आफ्नो सारा हृदय, मनमस्तिष्क, र प्राणले राम्ररी कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्वरलाई प्रेम गरेको हुन्छ (भाग दुई)
किन परमेश्वरको वचन मानिसहरूलाई मार्गदर्शन गर्ने बत्ती हो भनेर भनिन्छ? किनभने परमेश्वरको वचन व्यर्थमा बोलिएको हुँदैन, त्यो मानिसका वास्तविक समस्याहरूलाई सम्बोधन गर्न बोलिएको हुन्छ। त्यो सिद्धान्त, भव्य सुनिने भाषा, वा संवाद होइन। परमेश्वरको वचन तैँले लागू गर्न र अभ्यास गर्नका लागि हो। जब तैँले एउटा त्यस्तो परिस्थिति सामना गर्छस् जहाँ तेरा लागि अघि बढ्ने उपाय नै छैन र तँलाई के गर्ने भनेर थाहा छैन, तब तैँले परमेश्वरका मापदण्डअनुसार कसरी व्यवहार गर्नुपर्छ भनेर सम्झन सक्छस्। परमेश्वरको वचनबारे मनन गरेपछि, तैँले एउटा मार्ग भेट्टाउँछस् र परमेश्वरको वचनको अर्थ बुझ्छस्, र त्यसपछि त्यसलाई परमेश्वरका अभिप्रायहरूअनुसार व्यवहारमा लागू गर्नतिर लाग्छस्। त्यसलाई व्यवहारमा लागू गरेपछि, तैँले पुष्टि प्राप्त गर्छस्, र यस कार्यमार्फत तैँले आत्मामा शान्ति र आनन्द अनुभव गर्ने यसले अरूलाई पनि सुधार गर्ने कुरा पत्ता लगाउँछस्। परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्ने क्रममा, तैँले अन्तर्दृष्टि र अनुभवहरू प्राप्त गर्छस्, तैँले आफ्ना अनुभवहरूबाट सिक्छस् र तैँले निश्चित कुराहरू बुझ्छस्। तैँले के बुझ्छस्? तैँले परमेश्वरको वचनको र मानिसहरूलाई निश्चित तरिकाले काम गर्न लगाउने उहाँको अभिप्रायको उद्देश्य बुझ्छस्। जब तैँले यी सबैमा अन्तर्निहित अभ्यासका सिद्धान्तहरू पत्ता लगाउँछस्, तब तैँले उहाँका वचनहरूको स्रोत र महत्त्व पत्ता लगाउँछस्। सत्यताको बुझाइ भनेको यही हो। सत्यता बुझेपछि, तँ दुबिधामा पर्न छोड्छस्, त्यति अनभिज्ञ हुँदैनस्, र तबउसो कामकुरा गर्दा कायर हुँदैनस्। कायर नहुनुको अर्थ के हो? त्यसको अर्थ तैँले कठिनाइहरू सामना गर्नुपर्दा सत्यता खोज्न, तिनलाई समाधान गर्ने तरिका जान्न, र ठ्याक्कै कसरी अघि बढ्ने भनी थाहा पाउन सक्छस्। परमेश्वरको वचन आभ्यास गर्दा अघि बढ्ने मार्ग पाउनुको अर्थ के हो? त्यसको अर्थ तैँले उहाँको वचन अभ्यास गर्ने सिद्धान्तहरू बुझ्छस्, तँ उहाँका वचनहरूले जनाउने परिस्थितिहरू बुझ्छस्, र ती अभ्यास गर्ने तरिका जान्दछस्। किन परमेश्वरको वचन मानवजातिको जीवन र मार्ग हो भनिन्छ? किनभने परमेश्वरको वचन मानिसहरूको जीवन बन्न सक्छ, अनि उहाँको वचन अर्थात् सत्यताले मात्र मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउन सक्छ। परमेश्वरको वचन सुस्पष्ट र बुझ्न सजिलो छ। त्यो मानिसहरूलाई सत्यता सजिलै बुझ्न र स्विकार्न मदत गर्नका लागि दिइएको हो। जब मानिसहरू सत्यतालाई मान्न र स्वीकार गर्न सक्षम हुन्छन्, तब तिनीहरू थाहै नपाई आफूलाई जीवनको सही मार्गमा पाउँछन्। परमेश्वरका वचनहरूमध्ये केही तेरा लागि सरल र सजिलै बुझ्न सकिने देखिन सक्छन्, तर ती सबै कसरी जिउने, विविध परिस्थितिहरूलाई कसरी सम्हाल्ने, र कठिनाइहरूलाई कसरी समाधान गर्ने भन्नेबारे निर्देशनहरू हुन्। यो सत्यता हो। त्यो तेरो मार्ग बनेर तैँले परिस्थितिहरू सामना गर्नुपर्दा त्यसले तँलाई बुद्धि, सिद्धान्तहरू र अभ्यासको मार्ग प्रदान गर्न सक्छ। यदि तेरो कर्तव्य पूरा गर्ने काम वा अरू मामलाहरूमा तँसँग मार्ग छ भने, यदि तँ सिद्धान्तद्वारा कार्य गर्न सक्छस् र परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छस् भने, के यसको अर्थ तैँले सत्यता बुझ्छस् भन्ने हो? (हो।) यसको अर्थ तैँले सत्यता र परमेश्वरको वचन बुझ्छस् भन्ने हो। श्रमिकहरूले परमेश्वरको वचन बुझ्नैपर्छ भन्ने छैन; तिनीहरूले प्रयत्न मात्र गर्नुपर्छ। त्यसकारण, श्रम गर्नु सरल कार्य हो। कतिपय मानिसहरू राम्ररी श्रम गर्नसमेत सक्दैनन्, र यस्ता मानिसहरूले आफूलाई कस्तो असक्षम देखाउँछन्! आफूलाई असक्षम देखाउनुको अर्थ के हो? त्यसको अर्थ, तिनीहरू श्रम गर्ने कार्यसमेत राम्ररी सम्हाल्न सक्दैनन्, तिनीहरू राम्रो प्रयत्न गर्न सक्दैनन्, अनि तिनीहरू सधैँ उपद्रवी हुन्छन्, सधैँ बाधा दिन्छन्, अनि सधैँ नकारात्मक र अल्छी हुन्छन्। तिनीहरूलाई सधैँ फकाउनुपर्छ र रेखदेख गर्नुपर्छ। यस्ता मानिसहरू आफ्नो कर्तव्य सन्तोषजनक रूपले पूरा गर्न सक्दैनन् र ती व्यक्ति बन्ने मानक पूरा गर्दैनन्। अब तिमीहरूको कुन मार्गमा हिँड्ने मनसाय छ? तिमीहरूको कस्तो व्यक्ति बन्ने योजना छ? के तिमीहरू मानकीकृत श्रमिक बन्ने कोसिस गर्नेछौ कि सारा हृदय, प्राण र मनले आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्ने लक्ष्य राख्नेछौ? (सारा हृदय, प्राण र मनले आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्ने।) त्यो राम्रो कुरा र सही लक्ष्य हो। तँ श्रमिक बन्ने, प्रयत्न मात्र गर्ने इच्छा राख्दैनस्। त्यसकारण, तैँले सत्यताका लागि प्रयत्न गर्नुपर्छ! सत्यताका लागि प्रयत्न गर्दा बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सत्यताहरू के-के हुन्? यो तैँले भोगिरहेका कठिनाइहरूमा भर पर्छ, अनि पहिला तुरुन्तै समस्याहरू हल गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। अहिले, अधिकांश मानिस सत्यता पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्नमा ध्यान दिइरहेका छन्, अनि आफ्नो कर्तव्य पूरा गर्नेसम्बन्धी सत्यता निकै महत्त्वपूर्ण छ। यदि तँ सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छस् भने, तँलाई हृदयमा शान्ति र आश्वासन अनुभूति हुनेछ। अनि यदि तँ परमेश्वरको काम पनि चिन्न, उहाँको काम अनुभव गर्न, र आफ्ना केही भ्रष्ट स्वभावहरू समाधान गर्न सक्छस् भने, तैँले परमेश्वरलाई पछ्याउनुको मिठास चाख्नेछस् र सत्यता पछ्याउने मार्गमा हिँड्नु तँलाई सजिलो लाग्नेछ। परमेश्वरलाई पछ्याउनु र उहाँमा समर्पित हुनुको मुख्य कुरा भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु हो। परमेश्वरको वचन यसो भन्छ, “तैँले आफ्नो सम्पूर्ण हृदय, आफ्नो सम्पूर्ण मन, र आफ्नो सम्पूर्ण शक्तिले आफ्नो कर्तव्य पूरा गर्नू।” के यो भनाइ सत्यता होइन र? यदि तँ यो भनाइ नै सत्यता हो भनेर पुष्टि गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य पूरा गर्ने प्रयत्न गर्नुपर्छ। तैँले आफ्नो कर्तव्य निर्वाहमा सत्यतालाई जति बढी बुझ्छस्, तेरो त्यो कर्तव्य निर्वाह उति नै बढी शिष्ट र प्रभावकारी हुनेछ। यदि तँ आफ्नो कर्तव्य सन्तोषजनक रूपले पूरा गर्छस् भने, तेरो हृदयमा शान्ति र आनन्द मात्र नभई सच्चा आस्था पनि हुनेछ। यो नै परमेश्वरलाई पछ्याउनुको र आफ्नो कर्तव्य पूरा गर्नुको परिणाम हो। यो पूर्णतया साँचो हो, परमेश्वरलाई पछ्याउने मार्ग हिँड्दै जाँदा यो झन्-झन् उज्यालो बन्दै जान्छ। त्यसकारण, आफ्नो कर्तव्य पूरा गर्नु नै सबैभन्दा अर्थपूर्ण कार्य हो। यदि तँ परमेश्वरको मापदण्डबमोजिम सत्यताका लागि प्रयत्न गर्छस् भने, तैँले सही स्थानबाट थालनी गरेको छस्। जब तँ यो दिशामा प्रयत्न गर्छस्, तब तैँले बिस्तारै परिणामहरू देख्नेछस् र मानव स्वरूप प्राप्त गर्नेछस्। क्रमिक रूपमा परमेश्वरसँगको तेरो सम्बन्ध निकट बन्दै जानेछ। जब तँ परीक्षा र सङ्कष्ट सामना गर्छस् अनि अलि नकारात्मक वा कमजोर महसुस गर्छस्, अनि केही धारणा र गलत बुझाइहरू पैदा हुन्छन्, तब तैँले ती समस्याहरू समाधान गर्न सजिलै सत्यता खोज्नेछस्, र ती अबउसो ठूलो समस्या रहनेछैनन्।
तिमीहरूमध्ये अधिकांश उत्पीडन र कठिनाइहरू भोगेका मुख्यभूमि चिनियाँ मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूजस्तो नभई लोकतान्त्रिक प्रणाली भएको मुलुकमा बस्छौ। आरामदायी जीवन पाउनु तिमीहरूका लागि राम्रो कुरा नै हो भन्ने छैन। तैँले सत्यता पछ्याउन केही प्रयत्न गर्नुपर्ने होला, अनि आफ्नो कर्तव्य निर्वाहमा कठिनाइहरू सहन र मूल्य चुकाउन अलि चुनौतीपूर्ण होला। लोकतान्त्रिक र स्वतन्त्र प्रणालीमा हुर्केबढेका मानिसहरूमा आत्मभोगी हुने दोष हुने गर्छ। तिनीहरू अरूलाई तिनीहरूको आलोचना वा गाली गर्न दिँदैनन्। तुलनात्मक रूपले तिनीहरू सोचाइमा बढी स्वतन्त्र र खुला हुन्छन्। तिनीहरू सधैँ व्यक्तिगत दायरा र स्वतन्त्रता माग गर्छन्, सधैँ आफ्नो हरेक चाहनाको पछि लाग्न चाहन्छन्, र सधैँ देहसुखसँग सम्बन्धित हरेक प्रकारका कुरा माग गर्छन्। यदि तिमीहरू यी कुराहरू त्याग्न इच्छुक हुँदैनौ भने, सत्यता नपछ्याई प्रयत्न मात्र गर्ने स्थिति र हालतबाट मुक्त हुन तिमीहरूलाई कठिन हुनेछ। स्वतन्त्रता र व्यक्तिगत दायरालाई निरन्तर जोड दिनाले समस्या निम्त्याउनेछ। तैँले सत्यता, परमेश्वरका वचनहरू, र जीवनको सकारात्मक र सही मार्गबारे कुरा गर्नैपर्छ। स्वतन्त्रता, लोकतन्त्र र स्वाधीनता असल र प्रगतिशील सामाजिक प्रणालीहरू भए पनि, ती सत्यता होइनन्। ती त यो अन्धकार र दुष्ट संसारका प्रगतिशील विचार र प्रणाली मात्र हुन्। ती कुरा मानव अस्तित्वका लागि तुलनात्मक रूपले उपयुक्त प्रणाली हुन् जसले मानव अधिकारको समर्थन गर्छन्। ती बिलकुलै सत्यता होइनन्, र तिमीहरूले यो प्रस्ट रूपमा बुझ्नैपर्छ। यस्तो नसोच्, “म त्यस्तो सामाजिक प्रणालीमा जन्मेकाले मसँग यी अधिकारहरू छन्। म जे चाहन्छु त्यो सोच्न, भन्न र गर्न सक्छु, र कसैले हस्तक्षेप गर्नै मिल्दैन। यो मेरो मानव अधिकार हो, समाज र मेरो देशले मलाई दिएको अधिकार हो।” यदि तँ यसलाई सर्वोच्च सत्यता मान्छस् भने, यसले समस्या निम्त्याउनेछ। के यी सोचहरूले तँसँग सत्यता छ भनेर देखाउन सक्छन्? यी कुराहरू कहाँबाट आउँछन्? ती त मानवबाटै आउँछन् र भ्रष्ट मानवताबाट उत्पन्न हुन्छन्। ती परमेश्वरका वचन होइनन्, झन् परमेश्वरले मानिसहरूमा भएको माग गर्ने सत्यता हुनु त परको कुरा हो। यदि तँ लोकतन्त्र र स्वतन्त्रता भनिने विचारलाई सत्यताको रूपमा लिन्छस्, अनि परमेश्वरको घरमा स्वतन्त्रताको पछि लाग्नमा मात्र ध्यान दिन्छस् र बन्धन सहँदैनस्, आफ्नो कर्तव्य निर्वाहमा लापर्बाहीपूर्वक काम गर्छस् भने, तँलाई समस्या आइपर्नेछ। के तैँले यस्ता सोचहरू राखेर सत्यता अपनाउनेछस्? के तैँले सजिलै सत्यता अभ्यास गर्न सक्नेछस्? के तँ अझै पनि परमेश्वरलाई साँच्चै पछ्याउन सक्षम हुनेछस्? परमेश्वरलाई पछ्याउनका लागि सत्यता बुझ्न, कसरी समर्पित बन्ने भनी बुझ्न, र सत्यताको रोकावटको प्रभावमा रहन जरुरी छ। तैँले मनोमानी रूपमा व्यवहार गर्न मिल्दैन। यदि तँ लोकतन्त्र र स्वतन्त्रताको पछि लाग्छस् भने, सत्यता वास्तविकताभित्र प्रवेश गर्न सक्दैनस्। तँ परमेश्वरको अनुयायी बन्नेछैनस् न त आफूलाई ख्रीष्टलाई पछ्याउने व्यक्ति नै मान्नेछस्। यसले तँलाई समस्यामा पार्नेछ, र तिमीहरूलाई सामना गर्न कठिन हुने यही नै हो। मानिसहरूमा निश्चित धारणा र कल्पना, निश्चित परम्परागत सांस्कृतिक दृष्टिकोण र सामाजिक प्रचलनहरूमा प्रचारित विचारहरू हुन्छन्। यी कुरा सामाजिक पृष्ठभूमि र परिवेशले सिर्जना गरेका हुन्। यदि तिमीहरू यी मामिलाहरूको सार र गम्भीरता देख्न सक्दैनौ र सधैँ कर्तव्य निर्वाह, परमेश्वरप्रतिको विश्वास, र परमेश्वरले तिमीहरूलाई दिएको आज्ञालाई मानव अधिकार र स्वतन्त्रताअनुरूप व्यवहार गर्छौ भने, कहिल्यै सही मार्गमा हिँड्नेछैनौ र परमेश्वरप्रतिको आस्थाको सही मार्गमा प्रवेश गर्नेछैनौ। मुख्यभूमि चीनका मानिसहरू अहिले अधिनायकवादी शासनको अँध्यारो छायाँमा जिउँछन् र तिनीहरूमा श्रेष्ठताको कुनै भावना छैन। तिनीहरू जन्मेदेखि नै कठिनाइ सहन र गोरुले जस्तै खटेर काम गर्न अभ्यस्त हुन्छन्, अनि यस प्रकारको सामाजिक पृष्ठभूमि र परिवेशले तिनीहरूको जीवनका बानी र आचरणका सिद्धान्तहरूलाई आकार दिन्छन्। अर्कोतर्फ, लोकतान्त्रिक र स्वतन्त्र देशहरूमा जिउने मानिसहरूमा यस्ता विचारहरू हुँदैनन्। तिनीहरू सीमित पारिन चाहँदैनन्, तिनीहरूलाई त्यो दमन हो भन्ने लाग्छ र तिनीहरू कुनै पनि नियन्त्रण र नियमनहरूबाट मुक्त हुन चाहन्छन्। तिनीहरू परमेश्वरका घरमा आउँदा प्रशासनिक प्रणाली, कार्य प्रबन्ध, र मण्डलीका नियमहरूबाट समेत मुक्त हुन चाहन्छन्। तिनीहरू सीमित पारिन चाहँदैनन्। तिनीहरू कोहीबाट पनि काटछाँट गरिन इन्कार गर्छन् र सबै आलोचना अस्वीकार गर्छन्। तिनीहरू काममा अलि बढी व्यस्त हुन वा थोरै थकान सहन चाहँदैनन्। यसले समस्या निम्त्याउनेछ! यो इसाईमा हुनुपर्ने बानीबेहोरा होइन, न त ख्रीष्टको असल सैनिकमा हुनुपर्ने बानीबेहोरा नै हो। अनुग्रहको युगमा सन्तहरूको शालीनताबारे सधैँ कुरा गरिन्थ्यो। के त्यो अहिले पनि लागू हुन्छ? निश्चय नै! यो सकारात्मक कुरा हो जुन जहाँ पनि र जहिले पनि लागू हुन्छ। पहिलो कुरा त सृष्टि गरिएका मानवजातिमा हुनुपर्ने स्वरूपबारे समेत कुरै नगरौँ, जुन मान्छेले हासिल गर्नुपर्ने परमेश्वरको सबैभन्दा आधारभूत मापदण्ड हो। यसो विचार गर् त, इसाई भएको नाताले के तँमा इसाईको शालीनता हुनुपर्दैन र? यदि तँमा त्यो छैन भने, तँ परमेश्वरको अनुयायी हुन लायक छैनस्, र परमेश्वर तँलाई स्विकार्नुहुन्न। यदि तँ परमेश्वरलाई पछ्याउन चाहन्छस् भने, चाहे सृष्टि गरिएको प्राणी बन्ने चाह गर् वा केवल सामान्य व्यक्ति बन्ने, तँ मानवजातिकै रूपमा जिउनुपर्छ। तेरो हृदयलाई परमेश्वरसामु प्रस्तुत गर्नैपर्छ। तैँले यसो भन्न सक्छस्, “हे परमेश्वर, तपाईंलाई यसरी पछ्याउने मेरो योजना छ। यो मेरो अठोट र लक्ष्य हो। के यो तपाईंका अभिप्रायअनुरूप छ?” अथवा सायद तँ त्यो कुरा परमेश्वरलाई सिधै भन्दैनस्, तर परमेश्वरको छानबीन स्विकार्न र गोप्य रूपमा सङ्कल्प गर्न सक्छस्, अनि आफूले त्यसपछि गर्ने कार्यहरू परमेश्वरलाई हेर्न दिन्छस्। तँ जुनै देशको वा जुनै सामाजिक पृष्ठभूमिमा जन्मेको भए पनि, अब तँ परमेश्वरलाई पछ्याइरहेको छस्, तँ त्यो देशका वा ती मानिसहरूको रहिनस्। तँ परमेश्वरको अनुयायी, परमेश्वरको विश्वासी, परमेश्वरको घरको सदस्य होस्। तैँले सधैँ र सबै तरिकाले आफूलाई परमेश्वरको घरको व्यक्ति, परमेश्वरको अनुयायी मान्नुपर्छ। तैँले ख्रीष्टको असल सिपाही बन्ने प्रयास गर्नुपर्छ, र आफूलाई सन्तहरूको मानकअनुसार मापन गर्नुपर्छ। यदि तँ निरन्तर “म कोरियन हुँ,” “म ताइवानी हुँ,” “म अमेरिकी हुँ,” “हामी सबैको आ-आफ्नै जिउने शैली छ” भन्छस् भने, के तँ अझै पनि परमेश्वरको अनुयायी हुन्छस्? तेरो दृष्टिकोण गलत छ; त्यो गैरविश्वासीहरूको दृष्टिकोण हो भन्ने प्रस्ट छ। यिनीहरू अविश्वासी हुन्! यदि तँ अविश्वासी होस् भने, तँ परमेश्वरको घरहुँदो त्यतिकै डुल्दै के गरिरहेको छस्? के तँ इसाई भएको नाटक गर्न खोज्दैछस्? यहाँ नाटक चल्दैन। मिसिन खोज्नु पूर्णतया व्यर्थ छ। यदि तँ इसाई होस् भने, तैँले सत्यता स्विकारेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। परमेश्वरलाई पछ्याउनु भनेको त्यही नै हो। यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनस् भने, तँ जुनसुकै देशको होस्; परमेश्वरले तँलाई स्विकार्नुहुनेछैन। आफ्नो राष्ट्रियता जुनै भए पनि, परमेश्वरमा विश्वास गर्नेहरूले आफ्नो कर्तव्य राम्ररी निभाएर सत्यता स्विकार्नैपर्छ। परमेश्वरलाई पछ्याउनु भनेको त्यही हो। यदि तँ परमेश्वरमा विश्वास गरेको दाबी गर्छस् तर सत्यता स्विकार्दैनस् वा आफ्नो कर्तव्य पूरा गर्दैनस् भने, अविश्वासी होस्, गैरविश्वासीहरूजस्तै होस्। तँ यता न उताको होस्। यता न उताका मानिसहरूलाई परमेश्वरको घरबाट तुरुन्तै सफाइ गरेर निकाल्नुपर्छ, यस्तो व्यक्ति परमेश्वरको घरमा चाहिँदैन। यदि तँ आफूलाई राज्यको व्यक्ति ठान्छस् भने, तैँले आफूलाई राज्यका मानिसहरूका स्तरमा राख्नैपर्छ। यदि तँ “राज्यका कस्ता मानिसहरू? म लोकतान्त्रिक मुलुकको नागरिक हुँ। मसँग मर्यादा र मानव अधिकार छ। तपाईंले मलाई गणतान्त्रिक मुलुककै मापदण्डअनुसारका मागहरू गर्नुपर्छ। अन्यथा, कुरा नगरौँ!” भन्छस् भने मलाई माफ गर्, तर यो परमेश्वरको राज्य हो, शैतानको राज्य होइन। परमेश्वर उहाँका चुनिएका मानिसहरूलाई अर्थात् राज्यका मानिसहरूलाई चाहनुहुन्छ। कुरा बुझिस्? (हजुर, बुझेँ।) यदि तँ परमेश्वरमा विश्वास गर्छस् र उहाँलाई पछ्याउँछस् भने, तैँले उहाँका वचनहरू सुन्नैपर्छ। यदि तँ “म परमेश्वरलाई पछ्याउन सक्छु, तर मलाई रोज्ने स्वतन्त्रता चाहिन्छ। मलाई मानिसका कुरा सुन्न, आफूलाई मन पर्ने कुरा सुन्न, र आफूलाई मन पर्ने मानिसहरूलाई पछ्याउन मन पर्छ। मलाई हस्तक्षेप नगर्नुहोस्। म मेरो मुलुकका नीति र नियमनहरू पालना गर्नुलाई प्राथमिकता दिन्छु; सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही हो। म परमेश्वरका वचनहरू अर्थात् सत्यतामा समर्पित हुनुलाई प्राथमिकता दिन सक्दिनँ। मेरा लागि, आफ्नो देश र आफ्नो राष्ट्रियता नै पहिलो कुरा हो, अनि सत्यता चाहिँ दोस्रो वा तेस्रोमा पर्छ। म त्यसलाई स्विकार्न वा नकार्न सक्छु” भन्छस् भने, त्यस्तो व्यक्तिप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन्छ? मलाई माफ गर्, तैँले परमेश्वरको घर छोड्नुपर्छ! परमेश्वरको घरलाई तँजस्तो व्यक्तिको आवश्यकता छैन। तँ परमेश्वरलाई पछ्याइरहेको छैनस्; तँ स्वर्गको राज्यको व्यक्ति होइनस्। तँ संसारको नागरिक होस्, र परमेश्वर तँजस्ता मानिससँग बोल्नुहुन्न, न त तँजस्ता मानिसलाई मुक्ति नै दिनुहुन्छ। यस्ता व्यक्तिहरू सृष्टि गरिएका प्राणीका रूपमा आफ्ना कर्तव्यहरू निभाउन सक्दैनन्। तैँले सकेसम्म चाँडो छोडेर जानुपर्छ, जति चाँडो जान्छस् त्यति नै राम्रो हुनेछ!
कतिपय मानिस प्रसिद्ध र भद्र मानिसहरूको आराधना गर्छन्। तिनीहरू परमेश्वरका वचनहरूले मानिसहरूलाई वास्तवमै मुक्ति दिन सक्छ कि सक्दैन भन्नेबारे सधैँ शङ्का गर्छन्, र तिनीहरू सधैँ प्रसिद्ध र भद्र मानिसहरूका कुराको मात्र वजन र आभा हुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरू सधैँ मनमनै यस्तो सोचिरहेका हुन्छन्, “हेर त हाम्रो राज्य प्रमुख कति प्रभावशाली छ! हाम्रो राष्ट्रिय सभाहरूको धूमधाम, दृश्य, भव्यता हेर! के परमेश्वरको घरको त्योसित कुनै रूपले तुलना हुन सक्छ?” तैँले यसो भन्न सक्नुले तँ गैरविश्वासी होस् भन्ने देखाउँछ। तैँले राजनीतिको दुष्टता, वा राष्ट्रको अन्धकार, वा मानवताको भ्रष्टता प्रस्ट रूपले देख्न सक्दैनस्। तैँले परमेश्वरका घरमा सत्यताले राज गर्छ भनेर देख्न सक्दैनस्, अनि तैँले परमेश्वरका चुनिएका मानिसहरूको अनुभवात्मक गवाहीले के देखाउँछ भन्ने कुरा देख्न वा बुझ्न सक्दैनस्। परमेश्वरको घरमा सत्यता र अत्यन्तै धेरै गवाही छन्, अनि परमेश्वरका चुनिएका मानिसहरू सबै जागिरहेका र परिवर्तन भइरहेका छन्, तिनीहरू सबैले परमेश्वरको काम अनुभव गर्न र सत्यताको वास्तविकतामा प्रवेश गर्न सुरु गरिरहेका छन्। के तँ परमेश्वरका मानिसहरू उहाँप्रति समर्पित हुन र उहाँको आराधना गर्न आएको दृश्य देख्न सक्छस्? त्यो तेरो कल्पनाबाहिरको कुरा हो। परमेश्वरको घरका सबथोक संसारभन्दा सयौँ गुणा, हजारौँ गुणा राम्रा छन्, र भविष्यमा, परमेश्वरको घरका सबै कुरा झन् राम्रा, झन् नियमित, र झन् सिद्ध मात्र हुँदै जान सक्छन्। यी सबै कुराहरू बिस्तारै हासिल हुन्छन्, र परमेश्वरको वचनले पूरा गर्ने कुराहरू ती नै हुन्। परमेश्वरका चुनिएका मानिसहरू उहाँद्वारा छानिने र उहाँद्वारा तोकिने हुनाले निश्चय नै तिनीहरू संसारका मानिसहरूभन्दा निकै राम्रा हुन्छन्। यदि कसैले यी तथ्यहरू देख्न सक्दैन भने, के ऊ अन्धो होइन र? कतिपय मानिसहरूलाई सधैँ संसार धेरै राम्रो छ भन्ने लाग्छ, र तिनीहरू मनमनै संसारका प्रसिद्ध र प्रतिष्ठित मानिसहरूको आराधना गर्छन्। के तिनीहरू दियाबलसहरू र शैतानहरूका आराधना गरिरहेका छैनन् र? के यी प्रसिद्ध र प्रतिष्ठित मानिसहरू परमेश्वरमा विश्वास गर्छन्? के तिनीहरू परमेश्वरप्रति समर्पित हुने मानिस हुन्? के तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय छ? के तिनीहरू सत्यता स्विकार्छन्? तिनीहरू सबै परमेश्वरको प्रतिरोध गर्ने पिशाचहरू हुन्—के तँ त्यो साँच्चै देख्न सक्दैनस्? किन तँ आफूले संसारका प्रसिद्ध र प्रतिष्ठित मानिसहरूको आराधना गरेको देख्दादेख्दै परमेश्वरमा विश्वास गर्छस्? परमेश्वरले व्यक्त गर्ने सबै वचनहरूलाई तैँले वास्तवमा कसरी हेर्छस्? तैँले सबै कुरामाथि परमेश्वरको सार्वभौमिकतालाई कसरी हेर्छस्? कतिपय मानिसहरूमा परमेश्वरको डर नहुने मात्र होइन—तिनीहरूमा उहाँप्रति थोरै पनि सम्मान हुँदैन। के ती अविश्वासीहरू होइनन् र? के यस्ता मानिसलाई तुरुन्तै निस्केर जानू भन्नुपर्दैन र? (पर्छ नि।) र उनीहरू निस्केर गएनन् भने के गर्नुपर्छ? तिनीहरूलाई चाँडो खेदाएर निकाल्नुपर्छ। अविश्वासीहरू फोहोरी झिँगा जस्तै हुन्, र हेर्न अति घिनलाग्दो हुन्छन्। परमेश्वरको घरमा, सत्यता र उहाँका वचनहरूले राज्य गर्छन्, र कार्यहरू सत्यताका सिद्धान्तअनुसार गरिन्छन्। त्यस्ता मानिसहरूलाई निकाल्नुपर्छ। तिनीहरू मुखले परमेश्वरमा विश्वास गर्छु भन्छन्, तर हृदयमा, तिनीहरू परमेश्वरको घरलाई हेला गर्छन् र परमेश्वरलाई घृणा गर्छन्। के तिमीहरू यस्ता अविश्वासीहरू तिमीहरूमाझ मिसिएको चाहन्छौ? (चाहँदैनौँ।) त्यसैले तिनीहरूलाई झट्टै हटाउनुपर्छ। तिनीहरू जतिसुकै शिक्षित वा सक्षम भए पनि, तिनीहरूलाई निकाल्नैपर्छ। कतिपय मानिसहरू यस्तो सोध्छन् “के यसो गर्नु प्रेम नगर्नु होइन र?” होइन, यसो गर्नु भनेको सिद्धान्तहरूअनुसार काम गर्नु हो। मैले यसो भन्नुको अर्थ के हो? तेरो कद जति नै ठूलो भए पनि, सत्यता पछ्याउने तेरो इच्छा जति ठूलो भए पनि, वा तँमा परमेश्वरप्रति विश्वास भए पनि नभए पनि, एउटा कुरा निश्चित छ: ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ। यो सधैँका लागि अपरिवर्तनीय छ। यो तेरो चट्टान हुनुपर्छ, परमेश्वरमाथिको तेरो विश्वासको सबैभन्दा बलियो जग हुनुपर्छ; तँ हृदयमा यो कुराबारे निश्चित हुनुपर्छ र कुनै शङ्का गर्नु हुँदैन। यदि तैँले यसमा समेत शङ्का गर्छस् भने, तँ परमेश्वरको घरमा रहन अयोग्य छस्। कतिपय मानिसहरू यसो भन्छन्, “हाम्रो राष्ट्र ठूलो छ, र हाम्रो जात कुलीन छ; हाम्रा रीतिरिवाज र सँस्कृति तुलना गर्नै नसकिने गरी अद्भुत छन्। हामीले सत्यता स्विकार्नु आवश्यक छैन।” के यो अविश्वासीको आवाज होइन र? यो त अविश्वासीहरूको आवाज हो, र यस्ता अविश्वासीहरूलाई निकाल्नैपर्छ। कतिपय मानिस प्रायः भ्रष्ट स्वभाव प्रकट गर्छन्, र बेलाबेलामा तिनीहरूको स्वभाव चञ्चल र असंयमित हुन्छ, तर परमेश्वरप्रतिको तिनीहरूको आस्था साँचो हुन्छ, र तिनीहरू सत्यता स्विकार्न सक्छन्। यदि तिनीहरूले केही मात्रामा काटछाँट भोगेमा, पश्चाताप गर्न सक्छन्। यस्ता मानिसहरूलाई मौका दिनुपर्छ। मानिसहरू अलि मूर्ख हुन्छन्, वा कामकुरालाई प्रस्ट रूपमा देख्न सक्दैनन्, वा बहकिन्छन्, वा कुनै मूर्खतापूर्ण क्षणमा तिनीहरूले केही भ्रमित कुरा भन्लान् वा भ्रमित तरिकाले व्यवहार गर्लान् किनकि तिनीहरू सत्यता बुझ्दैनन्। यो त भ्रष्ट स्वभावको कारण भएको हो; यो मूर्खता, अज्ञानता, र सत्यता नबुझ्नुको कारणले भएको हो। तर, यस्ता मानिसहरू अविश्वासीहरू वर्गका होइनन्। यस्तोमा यी समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्नुपर्छ। कैयौँ वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका कतिपय मानिस सत्यता बिलकुलै स्विकार्दैनन् र अलिकति पनि परिवर्तन भएका छैनन्। तिनीहरू अविश्वासी हुन्। तिनीहरू परमेश्वरको घरका मानिस होइनन्, र परमेश्वर तिनीहरूलाई स्विकार्नुहुन्न। मैले यी कुरा भन्नुको मतलब के हो? त्यसको मतलब म तिमीहरूलाई लगनशील भई सत्यता पछ्याउनू भनिरहेको छु। प्रयत्न गर्ने काम मात्र नगर्। परमेश्वर आफ्नो वचनमार्फत्, सत्यतामार्फत् मानिसहरूलाई मुक्ति दिनुहुन्छ। सबैभन्दा सोझो तरिका भनेको तिमीहरूलाई सत्यता बुझ्ने र आफ्नो कर्तव्य निर्वाह गर्दै व्यावहारिक समस्याहरू समाधान गर्ने तुल्याउनु हो। यसो गर्दा तिमीहरू सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन सक्षम हुन्छौ। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ, र उहाँको हृदयलाई सान्त्वना मिल्नेछ। परमेश्वरलाई के कुरा हेर्न सबैभन्दा मन पर्दैन? परमेश्वरले तिमीहरूका लागि धेरै वचन बोल्नुभएको छ, धेरै सत्यता व्यक्त गर्नुभएको छ, अनि निकै प्रयत्न गर्नुभएको छ र ठूलो मूल्य चुकाउनुभएको छ। अन्त्यमा, उहाँले प्रयत्न मात्र गर्ने मानिसहरूको समूह मात्र प्राप्त गर्नुहुन्छ, र बाँकी सबै श्रम गर्ने मानिसहरूको समूह हो। यी मानिसहरू सत्यता बुझ्दैनन्, तिनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, तर प्रयत्न मात्र गर्छन्। यी मानिसहरू रहिरहे पनि, परमेश्वरका अभिप्रायहरूसँग सहमत हुँदैनन्। तिनीहरूलाई सृष्टि गरिएका साँचो प्राणी मान्न सकिन्न। परमेश्वर यही कुरा हेर्न सबैभन्दा बढी अनिच्छुक हुनुहुन्छ, र यो परमेश्वरले मानवजातिलाई मुक्ति दिने व्यवस्थापन योजनाको मूल अभिप्राय होइन।
तिमीहरूले दत्तचित्त भएर सत्यता स्विकार्नैपर्छ र संसारका प्रचलनहरू पालना गर्नु वा शैतानको दर्शनअनुसार जिउनु पटक्कै हुँदैन। परमेश्वरलाई पछ्याउन आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, अनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सत्यता स्विकार्नुपर्छ। यो महत्त्वपूर्ण छ। धेरै मानिस परमेश्वरमा विश्वास गर्दा सत्यतालाई बेवास्ता गर्छन्। तिनीहरू कैयौँ वर्षको आस्थापछि पनि सत्यता अभ्यास गर्दैनन्, र तिनीहरू बिलकुलै चासो देखाउँदैनन्। यी मानिसहरू अविश्वासी हुन् र तिनीहरूलाई ढिलोचाँडो हटाइनेछ। कतिपय मानिस देहकै लागि, व्यक्तिगत लाभका लागि मात्र जिउँछन्, र पारस्परिक सम्बन्धका लागि मरिमेट्छन्, आफ्ना कर्तव्य त्याग्छन्, त्यसलाई गम्भीरताका साथ लिँदैनन्, अनि देहसुखको पछि लाग्छन्। के यो अति स्वार्थी र घृणित कुरा होइन र? यस्ता व्यक्तिहरू सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरू व्यक्तिगत लाभ र अहमतालाई मात्र प्रेम गर्छन्। तिनीहरू ससाना लाभहरूमा अनुहार रातो पार्छन् र उत्तेजित बन्छन्, र आफ्नो निष्ठा र मानव मर्यादा गुमाउँछन्। के तिनीहरू अज्ञानी र मूर्ख होइनन् र? सच्चा रूपमा सत्यतालाई प्रेम गर्नेहरूले जस्तोसुकै परिस्थिति आइपरे पनि पहिला परमेश्वरसामु सत्यता खोज्नुपर्छ। तिनीहरू विवादहरूमा पर्न वा अरूसँग मुखामुख गर्नदेखि टाढै रहनुपर्छ। यो अपरिपक्व व्यवहार हो र यसमा समझ हुँदैन। धेरै मानिस एकसाथ भेला हुँदा, विभिन्न समस्या उत्पन्न हुनेछन् किनभने त्यहाँ मानिसहरू थरीथरीका हुन्छन् अनि सही र गलतको मामिला कहिल्यै टुङ्गिदैन। भ्रष्ट मानवता ठ्याक्कै यस्तै हुन्छ। यो परिस्थिति गैरविश्वासीहरूमाझ झनै गम्भीर रूपमा हुन्छ। हरेक दिन शत्रुता र भित्रभित्रै दबिएको तनावले भरिएको हुन्छ। यो संसार त्यत्तिको विश्वासघाती छ। परमेश्वरका परिवारमा, हरेकले परमेश्वरमा विश्वास गर्ने भएकाले दुष्ट मानिसहरू कम हुन्छन् र मानिसबाट फाइदा लुट्ने घटनाहरू कम हुन्छन्। त्यहाँ कमै मात्रामा विवाद र झगडा हुन्छन्। यदि तँ सत्यता बुझ्दैनस् र यी मामिलाबारे सोचिरहन्छस् भने, तेरो हृदय यी कुराका कब्जामा पर्नेछ र त्यसमा फस्नेछ, अनि तँ परमेश्वरसामु आउन असक्षम हुनेछस्। तिमीहरू त्यस्ता स्थितिबाट मुक्त हुनैपर्छ, र त्यस्तो व्यवहारले अपरिवपक्व कदलाई देखाउँछ। अपरिपक्व कद हुनेहरू प्रायः देहगत मामिला, आफ्नै अभिरूचि, र आफ्नो स्वार्थी चाहना पूरा गर्नमा ध्यान दिन्छन्। फलस्वरूप, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने यथोचित कार्यलाई बेवास्ता गर्छन्। यस्ता मानिसहरू कामकुरा राम्ररी व्यवस्थापन गर्न सक्दैनन् र प्रायः गल्ती गर्छन्, र केटाकेटीको अपरिपक्वता देखाउँछन्। तिमीहरू जीवनमा परिपक्वताको पछि लाग्नैपर्छ। मैले परिपक्वता भन्नुको मतलब के हो? मेरो मतलब सत्यता बुझ्नु, वयस्कको कद प्राप्त गर्नु, अनि परमेश्वरका मापदण्डहरू पूरा गर्न सक्नु र उहाँले सुम्पेका कार्यहरू पूरा गर्नु हो। मेरो मतलब मानवजातिको कर्तव्यको बोझ र सामान्य कर्तव्यको बोझ उठाउन, अरूले जस्तै कर्तव्य निर्वाह गर्न साथै अरूले हासिल गर्न सक्ने कुरा हासिल गर्न, परमेश्वरप्रति समर्पित र सत्यता पछ्याउनेहरूको नक्कल गर्न, मानिसले गर्नुपर्ने कुरा र मानिसले निर्वाह गर्नुपर्ने कर्तव्य गर्न, सत्यता पछ्याउने मार्गतर्फ अनुसन्धान र खोजी गर्न सक्नु हो। व्यक्तिको जीवनमा वृद्धि हुने प्रक्रिया यही हो। तिमीहरूले सामान्य मानिसहरू कस्तो व्यवहार गर्छन्, र आफ्नो उचित कर्तव्य निर्वाह गर्ने मानिसहरू कस्तो व्यवहार गर्छन्, साथै त्यस्ता मानिसहरू कामकुरा गर्दा कस्ता शैली, तरिका र सिद्धान्तहरू प्रयोग गर्छन् आदिजस्ता कुराहरूको कसरी अनुसन्धान गर्ने भनी खोजी गरेर जान्नैपर्छ। वयस्कहरूले आफ्नो कर्तव्य उचित रूपमा सम्हाल्नैपर्छ। जे आइपरे पनि, आकासै खसे पनि, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नैपर्छ र आफ्ना उचित कार्यहरूमा ढिलाइ हुन दिनु हुँदैन। अर्कोतर्फ, बालबालिकालाई आफू वरिपरिका घटनाबारे जिज्ञासा नहुने त कुरै भएन। तिनीहरू बाहिर निस्केर के भइरहेको छ भनी हेर्न चाहन्छन्। तिनीहरूलाई कुनै पनि घटनाले प्रभावित पार्छ र सही कुरा गर्नदेखि ध्यान भङ्ग गरिदिन्छ। के यो आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध नहुनु होइन र? सानोभन्दा सानो समस्याले नै तिनीहरूलाई बाधा पार्न सक्छ। कसैको एउटा टिप्पणीले नै तिनीहरूको हृदयमा खलबल मच्चाउन सक्छ वा कुनै ठट्टाले गलत बुझाइ उत्पन्न हुन सक्छ र भावना पोखिन सक्छ जसले गर्दा तिनीहरू दुई-तीन दिनसम्म नकारात्मक तरिकाले व्यवहार गर्छन्, आफ्ना कर्तव्य निर्वाहमा ढिलाइ गर्छन्। तिनीहरूलाई आफ्नो कर्तव्य छाड्ने सोचाइसमेत आउला अनि अगुवा र कामदारहरूले तिनीहरूसँग सत्यतामा सङ्गति गर्दै र तर्क गर्दै तिनीहरूलाई निरन्तर रूपमा नफकाई र नमनाई हुँदै हुँदैन। के यो सानो कद र अपरिपक्वताको सङ्केत होइन र? मानिसहरू कहिल्यै नबढ्ने र बालबालिकाजस्तै अपरिपक्व—भोलाभाला र हाँसउठ्दा रहिरहने देखिन्छन्। तिनीहरूलाई तुच्छ ठानिन्छ, तिनीहरूमा मर्यादा र निष्ठा हुँदैन, र परमेश्वर तिनीहरूसित खुसी हुनुहुन्न।
तिमीहरूले सत्यतामै ध्यान केन्द्रित गर्नुपर्छ—त्यसपछि मात्रै तिमीहरूले जीवन प्रवेश प्राप्त गर्न सक्छौ, अनि तिमीहरूले जीवन प्रवेश प्राप्त गरिसकेपछि मात्र अरूलाई भरणपोषण र अगुवाइ गर्न सक्छौ। अरूका कार्यहरू सत्यतासँग नमिल्ने किसिमका छन् भन्ने पत्ता लाग्यो भने, हामीले तिनीहरूलाई सत्यतामा लागिपर्न अत्यन्तै प्रेमपूर्वक सहयोग गर्नुपर्छ। यदि अरूले सत्यताको अभ्यास गर्न सक्छन्, र तिनीहरूले काम गर्ने तरिकामा सिद्धान्तहरू छन् भने, हामीले तिनीहरूबाट सिक्ने र तिनीहरूको अनुकरण गर्ने प्रयास गर्नुपर्छ। आपसी प्रेम भनेकै त्यही हो। मण्डलीमा तिमीहरूसँग यस्तै वातावरण हुनुपर्छ—हरेकले सत्यतामा ध्यान केन्द्रित गर्ने र त्यसलाई प्राप्त गर्न लागिपर्ने अवस्था हुनुपर्छ। मानिसहरू जति वृद्ध वा जवान भए पनि वा तिनीहरू अनुभवी विश्वासी भए पनि नभए पनि केही फरक पर्दैन। न त तिनीहरूसँग राम्रो क्षमता वा कमजोर क्षमता हुँदा नै केही फरक पर्छ। यी कुराहरूले केही फरक पर्दैन। सत्यताको अघि, सबै समान हुन्छन्। तैँले हेर्नुपर्ने कुरा भनेको कसले सही तरिकाले र सत्यताअनुरूप बोल्छ, कसले परमेश्वरको घरका हितहरूबारे विचार गर्छ, परमेश्वरको घरका काममा कसले सबैभन्दा बढी बोझ लिन्छ, कसले अझै स्पष्ट रूपमा सत्यता बुझ्छ, कोसँग न्यायको बोध छ र को मूल्य चुकाउन तयार छ भन्ने हो। त्यस्ता मानिसहरूलाई तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले समर्थन र प्रशंसा गर्नुपर्छ। सत्यताको खोजीबाट आउने यो सीधापनको वातावरण नै मण्डलीमा हाबी हुनुपर्छ; यस तरिकाले, तिमीहरूसँग पवित्र आत्माको कार्य हुनेछ, र परमेश्वरले आशिष्हरू र अगुवाइ प्रदान गर्नुहुनेछ। यदि मण्डलीमा कहानी बताउने, एकअर्काको बारेमा कोलाहल गर्ने, एकअर्कासँग ईख बोक्ने, एकअर्काको डाह गर्ने, र एकअर्कासँग भनावैरी गर्ने किसिमको वातावरण हाबी छ भने, पवित्र आत्माले अवश्य नै तिमीहरूमा काम गर्नुहुनेछैन। एकअर्काको विरुद्धमा संघर्ष गर्ने र गुप्त रूपमा एकअर्काका विरुद्धमा लडाइँ गर्ने, छल गर्ने, धोका दिने, र षड्यन्त्र गर्ने—यो त दुष्टको वातावरण हो! यदि मण्डलीमा त्यस्तो वातावरण हाबी छ भने, पवित्र आत्माले अवश्य नै आफ्नो काम गर्नुहुनेछैन। बाइबलमा, प्रभु येशूले यसो भन्नुभएको छ: “यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना आफूले माग्ने कुरालाई छुँदै सहमत भएर माग्यौ भने स्वर्गमा हुनुहुने मेरा पिताले तिनीहरूको निम्ति त्यो गरिदिनुहुनेछ। किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु” (मत्ती १८:१९-२०)। यो परमेश्वरको वचन हो, यो सत्यता हो। जब परमेश्वर बोल्नुहुन्छ, तब त्यो कुरा भएरै छाड्छ। यदि तँ परमेश्वरको अभिप्रायविपरीत जान्छस् र उहाँको वचन पालना गर्दैनस् भने, परमेश्वर तँबाट टाढिनुहुनेछ। यदि तँ परमेश्वरको वचन पढ्दैनस्, उहाँका वचनहरूमार्फत खुलासा, न्याय, वा काटछाँट स्विकार्दैनस्, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको सहयोग नकार्छस्, आफू त्यति खराब छैन भनी सोच्दै, अरूको त्रुटि र समस्यामा ध्यान दिइरहन्छस्, आफूलाई अरू सबैभन्दा राम्रो ठान्छस् भने, तँ समस्यामा पर्छस्। पहिला, पवित्र आत्माले तँमा काम गर्नुहुनेछैन, र तैँले परमेश्वरका आशिषहरू गुमाउनेछस्। दोस्रो, तेरा दाजुभाइ-दिदीबहिनीहरू पनि तँबाट टाढिनेछन्, तँलाई सहयोग गर्ने कोही हुनेछैन, त्यसले गर्दा तँलाई तिनीहरूको साथबाट लाभ लिन कठिन हुनेछ। परमेश्वरको काम र आशिषहरूविना, तेरा दाजुभाइ-दिदीबहिनीहरूको सहयोग र लाभविना तँ दुर्दशामा पर्नेछस्, प्रगति गर्न नै सक्नेछैनस्। के तँ मानव प्रतिभा र सीपमा भर परेर मात्र मण्डलीको काम प्रभावकारी रूपमा गर्न सक्छस्? त्यो सबै व्यर्थ हुनेछ, सबै प्रयास खेर जानेछ। के त्यस्तो मोडमा पुग्नु खतरनाक होइन र? तैँले आफ्ना हृदयमा कति वेदना भोग्नेछस्? जे भए पनि, तैँले परमेश्वरका आशिषहरू र तेरा दाजुभाइ-दिदीबहिनीहरूको सहयोग प्राप्त गर्न सही मार्गमा, सत्यता पछ्याउने मार्गमा हिँड्नैपर्छ। आफ्नै मार्गमा हिँड्नाले तँलाई निकासहीन मार्गमा पुऱ्याउँछ, र सत्यता नपछ्याउनेहरूलाई हटाइनेछ। तिमीहरूले समयको दौरान अनुभव गर्ने क्रममा बिस्तारै यसको मोल गर्न थाल्नेछौ। तिमीहरूले आफ्ना सबै प्रयासमा एउटै हृदय र एउटै मनको नभइञ्जेल सत्यता सिद्धान्तहरू खोज्नैपर्छ, त्यसपछि मात्र तिमीहरू सुताहरू एकसाथ बाटिएर डोरी बनिएझैँ सौहार्दपूर्ण रूपमा एकसाथ काम गर्न सक्छौ। जब सौहार्दपूर्ण सहकार्य हुन्छ, तब तिमीहरू आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छौ।
सेप्टेम्बर १९, २०१७
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।