परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११९

पाँच प्रकारका मानिसहरू

म परमेश्‍वरका अनुयायीहरूलाई परमेश्‍वरसम्‍बन्धी तिनीहरूको बुझाइ र उहाँको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको बुझाइ र अनुभवको आधारमा विभिन्‍न वर्गमा वर्गीकरण गर्नेछु, ताकि तिमीहरूले तिमीहरू हाल जुन चरणमा छौ त्यो चरणका साथै तिमीहरूको वर्तमान कदलाई जान्‍न सक। परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान र उहाँको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको बुझाइको आधारमा, मानिसहरूका विभिन्न चरणहरू र कदलाई सामान्यतया पाँच प्रकारमा विभाजन गर्न सकिन्छ। यो विषयलाई अद्वितीय परमेश्‍वर र उहाँको धर्मी स्वभावलाई जान्‍ने कार्यको आधारमा निर्धारित गरिन्छ। त्यसकारण, तिमीहरूले निम्‍न विषयवस्तु पढ्ने क्रममा, परमेश्‍वरको अद्वितीयपन र उहाँको धर्मी स्वभावको बारेमा तिमीहरूसँग वास्तवमा कति बुझाइ र ज्ञान छ भन्ने कुरालाई होसियारीसाथ पत्ता लगाउने प्रयास गर्नुपर्छ, र यसरी प्राप्त गरिएको उक्त नतिजालाई तिमीहरूले तिमीहरू वास्तवमा कुन चरणमा छौ, तिमीहरूको कद वास्तवमा कति ठूलो छ, र तिमीहरू वास्तवमा कस्तो प्रकारको व्यक्ति हौ भनी मूल्याङ्कन गर्न प्रयोग गर्नुपर्छ।

पहिलो प्रकार: थाङ्ग्‍नोमा बेह्रिएको शिशुको चरण

“थाङ्ग्‍नोमा बेह्रिएको शिशुको चरण” भनेको के हो? थाङ्ग्‍नोमा बेह्रिएको शिशु भनेको भर्खरै यस संसारमा आएको, नवजात शिशु हो। यो मानिसहरू आफ्नो सबैभन्दा अपरिपक्‍व स्थितिमा हुँदाको अवस्था हो।

यस चरणमा रहेका मानिसहरूमा परमेश्‍वरप्रतिको विश्‍वासको विषयमा कुनै पनि चेतना वा विवेक हुँदैन। तिनीहरू हरेक कुराको बारेमा अनजान र अज्ञानी हुन्छन्। यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको लामो समय भएको हुन सक्छ वा त्यति लामो समय नभएको हुन सक्छ, तर तिनीहरूको अनजान र अज्ञानी अवस्था र तिनीहरूको साँचो कदअनुसार त तिनीहरू थाङ्ग्‍नोमा बेह्रिएको शिशुको चरणमा नै रहन्छन्। थाङ्ग्‍नोमा बेह्रिएको शिशुको अवस्थाका यथार्थ परिभाषा यसप्रकार छ: यस प्रकारको व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिनीहरू सधैँ मंद-विवेक भएका, अन्योलग्रस्त र सीधासाधा हुन्छन्; तिनीहरूलाई आफूले किन परमेश्‍वरमा विश्‍वास गर्छौं भन्ने नै थाहा हुँदैन, न त तिनीहरूलाई परमेश्‍वर को हुनुहुन्छ भन्‍ने नै थाहा हुन्छ। तिनीहरूले परमेश्‍वरलाई पछ्याउने भए तापनि, तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै पनि ठोस परिभाषा हुँदैन, र तिनीहरूले आफूले पछ्याउने परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्, तिनीहरूले साँच्चै परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, पर्दैन र उहाँलाई पछ्याउनुपर्छ, पर्दैन भनी निर्धारण गर्न सक्नु त परै जाओस्। यस प्रकारको व्यक्तिको साँचो स्थिति यही हो। यस प्रकारका मानिसहरूको विचार धमिलो हुन्छ र, सरल रूपमा भन्दा, तिनीहरूको विश्‍वास भ्रमित हुन्छ। तिनीहरू सधैँ घबराहट र रित्तोपनको अवस्थामा अस्तित्वमा रहन्छन्; “मन्द-विवेक,” “अन्योल,” र “सीधासाधा” भन्‍ने शब्‍दहरूले तिनीहरूको स्थितिलाई सारांशित गर्छ। तिनीहरूले न त कहिल्यै परमेश्‍वरको अस्तित्वलाई देखेका हुन्छन्, न त अनुभव नै गरेका हुन्छन्, त्यसकारण तिनीहरूलाई परमेश्‍वरलाई चिन्‍नेबारेमा बताउनु भनेको तिनीहरूलाई चित्रलेखमा लेखिएको किताब पढ्न लगाउनु सरह हुन्छ—तिनीहरूले न त यसलाई बुझ्‍नेछन् न त स्वीकार नै गर्नेछन्। तिनीहरूको लागि त, परमेश्‍वरलाई चिन्‍नु भनेको काल्‍पनिक कथा सुन्‍नु सरह हो। तिनीहरूका विचारहरू धमिलो भएको हुनसक्‍ने भए तापनि, परमेश्‍वरलाई चिन्‍नु भनेको समय र प्रयासको ठूलो बरबादी हो भन्‍ने कुरामा चाहिँ तिनीहरूले वास्तवमै दृढ रूपमा विश्‍वास गर्छन्। पहिलो प्रकारको व्यक्ति अर्थात् थाङ्ग्‍नोमा बेह्रिएको शिशु यही हो।

दोस्रो प्रकार: दूधे बालकको चरण

थाङ्ग्‍नोमा बेह्रिएको शिशुको तुलनामा, यस प्रकारको व्यक्तिले केही प्रगति गरेको हुन्छ। दुःखको कुरा, तिनीहरूसँग परमेश्‍वरको बारेमा अझै पनि कुनै बुझाइ हुँदैन। तिनीहरूमा अझै पनि परमेश्‍वरको बारेमा स्पष्ट बुझाइ र परमेश्‍वरको बारेमा अन्तर्ज्ञानको कमी हुन्छ, र तिनीहरू आफूले किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍नेबारेमा अझै स्पष्ट हुँदैनन्, तैपनि हृदयमा भने तिनीहरूको आफ्‍नै उद्देश्य र स्पष्ट विचार हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्नु सही हो कि होइन भन्‍नेबारेमा तिनीहरूले चासो लिँदैनन्। परमेश्‍वरमाथिको विश्‍वासमार्फत तिनीहरूले खोजी गर्न चाहेको उद्देश्य र लक्ष्य भनेको उहाँको अनुग्रहको आनन्द लिनु, आनन्द र शान्ति प्राप्त गर्नु, सहज जीवन जिउनु, परमेश्‍वरको वास्ता र सुरक्षाको आनन्द लिनु, अनि परमेश्‍वरको आशिष्‌हरूमा जिउनु हो। तिनीहरूले कुन हदसम्‍म परमेश्‍वरलाई चिन्छन् भन्‍नेबारेमा तिनीहरूलाई कुनै चासो हुँदैन; तिनीहरूमा परमेश्‍वरको बुझाइको खोजी गर्ने कुनै चाहना हुँदैन, न त तिनीहरूलाई परमेश्‍वरले के गर्दैहुनुहुन्छ वा उहाँले के गर्न चाहनुहुन्छ भन्‍ने कुराको नै चासो हुन्छ। तिनीहरूले उहाँको अनुग्रहको आनन्द लिन र उहाँको अझै धेरै आशिष्‌ प्राप्त गर्नको लागि मात्रै अन्धाधुन्ध खोजी गर्छन्; तिनीहरूले वर्तमान युगमा सयौँ गुणा, र आउने युगमा अनन्त जीवन प्राप्त गर्न चाहन्छन्। तिनीहरूका विचारहरू, तिनीहरूले आफैलाई कति धेरै समर्पित गर्छन् भन्ने विषय, तिनीहरूको भक्ति, साथै तिनीहरूको कष्ट-भोग सबैको एउटै उद्देश्य हुन्छ: परमेश्‍वरको अनुग्रह र आशिष्‌ प्राप्त गर्नु। तिनीहरूलाई अरू कुनै कुराको चिन्ता हुँदैन। यस प्रकारको व्यक्ति परमेश्‍वरले मानिसहरूलाई सुरक्षित राख्‍नुहुन्छ र उहाँले तिनीहरूमाथि आफ्‍नो अनुग्रह प्रदान गर्नुहुन्छ भन्‍ने कुरामा मात्रै निश्‍चित हुन्छ। के भन्‍न सकिन्छ भने, परमेश्‍वरले मानिसलाई किन मुक्ति दिन चाहनुहुन्छ वा परमेश्‍वरले आफ्‍ना वचनहरू र कामद्वारा प्राप्त गर्न चाहनुहुने परिणामको बारेमा तिनीहरूलाई न कुनै चासो हुन्छ न तिनीहरू यसबारेमा स्पष्ट नै हुन्छन्। तिनीहरूले परमेश्‍वरको सार र धर्मी स्वभावको बारेमा जान्‍ने कुनै प्रयास कहिल्यै गरेका हुँदैनन्, न त तिनीहरूले त्यसो गर्ने चासो नै बटुल्न सक्छन्। तिनीहरूमा यी कुराहरूलाई ध्यान दिने इच्‍छा हुँदैन, न त तिनीहरूले यी कुरा जान्‍ने चाहना नै गर्छन्। तिनीहरूले परमेश्‍वरको कार्यको बारेमा, मानिसको लागि परमेश्‍वरले तोक्नुभएका मापदण्डहरू, परमेश्‍वरको इच्‍छा, वा परमेश्‍वरसँग सम्‍बन्धित अन्य कुनै पनि कुराको बारेमा सोध्‍ने इच्‍छा गर्दैनन्, र यी कुराहरूको विषयमा सोध्‍ने इच्‍छा पनि तिनीहरूसँग हुँदैन। किनभने तिनीहरूलाई यी विषयहरू तिनीहरूले परमेश्‍वरको अनुग्रह प्राप्त गर्नुसँग सम्‍बन्धित छैनन् भन्‍ने लाग्छ, र तिनीहरूकै रुचिहरूसँग सम्‍बन्धित भई अस्तित्वमा रहने, र मानिसलाई अनुग्रह दिनसक्‍ने परमेश्‍वरप्रति मात्रै तिनीहरूलाई चासो हुन्छ। अन्य कुनै पनि कुराको बारेमा तिनीहरूसँग कुनै चासो हुँदैन, त्यसकारण तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्दैनन्। तिनीहरूलाई निरन्तर पानी दिने वा खाना खुवाउने नहुँदा, तिनीहरूलाई परमेश्‍वरमाथि विश्‍वास गर्ने मार्गमा निरन्तर हिँड्न कठिन हुन्छ। यदि तिनीहरूले पहिलेको आनन्द र शान्ति वा परमेश्‍वरको अनुग्रहमा आनन्द लिन सक्दैनन् भने, तिनीहरूले छाडेर जाने निकै सम्‍भावना हुन्छ। यो दोस्रो प्रकारको व्यक्ति हो: दूधे बालकको चरणमा अस्तित्वमा रहने व्यक्ति।

तेस्रो प्रकार: दूध छुट्दै गरेको बालकको चरण, वा सानो बालकको चरण

मानिसहरूको यस समूहसँग निश्‍चित मात्रामा स्पष्ट चेतना हुन्छ। परमेश्‍वरको अनुग्रह प्राप्त गर्नु भनेको तिनीहरूमा साँचो अनुभव छ भन्‍ने हुँदैन भन्‍नेबारेमा तिनीहरूलाई थाहा हुन्छ, र तिनीहरू शान्ति र आनन्दको खोजी, अनुग्रहको खोजी गर्ने कार्यमा कहिल्यै नथाके पनि, वा तिनीहरूले परमेश्‍वरको अनुग्रह प्राप्त गरेको अनुभव व्यक्त गरेर वा तिनीहरूलाई परमेश्‍वरले दिनुभएको आशिष्‌हरूको लागि परमेश्‍वरको प्रशंसा गरेर साक्षी दिन सके पनि, यी कुराहरूको अर्थ तिनीहरूसँग जीवन छ भन्‍ने हुँदैन, न त तिनीहरूसँग सत्यताको वास्तविकता छ भन्‍ने नै तिनको अर्थ हुन्छ भन्‍नेबारेमा तिनीहरूलाई थाहा हुन्छ। तिनीहरूको चेतनाबाट सुरु गर्दै, तिनीहरूले तिनीहरूको साथमा परमेश्‍वरको अनुग्रह मात्र हुनेछ भन्‍ने ठूला आशाहरू गर्न छोड्छन्; बरु, परमेश्‍वरको अनुग्रहमा आनन्द गर्ने क्रममा, तिनीहरूले परमेश्‍वरको लागि केही गर्ने चाहना गर्छन्। तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्न, कठिनाइ र थकाइ सहन, परमेश्‍वरसँगको केही हदसम्‍मको सहकार्यमा सहभागी हुन इच्‍छुक हुन्छन्। तैपनि, परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तिनीहरूको खोजीमा अन्य आशयहरू अत्यन्तै धेरै रूपमा मिश्रित हुने भएकोले, तिनीहरूको व्यक्तिगत अभिप्राय र तिनीहरूमा भएको इच्‍छा अत्यन्तै कठोर हुने भएकोले, तिनीहरूको स्वभाव अत्यन्तै अहङ्कारी हुने भएकोले, तिनीहरूलाई परमेश्‍वरको इच्‍छा पूरा गर्न वा परमेश्‍वरप्रति निष्ठावान हुन निकै कठिन हुन्छ। त्यसकारण, तिनीहरूले बारम्‍बार तिनीहरूको व्यक्तिगत कामनाहरूलाई पूरा गर्न वा परमेश्‍वरलाई तिनीहरूले गर्ने प्रतिज्ञाहरू पूरा गर्न सक्दैनन्। तिनीहरू प्रायजसो विरोधाभासपूर्ण अवस्थामा हुन्छन्: तिनीहरूले सम्‍भव भएको सबैभन्दा धेरै हदसम्‍म परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छन्, तैपनि तिनीहरूले उहाँको विरोध गर्न आफ्‍नो सारा शक्तिको प्रयोग गर्छन्, अनि तिनीहरूले प्रायजसो परमेश्‍वरसँग शपथ खान्छन्, तर तुरुन्तै आफ्‍नो शपथ तोड्छन्। त्योभन्दा पनि बढी तिनीहरू अन्य विरोधाभासपूर्ण अवस्थाहरूमा हुन्छन्: तिनीहरूले इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्छन्, तैपनि तिनीहरूले उहाँलाई र उहाँबाट आउने सबै कुरालाई इन्कार गर्छन्; परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुनेछ, तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, तिनीहरूको निम्ति आपूर्ति जुटाइदिनुहुनेछ र तिनीहरूलाई सहयोग गर्नुहुनेछ भन्‍ने उत्कट आशा तिनीहरू गर्छन्, तैपनि तिनीहरूले आफ्‍नै मार्गको खोजी गर्छन्। तिनीहरूले परमेश्‍वरलाई बुझ्‍ने र चिन्‍ने चाहना गर्छन्, तैपनि तिनीहरू उहाँको नजिक हुन इच्‍छुक हुँदैनन्। बरु, तिनीहरू सधैँ परमेश्‍वरबाट टाढा हुन्छन्, र तिनीहरूका हृदय परमेश्‍वरको निम्ति बन्द हुन्छन्। तिनीहरूसँग परमेश्‍वरका वचनहरू र सत्यताको शाब्दिक अर्थको बारेमा सतही बुझाइ र अनुभव, अनि परमेश्‍वर र सत्यताको बारेमा सतही अवधारणा भए पनि, अर्धचेतन रूपमा परमेश्‍वर सत्यता हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने बारेमा तिनीहरूले पुष्टि वा निर्धारण गर्न सक्दैनन्, न त परमेश्‍वर साँच्‍चै धर्मी हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरालाई नै पुष्टि गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरको स्वभाव र सारको यथार्थतालाई पनि निर्धारित गर्न सक्दैनन्, उहाँको साँचो अस्तित्वलाई निर्धारण गर्न सक्ने कुरा त परै जाओस्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सधैँ शङ्‍का र गलत बुझाइहरू हुन्छन्, र यसमा कल्‍पना र धारणाहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द लिने क्रममा, तिनीहरूले आफ्‍नो विश्‍वासलाई सम्‍पन्‍न तुल्याउन, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको अनुभवलाई वृद्धि गर्न, परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको बुझाइलाई प्रमाणित गर्न, र तिनीहरू स्वयम्‌ले स्थापित गरेको जीवन मार्गमा हिँडेर अनि मानवजातिको लागि धर्मी कार्य पूरा गरेर तिनीहरूको आफ्‍नै अभिमानलाई सन्तुष्ट गर्न तिनीहरूले सम्‍भव ठानेका केही सत्यतालाई तिनीहरूले जबरजस्ती अनुभव वा अभ्यास गर्छन्। यसको साथै, तिनीहरूले आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्‍छा पूरा गर्नको लागि पनि यी कुराहरू गर्छन्, जुन मानवजातिको लागि अझै ठूला आशिष्‌हरू प्राप्त गर्ने आशामा तिनीहरूले लगाउने बाजीको हिस्सा हो, र तिनीहरूले परमेश्‍वरलाई प्राप्त नगरेसम्‍म विश्राम नगर्ने तिनीहरूको महत्त्वाकांक्षी आकाङ्क्षा र जीवनपर्यन्त इच्‍छालाई पूरा गर्नको लागि पनि यी कुराहरू गर्छन्। यी मानिसहरूले विरलै परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्, किनभने आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्‍छा र तिनीहरूको अभिप्राय नै तिनीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। तिनीहरूसँग यसलाई त्याग्‍ने कुनै इच्‍छा हुँदैन, र वास्तवमा तिनीहरूले त्यसो गर्न सक्दै सक्दैनन्। आशिष्‌हरू प्राप्त गर्ने इच्‍छाविना, तिनीहरूले परमेश्‍वरलाई प्राप्त नगरुञ्‍जेलसम्‍म विश्राम नगर्ने धेरै पहिलेदेखि तिनीहरूले बहुमूल्य ठानेको महत्वाकांक्षाविना, तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने उत्प्रेरणा गुमाउनेछन् भन्‍ने डर तिनीहरूलाई हुन्छ। त्यसकारण, तिनीहरूले वास्तविकतालाई सामना गर्न चाहँदैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको कार्यलाई सामना गर्न चाहँदैनन्। तिनीहरूले परमेश्‍वरको स्वभाव वा सारलाई सामना गर्न चाहँदैनन्, परमेश्‍वरलाई चिन्‍ने विषयको बारेमा बताउनु त परै जाओस्। किनभने परमेश्‍वर, उहाँको सार, र उहाँको धर्मी स्वभावले तिनीहरूको कल्‍पनालाई प्रतिस्थापन गरेपछि, तिनीहरूका सपनाहरू धुवाँ बनेर उड्नेछ, र तिनीहरूको तथाकथित शुद्ध विश्‍वास र वर्षौंको कठिन परिश्रमद्वारा तिनीहरूले बटुलेका “पुण्यहरू” हराएर जानेछन् र व्यर्थ हुनेछन्। त्यसै गरी, तिनीहरूले आफ्‍नो पसिना र रगतले वर्षौंको अवधिमा जितेको “अधिकार-क्षेत्र” ढल्‍नेछ। यो सबैले तिनीहरूको वर्षौंको कठिन परिश्रम र प्रयास बेकाम भएको, र तिनीहरूले फेरि शून्यताबाट सुरु गर्नुपर्ने तथ्यलाई इङ्गित गर्नेछ। यो तिनीहरूले आफ्‍नो हृदयमा सहनुपर्ने सबैभन्दा कठिन पीडा हो, र यो तिनीहरूले हेर्न नचाहने परिणाम हो, यही कारणले गर्दा तिनीहरू पछि फर्कन इन्कार गर्दै यस प्रकारको गतिरोधको स्थितिमा रहेका हुन्छन्। यो तेस्रो प्रकारको व्यक्ति हो: दूध छुट्ने बालकको चरणमा अस्तित्वमा रहने व्यक्ति।

माथि व्याख्या गरिएका तीन प्रकारका मानिसहरूमा—अर्थात्, यी तीन चरणमा अस्तित्वमा रहने मानिसहरूमा—परमेश्‍वरको पहिचान र हैसियत, वा उहाँको धर्मी स्वभावप्रति कुनै साँचो विश्‍वास हुँदैन, न त तिनीहरूसँग यी कुराको बारेमा कुनै स्पष्ट, सटीक पहिचान वा निश्‍चयता नै हुन्छ। त्यसकारण, यी तीन प्रकारका मानिसहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न निकै कठिन हुन्छ, र तिनीहरूले परमेश्‍वरको कृपा, अन्तर्दृष्टि वा ज्योति प्राप्त गर्न पनि कठिन हुन्छ, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने तरिका र परमेश्‍वरप्रतिको तिनीहरूको गलत मनोवृत्तिले गर्दा उहाँले तिनीहरूको हृदयमा काम गर्न असम्‍भव हुन्छ। परमेश्‍वरप्रतिको तिनीहरूका शङ्‍का, भ्रम र कल्‍पनाहरू परमेश्‍वरसम्‍बन्धी तिनीहरूका विश्‍वास र ज्ञानभन्दा बढी हुन्छन्। यी तीन प्रकारका मानिसहरू अत्यन्तै जोखिममा हुन्छन्, र यी अत्यन्तै खतरनाक तीन चरणहरू हुन्। जब व्यक्तिले परमेश्‍वर, परमेश्‍वरको सार, परमेश्‍वरको पहिचान, परमेश्‍वर सत्यता हुनुहुन्छ कि हुनुहुन्‍न र उहाँको अस्तित्वको वास्तविकताप्रति शङ्काको मनोवृत्ति राख्छ, र जब व्यक्ति यी कुराहरूप्रति निश्‍चित हुन सक्दैन, तब व्यक्तिले कसरी परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्न सक्छ? परमेश्‍वर सत्यता, बाटो, र जीवन हुनुहुन्छ भन्‍ने तथ्यलाई व्यक्तिले कसरी स्वीकार गर्न सक्छ? व्यक्तिले कसरी परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्न सक्छ? व्यक्तिले कसरी परमेश्‍वरको मुक्ति स्वीकार गर्न सक्छ? यस प्रकारको व्यक्तिले कसरी परमेश्‍वरको साँचो अगुवाइ र बन्दोबस्‍तलाई प्राप्त गर्न सक्छ? यी तीन चरणमा हुनेहरूले परमेश्‍वरलाई कुनै पनि समयमा विरोध गर्न, परमेश्‍वरलाई दोषी ठहर्‍याउन, परमेश्‍वरको निन्दा गर्न वा परमेश्‍वरलाई धोका दिन सक्छन्। तिनीहरूले कुनै पनि समयमा साँचो मार्गलाई इन्कार गर्न र परमेश्‍वरलाई त्याग्‍न सक्छन्। के भन्‍न सकिन्छ भने, यी तीन चरणमा हुने मानिसहरू नाजुक अवधिमा जिउँछन्, किनभने तिनीहरू परमेश्‍वरलाई विश्‍वास गर्ने सही मार्गमा प्रवेश गरेका हुँदैनन्।

चौथो प्रकार: परिपक्‍व हुँदै गरेको बच्‍चा, वा बाल्यकालको चरण

व्यक्तिले दूध छोडेपछि—अर्थात्, तिनीहरूले पर्याप्त अनुग्रहको आनन्द लिइसकेपछि—तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो सो बारेमा खोजी गर्न थाल्छन्, फरक-फरक प्रश्‍नहरू बुझ्‍ने चाहना गर्न थाल्छन्, जस्तै मानिस किन जिउनुपर्छ, मानिस कसरी जिउनुपर्छ, र परमेश्‍वरले मानिसमा किन आफ्‍नो काम गर्नुहुन्छ। जब तिनीहरूभित्र यी अस्पष्ट विचारहरू र अन्योल विचार शैलीहरू उत्पन्‍न हुन्छन् र तिनीहरूभित्र अस्तित्वमा रहन्छन्, तब तिनीहरू निरन्तर रूपमा सिञ्चित हुन्छन्, र तिनीहरूले आफ्‍नो कर्तव्य पनि पूरा गर्न सक्छन्। यस अवधिमा, तिनीहरूसँग परमेश्‍वरको अस्तित्वको सत्यताको बारेमा अब फेरि कुनै शङ्का हुँदैन, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो तिनीहरूसँग सटीक बुझाइ हुन्छ। यस जगमा तिनीहरूले परमेश्‍वरको बारेमा क्रमिक रूपमा ज्ञान प्राप्त गर्छन्, र तिनीहरूले परमेश्‍वरको स्वभाव र सारसम्बन्धी तिनीहरूका अस्पष्ट विचार र अन्योल विचार-शैलीका उत्तरहरू क्रमिक रूपमा प्राप्त गर्छन्। तिनीहरूको स्वभाव परिवर्तन साथै परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञानको हकमा भन्दा, यस चरणका मानिसहरूले सही मार्गमा हिँड्न सुरु गर्छन्, र तिनीहरू अवस्था-परिवर्तनको अवधिमा प्रवेश गर्छन्। यस चरणभित्र रहँदा नै मानिसहरूले जीवन प्राप्त गर्न थाल्छन्। आफ्नो स्वामित्वमा जीवन छ भन्‍ने स्पष्ट सङ्केतहरू नै परमेश्‍वरलाई जान्‍ने सम्‍बन्धी मानिसहरूको हृदयमा रहेका विभिन्‍न प्रश्‍नहरू क्रमिक रूपमा समाधान हुनु हो—जस्तै, परमेश्‍वरसम्‍बन्धी गलत बुझाइ, कल्‍पना, धारणा, र अस्पष्ट परिभाषाहरू—अनि तिनीहरूले परमेश्‍वरको अस्तित्वको वास्तविकतालाई साँचो रूपमा विश्‍वास र पहिचान मात्रै गर्दैनन्, तिनीहरूसँग त परमेश्‍वरको बारेमा सटीक परिभाषा र तिनीहरूको हृदयमा सही स्थान पनि हुन्छ, अनि साँचो रूपमा परमेश्‍वरलाई पछ्याउने कार्यद्वारा तिनीहरूको अस्पष्ट विश्‍वास प्रतिस्थापित हुन्छ। यस चरणको अवधिमा, मानिसहरूले बिस्तारै परमेश्‍वरसम्‍बन्धी तिनीहरूका भ्रमहरूलाई र तिनीहरूका गलत खोजी र विश्‍वासका तौरतरिकाहरूलाई क्रमिक रूपमा जान्‍न थाल्छन्। तिनीहरूले सत्यताको चाहना गर्न, परमेश्‍वरको न्याय, सजाय र अनुशासनको अनुभव गर्ने चाहना गर्न, र तिनीहरूको स्वभाव परिवर्तन गर्ने चाहना गर्न थाल्छन्। तिनीहरूले यस चरणमा परमेश्‍वरसम्बन्धी सबै किसिमका धारणा र कल्‍पनाहरूलाई क्रमिक रूपमा छोड्न थाल्छन्, यसको साथै तिनीहरूले परमेश्‍वरसम्‍बन्धी आफ्ना गलत ज्ञानलाई परिवर्तन र सुधार गर्छन् र परमेश्‍वरको बारेमा केही सही आधारभूत ज्ञान प्राप्त गर्छन्। यस चरणका मानिसहरूमा हुने ज्ञानको केही भाग त्यति विशिष्ट वा सही नहुने भए पनि, कम्तीमा पनि तिनीहरूले परमेश्‍वरसम्‍बन्धी तिनीहरूका धारणा, गलत ज्ञान, र गलत बुझाइहरूलाई क्रमिक रूपमा त्याग्‍न थाल्छन्; तिनीहरूले परमेश्‍वरसम्‍बन्धी तिनीहरूका आफ्‍नै धारणा र कल्‍पनाहरूलाई अब फेरि कायम राख्दैनन्। तिनीहरूले कसरी त्याग्‍ने, अर्थात्, तिनीहरूका आफ्‍नै धारणाभित्र पाइने कुराहरू, तिनीहरूका ज्ञानबाट आएका कुराहरू, र शैतानबाट आएका कुराहरूलाई कसरी त्याग्‍ने सो सिक्‍न थाल्छन्; तिनीहरू सही र सकारात्मक कुराहरू, परमेश्‍वरका वचनहरूबाट आउने र सत्यता अनुरूपका कुराहरूमा समेत समर्पित हुने इच्‍छा गर्न थाल्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूको अनुभव गर्न, उहाँका वचनहरूलाई व्यक्तिगत रूपमा नै जान्‍न र पालना गर्न, उहाँका वचनहरूलाई आफ्ना कार्यहरूको सिद्धान्त र आफ्नो स्वभाव परिवर्तन गर्ने कार्यको आधारको रूपमा स्वीकार गर्न थाल्छन्। यस अवधिमा, मानिसहरूले अचेत रूपमा परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्छन्, र अचेत रूपमा नै परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्वीकार गर्छन्। तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, र वचनहरूलाई स्वीकार गर्दा, तिनीहरू झन्-झन् बढी सचेत हुँदै जान्छन् र तिनीहरूले आफ्‍नो हृदयमा विश्‍वास गर्ने परमेश्‍वर साँच्‍चै अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा अनुभूति गर्न सक्छन्। परमेश्‍वरका वचनहरूमा, आफ्ना अनुभवहरू र जीवनमा, झन्-झन् बढी रूपमा तिनीहरूले मानिसको नियतिमाथि परमेश्‍वरकै नियन्त्रण भएको र उहाँले सधैँ मानिसलाई अगुवाइ गर्नुभएको र मानिसलाई भरणपोषण गर्नुभएको महसुस गर्छन्। परमेश्‍वरसँगको तिनीहरूको सङ्गतद्वारा, तिनीहरूले क्रमिक रूपमा परमेश्‍वरको अस्तित्वलाई पुष्टि गर्छन्। त्यसकारण, तिनीहरूले महसुस गर्नुभन्दा पहिले नै, तिनीहरूले अर्धचेतन रूपमा परमेश्‍वरको कार्यलाई स्वीकार गरिसकेका हुन्छन् र त्यसमा दृढ विश्‍वास गर्न थालिसकेका हुन्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूलाई स्वीकार गरिसकेका हुन्छन्। मानिसहरूले परमेश्‍वरका वचनहरू र कार्यलाई स्वीकार गरिसकेपछि, तिनीहरूले निरन्तर रूपमा आफैलाई इन्कार गर्छन्, आफ्‍ना धारणाहरूलाई इन्कार गर्छन्, आफ्‍नो ज्ञानलाई इन्कार गर्छन्, आफ्‍नो कल्‍पनालाई इन्कार गर्छन्, र त्यति नै बेला तिनीहरूले निरन्तर रूपमा सत्यता के हो र परमेश्‍वरको इच्‍छा के हो भन्‍नेबारेमा खोजी गर्छन्। विकासको यो अवधिमा परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान निकै सतही हुन्छ—तिनीहरूले यो ज्ञानलाई शब्‍दहरूमा स्पष्ट रूपमा व्यक्त गर्न समेत सक्दैनन्, न त तिनीहरूले यसलाई निश्‍चित विवरणहरूमा नै व्यक्त गर्न सक्छन्—र तिनीहरूसँग दृष्टिकोणमा आधारित बुझाइ मात्रै हुन्छ; तैपनि, अघिल्‍ला तीन चरणसँग तुलना गर्दा, यस अवधिका मानिसहरूका अपरिपक्‍व जीवनले पहिले नै परमेश्‍वरका वचनहरूको सिञ्चन र आपूर्ति प्राप्त गरिसकेका हुन्छन्, र पालुवा निकाल्‍न थालिसकेका हुन्छन्। तिनीहरूको जीवन जमिनमा गाडिएको बीउजस्तै हो; ओस र पोषण प्राप्त गरेपछि, यो माटोबाट बाहिर निस्किन्छ, र यसको मुनाले नयाँ जीवनको नयाँ जन्‍मलाई प्रतिनिधित्व गर्छ। यो जन्‍मले व्यक्तिलाई जीवनका चिन्‍हहरूको झलक देखाउँछ। जब मानिसहरूमा जीवन हुन्छ, तिनीहरू वृद्धि हुन्छन्। त्यसकारण, यी जगहरूमा—परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा क्रमिक रूपमा अघि बढ्दै, आफ्‍ना धारणाहरूलाई त्याग्दै, परमेश्‍वरको अगुवाइ प्राप्त गर्दै—मानिसहरूको जीवन अलि-अलि गर्दै अपरिहार्य रूपमा वृद्धि हुँदै जान्छन्। यो वृद्धिलाई कुन आधारमा मापन गरिन्छ त? यसलाई परमेश्‍वरका वचनहरूसम्‍बन्धी व्यक्तिको अनुभव र परमेश्‍वरको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको साँचो बुझाइअनुसार मापन गरिन्छ। वृद्धिको यो अवधिमा तिनीहरूले आफ्‍नै शब्‍दहरूको प्रयोग गरेर परमेश्‍वर र उहाँको सारसम्‍बन्धी आफ्नो ज्ञानको बारेमा सटीक रूपमा व्याख्या गर्न कठिन हुने भए पनि, यस समूहका मानिसहरू अबउप्रान्त परमेश्‍वरको अनुग्रहको आनन्दमार्फत सुख-चैनको खोजी गर्न, वा उहाँको अनुग्रह प्राप्त गर्ने तिनीहरूको आफ्‍नै उद्देश्यको पछि लाग्‍नको लागि परमेश्‍वरमा विश्‍वास गर्न व्यक्तिपरक रूपमा इच्‍छुक हुँदैनन्। बरु, तिनीहरू परमेश्‍वरको वचनद्वारा जिइने जीवनको पछि लाग्‍न र परमेश्‍वरको मुक्तिको लक्षित व्यक्तिहरू बन्‍न इच्‍छुक हुन्छन्। यसको साथै, तिनीहरू परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नमा आत्मविश्‍वासी र तत्पर बन्छन्। वृद्धिको चरणमा रहेको व्यक्तिको चिन्‍ह यही हो।

यस चरणका मानिसहरूमा परमेश्‍वरको धर्मी स्वभावको बारेमा केही ज्ञान हुने भए पनि, यो ज्ञान अत्यन्तै धमिलो र अस्पष्ट हुन्छ। तिनीहरूले यी कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न नसके पनि, तिनीहरूले आफूले पहिले नै आन्तरिक रूपमा कुनै कुरा प्राप्त गरिसकेको अनुभूति गर्छन्, किनभने तिनीहरूले परमेश्‍वरको सजाय र न्यायमार्फत परमेश्‍वरको धर्मी स्वभावको ज्ञान र बुझाइ केही हदसम्‍म प्राप्त गरिसकेका हुन्छन्। तैपनि, यो सतही हुन्छ, र यो अझै पनि प्रारम्भिक चरणमा नै हुन्छ। मानिसहरूको यो समूहसँग परमेश्‍वरको अनुग्रहलाई हेर्ने निश्‍चित दृष्टिकोण हुन्छ, जुन तिनीहरूले खोजी गर्ने उद्देश्यहरू र तिनलाई पछ्याउने तिनीहरूको तरिकामा आउने परिवर्तनहरूमा व्यक्त हुन्छन्। तिनीहरूले पहिले नै परमेश्‍वरका वचनहरू र कार्यमा, मानिसका लागि उहाँले तय गर्नुभएका सबै प्रकारका मापदण्डहरूमा र मानिसलाई दिइएका उहाँका प्रकाशहरूमा के देखिसकेका छन् भने यदि तिनीहरूले अझै पनि सत्यतालाई पछ्याउँदैनन् भने, यदि तिनीहरू अझै पनि वास्तविकतामा प्रवेश गर्ने प्रयास गर्दैनन् भने, यदि तिनीहरूले उहाँका वचनहरू अनुभव गर्ने क्रममा परमेश्‍वरलाई सन्तुष्ट पार्ने र उहाँलाई चिन्‍ने प्रयास गर्दैनन् भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थलाई गुमाउनेछन्। तिनीहरूले देख्छन् कि तिनीहरूले परमेश्‍वरको अनुग्रह जति नै प्राप्त गरे पनि, तिनीहरूले आफ्‍नो स्वभाव परिवर्तन गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न वा परमेश्‍वरलाई चिन्‍न सक्दैनन्, र यदि मानिसहरू निरन्तर परमेश्‍वरको अनुग्रहमा जिउँछन् भने, तिनीहरूले कहिल्यै पनि वृद्धि हासिल गर्नेछैनन्, जीवन प्राप्त गर्नेछैनन् वा मुक्ति प्राप्त गर्न सक्‍नेछैनन्। सारांशमा, यदि व्यक्तिले साँचो रूपमा परमेश्‍वरका वचनहरूलाई अनुभव गर्न सक्दैन र उहाँका वचनहरूद्वारा उहाँलाई चिन्‍न सक्दैन भने, तिनीहरू अनन्तसम्‍मै बालकको चरणमा रहन्छन् र तिनीहरूले आफ्नो जीवनको वृद्धिमा कहिल्यै पनि एक कदम पाइला चाल्दैनन्। यदि तँ सदासर्वदा नै बालकको चरणमा अस्तित्वमा रहन्छस् भने, तँ कहिल्यै पनि परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्दैनस् भने, यदि तँमा तेरो जीवनको रूपमा परमेश्‍वरको वचन कहिल्यै हुँदैन भने, यदि तँमा परमेश्‍वरप्रतिको साँचो विश्‍वास र ज्ञान कहिल्यै हुँदैन भने, के परमेश्‍वरले तँलाई पूर्ण बनाउनुहुने कुनै सम्‍भावना हुन्छ? त्यसकारण, परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्ने जोकोही, परमेश्‍वरको वचनलाई आफ्‍नो जीवनको रूपमा स्वीकार गर्ने जोकोही, परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्न थाल्‍ने जोकोही, आफ्‍नो भ्रष्ट स्वभावलाई परिवर्तन गर्न थाल्‍ने जोकोही, र जसको हृदयले सत्यताको चाहना गर्छ, जोसँग परमेश्‍वरलाई चिन्‍ने र परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने चाहना हुन्छ त्यस्तो जोकोही, यिनीहरू साँचो रूपमा जीवन प्राप्त गरेका मानिसहरू हुन्। यो साँच्‍चै चौथो प्रकारको व्यक्ति हो, परिपक्‍व हुँदै गरेको, बाल्यकालको चरणमा रहेको व्यक्ति हो।

पाँचौँ प्रकार: जीवनको परिपक्‍वताको चरण, वा वयस्क अवस्था

बाल्यकालको चरण, बारम्‍बार दोहोरिने उतावचढाव वृद्धिको चरणलाई अनुभव गरिसकेपछि र यसमा बामे सरिसकेपछि, मानिसहरूको जीवन स्थिर बन्छ, तिनीहरूको अगाडि बढ्ने गति अबउप्रान्त रोकिँदैन, र तिनीहरूलाई कसैले पनि बाधा दिन सक्दैन। अगाडिको मार्ग अझै कठिन र ढुङ्गेनी भए पनि, तिनीहरू अबउप्रान्त कमजोर वा भयभीत हुँदैनन्, र तिनीहरूले अबउप्रान्त अगाडि लडखडाउने वा आफ्‍नो सन्तुलन गुमाउने गर्दैनन्। तिनीहरूका जग परमेश्‍वरको वचनको वास्तविक अनुभवमा गाडिएको हुन्छ, र तिनीहरूको हृदय परमेश्‍वरको गरिमा र महान्‌ताले तानेको हुन्छ। तिनीहरूले परमेश्‍वरका पाइलाहरूलाई पछ्याउने, परमेश्‍वरको सारलाई जान्‍ने, परमेश्‍वरको बारेमा सबै कुरा जान्‍ने चाहना गर्छन्।

यस चरणका मानिसहरूलाई तिनीहरूले कसमा विश्‍वास गर्छन् सो स्पष्ट रूपमा पहिले नै थाहा हुन्छ, र तिनीहरूले परमेश्‍वरमा किन विश्‍वास गर्नुपर्छ र तिनीहरूको आफ्‍नै जीवनको अर्थ के हो तिनीहरूलाई स्पष्ट रूपमा थाहा हुन्छ, अनि परमेश्‍वरले व्यक्त गर्नुहुने सबै कुरा सत्यता हुन् भन्‍ने तिनीहरूलाई स्पष्टै थाहा हुन्छ। धेरै वर्षको अनुभवमा, तिनीहरूले के महसुस गरेका हुन्छन् भने, परमेश्‍वरको न्याय र सजायविना, व्यक्तिले परमेश्‍वरलाई सन्तुष्ट पार्न वा चिन्‍न कहिल्यै सक्‍नेछैन र ऊ परमेश्‍वरको अघि साँचो रूपमा कहिल्यै आउन सक्नेछैन। यी मानिसहरूको हृदयमा, परीक्षा गरिँदा परमेश्‍वरको धर्मी स्वभावलाई देख्‍न सकौं भनी परमेश्‍वरद्वारा परीक्षित हुने, र अझै शुद्ध प्रेम प्राप्त गर्ने, साथै परमेश्‍वरलाई अझै साँचो रूपमा बुझ्‍न र चिन्‍न सक्‍ने ठूलो इच्‍छा हुन्छ। यस चरणका मानिसहरूले बालकको चरणलाई र परमेश्‍वरको अनुग्रहको आनन्द लिने र आफ्नो पेटभरि रोटी खाने चरणलाई पहिले नै पूर्ण रूपमा बिदा गरिसकेका हुन्छन्। तिनीहरूले आफूलाई परमेश्‍वरको सहनशीलता र कृपा मिलोस् भन्ने हेतुले अबउप्रान्त कुनै लालची आशा गर्दैनन्; बरु, आफ्‍नो भ्रष्ट स्वभावबाट आफूलाई मुक्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि, तिनीहरूसँग परमेश्‍वरको अटुट सजाय र न्याय प्राप्त गर्ने र त्यस्तो आशा गर्ने आत्मविश्‍वास हुन्छ। तिनीहरूको हृदयमा परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान र तिनीहरूको खोजी, वा तिनीहरूको खोजीका अन्तिम उद्देश्यहरू स्पष्ट हुन्छन्। त्यसकारण, वयस्क चरणका मानिसहरूले अस्पष्ट विश्‍वासको चरण, मुक्तिको लागि तिनीहरू अनुग्रहमा भरोसा गर्ने चरण, परीक्षाहरूमा खडा हुन नसक्‍ने अपरिपक्‍व जीवनको चरण, अस्पष्टताको चरण, लडखडाउने चरण, बारम्बार हिँड्ने मार्ग नहुने चरण, अचानक तातो र चीसो हुने अस्थिर अवधि, र व्यक्तिले परमेश्‍वरलाई आँखा बन्द गरेर पछ्याउने चरणलाई पूर्ण रूपमा बिदा गरिसकेका हुन्छन्। यस प्रकारका मानिसहरूले बारम्‍बार परमेश्‍वरको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्, र परमेश्‍वरसँग बारम्‍बार साँचो सहकार्य र संचारमा संलग्‍न हुन्छन्। के भन्‍न सकिन्छ भने, यस चरणमा जिउने मानिसहरूले परमेश्‍वरको इच्‍छाको केही भाग पहिले नै बुझिसकेका हुन्छन्, तिनीहरूले आफूले गर्ने सबै कुरामा सत्यताका सिद्धान्तहरूलाई पत्ता लगाउन सक्छन्, र तिनीहरूलाई परमेश्‍वरको इच्‍छालाई कसरी सन्तुष्ट पार्ने हो सो कुरा थाहा हुन्छ। यसको साथै, तिनीहरूले परमेश्‍वरलाई चिन्‍ने मार्गलाई पनि भेट्टाएका हुन्छन् र परमेश्‍वरसम्‍बन्धी आफ्नो ज्ञानको गवाही दिन थालेका हुन्छन्। क्रमिक वृद्धिको क्रममा, तिनीहरूले परमेश्‍वरको इच्‍छाको क्रमिक बुझाइ र ज्ञान प्राप्त गर्छन्: मानवजातिलाई सृष्टि गर्ने कार्यमा परमेश्‍वरको इच्‍छा, र मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा परमेश्‍वरको इच्‍छाको बारेमा बुझाइ र ज्ञान प्राप्त गर्छन्। तिनीहरूले सारको हिसाबमा परमेश्‍वरको धर्मी स्वभावको बुझाइ र ज्ञान पनि क्रमिक रूपमा प्राप्त गर्छन्। यस ज्ञानलाई कुनै पनि मानवीय धारणा वा कल्‍पनाले प्रतिस्थापन गर्न सक्दैन। पाँचौँ चरणमा व्यक्तिको जीवन पूर्ण रूपमा परिपक्‍व हुन्छ वा यो व्यक्ति धर्मी वा पूर्ण हुन्छ भनेर भन्‍न नसकिने भए तापनि, यस प्रकारको व्यक्तिले जीवनको परिपक्‍वताको चरणतर्फ पहिले नै कदम चालिसकेको हुन्छ र ऊ पहिले नै परमेश्‍वरको सामुन्ने आउन सक्‍ने, परमेश्‍वरको वचन र परमेश्‍वरसँग आमने-सामने खडा हुन सक्‍ने भइसकेको हुन्छ। यस प्रकारको व्यक्तिले परमेश्‍वरको धेरै वचन अनुभव गरेको, अनगन्ती परीक्षाहरूको अनुभव गरेको र परमेश्‍वरको अनगन्ती अनुशासन, न्याय र सजाय अनुभव गरेको हुनाले, परमेश्‍वरप्रतिको तिनीहरूको समर्पणता सापेक्षित होइन निरपेक्षित हुन्छ। परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान अर्धचेतनबाट स्पष्ट र सटीक ज्ञानमा, सतहीबाट गहनमा, अस्पष्ट र धमिलोबाट स्पष्ट र ठोसमा रूपान्तरित भएको हुन्छ। तिनीहरू कठिन लडखडाइ र निष्क्रिय खोजीबाट सहज ज्ञान र सक्रिय गवाहीको अवस्थामा पुगेका हुन्छन्। के भन्‍न सकिन्छ भने, यस चरणका मानिसहरूमा परमेश्‍वरको वचनको सत्यताको वास्तविकता हुन्छ, तिनीहरूले पत्रुसले हिँडेको मार्गजस्तो सिद्धताको मार्गमा पाइला टेकेका हुन्छन्। यो पाँचौँ प्रकारको व्यक्ति हो, जो परिपक्‍वताको चरण अर्थात वयस्क चरणमा जिउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९९

परमेश्‍वरको व्यवस्थापनको योजना छ हजार वर्षसम्म फैलिन्छ र उहाँको कामका भिन्नताहरूको आधारमा तीन युगहरूमा विभाजित भएको छ: पहिलो युग पुरानो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३०

परमेश्‍वरले इन्द्रेनीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३६

अब म तिमीहरूका लागि मेरो प्रशासनिक आदेशहरू जारी गर्दछु (जुन ती घोषणा गरिएकै दिनदेखि प्रभावकारी हुन्छन्, जसले विभिन्न व्यक्तिहरूका निम्ति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २६

परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने अभिप्राय राख्‍नुहुन्छ र नोआलाई जहाज बनाउने निर्देशन दिनुहुन्छ उत्पत्ति ६:९-१४ नोआका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्