सत्यता कसरी पछ्याउने (९) भाग पाँच
दयालुपन
यसपछिको प्रकटीकरण दयालुपन हो। यो प्रकटीकरण मानवताको असल गुण हो। हामीले यति धेरै छलफल गरिसकेपछि, हामी अन्ततः मानवताको एउटा असल गुणमा पुगेका छौँ; मानवताका असल गुणहरू साँच्चै नै धेरै छैनन्। दयालुपन मानवताको एक प्रकारको असल गुण हो। यो असल गुण भएकोले, हामीले यसबारे विस्तृत रूपमा कुरा गर्नुपर्छ किनभने धेरैजसो मानिसहरूसँग मानिसहरूमा भेट्टाउन सकिने मानवताका केही असल गुणका प्रकटीकरणहरू हुँदैनन्। त्यसोभए, हेरौँ; दयालुपनका असल गुणहरू कहाँ हुन्छन्? (दयालुपनको अर्थ कुनै व्यक्ति तुलनात्मक रूपमा सच्चा छ भन्ने हो। जब उसले कामकुरा सम्हाल्छ, तब अरू तुलनात्मक रूपमा ढुक्क हुन्छन्। उसले आफूलाई सुम्पिएका कार्यहरू राम्ररी सम्हाल्ने गरी बोझ लिन्छ।) (दयालु मानिसहरूमा तुलनात्मक रूपमा असल नैतिक आचरण हुन्छ, तिनीहरूले अरूको ख्याल गर्छन्, र अरूका पक्षमा सोच्छन्।) अरूका पक्षमा सोच्नु—यो महान् शैली हो! त्यस्ता मानिसहरू महान् हुन्छन्, तर के दयालुपन यति महान् कुरा हो? (होइन।) दयालुपनको अर्थ व्यक्तिका विचारहरू त्यति जटिल छैनन् भन्ने मात्रै हुन्छ; ऊ तुलनात्मक रूपमा सरल हुन्छ, कुटिल हुँदैन; ऊ उदार हुन्छ र अरूप्रति कठोर हुँदैन, र अरूसँग सङ्गत गर्दा ऊ व्यक्तिगत फाइदा र घाटाहरूको हिसाबकिताब गर्दैन। कसैले उसलाई अपमान गर्छ, र ऊ केही समयसम्म निराश हुन्छ, तर उसले सोच्छ, “होस् बिर्सिदिन्छु,” अनि त्यो मामलालाई त्यतिकै छोडिदिन्छ। कसैले ऊबाट पैसा लिएर लामो समयसम्म फिर्ता दिँदैन, र उसले यस्तो सोच्छ: “उसलाई पैसा तिर्न जोड गर्नु लाजमर्दो कुरा हुनेछ। यसबाहेक, उसलाई गाह्रो भइरहेको छ, र त्यो बेला, म ऊभन्दा राम्रो अवस्थामा थिएँ। मैले सापट दिएँ, त्यति हो। म यसलाई गरिबलाई सहयोग गरेको रूपमा मात्रै लिनेछु।” हेर् त, उसका विचार तुलनात्मक रूपमा उदार र सहनशील हुन्छन्। उदाहरणका लागि, जब अरूले उसलाई गलत रूपमा बुझ्छन्, तब उसले यसको वास्ता गर्दैन र आफ्नो प्रतिरक्षा गर्दैन। जब अरूले उसलाई गलत ठहराउँछन् र मूर्ख भन्छन्, तब उसलाई वास्ता हुँदैन। आफ्नो कर्तव्य पूरा गर्दा, उसलाई यो थकाइलाग्दो कुरा हो भन्ने लाग्दैन, र उसले अरू गर्न इच्छुक नहुने कामकुराहरू गर्छ। कसैले उसलाई यसो भन्दै गिल्ला गर्छ, “अरू सबैले विश्राम गरिरहेका छन्, तर पनि तिमी अझै किन काम गरिरहेका छौ?” उसले प्रतिक्रिया दिन्छ, “थप थोरै काम गर्दैमा के हानि हुन्छ र? यसले मलाई थकित पार्दैन। के काम गर्दा साँच्चै नै कोही लखतरान हुन्छ र? यदि अरूले काम गर्दैनन् भने, नगरून्। मैले यो काम गर्न सक्ने हुनाले, म बस अलिक बढी गर्नेछु।” उसले त्यस्ता कुराहरूबारे किचकिच गर्दैन र अग्रसरता जनाएर काम गर्छ। उसले नाफा र घाटाहरूका बारेमा त्यति किचकिच गर्दैन, न त इज्जत वा हैसियतका बारेमा नै त्यति किचकिच गर्छ। उसले आफै घाटा भोग्दा पनि, त्यो उल्लेख गर्दैन। जब अरूले कठिनाइहरूको सामना गर्छन्, तब उसले सहयोग गर्न अग्रसरता जनाउँछ। उसको सहयोग उसका आफ्नै अभिप्राय र उद्देश्यविना हुन्छ, र यदि अरूले उसको गुन तिर्न चाहन्छन् भने, उसलाई थोरै सहयोग गर्नु ठूलो कुरा होइन र उसले गर्नुपर्ने कुरा हो भन्ने लाग्छ। उसले सहयोग गरेपछि अरूले कदर नगरे पनि, त्यस्ता कुराहरूका बारेमा किचकिच गर्दैन। जब अरूलाई सहयोग गर्ने समय आउँछ, तब उसले अझै पनि सहयोग गर्नेछ। के त्यस्ता मानिसहरू धेरै हुन्छन्? (धेरै हुँदैनन्।) त्यस्ता मानिसहरू धेरै हुँदैनन्। तिनीहरू दयालु भए पनि, तिनीहरूसँग आफूलाई आचरणमा कसरी ढाल्ने भन्ने कुरामा निश्चित सीमाहरू हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू त्यस्तो व्यक्तिलाई मूर्ख ठानेर, सधैँ फाइदा लिन चाहन्छन्। फाइदा लिएपछि, उनीहरूले उसलाई मक्ख पार्न केही मीठा शब्दहरू बोलिदिन्छन्, र केही समयपछि, उनीहरूले फेरि पनि ऊबाट फाइदा लिन्छन्। जब दयालु व्यक्तिले यो कार्य अन्त्य हुनेछैन भन्ने देख्छ, तब उसले तिनीहरूसँग किचकिच गर्दैन, बहस गर्दैन, वा सम्झाउने प्रयास गर्दैन। हृदयमा, उसलाई त्यस्ता मानिसहरू असल हुँदैनन् र सङ्गत गर्न लायक छैनन् भन्ने थाहा हुन्छ, त्यसकारण उसले उनीहरूलाई त्यस उप्रान्त बेवास्ता गर्छ। तैपनि, उसले उनीहरूलाई पिठ्यूँ पछाडि गलत ठहराउँदैन। बढीमा, जब कसैले यस्तो व्यक्तिका बारेमा सोध्छ, तब उसले यसो भन्छ, “त्यस व्यक्तिलाई स-साना फाइदाहरू लिन मात्रै मन पर्छ।” उसले अतिशयोक्ति गर्दैन, न त उसले मानिसहरूलाई उग्र रूपमा गलत नै ठहराउँछ; उसले हातमा रहेको मामलाबारे मात्रै कुरा गर्छ। दयालु मानिसहरूको मानवता साँच्चै नै निकै असल हुन्छ। तिनीहरूको असल गुण के हो भने तिनीहरू कामकुराहरूका बारेमा धेरै किचकिच गर्दैनन्। तिनीहरूले जे गरे पनि, तिनीहरू उग्रता, भावना, वा संवेगहरूका आधारमा काम गर्दैनन्; तिनीहरू मानिसहरूले गर्नुपर्ने कुरा मात्रै गर्छन् र मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू मात्रै पूरा गर्छन्। सामान्य अन्तरवैयक्तिक सम्बन्धहरूको दायराभित्र रहेर, तिनीहरू आफूले गर्नुपर्ने कुरा गर्छन्; तिनीहरूले जे गर्न सक्छन्, त्यो गर्न सक्दो प्रयास गर्छन्, अरूलाई सहयोग गर्न लागि पर्छन्, र निष्कपटता र गम्भीरताको साथ त्यसो गर्छन्। तिनीहरूमध्ये कतिले त कुनै इनाम समेत खोज्दैनन्, र यसो सोच्छन् “मैले सहयोग मात्रै गरिरहेको छु। तिमीले मप्रति धेरै ऋणी महसुस गर्नु पर्दैन, न त मप्रति यति थोरै ऋणी भएकाले यो कहिल्यै पनि तिर्न सक्दिनँ भन्ने नै महसुस गर्नुपर्छ, न मेरो अगाडि सधैँ दास जस्तो व्यवहार गर्नु र अति आदरणीय व्यवहार गर्नु नै पर्छ। त्यसो गर्नु आवश्यक छैन।” त्यस्ता व्यक्तिहरूमा मानिसहरूमध्ये सबैभन्दा असल मानवता हुन्छ। तिनीहरू कपटी हुँदैनन्, न त तिनीहरू अरूप्रति कठोर नै हुन्छन्। तिनीहरू न्यानो हृदयका हुन्छन्, र तिनीहरूको मानवतामा एउटा दयालु पक्ष हुन्छ। तिनीहरूले आफूले गर्न सक्ने कुरा गर्छन्, व्यक्तिगत फाइदा र घाटाहरूका बारेमा त्यति धेरै ध्यान दिँदैनन्, र इनामबारे त्यति वास्ता गर्दैनन्। यो मानवताको असल गुण हो। तिमीहरूको वरिपरि हेर अनि कोसँग त्यस्ता असल गुणहरू छन् हेर। यदि कुनै व्यक्तिमा त्यस्तो चरित्र छ भने, उसलाई भ्रष्ट मानवजातिबीच रहेको असल व्यक्ति, सभ्य व्यक्ति मान्न सकिन्छ। ऊ कामकुराका बारेमा किचकिच गर्दैन, ऊ कपटी हुँदैन, अरूसँग कठोर हुँदैन, र उसले नाफा नखोजी अरूलाई सहयोग गर्छ। ऊ अरूप्रति निकै सहनशील हुन्छ र आफ्नो आचरणमा अत्यन्तै उदार हुन्छ। अत्यन्तै उदार हुनु भनेको के हो? यसको अर्थ सानातिना कुराहरूका बारेमा अटुट रूपमा किचकिच नगर्नु, र अरूले ऊबाट फाइदा लिँदा तिनीहरूप्रति द्वेष नपाल्नु हो। यसलाई उदार हुनु भनिन्छ, र यो मानवताको प्रमुख असल गुण हो। दयालुपन पनि एउटा असल गुण हो, र त्यसै गरी उदारता पनि एउटा असल गुण हो। यो सानो मनका, शङ्का गर्ने प्रवृत्ति भएका, संवेदनशील, र ढिपी गर्ने मानिसहरू हुनुभन्दा फरक कुरा हो—यी मानिसहरूले सानातिना कुराहरूका बारेमा अटुट रूपमा किचकिच गर्छन्, छिसिक्क हुँदा पनि रिसाउँछन्, रिसले फुल्छन्, भयानक रूपमा कठोर अभिव्यक्ति धारण गर्छन्, तिनीहरूसँग बोल्ने जोकोहीलाई बेवास्ता गर्छन्, र अरूसँग कसरी बदला लिने भन्ने बाहेक अरू केही सोच्दैनन्। यीमध्ये कुनै पनि कुरा सामान्य मानिसहरूमा हुनुपर्ने कुराहरू होइनन्। दयालु मानिसहरूका विचारमा ती जटिल कुराहरू हुँदैनन्, न त तिनीहरूसँग अरूको बारेमा शङ्कास्पद विचार नै हुन्छ। तिनीहरूको हृदयमा भएको सबै कुरा सामान्य मानिसहरूमा हुनुपर्ने कुरा हुन्छ; त्यो विशेष रूपमा मानवताको विवेक र समझ, साथै मानवताको इन्साफ र दयाको बोधको मानक अनुरूप हुन्छ। जब तैँले तिनीहरूसँग सङ्गत गर्छस्, तब तँलाई निकै ढुक्क लाग्छ र कामकुराहरू अत्यन्तै सरल छन् भन्ने लाग्छ—त्यति धेरै समस्याजनक कुराहरू हुँदैनन्, र तँ कुनै पनि कुराप्रति सावधान हुनु पर्दैन। तैँले तिनीहरूको विचारको बारेमा अनुमान लगाउनु वा अड्कलको खेल खेल्नु पर्दैन। तैँले तिनीहरूलाई गल्तीले चोट पुर्याए पनि, तैँले कुनै परिणामहरूका बारेमा चिन्ता गर्नु पर्दैन—अवश्य नै, तैँले कुनै परिणामहरू भोग्नु पर्दैन। जब तँ रिसाउँछस्, तब तँ उग्र भएर तिनीहरूलाई केही कठोर शब्दहरू बोल्दै चिच्याउन सक्छस्, र त्यो बेला, तिनीहरूले पनि तँसँग झगडा र बहस गर्न सक्छन्, तर बहसपछि, तिनीहरूले ईख राख्दैनन्, न त तिनीहरूले तँविरुद्ध षड्यन्त्र नै गर्छन् वा बदला लिन्छन्। तिनीहरूले हैसियत प्राप्त गरे भने, तेरा लागि कामकुराहरू कठिन बनाइदिनेछन् वा तेरो नाटीकुटी गर्नेछन् भन्ने बारेमा तैँले चिन्ता गर्नु पर्दैन, न त तिनीहरूले तँलाई कुनै कारणविना नै निसाना बनाउनेछन् भन्ने बारेमा नै चिन्ता गर्नु पर्छ। तिनीहरूभित्र यस्ता कुराहरू हुँदैनन्—तिनीहरू बस यति सरल हुन्छन्। तिनीहरूले तेरो विरुद्धमा त्यसउप्रान्त कुराहरू लुकाएर राख्नेछैनन्। मामला सक्किएपछि, कुरो सक्किन्छ। पछि, जब तिनीहरूले तँसँग कुरा गर्छन्, तब तिनीहरूले तँसँग अझै पनि सामान्य रूपमा व्यवहार गर्छन्। त्यो बेला तिनीहरू रिसाए पनि र तँसँग झगडा गरे पनि, तिनीहरूले पछि तँप्रति ईख राख्दैनन्। तैँले केवल रिसाएर केही शब्दहरू बोलिस् भन्ने तिनीहरूलाई थाहा हुन्छ, र तिनीहरूले यो कुरा बुझ्न सक्छन्: “रिसाउँदा कसले केही कठोर शब्दहरू बोल्दैन र? यो जानी-जानी भएको थिएन। त्यसबाहेक, सबैमा भ्रष्ट स्वभाव हुन्छ, सबैजना कहिलेकहीँ खराब मुडमा हुन्छन्, र सबैजनामा उग्रता हुन्छ। त्यसपछि, सबैले शान्त भएर, आफ्ना गल्तीहरूलाई माने, अनि तिनीहरूले भ्रष्ट स्वभावहरू प्रकट गरेका थिए र सिद्धान्तहरू अनुसार काम गर्न सकेनन् भन्ने तथ्यबारे चिन्तन गरेसम्म, त्यो ठीकै हुन्छ।” तँलाई निरन्तर रूपमा खेदो गर्ने र तँलाई बरबाद नगरेसम्म नबिसाउने दुष्ट मानिसहरूका विपरीत, तिनीहरूले तँलाई क्षमा गर्नेछन्। दयालु मानिसहरूमा सामान्यतया बदला लिने हृदय हुँदैन। यदि तैँले तिनीहरूलाई चिढ्याउने कुनै कुरा गरिस् भने, तिनीहरूले कहिलेकहीँ तँलाई घृणा गर्न सक्छन्, तर तिनीहरूले तँलाई सास्ती दिन मानवताको नैतिकतालाई उल्लङ्घन गरेर घृणास्पद माध्यमहरू पटक्कै प्रयोग गर्नेछैनन्। तिनीहरूसँग भ्रष्ट स्वभाव भए पनि र तिनीहरूले ती भ्रष्ट स्वभावहरूका आधारमा केही कुराहरू भन्न वा गर्न सके पनि—जस्तै विगतमा तैँले गरेका गल्तीहरूका बारेमा उल्लेख गर्नु वा तँलाई काटछाँट गर्नु—तिनीहरूले हावामा कुराहरू गढ्ने वा तँलाई आक्रमण गर्न वा बदला लिनका लागि आफ्नो शक्ति प्रयोग गर्ने गर्दैनन्। तिनीहरूले तँलाई आक्रमण गर्न वा तँसँग बदला लिन चाहे पनि र तिनीहरूसँग यस्तो प्रकारको भ्रष्ट स्वभाव भए पनि, तिनीहरूको मानवतामा दयालुपनको असल गुण हुने भएकाले, जब तिनीहरू बदला लिन चाहन्छन्, तब तिनीहरू नियन्त्रित हुन्छन्, र तिनीहरूले उचित सीमाभित्र कुराहरू राख्न सक्नेछन्। यदि शक्ति पाएको भ्रष्ट मानवले अझै पनि यो स्तर हासिल गर्न सक्छ भने, यो पहिले नै निकै सराहनीय कुरा हो। धेरैजसो मानिसहरूमा, यो असल गुण छैन भने, तिनीहरूले यति हदसम्मको संयम समेत हासिल गर्न सक्दैनन् र अरूलाई आक्रमण गर्न र अरूसँग बदला लिनबाट आफूलाई रोक्न सक्दैनन्।
दयालुपनको प्रकटीकरण वा प्रकाश मानवताको असल गुण हो। मानवताको यो असल गुणले, ठूलो हदसम्म, मानिसहरूलाई रोक्नेछ वा सचेत गर्नेछ, जसले गर्दा तिनीहरूको भ्रष्ट स्वभाव प्रकट हुँदा तिनीहरूले निश्चित हदसम्म नियन्त्रण र संयम प्राप्त गर्न सक्छन्। यदि त्यस्तो दयालु व्यक्ति आत्मिक बुझाइ भएको, सत्यता बुझ्न र सत्यता स्वीकार गर्न सक्ने व्यक्ति हो भने, उसको मानवताको यो असल गुणले उसलाई मानिसहरू र कामकुराहरूलाई हेर्दा, र आफूलाई आचरणमा ढाल्दा र कार्य गर्दा अझै कडाइका साथ सत्यता सिद्धान्तहरू पालना गर्न सक्षम तुल्याउन सक्छ, होइन र? (हो।) अर्कोतर्फ, धूर्त व्यक्ति निकै चलाख हुन्छ र ऊ दयालु व्यक्तिभन्दा फरक हुन्छ। कुनै खराब काम गरेपछि, उसले आत्म-चिन्तन नगर्ने मात्र होइन, आफ्नो दुष्कर्मलाई अझै तीव्रता समेत दिन्छ र अन्त्यसम्मै अघि बढाउँछ। यसले उसलाई दियाबलसमा परिणत गर्छ, जुन दयालु व्यक्तिले कार्य गर्ने सिद्धान्तहरूको पूर्ण विपरीत हुन्छ। उदाहरणका लागि, यदि कुनै व्यक्ति दयालु व्यक्ति हो र उसमा मानवताको यो असल गुण छ भने, तँसँग बहस गर्दा, उसले तथ्यहरूका आधारमा बोल्नेछ। ऊ तँसँग रिसाएको कारणले मात्रै, उसले तेरा बारेमा कुराहरू बढाइ-चढाइ गर्नेछैन, हावामा केही नकारात्मक कुराहरू बनाउनेछैन, वा तँलाई बदनाम गर्ने र तेरो निष्ठाको अपमान गर्नेछैन। उसले त्यस्ता कुराहरू पटक्कै गर्नेछैन। तँसँग बहस गर्दा, उसले अहङ्कारी वा क्रूर स्वभाव प्रकट गर्न सक्छ, तर उसले बोल्ने शब्दहरू उसको विवेक, समझ, र दयालुपनको मानवताले पूर्ण रूपमा संयमित हुन्छन्। यसरी, निश्चित स्तरमा, तँलाई हुने हानिको हद घट्छ। तर, दुष्ट मानिसहरूमा मानवताको दयालु पक्षको कमी हुन्छ। दुष्ट मानिसहरू कसरी झगडा गर्छन्? “तँ चरित्रहीन, वेश्या होस्! मैले तेरा पुर्खाहरूका आठ पुस्तालाई अपमान गर्छु र तेरा पुर्खाहरूका आठ पुस्तालाई श्राप दिन्छु!” तिनीहरूले हरप्रकारका कठोर र दुर्भावनापूर्ण कुराहरू भन्नेछन्। दुष्ट मानिसहरू यस्तै हुन्छन्—तिनीहरूको चरित्र दुष्ट हुन्छ। दुष्ट चरित्र भएका कतिपय मानिसहरूले तथ्यहरूमा आफ्नो अपमानजनक शब्दहरूलाई आधारित गर्दैनन्। तिनीहरूले किन ती कुराहरूलाई तथ्यहरूमा आधारित गर्दैनन्? किनभने तिनीहरूमा विवेकको कमी हुन्छ र तिनीहरूले विवेकका मानकहरू पूरा गर्दैनन्। जब तिनीहरूले अरूलाई अपमान गर्छन्, तब तिनीहरू आफ्नो विवेकद्वारा संयमित हुँदैनन्। तिनीहरू जथाभाबी मुख छाड्छन्, र मनमा जे-जस्ता अपमानजनक शब्दहरू आउँछन् त्यही भन्छन्। जे-जस्ता शब्दहरूले तिनीहरूको घृणा पोख्न, तेरो हृदयलाई गहन रूपमा चोट पुऱ्याउन, र तँलाई रिसाएर बौलाउने तुल्याउन सक्छन्—तिनीहरूले बोल्ने शब्दहरू तिनै हुन्छन्। तिनीहरूका अपमानजनक शब्दहरूले तँलाई रिसले मरेतुल्य बनाउँछन्। त्यस्ता मानिसहरूको हृदयमा कुनै दया हुँदैन र तिनीहरू द्वेषले भरिएका हुन्छन्। दुष्ट मानिसहरूले प्रकट गर्ने कुराहरू मुख्य रूपमा अहङ्कार र क्रूरता, यी दुई प्रकारका स्वभावहरू हुन्। सारमा, तिनीहरूले अरूमाथि प्रहार गर्ने शब्दहरूमा श्रापहरू हुन्छन्, ती शैतानको दुर्भावनाले भरिएका हुन्छन्, र तिनमा पर्याप्त विनाशकारी शक्ति हुन्छ; तिनीहरूले श्रापका सबैभन्दा दुर्भावपूर्ण शब्दहरू समेत प्रहार गर्न सक्छन्। यदि तँसँग मानवता छ वा यदि तेरो मानवता दयालु छ भने, तैँले त्यस्ता अपमानका शब्दहरू बोल्न सक्दैनस्; त्यसमाथि, तैँले हावामा कुराहरू गढ्न सक्दैनस्। किनभने तँसँग विवेकको बोध छ र तँसँग चेतना छ, र तेरो विवेकभित्रको असल-प्रकृति र दयालुपनको पक्षले तँलाई निकै संयमित राख्छ र नियन्त्रण गर्छ, जसले गर्दा तैँले त्यस्ता अपमान शब्दहरू बोल्न असम्भव हुन्छ। जब कसैले तँलाई अपमानका शब्दहरू भन्छ, तब तँलाई रिस उठ्छ र तैँले तिनीहरू नरक जाऊन् भन्दै तिनीहरूका आठ पुस्ताका पुर्खाहरूलाई अपमान गर्न र श्राप दिन चाहन्छस्, तर तैँले यसको बारेमा सोच-विचार गर्छस्: “तिनीहरूलाई श्राप दिने अधिकार मलाई केले दिन्छ? म परमेश्वर होइनँ, र अन्तिम फैसला मेरो हुँदैन।” तँ तिनीहरूलाई फोहोरी शब्दहरूले अपमान गर्न पनि चाहन्छस्, तर तँ यसबारे विचार गर्छस्: “यदि मैले फोहोरी शब्दहरू प्रयोग गरेँ भने, मलाई समेत घिन लाग्नेछ—मेरो वरिपरिका मानिसहरूले मलाई के सोच्नेछन्? के यसको अर्थ मसँग कुनै निष्ठा वा इज्जत छैन भन्ने हुनेछैन र? के मैले झगडालु आइमाई जस्तो व्यवहार गरिरहेको हुनेछैन र? म त्यस्तो प्रकारको व्यक्ति हुनेछैनँ।” तैँले तिनीहरूलाई अपमान गर्नका लागि आफूलाई मनाउन सक्दैनस्। त्यसकारण धेरै हदसम्म, तेरो बोलीवचन संयमित हुन्छ, र तैँले आफूलाई बोल्न लगाउने कुरा अत्यन्तै सीमित हुन्छ। बढीमा, तैँले यसो भन्न सक्छस्, “तँ शैतान होस्, तेरो भ्रष्ट स्वभाव गम्भीर छ, तैँले मुक्ति प्राप्त गर्न सक्दैनस्, र परमेश्वरले तँलाई मन पराउनुहुन्न।” तैँले बढीमा त्यस्ता केही कुराहरू भन्न सक्छस्, तर त्यसपछि तैँले यसबारे विचार गर्छस्: “परमेश्वरले कसैलाई मन पराउनुहुन्छ कि मन पराउनुहुन्न भन्ने कुराको निर्णय गर्ने काम मेरो होइन,” त्यसकारण तैँले यसो भन्दा तँमा आत्मविश्वासको कमी हुन्छ। जब कसैले तँलाई अपमान गर्छ र श्राप दिन्छ, तँलाई नरकको अठारौँ स्तरमा झर् भन्छ, तब तैँले मनमनै सोच्छस्: “कसैलाई श्राप दिनु, उसलाई नरकको अठारौँ स्तरमा झर् भन्नु—यी शब्दहरू अत्यन्तै कठोर छन्! म त त्यस्तो कुरा भन्न सक्दिनँ। म मेरा शब्दहरूमा नरम हुनुपर्छ!” तँमा किन यी विचारहरू आउन सक्छन्? किनभने तेरो मानवतामा रहेको कुरा दुष्ट मानिसहरूको मानवतामा रहेको कुराभन्दा फरक हुन्छ। यदि तँ दयालु र असल-प्रकृतिको व्यक्ति होस्, र तँसँग विवेक र समझ छ भने, तैँले बोल्ने शब्दहरू अत्यन्तै तर्कसङ्गत हुनेछन्। तैँले आफ्नो विवेकका बन्धनहरूमा रही, रिसले भरिएका केही शब्दहरू बोल्न वा केही फोहोरी शब्दहरू चिप्लन दिन सक्छस्, तर ती शब्दहरू बोलेपछि, तँलाई आफै निकै खिन्न महसुस हुन्छ र तैँले अर्को व्यक्तिलाई वास्तवमा चोट पुऱ्याएको हुँदैनस्—तेरा शब्दहरूमा विनाशकारी शक्तिको कमी हुन्छ। दुष्ट मानिसहरू अरूलाई जति अपमान गर्छन् त्यति नै खुसी हुन्छन्, तर तँ अरूलाई जति अपमान गर्छस् तँ त्यति नै खिन्न हुन्छस्—तँ मनमनै सोच्छस्: “भो बिर्सिदिऊँ, यस्तो घृणित चरित्र भएको र दुष्ट व्यक्तिको स्तरमा गिर्नु व्यर्थ र अर्थहीन कुरा हो। म अबदेखि ऊसँग झगडा गर्नेछैनँ।” दुष्ट व्यक्तिसँग बहस गर्नु शैतानसँग सत्यताबारे कुरा गर्ने प्रयास गर्नु जत्तिकै अत्यन्तै अप्रभावकारी हुन्छ। तिनीहरूसँग बहस गर्नु वा किचकिच गर्नु पर्दैन। बस भविष्यमा त्यस्ता मानिसहरूबाट टाढा बस्। के तैँले तिनीहरूलाई हानि गर्ने बारेमा विचार गर्नेथिइस्? के तैँले तिनीहरूसँग बदला लिने र तिनीहरूलाई पाठ सिकाउने अवसर खोज्ने बारेमा विचार गर्नेथिइस्? तँसँग त्यस्तो प्रकारको क्रूर हृदय छैन। तँ आफूलाई यसो भनिरहन्छस्, “होस्। तिनीहरूले मलाई गरेका केही अपमानहरूले मलाई कुनै हानि गरेका छैनन्; म तिनीहरूसँग यस कुराको बारेमा किचकिच गर्नेछैनँ।” कतिपय मानिसहरूले यसो भन्दै आफूलाई सान्त्वना समेत दिन्छन्, “जे भए पनि, परमेश्वरले मलाई श्राप दिनुभएको छैन। तिनीहरूको श्रापले कुनै असर पार्दैन।” वास्तवमा, तँसँग विवेक र समझ भएको हुनाले, र तँ आफ्नो मानवताभित्र दयालु र असल-प्रकृतिको भएको हुनाले, तँ ती अपमानका शब्दहरू बोल्न नै सक्दैनस्। तँलाई ती फोहोरी र अपमानजनक लाग्छ। यदि ती शब्दहरू तेरो मुखबाट निस्कने हुन् भने, ती तेरो विवेकविरुद्ध छन् भन्ने तँलाई लाग्नेथियो। विशेष गरी जब बनावटी कुराहरू वा आधारहीन मामलाहरूको कुरा आउँछ, तब तँ ती कुराहरू त भन्न अझै बढी सक्दैनस्। ती कुराहरू भन्न नसक्नु तेरा लागि सुरक्षाको उपाय हो। तिनीहरूका शब्दहरूमा उल्लेखनीय विनाशकारी शक्ति हुन्छ र तिनले तँलाई हानि गरेका हुन्छन्—यो तिनीहरूको दुष्ट कार्य हो। यो दुष्ट कार्य कसरी आयो? किनभने तिनीहरूको मानवतामा दुष्ट गुणहरू समावेश हुन्छन्। जब तिनीहरूसँग तेरो द्वन्द्व वा विवाद हुन्छ, तब तिनीहरूको भ्रष्ट स्वभाव असीमित रूपमा फुल्छ, र तिनीहरूले तँलाई जथाभाबी श्राप दिन सक्छन्। तिनीहरूसँग यस्तो दुष्ट चरित्र हुन्छ, त्यसकारण स्वाभाविक रूपमै तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन्। अर्कोतर्फ, यदि तँ विवेक, समझ, र मानवता भएको दयालु र असल-प्रकृतिको व्यक्ति होस् भने, यस्तो परिस्थितिमा, तैँले आफ्नो भ्रष्ट स्वभाव नपोख्ने मात्र होइन, तर तेरो मानवताले, ठूलो हदसम्म, तेरो भ्रष्ट स्वभावको प्रकटीकरणलाई रोक्ने समेत थियो। यो तेरा लागि अत्यन्तै फाइदाजनक हुन्छ। सतहमा, तैँले घाटा भोगेको छस्, तँलाई बेफाइदा भएको छ, र तैँले तिनीहरूलाई झगडा गरेर हराउन सक्दैनस्, जसले गर्दा तँ अरूका लागि हाँसोको पात्र बन्छस् जस्तो देखिन्छ। वास्तवमा, तेरो मानवताले तँलाई सुरक्षा दिएको हुन्छ, तँलाई दुष्कर्म गर्न, परमेश्वरलाई मन नपर्ने कुराहरू गर्न, वा परमेश्वरलाई मन नपर्ने शब्दहरू बोल्नबाट रोकेको छ। यसरी, के यसले, केही हदसम्म, तँलाई सुरक्षा दिएको हुँदैन र? (हुन्छ।) मानवताको यो असल गुणले, ठूलो हदसम्म, तँलाई सुरक्षा दिएको हुन्छ, तैँले भ्रष्ट स्वभाव प्रकट गर्दा परमेश्वरलाई मन नपर्ने वा उहाँले घृणा गर्नुहुने कुराहरू थप गर्न, वा परमेश्वरले घृणा र दोषी ठहराउनुहुने शब्दहरू बोल्नबाट तँलाई रोकेको हुन्छ। यो असल कार्यका रूपमा गन्ती नभए पनि, कम्तीमा पनि, तैँले दुष्कर्म गरेको हुँदैनस्। तैँले यो परिस्थितिमा जे गरिस्, त्यसलाई दोषी ठहराइनेछैन, र तँलाई यसका लागि दण्ड दिइनेछैन। यसको विपरीत, दुष्ट मानिसहरूलाई दुष्ट चरित्रको प्रभुत्वमा रहेर तिनीहरूले गर्ने कुराहरूका लागि दोषी ठहराइने मात्र होइन तर दण्ड पनि दिइनेछ। तिनीहरूले परिणामहरू भोग्नुपर्नेछ र जिम्मेवारी वहन गर्नुपर्नेछ। त्यसकारण, आफ्नो मानवतामा विभिन्न असल गुणहरू भएका मानिसहरूले कतिपय मामलाहरूमा इज्जत, हैसियत, र गरिमा गुमाएका जस्तो देखिन सक्छ, र विशेष गरी आफ्नो पक्षमा तर्क गर्ने पहल गर्ने अवसर गुमाएका जस्तो देखिन्छ, तर यो घाटा भोग्नु होइन। कतिपय मानिसहरू भन्छन्, “यदि यो घाटा भोग्नु होइन भने, के यसको अर्थ फाइदा लिनु भन्ने हुन्छ त?” यसलाई घाटा भोग्नु वा फाइदा लिनुको हिसाबमा मापन गर्न सकिँदैन। त्यसोभए यसलाई कसरी मापन गर्नुपर्छ त? यसलाई यसरी मापन गरिनुपर्छ: कतिपय परिस्थितिमा घाटा भोग्दा त्यसले केही फरक पार्दैन; मुख्य कुरा के हो भने तैँले यसबाट फाइदा प्राप्त गर्न सक्छस्। यस परिस्थितिमा, तेरो मानवताका असल गुणहरूले नै तेरो व्यवहारको संरक्षण गरेका हुन्छन्, तँलाई दुष्कर्म गर्नबाट रोकेका हुन्छन् र तँलाई परमेश्वरले दोषी ठहराउनुहुन्न भन्ने कुरालाई सुनिश्चित गरेका हुन्छन्। के यो फाइदा प्राप्त गर्नु होइन र? अब तैँले दुष्कर्म गरेका कारण कुनै पनि हालतमा दण्ड भोग्नु पर्दैन। के यो तेरा लागि राम्रो कुरा होइन र? (हो।) यो तैँले सक्रिय रूपमा गरेको असल कार्य नभए पनि, वा यो सत्यता सिद्धान्तहरू सक्रिय रूपमा पालना गर्ने कार्य नभए पनि, तैँले आफ्नो मानवताका असल गुणहरूको दायराभित्र, सत्यता सिद्धान्तहरू उल्लङ्घन नगर्ने कुरा गरेको छस्। यसरी, तँ सुरक्षित हुन्छस्। यसलाई स्मरण नगरिए पनि, कम्तीमा पनि, यसलाई दोषी ठहराइनेछैन। र त्यसकारण तैँले कुनै जिम्मेवारी वहन गर्नु पर्दैन वा दण्ड भोग्नु पर्दैन। के यो राम्रो कुरा होइन र? (हो।) परमेश्वरलाई पछ्याउने प्रक्रियामा, तेरा कार्यहरू सत्यता अनुरूप भए पनि वा नभए पनि र परमेश्वरले यसलाई चाहे जसरी हेर्नुभए पनि, कम्तीमा पनि, तँसँग सङ्लो विवेक हुन्छ। परमेश्वरले यो कुरा स्मरण गर्नुभएन भने पनि, तँ कम्तीमा पनि परमेश्वरद्वारा दोषी ठहराइन वा तँलाई परमेश्वरले घृणा गर्ने तुल्याउनबाट जोगिनुपर्छ। तैँले पालना गर्नुपर्ने सबैभन्दा आधारभूत सिद्धान्त यही हो। के मानवताका असल गुणहरू मानिसहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुँदैनन् र? (हुन्छन्।) त्यसकारण आफूमा मानवताका केही असल गुणहरू हुँदा तँ मानिसहरूका बीचमा अप्रसिद्ध हुन्छस्, तैँले सधैँ फाइदा लिने वा प्रतिफल प्राप्त गर्ने मौका गुमाउनेछस्, र सबै फाइदाहरू अरूले लिनेछन् जबकि घाटा बेहोर्ने व्यक्ति तँ नै हुनेछस् भन्ने लाग्छ भन्दैमा निरन्तर अनिच्छुक महसुस नगर्। घाटा बेहोर्नुमा यति नराम्रो के छ र? कम्तीमा पनि, तैँले आनन्द लिइरहेको कुरा परमेश्वरले मूल रूपमा तँलाई दिनुभएको कुरा हो, र तैँले अरूको कुरा लिएको छैनस्। यदि तैँले फाइदा लिइस् भने, त्यो सही हुँदैन—यसको अर्थ तैँले अरूको भागको कुरा लिएको छस् भन्ने हुन्छ। यदि तैँले जुन कुरा तेरो होइन त्यो कुरा लिइस् भने, परमेश्वरले तँलाई दोषी ठहराउनुहुनेछ। मानिसहरूले परमेश्वरले दोषी ठहराउनुहुने कुराहरू गर्नु हुँदैन। कतिपय मानिसहरू भन्छन्, “परमेश्वरले याद गर्नुहुने कस्ता कार्य मैले गर्नुपर्छ भन्ने मलाई थाहा छैन।” तर परमेश्वरले कुन-कुन कार्यहरूलाई दोषी ठहराउनुहुन्छ, के तँलाई थाहा छ? यदि थाहा छ भने, कम्तीमा पनि, तैँले यो सीमा पालन गर्नुपर्छ: परमेश्वरले दोषी ठहराउनुहुने कामकुराहरू नगर्। बुझिस्? (बुझेँ।) अब हामीले यी कुराहरूका बारेमा थप छलफल गरिसकेका हुनाले, तैँले बुझ्नु पर्ने हो।
मानवतामा हुने दयालुपनको असल गुण धेरैजसो मानिसहरूमा हुँदैन। तर, यदि कुनै व्यक्तिसँग साँच्चै नै यो असल गुण छ भने, ऊ भ्रष्ट मानवजातिमाझ साँच्चै नै असल व्यक्ति हो—यस्ता मानिसहरू निकै दुर्लभ हुन्छन्। यदि तँसँग साँच्चै नै यो असल गुण छ भने, परमेश्वरले तँलाई आशिष् दिनुहुनेछ, परमेश्वरले हरेक मोडमा तँलाई अनुग्रह देखाउनुहुनेछ। मानव भाषामा भन्दा, यसको अर्थ परमेश्वरले हरेक मोडमा तेरो हेरचाह गर्नुहुनेछ भन्ने हुन्छ। उहाँले कसरी तेरो हेरचाह गर्नुहुन्छ? परमेश्वरले कसरी तेरो हेरचाह गर्नुहुन्छ भने तैँले सधैँ अरूका बारेमा विचार गरे पनि र आफ्ना हितहरू त्यागे पनि, र अरूले तँबाट फाइदा लिए पनि, तिनीहरूले परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्दैनन्। तिनीहरू अरूबाट फाइदा लिएर मात्रै जिउन सक्छन् र तिनीहरूले अर्को जीवनमा यसको ऋण तिर्नुपर्नेछ। तर, तँ परमेश्वरका आशिष्हरूद्वारा जिउँछस्। अरूले तँबाट फाइदा लिन सक्ने भए पनि, वास्तवमा, तैँले केही पनि गुमाउँदैनस्। मलाई भन् त, के यो राम्रो कुरा हो? (हो।) देखिस्, बाहिरी रूपमा दयालु मानिसहरूले सधैँ घाटा भोग्छन् जस्तो देखिन्छ। मानिसहरू तिनीहरूलाई सरल र निष्कपट ठान्छन्, त्यसकारण बोल्दा र व्यवहार गर्दा उनीहरू सधैँ तिनीहरूबाट फाइदा लिन्छन्, तिनीहरूलाई मूर्खलाई झैँ व्यवहार गर्छन्, हेप्छन्, तिनीहरूबाट पैसा र नाफाहरू दुवै लिन्छन्, र तिनीहरूका धेरै सम्पत्ति जफत गर्छन्। तर के तैँले दयालु मानिसहरूसँग कुनै कुराको कमी भएको देख्छस्? तिनीहरूलाई केही कुराको कमी हुँदैन। सबै कुरामा तिनीहरूलाई प्रशस्त रूपमा आपूर्ति गरिएको हुन्छ। कामकुरा गर्दा, तिनीहरूसँग बौद्धिकता र बुद्धि हुन्छ र तिनीहरू सुर्ता गर्दैनन्। परमेश्वरको घरले तिनीहरूलाई जुनसुकै कर्तव्य खटाए पनि, तिनीहरूले नाफा र घाटाबारे किचकिच गर्दैनन्, न त तिनीहरू झगडा वा प्रतिस्पर्धा नै गर्छन्। तिनीहरू केवल आफूलाई जे गर्न आग्रह गरिन्छ त्यही गर्छन्। काम जेसुकै भए पनि, तिनीहरू बिरलै गल्ती गर्छन्। कहिलेकहीँ सानातिना समस्याहरू वा स-साना गल्तीहरू देखा परे पनि, ती जानी-जानी गरिएका हुँदैनन्। तिनीहरू आफूले गर्ने कुरामा आफ्नो हृदय लगाउँछन्, विवेक र समझको हिसाबमा न्यूनतम आधारभूत स्तर पार गर्छन्, र तिनीहरूले परमेश्वरको छानबिन स्वीकार गर्न सक्छन्। त्यसकारण, त्यस्ता मानिसहरूले परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्छन्। दयालुपन मानवताको असल गुण हो भन्ने तँलाई थाहा भएकोले, के तँ आफ्नो आचरणमा यसप्रति लागिपर्नुपर्छ? (पर्छ।) सानातिना समस्याहरूका बारेमा किचकिच नगरी, र कसैले पनि पहुँच गर्न वा चिढ्याउन आँट नगर्ने व्यक्ति जस्तो यति कर्कश नबन्—त्यस्तो प्रकारको व्यक्ति नबन्। यदि अरूले तँबाट अलिकति फाइदा लिन्छन् भने, तिनीहरूले तँलाई हेपिरहेका छन् जस्तो सधैँ नसोच्। अलिक सरल र अलि बढी निष्कपट हुनुमा त्यति नराम्रो के छ र? कतिपय मानिसहरू अति चलाख हुन्छन् र सधैँ यसो भन्दै आफू मूर्ख छैनँ भनेर प्रमाणित गर्न चाहन्छन्, “मलाई मूर्ख नठान। मसँग दिमाग छ! मलाई कसले मन पराउँदैन वा कसले मसँग नराम्ररी व्यवहार गर्छ भन्ने देख्न सक्छु। मलाई कसले हेयका दृष्टिले हेर्छ र कसका शब्दहरू व्यङ्ग्य वा गुप्त घोचपेचले भरिएका छन् भनेर म छुट्ट्याउन सक्छु।” त्यस्ता कुराहरू देख्न र सुन्न सक्नु व्यर्थ हो। यो त तुच्छ चतुरता र चलाकी मात्रै हो। यति थोरै चलाकी हुनुको अर्थ तँसँग बुद्धि छ वा तँ साँच्चै नै तीक्ष्ण छस् भन्ने हुँदैन। यसको विपरीत, मानिसहरूले तँलाई हेयका दृष्टिले हेर्नेछन्, किनभने पशुहरूमा समेत यस्तो चलाकी र यस्ता तुच्छ विचारहरू हुन्छन्। म किन यसो भन्छु? पशुहरूसँग नजिकको सम्पर्कमा रहेका सबैलाई यो कुरा थाहा हुन्छ: तैँले स-साना पशुहरूलाई समेत तिनीहरूबारे प्रिय वा अप्रिय कुराहरू भन्दा तिनीहरूले बुझ्न सक्छन्। उदाहरणका लागि, यदि तैँले अप्रिय शब्दहरू बोलेको कुकुरले सुन्यो भने, यो तुरुन्तै बेखुसी हुनेछ, जबकि तैँले केही स्पष्ट रूपमा नै प्रिय शब्दहरू बोलिस् भने त्यो पनि यसले पत्ता लगाउन सक्छ। यदि मानिसहरूले सधैँ आफूलाई मापन गर्न स-साना पशुहरूमा समेत रहेका कुराहरू प्रयोग गर्छन् भने, के त्यसले तिनीहरूको मानव हुनुको तिनीहरूको गुण घटाउँदैन र? सृजित मानवजातिलाई मापन गर्ने मानक झारेर, तैँले आफूलाई अवमूल्यन गरिरहेको हुन्छस्। सधैँ यस्ता कुराहरू भन्ने नगर्, “मलाई मूर्ख ठानेर तीन वर्षको बच्चालाई जस्तो व्यवहार नगर। यदि तिमीले मलाई मकैको रोटी दियौ भने, म निश्चय नै खानेछैनँ; यसको सट्टा मलाई मःम देऊ। मःम स्वादिष्ट हुन्छ भन्ने कसलाई थाहा छैन र?” तँ मूर्ख छैनस् भनेर प्रमाणित गर्ने प्रयास गर्न त्यस्ता मूर्ख शब्दहरू प्रयोग नगर्। यदि तँ साँच्चै नै मूर्ख छैनस् भने, मानवताका मानकहरू पूरा गर्न लागिपर्। मानिसहरूको विवेक र समझमा के कुराहरू हुनुपर्छ, मानवताको असल गुणका प्रकटीकरणहरू के-के हुन्, मानवताका कमीकमजोरी र कमजोर चरित्रका प्रकटीकरणहरू के-के हुन्—यी पक्षहरूका बारेमा सङ्गति गर् र बुझ्। मानिसहरूको मानवतामा के हुनुपर्छ र सृजित मानवजातिसँग के कुरा हुनुपर्छ भन्ने बारेमा अलिकति सङ्गति गर्, त्यसपछि यी कुराहरू प्राप्त गर्नका लागि लागिपर् र मेहनत गर्। के यसले तेरो व्यक्तिगत मूल्य उचाल्नेछैन र? के निरन्तर आफ्नो बौद्धिकतालाई तीन वर्षको बच्चाको बौद्धिकतासँग तुलना गरेर तँ कहिल्यै कहीँ पुग्नेछस्? के तँ कहिल्यै त्यसरी वृद्धि हुन सक्छस्? तीन वर्षको बच्चाले भन्छ, “म प्लास्टिकको चुसनीबाट दूध पिउन सक्छु,” र तँ भन्छस्, “म गिलासको बोतलबाट पिउन सक्छु, र मलाई हात पोल्ने डर लाग्दैन।” तीन वर्षको बच्चाले भन्छ, “जुत्ता लगाउँदा म बायाँ र दायाँ छुट्याउन सक्छु,” अनि तँ भन्छस्, “स्वेटर लगाउँदा म अगाडि र पछाडि कता हो भनेर छुट्याउन सक्छु। के तिमी त्यसो गर्न सक्छौ?” के तँ यसरी कहिल्यै कहीँ पुग्नेछस्? यदि तेरो बुद्धिमत्ता, चरित्र, र तेरो मानवतामा हुनुपर्ने विभिन्न क्षमताहरू तीन वर्षको बच्चा वा नाबालिगको चरणमा अड्किएका छन् भने, तँलाई परिपक्व व्यक्ति बन्न वा अरूलाई तँसँग वयस्कका रूपमा व्यवहार गर्न लगाउन निकै गाह्रो हुनेछ। तँलाई वयस्कका रूपमा व्यवहार गर्न तैँले अरूलाई कसरी लगाउन सक्छस्? तैँले वयस्कहरूले गर्नुपर्ने र सृजित मानिसहरूले गर्नुपर्ने कुराहरू गर्नुपर्छ। तँसँग सृजित मानवमा हुनुपर्ने मानवता हुनुपर्छ। यो मानवतामा, कम्तीमा पनि के हुनुपर्ने हुन्छ? विवेक, समझ, र असल चरित्रका विभिन्न पक्षहरू। यसरी, तँ तेरो मानवताको खराबी र समस्याहरूका हकमा, बिस्तारै सुध्रिनेछस् र तैँले प्रगति गर्नेछस्। त्यसपछि, सत्यतामा प्रवेश गर्न निकै सजिलो हुनेछ, र बाधाहरू झन् थोरै हुनेछन्।
मानवताको दयालुपनको असल गुण निकै दुर्लभ हुन्छ र धेरैजसो मानिसहरूसँग यो हुँदैन। त्यसोभए व्यक्तिले कसरी यो असल गुण हासिल गर्न सक्छ? जब तैँले कुनै सत्यता बुझ्दैनस्, तब मानवताको यो असल गुण प्राप्त गर्न र त्यस्तो व्यक्ति बन्न निकै गाह्रो हुन्छ। तर, तैँले केही सत्यता बुझेपछि, तँसँग त्यस्तो व्यक्ति बन्ने मार्ग हुनेछ, र तँसँग यो हासिल गर्ने आशा हुनेछ। तैँले यसलाई हासिल गर्न र अन्ततः नतिजाहरू प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुराको हकमा भन्दा, यो तैँले सत्यता प्राप्त गर्न र जीवन प्रवेश पाउन सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। यो असल गुण हासिल गर्नका लागि व्यक्तिले कसरी अभ्यास गर्नुपर्छ? कसैले तँलाई जे गरे पनि वा जे भने पनि, त्यसलाई उग्रता वा भावनाहरूका आधारमा नलिई। तँप्रति तिनीहरूले राखेका अभिप्रायहरू के-के हुन्, तिनीहरूले व्यक्तिगत रूपमा तँलाई कति धेरै हानि गरेका छन्, वा तिनीहरूले तेरो प्रतिष्ठामा कति धेरै क्षति गरेका छन् भनेर विश्लेषण नगर्। यीमध्ये कुनै पनि कुरालाई तेरो मन, मानव इच्छा, वा संसारसँग व्यवहार गर्ने दर्शनहरूका आधारमा नलिई। त्यसोभए तैँले तिनलाई कसरी लिनुपर्छ? सबै कुराहरूलाई परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार लिनुपर्छ। हरेक वातावरणमा र हरेक व्यक्तिलाई सामना गर्दा, चाहे तिनीहरूसँग कुरा गर्दा होस्, तिनीहरूसँग सङ्गत गर्दा होस्, वा विशिष्ट मामला सम्हाल्दा होस्, तैँले सत्यता सिद्धान्तहरू खोज्छस् र ती अनुसार काम गर्छस् भनी सुनिश्चित गर्न तँ लागि पर्नुपर्छ। यो शैलीले, धेरै हदसम्म, तेरो मानवतालाई अझ उत्तम बनाउने प्रभाव पार्नेछ। अर्थात्, यसले तेरो मानवताको विवेक र समझलाई निश्चित परिमाणमा सहयोग प्रदान गर्नेछ, तँलाई इन्साफको बोध विकास गर्न सहयोग गर्नेछ र तँलाई मानिसहरू र कामकुराहरूलाई सही स्थान र दृष्टिकोणबाट हेर्न सक्षम तुल्याउनेछ। अझ उत्तम बनाउनु भनेको यही हो। अझ उत्तम बनाउनु भनेको मूल रूपमै खराब रहेको तेरो मानवतालाई असल बनाउनु हो, यसलाई सामान्य बनाउनु हो। त्यसोभए तेरो मूल रूपमै खराब मानवता कसरी उत्पन्न भयो? यो भ्रष्ट स्वभावहरूको प्रभाव र प्रभुत्वको नतिजा हो। अब, यदि तँ परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार आफूलाई आचरणमा ढाल्छस् र कार्य गर्छस् भने, जब तैँले कार्य गर्छस्, तब तेरो मानवता परमेश्वरका वचनहरू र सत्यताद्वारा निकै हदसम्म प्रभावित हुनेछ। यो प्रभावलाई नै उत्तम बनाउनु भनिन्छ। अवश्य नै, यो उत्तम बनाउनुको अर्थ एउटै घटनाबाट तेरो मानवता परिवर्तन हुनेछ र तेरो चरित्र महान् हुनेछ भन्ने हुँदैन। बरु, यो लामो समयसम्म परमेश्वरका वचनहरू र सत्यतालाई आफ्नो मापदण्ड, कार्य गर्ने शैली, र दिशाका रूपमा लिएर गरिने अभ्यास र अनुभवबाट आउँछ, जुन अवधिमा तैँले सत्यतालाई झन्-झन् बढी बुझ्नेछस् र सिद्धान्त झन्-झन् बढी पालन गरेर कुराहरू सम्हाल्नेछस्। यसरी, तेरो मानवता बिस्तारै परिवर्तन हुनेछ र सकारात्मक दिशामा विकास हुनेछ। तैँले झन्-झन् बढी विवेकको बोध विकास गर्नेछस्, तँ झन्-झन् बढी दयालु बन्नेछस्, र तँसँग झन्-झन् बढी इन्साफको बोध हुनेछ। तेरो समझ झन्-झन् सामान्य हुँदै जानेछ, र तैँले त्यस उप्रान्त उग्रताका आधारमा काम गर्नेछैनस् र आवेगमा आउनेछैनस्। त्यसकारण, धेरै हदसम्म, तेरो मानवताले झन्-झन् दह्रिलो गरी तेरो भ्रष्ट स्वभावलाई रोक्नेछ। मानवताको यस्तो अवस्थाका जगमा, भ्रष्ट स्वभावहरूका तेरा प्रकटीकरणहरूप्रति रहेको नियन्त्रण झन्-झन् दह्रिलो हुँदै जानेछ र यो झन्-झन् शक्तिशाली हुँदै जानेछ। त्यसकारण, तेरो भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू झन्-झन् घट्नेछन्, र तिनको हद झन्-झन् सतही हुनेछ। तैँले गर्ने कार्यहरू वा तैँले प्रकट गर्ने दृष्टिकोणहरू झन्-झन् बढी सकारात्मक कुराहरू र सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्। यस्तो घटना, यस्तो प्रकटीकरणले व्यक्तिको जीवन परिवर्तन भइरहेको छ भन्ने कुरालाई सङ्केत गर्छ। निश्चित रूपमा भन्दा, यदि तैँले सत्यतालाई आफ्नो मापदण्डका रूपमा लिएर परमेश्वरका वचनहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्छस्, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्छस् भने, तेरो मानवता झन्-झन् सामान्य हुँदै जानेछ, र भ्रष्ट स्वभावका तेरा प्रकटीकरणहरू झन्-झन् घट्नेछन्। क्रमिक रूपमा, तैँले आफ्नो भ्रष्ट स्वभावलाई फाल्नेछस्। यो सकारात्मक चक्र हो। तर, यदि तँ शैतानको तर्क अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्छस्, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्छस् भने, यसले ठूलो हदसम्म, तेरो मानवतालाई दूषित र क्षय गर्नेछ। तेरो भ्रष्ट स्वभाव झन्-झन् बढ्दै जान्छ र यो झन्-झन् गम्भीर हुँदै जान्छ। यो घातक चक्र हो। परमेश्वरका वचनहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्नु, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्नु सकारात्मक चक्र हो। शैतानको तर्क अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्दा, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्दा यसले तँलाई घातक चक्रको जीवन र परिस्थितिमा अटुट रूपमा घुमाइरहन मात्र सक्छ, र तँ कहिल्यै पनि उम्कन सक्दैनस्। यदि तँ सकारात्मक चक्रमा प्रवेश गर्न चाहन्छस् भने, सबैभन्दा सरल र सीधा तरिका भनेको तेरो मानवताको खराबी र भ्रष्टताका तेरा प्रकटीकरणहरूबाट सुरु गरेर आत्म-चिन्तन गर्न र आफूलाई बुझ्न थाल्नु, परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूलाई आधारका रूपमा प्रयोग गरेर आफ्ना भ्रष्ट स्वभावलाई समाधान गर्नु, यसरी सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन सक्ने नतिजा हासिल गर्नु हो। यसरी, तेरो जीवन सकारात्मक चक्रमा प्रवेश गर्नेछ, तेरो मानवता झन्-झन् सामान्य हुँदै जानेछ, र तेरा भ्रष्ट स्वभावहरू बिस्तारै रूपान्तरण हुनेछन् र फालिनेछन्। यो जीवन प्रवेशको प्रक्रिया हो र मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्न र मुक्ति प्राप्त गर्नका लागि पूरा गर्नुपर्ने अत्यावश्यक प्रक्रिया पनि हो। अवश्य नै, यो प्रवेशको मार्ग पनि हो। हामीले छलफल गरेका मानवताका खराबी र त्रुटिहरू, साथै दुष्ट चरित्र र निष्ठाको कमीका समस्याहरू—यदि तैँले आफैभित्र यी समस्याहरूलाई पहिचान गरिस् भने, तिनलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। त्यसपछि, तिनलाई परमेश्वरका वचनहरू र सत्यता अभ्यास गरेर प्रतिस्थापन गर्नुपर्छ। यसरी, तँ सकारात्मक चक्रमा प्रवेश गर्नेछस्। अन्ततः, तैँले मानवता रूपान्तरण मात्र प्राप्त गर्दैनस् बरु आफ्ना भ्रष्ट स्वभावहरू पनि फाल्नेछस्। तैँले बाँच्नका लागि भर पर्ने तेरो भ्रष्ट स्वभावको जग रूपान्तरण हुनेछ। यसरी अभ्यास गर्दा यसले तँलाई मुक्ति पाउने आशा दिन्छ। तर, यदि तैँले यसरी सत्यता खोजी गर्दैनस् वा सत्यता अभ्यास गर्दैनस्, र तँ हृदयमा, “तपाईंले म तुच्छ छु, ममा ढिपी गर्ने, लाज पचाउँदै अटेरी हुने र शङ्का गर्ने प्रवृत्ति जस्ता मानवताका खराबी र त्रुटिहरू छन् भनेर भन्नुहुन्छ। अँ, म त त्यस्तै छु, र म त्यसरी नै जिउनेछु। म परिवर्तन हुनेछैनँ। तपाईंलाई जे मन लाग्छ त्यही भन्नुहोस्! जे भए पनि, म घाटा भोग्न मात्र चाहन्नँ। मैले फाइदा लिन सकेसम्म, मलाई ठिकै हुन्छ!” भनेर भन्छस् भने—यदि तेरा विचार र दृष्टिकोणहरू यिनै हुन् भने, दुःखको कुरा, तँ घातक चक्रको भयानक भुमरीमा पर्नेछस्, र तँ कहिल्यै बाहिर निस्कन सक्नेछैनस्। अन्तिम परिणाम के हुनेछ? यो सायद तैँले हेर्न नचाहने किसिमको हुनेछ: तेरा भ्रष्ट स्वभावहरू नै सधैँ तेरो जीवन हुनेछन्। तिनले तँलाई तेरो सम्पूर्ण जीवनभरि कसिलो गरी बाँध्नेछन्, तिनले तेरा विचारहरू र तेरो प्राणको गहिराइमा गहन रूपमा जरा गाड्नेछन्, र ती फाल्न तेरा लागि असम्भव हुनेछ। ती फाल्न असम्भव हुनु भनेको के हो? यसको अर्थ तँसँग मुक्ति पाउने कुनै आशा छैन, र परमेश्वरले मानवजातिका लागि तयार गर्नुभएको गन्तव्यमा तेरो कुनै हक लाग्नेछैन भन्ने हुन्छ। परिणाम यही हो। यदि तँ यो परिणाम हेर्न चाहँदैनस् भने, मैले वर्णन गरेको मार्गमा प्रवेश गर्न र अभ्यास गर्न थाल्, र सकारात्मक चक्र हासिल गर्न थाल्; अनि अन्ततः तैँले निश्चय नै नतिजाहरू प्राप्त गर्नेछस्। बुझिस्? (बुझेँ।)
आजको सङ्गतिमा हामीले धेरै फरक-फरक विषयहरू समावेश नगरे पनि, हामीले धेरै विषयवस्तु छलफल गर्यौँ। आजको सङ्गतिलाई यहीँ समाप्त गरौँ। हामी पछि अरू विषय र विषयवस्तुहरूका बारेमा सङ्गतिलाई जारी राख्नेछौँ। अलबिदा!
डिसेम्बर २, २०२३