परमेश्‍वरको काम र स्वभाव चिन्‍नेसम्बन्धी वचनहरू (अंश २६)

मानिसहरू फरक-फरक प्रकारका हुन्छन्, र तिनीहरूसँग कस्तो प्रकारको आत्मा छ त्यहीअनुसार तिनीहरू फरक हुन्छन्। कतिपय मानिसमा मानव आत्मा हुन्छ, र तिनीहरू नै परमेश्‍वरले पूर्वनिर्धारित गरेका र चुनेका मानिसहरू हुन्। कतिपयमा मानव आत्मा हुँदैन; तिनीहरू छल गरेर प्रवेश गर्ने नरपिशाचहरू हुन्। परमेश्‍वरद्वारा पूर्वनिर्धारित नभएका र नचुनिएकाहरू परमेश्‍वरको घरमा लुकिछिपी गरेर प्रवेश गर्न सफल भए पनि तिनीहरूले मुक्ति पाउन सक्दैनन्, र अन्त्यमा, तिनीहरू खुलासा हुनेछन् र हटाइनेछन्। मानिसहरूले परमेश्‍वरको कामलाई स्वीकार गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूले यसलाई स्वीकार गरेपछि, तिनीहरू कुन किसिमको मार्गमा हिँड्छन् र तिनीहरू रूपान्तरण हुन सक्छन् कि सक्दैनन् भन्‍ने सबै कुरा तिनीहरूभित्रको आत्मा र प्रकृतिमा भर पर्छ। कतिपय मानिस बाटो नबिराई बस्‍न सक्दैनन्; तिनीहरूका आत्माले नै तिनीहरू त्यस्ता मानिस भएको निर्धारित गर्छ, र तिनीहरू परिवर्तन हुन सक्दैनन्। कतिपय मानिसमा, पवित्र आत्‍माले काम गर्नुहुन्‍न, किनभने तिनीहरू सही मार्गमा हिँड्दैनन्; तर, यदि तिनीहरू परिवर्तन हुन सके, पवित्र आत्माले अझै काम गर्न सक्‍नुहुन्छ। यदि तिनीहरू परिवर्तन हुँदैनन् भने, तिनीहरूका लागि सबै कुरा समाप्त हुनेछ। हरेक प्रकारको परिस्थिति हुन्छ, तर, परमेश्‍वर हरेक व्यक्तिसँग व्यवहारमा धर्मी हुनुहुन्छ। मानिसहरूले परमेश्‍वरको धर्मी स्वभावलाई कसरी जान्‍ने र बुझ्ने गर्छन्? धर्मीजनले उहाँको आशिष् पाउँछन् र दुष्टले उहाँबाट सराप पाउँछन्। यो परमेश्‍वरको धार्मिकता हो। परमेश्‍वरले असल मानिसलाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ, र उहाँले प्रत्येक मानिसलाई उसका कामहरूअनुसार प्रतिफल दिनुहुन्छ। यो सही कुरा हो, तर वर्तमान समयका कतिपय घटनाहरू मानव धारणाहरूसँग मिल्दैनन्, जस्तै—परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँको आराधना गर्ने कतिपय मानिस मारिन्छन् वा तिनीहरूले उहाँको सराप पाउँछन्, वा तिनीहरूलाई उहाँले कहिल्यै आशिष् दिनुभएको छैन, वा वास्ता गर्नुभएको छैन; तिनीहरूले जति धेरै उहाँको आराधना गरे पनि, उहाँ तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ। केही दुष्ट मानिस छन् जसलाई परमेश्‍वर न त आशिष्‌ दिनुहुन्छ, न दण्ड नै दिनुहुन्छ, तैपनि तिनीहरू धनी हुन्छन् र तिनीहरूका धेरै सन्तानहरू हुन्छन्, र तिनीहरूका सबै कुरा राम्ररी चलिरहेको हुन्छ; तिनीहरू सबै कुरामा सफल हुन्छन्। के यो परमेश्‍वरको धार्मिकता हो? कतिपय मानिसहरूले भन्छन्, “हामीले परमेश्‍वरको आराधना गर्छौँ, र पनि हामीले उहाँबाट आशिष्‌हरू पाएका छैनौँ, जबकि परमेश्‍वरको आराधना नगर्ने बरु उहाँको विरोध गर्ने दुष्ट मानिसहरूले हामीभन्दा अझै राम्रो र समृद्ध जीवन बिताइरहेका छन्। परमेश्‍वर धर्मी हुनुहुन्‍न!” यसले तिमीहरूलाई के देखाउँदछ? मैले भर्खर तिमीहरूलाई दुई वटा उदाहरण दिएँ। तीमध्ये कुन चाहिँले परमेश्‍वरको धार्मिकताको बारेमा बताउँछ? कतिपय मानिसहरू भन्छन्, “ती दुवै परमेश्‍वरको धार्मिकताका प्रकटीकरण हुन्!” किन तिनीहरूले यसो भन्छन्? परमेश्‍वरका कार्यहरूको पछाडि सिद्धान्तहरू हुन्छन्—यति मात्रै हो कि मानिसहरू ती सिद्धान्तहरू स्पष्ट रूपमा देख्‍न सक्दैनन्, र तिनलाई स्पष्ट देख्‍न असमर्थ हुन्छन्, त्यसैले तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर भन्‍न मिल्दैन। मानिसहरूले बाहिरी रूपमा जे छ त्यसलाई मात्रै देख्‍न सक्छन्; तिनीहरूले भित्रसम्म र वास्तविक रूप देख्‍न सक्दैनन्। त्यसकारण, परमेश्‍वरले जे गर्नुहुन्छ त्यो धर्मी हुन्छ, चाहे त्यो मानिसका धारणा र कल्‍पनाहरूसँग मिलोस् वा नमिलोस्। धेरै मानिसले परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर निरन्तर गुनासो गर्छन्, किनभने तिनीहरूले परिस्थिति के हो भनेर बुझ्दैनन्। यदि तिनीहरूले सधैँ धारणा र कल्‍पनाहरूको आधारमा परिस्थितिलाई हेरिरहेका हुन्छन् भने सहजै गल्ती गर्न सक्छन्। मानिसहरूको ज्ञान तिनीहरूका आफ्ना विचार र दृष्टिकोण, आफ्नो विचारको लेनदेन, वा असल र खराब, सही र गलतसम्‍बन्धी तिनीहरूको दृष्टिकोण, वा तर्कमा रहेको हुन्छ। जब कसैले यस्तो दृष्टिकोणले हेर्छ, तब उसले सजिलै परमेश्‍वरलाई गलत रूपमा बुझ्‍न र धारणाहरू बनाउन सक्छ, र त्यस व्यक्तिले उहाँको विरोध र उहाँको बारेमा गुनासो गर्छ। एक गरिब व्यक्ति थियो जो परमेश्‍वरको आराधना गर्न मात्र जान्दथ्यो, तर परमेश्‍वरले उसलाई केवल बेवास्ता गर्नुभयो, र आशिष् दिनुभएन। सायद तिमीहरू यस्तो सोच्छौ, “परमेश्‍वरले उसलाई यस जीवनमा आशिष् नदिनुभए पनि, पक्कै पनि अनन्तकालमा आशिष् दिनुहुनेछ र उसलाई दस हजार गुना बढी इनाम दिनुहुनेछ। के त्यसले परमेश्‍वरलाई धर्मी बनाउनेथिएन त? एक धनी मानिसले यस जीवनमा सयौँ गुना आशिष् पाउँछ, र अनन्तकालमा विनाश भोग्छ। के यो पनि परमेश्‍वरको धार्मिकता होइन र?” परमेश्‍वरको धार्मिकतालाई कसरी बुझ्नुपर्छ त? उदाहरणका लागि परमेश्‍वरको काम बुझ्ने विषयलाई लिऔँ: यदि परमेश्‍वरले अनुग्रहको युगमा आफ्नो काम सकाएपछि आफ्नो कामलाई अन्त्य गर्नुभएको भए, र आखिरी दिनहरूमा न्यायको काम नगर्नुभएको भए, र मानवजातिलाई पूर्णतः मुक्ति नदिनुभएको भए, मानवजातिको पूर्ण विनाश हुनेथ्यो, अनि के उहाँसँग प्रेम र धार्मिकता छ भन्‍न मिल्थ्यो त? यदि परमेश्‍वरको आराधना गर्नेहरूलाई आगो र गन्धकको कुण्डमा फालियो, अनि परमेश्‍वरको आराधना नगर्ने र परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि थाहा नहुनेहरूलाई परमेश्‍वरले बाँच्न दिनुभयो भने, यसको अर्थ के निकाल्ने त? मानिसहरू धर्मसिद्धान्तको सन्दर्भमा बोल्दा, सामान्यतः सधैँ परमेश्‍वर धर्मी हुनुहुन्छ भन्छन्, तर यदि यस्तो खालको परिस्थिति आइपऱ्यो भने, सायद तिनीहरू राम्रोसँग खुट्ट्याउन सक्दैनन् र परमेश्‍वरबारे गुनासो गर्ने र उहाँलाई अधर्मी भनी मूल्याङ्कन गर्नेसमेत गर्लान्।

परमेश्‍वरको प्रेम र धार्मिकतालाई पूर्णतः बुझ्नैपर्छ अनि परमेश्‍वरका वचन र सत्यतामा आधारित भएर त्यसलाई व्याख्या र बोध गर्नैपर्छ। त्यसबाहेक, व्यक्तिले परमेश्‍वरको प्रेम र धार्मिकतालाई साँचो रूपमा जान्‍न साँचो अनुभवबाट गुज्रनैपर्छ र परमेश्‍वरको अन्तर्दृष्टि पनि पाउनैपर्छ। उहाँको प्रेम र धार्मिकताको मूल्याङ्कन व्यक्तिको धारणा र कल्पनाको आधारमा हुनुहुँदैन। मानव धारणाअनुसार, असललाई इनाम दिइन्छ र दुष्टलाई सजाय, असल मानिसहरूलाई असल प्रतिफल प्राप्त हुन्छ र दुष्टहरूलाई दुष्ट प्रतिफल, अनि कुनै दुष्टता नगर्नेहरू सबैलाई असल प्रतिफल दिइनुपर्छ र तिनीहरूले आशिष् पाउनुपर्छ। के देखिन्छ भने, मानिसहरू दुष्ट नहुने सबै अवस्थामा, तिनीहरूलाई असल प्रतिफल दिइनुपर्छ; परमेश्‍वरको धार्मिकता भनेको यही मात्र हो। के यो मानिसहरूको धारणा होइन र? तर तिनीहरूलाई असल प्रतिफल दिन सकिएन भने के हुन्छ त? त्यसपछि के तँ परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍नेछस्? उदाहरणका लागि, नूहको समयमा, परमेश्‍वरले नूहलाई यसो भन्‍नुभयो: “मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु” (उत्पत्ति ६:१३)। त्यसपछि उहाँले नूहलाई जहाज बनाउने आदेश दिनुभयो। नूहले परमेश्‍वरको आदेश स्विकारेर जहाज बनाएपछि, पृथ्वीमा चालीस दिन र चालीस रातसम्म घनघोर वर्षा भयो, सम्पूर्ण संसार बाढीमा डुब्यो, अनि परमेश्‍वरले नूह र उसको परिवारका सात सदस्यबाहेक त्यस युगका सबै मानिसलाई नष्ट गर्नुभयो। तँलाई यसबारे के लाग्छ? के तँ परमेश्‍वर प्रेमिलो हुनुहुन्‍न भन्छस्? मानिसको सम्बन्धमा भन्‍नुपर्दा, मानवजाति जतिसुकै भ्रष्ट हुन सक्ने भए पनि, यदि परमेश्‍वर मानवजातिलाई नष्ट गर्नुहुन्छ भने यसको अर्थ उहाँ प्रेमिलो हुनुहुन्‍न—के तिनीहरूले यस्तो विश्‍वास गर्नु सही हो त? के यो विश्‍वास निरर्थक होइन र? परमेश्‍वर आफूले नष्ट गरेकाहरूलाई प्रेम गर्नुहुन्‍नथ्यो, तर के तँ बाँचेका र उहाँको मुक्ति पाएकाहरूलाई पनि उहाँले प्रेम गर्नुहुँदैनथ्यो भनेर साँच्चै भन्‍न सक्छस् त? पत्रुसले परमेश्‍वरलाई अत्यधिक प्रेम गर्थ्यो र परमेश्‍वर पत्रुसलाई प्रेम गर्नुहुन्थ्यो—के तँ साँच्चै परमेश्‍वर प्रेमिलो हुनुहुन्‍न भन्‍न सक्छस् त? परमेश्‍वर उहाँलाई साँच्चै प्रेम गर्नेहरूलाई प्रेम गर्नुहुन्छ अनि उहाँको प्रतिरोध गर्ने र पश्चात्ताप गर्न नमान्‍नेहरूलाई घृणा गर्नुहुन्छ र श्राप दिनुहुन्छ। परमेश्‍वरसँग प्रेम र घृणा दुवै हुन्छ, यही सत्यता हो। मानिसहरूले परमेश्‍वरलाई आफ्ना धारणा र कल्पनाअनुसार सीमित पार्नु वा मूल्याङ्कन गर्नु हुँदैन, किनकि मानवजातिका धारणा र कल्पनाहरू, जुन कामकुराप्रति तिनीहरूका दृष्टिकोण हुन्, तिनमा बिलकुलै सत्यता हुँदैन। परमेश्‍वरलाई मानिसप्रति उहाँको मनोवृत्ति, उहाँको स्वभाव र सारको आधारमा चिन्नैपर्ने हुन्छ। परमेश्‍वरसँग कस्तो सार छ भनी उहाँले गर्ने र सम्हाल्ने कामकुराको सतही रूपको आधारमा बिलकुलै परिभाषित गर्नु हुँदैन। मानवजाति शैतानद्वारा अति गहन रूपमा भ्रष्ट पारिइएको छ; तिनीहरूलाई भ्रष्ट मानवजातिको प्रकृति सार थाहा हुँदैन, झन् परमेश्‍वरसामु भ्रष्ट मानवजाति के हो भन्‍ने कुरा थाहा हुनु र तिनीहरूलाई उहाँको धर्मी स्वभावअनुसार कसरी व्यवहार गर्नुपर्छ भन्‍ने थाहा हुनु त परको कुरा हो। अय्यूबलाई हेरौँ, ऊ धर्मी मानिस थियो र परमेश्‍वरले उसलाई आशिष्‌ दिनुभएको थियो। यो परमेश्‍वरको धार्मिकता थियो। शैतानले यहोवासँग बाजी थाप्यो: “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्” (अय्यूब १:९-११)। यहोवा परमेश्‍वरले भन्‍नुभयो, “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा” (अय्यूब १:१२)। त्यसैले शैतान अय्यूबकहाँ गयो, र अय्यूबलाई आक्रमण गऱ्यो र प्रलोभनमा पाऱ्यो, अनि अय्यूबले परीक्षाहरूको सामना गऱ्यो। ऊसँग भएका सबै कुरा खोसियो—उसले आफ्‍ना छोराछोरी र सम्पत्ति गुमायो, उसको सम्पूर्ण शरीर फोकाहरूले भरियो। अब, के अय्यूबका परीक्षाहरूका बीचमा परमेश्‍वरको धर्मी स्वभाव थियो? तैँले स्पष्ट रूपमा भन्‍न सक्दैनस्, होइन त? यदि तँ धर्मी व्यक्ति नै भए पनि, परमेश्‍वरसँग तँलाई परीक्षाहरूमा पर्न र उहाँको गवाही दिन लगाउने अधिकार छ। परमेश्‍वरको स्वभाव धर्मी छ; उहाँ हरेकलाई समान रूपमा व्यवहार गर्नुहुन्छ। त्यतिबेला धर्मी मानिसहरूले परीक्षाहरू सहन सके पनि तीबाट गुज्रनुपर्दैन वा तिनीहरूको रक्षा गरिनैपर्छ भन्‍ने होइन; यस्तो हुँदैन। परमेश्‍वरसँग धर्मी मानिसहरूलाई परीक्षाहरूबाट गुज्रन दिने अधिकार छ। यो परमेश्‍वरको धर्मी स्वभावको प्रकाश हो। आखिरमा, अय्यूबले परीक्षाहरूबाट गुज्रेर यहोवाको गवाही दिइसकेपछि, यहोवाले उसलाई पहिलेभन्दा पनि बढी, पहिलेभन्दा पनि उत्तम आशिष्‌हरू दिनुभयो, अनि उहाँले उसलाई दुगुना आशिष्‌ दिनुभयो। त्यसबाहेक, यहोवा ऊकहाँ देखा पर्नुभयो, र ऊसँग बतासमार्फत बोल्‍नुभयो, र अय्यूबले उहाँलाई आमने-सामने जस्तै गरी देखे। यो उसलाई परमेश्‍वरद्वारा दिइएको आशिष्‌ थियो। यो परमेश्‍वरको धार्मिकता थियो। यदि अय्यूब परीक्षाहरूबाट गुज्रिसकेपछि र यहोवाले शैतानको उपस्थितिमा उसले उहाँको गवाही दिएर शैतानलाई लज्जित पारेको देख्‍नुहुँदा, उसलाई बेवास्ता गर्दै यहोवा फर्केर आफ्‍नो बाटो लाग्‍नुभएको भए, र अय्यूबले आशिष्‌हरू नपाएको भए—के यसमा परमेश्‍वरको धार्मिकता हुनेथियो? परीक्षापछि अय्यूबलाई आशिष्‌ दिइएको भए पनि वा नदिइएको भए पनि, वा यहोवा ऊकहाँ देखा पर्नुभएको भए पनि वा नभएको भए पनि, यो सबैमा परमेश्‍वरको उपकार समावेश थियो। अय्यूबकहाँ देखा पर्नु परमेश्‍वरको धार्मिकता थियो, र अय्यूबकहाँ देखा नपर्नु पनि परमेश्‍वरको धार्मिकता नै हुनेथियो। सृष्टि गरिएको प्राणीको रूपमा तैँले कुन आधारमा परमेश्‍वरसँग मागहरू राख्छस्? मानिसहरू परमेश्‍वरसँग सर्त राख्न योग्य छैनन्। परमेश्‍वरसँग सर्तहरू राख्नु जत्तिको अनुचित कुरा अरू केही छैन। उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा व्यावहारिकता होइन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र समझदार हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्न सक्‍ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको गवाही दिएपछि उहाँले तिनलाई हटाउनुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भन्‍न तिनीहरूलाई निकै सहज हुन्छ; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। तर, वास्तवमा, मानिसहरू भ्रष्ट भए पनि नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्‍नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्‍वरले मानिसहरूलाई आफूले तय गरेका नियमहरू बताउनैपर्छ र? त्यसको आवश्यकता छैन। परमेश्‍वरको नजरमा भ्रष्ट र परमेश्‍वरको विरोध गर्न सक्‍ने व्यक्ति बेकम्मा हो; परमेश्‍वरले तिनीहरूलाई जसरी सम्‍हाल्‍नुभए पनि त्यो उचितै हुनेछ, र सबै कुरा परमेश्‍वरका बन्दोबस्तहरू नै हुन्। यदि तँ परमेश्‍वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्‍नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो पनि उहाँको धार्मिकता नै हुनेथियो त? हुनेथियो। तैँले तथ्यहरूबाट अहिले यसलाई पहिचान गर्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्‍नैपर्छ। तिमीहरू के भन्छौ—के परमेश्‍वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्‍ने आँट गर्दैनौ, होइन त? परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? “मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंको बुद्धि र कार्यहरूका लागि म तपाईंको प्रशंसा नगरी बस्‍न कसरी सक्छु र?” अब त तिमीहरूले देख्‍नुपर्ने हो, परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्‍म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्‍न सकून्, अनि परमेश्‍वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्‍न सकून् भन्‍ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझिसकेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखिसकेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखिसकेका हुन्छन्, तब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। परमेश्‍वरले जुन बेला शैतानलाई नष्ट गर्नुहुन्छ, त्यो समय निर्धारणमा परमेश्‍वरको स्वभाव र बुद्धि भरिएको हुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले परमेश्‍वरको धार्मिकता बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्‍न भन्‍ने बनाउँछ भने, तिनीहरू सबैभन्दा अविवेकी भइरहेका हुन्छन्। तैँले देख्छस् कि पत्रुसले बुझ्न नसकिने केही कुरा भेट्टाए, तर तिनमा परमेश्वरको बुद्धि उपस्थित छ र ती कुरामा उहाँको असल इच्छा छ भनी तिनी निश्चित थिए। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्‍न नसक्‍ने कुरा धेरै छन्। यसैले, परमेश्‍वरको स्वभाव जान्‍नु कुनै सजिलो कुरा होइन। धर्मको संसारमा परमेश्‍वरलाई विश्‍वास गर्ने यतिका धेरै मानिस भए पनि, थोरैले मात्र उहाँको स्वभाव चिन्‍न सक्छन्। केही मानिसले धर्मका मानिसहरूलाई सुसमाचार सुनाउने र तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढ्न लगाउने प्रयास गर्दा, तिनीहरूले खोजी र अनुसन्धान नगर्ने मात्र नभई, परमेश्‍वरका वचनका किताबसमेत जलाइदिए र सजाय पाए। अरूले अफवाहमा विश्‍वास गरे, परमेश्‍वरको निन्दा गरे र सजाय पाए। वास्तवमा यस्ता खालका घटनाहरूको धेरै, अनगिन्ती उदाहरण छन्। कतिपय नयाँ विश्‍वासीहरू अहङ्कारी र अभिमानी हुन्छन्, त्यसैले तिनीहरू यसबारे सुनेपछि यसलाई स्विकार्दैनन्—तिनीहरू धारणा विकास गर्छन्। परमेश्‍वर तँ मूर्ख र अनजान छस् भनी देख्नुहुन्छ र तँलाई बेवास्ता गर्नुहुन्छ, तर एक दिन उहाँले तँलाई बुझाउनुहुनेछ। यदि तैँले परमेश्‍वरलाई धेरै वर्षदेखि पछ्याउँदै आएको छस् र अझै पनि यस्तै व्यवहार गर्छस्, जति नै आफ्ना धारणाहरू भए पनि तिनमै टाँसिरहन्छस्, समस्या समाधान गर्न सत्यता नखोज्ने मात्र होइन, तर आफ्ना धारणाहरू चारैतिर फैलाउने अनि यहाँसम्म कि परमेश्‍वरको घरलाई उपहास गर्छस् र व्यङ्ग्य हान्छस् भने, तैँले पाउनुपर्ने दण्ड पाउनुपर्छ। कतिपय अवस्थामा, तँ मूर्ख र अनजान मात्र भएकाले परमेश्‍वरले तँलाई माफ गर्नुहोला, तर यदि तँलाई राम्ररी थाहा छ र जानीजानी त्यसरी कार्य गर्छस्, जति सम्झाए पनि सुन्दैनस् भने, तैँले परमेश्‍वरबाट सजाय पाउनैपर्छ। तँलाई परमेश्‍वरको सहनशील पक्ष मात्र थाहा छ, तर नबिर्सी, उहाँलाई चिढ्याउन नसकिने पक्ष पनि छ, जुन उहाँको धर्मी स्वभाव हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्