आफ्‍नो सारा हृदय, मनमस्तिष्क, र प्राणले राम्ररी कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्‍वरलाई प्रेम गरेको हुन्छ (भाग एक)

कुनै व्यक्तिमा परमेश्‍वरप्रति साँच्चि नै आस्था छ कि छैन भन्‍ने कुरा उसको कर्तव्य निर्वाहबाट प्रकट हुन्छ। उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भनी निर्धारण गर्न, उसले सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छ कि गर्दैन भनेर हेर्। कतिपय मानिसहरूले कर्तव्य निभाउँदा, तिनीहरूमा कुनै सिद्धान्तहरू हुँदैनन्। तिनीहरू निरन्तर रूपमा आफ्‍नै चाहनालाई पछ्याएर स्वेच्‍छाचारी व्यवहार गर्छन्। के यो झारा टार्ने काम देखिएको होइन र? के तिनीहरू परमेश्‍वरलाई छल गरिरहेका छैनन् र? त्यस्तो व्यवहारका केकस्ता परिणामहरू हुनेछन् भनेर तिमीहरूले कहिल्यै विचार गरेका छौ? तिमीहरू आफ्‍नो कर्तव्य निर्वाहमार्फत परमेश्‍वरका अभिप्रायहरूबारे सोचविचार नै गर्दैनौ। तिमीहरू आफूले गर्ने हरेक काममा लापरवाह र अदक्ष छौ, कटिबद्ध समर्पण र प्रयत्न गर्दैनौ। के तिमीहरूले यसरी परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौ? धेरै मानिसहरू मन नलागी-नलागी आफ्‍नो कर्तव्य निभाउँछन्, र तिनीहरू त्यसमा डटिरहन सक्दैनन्। तिनीहरूले अलिकति पनि कष्ट सहन सक्दैनन्, र सधैँ आफूलाई ठूलो हानि भएको अनुभूति गर्छन्, अनि तिनीहरूले कठिनाइहरू समाधान गर्न सत्यता खोजी पनि गर्दैनन्। के यसरी कर्तव्य निभाएर तिनीहरूले परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउन सक्छन् र? के आफूले गर्ने हरेक काममा झाराटारुवा बन्‍नु ठिक हुन्छ र? के विवेकअनुसार यो कुरा स्वीकार्य हुन सक्छ? मानवको मानकअनुसार मापन गर्दासमेत यस्तो व्यवहार स्वीकार्य हुँदैन—अनि के यसलाई कर्तव्य निभाउने चित्तबुझ्दो तरिका मान्‍न सकिन्छ? यदि तैँले यसरी आफ्‍नो कर्तव्य निभाउँछस् भने, कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस्। तैँले गर्ने श्रम असन्तोषी हुनेछ। तब कसरी तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छस्? धेरै मानिसहरू आफ्‍नो कर्तव्य निभाउने क्रममा कठिनाइदेखि डराउँछन्, तिनीहरू अत्यन्तै अल्छी हुन्छन्, र तिनीहरू शारीरिक सहजताको लालसा गर्छन्। तिनीहरू विशेष सिपहरू सिक्‍न वा परमेश्‍वरका वचनहरूभित्रका सत्यताहरू मनन गर्ने प्रयत्न कहिल्यै गर्दैनन्; तिनीहरू सोच्छन्, यसरी झाराटारुवा बन्दा तिनीहरू कष्टबाट बच्छन्: तिनीहरूले कुनै अनुसन्धान गर्नु वा अरूको सल्लाह माग्नु, वा दिमाग खियाउनु वा सोच्‍नु पर्दैन—यसले गर्दा तिनीहरूको धेरै बल जोगिन्छ र तिनीहरूलाई शारीरिक कठिनाइ हुँदैन, र तिनीहरूले अझै पनि काम पूरा गर्न सक्छन्। अनि तैँले तिनीहरूलाई काटछाँट गरिस् भने, तिनीहरूले अवज्ञा गर्छन् र बहाना बनाउँछन्: “मैले अल्छी गरिनँ र म काम नगरी बसिनँ, काम पूरा भएको थियो—तपाईं स-सानो कुरा कोट्याइरहनुहुन्छ? के यो सानोतिनो गल्ती खोतल्‍ने काम होइन र? मैले यसरी कर्तव्य निभाएर राम्रै गरिरहेको छु, र पनि किन तपाईंलाई चित्त बुझेन?” के तिमीहरूलाई यस्ता मानिसहरूले थप प्रगति गर्न सक्छन् जस्तो लाग्छ? तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ झाराटारुवा काम गर्छन्, र पनि अझै अनेक बहाना गर्छन्, अनि समस्याहरू देखा पर्दा तिनीहरूले कसैलाई बोल्‍न दिँदैनन्। यो कस्तो स्वभाव हो? यो शैतानको स्वभाव हो, होइन र? के यस्तो स्वभाव पछ्याएर मानिसहरूले आफ्‍नो कर्तव्य चित्तबुझ्दो रूपमा निभाउन सक्छन्? के तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? के तिमीहरू यसरी नै आफ्नो कर्तव्य निभाउँछौ? यसो हेर्दा तिमीहरू व्यस्त, अरूसँग कुनै विवाद नगरी राम्ररी काम गरिरहेका देखिन्छौ। तर, तिमीहरूमध्ये कसैले पनि आफ्ना कर्तव्यमा प्रयत्न गरिरहेका छैनौ, यसबारे आफ्नो दिमाग खियाएका छैनौ, र यसबारे चिन्ता लिँदैनौ। तिमीहरू कसैले पनि आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको कारण भोक वा निद्रा गुमाइरहेका छैनौ। तिमीहरू कसैले पनि सत्यता खोजिरहेका वा समस्या समाधान गर्न सिद्धान्तहरू पालना गरिरहेका छैनौ। तिमीहरू सबै लापरवाह ढङ्गमा झारा टार्दै जीवन धानिरहेका छौ। तिमीहरूमध्ये कमै मात्रले आफ्ना कर्तव्यमा साँचो जिम्मेवारी लिन्छौ। जस्तोसुकै कठिनाइहरू उत्पन्‍न भए तापनि, तिमीहरू गम्भीरताका साथ प्रार्थना गर्न वा समस्या सामना गर्न र मिलेर ती समाधान गर्न एकजुट हुँदैनौ। परिणामबारे विचार गरिँदैन। तिमीहरू कुनै कार्य फेरि दोहोऱ्याएर गर्नुपर्ने गरी मात्र गर्छौ। यस तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको झारा टार्नु मात्र हो र यो गैरविश्‍वासीहरूको काम गर्ने तरिकाभन्दा फरक हुँदैन। यो त श्रमिकको मनोवृत्ति हो। तिमीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गरेर परमेश्‍वरको काम अनुभव गरिरहेका हुँदैनौ, न त परमेश्‍वरका लागि आफूलाई सच्चा रूपले समर्पित गरिरहेका नै हुन्छौ। यदि तिमीहरू यो मनस्थिति परिवर्तन गर्दैनौ भने, तिमीहरूलाई प्रकाश गरेर हटाइनेछ।

तिमीहरू आफूले लिने प्रत्येक काम, र सम्पन्‍न गर्ने प्रत्येक प्रजेक्टबाट कस्ता कठिनाइहरू भोग्छौ? के तिमीहरूले उचित खानाविनाको, राम्रो निद्राविनाको समय, आराम र भोजन त्याग गरेको समयको कहिल्यै अनुभव गरेका छौ? के तिमीहरूले कुनै व्यक्तिगत कठिनाइहरू पार गरेका छौ? के तिमीहरूले कुनै मूल्य चुकाएका छौ? कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गरेपछि यति लखतरान हुन्छन् कि रातभरि सुत्नै सक्दैनन्। तिनीहरू किन सुत्न सक्दैनन्? किनकी तिनीहरू कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहिने सत्यता आफूमा नभएको महसुस गर्छन्, र यो तिनीहरूका लागि श्रमसाध्य हुन्छ। तिनीहरू आफूले कर्तव्य राम्रोसँग निर्वाह गर्न सकेन भने, त्यसको मतलब आफूले बफादार रूपमा कर्तव्य निर्वाह गरेको छैन भन्ठानेर चिन्तित हुन्छन्। तिनीहरूको विवेकले पोल्छ र त्यसले तिनीहरूलाई घोच्छ। अरूले खाँदै गर्दा तिनीहरू यस्तो सोच्छन्: “म कसरी अझ राम्रो गर्न सक्छु? पछिल्लोपटक मैले फेरि त्यही क्षेत्रमा गल्ती गरेँ। मैले कामकुरा राम्ररी जाँच गरिनँ। यसबारे मैले के गर्नुपर्छ? यो काटछाँट गरिँदा सहने विषय मात्र होइन; यो त मैले आफ्ना जिम्मेवारीहरू पूरा नगर्नेसम्बन्धी कुरा हो।” तिनीहरूले अरूलाई भोजनको आनन्द लिइरहेको देख्छन्, तर तिनीहरूमा भने भोक हुँदैन। तिनीहरूको मन सधैँ आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भन्‍नेमै हुन्छ। के यो तिनीहरूले आफ्नो हृदय त्यसैमा लगाइरहेको होइन र? के यो प्रयत्न गरिरहेको होइन र? (हो।) के तिमीहरूले कहिल्यै त्यस्तो प्रयत्न गरेका छौ? यदि तँमा जिम्मेवारीको अलिकति पनि बोध छैन, यदि तैँले गलत कामकुरा गर्न वा झाराटारुवा तरिकाले काम गर्न सक्छस् तर यसमा तँलाई आफ्नो विवेकले घोच्दैन र केही थाहा हुँदैन भने, कसरी भक्तिको कुरा गर्न सक्छस्? तैँले सक्दै सक्दैनस्। यदि परमेश्‍वरको घरले तँलाई अत्यन्तै कम समयमा जतिसक्दो चाँडो सम्पन्‍न गर्नैपर्ने कुनै कर्तव्य सुम्पन्छ भने, तँ यसलाई कसरी पूरा गर्छस्? यदि तँ सोचविचार र अनुसन्धान नगरी अनि जानकार व्यक्तिहरूलाई सङ्गति नमागी झारा टार्छस्; यदि तँ यतिकै समय बिताउँछस् भने, तैँले आफ्नो कर्तव्यप्रति कस्तो प्रकारको मनोवृत्ति राखिरहेको हुन्छस्? तैँले सच्चा हृदयविना ओठको सेवा मात्र चढाइरहेको हुन्छस्। गफ मात्र छाँट्ने हुनुको अर्थ के हो? यसको अर्थ तैँले भन्‍ने कुरा राम्रो सुनिन्छ तर त्यो देखाउनका लागि मात्र हो; यसले मानिसहरूमा गलत छाप छोड्छ वा जानाजानी उनीहरूलाई बहकाउँछ, त्यसले गर्दा उनीहरू तैँले कष्ट भोगिरहेको छस्, तँ अत्यन्तै होसियार र मेहनती छस् भन्ठान्छन्, तर यथार्थमा तैँले कामकुराबारे बिलकुलै केही विचार गरेको हुँदैनस्। यदि तँ साँच्चि नै विचार गर्छस्, यसमा आफ्नो हृदय लगाउँछस्, आफ्नो कर्तव्यप्रति साँच्चै प्रतिबद्व हुन्छस् भने, तैँले कदम चाल्नुपर्छ। तैँले कसरी कदम चाल्नुपर्छ? तँ व्यस्त रहनुपर्छ, तैँले अनुसन्धान गर्नुपर्छ, वा परमेश्‍वरको घरका सिद्धान्तहरूबारे अझ धेरै पढ्नुपर्छ। अथवा तैँले त्यस क्षेत्रमा ज्ञान भएका जानकार मानिसहरूसँग परामर्श लिनुपर्छ। कहिलेकाहीँ तँ यति व्यस्त हुनेछस् कि तैँले खाना खाने समयसमेत पाउनेछैनस्, तर तैँले व्यस्त हुँदा पनि परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्न पटक्कै बिर्सनु हुदैन। तैँले अघि बढ्ने मार्ग भेट्टाएपछि र धेरथोर सिद्धान्तहरू बुझिसकेपछि काम गर्न थाल्नुपर्छ। केही दिनपछि तैँले मानकअनुरूप केही फल फलाएको हुनेछस् र त्यो उपलब्धि हुनेछ। यदि तँ यसमा त्यस्तो प्रयत्न गर्दैनस्, बरु झारा टार्ने मनोवृत्ति अपनाउँछस् भने, तैँले केही दिनपश्चात् केही फल फलाउन त सक्लास्, तर त्यसको गुणस्तर कस्तो हुनेछ? यसो हेर्दा यो स्वीकार्य देखिएला, त्रुटिहरू प्रस्ट नदेखिएलान्। तर यो कुनै प्रकारको उत्कृष्ट काम हुनेछैन। यो ध्यान पुऱ्याएर गरिएको कुरा नभएर बेढङ्गको काम हुनेछ। यदि तँ आफूले झाराटारुवा तरिकाले पूरा गरेको कुनै कुरा पेस गर्छस् भने, के त्यसलाई कहिल्यै सन्तोषजनक मान्‍न सकिन्छ र? अन्त्यमा, तैँले यो काम पुनः गर्नु नै पर्ने हुनेछ, अनि के त्यसले कामकुरामा ढिलाइ मात्र गर्नेछैन र?

कतिपय मानिसहरू बेढङ्गले कामकुरा गर्छन्। तिनीहरू कुनै पनि कुरामा आफ्नो हृदय लगाउँदैनन्; तिनीहरूमा झाराटारुवा मनोवृत्ति हुन्छ। यस्ता मानिसहरूमा खराब मनस्थिति हुन्छ। के खराब मनस्थिति हुने व्यक्तिले जिम्मेवारी बोध गर्छ र? (गर्दैन।) अर्कोतिर, जिम्मेवारी बोध नहुने व्यक्तिको मनस्थिति असल हुन सक्छ कि खराब? (खराब।) गैरजिम्मेवार व्यक्ति भनेको खराब मनस्थिति हुने व्यक्ति हो! ऊ हरेक कुरालाई झाराटारुवा मनोवृत्तिले लिन्छ, परिणाम हासिल गर्नका लागि जिम्मेवारी लिन वा कुनै किसिमको मूल्य चुकाउन चाहँदैन। के तैँले त्यस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नुलाई सन्तोषजनक मानिन्छ? (अहँ, मानिँदैन।) समयका सन्दर्भमा भन्‍नुपर्दा, के सन्तोषजनक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका लागि मापदण्ड र मानकहरू छन् त? तेरो मनोवृत्तिका सन्दर्भमा भन्‍नुपर्दा, के तेरो कर्तव्य निर्वाहका लागि मापदण्ड वा मानकहरू छन्? कतिपय मानिसहरू यसो भन्छन्: “मेरा मानकहरू छन्। पहिलो हो, आफूलाई थकित नपार्नु, दोस्रो हो, भोको नबस्नु, र तेस्रो हो, जोखिम नमोल्नु। यदि अरू आइपुगेका छैनन् भने म चाँडै आउन मिल्दैन; म त्यहाँ पुग्‍ने पहिलो व्यक्ति बन्‍ने छैनँ। यदि अरूले अझै आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् भने, म कसरी कामकुरा सिध्याउने र अलि आराम गर्ने भनेर सोच्नेछु। अरूले नभोगिरहेको कुनै पनि कष्ट म भोग्‍नेछैनँ, र अरूले भोग्‍न सक्ने जति कष्ट मात्रै म भोग्‍नेछु। यदि सबैले केही कुरा गर्दै छन् भने म पनि त्यो काम गर्नेछु। तर यदि कसैले केही गरिरहेका छैनन् भने, म पनि गर्नेछैनँ।” यी कस्ता मानकहरू हुन्? (खराब मानकहरू।) कतिपय मानिस यसो भन्छन्: “यदि मेरो मुड खराब छ भने, म आफ्नो कर्तव्य केही समयका लागि थाती राख्नेछु। म आफ्नो कार्यसमय छोट्याउनेछु र मेरो सहयोग चाहिएको बेला, म धेरै सक्रिय हुनु पर्नेछैन। त्यसपछि, जब मेरो मुड अलि ठिक हुन्छ, तब म अझ धेरै संलग्‍न हुनेछु।” यी मानकहरू कस्ता छन्? (यी राम्रा छैनन्; तिनीहरूको काम तिनीहरूको मुडमा निर्भर हुन्छ।) अनि अरू चाहिँ यसो भन्छन्: “यदि सबैले मलाई राम्रो व्यवहार गर्छन् र मैले आफ्नो कर्तव्य निर्वाह गर्दा मैले चाहेकै कुरा गर्छन्, अनि मैले गल्ती गरे पनि कसैले मलाई काँटछाँट गर्दैन भने, त्यो ठिकै छ, र म ७० प्रतिशत जति प्रयत्न गर्नेछु। तर यदि कसैले मेरो आलोचना गर्छ वा मेरो गल्ती औँल्याउँछ भने, त्यसपछि मलाई आफ्नो कर्तव्य ठिकसँग पूरा गरूँजस्तो लाग्‍ने छैन, र म केवल लुकेर बस्नेछु।” यो मनोवृत्ति तिमीहरूलाई कस्तो लाग्छ? (यो नराम्रो छ।) कतिपयले यसो पनि भन्छन्, “मेरो कर्तव्य निर्वाहको सन्दर्भमा भन्‍नुपर्दा, कसैले पनि मसँग केही माग गर्न सक्दैन। म त्यो स्वेच्छाले मात्र गर्नेछु। मेरो आफ्नै मर्यादा छ, र यदि कसैले मलाई मेरो कर्तव्य पूरा गर्न जोड दिइरहन्छ, दक्षताको माग गर्छ भने, म त्यो काम गर्नेछैनँ। यदि तिनीहरू मलाई सिद्धान्तविरुद्ध जाँदै छु भनेर सँधै भन्छन् भने, तिनीहरूले मलाई कठिनाइहरू निम्त्याएर गाह्रो बनाइरहेका छन्। यदि तिनीहरूले परमेश्‍वको घरका सत्यता सिद्धान्तहरू प्रयोग गरेर मसँग मागहरू गरिरहन्छन् भने, मेरो सानो कदले मलाई ती माग पूरा गर्न रोक्नेछ। म आफूले हासिल गर्न सक्ने कुरा हासिल गर्न सक्दो गर्नेछु, तर मेरो क्षमता बाहिरका कुरामा मलाई जबरजस्ती नगर। यदि तिमीहरू त्यसो गर्छौ भने, म आफ्नो कर्तव्य त्यागेर जानेछु, र तिमीहरूले मलाई जबरजस्ती गर्न छोडेपछि फर्केर आउनेछु।” त्यो मनोवृत्ति कस्तो छ? (खराब।) यी कुनै पनि मनोवृत्ति पटक्कै राम्रो छैनन्—त्यो स्पष्ट छ र सबैलाई थाहा छ। त्यसोभए तिमीहरू सबैले आफ्नो कर्तव्य कसरी निर्वाह गर्दै छौ? के तिमीहरू यीमध्ये कुनै व्यवहार देखाउँछौ? तिमीहरू असंयमित, जिद्दी, अहङ्कारी र आत्मधर्मी छौ, कसैको कुरा सुन्दैनौ, झारा टार्ने मात्र काम गर्छौ। तिमीहरूमा कुनै कुराप्रति गम्भीर मनोवृत्ति छैन। अलिकति प्रतिभा भएमा तिमीहरू गमक्क पर्छौ अनि कुनै सानो कुरा आफूले भनेजस्तो नहुँदा, रिसले चूर हुन्छौ र थुतुनो बिगार्छौ, अनि अबउसो काम गर्नै चाहँदैनौ। तिमीहरू सधैँ आफ्नो कर्तव्य निर्वाह छोड्ने सोचमा हुन्छौ। के तिमीहरूले कहिल्यै यस्तो व्यवहार गरेका छौ? (गरेका छौँ।) जब तिमीहरू यस्तो व्यवहार गर्छौ, तब के तिमीहरू एकअर्कासँग सङ्गति गर्छौ र यी समस्याहरू समाधान गर्ने प्रयास गर्छौ? के ती समस्याहरू हुँदाहुँदै पनि मानिसहरू आफ्नो कर्तव्य राम्रोसँग निभाउन सक्छन्? के तिनीहरूले मानकअनुरूप कर्तव्य निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? स्पष्ट छ, तिनीहरूले सक्दैनन्।

कुनै व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा ऊबाट जस्तोसुकै भ्रष्ट स्वभाव प्रकट भए पनि, यो व्यावहारिक समस्या हो र यसले उसको प्रभावकारी कर्तव्य निर्वाहलाई कमजोर बनाउनेछ। उसले तत्कालै सत्यता खोजेर त्यसलाई समाधान गर्नुपर्छ। यदि त्यस्ता व्यावहारिक समस्याहरू समाधान गरिएन भने, ती आफै हराउनेछैनन्; समयको दौडान ती झनै खराब हुनेछन्। ती “खराब हुनेछन्” भन्‍नुको मतलब के हो? यसको मतलब हो, यदि यी भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, तिनले तेरो स्थिति र अरू मानिसहरूलाई दखल दिनेछन्। समय क्रममा, यी समस्याहरूले तँलाई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न, सत्यता बुझ्न तथा अभ्यास गर्न र परमेश्‍वरसामु आउन बाधा दिनेछन्। यो कुनै सानोतिनो समस्या होइन, गम्भीर समस्या हो। त्यसपछि समय बित्दै जाँदा, तेरो हृदयका गुनासा र क्रोधहरू, र परमेश्‍वप्रतिको तेरा धारणा र गलत बुझाइहरू, र अरूप्रतिको तेरा पूर्वाग्रहहरू, साथै अरूबाट तेरो अलग्याइ तँभित्रै बढ्दै जानेछ। यसले पक्कै पनि तँलाई गलत मार्गमा डोऱ्याउनेछ। यी कुराहरूले कसैको हृदय खलबल्याउने, उसलाई नकारात्मक बनाउने र परमेश्‍वरबाट अलग्याउने मात्र गर्न सक्छन्। यसो किन? किनभने मानिसका धारणा र गलत बुझाइजस्ता कुराहरू सबै नकारात्मक कुरा, सबै शैतानका विष हुन्। यदि यी कुरा कसैको हृदयमा लामो समयसम्म बढ्दै गएमा, तिनले त्यस व्यक्तिको आस्थालाई नष्ट पार्छन्, अनि उसको जोस र सच्चापनलाई घटाउँछ। आस्था वा जोसविना, के समयको दौडान व्यक्तिको कर्तव्य निर्वाह गर्ने शक्ति घट्दैन र? यदि व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्दा शान्ति र आनन्द महसुस गर्दैन, र आफ्नो कर्तव्य निर्वाहमा परमेश्‍वरको आशिष र निर्देशन अनुभूति गर्दैन भने, उसले आफूभित्र शक्ति बटुल्न सक्दैन, अनि ऊ धारणा, गलत बुझाइ, गुनासो, र नकारात्मकताजस्ता नकारात्मक कुराद्वारा नियन्त्रित हुनेछ। जब व्यक्ति यी स्थितिहरूमा हुन्छ, तब उसले आफ्नो कर्तव्य निर्वाहमा शारीरिक रूपमा लागिपर्ने, पर्खिरहने र सामना गर्ने, सबै कुरा सङ्कल्पसहित मात्र गर्ने—तर यो समाधान गर्न सत्यता खोजी नगर्नेबाहेक केही गर्न सक्दैन। उसले परमेश्‍वरको मार्गदर्शन वा उहाँका आशिषहरू यस तरिकाले देख्न सक्दैन। अनि त्यसको लगत्तै के हुन्छ? उसले जसरी आफ्नो कर्तव्य निर्वाह गरे पनि त्यसका सिद्धान्तहरू भेट्टाउन सक्दैन। ऊ झन्-झन् कम आश्‍वस्त हुँदै आफ्नै इच्छाअनुसार मात्र काम गर्छ, र उसले आफ्नो कर्तव्य पूरा गर्ने ऊर्जा गुमाउँछ। कतिपय मानिस यसो भन्छन्, “मैले भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थाल्दा, मलाई आफ्नो मन एकदमै छोएको र आफूलाई अन्तर्दृष्टि प्राप्त भएको अनुभूति भएको थियो, र परमेश्‍वर मेरो साथमा हुनुहुन्छ भन्‍ने लागेको थियो। मेरो हृदयमा खुसी थियो; मेरो दृष्टिले सबै कुरा छर्लङ्गै देख्न सक्थ्यो र म हरेक कुरा सहजतापूर्वक गर्न सक्थेँ। तर केही समयपछि, मेरो हृदय परमेश्‍वरबाट धेरै टाढा भयो, मेरो हृदयमा कुनै प्रार्थना थिएन, र मैले तबउसो परमेश्‍वरलाई अनुभूति गर्न सकिनँ।” यहाँ के भइरहेको छ? यो व्यक्तिका हृदयमा रोग लागेको छ। अनि त्यो कस्तो रोग हो? त्यो रोग ऊभित्र सधैँ काम गरिरहने र बाधा दिइरहने भ्रष्ट स्वभाव हो। यदि यी भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, उसको कर्तव्य निर्वाहमा समस्याहरू सधैँ उत्पन्‍न हुनेछन्, र जब ती समस्याहरू गम्भीर बन्छन्, तब तिनले मण्डलीका काममा बाधा र अवरोध ल्याउनेछन्। यदि कसैले आफ्नो कर्तव्य निर्वाह सन्तोषजनक भएको चाहन्छ भने, उसले बारम्बार सत्यता खोजी गरेर आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नैपर्छ, र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्ने प्रयत्न गर्नैपर्छ, ऊ आफ्ना भ्रष्ट स्वभावहरू समाधान नगरेसम्म कष्ट भोग्‍न र मूल्य चुकाउन सक्षम हुनैपर्छ। त्यसपछि ऊ अवरोध र बाधाविना आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुनेछ। कतिपय मानिस आफ्नो भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता खोजी गर्न सक्दैनन्। तिनीहरू भलाइ र उत्साहद्वारा तथा मानव इच्छाद्वारा आफूलाई नियन्त्रण गर्न मात्र सक्छन्; तिनीहरू आफ्नो भ्रष्ट स्वभावका क्षणिक प्रकटीकरणहरूलाई मात्र रोक्न सक्छन्। तर के तिनीहरूले भ्रष्ट स्वभावको समस्यालाई जराबाटै समाधान गर्न सक्छन् त? यदि कसैले सत्यता खोजी गर्दैन भने, उसले कुनै हालतमा पनि भ्रष्ट स्वभाव हटाउन सक्दैन, र यदि कोही भ्रष्ट स्वभावमा जिउँछ भने, उसले कुनै हालतमा पनि सत्यता अभ्यास गर्न सक्दैन, र कुनै हालतमा पनि कर्तव्य निर्वाहलाई सन्तोषजनक बनाउन सक्दैन।

के स्वभावैले मान्छे खुसी पारिहिँड्ने व्यक्ति वास्तवमै असल व्यक्ति हो त? परमेश्‍वरले कस्तो व्यक्तिलाई सत्यता धारण गर्ने वास्तविक असल व्यक्तिको रूपमा हेर्नुहुन्छ? सबैभन्दा पहिले, एक व्यक्तिले परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्नुपर्छ अनि सत्यतालाई बुझ्नुपर्छ। दोस्रो, एक व्यक्तिले आफूले सत्यता बुझेको आधारमा त्यो सत्यतालाई व्यवहारमा अपनाउन सक्‍नुपर्छ। तिनीहरू सत्यतासँग मेल नखाने आफूभित्रका कुराहरू—तिनीहरूका धारणा र कल्पनाहरू, अरूप्रतिका पूर्वाग्रहहरू र अन्य मानिस तथा परमेश्‍वरप्रतिका गलत बुझाइहरू—पत्ता लाग्‍नेबित्तिकै समाधान गर्न सक्छन्। र जब तिनीहरू खराब स्थिति वा नकारात्मक स्थितिहरूमा जिउँछन्, तब तिनीहरू उचित समयमा आफूलाई बदल्न सक्छन्; तिनीहरू यी भ्रष्ट कुराहरूमा टाँसिदैनन्। अर्थात्, जुन क्षण यो व्यक्तिले उनीहरूसित समस्या भएको थाहा पाउँछ, तब समाधान खोज्‍न तिनीहरू परमेश्‍वरको सामु आउन सक्छन्, र उहाँसँग सामान्य सम्बन्ध कायम राख्‍न सक्छन्। त्यस्तो व्यक्ति कमजोर र विद्रोही हुन सक्छ, अनि उसले अहङ्कार, स्व-धार्मिकता, धूर्तता, र छलीपनजस्ता सबै प्रकारका भ्रष्ट स्वभावहरू प्रकट गर्न सक्छ। तापनि, एकपटक उनीहरूले आफूलाई जाँचेर यी कुराहरूका बारेमा थाहा पाएपछि, ती कुराहरूलाई उनीहरूले समयमै समाधान गर्न र त्यसबाट फर्केर परिस्थिति बदल्न सक्छन्। यो कस्तो प्रकारको व्यक्ति हो? यो त्यस्तो व्यक्ति हो जसले सत्यतालाई प्रेम गर्छ र जसले सत्यतालाई व्यवहारमा अपनाउँछ। त्यस्तो व्यक्तिलाई परमेश्‍वरका नजरमा कसरी हेरिन्छ? परमेश्‍वरको नजरमा यो एक असल व्यक्ति हो। कतिपय मानिस सधैँ आफ्नो पुरानो धारणामा अडिग रहन्छन्, जिद्दी हुँदै आफ्नो व्यक्तिगत पूर्वाग्रह र गलत बुझाइहरूमा टाँसिरहन्छन्। तिनीहरू सधैँ नकारात्मक संवेग बोकेर आफ्नो कर्तव्य निर्वाह गर्छन्, आफू गलत छु भन्‍ने राम्रोसँग थाहा हुँदाहुँदै पनि आफ्ना विचारहरूमा अडिग हुन्छन्। काटछाँट गर्दा पनि, तिनीहरू प्रतिरोध गर्छन् र आफ्नो बचाउ गर्दै यसो भन्छन्, “म यसरी नै कामकुरा गर्ने गर्छु। म आफ्नो तरिका छोड्दिनँ। मलाई लाग्छ, परमेश्‍वरको घरले यो मामिलालाई निष्पक्ष तरिकामा सम्हालिरहेको छैन, त्यसैले म यो समस्या समाधान गर्नेछैनँ। तपाईंले निष्पक्षबारे कुरा गर्नुभए पनि, म यसलाई स्वीकार गर्नेछैनँ। तपाईंका वचनहरू सत्यता होइनन्! तपाईं ममा आफ्नो कर्तव्य निर्वाहप्रति उचित मनोवृत्ति छैन भनेर दाबी गर्नुहुन्छ, तर मैले कुनै दुष्ट काम गरेको छैनँ। तपाईं भन्‍नुहुन्छ, म आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा बन्दै छु। त्यसोभए मैले झाराटारुवा नबन्‍न के गर्नुपर्छ? यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु पर्याप्त छ। यदि मैले यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍न भने, परमेश्‍वर निष्पक्ष हुनुहुन्‍न, र उहाँको धार्मिकता पनि नक्कली हो।” के सत्यता स्वीकार गर्ने व्यक्ति यस्तै हुन्छ? के सत्यता स्वीकार गर्ने व्यक्तिको मनोवृत्ति यस्तै हुन्छ? यस्तो तरिकाले बोल्ने व्यक्ति कसरी गैरविश्‍वासीभन्दा फरक हुन्छ? यस्तो व्यक्तिलाई परमेश्‍वर कसरी हेर्नुहुन्छ? परमेश्‍वरको मनोवृत्ति कस्तो छ? (उहाँ घिनाउनुहुन्छ।) के यो व्यक्ति जिद्दी र विद्रोही होइन र? तँमा भ्रष्टताहरू भए पनि, परमेश्‍वर ती सम्झनुहुन्‍न। तँ भ्रष्ट मानवजाति भएकाले परमेश्‍वर तँलाई अस्वीकार वा निन्दा गर्नुहुन्‍न। तर त्यो त तँलाई सत्यताबारे राम्ररी थाहा भएर पनि तैँले जानाजानी त्यसको प्रतिरोध र त्यसविरुद्ध विद्रोह गरेकाले हो। तेरो मनोवृत्तिले नै परमेश्‍वरलाई दुःखी बनाउँछ, उहाँमा घिन र तिरस्कार जगाउँछ। यो परमेश्‍वरको मनोवृत्ति हो। यस्तो व्यक्ति परमेश्‍वरको नजरमा वा अरूको नजरमा राम्रो व्यक्ति होइन।

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँको मुक्ति प्राप्त गर्न चाहन्छस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। पहिला, तैँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा जिम्मेवारी बोध विकास गरेर सक्दो कोसिस गर्नुपर्छ। परमेश्‍वरले तँलाई असल व्यक्तिका रूपमा हेर्नु नै तेरो आधा काम पूरा हुनु हो। तैँले आफ्नो कर्तव्य निभाउने क्रममा यदि सत्यता पछ्याउन सक्छस्, अनि जति भ्रष्ट स्वभाव प्रकट भए पनि वा आफूलाई जति नै कठिनाइहरू आइपरे पनि, ती समाधान गर्न सत्यता खोज्न सक्छस्; अनि यदि तँ काटछाँटमा पर्दा तँसित स्वीकार गर्ने र समर्पित हुने मनोवृत्ति हुन्छ भने, परमेश्‍वरको मुक्ति प्राप्त गर्ने तेरो आशा पूर्ण रूपले यथावत् रहनेछ। परमेश्‍वरका नजरमा सत्यता पछ्याउने व्यक्तिका रूपमा देखिनु उच्च मापदण्ड हो जुन तैँले पूरा गर्न नसक्लास्। तँमा इच्छा र कद छैन, अनि तेरो आस्था अत्यन्तै कमजोर छ। त्यसैले, सुरुमा आफूलाई आफू वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूका नजरमा असल, सही र तुलनात्मक रूपले सकारात्मक कुराहरू मन पराउने, निष्पक्षता र धार्मिकता रुचाउने, र अपेक्षाकृत सोझो व्यक्ति बनेर देखा। तँ आफूले गल्तीहरू गर्दा ती सच्याउँछस्। तैँले आफ्नो विद्रोही अवस्था चिनेपछि, तुरुन्तै त्यो सुधार्छस्। तैँले आफ्नो भ्रष्ट स्वभाव पत्ता लगाउनेबित्तिकै सत्यता खोज्छस् र अरूसँग सङ्गति गर्छस्। तैँले बुझाइ प्राप्त गरेपछि, पश्चाताप गर्न सक्छस्। तैँले यसरी पछ्याएर अवश्य प्रगति गर्नेछस्। पहिला, आफूलाई आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका नजरमा असल, सही र जीवन प्रवेश प्राप्त गरिसकेको व्यक्तिका रूपमा देखा। त्यसपछि, क्रमशः सत्यतालाई प्रेम गर्ने र सत्यता पछ्याउने व्यक्ति बन्‍ने प्रयास गर्। यसलाई अभ्यास गरेर प्रवेश पाउन अझ सजिलो हुनेछ, र आफूबाट यस्ता मागहरू गर्नु तेरा लागि अझ बढी व्यावहारिक हुनेछ। सबैभन्दा पहिला, तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका नजरमा असल व्यक्तिको रूपमा दरिनैपर्छ। असल व्यक्ति बन्‍ने मापदण्डहरू के-के हुन्? पहिलो, तैँले आफ्नो कर्तव्य पूर्तिलाई हेर्नैपर्छ। तेरो कर्तव्य निर्वाहमा कतिवटा मानक र मापदण्डहरू पूरा गर्नुपर्छ? मामिलाहरू सम्हाल्दा, तँ लगनशील, जिम्मेवार, कठिनाइ सहन, मूल्य चुकाउन इच्छुक, र होसियार हुनैपर्छ, झारा टार्ने गर्नु हुँदैन। अलि उच्च स्तरमा, तैँले हरेक मामिलामा सही सिद्धान्तहरू खोज्न र यी सिद्धान्तहरूअनुसार कार्य गर्न सक्नैपर्छ। जसले बोले पनि, तैँले सबैभन्दा कम प्रशंसा गर्ने दाजुभाइ वा दिदीबहिनीले सही र सत्यताअनुरूप सिद्धान्त बताए पनि, तैँले त्यो सुन्‍नुपर्छ, स्विकार्ने कोसिस गर्नुपर्छ, र आफ्ना राय र धारणाहरूका विरुद्धमा विद्रोह गर्ने प्रयास गर्नुपर्छ। तँलाई यो मनोवृत्तिबारे कस्तो लाग्छ? (यो राम्रो छ।) आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ भनेर भन्‍नु सजिलो छ, यो भन्‍नाका लागि सजिलो कुरा हो; तर वास्तवमा मानकअनुरूप कर्तव्य निर्वाह गर्न कठिन छ। त्यसका लागि तैँले मूल्य चुकाउनुपर्छ र निश्चित कुराहरू त्याग्‍नुपर्छ। तैँले के दिनुपर्छ? सबैभन्दा आधारभूत तहमा, तैँले केही समय र शक्ति लगाउनुपर्छ। तैँले हरेक दिन अरू मानिसले भन्दा बढी समय खर्चनुपर्छ र बढी शक्ति लगाउनुपर्छ। तैँले अलि लामो समय जारी राख्नुपर्छ र अलि बढी प्रयास लगाउनुपर्छ। यदि तँ जिम्मेवारी बोध विकास गरेर आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भनी तैँले मनन गरिरहनुपर्छ। तैँले आफूलाई कस्ता सत्यताहरूले सुसज्जित पार्नुपर्छ र कस्ता समस्याहरू हल गर्नुपर्छ भनी विचार गर्नु आवश्यक छ। त्यसपछि प्रार्थनामार्फत सत्यता खोज्, परमेश्‍वरलाई आफ्नो आकाङ्क्षा बता, र परमेश्‍वरलाई बिन्ती बिसाउँदै अन्तर्दृष्टि र मार्गदर्शन माग। अरूहरू राति आराम गरिरहेका बेला, तैँले चाहिँ आफूलाई त्यस दिन कर्तव्य निर्वाहमा आइपरेका समस्याहरू र आफूले प्रकट गरेको भ्रष्टताबारे मनन गर्न अझ बढी समय खर्चनुपर्छ। तैँले यी कुराहरूबारे चिन्तन गर्नुपर्छ, अनि तैँले अघाडिको मार्ग पत्ता लगाएपछि मात्र आराम गर्नुपर्छ, ताकि त्यो दिन फलदायी साबित होस् र खेर नजाओस्। यदि तँ यी समस्याहरू समाधान गर्नेबारे मनन गर्दैनस् भने, राम्ररी खान वा सुत्न सक्नेछैनस्। यो कष्ट हो, यो तैँले चुकाउने मूल्य हो। तैँले अरूले भन्दा बढी कठिनाइ सहनुपर्नेछ र अरूले भन्दा ठूलो मूल्य चुकाउनुपर्नेछ, अनि सत्यताका लागि कोसिस गर्न बढी समय र शक्ति लगाउनुपर्छ। के यो चुकाउनुपर्ने व्यावहारिक मूल्य हो? (छ।) के तिमीहरूले पहिला यस्तो मूल्य चुकाएका छौ? कतिपय दिदीबहिनीहरू पहिरन लगाउन रुचाउँछन्, हरेक दिन मेकअप गर्न र कपाल बनाउन कम्तीमा एकदुई घन्टा समय खर्चन्छन्। तिनीहरू आफ्ना शारीरिक चाहनाहरूमा लिप्त हुन कहिल्यै कुनै कुरा त्याग गर्दैनन्, सधैँ आफूलाई तेजिलो र सुन्दर जिउडालकी बनाउँछन् र चटक्क पारेर पहिरन लगाउँछन्। तर जब आफ्नो कर्तव्य पूरा गर्ने कुरा आउँछ, तिनीहरू त्यसलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैनन् र कुनै प्रयत्न गर्दैनन्। तिनीहरूले प्रयत्न नगरेको केमा देखिन्छ? तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा इमानदारी र होसियार नहुनुमा देखिन्छ। तिनीहरू कहिलेकाहीँ अबेरसम्म जागै बसे पनि, त्यो अरू सबै जना जागै हुने भएकाले मात्र हो, आफूले चाहेर होइन, वा आफूले कार्यहरू सम्पन्‍न नगरेकाले र ती छोड्नै नमिल्ने भएकाले हो। तर व्यक्तिगत रूपमा तिनीहरूले कहिल्यै अतिरिक्त समय र शक्ति समर्पित गरेका हुँदैनन्, कहिल्यै थप मूल्य चुकाएका हुँदैनन्, र आफ्नो कर्तव्य निर्वाहमा कहिल्यै कुनै कठिनाइ सहेका हुँदैनन्। तिनीहरूले अरू सँगसँगै आफ्नो कर्तव्य निभाउँदै आएका, उति नै समय खर्चँदै आएका भए पनि, कुनै फलदायी नतिजा प्राप्त भएको छैन। त्यो सबै लापरवाह बन्‍ने र झारा टार्ने विषय मात्र भएको छ, तैपनि तिनीहरू अझै भित्र निकै दुःखी हुन्छन्। तँलाई यो मनोवृत्तिबारे कस्तो लाग्छ? के यस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नु सत्यताअनुरूप हो? कदापि होइन। तिमीहरू सामान्यतया कसरी आफ्नो कर्तव्य पूरा गर्न थाल्छौ? के तिमीहरूले कहिल्यै त्यसलाई गम्भीरतापूर्वक लिएका छौ? के तिमीहरूले आफूमा यस्तो अठोट वा समर्पण छैन भन्‍ने थाहा पाएर, आफ्नो कर्तव्य निर्वाह इच्छाशक्ति र आत्मसंयममा मात्र निर्भर छ भन्‍ने जानेर, अनि यस परिस्थितिमा केही कुरा गलत छ भन्‍ने महसुस गरेर कुनै परिवर्तनहरू गरेका छौ? त्यसलाई ठिक गर्न के गर्नुपर्छ? पहिला, तैँले मूल्य चुकाउनु आवश्यक छ। कहिलेकाहीँ त्यसको मतलब अबेरसम्म जागै बस्नु हो भने कहिलेकाहीँ सबेरै उठ्नु हो। यो नै देहको कष्ट हो। त्यसबाहेक, तैँले अझ बढी सोच र शक्ति लगाउनुपर्छ, अझ बढी सोच्नुपर्छ, अझ बढी मनन गर्नुपर्छ, र परमेश्‍वरलाई प्रार्थना र खोजी गर्न अझ बढी उहाँसामु आउनुपर्छ, आफ्नो समय र शक्ति परमेश्‍वरलाई समर्पित गर्नुपर्छ, आफूलाई परमेश्‍वरप्रति अर्पित गर्नुपर्छ, त्यो समय र शक्ति आफ्नो कर्तव्य निर्वाहमा, परमेश्‍वरले तेरा लागि तोकेको आज्ञा पालन गर्नमा र सत्यता पछ्याउनमा खर्चनुपर्छ। के यो आफ्नो कर्तव्य निर्वाह गर्दा चुकाउनैपर्ने मूल्य होइन र? (हो।)

तिमीहरूको आफ्नो कर्तव्य निर्वाहमा सबैभन्दा के कुराको कमी छ? परमेश्‍वरले यसो भन्‍नुभएको छ, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्नू” (मर्कूस १२:३०)। तिमीहरूले आफ्नो शक्ति मात्र लगाएका छौ, तर हृदय, प्राण, र मन लगाएका छैनौ—तिमीहरूले यी तीन पक्ष हासिल गरेका छैनौ। तिमीहरूले आफ्नो कर्तव्य निर्वाहमा शक्ति लगाउन मात्र जानेका छौ। परमेश्‍वरका नजरमा, यो कस्तो प्रकारको व्यक्ति हो? (श्रमिक।) के तिमीहरू श्रमिक बन्‍न इच्छुक छौ? (छैनौँ।) तिमीहरू श्रमिक हुन इच्छुक नभए पनि, अझै श्रम नै गरिरहेका छौ, र यो अथक रूपमा गर्छौ। तिमीहरू हिँड्ने मार्ग यही हो। तिमीहरूले श्रमिक हुन इच्छुक नहुँदानहुँदै पनि स्वेच्छाले श्रम गर्नु विरोधाभास होइन र? कसरी यस्तो हुन पुग्यो? मानिसहरूले गलत मार्ग रोज्ने भएकाले गर्दा हो। तैँले रोज्ने मार्गले तेरो अन्तिम लक्ष्य निर्धारण गर्छ, अर्थात्, तैँले जे रोप्छस् त्यही कटनी गर्छस्। यदि तँ श्रम गर्ने मार्ग रोज्छस् भने, त्यसको अन्तिम परिणाम श्रमिक बन्‍ने हो। तँ सधैँ कोसिस गरेर आशिष प्राप्त गर्न चाहने, अनि आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गले पूरा गर्न आफ्नो कर्तव्य निर्वाहमा सत्यता खोज्न र सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्न इच्छुक नहुने हुनाले; तँ आफ्नो कर्तव्य निर्वाहमा परमेश्‍वरलाई सारा हृदय, प्राण, र मनले प्रेम गर्न इच्छुक नहुने हुनाले, अनि शक्ति मात्र लगाएर तँ सन्तुष्ट हुने हुनाले, त्यसको परिणामस्वरूप तँ श्रमिक बन्छस्। यसमा कुनै विरोधाभास छैन। तर, विरोधाभासहरू श्रमिकहरूको हृदयमै पैदा हुन्छन्। कस्ता विरोधाभासहरू? मानिसहरू श्रमिक बन्‍न अनिच्छुक हुन्छन्, तर तिनीहरू सत्यता पछ्याउन वा परमेश्‍वरप्रतिको प्रेम पछ्याउन पनि अनिच्छुक हुन्छन्। तिनीहरू अझै पनि आशिषको चाहना गर्छन्। यदि तिनीहरूले आफू श्रमिक हो भन्‍ने सुनेमा, तिनीहरू त्यो सुन्‍न चाहँदैनन् र यस्तो सोच्छन्, “के तिनीहरू मलाई अपमान गर्न र होच्याउन खोजिरहेका छैनन् र? के यो एक प्रकारको पूर्वाग्रह होइन र? मैले अति धेरै प्रयास र शक्ति लगाएको छु। म कसरी श्रमिक बन्‍न सक्थेँ होला त?” तर त्यो सही हो। तँ बिलकुलै सत्यता अभ्यास गर्दैनस्; तँ प्रयत्न गर्नमै सन्तुष्ट छस् र त्यसले तँलाई श्रमिक बनाउँछ। आफ्नो कर्तव्य पूरा गर्नु भनेको थोरै प्रयत्न गर्नु मात्र हो भन्‍ने नठान्। यदि तैँले आफ्नो सम्पूर्ण हृदयले आफ्नो कर्तव्य निर्वाह गर्दैनस् भने, त्यो राम्ररी गर्न सक्दैनस्। सम्पूर्ण हृदयले कार्य गर्नु भनेको आफ्नो सारा हृदय, प्राण र मन दिनु हो। तैँले यो मानक पूरा गर्नैपर्छ। “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्नू।” यो कथन कर्तव्य निर्वाहमा पूर्ण रूपले लागू हुन्छ। यदि तँ परमेश्‍वरको साँचो विश्‍वासी होस् भने, तैँले सम्पूर्ण हृदय, प्राण, मन, र शक्तिले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। त्यसपछि, तँ परमेश्‍वरको नजरमा असल व्यक्ति ठहरिनेछस्। परमेश्‍वरका नजरमा असल ठहरिने व्यक्तिलाई कसरी मापन गर्नुपर्छ? कुन दृष्टिकोणबाट उसको मूल्याङ्कन हुनुपर्छ? (कर्तव्य निर्वाहको दृष्टिकोणबाट।) उसलाई पहिला उसको कर्तव्य निर्वाहको दृष्टिकोणबाट, कर्तव्य निर्वाहमा उसको मनोवृत्ति र दृष्टिकोण, उसको अभिप्राय र उद्देश्यबाट, ऊसँग आफ्नो कर्तव्य निर्वाहमा सत्यताका सिद्धान्तहरू छन् कि छैनन् अनि मामिलाहरू सम्हालेर उसले कस्ता परिणामहरू हासिल गर्न सक्छ भन्‍ने कुराबाट मूल्याङ्कन गर्नुपर्छ। हामी यी पक्षहरूको मूल्याङ्कन गरेर कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, सत्यता पछ्याउँछ कि पछ्याउँदैन, ऊ परमेश्‍वरको नजरमा इमानदार व्यक्ति, परमेश्‍वरले प्रेम गर्ने व्यक्ति हो कि होइन भन्‍ने कुरा हामी निर्धारण गर्न सक्छौँ। यी कुरा कुनै व्यक्तिलाई मूल्याङ्कन गर्नका लागि सबैभन्दा सिधा सिद्धान्त र मापदण्डहरू हुन्। के तिमीहरूले यो कुरा बुझ्यौ? के तिमीहरूमा सत्यता पछ्याउने र परमेश्‍वरका मानिसहरू बन्‍ने अठोट छ? आफ्नो कर्तव्य निर्वाह गर्ने प्रयत्न गरेर मात्र सन्तुष्ट नबन्; तैँले सत्यताका लागि र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न लागिपर्नुपर्छ। यो मात्र परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छ। यदि तँ प्रयत्न गरेर मात्र सन्तुष्ट हुन्छस् भने, यो मापदण्डको स्तर अत्यन्तै निम्न हुन्छ। आफ्नो कर्तव्य पूरा गर्नु भनेको सानो प्रयासले गर्न सकिने सरल कार्यहरू गर्नु होइन। प्राविधिक दक्षता आवश्यक पर्ने कार्यहरू आवश्यक दक्षताविना राम्ररी गर्न सकिँदैन। विशेष गरी, परमेश्‍वरको घरका कर्तव्यहरूमा परमेश्‍वरको गवाही दिनु समावेश छ र यदि तँमा सत्यता छैन भने त्यो गर्न सकिँदैन। यदि तैँले सत्यताका सिद्धान्तहरूअनुरूप आफ्नो कर्तव्य पूरा गर्दैनस् भने, परमेश्‍वरको गवाही दिँदा अपेक्षित नतिजा हासिल गर्न सक्दैनस्। त्यसकारण, मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन सत्यता र सिद्धान्तहरू बुझ्नैपर्छ। यदि कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्दैन तर परमेश्‍वरबाट आशिष् पाउन थोरै प्रयत्न गर्न मात्र चाहन्छ भने, यस्तो मनस्थिति अनुचित हो। यदि तँ सन्तोषजनक रूपमा आफ्नो कर्तव्य पूरा गर्दैनस् भने, परमेश्‍वरले तँजस्तो व्यक्तिलाई प्रयोग गर्नुहुनेछैन। परमेश्‍वरले तँलाई हटाउनुहुनेछ, किनभने मानिसहरूका लागि परमेश्‍वरबाट मुक्ति पाइने मानक भनेकै तिनीहरूले सन्तोषजनक रूपमा आफ्ना कर्तव्य निभाउन सक्नु हो, श्रम गरेर मात्र हुँदैन। यदि तँलाई श्रमिकको नाताले यसबारे हृदयमा कुनै असहज महसुस हुन्छ भने वास्तवमा, परमेश्‍वर पनि तेरा लागि उदास र दुःखी हुनुहुन्छ। तैँले वास्तवमा परमेश्‍वरको हृदयलाई पटक्कै बुझ्दैनस्। के परमेश्‍वरले श्रमिकहरूको समूहलाई मुक्ति दिन यत्ति ठूलो मूल्य चुकाउनुहोला त? कदापि चुकाउनुहुनेछैन। परमेश्‍वर उहाँलाई चिन्‍ने र उहाँका अभिप्रायहरूसँग मेल खाने व्यक्तिहरूको समूहलाई सिद्ध पार्न चाहनुहुन्छ। के श्रमिकहरूमा सत्यता र जीवन हुन्छ? के परमेश्‍वरले श्रमिकहरूलाई मुक्ति दिनु सार्थक हुन्छ? के यो परमेश्‍वरलाई महिमा प्राप्त भएको सङ्केत हो? के श्रम गर्नु मात्रै परमेश्‍वरको गवाही हो? श्रमिक हुनुमा परमेश्‍वरको गवाही दिने कुरा पर्दैन। यो मानवहरू हिँड्नुपर्ने मार्ग होइन। कतिपयले यसो भन्लान्, “म परमेश्‍वरको लागि श्रम गर्न इच्छुक छु। जति नै प्रयत्न गर्नुपरे पनि, म त्यो सब दिन इच्छुक छु। म ८० प्रतिशतको साटो १०० प्रतिशत दिनेछु। मेरो क्षमता कमजोर भएपनि र मैले सत्यता नबुझे पनि, मैले सक्दो दिइसकेको छु। परमेश्‍वर मेरो हृदय जान्‍नुहुन्छ, र उहाँले मलाई अनुमोदन गर्नुपर्छ, पर्दैन र?” के यो भनाइ परमेश्‍वरको मापदण्डसँग मेल खान्छ? परमेश्‍वरले ती मानिसहरूलाई अनुमोदन गर्नुहुन्छ जो सन्तोषजनक रूपमा आफ्नो कर्तव्य पूरा गर्छन्, जो सारा हृदय, मन, प्राण, र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्छन्। यदि तँ बल मात्र लगाउँछस् तर त्यसमा हृदय लगाउँदैनस् भने, तैँले सारा हृदयले आफ्नो कर्तव्य पूरा गरेको हुँदैनस्। के तँ आफ्नो सम्पूर्ण हृदयविना सत्यता अभ्यास गर्न सक्छस्? के तँ सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्न सक्छस्? यदि तँ आफ्नो सारा हृदय नलगाई बल मात्र लगाउँछस् भने, तँ श्रमिक मात्र बन्‍न सक्छस्। के श्रमिकहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्छन्? यो असम्भव छ। कर्तव्य पूरा गर्नका लागि परमेश्‍वरको वचनको मापदण्ड के हो? (“तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्नू।”) यो कुरा सत्यता, सत्यताको सिद्धान्त र अभ्यासको सिद्धान्तसँग सम्बन्धित छ। अभ्यासका सिद्धान्तहरू के-के हुन्? तैँले आफ्नो जीवनमा, आफ्नो कर्तव्य निर्वाहमा, आफ्‍नो अभ्यासका मार्गमा, र तेरो जीवनको दिशा र लक्ष्यमा गर्नुपर्ने कुरा हुन्। तैँले “परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्” भन्‍ने यो वचनलाई आफ्नो आदर्श वाक्यका रूपमा कुँदेर राख्। तैँले जे गरे पनि, यी वचनहरू प्रयोग गरेर आफ्नो मूल्याङ्कन गर्। आफूलाई सोध, “मैले यीमध्ये कुन-कुन प्राप्त गरेको छु? मैले कुन-कुन अहिलेसम्म हासिल गरेको छैनँ? मेरो भित्री स्थिति कस्तो छ? के त्यसमा कुनै विद्रोहीपन छ? कुनै स्वार्थीपन छ? के म परमेश्‍वरसित मोलमोलाइ वा सर्त छलफल गरिरहेको छु? के म जिद्दी बन्दै छु? के मभित्र कुनै नकारात्मकता वा सुस्तताको तत्व छ? के म झारा टार्ने तरिकाले काम गरिरहेको छु?” जब तँ “परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्” भन्‍ने वचनलाई आफ्नो हृदयमै कुँदेर राख्छस्, तब तैँले आफ्नो हृदयमा परमेश्‍वरका यी वचनहरू, सत्यताका यी वचनहरू सम्झिरहेको हुन्छस्। ती वचनहरूलाई आफ्ना हृदयमा राख्नुको उद्देश्य के हो? त्यो अरूले सुनून् भन्‍ने हेतुले भन्‍नु होइन, तर तेरो आफ्नै स्थितिलाई सच्याउनु, तेरो व्यवहारलाई नियमन गर्नु, र तेरो हरेक कार्यलाई मार्गदर्शन गर्नु हो। उदाहरणका लागि, यदि तँलाई कुनै कुरा गर्न आउँदैन भने, परमेश्‍वरको वचनले के भन्छ भनी तुरुन्तै विचार गर् र यसरी सोच्, “परमेश्‍वरले यो आफ्नो सम्पूर्ण हृदयले गर्नू भन्‍नुभएको छ, त्यसोभए म कसरी आफ्नो सम्पूर्ण हृदयले त्यो गर्न सक्छु त? यो कुरा मैले भन्दा अरू कसैले राम्रो बुझ्छ, त्यसैले मैले तिनीहरूसँग सोध्नुपर्छ र सङ्गति गर्नुपर्छ।” सङ्गति गरेपछि, प्रार्थना गर् अनि आफूमा कुनै गलत आशयहरू छन् कि भनेर आफूलाई जाँच्। यदि तँसँग कुनै व्यक्तिगत उद्देश्य वा स्वार्थ छैन, र यसो गर्नु पूर्णतया सत्यतासँग मेल खान्छ भनेर तँ निश्चित छस्, अनि सत्यता अभ्यास गर्न सक्षम छस् भने, तेरो हृदयमा शान्ति छाउनेछ, र यसले तैँले सम्भव भएसम्म आफ्नो सम्पूर्ण हृदयले कार्य गरेको छस् भन्‍ने देखाउँछ। तैँले दत्तचित्त हुनका लागि आफ्नो हृदयमा सत्यता खोज्नुपर्छ, परमेश्‍वरका वचनहरूमा मनन गर्नुपर्छ, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र उहाँसँग आत्मिय कुराकानी गर्नुपर्छ। यो हृदयको कुरा हो। यदि तेरो हृदय परमेश्‍वरको नजिक हुन्छ, सधैँ मनन गर्छ र सत्यताप्रति प्रयासरत हुन्छ भने, तँ परमेश्‍वरसामु जिउने व्यक्ति होस्। तैँले आफ्नो सम्पूर्ण हृदयले कुनै काम गरेपछि, स्वाभाविक रूपमा आफ्नो सम्पूर्ण मन, सम्पूर्ण प्राण र सम्पूर्ण शक्तिले त्यो काम गर्नेछस्। “परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्” भन्‍ने वचन तेरो वास्तविकता बन्‍नेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्