आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग (भाग दुई)

के तिमीहरूसँग स्वभाव परिवर्तन गर्ने मार्ग छ? के तिमीहरूलाई कस्ता कुराहरू परिवर्तन हुनेछन् भनेर थाहा छ? के तिमीहरू प्रायः सत्यताको यस पक्षमा सङ्गति गर्छौ? भर्खरै, हामीले कसरी स्वभाव परिवर्तनले बाहिरी व्यवहार वा आचरणमा, वा प्रावधानहरूमा हुने परिवर्तनलाई जनाउँदैन, न त व्यक्तिका व्यक्तित्वमा आउने परिवर्तनलाई नै जनाउँछ भन्‍नेबारे सङ्गति गऱ्यौँ। त्यसोभए, त्यो ठ्याक्कै के हो? के तिमीहरूले कहिल्यै यसबारे विचार गरेका छौ? पहिला, परमेश्‍वर हामीले कुन स्वभाव र कुराहरू परिवर्तन गरेको चाहनुहुन्छ भनेर हामीले पत्ता लगाउनैपर्छ र बुझ्नैपर्छ। स्वभाव परिवर्तन भनेको व्यवहार वा व्यक्तित्वमा हुने परिवर्तन होइन, झन् मानिस अझ बढी ज्ञानी वा विद्वान बन्‍ने परिवर्तन त हुँदै होइन; परमेश्‍वर आफ्नो वचनमार्फत् हर व्यक्तिको सोच र दृष्टिकोण परिवर्तन गर्न, र तिनीहरूलाई सत्यता बुझ्न सक्षम पार्न चाहनुहुन्छ, ताकि तिनीहरूले कामकुरालाई हेर्ने तरिकामा परिवर्तन गर्न सकून्। यो एउटा पक्ष मात्र हो, अर्को पक्ष भनेको मानिसहरूले आफूलाई कसरी व्यवहारमा ढाल्छन् भन्‍नेबारे आधारभूत सिद्धान्तहरू परिवर्तन गर्नु हो, जुन जीवनप्रति तिनीहरूका दृष्टिकोणमा हुने परिवर्तन हो; अझै अर्को पक्षचाहिँ मानिसहरूमा प्रकट हुने गहिरो जरा गाढेको शैतानी प्रकृति र स्वभावलाई परिवर्तन गर्नु हो। सामान्यतया, स्वभाव परिवर्तनमा यी तीन पक्ष पर्छन्।

सुरुमा स्वभाव परिवर्तनको पहिलो पक्ष अर्थात् मानिसहरूले कामकुरालाई हेर्ने तरिकाबारे छलफल गरौँ। मानिसको सोच र दृष्टिकोण त तिनीहरूले हर चीजलाई हेर्ने तरिका हुन्। मान्छे शैतानद्वारा यति गहिरोसँग भ्रष्ट तुल्याइएको छ कि यी सोच र विचारमध्ये धेरैवटा गलत र निरर्थक छन्, अनि परमेश्‍वर मानिसहरूलाई पहिला तिनीहरूले कामकुरा हेर्ने तरिकालाई परिवर्तन गरेर मुक्ति दिनुहुन्छ। एउटा सामान्य उदाहरण लिऊँ: ज्ञानबारे तिमीहरूको के बुझाइ छ? अनि विज्ञानबारे? के ज्ञान र विज्ञान सत्यता हुन्? के तिनले मानिसको भ्रष्ट स्वभाव हटाउन, र तिनीहरूलाई मानव स्वरूपमा जिउन सक्षम तुल्याउन सक्छन्? के तिनले मानिसलाई शैतानको प्रभावबाट बचाउन सक्छन्? के तिनले मानिसलाई परमेश्‍वर चिन्‍न र उहाँप्रति समर्पित हुन मद्दत गर्न सक्छन्? के तिनले मुक्तितर्फ र राम्रो गन्तव्य प्राप्त गर्नतर्फ डोऱ्याउन सक्छन्? निश्चय नै सक्दैनन्। व्यक्तिका जीवनमा ज्ञानको के काम छ? त्यसले तिनीहरूलाई के दिन सक्छ? कतिपय मानिस ज्ञान भनेको यस संसारको अमूल्य कुरा हो, र आफूसँग जति धेरै ज्ञान हुन्छ, आफ्नो हैसियत त्यति नै बढी र आफू त्यति नै राम्रो, त्यति नै विशिष्ट र सुसंस्कारी हुन्छ, त्यसैले ज्ञान नभई नहुने कुरा हो भन्ठान्छन्। कतिपय मानिस सोच्छन्, यदि तँ मेहनत गरेर पढ्छस् र ज्ञान बढाउँछस् भने तँसँग त्यो सबै हुनेछ। तँसँग हैसियत, पैसा, राम्रो जागिर र राम्रो भविष्य हुनेछ; तिनीहरू ज्ञानविना यस संसारमा जिउन असम्भव छ भन्‍ने विश्‍वास गर्छन्। यदि कुनै व्यक्तिसँग ज्ञान छैन भने, सबैले उसलाई हेय दृष्टिले हेर्छन्। उसलाई भेदभाव गरिनेछ, कोही पनि ऊसँग सङ्गत गर्न इच्छुक हुनेछैन; ज्ञानविनाका मानिसहरू समाजको सबैभन्दा तल्ला तप्कामा मात्र जिउन सक्छन्। त्यसकारण तिनीहरू ज्ञानको पूजा गर्छन्, र त्यसलाई अत्यन्तै उच्च र महत्त्वपूर्ण—सत्यताभन्दा पनि उच्च र महत्त्वपूर्ण ठान्छन्। कसैले यसो भन्लान्: “के म ज्ञानविना परमेश्‍वरका वचनहरू बुझ्न सक्छु? के उहाँले पनि ज्ञान र वचनहरूमार्फत् बोल्नुहुन्‍न र?” यी दुई निकै बेग्लै कुरा हुन्। अहिले मैले कुरा गरिरहेको ज्ञानले मानव इतिहास, भूगोल, राजनीति, साहित्य, आधुनिक विज्ञान र प्रविधि, वा निश्चित सीप र विषयहरू आदिलाई जनाउँछ। मानिसहरू यो सबै मानव सबलताको पाटो हो, र ज्ञान भएकाहरूमा सबथोक हुन्छन् र तिनीहरू यस संसारमा दृढ रहन सक्छन् भन्ठान्छन्, त्यसैले सबै जना ज्ञानलाई असाध्यै महत्त्वपूर्ण ठान्छन्। छोटकरीमा भन्‍नुपर्दा, तैँले त्यसलाई जसरी हेरे पनि, यो मानव सोच र दृष्टिकोणको एउटा पक्ष हो। एउटा प्राचीन भनाइ छ: “दश हजार पुस्तक पढ, दश हजार माइल यात्रा गर।” तर यसको अर्थचाहिँ के हो? यसको अर्थ तैँले जति बढी पढ्छस्, तँ उति नै ज्ञानी र समृद्ध हुनेछस् भन्‍ने हो। तँलाई सबै समूहका मानिसहरूले ठूलो सम्मान गर्नेछन् र तँसित हैसियत हुनेछ। सबैले हृदयमा यस्तै सोचहरू पाल्छन्। यदि कसैले आफ्नो दयनीय पारिवारिक हालतको कारण कलेज डिप्लोमा हासिल गर्न सकेन भने, त्यसका लागि जीवनभर अफसोस मान्‍नेछ, र ऊ आफ्ना छोराछोरी र नातिनातिनाले धेरै पढ्नुपर्छ, र विश्‍वविद्यालयको डिग्री लिनुपर्छ, वा विदेश गएर समेत अध्ययन गर्नुपर्छ भन्‍ने कुरामा सङ्कल्पित हुन्छ। यो त सबै जनामा हुने ज्ञानको प्यास, र तिनीहरूले त्यसबारे सोच्ने, त्यसलाई हेर्ने र सम्हाल्ने तरिका हो। त्यसकारण, धेरै आमाबुबा आफ्ना छोराछोरीको पालनपोषण गर्न कुनै कसर बाँकी राख्दैनन्, पारिवारिक सम्पत्ति र सबै थोकसमेत रित्याउँछन्, ताकि आफ्ना छोराछोरीले पढ्न पाऊन। अनि कतिपय आमाबुबा आफ्ना छोराछोरीलाई अनुशासनमा राख्न कुन हदसम्म जान्छन्? रातमा तीन घण्टा मात्र सुत्न दिन्छन्, निरन्तर अध्ययन गर्न र पढ्न बाध्य पार्छन्, वा तिनीहरूलाई प्राचीन मानिसहरूको नक्कल उतार्न लगाउँदै टुप्पी धुरीमा कसाउँछन्, बिलकुलै सुत्न दिँदैनन्। यस्ता कथाहरू, यी दुःखद घटनाहरू प्राचीन समयदेखि हालसम्म सधैँ भइरहेकै छन्, र ती कुरा मानवजातिले ज्ञानको तृष्णा र पूजा गर्नुका परिणाम हुन्। तिमीहरूलाई यी शब्दहरू नमिठो लाग्ला, किनकि तिमीहरूमाझ कतिपयमा प्रभावशाली ज्ञान र शैक्षिक योग्यता छन्। निश्चय नै, मैले तिमीहरू शिक्षित हुनु नराम्रो हो भनिरहेको छैनँ, बरु तिमीहरूले यस विषयलाई सही ढङ्गले लिनुपर्छ भनिरहेको छु। अर्थात्, अहिले तिमीहरूसँग शैतानी कुराहरू सम्हाल्ने सही तरिका, अनि तिनलाई बोध गर्ने र बुझ्ने सही तरिका हुनैपर्छ। म तिमीहरूलाई पढ्न निषेध गरिरहेको छैनँ, झन् आफ्ना छोराछोरीलाई डिग्री र राम्रो जागिर दिलाएर तिनीहरूको पालनपोषण गर्न रोक्नु त परै जाओस्। म यसो भनिरहेको छैनँ। म तिमीहरूलाई प्रतिबन्ध लगाइरहेको छैनँ। म केवल आफ्नो राय बताइरहेको छु र भ्रष्ट मानवजातिले ज्ञानलाई कुन हदसम्म श्रद्धा गर्छ भनेर खुलासा मात्र गरिरहेको छु। हालको तेरो ज्ञान जुन स्तरको भए पनि, वा तेरा डिग्री र शैक्षिक योग्यता जति उच्च भए पनि, अहिले म ज्ञानबारे मानवजातिको दृष्टिकोण र ज्ञानबारे मेरो दृष्टिकोणबारे कुरा गर्दै छु। के तिमीहरूलाई परमेश्‍वर ज्ञानबारे के सोच्नुहुन्छ भनेर थाहा छ? कसैले भन्ला, परमेश्‍वर मानवजातिका लागि विकसित विज्ञानको चाहना गर्नुहुन्छ, र मानवजातिले विज्ञानसम्बन्धी अझ धेरै ज्ञान बुझेको चाहनुहुन्छ, किनकि उहाँ मान्छे अति पिछडिएको, अज्ञानी र अबुझ बनेको चाहनुहुन्‍न। यो सही कुरा हो, तर परमेश्‍वर यी कुराहरू सेवा प्रदान गर्न प्रयोग गर्नुहुन्छ, र तिनलाई अनुमोदन गर्नुहुन्‍न। मान्छेका नजरमा यी कुराहरू जति गजबका भए पनि, ती न त सत्यता हुन् न सत्यताका प्रतिस्थापन नै हुन्, त्यसैले परमेश्‍वर मानिस र तिनीहरूको स्वभाव परिवर्तन गर्न सत्यता व्यक्त गर्नुहुन्छ। परमेश्‍वरको वचनले बेलाबेला कन्फ्युसियनवाद वा सामाजिक विज्ञानजस्ता ज्ञानलाई हेर्ने दृष्टिकोण वा तरिकाबारे उल्लेख गरे पनि, ती त यस्ता दृष्टिकोणका नमूना मात्र हुन्। हामीले परमेश्‍वरका वचनहरूको अर्थ बुझेर, उहाँ मानव ज्ञानलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा बुझ्नुपर्छ। मानव ज्ञानमा आधारभूत वाक्य र सामान्य धर्मसिद्धान्तहरू मात्र हुँदैनन्, केही सोच र दृष्टिकोण, साथै मानव निरर्थकता, पूर्वाग्रह, र शैतानी विषहरू पनि हुन्छन्। कतिपय ज्ञानले मानिसहरूलाई बहकाउन र भ्रष्ट तुल्याउनसमेत सक्छन्—त्यो शैतानको विष र ट्युमर हो, र कुनै व्यक्तिले यस ज्ञानलाई स्विकारेपछि र बुझेपछि, उसका हृदयमा शैतानको विष बढेर ट्युमर बन्‍नेछ। यो ट्युमर उसको पूरै शरीरभरि फैलिनेछ, परिणामस्वरूप यदि उसलाई परमेश्‍वरको वचनद्वारा चङ्गाइ गरिएन र सत्यताद्वारा निको पारिएन भने उसको निश्चय नै मृत्यु हुन्छ। त्यसैले, मानिसहरूले जति धेरै ज्ञान हासिल गर्छन्, जति धेरै बुझ्छन्, त्यति नै परमेश्‍वरका अस्तित्वमा विश्‍वास गर्ने सम्भावना कम हुन्छ। बरु, वास्तवमा तिनीहरूले उहाँलाई अस्वीकार र प्रतिरोध गर्नेछन्, किनकि ज्ञान भनेको तिनीहरूले देख्न र छुन सक्ने कुरा हो, र त्यो बढीजसो तिनीहरूको जीवनका कुराहरूसँग सम्बन्धित हुन्छ। मानिसहरूले विद्यालयमा अध्ययन गर्न र धेरै ज्ञान हासिल गर्न सक्छन्, तर तिनीहरूलाई ज्ञानको स्रोत र आत्मिक क्षेत्रसँग त्यसको सम्बन्धबारे थाहा हुँदैन। मानिसहरूले सिक्ने र बुझ्ने अधिकांश ज्ञान परमेश्‍वरका वचनहरूको सत्यताविपरीत हुन जान्छ, साथै, विशेष गरी दार्शनिक भौतिकवाद र क्रमविकास नास्तिकवादको झूटो शिक्षा र भ्रमअन्तर्गत पर्छन्। निस्सन्देह, त्यो त परमेश्‍वरको प्रतिरोध गर्ने भ्रमहरूको पोको हो। यदि तैँले इतिहासका पुस्तक, चर्चित लेखकका कृति, वा महान् व्यक्तिहरूका जीवनीहरू पढिस्, वा सायद निश्चित वैज्ञानिक वा प्राविधिक पक्षहरू अध्ययन गरिस् भने, के प्राप्त गर्नेछस्? उदाहरणका लागि, यदि तैँले भौतिकविज्ञान अध्ययन गरिस् भने तैँले केही भौतिक सिद्धान्त, न्युटनको सिद्धान्त वा अन्य धर्मसिद्धान्तहरूमा महारत हासिल गर्नेछस् तर यी कुराहरू सिकेर मनमा गढेपछि, तिनले तेरो मनमा कब्जा जमाउनेछन् र ती तेरो सोचाइमाथि हाबी हुनेछन्। त्यसपछि तैँले परमेश्‍वरको वचन पढ्दा यस्तो सोच्नेछस्: “परमेश्‍वर किन गुरुत्वाकर्षणबारे कुरा गर्नुहुन्‍न? बाहिरी अन्तरिक्षबारे किन छलफल गरिँदैन? किन परमेश्‍वर चन्द्रमामा वायुमण्डल छ-छैन, वा पृथ्वीमा कति अक्सिजन छ भनी कुरा गर्नुहुन्‍न? परमेश्‍वरले यी कुराहरू खोल्नुपर्छ, किनकि मानवजातिलाई साँच्चै थाहा दिनुपर्ने र भन्‍नुपर्ने कुराहरू ती नै हुन्।” यदि तैँले हृदयमा यस प्रकारका सोचहरू राख्छस् भने, सत्यता र परमेश्‍वरका वचनहरूलाई गौण ठान्‍नेछस्, बरु आफ्ना सबै ज्ञान र सिद्धान्तलाई प्राथमिकतामा राख्नेछस्। तैँले परमेश्‍वरको वचनलाई यसरी लिनेछस्। जसरी पनि, यी बौद्धिक कुराहरूले मानिसहरूलाई गलत विचार दिनेछन् र परमेश्‍वरबाट तर्काउनेछन्। तिमीहरूले यो कुरा विश्‍वास गरे पनि नगरे पनि, वा तिमीहरूले यसलाई आजै स्विकार्न सके पनि नसके पनि—तिमीहरूले यो तथ्य स्विकार्ने दिन आउनेछ। के तिमीहरू ज्ञानले कसरी मानिसहरूलाई विनाश, अर्थात् नरकतर्फ लैजान्छ भन्‍ने कुरा साँच्चै बुझ्छौ? कतिपय मानिस यो स्विकार्न इच्छुक नहोलान्, किनकि तिमीहरूमध्ये कतिपय अत्यन्तै शिक्षित र निकै ज्ञानी छौ। म तिमीहरूको खिल्ली उडाइरहेको वा तिमीहरूलाई व्यङ्ग्य हानिरेहको छैनँ, म त तथ्य मात्र बताइरहेको छु। म तिमीहरूलाई यो कुरा यहीँनेर अहिले नै स्विकार्नू भनिरहेको छैनँ, बरु यो पक्षलाई बिस्तारै बुझ्नू भनिरहेको छु। ज्ञानले तँलाई परमेश्‍वरले गर्ने हरेक कुरा विश्लेषण गर्न र सम्हाल्नका लागि आफ्नो दिमाग र बौद्धिकता प्रयोग गर्न लगाउँछ। यसले तँलाई परमेश्‍वर चिन्‍न र उहाँको काम अनुभव गर्न रोक्नेछ र बाधा दिनेछ, र तँलाई परमेश्‍वरबाट तर्काउनेछ र उहाँको प्रतिरोध गर्न लगाउनेछ। तर अब त तँसित ज्ञान छ, त्यसैले तँ के गर्छस्? तैँले व्यावहारिक ज्ञान र शैतानबाट आउने अनि झूटो शिक्षा र भ्रमसँग सम्बन्धित ज्ञानबीच फरक छुट्याउनुपर्छ। यदि तँ नास्तिकता, निरर्थक ज्ञान मात्र स्विकार्छस् भने, त्यसले परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा व्यवधान खडा गर्न, उहाँसँगको तेरो सामान्य सम्बन्ध र सत्यता स्वीकारमा बाधा पुर्‍याउन, अनि तेरो जीवन प्रवेशलाई रोक्न सक्छ। तैँले यो जान्‍नु आवश्यक छ, र यसो गर्नु सही हो। तिमीहरूले यो विषयलाई राम्रोसँग बुझ्नुपर्छ। कतिपय दाजुभाइ-दिदीबहिनी अत्यन्तै शिक्षित छन् भन्‍ने कुरा मलाई थाहा छ, र म तिमीहरूलाई आक्रमण गरिरहेको, खिल्ली उडाइरहेको, वा किनारा लगाइरहेको छैनँ। यो विषय आज अचानक उठ्यो, र यी त तिमीहरूलाई चेतावनी दिन थोरै वचनहरू मात्र हुन्, यो तिमीहरूमध्येका उच्च शैक्षिक योग्यता वा केही ज्ञान र संस्कार भएकाहरूलाई जानाजानी समस्यामा पार्नु होइन। यो तिमीहरूलाई नकारात्मक वा निराश बनाउनलाई होइन, त्यसको लक्ष्य यो बिलकुलै होइन। त्यसोभए, के तिमीहरू त्यसलाई राम्ररी बुझ्न सक्छौ? (हो, सक्छौँ।) यदि सक्छौ भने, म ढुक्क भएँ, र म अलि राहतको सास फेर्न सक्छु।

यति सङ्गति गरेपछि, अब तिमीहरू स्वभाव परिवर्तन गर्नु साधारण कुरा होइन भनेर बुझ्न सक्छौ। यो धर्मसिद्धान्तहरू बुझ्दैमा र प्रावधानहरू पालन गर्दैमा हासिल हुने कुरा होइन। तैँले पहिला आफूलाई बुझ्नैपर्छ, आफ्नो सोच र दृष्टिकोणबारे चिन्तन गर्न, अनि तीमध्ये परमेश्‍वरलाई अस्वीकार र प्रतिरोध गर्ने तेरो हृदयमा भएको सोच र दृष्टिकोण, साथै परमेश्‍वरले घृणा गर्ने र मन नपराउने कुराहरू पत्ता लगाउन सक्नैपर्छ। के तँसँग साँच्चै आफ्नो शैतानी प्रकृति वा प्रायः तैँले प्रकट गर्ने विभिन्‍न शैतानी स्वभावहरूबारे कुनै बुझाइ छ? के तँ तिनलाई साँच्चै चिरफार गर्न सक्छस्? भ्रष्ट मानवजाति सबैमा शैतानी स्वभावहरू हुन्छन्, र सबैमा गहिरो जरा गाढेर बसेका गलत सोच र विचारहरू हुन्छन्। हरव्यक्ति उस्तै हुन्छ, तिनीहरूमा सत्यताको प्रतिकूल र परमेश्‍वरको प्रतिरोधी केही भ्रष्टाचार हुन्छन्। सत्यतासँग त्यो पटक्कै मिल्दैन, र धेरैजसो मानिसले यो स्विकार्न सक्छन्। मैले भर्खरै मानव ज्ञानलाई कसरी बुझ्ने र किन म त्यो त्यति धेरै निरर्थक र गलत छ भनेर भन्छु भन्‍नेबारे कुरा गरेँ। यो सुन्दा तिमीहरूमध्ये कतिपयलाई असहज महसुस हुन सक्छ, मानौँ तिमीहरूका घाउमा छोइएको छ, तर त्यो भन्नै पर्थ्यो। तिमीहरूका धेरैजसो गलत दृष्टिकोण ज्ञानबाट आउँछन्, अनि यो मिथ्या ज्ञानले गलत सोच र दृष्टिकोणहरू पैदा गर्छ, जुन तिमीहरूका हृदयमा गहिरो जरा गाडेर बस्छन्। यदि तिमीहरूले यी पथभ्रष्ट दृष्टिकोणहरू हटाएनौ भने, तिमीहरूलाई सत्यता स्विकार्न कठिन हुनेछ, झन् त्यसलाई अभ्यास गर्नु त परै जाओस्। त्यसैले, मलाई आशा छ, तिमीहरू परमेश्‍वरको वचन र उहाँले व्यक्त गर्ने सम्पूर्ण सत्यता स्विकार्न सक्छौ। तँ अनिच्छुक भए पनि, तैँले त्यो सिक्नुपर्छ र स्विकार्ने कोसिस गर्नुपर्छ। यसरी, तिमीहरूको हृदय परमेश्‍वरको नजिक हुनेछ, र तिमीहरू उहाँको मापदण्डनजिक हुनेछौ। यदि तिमीहरू परमेश्‍वरको वचन यस तरिकाले व्यावहारिक रूपमा अनुभव गर्दैनौ, र सत्यता अभ्यास गर्दैनौ भने, परमेश्‍वरप्रतिको तिमीहरूको विश्‍वास सधैँ ओठे सेवा मात्र हुनेछ, र सत्यता वास्तविकताभित्र प्रवेश गर्न असम्भव हुनेछ। कुरा यस्तै नै होइन र? आज मैले ज्ञानबारे थोरै बोलेको छु, जसले गर्दा तिमीहरूलाई अलि अप्ठ्यारो लाग्यो होला। यदि तिमीहरूलाई असहज लाग्यो भने म क्षमाप्रार्थी छु, तर तिमीहरूले यी वास्तविकताहरू सामना गर्नैपर्छ किनकि ती पन्छाउन मिल्दैन। यदि तँ ती पन्छाउँछस् भने, आफ्नो सोच र दृष्टिकोणभित्रका कुन कुरा सही र कुन कुरा गलत हुन् भनेर कहिले चिन्‍न सक्नेछस्? तैँले चिन्‍न सक्दैनस्। तैँले एक दिन यी वास्तविकताहरू सामना गर्नुपर्नेछ; जस्तो कि गैरविश्‍वासीहरू भन्‍ने गर्छन: “कुरूप श्रीमती उफ्रँदै, फन्दामा आखिर सासूकै।” अब तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले, यदि तँ उहाँको सजाय र न्याय स्विकार्न चाहन्छस्, यदि तँ जीवन प्रवेश प्राप्त गर्न, स्वभाव परिवर्तन गर्न र मुक्ति प्राप्त गर्न चाहन्छस् भने, यी वास्तविकताहरू सामना गर्नुपर्छ, आफ्नो पाठ सिक्नुपर्छ, र केही यातना र कष्ट सहनुपर्छ। तँ हृदयमा परमेश्‍वरलाई प्रार्थना गर्न चाहन्छस् तर तँसित सही शब्दहरू नभएकाले तँ निःशब्द हुन्छस्, र अर्कोपटक आफूले यस्तो कुनै कुरा सामना गर्दा तँलाई फेरि केही दिनसम्म असहज हुनेछ र तँ फेरि पनि निःशब्द हुनेछस्, तर त्यसपछि त्यो सामना गर्दा, तैँले आफ्नो सोच र दृष्टिकोणमा परमेश्‍वरको प्रतिरोध गर्ने साँच्चै केही कुरा रहेछन् भनेर अनजानमै पत्ता लगाउँछस्; तैँले शिर हल्लाएर इमानदारी र गम्भीरतापूर्वक के स्विकार्न सक्नेछस् भने, परमेश्‍वरले भनेको सबथोक साँचो हो, त्यसमा कुनै झूट छैन, र परमेश्‍वरले नै मानवजातिलाई सबैभन्दा राम्ररी चिन्‍नुहुन्छ, र हरव्यक्तिको हृदयको कुरा उहाँले नै सबैभन्दा राम्ररी बुझ्नुहुन्छ। तँसित यस स्तरको अनुभव हुने दिन आउनेछ, र त्यसपछि तँ परमेश्‍वरप्रति विश्‍वासको सही मार्गमा, र आफ्नो जीवन स्वभाव परिवर्तन गर्ने सही मार्गमा हुनेछस्। त्यो बेला, तैँले परमेश्‍वरले भन्‍ने कुनै पनि वचनको खण्डन नगर्ने हुनाले, ती सुन्दा तँलाई असहज लाग्नेछैन, र परमेश्‍वरले खुलासा गर्ने हरेक तथ्यलाई कुनै वितृष्णाविना स्विकार्न सक्नेछस्, र तँ भाग्नेछैनस्। तैँले त्यसको राम्ररी सामना गर्नेछस्, र यसले तँ परमेश्‍वरका वचनमा प्रवेश गरिसकेको छस् भन्‍ने कुरा प्रमाणित गर्नेछ। आज हामीले सानो सुरुवात, सानो परीक्षण मात्र गरेका छौँ। तिमीहरूलाई अलि असहज, अलि अप्ठ्यारो लाग्यो होला, तर त्यसले केही फरक पर्दैन। मलाई आपत्ति छैन, र तिमीहरूलाई पनि आपत्ति छैन भन्‍ने आशा छ, किनकि परमेश्‍वरको न्यायका वचनहरू यीभन्दा कठोर छन्। यदि परमेश्‍वरले तिमीहरूलाई साँच्चै न्याय गर्न चाहनुभयो भने, उहाँका वचनहरू अझ बढी चरम हुनेछन्। के तिमीहरूलाई परमेश्‍वरले सामान्य मानवता नभएको, समझहीन, थाहा भएर पनि परमेश्‍वरलाई अस्वीकार, निन्दा र प्रतिरोध गर्ने भ्रष्ट व्यक्ति देख्नुहुँदा दयालु ढङ्गमा बोल्नुहुनेछ भन्‍ने लाग्छ? के मान्छेको खुलासा गर्दा परमेश्‍वरको मनोवृत्ति असल हुन सक्छ र? पक्कै सक्दैन। परमेश्‍वरका वचनहरू अवश्य नै निकै चरम, गहन, र सोझो अर्थमा हुनेछन्! यदि तिमीहरू आज हामीले सङ्गति गरेका केही तथ्य स्विकार्न सक्छौ भने, यसले परमेश्‍वरको वचन, सजाय र न्याय स्विकार्नमा तिमीहरूले राम्रो सुरुवात गरेका छौ भन्‍ने प्रमाणित गर्छ। यो पहिलो पक्षमा, हामीले सोच र विचारहरूको समस्याबारे एउटा सानो उदाहरणसहित कुरा गरेका छौँ, जुन तिमीहरू सबैलाई थाहै छ, र ज्ञानको विषयलाई विचार गऱ्यौँ। कतिपय मानिसलाई असहज होला भन्‍ने डरले यो विषयमा मैले खासै धेरै सङ्गति गरिनँ, त्यसैले, तिनीहरूको भावनालाई विचार गर्दै अपूरो तरिकाले र छोटकरीमा भए पनि थोरै मात्र कुरा गरेको छु। मलाई आशा छ, तिमीहरूले क्रमिक रूपमा आफ्नो अनुभवमार्फत त्यो थाहा पाउन, यस क्षेत्रमा बिस्तारै सत्यता खोज्न, र ज्ञानले मानिसलाई के दिन सक्छ भनी अनुभव गर्न सक्छौ। सायद हामी यस विषयबारे भविष्यमा थप सङ्गति गर्नेछौँ, र मलाई आशा छ त्यस बेला तिमीहरूलाई असहज अनुभूति हुनेछैन, र “के यो कुरा मेरा विरुद्धमा छ? के यो मतर्फ लक्षित छ?” भनेर सोच्नेछैनौ। ती कुनै पनि सोच वा विचार तँमा हुनेछैनन्। तर अहिलेलाई हामी पहिलो पक्षबारेको हाम्रो सङ्गतिलाई यहीँ टुङ्ग्याउनेछौँ।

अब हामी स्वभाव परिवर्तनको दोस्रो पक्ष—जीवनप्रतिको दृष्टिकोण—बारे सङ्गति गर्नेछौँ। तिमीहरूको दृष्टिकोण के हो? तिमीहरू कस्ता सिद्धान्तअनुसार जिउँछौ? के तिमीहरूमा कुनै बुझाइ छ? कुनै सिद्धान्तहरू छन्? के तँलाई कुनै आइडिया छ? अर्थात्, तँ कस्तो प्रकारको व्यक्ति बन्‍न चाहन्छस्? जीवनप्रति तेरो दृष्टिकोण, तेरो जीवनको दिशा के हो? (परमेश्‍वरले मन पराउने व्यक्ति बन्‍नु।) (बाँकी जीवनभर अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउनु।) (परमेश्‍वरलाई चिन्‍नु।) (आफ्नो भ्रष्ट स्वभाव फाल्नु र परमेश्‍वरद्वारा मुक्ति प्राप्त गर्नु।) तिमीहरूले भनेका सबै कुरा उत्कृष्ट छन्, र त्यसले के प्रमाणित गर्छ भने सत्यता पछ्याइमा तिमीहरू सबै हृदयबाटै कडा मेहनत गर्छौ र सत्यता हासिल गर्न परमेश्‍वरलाई पछ्याउन सङ्कल्पित हुन्छौ, र तिमीहरूमा आफ्नो आचारणका लागि सही लक्ष्य र दिशा छन्, जसले परमेश्‍वरप्रतिको आफ्ना विश्‍वासमा, तिमीहरूको हृदय खोक्रो छैन र तिमीहरू त्यतिकै समय खेर फालिरहेका छैनौ भन्‍ने देखाउँछ। यस अवधिमा तिमीहरूले केही प्रगति गरेका छौ, यो परिवर्तन हो; कम्तीमा पनि तिमीहरू गैरविश्‍वासीहरूले झैँ “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो” भन्‍नेछैनौ। यदि तिमीहरू अरू कसैले त्यस्ता कुराहरू भनेको सुन्यौ भने, तिनीहरूलाई मन पराउनेछैनौ, अनि तिरस्कार गर्नेछौ। तिमीहरू सत्यताभित्र जति नै भित्रसम्म प्रवेश गरेका भए पनि, तिमीहरूमा परमेश्‍वरलाई पछ्याउने इच्छा हुनुपर्छ। तिमीहरूलाई हृदयमा यो थाहा हुनुपर्छ, “परमेश्‍वरले हामीलाई उहाँको व्यवस्थापन योजनाको लक्ष्य र रहस्य, अनि मानवजातिलाई मुक्ति दिने उहाँको अभिप्राय खुलासा गरिसक्नुभएकाले, र हामीले उहाँको प्रतिज्ञा र आशिष् देखिसकेकाले, यदि हामी निष्क्रिय रह्यौँ र परमेश्‍वरका अभिप्रायलाई विचार गरेनौँ भने, उहाँलाई साँच्चै निराश तुल्याइरहेका हुनेछौँ र हामी उहाँप्रति अत्यन्तै ऋणी हुनेछौँ!” यस प्रकारको हृदय हुनुले तिमीहरूको आत्मा जागिसकेको र परिवर्तन हुन थालिसकेको छ भन्‍ने प्रमाणित गर्छ। जे भए पनि, आफ्नो कर्तव्य पूरा गर्ने तिमीहरूको प्रयासलाई हेर्दा, तिमीहरू सबै जना परमेश्‍वरले माग गर्ने दिशा र लक्ष्यहरूतर्फ कोसिस गरिरहेका छौ, र यो सही हो। पछ्याइबारे तिमीहरूका दृष्टिकोणहरूमा जेजस्ता भिन्‍नता भए पनि, ती सबै निकै व्यावहारिक छन् र काल्पनिक वा खोक्रा छैनन्। के तिमीहरूलाई हामीसँग परमेश्‍वरमा साँच्चै समर्पित हुने र उहाँको आराधना गर्ने व्यक्ति हुन खोज्ने दृष्टिकोण हुनुपर्छ भन्‍ने लाग्छ? के हामीसँग जीवनबारे त्यस्तो दृष्टिकोण हुनु पर्दैन र, जसमा अबउसो हामी परमेश्‍वरको प्रतिरोध गर्दैनौँ, उहाँलाई हामीप्रति घृणा र रिस गर्ने, निरन्तर रूपले क्रोधित हुने तुल्याउँदैनौँ, बरु परमेश्‍वरको हृदयलाई सान्त्वना दिन्छौँ र हामी अब्राहमजस्तै साँचो उपासक हुन्छौ? मानिसहरूमा हुनुपर्ने जीवनबारे दृष्टिकोण यही हो। जब जीवनबारे यस खालको दृष्टिकोण र यस प्रकारका सोचले तेरो हृदयमा जरा गाढेका हुन्छन्, र तँ यो दिशा पछ्याउँछस्, तब के सांसारिक धन, हैसियत, प्रसिद्धि, र लाभको प्रलोभन र लोभ्याइ कम हुनेछैनन् र? जब तँ थाहै नपाई यस दिशामा कडा मेहनत, अभ्यास र अनुभव गर्छस्, तब परमेश्‍वरका वचनहरू तेरो हृदयमा आफ्नो जीवनको आदर्श वाक्य, र आफ्नो अस्तित्वको जग बन्‍नेछन्; तँलाई थाहा नभई परमेश्‍वरका वचनहरू तेरो जीवन बन्‍नेछन्, तँभित्र तेरो जीवन मार्ग बन्‍नेछन्। त्यो बेला, के संसारको हरेक कुरा तेरा लागि महत्त्वहीन हुनेछैन र? त्यसकारण, जीवनबारे तेरो दृष्टिकोण के हो भन्‍ने कुरा पनि महत्त्वपूर्ण छ। तँ परमेश्‍वरप्रतिको आफ्ना विश्‍वासमा कुन दिशा पछ्याउँछस्? के त्यो सही दिशा हो? के त्यो सही मार्ग हो? तँ परमेश्‍वरको मापदण्डबाट कति टाढा छस्? यदि तँ परमेश्‍वरको मापदण्डका आधारमा पछ्याउँछस् भने, तँ सही दिशामै गइरहेको छस्। यदि तँ थोरै बहकिस्, वा थोरै कमजोर भइस्, वा तैँले केही असफलता भोगिस् भने पनि फरक पर्दैन; परमेश्‍वर त्यो सम्झनुहुन्‍न, र तेरो जीवन वृद्धि नभइन्जेल तँलाई सधैँ साथ दिनुहुनेछ। तँलाई परमेश्‍वरले कस्ता मानिसहरू मन पराउनुहुन्छ भन्‍ने लाग्छ? परमेश्‍वर सत्यता पछ्याउने, सङ्कल्पित र इमानदार मानिस मन पराउनुहुन्छ। उहाँ तेरो अज्ञानता, कमजोरी, वा बुद्धिको कमीले गर्दा चिन्तित हुनुहुन्‍न; तर यदि तँ सत्यता पछ्याउँदैनस्, वा सत्यता बुझ्छस् तर त्यसलाई अभ्यास गर्दैनस्, वा तँ उहाँको वचन नपढीकन आत्मविहीन जनावरझैँ, जीवनमा कुनै लक्ष्य वा दिशाविना जिउँछस् भने परमेश्‍वर यसलाई घृणा गर्नुहुन्छ—यदि तँसँग परमेश्‍वरमा विश्‍वास गर्ने यस्तो मनोवृत्ति छ भने उहाँ त्यसलाई घृणा गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरप्रतिको विश्‍वासमार्फत् स्वभाव परिवर्तन हासिल गर्न जीवनबारे गुणस्तरीय दृष्टिकोण एकदमै महत्त्वपूर्ण छ। कतिपय मानिस यसो भन्छन्: “जीवनमा मेरो लक्ष्य भनेको परमेश्‍वरका निम्ति एकदमै उपयोगी, उहाँको सेवा गर्न सक्ने व्यक्ति बन्‍नु हो।” के यो राम्रो पछ्याइ हो? यो राम्रो होला, तर मानव कद सीमित हुन्छ र मानिसका क्षमता र अवस्थाहरू फरक-फरक हुन्छन्, त्यसैले तैँले यो लक्ष्य पछ्याउनु सही हो, तर तेरा लागि यो उचित नहुन सक्छ। जीवनबारे मानिसहरूको दृष्टिकोण त सत्यता, मानवता, विवेक, र समझ भएको र परमेश्‍वरको आराधना गर्ने व्यक्ति अर्थात्, वास्तविक व्यक्ति बन्‍ने हुनुपर्छ। यो सबैभन्दा उचित पछ्याइ हो। कसैले यसो भन्ला: “के हामी अब वास्तविक मानिसहरू होइनौँ र?” बाहिरी रूपले त तँ नै होस्, किनकि तँसँग नाक र आँखा, अनि मानव रूप छ, तर तँ आफ्नो सारका आधारमा अझै वास्तविक व्यक्ति बनेको छैनस्। तँमा अझै धेरै कमी छन् र तँ एकदमै थोरै मात्र सत्यता बुझ्छस्। वास्तविक व्यक्ति, सत्यता र मानवता भएको, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने, उहाँको इच्छा पछ्याउने र उहाँको आराधना गर्ने व्यक्ति हुन तैँले सत्यता पछ्याएर प्राप्त गर्नैपर्छ। यो व्यक्तिगत अभ्यासको कुरा हो।

स्वभाव परिवर्तनको तेस्रो पक्ष भनेको व्यक्तिको शैतानी प्रकृति हो। हामीले यसलाई सबैभन्दा बढी बुझ्नैपर्छ र जान्नैपर्छ, किनकि यो स्वभाव परिवर्तनसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। शैतानी प्रकृति भनेको मानवजातिको भ्रष्ट स्वभाव र भ्रष्ट सार हो, अनि यस विषयमा परमेश्‍वरका धेरै वचन समेटिएका हुन्छन् जसले यस विषयलाई सबैभन्दा बढी खुलासा गर्छन्। यस पक्षबारे परमेश्‍वरका वचनहरू पनि सबैभन्दा सख्त, साथै धेरै शैलीका हुन्छन्: कतिपयले सिधै खुलासा र न्याय गर्छन् भने अरूचाहिँ अलि मिठो पाराले भनिएका हुन्छन् ताकि मानिसहरूले त्यो स्विकार्न सकून्। तर त्यसलाई जसरी भनिए पनि, वा जस्तो शैली वा लबज प्रयोग गरिए पनि, परमेश्‍वर मान्छेको सार नै खुलासा गर्नुहुन्छ भन्‍ने कुरा साँचो हो। परमेश्‍वर शैतानी प्रकृतिको सबैभन्दा ठेट पक्षलाई दुईवटा अध्यायमा खुलासा गर्नुहुन्छ। शैतानी प्रकृतिको ठेट सार के हो? के तिमीहरूलाई थाहा छ? (विश्‍वासघात गर्ने प्रकृति।) परमेश्‍वरका वचनहरूमा खुलासा भएका “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)” र “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)” भन्‍ने विश्‍वासघाती प्रकृति नै शैतानी प्रकृतिको ठेट प्रतिनिधित्व हो। मानिसहरूको आत्मधर्मीपन, अहङ्कार, र छलीपन, वा मानवजातिको दुष्टता र प्रतिरोधजस्ता अन्य पक्षहरू—यी सबैलाई हरेक अध्यायमा धेरथोर उल्लेख गरिएको छ, तर यी पक्षहरूको सत्यतालाई विशेष गरी विस्तृत व्याख्या गरिएको कुनै अध्याय छैन। “विश्‍वासघात” शीर्षकमा मात्र परमेश्‍वरले दुईवटा अध्यायभरि बोल्नुभएको छ। यसबाट हामी बुझ्न सक्छौँ, परमेश्‍वरका नजरमा, मानव विश्‍वासघात अत्यन्तै गम्भीर कुरा हो, त्यसले सिधै उहाँको स्वभावलाई चिढ्याउँछ, र उहाँ त्यसलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ र सराप्नुहुन्छ। परमेश्‍वरले कसरी मानव विश्‍वासघातको सारलाई चिरफार गर्नुहुन्छ र त्यसलाई कस्तो व्यवहार गर्नुहुन्छ? अवश्य पनि, परमेश्‍वर मानव विश्‍वासघात मन पराउनुहुन्‍न। उहाँ त्यसलाई घृणा र तिरस्कार गर्नुहुन्छ, र उहाँलाई विश्‍वासघात गर्नेहरूलाई घृणा गर्नुहुन्छ। विश्‍वासघात भनेको शैतानी प्रकृतिकै मूल रूप हो। मानव विश्‍वासघातको प्रकृतिको मूल कारण कहाँबाट आउँछ? त्यो शैतानबाट आउँछ। त्यसकारण, हामीले स्वभावको यो पक्ष बुझ्नैपर्छ। विश्‍वासघातको मूल कारण नै शैतान हो, शैतानको प्रकृति नै विश्‍वासघात हो, र मानिसहरूले कामकुराद्वारा प्रकट गर्ने स्वभावलाई परमेश्‍वर विश्‍वासघातका रूपमा हेर्नुहुन्छ। किन परमेश्‍वर यो कुरालाई त्यस्तो विस्तारमा छलफल गर्नुहुन्छ? किनभने मानव विश्‍वासघात जतिसुकै बेला जुनसुकै ठाउँमा निरन्तर हुन्छ, र व्यक्तिले जस्तो व्यवहार गरे पनि, मानव प्रकृतिमा गहिरो जरा गाढेको कुराले परमेश्‍वरको विरोध गर्छ। कतिपय मानिस यसो भन्छन्: “म परमेश्‍वरको विरोध वा प्रतिरोध गर्न चाहन्नँ!” तर तैँले त्यसै गर्नेछस्, किनकि तँभित्र विश्‍वासघाती प्रकृति छ, त्यसको मतलब तँ परमेश्‍वरप्रति समर्पित हुन, उहाँलाई अन्त्यसम्म पछ्याउन, र परमेश्‍वरको वचनलाई आफ्नो जीवनका रूपमा पूर्णतया स्विकार्न सक्दैनस्। तैँले विश्‍वासघातको समस्यालाई कसरी बुझ्नुपर्छ? तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति समय भए पनि, वा तैँले उहाँका जति धेरै वचनहरू खाएको र पिएको भए पनि, वा तँसँग उहाँबारे जति बुझाइ भए पनि—यदि तेरो प्रकृतिले परमेश्‍वरलाई विश्‍वासघात गर्छ, र तैँले उहाँको वचनलाई आफ्नो जीवनका रूपमा स्विकारेको छैनस्, अनि तँ उहाँका वचनहरूको सत्यताभित्र प्रवेश गरेको छैनस् भने, तेरो सारले सधैँभरि परमेश्‍वरलाई विश्‍वासघात गर्नेछ। भन्‍नुको मतलब, यदि तेरो स्वभाव परिवर्तन भएको छैन भने, तँ परमेश्‍वरलाई विश्‍वासघात गर्ने व्यक्ति होस्। कतिपय मानिस यसो भन्छन्: “म परमेश्‍वरको वचन र उहाँले भन्‍ने हरेक कुरा बुझ्न सक्छु। म ती स्विकार्न पनि इच्छुक छु भने मलाई कसरी परमेश्‍वरलाई विश्‍वासघात गर्ने व्यक्ति भन्‍न मिल्छ?” तँ स्विकार्न इच्छुक छस् भन्दैमा त्यसको अर्थ परमेश्‍वरको वचनअनुसार जिउन सक्छस् भन्‍ने होइन, झन् तँ तीद्वारा पूर्ण तुल्याइसकिएको हुनु त परको कुरा हो। मानवजातिको विश्‍वासघाती प्रकृतिको सत्यता गहन छ, र यदि तिमीहरू सत्यताको यो पक्ष बुझ्न चाहन्छौ भने, तिमीहरूलाई एक अवधिको अनुभव चाहिन सक्छ। परमेश्‍वरका नजरमा, उहाँलाई विश्‍वास गर्ने हर व्यक्तिले गर्ने हरेक कुरा सत्यताविपरीत हुन्छ, परमेश्‍वरको वचनसँग मिल्दैन, र उहाँविरोधी हुन्छ। तिमीहरू यो स्विकार्न नसकौला, र यसो भन्छौ: “हामी परमेश्‍वरको सेवा गर्छौँ, उहाँको आराधना गर्छौँ, परमेश्‍वरका घरमा आफ्नो कर्तव्य निभाउँछौँ। हामीले धेरै गरेका छौँ, सबै कुरा परमेश्‍वरको वचन र मापदण्डअनुसार अनि कार्य बन्दोबस्तबमोजिम नै गरेका छौँ। हामी परमेश्‍वरलाई प्रतिरोध र विश्‍वासघात गर्छौँ भनेर कसरी भन्‍न मिल्छ? तपाईं किन सधैँ हाम्रा उत्साहमा आघात पुऱ्याउनुहुन्छ? हामीले ठूलो कठिनाइका साथ आफ्नो परिवार र करियर त्याग्यौँ, र हामी परमेश्‍वरलाई पछ्याउन सङ्कल्पित थियौँ, तर तपाईं हाम्रा बारेमा कसरी यस्तो बोल्न सक्नुहुन्छ?” यसरी बोल्नुको उद्देश्य सबैले बुझेको सुनिश्चित गर्नलाई हो: कसैले राम्रो व्यवहार गर्दैमा, वा कुनै कुरा त्याग्दैमा, वा केही कठिनाइ भोग्दैमा उसको विश्‍वासघाती प्रकृति परिवर्तन हुँदैन। त्यस्तो हुँदै हुँदैन! आफ्नो कर्तव्य पूरा गर्नु जस्तै कष्ट भोग्नु पनि जरुरी छ, तर तैँले कष्ट भोग्न वा कर्तव्य पूरा गर्न सक्छस् भन्दैमा अब तँमा भ्रष्ट स्वभाव नै छैन भन्‍ने अर्थ लाग्दैन। किनभने कसैभित्र पनि जीवन स्वभावमा वास्तविक परिवर्तन भएको छैन, र हरव्यक्ति अझै पनि परमेश्‍वरका अभिप्राय र उहाँको मापदण्ड पूरा गर्नबाट कोसौँ टाढा छ। मानिसहरूको परमेश्‍वरप्रतिको विश्‍वास अति दूषित छ, तिनीहरूको भ्रष्ट स्वभाव अति धेरै प्रकट भएको छ। थुप्रै अगुवा र कामदारले परमेश्‍वरको सेवा गर्ने भए पनि, परमेश्‍वरको प्रतिरोध पनि गर्छन्। यसको अर्थ के हो? त्यसको अर्थ तिनीहरू जानाजानी परमेश्‍वरको वचनविरुद्ध जान्छन् र उहाँका चाहनाअनुसार अभ्यास गर्दैनन् भन्‍ने हो। तिनीहरू जानाजानी सत्यता उल्लङ्घन् गर्छन्, आफ्नै इच्छाअनुसार कार्य गर्न, आफ्नै अभिप्राय र उद्देश्य पूरा गर्न, परमेश्‍वरलाई विश्‍वासघात गर्न र आफ्नो निर्णय चल्ने आफ्नै स्वतन्त्र राज्य खडा गर्न जिद्दी गर्छन्। परमेश्‍वरको सेवा पनि गर्नु उहाँको प्रतिरोध पनि गर्नु भनेको यही हो। के अब तिमीहरूले बुझ्यौ?

अब “विश्‍वासघात” बारे सङ्गति नगरौँ। अझै पनि एउटा ठूलो समस्या छ, जुन शैतानी प्रकृतिको विशेषता अर्थात् अहङ्कार र अभिमान हो। मानवजातिको अहङ्कार जताततै प्रकट हुन्छ र देखिन्छ, र तिनीहरूले चाहेर पनि त्यसलाई नियन्त्रण गर्न सक्दैनन्। त्यो बारम्बार प्रकट र विस्फोट हुन्छ, र मानिसहरू त्यसमा केही गर्न सक्दैनन्। त्यो विस्फोट भएपछि, तिनीहरूले अफसोस मान्‍नेछन्, र अफसोस मानेपछि फेरि त्यस्तो कहिल्यै हुन नदिने, त्यो फेरि कहिल्यै प्रकट नगर्ने दृढ सङ्कल्प गर्नेछन्, तर त्यसलाई अझै नियन्त्रण गर्न सक्नेछैनन्। यस्तो किन हुन्छ? किनभने मानिसहरूको स्वभाव परिवर्तन भएको हुँदैन, र तिनीहरूको भ्रष्ट स्वभाव अझै यथावत हुन्छ। यो कहिल्यै तिनीहरूबाट स्वतः हराउनेछैन, र केही आइपर्दा तिनीहरूको भ्रष्ट स्वभाव स्वाभाविक रूपमा प्रकट हुनेछ। यो सब मानवजातिको अहङ्कारी र अभिमानी स्वभावले गर्दा हुन्छ। जब तँ अझ बढी सत्यता बुझ्छस्, त्यसलाई अभ्यास गर्न र सत्यता सिद्धान्तहरू बुझ्न सक्छस्, र जब सत्यताबारे तेरो बुझाइ झन्-झन् व्यावहारिक हुन्छ, र तँसित परमेश्‍वरबारे ज्ञान हुन्छ र तँ उहाँका मापदण्डनजिक हुन्छस्, जब कामकुराबारे तेरो दृष्टिकोण परिवर्तित भएको हुन्छ—तब तेरो अहङ्कारी स्वभाव क्रमिक रूपमा कम हुँदै जानेछ, बिस्तारै हराउनेछ, र तेरो जीवन स्वभाव परिवर्तन हुन थाल्नेछ। त्यो बेला, तेरो विश्‍वासघातको समस्या पूर्ण रूपले हल भएको मान्‍न सकिन्छ, र त्यसपछि मात्र तँ साँच्चै मुक्ति प्राप्त गरेको व्यक्ति हुनेछस्।

शरद्, २००७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्