परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९६

अर्को विषय सेवाकर्ताहरूको जीवन र मृत्युको चक्रसँग सम्‍बन्धित छ। हामीले भर्खरै सेवाकर्ताहरूको उत्पत्तिको बारेमा कुरा गर्‍यौं; अर्थात्, अघिल्‍लो जीवनमा अविश्‍वासी र पशु-प्राणीको रूपमा रही तिनीहरूको पुनर्जन्‍म भएको हुन्छ भन्‍ने तथ्यको बारेमा कुरा गर्‍यौं। अन्तिम चरणको कामको आगमनसँगै, परमेश्‍वरले अविश्‍वासीहरूबाट त्यस्ता मानिसहरूको समूह छनौट गर्नुभएको छ, र यो समूह विशेष छ। परमेश्‍वरले यी मानिसहरूलाई चुन्‍नुको उद्देश्य तिनीहरूलाई उहाँको सेवा गर्ने मानिसहरू बनाउनको लागि हो। “सेवा” त्यति सुन्दर सुनिने शब्‍द होइन, न त यो हरेकको कामना अनुरूपको कुरा नै हो, तर यो कोप्रति लक्षित छ सो कुरालाई हामीले हेर्नुपर्छ। परमेश्‍वरका सेवाकर्ताहरूको अस्तित्वको विशेष महत्त्व छ। अरू कसैले पनि तिनीहरूको भूमिका निर्वाह गर्न सक्दैन, किनभने तिनीहरूलाई परमेश्‍वरले नै चुन्‍नुभएको हुन्छ। र यी सेवाकर्ताहरूको भूमिका के हो त? तिनीहरूको भूमिका परमेश्‍वरका चुनिएका मानिसहरूको सेवा गर्नु हो। सामान्यतया, तिनीहरूको काम भनेको परमेश्‍वरको कामको निम्ति सेवा दिनु, यसमा सहकार्य गर्नु, र परमेश्‍वरले आफ्‍ना चुनिएकाहरूलाई पूर्ण तुल्याउने कार्यमा सहयोग गर्नु हो। तिनीहरूले परिश्रम गरिरहेको भए पनि, कामको कुनै पक्ष अघि बढाइरहेको भए पनि, वा निश्‍चित कार्यहरू गरिरहेको भए पनि, यी सेवाकर्ताहरूप्रति परमेश्‍वरको मापदण्ड के हुन्छ त? के उहाँ तिनीहरूप्रतिको आफ्‍ना मापदण्डहरूमा अत्यन्तै धेरै कठोर हुनुहुन्छ? (होइन, उहाँले तिनीहरूलाई निष्ठावान हुन मात्र लगाउनुहुन्छ।) सेवाकर्ताहरू पनि निष्ठावान हुनुपर्छ। तेरो उत्पत्ति जे-जस्तो भए पनि वा परमेश्‍वरले तँलाई जुन कारणले छनौट गर्नुभएको भए पनि, तँ परमेश्‍वरप्रति, परमेश्‍वरले तँलाई सुम्‍पनुहुने कुनै पनि कार्यभारहरूप्रति, र तँ जुन कामको निम्ति जिम्‍मेवार छस् त्यस कार्यप्रति र तैँले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरूप्रति तँ निष्ठावान हुनैपर्छ। परमेश्‍वरप्रति निष्ठावान हुन सक्‍ने र उहाँलाई सन्तुष्ट तुल्याउन सक्‍ने सेवाकर्ताहरूको हकमा, तिनीहरूका परिणामहरू के हुनेछन्? तिनीहरू बस्‍न सक्‍नेछन्। के बस्‍ने सेवाकर्ताहरूको लागि यो आशिष् हो? बस्‍नु भनेको के हो? यो आशिष्‌को महत्त्व के हो त? हैसियतमा, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूभन्दा विपरीत देखिन सक्छन्; तिनीहरू फरक देखिन्छन्। तर वास्तविकतामा, के तिनीहरूले यस जीवनमा प्राप्त गर्ने कुरा परमेश्‍वरका चुनिएका मानिसहरूको जस्तै होइन र? कम्तीमा पनि, यो यस जीवनमा उही हुन्छ। तिमीहरूले यसलाई नकार्दैनौ, होइन र? परमेश्‍वरका वाणीहरू, परमेश्‍वरको अनुग्रह, परमेश्‍वरको बन्दोबस्‍त, परमेश्‍वरका आशिष्‌हरू—कसले यी कुराहरूमा आनन्द लिँदैन र? त्यस्तो प्रशस्ततामा सबैले आनन्द लिन्छन्। सेवाकर्ताको पहिचान भनेको सेवा गर्ने व्यक्ति हो, तर परमेश्‍वरको लागि, उहाँले सृष्टि गर्नुभएका सबै थोकमध्ये एउटा थोक मात्रै हो; के मात्रै हो भने तिनीहरूको भूमिका सेवाकर्ताको हो। तिनीहरू दुवै परमेश्‍वरका सृष्टि भएका हुनाले, सेवाकर्ता र परमेश्‍वरको चुनिएको मानिसको बीचमा कुनै भिन्‍नता छ त? वास्तवमा, भिन्‍नता छैन। भनाइमा त, एउटा भिन्‍नता छ; सारमा र तिनीहरूले खेल्‍ने भूमिकामा एउटा भिन्‍नता छ—तर परमेश्‍वरले मानिसहरूको यो समूहलाई अनुचित रूपमा व्यवहार गर्नुहुन्‍न। त्यसो भए, यी मानिसहरूलाई किन सेवाकर्ताको रूपमा परिभाषित गरिन्छ त? तिमीहरूसँग यस विषयमा केही बुझाइ हुनैपर्छ! सेवाकर्ता अविश्‍वासीहरूका बीचबाट आउँछन्। तिनीहरू अविश्‍वासीहरूका बीचबाट आउँछन् भनेर हामीले उल्‍लेख गर्नेबित्तिकै, तिनीहरूको पृष्ठभूमि खराब हुन्छ भन्‍ने कुरा स्पष्टै हुन्छ: तिनीहरू सबै नास्तिक हुन्, र विगतमा पनि त्यस्तै थिए; तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरेका हुँदैनन्, र उहाँप्रति, सत्यताप्रति, र सकारात्मक सबै कुराप्रति तिनीहरू शत्रुवत् रहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरमा वा उहाँको अस्तित्वमा विश्‍वास गरेका हुँदैनन्। त्यसो भए, के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बुझ्‍न सक्छन् त? धेरै हदसम्‍म, तिनीहरूले त्यसो गर्न सक्दैनन् भनेर भन्दा अत्योक्ति हुँदैन। जसरी पशु-प्राणीले मानव शब्‍दहरूलाई बुझ्‍न सक्दैनन्, त्यसरी नै सेवाकर्ताहरूले परमेश्‍वरले के भनिरहनुभएको छ, उहाँले के मापदण्ड तोक्नुहुन्छ वा उहाँले किन त्यस्ता मापदण्डहरू तोक्नुहुन्छ भन्‍ने कुरालाई बुझ्‍न सक्दैनन्। तिनीहरूले बुझ्दैनन्; यी कुराहरू तिनीहरूको बुझाइबाहिरका हुन्छन्, र तिनीहरू अन्तर्ज्ञान नपाएको अवस्थामा नै रहन्छन्। यही कारणले गर्दा, यी मानिसहरूसँग हामीले बताएको जीवन हुँदैन। जीवनविना, के मानिसहरूले सत्यतालाई बुझ्‍न सक्छन्? के तिनीहरू सत्यताद्वारा सुसज्‍जित हुन्छन्? के तिनीहरूसँग परमेश्‍वरका वचनहरूको अनुभव र ज्ञान हुन्छ? (हुँदैन।) सेवाकर्ताहरूको उत्पत्ति यसरी नै हुन्छ। तैपनि, परमेश्‍वरले नै यी मानिसहरूलाई सेवाकर्ताहरू बनाउनुहुने भएकोले, तिनीहरूको लागि उहाँले तोक्नुभएका आवश्यक मापदण्डहरू हुन्छन्; उहाँले तिनीहरूलाई नीच ठान्‍नुहुन्‍न, न त उहाँले तिनीहरूसँग झारा टार्ने व्यवहार नै गर्नुहुन्छ। तिनीहरूले उहाँका वचनहरूलाई बुझ्‍न नसके पनि र तिनीहरूसँग जीवन नभए पनि, परमेश्‍वरले तिनीहरूलाई दयालु व्यवहार नै गर्नुहुन्छ, र उहाँले तिनीहरूले पूरा गर्नैपर्ने भनी तोक्नुभएका आवश्यक कुराहरूको हकमा मापदण्डहरू हुन्छन्। तिमीहरूले भर्खरै यी मापदण्डहरूका बारेमा बतायौ: परमेश्‍वरप्रति निष्ठावान हुनु र उहाँले भनेको काम गर्नु। तैँले सेवा गर्दा, तैँले जहाँ आवश्यक छ त्यहाँ सेवा गर्नुपर्छ, र तैँले अन्तिमसम्‍मै सेवा गर्नुपर्छ। यदि तँ निष्ठावान सेवाकर्ता हुन सक्छस् भने, अन्तिमसम्‍मै सेवा गर्न सक्छस् र परमेश्‍वरले तँलाई सुम्पनुभएको कार्यभारलाई पूरा गर्न सक्छस् भने, तैँले मूल्यवान् जीवन जिउनेछस्। यदि तैँले यसो गर्न सक्छस् भने, तँ रहन सक्‍नेछस्। यदि तैँले अलि बढी प्रयास गरिस् भने, यदि तैँले अझै बढी कडा परिश्रम गरिस्, परमेश्‍वरलाई चिन्‍ने तेरो प्रयासलाई दुई गुणा बढाइस् भने, परमेश्‍वरलाई चिन्‍ने बारेमा थोरै बोल्‍न सक्छस् भने, उहाँको गवाही दिन सक्छस् भने, साथै तैँले उहाँको इच्‍छाको कुनै कुरालाई बुझ्‍न सक्छस्, परमेश्‍वरको कार्यमा सहकार्य गर्न सक्छस्, र परमेश्‍वरका अभिप्रायहरूको बारेमा कुनै न कुनै हिसाबले ध्यान दिन सक्छस् भने, सेवाकर्ताको रूपमा तैँले सौभाग्यमा परिवर्तन भएको अनुभव गर्नेछस्। अनि यो सौभाग्यमा हुने परिवर्तन के हुनेछ त? तँ रहन मात्रै सक्‍नेछैनस्। तेरो आचरण र तेरा व्यक्तिगत आकाङ्क्षा र खोजीहरू अनुसार, परमेश्‍वरले तँलाई चुनिएका व्यक्तिहरू मध्येको एक बनाउनुहुनेछ। तेरो सौभाग्यमा हुने परिवर्तन यही हुनेछ। सेवाकर्ताहरूको लागि, यसबारेमा सबैभन्दा उत्तम कुरा के हो त? यो तिनीहरू परमेश्‍वरको चुनिएको मानिस बन्‍न सक्छन् भन्‍ने कुरा नै हो। यदि तिनीहरू त्यस्तो बन्‍न सके भने, यसको अर्थ अब उप्रान्त अविश्‍वासीहरूजस्तो पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म हुनेछैन। के त्यो असल कुरा होइन र? हो, र यो असल खबर पनि हो: यसको अर्थ सेवाकर्ताहरू पनि परिवर्तन हुन सक्छन्। सेवाकर्ताको हकमा, परमेश्‍वरले तिनीहरूलाई एक पटक सेवा गर्न पूर्वनिर्धारित गर्नुभएपछि, तिनीहरूले सदासर्वदा त्यसो गर्नेछन् भन्‍ने हुँदैन; त्यस्तै भइरहनुपर्छ भन्‍ने छैन। यस व्यक्तिको व्यक्तिगत आचरण सुहाउँदो हुने गरी नै उहाँले त्यस व्यक्तिसँग व्यवहार गर्नुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ।

तैपनि, अन्त्यसम्‍मै सेवा गर्न नसक्‍ने सेवाकर्ताहरू पनि हुन्छन्; सेवाको अवधिमा, आधा बाटोमा नै हार मान्ने र परमेश्‍वरलाई त्याग्‍ने मानिसहरू, साथै धेरै गलत कार्यहरू गर्ने मानिसहरू पनि हुन्छन्। परमेश्‍वरको कार्यलाई धेरै हानि गर्ने र यसमा धेरै घाटा ल्याउने मानिसहरू पनि हुन्छन्, र परमेश्‍वरलाई सराप्‍ने आदि इत्यादि कार्य गर्ने सेवाकर्ताहरू पनि हुन्छन्। यी सुधार गर्न नसकिने परिणामहरूले के सङ्केत गर्छन्? त्यस्तो कुनै पनि दुष्ट कार्यहरूले तिनीहरूका सेवाको समाप्तिलाई जनाउँछ। तेरो सेवाको अवधिमा तेरो आचरण अत्यन्तै खराब रहेकोले र तँ अति हदसम्‍म पुगेको हुनाले, परमेश्‍वरले तेरो सेवा मापदण्ड अनुरूप छैन भन्‍ने देख्‍नुभएपछि, उहाँले तँलाई सेवा गर्ने तेरो योग्यताबाट निकालिदिनुहुनेछ। उहाँले तँलाई अब उप्रान्त सेवा गर्न दिनुहुनेछैन; उहाँले तँलाई उहाँको नजरबाट र परमेश्‍वरको घरबाट निकालिदिनुहुनेछ। के यो तैँले सेवा गर्न नचाहेर हो? के तैँले निरन्तर दुष्ट कार्य गर्न चाहँदैनस् र? के तँ निरन्तर अविश्‍वासयोग्य हुँदैनस् र? त्यसो भए, एउटा सहज समाधान छ: तँलाई सेवा गर्ने तेरो योग्यताबाट हटाइनेछ। परमेश्‍वरको लागि, सेवाकर्तालाई सेवा गर्ने उसको योग्यताबाट हटाउनुको अर्थ यो सेवाकर्ताको अन्त्यको घोषणा गरिएको छ, र ऊ अब उप्रान्त परमेश्‍वरको सेवा गर्नको लागि योग्य हुनेछैन भन्‍ने हुन्छ। परमेश्‍वरलाई अब उप्रान्त यस व्यक्तिको सेवाको खाँचो हुँदैन, र तिनीहरूले जस्तोसुकै राम्रो कुरा बोले पनि, ती शब्‍दहरू व्यर्थ हुनेछन्। जब काम-कुराहरू यस्तो अवस्थामा आइपुगेका हुन्छन्, परिस्थिति समाधान गर्न नसकिने अवस्थामा पुगेको हुनेछ; यस्ता सेवाकर्ताहरू पछि फर्केर आउने कुनै उपाय हुनेछैन। अनि परमेश्‍वरले यस्ता सेवाकर्ताहरूसँग कसरी व्यवहार गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई सेवा गर्नबाट मात्रै रोक्‍नुहुन्छ? होइन। के उहाँले तिनीहरूलाई रहनबाट मात्रै रोक्‍नुहुन्छ? कि, उहाँले तिनीहरूलाई एकपट्टि राखेर तिनीहरू फर्किऊन् भनेर प्रतीक्षा गर्नुहुन्छ? उहाँले त्यसो गर्नुहुन्‍न। सेवाकर्ताहरूका हकमा, परमेश्‍वर त्यति प्रेमिलो हुनुहुन्‍न, यो साँचो कुरा हो। यदि परमेश्‍वरको सेवाप्रति व्यक्तिको मनोवृत्ति यस्तो छ भने, यो मनोवृत्तिको परिणामस्वरूप, परमेश्‍वरले तिनीहरूलाई सेवा गर्ने तिनीहरूको योग्यताबाट हटाउनुहुनेछ, र फेरि पनि तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा फ्याँक्‍नुहुनेछ। अनि अविश्‍वासीहरूका बीचमा फ्याँकिएको सेवाकर्ताको भवितव्य के हुन्छ त? यो अविश्‍वासीहरूको जस्तै हुन्छ: तिनीहरूको पुनर्जन्‍म पशु-प्राणीको रूपमा हुनेछ र आत्मिक संसारमा अविश्‍वासीको रूपमा दण्ड प्राप्त गर्नेछन्। यसअलावा, यस व्यक्तिको दण्डमा परमेश्‍वरले कुनै व्यक्तिगत चासो दिनुहुनेछैन, किनभने परमेश्‍वरको कार्यसँग त्यस्तो व्यक्तिको कुनै उचित सम्‍बन्ध हुँदैन। यो परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको जीवनको अन्त्य मात्रै हुँदैन, बरु यो त तिनीहरूको आफ्‍नै भवितव्यको समाप्ति, साथै तिनीहरूको भवितव्यको घोषणा पनि हुन्छ। तसर्थ, यदि सेवाकर्ताहरूले नराम्ररी सेवा गर्छन् भने, तिनीहरूले आफै परिणामहरू भोग्‍नुपर्ने हुन्छ। यदि सेवाकर्ताले अन्तिमसम्‍मै सेवा गर्न सक्दैन, वा आधा बाटोमा सेवा गर्ने उसको योग्यताबाट हटाइन्छ भने, तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा फ्याँकिनेछ—र यदि यसो भयो भने, यस्तो व्यक्तिलाई चौपायाजस्तै, बौद्धिकता वा चेतना नभएका मानिसहरूलाई जस्तै व्यवहार गरिनेछ। मैले यस कुरालाई यसरी बताउँदा, तिमीहरूले बुझ्‍न सक्छौ, होइन त?

उपर्युक्त कुरा परमेश्‍वरलाई पछ्याउने मानिसहरू र सेवाकर्ताहरूको जीवन र मृत्युको चक्रलाई परमेश्‍वरले कसरी सम्‍हाल्‍नुहुन्छ भन्‍ने बारेमा थियो। यो कुरा सुनेपछि, तिमीहरूलाई कस्तो अनुभूति भयो? के मैले यस विषयमा पहिले कहिल्यै बताएको थिएँ? के मैले कहिल्यै परमेश्‍वरका चुनिएका मानिसहरू र सेवाकर्ताहरूको विषयमा बोलेको छु? मैले वास्तवमा यस विषयमा कुरा गरेको छु, तर तिमीहरूलाई याद छैन। आफ्‍ना चुनिएका मानिसहरू र सेवाकर्ताहरूप्रति परमेश्‍वर धर्मी हुनुहुन्छ। सबै कुराको विषयमा, उहाँ धर्मी हुनुहुन्छ। मैले सही कुरा भनेँ? यसमा तिमीहरूले कहीँ त्रुटि भेट्न सक्छौ? के यसो भन्‍ने मानिसहरू छैनन् र, “चुनिएका मानिसहरूप्रति परमेश्‍वर किन यति सहनशील हुनुहुन्छ? अनि सेवाकर्ताहरूप्रति उहाँ किन थोरै मात्र सहनशील हुनुहुन्छ?” के सेवाकर्ताहरूका लागि कोही खडा हुन चाहन्छ? “के परमेश्‍वरले सेवाकर्ताहरूका लागि थप समय दिन, र तिनीहरूप्रति थप धैर्य र सहनशील हुन सक्‍नुहुन्छ?” के त्यस्तो प्रश्‍न उठाउनु सही कुरा हो? (होइन, यो सही होइन।) किन होइन? (किनभने हामीलाई सेवाकर्ताहरू बनाउने कार्यमा नै वास्तवमा निगाह प्रदान गरिसकिएको हुन्छ।) सेवा गर्नको लागि अनुमति दिएर नै सेवाकर्ताहरूलाई वास्तवमा निगाह प्रदान गरिसकिएको हुन्छ! “सेवाकर्ताहरू” भन्‍ने पदवीविना, र तिनीहरूले गर्ने कामविना, यी मानिसहरू कहाँ हुनेथिए? तिनीहरू चौपायाहरूसँग बस्दै र मर्दै अविश्‍वासीहरूका बीचमा हुनेथिए। परमेश्‍वरको सामुन्ने आउन र परमेश्‍वरको घरमा आउन पाएर तिनीहरूले आज कति महान् अनुग्रह पाएका छन्! यो त निकै ठूलो अनुग्रह हो! यदि परमेश्‍वरले तँलाई सेवा गर्ने यो मौका नदिनुभएको भए, तैँले उहाँको सामुन्ने आउने मौका कहिल्यै पाउने थिइनस्। कम्तीमा पनि, यदि तँ बुद्ध धर्मावलम्बी होस् र तैँले फल प्राप्त गरेको छस् भने पनि, तँ बढीमा आत्मिक संसारको एउटा तल्लो तहको कर्मचारीबाहेक केही पनि होइनस्; तैँले परमेश्‍वरलाई कहिल्यै पनि भेट्नेछैनस्, उहाँको आवाज वा उहाँका वचनहरू सुन्‍नेछैनस्, वा उहाँको प्रेम र आशिष्‌हरू अनुभव गर्नेछैनस्, न त तँ कहिल्यै परमेश्‍वरको आमने-सामने आउने सम्‍भावना नै हुन्छ। बुद्ध धर्मावलम्बीहरूका सामुन्ने हुने कुराहरू भनेका सरल कार्यहरू मात्रै हुन्। तिनीहरूले परमेश्‍वरलाई चिन्‍नु असम्‍भव छ, र तिनीहरूले केवल आज्ञापालन गर्छन् र हुकुम मान्छन्, तर सेवाकर्ताहरूले कामको यो चरणको अवधिमा धेरै कुरा प्राप्त गर्छन्! पहिलो, तिनीहरू परमेश्‍वरको आमने-सामने आउन, उहाँको आवाज सुन्‍न, उहाँका वचनहरू सुन्‍न, र उहाँले मानिसहरूलाई दिनुहुने अनुग्रह र आशिष्‌हरू अनुभव गर्न सक्छन्। यसको साथै, तिनीहरूले परमेश्‍वरद्वारा दिइएका वचन र सत्यताहरूको आनन्द लिन सक्छन्। सेवाकर्ताहरूले साँच्‍चै धेरै कुरा प्राप्त गर्न सक्छन्! तसर्थ, सेवाकर्ताको रूपमा, तैँले उचित प्रयास समेत गर्न सक्दैनस् भने, के परमेश्‍वरले तँलाई राख्‍न सक्‍नुहुन्छ त? उहाँले तँलाई राख्‍न सक्‍नुहुन्‍न। उहाँले तँलाई त्यति धेरै माग्‍नुहुन्‍न, तैपनि उहाँले माग्‍नुभएको केही पनि कुरा तैँले उचित रूपमा गर्दैनस्; तैँले तेरो कर्तव्य पालन गरेको छैनस्। तसर्थ, परमेश्‍वरले तँलाई राख्‍न सक्‍नुहुन्‍न भन्‍ने कुरामा कुनै शङ्का छैन। परमेश्‍वरको धर्मी स्वभाव यही हो। परमेश्‍वरले तँलाई पुलपुल्याउनुहुन्‍न, तर उहाँले तँलाई पक्षपात पनि गर्नुहुन्‍न। परमेश्‍वरले काम गर्नुहुने सिद्धान्तहरू यिनै हुन्। परमेश्‍वरले सबै मानिस र प्राणीहरूलाई यसरी नै व्यवहार गर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०४

यदि मानिसहरूले परमेश्‍वरलाई श्रद्धा गर्ने हृदयले परमेश्‍वरमा विश्‍वास गर्छन्‌ र परमेश्‍वरका वचनहरूको अनुभव गर्छन्‌ भने, यस्ता मानिसहरूमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७६

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (छनौट गरिएका खण्डहरू) अन्‍न, फलफूल, सागसब्‍जी र सबै किसिमका बदामजस्ता...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८८

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २१

परमेश्‍वरले मानवजातिको सृष्टिदेखि नै आफ्नो काम गर्दै आउनुभएको छ। सुरुमा यो एकदमै सरल काम थियो, तर सरलताको बाबजुद, यसमा परमेश्‍वरको सार र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्