अन्य विषयसम्बन्धी वचनहरू (अंश ८१)
परमेश्वरलाई पछ्याउनेहरूले कम्तीमा पनि आफूसँग भएका सबै कुरा त्याग्न सक्नैपर्छ। परमेश्वरले एकपटक बाइबलमा यसो भन्नुभयो, “तिमीहरूमध्ये जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:३३)। आफूसँग भएका सबै कुरा त्याग्नुको अर्थ के हो? त्यसको अर्थ आफ्नो परिवार त्याग्नु, आफ्नो काम त्याग्नु, आफ्ना सबै सांसारिक उल्झनहरू त्याग्नु हो। के यसो गर्नु सजिलो हुन्छ? यो धेरै कठिन हुन्छ। त्यसो गर्ने इच्छाविना यो कदापि गर्न सकिँदैन। जब कोहीसँग ती कुरा त्याग्ने इच्छा हुन्छ, तब उसमा स्वाभाविक रूपले कठिनाइ सहने इच्छा हुन्छ। यदि व्यक्तिले कठिनाइ सहन सक्दैन भने, चाहेर पनि कुनै कुरा त्याग्न सक्नेछैन। कतिपयले आफ्नो परिवार त्यागेर र आफ्ना प्रियजनदेखि टाढिएर, केही समय आफ्नो कर्तव्य निभाएपछि तिनीहरूलाई घरको याद आउँछ। तिनीहरू आफूलाई असह्य भएमा हालचाल बुझ्न सुटुक्क घर गई फेरि आफ्ना कर्तव्यमा फर्कन सक्छन्। आफ्नो घर छाडेर कर्तव्य निभाउन हिँडेका कतिपय मानिस नयाँ वर्ष र अन्य छुट्टीको बेला आफ्ना प्रियजनहरूको अभाव महसुस नगरी बस्न सक्दैनन्, र राती सबै जना सुतेका बेला गोप्य रूपमा रुन्छन्। रोइसकेपछि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन् र निकै हल्का महसुस गर्छन्, अनि त्यसपछि आफ्नो कर्तव्य निर्वाहमा लाग्छन्। यी मानिसहरूले आफ्ना परिवार त्याग्न सके पनि, ठूलो पीडा सहन सक्दैनन्। यदि तिनीहरूले यी दैहिक सम्बन्धहरूका लागि आफ्नो भावनासमेत फाल्न सक्दैनन् भने, तिनीहरूले कसरी आफूलाई परमेश्वरमा साँच्चिकै समर्पित गर्न सक्लान्? कतिपय मानिस आफ्नो जागिर र परिवार, आफ्ना सबै कुरा त्यागेर परमेश्वरलाई पछ्याउन सक्छन्, तर तिनीहरूले यसो गर्नुको लक्ष्य के हुन्छ? कतिपय मानिस अनुग्रह र आशिष् प्राप्त गर्न खोजिरहेका हुन्छन्, र कतिपयचाहिँ मुकुट र इनाम मात्र पछ्याउने पावलजस्ता हुन्छन्। थोरै मानिस सत्यता र जीवन पाउन अनि मुक्ति प्राप्त गर्न आफूसँग भएका सबै कुरा त्याग्छन्। त्यसोभए, यी पछ्याइमध्ये कुनचाहिँ परमेश्वरका अभिप्रायसँग मिल्छ? त्यो अवश्य पनि सत्यता पछ्याइ र जीवन प्राप्ति हो। यो पूर्णतया परमेश्वरका अभिप्रायसँग मिल्छ, र परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही नै हो। यदि व्यक्तिले सांसारिक कुरा र धनसम्पत्ति त्याग्न सक्दैन भने, के उसले सत्यता प्राप्त गर्न सक्छ? कदापि सक्दैन। कतिपय मानिसले आफ्ना सबै कुरा त्यागेर आफ्नो कर्तव्य निभाएका छन्, तर तिनीहरू सत्यता पछ्याउँदैनन्, र आफ्नो कर्तव्य निर्वाहमा सधैँ झारा टार्छन्। केही वर्ष यसरी भौँतारी हिँडेपछि, तिनीहरूमा कुनै अनुभवात्मक गवाही हुँदैन र तिनीहरूले केही पनि प्राप्त गरेका हुँदैनन्। ख्याति, लाभ र हैसियत मात्र पछ्याउने र ख्रीष्टविरोधीको मार्गमा हिँड्ने मानिसहरू सत्यता प्राप्त गर्न झनै सक्दैनन्। थुप्रै मानिस परमेश्वरलाई विश्वास गर्ने नाममा आफ्नो फुर्सदको बेला छिटपुट कर्तव्य निर्वाह गर्छन्। के यस्ता मानिसहरूलाई सत्यता प्राप्त गर्न सजिलो हुनेछ? मलाई लाग्छ, तिनीहरूलाई सजिलो हुनेछैन। सत्यता प्राप्त गर्नु सजिलो कुरा होइन। व्यक्तिले धेरै कठिनाइ सहनैपर्छ र ठूलो मूल्य चुकाउनैपर्छ। विशेष गरी, व्यक्तिले न्याय र सजायको, परीक्षा र शोधनको, अनि काटछाँटको कठिनाइ अनुभव गर्नैपर्छ। यी सबै कठिनाइ सहनैपर्छ। धेरै पीडा नसहीकन सत्यता प्राप्त गर्न सकिँदैन। यस अवधिमा व्यक्तिले परमेश्वरलाई कति पटक प्रार्थना गरेर सत्यता खोज्नुपर्छ? उसले परमेश्वरसामु कति पछुतोको आँसु पोख्नुपर्छ? उसले अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्नुअघि परमेश्वरका कति वटा वचन पढ्नुपर्छ? उसले शैतानलाई जित्न सक्नुअघि कति वटा आत्मिक युद्धहरू लड्नैपर्छ? अनि यी कुराहरू अनुभव गर्ने प्रक्रिया कति लामो हुन्छ? कति वर्षपछि व्यक्तिले अन्ततः सत्यता प्राप्त गर्न र परमेश्वरको अनुमोदन पाउन सक्छ? पत्रुसको अनुभवलाई हेर, अनि तिमीहरूले थाहा पाउनेछौ। के परमेश्वरले मान्छेलाई मुक्ति दिने र सिद्ध पार्ने काम मानिसहरूले कल्पना गरेजस्तो सजिलो हुन्छ? आफ्ना सबै कुरा त्याग्नु सजिलो कुरै होइन। आफ्ना सबै कुरा त्याग्नुको वास्तविक अर्थ के हो? “आफ्ना सबै कुरा” मा बाहिरी कुरा, परिवार, प्रियजन, साथीसँगी, पेशा, तलब, धनसम्पत्ति, र सम्भावनाहरू मात्र पर्दैनन्। यी कुराबाहेक, त्यसमा मन र आत्माका कुराहरू पर्छन्: ज्ञान, सिकाइ, कामकुराबारे व्यक्तिको दृष्टिकोण, जियाइको नियम, व्यक्तिको देहगत रुचि, साथै व्यक्तिले पछ्याउने र आकाङ्क्षा राख्ने कुरा, जस्तै ख्याति, लाभ र हैसियत। आफ्ना सबै कुरा त्याग्नुमा मुख्यतः यिनै कुराहरू पर्छन्; ती सबै आफ्ना सबै कुरा त्याग्नुका पाटो हुन्। बाहिरी कुराहरू एकै पटकमा त्याग्न सजिलो हुन्छ। तर मानिसहरूले मन पराउने, पछ्याउने र आफ्नो हृदयको गहिराइमा राख्ने कुराहरू नै तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण र अमूल्य हुन्छन्, तिनले नै व्यक्तिका सबै कुरालाई जनाउँछन्, र ती कुराहरू त्याग्न सबैभन्दा कठिन हुन्छ। अहिले धेरैजसो मानिसले ती त्याग्न नसक्नुको कारण के हो भने, तिनीहरू ती कुरा छोड्नै सक्दैनन्, किनभने तिनीहरू तिनलाई सबैभन्दा बढी महत्त्व दिन्छन् र बहुमूल्य ठान्छन्। उदाहरणका लागि, ख्याति, लाभ र हैसियत, वा महिमा र भाग्य, आफ्नो प्रिय करियर वा सबैभन्दा मूल्यवान् कुराहरू—यी नै व्यक्तिका सबै कुरा हुन्, र ती कुरा त्याग्न सबैभन्दा कठिन हुन्छ। एक जना ब्याङ्क प्रबन्धकले परमेश्वरमा विश्वास गऱ्यो। उसले परमेश्वरका वचनहरू वास्तवमै सत्यता हुन् र परमेश्वरले गर्ने हरेक कुरा मान्छेलाई मुक्ति दिने काम हो भन्ने बुझ्यो। तर जब उसले आफ्ना सबै कुरा त्यागेर परमेश्वरलाई पछ्याउने निर्णय गर्यो, तब उसलाई ब्याङ्कको आफ्नो पद त्यागुँ कि नत्यागुँ भयो। उसले एक मनले सोच्यो, “ब्याङ्कको मेरो पद अमूल्य कुरा हो। यसबाट राम्रो तलब आउँछ र त्यो प्रभावशाली छ,” फेरि अर्को मनले सोच्यो, “म परमेश्वरमा विश्वास गरेर सत्यता र अनन्त जीवन प्राप्त गर्न सक्छु। महत्त्वपूर्ण कुरा यही हो।” उसको मनमा द्वन्द्व चलिरह्यो। ऊ एक मनले ब्याङ्क प्रबन्धक हुन चाहन्थ्यो र अर्को मनले परमेश्वरमा विश्वास गर्न चाहन्थ्यो। एक मनले ऊ पैसाको पछि लाग्न चाहन्थ्यो भने अर्को मनले सत्यता प्राप्त गर्न चाहन्थ्यो। एक मनले ऊ आफ्नो हैसियत छोड्न सक्दैनथ्यो र अर्को मनले अनन्त जीवन प्राप्त गर्न चाहन्थ्यो। उसको मनमा दोधार भइरह्यो। उसलाई आफ्नो ब्याङ्क प्रबन्धकको हैसियत अत्यन्तै अमूल्य थियो, र ऊ त्यो त्याग्न सक्दैनथ्यो। अनेकौँ महिनासम्म उसको हृदयमा यो द्वन्द्व चलिरह्यो, र अन्त्यमा उसले सायद मन नलागी-नलागी त्यो कुरा त्याग्यो। उसलाई आफ्ना सबै कुरा त्याग्न कत्ति कठिन भयो! उसलाई आफ्नो ब्याङ्क प्रबन्धक पद धूवाँझैँ हराएर जान सक्ने क्षणिक कुरा हो भन्ने थाहा भए पनि, उसलाई त्यो कुरा त्याग्न सजिलो भएन। कतिपय मानिस चिकित्सक वा वकिल वा उच्च दर्जाका कर्मचारी हुन्छन्, र तिनीहरूको ज्याला र तलब उच्च हुन्छ। यी कुराहरू त्याग्न सजिलो हुँदैन; यी कुरा त्याग्न तिनीहरूले आफूभित्र कति महिनासम्म द्वन्द्व लड्नुपर्ने हो, त्यो कसलाई थाहा छ र। यदि कसैले कैयौँ वर्षसम्म द्वन्द्व लडेर यी कुराहरू त्याग्छ, र त्यतिन्जेल परमेश्वरको काम अन्त्य भइसकेको हुन्छ भने, के त्यसको कुनै अर्थ रहनेछ र? त्यति बेला, व्यक्ति विपत्तिमा मात्र पर्न सक्छ, अनि विलाप गर्न र दाह्रा किट्न मात्र सक्छ। यदि तैँले परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य निभाउन, अनि सत्यता पछ्याउन र जीवन प्राप्त गर्न आफूलाई सबैभन्दा महत्त्वपूर्ण लाग्ने कुरा त्याग्न सकिस् भने मात्र तँ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछस्। परमेश्वरको राज्यमा प्रवेश गर्नुको अर्थ के हो? त्यसको अर्थ, तैँले आफ्नो सबै कुरा त्यागेर परमेश्वरलाई पछ्याउन, उहाँका वचनहरूलाई ध्यान दिन, र उहाँका बन्दोबस्तहरूप्रति समर्पित हुन, सबै कुरामा उहाँप्रति समर्पित हुन सक्छस् भन्ने हो; त्यसको अर्थ, उहाँ तेरा प्रभु र तेरा परमेश्वर बन्नुभएको छ भन्ने हो। परमेश्वरको नजरमा, त्यसको अर्थ तँ उहाँको राज्यमा प्रवेश गरेको हुन्छस् भन्ने हो, र तँलाई जेजस्तो विपत्ति आइपरे पनि, उहाँले तँलाई सुरक्षा दिनुहुनेछ र तँ बच्न सक्नेछस्, अनि तँ उहाँको राज्यका मानिसहरूमध्ये एक हुनेछस्। परमेश्वरले तँलाई उहाँको अनुयायीको रूपमा स्विकार्नुहुनेछ, वा तँलाई सिद्ध पार्ने वाचा गर्नुहुनेछ—तर तैँले पहिलो चरणमा ख्रीष्टलाई पछ्याउनैपर्छ। यसरी मात्र तँ राज्यको तालिममा सहभागी हुनेछस्। यदि तँ ख्रीष्टलाई पछ्याउँदैनस् र परमेश्वरको राज्यबाहिर छस् भने, उहाँले तँलाई स्विकार्नुहुनेछैन। र यदि परमेश्वरले तँलाई स्विकार्नुभएन भने, तैँले मुक्ति र परमेश्वरको वाचा प्राप्त गर्ने र उहाँद्वारा सिद्ध पारिने इच्छा गरे पनि, के यी कुराहरू प्राप्त गर्न सक्नेछस्? सक्नेछैनस्। यदि तँ परमेश्वरको अनुमोदन प्राप्त गर्न चाहन्छस् भने, पहिला तँ उहाँको राज्यमा प्रवेश गर्न योग्य हुनैपर्छ। यदि तँ सत्यता पछ्याउन आफ्ना सबै कुरा त्याग्न सक्छस्, आफ्नो कर्तव्य पालनमा सत्यता खोज्न सक्छस्, सिद्धान्तअनुसार कार्य गर्न सक्छस्, र तँसँग साँचो अनुभवात्मक गवाही छ भने, तँ परमेश्वरको राज्यमा प्रवेश गर्न र उहाँको वाचा प्राप्त गर्न योग्य हुन्छस्। यदि तँ परमेश्वरलाई पछ्याउन आफ्ना सबै कुरा त्याग्न सक्दैनस् भने, तँ उहाँको राज्यमा प्रवेश गर्नसमेत योग्य हुँदैनस्, र तैँले उहाँको आशिष् र उहाँको वाचा पाउने दाबी गर्न बिलकुलै मिल्दैन। अहिले धेरै मानिसले आफ्ना सबै कुरा त्यागेर परमेश्वरको घरमा कर्तव्य निभाइरहेका छन्, तैपनि तिनीहरूले सत्यता प्राप्त गर्न सक्नेछन् भन्न मिल्दैन। व्यक्तिले सत्यतालाई प्रेम गर्न र स्विकार्न सकेपछि मात्र सत्यता प्राप्त गर्न सक्छ। यदि उसले सत्यता पछ्याउँदैन भने, त्यो प्राप्त गर्न सक्दैन। त्यसका साथै, फुर्सदको समयमा आफ्नो कर्तव्य निभाउनेहरूमा परमेश्वरको कामसम्बन्धी तिनीहरूको अनुभव यति सीमित हुन्छ कि तिनीहरूलाई सत्यता प्राप्त गर्न झनै कठिन हुनेछ। यदि कसैले आफ्नो कर्तव्य निभाउँदैन वा सत्यता पछ्याउँदैन भने, उसले परमेश्वरबाट मुक्ति र सिद्धता प्राप्त गर्ने असाधारण अवसर गुमाउनेछ। कतिपय मानिस परमेश्वरमा विश्वास गरेको दाबी गर्छन्, तर आफ्ना कर्तव्यहरू निभाउँदैनन् र सांसारिक कुराहरू पछ्याउँछन्। के यो आफ्ना सबै कुरा त्याग्नु हो? यदि कसैले यस तरिकाले परमेश्वरमा विश्वास गर्छ भने, के उसले अन्त्यसम्मै उहाँलाई पछ्याउन सक्छ? प्रभु येशूका चेलाहरूलाई हेर्: तिनीहरूमध्ये मछुवा, किसान, र कर उठाउनेहरू थिए। जब प्रभु येशूले तिनीहरूलाई बोलाएर “मलाई पछ्याओ” भन्नुभयो, तब तिनीहरू आफ्ना कामदाम छाडेर प्रभुको पछि लागे। तिनीहरूले आफ्नो रोजगारीबारे सोचेनन्, न त पछि आफूसँग संसारमा बाँच्ने कुनै मार्ग हुनेछ कि छैन भन्ने समस्याबारे नै सोचे, तर तिनीहरू तुरुन्तै प्रभु येशूको पछि लागिहाले। पत्रुसले आफूलाई पूर्ण हृदयले समर्पित गरे, प्रभु येशूको आज्ञा अन्त्यसम्मै पूरा गरे र आफ्नो कर्तव्य जारी राखे। उनी जीवनभरि परमेश्वरलाई प्रेम गर्ने पछ्याइमा लागे, र अन्त्यमा, उनी परमेश्वरद्वारा सिद्ध पारिए। अहिले कतिपय मानिस आफ्ना सबै कुरा त्याग्नसमेत सक्दैनन्, तैपनि राज्यमा प्रवेश गर्ने इच्छा गर्छन्। के तिनीहरू सपना देखिरहेका छैनन् र?
परमेश्वरमा विश्वास गर्नलाई उत्साहले मात्र पुग्दैन। तैँले उहाँका अभिप्राय, मानिसहरूलाई सिद्ध पार्ने उहाँको विधि, उहाँ कुन मानिसहरूलाई सिद्ध पार्नुहुन्छ भन्ने कुरा, र परमेश्वरले मानिसहरूलाई सिद्ध पार्ने कामप्रति व्यक्तिमा हुनुपर्ने मनोवृत्ति र विचारबारे बुझ्नैपर्छ। साथै, परमेश्वरको अनुयायीको रूपमा, परमेश्वरको मार्ग पछ्याउनु कति महत्त्वपूर्ण छ भन्ने कुरा उसलाई थाहा हुनैपर्छ। यो कुरा व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नसित सम्बन्धित छ। परमेश्वरको मार्ग पछ्याउनु भनेको सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गरेर मात्रै परमेश्वरप्रति साँच्चिकै समर्पित हुन सकिन्छ, त्यसैले सत्यता प्राप्त गर्नका निम्ति सत्यता अभ्यास गर्नु जरुरी छ। यदि कसैले सत्यता बुझ्दैन वा त्यसलाई अभ्यास गर्न जान्दैन भने, ऊसित त्यो प्राप्त गर्नलाई कुनै मार्ग हुनेछैन। त्यसै कारणले गर्दा परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गर्नेहरू मात्र परमेश्वरमा समर्पण हुन सक्छन्, तिनीहरूले मात्र सत्यतालाई पूर्ण रूपले बुझ्छन् र सत्यतालाई पूर्ण रूपले बुझ्नेहरू मात्र परमेश्वरलाई चिन्छन्। यी सबै कुरा सत्यता अभ्यास गरेर हासिल हुन्छन्। मानिसहरूले परमेश्वरमा जति नै विश्वास गरे पनि, उहाँ क-कसले उहाँको मार्ग पछ्याउँछन्, क-कसले सत्यता अभ्यास गर्छन्, र को-को उहाँप्रति साँच्चै समर्पित हुन्छन् भनी हेर्नुहुन्छ। परमेश्वरका विश्वासीहरूले उहाँको इच्छा पछ्याउने र उहाँप्रति समर्पित हुने मानिस बन्नका लागि सत्यता बुझ्नु र अभ्यास गर्नु जरुरी छ। सत्यता पछ्याउने मानिसहरूले पहिला मानिसहरूले जीवनमा किन परमेश्वरमा विश्वास गर्नुपर्छ, धर्तीमा आएदेखि परमेश्वरले कसरी मानिसलाई मुक्ति दिने काम गर्दै आउनुभएको छ, र मुक्ति पाउन अनि परमेश्वरको वाचा र आशिष् प्राप्त गर्न योग्य हुन व्यक्तिले सत्यता पछ्याइमा के कुरा हासिल गर्नुपर्छ भन्ने कुरा बुझ्नैपर्छ। विगतमा यी सत्यताहरू कसैले पनि बुझ्दैनथे। हरव्यक्तिले मानव धारणा र कल्पनाअनुसार परमेश्वरमा विश्वास गर्थे, र परमेश्वरमा विश्वास गर्नु भनेको आशिष्, मुकुट र इनाम पाउनु हो भन्ठान्थे। फलस्वरूप, तिनीहरू सबै परमेश्वरका अभिप्रायविरुद्ध गए, साँचो मार्गबाट बहकिए, र ख्रीष्टविरोधीहरूको मार्गमा हिँडे। त्यसकारण, यदि कसैले सत्यता बुझ्ने, सत्यता प्राप्त गर्ने, र मुक्ति पाउने इच्छा गर्छ भने, तिनीहरूले परमेश्वरमाथिको विश्वासबारे विगतका यी गलत विचारहरू सच्याउनैपर्छ। विशेष गरी, मानिसका धार्मिक धारणा र कल्पनाहरू र तिनीहरूका धर्मशास्त्रीय विचारहरू बेतुक हुन्छन्; ती सबै सत्यताविरोधी हुन्छन् र ती छलपूर्ण भ्रम हुन्। धार्मिक मानिसहरूले विश्वास गर्ने तरिकाहरूलाई परमेश्वर बिलकुलै अनुमोदन गर्नुहुन्न। यदि मानिसहरू अहिले ती मार्गहरू निरन्तर पालना गर्छन्, र आशिष्, मुकुट र इनाम पछ्याउँछन् भने—यदि तिनीहरू यस्तो मनोवृत्तिले परमेश्वरमा विश्वास गरिरहन्छन् भने, के तिनीहरूले सत्यता र जीवन प्राप्त गर्न सक्नेछन् र? कदापि सक्नेछैनन्। त्यसोभए परमेश्वरप्रतिको विश्वासमा मानिसहरूले कस्तो दृष्टिकोण अपनाउनुपर्छ? तैँले सुरुमा परमेश्वरका अभिप्राय बुझ्नैपर्छ र मानिसहरूलाई मुक्ति दिने उहाँको तरिकालाई प्रस्ट रूपमा हेर्नैपर्छ। यदि तँ सत्यता खोज्दैनस्, तर आफ्नै धारणा र कल्पनाअनुसार परमेश्वरमा विश्वास गरिरहन्छस् भने, यदि तँ ख्याति, लाभ, हैसियत, धन र सांसारिक कुराहरू पछ्याइरहन्छस् भने, तैँले पूरै संसार जितिस् भने पनि, के त्यो तैँले अन्त्यमा आफ्नो जीवन गुमाउन लायक हुनेछ? कतिपय मानिस यसो भन्छन्, “मैले पर्याप्त पैसा कमाइसकेपछि र सफल करियर बिताएपछि, जब मैले मेरा महत्त्वाकाङ्क्षाहरू पूरा गरेको र मेरा सपनाहरू हासिल गरेको हुन्छु, तब म आएर असल विश्वासी हुनेछु।” के परमेश्वर तेरो प्रतीक्षा गर्नुहुन्छ? के परमेश्वरको कामले तेरो प्रतीक्षा गर्छ? यदि तैँले ती कुराहरू अहिले नै त्याग्न सक्दैनस् भने, परमेश्वर तँलाई ती कुराहरू तुरुन्तै त्याग्न लगाउनुहुन्न, तर तैँले त्याग्ने अभ्यास गर्नैपर्छ। यदि तँ सक्दै सक्दैनस् भने, परमेश्वरलाई प्रार्थना गर् अनि उहाँमा भर पर्। उहाँलाई तँमा मार्गदर्शन गर्न दे। साथै, तैँले सहकार्य गरेर आफ्नो कर्तव्य निभाउनैपर्छ। आफ्नो कर्तव्य निभाउनुको उद्देश्य के हो? वास्तवमा, असल कार्यहरू तयार गर्न त्यसो गरिन्छ। यदि तँ अन्त्यमा पूर्णतया सिद्ध हुन सकिनस् भने पनि, तैँले कम्तीमा केही असल कार्यहरू तयार पार्नैपर्छ, ताकि परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय आउँदा तैँले उहाँलाई तीबारे बताउन सक्। एक दिन, परमेश्वरको काम समाप्त हुनेछ, र उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिन थाल्नुहुनेछ। उहाँ तँलाई तेरा असल कार्यहरू प्रस्तुत गर्न लगाउनुहुनेछ, र यदि तैँले कुनै असल कार्य गरेको छैनस् भने, तँ समाप्त हुन्छस्—तँ निश्चय नै दण्डित हुनेछस्। उदाहरणका लागि, मानिलिऊँ तैँले परमेश्वरमा करिब दश वर्ष विश्वास गरेको छस्, र तैँले निभाएको सबैभन्दा मूल्यवान् कर्तव्य भनेको फुर्सदको समयमा सुसमाचार फैलाउनु र फलस्वरूप थोरै नयाँ विश्वासीहरू भित्र्याउनु मात्र हो। तँलाई ती मानिसहरू अन्त्यमा अडिग रहन सक्नेछन् कि सक्नेछैनन् भन्नेसमेत थाहा छैन। के तँ यसबारे परमेश्वरलाई बताउन सक्छस्? तँ सक्दै सक्दैनस्। तँ परमेश्वरलाई कस्ता परिणामहरूबारे बताउन सक्छस्, र परमेश्वरलाई सन्तुष्ट पार्न अनि उहाँले तँलाई आफ्नो अनुयायीको रूपमा चिनेको तुल्याउन तँसँग कस्तो अनुभवात्मक गवाही हुनुपर्छ भन्नेबारे तैँले सोचविचार गर्नैपर्छ। परमेश्वरको वर्तमान देहधारणसम्बन्धी तथ्यलाई स्विकार्नु र हृदयदेखि नै आखिरी दिनहरूको ख्रीष्टलाई स्विकार्नुबाहेक अरू केही नगरी तैँले चित्त बुझाउन मिल्दैन। परमेश्वर तेरो साँचो अनुभवात्मक गवाही र उहाँको कामप्रति तेरो समर्पणको प्रतिफल हेर्न चाहनुहुन्छ। अन्त्यमा परमेश्वरले तैँले सत्यता प्राप्त गरेको छस् कि छैनस् र तँसित जीवन छ कि छैन भन्ने कुरा जाँच्नुहुनेछ। तैँले परमेश्वरका अभिप्राय बुझ्नैपर्छ। यदि तँ केवल मण्डलीको सूचीमा आफ्नो नाम चढाउँछस् वा कुनै कर्तव्य निभाउँछस्, तर सत्यता पछ्याउँदैनस्, र परमेश्वरमा विश्वास गरेको केही वर्षपछि तँसित अनुभवात्मक गवाही छैन भने, के परमेश्वर अझै तँलाई स्विकार्न सक्नुहुन्छ? यदि परमेश्वरले तँलाई स्विकार्नुभएन भने, तँ उहाँको घरबाहिर रहन्छस्। यदि तँ परमेश्वरमा विश्वास गर्ने दाबी मात्र गर्छस् तर सत्यता पछ्याउँदैनस् भने, परमेश्वरप्रतिको तेरो विश्वासबाट अन्त्यमा के हासिल हुन सक्छ? तँ परमेश्वरको मापदण्डका मानकहरूभन्दा निकै टाढा रहेको हुनेछस्! सत्यता प्राप्त गर्नु मानिसहरूले सोचेजस्तो सजिलो छैन; व्यक्तिले धेरै परीक्षा र सङ्कष्टहरू, अनि धेरै पीडा र शोधन भोगेपछि मात्र सत्यता प्राप्त गर्न र परमेश्वरलाई चिन्न सक्छ। यदि तैँले परमेश्वरको कामको यो शैली अनुभव गरेपछि उहाँलाई पछ्याउन आफ्ना सबै कुरा त्याग्दैनस् भने, के तैँले मुक्ति प्राप्त गर्न सक्छस्? के तैँले तेरो फुर्सदको समयमा परमेश्वरमा छिटपुट विश्वास गरेर उहाँको काम अनुभव गर्न सक्छस्? तैँले घरमै परमेश्वरलाई विश्वास गरेर त्यो कुरा कसरी अनुभव गर्न सक्छस्? बाहिरी संसारमा जिएर तैँले कसरी त्यो अनुभव गर्न सक्छस्? त्यसकारण, आफ्ना सबै कुरा त्याग्नु भनेको परमेश्वरलाई पछ्याउनुको एउटा सर्त हो। यदि तँ आफ्ना सबै कुरा त्याग्न सक्दैनस् भने, सत्यता प्राप्त गर्न कदापि सक्दैनस्, र यदि तँ सत्यता प्राप्त गर्न सक्दैनस् भने, परमेश्वरको राज्यमा प्रवेश गर्न योग्य छैनस्। यो कुनै व्यक्तिले परिवर्तन गर्नै नसक्ने तथ्य हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।