सत्यता र परमेश्वरलाई कसरी लिने भन्नेसम्बन्धी वचनहरू (अंश २)
परमेश्वरका विश्वासीहरूले केही मुख्य कुराहरू बुझ्नैपर्छ। तिनीहरूले कम्तीमा पनि परमेश्वरमा विश्वास गर्नुको अर्थ के हो; परमेश्वरका विश्वासीहरूले कुन-कुन सत्यताहरू बुझ्नुपर्छ; कसरी परमेश्वरमा समर्पित हुने अभ्यास गर्नुपर्छ; साथै, परमेश्वरमा समर्पित हुँदा कुन-कुन सत्यता र उहाँका कुन-कुन वचनहरू बुझ्नुपर्छ, र उहाँलाई सन्तुष्ट पार्न के-कस्ता वास्तविकताहरू आफूसँग हुनुपर्छ भन्ने कुराहरू मनैदेखि जान्नुपर्छ। यदि यो आस्था र सङ्कल्प छ भने, तिमीहरूले कहिलेकाहीँ केही धारणा वा निश्चित अभिप्रायहरू राखे पनि, तिनलाई छोड्न सजिलो हुनेछ। जोसँग यो आस्था हुँदैन, तिनीहरू जहिल्यै पनि समर्पण गर्ने सन्दर्भमा चयनशील हुन्छन्, र कहिलेकाहीँ तिनीहरू दोष कोट्ट्याउने, झगडालु हुने, रिस पाल्ने, र गुनासो गर्ने गर्छन्। समय-समयमा हरप्रकारका विद्रोही व्यवहारहरू देखा पर्नेछन्! यो कहिलेकाहीँ एक-दुई पटक मात्र हुने कुरा होइन, न त यो क्षणिक विचार नै हो, बरु वास्तवमा यो त विद्रोही शब्दहरू बोल्ने तथा विद्रोही कुराहरू गर्ने क्षमता हो। यसले विशेष रूपले गम्भीर विद्रोही स्वभावलाई इङ्गित गर्दछ। मानिसहरूको स्वभाव भ्रष्ट हुन्छ, र तिनीहरूमा परमेश्वरमा समर्पित हुने सङ्कल्प भए पनि, तिनीहरूको समर्पण सीमित हुन्छ; यो सापेक्षित हुन्छ, र कहिलेकाहीँ हुने, क्षणिक, र सर्तवाला पनि हुन्छ। यो निरपेक्ष हुँदैन। भ्रष्ट स्वभावको कारण, तिनीहरूको विद्रोहीपन विशेष चर्को हुन्छ। तिनीहरू परमेश्वरलाई स्वीकार त गर्छन्, तर उहाँमा समर्पित हुन सक्दैनन्, र तिनीहरू उहाँका वचनहरू सुन्न इच्छुक हुन्छन्, तर तिनमा समर्पित हुन सक्दैनन्। तिनीहरूलाई परमेश्वर असल हुनुहुन्छ भन्ने थाहा हुन्छ, र तिनीहरू उहाँलाई प्रेम गर्न चाहन्छन्, तर सक्दैनन्। तिनीहरू परमेश्वरलाई पूर्ण रूपमा सुन्न, र उहाँलाई सबै कुरा योजनाबद्ध गर्न दिन सक्दैनन्, र तिनीहरूसँग अझै पनि आफ्नै छनौटहरू हुन्छन्, आफ्नै अभिप्राय र मनसायहरू हुन्छन्, र तिनीहरूका आफ्नै योजना, सोचविचार, र काम गर्ने तरिकाहरू हुन्छन्। तिनीहरूका काम गर्ने आफ्नै तरिका र आफ्नै विधिहरू हुनुको अर्थ के हो भने, तिनीहरू कुनै पनि हालतमा परमेश्वरमा समर्पित हुन सक्दैनन्। तिनीहरू आफ्नै सोचअनुसार चल्न र परमेश्वरविरुद्ध विद्रोह गर्न मात्र सक्छन्। मानिसहरू यत्ति विद्रोही हुन्छन्! त्यसकारण, मानिसको प्रकृति भनेको सतही आत्म-धार्मिकता, अहम्ता र घमण्ड, वा कहिलेकाहीँ परमेश्वरसँग झूट बोल्ने र छल गर्नेजस्ता साधारण भ्रष्ट स्वभावहरू मात्र होइन; बरु, मानिसको सार त पहिले नै शैतानको सार बनिसकेको छ। त्यसबेला प्रधान स्वर्गदूतले कसरी परमेश्वरलाई धोका दियो? अनि आजकलका मानिसहरूबारे के भन्न सकिन्छ? स्पष्ट रूपमा भन्नुपर्दा, तिमीहरूले स्वीकार गर्न सके वा नसके पनि, आजकलका मानिसहरू परमेश्वरलाई शैतानले जस्तै पूर्ण रूपमा धोका दिइरहेका मात्र छैनन्, तिनीहरू त आफ्नो मन, सोचाइ र विचारधाराहरूमा परमेश्वरप्रति प्रत्यक्ष रूपमा वैरभाव पनि राख्छन्। यो शैतानले मानिसहरूलाई भ्रष्ट पारेर दियाबलस बनाउनु हो; मानिसहरू वास्तवमै शैतानका सन्तान बनेका छन्। सायद तिमीहरूले भन्नेछौ, “हामी परमेश्वरप्रति वैरभाव राख्दैनौँ। हामी परमेश्वरले भन्नुहुने जुनसुकै कुरा पनि सुन्छौँ।” यो सतही कुरा हो; तिमीहरूले परमेश्वरले भन्नुहुने जेसुकै कुराहरू पनि सुनेजस्तो देखिन्छ। वास्तवमा, जब म औपचारिक रूपमा सङ्गति गरिरहेको र बोलिरहेको हुन्छु, तब धेरैजसो मानिसहरूसँग कुनै धारणाहरू हुँदैनन् र तिनीहरू शिष्ट र आज्ञाकारी हुन्छन्, तर जब म सामान्य मानवत्वमा बोल्छु र कार्यहरू गर्छु, वा जब म सामान्य मानवत्वमा जिउँछु र व्यवहार गर्छु, तब तिनीहरूमा धारणाहरू उत्पन्न हुन्छन्। हृदयमा तिनीहरू मेरो लागि ठाउँ खाली गर्न त चाहन्छन्, तर त्यसमा मलाई राख्न सक्दैनन्, र सत्यता जसरी सङ्गति गरिए पनि, तिनीहरू आफ्ना धारणा त्याग्न सक्दैनन्। यसले देखाउँछ कि व्यक्ति पूर्ण रूपमा नभई सापेक्षिक रूपमा मात्र परमेश्वरमा समर्पित हुन सक्छ। अनि, तँलाई थाहा छ उहाँ परमेश्वर हुनुहुन्छ, र यो पनि थाहा छ कि देहधारी परमेश्वरसँग सामान्य मानवत्व हुनैपर्छ, तैपनि तँ किन पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन सक्दैनस्? देह बन्नुभएको परमेश्वर, मानिसको पुत्र ख्रीष्ट हुनुहुन्छ; उहाँसँग ईश्वरत्व र सामान्य मानवत्व दुवै छ। बाहिरी रूपमा, उहाँसँग सामान्य मानवत्व छ, तर उहाँको ईश्वरत्व यही सामान्य मानवत्वभित्र जिउँछ र काम गर्छ। अब, परमेश्वर ख्रीष्टको रूपमा ईश्वरत्व र मानवत्व भएको देह बन्नुभएको छ। तैपनि केही मानिसहरू परमेश्वरका ईश्वरीय वचन र गहन बोलीलाई मात्र उहाँको वचनको रूपमा लिई, उहाँका केही ईश्वरीय वचन र काममा मात्र समर्पित हुन सक्छन्, तर तिनीहरूले उहाँको सामान्य मानवत्वका केही वचन र कामलाई भने उपेक्षा गर्छन्। कतिपय मानिसहरूका हृदयमा सोचविचार र धारणाहरूसमेत हुन्छन्, तिनीहरू उहाँको ईश्वरीय बोली मात्र परमेश्वरको वचन हो र मानवीय बोलीचाहिँ परमेश्वरको वचन होइन भनी विश्वास गर्छन्। के त्यस्ता मानिसहरूले परमेश्वरले व्यक्त गर्नुहुने सबै सत्यता स्वीकार गर्न सक्छन्? के तिनीहरूलाई परमेश्वरद्वारा शुद्ध र सिद्ध पारिन सकिन्छ? सकिँदैन, किनकि त्यस्ता मानिसहरू बेतुक ढङ्गले बुझ्छन् र सत्यता प्राप्त गर्न सक्दैनन्। संक्षेपमा भन्नुपर्दा, मानिसको भित्री संसार अत्यन्तै जटिल हुन्छ, र यी विद्रोही मामलाहरू विशेष अप्ठ्यारा हुन्छन्—यसलाई थप व्याख्या गरिरहन आवश्यक छैन। मानिसहरू परमेश्वरको ईश्वरत्वमा समर्पित हुन सक्छन्, तर उहाँका सामान्य मानवत्वका केही काम र वचनहरूमा समर्पित हुन सक्दैनन्, र यसले उनीहरू साँचो रूपमा परमेश्वरमा समर्पित भएका छैनन् भन्ने देखाउँछ। परमेश्वरमा मानिसहरूको समर्पण सधैँ सर्तवाला हुन्छ; तिनीहरू आफूलाई सही र तर्कसङ्गत लागेका कुराहरू सुन्छन्, र आफूलाई गलत र तर्कहीन लागेका कुराहरू सुन्न अनिच्छुक हुन्छन्। तिनीहरू आफूले सुन्न नचाहेका वा आफूले गर्न नसक्ने कुरामा समर्पित हुँदैनन्। के यसलाई साँचो समर्पण भन्न सकिन्छ? बिल्कुलै सकिँदैन। यसले मानिसहरूको स्वभाव असल छैन, तिनीहरूको स्वभाव मुख्यतः निकृष्ट र खराब छ भन्ने देखाउँछ—यो महत्त्वपूर्ण कुरा हो! भन्नुको अर्थ, मानिसहरू परमेश्वरमा अलिकति समर्पित हुँदा पनि, त्यो सधैँ छनौट गरिएको र सर्तवाला समर्पण हुन्छ, र परमेश्वरमा पूर्ण समर्पण कहिल्यै हुँदैन। यदि कुनै व्यक्तिले सुन्छ र समर्पित हुन्छ भनेर भनिन्छ भने, यो सापेक्षित भनाइ मात्र हो, किनकि तैँले तिनीहरूका फाइदाहरूलाई छोएको वा तिनीहरूलाई साँचो रूपमा काटछाँट गरेको छैनस्, तिनीहरूलाई स्पष्ट र प्रत्यक्ष रूपमा काटछाँट गरेको छैनस्। तैँले तिनीहरूलाई साँच्चै काटछाँट गरेपछि, तिनीहरू तँविरुद्ध खडा हुनेछन् र दिनभरि उदास भएर बस्नेछन्। यदि तैँले केही सोधिस् भने, तिनीहरूले जवाफ दिनेछैनन् र यदि तैँले तिनीहरूलाई केही गर्न भनिस् भने, तिनीहरू त्यो कुरा गर्न अनिच्छुक हुनेछन्। तैँले तिनीहरूलाई तिनीहरूले इच्छा नगरेको केही कुरा गर्न भन्दा, तिनीहरू तोडफोड गर्न थाल्नेछन् र तँसँग जिद्दी गर्नेछन्। व्यक्तिको स्वभाव कति खराब हुन सक्छ! उहाँ परमेश्वर हुनुहुन्छ भन्ने थाहा पाएर पनि किन तँ उहाँलाई त्यस्तो व्यवहार गर्छस्? यो व्यवहार त्यतिबेलाका फरिसीहरू र पावलको भन्दा फरक छैन। के पावललाई येशू नै परमेश्वर हुनुहुन्छ भन्ने थाहा थिएन र? उसले येशूका चेलाहरूलाई किन सतायो? उसले किन त्यति धेरैलाई पक्राउ गर्यो? अन्त्यमा, पावलले यसरी सताउने क्रममा सबै हद पार गरेको येशूले देख्नुभयो, र दमस्कस जाने बाटोमा, उहाँले पावललाई प्रहार गर्नुभयो। उसको वरिपरि प्रकाश चम्क्यो, र ऊ भुइँमा लड्यो। लडेपछि, उसले येशूलाई सोध्यो: “तपाईं को हुनुहुन्छ, प्रभु?” येशूले उसलाई भन्नुभयो: “म येशू हुँ जसलाई तिमी सताउँछौ” (प्रेरित ९:५)। त्यसबेलादेखि, पावल धेरै नै काबुमा आयो। यदि येशूले “ज्योति” नदिनुभएको भए र उसलाई प्रहार नगर्नुभएको भए, पावलले येशूलाई स्विकार्ने थिएन, उहाँका लागि प्रचार गर्नु त परको कुरा हो। यो कुराले के प्रमाणित गर्छ? यसले प्रमाणित गर्छ कि मानिसहरूको स्वभाव हुन सक्ने हदसम्मै खराब हुन्छ।
मानिसहरू प्राय भन्छन्: “हामी सबै मानवहरूमा भ्रष्ट स्वभाव हुन्छ; हामी कसैले पनि परमेश्वरलाई सन्तुष्ट बनाउन सक्दैनौँ,” र “मानवहरू एकदमै आत्मधर्मी र अभिमानी हुन्छन्। तिनीहरू सधैँ आफूलाई राम्रो र अरूभन्दा उत्कृष्ट ठान्छन्!” वास्तवमा, यो सबैभन्दा सतही बुझाइ हो; यो त भ्रष्ट स्वभावको सानो पक्ष मात्र हो। किन तँ आफ्नै स्वभावमा रहेको परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने ती सोच र अभिप्रायबारे छलफल गर्दैनस्? परमेश्वर तैँले कुनै कुरा एक तरिकाले गरोस् भन्ने माग गर्नुहुन्छ, तर तँलाई त्यो अर्को तरिकाले गर्नुपर्ने हुन्छ। परमेश्वर एक तरिकाले काम गर्नुहुन्छ, तर तँलाई उहाँले अर्को तरिकाले काम गर्नुहोओस् भन्ने माग गर्नुपर्ने हुन्छ। के यो परमेश्वरसँग लड्नु होइन र? सबैको यस्तै स्वभाव हुन्छ; यसबाट कोही पनि उम्कन सक्दैन। सायद केही मानिसहरूले यसो भन्लान्: “यो कुरा ममा लागू हुँदैन, मलाई थाहा थिएन!” यस्तो किन हुन्छ भने, तँ परमेश्वरको सम्पर्कमा आएको छैनस्। तँ सम्पर्कमा आएपछि, र उहाँलाई क्रमिक रूपमा चिन्दै गएको एक हप्तापछि, तँ निश्चित रूपमा परिवर्तन हुनेछ्स् र तेरो आफ्नो वास्तविक स्वरूप प्रकट हुनेछ। यो कुनै बढाइचढाइ गरिएको होइन, न त यो तँलाई कम आँकलन नै गरिएको हो। आजकल, मानिसहरूमा भ्रष्ट स्वभाव हुने मात्र होइन; तिनीहरूको प्रकृति पनि भ्रष्ट भएको छ। तिनीहरूको सामान्य मानवता यति भ्रष्ट भइसकेको छ कि यो चकनाचूर र पूर्ण रूपमा लुप्त नै भइसकेको छ; अर्थात्, मानिसहरूमा अब सामान्य मानवता छैन। देहधारी परमेश्वरमा सामान्य मानवता छ, तर सबै मानिसको स्वभाव भ्रष्ट छ, र तिनीहरू सामान्य मानवताको बाटोमा त्यति छैनन्, जसले गर्दा तिनीहरू परमेश्वरसँग मिलापमा रहन असम्भव हुन्छ। तिनीहरूको पक्कै पनि परमेश्वरसँग धेरै कुरामा मतभेद र विवाद हुनेछन्, यहाँसम्म कि तिनीहरूले उहाँसँग शत्रुतासमेत मोल्छन्। यस्तो किन हुन्छ भने, मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय वा परमेश्वरमा समर्पित हुने हृदय छैन। कसैले पनि मानिसहरूलाई “तैँले उहाँ परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गरेकोले, उहाँले जे भन्नुभए पनि, तँ उहाँप्रति समर्पित हुनुपर्छ,” भनेर माग गर्न मिल्दैन, झन् तिनीहरू हरेक मामलामा परमेश्वरसँग झुक्नुपर्छ भन्ने माग गर्न मिल्नु त परको कुरा हो। यो झुक्ने कुरा होइन; मानिसहरू सृष्टि गरिएका प्राणी हुन्, र आखिर, परमेश्वर परमेश्वर हुनुहुन्छ र मानिस मानिस नै हो—तिनीहरूबीच सीमा हुनैपर्छ। व्यवस्थाको युगमा अब्राहामको सेवकले कसरी यहोवा परमेश्वरलाई प्रार्थना गर्यो? “मेरा गुरु अब्राहामका यहोवा परमेश्वर” (उत्पत्ति २४:१२)। उहाँले पदको भिन्नता एकदमै स्पष्ट पार्नुभयो, जबकि आजकलका मानिसहरू विश्वास गर्छन्: “परमेश्वर हामीभन्दा त्यति फरक हुनुहुन्न। उहाँसँग पनि सामान्य मानवता र आवश्यकताहरू, र सबै प्रकारका भावना, जीवन र सामान्य मानवताका गतिविधिहरू छन्। उहाँले ईश्वरीय कार्य गर्नुहुने भए पनि, उहाँको सामान्य मानवता अपरिहार्य छ!” मानिसहरूभित्र “सामान्य मानवता” बारे यस्तो अस्पष्ट विचार आउनेबित्तिकै, तिनीहरू परमेश्वरको काम, उहाँका वचन, र उहाँको स्वभावलाई मानिसको सामान्य मानवताको रूपमा निर्धारण गर्ने झुकाव राख्नेछन्, र उहाँको ईश्वरीय सारलाई नकार्नेछन्। यो ठूलो गल्ती हो; यसले परमेश्वरलाई चिन्न असम्भव बनाउँछ, होइन र? तिमीहरू परमेश्वरको सम्पर्कमा आएका छैनौ; तिमीहरूमध्ये कसकोमा यसो भन्ने साहस छ, “यदि म एक वर्षसम्म परमेश्वरसँग सम्पर्कमा रहेको भए, म पटक्कै विद्रोही हुन्थिनँ भनेर ठोकुवा गर्नेथेँ”? कोही पनि यति निश्चित हुन सक्दैन। धेरैजसो मानिसहरूले १० वा २० वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन्, तर पनि कसैले उहाँप्रति साँचो समर्पण गर्न सक्दैन। शैतानले मानिसहरूलाई गहन रूपमा भ्रष्ट पारेको छ र शैतानको स्वभाव मानिसहरूको हृदयमा गढिसकेको छ भनेर देखाउन यही काफी छ; अनि कतिपय भ्रष्ट कुरालाई तिमीहरू आफैले पनि पत्ता लगाउन सक्दैनौ। मैले अत्यन्तै धेरै वचनहरू बोलेको छु, अत्यन्तै धेरै सत्यताहरू व्यक्त गरेको छु, तर सायदै कसैले सत्यता वास्तवमा बुझ्छ होला। मानिसहरू हाल जिद्दी हठी छन्; तिनीहरू चरम हदसम्म भावशून्य र मन्दबुद्धिका छन्। तिनीहरू अलि अज्ञानी मात्र होइन—तिनीहरूको विद्रोही स्वभावले पहिले नै आकार लिइसकेको समेत छ, तर तिमीहरूले त्यो अझै स्पष्ट रूपमा नदेखेको मात्र हो।
कतिपय मानिसहरू ख्रीष्टलाई एकदुई दिन भेट्दा, उहाँलाई अपरिचित पाउँछन् र केही हदसम्म बन्धनमा परेको महसुस गर्छन्: “यहाँ परमेश्वर हुनुहुन्छ!” तिनीहरू मनमा यस्तो सोच्छन्, तर उहाँसँग १० दिन वा दुई हप्तासम्म सम्पर्कमा रहेपछि, जसै तिनीहरू अलिअलि गर्दै उहाँसँग अझ परिचित र नजिक हुँदै जान्छन्, तब तिनीहरूलाई हृदयमा बन्धनमा परेको महसुस हुँदैन अनि आफ्नो र उहाँको हैसियतमा फरक पाउन छोड्छन्। यस्तो लाग्छ, मानौँ त्यहाँ पूर्ण समानता छ, कुनै दर्जानुक्रम छैन; तिनीहरूलाई परमेश्वरले तिनीहरूसँग जीवन र आनन्द बाँड्नु उचित हो भन्ने लाग्छ। कहिलेकाहीँ म सोच्छु, कसरी यी मानिसहरू यस्ता हुन सक्छन्? यदि मैले सधैँ तिनीहरूलाई काटछाँट गरेको र अर्ती-उपदेश दिएको भए, तिनीहरू पक्कै पनि सुशील र समर्पित हुनेथिए। कहिलेकाहीँ म कसैसँग समान भई कुरा गर्दा, तिनीहरू सोच्छन्: “अँ, हेर परमेश्वर मप्रति कति असल हुनुहुन्छ!” तँप्रति असल हुनुले तँमा विद्रोही स्वभाव छैन वा तेरो प्रकृति सार राम्रो छ भन्ने प्रमाणित गर्दैन। के कुरा यही होइन र? कतिपय मानिसहरूको कुरा गर्नुपर्दा, जब म तिनीहरूलाई अलि राम्रो व्यवहार गर्छु र तिनीहरूसँग हल्का मुस्कुराउँछु, तब तिनीहरू ब्रह्माण्डमा आफ्नो हैसियत बिर्सन्छन्, आफू कहाँबाट आएको र आफ्नो पहिचान र सार के हो भनेर बिर्सन्छन्—तिनीहरू यी सब बिर्सन्छन्। मानिसहरूको प्रकृति हदैसम्म खराब हुन्छ; तिनीहरूमा पटक्कै समझ हुँदैन! यदि केही मानिसहरू आफूलाई एकदमै असल ठान्छन् भने, अगाडि गएर केही समय परमेश्वरसँग अन्तरक्रिया गर्, अनि कसरी आफूभित्रका ती सबै विद्रोह र प्रतिरोध खुलासा हुन्छ, हेर्। परमेश्वरसँग केही समय संलग्न बन्—म तँलाई सम्झाउने, हप्काउने, वा काटछाँट गर्नेछैनँ, र कसैले पनि तसँग सङ्गति गर्नेछैन; तँ आफैले अनुभव गर्नेछस्, र हामी तँ कुन हदसम्म अनुभव गर्न सक्छस, त्यो हेर्नेछौँ। सत्यता प्राप्त नगरी, तँ पक्कै पनि नराम्ररी असफल हुनेछस्, परिणामहरू अकल्पनीय हुनेछन्। मानिसहरूको विद्रोही स्वभाव अति गम्भीर हुन्छ; तिनीहरूको हृदयले अरूलाई ठाउँ दिन सक्दैन! तेरो विद्रोही स्वभाव, शैतानी प्रकृति, र अहङ्कारी हृदयले अरू मानिसलाई ठाउँ दिन सक्दैन। सायद कतिपय मानिसहरूले मसँग केही समय अन्तरक्रिया गरेपछि केही गलत सोच विकास गर्न सक्छन्; यदि ती सोचहरू सुल्झाइएन भने, ती धारणा वा निर्णय बन्छन् र त्यसपछि तिनीहरू खतरामा पर्नेछन्। केही मानिसहरू भन्छन्: “तपाईं एकदमै साधारण र सामान्य हुनुभएकोले त्यस्तो भएको हो। प्रभु येशूप्रतिको विश्वासमा त म त्यस्तो छैनँ।” तेरो येशूमाथिको विश्वास पनि त्यस्तै नै छ। यदि तिमीहरूलाई येशूको युगमा राखिन्थ्यो भने, तिमीहरूले फरिसीहरूभन्दा राम्रो गर्नेथिएनौ, तिमीहरूको दिमाग पनि धारणाहरूले नै भरिएको हुनेथियो। तैँले यहूदाभन्दा राम्रो हुनेथिएँ भनी नसोच्। उसले प्रभुलाई धोका दिन सक्यो र आफ्नो लागि उहाँको पैसा चोर्न सक्यो; तैँले उहाँलाई धोका दिनेथिनस् होला वा मण्डलीको पैसा लापरवाहीपूर्वक खर्च गर्दैनथिस् होला, तर तँ प्रभुमा समर्पित व्यक्ति हुनेथिनस्, र तँ निश्चय नै धारणा, विद्रोह र प्रतिरोधले भरिएको हुनेथिस्। प्रभु येशूका वचनहरू र काम परमेश्वरको देखापराइ र काम हुन्। किन यहूदाले प्रभुको विरोध गर्यो? उसको प्रकृति असाध्यै खराब थियो; उसले ख्रीष्टलाई ठाउँ दिन सकेन र जिद्दी गर्दै उहाँसँग शत्रुता मोल्यो। के त्यतिबेला पत्रुसले पनि धेरै कष्ट भोगेन र? अन्त्यमा, उसको मानवता त्यतिबेला तुलनात्मक रूपले अरूको भन्दा अलि राम्रो भएकोले, अनि उसले प्रेमिलो परमेश्वरलाई पछ्याउन सकेकोले, उसलाई अन्ततः सिद्ध तुल्याइयो। त्यसबेला, ऊसँग पनि येशूबारे केही धारणा र राय थिए, तर प्रेमिलो प्रभुलाई पछ्याउन सकेकोले, उसले अन्त्यमा प्रभु येशूबारे केही ज्ञान प्राप्त गऱ्यो। त्यसैले घमण्ड नगर्; आफूले अनुभव नगरेको कुरामा आफू सफल हुन सक्छु र पूर्णाङ्क ठोकिदिन्छु भनेर ठोकुवा नगर्। यो सत्य वा वास्तविकता होइन। तैँले पहिला यो कुरा अनुभव गर्नैपर्छ; त्यसपछि मात्र तैँले बाँड्ने ज्ञान र अन्तर्दृष्टि व्यावहारिक हुनेछ। यसो नभन्: “परमेश्वर, मेरो घरमा आउनुहोस्, अरूले जस्तो म तपाईंलाई रिस नउठाउने वाचा गर्छु। म अरूजस्तो अमानवीय नहुने वाचा गर्छु।” यस्तो कुरा निश्चित हुँदैन, किनभने मानिसहरूभित्रका सामान्य मानवताका तत्वहरू पहिले नै नष्ट पारिएका हुन्छन्; तिनीहरूको सामान्य मानवता गुमिसकेको हुन्छ, त्यसै गरी तिनीहरूको विवेक र समझ पनि गुमिसकेको हुन्छ—सामान्य मानवताको सामान्य सुझबुझ, सरल ढङ्गमा र इमानदारीपूर्वक बोल्नु, अनि सुन्न र समर्पित हुन सक्नु, यी सबै सकारात्मक कुराहरू मानिसहरूभित्रबाट गुमिसकेको हुन्छ। त्यसकारण, मानिसहरूका जिउने सिद्धान्त र जीवन लक्ष्यहरू पहिले नै परिवर्तन भइसकेका हुन्छन्; तिनीहरू सबैले शैतानी दर्शन् पछ्याउँछन् र तिनीहरूमा शैतानको प्रकृति हाबी हुन्छ। तिनीहरूको बोली धूर्त र छली हुन्छ, तिनीहरू जता मल्खु उतै ढल्खु हुन्छन्, र तिनीहरू मिठोसुनिने भनाइहरू चलाउन उत्कृष्ट हुन्छन्—तिनीहरू यसरी जिउनु ठूलो कुरा हो भन्ने ठान्छन्। मानिसहरू गहन रूपमा भ्रष्ट छन् भनी किन भनिन्छ? यति गहन रूपमा भ्रष्ट भएकाले के मानिसहरूमा कुनै सामान्य मानवता अझै हुन्छ? तँलाई लाग्छ तँमा भ्रष्ट स्वभाव छ, जसलाई तँ अलि अहङ्कारी, आत्मधर्मी र घमण्डी हुनु, बोलीमा अलि छली हुनु, वा आफ्नो कर्तव्यनिर्वाहमा अलि लापरवाह र झाराटारुवा हुनु हो, र बस त्यति नै हो भन्ठान्छस्। तर यो एकदमै सतही ज्ञान हो; यसले सतहलाई मात्र कोट्याउँछ। मुख्य कुरा त, मान्छे स्वभावले नै दुष्ट हुन्छ, र मानिसहरू सबैले दुष्टताप्रति श्रद्धा गर्छन्, अनि परमेश्वरलाई नकार्ने र प्रतिरोध गर्ने गरिरहेका हुन्छन्, र तिनीहरूको सामान्य मानवता पहिले नै पृथ्वीबाट हराइसकेको हुन्छ। कुरा यही होइन र? त्यसोभए, मानिसहरूले सृष्टि गरिएको प्राणीको स्तर पूरा गर्न के गर्नुपर्छ? मुख्य कुरा भनेको परमेश्वरका वचनहरूमा अभ्यासको मार्ग, अभ्यासको उपयुक्त विधि खोज्नु हो। तिमीहरू सबैलाई मानवजातिमाझ असाध्यै असल मानिसहरू हुदैनन् भन्ने थाहा छ, त्यसोभए केही मानिसहरूमा मानवता छ र अरूमा छैन भनी अब किन भनिन्छ त? के मानवता भएका मानिसहरूले यी सत्यताहरू साँच्चै अभ्यास गर्न सक्छन् त? तिनीहरूले पनि ती अभ्यास गर्न सक्दैनन्; यति हो कि, तुलनात्मक रूपमा भन्नुपर्दा तिनीहरू हृदयमा अलि दयालु र कोमल हुन्छन्, र आफ्नो काममा तिनीहरू अलि बढी जिम्मेवार हुन्छन्—तर यो सबै सापेक्षिक हो, निरपेक्ष पूर्ण कुरा होइन। यदि तैँले कसैलाई मूल्याङ्कन गरेर यो व्यक्ति पूर्ण रूपमा राम्रो छ र उसमा कुनै दोष वा विद्रोह छैन, ऊ पूर्णतया आज्ञाकारी र समर्पित छ, र आफ्नो कर्तव्यनिर्वाहमा पटक्कै लापरवाह र झाराटारुवा छैन भनी भन्छस् भने, के यो बढाइचढाइ गरेको हुँदैन र? के यो तथ्यअनुसार हुन्छ? के साँच्चै यस्तो मान्छे हुन्छ? यदि तिमीहरू कुरा यसरी बुझ्छौ भने, त्यो विकृत बुझाइ हो। तर यदि तिमीहरू “हामी मानिसहरू त खतम भयौँ। हामीमध्ये कोही पनि असल छैन, त्यसैले परमेश्वरमा विश्वास गर्नुको के अर्थ? म त बस अब विश्वास गर्न छोडेर मृत्यु कुरेर बस्नेछु!” भनेर सोच्छौ भने, यो पनि निरर्थक कुरा हो। तिमीहरू जहिले पनि चरमसीमामा पुग्छौ, मानौँ तिमीहरू सोझो बोली बुझ्दैनौ, र तिमीहरू सधैँ कहिले यता त कहिले उता ढल्किरहेका हुन्छौ। यदि म अझ बढी नरम र कोमल भएर बोलेँ भने, तिमीहरू आफूलाई चिन्न सक्नेछैनौ, तर यदि म अति कडा र कठोर भएर बोलेँ भने, तिमीहरू आफ्नो टाउको निहुराउनेछौ, नकारात्मक हुनेछौ, र हरेससमेत खानेछौ। जब कतिपय मानिसहरू परमेश्वरको न्याय र निन्दाका वचनहरू सुन्छन्, तब तिनीहरू तुरुन्तै लल्याकलुलुक हुन्छन् र आफू खतम भइयो, आफूले मुक्ति पाउने आशा छैन भन्ने ठान्छन्। वास्तवमा यीनै मानिसहरूलाई मुक्ति दिन सबैभन्दा गाह्रो हुन्छ, किनकि तिनीहरू सोझो बोली बुझ्दैनन्! अब, जब परमेश्वर बोल्नुहुन्छ र मानिसहरूलाई खुलासा गर्नुहुन्छ, तब त्यसको उद्देश्य तिनीहरूलाई मानिसको भ्रष्ट प्रकृतिको जडबारे र किन मानिस परमेश्वरविरुद्ध विद्रोह गर्न सक्षम हुन्छ भनी बुझाउनु हो। यी कुराहरू खुलासा गर्दा मानिसहरूलाई फाइदा हुन्छ। यदि यी कुराहरू खुलासा गरिएन भने, तैँले आफूलाई कहिल्यै नचिनी त्यसलाई अन्त्यसम्म विश्वास गर्नेथिस्, प्रधान स्वर्गदूत त आफूलाई मै हुँ ठान्छ भनेर सधैँ भन्नेथिस्, वा यो व्यक्ति अहङ्कारी छ र त्यो व्यक्ति विद्रोही छ भनेर भन्नेथिस्। अनि तेरो बारेमा चाहिँ कुरा के छ नि? सधैँ यसो भन्ने मानिसहरू पनि छन्, “हामी वास्तवमा परमेश्वरप्रति विद्रोही छौँ,” तर अझै पनि तिनीहरूलाई आफ्नो विद्रोहको जड थाहा हुँदैन र तिनीहरू ती स्थितिको सार भित्रैसम्म देख्दैनन् वा बुझ्दैनन्। यसको मतलब तिनीहरू परिवर्तन हुन सक्दैनन् र तिनीहरूलाई मुक्ति दिन सकिँदैन। के तिमीहरू यी वचनहरू बुझ्न सक्छौ? (सक्छौँ।)
मैले भर्खरै सङ्गति गरेको कुरामा दुई प्रमुख पक्षहरू छन्। एउटा पक्ष हो, परमेश्वरमा विश्वास गर्दा, व्यक्तिले सृष्टि गरिएको प्राणीको स्तर पूर्णतया पूरा गर्दै साँचो समर्पण हासिल गर्नुपर्छ। अर्को पक्ष हो, मानिसहरूभित्रको विद्रोहीपन र तिनीहरूको प्रकृति खुलासा गर्दा तिनीहरूले आफूलाई चिन्न मद्दत पाउँछन्। यदि तिनीहरूलाई यसरी खुलासा गरिएन र आफूलाई चिन्न लगाइएन भने, सबैले तिनीहरूलाई असल र अरूभन्दा राम्रा भन्नेछन्। उदाहरणको लागि, कतिपय मानिसहरू भन्छन्, “म पनि एकदमै गहन रूपमा भ्रष्ट छु,” तर जब तिनीहरू केही समय अरूसँग अन्तरक्रिया गर्छन्, तब तिनीहरूले अझै आफूलाई अरूभन्दा उत्तम ठान्दै, यस्तो सोच्छन्: “म त्यति राम्रो छैनँ; तर यसो हेर्दा तिमी पनि त्यति राम्रो छैनौ, वास्तवमा मभन्दा पनि नराम्रो छौ!” तैँले आफूलाई अरूभन्दा राम्रो नठान्। तँ अरूभन्दा कुनै हालतमा पनि राम्रो छैनस्; सबै मानिसहरूको विद्रोही स्वभाव समान हुन्छ। के यो सब स्पष्ट भयो? अब हामीले यो सङ्गति समाप्त गरिसकेका छौँ, तिमीहरू सबै के सोच्छौ? के तिमीहरू यस्तो सोच्दै छौ: “मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छु, र मलाई आफू परमेश्वरप्रति समर्पित व्यक्ति हुँ भन्ने लाग्थ्यो। आज, अहिले परमेश्वरले सङ्गति समाप्त गर्नुभएको छ, र मलाई बल्ल आफूमा परमेश्वरप्रति साँचो समर्पण छैन, र म अझै पनि उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्दिनँ भन्ने महसुस भयो। म परमेश्वरमा समर्पित हुनसमेत सक्दिनँ—ममा पटक्कै समझ छैन र मेरो आस्था एकदमै अन्योलपूर्ण छ!” यदि तिमीहरूसँग साँच्चै यस्तो ज्ञान छ भने, तिमीहरूको लागि परमेश्वरप्रतिको विश्वासको सही मार्गमा प्रवेश गर्ने र उहाँमा समर्पित व्यक्ति बन्ने आशा हुन्छ; तबमात्र तिमीहरूले मुक्ति प्राप्त गर्न सक्छौ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।