परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११

परमेश्‍वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू

तैँले कुनै पनि दृष्टिकोण वा निष्कर्षहरू तय गर्नुअघि, तँप्रति परमेश्‍वरको कस्तो आचरण छ र उहाँले के सोचिरहनुभएको छ भन्ने कुरा तैँले पहिले जान्नुपर्छ, अनि त्यसपछि तैँले तेरो आफ्नो सोच सही छ कि छैन भनेर निर्णय गर्न सक्छस्। परमेश्‍वरले व्यक्तिको परिणाम निर्धारण गर्नको लागि समयलाई मापनको एक इकाइको रूपमा कहिल्यै पनि प्रयोग गर्नुभएको छैन, न त उहाँले कहिल्यै कुनै व्यक्तिले कति धेरै कष्ट सहेको छ भन्ने कुरामा नै त्यस्तो निर्धारणलाई आधारित गर्नुभएको छ। त्यसो भए, परमेश्‍वरले कुनै व्यक्तिको परिणाम निर्धारण गर्नको लागि केलाई मापदण्डको रूपमा प्रयोग गर्नुहुन्छ त? समयको आधारमा परिणाम निर्धारण गर्दा नै यो मानिसहरूको धेरैजसो धारणाहरूसँग मेल खाने हुनेथियो। यस अलावा, तिमीहरूले यस्ता व्यक्तिहरू प्रायः देखिरहन्छौ जसले कुनै एक समय एकदमै धेरै सुम्पेको थियो, धेरै अर्पण गरेको थियो, ठूलो मूल्य चुकाएको थियो र एकदमै ठूलो कष्ट सहेको थियो। तिमीहरूको हेर्ने शैलीअनुसार त यिनीहरू ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ। यी मानिसहरूले प्रदर्शन गर्ने र जिउने सबै कुराहरू व्यक्तिको परिणाम निर्धारण गर्नको लागि परमेश्‍वरले तय गर्नुभएका मापदण्डहरू सम्बन्धी मानिसहरूका धारणाहरूसँग दुरुस्त रूपमा मिल्छ। तिमीहरूले जेसुकै विश्‍वास गरे पनि, म यी उदाहरणहरूलाई एक-एक गरी सूचीबद्ध गर्दिन। संक्षिप्त रूपमा भन्दा, परमेश्‍वरको आफ्नै सोचभित्रको मापदण्डमा नभएको कुनै पनि कुरा मानव कल्पनाबाट आएको हुन्छ र त्यस्ता सबै कुराहरू मानव धारणहरू हुन्। यदि तैँले तेरा आफ्नै धारणा र मिथ्या कल्पनाहरूमै अन्धो भई जिद्दी गर्छस् भने, परिणाम के होला त? यो कुरा स्पष्ट छ, यसको परिणाम भनेको परमेश्‍वरले तँलाई तिरस्कार गर्नु मात्र हुन सक्छ। यस्तो हुन्छ किनभने तैँले सधैँ परमेश्‍वरको अगाडि तेरा आफ्ना योग्यताहरूलाई शानसाथ देखाउँछस्, उहाँसँग प्रतिस्पर्धा गर्छस् र उहाँसँग तर्कवितर्क गर्छस् तर तैँले साँचो रूपले उहाँको सोचलाई बुझ्ने कोसिस गर्दैनस्, न त तैँले उहाँको इच्छालाई वा मानवजातिप्रति उहाँको आचरणलाई नै बुझ्ने कोसिस गर्छस्। यस शैलीमा अघि बढेर तैँले सबैभन्दा माथि आफैलाई सम्मान गरिरहेको हुन्छस्; यसले परमेश्‍वरलाई ठूलो बनाउँदैन। तैँले आफैमाथि विश्‍वास गर्छस्; तैँले परमेश्‍वरमाथि विश्‍वास गर्दैनस्। त्यस्ता व्यक्तिहरूलाई परमेश्‍वर चाहनुहुन्न, न त उहाँले तिनीहरूलाई मुक्ति नै प्रदान गर्नुहुन्छ। यदि तैँले यस प्रकारको दृष्टिकोणलाई छाड्न सक्छस् भने, र अझ भन्ने हो भने, यदि तैँले विगतमा आफूले धारण गरेका यी गलत दृष्टिकोणहरूलाई सच्याउँछस् भने, यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुरूप अघि बढ्न सक्छस् भने, यदि तैँले अब उप्रान्त परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गलाई अभ्यास गर्न सक्छस् भने, यदि तैँले परमेश्‍वरलाई सबै थोकमा सबैभन्दा ठूला एकमात्र परमेश्‍वरको रूपमा सम्मान गर्न सक्छस् र तैँले तँ आफैलाई र परमेश्‍वरलाई परिभाषित गर्नको लागि तेरा आफ्नै मिथ्या कल्पनाहरू, दृष्टिकोणहरू वा विश्‍वासहरूको प्रयोग गर्नबाट आफूलाई रोक्न सक्छस् भने र त्यसको सट्टामा यदि तैँले सबै सन्दर्भमा परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्छस् भने, तैँले मानवताप्रति उहाँको आचरणको बारेमा अनुभूति र बुझाइ प्राप्त गर्छस् भने र उहाँका मापदण्डहरू पूरा गरी उहाँलाई सन्तुष्ट पार्छस् भने, त्यो एकदमै राम्रो हुनेछ! यसले के सङ्केत गर्नेछ भने, तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्न लागेको छस्।

यदि परमेश्‍वरले मानिसहरूका विविध सोचहरू, विचारहरू र दृष्टिकोणहरूलाई तिनीहरूका परिणामहरू निर्धारण गर्ने मापदण्डहरूको रूपमा प्रयोग गर्नुहुन्न भने, उहाँले मानिसहरूका परिणामहरू निर्धारण गर्नको लागि कस्ता प्रकारका मापदण्डहरू प्रयोग गर्नुहुन्छ त? उहाँले तिनीहरूका परिणामहरू निर्धारण गर्नको लागि परीक्षाहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्नको लागि प्रयोग गर्नुहुने परीक्षाहरूको लागि दुईवटा मापदण्डहरू हुन्छन्: पहिलो हो, मानिसहरूले भोग्ने परीक्षाहरूको संख्या र दोस्रो हो, यी परीक्षाहरूले मानिसहरूमा ल्याउने नतिजाहरू। यी दुई सूचकहरूले नै कुनै व्यक्तिको परिणाम स्थापित गर्छन्। अब हामी यी दुई मापदण्डहरूको बारेमा विस्तृत छलफल गरौँ।

सुरुमा भन्दा, जब कुनै व्यक्तिले परमेश्‍वरले दिनुभएको परीक्षाको सामना गर्छ (नोट: तेरो आँखामा यो परीक्षा सामान्य कुरा, भन्न पनि योग्य नहुने कुरा हुन सक्छ), तब उहाँले तँलाई यो त तँमाथि उहाँका हातहरू राख्नुभएको हो र यो परिस्थिति तेरो लागि उहाँले नै बन्दोबस्त गर्नुभएको हो भनेर स्पष्ट रूपमै सचेत गराउनुहुन्छ। तँ कदमा अपरिपक्व रहेकै अवस्थामा, परमेश्‍वरले तँलाई जाँच्नको लागि परीक्षाहरूको बन्दोबस्त गर्नुहुन्छ र यी परीक्षाहरू तेरो कद अनुरूप, तैँले जे बुझ्न सक्छस् सोही अनुरूप हुनेछन् र तैँले जे सहन गर्न सक्छस् सोही अनुरूप हुनेछन्। तेरो कुन भागलाई जाँच गरिनेछ त? परमेश्‍वरप्रतिको तेरो आचरणको। के यो आचरण धेरै महत्त्वपूर्ण छ त? अवश्य पनि यो महत्त्वपूर्ण छ। यो विशेष महत्त्वको छ! मानिसहरूमा हुने यो आचरण नै परमेश्‍वरले चाहनुहुने नतिजा हो, त्यसैले उहाँको लागि त, यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। नत्रभने त परमेश्‍वरले यस्ता काममा संलग्न भई मानिसहरूमा आफ्ना प्रयत्नहरू खर्च गर्नुहुन्नथ्यो। यी परीक्षाहरूमार्फत परमेश्‍वरले उहाँप्रतिको तेरो आचरण हेर्न चाहनुहुन्छ; उहाँ तँ सही मार्गमा छस् कि छैनस् भनी हेर्न चाहनुहुन्छ। तैँले परमेश्‍वरको डर मान्छस् कि मान्दैनस् र तँ दुष्टताबाट अलग बस्छस् कि बस्दैनस् भनेर पनि उहाँले हेर्न चाहनुहुन्छ। त्यसकारण, कुनै खास समयमा तैँले सत्यताको धेरै वा थोरै कुरा बुझेको भए पनि नभए पनि, तैँले परमेश्‍वरको परीक्षाहरूको सामना गर्नुपर्नेछ, अनि तैँले बुझ्ने सत्यताको मात्राको वृद्धिसँगै उहाँले तेरो लागि सान्दर्भिक परीक्षाहरू बन्दोबस्त गर्न जारी राख्नुहुनेछ। जब तैँले फेरि पनि परीक्षाको सामना गर्छस्, परमेश्‍वरले तेरो दृष्टिकोण, तेरा विचारहरू, उहाँप्रतिको तेरो आचरणमा हस्तक्षेप गरिएको अवधिमा कुनै प्रगति भएको छ कि छैन सो हेर्न चाहनुहुनेछ। केही मानिसहरूले यस्तो विचार गर्छन्, “परमेश्‍वरले किन मानिसहरूको आचरण हेर्न चाहनुहुन्छ त? के उहाँले तिनीहरूले के-कसरी सत्यताको अभ्यास गर्छन् भनेर यसअघि नै देखिसक्नुभएको हुँदैन र? किन अझै पनि उहाँले तिनीहरूको आचरण हेर्न चाहनुहुन्छ?” यो त बकवास कुरा हो! परमेश्‍वरले यस शैलीमा काम गर्नुहुने हुनाले त्यसभित्र उहाँको इच्छा पक्कै हुनुपर्छ। परमेश्‍वरले निरन्तर रूपमा नजिकबाट मानिसहरूलाई अवलोकन गर्नुहुन्छ, तिनीहरूको शब्द र कार्य, तिनीहरूको हरेक कर्म र चाललाई हेर्नुहुन्छ; उहाँले तिनीहरूको हरेक सोच र विचारलाई समेत अवलोकन गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा घट्ने हरेक घटनालाई—तिनीहरूका असल कर्महरू, तिनीहरूका गल्तीहरू, तिनीहरूका अपराधहरू, तिनीहरूका विद्रोहहरू र धोकाहरू समेतलाई—प्रमाणको रूपमा टिपेर राख्नुहुन्छ त्यसलाई तिनीहरूका परिणामहरू निर्धारण गर्न प्रयोग गर्नुहुन्छ। चरणबद्ध रूपमा, जब परमेश्‍वरको काम उच्च तहमा जान्छ, तब तैँले अझै बढी सत्यताहरू सुन्नेछस् र तैँले अझ सकारात्मक कुरा र जानकारीहरू स्वीकार गर्न पुग्नेछस् र तैँले अझ बढी सत्यताको वास्तविकता प्राप्त गर्नेछस्। यो प्रक्रियाभरि नै, तेरो लागि परमेश्‍वरले तय गर्नुभएका आवश्यक मापदण्डहरू बढ्दै जानेछन् र ती मापदण्डहरू बढ्दै जाँदा उहाँले तेरो लागि अझ गम्भीर परीक्षाहरूको बन्दोबस्त गर्नुहुनेछ। उहाँको लक्ष्य भनेको यस बीचमा उहाँप्रतिको तेरो आचरणमा कुनै प्रगति भएको छ कि छैन भनेर जाँच गर्नु हो। अवश्य पनि, जब यस्तो हुन्छ, तब तैँले धारण गर्नैपर्ने भनेर परमेश्‍वरले तोक्‍नुभएको दृष्टिकोण तेरो सत्यताको वास्तविकताको बुझाइसँग मेल खानेछ।

तेरो कद क्रमिक रूपले बढ्दै जाँदा, परमेश्‍वरले तैँले पूरा गर्नैपर्ने भनेर तोक्‍नुभएको मापदण्ड पनि बढ्दै जानेछ। तँ अझै पनि अपरिपक्व भएको बेलामा, उहाँले तैंले पूरा गर्नको लागि तल्लो तहको मापदण्ड तय गर्नुहुनेछ; जब तेरो कद अलि ठूलो हुन्छ, तब उहाँले तेरो मापदण्डलाई अलि माथिल्लो तहमा लैजानुहुनेछ। तर तैँले सबै सत्यताहरूको बारेमा बुझाइ हासिल गरिसकेपछि परमेश्‍वरले के गर्नुहुनेछ? उहाँले तँलाई अझ ठूला परीक्षाहरूको सामना गर्न लगाउनुहुनेछ। यी परीक्षाहरूमाझ, परमेश्‍वरले तँबाट प्राप्त गर्न चाहनुभएको कुरा, उहाँले तँबाट देख्न चाहनुभएको कुरा भनेको उहाँको बारेमा अझ गहन बुझाइ, उहाँको बारेमा वास्तविक आदर हो। यो समयमा, तेरो लागि उहाँले तोक्‍नुभएका मापदण्डहरू तेरो कद अपरिपक्व भएको बेलाका मापदण्डहरूभन्दा अझ माथिल्लो तहका र “अझ कठोर” (नोट: मानिसहरूले तिनलाई कठोर भनी मान्लान् तर परमेश्‍वरले वास्तवमा तिनलाई उचित मान्नुहुन्छ) हुनेछन्। जब परमेश्‍वरले मानिसहरूको परीक्षा लिइरहनुभएको हुन्छ, तब उहाँले कस्तो प्रकारको वास्तविकता सृजना गर्न खोजिरहनुभएको हुन्छ? उहाँले मलाई तिमीहरूको हृदय देओ भनेर निरन्तर रूपमा मानिसहरूलाई भनिरहनुभएको हुन्छ। केही मानिसहरूले भन्नेछन्, “मैले त्यो कसरी दिन सक्छु? मैल त मेरो कर्तव्य पूरा गरिसकेको छु; मैले मेरो घर र जीविका छाडिसकेको छु र मैले आफैलाई समर्पण गरिसकेको छु। के यी सबै मैले मेरो हृदय परमेश्‍वरलाई दिएको उदाहरणहरू होइनन् र? मैले अन्यथा कसरी परमेश्‍वरलाई हृदय दिन सक्छु त? के यी शैलीहरू वास्तवमा मैले परमेश्‍वरलाई हृदय दिने शैलीहरू नहुन सक्छन् त? परमेश्‍वरको निश्‍चित मापदण्ड के हो त?” यो मापदण्ड एकदमै सरल छ। वास्तवमा, आफ्नो परीक्षाहरूको विविध चरणहरूको दौरान विभिन्न हदसम्म परमेश्‍वरलाई यसअघि नै हृदय दिइसकेका केही मानिसहरू छन्, तर अधिकांश मानिसहरूले कहिल्यै पनि परमेश्‍वरलाई हृदय दिँदैनन्। जब परमेश्‍वरले तेरो परीक्षा लिनुहुन्छ, तब उहाँले तेरो हृदय उहाँसँग छ कि, देहसँग छ वा शैतानसँग छ भनेर हेर्नुहुन्छ। जब परमेश्‍वरले तेरो परीक्षा लिनुहुन्छ, तब उहाँले तँ उहाँको विपक्षमा उभिएको छस् कि उहाँ अनुरूप हुने अवस्थामा उभिएको छस् भनेर हेर्नुहुन्छ, र उहाँले तेरो हृदय उहाँको पक्षमा छ कि छैन भनेर हेर्नुहुन्छ। तँ अपरिपक्व छस् र तैँले परीक्षाहरूको सामना गरिरहेको छस् भने, तँमा थोरै आत्मविश्‍वास हुन्छ र तैँले परमेश्‍वरका अभिप्रायहरू परिपूर्ति गर्नको लागि वास्तवमा के गर्नुपर्छ भन्ने कुरा जान्दैनस् किनभने सत्यतासम्बन्धी तेरो बुझाइ सीमित हुन्छ। तथापि, यदि तैँले अझै पनि साँचो रूपले र इमानदारीता पूर्वक परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस् भने, र यदि तँ परमेश्‍वरलाई हृदय दिन, उहाँलाई तेरो प्रभु बनाउन इच्छुक बन्न सक्छस् भने र तैँले सबैभन्दा अमूल्य भनी विश्‍वास गरेका तेरा सबै कुराहरू उहाँमा अर्पण गर्न इच्छुक बन्न सक्छस् भने, तैँले यसअघि नै परमेश्‍वरलाई तेरो हृदय दिइसकेको हुनेछस्। तैँले अझ बढी उपदेशहरू सुन्दै जाँदा र अझ बढी सत्यता बुझ्दै जाँदा, तेरो कद पनि क्रमिक रूपमा बढ्दै जानेछ। यो समयमा, परमेश्‍वरका सर्तहरूका मापदण्डहरू तँ अपरिपक्व भएको अवस्थामा भएका मापदण्हरूजस्तो दुरुस्तै हुनेछैनन्; उहाँले तँबाट अलि माथिल्लो तहको मापदण्ड पूरा गर्ने सर्त राख्नुहुनेछ। मानिसहरूले क्रमिक रूपमा परमेश्‍वरलाई हृदय दिँदै जाँदा, तिनीहरूको हृदय बिस्तारै उहाँको नजिक जान्छ; मानिसहरू परमेश्‍वरको नजिक हुँदै जाँदा, तिनीहरूको हृदयले उहाँको झन् बढी आदर गर्दै जानेछ। परमेश्‍वरले त्यस्तै हृदय चाहनुहुन्छ।

जब परमेश्‍वरले कसैको हृदय प्राप्त गर्न चाहनुहुन्छ, तब उहाँले उक्त व्यक्तिलाई असंख्य परीक्षाहरूबाट गुज्रन लगाउनुहुन्छ। यी परीक्षाहरूको दौरान, यदि परमेश्‍वरले उक्त व्यक्तिको हृदय प्राप्त गर्नुभएन भने वा उक्त व्यक्तिसँग कुनै आचरण रहेको देख्नुभएन भने—यसको मतलब, यदि परमेश्‍वरले उक्त व्यक्तिले उहाँको आदर गर्ने गरी अभ्यास वा व्यवहार गरेको देख्नुभएन भने र यदि उहाँले उक्त व्यक्तिमा दुष्टताबाट अलग बस्ने आचरण र संकल्प देख्नुभएन भने—असंख्य परीक्षाहरूपछि परमेश्‍वरले तिनीहरूप्रतिको आफ्‍नो धैर्यतालाई फिर्ता गर्नुहुन्छ र उहाँले तिनीहरूलाई त्यसपछि फेरि सहन गर्नुहुनेछैन। उहाँले उक्त व्यक्तिलाई फेरि कहिल्यै परीक्षा गर्नुहुनेछैन, र उहाँले तिनीहरूसँग फेरि कहिल्यै काम गर्नुहुनेछैन। त्यसो भए, यसले उक्त व्यक्तिको परिणामको बारेमा के कुराको सङ्केत गर्छ त? यसको अर्थ तिनीहरूको कुनै परिणाम हुँदैन भन्ने हो। सायद उक्त व्यक्तिले कुनै दुष्कर्म गरेको छैन होला, सायद तिनीहरूले कुनै पनि विध्वंसात्मक कार्य गरेका छैनन् होला र कुनै बाधा-व्यवधान खडा गरेका छैनन् होला। सायद तिनीहरूले खुला रूपमा परमेश्‍वरको प्रतिरोध गरेका छैनन् होला। तैपनि, उक्त व्यक्तिको हृदय परमेश्‍वरबाट लुकेर रहेको हुन्छ; तिनीहरूसँग कहिल्यै पनि परमेश्‍वरप्रति स्पष्ट आचरण र दृष्टिकोण रहेको हुँदैन र परमेश्‍वरले तिनीहरूको हृदय उहाँलाई दिइएको छ भनेर स्पष्टसित देख्न सक्नुहुन्न वा तिनीहरूले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न खोजिरहेका छन् भनेर देख्न सक्नुहुन्न। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूप्रति धैर्यता गुमाउनुहुन्छ र तिनीहरूको लागि फेरि कहिल्यै कुनै मूल्य चुकाउनुहुनेछैन, कुनै कृपा प्रदान गर्नुहुनेछैन, वा तिनीहरूमा काम गर्नुहुनेछैन। त्यस्तो व्यक्तिको परमेश्‍वरमा विश्‍वास गर्ने जीवन यसअघि नै समाप्त भइसकेको हुन्छ। किनभने परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै परीक्षाहरूमा परमेश्‍वरले आफूले चाहनुभएका कुनै पनि नतिजाहरू प्राप्त गर्नुभएको हुँदैन। यसरी, यस्ता धेरै मानिसहरू छन् जसमा मैले कहिल्यै पनि पवित्र आत्माको अन्तर्दृष्टि वा ज्योति देखेको छैनँ। कसरी यसलाई देख्न सकिन्छ त? यी मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका होलान् र सतही रूपमा तिनीहरूले जोशका साथ व्यवहार गरेका होलान्; तिनीहरूले धेरै पुस्तकहरू पढेका छन्, धेरै मामलाहरू सम्हालेका छन्, एक दर्जन स्मरण पुस्तिकाहरू भरेका छन्, र अत्यन्तै धेरै वचनहरू र धर्मसिद्धान्तहरूमा पोख्त भएका छन्। तैपनि तिनीहरूमा कहिल्यै पनि देख्‍न सकिने प्रगति भएको छैन, परमेश्‍वरप्रतिको तिनीहरूको दृष्टिकोण अदृश्य रहन्छ, र तिनीहरूको आचरण अझै अस्पष्ट छ। अर्को शब्दमा भन्दा, तिनीहरूको हृदयलाई देख्न सकिँदैन; ती सधैँभरि बेरिएका र सिल गरिएका हुन्छन्—ती परमेश्‍वरबाट टाढा हुने गरी सिल गरिएका हुन्छन्। फलस्वरूप, उहाँले तिनीहरूको साँचो हृदय देख्नुभएको छैन, उहाँले यी मानिसहरूमा उहाँप्रतिको साँचो आदर देख्नुभएको छैन, र त्योभन्दा बढी के हो भने, उहाँले यी मानिसहरू उहाँको मार्गमा कसरी हिँड्छन् भन्ने कुरा देख्नुभएकै छैन। यदि परमेश्‍वरले अहिलेसम्म त्यस्ता मानिसहरूलाई प्राप्त गर्नुभएको छैन भने, के उहाँले भविष्यमा तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्छ त? उहाँले तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्न। के उहाँले प्राप्त गर्नै नसकिने कुराको लागि जोड दिइरहनुहुन्छ त? उहाँले जोड दिइरहनुहुन्न! त्यसो भए, त्यस्ता मानिसहरूप्रति परमेश्‍वरको वर्तमान आचरण कस्तो हुन्छ त? (उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ र तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ।) उहाँले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ! परमेश्‍वरले त्यस्ता मानिसहरूलाई ध्यान दिनुहुन्‍न; उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। तिमीहरूले यी वचनहरूलाई एकदमै चाँडो र एकदमै सही रूपले कण्ठस्थ पारिसकेका छौ। यस्तो लाग्छ तिमीहरूले जे सुनेका छौ त्यसलाई बुझिसकेका छौ!

केही मानिसहरू छन् जो परमेश्‍वरलाई पछ्याउन सुरु गर्दा अपरिपक्व र अज्ञानी हुन्छन्; तिनीहरूले परमेश्‍वरको इच्छालाई बुझ्न सक्दैनन्, न त तिनीहरूले उहाँमा विश्‍वास गर्नु भनेको के हो भन्ने नै बुझ्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानव कल्पित र गलत तरिका अपनाउँछन्। जब त्यस्ता मानिसहरूले परीक्षाहरूको सामना गर्छन्, तिनीहरू यसको बारेमा सचेत नै हुँदैनन्; तिनीहरू परमेश्‍वरको मार्गनिर्देशन र अन्तर्दृष्टिको बारेमा स्तब्ध रहन्छन्। तिनीहरूले परमेश्‍वरलाई तिनीहरूको हृदय दिनु भनेको के हो वा परीक्षाको दौरान खरो उत्रनु भनेको के हो भन्ने नै जान्दैनन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई सीमित समय मात्र प्रदान गर्नुहुन्छ र उक्त समयमा उहाँले तिनीहरूलाई उहाँका परीक्षाहरूको प्रकृतिको बारेमा र उहाँका अभिप्रायहरू के हुन् भन्ने बारेमा बुझ्न दिनुहुन्छ। पछि गएर, यी मानिसहरूले तिनीहरूका दृष्टिकोणलाई प्रदर्शित गर्नुपर्छ। यो चरणमा रहेका व्यक्तिहरूको लागि परमेश्‍वरले अझै प्रतीक्षा गरिरहनुभएको हुन्छ। केही दृष्टिकोण भएका तर अझै दुबिधामा रहेका, परमेश्‍वरलाई तिनीहरूको हृदय दिन चाहने तर त्यसो गर्न स्वीकार गरी नसकेकाहरू, र केही आधारभूत सत्यताहरूलाई अभ्यास गरिसकेपछि पनि ठूला परीक्षाहरूको सामना गर्दा लुक्न प्रयास गर्ने र हार मान्ने व्यक्तिहरूको हकमा—तिनीहरूप्रति परमेश्‍वरको आचरण कस्तो हुन्छ त? उहाँले अझै पनि तिनीहरूबाट केही कुराको अपेक्षा गर्नुहुन्छ र नतिजा चाहिँ तिनीहरूको आचरण र कार्य-प्रदर्शनमा भर पर्छ। यदि मानिसहरू प्रगति गर्ने कार्यमा सक्रिय हुँदैनन् भने परमेश्‍वरले के गर्नुहुन्छ? उहाँले तिनीहरूलाई त्याग गर्नुहुन्छ। किनभने परमेश्‍वरले तँलाई त्याग गर्नुभन्दा पहिले तैँले आफूले आफैलाई त्यागिसकेको हुन्छस्। यसरी, आफूलाई त्याग गरिएकोमा तैँले परमेश्‍वरलाई दोष लगाउन सक्दैनस्। तैँले परमेश्‍वरको विरुद्ध गुनासो पालेर राख्‍नु गलत हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६२

कतिपय मानिसहरूले यो सोध्‍नेछन्, “देहधारी परमेश्‍वर र विगतका समयहरूका अगमवक्ता र प्रेरितहरूले गरेका कामको बीचमा रहेको भिन्‍नता के हो?...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२४

जब राज्यप्रतिको सलामी बज्‍छ—जुन सात गर्जनहरू गर्जिने समय पनि हो—यो आवाजले स्वर्ग र पृथ्वीलाई थर्काउँदै, आकाशलाई हल्‍लाउँछ र हरेक मानवजातिको...

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १००

येशूले पृथ्वीमा जिउनुभएको जीवन देहको सामान्य जीवन थियो। उहाँ आफ्नो देहको सामान्य मानवतामा जिउनुभयो। उहाँको अख्तियार—आफ्नो काम गर्नु र आफ्नो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्