भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्नेसम्बन्धी वचनहरू (अंश ५०)
अहङ्कार, आत्मधार्मिकता, र दुराग्रहजस्ता मान्छेका भ्रष्ट स्वभावहरू जिद्दी रोगजस्तै हुन्। ती मानव शरीरमा पलाउने घातक ट्युमर जस्तै हुन् र विना केही कष्ट तिनको उपचार गर्न सकिँदैन। यो जिद्दी रोग केही दिनमा हराएर जाने क्षणिक बिमारीजस्तो सानोतिनो व्यथा होइन, र यसको उपचारको लागि सशक्त विधि अपनाउनुपर्छ। तर, तिमीहरूले जान्नैपर्ने एउटा तथ्य के हो भने—समाधान गर्नै नसकिने कुनै समस्या छैन। तेरा भ्रष्ट स्वभावहरू तैँले सत्यता पछ्याउने, जीवनमा प्रगति गर्ने र सत्यताबारे तेरो बुझाइ र अनुभव गहन बन्दै जाने क्रममा बिस्तारै कम हुँदै जानेछन्। भ्रष्ट स्वभावहरू शुद्ध पारिएको मानिन ती कुन हदसम्म कम हुनुपर्नेछ? जब तँ तिनको जकडबाट मुक्त हुन्छस् र तिनीहरूलाई खुट्ट्याउन र त्याग्न सक्षम हुन्छस्। जब तँ कहिलेकाहीँ ती भ्रष्ट स्वभावहरू देखा पर्दा पनि सधैँझैँ आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता अभ्यास गर्न सक्षम हुन्छस्, लगनशील र जिम्मेवार रहन्छस्, र तँ तिनीहरूको बन्धनमा परेको हुँदैनस्। त्यस अवस्थामा, यी भ्रष्ट स्वभावहरू तेरो लागि समस्या बन्न छोड्नेछन्, अनि तैँले तिनलाई जितेर तीभन्दा माथि उठिसकेको हुनेछस्। जीवनमा प्रगति गरेको हुनु भनेको त्यही नै हो, जहाँ सामान्य परिस्थितिहरूमा तँ तेरा भ्रष्ट स्वभावहरूद्वारा जकडिन वा बाँधिन छोडेको हुन्छस्। कतिपय मानिसहरू आफूले जति धेरै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनलाई समाधान गर्न सत्यता खोज्दैनन्। फलस्वरूप, परमेश्वरमा वर्षौँको विश्वासपछि पनि तिनीहरूका स्वभावहरू परिवर्तन भएका हुँदैनन्। तिनीहरू यस्तो सोच्छन्, “जब-जब म केही गर्छु, म मेरा भ्रष्ट स्वभावहरू प्रकट गर्छु; यदि मैले आफूलाई केही गर्नबाट रोकेँ भने, मैले भ्रष्ट स्वभाव प्रकट गर्नेछैनँ। के त्यसले उक्त समस्या समाधान गर्दैन र?” के यो निसास्सिने डरले खान छोड्नु होइन र? यसको परिणाम के हुनेछ? यसले भोकमरी मात्र निम्त्याउन सक्छ। यदि व्यक्तिले भ्रष्ट स्वभावहरू प्रकट गर्छ र तिनलाई समाधान गर्दैन भने, त्यो सत्यतालाई नस्विकार्नु र एक्कासि मर्नुसरह हो। यदि तैँले परमेश्वरमा विश्वास गर्छस्, तर सत्यता पछ्याउँदैनस् भने त्यसको परिणाम के हुनेछ? तैँले आफ्नो चिहान आफैले खनिरहेको हुनेछस्। भ्रष्ट स्वभावहरू परमेश्वरप्रतिको तेरो विश्वासका शत्रु हुन्; तिनले तँलाई सत्यता अभ्यास गर्न, परमेश्वरको काम अनुभव गर्न, र उहाँप्रति समर्पित हुनमा बाधा पुर्याउनेछन्। फलस्वरूप, तैँले अन्त्यमा परमेश्वरको मुक्ति प्राप्त गर्नेछैनस्। के त्यो तैँले आफ्नै चिहान खन्नु होइन र? शैतानी स्वभावहरूले तँलाई सत्यता स्विकार्न र अभ्यास गर्नमा बाधा पुर्याउँछन्। तैँले तिनलाई पन्छाउन सक्दैनस्; तैँले तिनीहरूको सामना गर्नैपर्छ। यदि तैँले तिनलाई पार लगाउँदैनस् भने, तिनले तँलाई नियन्त्रण गर्नेछन्। यदि तैँले तिनलाई पार लगाउन सकिस् भने, तँ तीबाट बाधित हुन छोड्नेछस्, र तँ मुक्त हुनेछस्। कहिलेकाहीँ, तेरो हृदयमा अझै पनि भ्रष्ट स्वभावहरू उत्पन्न हुनेछन् र आफूलाई प्रकट गर्नेछन्, जसले तँभित्र गलत सोच र विचारहरू अनि दुष्ट सोचाइ पैदा गर्नेछन्, तँलाई आफूलाई आत्मगर्वित वा उच्च र शक्तिशाली सोच्ने तुल्याउनेछ, र त्यस्ता सोचहरू प्रकाश गर्नेछन्; तर, जब तैँले काम गर्छस्, तब तेरा हात र खुट्टाहरू तिनले बाँधिएका हुनेछैनन्, अनि त्यसउपरान्त तेरो हृदय तिनीहरूद्वारा नियन्त्रित हुनेछैन। तैँले यसो भन्नेछस्, “मेरो अभिप्राय परमेश्वरको घरको हितबारे सोच्नु, परमेश्वरलाई सन्तुष्ट पार्न कामकुरा गर्नु, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य र निष्ठा पूरा गर्नु हो। मैले अझै पनि कहिलेकाहीँ यस प्रकारको स्वभाव प्रकट गरे पनि, ममाथि त्यसको बिलकुलै प्रभाव छैन।” यो पर्याप्त छ। यस प्रकारको भ्रष्ट स्वभाव मूलभूत रूपमा समाधान भएको हुनेछ। के मान्छेको स्वभाव परिवर्तन अस्पष्ट र अमूर्त हुन्छ? (हुँदैन।) यो त व्यावहारिक छ। कतिपय मानिसहरू यसो भन्छन्, “मैले अलिअलि सत्यता बुझे पनि, ममा अझै पनि कहिलेकाहीँ भ्रष्ट सोच र विचारहरू उत्पन्न हुन्छन्, र म अझै पनि भ्रष्ट स्वभावहरू प्रकट गर्छु। मैले के गर्नुपर्छ?” यदि तँ वास्तवमै सत्यता पछ्याउने व्यक्ति होस् भने, जब-जब तँमा गलत सोच र विचारहरू उत्पन्न हुन्छन्, वा तैँले भ्रष्ट स्वभावहरू प्रकट गर्छस्, तैँले तिनलाई समाधान गर्न परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्नुपर्छ। यो अभ्यासको सबैभन्दा आधारभूत सिद्धान्त हो; तैँले यो कुरा बिर्सनेछैनस् नि, हैन? त्यसबाहेक, आफूमा गलत सोच र विचारहरू उत्पन्न हुँदा तैँले तिनलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा पनि तँलाई थाहा हुनुपर्छ। तैँले तिनको बन्धन र घेरामा पर्न मिल्दैन, तिनलाई पछ्याउने त कुरै छाडौँ। यदि तैँले अलिअलि सत्यता बुझ्छस् भने, तँलाई यो कुरा हासिल गर्न सजिलै हुनुपर्छ। यदि तँ भ्रष्ट स्वभावहरू प्रकट गर्छस् भने, तैँले तिनलाई समाधान गर्न सत्यता खोज्ने प्रयास गर्नैपर्छ। तैँले “हे परमेश्वर, मैले फेरि पनि भ्रष्ट स्वभाव प्रकट गरेँ, कृपया मलाई अनुशासित गर्नुहोस्! म मेरा भ्रष्ट स्वभावहरूलाई नियन्त्रण गर्न सक्दिनँ” भन्न मिल्दैन। यदि तैँले यसरी नै प्रार्थना गर्छस् भने, यसले तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भन्ने देखाउँछ। यसले तँ नकारात्मक र निष्क्रिय छस्, र तैँले हार मानेको छस् भन्ने देखाउँछ—तैँले शवपेटी तयार गरेर आफ्नो अन्त्येष्टिको बन्दोबस्त गरे पनि हुन्छ। ल भन्, कस्तो खालको व्यक्तिले त्यस्तो प्रार्थना गर्छ? बेकम्मा व्यक्तिले मात्र परमेश्वरलाई त्यसरी प्रार्थना गर्छ। सत्यतालाई प्रेम गर्ने व्यक्तिले त्यस्ता शब्दहरू कहिल्यै बोल्दैन। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यतालाई पछ्याउने मार्ग रोज्नुपर्छ, र कसरी अभ्यास गर्ने भन्नेबारे पनि तँ प्रस्ट हुनुपर्छ। यदि तँलाई आफूलाई यी सामान्य समस्याहरू आइपर्दा कसरी अभ्यास गर्ने भनी थाहा छैन भने, तँ अति नै काम नलाग्ने छस्। भ्रष्ट स्वभावहरू समाधान गर्न जीवनभरको प्रयास लाग्छ, यो केही वर्षमै हासिल गर्न सकिने कुरा होइन। तँ किन सत्यता र जीवन प्राप्त गर्नेबारे भ्रमहरू पाल्छस्? के त्यो मूर्ख र अज्ञानी हुनु होइन र?
जीवन स्वभावमा परिवर्तनको खोजीको क्रममा भ्रष्ट स्वभावहरूका बन्धनहरू हरेक व्यक्तिको लागि सबैभन्दा ठूलो कठिनाइ बन्छन्। जब मानिसहरूले अलिकति भ्रष्ट स्वभाव प्रकट गर्छन्, वा त्यसलाई बारम्बार प्रकट गर्छन्, र जब तिनीहरू त्यसलाई नियन्त्रण गर्न असमर्थ महसुस गर्छन्, तब तिनीहरू आफ्नै निन्दा गर्छन्, आफ्नो अन्त्य भएको र आफूलाई परिवर्तन गर्न नसकिने निष्कर्षमा पुग्छन्। यो अधिकांश मानिसहरूमा हुने दुविधा र गलत बुझाइ हो। अहिले, सत्यता पछ्याउने कतिपयले थाहा पाएका छन् कि जबसम्म व्यक्तिभित्र भ्रष्ट स्वभावहरू रहन्छन्, तबसम्म उसले तिनलाई बारम्बार प्रकाश गर्न सक्छ, जसले उसको कर्तव्य निर्वाहलाई प्रभाव पार्दछ र उसलाई सत्यता अभ्यास गर्नमा बाधा पुर्याउँछ, अनि यदि उसले आफ्ना भ्रष्ट स्वभावहरूको समस्या समाधान गर्नको लागि आत्मचिन्तन गर्न सक्दैन भने, उसले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन। त्यसकारण, सधैँ नकारात्मक, झाराटारुवा तरिकाले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूले गम्भीरतापूर्वक आत्मचिन्तन गर्नुपर्छ र त्यसलाई समाधान गर्न तिनीहरूको समस्याको मूल कारण पत्ता लगाउनुपर्छ। तर, कतिपय मानिसमा विकृत बुझाइ हुन्छ, र तिनीहरू यस्तो सोच्छन्, “आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भ्रष्ट स्वभावहरू प्रकट गर्ने सबै मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्नुअघि रोकिएर तिनलाई पूर्ण रूपले समाधान गर्नुपर्छ।” के यो मान्य विचार हो? यो मानव कल्पना हो, र यो पूरै अमान्य छ। वास्तवमा अधिकांश मानिसहरूको हकमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनीहरूले तिनलाई समाधान गर्न सत्यता खोज्छन् भने, तिनीहरूले भ्रष्टताको प्रकटीकरणको सङ्ख्या बिस्तारै घटाउँदै लगेर अन्त्यमा आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्न सक्छन्। परमेश्वरको काम अनुभव गर्ने प्रक्रिया यही हो। तैँले कुनै भ्रष्ट स्वभाव प्रकट गर्नेबित्तिकै त्यसलाई समाधान गर्न तैँले सत्यता खोज्नुपर्छ, र तेरो शैतानी स्वभाव खुट्ट्याउनुपर्छ र त्यसको विश्लेषण गर्नुपर्छ। यो तेरो शैतानी स्वभावविरुद्ध लड्ने प्रक्रिया हो, र यो तेरो जीवन अनुभवको लागि आवश्यक छ। परमेश्वरको काम अनुभव गर्ने र तेरो स्वभाव परिवर्तन गर्ने क्रममा, तँ आफ्नो शैतानी स्वभावविरुद्ध लड्न आफूले बुझ्ने सत्यताहरू प्रयोग गर्छस्, अन्त्यमा आफ्नो भ्रष्ट स्वभावहरू समाधान गर्छस् र शैतानमाथि विजय प्राप्त गर्छस्, र यसरी जीवन स्वभावमा परिवर्तन हासिल गर्छस्। व्यक्तिको स्वभाव परिवर्तन गर्ने प्रक्रिया भनेको मानव धारणा र कल्पना, अनि शब्द र धर्मसिद्धान्तहरूलाई विस्थापित गर्न, र संसारसँग व्यवहार गर्ने दर्शन र शैतानबाट आउने विविध असहमति र त्रुटिहरूलाई विस्थापित गर्दै बिस्तारै यी कुराहरूलाई सत्यता र परमेश्वरको वचनद्वारा प्रतिस्थापन गर्नको निम्ति सत्यताको खोजी र स्वीकार गर्नु हो। यो सत्यता प्राप्त गर्ने र व्यक्तिको स्वभाव परिवर्तन गर्ने प्रक्रिया हो। यदि तँ आफ्नो स्वभाव कति परिवर्तन भएको छ भनी जान्न चाहन्छस् भने, तैँले आफूले कति वटा सत्यताहरू बुझ्छु, कति वटा सत्यताहरू व्यवहारमा लागू गरेको छु, र कति वटा सत्यताहरू जिउन सक्छु भनी प्रस्ट रूपमा देख्नै पर्छ। तेरा कति वटा भ्रष्ट स्वभावहरू आफूले बुझेका र प्राप्त गरेका सत्यताहरूद्वारा प्रतिस्थापित गरिएका छन्, र तिनले तँभित्रका भ्रष्ट स्वभावहरूलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छन्, अर्थात्, तैँले बुझ्ने सत्यताहरूले कुन हदसम्म तेरा सोच र अभिप्रायहरू, अनि तेरो दैनिक जीवन र अभ्यासलाई मार्गदर्शन गर्न सक्छन् भनी तैँले प्रस्ट रूपमा देख्नैपर्छ। तँमाथि केही आइपर्दा, तेरा भ्रष्ट स्वभावहरूले तँलाई नियन्त्रणमा राख्छन्, वा तैँले बुझ्ने सत्यताहरू हाबी भएर तँलाई मार्गदर्शन गर्छन् भन्ने कुरा तैँले प्रस्ट रूपमा देख्न सक्नुपर्छ। तेरो कद र जीवन प्रवेश मापन गर्ने मानक यही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।