सत्यता र परमेश्वरलाई कसरी लिने भन्नेसम्बन्धी वचनहरू (अंश १)
केही मानिसहरू परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू वास्तवमै सत्यता हुन् भन्ने देखेपछि उहाँमा विश्वास गर्न थाल्छन्। तर जब तिनीहरू परमेश्वरको घरमा पुग्छन् र परमेश्वर एक सामान्य व्यक्ति हुनुभएको कुरा देख्छन्, तब तिनीहरू मनमा धारणाहरू बनाउँछन्। तिनीहरूका वचन र कार्यहरू अनियन्त्रित हुन्छन्, तिनीहरू विशृङ्खल बन्छन्, र मनपरी मूल्याङ्कन र बदनामी गर्दै गैरजिम्मेवारीपूर्वक बोल्छन्। त्यस्ता दुष्ट मानिसहरूको प्रकाश यसरी नै हुन्छ। यी मानवताविहीन प्राणीहरू अक्सर दुष्ट कार्य गर्ने गर्छन् र मण्डलीको काममा बाधा पुर्याउँछन्, र तिनीहरूको कहिल्यै भलो हुनेछैन! तिनीहरू खुलेआम परमेश्वरलाई प्रतिरोध, बदनाम, मूल्याङ्कन र अपमान गर्छन्, र खुल्लमखुल्ला उहाँको ईशनिन्दा गर्दै आफूलाई उहाँविरुद्ध खडा गर्छन्। त्यस्ता मानिसहरू कठोर सजायको भागीदार हुनेछन्। केही मानिसहरू झूटा अगुवाको श्रेणीमा पर्छन्, र तिनीहरू आफूलाई हटाइएपछि निरन्तर रूपमा परमेश्वरप्रति आक्रोशित हुन्छन्। तिनीहरू भेलाहरूको फाइदा उठाउँदै तिनलाई आफ्ना धारणा फैलाइरहने र गुनासाहरू पोखिरहने अवसरका रूपमा प्रयोग गर्छन्; तिनीहरूले कठोर वा आफ्नो घृणा पोख्ने शब्दहरू पनि ओकल्न सक्छन्। के त्यस्ता मानिसहरू भूतप्रेत होइनन् र? परमेश्वरको घरबाट निकालिएपछि तिनीहरू पछुताउँछन् र आफूले क्षणिक मूर्खतामा गलत कुरा बोलेको दाबी गर्छन्। केही मानिसहरू तिनीहरूलाई खुट्टयाउन सक्दैनन् र “तिनीहरू निकै दयनीय छन्, र तिनीहरू हृदयदेखि नै पछुताइरहेका छन्। तिनीहरू आफू परमेश्वरप्रति ऋणी भएको र उहाँलाई नचिनेको भन्छन्, त्यसैले तिनीहरूलाई क्षमा गरिदिऔँ।” भन्ने गर्छन्। के त्यति सजिलै क्षमा दिन सकिन्छ र? मानिसहरूको त आफ्नै इज्जत हुन्छ, परमेश्वरको त झन् कुरै छोडौँ! यी मानिसहरूले ईशनिन्दा र बदनाम गरेपश्चात् कतिपयलाई यिनीहरू पछुताइरहेका जस्तो लाग्न सक्छ, अनि यिनीहरूलाई माफ गरिदिन्छन् र यिनीहरूले क्षणिक मूर्खतामा कार्य गरेका हुन् भन्छन्—तर के यो क्षणिक मूर्खता थियो त? तिनीहरूका बोलीमा सधैँ कुनै न कुनै अभिप्राय हुने गर्छ, र तिनीहरू परमेश्वरको मूल्याङ्कन गर्ने आँट समेत गर्छन्। परमेश्वरको घरले तिनीहरूलाई प्रतिस्थापन गर्यो, अनि तिनीहरूले हैसियतका फाइदाहरू गुमाए र त्यसपछि, तिनीहरू हटाइने डरले कैयौँ गुनासो गर्छन् र त्यसपछि पछुतो मान्दै धुरुधुरु रुन्छन्। के यसले केही राम्रो गर्छ? तेरा मुखबाट वचनहरू निस्किसकेपछि ती भुईँमा पोखिएको पानीजस्तै हुन्, जसलाई फिर्ता ल्याउन सकिँदैन। के परमेश्वरले मानिसहरूले आफूखुसी उहाँलाई प्रतिरोध, मूल्याङ्कन र ईशनिन्दा गरेको सहनुहुन्छ र? के उहाँले यसलाई त्यत्तिकै बेवास्ता गर्नुहुन्छ र? यदि त्यसो गर्नुहुन्छ भने परमेश्वरको कुनै इज्जत हुनेछैन। केही मानिसहरू आफ्नो प्रतिरोधपश्चात् भन्ने गर्छन्, “परमेश्वर, तपाईँको अमूल्य रगतले मलाई छुटकारा दियो। तपाईँ हामी मानिसहरूलाई सत्तरी गुणा सात पटक क्षमा गर्न लगाउनुहुन्छ—तपाईँले पनि मलाई क्षमा गर्नुपर्छ!” कस्तो लाजमर्दो! केही मानिसहरू परमेश्वरबारे अफवाह फैलाउँछन् र उहाँको निन्दा गरेपश्चात् भयभीत हुन थाल्छन्। दण्डित हुने डरले तिनीहरू तुरुन्तै घुँडा टेकेर “परमेश्वर! मलाई नत्याग्नुहोस्, मलाई दण्ड नदिनुहोस्। म कबुल गर्छु, म प्रायश्चित गर्छु, म तपाईँप्रति ऋणी छु, मैले गल्ती गरेँ।” भन्दै प्रार्थना गर्छन्। ल भन्, के त्यस्ता मानिसहरूलाई क्षमा गर्न सकिन्छ? सकिँदैन! किन सकिँदैन? तिनीहरूले गरेका कामले पवित्र आत्मालाई चिढ्याउँछ र पवित्र आत्मालाई ईशनिन्दा गर्ने पाप कहिल्यै माफ हुँदैन, चाहे त्यो यो जन्ममा होस् वा आउँदो संसारमा! परमेश्वरले उहाँका वचनहरू पूरा गरेरै छाड्नुहुन्छ। उहाँसँग इज्जत, क्रोध र धर्मी स्वभाव छ। के तँलाई परमेश्वर मानवसमान हुनुहुन्छ र कसैले उहाँप्रति अलिकति राम्रो व्यवहार गर्यो भने उहाँले उसले पहिले गरेका अपराधहरूलाई बेवास्ता गरिदिनुहुन्छ भन्ने लाग्छ? त्यस्तो हुँदैन! यदि तैँले परमेश्वरको प्रतिरोध गरिस् भने, के तेरो लागि ठीक हुनेछ त? यदि तैँले क्षणिक मूर्खताको कारण केही गलत कार्य गर्छस् वा कहिलेकाहीँ अलिकति भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, त्यो कुरा बुझ्न सकिन्छ। तर यदि तैँले सिधै परमेश्वरको प्रतिरोध गर्छस्, उहाँविरुद्ध विद्रोह गर्छस् र आफूलाई उहाँविरुद्ध खडा गर्छस्, र तैँले उहाँलाई बदनाम र ईशनिन्दा गर्छस् र उहाँबारे अफवाह फैलाउँछस् भने तँ पूर्ण रूपमा नष्ट हुनेछस्। त्यस्ता मानिसहरूले अबउप्रान्त प्रार्थना गरिरहनुपर्दैन; तिनीहरूले दण्डित हुन प्रतीक्षा मात्र गरे हुन्छ। तिनीहरू अक्षम्य छन्! जब त्यो समय आउँछ, तब लाज पचाएर “परमेश्वर, कृपया मलाई माफ गर्नुहोस्!” भनेर नभन्। मलाई भन्नमा खेद छ, तर तैँले जसरी बिन्ती गरे पनि त्यो व्यर्थ हुनेछ। मानिसहरूले केही सत्यता बुझेपछि पनि, जानीजानी अपराध गर्छन् भने, तिनीहरूलाई क्षमा गर्न सकिँदैन। परमेश्वरले व्यक्तिका अपराधहरू सम्झनुहुन्न भनेर विगतमा भनिएको छ। त्यो कुराले परमेश्वरका प्रशासनिक आदेशहरूसँग कुनै सरोकार नराख्ने र परमेश्वरको स्वभावलाई नचिढ्याउने सानातिना अपराधहरूलाई जनाउँछ। तिनमा परमेश्वरको ईशनिन्दा र बदनामी पर्दैनन्। तर यदि तैँले एकपटक पनि परमेश्वरको ईशनिन्दा, मूल्याङ्कन वा बदनामी गरिस् भने, त्यो मेटाउनै नसकिने दाग हुनेछ। मानिसहरू आफूखुसी परमेश्वरको ईशनिन्दा र दुरुपयोग गर्ने, र त्यसपछि आशिष् पाउन उहाँबाट फाइदा उठाउने चाहना राख्छन्। दुनियाँमा कुनै पनि कुरा त्यति सस्तो छैन! मानिसहरू सधैँ परमेश्वर कृपालु र दयालु हुनुहुन्छ, उहाँ हितकारी हुनुहुन्छ, उहाँसँग विशाल र अमापनीय हृदय छ, उहाँ मानिसका अपराधहरू सम्झनुहुन्न र तिनीहरूका पहिलेका अपराध र कार्यहरूलाई कोट्याउनुहुन्न भनी सोच्ने गर्छन्। बितेका कुरालाई नकोट्याउने काम सानातिना कुराहरूमा मात्र लागु हुन्छ। परमेश्वरले उहाँलाई खुलेआम प्रतिरोध र ईशनिन्दा गर्नेहरूलाई कहिल्यै क्षमा गर्नुहुनेछैन।
मण्डलीका धेरैजसो मानिसहरूले परमेश्वरमा साँच्चै विश्वास गर्ने भए पनि तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदैन। यसले धेरैजसो मानिसहरूसँग परमेश्वरको स्वभावबारे साँचो ज्ञान छैन, त्यसैले तिनीहरूलाई परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न गाह्रो हुन्छ भन्ने देखाउँछ। यदि मानिसहरू परमेश्वरप्रतिको आफ्नो विश्वासमा उहाँको डर मान्दैनन् र उहाँदेखि भयभीत हुँदैनन्, र परमेश्वरको कामले तिनीहरूको स्वार्थलाई छुनेबित्तिकै मनपरी बोल्छन् भने, तिनीहरूले बोलिसकेपछि त्यतिमै कुरा सकिनेछ त? तिनीहरूले त्यसपछि आफूले बोलेका कुराहरूको मूल्य चुकाउनैपर्छ, र यो सामान्य कुरा होइन। केही मानिसहरूले परमेश्वरको ईशनिन्दा र मूल्याङ्कन गर्दा, के तिनीहरूलाई हृदयमा आफूले के बोलिरहेको छु भन्ने कुरा थाहा हुन्छ? यस्ता कुरा बोल्ने सबैलाई हृदयमा, आफूले के बोलिरहेको छु भनेर थाहा हुन्छ। दुष्टात्माको नियन्त्रणमा रहेका र असामान्य समझ भएकाहरूबाहेक साधारण मानिसहरूलाई हृदयमा, आफूले के बोलिरहेको छु भन्ने कुरा थाहा हुन्छ। यदि तिनीहरू थाहा छैन भनेर भन्छन् भने तिनीहरू झूट बोलिरहेका हुन्छन्। तिनीहरूले बोल्दा यस्तो सोच्छन्: “मलाई थाहा छ कि तपाईँ परमेश्वर हुनुहुन्छ। म तपाईँले सही गरिरहनुभएको छैन भन्दैछु, तपाईँ मलाई के गर्न सक्नुहुन्छ? मैले बोलेर सकेपछि तपाईँले के गर्नुहुनेछ?” तिनीहरू अरूलाई बाधा दिन, अरूलाई आफ्नो पक्षमा ल्याउन र अरूलाई पनि त्यस्तै कुरा भन्न लगाउन र त्यस्तै काम गर्न लगाउन जानीजानी यसो गर्ने गर्छन्। तिनीहरूलाई आफूले बोलेका कुराहरूले परमेश्वरको ठाडो अवज्ञा गर्छन्, ती परमेश्वरको विरुद्ध छन् र तिनले परमेश्वरको ईशनिन्दा गर्छन् भन्ने कुरा थाहा छ। त्यसबारे विचार गरिसकेपछि तिनीहरूलाई आफूले गरेका कार्य गलत लाग्छ: “म के बोलिरहेको थिएँ? त्यसबेला म आवेगमा आएको थिएँ र मलाई त्यसबारे साँच्चै पछुतो छ।” तिनीहरूको पछुतोले प्रमाणित गर्छ कि तिनीहरूले त्यो बेला ठ्याक्कै के गरिरहेका थिए भन्ने कुरा तिनीहरूलाई थाहा थियो; तिनीहरूलाई थाहै नभएको होइन। यदि तँलाई तिनीहरू क्षणभरका लागि अज्ञानी र भ्रमित भएका थिए र तिनीहरूले राम्रोसँग बुझेका थिएनन् भन्ने लाग्छ भने, त्यो पूर्णतः सही होइन। मानिसहरूले राम्रोसँग नबुझेका हुन सक्छन्, तर यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने तँसँग कम्तीमा सामान्य समझ हुनैपर्छ। परमेश्वरमा विश्वास गर्न तैँले परमेश्वरको डर मान्नु पर्छ र उहाँदेखि भयभीत हुनुपर्छ। तैँले आफ्नो इच्छाअनुसार परमेश्वरविरुद्ध ईशनिन्दा गर्न, वा उहाँलाई मूल्याङ्कन वा बदनाम गर्न मिल्दैन। के तँलाई थाहा छ, “मूल्याङ्कन गर्नु”, “ईशनिन्दा गर्नु” र “बदनाम गर्नु” भनेको के हो? तैँले केही कुरा बोल्दा, के तँलाई तैँले परमेश्वरको मूल्याङ्कन गरिरहेको छस् कि छैनस् भनेर थाहा हुँदैन र? केही मानिसहरू सधैँ, परमेश्वरको आतिथ्य गरेको र प्रायः परमेश्वरलाई देख्ने गरेको र परमेश्वरकै अगाडि उहाँको सङ्गति सुनेको तथ्यबारे कुरा गर्ने गर्छन्। तिनीहरू जसलाई भेटे पनि यी कुराहरूबारे लामो समयसम्म बात मार्छन्, तर त्यसमा बाहिरी तत्त्वहरूलाई मात्र जोड दिन्छन्; तिनीहरूसँग साँचो ज्ञान त छँदै छैन। तिनीहरूले यी कुराहरू बोल्दा कुनै गलत अभिप्राय राख्दैनन् होला। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको भलो चिताई सबैलाई प्रोत्साहित गर्न चाहन्छन् होला। तर तिनीहरू बोल्नका लागि किन यी कुराहरू नै चुन्छन्? यदि तिनीहरू सक्रिय रूपमा यो मामिलालाई अगाडि सार्छन् भने तिनीहरूसँग पक्कै पनि कुनै न कुनै आशय हुन्छ: मुख्यतः देखावट गर्ने र मानिसहरूमा आफूप्रति आदरभाव जगाउने। यदि तिनीहरूलाई मानिसहरूमा आत्मविश्वास जगाउनु र परमेश्वरप्रतिको तिनीहरूको आस्थालाई प्रोत्साहन गर्नुथ्यो भने, तिनीहरूले उनीहरूलाई उहाँका थप वचनहरू सुनाउने थिए, जुन सत्यता हुन्। त्यसोभए किन तिनीहरू त्यस्ता बाह्य कुराहरूबारे मात्र बोल्ने अड्डी कस्छन्? तिनीहरूले त्यस्ता कुराहरू गर्नुको मुख्य कारण के हो भने तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय छँदै छैन। तिनीहरू परमेश्वरदेखि डराउँदैनन्। तिनीहरू कसरी परमेश्वरसामु नाटक गर्न र मुख फोर्न सक्छन्? परमेश्वरको इज्जत छ! यदि मानिसहरूले यो कुरा बुझेको भए के तिनीहरूले अझै पनि त्यस्ता काम गर्नेथिए त? मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय छैन। तिनीहरू आफ्नै मनसाय पूरा गर्न, आफ्नै व्यक्तिगत लक्ष्यहरू हासिल गर्न र अरूमा आफूप्रति आदरभाव जगाउनका लागि जथाभावी रूपमा परमेश्वर कस्तो हुनुहुन्छ र परमेश्वर केजस्तो हुनुहुन्छ भनी भन्ने गर्छन्। यो भनेको केवल परमेश्वरको मूल्याङ्कन र ईशनिन्दा गर्नु हो। त्यस्ता मानिसहरूको हृदयमा परमेश्वरको अलिकति पनि डर हुँदैन। ती सबै परमेश्वरलाई प्रतिरोध र ईशनिन्दा गर्ने मानिसहरू हुन्। तिनीहरू सबै दुष्टात्मा र भूतप्रेतहरू हुन्। केही मानिसहरूले केही वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका हुन्छन्, तर ठूलो रातो अजिङ्गरको कब्जामा परेपछि, तिनीहरू यहूदा बन्छन्, परमेश्वरको ईशनिन्दा गर्ने कार्यमा तिनीहरूले ठूलो रातो अजिङ्गरलाई पछ्याउने काम समेत गर्छन्। केही मानिसहरू सुसमाचार सुनाउँछन् र धार्मिक मानिसहरूको सुरमा सुर मिलाउँदै परमेश्वरका कार्यहरू मूल्याङ्कन गर्ने र उहाँको निन्दा गर्ने कुराहरू बोल्ने गर्छन्। तिनीहरूलाई यसरी बोल्नु भनेको परमेश्वरको विरोध र ईशनिन्दा गर्नु हो भन्ने कुरा थाहा हुन्छ, तर तिनीहरू यसबारे निश्चिन्त हुन्छन्। तेरो मनसाय जेसुकै भए पनि यसरी बोल्नु अनुचित हुन्छ। तैँले अरू नै केही कुरा बोले हुन्न र? तँलाई यी कुराहरू नै किन बोल्नुपर्छ? के यो परमेश्वरविरुद्धको ईशनिन्दा होइन र? यदि तेरो मुखबाट त्यस्तो बोली निस्किन्छ भने, तँ परमेश्वरलाई ईशनिन्दा गरिरहेको छस्। तैँले यस्ता कुराहरू गर्नु भनेको अधर्मी कार्य हो, चाहे तैँले जानीबुझी त्यस्तो गरेको होस् वा नजानेर। तँमा परमेश्वरको डर मान्ने हृदय छैन। तँ अरूलाई रिझाउन र मानिसहरूलाई आफ्नो पक्षमा ल्याउन हो मा हो मिलाउँछस् र परमेश्वरको ईशनिन्दा गर्ने शब्दहरू बोल्छस्। तँ कति अधर्मी छस्; तँ दियाबलससँग मिलेको छस्! के तैँले जथाभावी परमेश्वरसँग ख्यालठट्टा गर्न, उहाँको मूल्याङ्कन गर्न, उहाँलाई सीमित गर्न र उहाँको निन्दा गर्न मिल्छ र? त्यसो गर्नु अत्यन्तै खराब काम हो! यदि तँ केही गलत कुरा बोल्छस् र त्यसले परमेश्वरको स्वभावलाई चिढ्याउँछ भने तेरो खैर छैन। यो एकदमै घातक कुरा हो! केही मानिसहरू सोच्छन्, “धर्मका मानिसहरू पाष्टर र एल्डरहरूद्वारा बहकिन्छन्, र तिनीहरूमध्ये अधिकांशले परमेश्वरको ईशनिन्दा गर्ने र उहाँका कार्यहरूको मूल्याङ्कन र निन्दा गर्ने कुरा बोलेका हुन्छन्। केही मानिसहरूले आखिरी दिनहरूमा परमेश्वरको काम स्वीकार गरेर पश्चात्ताप गरेका छन्। त्यसोभए, के तिनीहरूले मुक्ति पाउनेछन् त? यदि तिनीहरू सबै परमेश्वरद्वारा त्यागिएका भए मुक्ति दिइने मानिसहरू निकै कम हुनेथिए; सायदै कसैले मुक्ति पाउनेथ्यो।” तँ यो मामिलालाई स्पष्ट रूपमा बुझ्न सक्दैनस्, सक्छस् त? परमेश्वरको स्वभाव भनेको धार्मिकता हो, र उहाँ सबैप्रति धर्मी हुनुहुन्छ। नोआको समयमा नाउमा आठ जना मानिसहरूलाई मात्र बचाइएको थियो; बाँकी सबै नष्ट गरिएका थिए। के तँसित परमेश्वर अधर्मी हुनुहुन्छ भनेर भन्ने हिम्मत छ? मानवजाति गहिरो रूपमा भ्रष्ट तुल्याइएको छ। तिनीहरू सबै शैतानका हुन्; तिनीहरू सबैले परमेश्वरलाई प्रतिरोध गर्छन्, र तिनीहरू सबै नीच र नालायक छन्। यदि तिनीहरू परमेश्वरको काम स्विकार्न सक्दैनन् भने सधैँझैँ तिनीहरूलाई पनि नष्ट गरिनेछ। केही मानिसहरू मनमनै यस्तो सोच्लान्: “यदि हामीमध्ये कसैले पनि परमेश्वरको मुक्ति पाउन सक्दैनौँ भने, के परमेश्वरको काम व्यर्थमा जानेछैन र? मलाई लाग्छ, परमेश्वरले मानवबिना मानवजातिलाई मुक्ति दिन सक्नुहुन्न। यदि परमेश्वरले मानवलाई त्याग्नुभयो भने उहाँको व्यवस्थापन पनि हराएर जानेछ।” तँ गलत छस्। परमेश्वरले मानवबिना पनि आफ्नो व्यवस्थापन योजना उही तरिकामा जारी राख्नुहुनेछ। मानिसहरू आफैलाई अति मूल्यवान ठान्छन्। मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय नै छैन, तिनीहरू परमेश्वरप्रति भक्तालु त छँदै छैनन्, र तिनीहरूसँग शिष्ट मनोवृत्ति पनि छैन। मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउने र शैतानकै हुने हुनाले, तिनीहरू जुनै पनि बेला र जहाँकहीँ पनि परमेश्वरको मूल्याङ्कन र ईशनिन्दा गर्न सक्छन्। यो एकदमै खराब कुरा हो—यो परमेश्वरको स्वभावविरुद्धको चिढ्याइ हो!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।