अन्य विषयसम्बन्धी वचनहरू (अंश ९०)
परमेश्वर किन मानिसहरूलाई उहाँलाई चिन्नैपर्ने मापदण्ड दिनुहुन्छ? किन उहाँ मानिसहरूलाई आफूलाई चिन्नू भनेर भन्नुहुन्छ? यो आफूलाई चिन्नुको उद्देश्य के हो? यसको अपेक्षित परिणाम के हो? अनि परमेश्वरलाई चिन्नुको उद्देश्य के हो? मानिसहरूलाई परमेश्वर चिन्न लगाएर तिनीहरूमा पाउन खोजिएको परिणाम के हो? के तिमीहरूले यी प्रश्नहरूबारे सोचेका छौ? मानिसहरूलाई आफैलाई चिन्ने तुल्याउन परमेश्वरले विविध युक्तिहरू प्रयोग गर्नुहुन्छ। मानिसहरूले आफ्नो भ्रष्टता प्रकाश गरून् र आफूलाई अनुभवमार्फत बिस्तारै चिनून् भनेर परमेश्वरले विविध वातावरणहरू तयार गर्नुभएको छ। चाहे त्यो परमेश्वरका वचनहरूको खुलासा होस् वा चाहे उहाँको न्याय र सजाय होस्, के तिमीहरू परमेश्वरले काम गर्नुको अन्तिम उद्देश्य बुझ्छौ? परमेश्वरले यसरी उहाँको काम गर्नुको अन्तिम उद्देश्य उहाँको काम अनुभव गर्ने हरेक व्यक्तिलाई मानव के हो भनी जान्न दिनु हो। अनि यो “मानव के हो” भन्नेमा के-के पर्छन्? यसमा मान्छेलाई उसको पहिचान र हैसियत, उसको कर्तव्य र जिम्मेवारी थाहा दिने कुराहरू पर्छन्। यसको अर्थ तँलाई मानव हुनुको अर्थ थाहा दिनु, र तँ को होस् भनी बुझ्न दिनु हो। मानिसहरूलाई आफैलाई चिन्न लगाउनुको परमेश्वरको अन्तिम लक्ष्य यही हो। त्यसोभए परमेश्वर किन मानिसहरूलाई उहाँलाई चिन्न लगाउनुहुन्छ? यो उहाँले मानवजातिलाई प्रदान गर्नुहुने विशेष अनुग्रह हो, किनकि परमेश्वरलाई चिनेर मान्छेले थुप्रै सत्यताहरू बुझ्न र थुप्रै रहस्यहरू छर्लङ्गै देख्न सक्छ। परमेश्वरलाई चिनेर मानिसहरूले धेरै कुरा प्राप्त गर्छन्। जब मानिसहरूले परमेश्वरलाई चिन्छन्, तब तिनीहरूले सबैभन्दा अर्थपूर्ण रूपमा कसरी जिउने भनेर सिक्छन्, त्यसैले मानिसहरूलाई परमेश्वरको ज्ञान पछ्याउन लगाउनु परमेश्वरको सबैभन्दा ठूलो प्रेम, उहाँको सबैभन्दा ठूलो आशिष् हो। अनि, परमेश्वरले मानिसहरूलाई उहाँलाई चिन्न लगाउन धेरै तरिकाहरू उपलब्ध गराउनुहुन्छ, जसमध्ये सबैभन्दा प्रमुखमा उहाँका वचनहरूको न्याय र सजाय, मार्गदर्शन र प्रबन्ध पर्छ। निश्चय नै, उहाँले मानिसहरूलाई न्याय र सजायमार्फत उहाँको स्वभाव बुझ्ने पनि तुल्याउनुहुन्छ—यो परमेश्वरलाई चिन्ने छोटो उपाय हो। मानिसहरूले परमेश्वरको स्वभाव देखेर-जानेर हासिल गर्ने अन्तिम परिणाम के हो? यो भनेको मानिसहरूलाई परमेश्वर को हुनुहुन्छ, उहाँको सार के हो, उहाँका पहिचान र हैसियत के हुन्, उहाँसँग के छन् र उहाँ के हुनुहुन्छ, र उहाँको स्वभाव के हो भनी चिन्ने तुल्याउनु हो। यो हरेक व्यक्तिलाई ऊ सृजित प्राणी हो, परमेश्वर मात्र सृष्टिकर्ता हुनुहुन्छ, र सृजित प्राणीहरू कसरी सृष्टिकर्ताप्रति समर्पित हुनुपर्छ भनी प्रस्ट बुझ्ने तुल्याउनु हो। यो सबै जानेपछि, मान्छेको जीवन मार्ग पूरै प्रस्ट बन्छ। जब मानिसहरूले आफूलाई साँच्चिकै चिन्छन्, के तिनीहरूले त्यसपछि आफ्ना अनावश्यक चाहना र विविध अनुचित अभिप्रायहरू बिस्तारै त्याग्न सक्दैनन् र? (सक्छन्।) त्यसोभए के तिनीहरू त्यसपछि पूरै त्याग्न सक्ने बिन्दुमा पुग्न सक्छन्? यो कुरा व्यक्तिमै भर पर्छ। व्यक्तिले आफ्ना अनावश्यक चाहना र परमेश्वरप्रतिका विविध मागहरू तब मात्र साँच्चिकै त्याग्न सक्छ, जब उहाँको काममार्फत उसले परमेश्वरबारे ज्ञान प्राप्त गर्छ र उहाँको सार, पहिचान र हैसियतबारे सही ज्ञान र परिभाषा प्राप्त गर्छ। यस प्रकारको व्यक्तिले मात्र पत्रुसले जस्तै आफ्नो हृदयको गहिराइबाट परमेश्वरलाई प्रेम गर्ने हार्दिक इच्छा र चाहना व्यक्त गर्न, र परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न सक्छ। यसर्थ, परमेश्वरलाई चिन्नु र आफैलाई चिन्नु—यी दुईमध्ये कुनै कुरालाई पनि त्याग्न मिल्दैन। तँ परमेश्वरलाई प्रेम गर्न चाहन्छु भनेर भन्छस्, तर यदि तँ उहाँलाई बुझ्दैनस् भने, के तैँले उहाँलाई कसरी प्रेम गर्ने भनी जान्न सक्छस् र? उहाँका कुन कुराहरू प्रेम गर्नलायक छन्? उहाँका सबैभन्दा प्रेम गर्नलायक पक्षहरू के-के हुन्? यदि तँलाई यो कुरा थाहा छैन भने, तँ उहाँलाई प्रेम गर्न सक्दैनस्। तँ चाहेर पनि उहाँलाई प्रेम गर्न सक्षम हुनेछैनस्, र तैँले आफूभित्र उहाँबारे धारणाहरू र विद्रोहीपन अनजानमा उत्पन्न भइरहेको पनि पाउन सक्छस्, जसले तँलाई नकारात्मकतातर्फ डोर्याउनेछ। के यस्तो व्यक्तिले परमेश्वरको अनुमोदन प्राप्त गर्नेछ? गर्नेछैन। जब कसैले परमेश्वरलाई नचिन्दा नचिन्दै पनि उहाँलाई प्रेम गर्छु भनेर भन्छ, तब यो तथाकथित “प्रेम” मानव तर्क र विचारद्वारा पैदा भएको खोक्रो सिद्धान्त मात्र हुन्छ। यो परमेश्वरसम्बन्धी ज्ञानबाट उत्पन्न हुँदैन, र यो परमेश्वरसित बिलकुलै मिल्दैन। के अब तिमीहरू मैले यी दुई मामिलाहरूबारे भनिरहेको कुरा बुझ्छौ? (बुझ्छौँ।) त्यसोभए तिमीहरूले भर्खरै त्यो कुरा किन भन्न सकेनौ? यसले प्रमाणित गर्छ कि तिमीहरूले व्यावहारिक अनुभवमार्फत आफूबारे बुझेको ज्ञान अन्योलपूर्ण छ, र तिमीहरूमा परमेश्वरबारे साँचो ज्ञान पनि छैन। के तिमीहरूलाई यसमा रहेको समस्या थाहा छ? (हामीले अभ्यासको सही मार्ग भेट्टाएका छैनौँ। हामी परमेश्वरलाई चिन्ने र आफूलाई चिन्ने दुईवटा पक्षहरूबाट एकैसाथ प्रवेश गर्न सक्दैनौँ। हामी एउटा पक्षबाट प्रवेश गर्नमा मात्र ध्यान दिन्छौँ, जसले हाम्रो जीवनवृद्धिलाई सीमित गराउँछ।) अहिले यही स्थितिमा रहँदै गर्दा, तिमीहरूको कद कस्तो छ? के त्यो अपरिपक्व छैन र? के तिमीहरू आफूलाई चिन्ने सम्बन्धमा परमेश्वरको मापदण्ड र मानकबाट निकै पर छैनौ र? कम्तीमा, तँ अझै पनि तेरा व्यक्तिगत चाहना र अभिप्रायहरू त्याग्न सक्दैनस्। के परमेश्वरप्रतिको तेरो समर्पण सत्यतासँग मिल्न सक्छ? के तँ तेरो हृदयमा परमेश्वरको कुनै हैसियत छ कि छैन भनेर जान्न सक्छस्? त्यस्ता धेरै मानिसहरू छन् जो अझै पनि परमेश्वरको देहधारण मानव हो कि परमेश्वर भनी प्रश्न गर्छन्; तिनीहरूको दुइटा नाउमा खुट्टा छन्, तिनीहरू एकैछिनमा धर्तीको परमेश्वरमा विश्वास गर्छन् र एकैछिनमा आकाशको अस्पष्ट परमेश्वरमा विश्वास गर्छन्। अनि परमेश्वरको सारमाथि प्रश्न गर्ने कतिपय मानिसहरू पनि छन्, जो यसो भन्छन्, “देहधारी परमेश्वर र आकाशका परमेश्वर कसरी एउटै परमेश्वर हुन सक्नुहुन्छ? यदि उहाँ वास्तवमै परमेश्वर हुनुहुन्छ भने, उहाँले किन आश्चर्यकर्म र चिन्हहरू देखाउनुहुन्न?” यसले तिमीहरूमा आत्मिक बुझाइको अत्यन्तै धेरै कमी भएको देखाउँछ। तिमीहरूको कद यस्तो छ कि परमेश्वरले जति नै धेरै भन्नुभए पनि तिमीहरू त्यो बुझ्दैनौ। अहिले तिमीहरू परमेश्वर देहधारी बन्नुभएको कुरा मात्र स्विकार्छौ, र देहधारी परमेश्वरले व्यक्त गर्नुभएको सत्यता मात्र स्विकार्छौ; तर परमेश्वरको सार, पहिचान र हैसियत सम्बन्धमा तिमीहरूमा खासै केही ज्ञान छैन। तिमीहरूले आफ्नो हृदयमा यो ज्ञान शून्यबराबर छ भनेर भन्न पनि त मिल्छ, मिल्दैन र? (मिल्छ।) खासमा यो कुरा प्रमाणित नै गर्न सकिन्छ: मैले परमेश्वरको सार र परमेश्वरका अभिप्रायजस्ता सत्यताका पक्षहरूबारे सङ्गति गर्नुअघि, तैँले परमेश्वरबारे तेरो ज्ञान प्रखर छ र परमेश्वरप्रति तेरो विश्वास स्थिर र अटल छ भन्ने सोच्थिस्। तर जब मैले तिमीहरूसँग परमेश्वर स्वयम्, परमेश्वरको स्वभाव, र परमेश्वरको सारजस्ता सत्यताहरूबारे सङ्गति गरेँ, तब यी वचन र यी कुराहरूले तिमीहरूको हृदयमा एउटा कडा प्रतिक्रिया उब्जायो। यो प्रतिक्रिया तीव्र थियो, जसले गर्दा तिमीहरूलाई स्वीकार गर्न कठिन पर्यो, र त्यसले तिमीहरूले हृदयमा कल्पेका परमेश्वरहरूसँग ठूलो द्वन्द्व सिर्जना गरायो। के यो तथ्य होइन र? (हो।) त्यसैले, जब म तिमीहरूले पहिले नसुनेका केही कुराहरू भन्छु, तब सुरुमा तिमीहरूलाई स्विकार्न असम्भव लाग्छ, मानौँ मैले भनिरहेको कुरा तिमीहरू बुझ्नै सक्दैनौ। यसले प्रमाणित गर्छ कि तिमीहरूको कद अत्यन्तै सानो छ, यति सानो कि तिमीहरू परमेश्वरका वचनहरू बुझ्नसमेत सक्दैनौ वा तिनको स्तरमा पुग्न सक्दैनौ। यो सब बुझ्न सक्नको लागि तिमीहरूलाई अझै थुप्रै वर्षको अनुभव आवश्यक पर्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।