आफूलाई चिन्नेसम्बन्धी वचनहरू (अंश ४७)
के तिमीहरू अब कसरी परमेश्वरलाई पछ्याउने र कसरी सत्यता पछ्याउने मार्ग हिँड्ने भनेर स्पष्ट रूपमा देख्छौ? खासमा परमेश्वरमा विश्वास गर्नु र परमेश्वरलाई पछ्याउनु भनेको के हो? के यो केही कुराहरू त्याग्नु, परमेश्वरको लागि आफूलाई अर्पित गर्न र केही कष्ट सहन सक्षम हुनु र अन्तिम बिन्दुसम्मै परमेश्वरलाई पछ्याउनु, र यति नै हो त? परमेश्वरलाई यसरी पछ्याएर के कसैले सत्यता प्राप्त गर्न सक्छ र? के यसरी कसैले मुक्ति प्राप्त गर्न सक्छ र? के तिमीहरू आफ्नो हृदयमा यी कुराहरूबारे स्पष्ट छौ? कतिपय मानिसहरू के सोच्छन् भने, एकपटक कुनै व्यक्तिले न्याय, सजाय, काटछाँट भोगिसकेपछि वा उसको साँचो रङ खुलासा भइसकेपछि, उसको परिणाम निर्धारित भइहाल्छ र उसले मुक्ति पाउने कुनै आशा रहँदैन। अधिकांश मानिसहरू यस मामिलालाई स्पष्ट रूपमा बुझ्न सक्दैनन्, तिनीहरू चौबाटोमा हिचकिचाउँदै बसिरहेका हुन्छन्, र तिनीहरूलाई अगाडिको मार्ग कसरी हिँड्ने थाहै हुँदैन। के यसको अर्थ तिनीहरूमा अझै पनि परमेश्वरको कामबारे साँचो ज्ञान छैन भन्ने होइन र? के परमेश्वरको काम र परमेश्वरद्वारा मान्छेलाई दिइने मुक्तिबारे सधैँ सन्देह राख्नेहरूसँग कुनै साँचो विश्वास हुन्छ र? सामान्यतया, जब कतिपय मानिसहरूलाई काटछाँट गर्न बाँकी हुन्छ र तिनीहरूले अझै पनि कुनै बाधा-व्यवधानको सामना गरेका हुँदैनन्, तिनीहरूलाई आफूले सत्यताको खोजी गर्नुपर्छ र आफ्नो विश्वासमा परमेश्वरका अभिप्रायलाई सन्तुष्ट तुल्याउनुपर्छ भन्ने लाग्छ। तैपनि, तिनीहरूले अलिकति ठक्कर खाइसकेपछि वा कुनै कठिनाइ देखा परिसकेपछि, तिनीहरूको धोका दिने प्रकृति देखा पर्छ, जुन हेर्दा घृणास्पद देखिन्छ। पछि गएर, तिनीहरूले पनि घृणित महसुस गर्छन्, र अन्तिममा आफ्नै परिणामबारे यसो भन्दै निष्कर्ष निकाल्छन्, “मेरो लागि सबै समाप्त भयो! यदि म यस्तो गर्न सक्छु भने, के त्यसको अर्थ म सकिएँ भन्ने हुँदैन र? परमेश्वरले मलाई कहिल्यै पनि मुक्ति दिनुहुनेछैन।” धेरै मानिसहरू यही स्थितिमा छन्। सबैजना यस्तै छन् भनेर पनि भन्न सकिन्छ। मानिसहरूले किन आफैप्रति यस्तो निष्कर्ष निकाल्छन् त? तिनीहरूले अझै पनि मानवजातिलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्दैनन् भन्ने यसले प्रमाणित गर्छ। एकपटक मात्रै काटछाँटमा पर्दा पनि यसले तँलाई लामो समयसम्म नकारात्मकतामा लैजान सक्छ, र तैँले यसबाट आफूलाई बाहिर निकाल्नै नसक्ने हुन सक्छ, यहाँसम्म कि तैँले आफ्नो कर्तव्य पनि छोड्न सक्छस्; सानो घटनाले समेत तँलाई तर्साएर अबउप्रान्त सत्यता पछ्याउनबाट रोक्न र तँलाई त्यहीँ अड्काएर राख्न सक्छ। मानौँ, आफू त्रुटिविहीन र निष्खोट छु भन्ने अनुभव गर्दा मात्रै मानिसहरू आफ्नो पछ्याइमा जोसिला हुन्छन्, तर आफू अत्यन्तै भ्रष्ट भएको थाहा पाउँदा, तिनीहरूसँग सत्यताको पछि लागिरहने हृदय नै हुँदैन। धेरै मानिसहरूले निराशा र नकारात्मकताका यस्ता शब्दहरू बोलेका छन्, “अवश्य नै मेरो लागि सबै सकियो; परमेश्वरले मलाई मुक्ति दिनुहुने छैन। यदि परमेश्वरले मलाई क्षमा दिनुभयो भने पनि, मैले आफूलाई क्षमा दिन सक्दिन; म कहिल्यै पनि परिवर्तन हुन सक्दिनँ।” मानिसहरूले परमेश्वरको अभिप्रायलाई बुझ्दैनन्, जसले तिनीहरूले अझै पनि उहाँको कामलाई जानेका छैनन् भन्ने देखाउँछ। वास्तवमा, मानिसहरूले आफ्ना सबै अनुभवहरूको दौरान कहिलेकाहीँ केही भ्रष्ट स्वभाव प्रकट गर्नु वा दूषित तरिकाले वा गैरजिम्मेवार ढङ्गले वा झाराटारुवा किसिमले वा बफादारीविना काम गर्नु स्वाभाविक कुरा हो। यस्तो हुनुको कारण मानिसहरूमा भ्रष्ट स्वभाव हुनु हो; यो अटुट नियम हो। यदि यी प्रकटीकरणहरू हुँदैनथे भने, तिनीहरूलाई किन पो भ्रष्ट मानवजाति भनिन्थ्यो र? यदि मानवजाति भ्रष्ट हुँदैनथ्यो भने, परमेश्वरले गर्नुहुने मुक्तिको कार्य पनि निरर्थक हुनेथ्यो। अब समस्या के हो भने, मानिसहरूले सत्यता नबुझ्ने हुनाले, तिनीहरू आफूलाई साँचो रूपमा नबुझ्ने भएकाले, र तिनीहरूले आफ्नै स्थिति स्पष्टसँग देख्न नसक्ने हुनाले, तिनीहरूलाई प्रकाश देखाउन र खुलासा र न्यायका वचनहरू बोलिदिन परमेश्वरको आवश्यकता पर्छ। अन्यथा, तिनीहरू चेतनाशून्य र मन्दबुद्धिकै रहनेछन्। यदि परमेश्वरले यसरी काम गर्नु नभएको भए, मानिसहरू कहिल्यै बदलिने थिएनन्। हरेक चरणमा तिमीहरूसामु आउने कठिनाइहरू जेसुकै भए पनि, म तिमीहरूसँग सत्यताबारे सङ्गति गर्ने नै छु, र तिमीहरूलाई स्पष्टता र मार्गदर्शन प्रदान गर्ने नै छु, र जबसम्म तिमीहरू सही मार्गमा प्रवेश गर्न सक्षम रहन्छौ, तबसम्म त्यो पर्याप्त नै रहनेछ। अन्यथा, मानिसहरू सधैँ चरमतातर्फ अघि बढ्नेछन्। तिनीहरू सधैँ निकासरहित बाटोतर्फ लाग्नेछन्, र त्यहाँबाट तिनीहरू अगाडि जाने कुनै बाटो हुनेछैन र हिँड्दाहिँड्दै तिनीहरूले आफैबारे कुनै निष्कर्ष निकाल्नेछन्। जब मानिसहरूले भर्खरै मात्र परमेश्वरको कार्य अनुभव गर्न थालेका हुन्छन्, त्यो बेला तिनीहरूले आफूलाई बुझेकै हुँदैनन्। धेरै पटक असफल र प्रकाश भइसकेपछि, तिनीहरूले अन्ततः आफैबारे निष्कर्ष निकाल्छन्। तिनीहरूले भन्छन्: “म दियाबलस हुँ, म शैतान हुँ! मेरो लागि सबै कुरा सकिए। अब मैले मुक्ति पाउने कुनै मौका छैन। म मुक्तिबाट धेरै पर छु।” मानिसहरू वास्तवमा निकै कमजोर हुन्छन् र तिनीहरूलाई सम्हाल्न निकै कठिन हुन्छ, र हिँड्दाहिँड्दै तिनीहरू चरमतातर्फ अघि बढ्नेछन्। जब मानिसहरूले आफ्नो भ्रष्टता निकै गहिरो रहेको र आफू दियाबलस भएको देख्न सक्दैनन्, तब तिनीहरू अहङ्कारी र आत्मधर्मी बन्छन्; तिनीहरूलाई आफूले असङ्ख्य कठिनाइहरू झेलेको, आफू परमेश्वरलाई प्रेम गर्ने मान्छे रहेको, र स्वर्गको राज्यमा प्रवेश गर्न आफू योग्य रहेको भन्ने लाग्छ। तर जब मानिसहरूले आफ्नो भ्रष्टताको गहिराइ बुझ्छन्, र आफू मानव स्वरूपमा जिउने नगरेको, बरु दियाबलस एवं शैतान रहिरहेको महसुस गर्छन्, तब तिनीहरू निराशामा पुग्छन् र आशाहीन बन्छन्; अनि आफूलाई परमेश्वरले दोषी ठहर्याउनुपर्थ्यो, र प्रकाश गरेर हटाइदिनुपर्थ्यो भन्ने सोच्छन्। मानिसहरूले आफूलाई नबुझ्दा अहङ्कारी र आत्मधर्मी हुन्छन्, र जब आफूलाई बुझ्छन्, तिनीहरू निराशामा पुग्छन्। मानिसहरू यसरी नै कष्टप्रद र कठिन हुन्छन्। यदि तिनीहरूले सत्यता स्वीकार गर्न सके भने, यदि तिनीहरूले एक दिन साँच्चिकै परमेश्वरको अभिप्राय बुझ्न सके भने, तिनीहरूले यसो भन्नेछन्: “मेरो भ्रष्टता सधैँ यति गहिरो थियो र अन्ततः मैले यसलाई पहिचान गरेको छु। भाग्यवश, परमेश्वरले मलाई मुक्ति दिनुभयो, र अब म प्रतिभाशाली जीवन देख्न सक्छु र जीवनको सही मार्ग हिँड्न सक्छु। परमेश्वरलाई कसरी धन्यवाद प्रकट गरूँ, मलाई थाहै छैन।” यो त सपनाबाट बिउँझेर प्रकाश देख्नुजस्तै हो। के तिनीहरूले महान् मुक्ति पाएका छैनन् र? के तिनीहरूले परमेश्वरको स्तुति गर्नुपर्दैन र? कतिपय मानिसहरू मृत्यु नजिक हुँदा पनि आफूलाई बुझ्दैनन्; तिनीहरू अझै पनि अहङ्कारी नै हुन्छन् र तिनीहरूले तथ्यहरूको प्रकाश स्वीकार गर्न सक्दैनन्। तिनीहरूलाई आफू निकै असल भएजस्तो लाग्छ: “म एउटा असल व्यक्ति हुँ, मैले त्यस्तो कसरी गर्न सक्थेँ र?” यस्तो लाग्छ कि तिनीहरूलाई गलत आरोप लगाइएको छ। कतिपय मानिसहरूले वर्षौँसम्म परमेश्वरको कार्य अनुभव गरेका हुन्छन् तर अन्त्यमा तिनीहरूले अझै पनि आफ्नो प्रकृति बुझ्दैनन्। तिनीहरू सधैँ आफू असल मान्छे रहेको सोच्छन् र आफूले अन्योलको क्षणमा परेर गल्ती गरेको ठान्छन्, र तिनीहरू आजसम्म पनि आफू हटाइँदा समर्पित हुँदैनन्। यसप्रकारको व्यक्ति अति नै अहङ्कारी र अज्ञानी हुन्छ, र उसले सत्यता स्वीकार नै गर्दैन। यस्ताहरू कहिल्यै रूपान्तरित भएर मानव प्राणी बन्न सक्नेछैनन्। यसबाट तिमीहरूले थाहा पाउन सक्छौ कि मानिसहरूको प्रकृति परमेश्वरप्रति प्रतिरोधी र विश्वासघाती हुने भए पनि तिनीहरूको प्रकृतिमा भिन्नताहरू हुन्छन्। यसको लागि, मानिसहरूको प्रकृतिबारे एक गहन बुझाइ आवश्यक पर्छ।
मानिसहरूको प्रकृतिमा हामीले बुझ्नैपर्ने केही साझा विशेषताहरू हुन्छन्। सबै मानिसहरू परमेश्वरप्रति विश्वासघात गर्न सक्षम हुन्छन्—यो साझा विशेषता हो—तथापि, प्रत्येक व्यक्तिको आफ्नै महत्त्वपूर्ण कमजोरी हुन्छ। कोही मानिसहरू शक्ति मन पराउँछन्, कोही हैसियत मन पराउँछन्; कोही पैसालाई पुज्छन्, र कोहीचाहिँ भौतिक सुखलाई पुज्छन्। यी कुराहरू मानिसहरूको प्रकृतिमा हुने भिन्नताहरू हुन्। कति मानिसहरू परमेश्वरमा विश्वास गर्न थालेपछि धेरै कठिनाइहरू झेलेर पनि दह्रिलोसँग खडा हुन सक्छन् भने, कति अरू मानिसहरू थोरै कठिनाइ सामना गर्नुपर्दा पनि नकारात्मक हुन्छन्, गुनासो गर्छन् र दह्रिलोसँग खडा हुन असफल हुन्छन्। त्यसोभए यस्तो किन हुन्छ, जहाँ दुवैले परमेश्वरमा विश्वास गरिरहेका, र दुवैले परमेश्वरको वचन खानपिन गरिरहेका हुन्छन्, तर कुनै परिस्थिति आइपर्दा तिनीहरूको प्रतिक्रिया फरक फरक हुन्छ? यसले के दर्साउँछ भने, गहिरोसँग भ्रष्ट भएका मानिसहरू सबैमा शैतानको प्रकृति हुने भए पनि, तिनीहरूको चरित्र फरक फरक हुन्छ। कति मानिसहरू सत्यतादेखि वितृष्ण हुन्छन् र सत्यतालाई घृणा गर्छन्, तर अरू मानिसहरू सत्यतालाई प्रेम र स्वीकार गर्न सक्षम हुन्छन्। कतिपय मानिसहरूले देखाउने भ्रष्ट स्वभाव अधिक गम्भीर हुन्छ भने, कतिपयको कम गम्भीर हुन्छ। कति मानिसहरू अलि बढी दयालु हुन्छन्, र अरूचाहिँ धेरै क्रूर हुन्छन्। तर तिनीहरूका शब्द, व्यवहार र प्रकटीकरण फरक फरक भए पनि, तिनीहरूका भ्रष्ट स्वभावहरू उस्तै हुन्छन्; तिनीहरू सबै भ्रष्ट मानवहरू हुन्, तिनीहरू सबै शैतानकाहरू हुन्। यो तिनीहरूबीचको साझा विशेषता हो। व्यक्तिको प्रकृतिले ऊ को हो भनेर परिभाषित गर्छ। तर प्रकृतिको सन्दर्भमा व्यक्ति-व्यक्तिबीच समानता भए पनि, प्रत्येक व्यक्तिलाई उसको सारअनुसार अलगअलग व्यवहार गरिनुपर्छ। उदाहरणको लागि, दुष्ट कामवासना सबै मानिसहरूमा रहने साझा विशेषता हो। सबैमा यी कुराहरू हुन्छन् र कसैले पनि ती कुराबाट सजिलै पार पाउन सक्दैन। तथापि, यसबारे केही मानिसहरूको विशेष बलियो झुकाव हुन्छ। जब-जब यसप्रकारका मानिसहरूले विपरीतलिङ्गीसँग सम्बन्धित परीक्षा सामना गर्छन्, त्यसमा तिनीहरूले माथ खान्छन्। तिनीहरूको हृदय वशमा पर्छ र तिनीहरू प्रलोभनमा पर्छन्; तिनीहरू कुनै पनि समय अर्को व्यक्तिसँग भाग्न र परमेश्वरप्रति विश्वासघात गर्न तयार हुन्छन्। यसरी, यस्ता मानिसहरूमा दुष्ट प्रकृति हुन्छन् भनेर भन्न सकिन्छ। कतिपय मानिसहरूले जब यसप्रकारको कुरा सामना गर्छन्, तब तिनीहरूले केही कमजोरी देखाए पनि वा केही दुष्ट कामवासना प्रकट गरे पनि, तिनीहरूले सीमा नाघेर कुनै पनि काम गर्दैनन्। तिनीहरू आफूलाई संयमित राख्न र यसप्रकारको परिस्थितिबाट बच्न सक्षम हुन्छन्; तिनीहरू देहविरुद्ध विद्रोह गर्न र प्रलोभनबाट परै बस्न सक्छन्। यसर्थ, तिनीहरूको प्रकृति दुष्ट छ भनेर भन्न सकिँदैन। मानिसहरू देहमा जिउँछन्, त्यसैले तिनीहरूमा दुष्ट कामवासना हुन्छ; तर कतिपय मानिसहरू स्वेच्छाचारी र उत्ताउला हुन्छन्, तिनीहरू कामवासनामै लिप्त हुन्छन् र मण्डलीको काममा बाधाव्यवधान ल्याउने कामहरूसमेत गर्छन्। तर कतिपय मानिसहरू यस्ता हुँदैनन्। तिनीहरू सत्यता पछ्याउन र सत्यताअनुसार काम गर्न सक्षम हुन्छन्, र तिनीहरू देहविरुद्ध विद्रोह गर्न सक्छन्। हरेक मानिसमा देहको कामवासना भए पनि, तिनीहरू एकै प्रकारले व्यवहार गर्दैनन्। यसरी मानिसहरूका प्रकृति सारहरू भिन्न-भिन्न हुन्छन्। कतिपय मानिसहरू पैसाको लालची हुन्छन्। तिनीहरूले पैसा वा राम्रा कुराहरू देख्नेबित्तिकै लिइहाल्न खोज्छन्। तिनीहरूमा यी कुराहरू हासिल गर्ने अत्यन्तै तीव्र चाहना हुन्छ। यी मानिसहरू प्रकृतिले नै लालची हुन्छन्। जुनसुकै भौतिक सम्पत्ति देखे पनि, त्यसको लालच गरिहाल्छन्, र तिनीहरूले परमेश्वरको भेटी चोर्ने वा दुरुपयोग गर्ने हिम्मतसमेत गर्छन्—तिनीहरूले दसौँ हजार वा लाखौँ रुपैयाँ समात्नेसमेत हिम्मत गर्छन्। जति धेरै पैसा हुन्छ, त्यति नै तिनीहरू साहसी बन्छन्। तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय बिलकुलै हुँदैन। यो लालची प्रकृति हो। कतिपय मानिसहरूको विवेक मण्डलीको केही रुपैयाँ, वा केही सय खर्च गरेपछि छटपटाउँछ। तिनीहरू तुरुन्तै परमेश्वरसामु घुँडा टेकेर प्रार्थना गर्छन्, तिनीहरूमा पश्चात्तापको आँसु हुन्छ र तिनीहरू परमेश्वरसँग क्षमा माग्छन्। तर हरेकमा भ्रष्ट स्वभाव र कमजोरी हुन्छ भन्दैमा त्यस्ता मानिसहरू पैसाको लालची हुन्छन् भनेर हामी भन्न सक्दैनौँ, र ती मानिसहरूले साँचो रूपमा पश्चात्ताप गर्न सक्नुले तिनीहरूको कार्य तिनीहरूमा रहेको भ्रष्ट स्वभावहरूको एक प्रकटीकरण मात्र थियो भन्ने प्रमाणित गर्छ। कतिपय मानिसहरू अरूप्रति आलोचनात्मक हुन्छन्। तिनीहरूले यसो भन्ने गर्छन्, “यो व्यक्तिले यसपटक मण्डलीको केही रुपैयाँ खर्च गरेको छ, अर्कोपटक त्यो सयौँ रूपियाँ हुन सक्छ। ऊ पक्कै पनि भेटी चोर्ने व्यक्ति हो र उसलाई निकाल्नुपर्छ।” यस तरिकाले बोल्नु भनेको यसमा केही आलोचनात्मक प्रकृति हुनु हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरूले निश्चय नै भ्रष्टता प्रकट गर्नेछन् र कैयौँ खराब कामहरू गर्नेछन्। यो सामान्य कुरा हो, तर आफ्नो भ्रष्टता प्रकट गर्ने व्यक्ति दुष्ट व्यक्तिको प्रकृति भएको व्यक्तिसमान हुँदैन। यी दुई प्रकारका मानिसहरूले केही समान कामहरू गर्न सक्लान्, तर तिनीहरू प्रकृतिमा भिन्न हुन्छन्। उदाहरणको लागि, जब कुनै व्यक्ति सत्यता पछ्याउने मार्ग हिँड्दै इमानदार व्यक्ति बन्न खोज्छ, तब उसले समयसमयमा अवश्यै झुट, छल वा चलाखी प्रकाश गर्छ, तर दियाबलसले झुट बोल्नु र छल गर्नु उसको प्रकृतिकै भाग हो र त्यसले जतिबेला पनि र जुनसुकै कुरामा झुट बोल्नेछ। यसमा, दुवैले ढँटुवा व्यवहार प्रदर्शित गर्न सक्ने भए पनि, दियाबलसको सार र सत्यता पछ्याउने व्यक्तिको सार मूलभूत रूपमा भिन्न हुन्छन्। त्यसकारण, इमानदार बन्न खोज्ने मानिसहरूलाई क्षणिक समय भ्रष्टता प्रकटीकरण गरेकै कारण दियाबलस र शैतान हुन् भनेर भन्नु उचित हुन्छ र? झुट बोल्ने वा अरूलाई छल्ने अपराध गर्नुको अर्थ तिनीहरू सधैँ झुट बोल्ने र अरूलाई छल्ने दियाबलसहरू हुन् नै भन्ने हुँदैन। मानिसहरूको प्रकृति सार एकै प्रकारको नहुने भएकोले, तिनीहरू सबैलाई हामी एउटै डालोमा हाल्न सक्दैनौँ। क्षणिक अपराध गर्ने व्यक्तिलाई दियाबलससँग तुलना गर्नु एक प्रकारको स्वेच्छाचारी आलोचना र निन्दा हो। यही कुराले मानिसहरूलाई सबभन्दा धेरै हानि गर्छ। यदि तँमा समझशक्ति छैन र तँ परिस्थितिहरूलाई स्पष्ट देख्न सक्दैनस् भने, तैँले आँखा चिम्लेर बोल्न वा अन्धाधुन्ध प्रावधान लागू गर्नु हुँदैन, अन्यथा तैँले अरूलाई हानि पुर्याउनेछस्। कुनै आत्मिक बुझाइ नभएका र प्रावधानहरू पालना गर्न मन पराउने मानिसहरूले अन्य व्यक्तिहरूको आलोचना वा निन्दा गर्ने अधिक सम्भावना हुन्छ। सत्यता नबुझ्ने मानिसहरूले सिद्धान्तविना बोल्ने र काम गर्ने गर्छन्, अनि यसरी लापरवाही तरिकाले बोल्ने र स्वेच्छाचारी ढङ्गले अरूको आलोचना वा निन्दा गर्ने मानिसहरूले आफूलाई पनि र अरूलाई पनि फाइदा पुर्याउँदैनन्।
व्यक्ति परमेश्वरका अभिप्रायअनुरूप हुनको लागि उहाँप्रतिको विश्वासमा कुन लक्ष्यसम्म पुग्नुपर्छ भन्ने कुरा तिमीहरूलाई हृदयमा थाहै छैन। धेरै कम मानिसहरू मात्र परमेश्वरको मापदण्डहरूअनुसार उहाँमाथि पूर्ण विश्वास गर्न सक्षम हुन्छन्। तिमीहरूभित्र अत्यन्तै धेरै समस्याहरू छन्, र सायद तिमीहरूले अहिलेसम्म महसुस गरेकै छैनौ, अनि तिमीहरू अझैसम्म तीबारेमा स्पष्ट छैनौ। यसले तिमीहरूले अझै पनि सत्यता बुझेका छैनौ, तिमीहरू आत्मचिन्तन गर्न सक्दैनौ, तिमीहरूले अझैसम्म आफूभित्र आफ्नो प्रकृतिका विभिन्न विचार र पक्षहरू पत्ता लगाएको छैनौ र तिमीहरू अझै पनि ती कुराहरू चिरफार गर्न असक्षम छौ भन्ने देखाउँछ। कुनै दिन, जब तिमीहरूले धेरै प्रवचन सुनिसकेका हुन्छौ र जब तिमीहरूसँग अनुभव हुन्छ, तब तिमीहरूले सत्यता बुझ्नेछौ। त्यसपछि मात्र, तिमीहरू साँचो आत्मज्ञान पाउन सक्षम हुन्छौ। तिमीहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गरेको भए पनि, तिमीहरूले अझै पनि आफ्नो भ्रष्ट स्वभावहरू फालेका छैनौ, र तिमीहरूको प्रकृतिभित्र अझै पनि कैयौँ सतही कुराहरू छन्, र तिमीहरू अझै पनि राम्रो लुगा लगाउन र असल कुराहरूको आनन्द लिन मन पराउँछौ। जब कतिपय मानिसहरूले राम्रो कपडा लगाउँछन् वा राम्रो फोन भेट्छन्, तब तिनीहरूको बोलीको लवज फेरिन्छ; जब कतिपय महिलाहरूले अग्लो हिल भएको जुत्ता वा चप्पल लगाउँछन्, तब तिनीहरूको हिँड्ने तरिका बदलिन्छ, र त्यसपछि तिनीहरूलाई आफू को हुँ भन्ने पनि थाहा हुँदैन। जब मानिसहरूले आफ्नो हृदयभित्र के-कस्ता कुराहरू पाल्छन्, र तिनीहरूबाट यस्ता दुष्ट, कुरूप र सतही कुराहरू प्रकटीकरण गराउने कस्तो प्रकृति हो भन्ने कुरा आउँछ, तब मानिसहरूले आफ्नै भ्रष्ट स्वभाव र आफ्नो प्रकृतिभित्र रहेका कुराहरू चिन्नुपर्ने हुन्छ। तर मानिसहरूले यी भ्रष्ट स्वभावहरू महसुस गर्न सक्ने भए पनि हल गर्नचाहिँ सक्दैनन्, तिनीहरूले आफ्नै इच्छाशक्तिमा निर्भर रहेर यस्ता स्वभावहरू नियन्त्रित गर्न र बाहिर प्रकट हुनबाट रोक्न मात्र सक्छन्। मानिसहरूको अनुभव गहिरो हुँदै जाँदा, तिनीहरूको प्रकृति र सत्यताका सबै पक्षहरूको ज्ञान गहिरो हुँदै जाँदा र बिस्तारै परमेश्वरका मापदण्डहरू बुझेर त्यसमा प्रवेश गर्दै जाँदा, तिनीहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूका प्रकृतिका पक्षहरू बिस्तारै बदलिन थाल्छन्। सुरुमा, तिनीहरूको आत्मज्ञान निकै सतही हुन्छ। तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू स्विकार्न सक्छन्, तर सत्यता खोज्न र आफ्नो भ्रष्टताको सार चिन्न सक्दैनन्। केही ज्ञान प्राप्त गरेपछि, तिनीहरूले आफूलाई नियन्त्रित गर्न र कडा मेहनत गरेर देहविरुद्ध विद्रोह गर्न र नतिजाहरू हासिल गर्न चाहन्छन्, तर तिनीहरूको प्रयास व्यर्थ हुन जान्छ र तिनीहरू अझै पनि समस्याको मूल जड छर्लङ्गै देख्न सक्दैनन्। पछि गएर, जब तिनीहरूले सत्यतालाई साँचो रूपमा बुझ्छन् र जब आफ्नो भ्रष्ट स्वभावलाई राम्रोसँग चिन्छन्, तिनीहरूले आफैलाई घृणा गर्न थाल्छन्। त्यसबेला, देहविरुद्ध विद्रोह गर्नको लागि तिनीहरूले धेरै प्रयास लगाइरहनु पर्दैन, तिनीहरूले सक्रिय भएर सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छन्। कहिलेकाहीँ, तिनीहरूले पूर्ण रूपमा सत्यता बुझ्न नसके पनि, कम्तीमा तिनीहरूले आफ्नो विवेक र समझको आधारमा काम गर्न सक्छन्। मानिसहरूले पहिलो पटक परमेश्वरका वचनहरू अनुभव गर्न थाल्दा, तिनीहरू सबैले कठिनाइ सामना गर्छन्; किनभने तिनीहरूले सत्यता बुझ्दैनन् र सिद्धान्तहरूलाई आधार बनाउन जान्दैनन्, तिनीहरू सधैँ यो कुरा वा त्यो कुरा कसरी गर्ने भनेर सोधिरहन्छन् र तिनीहरूले प्रावधानहरू मात्र पालना गर्न सक्छन्। यसबाहेक, मानिसहरू सधैँ नकारात्मक स्थितिहरूबाट बाधित हुन्छन् र कहिलेकाहीँ तिनीहरूसँग अगाडि बढ्ने कुनै मार्ग नै हुँदैन। जहाँसम्म नकारात्मक स्थितिहरूको सवाल छ, यदि ती स्थितिहरू सङ्गतिद्वारा हल गर्न सकिने खालका छन् भने, मानिसहरूले सङ्गति गरेरै ती स्थितिहरू हल गर्नुपर्छ। सङ्गति गरेर हल गर्न नसकिने नकारात्मक स्थितिहरूलाई भने तैँले बेवास्ता गर्न सक्छस्। बरु त्यसको साटो, तैँले सामान्य रूपमा अभ्यास र प्रवेश गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ र सत्यताबारे अझ धेरै सङ्गति गर्नुपर्छ। एक दिन, जब तैँले स्पष्टसँग सत्यता बुझ्छस् र जब तैँले धेरै कुराहरूको भित्री वास्तविकता देख्छस्, तब तेरो नकारात्मक स्थितिहरू स्वाभाविक रूपमै हराउँदै जानेछन्। के तिमीहरूका पुराना, नकारात्मक स्थितिहरू पहिल्यै हराइसकेका छैनन् र? कम्तीमा पनि, तिमीहरूले ती कुराहरू पहिलेभन्दा धेरै कम अनुभव गर्दछौ। बस मेहनतपूर्वक सत्यता पछ्याउने कुरामा ध्यान केन्द्रित गर, अनि तिमीहरूले सबै समस्याहरू समाधान गर्न सक्नेछौ। अनि, तिमीहरू आफ्ना समस्याहरू समाधान गर्न सक्ने भएपछि, तिमीहरूले प्रगति गरेका हुनेछौ र तिमीहरूको वृद्धिविकास भएको हुनेछ। जब मानिसहरूले जीवनसम्बन्धी तिनीहरूको दृष्टिकोण, र तिनीहरूको अस्तित्वको अर्थ र आधार पूर्ण रूपमा परिवर्तन हुन्जेलसम्म अनुभव गर्छन्, जब तिनीहरू आफ्ना हड्डीहरूसमेत परिवर्तन गरेर अर्कै व्यक्ति बनेका हुन्छन्, के यो अद्भुत हुँदैन र? यो निकै ठूलो परिवर्तन, पृथ्वी हल्लाउने परिवर्तन हो। जब तँ संसारको ख्याति, लाभ, हैसियत, पैसा, सुख-चैन, शक्ति र वैभवप्रति चासो नराख्ने बन्छस्, र तिनलाई सहजै त्याग्न सक्छस्, तब मात्रै तँमा मानवको जस्तो स्वरूप हुन्छ। अन्तिममा परमेश्वरद्वारा पूर्ण तुल्याइनेहरू यस्तै मानिसहरूको समूह हो; तिनीहरू सत्यताका लागि जिउँछन्, परमेश्वरको लागि जिउँछन्, र जुन कुरा न्यायी छ त्यसैको लागि जिउँछन्। यो साँचो मानवको स्वरूप हो।
कतिपय मानिसहरूले सोध्नेछन्, “मानव प्राणी वास्तवमा के हो?” आजकलका कुनै पनि मानिसहरू मानव प्राणी होइनन्। यदि तिनीहरू मानव प्राणी होइनन् भने, तिनीहरू के हुन् त? तिमीहरू तिनीहरूलाई जनावर, पशु, शैतान वा दियाबलस भन्न सक्नेछौ; जे भए पनि, तिनीहरू मानव छालाको आवरणभित्र मात्र छन्, तर तिनीहरूलाई मानव प्राणी भन्न सकिँदैन, किनभने तिनीहरूमा सामान्य मानवता छैन। तिनीहरूलाई जनावर भन्दा केही ठीक होला, तर मानिसहरूसँग भाषा, दिमाग र सोचहरू भएकोले, र तिनीहरू विज्ञान र उत्पादनका काममा संलग्न हुन सक्ने हुनाले, तिनीहरूलाई उच्चकोटिको जनावरको रूपमा सूचीबद्ध गर्न सकिन्छ। तर मानिसहरू शैतानद्वारा निकै गहिरोसँग भ्रष्ट पारिएका छन्, तिनीहरूले धेरै पहिले नै आफ्नो विवेक र समझ गुमाइसकेका छन्, र तिनीहरू परमेश्वरप्रति बिलकुलै समर्पित हुने वा परमेश्वरको डर मान्ने गर्दैनन्। तिनीहरूलाई दियाबलस र शैतान भन्नु सबै प्रकारले जायज छ। तिनीहरूको प्रकृति शैतानको भएकोले र तिनीहरूले शैतानी स्वभाव प्रकट गर्ने र शैतानी दृष्टिकोण व्यक्त गर्ने भएकाले, तिनीहरूलाई दियाबलस एवं शैतान भन्नु अधिक उचित हुन्छ। मानिसहरू अति गहिरोसँग भ्रष्ट भइसकेका छन् र तिनीहरूमा मानव रूप खासै छैन। तिनीहरू पशु र जनावरजस्तै छन्, तिनीहरू दियाबलसहरू हुन्। अहिले मानिसहरू एउटा वा अर्को कुनै वस्तु होइनन्, तिनीहरू न त मानव प्राणीसँग मिल्दाजुल्दा छन्, न त पिशाचहरूसँग नै मिल्दाजुल्दा छन्, र तिनीहरूमा साँचो मानव स्वरूप नै छैन। लामो समयदेखिका केही विश्वासीहरूले धेरै वर्षको अनुभवपश्चात् परमेश्वरसँग केही घनिष्ठता प्राप्त गर्छन् र थोरबहुत रूपमा परमेश्वरलाई बुझ्न सक्छन्, अनि तिनीहरूले थोरबहुत रूपमा परमेश्वरले चिन्ता गर्नुहुने कुराहरूबारे चिन्ता गर्छन् र थोरबहुत रूपमा परमेश्वरले सोच्नुहुने कुराहरूबारे सोच्छन्—यसको अर्थ तिनीहरूमा केही मानव स्वरूप छ र तिनीहरू आधा-स्वरूपका छन्। नयाँ विश्वासीहरूले अझैसम्म सजाय र न्याय, वा त्यति धेरै काटछाँट भोगेका हुँदैनन्, तिनीहरूले सत्यताबारे पनि धेरै सुनेका हुँदैनन्, र तिनीहरूले बस परमेश्वरका वचनहरू पढेका हुन्छन्, तर तिनीहरूसँग कुनै साँचो अनुभव हुँदैन। परिणामस्वरूप, तिनीहरू धेरै पछि परेका हुन्छन्। व्यक्तिको अनुभवको गहिराइले नै तिनीहरू कति परिवर्तन हुन्छन् भन्ने कुरा निर्धारित गर्छ। तैँले जति कम परमेश्वरका वचनहरू अनुभव गर्छस्, त्यति नै कम सत्यता बुझ्छस्। यदि तँसँग कुनै पनि अनुभव नै छैन भने, तँ ठ्याक्कै जीवित शैतान हुन्छस्, र तँ दियाबलस हुन्छस्, यो कुरा सरल र स्पष्ट छ। के तँ यो कुरामा विश्वास गर्छस्? तैँले एक दिन ती वचनहरू बुझ्नेछस्। के अहिले कुनै असल मानिसहरू छन् त? यदि मानिसहरूसँग मानव स्वरूप नै छैन भने, हामी तिनीहरूलाई कसरी मानव प्राणी भन्न सक्छौँ र? तिनीहरूलाई असल मानिसहरू त झनै भन्न सक्दैनौँ। तिनीहरूसँग मानव खोल मात्र हुन्छ, तर तिनीहरूमा मानव सार हुँदैन, त्यसैले तिनीहरूलाई मानव खोल ओढेका पशुहरू भन्दा कुनै अतिशयोक्ति हुँदैन। यदि कोही परमेश्वरको कार्य अनुभव गरेर मानव स्वरूप भएको व्यक्ति बन्न चाहन्छ भने, उसले परमेश्वरका वचनहरूको खुलासा, सजाय र न्याय अनुभव गर्नैपर्छ, तब मात्र उसले अन्ततः परिवर्तन हासिल गर्न सक्छ। यही नै मार्ग हो; यदि परमेश्वरले यस्तो नगर्नुभएको भए, मानिसहरू परिवर्तन हुन सक्दैनथे। परमेश्वरले बिस्तारै-बिस्तारै यसरी नै काम गर्नुपर्छ। मानिसहरूले न्याय र सजाय अनुभव गर्नुपर्छ, तिनीहरूलाई निरन्तर काटछाँट गरिनुपर्छ, अनि तिनीहरूले भ्रष्ट स्वभावहरू देखाउने तरिकाहरू खुलासा गरिनुपर्छ। मानिसहरूले आत्मचिन्तन गर्न र सत्यता बुझ्न सकेमा मात्र सही मार्ग हिँड्न सक्छन्। केही समयसम्मको अनुभवपछि र केही सत्यता बुझेपछि मात्र, मानिसहरू दह्रिलो गरी खडा हुने केही निश्चयता हुन्छ। मैले देखिरहेको छु, तिमीहरू अझै पनि कदमा निकै साना छौ, तिमीहरू थोरै मात्र सत्यता बुझ्छौ, र तिमीहरू मानकअनुरूप हुने तरिकाले कर्तव्य निर्वाह गर्न सक्दैनौ। तिमीहरू कर्तव्यमा निकै सक्रिय रूपमा व्यस्त भएको देखिए पनि, वास्तविकतामा तिमीहरू सबैजना खतराको बिन्दुमा छौ। तिमीहरूमा कुनै सत्यता वास्तविकता रहेको म देख्दिनँ, र तिमीहरू सत्यता पछ्याउने मानिसहरू हौ होइनौ भनेर भन्न कठिन छ। यसले तिमीहरूलाई ठूलो खतरामा पार्छ। मैले यस्ता वचनहरू धेरै पटक बोलेको छु, तर धेरै मानिसहरूले यी वचनहरूको अर्थ नै बुझ्दैनन्। कतिपय मानिसहरू भन्छन्: “अहिले परमेश्वरमाथिको मेरो विश्वासमा मसँग यति धेरै उत्साह छ कि मैले ठक्कर खाने पनि छैन वा मेरो बाटो भुल्ने पनि छैन। परमेश्वरले ममाथि यति अनुग्रहपूर्वक व्यवहार गर्नुहुन्छ कि मलाई कुनै पनि खतरा नै छैन।” परमेश्वरले हरेक व्यक्तिलाई अनुग्रहपूर्वक व्यवहार गर्नुहुन्छ र तिनीहरूलाई रक्षा गर्नुहुन्छ, तर तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस्, त्यसैले तँ स्वाभाविक रूपमै खतरामा छस्। परीक्षाहरू सामना गर्दा, के तैँले दह्रिलो गरी खडा हुनसक्ने ग्यारेन्टी गर्न सक्छस्? कुनै पनि व्यक्तिले यसप्रकारको ग्यारेन्टी दिने साहस गर्दैन। धेरै मानिसहरू केही शब्द र धर्मसिद्धान्तहरूबारे बोल्न मात्र सक्छन्। यसले तिनीहरू सत्यता बुझ्छन् भन्ने अर्थ दिँदैन र निश्चय नै यसले तिनीहरूमा वास्तविक कद छ भन्ने अर्थ पनि दिँदैन, तैपनि तिनीहरू यी सबै आफूले लगभग हासिल गरिसकेको सोच्छन्। यदि कुनै व्यक्तिले यस्तो कुरा गर्न सक्छ भने, यसले ऊ धेरै पछि रहेको देखाउँछ। सत्यता वास्तविकता नहुने हरेक व्यक्ति खतराको बिन्दुमा जिइरहेका हुन्छन्। यो बिलकुलै साँचो कुरा हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।