परमेश्वरमा विश्वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो (भाग एक)
कतिपय मानिसहरूले वर्षौँसम्म परमेश्वरमा विश्वास गरेका छन् तर अझै पनि खाना, पोशाक, र देहका अन्य आनन्दहरूमै रमाउँछन्। के यी कुराहरूले मान्छेको हृदयका आवश्यकताहरू पूरा गर्न सक्छन्? मान्छेलाई सबैभन्दा बढी आवश्यक पर्ने कुराबारे परमेश्वरमा धेरै वर्ष विश्वास गरेका कतिपय मानिसहरूसमेत अस्पष्ट छन्। कतिपय मानिसहरू मैले कसैलाई केही कुरा दिएको देख्छन् र हङ्गामा गर्छन्, अनि यसो भन्छन्, “परमेश्वरले किन तिनीहरूको हेरचाह गर्नुहुन्छ तर मेरो गर्नुहुन्न? मैले त अझै हेरचाह पाएको छैन त।” वास्तवमा, तँ भोकै परिरहेको छैनस्, र तँलाई कपडाको अभाव छैन। तँ केवल लोभी भइरहेको छस्; तँ सन्तुष्टिबारे केही जान्दैनस्, र तँ विभिन्न कुराहरूको लागि होडबाजी गर्न रुचाउँछस्। तेरो हेरचाह गर्नु मेरो दायित्व होइन। तैँले सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। कहिल्यै पनि आफ्नो स्वार्थ वा फाइदाको लागि नलड्। यी सबै बाह्य कुराहरू हुन्; यी कुराले तेरो सत्यता र जीवन प्राप्तिको स्थान लिन सक्दैनन्। बाहिर तैँले जतिसुकै राम्रो पोशाक लगाएको भए पनि, यदि तैँले सत्यता हासिल गरेको छैनस् भने तेरो हृदय अझै खोक्रो नै हुनेछ। बोल्ने मात्र हो भने त, मानिसहरूले यी कुराहरू बुझ्छन्, तर यी कुराहरू वास्तवमै सामना गर्नुपर्दा तिनीहरूले केही गर्नै सक्दैनन्। तिनीहरूले वास्तवमा आफू को हुँ भनेर चिन्नै सक्दैनन्। यस संसारमा सम्पति र शक्ति भएका थुप्रै मानिसहरू छन्, अनि यी मानिसहरूले कस्तो जीवनशैली जिउँछन्? केवल खाने, पिउने र मोजमस्ती गर्ने; हरेक दिन मस्त पिउने र खाने; पाहुनाहरूलाई मनोरञ्जन गराउने र उपहारहरू प्रदान गर्ने; र असंयम व्यवहार गर्ने। तिनीहरू यसरी नै जिउँछन्। के तिनीहरूमा मानव जीवन छ त? छैन। तिनीहरू दिनभरी नै भुँडी फुटुन्जेल खाने, ब्रान्डेड कपडाहरू लगाउने, जता गए पनि धाक देखाउने, र अरूमाथि अधिकार जमाउनमै केन्द्रित हुन्छन्। त्यस्ता मानिसहरू के हुन्? तिनीहरू दियाबलस र शैतानका वस्तुहरू हुन्; तिनीहरू क्रूर पशुहरू हुन्। जब धनी मानिसहरूलाई सुखसयल चाहिनेभन्दा बढी भइसकेको हुन्छ, तब तिनीहरूमध्ये केहीमा जिउने रुचि हराउँछ र तिनीहरूले आत्महत्या गर्छन्। तिनीहरूले खाना, कपडा, र मोजमस्तीको चाहिनेभन्दा बढि आनन्द लिएका होलान्, तर तिनीहरूले किन यसरी आफैलाई मारेको? यसबाट बुझ्न सकिन्छ कि प्रसिद्धि र लाभ, हैसियत, सम्पत्ति, खाना, पोशाक, र आनन्दहरू वास्तवमा मानिसहरूलाई आवश्यक पर्ने कुराहरू बिलकुलै होइनन्। तिमीहरूले ती कुराहरू पछ्याउनु हुँदैन। यदि तँ मुक्ति पाउनै नसक्ने गरी पतित भएपछि मात्र सुध्रन खोज्छस् भने, त्यो अति ढिलो हुनेछ! जब कुनै बुद्दिमानी व्यक्तिले अर्को व्यक्ति असफल भएको देख्छ, उसले त्यसबाट सोझै अनुभव हासिल गर्छ, ऊ आफैले त्यो अनुभव गर्न जरुरी हुँदैन। अर्कोतर्फ, अज्ञानी व्यक्तिले एकपछि अर्को असफलताको अनुभव गर्न सक्छ तर पनि ती असफलताबाट पाठ सिक्नै सक्दैन। काटछाँटमा परेपछि मात्र तिनीहरूले केही बुझ्न थाल्छन्, तर त्यतिञ्जेल धेरै ढिलो भइसक्छ। अत्यन्तै अज्ञानीहरूले सत्यता हासिल गर्नै सक्दैनन्। परमेश्वरको काम अनुभव गर्ने बुद्धिमानी मानिसहरूले मात्र सत्यता हासिल गर्न सक्छन्। तथ्य के हो भने, सबै मानवजातिलाई सत्यता आवश्यक पर्छ, र सत्यता खोजी गरेर मात्र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्। चाहे तँ परमेश्वरका चुनिएका मानिसहरूमध्येकै एक भए पनि वा अरू नै भए पनि, तँलाई सत्यताको भरणपोषण र परमेश्वरको मुक्ति आवश्यक पर्छ। कतिपय मानिसहरूमा कति पनि मानवता हुँदैन र तिनीहरूले अलिअलि पनि सत्यता स्विकार्दैनन्—त्यस्ता मानिसहरू पशुवत् व्यवहारका हुन्छन्। तिनीहरू भेलाहरूमा सहभागी होलान्, तर तिनीहरूले हृदयमा जे खोजी गर्छन्, ती पापी खुसी, र खाना, पोशाक, र मोजमस्तीको खुसी हुन्, र तिनीहरू यिनै कुराहरूले भरिएका हुन्छन्। तिनीहरू सत्यता बिलकुलै खोज्दैनन्, र तिनीहरूको हृदय नास्तिक धारणा र क्रमिक विकासको सिद्धान्तका विचारहरूले भरिएको हुन्छ। तैँले तिनीहरूसित जे-जसरी सत्यता सङ्गति गरे पनि, तिनीहरूले तँलाई सुन्दैनन्, र परमेश्वरमा विश्वास गर्नु राम्रो कुरा हो भनी तिनीहरूलाई थाहा भए पनि र तिनीहरू आफ्नो विश्वासमा लागिपर्न सक्ने भए पनि, तिनीहरू सत्यता पछ्याउने मार्गमा यात्रा गर्न सक्दैनन्। तसर्थ, सत्यताप्रति प्रेम नभएकाहरू परमेश्वरले उहाँको मुक्तिको लागि पूर्वनिर्धारित गर्नुभएका मानिसहरू होइनन्।
अहिले धेरै मानिसहरूमा परमेश्वरप्रति भयानक रूपले दोधारे विश्वास छ। तिनीहरूलाई परमेश्वरमा विश्वास गरेर के हासिल गर्नुपर्छ भन्ने नै थाहा छैन; तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नुको अर्थ नै थाहा छैन—तिनीहरूमा त्यस्तो कुनै ज्ञान नै छैन। मान्छेले केको लागि जिउनुपर्छ, तिनीहरू केद्वारा जिउनुपर्छ, वा कसरी मूल्यवान् र महत्त्वपूर्ण तरिकामा जिउने भन्नेबारे तिनीहरूलाई बिलकुलै केही थाहा छैन। यदि परमेश्वरमा तैँले किन विश्वास गर्नुपर्छ भन्नेबारे हृदयमा तँ अनिश्चित छस् भने, तैँले परमेश्वरप्रतिको तेरो विश्वासको कारण भोग्ने उत्पीडन र पीडाको कुनै मूल्य वा महत्त्व हुँदैन। मानिसहरूले परमेश्वरमा विश्वास गरेर प्राप्त गर्न खोज्ने ठ्याक्कै कुरा के हो? यदि तैँले सत्यता र जीवन प्राप्त गर्न विश्वास गरेको हैनस् भने, परमेश्वरको काम सकिएपछि र मानिसहरूको परिणाम निर्धारण गरिएपछि, के तँ पश्चात्तापले भरिनेछैनस् र? जब तैँले पहिलोपटक परमेश्वरलाई पछ्याउने सङ्कल्प गरिस्, के त्यो क्षणिक आवेग मात्र थियो, कि परमेश्वरमा विश्वास गर्ने विषयबारे सोचविचार गरेर अनि बुझेर त्यो निर्णय गरेको थिइस्? तँ ठ्याक्कै केको लागि जिउँदै छस्? जीवनमा तँ कुन मार्ग पछ्याइरहेको छस्, र तेरा लक्ष्यहरू के-के हुन्? के तँसँग अन्त्यसम्म परमेश्वरलाई पछ्याउने र अन्ततः सत्यता प्राप्त गर्ने सङ्कल्प छ? के तैँले बीचैमा नछोड्ने कुरा सुनिश्चित गर्न सक्छस्? के तँ जस्तोसुकै परिस्थिति वा सङ्कष्ट, परीक्षा, कठिनाइ, वा समस्याहरूको बाबजुद निष्ठापूर्वक आफ्नो कर्तव्य निभाउन सक्षम छस्? कतिपय मानिसहरूमा यति थोरै आस्था वा सत्यता खोजी गर्ने दृढतासमेत हुँदैन। त्यसपछि सत्यता प्राप्त गर्न सजिलो हुनेछैन। जब मानिसहरू सत्यतामा रुचि राख्दैनन्, तिनीहरू स्वेच्छाले आफ्नो कर्तव्य निभाउन सक्षम हुँदैनन् र तिनीहरूले आफूलाई इमानदारीपूर्वक परमेश्वरमा अर्पित गर्दैनन्। त्यस्ता मानिसहरूले कसरी अन्त्यसम्म परमेश्वरलाई पछ्याउन सक्छन् र? यदि तैँले तिनीहरूलाई “तँ किन परमेश्वरमा विश्वास गर्छस्? परमेश्वरमा विश्वास गरेर तँ के चाहन्छस्? तैँले कुन मार्ग हिँड्नुपर्छ?” भनी सोधिस् भने, तिनीहरूलाई केही थाहा हुन्थेन र तिनीहरू जवाफ दिन असक्षम हुन्थे। यसले प्रमाणित गर्छ कि तिनीहरू सत्यता र जीवन प्राप्त गर्न परमेश्वरलाई पछ्याइरहेका छैनन्, बरु आशिष् प्राप्त गर्ने अवसरहरू खोजिरहेका छन्। त्यस्तो व्यक्तिले कसरी इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न सक्छ? सत्यतालाई प्रेम गर्नेहरूले सत्यताबारे जति बढी बुझ्छन्, तिनीहरू आफ्नो कर्तव्य निभाउनमा उति बढी उत्साहित हुन्छन्। सत्यता नबुझ्नेहरू आफ्नो कर्तव्य निभाउँदा बारम्बार नकारात्मक बन्छन्। यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् भने, तिनीहरू निस्केर भाग्नेछन्। तर सत्यता खोजी गर्नेहरू फरक हुन्छन्: तिनीहरूले जति बढी आफ्नो कर्तव्य निभाउँछन्, त्यति नै बढी सत्यता बुझ्छन्, र त्यस क्रममा तिनीहरूको भ्रष्टता पखालिन्छ। व्यक्तिले जति बढी सत्यता बुझ्छ, उति नै बढी उसलाई परमेश्वरलाई पछ्याउँदा प्राप्त हुने कुरा झन् ठूला हुन्छन् भन्ने अनुभूति हुन्छ, र तिनीहरू परमेश्वरलाई पछ्याउने मार्गमा जति धेरै हिँड्छन् त्यो मार्ग झन्झन् उज्यालो हुन्छ भनेर बुझ्न सक्छन्। यिनीहरू सत्यता प्राप्त गरेका मानिसहरू हुन्। यदि मानिसहरूले साँच्चिकै सत्यता बुझ्छन् भने, तिनीहरूमा परमेश्वरलाई पछ्याउने आत्मविश्वास हुन्छ र तिनीहरू अन्तिमसम्मै बफादार रहन्छन्।
जब कतिपय मानिसहरू बिरामी परेर जीवन र मृत्युको दोसाँधमा पुग्छन्, तब तिनीहरू मुक्ति दिनुहोस् भनी परमेश्वरलाई याचना गर्छन्, र त्यसबाट पार पाएपछि, तिनीहरूले सत्यताबारे अलिअलि बुझ्छन्। तर सबैले जीवन वा मरणको दोसाँधमा पुगेर परमेश्वरलाई याचना गर्नुपर्ने अवस्था भोग्नु जरुरी हुँदैन। केही मानिसहरूका अनुभवहरू हेर् अनि तिनीहरूका सङ्गति र भावनाहरू सुन्, तब तैँले त्यसबाट लाभ प्राप्त गर्नेछस्। तँ आफैले भोगेको अनुभव नभए पनि, तैँले अरूका अनुभवहरूबाट केही कुराहरू बुझ्न सक्छस्। कतिपय मानिसहरू मृत्युको नजिक पुग्दा आफू धेरै परिवर्तन नभएको, आफूलाई परमेश्वरबारे कमै मात्र थाहा भएको, र आफूले परमेश्वरको लागि गरेको काम र अर्पण सीमित रहेको अनुभूति गर्छन्। तिनीहरू आफूले परमेश्वरमा विश्वास गरेका वर्षहरूमा सत्यता खोजी नगरेको, आफूले अति थोरै हासिल गरेको र आफू परमेश्वरको अति धेरै ऋणी भएको अनुभूति गर्छन्। यदि तिनीहरू मर्छन् नै भने पनि, इच्छापूर्वक मर्नेछैनन्, किनकि त्यसमा तिनीहरूसँग पश्चात्ताप गर्ने मौका बिलकुलै हुनेछैन। जब अय्यूबले परीक्षाहरू भोग्यो, उसको शरीर घावैघाउले ढाकिएको थियो; उसकी श्रीमतीले उसलाई बुझिन र उसको खिल्ली उडाई, र उसका साथीहरूले पनि उसलाई बुझेनन् र उसले निश्चित रूपमा कुनै खराब काम गरेर यहोवा परमेश्वरलाई चिढ्याएको छ भन्ने विश्वास गर्दै उसलाई आलोचना र निन्दासमेत गरे। तिनीहरूले अय्यूबलाई यसो भने, “तिमीले यहोवा परमेश्वरलाई कसरी चिढ्यायौ? जाऊ, आफ्ना पापहरू स्वीकार गर। यहोवा परमेश्वर धर्मी हुनुहुन्छ।” तर अय्यूबले आफ्नो हृदयमा त्यो कुरा बुझ्यो र उसलाई आफूले कुनै खराब काम गरेजस्तो महसुस भएन। यति हुँदाहुँदै पनि, उसको लागि यस्तो परीक्षा भोग्नु पीडादायी कुरा थियो! उसले आफ्नो कष्टमा जीवनभन्दा मृत्यु खोज्यो; उसले यति कष्ट भोग्यो कि उसलाई मृत्यु नै त्यसबाट उम्कने उपाय हो, मृत्यु नै त्यसको अन्त्य हो भन्ने लाग्यो, तर अझै पनि ऊ हृदयमा परमेश्वरको प्रशंसा गर्न सक्षम थियो। यो सामान्य व्यक्तिले हासिल गर्न सक्ने कुरा होइन। पीडामा हुँदा अधिकांश मानिसहरू परमेश्वरको प्रशंसा गर्दैनन्। तिनीहरू यसो भन्दै उहाँसित माग राख्ने काम मात्र गर्छन्, “परमेश्वर, मलाई बस थप एक सास दिनुहोस्। मलाई चाँडो सन्चो पार्नुहोस्! म सन्चो भएपछि तपाईंले मबाट जे चाहनुहुन्छ म त्यही गर्नेछु।” तिनीहरू सौदाबाजी गर्ने कोसिस गर्न थाल्छन्। आफू बिरामी हुँदा, त्यसको अनुभव तैँले कसरी गर्नुपर्छ? तँ परमेश्वरसामु आउनुपर्छ, र प्रार्थना गर्दै परमेश्वरको अभिप्राय के हो भनी खोज्ने र बुझ्ने कोसिस गर्नुपर्छ; तैँले आफैलाई जाँचेर सत्यताविरुद्ध हुने गरी के गरिस्, र तँभित्रको कुन भ्रष्टता समाधान गरिएको छैन भनी पत्ता लगाउनुपर्छ। कष्ट नभोगीकन तेरो भ्रष्ट स्वभाव समाधान गर्न सकिँदैन। कष्टद्वारा खारिएर मात्र मानिसहरू मनमौजी नहुन सक्छन्, र सधैँ परमेश्वरसामु जिउन सक्षम हुन्छन्। व्यक्ति कष्टमा हुँदा, ऊ जहिले पनि प्रार्थनामै हुन्छ। उसले खाना, पोशाक, र अन्य आनन्दहरूको सुखबारे सोच्दैन, बरु आफ्नो हृदयमा निरन्तर प्रार्थना गर्छ, र आफैलाई जाँच गरेर आफूले कुनै गलत काम गरेको छु कि वा कतै आफू सत्यताविपरीत गएको छु कि भनी हेर्छ। सामान्यतया, जब तैँले कुनै गम्भीर वा अनौठो रोग सामना गर्छस् र जब त्यसले तँलाई नराम्रोसँग कष्ट दिन्छ, त्यो संयोगवश हुँदैन। तँ बिरामी वा स्वस्थ जे-जस्तो भए पनि, त्यो परमेश्वरको अभिप्राय हो। जब पवित्र आत्माले काम गर्नुहुन्छ र जब तँ शारीरिक रूपमा ठिक हुन्छस्, तब तैँले प्राय परमेश्वरको खोजी गर्न सक्छस्, तर जब तैँले बिरामी भएर कष्ट भोग्छस्, तब तैँले खोजी गर्नै छोडिदिन्छस्, र उहाँलाई कसरी खोज्ने भन्ने पनि तँलाई थाहा हुँदैन। तँ बिरामीपनमै जिउँछस्, र आफूलाई कस्तो उपचारले राम्रो गर्ला भनेर सधैँ सोचेरै बस्छस्। यस्ता समयहरूमा तँ बिरामी नभएका मानिसहरूको ईर्ष्या गर्छस्, र तँ आफ्नो बिमार र पीडाबाट सक्दो चाँडो मुक्त हुन चाहन्छस्। यी नकारात्मक र प्रतिरोधी भावनाहरू हुन्। जब मानिसहरू बिरामी पर्छन्, तिनीहरू कहिलेकाहीँ यस्तो सोच्छन्, “के मैले यो बिमार आफ्नै अज्ञानतामार्फत निम्त्याएँ, कि त्यो परमेश्वरको अभिप्राय हो?” तिनीहरूले त्यो पत्ता लगाउनै सक्दैनन्। खासमा, कतिपय रोगहरू सामान्य हुन्छन्, जस्तै चिसो लाग्ने, सुन्निएर रातो हुने, वा फ्लुजस्ता कुराहरू। जब तैँले कुनै ठूलो रोगको पीडा भोग्छस् र जसले तँलाई थला पार्छ, र जब तँ त्यो कष्ट भोग्नुभन्दा मर्न चाहन्छस्, त्यस्तो रोग संयोगले लाग्दैन। जब तँलाई बिमार र कष्ट आइपर्छ, के तँ परमेश्वरलाई प्रार्थना गरेर उहाँको मार्गदर्शन खोज्छस्? पवित्र आत्माको कामले तँलाई कसरी मार्गदर्शन र अगुवाइ गर्छ? के उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति मात्र दिनुहुन्छ? त्यो एउटै मात्र उहाँको विधि होइन; उहाँले तेरो परीक्षा र शोधन पनि गर्नुहुन्छ। परमेश्वरले मानिसहरूको परीक्षा कसरी लिनुहुन्छ? के उहाँले कष्ट भोग्न लगाएर मानिसहरूको परीक्षा लिनुहुन्न र? कष्ट भोगाइ र परीक्षाको सामना सँगसँगै हुने कुरा हुन्। परीक्षा नहुने हो भने, मानिसहरूले कसरी कष्ट भोग्छन्? कष्ट नभोगी, मानिसहरू कसरी परिवर्तन हुन सक्छन् र? कष्ट भोगाइ र परीक्षाको सामना सँगसँगै हुन्छन्—त्यो पवित्र आत्माको काम हो। कहिलेकाहीँ परमेश्वरले मानिसहरूलाई केही कष्ट दिनुहुन्छ किनकि अन्यथा तिनीहरूलाई ब्रह्माण्डमा आफ्नो स्थान नै थाहा हुनेथिएन, र तिनीहरू अभद्र बन्थे। भ्रष्ट स्वभावलाई सत्यता सङ्गति गरेर मात्र पूर्ण रूपले समाधान गर्न सकिँदैन। अरूले तेरा समस्याहरू औँल्याउन सक्छन्, र ती कुरा तँ आफैलाई पनि थाहा हुन सक्छ, तर तैँले तिनलाई परिवर्तन गर्न सक्दैनस्। तैँले आफूलाई काबुमा राख्न आफ्नो इच्छाशक्तिमाथि जति भरोसा गरे पनि, आफ्नै अनुहारमा चड्कन हाने पनि, आफ्नै टाउकोमा हिर्काए पनि, आफैलाई भित्तामा ठोक्काए पनि, र आफ्नो देहलाई चोट पुर्याए पनि, त्यसले तेरा समस्याहरू समाधान गर्नेछैन। तँभित्र तँलाई निरन्तर यातना दिने र अवरोध पुर्याउने, अनि तँलाई अनेक प्रकारका सोच र विचारहरू दिने शैतानी स्वभाव भएकोले, तेरो भ्रष्ट स्वभाव खुलासा हुने नै छ। त्यसैले, यदि तैँले त्यसलाई समाधान गर्न सकिनस् भने, तँ के गर्छस्? रोगव्याधिमार्फत तेरो शोधन हुनुपर्छ। कतिपय मानिसहरूलाई यो शोधनमा यति कष्ट हुन्छ कि तिनीहरूले यसलाई स्विकार्नै सक्दैनन्, अनि प्रार्थना र खोजी गर्न थाल्छन्। बिरामी नहुँदा, तँ अत्यन्तै मनमौजी र हदै अहङ्कारी हुन्छस्। तर जब तँ बिरामी हुन्छस्, तब तँ आज्ञाकारी बन्छस्—के तँ त्यसपछि पनि जङ्गलीझैं अहङ्कारी हुन सक्छस्? जब तँसँग जसोतसो बोल्ने ऊर्जा मात्र हुन्छ, के तँ अरूलाई भाषण दिन वा अहङ्कारी हुन सक्छस्? त्यस्ता समयहरूमा, तैँले कुनै मागहरू गर्दैनस्; तँ आफ्नो कष्ट मिल्काउन मात्र चाहन्छस्, कुनै खाना, पोशाक वा आनन्दबारे बिलकुलै सोच्दैनस्। तिमीहरूमध्ये धेरैजसोले त्यो भावना अनुभव गरेका छैनौ, तर अनुभव गरेपछि तिमीहरूले बुझ्नेछौ। अहिले कतिपय मानिसहरू यस्ता छन् जो पदको लागि, देहसुखको लागि, र आफ्नै स्वार्थको लागि लड्ने गर्छन्। तिनीहरूलाई अति धेरै सहजता भएर, तिनीहरूको कष्ट अति कम भएर, अनि तिनीहरूको अपमान भएर, यो सब भएको हो। यी मानिसहरूलाई अगाडि बाटोमा कठिनाइ र शोधनले पर्खिरहेको छ!
कहिलेकाहीँ परमेश्वरले तेरो लागि केही परिस्थितिहरू बन्दोबस्त गर्नुहुनेछ, तेरा वरपरका मानिसहरूमार्फत तेरो काटछाँट गर्नुहुनेछ र तँलाई कष्ट भोगाउनुहुनेछ, तँलाई पाठहरू सिकाउनुहुनेछ र तँलाई सत्यता बुझ्ने अनि विभिन्न कुराहरूको वास्तविकता देख्ने मौका दिनुहुनेछ। तेरो देहलाई कष्ट भोगाएर, परमेश्वरले अहिले यही काम गर्दै हुनुहुन्छ, ताकि तैँले आफ्नो पाठ सिक्न, आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्। पावलले बारम्बार उसको देहमा एउटा काँडा छ भन्थ्यो। त्यो के काँडा थियो? त्यो एउटा रोग थियो, र ऊ त्यसबाट उम्कन सक्दैनथ्यो। उसलाई त्यो के रोग हो भनेर राम्ररी थाहा थियो, त्यो उसको स्वभाव र उसको प्रकृतिप्रति लक्षित थियो। यदि उसमा त्यो काँडा अल्झेको थिएन भने, यदि उसलाई त्यो रोगले पछ्याएको थिएन भने, उसले जुनसुकै स्थान र समयमा उसको आफ्नै राज्य खडा गर्न सक्थ्यो, तर उसको रोगले गर्दा उसमा त्यो शक्ति थिएन। त्यसकारण, बढीजसो समय रोगले मानिसहरूको लागि एकप्रकारको “सुरक्षा कवच” को काम गर्छ। यदि तँ बिरामी नभएर शक्तिले भरिपूर्ण छस् भने, तैँले कुनै दुष्ट काम र कुनै प्रकारको समस्या निम्त्याउन सक्छस्। मानिसहरू अत्यन्तै अहङ्कारी र मनमौजी हुँदा तिनीहरूले सजिलै आफ्नो समझ गुमाउन सक्छन्। तिनीहरूले दुष्ट काम गरिसकेपछि पश्चात्ताप त गर्नेछन्, तर त्यतिञ्जेल तिनीहरू त्यसबारे केही गर्नै नसक्ने भइसक्नेछन्। त्यसले गर्दा थोरै रोग हुनु राम्रो कुरा हो, अर्थात यो मानिसहरूको लागि सुरक्षा हो। तँ अरू मानिसहरूका सबै समस्याहरू समाधान गर्न सक्षम छस् होला र तँ तेरो आफ्नै सोचभित्रका सबै समस्याहरू सुल्झाउन सक्छस् होला, तर रोग निको नभईकन तैँले केही गर्न सक्दैनस्। बिरामी पर्नु वास्तवमै तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। यदि तँ बिरामी भइस् र तँलाई निको पार्ने कुनै उपाय छैन भने, त्यो तैँले सहनैपर्ने कष्ट हो। त्यसबाट मुक्त हुने कोसिस नगर्; पहिला तँ समर्पित हुनुपर्छ, र परमेश्वरलाई प्रार्थना गर्दै परमेश्वरका चाहनाहरू खोज्नुपर्छ। यसो भन्: “हे परमेश्वर, मलाई थाहा छ कि म भ्रष्ट छु र मेरो प्रकृति खराब छ। म त्यस्ता चीजहरू गर्न सक्षम छु जुन तपाईंप्रति विद्रोही र प्रतिरोधी छन्, जसले तपाईंलाई चोट र पीडा निम्त्याउँछन्। कस्तो गज्जबको कुरो, तपाईंले मलाई यो रोग दिनुभएको छ। म यसप्रति समर्पित हुनुपर्छ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस्, तपाईंको अभिप्राय के हो र तपाईं मभित्रको कुन कुरा बदल्न र सिद्ध पार्न चाहनुहुन्छ, त्यो बुझ्न दिनुहोस्। म यति मात्र माग्छु कि तपाईं मलाई मार्गनिर्देशन गर्नुहोस्, ताकि मैले सत्यता बुझ्न र जीवनको सही मार्ग लिन सकूँ।” तैँले खोजी र प्रार्थना गर्नुपर्छ। तैँले बिरामी हुनुको केही अर्थ छैन, त्यो तैँले परमेश्वरलाई चिढ्याएकोले तैँले भोग्नुपर्ने ताड्ना होइन भन्ने विश्वास गर्दै दुविधामा रहनु हुँदैन। हतारमा निचोड ननिकाल्। यदि तँ साँच्चिकै हृदयमा परमेश्वर भएको व्यक्ति होस् भने, तैँले जे सामना गरे पनि, त्यसलाई त्यतिकै जान नदे। तैँले हरेक मामिलामा प्रार्थना र खोजी गर्नुपर्छ, परमेश्वरको चाहना अनुभूत गर्नुपर्छ, र परमेश्वरमा समर्पित हुन सिक्नुपर्छ। जब परमेश्वरले तँ समर्पित हुन सक्छस् र तँसित उहाँप्रति समर्पणको हृदय छ भन्ने देख्नुहुन्छ, उहाँले तेरो कष्ट सहज पार्नुहुन्छ। परमेश्वरले कष्ट र शोधनको माध्यमबाट त्यस्ता परिणामहरू हासिल गर्नुहुन्छ।
इतिहासभरि नै, भक्त इसाईहरू, अनुयायीहरू, प्रेरितहरू, र अगमवक्ताहरू ढुङ्गाले हानेर मारिएका छन्, घोडाले घिसारेर मारिएका छन्, टुक्राटुक्रा पारिएका छन्, तेलमा उमालिएका छन्, अनि क्रूसमा टाँगिएका छन्…। तिनीहरू हरतरिकाले मारिएका छन्। यसमार्फत मैले भन्न खोजेको के हो भने, परमेश्वरलाई पछ्याउँदा सहजताको साथ मिल्छ भन्ने अपेक्षा नै नगर्। यस्तो कुराको माग नगर्; त्यस्तो असाधारण चाहना नराख्। म किन भन्दै छु कि मानिसहरूले परमेश्वरलाई त्यस्तो माग गर्नु गलत हो? किनभने जतिसुकै सानो माग पनि असाधारण चाहनासरह हुन्छ, र तैँले यस्ता चाहनाहरू राख्नु हुँदैन। विभिन्न कुराहरू चाहँदै यस्तो नबोल्, “हे परमेश्वर, मलाई राम्रो लाउन दिनुहोस्, किनकि राम्रा कुराहरू लाउने कारण मसित छ। हे परमेश्वर, अहिले म आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु, त्यसैले मलाई आशिष् र सुस्वास्थ्य प्रदान गर्नुहोस् भनी तपाईंसित माग गर्ने आधार मसित छ।” यदि कुनै दिन तँ बिरामी परिस् भने, के तँ नकारात्मक बन्नेछैनस् र? के तैँले परमेश्वरमा विश्वास गर्न छोड्नेछैनस् र? यदि तँ स्वस्थ नहुँदो हो त, के तैँले आफ्नो कर्तव्य निभाउँथिस् र? के तैँले खासमा आफ्नो कर्तव्य नै निभाइरहेको हुनुपर्ने होइन र? त्यो स्वर्गले नै आह्वान गरेको काम, अर्थात् फाल्न नमिल्ने जिम्मेवारी हो। अरू कसैले नगरे पनि, तैँले आफ्नो कर्तव्य निभाउनुपर्छ। तँसँग यो दृढता हुनैपर्छ। धेरै मानिसहरू यस्तो सोच्छन्, “यदि मैले परमेश्वरमा विश्वास गर्दा पनि कष्ट भोग्नुपर्छ भने, मैले उहाँलाई केको लागि पछ्याउने? म त परमेश्वरका आशिष्हरूमा आनन्द लिन उहाँलाई पछ्याउँछु। आनन्द लिनलाई आशिष्हरू नै हुन्न भने, म उहाँलाई पछ्याउनेछैनँ!” के यो यसलाई हेर्ने गलत तरिका होइन र? यतिका वर्षहरूको अनुभवमा, तिमीहरू सबैले बुझेका छौ कि साँच्चिकै सत्यता खोजी गर्नेहरूको लागि, मानिसहरूले कल्पेजस्तो प्रस्ट देखिने आशिष्हरू हुँदैनन्। हरेक दिन प्रसन्न र मस्त हुनु, राम्रो लुगा लगाउनु, सबथोक सहज रूपमा चल्नु, र दुनियाँमा समृद्धि हासिल गर्नु—परिस्थितिहरू सबैको लागि यस्तै हुँदैनन्। तिनीहरू सबैले एकपछि अर्को अवरोध सामना गर्दै जीवन चलाउँछन्। कतिपय मानिसहरूले अन्यत्र कहीँ आफ्नो जागिरमा विभेद र दुर्व्यवहार भोग्छन्; कतिपय मानिसहरूलाई रोगले सधैँ च्यापिरहन्छ; जबकि अरूहरू व्यवसायमा असफल हुन्छन्, र तिनीहरूका गैरविश्वासी परिवारका सदस्यहरूले तिनीहरूलाई छोडेर जान्छन्। जीवनमा उतारचढावहरू आइरहन्छन्; त्यो सहज यात्रा मात्र कहिल्यै हुँदैन। व्यक्तिले जति बढी सत्यता खोजी गर्छ, उसले त्यति नै बढी कष्ट भोग्छ, जबकि सत्यता खोजी गर्दै नगर्नेहरूले आरामदायी जीवन जिउँछन्। तिनीहरूमा कुनै रोग वा समस्याहरू हुँदैनन्; तिनीहरूको सबथोक सहज रूपमा चल्छ, र अरूले तिनीहरूको ईर्ष्या गर्छन्। तर तिनीहरूसित जीवन प्रवेश अलिकति पनि हुँदैन, अनि तिनीहरू गैरविश्वासीहरूझैँ जिउँछन्। सच्चा रूपमा परमेश्वरलाई पछ्याउनेहरूले अनिवार्य रूपमा उत्पीडन र कठिनाइ भोग्नैपर्छ। अनि, तैँले उत्पीडन र कठिनाइ सहनुले के प्रमाणित गर्छ? परमेश्वरले तँलाई छाड्नुभएको छैन, परमेश्वरले तँलाई त्याग्नुभएको छैन, परमेश्वरको हात सधैँ तँमाथि छ र उहाँले तँलाई कहिल्यै फुत्किन दिनुहुन्न। यदि उहाँले फुत्किन दिनुभएको भए, र तँ शैतानको जालमा फसेको भए, के तँ त्यसपछि खतरामा हुन्थिनस् र? यदि तँ ख्याति र लाभ खोज्दै, सुखसयल चाहँदै, अनि रक्सी, जुवा र व्यभिचारमा लागेर पतित हुँदै हरदिन पापमा जिउँछस् भने, परमेश्वरले तँलाई त्याग्नुहुनेछ। उहाँले तँलाई बिलकुलै ख्याल गर्नुहुनेछैन, र तँलाई निश्चय नै हटाइनेछ। तैँले सांसारिक सम्पत्ति र हैसियत त प्राप्त गर्छस् होला, तर खासमा, तैँले सबैभन्दा अमूल्य कुरा—अर्थात् सत्यता गुमाएको हुनेछस्, जुन अनन्त जीवन हो—र तँलाई यो कुरा थाहासमेत हुनेछैन!
कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्वरले मलाई किन सधैँ अनुशासनमा राख्नुहुन्छ? अरू मानिसहरू किन अति स्वस्थ छन्, जबकि म सधैँ बिरामी हुन्छु। म किन सधैँ कष्ट भोगिरहेको हुन्छु? मेरो परिवार किन यति गरिब छ? हामी किन धनी हुन सक्दैनौँ? मैले किन कहिल्यै राम्रा कपडाहरू लाउन सक्दिनँ? अरू मानिसहरूले किन राम्रा कपडाहरू लाउन सक्छन्?” अरू मानिसहरू परमेश्वरको कति धेरै अनुग्रह र आशिष्हरूमा रमाउँछन् भनी ईर्ष्या नगर्। त्यो त तिनीहरूको कद सानो भएकोले पनि हुन सक्छ र परमेश्वरले तिनीहरूको कमजोरी बुझ्नुहुन्छ, त्यसैले उहाँले तिनीहरूलाई आनन्द लिनको लागि केही अनुग्रह प्रदान गर्नुहुन्छ, र तिनीहरूलाई थोरैथोरै गरेर ती कुरा अनुभव गराउनुहुन्छ, ताकि तिनीहरूले बिस्तारै उहाँका कार्यहरू बुझून्। तेरो लागि, परमेश्वरका अत्यन्तै कडा मापदण्डहरू छन्। मान्छेले हेर्दा, तेरो जीवन बिलकुलै खुसी छैन, र तँ निरन्तर कष्ट भोगिरहेको छस्, तर तैँले धेरै सत्यताहरू बुझेको छस्, र तैँले परमेश्वरलाई धेरै धन्यवाद दिनुपर्छ र प्रशंसा गर्नुपर्छ। यस्तो व्यक्ति परमेश्वरका कार्यहरू थाहा भएको व्यक्ति हो। यदि व्यक्तिले सत्यता बुझ्न सक्छ भने, त्यो नै परमेश्वरको सबैभन्दा ठूलो आशिष् हो, चाहे उसले जस्तोसुकै कष्ट नै किन सहनु नपरोस्। बारम्बार परमेश्वरद्वारा अनुशासित पारिनु र बारम्बार परीक्षाहरू सामना गर्नु, यतिसम्म कि त्यसैबाट तैँले बारम्बार पाठहरू सिक्न र सत्यताहरू बुझ्न सक्नु—यसको मतलब परमेश्वरले तँलाई प्रेम गर्नुहुन्छ। यदि तँ सधैँ मनमौजी हुन्छस् र तैँले अहिलेसम्म अनुशासन कारबाही भोगेको छैनस्, र तँ अनुशासित छैनस् भने, तेरो मनमौजीपन जतिसुकै लम्बिए पनि, तेरो काटछाँट गर्ने वा तँलाई ध्यान दिने कोही छैन भने, तँ सक्किनेछस्। कतिपय मानिसहरू यस्ता हुन्छन् जो कुनै पनि कर्तव्य निभाउँदैनन् र कुनै पनि जिम्मेवारी लिँदैनन्। तिनीहरू एकदमै आरामसाथ फुर्सदिलो र मस्त जीवन जिउँछन्। तिनीहरूले कुनै पनि पाठ सिक्न सक्दैनन्, र तिनीहरूले केही पनि प्राप्त गर्दैनन्। के यो खुसी हो र? मनमौजी हुने आफ्नै तत्परताबाट, र आफ्नो स्वतन्त्रता र दैहिक आनन्द पछ्याउने कार्यबाट तिनीहरूले के प्राप्त गर्न सक्छन् र? आफ्नो कर्तव्य निभाएर तँ कष्ट भोग्छस् र आफैलाई थकित पार्छस्, अनि सबैजनाले तेरो वास्ता गर्छन्; कहिलेकाहीँ तिनीहरूले तेरो काटछाँट गर्छन्। यसले देखाउँछ कि परमेश्वरले तँलाई प्रेम गर्नुहुन्छ र तेरो जिम्मेवारी लिनुहुन्छ। धेरै मामिलाहरूमा, तैँले खोजी गर्नुपर्छ, र परमेश्वरलाई अझ बढी प्रार्थना गर्नुपर्छ। त्यसपछि तँ उहाँको अभिप्राय बुझ्न सक्षम हुनेछस्। तैँले जुनै कर्तव्य निभाउने भए पनि, तँ कुनै पनि परिस्थितिमा स्वेच्छाचारी, वा मनमौजी, वा झाराटारुवा, वा आफ्नो गलत मार्गमा पनि जिद्दी गर्ने हुनु हुँदैन। तँसँग कुनै समस्या भए, चाँडो सत्यता खोज्। आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र त्यसपछि तेरो हृदयले स्वतः शान्ति र खुसीको आनन्द लिन सक्नेछ। यदि तँ अति स्वेच्छाचारी वा मनमौजी छस्, र ताडना स्विकार्दैनस्, अनि अलि जिद्दी पनि छस् भने, तँ खतरामा हुनेछस्। एकपटक तँलाई हटाइयो भने, तँसित कुनै अवसर रहनेछैन, र पश्चात्तापको लागि पनि अति ढिलो भइसकेको हुनेछ। सुरुमा बिरामी पर्दा, कतिपय मानिसहरू जतिखेर पनि प्रार्थना गरिबस्छन्, तर पछि, जब तिनीहरूको प्रार्थनाले आफूलाई निको नपारेको देख्छन्, तिनीहरू आफ्नो रोगदेखि निरीह हुन्छन्, र सधैँ गुनासो गर्छन्, र मनमनै यसो भन्छन्, “परमेश्वरमा विश्वास गरेर मलाई केही राम्रो भएको छैन। म बिरामी छु, र परमेश्वरले मेरो चङ्गाइ गराउनुहुन्न!” यो साँचो आस्था होइन। यसमा समर्पण बिलकुलै छैन, अनि तिनीहरूले गुनासो गरिसकेपछि त्यसबाट आउने कुरा मृत्यु मात्र हो। यो परमेश्वरले तिनीहरूको देह फिर्ता गर्नुभएको र तिनीहरूलाई नर्क पठाउनुभएको हो; यो तिनीहरूको लागि सबथोकको अन्त्य हो। तिनीहरूलाई यो जीवनमा मुक्ति प्राप्त गर्ने कुनै मौका हुँदैन, र तिनीहरूको आत्मा नर्कै जानुपर्छ। यो मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको अन्तिम चरण हो, र यदि कसैलाई निष्कासित गरियो भने, उसलाई अर्को मौका कहिल्यै मिल्नेछैन! यदि परमेश्वरले उहाँको मुक्तिको काम गर्नुहुँदा तँ मरिस् भने, यो मृत्यु एक दण्ड हो, सामान्य मृत्यु होइन। जो मानिसहरू दण्डस्वरूप मर्छन् तिनीहरूलाई मुक्ति प्राप्त गर्ने मौका हुँदैन। के पावलले पातालमा निरन्तर दण्ड भोगिरहेको छैन र? दुई हजार वर्ष भइसक्दा पनि ऊ अझै त्यहीँ दण्डित भइरहेको छ! तैँले जानाजान गलत काम गरिस् भने त्यो झन् खराब हुन्छ, अनि त्यसको दण्ड अझ गम्भीर हुनेछ!
कतिपय मानिसहरू भन्छन्, “म जहिले पनि बिरामी नै हुँदै आएको छु, सधैँ कष्ट र पीडा भोग्दै आएको छु। मलाई सधैँ परिस्थितिहरूले घेरेका छन्, तर मैले पवित्र आत्माको काम कहिल्यै अनुभूति गरिनँ।” यो ठीक हो। पवित्र आत्माले बढीजसो यसरी नै काम गर्नुहुन्छ—तैँले त्यो अनुभूति गर्नै सक्दैनस्। यो शोधन हो। कहिलेकाहीँ पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ र सङ्गतिमार्फत तँलाई सत्यता बुझ्ने तुल्याउनुहुनेछ। कहिलेकाहीँ उहाँले तेरो परिवेशमार्फत तँलाई केही महसुस गराउनुहुनेछ, र उक्त परिवेशमा तेरो जाँच लिनुहुनेछ, तँलाई खार्नुहुनेछ, तालिम दिनुहुनेछ, र तँलाई हुर्काउनु-बढाउनुहुनेछ—पवित्र आत्माले यसरी नै काम गर्नुहुन्छ। पहिले तिमीहरूले विभिन्न परिस्थितिहरू सामना गर्नुपर्दा तिमीहरूमा ज्ञान थिएन किनकि तिमीहरूले हृदयमा सत्यता खोज्न ध्यान दिएनौ। जब व्यक्तिले सत्यता बुझ्दैन, तब उसले कुनै पनि कुरा साँचो रूपमा देख्न सक्दैन र उसको बोध सधैँ विकृत रहन्छ। यो कुरा कुनै व्यक्ति बिरामी पर्दा उसले त्यो परमेश्वरले उसलाई ताडना दिनुभएको भनी विश्वास गरेजस्तै हो, जबकि खासमा कतिपय रोगहरू मानवसिर्जित हुन्छन्, जुन जीवन जिउने नियमहरू नबुझ्नाले निम्तिन्छ। जब तैँले अत्यधिक मात्रामा खान्छस् र स्वस्थ जीवन जिउने कुरा बुझ्दैनस्, तब तँ विविध रूपमा बिरामी पर्छस्। तर अझै पनि तँ त्यो परमेश्वरको ताडना हो भन्छस्, जबकि खासमा त्यो तेरो आफ्नै अज्ञानताले गर्दा भएको हुन्छ। तर फेरि पनि, कुनै रोग मानवकै कारण भएको भए पनि वा पवित्र आत्माद्वारा दिइएको भए पनि, यो परमेश्वरको विशेष अनुग्रह हो; यो तँलाई पाठ सिकाउनको लागि हो, र तैँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, गुनासो गर्ने होइन। तैँले गर्ने हरेक गुनासोले दाग बसाउँछ, र त्यो धोएर पखाल्न नसकिने पाप हो! जब तैँले गुनासो गर्छस्, तेरो स्थितिलाई परिवर्तन गर्न कति समय लाग्छ? यदि तँ अलिअलि नकारात्मक छस् भने, आफूलाई ठीक अवस्थामा ल्याउन तँलाई एक महिना लाग्न सक्छ। तर जब तैँले गुनासो गर्छस्, र केही नकारात्मक भावनाहरू पोखाउन थाल्छस्, तब तँ एक वर्षमा पनि सायद ठीक अवस्थामा नआउन सक्छस्, र त्यसपछि पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछैन। यदि तँ सधैँ गुनासो गर्छस् भने त्यो तेरो लागि भयानक कुरो हो, र त्यसपछि तँलाई पवित्र आत्माको कार्य प्राप्त गर्न अझै कठिन हुन्छ। आफ्नो मानसिकता सही पार्न र पवित्र आत्माको केही काम प्राप्त गर्नको लागि व्यक्तिले प्रार्थनामा ठूलो प्रयास गर्नुपर्ने हुन्छ। तर मानसिकता पूर्णतया बदल्नु भनेको सहज कुरो होइन। सत्यता खोजी गरेर अनि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरेर मात्रै यस्तो गर्न सकिन्छ। वास्तवमा तेरो आफ्नै अनुभवमा पनि तैँले पवित्र आत्माको काम प्राप्त गरेका धेरै समयहरू छन्। बढीजसो, तैँले उत्पीडन र कठिनाइ वा बिमार र पीडा सामना गर्दा, यस्ता समयहरू आउँछन्। त्यसपछि मात्र तैँले परमेश्वरलाई दृढतापूर्वक प्रार्थना गर्छस्, र उहाँलाई तेरो चङ्गाइ गराउनुहोस्, र तँलाई आस्था र शक्ति प्रदान गर्नुहोस् भनेर भन्छस्। तैँले यही एउटा कुराको लागि मात्र प्रार्थना गर्छस्। तँ अझै बढी प्रार्थना गर्न र परमेश्वरको अभिप्राय खोज्न पनि चाहन्छस् होला, तर के भन्ने भनी तँलाई थाहा छैन। तँ तेरो हृदयका केही शब्दहरू परमेश्वरसित सङ्गति गर्न चाहन्छस्, तर उहाँमा चढाउनको लागि तँसित एक शब्द पनि छैन। तेरो कद अत्यन्तै सानो छ। कहिलेकाहीँ परमेश्वरले तेरो वरपरका मानिसहरूमार्फत तँलाई कठिनाइमा पार्नुहुन्छ। ती समयहरूमा, तैँले अरू केही गर्न सक्दैनस्, बस परमेश्वरसामु फर्केर यसरी चिन्तन मात्र गर्न सक्छस्, “मैले ठ्याक्कै के गलत गरेछु? कृपया परमेश्वर, मलाई अन्तर्दृष्टि प्रदान गरेर बुझ्न दिनुहोस्। यदि परमेश्वरले मलाई अन्तर्दृष्टि दिनुहुन्न भने, म प्रार्थना मात्रै गरिबस्नेछु। यदि मैले प्रार्थना गरेपछि पनि बुझ्दिनँ भने, म यस मामिलामा खोजी गरिरहनेछु, र म सत्यता बुझ्ने व्यक्तिसँग खोजी गर्नेछु।” आफ्नो लागि जिम्मेवारी लिनु भनेकै यही हो। कतिपय मानिसहरू आफूलाई केही आइपर्दा कहिल्यै सत्यता खोज्दैनन्। तिनीहरू धर्मसिद्धान्तका केही वचन र धर्मसिद्धान्तहरू बुझ्छन् र सत्यता नै बुझ्छु भन्ठान्छन्। तिनीहरूले आफैलाई मूर्ख तुल्याउँछन्, जुन मूर्खता हो। तिनीहरू सबैभन्दा मूर्ख र अज्ञानी मानिसहरू हुन्, र यसको सम्भावित एउटै परिणाम यो हुन्छ कि तिनीहरूले आफैलाई हानि र नाश गर्नेछन्, तर सत्यता बिलकुलै प्राप्त गर्नेछैनन्।
तिमीहरूले सामान्यतया त्यति धेरै प्रार्थना गर्दैनौ, गर्छौ र? जब मानिसहरूले त्यति धेरै प्रार्थना गर्दैनन्, तब तिनीहरूले त्यति धेरै खोजी गर्दैनन्, र यदि तिनीहरूले त्यति धेरै खोजी गर्दैनन् भने, तिनीहरूलाई सत्यता बुझ्न कठिन हुन्छ, र तिनीहरूमा समर्पण हुँदैन। यदि तँसित खोजी गर्ने मनोवृत्ति छैन भने, तँमा समर्पण कसरी हुन सक्छ र? तँ कसरी परमेश्वरका कार्यहरू बुझ्न सक्षम हुन्छस् र? तँलाई परमेश्वरले तँमाथि कसरी काम गर्नुहुन्छ भन्नेसमेत थाहा छैन, न त तैँले कसमा समर्पित हुनुपर्छ वा कसका वचनहरू सुन्नुपर्छ भन्ने नै थाहा छ। तैँले त समर्पणबारे सोच्दा पनि सोच्दैनस्। समर्पण कुनै अस्पष्ट कुरा होइन। यसको लागि एउटा उद्देश्य र एउटा लक्ष्य आवश्यक पर्छ। यदि तँलाई परमेश्वरले किन सत्यता व्यक्त गर्नुहुन्छ वा उहाँले के गर्नुहुन्छ भन्नेसमेत थाहा छैन भने, तँ कसरी समर्पित हुन सक्छस् र? जब तैँले समर्पण शब्द उच्चारण गर्छस्, त्यो एउटा खोक्रो शब्द बन्छ। तँलाई केही आइपर्दा, तैँले कसरी प्रार्थना गर्नुपर्छ, र तेरो हृदयको कुरा बोलेर तैँले कसरी खोजी गर्नुपर्छ? तैँले के खोजी गर्नुपर्छ? तँ यी कुराहरूबारे प्रस्ट हुनुपर्छ, अनि मात्र तैँले वास्तविक प्रार्थना गर्न सक्छस्। तैँले प्रार्थना गर्दा, अरू मानिसहरूले बोल्ने कुरा नक्कल नगर्, “तपाईंको इच्छा पूरा गरिनेछ” भन्ने प्रभु येशूका वचनहरू त झनै नक्कल नगर्। आँखा चिम्लेर यी वचनहरू नक्कल नगर्। तँभित्र जे छ त्यो अन्तर्दृष्टि र ज्योतिबाहेक अरू केही होइन, र त्यो परमेश्वरको इच्छा पूरा गरेसरह हुनै सक्दैन। जब कहिलेकाहीँ तँलाई काटछाँट गरिन्छ वा तैँले केही कष्ट भोग्छस्, तब त्यो परमेश्वरले तँलाई सिद्ध पार्नुभएको वा त्यो उहाँको इच्छा हो भनेर नभन्। त्यो भन्नु गलत हो, र तैँले यसरी प्रार्थना गर्नु हुँदैन। तैँले गलत हैसियत ओगटिरहेको हुन्छस्, र पवित्र आत्माले तँमाथि काम गर्नुहुनेछैन। कतिपय मानिसहरूले येशूको प्रार्थना नक्कल गर्छन्, र यसो भन्छन्, “तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” के त्यसले तँलाई परमेश्वरसित एउटै स्तरमा राख्नेछ र? ख्रीष्टले देहको दृष्टिकोणबाट स्वर्गका आत्मासित उक्त प्रार्थना बोल्नुभएको थियो। उहाँहरू एउटै स्तरमा, एउटै हैसियतमा हुनुहुन्थ्यो। उहाँहरू एउटै परमेश्वर हुनुहुन्थ्यो, केवल दृष्टिकोणमा फरक हुनुहुन्थ्यो। ख्रीष्टले त्यस तरिकाले प्रार्थना गर्नुहुन्थ्यो; तर यदि मानिसहरूले पनि त्यसरी नै प्रार्थना गर्छन् भने, यसले तिनीहरूमा समझ छैन भन्ने देखाउँछ, र पवित्र आत्माले तिनीहरूलाई बिलकुलै अन्तर्दृष्टि नदिनु कुनै आश्चर्य होइन! तैँले बोल्ने ती वचनहरू नक्कल गरिएका वचनहरू हुन्, हृदयबाट बोलिएका वचनहरू होइनन्। ती पूर्ण रूपले खोक्रो हुन् र व्यावहारिक होइनन्, यसले देखाउँछ कि परमेश्वरका वचनहरू वा मापदण्डहरू बुझ्न सक्षम हुनको लागि तेरो कद अति सानो छ। पवित्र आत्माले कसरी तँलाई अन्तर्दृष्टि दिनुहुनेछ? मानिसहरू अत्यन्तै दुविधामा हुन्छन्! यदि तिनीहरूले यति पनि पत्ता लगाउन सक्दैनन् भने, तिनीहरूले सत्यता कहिल्यै बुझ्नेछैनन्। प्रार्थना गर्दा यतिकै अरूको नक्कल नगर्। तँसित तेरो आफ्नै सोच र विचारहरू हुनुपर्छ। यदि तैँले कुनै कुरा बुझ्दैनस् भने, तैँले सत्यता खोज्नुपर्छ। आफूलाई विभिन्न प्रकारका मामिलाहरू आइपर्दा, कसरी प्रार्थना गर्ने भनी तैँले बारम्बार मनन गर्नुपर्छ, र यदि अघि बढ्ने बाटो भेट्टाइस् भने, तैँले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि त्यस तरिकाले प्रार्थना गर्न डोर्याउनुपर्छ। परमेश्वर यसैमा खुसी मान्नुहुन्छ। परमेश्वरसामु कसरी आउने भनी सबैजनाले सिक्नुपर्छ। हरेक कुरालाई आँखा चिम्लेर आफैले सम्हाल्ने कोसिस नगर्, अनि तैँले जे गर्छस् त्यो तेरो कल्पनाको आधारमा नगर्। यदि त्यसो गर्दा, तैँले बाधा र अवरोधहरू निम्त्याउने र परमेश्वरको अभिप्रायविपरीत जाने कामहरू गर्छस् भने, त्यसले समस्या सिर्जना गर्नेछ। यदि तँलाई एउटा मण्डलीको अगुवाइ गर्न भनियो र तँ सधैँ वचन र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्छस्, तर परमेश्वरका वचनहरू कसरी खाने र पिउने वा परमेश्वरलाई कसरी प्रार्थना गर्ने भनेर सङ्गति गर्दैनस् भने, तँ बहकिएको छस्। यदि तँ सधैँ वचन र धर्मसिद्धान्तहरू भट्याउँदै मानिसहरूलाई खोक्रा प्रार्थनाहरू सिकाइरहन्छस्, र तिनीहरूले पनि त्यसमा बाइबलका केही वचनहरू र धर्मसिद्धान्तका वचनहरू मात्र पाठ गर्छन् भने, तिनीहरूले जति प्रार्थना गरे पनि त्यसबाट कुनै नतिजा आउनेछैन। तिनीहरूको जीवन प्रगति हुनेछैन, परमेश्वरसितको तिनीहरूको सम्बन्ध सामान्य हुनेछैन, र यसको मतलब तैँले तिनीहरूलाई पनि बहकाउनेछस्। कस्तो प्रकारको प्रार्थनाले नतिजा प्राप्त हुन्छ? त्यस्तो प्रार्थना खुला हृदयले परमेश्वरसित गरिने सङ्गति हो। सबैभन्दा महत्त्वपूर्ण कुरो, व्यक्तिले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँका वचनहरू र उहाँका मापदण्डहरूबमोजिम सत्यता खोज्नुपर्छ। यसको लागि व्यक्ति पूर्ण हृदयले समर्पित हुनुपर्छ। पूर्ण हृदयले समर्पित नहुनेहरूलाई यो कुरा हासिल गर्न कठिन हुनेछ। पवित्र आत्माले कस्ता खाले मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ? तीक्ष्ण र मिहीन सोच भएकाहरूलाई। जब पवित्र आत्माले तिनीहरूलाई कुनै भावना वा अन्तर्दृष्टि दिनुहुन्छ, तब तिनीहरूले यो पवित्र आत्माको कार्य हो, र यो परमेश्वरले गर्नुभएको काम हो भनेर अनुभूति गर्न सक्छन्। अथवा कहिलेकहीँ, जब तिनीहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ वा धिक्कार्नुहुन्छ, तब तिनीहरूले तुरुन्तै त्यो बताउन सक्छन्, र आफैलाई संयमित पार्छन्। यस्ता खालका मानिसहरू नै पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुने मानिसहरू हुन्। यदि कुनै व्यक्ति लापरवाह छ र उसमा आत्मिक बुझाइ हुँदैन भने, पवित्र आत्माले उसलाई कुनै भावना दिनुहुँदा पनि उसले थाहा पाउनेछैन। यस्ताहरूले पवित्र आत्माको कामलाई बेवास्ता गर्छन्। पवित्र आत्माले तिनीहरूलाई तीन-चारपटक पनि अन्तर्दृष्टि दिन सक्नुहुन्छ, तर अझै पनि तिनीहरू त्यो स्विकार्दैनन्, र त्यसैले पवित्र आत्माले तिनीहरूमाथि काम गर्नै छोड्नुहुन्छ। कतिपय मानिसहरू किन विश्वास त गरी नै रहन्छन्, तर परमेश्वरकहाँ पुग्ने वा पवित्र आत्माको काम अनुभूत गर्ने गर्दैनन्, र भित्री रूपमा अँध्यारो, उदास र ऊर्जाहीन हुन्छन्? तिनीहरूमा पवित्र आत्माको अन्तर्दृष्टि बिलकुलै हुँदैन। तिनीहरूले धर्मसिद्धान्तका ती निर्जीव कुराहरूबाट के शक्ति पाउँथे र? उत्साहले मात्र व्यक्ति धेरैबेर टिक्न सक्दैन; शक्ति प्राप्त गर्नको लागि उसले सत्यता बुझ्नुपर्छ। त्यसैले, परमेश्वरमा विश्वास गर्न, व्यक्तिमा मिहीन सोच हुनुपर्छ, र उसले परमेश्वरका वचनहरू पढ्नमा, आफूलाई चिन्नमा, अनि सत्यता बुझ्न र अभ्यास गर्नमा ध्यान दिनुपर्छ। त्यसपछि मात्र उसले पवित्र आत्माको काम र अगुवाइ प्राप्त गर्न सक्छ। कतिपय मानिसहरूसँग सत्यता बोध गर्ने क्षमता मात्र हुन्छ, तर तिनीहरूले पवित्र आत्माको काम अवलोकन वा अनुभव कहिल्यै गरेका हुँदैनन्। अघि बढ्दै जाँदा, तिमीहरूले सानोभन्दा सानो भावना, र सानोभन्दा सानो ज्योतिलाई पनि ध्यान दिनुपर्छ। तँलाई केही हुँदा, प्रत्येकपटक तैँले यसलाई सत्यताअनुरूप हेर्ने र व्यवहार गर्ने गर्नुपर्छ। यसरी तँ बिस्तारै परमेश्वरमा विश्वास गर्ने सही मार्गमा पुग्न सक्नेछस्। यदि तँ हरेक कुरालाई दैहिक नजरले हेर्छस् भने; यदि तँ हरेक कुरालाई धर्मसिद्धान्त, तर्क र नियमहरू प्रयोग गरी विश्लेषण गर्छस् भने; अनि यदि तँ हरेक कुरालाई मानव सोचमा आधारित भएर विश्लेषण गर्छस् र सम्हाल्छस् भने, त्यो सत्यता खोज्नु होइन, र तँ यसरी परमेश्वरप्रतिको समर्पण गर्न सक्षम हुनेछैनस्। तैँले परमेश्वरमा जति वर्ष विश्वास गरेको भए पनि, तँ परमेश्वरका वचनहरूभन्दा बाहिर हुनेछस्, तँ बाह्य व्यक्ति हुनेछस्, र तैँले सत्यता बुझ्न सक्नेछैनस्। तिमीहरूले आफ्नो ध्यान अब बिस्तारै यस दिशामा सार्नुपर्छ र सत्यतामा लागिपर्नुपर्छ। कैयौँ वर्षको अनुभवपछि, तँ कदको हिसाबले थोरै बढ्नेछस् र केही सत्यता बुझ्न सक्षम हुनेछस्। यो नसोच् कि परमेश्वरमा ढिलो आस्था राख्नु समस्या होइन, र अरू मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छन् भने तँ पनि सक्छस्, वा तँ कहिल्यै पछि पर्नेछैनस्। तैँले यस्तो सोच्नु हुँदैन। यदि यस्तो सोच्छस् भने, तँ अवश्य पछि पर्नेछस्। यदि तँ परमेश्वरको आस्थामा ढिलो आएको होस् भने, तँ झन् बढी हतारिनुपर्छ। तैँले अरूलाई भेट्टाउन सक्दो गर्नुपर्छ, किनकि त्यसपछि मात्र तैँले परमेश्वरको कामका पाइलाहरूको लय समात्न अनि आफूलाई पछि पर्न र निष्कासित हुनबाट रोक्न सक्नेछस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।