अन्य विषयसम्बन्धी वचनहरू (अंश ९४)
कतिपय मानिसहरू छन् जो भर्खरै परमेश्वरमा विश्वास गर्न थालेका छन् र प्रायजसो नकारात्मक र कमजोर हुन्छन्। यसको कारण के हो भने, तिनीहरू सत्यता बुझ्दैनन्, तिनीहरूको कद अत्यन्तै सानो छ, तिनीहरूमा परमेश्वरमाथिको आस्थासम्बन्धी विविध सत्यताहरूबारे कुनै बुझाइ हुँदैन। त्यसकारण तिनीहरूले आफूलाई कम क्षमताको, अघि बढ्न नसक्ने, र तिनीहरूसँग धेरै कठिनाइहरू भएको ठान्छन्—जसले गर्दा नकारात्मकता ल्याउँछ, र तिनीहरूले हरेससमेत खान्छन्: तिनीहरूले अब प्रयास नगर्ने, र सत्यता पछ्याउन छोड्ने निर्णय गर्छन्। तिनीहरूले आफैलाई हटाउँछन्। तिनीहरूले यस्तो सोच्छन्, “जेसुकै भए पनि, परमेश्वरले उहाँमाथिको मेरो विश्वासको कारण मलाई अनुमोदन गर्नुहुनेछैन। परमेश्वरले मलाई मन पनि पराउनुहुन्न, र भेलाहरूमा जानको लागि मसँग त्यति धेरै समय छैन। मेरो पारिवारिक जीवन कठिन छ र मैले पैसा कमाउनुपर्छ,” आदि इत्यादि। यी सबै कुरा तिनीहरू भेलाहरूमा जान नसक्नुका कारणहरू बन्छन्। यदि तैँले तुरुन्तै यो कुरा पत्ता लगाइनस् भने, तैँले तिनीहरूलाई सत्यतालाई प्रेम नगर्ने, र परमेश्वरमा साँचो रूपमा विश्वास नगर्ने मानिसहरू भनेर वर्गीकृत गर्ने सम्भावना हुन्छ, या त तैँले तिनीहरूलाई देहको सहजता मन पराउने, संसारको पछि लाग्ने र सांसारिक कुराहरूलाई त्याग्न नसक्ने मानिसहरूको रूपमा वर्गीकृत गर्नेछस्—यसको कारण, तैँले तिनीहरूलाई त्याग्नेछस्। के यो सत्यता सिद्धान्तअनुरूप हुन्छ? के यी कारणहरूले साँचो रूपमा तिनीहरूको प्रकृति र सारलाई प्रतिनिधित्व गर्छन्? वास्तवमा, तिनीहरू तिनीहरूका कठिनाइ र उल्झनहरूका कारण नकारात्मक भएका हुन्छन्; तैँले यी समस्याहरू समाधान गर्न सक्छस् भने, तिनीहरू त्यति नकारात्मक हुनेछैनन्, र तिनीहरूले परमेश्वरलाई पछ्याउन सक्नेछन्। तिनीहरू कमजोर र नकारात्मक हुँदा, तिनीहरूलाई मानिसहरूको सहयोग चाहिन्छ। यदि तैँले तिनीहरूलाई सहयोग गरिस् भने, तिनीहरू आफ्नो खुट्टामा उभिन सक्नेछन्। तर तैँले तिनीहरूलाई बेवास्ता गरिस् भने, तिनीहरूले नकारात्मकताको कारण सजिलै हरेस खानेछन्। यो कुरा मण्डलीको काम गर्ने मानिसहरूसँग प्रेम छ कि छैन, र तिनीहरूले यो बोझ लिन्छन् कि लिँदैनन् भन्ने कुरामा निर्भर हुन्छ। कतिपय मानिसहरू नियमित रूपमा भेलाहरूमा आउँदैनन्, तर यसको अर्थ तिनीहरूले साँचो रूपमा परमेश्वरमा विश्वास गर्दैनन् भन्ने हुँदैन, यो सत्यता मन नपराउनुसरह होइन, यसको अर्थ तिनीहरूले देहका सुख चाहन्छन्, र आफ्नो परिवार र कामलाई पन्छ्याउन सक्दैनन् भन्ने हुँदैन—न त तिनीहरूलाई अत्यन्तै भावनात्मक वा पैसाको प्रेममा मग्न भनेर नै भन्न सकिन्छ। यति मात्रै हो कि यी मामलाहरूमा, मानिसहरूको कद र आकांक्षा फरक-फरक हुन्छ। कतिले सत्यतालाई प्रेम गर्छन् र सत्यताको खोजी गर्न सक्छन्; तिनीहरू कष्ट भोग्न, यी कुराहरूलाई त्याग्न तयार हुन्छन्। कतिपय मानिसहरूको विश्वास सानो हुन्छ, र वास्तविक कठिनाइहरूको सामना गर्दा तिनीहरू शक्तिहीन हुन्छन्, र ती कठिनाइलाई जित्न सक्दैनन्। यदि कसैले पनि तिनीहरूलाई सहयोग वा साथ दिएन भने, तिनीहरूले हरेस खान्छन् र आफूमा विश्वास गुमाउँछन्; त्यस्तो बेला, तिनीहरूलाई मानिसहरूको सहयोग, वास्ता, र साथ चाहिन्छ। तर यदि तिनीहरू अविश्वासी हुन्, र तिनीहरूमा सत्यताप्रति प्रेम छैन, अनि तिनीहरू असल व्यक्ति होइनन् भने कुरा फरक हुन्छ—त्यस्तो अवस्थामा तिनीहरूलाई बेवास्ता गर्न सकिन्छ। यदि तिनीहरू परमेश्वरलाई साँचो रूपमा विश्वास गर्ने व्यक्ति हुन्, र एकदुई वटा वास्तविक कठिनाइहरूको कारण प्रायः भेलाहरूमा जाँदैनन् भने, तिनीहरूलाई त्याग्नु हुँदैन, बरु प्रेमसहितको सहयोग र साथ दिइनुपर्छ। यदि तिनीहरू असल व्यक्ति हुन्, र तिनीहरूमा बुझ्ने क्षमता छ, अनि तिनीहरू राम्रो क्षमताका छन् भने, तिनीहरू अझै धेरै सहयोग र साथको हकदार हुन्छन्।