पूरै बर्बाद हुन्छन्। के यस्ता मानिसहरूले अझै पनि परमेश्‍वरको संरक्षण प्राप्त गर्न सक्छन्? (सक्दैनन्।) सांसारिक दुनियामा र शैतानको शक्तिमा रहँदा तिनीहरू कस्तो अवस्थामा हुन्छन्? हरदिन तिनीहरूलाई आफू बाँच्छु कि मर्छु भन्‍ने थाहा हुँदैन; बाहिर जाँदा कुनै विपत्ति सामना गर्छु वा गर्दिनँ, थाहा हुँदैन; अनि शान्ति वा सुख के हो भन्‍ने पनि थाहा हुँदैन; र तिनीहरूको हृदय त्रास, बेचैनी र डरले भरिएको हुन्छ। परमेश्‍वरलाई धोका दिनुको परिणाम के हुन्छ भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, त्यसैले तिनीहरू दिनभरि चिन्तित अवस्थामा हुन्छन् तर आफूमाथि कति बेला विपत्ति बर्सिने हो, कति बेला सजाय पाइने हो भन्‍ने तिनीहरूलाई थाहै हुँदैन। परमेश्‍वरले मानिसहरूलाई तिरस्कार गर्दा, तिनीहरूको हृदयमा यस्तै महसुस हुन्छ: तिनीहरू अँध्यारोमा फस्छन्, र तिनीहरूसँग त्यहाँबाट निस्कने बाटो नै हुँदैन, तिनीहरूले चाल्ने हरेक पाइला निकै कठिन र भयावह हुन्छ र तिनीहरूको जीवन निकै पीडादायी हुन्छ। के यी मानिसहरूले प्रसिद्धि र लाभ खोजिहिँडेकोले, सांसारिक दुनियाँ पछ्याएकोले, आरामदायी जीवन जिएकोले र गैरविश्‍वासीहरूको मार्ग अपनाएकोले, तिनीहरूको जीवन पीडादायी भएको हो भन्‍ने तँलाई लाग्छ? होइन। यो परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएपछि त्यसउप्रान्त तिनीहरूको रेखदेख नगर्नुभएकोले भएको हो। परमेश्‍वरको संरक्षण र रेखदेखबिना तिनीहरू शैतानको शक्तिमा रहेका मानिसहरू बन्छन् र तिनीहरू तुरुन्तै अन्धकारमा खस्छन्। अन्धकारमा खसेपछि मानिसहरूले महसुस गर्ने पहिलो कुरा भनेको तिनीहरूको हृदयमा शान्ति नहुनु र तिनीहरूलाई परमेश्‍वरको उपस्थिति महसुस हुन छोड्नु हो। तिनीहरूलाई यो संसार आतङ्क, जालझेल, धोकाधडी र खतराले भरिएको छ र जीवन त झन् धेरै कठिन छ भन्‍ने लाग्छ। के यो संसारमा तिनीहरूको के हैसियत छ भन्‍ने कुराले कुनै फरक पार्छ? के तिनीहरू कति सक्षम वा शक्तिशाली छन् भन्‍ने कुराले कुनै फरक पार्छ? पार्दैन। परमेश्‍वरमा विश्‍वास नगर्ने वा उहाँबाट हटाइएका सबैले यो परिणाम भोग्नेछन्, जीवित नर्कमा पर्नेछन् र त्यो औधी पीडादायी हुनेछ। त्यहाँ हरदिन हरप्रकारका जीउँदा प्रेतहरूले तँलाई हानि गर्नेछन्। त्यो जिउन नसकिने अवस्था हो; त्यो वास्तवमै मृत्युभन्दा खराब जीवन हो।

जब मानिसहरू परमेश्‍वरको संरक्षणमा हुन्छन्, तिनीहरूलाई आफू सुरक्षित रहेको र आफूलाई शान्ति र आनन्द मिलेको महसुस हुन्छ। तिनीहरू मानवझैँ जिउन र सामान्य मानवताका सबै क्रियाकलापहरूमा सहभागी हुन सक्छन्; तिनीहरूका सबै कुराहरू नियमित र जस्तो हुनुपर्ने हो त्यस्तै हुन्छन्, र तिनीहरूको हृदय स्वतन्त्र र निस्फिक्री हुन्छ। जब मानिसहरूले परमेश्‍वरको रेखदेख र संरक्षण गुमाउँछन्, तब ती सबै भावना हराउँछन्, त्यसैले तिनीहरू आफ्नो वरपरका सबै मानिस, घटना र वस्तुहरूप्रति आफ्नै सीप, क्षमता, सोच र संसारसँग व्यवहार गर्ने दर्शनहरू अनि क्रोधद्वारा प्रतिक्रिया जनाउँछन्। तिनीहरूको वरपरका यी सबै मानिस, घटना र वस्तुहरू के हुन्? यी सबै खराब मानिसहरू, दुष्ट मानिसहरू, अनि ठूला र साना पिशाच र दुष्टात्माहरू हुन्। के परमेश्‍वरको संरक्षणबिना यी अशुद्ध आत्माहरू रहेको यस्तो ठाउँमा मानिसहरूको जीवन राम्रो हुनेछ? (हुनेछैन।) त्यसैले, परमेश्‍वरलाई छोडेपछि मानिसहरूले एउटा पनि असल दिनको आनन्द लिन सक्दैनन्; तिनीहरूलाई जीवन जीउन त्यति कठिन हुन्छ। मानिसहरू परमेश्‍वरको रेखदेख र संरक्षणमा जिउँदा यसलाई प्रेमसाथ सँगाल्न जान्दैनन् र यसलाई गम्भीरतापूर्वक लिँदैनन्; जब परमेश्‍वरले तिनीहरूलाई त्याग्नुहुन्छ, तब पछुतो गर्न निकै ढिलो भइसकेको हुन्छ र त्यो निकै ठूलो विपत्ति हो! परमेश्‍वरको योजनाबद्ध कार्य, रेखदेख र संरक्षणमा रहँदा मात्र मानिसहरूले साँचो खुसी, शान्ति र आनन्द पाउँछन् जुन व्यक्तिको हृदयभित्र गहिराइमा महसुस हुने शान्ति र आनन्द हो र त्यो परमेश्‍वरबाट आउँछ। जब मानिसहरूले परमेश्‍वरको रेखदेख र संरक्षण गुमाउँछन्, तब तिनीहरूको हृदयको गहिराइमा रहेको पीडा, चिन्ता, परेशानी, बेचैनी र भय बिस्तारै बढ्न थाल्छ। तिनीहरूको हृदयमा पीडा बढ्न थाल्छ र यसबाट आफूलाई अलग गर्न तिनीहरूलाई कठिन हुन्छ; तिनीहरू मुक्त हुन सक्दैनन्। व्यक्तिको सीप र शक्ति कति ठूलो हुन सक्छ र? अनि, तैँले एक्लै सामना गर्ने कुरा के हो? तैँले हरप्रकारका अशुद्ध र दुष्ट आत्माहरू सामना गर्छस्! बाहिरबाट तिनीहरू मानिसहरूजस्तै देखिन्छन्: तिनीहरूको आकार, रूप, देह र रगत हुन्छ। तर ती सबै मानिसहरू शैतानका हुन् र तिनीहरूलाई शैतान र हरप्रकारका दुष्ट र अशुद्ध आत्माहरूले चलाइरहेका हुन्छन्। यी कुराहरूको सामुन्ने व्यक्ति कति सक्षम हुन सक्छ? के तिनीहरू निडर हुन सक्छन्? के तिनीहरूले शान्ति र आनन्द लिन सक्छन्? चाहे तिनीहरू जतिसुकै महान्‌ व्यक्तित्वका होऊन्, वा चाहे जतिसुकै क्षमतावान्‌ वा जतिसुकै भयङ्कर होऊन्, तर शैतानको शक्तिमा र यस संसारमा रहँदा तिनीहरूले कस्तो महसुस गर्नेछन्? जब तिनीहरू एक्ला र शान्त भएका हुन्छन्, तब तिनीहरूले आफू वरपरका मानिस, घटना र वस्तुहरूबारे र आफ्नो मार्गमा आउने हरेक कुरा सम्हाल्न आफूलाई कति कठिन छ भन्‍नेबारे सोच्नेछन्; ती सबै कुरा सम्हाल्न तिनीहरूले आफ्नो दिमाग खियाउनैपर्ने हुन्छ। यी सबै कुराहरू व्यवस्थापन गर्न मानव शक्ति र साधन प्रयोग गर्नुपर्ने हुनु, तिनीहरूको लागि यो कस्तो कठिन परीक्षा हो! तिनीहरूलाई जीवन जीउन कति गाह्रो छ; यो कति पीडादायी कुरा हो। कतिपय मानिसहरू महान्‌ व्यक्तिहरूलाई यस्तो पीडा हुँदैन भन्छन्, तर वास्तवमा तिनीहरूलाई झन्‌ धेरै कष्ट हुन्छ। सामान्य मानिसहरूले जीवनको सानो वृत्त सामना गर्छन्, जबकि महान्‌ व्यक्तिहरूले जीवनको ठूलो वृत्त र अझ बढी कष्ट र पीडा सामना गर्छन्। के तिनीहरूलाई खुसी के हो थाहा हुन्छ र? (थाहा हुँदैन।) तसर्थ, जब मानिसहरूले परमेश्‍वरको रेखदेख र संरक्षण गुमाउँछन् अनि उहाँबाट त्यागिन्छन्, तब तिनीहरूले कस्तो जीवन सामना गर्नेछन्? तिनीहरूले ती सबै अशुद्ध र दुष्ट आत्माहरू आफै र एकलै सामना गर्नेछन्—यसले तिनीहरूको जीवन असहनीय बनाउँछ! तिनीहरू कुनै पनि समय आफ्ना विरोधीहरूको गोलाबारी वा षड्यन्त्रमा परेर मर्न सक्छन्, र तिनीहरूले थकित, पीडादायी र कष्टपूर्ण जीवन अघि बढाउँछन्। कतिपय मानिसहरू मूर्ख हुन्छन् र परमेश्‍वरमा विश्‍वास गर्नु, सधैँ सत्यता पछ्याउनु, र सधैँ परमेश्‍वरमा समर्पित हुन र परमेश्‍वरका वचन सुन्न ध्यान लगाउनु निरस हुन्छ भन्‍ने सोच्छन्; तिनीहरू सांसारिक मानिसहरू नै स्वतन्त्र हुन्छन् र परमेश्‍वरमा विश्‍वास गर्नु अर्थहीन हो भन्‍ने ठान्छन्, त्यसैले तिनीहरू अबउप्रान्त विश्वास गर्न चाहँदैनन्। तिनीहरूले सधैँ यसरी नै सोच्छन्, तर एकदिन यसको दुष्परिणाम अवश्य थाहा पाउनेछन्।

सृष्टिकर्ताको हातमा, मानिसहरूले अनन्त शान्ति, आनन्द, आशिष्, संरक्षण र देखरेख पाउँछन्, जबकि मानवताको कमी भएका र विवेक नभएकाहरूले यी कुराहरू अनुभव गर्नेछैनन्। तर जब कुनै व्यक्ति परमेश्‍वरबाट त्यागिएको हुन्छ, तब उसले तत्काल आफूमाथि अन्धकारको पीडा बज्रेको महसुस गर्नेछ र त्यो बेला परमेश्‍वरमा विश्‍वास गर्दा, आफ्नो कर्तव्य निर्वाह गर्दा अनि परमेश्‍वरको घरमा र उहाँको उपस्थितिमा रहँदा कति खुसी र आनन्द हुने गर्थ्यो भनी पूर्ण रूपमा बुझ्नेछ, तर तब निकै ढिला भइसकेको हुनेछ। तैँले भन्‍न सक्छस्, “परमेश्‍वरलाई छोडेर मलाई पछुतो भइरहेको छ। के म फेरि उहाँमा विश्‍वास गर्न सुरु गर्न सक्छु?” के परमेश्‍वरले यस्तो अवसर दिनुहुन्छ? (दिनुहुन्‍न।) यदि तँ अबउप्रान्त परमेश्‍वरलाई चाहँदैनस् भने, के परमेश्‍वरले तँलाई अझै पनि चाहनुहुन्छ र? के तँ शैतानलाई प्रेम गर्दैनस् र? तैँले हृदयदेखि नै शैतानलाई प्रेम गर्छस्, तर केही आशिष् प्राप्त गर्न अझै परमेश्‍वरलाई पछ्याउन चाहन्छस्। के परमेश्‍वर यसमा सहमत हुन सक्नुहुन्छ? (सक्नुहुन्‍न।) परिस्थिति यही हुन्छ। तसर्थ, मानिसहरूले अक्सर परमेश्‍वरसामु आएर यी कुराहरू सोचविचार गर्नुपर्छ: साँचो खुसी के हो; साँचो खुसी, आनन्द र शान्ति पाउन कसरी जिउनुपर्छ; र मानिसको जीवनमा सबभन्दा मूल्यवान्‌ र कदरयोग्य कुराहरू के हुन्। यी कुराहरू सोचविचार गर्नैपर्छ। तैँले जति धेरै उचित कुराहरू र सत्यताबारे सोचविचार गर्छस्, त्यति नै धेरै परमेश्‍वरले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ र तँलाई बुझ्न, जान्न र हेर्न दिनुहुनेछ, अनि त्यति नै धेरै तैँले सत्यता अभ्यास गर्ने र सत्यतामा प्रवेश गर्नेबारे अन्तर्दृष्टि र ज्योति पाउनेछस्—त्यसपछि के तेरो विश्‍वास अझै बढ्दै जानेछैन र? यदि तँ सधैँ अल्छी र अवज्ञाकारी हुन्छस्, सधैँ सत्यताबाट विमुख रहन्छस् र सत्यता मन पराउँदैनस् भने; यदि तँ परमेश्‍वरको छेउमा कहिल्यै आउन चाहँदैनस् र सधैँ लम्पट हुने र परमेश्‍वरबाट टाढिनेबारे मात्र सोचिरहन्छस् भने; र यदि तँ उहाँको मार्गदर्शन, रेखदेख र संरक्षण केही पनि स्वीकार गर्दैनस् भने, त्यस अवस्थामा के परमेश्‍वरले तँलाई बाध्य पार्न सक्नुहुन्छ? यदि यो तेरो मनोवृत्ति हो भने, परमेश्‍वरले पक्कै पनि तँलाई अन्तर्दृष्टि दिनुहुन्‍न, अनि तँसँग थोरै मात्र विश्‍वास हुनेछ। तँ जति लामो समयसम्म विश्‍वास गर्छस्, तेरो ऊर्जा त्यति नै कम हुनेछ र त्यसपछि तैँले गुनासो गर्नेछस्, तेरा धारणाहरू र नकारात्मकता फैलाउनेछस् र समयसँगै समस्या खडा गर्नेछस्। तैँले समस्या खडा गरेपछि र मण्डलीको काममा बाधा पुर्याएपछि परमेश्‍वरको घरले तँलाई दयालु व्यवहार गर्न छोड्नेछ र तँलाई निकाला वा निष्कासित गर्नेछ, र परमेश्‍वरमा विश्‍वास गर्ने तेरो बाटो अन्त्य हुनेछ। यसको लागि कसलाई दोष दिने? (व्यक्ति स्वयम्‌लाई।) यो ती मानिसहरूको लागि आउने अन्त्य हो जो परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर सत्यता पछ्याउँदैनन्। भनिन्छ, “एकै दिनमा तीन फिट बरफ जम्न सक्दैन।” यदि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तर सत्यता पछ्याएको छैनस् र सांसारिक मार्ग रोजेको छस् अनि परमेश्‍वरलाई छोडेर शैतानलाई पछ्याएको छस् भने परमेश्‍वरले तँलाई छोडिदिनुहुनेछ र त्याग्नुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई दबाब दिनुहुन्‍न। परमेश्‍वरको मुक्ति, उहाँको वचन, सत्यता र जीवन मान्छेलाई निःशुल्क दिइन्छ; उहाँले तँसँग पैसा माग्नुहुन्‍न, न त कुनै कारोबार सम्झौता नै गर्नुहुन्छ। यदि तैँले सत्यता नस्विकार्ने मात्र होइन, परमेश्‍वरसँग गुनासो पनि गर्छस् र मण्डलीको काममा बाधा दिन्छस् भने, के तैँले समस्या ल्याउन खोजिरहेको होइनस् र? त्यो बेला परमेश्‍वरले के गर्नुहुनेछ? उहाँले पक्कै तँलाई त्याग्नुहुनेछ र यही तेरो सजाय हुनेछ। यदि तैँले परमेश्‍वरको महान्‌ मुक्ति निकट हुँदा पनि यसलाई अस्वीकार गर्छस् र अझै पनि आफूप्रति अन्याय भएको महसुस गर्छस् र परमेश्‍वरसँग सौदाबाजी गर्न चाहन्छस् भने, यो साँच्चै नै नाजायज हो! त्यस्तो अवस्थामा, तैँले सांसारिक फोहोरी खाल्डोमा फर्केर गई आफ्नै तरिकाले जिउनु नै बेस हुन्छ! परमेश्‍वरले तेरो रेखदेख गर्न छोड्नुहुन्छ र यससँगै तेरो परिणाम तय हुनेछ। कतिपय मानिसहरू भन्छन्, “यदि मानिसहरूले परमेश्‍वरलाई चाँहदैनन् भने, उहाँले किन तिनीहरूलाई मर्न दिनुहुन्‍न?” के यस्तो सोच्ने मानिसहरू छैनन् र? (छन्।) कतिपय मानिसहरू निर्दयी हुँदै भन्छन्, “यदि कुनै व्यक्तिले परमेश्‍वरलाई पछ्याउँदैन भने परमेश्‍वरले उसलाई श्राप र दण्ड दिनुपर्छ, र त्यसपछि उसलाई नष्ट गर्नुपर्छ!” के तिमीहरूलाई परमेश्‍वरको स्वभाव यही हो भन्‍ने लाग्छ? (परमेश्‍वरको स्वभाव यस्तो छैन।) परमेश्‍वरले यस्तो गर्नुहुन्‍न; उहाँले मानिसहरूलाई दबाब दिनुहुन्‍न। कुनै व्यक्तिको जीवन कस्तो हुनेछ भनेर परमेश्‍वरले पहिले नै निर्धारित गर्नुभएको हुन्छ र परमेश्‍वरले हचुवाको तालमा काम गर्नुहुन्‍न। त्यो व्यक्तिको भाग्य, गन्तव्य र परिणाम परमेश्‍वरद्वारा पहिल्यै निर्धारित भएको हुन्छ र यदि उसले परमेश्‍वरलाई पछ्याउँदैन भने पनि परमेश्‍वरले उसको प्रारम्भिक नियतिअनुसार नै उसलाई स्वाभाविक तरिकाले जिउन छोडिदिनुहुन्छ। परमेश्‍वरले उसलाई शैतानको हातमा दिनुहुनेछ र त्यही नै अन्त्य हुनेछ; र उसको परिणाम अन्ततः परमेश्‍वरले समय आएपछि, उसको जीवनको अन्त्यमा निर्धारण गर्नुहुनेछ। परमेश्‍वरले यी सबै नियमलाई तलमाथि गर्नुहुन्‍न। मान्छेको शब्दमा भन्‍नुपर्दा, परमेश्‍वरले विशेष तर्कसङ्गत तरिकाले काम गर्नुहुन्छ, जुन ख्रीष्टविरोधीहरूको कपटीपन र क्रूरताभन्दा विपरीत हुन्छ, जो यसो भन्छन्: “यदि तँ मलाई पछ्याउँदैनस् भने, म तँलाई मारिदिनेछु!” यो कस्तो प्रकारको स्वभाव हो? यो लुटेराको स्वभाव हो, डाँका र बदमास व्यक्तिको स्वभाव हो। परमेश्‍वरले यस तरिकाले व्यवहार गर्नुहुन्‍न। परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तँ मलाई पछ्याउँदैनस् भने, शैतानकहाँ फर्केर जा र अबदेखि हामीबीचको सबै सम्बन्ध अन्त्य हुनेछ। तैँले न मेरो संरक्षण पाउनेछस्, न मेरो रेखदेख; यो आशिष्‌मा तेरो कुनै भागीदारी हुनेछैन। जसरी चाहन्छस्, त्यसरी जिई; यो तेरो रोजाइको कुरा हो!” परमेश्‍वर मानिसहरूप्रति सहनशील हुनुहुन्छ र शैतानले जस्तो दबाब दिनुहुन्‍न। त्यसले त तैँले नचाहँदा नचाहँदै पनि, सँधै तँमाथि नियन्त्रण र पकड राख्न चाहन्छ। परमेश्‍वरले यस्तो गर्नुहुन्‍न। कामकुराहरू गर्नेबारे परमेश्‍वरको आफ्नै सिद्धान्त हुन्छ; परमेश्‍वरले मानिसहरूलाई उहाँलाई पछ्याउन भन्नुहुन्छ, तर कहिल्यै दबाब दिनुहुन्‍न। यदि सृष्टि गरिएको प्राणी भएर तैँले सत्यता स्विकार्न र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरको आशिष् कहिल्यै पाउनेछैनस्।

नोभेम्बर ७, २०१७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्