अन्य विषयसम्बन्धी वचनहरू (अंश ९२)

तिमीहरू यो अन्तिम युगमा जिइरहेका छौ। तिमीहरूमध्ये धेरैजसोको पारिवारिक जीवन पहिलेकोभन्दा धेरै समृद्ध छ, र तिमीहरूसँग जीवनको हरेक पक्षमा भौतिक सम्पन्‍नता छ। तिमीहरूलाई कस्तो महसुस भइरहेको छ? तिमीहरूसँग देहमा अलिकति खुसीको अनुभूति मात्रै छ, तर यो खुसी र हृदयको खुसीबीच के फरक छ? तिमीहरू सबैले केही अनुभव गरेका र केही कुराहरू छर्लङ्ग देखेका छौ, परमेश्‍वरप्रतिको तिमीहरूको विश्‍वास पहिलेको भन्दा व्यावहारिक भएको छ, तिमीहरू सबैले देहसुखको पछ्याइ खोक्रो छ भनेर महसुस गर्न सक्छौ, र तिमीहरू सबै सत्यतातर्फ लागिपर्न इच्छुक छौ—के तिमीहरू सबैले यस्तो अनुभव गरेका छौ? के मानिसहरूले विभिन्‍न खालका भौतिक कुराहरूमा लिने देहसुखले तिनीहरूलाई आत्मिक आराम दिन सक्छ? जीवनमा श्रेष्ठताको भावना र सम्पन्‍न भौतिक जीवनले मानिसहरूलाई के दिन सक्छ? तिनले मानिसहरूलाई पतित बनाउन र बहकाउन मात्र सक्छन्। यसरी, मानिसहरूले सहजै समझ गुमाउनेछन्, तिनीहरू असल-खराब छुट्ट्याउन असक्षम अनि अव्यावहारिक बन्‍नेछन्, र बिस्तारै आफ्नो मानवता गुमाउनेछन्; तिनीहरूले झन्-झन् सुखचैनको लालसा गर्नेछन्, र ब्रह्माण्डमा आफ्नो स्थानबारे झन्-झन् अनभिज्ञ हुनेछन्। केही मानिसले त आफ्नो हेरचाह गर्ने क्षमता पनि गुमाउनेछन्। तिनीहरू स्वतन्त्र रूपमा जिउन, आफ्नो जीविका चलाउन पूर्णतः असक्षम हुनेछन् र आफ्नो बाबुआमामा निर्भर हुनेछन्। तिनीहरू झन्-झन् अतृप्त र निर्लज्ज पनि हुनेछन्। सारांशमा, श्रेष्ठतर जीवनशैली र सम्पन्‍न भौतिक जीवनले मानिसहरूको पतन मात्र गराउँछ, तिनीहरूलाई आलस्य मन पराउने, कामलाई घृणा गर्ने, कहिल्यै तृप्त नहुने लोभी, र निर्लज्ज बनाउँछ। तिनले मानिसहरूलाई पटक्कै फाइदा गर्दैनन्। देहबारे कुरा गर्दा, तँ त्यसप्रति जति असल हुन्छस्, त्यो त्यति लोभी हुन्छ। त्यसले अलिकति पीडा सहनु उपयुक्त हुन्छ। अलिकति पीडा सहने मानिसहरू सही मार्गमा हिँड्नेछन् र उचित काममा संलग्न हुनेछन्। यदि देहले पीडा सहँदैन, सुखचैनको लालसा गर्छ, र सुखसयलमाझ हुर्कन्छ भने, मानिसहरूले केही हासिल गर्नेछैनन् र सम्भवतः सत्यता प्राप्त गर्न सक्दैनन्। मानिसहरूले प्राकृतिक प्रकोप र मानव-निर्मित विपत्तिहरू भोग्दा, तिनीहरू समझहीन र अव्यावहारिक हुनेछन्। समय बित्दै जाँदा, तिनीहरू झन्-झन् पतित मात्रै हुनेछन्। के यसका धेरै उदाहरणहरू छन्? तैँले देख्न सक्छस्, गैर-विश्‍वासीहरूमाझ धेरै गायक र अभिनेताहरू छन्, जो प्रसिद्ध हुनुअघि कठिनाइ भोग्न इच्छुक नै थिए र आफ्नो काममा समर्पित नै हुन्थे। तर तिनीहरूले नाम र टन्‍न पैसा कमाउन थालेपछि, तिनीहरू सही मार्गमा हिँड्दैनन्। तिनीहरूमध्ये केहीले लागु पदार्थ सेवन गर्छन्, केहीले आत्महत्या गर्छन्, अनि तिनीहरूको जीवन छोटिन्छ। यो के कारणले हुन्छ? तिनीहरू अत्यधिक भौतिक सुखमा लिप्त हुन्छन्, तिनीहरू अति नै सुबिस्तामा जिउँछन् र तिनीहरूलाई अझ बढी आनन्द वा उत्तेजना बटुल्न आउँदैन। तिनीहरूमध्ये केही अझ बढी उत्तेजना र आनन्द खोज्न लागु पदार्थ दुर्व्यसनमा लाग्छन्, अनि समय बित्दै जाँदा, ती त्याग्नै सक्दैनन्। केही धेरै लागु पदार्थ सेवन गरेर मर्छन्, अरू त्यसबाट उम्किन नजानेर अन्त्यमा आत्महत्या नै गर्छन्। यस्ता कति धेरै उदाहरणहरू छन्। तैँले जति राम्ररी खान-पान गरे पनि, जति राम्रा पहिरन लगाए पनि, जति राम्ररी जिए पनि, जति रमाइलो गरे पनि, वा तेरो जीवन जति सुखद भए पनि, अनि तेरा चाहनाहरू जति पूर्ण रूपमा पूरा भए पनि, अन्तिममा त्यो खोक्रोपनमाथि खोक्रोपन मात्रै हुन्छ, र नतिजा विनाश हुन्छ। के गैर-विश्‍वासीहरूले खोज्ने खुसी वास्तविक खुसी हो? वास्तवमा, त्यो खुसी होइन। त्यो मानव कल्पना, एक प्रकारको पतन, मानिस पतित हुने मार्ग हो। मानिसहरूले पछ्याउने कथित खुसी झुटो हुन्छ। त्यो वास्तवमा कष्ट हो। यो मानिसहरूले पछ्याउनुपर्ने लक्ष्य होइन, न त त्यसमा जीवनको मोल नै छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने केही तरिका र विधिहरू तिनीहरूलाई देहसुखमा सन्तुष्टि खोज्ने अनि वासनाप्रति आशक्त हुने उद्देश्य लिने तुल्याउनु हुन्। यसरी, शैतानले मानिसलाई सुप्त बनाउँछ, लोभ्याउँछ, भ्रष्ट तुल्याउँछ, त्यसलाई नै खुसी सोच्ने, र त्यो उद्देश्यको पछि लाग्ने बनाउँछ। मानिसहरू ती कुरा प्राप्त गर्नु नै खुसी प्राप्त गर्नु हो भन्‍ने विश्‍वास गर्छन्, त्यसैले त्यो उद्देश्य पछ्याउने मार्गमा लाग्न सकेजति सबै गर्छन्। अनि, तिनीहरूले त्यो प्राप्त गरेपछि, खुसी नभई खोक्रोपन र पीडा महसुस गर्छन्। यसले त्यो सही मार्ग होइन भनेर प्रमाणित गर्छ; त्यो मृत्युको बाटो हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू गैर-विश्‍वासीहरूझैँ यो मार्गमा किन हिँड्दैनन्? परमेश्‍वरमा विश्‍वास गर्नेहरूले महसुस गर्ने खुसी कस्तो हुन्छ? त्यो गैर-विश्‍वासीहरूले पछ्याउने खुसीभन्दा कसरी फरक हुन्छ? परमेश्‍वरमा विश्‍वास गरेपछि, प्रायजसो मानिसहरूले ठूलो धन पछ्याउँदैनन्। तिनीहरू सांसारिक समृद्धि, पेशागत उपलब्धिहरू वा प्रसिद्ध व्यक्ति बन्‍नुको पछि लाग्दैनन्। बरु, तिनीहरू चुपचाप आफ्नो कर्तव्य निर्वाह गरिरहन्छन्, सामान्य रूपमा जिउँछन्, र अति उच्च जीवनस्तरको माग गर्दैनन्। केही मानिसहरू त खान र लाउन पाउनुमै सन्तुष्ट हुन्छन्। यस्तो अँध्यारो र दुष्ट संसारमा, तिनीहरू अझै पनि किन यो मार्ग छनौट गर्न सक्छन्? के तँ परमेश्‍वरमा विश्‍वास गर्ने सबै दाजुभाइ-दिदीबहिनीहरूसँग टन्‍न पैसा कमाउने क्षमता हुँदैन भनेर भन्‍न सक्छस्? पटक्कै सक्दैनस्। किनभने यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले हृदयको गहिराइमा परमेश्‍वरलाई पछ्याउनु सबैभन्दा ठूलो खुसी हो, र यो खुसीलाई संसारको कुनै पनि भौतिक कुराले प्रतिस्थापन गर्न सक्दैन भनेर धेरै-थोरै महसुस गरिसकेका हुन्छन्। केही मानिसहरूले प्रयास पनि गरेका छन्; तिनीहरूले संसारमा वर्षौँसम्म कठिनाइ भोगेर, त्यो थकाइलाग्दो अनि कठिन हुन्छ भनी महसुस गरेका छन्। अलिकति पैसा कमाएर देहसुख अनुभव गरे पनि, तिनीहरू मर्यादाविना जिए, र तिनीहरूको जीवन झन्-झन् खोक्रो र तीतो भयो। तिनीहरूलाई त्यसरी जिउनुभन्दा मर्नु नै जाति हो लाग्यो। यी मानिसहरूले यी मामलाहरू छर्लङ्ग देखिसकेका छन्। तिनीहरूले विकल्पै नभएकाले परमेश्‍वरमा विश्‍वास गर्ने होइनन्; बरु तिनीहरूले साँच्चै यस्तो महसुस गरेका छन्: परमेश्‍वरलाई पछ्याउनु अनि सत्यता पछ्याउने मार्गमा हिँड्नु, साथै आफ्नो पूरै जीवन परमेश्‍वरलाई समर्पित र अर्पित गर्नु हृदयका सबैभन्दा ठूला सुख, अनि जीवनका सबैभन्दा महान् कुरा हुन्; परमेश्‍वर अनि सत्यता प्राप्त गर्नु सबैभन्दा ठूलो खुसी हो, र मानिसहरूको हृदयलाई सबैभन्दा शान्त, हर्षित अनि स्थिर बनाउने चीज हो। तिनीहरूले यो खुसी महसुस गरिसकेका छन्; यो काल्पनिक कुरा होइन। परमेश्‍वरका चुनिएका मानिसहरूले केही सङ्कष्ट र परीक्षा भोगिसकेका छन्, सत्यता बुझेका छन् अनि धेरै कुराहरू छर्लङ्ग देखेका छन् भनेर भन्‍न मिल्छ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु अनि सत्यता पछ्याउनु सही मार्ग हो, संसारमा लिन मिल्ने अर्को कुनै मार्ग नै छैन, अनि परमेश्‍वरका वचन मात्रै सत्यता हुन् भनेर पुष्टि गरेका छन्—र तिनीहरू यो मार्गमा जमेर बसेका छन्। यस्तो व्यक्तिमा साँचो आस्था हुन्छ, र उसको पीडाका यी वर्षहरू व्यर्थमा जाँदैनन्। तिनीहरूले बताउने अनुभवात्मक गवाही गहन वा सतही जे भए पनि, एउटा कुरा स्पष्ट छ: यदि तैँले तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोकेर संसारमा फर्काउन खोजिस् भने, तिनीहरूले कुनै पनि हालतमा त्यस्तो गर्नेछैनन्। संसारमा लोभलाग्दो सुनको पहाड नै भए पनि, तिनीहरू सुरुमा लोभिएलान्, तर तिनीहरूले यसबारे पुनर्विचार गर्नेछन्: “सुन वा चाँदीको पहाडले मलाई परमेश्‍वरप्रति समर्पित हुँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा जत्तिको खुसी दिन सक्दैन। यदि मैले सुनखानी वा चाँदीखानी पाएँ भने, म त्यो क्षण खुसी नै हुनेछु, तर मैले हृदयमा पीडा र यातना भोग्नेछु, त्यसैले मैले जेसुकै भए पनि त्यो मार्ग लिनु हुँदैन। परमेश्‍वरलाई भेट्टाउन सजिलो थिएन; यदि म फेरि फर्केर गएँ भने, म परमेश्‍वरलाई खोज्न कहाँ जानु? परमेश्‍वरलाई पछ्याउने मौका पाउन निकै गाह्रो हुन्छ! समय धेरै छैन, र समय आफै नै क्षणिक हुन्छ—यो वास्तवमै दुर्लभ मौका हो!” तिनीहरूले परमेश्‍वरको देखापराइ र काम देखेका छन्, र परमेश्‍वरलाई समात्नु भनेको समुद्रको बीचमा तैरने लकडी समात्नु जस्तै हो। मलाई भन्, डुबिरहेको व्यक्तिलाई तैरने लकडी समात्दा कस्तो महसुस हुन्छ? (उसलाई बाँच्ने आशा छ भन्‍ने महसुस हुन्छ, त्यसैले उसले बेस्सरी समात्छ र छोड्दै छोड्दैन।) उसलाई ठ्याक्कै त्यस्तै महसुस हुन्छ। तैरने लकडी समातिरहँदा, उसले के सोच्छ? “म अब मर्दिनँ, आखिरमा, अन्ततः बाँच्ने आशा छ! मृत्यु नजिक आइरहँदा, बाँच्ने झिनो आशा रहिरहेसम्म, मैले भएभरको बल प्रयोग गर्नु परे पनि छोड्नुहुँदैन। जति कठिन र कष्टप्रद भए पनि मैले त्यसलाई छोड्नु हुँदैन। अन्तिम सास मात्रै रहे पनि, मैले त्यो तैरने लकडी पक्रनुपर्छ।” जब व्यक्तिलाई ऊसँग बाँच्ने आशा भएजस्तो लाग्छ, के ऊ खुसी हुँदैन र? अहिले, तिमीहरूले मनमनै सोच्दा, चिन्तन, प्रार्थना गर्दा वा तिमीहरू आत्मिक भक्तिमा संलग्न हुँदा अनि परमेश्‍वरलाई पछ्याएर कति पाएका छौ भन्‍ने महसुस गर्दा, के तिमीहरूको हृदयमा यो खुसी पैदा हुँदैन? आफ्ना वास्तविक भावनाहरू बताओ। (हामीले ख्रीष्टलाई नपछ्याइरहेका भए, हामी विपत्तिमा परिसकेका हुनेथियौँ, र त्यसका परिणाम अकल्पनीय हुनेथिए। अहिले परमेश्‍वरका वचनहरू खाएर, पिएर अनि आफ्नो कर्तव्य निर्वाह गरेर, हामीले धेरै सत्यता बुझेका छौँ। हामीले साँचो आस्था पाएका छौँ र हृदयमा परमेश्‍वरको डर मान्‍न पनि सक्छौँ; हामीले परमेश्‍वरमा समर्पित हुन सिकेका छौँ। हामीले कति धेरै पाएका छौँ, र हामी परमेश्‍वरको मार्गदर्शनका निम्ति कृतज्ञ छौँ।) एकदम ठिक। तिमीहरूले परमेश्‍वरलाई पछ्याएर अनि आफ्नो कर्तव्य निर्वाह गरेर धेरै कुरा पाएका छौ। परमेश्‍वरले मानिसलाई दिनुभएको कुरा यही हो। तिमीहरू उचित रूपमा परमेश्‍वरप्रति कृतज्ञ हुनुपर्छ अनि तिमीहरूले उहाँको प्रशंसा गर्नुपर्छ।

परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने मानिसहरूले समस्या सामना गर्दा, तिनीहरूले सत्यता खोज्न सक्छन्, र केही अनुभवहरू बटुलेपछि केही सत्यताहरू प्राप्त गर्न सक्छन्। यी सत्यताहरूले दिने खुसी भौतिक कुरा र सुखसयलहरूले दिने आनन्दलाई प्रतिस्थापन गर्न पर्याप्त हुन्छ। ती कुराहरूबारे कुरा गर्दा, तैँले ती कुरा जति प्राप्त गर्छस्, तँ त्यति कम सन्तुष्ट हुन्छस् र त्यति नै असल-खराब छुट्टयाउन सक्दैनस्। तर मानिसहरूले जति राम्ररी सत्यता बुझ्छन् र प्राप्त गर्छन्, त्यति नै परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ र कृतज्ञ हुनुपर्छ भनेर बुझ्छन्, तिनीहरू हृदयमा त्यति नै परमेश्‍वरलाई प्रेम गर्ने तृष्णा गर्छन् र त्यति नै उहाँमा समर्पित हुन र उहाँको डर मान्‍न सक्छन्। यो वास्तविक खुसी हो। भौतिक सुखको पछ्याइले मानिसहरूलाई के दिन्छ? खोक्रोपन र पतन; त्यसले तिनीहरूको भौतिक कुराहरूको पछ्याइ र चाहनालाई बढाउन मात्र सक्छ। मानिसहरूलाई हैसियत, प्रतिष्ठा र लाभको प्रलोभन पन्छाउन गाह्रो हुन्छ। त्यसोभए, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले यी भौतिक सुखहरू कसरी त्याग्न सक्छन्? के यो दिनदिनै प्रार्थना गरेर अनि आत्म-संयम अभ्यास गरेर हासिल हुन्छ? (होइन, यी कुराहरू छर्लङ्ग देखेर हासिल हुन्छ।) व्यक्तिले यिनलाई कसरी छर्लङ्ग देख्छ? (एकतर्फ, व्यक्तिले परमेश्‍वरका वचनको खुलासाद्वारा, र अर्कोतर्फ, आफ्नै अनुभव, बुझाइद्वारा अनि बिस्तारै केही सत्यताहरू बुझेर यिनलाई छर्लङ्ग देख्न सक्छ।) तैँले सत्यता बुझेकाले यी कुरा त्याग्न सक्छस्, र यसले तैँले सत्यता स्विकारेको छस् भनेर देखाउँछ। हृदयको गहिराइमा, तैँले परमेश्‍वरका वचन—उहाँले मानिसलाई भन्‍नुभएको कुरा र मानिसबाट माग गर्नुहुने कुरा स्विकारेको छस्—र त्यो तेरो वास्तविकता बनेको छ। के यो वास्तविकता तेरो जीवन हो? यो तेरो जीवन बनिसकेको छ। कर्तव्य निर्वाह गर्दा, तैँले थाहै नपाई सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गरेको छस्। अहिलेसम्म तँलाई त्यसबारे केही अनुभूति नभएको हुन सक्छ, तँलाई आफ्नै कद निकै सानो भएझैँ लाग्न सक्छ, र तैँले नबुझ्ने कुराहरू धेरै छन्—तर तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, र यसले तँमा परमेश्‍वरको जीवन विकास भइसकेको छ भन्‍ने देखाउँछ। जीवन वृद्धि प्राकृतिक कुरा हो; यसका लागि तैँले निश्चित अनुभूतिहरू गर्नु पर्दैन। तैँले स्पष्ट शब्दहरूमा भन्‍न नसके पनि, तैँले वास्तवमा प्रगति गरेको र तँ परिवर्तित भएको छस्। त्यसैले, परमेश्‍वरको जीवन सत्यता स्विकार्ने समयमै, तेरो हृदय अनजानमै परमेश्‍वर नजिक पुगेको छ, र यो अवधिभर परमेश्‍वरले तँलाई सूक्ष्म रूपमा जाँचिरहनुभएको र तेरो हृदय नियालिरहनुभएको छ। अब सावधानीपूर्वक सोच्—के यो प्रक्रिया सुखद छैन र? यो साह्रै सुखद छ नि! तिमीहरूले आखिरी दिनहरूमा जिउने, परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्ने, उहाँलाई पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने ठूलो सौभाग्य पाएका छौ। परमेश्‍वरको काम तिमीहरूभित्र प्रत्यक्ष रूपमा विकास गरिएको छ, जसले तिमीहरूलाई सत्यतालाई जीवनका रूपमा प्राप्त गर्ने तुल्याउँछ। परमेश्‍वरका वचनलाई सत्यताका रूपमा अनि सत्यताको जीवनलाई वास्तविकताका रूपमा पाउँदा, के मानव अस्तित्व साँच्चै मूल्यवान् हुँदैन र? के तिमीहरूले थाहै नपाई तिमीहरूको अस्तित्व असल भएको छैन र? के जीवित हुनु बिस्तारै झन् गरिमापूर्ण हुन थालेको छैन र? यो बेला मात्र मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर कति धेरै कुरा प्राप्त गरेका छन् भनेर महसुस गर्छन्। केही सत्यता बुझ्दा मानिसहरूले यस्तो परिवर्तन पाउन सक्छन्; पहिले तिनीहरूले यो कुरा छर्लङ्ग देख्दैनथे, तर अब सबथोक स्पष्ट देख्छन्। अहिले देख्दा, परमेश्‍वरका वचनको सत्यता तिनीहरूभित्रको जीवन बनिसकेको छ। सत्यताले तिनीहरूको हृदयमा जरा गाडिसकेको छ र त्यो फल फलाउन फुल्छ—जीवन यही हो; जीवन भनेको सत्यता बुझेपछि फल्ने फल हो, र यसलाई कुनै कुराले प्रतिस्थापन गर्न सक्दैन। जब तिमीहरूले पछि केही ताडना, सजाय र न्याय अनुभव गर्दा ती स्विकार्न र तिनमा समर्पित हुन सक्छौ, तब तिमीहरूले धेरै सत्यताहरू बुझेर थाहै नपाई परमेश्‍वरलाई चिन्‍न पुग्नेछौ, र तिमीहरूले जीवनमा झन्-झन् प्रगति गर्नेछौ। के यो बिस्तारै ठूलो हुनु होइन? के तिमीहरू त्यो दिनको पर्खाइमा छैनौ? (छौँ।) त्यसोभए तिमीहरू सत्यतातर्फ लागिपर्नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्