परमेश्‍वरको काम र स्वभाव चिन्‍नेसम्बन्धी वचनहरू (अंश २०)

सबै भ्रष्ट मानिसहरूको प्रकृति शैतानी हुन्छ। तिनीहरू सबैसँग शैतानी स्वभाव हुन्छ र तिनीहरूले परमेश्‍वरलाई जहाँकहीँ जुनसुकै बेला धोका दिन सक्छन्। कतिपय मानिसहरू सोध्छन्, “परमेश्‍वरले मान्छेको सृष्टि गर्नुभयो र तिनीहरू परमेश्‍वरकै हातमा छन्। तिनीहरूलाई परमेश्‍वरलाई धोका दिन दिनुको सट्टा किन परमेश्‍वरले मानिसहरूलाई संरक्षण गर्नुहुन्‍न? के परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्‍न र?” यो वास्तवमै एउटा सवाल हो। तैँले यसमा के समस्या देख्न सक्छस्? परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष पनि छ र एउटा व्यावहारिक पक्ष पनि छ। शैतानले भ्रष्ट नपारेको भए पनि मानिसहरूले परमेश्‍वरलाई धोका दिन सक्थे। परमेश्‍वरलाई कसरी आराधना गर्ने, शैतानलाई कसरी त्याग्‍ने, कसरी शैतानको सहयोगी नबन्‍ने बरु परमेश्‍वरप्रति समर्पित हुने भन्‍नेबारे मानिसहरूसँग आफ्नो कुनै व्यक्तिपरक इच्छा छैन। परमेश्‍वरसँग सत्यता, जीवन र मार्ग छ, परमेश्‍वर चिढ्याउन नसकिने हुनुहुन्छ…। मानिसहरूसँग आफूभित्र यीमध्ये कुनै पनि कुरा छैन। तिनीहरूले शैतानको प्रकृतिमा भएका ती कुराहरू स्पष्टसँग देख्दैनन् र सत्यता बिलकुलै बुझ्दैनन्, त्यसैले परमेश्‍वरलाई जहाँकहीँ जुनसुकै बेला धोका दिन सक्छन्। यसबाहेक, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याइसकेपछि, तिनीहरूभित्र शैतानका कुराहरू बस्छन् र परमेश्‍वरलाई धोका दिन तिनीहरूलाई सजिलो हुन्छ। समस्या यही हो। यदि तँ परमेश्‍वरको व्यावहारिक पक्ष मात्र देख्छस् तर सर्वशक्तिमान्‌ पक्ष देख्दैनस् भने, तैँले परमेश्‍वरलाई सजिलै धोका दिन सक्नेछस् र ख्रीष्टलाई साधारण व्यक्ति देख्नेछस्, अनि उहाँले मानवजातिलाई मुक्ति दिन यति धेरै सत्यता प्रदान गर्न सक्नुहुन्छ भन्‍ने तँलाई थाहा हुनेछैन। यदि तैँले परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष मात्र देख्छस् तर व्यावहारिक पक्ष देख्दैनस् भने पनि, परमेश्‍वरको प्रतिरोध गर्न तँलाई सजिलो हुनेछ। यदि तँ कुनै पनि पक्ष देख्दैनस् भने त, तैँले अझ धेरै परमेश्‍वरको प्रतिरोध गर्न सक्नेछस्। तसर्थ, परमेश्‍वरलाई चिन्‍नु यस संसारकै सबभन्दा कठिन कुरा होइन र? परमेश्‍वरलाई मानिसहरूले जति धेरै चिन्छन्, त्यति नै धेरै तिनीहरूले परमेश्‍वरको अभिप्राय बुझ्छन् र परमेश्‍वरले गर्नुहुने सबै कुराको अर्थ छ भनेर पनि बुझ्छन्। मानिसहरूसँग परमेश्‍वरबारे साँचो ज्ञान भएमा तिनीहरूले त्यस्ता नतिजाहरू हासिल गर्न सक्छन्। परमेश्‍वरको व्यावहारिक पक्ष भए पनि मानिसहरूले परमेश्‍वरलाई पूर्ण रूपमा कहिल्यै चिन्दैनन्। परमेश्‍वर अत्यन्तै महान्‌ र आश्‍चर्यजनक रूपमा अथाह हुनुहुन्छ, तर मानिसहरूको सोच अत्यन्तै सीमित हुन्छ। परमेश्‍वरसामु मान्छे सधैँ बच्चा नै हुन्छ भनेर किन भनिएको हो? यसको अर्थ नै यही हो।

जब परमेश्‍वरले बोल्नुहुन्छ वा केही गर्नुहुन्छ, तब मानिसहरूले सधैँ गलत बुझ्छन्, “परमेश्‍वरले त्यस्तो कसरी गर्न सक्नुहुन्छ? परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्छ!” मानिसहरूमा सधैँ आफ्नै धारणा हुन्छन्। परमेश्‍वरले सांसारिक कष्ट चाख्ने सम्बन्धमा, कतिपय मानिसहरू सोच्छन्, “के परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्‍न र? उहाँले सांसारिक कष्ट चाख्नुपर्छ र? सांसारिक कष्ट कस्तो हुन्छ भन्‍ने परमेश्‍वरलाई थाहा छैन र?” यो परमेश्‍वरको कामगराइको व्यावहारिक पक्ष हो। अनुग्रहको युगमा, येशू मानवजातिको छुटकाराको लागि क्रुसीकरण हुनुभयो। तर मान्छे परमेश्‍वरलाई बुझ्दैन र परमेश्‍वरबारे सधैँ केही धारणा राख्दै यसो भन्छ, “सबै मानवजातिलाई छुटकारा दिन परमेश्‍वरले शैतानलाई ‘म सर्वशक्तिमान्‌ हुँ। तैँले मानवजातिलाई मबाट टाढा राख्ने साहस गर्छस्? तैँले तिनीहरूलाई मलाई दिनुपर्छ।’ यी थोरै वचनहरूले मात्रै पनि सबै कुरा समाधान गर्न सकिन्थ्यो—के परमेश्‍वरसँग अख्तियारी थिएन र? परमेश्‍वरले त मानवजातिलाई छुटकारा दिइयो र मान्छेका पापहरू क्षमा गरियो भनेर मात्र भन्‍नुपर्थ्यो, त्यसपछि मान्छे पापरहित भइहाल्थ्यो। के यी कुराहरू परमेश्‍वरको वचनबाटै निर्णय गर्न सकिँदैनथ्यो र? यदि स्वर्ग, पृथ्वी र यावत्‌ थोक परमेश्‍वरबाट निस्केका वचनले अस्तित्वमा आएका थिए भने, अनि कसरी परमेश्‍वरले यो समस्या समाधान गर्न सक्नुभएन? किन परमेश्‍वर स्वयम् क्रुसीकरण हुनुपर्‍यो?” परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष र व्यावहारिक पक्ष दुवैले यहाँ काम गरिरहेका छन्। उहाँको व्यावहारिक पक्षको सम्बन्धमा, देहधारी परमेश्‍वरले आफ्नो साढे तेत्तीस वर्ष पृथ्वीमा रहँदा धेरै कष्ट सहनुभयो र अन्त्यमा क्रुसीकरण हुनुभयो। उहाँले सबभन्दा भयानक कष्ट सहनुभयो। त्यसपछि उहाँ मृत्युबाट पुनर्जीवित हुनुभयो र उहाँको पुनर्जीवनमा परमेश्‍वरको सर्वशक्तिमान्‌ताको पक्षले काम गरेको थियो। परमेश्‍वरले कुनै सङ्केत गर्ने वा कुनै रगत बगाउने वा पानी बर्साउने काम गर्नुभएन र यो पाप बलि हो भनेर भन्‍नुभएन। उहाँले त्यस्तो केही पनि गर्नुभएन, बरु आफै मानवजातिलाई छुटकारा दिन व्यक्तिगत तवरमै देह बन्‍नुभयो र क्रुसमा टाँगिनुभयो, ताकि मानवजातिले यस कार्यबारे थाहा पाउन सकून्। वास्तवमा, यस कार्यको माध्यमबाट परमेश्‍वरले मान्छेलाई मुक्ति दिनुभएको थियो र यो प्रमाण हो भनेर मानवजातिले थाहा पाए। जुनसुकै देहधारणले यो काम गरे पनि वा आत्माले प्रत्यक्ष रूपमा यो काम गरे पनि, यो सबै आवश्यक छ। यसको अर्थ, यसरी कार्य गरेर काम सबभन्दा मूल्यवान र महत्त्वपूर्ण बन्छ, र यसरी कार्य गरेर मात्रै मानवजातिले त्यसबाट लाभ प्राप्त गर्न सक्छ। यसो हुनुको कारण सम्पूर्ण मानवजाति परमेश्‍वरको व्यवस्थापनको लक्षित वस्तु हो। पहिले भनिएझैँ, यो शैतानविरुद्ध युद्ध छेड्‍न र त्यसलाई अपमानित गर्नको लागि थियो। अनि वास्तवमा, के यो अन्त्यमा मान्छेको लागि राम्रो हुँदैन र? मान्छेको लागि यो स्मरण गर्नुपर्ने कुरा हो र सबभन्दा मूल्यवान्‌ र महत्त्वपूर्ण कुरा हो, किनभने परमेश्‍वरले बनाउन चाहनुभएको भनेकै त्यस्ता मानिसहरू हुन् जो सङ्कष्टबाट बाहिर आउँदा परमेश्‍वरसम्बन्धी बुझाइसहित बाहिर आएका छन्, जो परमेश्‍वरद्वारा सिद्ध पारिएका छन् र जो शैतानको भ्रष्टीकरण पार गरेर आएका छन्। तसर्थ निश्‍चय नै यो काम यसरी नै गरिनुपर्थ्यो। परमेश्‍वरले आफ्नो हरेक चरणको काममा कुन विधि प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा मानवजातिको आवश्यकतामा आधारित हुन्छ। परमेश्‍वरको काम निश्‍चय नै हचुवा विधिहरू प्रयोग गरेर गरिँदैन। तर मानिसहरूसँग विकल्प र आफ्नै धारणाहरू छन्। जस्तै, येशूको क्रुसीकरणबारे मानिसहरूले सोच्छन्: “परमेश्‍वरको क्रुसीकरणसँग हाम्रो के लिनुदिनु छ र?” यसमा कुनै सम्बन्ध नरहेको तिनीहरू सोच्छन्, तर मानिसहरूलाई मुक्ति दिनको लागि परमेश्‍वरले क्रुसीकरण हुनुपर्थ्यो। क्रुसीकरण हुनु भनेको त्यो बेलाको सबभन्दा कठोर कष्ट थियो, के आत्मालाई क्रुसीकरण गर्न सकिन्थ्यो त? आत्मालाई क्रुसीकरण गर्न सकिँदैनथ्यो र आत्मा परमेश्‍वरको पूर्वसङ्केत हुन सक्दैनथ्यो। रगत बगाएर मर्ने कुरा त झन् गर्दै नगरे भो। देहधारणलाई मात्र क्रुसीकरण गर्न सकिन्थ्यो, यो पापबलिको प्रमाण थियो। उहाँको देहले पापी देहको रूप लियो र मानवजातिको लागि कष्ट सहन गर्‍यो। आत्माले मानवजातिको लागि कष्ट उठाउन सक्दैनथ्यो, न त मानिसहरूको पापको लागि प्रायश्‍चित नै गर्न सक्थ्यो। येशू मानवजातिको लागि क्रुसीकरण हुनुभयो। यो परमेश्‍वरको व्यावहारिक पक्ष हो। परमेश्‍वरले यसो गर्न सक्‍नुहुन्थ्यो र यसरी मानिसहरूलाई प्रेम गर्न सक्नुहुन्थ्यो, तर मान्छेले यसो गर्न सक्दैनथ्यो। यो परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष हो।

परमेश्‍वरले गर्नुहुने सबै थोकमा उहाँको सर्वशक्तिमान्‌ पक्ष र व्यावहारिक पक्ष संलग्न हुन्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌ता उहाँको सार हो र उहाँको व्यावहारिकता पनि उहाँको सार हो; यी दुई पक्ष अविभाज्य छन्। वास्तविक र व्यावहारिक तरिकाले परमेश्‍वरले कार्य गर्नु भनेको उहाँको व्यावहारिक पक्षले काम गर्नु हो, र उहाँले यसरी काम गर्न सक्नुहुन्छ भन्‍ने कुराले उहाँको सर्वशक्तिमान्‌ पक्षलाई देखाउँछ। तैँले यस्तो भन्‍न सक्दैनस्, “परमेश्‍वरले व्यावहारिक रूपमा काम गर्नुहुने भएकोले, उहाँ व्यावहारिक हुनुहुन्छ, उहाँको व्यावहारिक पक्ष मात्र हुन्छ र सर्वशक्तिमान्‌ पक्ष हुँदैन”; यदि तैँले त्यसो भन्छस् भने, यो एउटा प्रावधान बन्‍नेछ। यो व्यावहारिक पक्ष हो, तर यसमा सर्वशक्तिमान्‌ पक्ष पनि छ। परमेश्‍वरले गर्नुहुने जुनसुकै कुरामा यी दुवै पक्ष—उहाँको सर्वशक्तिमान्‌ता र उहाँको व्यावहारिकता—रहन्छन् र यो सब उहाँको सारको आधारमा गरिन्छ; यो उहाँको स्वभावको अभिव्यक्ति हुनुका साथै उहाँको सार र उहाँ जे हुनुहुन्छ, त्यसको प्रकटीकरण पनि हो। मानिसहरू सोच्छन्, अनुग्रहको युगमा परमेश्‍वर कृपा र प्रेम हुनुहुन्थ्यो; तर उहाँसँग उहाँको क्रोध र उहाँको न्याय पनि थियो। परमेश्‍वरले फरिसीहरू र सबै यहुदीहरूलाई श्राप दिनु—के यो उहाँको क्रोध र धार्मिकता थिएन र? तैँले अनुग्रहको युगमा परमेश्‍वर कृपा र प्रेम मात्र हुनुहुन्थ्यो, उहाँसँग मूल रूपमा कुनै क्रोध थिएन, कुनै न्याय वा श्राप थिएन भनी भन्‍न सक्दैनस्—यसो भन्‍नुले परमेश्‍वरको कामबारे मानिसहरूको बुझाइको कमीलाई देखाउँछ। अनुग्रहको युगको परमेश्‍वरको काम उहाँको स्वभावको अभिव्यक्ति थियो। परमेश्‍वरले गर्नुभएका मान्छेले देख्न सक्‍ने हरेक काम उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ र उहाँ सर्वशक्तिमान्‌ हुनुहुन्छ अनि उहाँ स्वयम् परमेश्‍वरको सार हुनुहुन्छ भनी प्रमाणित गर्नलाई थियो। के परमेश्‍वरको अहिलेको यो चरणको न्याय र सजायको कामको अर्थ उहाँमा कृपा र प्रेम छैन भन्‍ने हो? होइन। यदि तैँले परमेश्‍वरको सारलाई एकै वाक्य वा एकै भनाइमा सारांश गर्छस् भने, तँ अति अहङ्कारी र आत्मधर्मी, मूर्ख र अज्ञानी छस्, र यसले तँ परमेश्‍वरलाई चिन्दैनस् भन्‍ने देखाउँछ। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरलाई चिन्‍नेबारे सत्यता हामीलाई बताउनुहोस्, यसलाई स्पष्ट व्याख्या गरिदिनुहोस्।” परमेश्‍वरलाई चिन्‍ने व्यक्तिले के भन्‍नुपर्छ? उसले यसो भन्‍नेछ, “परमेश्‍वरलाई चिन्‍ने विषय निकै गहन छ र म यसलाई केही वाक्यमा स्पष्ट बुझाउन सक्दिनँ। मैले जसरी प्रस्तुत गरे पनि यसलाई बुझ्न सकिने बनाउन सक्दिनँ। तपाईंले सारांशसम्म मात्र बुझ्नुभयो भने पनि त्यो पर्याप्त हुन्छ। कसैले पनि परमेश्‍वरलाई पूर्ण रूपमा चिन्‍न सक्दैन।” परमेश्‍वरलाई नचिन्‍ने अहङ्कारी व्यक्तिले यसो भन्‍नेछ, “उहाँ कस्तो प्रकारको परमेश्‍वर हो मलाई थाहा छ, मैले वास्तवमै उहाँलाई बुझेको छु।” यो गफ दिएको होइन र? कसैले यस्तो भन्छ भने ऊ अत्यन्तै अहङ्कारी हो। कतिपय कुराहरू यस्ता पनि हुन्छन्—यदि मानिसहरूले अनुभव गर्दैनन् र केही तथ्यहरू देखेका हुँदैनन् भने—ती कुरालाई तिनीहरूले साँच्चै जान्‍न वा अनुभव गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई परमेश्‍वरको ज्ञान एकदमै अमूर्त छ भन्‍ने लाग्छ। जान्‍न नसक्‍ने मानिसहरूले एक प्रकारको अभिव्यक्ति मात्र सुन्छन्, यसको तर्क बुझ्छन्, तर यसलाई जान्दैनन्। तैँले यसलाई जानेको छैनस् भन्दैमा यो सत्यता होइन भन्‍ने हुँदैन। अनुभव नभएकाहरूलाई यो अमूर्त लाग्छ, तर वास्तवमा यो अमूर्त छैन। यदि कुनै व्यक्तिसँग साँच्चै अनुभव छ भने उसले उचित प्रसङ्गहरूसँग परमेश्‍वरका वचनहरू मिलाउन र तिनलाई प्रयोग गरी अभ्यासमा ल्याउन सक्नेछ। सत्यता बुझ्नु भनेको यही हो। यदि तँ परमेश्‍वरको वचनको शाब्दिक अर्थ मात्र सुन्छस्, तर व्यावहारिक रूपमा तिनलाई बुझेको छैनस् भने, के तँ सत्यता बुझ्न सक्छस्? तैँले ती वचनहरूलाई व्यवहारमा लागू गरेर अनुभव गर्नुपर्छ। सत्यता बुझ्नु त्यति सजिलो कुरा होइन।

अनुग्रहको युगमा परमेश्‍वरले समस्त मानवजातिलाई छुटकारा दिनुभयो। यो परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष हो, र उहाँको सर्वशक्तिमान्‌तामा उहाँका सबै व्यावहारिक काम सामेल हुन्छन्। मानिसहरूलाई जित्ने उहाँको कार्य गरिँदा, सबै मानिसहरू परमेश्‍वरसामु झुक्छन् र सबैले उहाँलाई स्विकार्न सक्छन्। यदि मानिसहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र व्यावहारिकतालाई छुट्टाछुट्टै मानेर कुरा गर्छन् भने, तिनीहरूले यी दुई पक्षलाई पूर्ण रूपमा बुझ्न सक्दैनन्। परमेश्‍वरलाई चिन्‍नको लागि तैँले उहाँका सर्वशक्तिमान्‌ता र व्यावहारिकतासम्बन्धी आफ्ना यी दुवै पक्षका ज्ञानलाई जोड्‍नुपर्छ; तब मात्र तैँले नतिजाहरू हासिल गर्न सक्छस्। परमेश्‍वर वास्तविक र व्यावहारिक रूपमा काम गर्नुहुन्छ, र सत्यता व्यक्त गरेर मानवजातिको भ्रष्टता धुनुहुन्छ र समाधान गर्नुहुन्छ, अनि उहाँ मानिसहरूलाई प्रत्यक्ष अगुवाइ गर्न पनि सक्नुहुन्छ—यी कुराहरूले परमेश्‍वरको व्यावहारिक पक्षलाई देखाउँछ। परमेश्‍वरले आफ्नै स्वभाव र उहाँ जे हुनुहुन्छ, त्यो व्यक्त गर्नुहुन्छ, र मानवले गर्न नसक्ने काम उहाँले गर्न सक्नुहुन्छ; यसमा परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष देख्न सकिन्छ। परमेश्‍वरसँग उहाँले जे भन्‍नुहुन्छ त्यसलाई अस्तित्वमा ल्याउन, उहाँको आज्ञालाई दृढ बनाउन र उहाँले जे भन्‍नुहुन्छ त्यसलाई पूरा गराउने अख्तियारी हुन्छ। परमेश्‍वरले बोल्दा उहाँको सर्वशक्तिमान्‌ता प्रकट हुन्छ। परमेश्‍वरले सबथोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, बुद्धिमानीपूर्वक शैतानलाई उहाँको लागि सेवा प्रदान गर्न लगाउनुहुन्छ, अनि मानिसहरूको जाँच र शोधन गर्न र तिनीहरूको स्वभाव शुद्ध बनाउन र रूपान्तरित गर्न वातावरणहरू मिलाउनुहुन्छ—यी सबै परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्षको प्रकटीकरण हुन्। परमेश्‍वरको सार सर्वशक्तिमान्‌ र व्यावहारिक दुवै हुन् र यी दुई पक्ष एकअर्काका पूरक हुन्। परमेश्‍वरले गर्नुहुने हरेक कार्य उहाँको स्वभावको अभिव्यक्ति हो र उहाँ जे हुनुहुन्छ, त्यसको प्रकटीकरण हो। उहाँ जे हुनुहुन्छ, त्यसभित्र उहाँको सर्वशक्तिमान्‌ता, उहाँको धार्मिकता र उहाँको प्रताप पर्छ। सुरुदेखि अन्त्यसम्मको परमेश्‍वरको काम उहाँको सारको प्रकटीकरण हो र उहाँ जे हुनुहुन्छ, त्यसको अभिव्यक्ति हो। उहाँको सारका दुई पक्ष छन्: एउटा उहाँको सर्वशक्तिमान्‌ पक्ष हो, र अर्को उहाँको व्यावहारिकताको पक्ष हो। तैँले परमेश्‍वरको जुनै चरण हेरे पनि त्यहाँ दुईवटा पक्ष हुन्छन् र परमेश्‍वरले गर्नुहुने सबै कुरामा यी दुई पक्ष रहेका हुन्छन्। यो परमेश्‍वरलाई बुझ्‍ने एउटा मार्ग हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्