अन्य विषयसम्बन्धी वचनहरू (अंश ८५)
के तिमीहरूले परमेश्वरलाई गर्ने प्रार्थनाका सिद्धान्तहरू हुन्छन्? तिमीहरू कस्ता परिस्थितिहरूमा परमेश्वरलाई प्रार्थना गर्छौ? तिमीहरूको प्रार्थनाका विषय के हुन्छन्? अधिकांश मानिस दुःख पर्दा यसो भन्दै प्रार्थना गर्छन्: “हे परमेश्वर, म दुःखमा परेको छु, बिन्ती छ, मलाई मद्दत गर्नुहोस्।” तिनीहरूले भन्ने पहिलो कुरा त्यही हो। के प्रार्थना गर्दा सधैँ आफू दुःखमा परेको कुरा बताउनु राम्रो हो र? (होइन।) किन होइन? अनि त्यो राम्रो होइन भने, किन तिमीहरू अझै पनि त्यसरी प्रार्थना गर्छौ? यसले तिमीहरूलाई प्रार्थना कसरी गर्ने, वा व्यक्तिले परमेश्वरसामु आउँदा के भन्नुपर्छ वा खोज्नुपर्छ भन्ने थाहा छैन भनेर देखाउँछ। तिमीहरूले अलिकति कष्ट भोग्दा वा दुःखी हुँदा, परमेश्वरलाई यसो भन्दै प्रार्थना गर्न मात्र जान्दछौ, “हे परमेश्वर, म कष्टमा परेको छु! म अति दयनीय हालतमा छु, कृपया मलाई मद्दत गर्नुहोस्।” परमेश्वरमा भर्खरै विश्वास गर्न थालेको व्यक्तिको प्रार्थना यस्तै हुन्छ। यो नवजात शिशुको प्रार्थना हो। यदि व्यक्तिले निकै वर्षदेखि परमेश्वरमा विश्वास गरेको भए पनि यसरी प्रार्थना गर्छ भने, यो गम्भीर समस्या हो। यसले ऊ अझै पनि जीवनमा नबढेको नवजात शिशु हो भन्ने देखाउँछ। परमेश्वरमा विश्वास गर्ने तर उहाँको काम कसरी अनुभव गर्ने भनेर नजान्नेहरू जीवनमा नबढेका र परमेश्वरप्रतिको विश्वासमा अझसम्म सही मार्गमा प्रवेश नगरेका मानिस हुन्। यदि व्यक्ति साँच्चै विचारशील छ भने, उसले परमेश्वरको काम कसरी अनुभव गर्ने, साथै उहाँका वचनहरू कसरी खाने र पिउने अनि ती कसरी अनुभव र अभ्यास गर्ने भनेर ख्याल गर्नैपर्छ। परमेश्वरका वचनहरू जहाँ-जहाँ जान्छन्, व्यक्तिको अनुभव पनि त्यतै जानुपर्छ; उसले उहाँका वचनलाई त्यही ठाउँसम्म पछ्याउनैपर्छ। यदि व्यक्तिले परमेश्वरका वचनहरू यसरी अभ्यास र अनुभव गर्न सक्छ भने, उसले धेरै समस्या सामना गर्दा स्वाभाविक रूपमै ती समाधान गर्न परमेश्वरबाट सत्यता खोज्नेछ। यदि व्यक्तिले आफ्ना कठिनाइहरू हटाउन सधैँ परमेश्वरलाई यसरी प्रार्थना गर्छ र सत्यता खोज्छ भने, उसले परमेश्वरको काम अनुभव गरिरहेको हुन्छ। व्यक्तिले निरन्तर आफ्ना समस्याहरू समाधान गर्दा, उसका कठिनाइहरू झन्-झन् कम हुँदै जानेछन्, र उसले बिस्तारै सत्यता बुझ्नेछ अनि परमेश्वरको कामबारे ज्ञान प्राप्त गर्नेछ। उसले परमेश्वरसँग कसरी सहकार्य गर्नुपर्छ र उहाँको काममा कसरी समर्पित हुनुपर्छ भनेर थाहा पाउनेछ। परमेश्वरप्रति विश्वासको सही मार्गमा प्रवेश गर्नु भनेको यही हो। परमेश्वरमा विश्वास गर्ने कतिपय मानिसलाई उहाँको काम अनुभव गर्न आउँदैन। तिनीहरू सधैँ अलमल्ल पर्छन्—तिनीहरू परमेश्वरका वचनहरू पढ्छन्, तर तीबारे चिन्तन गर्दैनन्; तिनीहरू प्रवचन सुन्छन्, तर सङ्गति गर्दैनन्; अनि परिस्थितिहरू आइपर्दा, तिनीहरूलाई सत्यता खोज्न आउँदैन, न त परमेश्वरका अभिप्राय कसरी बुझ्ने भनेर नै थाहा हुन्छ, र तिनीहरू आफूले कस्तो मनोवृत्ति अपनाउनुपर्छ वा कसरी सहकार्य गर्नुपर्छ भन्ने जान्दैनन्। तिनीहरू यी कुरा बुझ्दैनन्। तिनीहरू यी मामलाहरूमा अनुभवी हुँदैनन्, र तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ। तिनीहरू आफूलाई जे-जस्तो समस्या आइपरे पनि, कहिल्यै परमेश्वरलाई प्रार्थना गर्ने र सत्यता खोज्ने गर्दैनन्, र मनैदेखि साँच्चै परमेश्वरमा भर पर्ने वा उहाँलाई आदर गर्ने गर्दैनन्। तिनीहरू यसो मात्र भन्छन्, “हे परमेश्वर, म कष्टमा छु। हे परमेश्वर, म कष्टमा छु।” तिनीहरू यो वाक्य यति साह्रो दोहोऱ्याउँछन् कि मानिसहरू यो सुनेर वाक्क-दिक्क मान्छन्। तिमीहरूमध्ये धेरैजसो यसरी नै प्रार्थना गर्छौ, गर्दैनौ र? (गर्छौँ।) मानिसहरूको प्रार्थनाबाट तिनीहरूको अवस्था कति दयनीय छ भनेर देख्न सकिन्छ! तँ दुःख पाउँदा मात्र परमेश्वरलाई खोज्छस्। तैँले दुःख नपाउँदा वा कुनै समस्यामा नपर्दा, तँलाई परमेश्वरको खाँचो महसुस हुँदैन, न त तँ उहाँमा भर पर्न नै चाहन्छस्। तँ आफ्नो मालिक आफै बन्न मात्र चाहन्छस्। के तँ यही अवस्थामा छैनस् र? (छु।) अधिकांश मानिसले परमेश्वरको वचनको न्याय र सजाय अनुभव गर्दा, र तिनीहरूलाई तीद्वारा काटछाँट गरिँदा, अनि तिनीहरूले आत्मचिन्तन गरेर आफूलाई चिन्ने प्रयास गर्दा कसरी प्रार्थना गर्छन्? तिनीहरू सबै जना एउटै कुरा भन्छन्, “हे परमेश्वर, म कष्टमा छु। हे परमेश्वर, म कष्टमा छु।” के यी शब्दहरू सुन्दा तँलाई घिन लागेर आउँदैन? (आउँछ।) मानिसहरू भित्रभित्रै अति ओइलाएका छन्—तिनीहरूको अवस्था कति दयनीय छ! तिनीहरूले हरेक पटक परमेश्वरलाई प्रार्थना गर्दा एउटा पनि हार्दिक शब्द नबोली उही साधारण वाक्य दोहोऱ्याइरहन्छन्। तिनीहरू सत्यता खोज्दैनन् र आफ्नो समस्या समाधान गर्न चाहँदैनन्। यो कस्तो खालको प्रार्थना हो? व्यक्तिले प्रार्थनामा हार्दिक शब्द बोल्न नसक्नु र आफ्ना कमीकमजोरी थाहा नहुनु कस्तो खालको समस्या हो? जब तँ परमेश्वरसामु आउँछस्, तब के तँलाई कुनै कुरामा पनि उहाँको अन्तर्दृष्टि चाहिँदैन? के तँलाई आस्था, वा बल, वा तेरो टेवाका रूपमा परमेश्वर चाहिँदैन र? के तँलाई अघि बढ्न परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन झनै चाहिँदैन र? के तैँले आफूमा भएका समस्या समाधान गर्न सत्यता बुझ्नुपर्दैन र? के तँलाई परमेश्वरको अनुशासन र ताडना, वा उहाँको मार्गदर्शन चाहिँदैन र? के तँ परमेश्वरबाट आफ्नो दुःखको निवारण मात्र चाहन्छस्? के तँ आफूमा अति धेरै कमीकमजोरी छन् भनेर हृदयदेखि नै साँच्चै महसुस गर्न सक्दैनस्? कसरी प्रार्थना गर्ने भनेर थाहा नहुनु सानो समस्या होइन; यसले तँलाई परमेश्वरको काम कसरी अनुभव गर्ने भनी थाहा छैन, तैँले परमेश्वरका वचनहरूलाई वास्तविक जीवनमा उतारेको छैनस्, र आफ्नो जीवनमा परमेश्वरसँग बिरलै सच्चा अन्तरक्रिया गरेको छस् भन्ने देखाउँछ। तैँले परमेश्वरसँग त्यस्तो सम्बन्ध स्थापना नै गरेको छैनस् जुन सम्बन्ध परमेश्वर र उहाँका अनुयायीहरू, सृष्टि गरिएका प्राणीहरू र सृष्टिकर्ताको बीचमा हुनुपर्छ। समस्याको सामना गर्दा, तँ आफ्नै व्यक्तिगत अनुमान, धारणा, विचार, ज्ञान, वरदान र प्रतिभा, अनि भ्रष्ट स्वभावहरूद्वारा डोऱ्याइएको हुन्छस्। परमेश्वरसँग तेरो कुनै सरोकार हुँदैन, त्यसकारण जब तँ उहाँको अघि आउँछस्, तँसँग प्रायजसो भन्नलाई कुनै कुरा हुँदैन। यो त परमेश्वरमा विश्वास गर्ने मानिसहरूको दुःखलाग्दो स्थिति हो! यो साँच्चै नै दयनीय अवस्था हो! आफ्नो आत्मामा, मानिसहरू सुकिसकेका र स्तब्ध छन्। तिनीहरूले जीवनमा यी आत्मिक मामलाहरूको विषयमा केही पनि अनुभूति गर्दैनन्, न त तिनीहरूसँग यी कुराहरूको विषयमा कुनै बुझाइ नै हुन्छ, र जब तिनीहरू परमेश्वरको अघि आउँछन्, तिनीहरूसँग भन्ने केही पनि हुँदैन। तँ जस्तोसुकै परिस्थितिमा परे पनि, तैँले जस्तोसुकै दुर्दशाको सामना गरे पनि, र तँमाथि जे-जस्ता कठिनाइहरू आइपरे पनि, यदि तँ परमेश्वरको अघि अवाक् बन्छस् भने, के तेरो विश्वासमाथि प्रश्न उठाउनु पर्दैन र? के यो मानिसहरूको दयनीय हालत होइन र?
मानिसहरूले किन परमेश्वरलाई प्रार्थना गर्नैपर्छ? मानिसले परमेश्वरलाई आदर गर्ने र उहाँमा भर पर्ने एकमात्र मार्ग भनेको परमेश्वरलाई प्रार्थना गर्नु हो। प्रार्थनाविना यी कुराहरू हुनु सम्भव छैन; प्रार्थनाद्वारा नै परमेश्वरमा भर पर्न र उहाँको आदर गर्न सकिन्छ। के परमेश्वरमा विश्वास गर्ने व्यक्तिले प्रार्थनाविना नै पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छ? के उसले परमेश्वरको काम र मार्गदर्शन पाउन सक्छ? यदि तँ आफ्ना कठिनाइहरू परमेश्वरलाई सुम्पिँदैनस् र उहाँलाई प्रार्थना गर्दैनस् र सत्यता खोज्दैनस् भने, उहाँले ती कसरी समाधान गर्नुहुनेछ? उहाँले तँलाई अगाडिको बाटोमा उहाँलाई पछ्याउन कसरी मार्गदर्शन गर्नुहुनेछ? उहाँले तँलाई तेरो भ्रष्ट स्वभावबाट कसरी मुक्ति दिनुहुनेछ? प्रार्थनाविना परमेश्वरमा विश्वास गर्नु परमेश्वरप्रति साँचो विश्वास होइन भनेर भन्न सकिन्छ। परमेश्वर र मानिसबीचको सामान्य सम्बन्ध प्रार्थनामा आधारित हुनैपर्छ, र प्रार्थनाद्वारा नै कायम गरिनुपर्छ। प्रार्थना परमेश्वरप्रति मानिसको विश्वासको चिन्ह हो; परमेश्वरसँग व्यक्तिको सम्बन्ध सामान्य छ कि छैन भनी जाँच गर्ने एकमात्र मापदण्ड उसले साँचो प्रार्थना गर्छ कि गर्दैन भन्ने हो। यदि व्यक्तिले हार्दिक शब्दहरूमा प्रार्थना गर्छ, प्रार्थनामा सत्यता खोज्न सक्छ भने, पवित्र आत्माको काम प्राप्त गर्न सक्छ, र यसले परमेश्वरसँगको उसको सम्बन्ध सामान्य छ भन्ने देखाउँछ। यदि व्यक्तिले बिरलै प्रार्थना गर्छ र हार्दिक शब्दहरू बोल्न सक्दैन, ऊ परमेश्वरदेखि सधैँ सतर्क रहन्छ भने, यसले परमेश्वरसँगको उसको सम्बन्ध सामान्य छैन भन्ने देखाउँछ। अनि यदि व्यक्तिले पटक्कै प्रार्थना गर्दैन भने, यसले परमेश्वरसँग उसको कुनै सम्बन्ध छैन भन्ने देखाउँछ। यदि व्यक्तिले राम्ररी र परमेश्वरका अभिप्रायअनुरूप प्रार्थना गर्छ भने ऊ उहाँमा समर्पित हुन सक्नेछ र ऊ परमेश्वरले प्रेम गर्ने व्यक्ति हो; प्रायः सच्चा रूपमा प्रार्थना गर्नेहरू इमानदार र परमेश्वरलाई सरल तरिकामा प्रेम गर्ने मानिस हुन्। त्यसैले, परमेश्वरमा विश्वास गर्ने तर उहाँलाई प्रार्थना नगर्ने कसैको पनि परमेश्वरसँग सामान्य सम्बन्ध हुँदैन। तिनीहरू सबै परमेश्वरबाट टाढा हुन्छन्, अनि उहाँको विद्रोह र प्रतिरोध गर्छन्। परमेश्वरलाई प्रार्थना नगर्ने धेरैजसो मानिस सत्यतालाई प्रेम गर्दैनन् वा खोज्दैनन्, र सत्यतालाई प्रेम नगर्ने वा नखोज्नेहरू इमानदारीपूर्वक प्रार्थना गर्न सक्दैनन्। तिनीहरू जस्तोसुकै कठिनाइमा परे पनि प्रार्थना गर्दैनन्, अनि प्रार्थना गर्दा आफ्ना कठिनाइ र दुःख हटाउन परमेश्वरबाट फाइदा उठाउने इच्छा मात्र राख्छन्। तिनीहरू परमेश्वरका अभिप्रायलाई वास्ता गर्दैनन्, र आफ्ना कठिनाइमा आफूले बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यताका पक्षहरू खोज्दैनन्। त्यस्ता मानिसहरू सत्यताको तृष्णा गर्दैनन् र परमेश्वरमा साँचो आस्था राख्दैनन्—मूलतः तिनीहरू अविश्वासी हुन्। तैँले परमेश्वरको विश्वासीका रूपमा उहाँलाई प्रार्थना गर्नैपर्छ र सबै कुरामा सत्यता खोज्नैपर्छ। तँलाई प्रार्थना गर्नेबित्तिकै आफ्नो हृदय अझ उज्ज्वल भएको वा आफूले अभ्यासको मार्ग पाएको झैँ नलागे पनि, परमेश्वरलाई पर्खी, र पर्खँदै गर्दा परमेश्वरका वचन पढ् र सत्यता खोज्। परमेश्वरका वचन खाँदा र पिउँदा वा प्रवचन र सङ्गति सुन्दा, आफ्नो चिन्तन र खोजीमा आफ्ना समस्यालाई समावेश गर्नमा ध्यान दे। यदि तैँले यसरी व्यावहारिक रूपमा सहकार्य गरिस् भने, परमेश्वरको वचनबारे चिन्तन गर्दा वा प्रवचन र सङ्गति सुन्दा तुरुन्तै अन्तर्ज्ञान पाउन सक्लास्। अथवा तैँले कुनै कुरा सामना गर्दा, त्यसबाट उत्प्रेरित भएर आफूले हल गर्न खोजिरहेकै प्रश्नको उत्तर भेट्टाउलास्। के यो परमेश्वरको मार्गदर्शन र प्रबन्ध होइन? त्यसैले, परमेश्वरलाई सच्चा प्रार्थना गर्नु प्रभावकारी हुन सक्छ, तर यो प्रभाव प्रार्थना गर्नेबित्तिकै हासिल हुने कुरा होइन। यसलाई समय लाग्छ, र यसका लागि व्यक्तिले सहकार्य र अभ्यास गर्नुपर्छ। पवित्र आत्माले तँलाई कहिले अन्तर्दृष्टि र उत्तर दिनुहुनेछ भनेर भन्न सकिन्न। यो त सत्यता खोज्ने र बुझ्ने प्रक्रिया, अनि मानिसले जीवनमा बढ्ने मार्ग हो। तिमीहरूले परमेश्वरमा वर्षौँ विश्वास गरेपछि पनि फेरि सुरुदेखि प्रार्थना कसरी गर्ने भनेर सिक्नुपर्छ। तिमीहरूलाई अझै पनि प्रार्थना कसरी गर्ने भनेर थाहा छैन, र समस्या आइपर्दा तिमीहरू जहिले पनि या त थेगो भट्टयाउने र प्रण गर्ने या आफूले कसरी दुःख भोगिरहेको छु भन्दै परमेश्वरसँग गुनासो गर्ने र आफ्नो दुखेसो पोख्ने, वा नत्र तर्क गरेर आफूलाई सही ठहराउने गर्छौ। यी तिमीहरूको हृदयमा बसेका कुराहरू हुन्, र तिमीहरू सत्यतामा प्रवेश गर्न अति सुस्त भएकोमा अचम्म मान्नु पर्दैन। तिमीहरू बहकिरहेका छौ। तिमीहरूलाई सत्यता कसरी पछ्याउने भनी थाहा छैन, र मुक्ति प्राप्त गर्न यसरी परमेश्वरमा विश्वास गरे पुग्छ कि पुग्दैन भनेर भन्न सकिँदैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।