कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

वर्षौँसम्म परमेश्‍वरको काम अनुभव गर्ने र प्रवचनहरू सुन्‍ने क्रममा, केही मानिसहरू यस्ता हुन्छन् जसमा आफूबारे केही बुझाइ हुन्छ, र जो केही वास्तविक अनुभवबारे बोल्न, र आफ्नो वास्तविक स्थिति, आफ्नो व्यक्तिगत प्रवेश, आफ्नो व्यक्तिगत प्रगति, आफ्ना कमजोरीहरू, र आफू कसरी प्रवेश गर्ने योजना छ भन्‍नेबारे सङ्गति गर्न सक्छन्। तर केही त्यस्ता मानिस पनि हुन्छन् जोसँग आफूबारे केही बुझाइ हुँदैन र जो कुनै पनि वास्तविक अनुभवबारे बोल्न सक्दैनन्। तिनीहरू शब्द र धर्मसिद्धान्तहरू, बाह्य काम, समसामयिक परिस्थितिहरू, र सुसमाचार प्रचारको प्रगतिजस्ता बाहिरी मामिलाहरूबारे मात्र बोल्न सक्छन्, तर ठोस जीवन प्रवेश वा व्यक्तिगत अनुभवबारे केही बोल्न सक्दैनन्। यसले के देखाउँछ भने तिनीहरू अझै पनि जीवन प्रवेश गर्ने सही मार्गमा पुगेका छैनन्। व्यक्तिको स्वभावमा रूपान्तरण हुनु भनेको व्यवहारमा परिवर्तन हुनु होइन, न त यो बाहिरी परिवर्तनको स्वाङ हो, न जोसका कारण गरिएको अस्थायी परिवर्तन हो। यी परिवर्तनहरू जति नै असल भए पनि, तिनले जीवन स्वभावमा हुने परिवर्तनको ठाउँ लिन सक्दैनन्, किनभने यी बाहिरी परिवर्तनहरू व्यक्तिको आफ्नै प्रयासद्वारा हासिल गर्न सकिन्छ, तर जीवन स्वभावको परिवर्तन मानव प्रयासले मात्रै हासिल गर्न सकिँदैन। यसको लागि परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधनका साथै पवित्र आत्‍माले दिनुहुने सिद्धताको अनुभव गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले केही असल व्यवहार देखाउने भए पनि, तिनीहरूमध्ये एक जना पनि साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैनन्, परमेश्‍वरलाई साँचो प्रेम गर्दैनन्, वा परमेश्‍वरको इच्‍छा पछ्याउन सक्दैनन्। यस्तो किन हुन्छ? किनभने यसको लागि जीवन स्वभावमा परिवर्तन ल्याउनु जरुरी छ, र व्यवहारमा मात्रै परिवर्तन ल्याउनु पर्याप्त हुँदैन। स्वभावमा परिवर्तन आउनुको अर्थ तैँले सत्यताको ज्ञान र अनुभव पाएको छस्, र सत्यता तेरो जीवन बनेको छ, यसले तँलाई निर्देशित गर्न, र तेरो जीवन र तँबारेका सबै कुरा अधीनमा राख्‍न सक्छ भन्‍ने हुन्छ। तेरो जीवन स्वभावमा आउने परिवर्तन यही हो। सत्यतालाई जीवनको रूपमा प्राप्त गरेका मानिसहरू मात्र स्वभाव परिवर्तन भएका मानिसहरू हुन्। विगतमा, तैँले कतिपय सत्यताहरू बुझ्दा पनि तिनलाई अभ्यास गर्न सक्दैनथिस् होला, तर अहिले तैँले आफूले बुझेको सत्यताको कुनै पनि पक्षलाई कुनै बाधा वा कठिनाइविना नै अभ्यास गर्न सक्छस्। जब तैँले सत्यता अभ्यास गर्छस्, तब आफूलाई शान्ति र खुसीले भरिएको पाउनेछस्, तर तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, तँलाई पीडा हुन्छ र तेरो विवेक खलबलिन्छ। तँ सबै कुरामा सत्यता अभ्यास गर्न सक्छस्, परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, र तँसँग जिउने आधार हुन्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। अब तैँले तेरा धारणा र कल्‍पनाहरू, तेरा देहगत प्राथमिकता र खोजीहरू, अनि तैँले पहिले त्याग्‍न नसकेका कुराहरूलाई सहजै त्याग्‍न सक्छस्। तँलाई परमेश्‍वरका वचनहरू साँच्‍चि नै असल छन्, र सत्यता अभ्यास गर्ने कार्य अत्यन्तै उत्तम हो भन्‍ने लाग्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। स्वभाव परिवर्तन गर्ने कार्य अत्यन्तै सरल छ जस्तो सुनिन्छ, तर वास्तवमा यो यस्तो प्रक्रिया हो जसको लागि धेरै अनुभव चाहिन्छ। यस अवधिमा, मानिसहरूले धेरै कठिनाइहरू भोग्‍नुपर्छ, तिनीहरूले आफ्‍नै शरीरलाई वशमा राख्‍नुपर्छ र देहविरुद्ध विद्रोह गर्नुपर्छ, तिनीहरूले न्याय, सजाय, काटछाँट, परीक्षा र शोधनको पनि सामना गर्नुपर्छ, अनि तिनीहरूले विभिन्‍न असफलता, पतन, भित्री सङ्घर्ष, र हृदयमा कष्ट पनि सहनुपर्छ। यी अनुभवहरूपछि मात्रै मानिसहरूले आफ्‍नो प्रकृतिको बारेमा बुझ्‍न सक्छन्, तर कतिपय कुराहरू बुझेर पनि तुरुन्तै पूर्ण परिवर्तन हासिल गरिहाल्‍न सकिँदैन; तिनीहरूले लामो समयसम्‍म अनुभव गरिसकेपछि मात्रै बल्‍ल आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सक्छन्। त्यसकारण आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि जीवनको पूरै अवधि लाग्छ। उदाहरणको लागि, यदि तैँले कुनै मामलामा भ्रष्टता प्रकट गरिस् भने, के तैँले यसलाई महसुस गर्नेबित्तिकै सत्यता अभ्यास गर्न सक्छस् र? सक्दैनस्। बुझाइको यो चरणमा, अरूले तँलाई काटछाँट गर्छन्, र तेरो वातावरणले तँलाई त्यो सत्यता सिद्धान्तहरूअनुरूप काम गर्न बाध्य बनाउँछ। कहिलेकहीँ, तैँले त्यसो गर्ने भनेर मन बनाएको हुँदैनस्, र तैँले मनमनै भन्छस्, “के मैले यो काम यसरी गर्नुपर्छ? किन मैले यसलाई आफूले चाहेअनुसार गर्न सक्दिनँ? किन मलाई सधैँ सत्यता अभ्यास गर्न लगाइन्छ? म यस्तो गर्न चाहन्‍नँ, म यो कुरादेखि थाकिसकेँ!” परमेश्‍वरको काम अनुभव गर्नको लागि निम्‍न प्रक्रिया भएर जानुपर्ने हुन्छ: सत्यता अभ्यास गर्न मन नलाग्‍ने अवस्थादेखि सत्यताको अभ्यास गर्न इच्‍छुक हुने अवस्थासम्‍म; नकारात्मकता र कमजोर अवस्थाबाट सामर्थ्यवान् र देहविरुद्ध विद्रोह गर्ने क्षमतावान्‌ अवस्थासम्‍म। जब मानिसहरू केही परीक्षाहरूको अनुभव गरिसकेको अवस्थामा पुग्छन्, अनि केही जाँच र शोधन अनुभव गर्दै अन्त्यमा परमेश्‍वरका अभिप्राय र केही सत्यताहरू बुझ्‍न पुग्छन्, तब उनीहरू केही हदसम्म खुसी हुनेछन् र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक हुनेछन्। सुरुमा, मानिसहरू सत्यताको अभ्यास गर्न हिचकिचाउँछन्। उदाहरणको रूपमा, इमानदारीपूर्वक एउटा कर्तव्य निर्वाह गर्ने कुरालाई लिऊँ: तँलाई आफ्नो कर्तव्यहरू निर्वाह गर्ने र परमेश्‍वरप्रति इमानदार हुने बारेमा केही बुझाइ छ, र तँसँग सत्यतासम्बन्धी केही बुझाइ पनि छ, तर कहिले परमेश्‍वरप्रति इमानदार हुन सक्‍नेछस्? तैँले कहिले नाम र काम दुवैमा तेरा कर्तव्यहरू निर्वाह गर्न सक्‍नेछस्? यसको लागि एउटा प्रक्रियाको आवश्यकता पर्दछ। यस प्रक्रियाको क्रममा, तैँले धेरै कष्टहरू भोग्‍नुपर्ने हुनसक्छ। कतिपय मानिसहरूले तेरो काटछाँट गर्न सक्छन्, र अरूले तेरो आलोचना गर्न सक्छन्। सबैको आँखा तेरो सूक्ष्म जाँच गर्दै तँमै केन्द्रित हुनेछ, तब मात्र तँ गलत छस् र खराब काम गर्ने व्यक्ति तँ नै होस्, तैँले इमानदारीबिना कर्तव्य निर्वाह गर्नु स्वीकार्य छैन र तँ लापरवाह हुनु हुँदैन भन्‍ने थाहा पाउन थाल्नेछस्! पवित्र आत्माले तँलाई भित्रबाट अन्तर्दृष्टि दिनुहुनेछ, र तैँले गल्ती गर्दा तेरो निन्दा गर्नुहुन्छ। यस प्रक्रियाको अवधिमा, तैँले आफ्नै बारेमा केही कुराहरू बुझ्न पुग्छस्, र तँलाई तँभित्र अत्यन्तै धेरै अशुद्धताहरू छन्, तँ आफ्नो हृदयमा औधी धेरै व्यक्तिगत अभिप्रायहरू पाल्छस्, र कर्तव्यहरू निर्वाह गर्दा तँमा कैयौँ बेकाबू इच्छाहरू हुन्छन् भनेर थाहा हुनेछ। तैँले यी कुराहरूको सार बुझेपछि, यदि तँ प्रार्थनामा परमेश्‍वरको सामु आएर साँचो पश्‍चात्ताप गर्न सक्छस् भने, तँ ती भ्रष्ट कुराहरूबाट शुद्ध पारिन सक्छस्। यदि तैँले आफ्ना व्यावहारिक समस्याहरू समाधान गर्न यस्तै प्रकारले बारम्बार सत्यताको खोजी गरिस् भने, तैँले बिस्तारै विश्‍वासको सही मार्गमा पाइला टेक्‍नेछस्; तैँले साँचो जीवन अनुभवहरू प्राप्त गर्न थाल्‍नेछस्, र तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा शुद्ध हुन थाल्‍नेछन्। तेरो भ्रष्टतालाई जति-जति शुद्ध पारिन्छ, तेरो जीवन स्वभाव उति नै बढी रूपान्तरित हुनेछ।

अहिले धेरै मानिसहरूले आफ्‍ना कर्तव्य निर्वाह गरिरहेका भए पनि, सारगत रूपमा, कति मानिसहरूले आफ्‍नो कर्तव्यमा लटरपटर मात्र गरिरहेका हुन्छन्? कति मानिसहरूले सत्यता स्वीकार गर्न र सत्यता सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्छन्? कति मानिसहरूले आफ्‍नो स्वभाव परिवर्तन गरेपछि परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्छन्? यी कुराहरूलाई अझै बढी जाँच गरेर, तँ आफ्‍नो कर्तव्य निर्वाह गर्दा साँच्‍चि नै मापदण्डको स्तरमा पुगेको छस् कि छैनस् भनेर तैँले जान्‍न सक्‍नेछस्, र तैँले तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भनेर पनि स्पष्ट रूपमा देख्‍न सक्‍नेछस्। व्यक्तिको स्वभावमा रूपान्तरण हासिल गर्नु साधारण कुरा होइन; यसको अर्थ व्यवहारमा केही परिवर्तनहरू हुनु, सत्यको केही ज्ञान प्राप्त गर्नु, सत्यको प्रत्येक पक्षसँगको आफ्नो अनुभव अलि-अलि बताउन सक्‍नु वा केही परिवर्तन हासिल गर्नु वा अनुशासनमा परेपछि केही समर्पित हुनु मात्र होइन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावको रूपान्तरणलाई जनाउँदैन। म यो किन भन्छु? तँ केही हदसम्म परिवर्तन भएको भए पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता अभ्यास गरिरहेको छैनस्। सायद तँ अस्थायी रूपमा उपयुक्त वातावरणमा रहेकोले र अवस्था अनुकूल भएकोले, वा तेरो वर्तमान अवस्थाले तँलाई बाध्य तुल्याएकोले, तँ यस प्रकारले व्यवहार गर्छस्। यसबाहेक, यसको साथै, जब तँ राम्रो मनस्थितिमा हुन्छस्, जब तेरो स्थिति सामान्य हुन्छ, र जब तँसँग पवित्र आत्‍माको कार्य हुन्छ, तब तैँले सत्यता अभ्यास गर्न सक्छस्। तर मानौँ तँ परीक्षाको बीचमा छस्, र त्यो बेला तैँले अय्यूबले जस्तै परीक्षाहरूमाझ कष्ट भोगिरहेको छस्, वा तैँले मृत्युको परीक्षा सामना गरिरहेको छस्। जब यस्तो अवस्था आउँछ, के तैँले अझै पनि सत्यता अभ्यास गर्न र गवाहीमा दह्रिलो गरी खडा हुन सक्छस्? के तैँले पनि पत्रुसले भनेजस्तै यसो भन्‍न सक्छस्, “यदि तपाईंलाई चिनेपछि म मर्नु नै परे पनि, म कसरी आनन्द र खुशीसाथ त्यसो नगर्न सक्थेँ र?” पत्रुसले कुन कुरालाई महत्त्व दिन्थे? पत्रुसले समर्पणलाई महत्त्व दिन्थे, र तिनले परमेश्‍वरलाई चिन्‍ने कार्यलाई नै सबैभन्दा महत्त्वपूर्ण कुरा मान्थे, त्यसकारण तिनी मृत्युसम्‍मै समर्पित हुन सके। स्वभावको रूपान्तरण रातारात हुँदैन; त्यो हासिल गर्न जीवनभरिको अनुभव चाहिन्छ। सत्यता बुझ्‍नु तुलनात्मक रूपमा सजिलो छ, तर विभिन्‍न परिस्थितिमा सत्यता अभ्यास गर्न सक्षम हुन कठिन छ। किन मानिसहरूलाई सत्यता अभ्यास गर्न सधैँ कठिन हुन्छ? वास्तवमा, यी कठिनाइहरू सीधै मानिसहरूको भ्रष्ट स्वभावसँग सम्‍बन्धित हुन्छन्, र ती सबै भ्रष्ट स्वभावबाट आउने बाधाहरू हुन्। त्यसकारण, सत्यता अभ्यास गर्न सक्षम हुनको लागि तिमीहरूले धेरै कष्ट भोग्‍नु र मूल्य चुकाउनुपर्छ। यदि तँसँग भ्रष्ट स्वभाव नभएको भए, सत्यता अभ्यास गर्नको लागि तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु पर्दैनथ्यो। के यो स्पष्ट तथ्य होइन र? कहिलेकहीँ तैँले सत्यको अभ्यास गरिरहेको छस् भन्‍ने जस्तो लाग्छ, तर वास्तविकतामा, तेरा कार्यहरूको प्रकृतिले तैँले त्यसो गरिरहेको छस् भन्‍ने देखाउँदैन। परमेश्‍वरलाई पछ्याउँदा, धेरै मानिसहरूले आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्, र त्यसैले तिनीहरूलाई आफूले सत्यता अभ्यास गरिरहेका छौं भन्‍ने विश्‍वास लाग्छ। तर तिनीहरूले साँचो अनुभवको गवाही कहिल्यै दिन सक्दैनन्। यहाँ वास्तवमा के भइरहेको छ? तिनीहरूलाई मानिसका धारणाहरूद्वारा मापन गर्दा, तिनीहरूले सत्यता अभ्यास गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले जे अभ्यास गरिरहेका छन् त्यसलाई परमेश्‍वरले सत्यता अभ्यासको रूपमा मान्यता दिनुहुन्‍न। यदि तैँले गर्ने कुराहरूको पछाडि कुनै व्यक्तिगत मनसाय छ र त्यसमा अशुद्धता मिसिएको छ भने, तँ सिद्धान्तबाट विचलित हुने सम्भावना हुन्छ, र त्यो बेला तँलाई सत्यता अभ्यास गरिरहेको भनेर भन्‍न सकिँदैन; यो त केवल एक प्रकारको आचरण हो। कडा अर्थमा भन्‍नुपर्दा, यस प्रकारको आचरणलाई परमेश्‍वरले सायद दोषी नै ठहराउनुहुनेछ; उहाँले यस्तो आचरणलाई अनुमोदन वा सम्झना गर्नुहुनेछैन। यसलाई सार र जडसम्मै विश्‍लेषण गर्दै जाने हो भने, तँ दुष्कर्म गर्ने व्यक्ति होस्, र तेरा यी बाह्य व्यवहारहरू परमेश्‍वरविरोधी कुरा हुन्। बाहिरबाट, तैँले कुनै कुरालाई रोकावट वा अवरोध गरिरहेको हुँदैनस् र तैँले वास्तविक क्षति गरेको हुँदैनस्। यो तर्कसङ्गत र उचितजस्तो देखिन्छ, तर भित्रचाहिँ यसमा मानव अशुद्धता र अभिप्रायहरू हुन्छन्, र यसको सार दुष्कर्म गर्ने र परमेश्‍वरको विरोध गर्ने खालको हुन्छ। त्यसकारण, तेरो स्वभावमा परिवर्तन आएको छ वा छैन र परमेश्‍वरको वचनहरू प्रयोग गर्दै र तेरा आफ्नै कामहरूको पछाडि रहेका हेतुहरूलाई ध्यान दिँदै तैँले सत्यता अभ्यास गरेको छस् कि छैनस् सो तैँले निर्धारण गर्नुपर्छ। तेरा कार्यहरू मानव कल्पना र मानव सोचहरूअनुरूप छन् वा छैनन्, वा ती तेरा स्वाद सुहाउँदो छन् कि छैनन् भन्‍ने कुरा मानवीय दृष्टिकोणमा निर्भर हुँदैन; त्यस्ता कुराहरू महत्त्वपूर्ण हुँदैनन्। बरु, यो त तँ परमेश्‍वरका अभिप्रायसँग मिलेको छस् कि छैनस्, तेरा कार्यहरूमा सत्यता वास्तविकता छ वा छैन, र तिनले उहाँका मागहरू र मापदण्डहरू पूरा गर्छन् कि गर्दैनन् भन्‍ने विषयमा उहाँले भन्‍नुहुने कुरामा निर्भर हुन्छ। परमेश्‍वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ। स्वभावमा रूपान्तरण ल्याउने र सत्यलाई अभ्यास गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल र सजिलो हुँदैन। के अब तिमीहरूले यो बुझ्यौ? के तिमीहरूसँग यसको बारेमा कुनै अनुभव छ? जब समस्याको सारको कुरा आउँदछ, तिमीहरूले यसलाई नबुझ्न सक्छौ; तिमीहरूको प्रवेश अत्यन्तै सतही भएको छ। तिमीहरू चाँडै उठेर ढिलो सुतेर बिहानदेखि बेलुकीसम्‍मै दिनभर दौडधुप गर्छौ, तर तिमीहरूले आफ्नो जीवन स्वभावमा रूपान्तरण प्राप्त गर्न सकेका छैनौ, र स्वभाव रूपान्तरण भनेको के हो भनेर तिमीहरूले बुझ्न सक्दैनौ। यसको अर्थ तिमीहरूको प्रवेश अत्यन्तै सतही छ भन्‍ने हुन्छ, होइन र? तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, तिमीहरूले स्वभाव रूपान्तरणसँग सम्बन्धित सार र गहिरा चीजहरूलाई सायद महसुस गरेका छैनौ। के तिमीहरूको स्वभाव परिवर्तन भएको छ भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुन्छ कि गर्नुहुन्‍न भनी तैँले कसरी जान्दछस्? कम्तीमा पनि, आफूले गर्ने सबै कार्यहरूमा तैँले आफूलाई अत्यन्तै अटल भएको महसुस गर्नेछस्, र तैँले तेरा कर्तव्यहरू निर्वाह गरिरहेको बेला, परमेश्‍वरको घरमा वा आम रूपमा कुनै पनि काम गरिरहेको बेला पवित्र आत्माले तँलाई मार्गनिर्देशन र अन्तर्दृष्टि दिइरहनुभएको महसुस गर्नेछस्। तेरो आचरण परमेश्‍वरको वचनसँग मिल्दोजुल्दो हुनेछ, र तैँले केही हदसम्म अनुभव प्राप्त गरेपछि, तैँले विगतमा जसरी व्यवहार गरिस् त्यो तुलनात्मक रूपमा उचित थियो भन्‍ने महसुस गर्नेछस्। तापनि, निश्‍चित अवधिसम्म अनुभव प्राप्त गरेपछि, यदि तैँले विगतमा गरेका केही कामहरू उचित थिएन जस्तो लाग्यो भने, र तँ तीप्रति असन्तुष्ट छस्, र ती कार्यहरू सत्यताअनूरूप थिएनन् भन्‍ने महसुस गर्छस् भने, तैँले गरेको सबै कुराहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने यसले प्रमाणित गर्छ। यो तेरा सेवा विद्रोहीपन, प्रतिरोध र काम गर्ने मानवीय तरिकाहरूले भरिएको थियो, र तँ स्वभाव परिवर्तन हासिल गर्न पूर्ण रूपमा असफल भएको छस् भन्‍ने कुराको प्रमाण हो। यो सङ्गतिपश्‍चात, तिमीहरूले स्वभाव परिवर्तनलाई कसरी बुझ्नुपर्छ भनेर के तँ स्पष्ट छस्? तिमीहरूले प्राय आफ्नो स्वभाव रूपान्तरण गर्नेबारे छलफल गर्दैनौ होला र व्यक्तिगत अनुभवहरू पनि बिरलै सङ्गति गर्छौ होला। बढीमा, तैँले यसरी सङ्गति गर्छस् होला: “म केही समयपहिले नकारात्मक थिएँ। त्यसपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँले मलाई विश्‍वासीहरूको जाँच गरिनुपर्छ भन्‍ने तथ्यबारे अन्तर्दृष्टि दिनुभयो। मैले यसबारे केही समय सोचेँ, र थाहा पाएँ कि वास्तविकता त्यही हो। त्यसैगरी, म आफ्नो कर्तव्य निर्वाह गर्दा केही पक्षहरूमा निष्ठाहीन छु, त्यसैले बस मैले त्यो स्विकारेँ। केही समयपछि, ममा फेरि उत्प्रेरणा जाग्यो, र त्यसउप्रान्त म नकारात्मक रहिनँ।” सङ्गतिपछि अरूले पनि यसो भन्छन्, “हाम्रो स्थिति पनि प्राय उस्तै नै रहन्छ, र हाम्रो भ्रष्ट स्वभाव पनि त्यस्तै छ।” यदि तँ सधै यी कुराहरू नै सङ्गति गर्छस् भने, समस्या हुनेछ—तैँले यी कुराहरूको सार प्रष्टसित बुझ्ने वा देख्‍नेछैनस्। तैँले जति नै वर्ष विश्‍वास गरे पनि, तेरो जीवन स्वभाव परिवर्तन हुन सक्नेछैन।

स्वभावमा हुने रूपान्तरणले व्यक्तिको प्रकृतिको रूपान्तरणलाई जनाउँछ। व्यक्तिको प्रकृतिका कुराहरू बाहिरी व्यवहारबाट अनुभूत गर्न सकिँदैन। ती कुराहरू सीधै उसको अस्तित्वको मूल्य र महत्त्वसँग र जीवनसम्‍बन्धी उसको दृष्टिकोण र उसका मूल्य-मान्यताहरूसँग सम्बन्धित हुन्छन्, अनि ती कुराहरूमा उसका प्राणका गहिराइहरूमा रहेका कुराहरू र उसको सार समावेश हुन्छन्। यदि व्यक्तिले सत्यता स्विकार्न सक्दैन भने, यी पक्षहरूको सन्दर्भमा ऊ कहिल्यै रूपान्तरित हुनेछैन। परमेश्‍वरको कार्य अनुभव गरेर, सत्यमा पूर्ण रूपमा प्रवेश गरेर, अस्तित्व र जीवनसम्‍बन्धी आफ्‍ना मान्यता र विचारहरू परिवर्तन गरेर, विविध कुराहरूप्रतिको आफ्‍नो दृष्टिकोणलाई परमेश्‍वरको वचनसँग मिल्‍दो तुल्याएर, अनि पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित र इमानदार हुन योग्य भएर मात्र, उसको स्वभाव रूपान्तरण भएको छ भनेर भन्‍न सकिन्छ। अहिले, तैँले केही प्रयास गरेकोजस्तो देखिन सक्छ, र कर्तव्य निभाउँदा कठिनाइ आइपरे तँ लचकदार हुन सक्छस्, तैँले माथिबाट प्राप्त कामका प्रबन्धहरूलाई अघि बढाउन सक्छस्, वा तँलाई जहाँ जान भनिए पनि तँ त्यहाँ जान सक्छस्। बाहिरी रूपमा, तँ अलि आज्ञाकारी छस् भन्‍ने देखिन्छ होला, तर तेरो धारणासँग नमिल्ने केही कुरा आइपर्दा, तेरो विद्रोहीपन प्रकट हुन्छ। उदाहरणको लागि, तँ काटछाँट हुन मान्दैनस्, र विपद्‌ आइपर्दा त झन् तँ अझ कम समर्पित बन्छस्; तैँले आफूभित्रैबाट परमेश्‍वरबारे गुनासोसमेत गर्छस्। त्यसैले, त्यो सानो समर्पण र बाह्य परिवर्तन भनेको व्यवहारमा आउने सानो परिवर्तन मात्र हो। यसमा अलिअलि परिवर्तन त आएको हुन्छ, तर यो तेरो स्वभाव रूपान्तरणको रूपमा गणना हुनको लागि पर्याप्त हुँदैन। तँ धेरै बाटाहरूमा दगुर्न सक्छस्, धेरै कठिनाइ भोग्‍न सक्छस्, र ठूलो अपमान सहन सक्छस्; तैँले परमेश्‍वरको अत्यन्तै नजिक भएको महसुस गर्न सक्छस् र पवित्र आत्माले तँमा केही काम गर्न सक्‍नुहुन्छ। तापनि, जब परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्ने केही गर्न लगाउनुहुन्छ, तँ अझै पनि समर्पित हुन सक्दैनस्, बरु बहानाहरू बनाउन खोज्छस्, परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्छस् र गम्भीर परिस्थितिहरूमा त, उहाँमाथि सवाल खडा गर्दै उहाँविरुद्ध लड्छस्। यो एउटा गम्भीर समस्या हुनेछ! यसले तँमा अझै पनि परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति छ, तैँले साँचो रूपमा सत्यता बुझ्दैनस्, र तेरो जीवन स्वभावमा बिलकुलै परिवर्तन आएको छैन भन्‍ने देखाउनेछ। आफूलाई बर्खास्त गरिएपछि वा हटाइएपछि पनि केही मानिसहरूले परमेश्‍वरको आलोचना गर्छन् र उहाँ धर्मी हुनुहुन्‍न भन्छन्। तिनीहरू परमेश्‍वरसँग विवाद र झगडा गर्छन्, र तिनीहरू जहाँ गए पनि परमेश्‍वरबारे आफ्नो धारणा र उहाँप्रति असन्तुष्टि फैलाउँछन्। यस्ता मानिसहरू परमेश्‍वरको विरोध गर्ने दियाबलस हुन्। दियाबलसको प्रकृति भएका मानिस कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूलाई त्यागिनुपर्छ। जुनसुकै परिस्थितिमा सत्यता खोज्न र स्विकार्न सक्‍ने, र परमेश्‍वरको काममा समर्पित हुनेहरूले मात्र सत्यता प्राप्त गर्ने र स्वभाव परिवर्तन हासिल गर्ने आशा हुन्छ। तैँले आफ्ना अनुभवहरूमा बाहिरी रूपमा सामान्य लाग्‍ने स्थितिहरू खुट्याउन सिक्‍नुपर्छ। प्रार्थना गर्दा तैँले सुक्सुक्याउन र रुन सक्छस्, वा तेरो हृदयले परमेश्‍वरलाई अति प्रेम गर्ने गरेको र तेरो हृदय परमेश्‍वरसँग अति निकट रहेको महसुस गर्न सक्छस्, तैपनि यी स्थितिहरू पवित्र आत्माका काम मात्र हुन् र यो कुराले तँ परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति होस् भन्‍ने जनाउँदैन। यदि पवित्र आत्माले काम नगर्नुहुँदा पनि, र परमेश्‍वरले तेरो धारणासँग नमिल्ने कुराहरू गर्नुहुँदा पनि, तैँले परमेश्‍वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन सक्छस् भने मात्र तँ परमेश्‍वरलाई साँच्‍चिकै प्रेम गर्ने व्यक्ति होस्। तब मात्र तँ जीवन स्वभाव परिवर्तन भएको व्यक्ति हुन्छस्। यस्तो व्यक्तिमा मात्र सत्यता वास्तविकताहरू हुन्छन्।

तैँले तेरो स्वभाव रूपान्तरण कहाँबाट सुरु गर्छस्? यो तेरो आफ्नो प्रकृतिको बुझाइबाट सुरु हुन्छ। यही नै कडी हो। त्यसो भए, आफ्नो प्रकृति कसरी बुझ्ने त? आफूसँग भएका भ्रष्ट स्वभावहरू चिनेर। यी भ्रष्ट स्वभावहरू चिनिसकेपछि, तैँले आफ्नो प्रकृति सार बुझ्नेछस्। कतिपयले सोध्लान्, “मैले मेरो भ्रष्ट स्वभाव कसरी बुझ्न सक्छु?” अवश्य नै, तैँले त्यसलाई परमेश्‍वरको वचनअनुसार बुझ्नुपर्छ, र सत्यताअनुसार चिन्‍नुपर्छ। त्यसो भए यसलाई कसरी अभ्यास गर्ने त? तैँले प्रकट गर्ने भ्रष्ट स्वभावलाई परमेश्‍वरले खुलासा गर्नुभएका वचनसँग तुलना गरेर। तैँले जति बढी तुलना गर्न सक्छस्, त्यति नै बढी चिन्‍न सक्‍नुपर्छ। यदि तैँले धेरै तुलना गर्न र धेरै चिन्‍न सक्छस् भने, तेरो भ्रष्ट स्वभाव पनि बुझ्न सक्‍नेछस्। के तिमीहरूमध्ये लामो समयदेखि विश्‍वास गरेका र धेरै वर्षदेखि यसरी नै अभ्यास गर्दै आएकाहरूले अहिले आएर आफ्नै प्रकृतिबारे बुझेका छौ? सायद यो बुझाइबाट निक्‍कै टाढा छौ होला। यो तुलना गर्दा निश्‍चित मार्ग अपनाउनुपर्छ; आधारविना कसैले पनि केही कुरा बोल्नु हुँदैन। तैँले मान्छेको भ्रष्ट सार परमेश्‍वरले कसरी खुलासा गर्नुहुन्छ भन्‍नेबारे उहाँको धेरैभन्दा धेरै वचन पढ्नुपर्छ। तैँले यी सबै वचनहरू खोजी, बारम्बार पढेर आफैमाथि बारम्बार चिन्तन गर्नुपर्छ, र आफ्नो स्थितिलाई यी वचनहरूसँग तुलना गर्नुपर्छ। त्यो तुलनामा तेरो भ्रष्ट स्वभाव दुरुस्तै मिलेपछि, र तँलाई परमेश्‍वरको वचनले ठुलो सटीकतासाथ तेरो स्थिति खुलासा गरेको र ती कुनै अर्थमा गलत नरहेको महसुस भएपछि, के तँ विश्‍वस्त हुनेछैनस् र? केही मानिसहरू भन्छन्, “आफ्नो प्रकृतिलाई बुझेपछि यसलाई परिवर्तन गर्न सकिन्छ।” यसो भन्‍न सजिलो छ। तर यसलाई कसरी बुझ्ने त? त्यसको लागि कुनै मार्ग हुनुपर्छ। यदि मार्ग छ भने, कसरी अनुभव गर्ने भनेर तैँले जान्‍नेछस्। यदि मार्ग नै छैन भने, तैँले केवल यो नारा भट्याउनेछस्, “हामी सबैले आफ्नो प्रकृति बुझ्नुपर्छ। हाम्रो प्रकृति असल हुँदैन, त्यो त शैतानको स्वामित्वको चीज हो। हामीले आफ्नो प्रकृति सार बुझेपछि आफ्नो स्वभाव परिवर्तन गर्न सक्छौँ।” तैँले यो नारा भट्याइसकेपछि, केही पनि काम भएको हुँदैन, र कसैमा पनि केही बुझाइ आएको हुँदैन। यसो गर्नु भनेको मार्गविनाको धर्मसिद्धान्त फलाक्‍नु मात्र हो। यसरी काम गर्नाले समस्या सिर्जना भइरहेको छैन त? यस तरिकाले काम गर्दाको परिणाम के हुन्छ? तिमीहरू सबैले प्राय यस्तो नारा भट्याउने गर्छौ, “हामीले आफ्नो प्रकृति बुझ्नुपर्छ! हामी सबैले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ! हामी सबै परमेश्‍वरमा समर्पित हुनुपर्छ! हामी सबै परमेश्‍वरसामु लम्पसार पर्नुपर्छ! हामी सबैले परमेश्‍वरको आराधना गर्नुपर्छ! परमेश्‍वरलाई प्रेम नगर्ने मान्छे अस्वीकार्य हुन्छ!” यी धर्मसिद्धान्तहरू फलाक्‍नुको कुनै अर्थ छैन र यसले समस्या समाधान गर्दैन। तैँले मानव प्रकृतिलाई कसरी बुझ्छस्? तेरो प्रकृतिलाई बुझ्नु भनेको वास्तवमा तेरो प्राणको भित्री गहिराइमा रहेका कुराहरू विश्‍लेषण गर्नु हो—यो तेरो जीवनभित्र रहेका कुराहरू, तँ जिउँदै आइरहेको शैतानको तर्क र दर्शनहरू, अर्थात् तँ जिउँदै आइरहेको शैतानको जीवन विश्‍लेषण गर्नु हो। तेरो प्राणको गहिराइभित्र रहेका कुराहरूलाई पत्ता लगाएर मात्र तैँले आफ्नो प्रकृतिलाई बुझ्न सक्छस्। यी कुराहरूलाई कसरी पत्ता लाउन सकिन्छ? एकदुई मामिलामार्फत मात्र ती कुराहरूलाई पत्ता लाउन वा विश्‍लेषण गर्न सकिँदैन। धेरै चोटि, तैँले केही कार्य गरिसकेपछि, तैँले अझै पनि बुझेको हुँदैनस्। अलिअलि आत्मज्ञान वा बुझाइ प्राप्त गर्नको निम्ति पनि तँलाई तीनदेखि पाँच वर्षसम्म लाग्‍न सक्छ। त्यसैले, धेरै परिस्थितिहरूमा, तैँले आत्मचिन्तन गर्नुपर्छ अनि आफैलाई चिन्‍नुपर्छ। तैँले कुनै पनि नतिजा देख्‍न पाउनको लागि परमेश्‍वरका वचनहरूअनुसार आफूलाई अझै गहन रूपले जाँच र चिरफार गर्नुपर्छ। जब सत्यसम्बन्धी तेरो ज्ञान झन्-झन् बढ्दै र झन्-झन् गहिरो हुँदैजान्छ, तब तैँले आत्म-चिन्तन र आत्म-ज्ञानद्वारा आफ्नो प्रकृति सारलाई बिस्तारै जान्‍न थाल्‍नेछस्।

आफ्नो प्रकृति चिन्‍नलाई तैँले यसलाई केही कुराहरूमार्फत राम्ररी बुझ्नुपर्छ। पहिलो, तँलाई के मन पर्छ त्यसबारे तँमा स्पष्ट बुझाइ हुनुपर्छ। यसले तँलाई के खान वा लगाउन मन पर्छ त्यसलाई बुझाउँदैन, बरु, यसको अर्थ तैँले आनन्द लिने किसिमका कुराहरू हुन्, तैँले ईर्ष्या गर्ने, तैँले आराधना गर्ने, तैँले खोजी गर्ने, र तैँले आफ्नो हृदयमा ध्यान दिने कुराहरू, तँलाई सम्पर्कमा रहन मन लाग्‍ने मानिसहरू, र तैँले आफ्नो हृदयमा आदर गरेका र पुजेर राखेका व्यक्तिहरू हुन्। उदाहरणको लागि, धेरैजसो मानिसहरूले ठूलो पदमा बसेका, बोली र व्यवहारमा उत्कृष्ट रहेका, वा मीठो बोलेर चापलुसी गर्ने वा अभिनय गर्दै बोल्ने मानिसहरूलाई मन पराउँछन्। माथि भनिएका व्यक्तिहरू तिनीहरूले कुराकानी गर्न मन पराउने मानिसहरू हुन्। मानिसहरूलाई मनपर्ने कार्यहरूको कुरा गर्दा, तिनमा गर्न सहज हुने कुराहरू गर्न इच्‍छुक हुनु, अरूले असल ठानेका र मानिसहरूले प्रशंसा गर्ने र शुभेच्छाहरू दिने कार्यहरू गर्न मन पराउनु जस्ता कार्य पर्छन्। मानिसहरूको प्रकृतिहरूमा, तिनीहरूले मन पराउने थोकहरूको एउटा सामान्य विशेषता हुन्छ। अर्थात्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण अरूले ईर्ष्या गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र कुराहरू मन पराउँछन्, जुन औधी सुन्दर अनि विलासपूर्ण देखिन्छन्, र तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसले अरूलाई तिनीहरूको आराधना गर्ने बनाउँछ। मानिसहरूले अति नै मन पराउने यी कुराहरू निकै राम्रा, अचम्मका, आकर्षक र भव्य हुन्छन्। सबै मानिसहरूले यी थोकहरूको पूजा गर्छन्। यो देख्‍न सकिन्छ कि मानिसहरूमा कुनै पनि सत्यता छैन, न त तिनीहरूसँग मानिसको साँचो स्वरूप नै छ। यी थोकहरूको आराधना गर्नुको अलिकति पनि महत्त्व छैन, तरै पनि मानिसहरूले ती मन पराउँछन्। मानिसहरूले मन पराउने यी कुराहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरूलाई विशेष गरी राम्रो लाग्छ, र ती कुराहरूको पछि लाग्‍न मानिसहरू विशेष इच्छुक हुन्छन्। सामान्य उदाहरण दिनुपर्दाः गैर-विश्‍वासीहरूमाझ ग्रुपीहरू हुन्छन्। तिनीहरू कलाकार वा गायकहरूको पछि लाग्छन्, तिनीहरूलाई सन्देशसहितको अटोग्राफ माग्छन्, वा तिनीहरूसित हात मिलाउँछन् र अङ्कमाल गर्छन्। के विश्‍वासीहरूको मनमा यस्ता कुराहरू हुन्छन्? के तँ आफूले पुज्ने कलाकारको गीत कहिलेकाहीँ गाउँछस्? के कहिलेकाहीँ तिनीहरूको नक्‍कल गर्दै तैँले तृष्णा गरेको तिनीहरूको स्टाइलको कपडा लगाउँछस्? तैँले यी कलाकार र चर्चित मानिसहरूलाई आराधनाको पात्र र आराधनाको मोडल बनाउँछस्। मानिसहरू यस्तै साधारण चिजहरूमा रुचि राख्छन्। के विश्‍वासीहरूले साँच्‍चि नै गैर-विश्‍वासीहरूले आराधना गर्ने यी कुराहरूको आराधना गर्दैनन् त? भित्री हृदयमा, अधिकांश मानिसहरू अझै पनि तिनीहरूको आराधना गर्न चाहन्छन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र स्पष्टतः ती कुराहरूको खोजीमा लाग्‍न छाडेजस्तो देखिन्छस्। तर मनमा भने तँ अझै ती कुराहरूको ईर्ष्या गर्छस्, र अझै पनि ती कुराहरूमा रुचि राख्छस्। कहिलेकाहीँ तैँले सोच्छस्: “म अझै पनि तिनीहरूको सङ्गीत सुन्‍न चाहन्छु, र अझै पनि तिनीहरूको अभिनय रहेका टिभी कार्यक्रमहरू हेर्न चाहन्छु। तिनीहरू कसरी बस्छन् होला? तिनीहरू अहिले कहाँ होलान्? तिनीहरूसँग भेटेर हात मिलाउन पाए त कति जाती हुन्थ्यो, र त्यसपछि त म मरे नै भने पनि मेरो मृत्यु सार्थक भइहाल्थ्यो।” मानिसहरूले जोसुकैको आराधना गरे पनि, तिनीहरू सबैले यी कुराहरू मन पराउँछन्। सायद यी मानिसहरू, घटना र कुराहरूको सम्पर्कमा आउनका लागि तँसँग अवसर छैन वा त्यसो गर्ने स्थितिमा तँ छैनस् होला, तर यी कुराहरू तेरो हृदयभित्रै छन्। मानिसहरूले खोजी गर्ने र तृष्णा गर्ने कुराहरू सांसारिक प्रचलनका कुरा हुन्, यी शैतान र दियाबलसहरूका कुरा हुन्, परमेश्‍वरले तिनलाई घृणा गर्नुहुन्छ, र तिनमा कुनै सत्यता हुँदैन। मानिसहरूले तृष्णा गर्ने यी कुराहरूबाट तिनीहरूको प्रकृति सार उजागर गर्न मदत मिल्छ। मानिसहरूका रुचिहरू उनीहरूले लगाउने पोसाकमा देख्‍न सकिन्छ। केही मानिसहरू अरूको ध्यान खिँच्ने, रङ्गीचङ्गी वा अनौठा पोसाकहरू लगाउन इच्छुक हुन्छन्। अनि, तिनीहरू पहिले कसैले पनि नपहिरेको अतिरिक्त जिनिसहरू पहिरन चाहन्छन्, र तिनीहरू विपरीत लिङ्गीहरूलाई आकर्षित गर्ने चीजहरू मन पराउँछन्। उनीहरूले लगाउने यी पोसाकहरू र सरसामानहरूले उनीहरूले आफ्नो जीवनमा र उनीहरूको हृदयको गहिराइमा यी चीजहरूमा रुचि राख्छन् भन्‍ने देखाउँछ। उनीहरूले मन पराउने चीजहरू मर्यादित वा भद्र हुँदैनन्। ती सामान्य व्यक्तिले खोजी गर्नुपर्ने चीजहरू होइनन्। ती कुराहरूप्रतिको तिनीहरूको मोहमा अधर्म लुकेको हुन्छ। तिनीहरूका दृष्टिकोण ठ्याक्‍कै सांसारिक मानिसहरूको जस्तै हुन्छ। त्यसको कुनै पनि भाग सत्यतासित मेल खाएको देख्‍न सकिँदैन। तँलाई जे मनपर्दछ, तँ जुन कुरामा ध्यान दिन्छस्, तैँले जे कुराको आराधना गर्छस्, तैँले जुन कुराको ईर्ष्या गर्छस्, र तैँले प्रत्येक दिन आफ्नो हृदयमा जे सोच्छस् ती सबै तेरो प्रकृतिलाई प्रतिनिधित्व गर्ने कुराहरू हुन्। तेरो प्रकृतिले अधर्मलाई मन पराउँछ, र गम्भीर अवस्थाहरूमा, तेरो प्रकृति दुष्ट र असुधारीय छ भनी प्रमाणित गर्नको लागि यी सांसारिक कुराहरूप्रतिको तेरो झुकाव नै काफी छ। तैँले यस तरिकाले आफ्नो स्वभावको चिरफार गर्नुपर्छ: तँलाई धेरै मन पर्ने कुरा के हो र तैँले आफ्नो जीवनमा के कुरालाई त्याग्छस् त्यसलाई जाँच गर्। तँ केही समयको लागि कसैको निम्ति असल हुन सक्छस्, तर त्यसले तैँले तिनीहरूलाई धेरै मन पराउँछस् भनी प्रमाणित गर्दैन। तँलाई साँच्‍चिकै जे मन पर्छ तेरो प्रकृतिमा ठीक त्यही नै हुन्छ; यदि तेरा हड्डीहरू भाँचिए पनि, तँ अझै पनि त्यही कुरामा रमाउनेछस् र तैँले त्यसलाई कहिल्यै पनि छोड्न सक्‍नेछैनस्। यसलाई परिवर्तन गर्न सजिलो छैन। उदाहरणको लागि, जीवनसाथी खोज्ने कुरालाई लिऊँ, मानिसहरूले आफूसमान स्तरका मानिसहरू खोज्छन्। यदि एउटी महिला कसैसँग साँच्‍चिकै प्रेममा फसेकी छिन् भने, कसैले पनि उनलाई रोक्‍न सक्दैन। यदि उसका खुट्टाहरू भाँचिदिए पनि, उनी अझै पनि त्यो व्यक्तिको साथमा हुन चाहन्छिन्; यदि मर्नै परे पनि उनी त्यो व्यक्तिसँग बिहे गर्न चाहन्छिन्। यो कसरी हुन सक्छ? यस्तो हुन्छ किनकि मानिसहरूको नसानसामा, तिनीहरूको हृदयको गहिराइमा जे हुन्छ त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यदि व्यक्ति मऱ्यो भने पनि उसको प्राणले अझै पनि तिनै थोकहरूलाई मन पराउँछ; यी मानवीय प्रकृतिका कुराहरू हुन्, र तिनले व्यक्तिको सारलाई प्रतिनिधित्व गर्छन्। मानिसहरू जुन कुराहरू मन पराउँछन् तिनमा केही अधर्महरू हुन्छन्। कतिपय व्यक्तिहरू ती कुराहरूप्रतिको उनीहरूका सोखको बारेमा स्पष्ट हुन्छन्, कोही हुँदैनन्; कसै-कसैले ती कुराहरूको ठूलो चाहना गर्छन् भने अरूले गर्दैनन्; कतिपय मानिसहरूमा संयमता हुन्छ भने, अरू कतिपयले आफूलाई नियन्त्रण गर्न सक्दैनन्। कतिपय मानिसहरू अन्धकार र दुष्टतामा डुब्‍ने सम्‍भावना हुन्छ, जसले उनीहरूमा जीवन छैन भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरूले भने देहको परीक्षाबाट पार पाउन सक्छन् र ती कुराहरूको काबु वा बन्धनमा रहँदैनन्, र यसले उनीहरूसँग अलिअलि कद छ र उनीहरूको स्वभाव अलिअलि रूपान्तरित भएको छ भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरूले केही सत्यता बुझ्छन् र आफूसित जीवन छ र आफूले परमेश्‍वरलाई प्रेम गर्छु भन्‍ने महसुस गर्छन्, तर वास्तवमा, यसको लागि अझै बेला भएको हुँदैन, किनकि व्यक्तिको स्वभाव रूपान्तरण हुनु साधारण कुरा होइन। के व्यक्तिको प्रकृति सार बुझ्न सजिलो छ? कसैले थोरैथोरै बुझे पनि, त्यो बुझाइ प्राप्त गर्नलाई उसले धेरै घुम्ती र मोडहरू पार गर्नुपर्छ, र त्यो थोरै बुझाइपछि पनि, परिवर्तन सहज हुँदैन। यी सबै मानिसहरूले सामना गर्ने कठिनाइहरू हुन्, र सत्यताको खोजी गर्ने इच्‍छाशक्तिविना मानिसहरूले आफूलाई चिन्‍न सक्दैनन्। तेरो वरिपरिका मानिस, घटना र मामलाहरू जसरी परिवर्तन भए पनि र संसार जसरी उलटपुलट भए पनि, यदि सत्यताले तँलाई भित्रैबाट अगुवाइ गरिरहेको छ भने, यदि त्यसले तँभित्र जरा गाडेको छ र यदि परमेश्‍वरका वचनहरूले तेरो जीवन, रुचि, अनुभव र अस्तित्वलाई अगुवाइ गरिरहेको छ भने, त्यस स्थितिमा तँ साँच्‍चिकै रूपान्तरण भएको हुनेछस्। अहिले, मानिसहरूको कथित रूपान्तरण त थोरै सहकार्य गर्न सक्‍नु, काटछाँट मन नलागीनलागी स्विकार्नु, सक्रिय रूपमा कर्तव्य निर्वाह गर्नु, र थोरै जोस र विश्‍वास हुनु मात्रै हो, तर यसलाई स्वभावगत रूपान्तरण मान्‍न सकिँदैन र यसले मानिसहरूसँग जीवन छ भन्‍ने प्रमाणित गर्दैन। यो त केवल मानिसहरूको रुचि र झुकाव मात्र हो—त्योभन्दा बढी केही होइन।

मानिसहरूले आफ्नो प्रकृतिको बारेमा बुझाइ प्राप्त गर्नको लागि आफ्‍नो प्रकृतिले नै प्रिय ठान्‍ने कुराहरू पत्ता लगाउनेबाहेक आफ्नो प्रकृतिसित सम्बन्धित महत्त्वपूर्ण धरै पक्षहरू पनि पत्ता लगाउनु आवश्यक हुन्छ। उदाहरणको लागि, विभिन्‍न कुराहरूप्रति मानिसहरूका दृष्टिकोणहरू, जीवनमा मानिसहरूले लिने तरिका र उद्देश्यहरू, जीवनको विषयमा मानिसहरूका मूल्य-मान्यताहरू र जीवनका दृष्टिकोणहरू, साथै सत्यतासँग सम्बन्धित सबै कुराप्रतिका दृष्टिकोण र विचारहरू। यी सबै कुरा मानिसको प्राणको गहिराइमा हुन्छन् र स्वभावको रूपान्तरणसित तिनको प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यसो भए, भ्रष्ट मानवजातिको जीवनप्रतिको दृष्टिकोण कस्तो हुन्छ? यो यस्तो हुन्छ भनेर भन्‍न सकिन्छ: “हरेकले आफ्‍नै दुनो सोझ्याउनुपर्छ, अरूको होइन।” मानिसहरू सबै आफ्नै निम्ति जिउँछन्; अझ खुलस्तसँग भन्‍नुपर्दा, उनीहरू देहका लागि बाँचिरहेका हुन्छन्। उनीहरू पेट भर्नका निम्ति मात्र बाँचिरहेका हुन्छन्। यस्तो अस्तित्व जनावरको भन्दा कसरी भिन्‍न हुन्छ र? यस प्रकारले जिउनुको कुनै महत्त्व हुँदैन, न त कुनै अर्थ नै हुन्छ। व्यक्तिको जीवनप्रतिको दृष्टिकोण, तँ संसारमा जिउनका निम्ति कुन कुरामा भर पर्छस्, तँ केका निम्ति जिउँछस्, र तँ कसरी जिउँछस् भन्‍ने कुरामा निर्भर हुन्छ—यी सबै कुराहरू मानव प्रकृतिको सारसँग सम्बन्धित हुन्छन्। मानिसहरूको प्रकृति चिरफार गरेर, तैँले सबै मानिसहरूले परमेश्‍वरको प्रतिरोध गर्छन् भन्‍ने पत्ता लगाउँछस्। उनीहरू सबै दियाबलसहरू हुन् र साँचो रूपमा असल व्यक्ति कोही पनि छैन। मानिसहरूको प्रकृतिलाई विश्‍लेषण गरेर मात्र तैँले मानिसको भ्रष्टता र सारलाई वास्तविक रूपमा बुझ्न सक्छस्, मानिसहरू वास्तवमा कसको अधीनमा छन्, मानिसहरूमा वास्तवमा के कुरा कमी छ, तिनीहरू कुन कुराद्वारा सुसज्जित हुनुपर्छ र मानिसको स्वरूपमा तिनीहरू कसरी जिउनुपर्छ सो बुझ्न सक्छस्। व्यक्तिको प्रकृतिलाई साँचो रूपमा विश्‍लेषण गर्नु सजिलो हुँदैन, र परमेश्‍वरका वचनहरूको अनुभव नगरी वा साँचो अनुभवहरू प्राप्त नगरी यो काम गर्न सकिँदैन।

वसन्त, 1999

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्