सत्यता र परमेश्‍वरलाई कसरी लिने भन्‍नेसम्बन्धी वचनहरू (अंश ९)

बाइबलको पुरानो करारमा अभिलेख गरिएका नोआ अब्राहम र अय्यूबको मानवताका विशेषता के-कस्ता थिए? तिनीहरूसँग सामान्य मानवताका के-कस्ता विशेषता थिए, जसका कारण परमेश्‍वरले तिनीहरूलाई स्वीकारयोग्य ठान्‍नु भयो? (तिनीहरूसँग विशेष गरी विवेक र समझ थियो।) यो कुरा पूर्णतः सही हो। अय्यूबको त्यति लामो जीवनकालमा पनि परमेश्‍वरले उनीसँग व्यक्तिगत रूपमा कुरा गर्दै गर्नुभएन र व्यक्तिगत रूपमा उनको सामु प्रकट हुनुभएन, तैपनि उनले परमेश्‍वरले गर्ने सबै कुरा बुझ्न र महसुस गर्न सक्थे। अन्त्यमा, उनले परमेश्‍वरबारेको आफ्नो ज्ञानलाई निम्न शब्दमा सारांशित गरे: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। यी शब्दहरूको अर्थ के हो? तिनको अर्थ हो: “यहोवा नै परमेश्‍वर हुनुहुन्छ। उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ। उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ बोल्नुहुँदा, उहाँले बोलेको कुरा आधा मात्र बुझे पनि, मैले त्यसलाई सुन्‍नु पर्छ र अक्षरशः पालना गर्नुपर्छ।” परमेश्‍वरबारे अय्यूबको ज्ञान यो स्तरसम्म पुगेपछि मात्रै उहाँले उनलाई स्वीकारयोग्य मान्‍नु भयो। अय्यूबसँग यस्तो अनुभव र समझ थियो, अनि उनी परमेश्‍वरले आफूमाथि राखिदिनुभएको जाँच स्विकार्न र तिनमा समर्पित हुन पनि सक्थे। यी सबै कुरा उनीसँग सामान्य मानवताको विवेक र समझ भएको आधारमा हासिल भएको थियो। उनले परमेश्‍वरलाई देखेको वा नदेखेको भए पनि, परमेश्‍वरले उनलाई जेसुकै गर्नुभएको भए पनि, र उनलाई जाँच गर्नुभएको वा उनीसामु प्रकट हुनुभएको वा नहुनुभएको भए पनि, उनले सधैँ यस्तो मान्थे: “यहोवा नै मेरो परमेश्‍वर हुनुहुन्छ, र मैले परमेश्‍वरले निर्देश गर्नुहुने र उहाँ हर्षित हुनुहुने कुरालाई पालना गर्नुपर्छ, चाहे म त्यसलाई बुझूँ वा नबुझूँ; मैले उहाँको मार्ग पछ्याउनुपर्छ, र मैले उहाँलाई सुन्‍नु पर्छ र उहाँप्रति समर्पित हुनुपर्छ।” अय्यूबको पुस्तकमा लेखिएको छ कि अय्यूबका सन्तान प्रायः भोजभतेर गर्ने गर्थे, तर अय्यूब कहिल्यै ती भोजभतेरमा सहभागी हुँदैन थिए, बरु उनी तिनीहरूका लागि प्रार्थना गर्थे र होमबलि दिन्थे। अय्यूबले बारम्बार यसो गर्नुले परमेश्‍वरले खान, पिउन र मनोरञ्जन गर्नमा मानवजातिको आसक्ति, अनि मानवजातिको भोजभतेरयुक्त जीवनलाई घृणा गर्नुहुन्छ भनेर उनलाई हृदयदेखि नै थाहा थियो भन्‍ने कुरा प्रमाणित गर्छ। अय्यूबले आफ्नो हृदयमा यो कुरा नै सत्यता हो भनेर बुझ्थे, र उनले परमेश्‍वरले यो कुरा बोल्नुभएको प्रत्यक्ष रूपमा नसुनेको भए पनि, उनलाई हृदयमा परमेश्‍वरको चाहना यही थियो भनेर थाहा थियो। अय्यूबले परमेश्‍वरले चाहना गर्नुभएको कुरा बुझेकाले उनले उहाँलाई सुन्‍न र उहाँप्रति समर्पित हुन सके, उनी सधैँ यसमा अडिग रहे, र खानपिन तथा भोजभतेरमा कहिल्यै सहभागी भएनन्। के अय्यूब सत्यता बुझ्थे? उनी बुझ्दैनथिए। उनीसँग सामान्य मानवताको विवेक र समझ भएकाले उनले त्यसो गर्न सके। विवेक र समझका साथै, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, उनले परमेश्‍वरमा साँचो विश्‍वास राख्थे। उनले परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र सृष्टिकर्ताले बोल्नुहुने कुरा परमेश्‍वरको इच्छा हो भन्‍ने कुरा आफ्नो हृदयको गहिराइदेखि नै बुझेका थिए। वर्तमान सन्दर्भमा, यो नै सत्यता हो, यो नै सर्वोच्च निर्देशन हो, र यो मानिसले पालना गर्नैपर्ने कुरा हो। त्यो मानिसले बुझ्न सक्ने परमेश्‍वरको चाहना भए पनि, वा परमेश्‍वरले बोल्नुभएको थोरै मात्र वचन भए पनि, मानिसले त्यसलाई स्विकार्नुपर्छ र पालना गर्नुपर्छ। मानिसमा हुनुपर्ने समझ ठ्याक्कै यही नै हो। जब मानिससँग यो समझ हुन्छ, उसलाई दृढतापूर्वक परमेश्‍वरको वचन पालन गर्न, उहाँको वचनलाई अभ्यास गर्न, अनि उहाँको वचनप्रति समर्पित हुन निकै सजिलो हुन्छ। त्यसो गर्दा कुनै पनि प्रकारको कठिनाइ, कष्ट हुनेछैन, अनि पक्कै पनि कुनै प्रकारको अवरोध हुनेछैन। के अय्यूब धेरैजसो सत्यता बुझ्थे? के उनी परमेश्‍वरलाई चिन्थे? के उनीसँग परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, वा उहाँको स्वभाव सारबारे ज्ञान थियो? आजका मानिससँग तुलना गर्दा, उनी उहाँलाई चिन्दैनथे, र उनी निकै कम बुझ्थे। तर, अय्यूबसँग आफूले बुझेका सबै कुरालाई अभ्यास गर्ने खुबी थियो। केही कुरा बुझेपछि उनी त्यसप्रति आज्ञाकारी हुन्थे र त्यसलाई पालना गर्थे। उनको मानवताको सबैभन्दा महान्, अनि मानिसले सबैभन्दा बढी तिरस्कार गर्ने पक्ष पनि यही नै थियो। मानिसहरू सोच्छन्, “के अय्यूब भोजभतेरमा सहभागी नभएका मात्र होइनन् र? के उनले परमेश्‍वरसामु नियमित रूपमा होमबलि चढाएका मात्र होइनन् र? आजको दृष्टिकोणबाट हेर्दा के उनी दैहिक सुख-सुविधामा लिप्त नभएका मात्र होइनन् र?” यी देखावटी मामलाहरूबाहेक केही होइनन्, तर जब तैँले यी कामकुराका पछाडि अय्यूबको स्वभाव, सार अनि मानवतालाई हेर्छस्, तब तैँले यी सहज मामला होइनन्, न त तिनलाई हासिल गर्न नै सजिलो छ भनेर बुझ्नेछस्। कुनै साधारण व्यक्ति पैसा जोगाउन भोजभतेरमा सहभागी नभएको भए, त्यसो गर्न सजिलो हुनेथियो। तर अय्यूब त्यस बेलाका सम्पन्‍न व्यक्ति थिए। कस्तो प्रकारको सम्पन्‍न व्यक्तिले भोजभतेर नगर्ने छनौट गर्छ? त्यसोभए, अय्यूब किन भोजभतेरदेखि टाढा रहे? (परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ भनेर उनलाई थाहा थियो। उनी परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सके।) निश्चय नै। परमेश्‍वरको डर मान्दा र दुष्टताबाट अलग बस्दा अय्यूबले खास गरी के अभ्यास गरे? उनलाई परमेश्‍वरले घृणा गर्नुहुने ती सबै कुरा दुष्टता हुन् भनेर थाहा थियो, त्यसैले उनले परमेश्‍वरको वचन पालना गरे, अनि परमेश्‍वरले घृणा गर्नुहुने कुनै पनि कामकुरा गर्दैनथे। जसले जेसुकै भने पनि, उनी कुनै पनि हालतमा ती कामकुरा गर्दैनथे। परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्नुको अर्थ यही हो। अय्यूब कसरी परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्षम भए? उनी मनमनै के सोचिरहेका थिए? उनले कसरी यी दुष्कर्महरू नगर्न सक्षम भए? उनीसँग परमेश्‍वरको डर मान्‍ने हृदय थियो। परमेश्‍वरको डर मान्‍ने हृदय हुनुको अर्थ के हो? यसको अर्थ के हो भने उनको हृदय परमेश्‍वरदेखि डराउँथ्यो, उनी परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्न सक्थे, अनि उनको हृदयमा परमेश्‍वरका लागि ठाउँ थियो। उनलाई परमेश्‍वरले त्यो कुरा देख्नुहुनेछ वा उहाँ रिसाउनुहुनेछ भन्‍ने डर थिएन। बरु उनी परमेश्‍वरलाई नै महान् मानेर हृदयदेखि नै सम्मान गर्थे, अनि परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन र परमेश्‍वरका वचनलाई दृढतापूर्वक पालना गर्न इच्छुक थिए। त्यसैले उनी परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सके। अहिले जसले पनि “परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्नु” भन्‍ने वाक्यांश उच्चारण गर्न सक्छ, तैपनि तिनीहरूलाई अय्यूबले त्यो कसरी पूरा गरे भन्‍ने कुरा थाहा छैन। वास्तवमा, अय्यूबले “परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्नु” लाई परमेश्‍वरप्रतिको विश्‍वासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण कुराका रूपमा लिएका थिए। त्यसैले, उनले परमेश्‍वरको आज्ञा नै पालन गरिरहेझैँ यी वचनहरू पालन गर्न सके। उनी परमेश्‍वरका वचन सुन्थे, किनभने उनको हृदयले परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्थ्यो। मानिसको नजरमा परमेश्‍वरका वचन जतिसुकै साधारण देखिए पनि, ती सामान्य वचन भए पनि, अय्यूबको हृदयमा यी वचन परमप्रभु परमेश्‍वरबाट आएका थिए; ती सबैभन्दा महान् र सबैभन्दा महत्त्वपूर्ण वचन थिए। यी वचनलाई मानिसले तिरस्कार गरे पनि, यदि ती परमेश्‍वरका वचन हुन् भने मानिसहरूले तिनलाई पालना गर्नुपर्छ—चाहे त्यसले गर्दा तिनीहरूलाई कसैले किन नगिज्याऊन् वा निन्दा नै किन नगरून्। तिनीहरूले दुःख-कष्ट सामना गरे पनि वा सतावटमा परे पनि, तिनीहरू अन्त्यसम्मै उहाँका वचनमा दृढ रहनुपर्छ; तिनीहरूले तिनलाई त्याग्नु हुन्‍न। परमेश्‍वरको डर मान्‍नु भनेको यही नै हो। तँ परमेश्‍वरले मानिसबाट माग गर्नुहुने हरेक शब्दप्रति दृढ रहनुपर्छ। जहाँसम्म परमेश्‍वरले निषेध गर्नुहुने वा उहाँले घृणा गर्नुहुने कुराहरूको सवाल छ, तँलाई तीबारे कुनै जानकारी छैन भने ठीकै छ, तर तँलाई तीबारे जानकारी छ भने तैँले ती काम बिलकुलै नगर्न सक्षम हुनुपर्छ। तँलाई तेरो परिवारले त्यागे पनि, अविश्‍वासीहरूले गिज्याए पनि, वा तेरा नजिकका मान्छेले तेरो उपहास गरे पनि वा तँलाई जिस्काए पनि, तँ दृढ रहन सक्नुपर्छ। तँ किन दृढ रहनुपर्छ? तेरो सुरुवाती बिन्दु के हो? तेरा सिद्धान्त के हुन्? तेरो सिद्धान्त यो हो, “म परमेश्‍वरका वचनप्रति दृढ रहनुपर्छ र मैले उहाँका चाहनाअनुसार काम गर्नुपर्छ। म परमेश्‍वरले मन पराउनुहुने काम गर्नमा दृढ रहनेछु, र उहाँले घृणा गर्नुहुने कामकुरा त्याग्नमा अविचल रहनेछु। यदि मलाई परमेश्‍वरको अभिप्राय के हो भन्‍ने थाहा छैन भने, त्यो ठूलो कुरो होइन, तर यदि मलाई उहाँको अभिप्राय के हो भन्‍ने थाहा छ अनि म त्यसलाई बुझ्छु भने, म उहाँका वचन सुन्‍न र तिनमा समर्पित हुनमा दृढ रहनेछु। मलाई कसैले पनि अवरोध गर्न सक्नेछैन, अनि यदि संसारकै अन्त्य भयो भने पनि म डगमगाउने छैन।” परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्नुको अर्थ यही हो।

मानिस दुष्टताबाट अलग बस्न सक्षम हुनका निम्ति पूर्वसर्त भनेको परमेश्‍वरको डर मान्‍ने हृदय हुनु हो। परमेश्‍वरको डर मान्‍ने हृदय कसरी निर्माण गरिन्छ? परमेश्‍वरलाई नै महान् मानेर सम्मान गरेर। परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नुको अर्थ के हो? यसको अर्थ व्यक्तिले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ भनी जान्‍नु, अनि उसको हृदयले परमेश्‍वरको डर मान्‍नु हो। परिणामस्वरूप, ऊ कुनै पनि परिस्थिति मूल्याङ्कन गर्दा परमेश्‍वरका वचन प्रयोग गर्न, अनि परमेश्‍वरका वचनलाई आफ्नो मापदण्ड र मानकको रूपमा प्रयोग गर्न सक्षम हुन्छ। परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नुको अर्थ यही नै हो। सरल शब्दमा भन्दा, परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नु भनेको तेरो हृदयमा परमेश्‍वर हुनु, हृदयले परमेश्‍वरबारे सोच्नु, आफूले गर्ने काममा आफूलाई नभुल्नु, अनि आफै कामकुरा गर्ने पहल नगर्नु, बरु परमेश्‍वरलाई कामकुराको नेतृत्व गर्न दिनु हो। तँ सबै कुरामा यस्तो सोच्छस्, “म परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई पछ्याउँछु। म परमेश्‍वरले चुन्‍नु भएको एउटा सानो सृजित प्राणी बाहेक केही पनि होइन। मैले आफ्नै इच्छाबाट उत्पन्‍न हुने दृष्टिकोण, सुझाव र निर्णयहरूलाई त्याग्नुपर्छ, अनि परमेश्‍वरलाई मेरो मालिक हुन दिनुपर्छ। परमेश्‍वर मेरो प्रभु, मेरो सहारा, अनि मैले गर्ने सबै कामकुरामा मलाई मार्गदर्शन गर्ने उज्यालो ज्योति हुनुहुन्छ। मैले उहाँका वचन र उहाँका चाहनाअनुसार कामकुराहरू गर्नैपर्छ, र आफैलाई प्राथमिकता दिनु हुन्‍न।” आफ्नो हृदयमा परमेश्‍वर हुनु भनेको यही हो। तैँले केही गर्न चाहँदा, आवेगमा आएर वा हतारमा कार्य नगर्। पहिला, परमेश्‍वरका वचनले के भन्छन्, उहाँले तेरा कार्यलाई घृणा गर्नुहुन्छ कि हुन्‍न, अनि तेरा कार्य उहाँको अभिप्राय अनुरूप छन् कि छैनन्, त्यसबारे सोच्। पहिला हृदयमा, आफैलाई सोधपुछ गर्, सोच् अनि मनन गर्; हतार नगर्। हतार गर्नु भनेको आवेगमा आउनु, अनि गरम मिजासीपन र मानव इच्छाद्वारा उत्प्रेरित हुनु हो। यदि तँ सधैँ हतार गर्छस् र आवेगमा आउँछस् भने, यसले तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न भन्‍ने कुरालाई देखाउँछ। अनि जब तँ परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्छु भन्छस्, के यी खोक्रा शब्द हुँदैनन् र? तेरो वास्तविकता खोइ? तेरो कुनै वास्तविकता छैन, अनि तैँले परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्न सक्दैनस्। तँ सबै मामिलामा घरको मालिक झैँ व्यवहार गर्छस्, हरेक मोडमा आफूखुसी गर्छस्। त्यसोभए, यदि तँ आफूसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भन्छस् भने, के यो बकवाद होइन र? यी शब्दहरू प्रयोग गरेर तँ मानिसलाई छल गर्दैछस्। यदि कुनै व्यक्तिमा परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, त्यो वास्तवमा कसरी प्रकट हुन्छ? परमेश्‍वरलाई नै महान् मानेर सम्मान गरेर। परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्नुको ठोस प्रकटीकरण भनेको तिनीहरूको हृदयमा परमेश्‍वरका लागि स्थान हुनु—अग्र स्थान हुनु हो। तिनीहरू हृदयदेखि नै परमेश्‍वरलाई आफ्नो प्रभु मान्छन् र उहाँको अख्तियार स्विकार्छन्। केही आइपर्दा तिनीहरूको हृदय परमेश्‍वरप्रति समर्पणकारी हुन्छ। तिनीहरू न त हतार गर्छन्, न त आवेगमा नै आउँछन्, अनि तिनीहरू उग्र रूपमा कार्य पनि गर्दैनन्; बरु तिनीहरू शान्त भएर त्यसलाई सामना गर्न, अनि सत्यता सिद्धान्तहरू खोज्नका लागि आफूलाई परमेश्‍वरसामु शान्त राख्न सक्छन्। तँ कामकुरा परमेश्‍वरका वचनअनुसार गर्छस् कि आफ्नै इच्छाअनुसार, अनि तैँले परमेश्‍वरको वचनलाई नेतृत्व गर्न दिन्छस् कि आफ्नै इच्छालाई भन्‍ने कुरा तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरामा भर पर्छ। तँ तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ भन्छस्, तर केही आइपर्दा, तँ अन्धाधुन्ध काम गर्छस्, अन्तिम निर्णय आफै गर्छस्, अनि परमेश्‍वरलाई पाखा लगाउँछस्। के यो परमेश्‍वर हुनुभएको हृदयको प्रकटीकरण हो त? कतिपय मानिसहरू केही आइपर्दा परमेश्‍वरलाई प्रार्थना गर्छन्, तर प्रार्थना गरिसकेपछि विचारमग्न हुँदै यस्तो सोच्छन्, “मलाई लाग्छ मैले यही नै गर्नुपर्छ। मलाई लाग्छ मैले त्यही नै गर्नुपर्छ।” तँ सधैँ आफ्नै इच्छा पछ्याउँछस्, र अरूले तँसँग जसरी सङ्गति गरे पनि, कसैको कुरा सुन्दैनस्। के यो परमेश्‍वरको डर नमान्‍ने हृदयको प्रकटीकरण होइन र? तैँले सत्यता सिद्धान्तहरू नखोज्ने हुनाले अनि सत्यता अभ्यास नगर्ने हुनाले, जब तँ परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्छु र मसँग परमेश्‍वरको डर मान्ने हृदय छ भनेर भन्छस्, तब ती खोक्रा शब्द मात्र हुन्छन्। आफ्नो हृदयमा परमेश्‍वर नहुने, अनि परमेश्‍वरलाई नै महान् मानेर सम्मान गर्न नसक्नेहरू, परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिस हुन्। केही आइपर्दा सत्यता खोज्न नसक्ने, अनि परमेश्‍वरप्रति समर्पणकारी हृदय नभएका सबै मानिसहरू विवेक र समझ नभएका मानिस हुन्। यदि कसैसँग साँच्चै विवेक र समझ छ भने, केही आइपर्दा उसले स्वाभाविक रूपमै सत्यता खोज्न सक्नेछ। उसले सबैभन्दा पहिले यस्तो सोच्नैपर्छ, “म परमेश्‍वरमा विश्‍वास गर्छु। म परमेश्‍वरको मुक्ति खोज्न आएको छु। मेरो स्वभाव भ्रष्ट भएकाले, मैले जे गरे पनि, म आफैसँग मात्र सबै अख्तियार छ भन्‍ने ठान्छु; म सधैँ परमेश्‍वरका अभिप्रायविरुद्ध जान्छु। मैले पश्चात्ताप गर्नैपर्छ। मैले यसरी परमेश्‍वरको विद्रोह गरिरहनु हुँदैन। मैले परमेश्‍वरप्रति कसरी समर्पणकारी हुने भनेर सिक्नैपर्छ। मैले परमेश्‍वरका वचनले के भन्छन्, अनि सत्यता सिद्धान्तहरू के हुन् भनेर खोज्नैपर्छ।” सामान्य मानवताको समझबाट उत्पन्‍न हुने विचार तथा आकाङ्क्षा यिनै हुन्। तैँले यिनै सिद्धान्त र मनोवृत्तिका साथ कामकुराहरू गर्नुपर्छ। जब तँसँग सामान्य मानवताको समझ हुन्छ, तब तेरो मनोवृत्ति यस्तो हुन्छ; जब तँसँग सामान्य मानवताको समझ हुँदैन, तब तेरो मनोवृत्ति यस्तो हुँदैन। त्यसैले सामान्य मानवताको समझ हुनु जरूरी र अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो प्रत्यक्ष रूपमा मानिसहरूको सत्यता बुझाइ र मुक्ति प्राप्तिसँग सम्बन्धित हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्