परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध राख्‍न सकिन्छ (भाग दुई)

के तिमीहरूले अय्युबको किताब पढेका छौ? पढ्दै गर्दा, के तिमीहरू उत्प्रेरित भयौ? के तिमीहरूले अय्युबजस्तै बन्‍न इच्छा जगाउने एक प्रकारको तृष्णा अनुभव गऱ्यौ? (गऱ्यौँ।) यस्तो स्थिति र मुड कति समयसम्म टिक्न सक्छ? एक-दुई दिन, वा एक-दुई महिना, वा एक-दुई वर्ष? (दुई-तीन दिन।) त्यसोभए के यस्तो स्थिति र मुड दुई-तीन दिनपछि हराउँछ? तैँले उत्प्रेरित हुँदा प्रार्थना गर्नैपर्छ, र परमेश्‍वरलाई तँ अय्युबजस्तै बन्‍न चाहन्छस्, सत्यता बुझ्न, परमेश्‍वरबारे ज्ञान प्राप्त गर्न अनि परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्‍न चाहन्छस् भनेर बताउनैपर्छ। तैँले परमेश्‍वरलाई आफूमा यो हुन दिन, मार्गदर्शन माग्‍न, आफ्ना लागि सही वातावरण प्रदान गरिमाग्‍न, शक्ति र सुरक्षा माग्‍न बिन्ती गर्नैपर्छ ताकि तैँले सामना गर्ने हरेक परिस्थितिमा तँ दृढ रहन र परमेश्‍वरको विरोध नगर्न सकेस्, बरु परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने कार्यहरू गर्न र उहाँका अभिप्रायहरू पूरा गर्न सकेस्। तैँले यही लक्ष्यका निम्ति र आफूले पाउने आशा गरेका कुराहरूका निम्ति सधैँ परमेश्‍वरलाई प्रार्थना र अन्तरबिन्ती चढा र जब परमेश्‍वरले तेरो सच्चा हृदय देख्नुहुन्छ, तब उहाँले कार्य गर्नुहुनेछ। परमेश्‍वरले कार्य गर्नुहुँदा नडरा। परमेश्‍वरले अय्युबको परीक्षा लिनुहुँदा जस्तो तेरो शरीर खटिराले भरिदिने र तँसँग भएका सबै थोक खोसिदिने पक्कै गर्नुहुन्‍न। परमेश्‍वरले त्यसो गर्नुहुनेछैन; उहाँले तेरो कदअनुसार तँलाई बिस्तारै थप कुरा दिँदै जानुहुनेछ। तैँले गम्भीरतासाथ परमेश्‍वरलाई पुकार्नैपर्छ—अय्यूबको किताब पढेपछि दुई दिनसम्म र आफू त्यसबाट उत्प्रेरित हुइन्जेलसम्म मात्र परमेश्‍वरलाई पुकार्ने, अनि तेस्रो दिनदेखि पढ्न छोडेपछि त्यसबारे बिर्सने र त्यसलाई आफ्नो हृदयमा नराख्ने नगर्। यदि त्यसो गरिस् भने त्यसले तँमाथि समस्या निम्त्याउँछ! यदि तँ अय्युबजस्तो मानिसलाई सराहना गर्छस् र त्यस्तो व्यक्ति बन्‍न चाहन्छस् भने तँसँग त्यस्तो व्यक्ति बन्‍ने मार्ग हुनैपर्छ। तैँले परमेश्‍वरसामु आफ्नो हृदय पोखाएर यसका लागि बारम्बार प्रार्थना गर्नैपर्छ, अनि यसबारे चिन्तन गर्नैपर्छ, र त्यसपछि परमेश्‍वरले अय्युबबारे बोलेका वचनहरू खानु र पिउनुपर्छ, तिनलाई लगातार र बारम्बार मनन गर्नुपर्छ, र त्यसपछि यस्तो किसिमको अनुभव र ज्ञान भएका व्यक्तिहरूसँग सङ्गति गर्नैपर्छ। तैँले यस लक्ष्यतर्फ मेहनत गर्नैपर्छ। तैँले कसरी मेहनत गर्नुपर्छ? यदि तँ बसेर हेर्ने र पर्खने मात्र गर्छस् भने त्यो कडा मेहनत होइन। तैँले यो अभ्यास गर्ने, यसमा प्रयास लगाउने, साथै कष्ट सहने सङ्कल्प राख्ने र हृदयमा तृष्णा जगाउने र त्यसपछि यसका लागि परमेश्‍वरलाई कार्य गर्न अनुरोध गर्दै प्रार्थना चढाउने गर्नैपर्छ। यदि परमेश्‍वरले कार्य गर्नुभएन भने मानिसमा जतिसुकै जोस भए पनि यो केही कामको हुनेछैन। परमेश्‍वरले कसरी कार्य गर्नुहुनेछ? परमेश्‍वरले तेरो कदलाई सुहाउने गरी तेरा निम्ति वातावरणको योजना र बन्दोबस्त गर्न थाल्नुहुनेछ। तँ आफ्नो विश्‍वासमा के लक्ष्य हासिल गर्न चाहन्छस् र तँसँग कस्ता सङ्कल्पहरू छन् भनेर परमेश्‍वरलाई बताउनैपर्छ। के तैँले यसका लागि परमेश्‍वरलाई प्रार्थना र अन्तरबिन्ती गरेको छस्? तैँले परमेश्‍वरलाई प्रार्थना र अन्तरबिन्ती गरेको कति भयो? यदि तँ आकलझुकल मात्र प्रार्थना गर्ने गर्छस् र परमेश्‍वरले कार्य नगर्नुभएको देख्दा, सो “भइहाल्यो, यस्तै भइरहोस्। जे हुन्छ हुन्छ, म त जस्तो मादल बज्छ त्यही तालमा नाच्छु। मलाई जे आइपरे पनि मतलब गर्दिनँ” भनेर सोच्छस् भने, त्यो उचित होइन, र तँ इमानदार हुँदैनस्। यदि तँसँग केवल दुई मिनेटको उत्साह छ भने के परमेश्‍वरले तेरा लागि कार्य गर्न र तेरा लागि वातावरणको बन्दोबस्त मिलाउन सहयोग गर्न सक्नुहुन्छ? परमेश्‍वरले त्यसो गर्नुहुनेछैन! परमेश्‍वर तेरो इमानदारी हेर्न, तेरो इमानदारी र दृढता कतिन्जेल कायम रहन सक्छ, र तेरो हृदय साँचो छ कि झूटो छ भनी हेर्न चाहनुहुन्छ। परमेश्‍वरले प्रतीक्षा गर्नुहुनेछ। उहाँ तेरा प्रार्थना र अन्तरबिन्ती सुन्‍नुहुन्छ, उहाँ तैँले उहाँलाई बताउने सङ्कल्प र चाहनाहरू सुन्‍नुहुन्छ, तर जबसम्म उहाँले तेरो कष्ट सहने सङ्कल्प देख्नुहुन्‍न, तबसम्म कार्य गर्नुहुनेछैन। यदि तैँले परमेश्‍वरलाई प्रार्थना गरिसकेपछि केही नगरी बिलाइस् भने के परमेश्‍वरले यस्ता परिस्थितिमा कार्य गर्नुहुन्छ? पक्कै गर्नुहुन्‍न। तैँले परमेश्‍वरलाई अझ बढी प्रार्थना र अन्तरबिन्ती गर्नैपर्छ, त्यसमा प्रयास लगाउने र चिन्तन गर्ने, अनि त्यसपछि परमेश्‍वरले तेरा लागि तयार पारेको वातावरणको खुब स्वाद लिने गर्नैपर्छ; ती कुरा तँमाथि अलिअलि गर्दै आउनेछन्, र परमेश्‍वरले कार्य गर्न थाल्नुहुनेछ। यदि तेरो हृदय सच्चा छैन भने यसले काम गर्नेछैन। तैँले भन्लास्, “म अय्युबको निकै सराहना गर्छु र पत्रुसको निकै सराहना गर्छु!” तर तेरो सह्रनीको के काम? तँ उनीहरूको मन लागेसम्म सराहना गर्न सक्छस्, तर तँ उनीहरू होइनस्, र तेरो सह्रनीले परमेश्‍वरलाई उनीहरूमाथि जस्तो काम गर्न लगाउनेछैन, किनकि तँ उनीहरूजस्तो व्यक्ति होइनस्। तँमा उनीहरूको सङ्कल्प, वा मानवता, वा हृदय छैन जसद्वारा उनीहरूले सत्यताको तृष्णा गरे र त्यसलाई पछ्याए। तँसँग यी कुरा भइसकेपछि मात्र परमेश्‍वरले तँलाई थप कुरा प्रदान गर्नुहुनेछ।

के तिमीहरूसँग अहिले सत्यता पछ्याउने, सत्यता प्राप्त गर्ने, मुक्ति प्राप्त गर्ने र परमेश्‍वरद्वारा सिद्ध पारिने सङ्कल्प छ? (छ।) तिमीहरूको सङ्कल्प कति ठूलो छ? तिमीहरूले कतिन्जेल त्यसलाई कायम राख्न सक्छौ? (म राम्रो स्थितिमा हुँदा मसँग सङ्कल्प हुन्छ, तर जब म आफ्ना धारणाहरू र देहगत रूचिहरूसँग नमिल्ने कुराहरू सामना गर्दछु, वा जब म केही शोधनबाट गुज्रन्छु वा केही कठिनाइ भोग्छु, तब म नकारात्मक स्थितिमा फँस्छु, र मसँग सुरुमा भएको विश्‍वास र सङ्कल्प अलिअलि गर्दै हराउन थाल्छन्।) यो उचित हुनेछैन। तँ अत्यन्तै कमजोर छस्। तँ यस्ता ठाउँमा पुग्‍नैपर्छ जहाँ तँलाई जस्तोसुकै परिस्थितिहरू आइपरे पनि, तेरो सङ्कल्‍प परिवर्तन गर्न नसकियोस्। तब मात्रै तँ सत्यतालाई साँच्चै प्रेम गर्ने र पछ्याउने व्यक्ति बन्‍नेछस्। तँलाई केही आइपर्दा र तैँले अलिकति कठिनाइ भोग्दा, यदि तँ पछि हट्छस्, नकारात्मक बन्छस् र उदास हुन्छस्, अनि आफ्नो सङ्कल्प त्याग्छस् भने, यो उचित हुनेछैन। तँमा आफ्‍नो ज्यान जोखिममा हाल्ने सङ्कल्प हुनैपर्छ र तैँले यसो भन्‍नैपर्छ, “चाहे जेसुकै होस्—त्यसका लागि म मर्न परे पनि, म सत्यतालाई वा सत्यता पछ्याउने मेरो उद्देश्यलाई त्याग्‍नेछैनँ।” त्यसपछि कुनै कठिनाइले तँलाई रोक्‍न सक्‍नेछैन। यदि तँलाई साँच्चै कठिनाइ आइपऱ्यो र तँ अप्ठ्यारा परिस्थितिमा परिस् भने, परमेश्‍वरले कार्य गर्नुहुनेछ। त्यसबाहेक, तैँले यो कुरा बुझ्नैपर्छ: “मैले जे सामना गरे पनि, ती सबै मैले मेरो सत्यता पछ्याइमा सिक्नैपर्ने पाठ हुन्—ती परमेश्‍वरद्वारा बन्दोबस्त गरिएका हुन्। म कमजोर हुन सकुँला, तर म नकारात्मक छैनँ, र यी पाठहरू सिक्ने मौका दिनुभएकामा म परमेश्‍वरप्रति आभारी छु। मेरा लागि यो अवस्था तयार पारिदिनुभएकोमा म परमेश्‍वरप्रति कृतज्ञ छु। म परमेश्‍वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने आफ्नो सङ्कल्प त्याग्‍न सक्दिनँ। यदि मैले त्यो त्यागेको भए, त्यो शैतानसामु हार मान्‍नु, आफूलाई बरबाद गर्नु, र परमेश्‍वरलाई धोका दिनु समान हुन्थ्यो।” तँसँग हुनैपर्ने सङ्कल्प यस्तै हो। तैँले जुनसुकै ससाना मामिलाहरू सामना गरे पनि, ती सब तेरो जीवन विकासका ससाना भाग हुन्। तैँले ती मामिलालाई आफ्नो प्रगतिको दिशा रोक्न पटक्कै दिनु हुँदैन। तैँले कठिनाइ सामना गर्दा खोज्ने र पर्खने गर्न सक्छस्, तर तेरो प्रगतिको दिशा भने परिवर्तन हुनै हुँदैन, के त्यो सही होइन र? (हो।) अरूले जे भने पनि, वा तँलाई जस्तो व्यवहार गरे पनि, वा परमेश्‍वरले तँलाई जस्तो व्यवहार गर्नुभए पनि, तेरो सङ्कल्प परिवर्तन हुँदै हुँदैन। यदि परमेश्‍वर “तँ कत्ति पनि सत्यता स्वीकार गर्दैनस्, म तँलाई घृणा गर्छु” भन्‍नुहुन्छ र तँचाहिँ “परमेश्‍वर मलाई घृणा गर्नुहुन्छ, त्यसैले मेरो जीवनको के अर्थ छ र? म मरे त कुरै सिद्धिहाल्यो!” भन्छस् भने, तैँले परमेश्‍वरलाई गलत बुझिरहेको हुनेछस्। यो साँचो हो, परमेश्‍वर तँलाई घृणा गर्नुहुन्छ, तर तैँले सङ्घर्ष गर्नुपर्छ, र तैँले सत्यता स्विकार्नुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। त्यसपछि तँ निकम्मा व्यक्ति हुनेछैनस् र परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेछैन। अहिले, तिमीहरूको कद अझै पनि निकै सानो छ र तिमीहरूले परमेश्‍वरले तिमीहरूलाई जाँच्न चाहिने मापदण्ड हासिल गरिसकेका छैनौ। तिमीहरूले गर्न सक्ने एकमात्र कुरा के हो? तिमीहरूले प्रार्थना गर्नैपर्छ: “हे परमेश्‍वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् र मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि म तपाईंका अभिप्रायहरू बुझूँ, अनि सत्यता पछ्याउने मार्गमा हिँड्न विश्‍वास र दृढता पाऊँ, र म परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सकूँ। म कमजोर र मेरो कद अपरिपक्व भए पनि, बिन्ती छ, मलाई शक्ति दिनुहोस् र मेरो सुरक्षा गर्नुहोस् ताकि म तपाईंलाई अन्त्यसम्म पछ्याउन सकूँ।” तँ प्रार्थना गर्न परमेश्‍वरसामु प्रायः आउनैपर्छ। अरू मानिसहरू सांसारिक कुराहरूको लालसा गर्लान्, आफ्नो देहमा लिप्त होलान्, र सांसारिक प्रवृत्ति अपनाउलान्, तर तैँले तिनीहरूको पटक्कै सङ्गत गर्नु हुँदैन—केवल आफ्नो कर्तव्य पूरा गर्न ध्यान दिनुपर्छ। अरूलाई नकारात्मक महसुस हुँदा र तिनीहरूले आफ्नो कर्तव्य पूरा नगर्दा, तैँले बन्धनमा परेको महसुस पटक्कै गर्नु हुँदैन, र तैँले तिनीहरूलाई सहयोग गर्न सत्यता खोजी गर्नुपर्छ। अरू ऐसआराममा लिप्त हुँदा, तैँले तिनीहरूको ईर्ष्या गर्नै हुँदैन, तैँले परमेश्‍वरसामु जिउनेबारे मात्र चिन्ता गर्नैपर्छ। अरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउँदा तैँले तिनीहरूका लागि प्रार्थना गर्नुपर्छ र तिनीहरूलाई सहयोग गर्नुपर्छ, परमेश्‍वरसामु आफ्नो हृदय शान्त बनाउनुपर्छ र यी कुराहरूलाई आफूमाथि प्रभाव पार्न दिनु हुँदैन। तेरो वरपर जे घटना घटे पनि, तैँले सबै कुराबारे परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। तैँले सधैँ सत्यता खोजी गर्नुपर्छ, आफूलाई संयमित राख्नुपर्छ, आफू परमेश्‍वरसामु जिइरहेको छु, र परमेश्‍वरसँग आफ्नो सामान्य सम्बन्ध छ भनेर सुनिश्चित गर्नुपर्छ। परमेश्‍वर हरसमय मानिसहरूलाई छानबिन गर्नुहुन्छ, र पवित्र आत्माले यस्ता मानिसहरूभित्र काम गर्नुहुन्छ। परमेश्‍वरले कसरी कुनै व्यक्तिको हृदय छानबिन गर्नुहुन्छ? उहाँ आफ्‍नो आँखाले मात्र हेर्नुहुन्‍न, उहाँ तेरा लागि वातावरण बनाउनुहुन्छ र तेरो हृदय आफ्नो हातले छुनुहुन्छ। म किन यो भन्छु? किनकी जब परमेश्‍वर तेरा लागि वातावरण बनाउनुहुन्छ, तब उहाँ तँ त्यसप्रति अप्रसन्‍न छस् र त्यसलाई घिनाउँछस् वा त्यसलाई मन पराउँछस् र त्यसप्रति समर्पित हुन्छस्, तँ निष्क्रिय भएर पर्खिन्छस् कि सक्रिय रूपमा सत्यता खोजी गर्छस् भनेर हेर्नुहुन्छ। परमेश्‍वरले तेरो हृदय र विचार कसरी परिवर्तन हुन्छन्, र ती कुन दिशामा विकास हुन्छन् त्यो हेर्नुहुन्छ। तेरो हृदयभित्रको स्थिति कहिलेकाहीँ सकारात्मक र कहिलेकाहीँ नकारात्मक हुन्छ। यदि तैँले सत्यता स्वीकार गर्न सक्छस् भने, परमेश्‍वरले तेरा लागि मिलाउने मानिस, घटना अनि कामकुरा र विभिन्‍न वातावरणलाई उहाँबाट स्विकार्न सक्नेछस् र तिनलाई सही तरिकामा सम्हाल्न सक्नेछस्। परमेश्‍वरका वचनहरू पढेर, र मनन गरेर, तेरा सबै सोच र विचार, तेरा सबै राय, अनि तेरा सबै मुड परमेश्‍वरको वचनका आधारमा परिवर्तन हुनेछन्। तँ यसबारे स्पष्ट हुनेछस्, र परमेश्‍वरले पनि यी सबैको छानबिन गर्नुहुनेछ। तैँले यसबारे कसैलाई नबताएको हुने भए पनि, वा यसबारे प्रार्थना नगरेको हुने भए पनि अनि तैँले यो आफ्ना हृदयमा र आफ्ना संसारमा मात्र सोच्ने भए पनि, परमेश्‍वरको दृष्टिकोणबाट यो एकदमै स्पष्ट भएको हुनेछ—उहाँलाई यो स्पष्ट हुनेछ। मानिसहरूले तँलाई आफ्‍ना आँखाले हेर्छन्, तर परमेश्‍वरले आफ्‍नो हृदयले तेरो हृदयलाई छुनुहुन्छ, परमेश्‍वर तँसँग त्यति धेरै नजिक हुनुहुन्छ। यदि तँ परमेश्‍वरको छानबिन महसुस गर्न सक्छस् भने, तँ परमेश्‍वरसामु जिइरहेको छस्। यदि तँ उहाँको छानबिन पटक्कै महसुस गर्न सक्दैनस् भने, तँ आफ्‍नै संसारमा जिइरहेको छस्, र तँ आफ्ना भावना र भ्रष्ट स्वभावअनुसार जिइरहेको छस्, अनि तँ समस्यामा छस्। यदि तँ परमेश्‍वरसामु जिउँदैनस्, तँ र परमेश्‍वरबीच लामो दूरी छ, अनि तँ उहाँबाट टाढा छस्, परमेश्‍वरका अभिप्रायहरूलाई पटक्कै ख्याल गर्दैनस्, र परमेश्‍वरको छानबिनलाई स्वीकार गर्दैनस् भने, परमेश्‍वरलाई यो सब थाहा हुनेछ। उहाँलाई यो बुझ्न एकदमै सजिलो हुनेछ। तसर्थ, जब तँमा सङ्कल्प र उद्देश्य हुन्छ, र तँ परमेश्‍वरद्वारा सिद्ध पारिन, उहाँको इच्छा पालन गर्ने, उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति बन्‍न इच्छुक हुन्छस्, जब तँमा यो सङ्कल्प हुन्छ अनि यी कुराका लागि अक्सर प्रार्थना र अन्तरबिन्ती गर्न सक्छस् र परमेश्‍वरसामु जिउँछस्, उहाँबाट कहिल्यै टाढिँदैनस् वा उहाँलाई छोडेर जाँदैनस्, तब तँलाई यी कुराहरूबारे स्पष्ट हुन्छ र परमेश्‍वरलाई पनि ती थाहा हुन्छ। कतिपय मानिस भन्छन्, “यसबारे म स्पष्ट छु, तर के परमेश्‍वरलाई यसबारे थाहा छ?” यो प्रश्न अमान्य छ। यदि तँ यसो भन्छस् भने, तैँले परमेश्‍वरसँग कहिल्यै सङ्गति गरेको छैनस्, अनि तँ र परमेश्‍वरबीच कुनै सम्‍बन्ध छँदै छैन भन्‍ने प्रमाणित हुन्छ। म किन तँ र परमेश्‍वरबीच कुनै सम्‍बन्ध छैन भनेर भन्छु? तँ परमेश्‍वरसामु जिएको छैनस्, त्यसकारण, परमेश्‍वर तँसँग हुनुहुन्छ कि हुनुहुन्‍न, उहाँले तँलाई मार्गदर्शन गरिरहनुभएको छ कि छैन, उहाँले तेरो रक्षा गरिरहनुभएको छ कि छैन, तैँले कुनै गलत काम गर्दा उहाँले तँलाई हप्काउनुभएको छ कि छैन भनेर तैँले महसुस गर्न सक्दैनस्। यदि तँलाई यी कुरा महसुस हुँदैन भने, तँ परमेश्‍वरसामु जिउँदैनस्, तैँले यो कल्पना मात्र गरिरहेको छस् र आफूमा लिप्त भइरहेको छस्—परमेश्‍वरसामु नभई, आफ्‍नै संसारमा जिइरहेको छस्, अनि तेरो र परमेश्‍वरबीच कुनै सम्‍बन्ध छँदै छैन।

मानिसहरूले कसरी परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्न सक्छन्‌? यसलाई कायम राख्ने कुरा केमा निर्भर हुन्छ? यो तिनीहरूले आफ्ना हृदयमा परमेश्‍वरसँग गर्ने अन्तरबिन्ती, प्रार्थना र अन्तरक्रियामा निर्भर हुन्छ। यस्तो सम्बन्धले मानिसहरूलाई सधैँ परमेश्‍वरसामु जिउने अवसर दिन्छ। तसर्थ, परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न पहिले मानिसहरू शान्त हुनैपर्छ। केही मानिसहरू सधैँ बाहिर काम गरिरहेका हुन्छन्, र आफूलाई बाहिरी मामिलाहरूमा मात्र व्यस्त राखिरहन्छन्। यदि एक-दुई दिनसम्म तिनीहरूको कुनै आत्मिक जीवन भएन भने तिनीहरूले यो चाल पाउनेछैनन्। तीन-चार दिन, वा एकदुई महिनापछि समेत तिनीहरूले चाल पाउनेछैनन्। किनकी तिनीहरूले परमेश्‍वरसँग प्रार्थना, वा अन्तरबिन्ती वा सङ्गति गरेका हुँदैनन्। अन्तरबिन्ती गर्नु भनेको तँलाई केही आइपर्दा, परमेश्‍वरले तँलाई सहयोग गरेको, मार्गदर्शन दिएको, भरणपोषण गरेको, तँलाई अन्तर्दृष्टि दिएको, तँलाई उहाँका अभिप्रायहरू बुझ्न, सत्यता जान्‍न, सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता अभ्यासको तरिका जान्‍न लगाएको तैँले चाहनु हो—यो परमेश्‍वरका अभिप्रायहरूअनुरूपको अन्तरबिन्ती हो। प्रार्थनाले तुलनात्मक रूपमा ठूलो क्षेत्र ओगट्छ। कहिलेकाहीँ तँ आफ्ना हृदयमा भएका कुराबारे कुरा गर्लास्—जब तँ कठिनाइहरू सामना गर्छस् वा जब तँ नकारात्मक र कमजोर महसुस गरिरहेको हुन्छस्, तब तैँले परमेश्‍वरसँग हृदयबाट यी कुराबारे कुरा गर्न सक्छस्; आफू विद्रोही भइरहेको बेला परमेश्‍वरलाई प्रार्थना पनि गर्न सक्छस्, वा तँलाई दिनदिनै आइपर्ने आफूले बुझ्न सक्ने र नसक्ने दुवै कुराहरूबारे परमेश्‍वरसँग कुरा गर्न सक्छस्—प्रार्थना भनेको यही हो। प्रार्थना भनेको परमेश्‍वरसँग आफ्नो हृदयका कुराहरूबारे कुरा गर्नु वा परमेश्‍वरबाट सत्यता खोजी गर्नु हो। कहिलेकाहीँ प्रार्थना तोकिएको समयमा गरिन्छ, कहिलेकाहीँचाहिँ यसको कुनै समय तोकिएको हुँदैन; तँ जुनै बेला र जहीँ पनि प्रार्थना गर्न सक्छस्। आत्मामा गरिएको सङ्गतिको कुनै विशेष रूप हुँदैन: तँलाई दिक्क लाग्‍ने केही कुरा हुन सक्ला वा नहुन सक्ला; तँसँग भन्‍नुपर्ने केही कुरा हुन सक्ला, वा नहुन सक्ला। जब केही कुरा तँलाई दिक्क लाग्छ, तब तैँले परमेश्‍वरसँग त्यसबारे कुरा र प्रार्थना गर्नुपर्छ। सामान्यतः तैँले सबै समय र स्थानमा परमेश्‍वरसँग कुराकानी, प्रार्थना र उहाँबाट खोजी गरेर कसरी परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्छ, कसरी उहाँ मानिसबारे चिन्ता गर्नुहुन्छ, किन उहाँ मानिसलाई काटछाँट गर्नुहुन्छ, परमेश्‍वरमा समर्पित हुनु भनेको साँच्चै के हो इत्यादि प्रश्नहरूमाथि मनन गर्नुपर्छ। यस आत्मामा सङ्गति गर्नु वा छोटकरीमा “आत्मामा सङ्गति” हो। कहिलेकाहीँ तँ बाटोमा हुँदा तँलाई निकै दुःखी बनाउने कुराबारे सोच्छस् होला; तैँले घुँडा टेक्नु वा आँखा बन्द गर्नु पर्दैन। तैँले आफ्ना हृदयमा नै परमेश्‍वरसँग यसरी कुरा गर्न सक्छस्, “हे परमेश्‍वर, मलाई यो कुरा आइपरेको छ र यसलाई सम्हाल्ने सही तरिका मलाई थाहा छैन, त्यसैले मलाई मार्गदर्शन गर्नुहोस्।” जब तैँले आफ्ना हृदयमा हलचल महसुस गर्छस् र यसबारे परमेश्‍वरलाई केही मनका शब्दहरू पोख्छस्, तब उहाँले त्यो थाहा पाउनुहुनेछ। कहिलेकाहीँ तँलाई घरको याद आउला र यसो भन्छस् होला, “हे परमेश्‍वर, मलाई साह्रै घरको याद आउँछ।” तँ आफूलाई ठ्याक्कै कसको याद आइरहेको छ भन्दैनस्, यति हो, तँ उदास छस् र परमेश्‍वरलाई त्यसबारे बताउँदै छस्। यदि तैँले परमेश्‍वरलाई प्रार्थना गरिस् र आफ्नो हृदयको कुरा बताइस् भनेमात्र आफ्ना समस्याहरू समाधान गर्न सक्छस्। के तैँले तेरा समस्याहरू अर्को व्यक्तिसँग कुरा गरेर समाधान गर्न सक्छस्? तैँले सत्यता बुझ्ने व्यक्तिलाई भेटिस् भने त्यति नराम्रो हुनेछैन—तैँले आफ्ना समस्याहरू समाधान गर्न सक्नेमात्र होइन, त्यसबाट लाभ पनि उठाउनेछस्। तर यदि तैँले सत्यता नबुझ्ने व्यक्तिलाई भेटिस् भने, आफ्ना समस्या समाधान गर्न सक्नैछैनस्, र त्यसले उसलाई पनि प्रभाव पार्न सक्छ। यदि तँ परमेश्‍वरसँग बोलिस् भने, परमेश्‍वरले तँलाई सान्त्वना दिनुहुनेछ र तँलाई प्रेरित गर्नुहुनेछ। यदि तँ आफूलाई परमेश्‍वरसामु शान्त पार्न र उहाँका वचनहरू पढ्न, त्यसपछि मनन र प्रार्थना गर्न सक्छस् भने, सत्यता बुझ्न र समस्या समाधान गर्न सक्नेछस्। परमेश्‍वरका वचनहरूले तँलाई कठिनाइ पार गर्ने मार्ग भेट्टाउन मदत गर्न सक्छन्, अनि जब तँ यो सानो बाधा गर्छस्, तब तैँले ठेस खानेछैनस्, र त्यसले तँलाई नियन्त्रण गर्नेछैन, न त तेरो कर्तव्य निर्वाहलाई नै असर गर्नेछ। तँलाई अचानक आत्मामा दुःख र उदास लाग्‍ने समय हुनेछ। यस्तो हुँदा, तैँले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरिहाल्नुपर्छ, र उहाँको नजिक जानुपर्छ, जसको अर्थ आफ्नो हृदयको कुराबारे उहाँलाई बताउनु र हर समय र तँ जहाँ भए पनि उहाँलाई मनको कुरा खोल्नु हो। यसरी तेरो स्थिति उल्टाउन सकिन्छ। तँमा यो विश्‍वास हुनैपर्छ: “परमेश्‍वर हरेक पल मेरो छेउमै हुनुहुन्छ, उहाँले मलाई कहिल्यै छोड्नुभएको छैन, म यो महसुस गर्न सक्छु। म जहाँ भए पनि वा मैले जे गरिरहेको भए पनि—म भेलामा भए पनि वा मैले कर्तव्य गरिरहेको भए पनि—परमेश्‍वरले मलाई हात समातेर डोऱ्याइरहनुभएको छ र उहाँले मलाई कहिल्यै छाड्नुभएको छैन भनेर मलाई हृदयमा थाहा छ।” कहिलेकाहीँ, तैँले वर्षौँदेखि यस्तो प्रत्येक दिन कसरी बिताइस् भनी सम्झँदा, तँलाई आफ्नो कद बढेको छ, तँलाई परमेश्‍वरले डोऱ्याउँदै आउनुभएको छ, परमेश्‍वरको प्रेमले तँलाई अहिलेसम्म सुरक्षा गर्दै आइरहेको छ भन्‍ने महसुस हुनेछ। यी कुराहरू सोच्दा, तैँले हृदयबाट परमेश्‍वरलाई प्रार्थना गर्दै धन्यवाद चढाउनेछस्: “हे परमेश्‍वर, तपाईंलाई धन्यवाद छ! म अति कमजोर, डरपोक र अति गम्भीर रूपले भ्रष्ट छु। यदि तपाईंले मलाई यसरी नडोऱ्याउनुभएको भए, म आफै त कुनै हालतमा आज जहाँ छु त्यहाँ हुन सक्ने थिइनँ।” के यो आत्मिक सङ्गति होइन र? यदि मानिसहरूले परमेश्‍वरसँग प्रायः यसरी सङ्गति गर्न सके भने, के तिनीहरूसित परमेश्‍वरलाई भन्‍ने धेरै कुरा हुनेछैनन् र? तिनीहरू धेरै दिनसम्म परमेश्‍वरलाई एउटा कुरा पनि भन्ने आफूसँग नभईकन रहनेछैनन्। जब तँसँग परमेश्‍वरलाई भन्‍नुपर्ने केही छैन, परमेश्‍वर तेरो हृदयमा हुनुहुन्‍न। यदि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ, र तँ परमेश्‍वरमा विश्‍वास राख्छस् भने, तैँले आफ्नो विश्‍वासपात्रलाई मात्र भन्‍न सक्ने कुरालगायत आफ्नो हृदयका सबै कुरा उहाँलाई भन्‍न सक्नेछस्। वास्तवमा, परमेश्‍वर तेरो सबैभन्दा नजिकको विश्‍वासपात्र हुनुहुन्छ। यदि तँ परमेश्‍वरलाई आफ्नो सबैभन्दा नजिकको विश्‍वासपात्र, तँ सबैभन्दा बढी भर पर्ने, तँलाई सबैभन्दा भरपर्दो लाग्‍ने, सबैभन्दा भरोसायोग्य र तेरो सबैभन्दा घनिष्ठ परिवार मान्छस् भने, तँसँग परमेश्‍वरलाई भन्‍ने केही नहुनु असम्भव हुन्छ। यदि तँसँग सधैँ परमेश्‍वरलाई भन्‍ने केही कुरा हुन्छ भने के तँ सधैँ उहाँसामु जिइरहेको हुनेछैनस् र? यदि तँ सधैँ परमेश्‍वरसामु जिउँछस् भने, हरेक क्षण तँलाई परमेश्‍वर कसरी तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, तेरो कसरी ख्याल र सुरक्षा गर्नुहुन्छ, अनि कसरी तँलाई शान्ति र आनन्द दिनुहुन्छ, कसरी आशिष् दिनुहुन्छ, कसरी तँलाई हप्काउनुहुन्छ, अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ अनि न्याय र सजाय दिनुहुन्छ भनेर महसुस हुनेछ। यो सब तँलाई स्पष्ट र प्रत्यक्ष हुनेछ। यदि तँ हरेक दिन झारामात्र टार्छस्, हृदयमा परमेश्‍वरलाई नबसाई बोलीमा मात्र उहाँमा विश्‍वास गर्छस्, र यदि बाहिरी तहमा मात्र आफ्नो कर्तव्य निर्वाह गर्ने र भेलाहरूमा सहभागी हुने गर्छस्, अनि केवल झारा टार्न हरेक दिन परमेश्‍वरका वचनहरू पढ्ने र प्रार्थना गर्ने गर्छस् भने यो परमेश्‍वरप्रतिको विश्‍वास होइन—तैँले पालन गर्ने यस्ता कुनै पनि धार्मिक विधिको सत्यतासँग कुनै सम्बन्ध छैन। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले दैनिक उहाँका वचनहरूको एक खण्ड ध्यानसित पढ्नुपर्छ अनि ती वचनहरूभित्र प्रार्थना र सङ्गति गर्नुपर्छ। तिनीहरूले हरेक दिन परमेश्‍वरका वचनहरूबाट थोरै ज्योति प्राप्त गर्नुपर्छ, र थोरै सत्यता बुझ्नुपर्छ। खासमा तिनीहरू सत्यता खोजी गर्न र आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरूअनुसार मामिला सम्हाल्न सक्षम हुनुपर्छ, र हरेक दिन जीवन अनुभव पाउन र परमेश्‍वरको काम अनुभव गर्न सक्षम हुनुपर्छ। साँचो विश्‍वासी र परमेश्‍वरलाई पछ्याउने व्यक्ति त्यही हो।

परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण र सुल्झाउनैपर्ने मुद्दा कुन हो? त्यो परमेश्‍वरसँगको तेरो सामान्य सम्बन्धको मुद्दा हो। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् तर उहाँ तेरो हृदयमा हुनुहुन्‍न र तैँले उहाँसँग आफ्नो सम्बन्ध टुटाइसकेको छस् भने, अनि परमेश्‍वरलाई आफ्नो सबैभन्दा घनिष्ठ, भरपर्दो, सबैभन्दा निकट परिवारको सदस्य र विश्‍वासपात्रझैँ मान्दैनस् भने परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न। केही समयसम्म मेरा वचनहरूअनुसार अभ्यास गर अनि तिमीहरूको भित्री स्थिति परिवर्तन भएको छ कि छैन सो हेर। तैँले मेरा वचनहरूअनुसार अभ्यास गरेर आफू परमेश्‍वरसामु जिउँछस्, तँमा सामान्य परिस्थिति र अवस्था छ भनेर सुनिश्चित गर्न सक्छस्। जब कुनै व्यक्तिको स्थिति सामान्य हुन्छ, र ऊ कुनै मानिसहरू, घटना, र कामकुरा वा तिनीहरूको जीवन अनुभवका सबै चरणमा आइपर्ने विभिन्‍न वातावरणहरूद्वारा प्रभावित हुँदैन, र ऊ सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाहमा लागिपर्न सक्छ, तब उसमा साँचो कद हुन्छ र ऊ सत्यता वास्तविकतामा प्रवेश गरेको व्यक्ति हुन्छ।

जुलाई १३, २०१७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्