मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन् (भाग दुई)
सधैँ परमेश्वरसँग माग गर्नु मानिसको प्रकृतिको पाटो हो, र तिमीहरूले यो प्रकृतिलाई परमेश्वरको वचनअनुसार चिरफार गर्नैपर्छ। तिमीहरूले यसलाई कसरी चिरफार गर्नुपर्छ? पहिलो चरण भनेको परमेश्वरको सम्बन्धमा मानिसहरूमा कुन अनुचित मागहरू र कुन अत्यधिक इच्छाहरू छन् भनेर स्पष्ट हुनु हो र तिमीहरूले ती प्रत्येकको यसरी विश्लेषण गर्नुपर्छ: मानिसहरू किन त्यस्तो माग गर्छन्? तिनीहरूको मनसाय के हो? तिनीहरूको उद्देश्य के हो? तँ जति धेरै सचेत भएर यसलाई यसरी चिरफार गर्छस्, तैँले आफ्नो प्रकृतिबारे त्यति नै धेरै बुझ्नेछस् र त्यो बुझाइ उति नै धेरै विस्तृत हुनेछ। यदि तँ यसलाई विस्तृत रूपमा चिरफार गर्दैनस्, तर तँलाई मानिसहरूले परमेश्वरसँग माग गर्नु हुँदैन भन्ने मात्र थाहा छ, तँ परमेश्वरसँग माग गर्नु अनुचित हो भनेर मात्र बुझ्छस्, र कुरा त्यति नै हो भने, तैँले अन्ततः प्रगति गर्नेछैनस्, र तँ बदलिनेछैनस्। कतिपय मानिस यसो भन्छन्: “हामी अति स्वार्थी भएकाले परमेश्वरसँग धेरै माग गर्छौँ। हामीले के गर्नुपर्छ?” स्वभावतः मानिसहरूले सत्यता बुझ्नैपर्छ र स्वार्थको सार थाहा पाउनैपर्छ। जब तँ मानव स्वार्थको सारलाई साँचो रूपमा बुझ्छस्, तब तैँले आफूमा के कमी छ भनी थाहा पाउनेछस्; भयावह कुरा त मानिसले यसलाई कतै बुझ्न सक्दैनन् कि भन्ने हो। चिरफारमार्फत स्पष्ट देखिने अत्यधिक वा अनुचित मागहरू चिन्न सजिलो, र आफूलाई घृणा गर्न सम्भव हुन्छ। कहिलेकाहीँ तँलाई तेरा मागहरू उचित र ठिक लाग्ला, अनि तैँले तिनलाई उचित ठानेकाले र कामकुरा यसरी नै हुनुपर्छ भनी सोचेकाले, र अरूले पनि उस्तै मागहरू गर्ने भएकाले, तँलाई तेरा मागहरू अत्यधिक होइनन्, तर जायज र स्वाभाविक हुन् भन्ने लाग्ला। यसले के देखाउँछ भने, तँमा अझै पनि सत्यता छैन, त्यसैले तँ ती कुरा स्पष्ट रूपमा बुझ्न सक्दैनस्। एउटा उदाहरण हेरौँ: मानिलिऊँ एक जना मानिसले परमेश्वरलाई पछ्याएको धेरै वर्ष भयो, र उसले धेरै कठिनाइ र चुनौतीहरू भोगेको छ। उसले सधैँ राम्रो व्यवहार गरेको देखिन्थ्यो, अनि उसको मानवता, कष्ट भोगाइ र परमेश्वरप्रतिको निष्ठा ठिकै देखिन्थ्यो। ऊसँग निकै विवेक थियो, ऊ परमेश्वरको प्रेमको ऋण तिर्न इच्छुक थियो, र सामान्यतया आफ्नो काम गर्दा सावधानीपूर्वक कदम चाल्न जान्दथ्यो। पछि मैले के थाहा पाएँ भने, यो मान्छे स्पष्ट र राम्रोसँग बोल्थ्यो, तर ऊ अलिकति पनि समर्पणकारी थिएन, त्यसैले मैले उसलाई प्रतिस्थापन गरेँ र भविष्यमा फेरि उसलाई प्रयोग नगर्न आदेश दिएँ। उसले धेरै वर्षदेखि मण्डलीका लागि काम गर्दै आएको थियो, र धेरै कष्ट भोगेको थियो, तैपनि अन्ततः उसलाई प्रतिस्थापित गरियो। त्योभन्दा पनि, मैले उसका केही व्यावहारिक कठिनाइहरू समाधान गरिदिएको थिइनँ। यस्तो अवस्थाबारे मानिसहरूले के सोच्नेथिए? पहिलो त, धेरै मानिस उसको बचाउमा आएर भन्नेथिए, “यो ठिक होइन। यी परिस्थितिहरूमा परमेश्वरले ऊप्रति अपार कृपा र अनुग्रह देखाउनुपर्छ, किनभने ऊ परमेश्वरलाई प्रेम गर्छ, र आफूलाई उहाँमा समर्पित गर्दछ। धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्ने ऊजस्तो व्यक्तिलाई हटाउन सकिन्छ भने, झन् हामीजस्ता नयाँ विश्वासीहरूको के आशा छ र?” यहाँ फेरि मानिसहरूका थप मागहरू देखा पर्छन्, तिनीहरू सधैँ परमेश्वरले त्यो व्यक्तिलाई आशिष् दिनुहुनेछ र उसलाई रहन दिनुहुनेछ भन्ने आशा गर्छन्, अनि अझै यस्तो सोच्छन्: “त्यो व्यक्तिलाई परमेश्वरले उचित व्यवहार गर्नुभएको छ, परमेश्वरले उसलाई निराश पार्नु हुँदैन!” मानिसहरूले परमेश्वरसँग गर्ने धेरै मागहरू मानव धारणा र कल्पनाबाट उत्पन्न हुन्छन्। मानिसहरू परमेश्वरले मानिसलाई के दिनुपर्छ, अनि उहाँले तिनीहरूलाई तिनीहरूमाझ के उचित र तर्कसङ्गत हुन्छ भन्ने विवेकको मापदण्डअनुसार कसरी व्यवहार गर्नुपर्छ भनेर मापन गरिरहेका हुन्छन्, तर यो कसरी सत्यताअनुरूप हुन सक्छ? मानवजातिका मागहरू सबै अनुचित छन् भनेर म किन भन्छु? किनभने ती त मानिसहरूले अरू मानिसहरूबाट माग गर्ने मापदण्डहरू हुन्। के मानिसहरूसँग सत्यता छ? के तिनीहरू मानिसको सारलाई स्पष्ट देख्न सक्छन्? केही मानिसहरू परमेश्वरले मानिसलाई विवेकको मापदण्डअनुसार व्यवहार गर्नुहोओस् भन्ने माग गर्छन्, परमेश्वरलाई मानिसहरूबाट माग गरिएको मापदण्डमा राख्दछन्। यो सत्यतासँग मेल खाँदैन र यो अनुचित हो। मानिसहरू केही सानातिना मामिलामा सहन गर्न सक्छन्, तर तिनीहरूको परिणाम अन्ततः निर्धारित हुँदा त्यो सहन नसक्लान्। तिनीहरूका मागहरू प्रकट हुनेछन्, र तिनीहरूको मुखबाट विना रोकटोक गुनासो र निन्दाका शब्दहरू निस्कनेछन्, र तिनीहरूले आफ्नो वास्तविक रूप देखाउन थाल्नेछन्। त्यतिखेर तिनीहरूले आफ्नो प्रकृतिबारे थाहा पाउनेछन्। मानिसहरू सधैँ मानव धारणा र आफ्नै इच्छाअनुसार परमेश्वरसँग माग गरिरहेका हुन्छन्, र यस प्रकारका धेरै माग गर्छन्। तिमीहरूले सामान्यतया याद नगरौला, र कहिलेकाहीँ कुनै कुराका लागि परमेश्वरलाई प्रार्थना गर्नु माग गर्नु होइन भन्ने सोचौला, तर वास्तवमा सावधानीपूर्वक चिरफार गर्दा के देखिन्छ भने, धेरै मानव मागहरू अनुचित, समझहीन र हास्यास्पदसमेत हुन्छन्। तैँले यस मामिलाको गम्भीरतालाई पहिले चिनिनस्, तर यसबारे भविष्यमा बिस्तारै थाहा पाउँदै जानेछस्, र त्यसपछि तैँले आफ्नो प्रकृतिलाई साँचो अर्थमा बुझ्नेछस्। अलिअलि गर्दै, अनुभवले तँलाई आफ्नो प्रकृतिबारे ज्ञान र समझ प्रदान गर्नेछ, र साथै सत्यतामा सङ्गति गर्दा तैँले यसलाई स्पष्ट रूपमा जान्नेछस्—त्यसपछि तँ यस सम्बन्धमा सत्यतामा प्रवेश गरेको हुनेछस्। तैँले मानिसको प्रकृति सारलाई स्पष्टसँग बुझेपछि तेरो स्वभाव परिवर्तन हुनेछ र त्यसपछि तैँले सत्यता पाउनेछस्।
परमेश्वरसँग निरन्तर माग गर्ने मानिसहरूलाई सम्हाल्नुजत्तिको कठिन अरू केही हुँदैन। यदि परमेश्वरको कार्य तेरो सोचाइसँग मिल्दैन र उहाँले तेरो सोचाइअनुसार काम गर्नुभएको छैन भने, तैँले विरोध गर्ने धेरै सम्भावना हुन्छ—जुन कुरा प्रकृतिले नै तँ परमेश्वरको विरोध गर्छस् भनेर देखाउन पर्याप्त छ। यो समस्यालाई बारम्बार आत्मचिन्तन गरेर अनि यसरी सत्यता बुझेर मात्रै चिन्न सकिन्छ, अनि सत्यता पछ्याएर मात्रै यसलाई पूर्ण रूपमा समाधान गर्न सकिन्छ। जब मानिसहरू सत्यता बुझ्दैनन्, तब तिनीहरूले परमेश्वरसँग धेरै माग गर्दछन्, तर जब तिनीहरूले सत्यता बुझ्छन्, तब तिनीहरूले एउटै पनि माग गर्दैनन्; तिनीहरू आफूले परमेश्वरलाई पर्याप्त रूपमा सन्तुष्ट पार्न नसकेको, आफू पर्याप्त मात्रामा परमेश्वरप्रति समर्पित नभएको मात्रै महसुस गर्छन्। सधैँ परमेश्वरसित माग गर्ने मानिसहरूले आफ्नो भ्रष्ट प्रकृतिलाई झल्काउँछन्। यदि तँ आफूलाई चिन्न सक्दैनस् र यस मामिलामा साँचो पश्चात्ताप गर्दैनस् भने, परमेश्वरप्रतिको तेरो विश्वासको मार्गमा गुप्त खतरा र सङ्कटहरू आइपर्नेछन्। तँ साधारण कुराहरूलाई जित्न सक्छस्, तर जब तेरो भाग्य, सम्भावना र गन्तव्यजस्ता महत्त्वपूर्ण कुरा संलग्न हुन्छन्, तब तैँले सायद तिनलाई जित्न सक्नेछैनस्। त्यस बेला, यदि तँमा अझै सत्यताको कमी छ भने, तँ आफ्ना पुराना चालहरूमा फर्केर जान सक्छस्, र यसरी तँ नष्ट हुने ती मानिसहरूमध्येको एक हुनेछस्। धेरै मानिसहरूले सधैँ यसरी नै पछ्याएका र विश्वास गरेका छन्; तिनीहरूले परमेश्वरलाई पछ्याएको समयमा राम्रो व्यवहार गरेका छन्, तर यसले भविष्यमा के हुनेछ भनेर निर्धारण गर्दैन। किनभने तँलाई मानिसको कमजोर पक्ष, वा परमेश्वरको विरोध गर्न सक्ने मानिसको प्रकृतिभित्रका कुरा कहिल्यै थाहा हुँदैन, र तिनले तँलाई विपत्तिमा पुर्याउनुअघि तँ यी कुराबारे अनभिज्ञ रहन्छस्। परमेश्वरको विरोध गर्ने तेरो प्रकृतिको समस्या समाधान नहुने हुनाले, यसले तँलाई विपत्तिका लागि तयार पार्छ, अनि जब तेरो यात्रा सकिन्छ र परमेश्वरको काम पूरा हुन्छ, तब तैँले परमेश्वरको सबैभन्दा धेरै विरोध गर्ने कामहरू गर्नेछस् र उहाँको निन्दा हुने कुराहरू भन्नेछस्, र यसरी तँलाई दोषी ठहर्याएर हटाइनेछ। अन्तिम क्षणमा, सबैभन्दा सङ्कटपूर्ण समयमा पत्रुस भाग्न खोजे। त्यस बेला उनले परमेश्वरको अभिप्राय बुझेनन्, अनि बाँच्ने र मण्डलीहरूको काम गर्ने योजना बनाए। पछि येशू उनीकहाँ देखा परेर भन्नुभयो: “के तँ मलाई तेरा लागि फेरि क्रुसमा टाँगिन लगाउँछस्?” त्यसपछि पत्रुसले परमेश्वरको अभिप्राय बुझे, र तुरुन्तै समर्पित भए। मानिलिऊँ, त्यो बेला उनले आफ्नै माग राख्दै यसो भने, “म अहिले मर्न चाहन्नँ, मलाई पीडा हुने डर छ। के तपाईँ हाम्रो खातिर क्रुसमा टाँगिनुभएको थिएन र? किन तपाईँ मलाई क्रुसीकरण हुनू भन्दै हुनुहुन्छ? के म क्रुसीकरणबाट जोगिन सक्छु?” यदि उनले यस्तो माग गरेका भए, उनी हिँडेको बाटो व्यर्थ हुनेथियो। तर पत्रुस सधैँ परमेश्वरप्रति समर्पित हुने र उहाँको अभिप्राय खोज्ने व्यक्ति थिए, र अन्तमा उनले परमेश्वरको अभिप्राय बुझे र पूर्ण रूपमा समर्पित भए। यदि पत्रुसले परमेश्वरको अभिप्राय नखोजेर आफ्नै सोचअनुसार काम गरेका भए, गलत मार्ग लिनेथिए। मानिसमा परमेश्वरका अभिप्राय प्रत्यक्ष रूपमा बुझ्ने क्षमताको कमी हुन्छ, तर यदि तिनीहरू सत्यता बुझेपछि समर्पित हुँदैनन् भने, तिनीहरूले परमेश्वरलाई धोका दिइरहेका हुन्छन्। भन्नुको अर्थ, मानिसहरूले सधैँ परमेश्वरसँग मागहरू गर्नु तिनीहरूको प्रकृतिसँग सम्बन्धित छ: तिनीहरूसँग जति धेरै माग हुन्छन्, तिनीहरू त्यति नै धेरै विद्रोही र प्रतिरोधी बन्छन्, र उति नै धेरै धारणाहरू पाल्छन्। परमेश्वरसँग जति धेरै माग गरिन्छ, उहाँविरुद्ध विद्रोह गर्ने, उहाँको प्रतिरोध गर्ने र विरोधसमेत गर्ने सम्भावना उति नै धेरै हुन्छ। सायद एक दिन तिनीहरूले परमेश्वरलाई धोका दिएर छोड्न सक्छन्। यदि तँ यो समस्या समाधान गर्न चाहन्छस् भने तैँले सत्यताका केही पक्षहरू बुझ्नुपर्ने हुन्छ, अनि यसलाई राम्ररी बुझ्न र पूर्ण रूपमा समाधान गर्नका लागि तँमा केही व्यावहारिक अनुभव पनि हुनुपर्छ।
मानिसहरू परमेश्वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा, तिनीहरूमा कुनै अत्यधिक चाहनाहरू छन् कि छैनन् वा परमेश्वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् भन्ने प्रमाणित गर्दछ। तँलाई जे भए पनि, यदि तँ त्यो कुरा परमेश्वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस्, सधैँ आफूलाई सही ठान्छस्, र तँ परमेश्वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भनेर शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि तँ परमेश्वरसँग माग गर्छस् भने, यसले तँ परमेश्वरसँग सौदाबाजी गर्ने प्रयास गर्दैछस्, आफ्नै इच्छा रोज्दैछस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्ने प्रमाणित गर्छ। यसरी तैँले परमेश्वरलाई धोका दिइरहेको हुन्छस्, र तँमा समर्पणता हुँदैन। परमेश्वरसँग माग गर्नु नै समझको कमी हो; यदि तँ साँच्चै उहाँ परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छस् भने, तैँले उहाँसँग माग गर्ने हिम्मत गर्नेछैनस्, न त तँ उहाँसँग कुनै माग गर्ने योग्यता महसुस नै गर्नेछस्, चाहे तँलाई ती माग उचित लागून् वा नलागून्। यदि तँसँग परमेश्वरप्रति साँचो विश्वास छ, र तँ उहाँ परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्छस् भने, तैँले उहाँको मात्र आराधना गर्नेछस् र उहाँप्रति मात्रै समर्पित हुनेछस्, अरू कुनै विकल्प हुनेछैन। आज मानिसहरूले स्वैच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्वरलाई तिनीहरूका आफ्नै इच्छाअनुसार काम गर्नसमेत लगाउँछन्। तिनीहरूले परमेश्वरप्रति समर्पित नहुने विकल्प मात्रै रोज्दैनन्, परमेश्वरलाई तिनीहरूप्रति समर्पित हुनसमेत लगाउँछन्। के यो समझको साह्रै कमी होइन र? त्यसकारण, यदि मानिसमा साँचो आस्था र बलियो विश्वास छैन भने, उसले कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धेरै साँचो विश्वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ पनि तुलनात्मक रूपमा सामान्य हुन्छ। प्रायजसो के हुन्छ भने, मानिसहरू जति बढी तर्क गर्न प्रवृत्त हुन्छन्, र जति धेरै स्पष्टीकरण दिन्छन्, तिनीहरूलाई सम्हाल्न उति नै गाह्रो हुन्छ। तिनीहरूका मागहरू धेरै मात्र हुँदैनन्, तर तिनीहरूलाई औँलो दिइयो भने तिनीहरू डुँडुलो निल्न खोज्छन्। जब तिनीहरू एक पक्षमा सन्तुष्ट हुन्छन्, तब अर्को पक्षमा माग गर्छन्। तिनीहरू सबै पक्षमा सन्तुष्ट हुनुपर्दछ, र यदि सन्तुष्ट भएनन् भने, तिनीहरूले गुनासो गर्न थाल्छन्, र परिस्थितिलाई आशाहीन ठान्छन् र लापरवाहीपूर्वक कार्य गर्छन्। पछि तिनीहरू ऋणी र पछुतो महसुस गर्छन्, र तिनीहरू धरधरी आँसु बगाउँदै रुन्छन्, र मर्न चाहन्छन्। त्यसको के फाइदा हुन्छ? के तिनीहरू अनुचित र निर्दयी उत्पीडक बनिरहेका होइनन् र? यस्ता श्रृङ्खलाबद्ध समस्याहरूलाई जराबाटै समाधान गरिनुपर्छ। यदि तँमा भ्रष्ट स्वभाव छ र तैँले यसलाई हटाइनस् भने, यदि तँ यो हटाउन समस्यामा नपरुञ्जेल वा विपत्ति पैदा नहुञ्जेल पर्खन्छस् भने, तैँले यो घाटालाई कसरी पूर्ति गर्न सक्छस्? के यो त काम बिग्रेपछि मात्रै होस खुल्नुजस्तो हुनेछैन र? त्यसकारण, तैँले आफ्नो भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्नका लागि, यो पैदा हुनेबित्तिकै हटाउन सत्यताको खोजी गरिहाल्नुपर्छ। तैँले भ्रष्ट स्वभावलाई कोपिला छँदै समाधान गर्नुपर्छ, यसरी आफूले कुनै गल्ती नगर्ने र भावी समस्याहरू रोक्ने कुरा सुनिश्चित गर्न सकिन्छ। यदि भ्रष्ट स्वभावले व्यक्तिमा जरा हाल्छ र त्यो उसको विचार वा दृष्टिकोण बन्छ भने, यसले उसलाई दुष्कर्म गर्न निर्देशित गर्न सक्छ। त्यसकारण, आत्मचिन्तन गर्नु र आफूलाई जान्नु मुख्यतः भ्रष्ट स्वभावहरू पत्ता लगाउनु र ती हटाउन तुरुन्तै सत्यता खोज्नुसँग सम्बन्धित कुरा हुन्। तेरो प्रकृतिमा के-कस्ता कुराहरू छन्, तँलाई के मन पर्छ, तँ के कुराको पछि लाग्छस्, र तँ के हासिल गर्न चाहन्छस् भन्ने कुरा तैँले जान्नैपर्छ। तैँले यी कुराहरू परमेश्वरका अभिप्रायअनुरूप छन् कि छैनन्, र ती कसरी भ्रामक छन् भनेर हेर्न यिनलाई परमेश्वरको वचनअनुसार चिरफार गर्नैपर्छ। तैँले यी कुराहरू बुझेपछि, आफ्नो असामान्य समझको समस्या, अर्थात् तेरो असमझदारी र निर्दयी उत्पीडनको समस्या समाधान गर्नैपर्छ। यो तेरो भ्रष्ट स्वभावको समस्या मात्रै होइन, यसमा तेरो समझको कमी पनि समावेश छ। विशेष गरी, मानिसहरूको हितको सन्दर्भमा भन्नुपर्दा, आफ्ना हितहरूद्वारा नियन्त्रित मानिसहरूमा सामान्य समझ हुँदैन। यो एक मनोवैज्ञानिक समस्या हो, र यो मानिसहरूको कमजोरीको बिन्दु पनि हो। कतिपय मानिसहरूलाई तिनीहरूसँग निश्चित क्षमता र केही प्रतिभा छन् भन्ने लाग्छ, अनि तिनीहरू सधैँ अगुवा बन्न र अरूभन्दा अलग देखिन चाहन्छन्, त्यसकारण तिनीहरू परमेश्वरलाई मलाई प्रयोग गर्नुहोस् भनी अनुरोध गर्छन्। परमेश्वरले तिनीहरूलाई प्रयोग गर्नुभएन भने, तिनीहरू भन्छन्, “परमेश्वरले कसरी मलाई निगाह गर्न सक्नुभएन? हे परमेश्वर, यदि तपाईँले मलाई कुनै महत्त्वपूर्ण काममा प्रयोग गर्नुभयो भने, म प्रतिज्ञा गर्छु, म तपाईँमै समर्पित हुनेछु!” के यस्तो अभिप्राय सही हो? परमेश्वरमा समर्पित हुनु राम्रो कुरा हो, तर परमेश्वरका लागि समर्पित हुने तिनीहरूको इच्छापछाडि अभिप्रायहरू लुकेका हुन्छन्। तिनीहरूले प्रेम गर्ने कुरा त हैसियत हो, र तिनीहरू यसैमा ध्यान लगाउँछन्। जब मानिसहरू साँच्चै समर्पण गर्न समर्थ हुन्छन्, र परमेश्वरले तिनीहरूलाई प्रयोग गर्नुभए पनि नगर्नुभए पनि पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र आफूसँग हैसियत भए पनि नभए पनि परमेश्वरका लागि समर्पित हुन्छन्, तब मात्र तिनीहरूलाई समझ भएको र परमेश्वरप्रति समर्पणकारी बनेको मान्न सकिन्छ। मानिसहरूले परमेश्वरका लागि समर्पित हुन चाहनु राम्रो कुरा हो, र परमेश्वरले त्यस्ता मानिसहरूलाई प्रयोग गर्न चाहनुहुन्छ, तर तिनीहरू सत्यताले सुसज्जित छैनन् भने, परमेश्वरले तिनीहरूलाई कुनै पनि हालतमा प्रयोग गर्न सक्नुहुन्न। यदि मानिसहरू सत्यताप्रति लागिपर्न र सहकार्य गर्न इच्छुक हुन्छन् भने, त्यसमा तयारीको चरण हुनैपर्छ। मानिसहरूले सत्यता बुझेर परमेश्वरमा साँचो रूपले समर्पित भएपछि मात्रै, परमेश्वरले औपचारिक रूपमा तिनीहरूलाई प्रयोग गर्न सक्नुहुनेछ। यो प्रशिक्षण चरण अत्यावश्यक हुन्छ। आज अगुवा र सेवकहरू सबै यो प्रशिक्षण चरणमा हुन्छन्। तिनीहरूमा जीवन अनुभव भएपछि र तिनीहरू सिद्धान्तअनुसार मामिला सम्हाल्न सक्ने भएपछि, तिनीहरू परमेश्वरद्वारा प्रयोग गरिन योग्य बन्नेछन्।
मानिसको प्रकृतिमा भएका कुराहरू काटछाँट गर्न सकिने र त्यति गरे पुग्ने बाहिरी व्यवहार, अभ्यास वा सोच र विचारहरूजस्ता होइनन्; तिनलाई अलिअलि गर्दै खोतलेर निकाल्नैपर्छ। यसबाहेक, ती कुरा मानिसहरूले पहिचान गरे पनि, त्यसरी पहिचान गर्नु सजिलो हुँदैन, तिनलाई परिवर्तन गर्न सजिलो छैन—यसका लागि पर्याप्त गहन बुझाइ चाहिन्छ। हामी किन सधैँ मानिसको प्रकृतिलाई चिरफार गर्छौँ? के तिमीहरूले यसको अर्थ बुझेका छैनौ? मानिसको भ्रष्ट स्वभावको प्रकटीकरण कहाँबाट आउँछ? ती सबै तिनीहरूको प्रकृतिभित्रबाट आउँछन्, र ती सबै तिनीहरूको प्रकृतिद्वारा सञ्चालित हुन्छन्। मानिसको हरेक भ्रष्ट स्वभाव, हरेक सोच र विचार, हरेक अभिप्राय सबै नै मानिसको प्रकृतिसँग सम्बन्धित छन्। तसर्थ, मानिसको प्रकृतिलाई सिधै खोतलेर निकाली तिनीहरूको भ्रष्ट स्वभावलाई सजिलै हटाउन सकिन्छ। मानिसको प्रकृति बदल्न सजिलो नभए पनि, यदि तिनीहरूले आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई चिन्न र स्पष्ट देख्न सक्छन्, अनि ती हटाउन सत्यता खोजी गर्न सक्छन् भने, तिनीहरूले बिस्तारै आफ्नो स्वभाव परिवर्तन गर्न सक्छन्। व्यक्तिले आफ्नो जीवन स्वभावमा परिवर्तन गरेपछि तिनीहरूमा परमेश्वरको प्रतिरोध गर्ने कुराहरू झन्-झन् घट्दै जानेछन्। मानिसको स्वभाव चिरफार गर्नुको उद्देश्य तिनीहरूको स्वभाव परिवर्तन गर्नु हो। तिमीहरूले यो उद्देश्य बुझेका छैनौ, अनि केवल आफ्नो प्रकृति चिरफार गरेर र बुझेर परमेश्वरप्रति समर्पित हुन र आफ्नो समझलाई पुनर्स्थापित गर्न सकिन्छ भन्ने सोच्दछौ। तिमीहरू केवल अन्धाधुन्ध प्रावधानहरू लागू गर्छौ! किन म मानिसहरूको अहङ्कार र आत्म-धार्मिकतालाई मात्रै खुलासा गर्दिनँ? मैले किन तिनीहरूको भ्रष्ट स्वभाव पनि चिरफार गर्नैपर्छ? यदि मैले तिनीहरूको आत्म-धार्मिकता र अहङ्कारलाई मात्र खुलासा गरेँ भने समस्या समाधान हुनेछैन। तर यदि मैले तिनीहरूको प्रकृतिलाई चिरफार गरेँ भने, यसले समेट्ने पक्षहरू धेरै फराकिला हुन्छन्, र यसले सबै भ्रष्ट स्वभावलाई समावेश गर्छ। यो त आत्म-धार्मिकता, अहम् र अहङ्कारको सङ्कीर्ण दायराभन्दा बृहत् कुरा हो। प्रकृतिमा योभन्दा धेरै कुरा समावेश छन्। तसर्थ, यदि मानिसहरूले परमेश्वरसँग गर्ने विभिन्न मागमा अर्थात् तिनीहरूको अत्यधिक इच्छाहरूमा आफूले कति भ्रष्ट स्वभावहरू प्रकट गरिरहेका छन् भनेर मात्र ठम्याउन सकेमा असल हुनेथियो। मानिसहरूले आफ्नो प्रकृति सार बुझेपछि, आफूलाई घृणा र इन्कार गर्न सक्छन्; तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सजिलो हुनेछ, र तिनीहरूले मार्ग पाउनेछन्। अन्यथा, तिमीहरूले कहिल्यै मूल कारण पत्ता लगाउनेछैनौ, र यो त आत्मधार्मिकता, अहङ्कार, वा घमण्ड, वा अवफादार हुनु हो भनेर मात्र भन्नेछौ। के यस्ता सतही कुराबारे मात्रै कुरा गरेर तिमीहरूको समस्या समाधान हुन सक्छ? के मानिसको प्रकृतिबारे छलफल गर्नुको कुनै आवश्यकता छ? सुरुमा आदम र हव्वाको प्रकृति कस्तो थियो? तिनीहरूभित्र जानाजानी गरिने प्रतिरोध थिएन, झन् खुल्लमखुल्ला विश्वासघात गर्नु त परको कुरा थियो। परमेश्वरको प्रतिरोध गर्नु भनेको के हो भन्ने कुरा तिनीहरूलाई थाहा थिएन, झन् उहाँप्रति समर्पित हुनुको अर्थ थाहा हुनु त परै जाओस्। शैतानले फैलाएको जुनसुकै कुरा पनि तिनीहरूले हृदयमा स्वीकार गरे। अहिले शैतानले मानवजातिलाई यति हदसम्म भ्रष्ट बनाएको छ कि तिनीहरू सबै कुरामा परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न सक्छन्, र उहाँको विरोध गर्न सबै प्रकारका तरिकाहरूबारे सोच्न सक्छन्। मानिसको प्रकृति शैतानको जस्तै छ भन्ने स्पष्ट छ। किन म मानिसको प्रकृति शैतानको प्रकृति हो भनेर भन्छु? शैतान त्यो हो जसले परमेश्वरको प्रतिरोध गर्दछ, र मानिसहरूमा शैतानी प्रकृति हुने हुनाले तिनीहरू शैतानका हुन्। मानिसहरूले जानाजानी परमेश्वरको प्रतिरोध गर्ने कुराहरू नगर्लान्, तैपनि तिनीहरूको शैतानी स्वभावको कारण तिनीहरूका सबै विचारले परमेश्वरको प्रतिरोध गर्छन्। मानिसहरूले केही नगरे पनि परमेश्वरको प्रतिरोध गरिरहेका हुन्छन्, किनभने मानिसको भित्री सार परमेश्वरको प्रतिरोध गर्ने कुरामा परिवर्तन भएको छ। यसैले वर्तमान मानिस भर्खरै सृष्टि गरिएको मानिसभन्दा फरक छ। पहिले मानिसहरूभित्र प्रतिरोध वा विश्वासघात थिएन, तिनीहरू जीवन्त थिए र कुनै शैतानी प्रकृतिद्वारा सञ्चालित थिएनन्। यदि मानिसभित्र शैतानी प्रकृतिको आधिपत्य वा बाधा छैन भने, तिनीहरूले जे गरे पनि त्यसलाई परमेश्वरको प्रतिरोध मान्न सकिँदैन।
प्रकृति के हो? प्रकृति मानिसको सार हो। स्वभाव भनेको व्यक्तिको प्रकृतिबाट प्रकट हुने कुरा हो, र स्वभाव परिवर्तन हुनु भनेको व्यक्तिको भ्रष्ट स्वभावलाई शुद्ध पारी त्यसलाई सत्यताले प्रतिस्थापन गर्नु हो। त्यसकारण प्रकट हुने कुरा भ्रष्ट स्वभाव होइन, तर सामान्य मानवताको अभिव्यक्ति हो। शैतानले मानिसलाई भ्रष्ट तुल्याएपछि, मानिस शैतानको मूर्त रूप, र परमेश्वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिन पूर्ण रूपमा सक्षम शैतानी वस्तुको प्रकार बन्यो। किन परमेश्वर मानिसहरूले आफ्नो स्वभाव परिवर्तन गरून् भन्ने माग गर्नुहुन्छ? किनकि परमेश्वर मानिसहरूलाई सिद्ध बनाई प्राप्त गर्न चाहनुहुन्छ, अनि अन्ततः पूर्ण बनाइएका मानिसहरूमा परमेश्वरलाई चिन्ने थप वास्तविकता र सत्यताका सबै पक्षहरूको वास्तविकता हुन्छ। यस्ता मानिसहरू पूर्णतया परमेश्वरका अभिप्रायअनुसारका हुन्छन्। विगतमा, मानिसहरूमा भ्रष्ट स्वभाव थियो, र तिनीहरू कुनै कुरा गर्दा गल्ती गर्ने वा प्रतिरोध देखाउने गर्थे, तर अहिले मानिसहरू केही सत्यता बुझ्छन्, र परमेश्वरका अभिप्रायअनुरूप धेरै कुरा गर्न सक्छन्। तर, यसको अर्थ मानिसहरूले परमेश्वरलाई धोका दिँदैनन् भन्ने होइन। मानिसहरू अझै पनि यसो गर्न सक्छन्। तिनीहरूको प्रकृतिबाट प्रकट हुने कुराको हिस्सालाई परिवर्तन गर्न सकिन्छ, र परिवर्तन हुन सक्ने त्यो हिस्सामा मानिसहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन्। तर तैँले अहिले सत्यता अभ्यास गर्न सक्छस् भन्दैमा तेरो प्रकृति परिवर्तन भएको छ भन्ने होइन। यो त मानिसहरूले सधैँ परमेश्वरबारे धारणा राख्ने र उहाँसँग मागहरू गर्ने गरेजस्तै हो, र अहिले तिनीहरू धेरै सन्दर्भमा त्यसो गर्दैनन्—तर तिनीहरूले अझै पनि केही मामिलामा धारणाहरू राख्लान् वा मागहरू गर्लान्, र अझै पनि परमेश्वरलाई धोका दिन सक्छन्। तँ भन्लास्, “परमेश्वरले जे गर्नुहुन्छ, म त्यो मान्न सक्छु र धेरै मामिलामा गुनासो र माग नगरी समर्पित हुन सक्छु,” तर तँ अझै पनि केही मामिलामा परमेश्वरलाई धोका दिन सक्छस्। तैँले जानाजानी परमेश्वरको प्रतिरोध नगरे पनि, उहाँका अभिप्रायलाई नबुझ्दा, तँ अझै पनि उहाँका चाहनाविरुद्ध जान सक्छस्। त्यसोभए, परिवर्तन हुन सक्ने भागको अर्थ के हो? यसको अर्थ, जब तैँले परमेश्वरका अभिप्राय बुझ्छस्, तब समर्पित हुन सक्छस्, र जब सत्यता बुझ्छस्, तब त्यो अभ्यास गर्न सक्छस् भन्ने हो। यदि तँ सत्यता वा परमेश्वरका अभिप्रायलाई केही मामिलामा बुझ्दैनस् भने, तैँले अझै पनि भ्रष्टता प्रकट गर्ने सम्भावना हुन्छ। यदि तँ सत्यता बुझ्छस्, तर केही कुराको बन्धनमा परेकोले अभ्यास गर्दैनस् भने, यो विश्वासघात हो र यो तेरो प्रकृतिमा हुने कुरा हो। अवश्य नै, तेरो स्वभाव कति परिवर्तन हुन सक्छ भन्ने कुराको कुनै सीमा छैन। तैँले जति धेरै सत्यता प्राप्त गर्छस्, अर्थात् परमेश्वरबारे तेरो ज्ञान जति गहिरिन्छ, तैँले उहाँलाई त्यति नै कम प्रतिरोध गर्छस् र कम धोका दिन्छस्। व्यक्तिको स्वभाव परिवर्तन मुख्यतया सत्यता पछ्याएर मात्र गर्न सकिन्छ, अनि सत्यता बुझेर मात्र आफ्नो प्रकृति सारलाई बुझ्न सकिन्छ। जब व्यक्तिले साँचो रूपमा सत्यता प्राप्त गर्दछ, तब उसका सबै समस्या समाधान हुनेछन्।
हिउँद, १९९९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।