सत्यता र परमेश्वरलाई कसरी लिने भन्नेसम्बन्धी वचनहरू (अंश ३)
एकदमै धेरै विश्वासीहरूले जीवन स्वभाव रूपान्तरणलाई महत्त्व दिनुको सट्टा तिनीहरूप्रति परमेश्वरको मनोवृत्ति के छ र तिनीहरूले परमेश्वरको हृदयमा ठाउँ ओगट्छन् कि ओगट्दैनन् भनी चासो राख्छन्। तिनीहरू सधैँ परमेश्वरको नजरमा कस्तो देखिन्छौँ र उहाँको हृदयमा स्थान लिएका छौँ छैनौँ भनी अनुमान गर्ने प्रयास गरिरहन्छन्। धेरै मानिसहरूले यसप्रकारका सोचहरू पाल्छन्, अनि तिनीहरू परमेश्वरसँग आमनेसामने भए नै भने, उहाँ तिनीहरूसँग बोल्दा खुसी हुनुहुन्छ कि क्रोधित भनी सधैँ नियाल्ने गर्छन्। अनि, यस्ता मानिसहरू पनि हुन्छन् जो सधैँ अरूलाई यस्तो सोधिरहन्छन्, “के परमेश्वरले मेरा कठिनाइहरू उल्लेख गर्नुभएको छ? उहाँले मेरो बारे केचाहिँ सोच्नुहुन्छ त? के उहाँले मेरो बारेमा कुनै चासो देखाउनुहुन्छ र?” कतिपयको त झनै गम्भीर समस्याहरू हुन्छन्—परमेश्वरले तिनीहरूलाई झलक्क मात्र हेर्नुभयो भने पनि, तिनीहरूले नयाँ समस्या पत्ता लगाएजस्तो हुन्छ: “धत्तेरि, परमेश्वरले भर्खर मलाई झलक्क हेर्नुभयो, अनि त्यो त्यति खुसीको हेराइ थिएन, यो त राम्रो सङ्केत होइन।” मानिसहरू यस्ता कुराहरूलाई धेरै महत्त्व दिन्छन्। केही मानिसहरू यसो भन्छन्: “हामीले विश्वास गर्ने परमेश्वर देहधारी परमेश्वर हुनुहुन्छ, त्यसैले यदि उहाँले हामीलाई ध्यान दिनुभएन भने, के त्यो भनेको हाम्रो लागि अन्त्यको सङ्केत होइन र?” तिनीहरूले यसो भन्नुको अर्थचाहिँ यो हो, “यदि परमेश्वरको हृदयमा हाम्रो लागि ठाउँ छैन भने, हामीले किन विश्वास गर्नु? हामीले विश्वास गर्न बन्द गर्नुपर्छ!” के यो समझ नहुनु होइन र? के तँलाई मानिसहरूले परमेश्वरमा किन विश्वास गर्नुपर्छ भन्ने थाहा छ? मानिसहरूले आफ्नो हृदयमा परमेश्वरको लागि ठाउँ छ छैन भनेर कहिल्यै मनन गर्दैनन्, तैपनि तिनीहरू परमेश्वरको हृदयमा चाहिँ ठाउँ चाहन्छन्। तिनीहरू कति अहङ्कारी र अभिमानी हुन्छन्! तिनीहरूको सबैभन्दा असमझदार भाग यही हो। केही त कतिसम्म असमझदार हुन्छन् भने, परमेश्वरले अरूबारे सोध्नुहँदा, अनि तिनीहरूको नाम उल्लेख नगर्नुहुँदा, वा तिनीहरूको सट्टा अरूप्रति चासो राख्नुहुँदा र ख्याल गर्नुहुँदा, तिनीहरू असन्तुष्ट महसुस गर्छन् अनि परमेश्वर अधर्मी हुनुहुन्छ, र निष्पक्ष र समझदार पनि हुनुहुन्न भन्दै उहाँबारे गनगन र गुनासो गर्न थाल्छन्। यो तिनीहरूको समझको समस्या हो, अनि तिनीहरू मानसिक रूपमा अलिक असामान्य पनि हुन्छन्। सामान्य परिस्थितिमा, मानिसहरू सधैँ परमेश्वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूमा समर्पित हुन्छु, आफूलाई परमेश्वरले जस्तोसुकै व्यवहार गर्नुभए पनि कहिल्यै गुनासो गर्दिनँ, अनि परमेश्वरले तिनीहरूलाई काँटछाँट, न्याय वा सजाय गर्नुहुँदा केही समस्या हुँदैन भन्ने दावा गर्छन्, तर वास्तविक रूपमा सामना गर्नुपर्दा चाहिँ तिनीहरूले यस्ता कुराहरू स्विकार्दैनन्। के मानिसहरूमा समझ हुन्छ त? मानिसहरूले आफूलाई कतिसम्म ठूलो ठान्छन्, र आफू कतिसम्म महत्त्वपूर्ण रहेको विश्वास गर्छन् भने, तिनीहरूलाई परमेश्वरले गलत शैलीमा हेर्नुभएजस्तो महसुस मात्र भयो भने पनि, तिनीहरू आफूले मुक्ति पाउने आशा छैन भन्ने महसुस गर्छन्, झन् परमेश्वरले साँच्चै तिनीहरूलाई काँटछाँट गर्नुभयो भने त के हुने हो, कुरै नगरौँ। अथवा, परमेश्वरले तिनीहरूसँग अलिक कठोर आवाजमा बोल्नुभयो अनि त्यो तिनीहरूको हृदयमा बिझ्यो भने, तिनीहरू नकारात्मक बन्छन्, र परमेश्वरमा विश्वास गर्नु नै व्यर्थ छ भन्ने सोच्न थाल्छन्। तिनीहरू यस्तो सोच्छन्, “परमेश्वरले मलाई बेवास्ता गर्नुभयो भने म कसरी उहाँमा विश्वास गरिरहन सक्छु त?” केही मानिसहरूले यस्ता खालका व्यक्तिलाई खुट्ट्याउन सक्दैनन्, अनि यस्तो सोच्छन्: “हेर त, परमेश्वरमा उसको विश्वास कति साँचो छ। परमेश्वर तिनीहरूका लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ। तिनीहरूले एक झलकबाटै परमेश्वरले भन्न खोज्नुभएको कुरा अर्थ्याउन सक्छन्। तिनीहरू परमेश्वरप्रति गहन रूपमा निष्ठावान् छन्—तिनीहरू साँच्चै पृथ्वीमा हुनुहुने परमेश्वरलाई स्वर्गको परमेश्वर झैँ देख्छन्।” के साँच्चै यस्तो हुन्छ त? यी मानिसहरू निकै मूर्ख हुन्छन्, त्यसैले तिनीहरू सबै मामिलामा अन्तर्ज्ञानहीन हुन्छन्; तिनीहरूको कद अति सानो हुन्छ र तिनीहरूले साँच्चै हरप्रकारको कुरूपता प्रकट गरिरहेका हुन्छन्। मानिसहरूको समझ यति कमजोर हुन्छ—तिनीहरू परमेश्वरमाथि अत्यन्तै धेरै मापदण्ड थोपर्छन्, र तिनीहरू उहाँबाट अति धेरै माग्छन्, तिनीहरूमा कति पनि समझ हुँदैन। मानिसहरू सधैँ परमेश्वरले यो वा त्यो गर्नुपऱ्यो भन्दै माग गरिरहन्छन्, र उहाँमा पूरै समर्पित हुन वा उहाँको आराधना गर्न सक्दैनन्। बरू, तिनीहरू आफ्नै प्राथमिकताअनुसार परमेश्वरबाट अनुचित मागहरू गर्छन्; तिनीहरू उहाँ एकदमै उदार हुनुपर्छ, उहाँ कहिल्यै कुनै कुराबाट क्रोधित हुनु हुँदैन, अनि हरेकपटक मानिसहरू भेट्दा उहाँ सधैँ मुस्कुराइरहनुपर्छ र तिनीहरूसँग सधैँ बोल्नुपर्छ, र तिनीहरूलाई सत्यता आपूर्ति गर्नुपर्छ, र तिनीहरूसँग सत्यता सङ्गति गर्नुपर्छ भन्ने माग गर्छन्। तिनीहरूले उहाँ सधैँ धैर्य हुनुपर्छ, र तिनीहरूको वरिपरि हुँदा प्रसन्न मुद्रामा हुनुपर्छ भन्ने पनि माग गर्छन्। मानिसहरूका मागहरू अति धेरै हुन्छन्; तिनीहरू अति कचकचे हुन्छन्! तिमीहरूले यी मामिलाहरू जाँच गर्नुपर्छ। मानव समझ अति कमजोर छ, होइन र? मानिसहरू परमेश्वरद्वारा योजनाबद्ध र बन्दोबस्त गरिएका कार्यहरूमा पूरै समर्पित हुन वा परमेश्वरबाट आउने सबथोक स्विकार्न नसक्ने मात्र होइन, बरु उल्टै परमेश्वरमाथि नै थप मापदण्डहरू थोपर्छन्। यस्ता मापदण्डहरू थोपर्ने मनिसहरू कसरी परमेश्वरप्रति निष्ठावान् हुन सक्छन्? तिनीहरू कसरी परमेश्वरका प्रबन्धहरूप्रति समर्पित हुन सक्छन्? तिनीहरूले कसरी परमेश्वरलाई प्रेम गर्न सक्छन्? सबै मानिसहरूसँग परमेश्वरले तिनीहरूलाई कसरी प्रेम गर्नुपर्छ, सहनुपर्छ, अनि निगरानी, सुरक्षा, र हेरचाह गर्नुपर्छ भन्नेबारे मापदण्डहरू हुन्छन्, तर तिनीहरूमध्ये कसैमा पनि आफूले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ, कसरी उहाँबारे सोच्नुपर्छ, कसरी उहाँको ख्याल गर्नुपर्छ, कसरी उहाँलाई सन्तुष्ट पार्नुपर्छ, कसरी हृदयमा उहाँलाई राख्नुपर्छ, र कसरी उहाँको आराधना गर्नुपर्छ भन्नेबारेचाहिँ कुनै मापदण्ड हुँदैन। के यी कुरा मानिसहरूको हृदयमा हुन्छन् त? मानिसहरूले हासिल गर्नुपर्ने कुरा यिनै हुन्, तैपनि तिनीहरू किन यी कुरामा मिहिनेती भएर लागी पर्दैनन् त? केही मानिसहरू केही समयको लागि उत्सुक हुन सक्छन् अनि कुराहरू अलिअलि त्याग्न अनि आफूलाई समर्पित गर्न सक्छन्, तर यो टिकाउ हुँदैन; अलिकति अप्ठेरो आइपर्दैमा तिनीहरू निरुत्साहित र आशाहीन भएर गुनासो गर्न सक्छन्। मानिसहरूका कठिनाइहरू एकदमै धेरै हुन्छन्, र सत्यता पछ्याउने र परमेश्वरलाई प्रेम गर्न र सन्तुष्ट पार्न खोज्ने मानिसहरू अति कम हुन्छन्। मानवहरूमा समझ हुँदै हुँदैन, तिनीहरू गलत स्थानमा उभिन्छन्, र आफूलाई विशेष मूल्यवान् ठान्छन्। यस्तो भन्ने मानिसहरू पनि हुन्छन्: “परमेश्वरले हामीलाई उहाँको आँखाको नानीझैँ देख्नुहुन्छ। उहाँ मानवजातिलाई छुटकारा दिन आफ्नो एकमात्र पुत्रलाई क्रूसमा टाँगिने अनुमति दिन हिच्किचाउनुभएन। परमेश्वरले हामीलाई फिर्ता प्राप्त गर्न भारी मूल्य चुकाउनुभयो—हामी एकदमै मूल्यवान् छौँ र हामी सबैले परमेश्वरको हृदयमा स्थान ओगट्छौँ। हामी विशेष मानिसहरूको समूह हौँ, र हाम्रो हैसियत गैरविश्वासीहरूको भन्दा निकै उच्च छ—हामी स्वर्गको राज्यका मानिसहरू हौँ।” तिनीहरू आफूलाई निकै उच्च र महान् ठान्छन्। विगतमा, धेरै अगुवाहरूको यही मानसिकता हुन्थ्यो, पदोन्नति भएपछि तिनीहरू परमेश्वरको घरमा आफ्नो निश्चित हैसियत र स्थान भएको विश्वास गर्थे। तिनीहरू यस्तो सोच्थे, “परमेश्वरले मलाई एकदम कदर गर्नुहुन्छ, र मेरो बारे राम्रो सोच्नुहुन्छ, र मलाई अगुवा भएर सेवा गर्ने अनुमति दिनुभएको छ। मैले उहाँको लागि दौडधुप र काम गर्न सक्दो गर्नुपर्छ।” तिनीहरू आफूसँग अति नै प्रसन्न हुन्थे। तर केही अवधिपछि नै तिनीहरूले केही खराब काम गर्थे र तिनीहरूको असली रङ्ग देखिन्थ्यो, र त्यसपछि तिनीहरू प्रतिस्थापित हुन्थे, अनि तिनीहरू निराश हुन्थे र आफ्नो शिर झुकाउँथे। जब तिनीहरूको अनुचित व्यवहारको खुलासा र काटछाँट हुन्थ्यो, तिनीहरू अझ बढी नकारात्मक बन्थे, अनि विश्वास गर्न जारी राख्नै सक्दैनथे। तिनीहरू मनमनै यस्तो सोच्थे, “परमेश्वर मेरा भावनाहरूको वास्तै गर्नुहुन्न, उहाँलाई मेरो आत्मसम्मान जोगाउनेबारे कुनै मतलब छैन। सबैले परमेश्वर मानिसको कमजोरीहरूप्रति सहानुभूति राख्नुहुन्छ भन्छन्, तर मचाहिँ किन केही सानातिना अपराधहरूपछि नै हटाइएँ?” त्यसपछि तिनीहरू निरुत्साहित हुन्थे, र आफ्नो आस्था त्याग्न चाहन्थे। के यस्ता मानिसमा परमेश्वरप्रति साँचो आस्था हुन्छ त? यदि तिनीहरू आफूलाई काँटछाँट गरिएको पनि स्विकार्न सक्दैनन् भने, तिनीहरूको कद अति सानो छ, र तिनीहरूले भविष्यमा सत्यता स्विकार्न सक्छन् सक्दैनन् भन्ने कुरा पनि अनिश्चित छ। यस्ता मानिसहरू खतरामा हुन्छन्।
मानिसहरूले आफूबाट उच्च अपेक्षाहरू गर्दैनन्, तर तिनीहरूले परमेश्वरबाट भने उच्च अपेक्षाहरू गर्छन्। तिनीहरूले उहाँलाई तिनीहरूमाथि विशेष दया देखाउन, र तिनीहरूप्रति धैर्य र सामञ्जस्य हुन, तिनीहरूलाई प्यारो ठान्न, तिनीहरूको भरणपोषण गर्न, र तिनीहरूप्रति मुस्कुराउन, तिनीहरूप्रति सहनशील हुन, तिनीहरूलाई छूट दिन, र तिनीहरूलाई धेरै तरिकाले हेरचाह गर्न अनुरोध गर्छन्। तिनीहरूले उहाँ तिनीहरूप्रति कति पनि कठोर नहुनुहुने वा तिनीहरूलाई व्याकुल बनाउने कुनै पनि कुरा कति पनि नगर्नुहुने अपेक्षा गर्छन्, र उहाँले तिनीहरूसँग हरेक दिन मीठो कुरा गर्नुभयो भने मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। मानिसहरूको समझ यति कमजोर हुन्छ! तिनीहरू आफूले के गर्नुपर्छ, के हासिल गर्नुपर्छ, र आफूसँग के-कस्ता दृष्टिकोणहरू हुनुपर्छ, परमेश्वरको सेवा गर्ने कार्यमा आफू कुन स्थानमा उभिनुपर्छ, र आफूले आफूलाई कुन स्थानमा राख्नु उचित हुन्छ भन्नेबारे तिनीहरू स्पष्ट हुँदैनन्। अलिकति हैसियत भएका मानिसहरूले आफूलाई अत्यन्तै ठूलो ठान्छन्, अनि हैसियत नभएकाहरूले पनि आफूलाई केही हदसम्म ठूला नै ठान्छन्। मानिसहरूले आफूलाई कहिल्यै चिन्दैनन्। तँ परमेश्वरमाथिको आफ्नो विश्वासमा यस्तो अवस्थामा पुग्नुपर्छ कि जुन अवस्थामा उहाँले तँसँग जसरी बोल्नुभए पनि, उहाँले तँसँग जति कठोर व्यवहार गर्नुभए पनि, र उहाँले तँलाई जति धेरै बेवास्ता गर्नुभए पनि, तैँले कुनै गुनासो नगरीकन विश्वास गरिरहन सक्छस् र सामान्य रूपमै आफ्नो कर्तव्य निर्वाह गरिरहन सक्छस्। त्यसपछि तँ परिपक्व र अनुभवी व्यक्ति बन्नेछस्, र तँसँग साँचो रूपमा केही कद र सामान्य व्यक्तिको थोरथोरै समझ हुनेछ। अनि तैँले परमेश्वरसमक्ष सर्तहरू राख्नेछैनस्, तँसँग अबउप्रान्त कुनै अतिशयोक्तिपूर्ण चाहनाहरू हुनेछैनन्, र तैँले अबउप्रान्त आफ्नै प्राथामिकताहरूको आधारमा अरूलाई वा परमेश्वरलाई कुनै अनुरोध गर्नेछैनस्। यसले निश्चित हदसम्म, तँसँग मानव स्वरूप छ भन्ने देखाउनेछ। हाल, तिमीहरूसँग धेरै नै सर्तहरू छन्, र ती अत्यन्तै अनावश्यक छन्, अनि तँमा अति धेरै मानव अभिप्राय छन्। यसले के प्रमाणित गर्छ भने, तँ सही स्थानमा उभिरहेको छैनस्; तँ उभिरहेको स्थान अति नै उच्च छ, र तैँले आफैलाई अत्यन्तै आदरणीय ठानेको छस्—यस्तो लाग्छ मानौं तँ स्थानको हिसाबमा परमेश्वरभन्दा त्यति कमको छँदै छैनस्। त्यसकारण, तँलाई निराकरण गर्न कठिन छ, र शैतानको प्रकृति ठ्याक्कै यही हो। यदि तँभित्र यस्ता स्थितिहरू छन् भने, तँ पक्कै पनि प्राय नकारात्मक हुनेछस् र कमै मात्र सामान्य हुनेछस्, त्यसैले तेरो जीवन प्रगति सुस्त हुनेछ। यसविपरीत, शुद्ध हृदय भएका अनि कम कचकचे मानिसहरूले सजिलै सत्यता स्विकार्नेछन्, र छिटो प्रगति गर्नेछन्। शुद्ध हृदय हुनेहरूले त्यति धेरै कष्ट अनुभव गर्दैनन्, तर तँसित एकदमै दह्रिला भावनाहरू छन्, तँ अति कचकचे छस्, अनि तँ सधैँ परमेश्वरबाट मागहरू गर्छस्, त्यसैले तैँले सत्यता स्विकार्ने कार्यमा ठूला अवरोधहरू सामना गर्छस्, र तेरो जीवन प्रगति सुस्त हुन्छ। केही मानिसहरू अरूले तिनीहरूलाई जसरीसुकै आक्रमण गर्ने र अलग्ग्याउने गरे पनि, त्यसबाट अलिकति पनि प्रभावित हुँदैनन् र उस्तैगरी पछ्याइरहन्छन्। यस्ता खालका मानिसहरू उदार हुन्छन्, त्यसैले तिनीहरूले अलि कम कष्ट भोग्छन्, र जीवन प्रवेशमा अलिक कम बाधाहरू सामना गर्छन्। तर तँ कचकचे छस्, र तँलाई यो वा त्यो कुराले सधैँ असर पारिरहन्छ,—तँलाई कसले गलत तरिकाले हेऱ्यो, कसले हेप्यो, कसले वास्ता गरेन, वा परमेश्वरले भन्नुभएको कुन कुराले तँलाई उत्तेजित बनायो, वा उहाँले भन्नुभएको कुन कठोर वचनले तेरो मुटु बिझायो र तेरो आत्मसम्मानमा ठेस पुऱ्यायो, वा उहाँले के असल कुरा तँलाई नदिई अरू कसैलाई दिनुभयो—भन्ने कुराले तँलाई असर पारिरहन्छ र त्यसपछि तँ नकारात्मक बन्छस् अनि उहाँप्रति गलतफहमी समेत राख्छस्। यस्ता खालका मानिसहरू कचकचे अनि समझले नछुने हुन्छन्। तिनीहरूसँग जसरीसुकै सत्यताबारे सङ्गति गरिए पनि, तिनीहरूले त्यो स्विकार्नेछैनन्, अनि तिनीहरूका समस्याहरू समाधान हुनेछैनन्। यस्ता मानिसहरूसित व्यवहार गर्न सबैभन्दा कठिन हुन्छ।
म प्रायः तिमीहरूले यसरी सङ्गति गरेको सुन्छु: “केही काम गर्दा म लड्खडाएँ, अनि पछि केही कष्ट भोगेपछि, मैले केही बुझाइ प्राप्त गरेँ।” अधिकांश मानिसहरूलाई यस्तै खाले अनुभव भएको हुन्छ—यो अनुभव एकदम सतही हुन्छ। मानिसहरूले यो बुझाइ वर्षौँको अनुभवपछि पाएका हुन सक्छन्, अनि तिनीहरूले यो थोरै बुझाइ र रूपान्तरण पाउन धेरै कष्ट अनुभव गरेका अनि जाँतोमा पिसिएका पनि हुन सक्छन्। यो कति दयालाग्दो कुरा हो! मानिसहरूको आस्थामा कति धेरै अशुद्धताहरू हुन्छन्, तिनीहरूलाई परमेश्वरमा विश्वास गर्न कति गाह्रो हुन्छ! आजसम्म पनि, हरेक व्यक्तिभित्र अझै पनि धेरै अशुद्धताहरू छन्, अनि तिनीहरू अझै पनि परमेश्वरबाट धेरै मागहरू गर्छन्—यी सबै मान्छेका अशुद्धताहरू हुन्। यस्ता अशुद्धताहरू हुनु भनेको तिनीहरूको मानवतामा समस्या छ भन्ने प्रमाण हो, र यो तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरण हो। मान्छेले परमेश्वरबाट गर्ने उचित र अनुचित मागहरूमा भिन्नता हुन्छ—यसलाई स्पष्ट रूपमा खुट्ट्याइनैपर्छ। मान्छेले कुन स्थानमा उभिनुपर्ने हो अनि उसमा कस्तो समझ हुनुपर्ने हो भन्नेबारे स्पष्टता हासिल हुनैपर्छ। मैले के याद गरेको छु भने, म मानिसहरू वरिपरि हुँदा मेरो मुखाकृति कस्तो छ भन्ने कुरामा केही मानिसहरू सधैँ ध्यान दिइरहन्छन्, र परमेश्वरले कसलाई राम्रो व्यवहार गर्नुहुन्छ अनि कसलाई खराब व्यवहार गर्नुहुन्छ भनी अध्ययन गरिरहन्छन्। यदि तिनीहरूले परमेश्वरले आफूलाई नकारात्मक ढङ्गले हेर्नुभएको देखे भने, वा उहाँले तिनीहरूको खुलासा वा निन्दा गर्नुभएको सुने भने, तिनीहरू त्यसलाई यतिकै भुल्न सक्दैनन्—तिनीहरूसँग तैँले जसरीसुकै सङ्गति गरे पनि काम लाग्दैन, अनि जति नै समय बिते पनि, तिनीहरू बदलिन सक्दैनन्। तिनीहरूले आफैमाथि फैसला गर्छन्, र त्यही एउटा क्षणिक वाक्यांश पकडेर अनि त्यसैलाई प्रयोग गरेर आफूप्रति परमेश्वरको मनोवृत्ति निर्धारण गर्छन्। तिनीहरू नकारात्मकतामा डुब्छन्, र तिनीहरूसँग जोसुकैले जसरीसुकै सत्यता सङ्गति गरे पनि, त्यो स्विकार्न इच्छुक हुँदैनन्। यो एकदमै अव्यावहारिक कुरा हो। मान्छेमा परमेश्वरको धर्मी स्वभावबारे अलिकति पनि ज्ञान छैन, र उसले त्यसलाई बुझ्दै बुझ्दैन भन्ने कुरा स्पष्ट छ। जबसम्म मानिसहरू पश्चाताप गर्न र रूपान्तरित हुन सक्छन्, तिनीहरूप्रति परमेश्वरको मनोवृत्ति पनि परिवर्तन हुनेछ। यदि परमेश्वरप्रति तेरो मनोवृत्ति परिवर्तन हुँदैन भने, के तँप्रति परमेश्वरको मनोवृत्ति परिवर्तन हुन सक्छ त? यदि तँ परिवर्तित हुन्छस् भने, तँसित व्यवहार गर्ने परमेश्वरको तरिका पनि परिवर्तन हुनेछ, तर यदि तँ परिवर्तन हुँदैनस् भने, तँसित गर्ने व्यवहार परमेश्वरको तरिका पनि परिवर्तन हुनेछैन। केही मानिसहरूमा परमेश्वर केलाई घृणा गर्नुहुन्छ, के मन पराउनुहुन्छ, र उहाँको हर्ष, रिस, शोक र खुसी, उहाँको सर्वशक्तिमान्ता, अनि उहाँको बुद्धिबारे अझै पनि ज्ञान छैन, अनि तिनीहरू कुनै बोधात्मक ज्ञानबारे पनि केही बताउन सक्दैनन्—मान्छेलाई सम्हाल्न एकदमै कठिन हुने यही भएर नै हो। मान्छेले परमेश्वरले ऊसँग असल नियतले बोल्नुभएका सबै वचनहरू बिर्सिन्छ, तर यदि उहाँले केवल एउटै मात्र कडा टिप्पणी गर्नुभयो वा काँटछाँट वा न्यायको एक वाक्य मात्र बोल्नुभयो भने पनि, त्यसले मान्छेको हृदय बिझाउँछ। मानिसहरू किन सकारात्मक अगुवाइका वचनहरूलाई चाहिँ गम्भीर रूपमा लिँदैनन् अनि न्याय र काँटछाँटका वचनहरू सुन्दाचाहिँ निराश, नकारात्मक हुन्छन्, र फेरि पूर्वावस्थामा फर्कन सक्दैनन्? अन्ततः, तिनीहरू बदलिनलाई लामो अवधिसम्म चिन्तन गर्नुपर्ने हुन सक्छ, र यसलाई परमेश्वरका केही सान्त्वना दिने वचनहरूसँग मिसाएपछि मात्र तिनीहरू ब्युँझिनेछन्। यी सान्त्वना दिने वचनहरूविना, तिनीहरू आफ्नो नकारात्मकताबाट बाहिर निस्कन सक्नेछैनन्। जब मानिसहरूले परमेश्वरको काम भर्खरै अनुभव गर्न थालेका हुन्छन्, तिनीहरूमा परमेश्वरबारे धेरै त्रुटिपूर्ण ज्ञान र गलतफहमीहरू हुन्छन्। तिनीहरू सधैँ आफै सही छु भन्ने विश्वास गर्छन्, सधैँ आफ्नै विचारमा अडिग रहन्छन्, अनि अरूले भनेको कुनै कुरा आफूभित्र लिँदैनन्। तिनीहरूले तीनदेखि पाँच वर्ष अनुभव पाइसकेपछि मात्र बिस्तारै बुझ्न, अन्तर्ज्ञान पाउन, आफू गलत थिएँ भनेर चिन्न, र आफूसँग व्यवहार गर्न कति गाह्रो थिएछ भन्ने महसुस गर्न थाल्छन्। यस्तो लाग्छ, मानौँ तिनीहरू त्यसपछि बल्ल हुर्किएका हुन्। अनि तिनीहरूले थप अनुभव पाउँदै जाँदा, तिनीहरू परमेश्वरलाई बुझ्छन्, र परमेश्वरबारे तिनीहरूका गलतफहमीहरू घट्दै जान्छन्, तिनीहरू अबउप्रान्त गुनासो गर्दैनन्, अनि परमेश्वरमा तिनीहरूको आस्था सामान्य हुन थाल्छ। विगतको तुलनामा, तिनीहरूको कद अलि पाकोजस्तो हुन्छ। पहिले त तिनीहरू बच्चाजस्तो हुने गर्थे—ठुस्स पर्थे, नकारात्मक हुन्थे, अनि कहिलेकाहीँ परमेश्वरबाट टाढिन सक्थे। तिनीहरूले निश्चित मामिलाहरू सामना गर्दा गुनासो पनि गर्न सक्थे, परमेश्वरका केही निश्चित वचनहरू तिनीहरूको ताजा धारणाको विषय पनि बन्न सक्थे, अनि तिनीहरूले कहिलेकाहीँ परमेश्वरलाई शङ्का गर्न थालेका पनि हुन सक्थे—कसैको कद अति सानो हुँदा यस्तै हुने हो। अहिले तिनीहरूले यति धेरै अनुभव गरिसकेपछि अनि वर्षौँ परमेश्वरका वचनहरू पढिसकेपछि, तिनीहरूले प्रगति गरेका छन्, र विगतमा भन्दा धेरै स्थिर भएका छन्। यो सबै सत्यता बुझेको नतिजा हो—यो तिनीहरूभित्र सत्यताले प्रभाव पारिरहेको अवस्था हो। त्यसैले, मानिसहरूले जति लामो समय अनुभव गरे पनि, सत्यता बुझुन्जेल र त्यसलाई स्विकार्न सकुन्जेल, तिनीहरूले समाधान गर्न नसक्ने कुनै कठिनाइ हुँदैन, र तिनीहरूले सधैँ केही न केही पाउने नै छन्। पक्कै पनि, तिनीहरूले काफी समयसम्म अनुभव गरेनन् भने, त्यो प्रभावकारी हुनेछैन, तर तिनीहरूले आफ्ना हरेक अनुभवहरूबाट लाभ पाउन सकुञ्जेल, तिनीहरूले जीवनमा चाँडै प्रगति गर्नेछन्।
तिमीहरूलाई अहिले अगुवा, सेवक, वा सुपरिवेक्षक बन्नका लागि, वा महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्नको लागि जगेर्ना गरिँदै छ भन्ने तथ्यले तिमीहरूको कद ठूलो छ भन्ने पुष्टि गर्दैन। यसको अर्थ, तिमीहरूमा औसत व्यक्तिभन्दा अलिक राम्रो क्षमता छ, तिमीहरू आफ्नो पछ्याइमा अलिक बढी गम्भीर छौ, र तिमीहरूलाई जगेर्ना गर्नु अलिकति बढी मूल्यवान् हुन्छ भन्ने मात्र हो। यसको अर्थ, तिमीहरू परमेश्वरमा समर्पित हुन वा उहाँका योजनाबद्ध कार्यहरूमा आफूलाई सुम्पिन सक्छौ भन्ने पक्कै होइन, र यसको अर्थ तिमीहरूले आफ्नो भविष्य र आशाहरू छेउ लगाएका छौ भन्ने पनि होइन। मानिसहरूमा अझै पनि यस खालको समझ छैन। तिमीहरू अझै पनि काम गर्दा आफूसँग केही नकारात्मकता, साथै आशिष् पाउने अभिप्राय र आकाङ्क्षाहरू, अनि मानव धारणा र कल्पनाहरू बोक्छौ। यसको साथै, तिमीहरू आफ्नो काम गर्दा केही गह्रुङ्गो भार पनि बोक्छौ, र यस्तो लाग्छ मानौँ तिमीहरू खुशीसाथ इच्छुक भएर काम गरिरहेका छैनौ, बरु असल कार्यद्वारा विगतका पापहरूको प्रायश्चित मात्र गरिरहेका छौ। तिमीहरू त्यस अवस्थामा पनि पुगेका छैनौ, जहाँ परमेश्वरले तिमीहरूलाई जसरीसुकै व्यवहार गरे पनि, तिमीहरू उहाँका अभिप्राय र मागहरूअनुसार कार्य गर्नेबारे मात्र चासो दिन्छौ। के तिमीहरू यो हासिल गर्न सक्छौ त? मानिसहरूमा यो समझ छैन। तिनीहरू सबैजना यस्तो सोच्दै परमेश्वरको मन पढ्न मात्र चाहन्छन्: “मप्रति परमेश्वरको मनोवृत्ति ठ्याक्कै कस्तो होला त? के उहाँ मलाई सेवा प्रदान गर्न प्रयोग गर्दै हुनुहुन्छ, कि मलाई मुक्ति दिँदै र सिद्ध पार्दै हुनुहुन्छ?” तिनीहरू सबैजना यसरी नै मन पढ्न चाहन्छ्न्, तर भन्ने आँट गर्दैनन्। तिनीहरूले भन्ने आँट गर्दैनन् भन्ने तथ्यले तिनीहरूमा अझै पनि यस्तो विचार हाबी छ भन्ने पुष्टि हुन्छ: “यसबारे कुरा गर्नु नै व्यर्थ छ—यो केवल मेरो प्रकृति हो, र यसलाई परिवर्तन गर्न सम्भव छैन। मैले केही खराब नगरे पुगिहाल्छ—म आफूबाट धेरै माग गर्दिनँ।” तिनीहरू आफूलाई सकेसम्म तलको स्थानमा सीमित गर्छन्, अनि अन्ततः कुनै पनि प्रगति गर्दैनन्, र साथमा, आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटरूवा सोचाइ बोकिरहन्छन्। तिमीहरूसँग दुईचारपटक सङ्गति गरेपछि मात्र तिमीहरूले अलिकति सत्यता बुझ्न थाल्छौ, र अलिकति सत्यता वास्तविकताबारे जान्न पुग्छौ। तँ प्रयोग भइरहेको छस् छैनस्, वा तँप्रति परमेश्वरको मनोवृत्ति कस्तो छ—यी कुराहरू महत्त्वपूर्ण छैनन्। मुख्य कुरा त तेरा सक्रिय प्रयासहरू, तैँले चुन्ने मार्ग, अनि तँ अन्ततः रूपान्तरण हुन सक्छस् कि सक्दैनस् भन्ने हो—सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। तँप्रति परमेश्वरको मनोवृत्ति जतिसुकै राम्रो भए पनि, तँ रूपान्तरण भइनस् भने त्यो काम लाग्दैन। यदि तँलाई केही आइपर्दा तँ लडबडाउँछस्, अनि तँमा अलिकति पनि बफादारी छैन भने, तँप्रति परमेश्वरको मनोवृत्ति जतिसुकै राम्रो भए पनि, त्यो व्यर्थ हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा त तैँले हिँड्न रोजेको मार्ग हो। परमेश्वरले विगतमा तँलाई सराप्नुभएको हुन सक्छ, र तँप्रति घृणा र तिरस्कारको वचन पनि बोल्नुभएको हुन सक्छ, तर तँ अहिले परिवर्तन भएको छस् भने, तँप्रति परमेश्वरको मनोवृत्ति पनि परिवर्तन हुनेछ। मानिसहरू सधैँ त्रसित र असहज महसुस गर्ने, र साँचो आस्था नभएका हुन्छन्, र यसले तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्दैनन् भन्ने सङ्केत गर्छ। अब तिमीहरूले धेरथोर बुझेपछि, के भविष्यमा तिमीहरूलाई केही आइपर्दा अझै पनि तिमीहरू नकारात्मक र कमजोर बन्नेछौ त? के तिमीहरू सत्यता अभ्यास गर्न अनि आफ्नो गवाहीमा दृढ रहन सक्नेछौ त? के तिमीहरू परमेश्वरमा साँच्चै समर्पित हुन सक्नेछौ त? यदि तिमीहरूले यी कुराहरू हासिल गर्न सक्छौ भने, तिमीहरूमा सामान्य मानवताको समझ हुनेछ। के अब तिमीहरूसँग मान्छेका भ्रष्ट स्वभावहरू, अनि परमेश्वरले दिनुहुने मुक्ति र उहाँका अभिप्रायहरूबारे केही ज्ञान छैन त? तिमीहरूसँग कम्तीमा एउटा मोटामोटी विचार त छ। जब कुनै दिन तिमीहरू सत्यताका हरेक पक्षहरूका केही वास्तविकताहरूमा प्रवेश गर्न सक्नेछौ, तिमीहरूले पूर्णतया सामान्य मानवता जिइरहेका हुनेछौ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।