अन्य विषयसम्बन्धी वचनहरू (अंश ८०)

मानव नियतिमाथि परमेश्‍वरले सार्वभौमिकता राख्‍नुहुन्छ र व्यक्तिको सम्पूर्ण जीवन परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरा सबैले स्विकार्छन्, तर यदि तैँले व्यक्तिको जीवनको हरेक समय र अवधिमा घट्ने प्रत्येक ठूलो घटना उसको आफ्नो योजना र प्रबन्धअनुसार नभई कसरी परमेश्‍वरद्वारा शासित र प्रबन्धित हुन्छ भनेर साँच्चै अनुभव गर्न सक्छस् भने, यदि तैँले मानिसहरूले आफ्नो नियति वा आफूले झेल्नुपर्ने कुनै पनि कष्टमाथि विजय हासिल गर्न सक्दैनन् भन्‍ने कुरा देख्न सक्छस् भने, र जब तँ यी कुराहरू अनुभव गर्न सक्ने हुन्छस्, तब यसलाई साँचो आस्था हुनु भनिन्छ। जब तँ “परमेश्‍वरले मानव नियतिमाथि सार्वभौमिकता राख्‍नुहुन्छ, र सबै कुरा परमेश्‍वरको हातमा छ” भनेर भन्छस्, यो कुरा अझ वास्तविक बन्छ। परमेश्‍वरको सार्वभौमिकता र उहाँको प्रबन्ध र योजनाबद्ध कार्यहरूको अनुभव गर्नु सूक्ष्म कुरा हो। यो तैँले अनुभव गर्ने कुरा हो, र आफूले अनुभव नगरी व्याख्या गर्न नसकिने कुरा हो। तर तैँले यो जति धेरै अनुभव गर्छस् र जति धेरै भोग्छस्, यसलाई त्यति नै राम्रोसँग व्याख्या गर्न सक्छस्। एउटा भनाइ छ, “५० पुग्दासम्ममा आफ्नो नियति बुझ्नेछौ।” आफ्नो नियति बुझ्छस् भन्नुको अर्थ के हो? जीवनको तेस्रो दशकमा भएका मानिसहरूले भर्खरै संसार सामना गरेका हुन्छन्। तिनीहरू कलिलै र लापरवाह हुन्छन्, र तिनीहरूलाई केही पनि थाहा हुँदैन, र यो मानव जीवन सबै परमेश्‍वरको हातमा छ भनेर बुझ्न सक्दैनन्। तिनीहरू आफ्नो नियतिसँग सङ्घर्ष गर्न चाहिरहन्छन् र आफूमा प्रतिभा र दक्षता छ भनी सोचिरहन्छन्, र तिनीहरू नाम, दाम र पद कमाउने प्रयास गरिरहन्छन्। तिनीहरू असफल हुँदा पनि प्रयास जारी राखिरहन्छन्, र सधैँ अर्को एउटा मौका हात पार्ने प्रयास गरिरहन्छन्। अनि ५० को दशकमा पुगेपछि जीवनलाई फर्केर हेर्छन् र यस्तो सोच्छन्, “हैट, तीसौँ वर्ष पृथ्वीमा दौडधुप गर्दै यी सब सङ्घर्ष गर्न अत्यन्तै गाह्रो रहेछ! मेरो विवाह गर्ने, करियर निर्माण गर्ने र सन्तान जन्माउने एउटै चरणसमेत मेरो आफ्नै योजना र हिसाबअनुसार भएन—यो सबै भाग्यको खेला त रहेछ नि!” यो भनेको आफ्नो नियति बुझ्नु हो; अब त्योविरुद्ध कुनै सङ्घर्ष बाँकी छैन। ५० पुग्दासम्ममा आफ्नो नियति बुझ्नेछौ भनेको वास्तवमा मानिसहरूले ५० वर्ष पुगेर धेरै ठक्कर खाइसकेपछि नियतिसँग मिलाप गर्न सिक्नु हो। मानिसहरूले जब आफ्नो नियति बुझ्छन्, तिनीहरूले नियतिसँग लडाइँ गर्न छोड्छन्। जहाँसम्म मानवजीवन के हो, मानवतामाथि परमेश्‍वरको सार्वभौमिकता के हो, मानिसहरूले वास्तवमा केको लागि र कसरी जिउनुपर्छ भन्‍ने कुरा छ, के मानिसहरूले ती कुराहरू पूर्ण रूपमा बुझ्छन् त? गैरविश्‍वासीहरूले यी कुराहरू बुझ्न सक्दैनन्, किनभने तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्, र तिनीहरूले धेरै भए आफ्नो नियति स्विकार्न सक्छन् र यसको प्रतिरोध गर्नु बेकार छ भनेर बुझ्न सक्छन्। त्यसपछि तिनीहरूले आफ्ना छोराछोरी र नातिनातिनाहरू नियतिसँग लडिरहेको देख्छन्, र यसो भन्छन्, “प्रकृतिलाई आफ्नो बाटो लिन देऊ, प्रत्येक पुस्तासँग आफ्नै आशिष् हुन्छ। छोड्देऊ, तिनीहरू ५० वर्ष पुगेपछि नियतिसँग लडाइँ गर्न छोड्नेछन्। यसरी नै पुस्तौँपुस्ता जान्छ। तिनीहरू सबै बुढाबुढी भएर लडाइँ गर्न असक्षम नहोउञ्जेल नियतिसँग लडाइँ गरिरहन्छन्। तब तिनीहरूले आफ्नो नियति स्विकार्नेछन् र पाठ सिक्नेछन्। तिनीहरू त्यसउप्रान्त उति उग्र र अहङ्कारी हुनेछैनन्, बरु अझ बढी स्थिर भइसकेका हुनेछन्।” गैरविश्‍वासीहरूले बढीभन्दा बढी यत्ति देख्न सक्छन्, तर के तिनीहरूले सत्यता बुझ्न सक्छन् त? पक्कै पनि सक्दैनन्, किनभने तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन् र उहाँका वचनहरू पढ्दैनन्। अनि तिनीहरूले कसरी सत्यता बुझ्न सक्थे र? के ५० वर्षको उमेरमा आफ्नो नियति थाहा पाउनु भनेको सत्यता बुझ्नु हो त? मानिसहरू “मानिसको भाग्य स्वर्गले निर्धारित गर्छ” भनी विश्‍वास गर्छन्। के यसको मतलब तिनीहरू स्वर्गको इच्छामा समर्पित हुन्छन् भन्‍ने हो त? (होइन।) यसमा मात्रै विश्‍वास गरेर हुँदैन। यी कुराहरू जान्नु भनेको केवल भाग्यविरुद्ध सङ्घर्ष नगर्नु हो, तर यो सत्यता बुझ्नुचाहिँ अझै पनि होइन। यदि मानिसहरूले सत्यता बुझ्न चाहन्छन् भने, तिनीहरू परमेश्‍वरसामु आएर उहाँको मुक्ति प्राप्त गर्नैपर्छ, तिनीहरूले उहाँका वचनहरूको न्याय, अनि उहाँबाट आउने सत्यता र जीवनको भरणपोषण प्राप्त गर्नैपर्छ। त्यसपछि मात्रै तिनीहरूले ती सब कुराहरूको रहस्य बुझ्न सक्नेछन्। नत्र, मानिसहरू ७०, ८० वा सय वर्ष बाँचे पनि, तिनीहरूले मानव जीवन के हो, मानिसहरू किन जिउँछन् र किन मर्छन् भन्‍ने कुरा अझै पनि थाहा पाउनेछैनन्। मानिसहरू पृथ्वीमा यो छोटो यात्रा हिड्छन् र मानवजीवन समाप्त हुनुअघि यो के हो भनेर पत्ता नलगाई दशकौँ जिउँछन्। मृत्युको समयमा, तिनीहरू असन्तुष्ट महसुस गर्छन् र नानाभाँती सोचिरहन्छन्, र अन्त्यमा बिनाकुनै प्राप्ति, पछुतोसाथ यो संसार छोड्छन्। यिनीहरू पुनर्जन्म लिएर यसरी नै जिए भने, के यो दुःखलाग्दो कुरा हुनेछैन र? (हुनेछ।) हरेक पुस्ताका मानिसहरू दुःखलाग्दो रूपमा एकपछि अर्को गर्दै आउने र जाने गर्छन्, जीवितहरूले दिवङ्गतहरूलाई बिदा गर्छन् र त्यसपछि अर्को पुस्ताले तिनीहरूलाई बिदा गर्छ। तिनीहरू केही नबुझी रनभुल्लमा जिउँदै यस चक्रमा घुमिरहन्छन्। आखिरी दिनहरूमा परमेश्‍वरको काम स्वीकार गरेका तिमीहरूको लागि यो फरक छ। तिमीहरूले आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिन परमेश्‍वर देहधारी हुनुहुभएको बहुमूल्य र दुर्लभ अवसर भेटेका छौ। तिमीहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि उहाँको व्यक्तिगत गोठालो र अगुवाइ प्राप्त गर्न सक्छौ। तिमीहरू थुप्रै रहस्य र धेरै सत्यता बुझ्छौ, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छौ। तिमीहरूका भ्रष्ट स्वभावहरू धुन र परिवर्तन गर्न सकिन्छ। तिमीहरूले अत्यन्तै धेरै, विगतका पुस्ताका सन्तहरूले भन्दा पनि धेरै पाएका छौ। के यो सबैभन्दा आशिषित कुरा होइन र? तिमीहरू सबैभन्दा बढी आशिषित छौ।

परमेश्‍वरका वचनहरू पढेपछि र तिनीहरूको न्याय र सजाय वर्षौं अनुभव गरिसकेपछि, तिमीहरूले बिस्तारै परमेश्‍वरको मानवजाति व्यवस्थापनको उद्देश्य र उहाँको मानवजाति व्यवस्थापन र मुक्ति प्रदान गर्ने कार्यको रहस्य बुझ्न थालेका छौ। तिमीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझेका छौ र उहाँको सार्वभौमिकता जानेका छौ। तिमीहरू हृदयमा परमेश्‍वरप्रति समर्पित हुन इच्छुक छौ, र उहाँप्रति समर्पित हुन सक्षम छौ। जीयाइ पनि सुरक्षित र तृप्त भएको महसुस हुन्छ। तँलाई परमेश्‍वरले जिउन दिनुभएको छ, तँ परमेश्‍वरको लागि जिउँछस्, र तँ सृजित प्राणीको रूपमा कर्तव्य निर्वाह गर्न जिउँछस्। यो जिउने अर्थपूर्ण तरिका हो। यदि मानिसहरू सत्यता नस्विकारी वा नबुझी जिउँछन् अनि केवल देहको लागि जिउँछन् भने, त्यसमा कुनै पनि मूल्य हुँदैन। तिमीहरू सबै अहिले सत्यतातर्फ लागिपरिरहेका छौ, र झन्झन् विवेक र समझसाथ जिइरहेका छौ। तिमीहरू मानव जस्तो हुनुपर्ने हो, झन्झन् त्यस्तो बन्दै छौ, र तिमीहरू झन्झन् बढी सत्यता बुझ्छौ। तिमीहरू परमेश्‍वरमा समर्पित कसरी हुने भनी झन्झन् बढी जान्दछौ, र सृजित प्राणीको रूपमा कर्तव्य निभाउन र परमेश्‍वरको साक्षी दिन सक्छौ। यसरी जिउँदा तिमीहरूको हृदय शान्ति र आनन्दले भरिनेछ, र यो सम्भव हुनसक्ने सबैभन्दा अर्थपूर्ण जीवन हो। यो सम्पूर्ण मानवतामाझ तिमीहरूले मात्र प्राप्त गरेको आशिष् हो। यस विशाल संसारमा र सम्पूर्ण मानवजातिमा, परमेश्‍वरले तिमीहरू थोरैलाई मात्र चुन्नुभएको छ र तिमीहरूलाई यो अन्तिम युगमा र ठूलो रातो अजिङ्गरको देशमा जन्मने तुल्याउनुभएको छ। तिमीहरू उहाँको आज्ञा प्राप्त गर्न, आफ्नो कर्तव्य निर्वाह गर्न, र उहाँप्रति समर्पित हुन सक्छौ। तिमीहरू परमेश्‍वरद्वारा रुचाइएका र उहाँद्वारा चुनिएकाहरू हौ। के यो सबैभन्दा आशिषित कुरा होइन र? (हो।) यो एकदमै आशिषित कुरा हो। यस्ता मानिसहरू पनि छन्, जो परमेश्‍वरमा विश्‍वास गर्छन्, तर आफ्नो कर्तव्य निर्वाह गर्न सबै कुरा पन्छाउन सक्दैनन्, र यो खेदजनक कुरा हो। यस्ता अनि, मानिसहरू पनि छन्, जो सत्यता बुझ्दैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा पनि तिनीहरू परमेश्‍वरको लागि श्रम गरिरहेका छन् मात्र भन्न सकिन्छ। तिनीहरूले हृदयमा परमेश्‍वरसँग सौदा गर्दै आशिष् प्राप्त गर्ने आशामा आफूसँग भएको शक्ति अर्पण गर्छन्। तिनीहरूले कुनै दिन जब सत्यता बुझ्छन्, तब स्थिर भएर स्वेच्छाले आफ्नो कर्तव्य पूरा गर्न सक्नेछन्। तिमीहरूको अहिलेको जीवन र तिमीहरूले परमेश्‍वरको साक्षी दिन र परमेश्‍वरको राज्य सुसमाचार फैलाउनको लागि जिउने दैनिक जीवन नै उहाँले अनुमोदन गर्नुहुने जीवनशैली हो। यसलाई सरल भाषामा भन्नुपर्दा, परमेश्‍वरले तिमीहरूलाई यसरी जिउन अनुमति दिनुहुन्छ, र तिमीहरूलाई यो अवसर दिनुहुने परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरले नै तँलाई कर्तव्य निर्वाह गर्दै र उहाँप्रति समर्पित हुँदै जिउने यो अवसर दिनुभएको छ, र यो सबैभन्दा अर्थपूर्ण कुरा हो। तिमीहरूले गर्वित र सम्मानित महसुस गर्नुपर्छ र यो अवसरको कदर गर्नुपर्छ। तिमीहरू कलिलै छौ, र तिमीहरूले विपत्तिमाझ, र यस्तो प्रतिकूल परिवेश र परिस्थितिहरूमा आफ्नो कर्तव्य निर्वाह गर्नु, परमेश्‍वरलाई पछ्याउनु, र उहाँको साक्षी दिनु—यो कति दुर्लभ मौका हो! मानवजातिले सत्यता प्राप्त गरून् र मानवजाति शुद्ध पारिऊन् भनेर आखिरी दिनहरूमा परमेश्‍वर देहधारी हुनु र उहाँले मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन यति धेरै सत्यता व्यक्त गर्नु भनेको सबैभन्दा दुर्लभ अवसर हो। तर समय धेरै छैन, र यो आँखा झिमिक्क गर्दा गइसक्छ। तिमीहरूले यो मौका छोपेर प्राप्त गर्नुपर्ने सबै सत्यता प्राप्त गर्नुपर्छ। यो सबैभन्दा ठूलो आशिष् हो, र यो विगतका सबै सन्तहरूले पाएको भन्दा पनि ठूलो आशिष् हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्