परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १२६
मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)
पाँचौं महत्वपूर्ण मोड: सन्तान
विवाह गरिसकेपछि, व्यक्तिले अर्को पुस्ताको सन्तान हुर्काउन सुरु गर्छ। आफूले कति जना र कस्ता बालबच्चा जन्माउने भन्ने बारेमा व्यक्तिले कुनै निर्णय गर्न सक्दैन; यो पनि सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको व्यक्तिको नियतिद्वारा नै निर्धारित हुन्छ। व्यक्तिले पार गरेर जानैपर्ने पाँचौं महत्वपूर्ण मोड यही हो।
यदि कुनै व्यक्ति कसैको सन्तान बन्ने भूमिकालाई पूरा गर्नको लागि जन्मन्छ भने, उसले कसैको बाबुआमाको भूमिका पूरा गर्न अर्को पुस्ताको सन्तान हुर्काउँछ। भूमिकामा हुने यो परिवर्तनले व्यक्तिलाई फरक-फरक दृष्टिकोणबाट जीवनका फरक-फरक चरणहरूलाई अनुभव गराउँछ। यसले व्यक्तिलाई फरक-फरक जीवन अनुभव पनि प्रदान गर्छ जसद्वारा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्न पुग्छ, जसलाई सधैँ उही किसिमले लागू गरिन्छ, र जसद्वारा व्यक्तिले सृष्टिकर्ताको पूर्वनिर्धारित गन्तव्यलाई कसैले पनि नाघ्न सक्दैन वा परिवर्तन गर्न सक्दैन भन्ने तथ्यलाई बुझ्छ।
१. आफ्नो सन्तान के बन्छ भन्ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन
जन्म, हुर्काइ-बढाइ, विवाह सबैले फरक-फरक हदमा विभिन्न प्रकारका निराशाहरू ल्याउँछन्। कतिपय मानिसहरू आफ्ना परिवार वा आफ्नो शारीरिक रूपप्रति असन्तुष्ट हुन्छन्; कतिले आफ्ना बाबुआमालाई मन पराउँदैनन्; कति आफू हुर्केको वातावरणको बारेमा बेखुसी हुन्छन् र गुनासो गर्छन्। अनि धेरैजसो मानिसहरूका लागि, यी सबै निराशाहरूमध्ये विवाह सबैभन्दा बढी असन्तुष्टिपूर्ण हुन्छ। आफ्नो जन्म, हुर्काइ, वा विवाहको बारेमा व्यक्ति जति नै असन्तुष्ट भए पनि, यी कुराहरू पार गर्दै जानेहरू हरेकलाई थाहा हुन्छ कि तिनीहरू कहाँ र कहिले जन्मन्छन्, तिनीहरूको रूप कस्तो हुन्छ, तिनीहरूको आमाबाबु को हुनेछन्, र तिनीहरूको पति वा पत्नी को हुनेछन् भन्ने कुरा कसैले पनि छनौट गर्न सक्दैन, बरु तिनीहरूले त स्वर्गको इच्छालाई नै स्वीकार गर्नुपर्छ। तैपनि जब मानिसहरूले अर्को पुस्ताको सन्तान हुर्काउने समय हुन्छ, तब तिनीहरूले तिनीहरूका सन्तानले तिनीहरूको आफ्नै जीवनको अघिल्लो भागमा तिनीहरूले भोगेका निराशाहरू सबैलाई पूर्ति गर्नेछन् भन्ने आशा गर्दै, आफ्नो जीवनको पहिलो भागमा तिनीहरूले पूरा गर्न नसकेका सबै इच्छाहरू आफ्ना सन्तानमा लाद्छन्। त्यसकारण, मानिसहरू आफ्ना छोराछोरीका बारेमा अनेक किसिमका कल्पनाहरू गर्छन्: तिनीहरूका छोरीहरू अत्यन्तै सुन्दर हुनेछन्, तिनीहरूका छोरा आकर्षक भलाद्मी बन्नेछन्; तिनीहरूका छोरीहरू सभ्य र प्रतिभावान् बन्नेछन् र तिनीहरूका छोराहरू उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडी बन्नेछन्; तिनीहरूका छोरीहरू विनम्र, चरित्रवान्, र समझदार बन्नेछन्, अनि तिनीहरूका छोराहरू बुद्धिमानी, सक्षम, र संवेदनशील बन्नेछन्। तिनीहरूले आफ्ना सन्तान, चाहे तिनीहरू छोरी हुन् वा छोरा, तिनीहरूले आफूभन्दा ठूलालाई आदर गर्नेछन्, आफ्ना बाबुआमाको वास्ता गर्नेछन्, हरेकले तिनीहरूलाई माया र तारिफ गर्नेछन् भन्ने आशा गरेका हुन्छन्…। यस विन्दुमा, जीवन सम्बन्धी तिनीहरूको आशा ताजा बन्छ, अनि मानिसहरूको हृदयमा नयाँ जोसको दियो बल्छ। मानिसहरूलाई थाहा छ, तिनीहरू यो जीवनमा शक्तिहीन र आशाविहीन छन्, भीडभन्दा राम्रो हुनको लागि तिनीहरूसँग अर्को मौका वा अर्को आशा हुनेछैन, र तिनीहरूसँग आफ्नो नियति स्वीकार गर्नेबाहेक केही उपाय नै छैन। त्यसैले तिनीहरूले आफ्ना सबै आशाहरू, आफ्ना पूरा नभएका इच्छा र आकांक्षाहरू अर्को पुस्तामा लाद्छन् र आशा गर्छन् कि तिनीहरूका सन्तानले तिनीहरूलाई तिनीहरूका सपनाहरू पूरा गर्न अनि तिनीहरूका इच्छाहरू हासिल गर्न सहयोग गर्न सक्छन्; तिनीहरूले आशा गर्छन् कि तिनीहरूका छोराछोरीहरूले परिवारको नाममा वैभव ल्याउनेछन्, तिनीहरू महत्त्वपूर्ण, धनी, अनि चर्चित बन्नेछन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूले आफ्ना छोराछोरीको ऐश्वर्य उचाइमा पुगेको हेर्न चाहन्छन्। मानिसहरूका योजना र कल्पनाहरू त पूर्ण छन्; तर के तिनीहरूले जन्माउने सन्तानहरूको संख्या, तिनीहरूका छोराछोरीको रूप, क्षमता आदि इत्यादि तिनीहरूले निर्णय गर्ने कुरा होइन, तिनीहरूको हातमा त आफ्ना सन्तानको नियति समेत छैन भन्ने तिनीहरूलाई थाहा छैन र? मानिसहरू आफ्नो नियतिका मालिक होइनन्, तैपनि तिनीहरूले नयाँ पुस्ताको नियति परिवर्तन गर्ने आशा गर्छन्; तिनीहरू आफ्नै नियतिबाट उम्कन असमर्थ छन्, तैपनि तिनीहरूले आफ्ना छोराछोरीहरूको नियति नियन्त्रण गर्ने प्रयास गर्छन्। के तिनीहरू आफैले आफ्नो अधिक-मूल्याङ्कन गरिरहेका छैनन् र? के यो मानवीय मूर्खता र अज्ञानता होइन र? आफ्ना सन्तानको लागि मानिसहरू जुनसुकै हदसम्म जान्छन्, तर आखिरमा, व्यक्तिको योजना र इच्छाहरूले उसले कति जना सन्तान जन्माउँछ वा ती छोराछोरी कस्ता हुन्छन् भन्ने कुरालाई नियन्त्रण गर्न सक्दैन। कतिपय मानिसहरूसँग सुक्को हुँदैन तैपनि धेरै जना सन्तान जन्माउँछन्; कतिपय मानिसहरू धनी हुन्छन् तैपनि एउटै बच्चा जन्माएका हुँदैनन्। कतिले छोरी चाहन्छन् तर त्यो इच्छा पूरा हुँदैन; कति जना छोरा चाहन्छन् तर छोरा जन्माउन सक्दैनन्। कतिका लागि छोराछोरी आशीर्वाद हुन्; अरूका लागि, ती श्राप हुन्। कतिपय दम्पतीहरू बुद्धिमान हुन्छन्, तैपनि सुस्त मस्तिष्क भएको बच्चा जन्माउँछन्; कतिपय आमाबाबु मेहनती र इमानदार हुन्छन्, तैपनि तिनीहरूले हुर्काउने सन्तान अल्छी हुन्छन्। कतिपय बाबुआमा दयालु र सीधा हुन्छन् तर तिनीहरूका छोराछोरी कुटिल र बदमास हुन्छन्। कतिपय बाबुआमाको मस्तिष्क र शरीर तन्दुरुस्त हुन्छ तर तिनीहरूले अपाङ्ग सन्तान जन्माउँछन्। कतिपय बाबुआमा साधारण र असफल हुन्छन्, तर तिनीहरूका छोराछोरीले ठूला-ठूला कुराहरू हासिल गर्छन्। कतिपय बाबुआमा न्यून प्रतिष्ठाका हुन्छन् तर तिनीहरूका छोराछोरीले उच्च प्रतिष्ठा प्राप्त गर्छन्। …
२. अर्को पुस्ताका सन्तान हुर्काइसकेपछि, मानिसहरूले नियति सम्बन्धी नयाँ बुझाइ प्राप्त गर्छन्
विवाह-बन्धनमा प्रवेश गर्ने धेरैजसो मानिसहरूले प्रायजसो तीस वर्षको हाराहारीमा विवाह गर्छन्, जुन जीवनको त्यो समय हो जुन बेला व्यक्तिले मानव नियतिको बारेमा कुनै बुझाइ प्राप्त गरेको हुँदैन। तर जब मानिसहरूले सन्तान हुर्काउन थाल्छन्, र तिनीहरूका सन्तान हुर्कन्छन्, तब तिनीहरूले नयाँ पुस्ताले पनि अघिल्लो पुस्ताकै जीवन र सबै अनुभवहरूलाई दोहोर्याएको देख्छन्, अनि तिनीहरूले नयाँ पुस्ताको जीवनमा तिनीहरूकै आफ्नो विगत प्रतिबिम्बित भएको देख्दा, नयाँ पुस्ताले हिँड्ने मार्ग पनि तिनीहरूको आफ्नो मार्गजस्तै योजना र छनौट गर्न नसकिने किसिमको रहेछ भन्ने महसुस गर्छन्। यो तथ्यलाई सामना गरेपछि, हरेक व्यक्तिको नियति पूर्वनिर्धारित हुन्छ भन्ने कुरालाई स्वीकार गर्नुबाहेक तिनीहरूसँग केही विकल्प हुँदैन, अनि तिनीहरूले महसुस समेत नगरीकन तिनीहरूका आफ्नै इच्छाहरूलाई बिस्तारै पन्छ्याउन थाल्छन्, अनि तिनीहरूको हृदयमा भएका लालसाहरू फुट्दै मरेर जान्छन्…। आधारभूत रूपमा जीवनका महत्त्वपूर्ण विन्दुहरूलाई पार गरिसकेपछि, यो अवधिमा मानिसहरूले जीवनको बारेमा नयाँ बुझाइ हासिल गरेका हुन्छन्, नयाँ आचरण धारण गरेका हुन्छन्। यस उमेरको व्यक्तिले भविष्यबाट के अपेक्षा गर्न सक्छ र उनीहरूले अपेक्षा गर्नको लागि उनीहरूसँग के नै आशा हुन्छ र? पचास वर्षकी कुन महिलाले अझै आकर्षक राजकुमारको सपना देखिरहेकी हुन्छे र? पचास वर्षको कुन पुरुषले अझै आफ्नी हिउँजस्तै गोरीको खोजी गरिरहेको हुन्छ र? आधा उमेरकी कुन महिलाले अझै कुरूप हाँसबाट सुन्दर चखेवीमा परिवर्तन हुने आशा गरिरहेकी हुन्छे र? के धेरैजसो वृद्ध पुरुषहरूमा जवान पुरुषहरूको जस्तै जीवन सम्बन्धी जोस हुन्छ र? समग्रमा भन्दा, चाहे पुरुष होस् वा स्त्री, यो उमेरको कुनै पनि व्यक्तिमा विवाह, परिवार, र सन्तानप्रति तुलनात्मक रूपमा तर्कसंगत, व्यवहारिक आचरण हुने सम्भावना बढी हुन्छ। त्यस्तो व्यक्तिसँग आधारभूत रूपमा कुनै विकल्प बाँकी हुँदैन, नियतिलाई चुनौती दिने कुनै हठ हुँदैन। मानव अनुभवको हकमा भन्दा, जब व्यक्ति यो उमेरमा पुग्छ, उसले स्वाभाविक रूपमै निश्चित आचरण विकास गर्छ: “व्यक्तिले नियतिलाई स्वीकार गर्नैपर्छ; आफ्ना छोराछोरीको पनि आ-आफ्नै नियति हुन्छ; मानव नियति स्वर्गले तोकेको हुन्छ।” यो संसारका सबै घटना, हैरानी, र कठिनाइहरूलाई सामना गरिसकेपछि पनि सत्यतालाई नबुझ्ने मानिसहरूले मानव जीवन सम्बन्धी तिनीहरूका अन्तर्दृष्टिलाई यी चार शब्दमा सारांशित गर्नेछन्: “नियति भनेको यही हो!” यो वाक्यले मानव नियति सम्बन्धी सांसारिक मानिसहरूको बुझाइ र तिनीहरूले निकालेको निष्कर्षलाई संक्षिप्त गर्ने भए तापनि, र यसले मानवजातिको विवशतालाई व्यक्त गर्ने र यसलाई वास्तविक र सही भनेर व्याख्या गर्न सकिने भए तापनि, यो सृष्टिकर्ताको सार्वभौमिकताको बुझाइभन्दा निकै टाढाको कुरा हो, र यो सृष्टिकर्ताको अख्तियारको ज्ञानको विकल्प हुँदै होइन।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।