सत्यता कसरी पछ्याउने (९) भाग चार
शङ्का गर्ने प्रवृत्ति
यसपछि, हामी शङ्का गर्ने प्रवृत्तिबारे छलफल गरौँ। हामीले भर्खरै छलफल गरेको कुन प्रकटीकरणचाहिँ शङ्का गर्ने प्रवृत्तिसँग केही मात्रामा समान छ? (संवेदनशीलता।) संवेदनशीलता कस्तो समस्या हो? (मानवताको खराबी।) शङ्का गर्ने प्रवृत्ति संवेदनशीलताभन्दा एक स्तर माथि हुन्छ; यो समस्या अझै गम्भीर हुन्छ। संवेदनशीलता भनेको बच्चाको जस्तो, अलिक अपरिपक्व मानवताको लक्षण मात्रै हो, जबकि शङ्का गर्ने प्रवृत्तिमा केही विशिष्ट विचार र दृष्टिकोणहरू समावेश हुन्छन्—आम रूपमा यसलाई बढी सोच्नु भनेर भनिन्छ, जसले खराब चरित्रलाई सङ्केत गर्छ। उदाहरणका लागि, कसैले शङ्का गर्ने प्रवृत्ति भएको व्यक्तिलाई दश रुपैयाँको सामान किन्न सहयोग गरिदिनुहोस् भनेर भन्छ र विशेष जोड दिन्छ, “तिमीले दश रुपैयाँभन्दा बढी खर्च गर्न पटक्कै मिल्दैन। यदि यो अत्यन्तै महँगो छ भने, नकिन।” यो सुनेपछि, ऊ मनन गर्छ, “के तिमी विनम्र मात्रै भइरहेका छौ? तिमीलाई वास्तवमा सय रुपैयाँ पर्ने वस्तु चाहिएको छ तर तिमीलाई यो कुरा भन्न साह्रै लाज लागेको छ। त्यसोभए म तिमीलाई खुसी पार्न र तिमीमा मप्रति सकारात्मक भावनाहरू पैदा गर्नका लागि यो तिम्रा लागि किनिदिनेछु।” त्यसपछि, उसले यो सामान ल्याएपछि, अर्को व्यक्तिले भन्छ, “यो अत्यन्तै महँगो भयो। मसँग दश रुपैयाँ मात्रै छ; मसँग त्यति धेरै पैसा छैन।” त्यसोभए, त्यस व्यक्तिका लागि सय रुपैयाँ पर्ने सामान किनेर, के उसले त्यस व्यक्तिलाई घाटामा पारेन र? तैपनि, उसले अर्को व्यक्तिलाई बुझ्न सक्दैन, बरु यो व्यक्तिले थप पैसा खर्च गर्न चाहँदैन र ऊबाट फाइदा लिने प्रयास गरिरहेको छ भन्ने शङ्का गर्छ। मलाई भन, के शङ्का गर्ने प्रवृत्ति भएका त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुँदैनन् र? (हुन्छन्।) तिनीहरू कुन हिसाबमा समस्याजनक हुन्छन्? (तिनीहरूका विचारहरू अत्यन्तै जटिल हुन्छन्।) अत्यन्तै जटिल विचार भएका मानिसहरूसँग सङ्गत गर्न गाह्रो हुन्छ। मलाई भन्, के सोझो व्यक्तित्व भएका मानिसहरू त्यस्ता मानिसहरूसँग सङ्गत गर्न इच्छुक हुन्छन्? (हुँदैनन्।) तिनीहरूले भित्रभित्रै के सोचिरहेका छन् वा तिनीहरूको विचार कुन दिशामा गइरहेको छ भन्ने तँलाई थाहा हुँदैन, र तैँले तिनीहरूका अभिप्राय वा तिनीहरूले तँलाई कसरी शङ्का गरिरहेका छन् भन्ने कुरा छर्लङ्ग देख्न सक्दैनस्। त्यसकारण जब तैँले तिनीहरूलाई कुनै कुरा सुम्पन्छस्, तब त्यो स्पष्ट रूपमा नै अत्यन्तै सरल सानो मामला भए पनि, तिनीहरूले त्यसलाई अत्यन्तै जटिल र झन्झटिलो बनाउँछन्। तिनीहरूले यस प्रक्रियामा मामलाहरूलाई अत्यन्तै जटिल बनाउँदै गर्दा, तँलाई पनि थकाइ लाग्छ र तैँले आफै काम गर्दा नै राम्रो हुनेथियो भन्ने लाग्छ। तँ त्यस्ता मानिसहरूसँग सङ्गत गर्न चाहँदैनस् र तँ तिनीहरूबाट टाढा बस्न मात्रै चाहन्छस्। उदाहरणका लागि, मानौँ तँसँग अबदेखि तँलाई नचाहिने कुनै कुरा छ, र त्यसलाई त्यतिकै राख्दा खेर जान्छ, र यसलाई फाल्न पनि माया लाग्छ, त्यसकारण तैँले त्यो कुरा यस्तो व्यक्तिलाई दिन्छस्। तिनीहरूले त्यसको सराहना नगर्ने मात्र होइन, हृदयमा शङ्का पनि गर्छन्: “तिमीले मलाई किन यो कुरा दिइरहेका छौ? यसको पछाडि अवश्य नै केही कुरा लुकेको हुनुपर्छ। के तिमीले मलाई तिमी असल व्यक्ति हौ भनेर सोच्न लगाउने प्रयास गरिरहेका छौ, मलाई तिम्रो निगाहको ऋणी बनाउने प्रयास गरिरहेका छौ, कि मलाई तिम्रो लागि केही गर्न आग्रह गर्ने प्रयास गरिरहेका छौ?” तिनीहरूले यस्तो सानो कुराबारे यति धेरै विचार गर्लान्, तिनीहरूलाई थोरै कुरा दिएका कारण यति धेरै शङ्का पैदा हुन सक्ला भन्ने अपेक्षा तैँले कहिल्यै गरेको थिइनस्। तिनीहरूको शङ्का हटाउनका लागि तैँले धेरै कुरा भन्नुपर्ने हुन्छ। के यो अत्यन्तै समस्याजनक कुरा होइन र? तँलाई यो व्यक्तिप्रति विकर्षण महसुस हुन थाल्छ र त्यसपछि, यदि तँसँग केही कुरा बाँकी छ भने, तैँले उसलाई दिनुभन्दा बरु फ्याँक्न रुचाउँछस्। किन उसलाई त्यो नदिने? तँ निर्दयी भएकाले होइन, तैँले समस्या पैदा गर्न नचाहेकाले हो। विगतमा, कसैले भर्खरै एउटा कोठा भाडामा लिएको थियो, र त्यसमा सफाइका सामानहरू थिएनन्। त्यसकारण, मैले घरबाट केही सफाइका सामानहरू ल्याएँ; कतिपय सफाइका सामानहरू बोतल भरी थिए, जब कि अरू आधा भरिएका थिए। त्यो ठाउँ भाडामा लिने व्यक्तिले तिनलाई हेरेर भन्यो: “तपाईंले मलाई यी कुराहरू सित्तैँमा दिनुभएको भए पनि, म तपाईंलाई धन्यवाद दिनेछैनँ—यी सामानहरू प्रयोग गरिएका छन्। यदि ती नयाँ भएका भए, के तपाईंले मलाई ती दिनुहुनेथियो र?” के यी शब्दहरूले चोट पुऱ्याउँदैनन् र? (पुऱ्याउँछन्।) तिनले किन पुऱ्याउँछन्? (उसले यसरी सदिच्छालाई विकृत गरेको थियो।) उसले मेरो सदिच्छालाई कुभलोका रूपमा लियो। मैले तँलाई धन्यवाद दिन भनेको थिइनँ, न त मैले तँलाई सामानका लागि पैसा तिर्न नै लगाएको थिएँ। यति हो कि तैँले त्यो ठाउँ भाडामा लिइरहेको थिइस्, र त्यसमा सफाइका सामानहरू थिएनन्, र तँलाई ती सामान किन्न जान असहज हुन्थ्यो। मैले तँलाई कामकुरा सजिलो होस् भनेर तेरा लागि मसँग भएका केही सामग्री ल्याइदिएको मात्रै थिएँ। मैले तँलाई यी कुराहरू प्रयोग गर्न दिएर तेरो चापलुसी गर्ने प्रयास गरिरहेको थिइनँ—म तँप्रति केही कुराको ऋणी छैनँ, र मैले तँलाई मलाई कुनै निगाह दिन पनि अनुरोध गरिनँ। यस्तो सरल कुराप्रति ऊ शङ्कास्पद बन्यो: “हत्तेरी! यसमा यति ठूलो कुरा के छ र? तपाईंले मलाई केही कुरा ल्याइदिनुभयो र अब तपाईँलाई म तपाईंको निगाहको ऋणी छु भन्ने लाग्छ! तपाईंले ल्याउनुभएको सामान त राम्रो पनि छैन—तपाईंले यो कुरा त्यतिकै दिइरहनुभएको छ भने यो कसरी राम्रो हुन सक्छ र?” यो व्यक्तिसँग व्यवहार गर्न निकै गाह्रो हुन्छ। मैले यी कुनै प्रकारका दुर्लभ सञ्जीवनी हुन् भनेर दाबी त गरिनँ नि—ती साधारण सफाइका सामानहरू मात्रै हुन्। यदि तँ तिनलाई प्रयोग गर्न चाहँदैनस् भने, गर्नु पर्दैन। किन कामकुरालाई यति जटिल बनाउने? यो व्यक्तिसँग मिलेर बस्न गाह्रो छ र व्यवहार गर्न गाह्रो छ भन्ने मैले बुझेँ। यदि मैले केही नल्याएको भए के समस्या कम हुनेथिएन र? त्यस्तो हुन्थ्यो नै भन्ने छैन। केही नल्याउँदा पनि त्यसले समस्या ल्याउनेथियो होला। उसले अझै पनि यस्तो सोच्न सक्थ्यो, “मैले यो ठाउँ भाडामा लिएको छु, र तपाईंले मेरा लागि सफाइका सामान समेत ल्याइदिनुभएन। हामी दाजुभाइ-दिदीबहिनीहरू हुनुपर्ने हो, तैपनि तपाईंले मलाई कुनै प्रेम देखाउनुभएको छैन!” उसँग अझै पनि भन्नका लागि केही न केही हुनेथियो। त्यस्ता मानिसहरूको चरित्र अत्यन्तै खराब हुन्छ। तिनीहरू अरू असल छन् कि खराब छन् भनेर मापन गर्न सधैँ आफ्ना रुचि र मानकहरू प्रयोग गर्छन्। तिनीहरू निरन्तर अरूलाई कठोर दृष्टिकोणले छानबिन र मापन गर्छन्, र तिनीहरू आफू नैतिक रूपमा श्रेष्ठ छन् तर अरू सबैको अँध्यारो पाटो छ, र अरूले जसरी व्यवहार गरे पनि सधैँ तिनीहरूसँग आफ्नै मनसाय हुन्छ, जबकि तिनीहरू मात्रै भ्रष्ट छैनन् र सिद्ध छन् भन्ने सोच्छन्।
शङ्का गर्ने प्रवृत्ति भएका मानिसहरूको चरित्र खराब हुन्छ। तिनीहरूको चरित्र खराब हुने हुनाले, तिनीहरूले अपरिहार्य रूपमा नै यो चरित्रको प्रभुत्वमा रहेर व्यवहार गर्छन्। तिनीहरूले प्रकट गर्ने कुराहरू भ्रष्ट स्वभावहरू हुन्छन्, र यो निश्चय नै सामान्य मानवता हुँदैन। यदि यो सामान्य मानवता होइन भने, यो ठ्याक्कै के हो त? यो भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ। शङ्का गर्ने प्रवृत्ति हुनुको हकमा भन्दा, त्यस्ता मानिसहरूले अरूसँग गर्ने व्यवहार र अन्तरक्रियामा प्रकाश गर्ने प्रतिनिधिमूलक भ्रष्ट स्वभावहरू निश्चय नै दुष्टता र छलीपन हुन्। तिनीहरूको विचार त्यति जटिल, त्यति दुष्ट र कपटी हुन्छ। तिनीहरू आफैले केही न केही नपाएसम्म तिनीहरूले औँलो समेत नउठाउने भएकाले तिनीहरू अरू सबै उस्तै हुन्छन् भन्ने अनुमान लगाउँछन्। तँ त्यस्तो व्यक्ति नभए पनि, तिनीहरूले विश्वास गर्नेछैनन्, र तैँले बुझाउने प्रयास गरे पनि, त्यसले काम गर्दैन—तिनीहरूले तँलाई त्यसरी नै हेर्छन्। तिनीहरू सबै कामकुरा र मामलाहरू अनि सबै मानिसहरूलाई हेर्न दुष्ट विधि र दुष्ट स्वभाव प्रयोग गर्छन्। तैँले गर्ने कुरा उचित भए पनि, मानवताका आवश्यकताहरू अनुरूप भए पनि, मानवताको चेतना अनुरूप भए पनि, वा सत्यता सिद्धान्तहरू अनुरूप भए पनि, तिनीहरूले त्यसको पछाडि धेरै प्रश्न चिन्हहरू हालिदिनेछन् र तँलाई सोध्नेछन्, “तिमीले किन यसो गरिरहेका छौ? तिम्रो मनसाय के हो?” तैँले “मेरो कुनै मनसाय छैन” भनेर भन्छस्, तर तिनीहरू विश्वास नै गर्दैनन्—तिनीहरूले तैँले मनसाय राखेको छस् भनेर दोष थोपर्न र त्यो मान्न लगाउन जिद्दी गर्छन्। के त्यस्ता मानिसहरू समस्याजनक हुँदैनन् र? (हुन्छन्।) शङ्का गर्ने प्रवृत्ति भएका मानिसहरूलाई अरूसँग मिलेर बस्न गाह्रो हुन्छ। त्यस्ता मानिसहरू निश्चय नै सरल र खुला मनका हुँदैनन्, र अवश्य नै, तिनीहरू इमानदार मानिसहरू होइनन्। तिनीहरूको चरित्रमा इमानदारी, दया, र चेतनाका तत्त्वहरू लगभग सबैको कमी हुन्छ। त्यसोभए, तिनीहरूको चरित्रका मुख्य तत्त्वहरू के-के हुन्? अत्यधिक शङ्का, छलीपन, दुष्टता, सरलताको कमी, र बेइमानी। तिनीहरूले सबै मानिसहरू र सबै समस्याहरूलाई अत्यन्तै जटिल कुराका रूपमा लिन्छन्। तैँले तिनीहरूसँग इमानदारीसाथ बोले पनि, तैँले किन यो कुरा भनिस् भनेर तिनीहरूले विश्लेषण र मनन गर्नेछन्। तिनीहरूले तँसँग लामो समयदेखि अन्तरक्रिया गरेका भए पनि र तेरो चरित्र कस्तो छ भन्ने तिनीहरूलाई थाहा भए पनि, तिनीहरूले तँसँग कुराकानी गर्दा, मामलाहरू सम्हाल्दा, वा सङ्गत गर्दा तँप्रति अझै पनि प्रायजसो शङ्काको मनोवृत्ति अपनाउनेछन्। त्यसकारण, त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्। तिनीहरूसँग अन्तरक्रिया गर्दा धेरै बोझ र औपचारिकताहरू थपिन्छन्, र तैँले धेरै गृहकार्य पनि गर्नुपर्छ र तिनीहरूलाई चिन्नुपर्छ—तैँले तिनीहरूलाई के-के कुरा मन पर्दैन, र तिनीहरूलाई के गर्न वा केका बारेमा कुरा गर्न मन पर्दैन भन्ने कुरा जान्नुपर्छ। नत्र भने, यदि तँ होसियार भइनस् भने तैँले तिनीहरूलाई चिढ्याउन वा तिनीहरूको दृष्टिकोणमा, तिनीहरूलाई चोट पुर्याउन सक्छस्। तिनीहरूले मानिसहरूसँग यसरी व्यवहार गर्छन्, त्यसोभए तिनीहरूले परमेश्वरसँग कसरी व्यवहार गर्छन्? (तिनीहरूले परमेश्वरसँग पनि त्यस्तै व्यवहार गर्छन्।) के तिनीहरूले परमेश्वरसँग निष्कपटतासाथ व्यवहार गर्नेथिए? (गर्नेथिएनन्।) उदाहरणका लागि, जब मण्डलीले तिनीहरूलाई कर्तव्य पूरा गर्ने प्रबन्ध मिलाउँछ, तब तिनीहरू यस्तो सोच्न थाल्छन्, “के मैले यो कर्तव्य पूरा गरिरहेको छु भन्ने कुरा परमेश्वरलाई थाहा छ? के उहाँले यो कुरा याद गर्नुहुनेछ? मैले जसोतसो चल्न र परमेश्वरले यसलाई याद गर्ने बनाउनका लागि कति मेहनत गर्नुपर्छ?” केही समयसम्म आफ्नो कर्तव्य पूरा गरेपछि, तिनीहरूले अगुवा र कामदारहरूले तिनीहरूलाई कसरी हेर्छन् र उनीहरूले तिनीहरूबारे कुनै नकारात्मक मूल्याङ्कन गरेका छन् कि छैनन् भनेर सोधखोज पनि गर्छन्। यो कस्तो खालको मानवता हो? तिनीहरूले जुन मनोवृत्तिले मामलाहरू सम्हाल्छन्, त्यसबाट प्रकट हुने मानवताका आधारमा मूल्याङ्कन गर्दा, त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्, र तिनीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुँदैन। किन? किनभने तिनीहरूलाई इमानदार मानिसहरू बन्न गाह्रो हुन्छ; तिनीहरूको विवेकमा इन्साफको बोधको कमी हुन्छ, तिनीहरूको समझ ठीक हुँदैन, र तिनीहरूले कामकुराहरूलाई मूल्याङ्कन गर्ने तरिका तर्कहीन हुन्छ। यो तर्कहीन हुन्छ भनेर म किन भन्छु? किनभने तिनीहरू तुलनात्मक रूपमा चरम हुन्छन्, तिनीहरूमा कामकुराहरूमा एकोहोरिने प्रवृत्ति हुन्छ, र तिनीहरू नीच हुन्छन्—तिनीहरूले सामान्य मानवताको सोचाइको शैली प्रयोग गरेर कामकुराहरूलाई हेर्दैनन्। तिनीहरू खुलस्त र स्पष्ट हुँदैनन् बरु निकै अन्धकारमय तरिकाले जिउँछन्। तैपनि, तिनीहरूलाई आफू अन्धकारमय तरिकाले जिउँछौँ भन्ने कहिल्यै महसुस हुँदैन र आफू अरूभन्दा चलाख छौँ, र अरूभन्दा बढी परिष्कार र मिहिन कुरालाई ध्यान दिएर जिउँछौँ भन्ने समेत सोच्छन्। तिनीहरूले आफ्नै चलाकीको प्रशंसा विशेष रूपमा गर्छन्। आफूलाई चलाख ठान्नु भनेको यही हो। आफूलाई चलाख ठान्ने मानिसहरूमा मानवताको समझ, र तिनीहरूको विवेकभित्र रहेको इन्साफको बोधको निकै कमी हुन्छ। त्यसकारण, त्यस्ता मानिसहरूको मानवता खराब हुन्छ, र अरू तिनीहरूसँग सम्पर्कमा आउन अनिच्छुक हुन्छन्। जसले जे भने पनि, त्यस्ता मानिसहरूले त्यसलाई समस्या बनाउँछन्। तिनीहरूले अर्थ लगाउने कुराहरू सबै चरम कुराहरू हुन्छन्, जुन विकृत हुन्छन्, उग्र हुन्छन्, शैतानका हुन्छन्, र संवेगका हुन्छन्—सबै अन्धकारमय र नकारात्मक, सत्यता विपरीतका र सत्यतालाई प्रतिरोध गर्ने कुराहरू हुन्छन्। यी कुराहरूले मानिसहरूलाई सही मार्गमा डोऱ्याउन पटक्कै सक्दैनन्। त्यसकारण, यस्ता प्रकारका मानिसहरू अत्यन्तै विकर्षक र घिनलाग्दा हुन्छन्। तिनीहरू अँध्यारा कुनामा र आफ्नै सानो संसारमा जिउँछन्। तिनीहरू विशेष रूपमा आत्ममुग्ध र आत्म-प्रशंसा गर्ने हुन्छन्, र तिनीहरूले अरूको भन्दा उत्कृष्ट, महान्, आदरणीय, र मर्यादित जीवन जिउँछन् भन्ने सोच्छन्—तिनीहरूलाई कसैले छुन सक्दैन। वास्तवमा, त्यस्ता मानिसहरूको चरित्र अत्यन्तै नीच हुन्छ, र तिनीहरूसँग कुनै वास्तविक इज्जत हुँदैन। वास्तविक इज्जतको कमी भन्नुको अर्थ तिनीहरूको चरित्र अत्यन्तै खराब छ भन्ने हुन्छ, किनभने तिनीहरूको मानवताबाट पैदा हुने सबै कुरा बाहिर ल्याउन नसकिने अन्धकारमय कुराहरू हुन्छन्, सीधा र स्पष्ट कुराहरू हुँदैनन्। त्यसकारण, त्यस्ता मानिसहरूसँग कुनै इज्जत हुँदैन। शङ्का गर्ने प्रवृत्ति भएका मानिसहरूले के-कस्ता परिणामहरू ल्याउने सम्भावना हुन्छ? सरल शब्दहरूमा भन्दा, त्यस्ता मानिसहरू धूर्त चलाकीले भरिएका हुन्छन्। शङ्का गर्ने प्रवृत्ति हुनुको अर्थ यी मानिसहरूले धेरै धूर्त युक्तिहरू पाल्छन् भन्ने हुन्छ। दियाबलस राजाहरू परमेश्वरका चुनिएका मानिसहरूलाई कसरी दमन र पक्राउ गर्छन्, हेर् त—तिनीहरू अत्यन्तै धेरै धूर्त युक्तिहरू पाल्छन्, जसले गर्दा तिनीहरू अन्ततः मानिसहरूलाई यति हानि गर्छन् कि तिनीहरूको परिवार तोडिन्छ, कतिपय सदस्यहरू मर्छन्, र एक-अर्काबाट अलग हुन्छन्। त्यो पिशाचहरू र दियाबलस राजाहरूले गर्ने काम हो। त्यसकारण, शङ्का गर्ने प्रवृत्ति भएकाहरूमध्ये कोही पनि असल हुँदैनन्। परमेश्वरका विश्वासीहरूले मानिसहरू र कामकुराहरूलाई सत्यता सिद्धान्तहरूका आधारमा हेर्नुपर्छ, तिनीहरूले जथाभाबी शङ्का गर्नै हुँदैन, र तिनीहरूले भन्ने कुराको पछाडि प्रमाण हुनैपर्छ। कुनै व्यक्ति वा मामलालाई हेर्दा तैँले विकास गर्ने विचारहरू कम्तीमा पनि सकारात्मक र अरूका लागि सहमतियोग्य हुनुपर्छ। अझै राम्रो कुरा त, ती सत्यता सिद्धान्तहरू अनुरूप हुनुपर्छ, अरूका लागि सहयोगी हुनुपर्छ, र तिनले तिनीहरूमा सकारात्मक प्रभाव पार्नुपर्छ। तर, शङ्का गर्ने प्रवृत्ति भएका मानिसहरूले पैदा गर्ने कुनै पनि विचार र दृष्टिकोणहरू सत्यता अनुरूप हुँदैनन्; कम्तीमा पनि, ती सकारात्मक कुराहरू हुँदैनन्—अर्थात्, त्यस्ता मानिसहरूले समस्याहरूलाई हेर्ने परिप्रेक्ष्य वा तिनीहरूले निर्माण गर्ने सोच र विचारहरू सत्यता अनुरूप हुँदै हुँदैनन्। त्यसकारण, यस्ता मानिसहरू अँध्यारा कुनामा जिउँछन् र तिनीहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन। तिनीहरूको विचारबाट पैदा हुने कुराहरू सबै अन्धकारमय र दुष्ट हुन्छन्—यी कुराहरू सत्यता सिद्धान्तहरू अनुरूप हुँदैनन् र तिनले मानिसहरूमा वा तिनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्दैनन्। यदि तैँले त्यस्ता मानिसहरूको शङ्काबाट पैदा हुने विभिन्न विचार र दृष्टिकोणहरूलाई स्वीकार गरिस् भने, तँ विषाक्त हुन्छस् र तँलाई तिनीहरूले घिस्याएर लैजान्छन्—यो शैतानद्वारा भ्रष्ट तुल्याइनु सरह हो। तर, यदि तैँले त्यस्ता मानिसहरूलाई खुट्ट्याउँछस् र तिनीहरूलाई नकारात्मक उदाहरणका रूपमा लिन्छस् भने, तैँले नकारात्मक कुराहरू बुझ्ने कार्यमा केही प्रगति गर्न र केही सुझबुझ प्राप्त गर्न सक्छस्। शङ्का गर्ने प्रवृत्तिबारे हाम्रो छलफल यहीँ समाप्त हुन्छ।
असक्षमता
यसपछि, हामी असक्षमताबारे कुरा गरौँ। असक्षमता भनेको के हो भनी सबैले बुझ्छन्—यसले कुनै पनि कुरा राम्ररी सम्हाल्न नसक्नु, असमर्थ देखिनुलाई जनाउँछ, जस्तो मानिसहरूले प्राय भन्छन् नि: “तिमी किन यति असक्षम छौ? तिम्रो साँच्चै भविष्य छैन!” के असक्षमता राम्रो कुरा हो? (होइन।) त्यसोभए यसलाई वर्गीकरण गरौँ—यो के हो? (यो मानवताको खराबी हो।) असक्षमता स्पष्ट रूपमा नै मानवताको खराबी हो। असक्षमताको अर्थ व्यक्तिमा मामलाहरू सम्हाल्ने अत्यन्तै न्यून बुद्धिमत्ता र कमजोर बाँच्ने क्षमता छ भन्ने हुन्छ—यसैलाई असक्षमता भनिन्छ। कतिपय मानिसहरू अकुशल तरिकाले बोल्छन्, आफ्नो कुरा व्यक्त गर्न सक्दैनन्; कतिपयमा लजालु, अन्तर्मुखी व्यक्तित्व समेत हुन्छ—जब तिनीहरू धेरै मानिसहरूको अगाडि बोल्नुपर्छ वा तिनीहरू केन्द्रमा आउनुपर्छ, तब तिनीहरूलाई मञ्चको डर लाग्छ, भय महसुस हुन्छ, र तिनीहरू बोल्ने आँट गर्दैनन्, र तिनीहरूलाई प्रायजसो अरूले हेप्छन्। कतिपय दुष्ट मानिसहरूले त्यस्ता मानिसहरूलाई हेप्नु जायज हुन्छ, र त्यो निकै रमाइलो र आनन्ददायी हुन्छ भन्ठान्छन्—तिनीहरू हरेक दिन यस्ता मानिसहरूलाई गिल्ला गर्छन् र जिस्क्याउँछन्। असक्षम मानिसहरूमा मामलाहरू सम्हाल्ने क्षमता कमजोर हुन्छ। तिनीहरूमध्ये कतिसँग बाँच्ने क्षमता पनि कमजोर हुन सक्छ, तिनीहरू पैसा कमाउन सक्दैनन्, र अरूको अघि सधैँ अत्यन्तै डरपोक र अत्यन्तै सतर्क हुन्छन्। जब तिनीहरू मिचाहा मानिसहरू देख्छन् तब तिनीहरू उनीहरूबाट टाढा बस्छन् र तिनीहरू बोल्ने आँट गर्दैनन्। तिनीहरू हेपिँदा पनि, तिनीहरूले अरूलाई चिढ्याउने डरले, प्रतिरोध गर्ने आँट गर्दैनन्। यस्ता मानिसहरूको मानवतामा देखा पर्ने असक्षमताका प्रकटीकरणहरूबाट मूल्याङ्कन गर्दा, यो मानवताको एक प्रकारको खराबी मात्रै हो। असक्षमताले कहिल्यै कसैलाई त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू विकास गर्ने तुल्याएको वा आफू वा अरूमा कुनै प्रतिकूल असर पार्ने तुल्याएको छैन; त्यसकारण, असक्षमता मानवताको एउटा खराबी मात्रै हो। के कोही असक्षम व्यक्ति बन्न चाहन्छ? (चाहँदैन।) कोही पनि असक्षम व्यक्ति बन्न चाहँदैन—किन? असक्षम मानिसहरू हेपिन्छन्, र सबैले तिनीहरूलाई हेला गर्छन्, होइन र? (हो।) यदि तँलाई दुष्ट बन्नु र असक्षम बन्नुको बीचमा छनौट गर्न लगाइयो भने, तैँले अवश्य नै असक्षम बन्नुको सट्टा दुष्ट बन्न नै छनौट गर्नेथिइस्। तैँले मनमनै सोच्नेथिइस्: “म कहिल्यै पनि असक्षम व्यक्ति बन्नेछैनँ! यस समाजमा, असक्षम मानिसहरूलाई दुर्व्यवहार गरिन्छ र हेपिन्छ, तिनीहरू समाजमा टिक्न सक्दैनन्; तिनीहरू जहाँ गए पनि, अरूले तिनीहरूलाई हेयको दृष्टिले हेर्छन् र खुट्टामुनि कुल्चीमिल्ची गर्छन्। तिनीहरूसँग आफ्नो उपस्थितिको बोध नहुने मात्र होइन, तर अस्तित्वमा रहने तिनीहरूको अधिकार समेत खोसिने सम्भावना हुन्छ। तर दुष्ट व्यक्ति बन्नु फरक कुरा हो—दुष्ट मानिसहरू जहाँ गए पनि, अरूले तिनीहरूको डर मान्छन् र तिनीहरूलाई ठूलो आदरको साथ व्यवहार गर्छन्। कसैले पनि तिनीहरूलाई चिढ्याउने आँट गर्दैन। तिनीहरू जहाँ गए पनि, तिनीहरूले विशेषाधिकारहरूको आनन्द उठाउँछन् र अरूलाई थिचोमिचो समेत गर्न सक्छन्। दुष्ट मानिसहरू यस संसारमा जहाँ भए पनि फस्टाउँछन्।” यदि तिमीहरूलाई अहिले छनौट गर्न लगाइयो भने, तिमीहरूमध्ये कसैले पनि असक्षम मानिस बन्ने छनौट गर्नेथिएनौ—तिमीहरू सबैले दुष्ट मानिसहरू बन्ने छनौट गर्नेथियौ। के यो दृष्टिकोण सही छ? (छैन।) यो किन सही छैन? यो कुन सत्यता सिद्धान्तसँग बाझिन्छ? असक्षमता मानवताको खराबी हो। यसका सबैभन्दा आम प्रकटीकरणहरू कुनै पनि कुरा राम्ररी सम्हाल्न नसक्नु, भेदभावमा पर्नु र बहिष्कारमा पर्नु हुन्। समाजमा असक्षम मानिसहरूलाई हेपिने, र खुट्टामुनि कुल्चीमिल्ची गरिने हुनाले, कोही पनि असक्षम हुन इच्छुक हुँदैन। सबै मानिसहरू सक्षम र सिपालु मानिसहरूको डाहा गर्छन्, र तिनीहरू सबै अरूभन्दा पृथक् देखिन, शक्ति र प्रभाव प्राप्त गर्न, र अरूलाई थिचोमिचो गर्न, कुनै पनि समूहभित्र विशेषाधिकार र प्रतिष्ठा प्राप्त गर्न, अरूको हेपाइबाट जोगिन मात्र होइन तर मन लाग्यो भने अरूलाई हेप्न समेत चाहन्छन्। के यस्तो सोचाइ र दृष्टिकोण सही छ? के यो सत्यता अनुरूप छ? (छैन।) तिमीहरूले धेरै सत्यता सुनेका छौ, तैपनि अझै पनि तिमीहरू दुष्ट मानिसहरूलाई अनुमोदन गर्छौ—यसको अर्थ तिमीहरूको स्वभाव पनि निकै दुष्ट छ। तैँले जोसुकै दुष्ट व्यक्ति देखे पनि, तँ उसको डाहा र आदर गर्छस्। दुष्ट मानिसहरू खराब हुन्छन् भन्ने तँलाई हृदयमा राम्ररी थाहा हुन्छ, तैपनि तँ तिनीहरूलाई नपछ्याई बस्न सक्दैनस्, र त्यसो गर्दा यसले तँलाई साथ पाउने माध्यम दिन्छ र हेपिनबाट जोगाउँछ भन्ने तँलाई लाग्छ। जब तैँले असक्षम मानिसहरू देख्छस्, तब तँ तिनीहरूप्रति विकर्षण महसुस गर्छस् र तँ तिनीहरूलाई हेयका दृष्टिले हेर्छस्, र तिनीहरूलाई कुल्चीमिल्ची समेत गर्न चाहन्छस्। तर के तैँले दुष्ट मानिसहरूलाई पछ्याइस् भने तैँले कति धेरै दुष्कर्म गर्नेथिइस् र कति धेरै दण्ड प्राप्त गर्नेथिइस् भनेर कहिल्यै ख्याल गरेको छस्? यदि तैँले दुष्ट मानिसहरूलाई पछ्याइस् भने तैँले मुक्ति पाउने सम्भावनाहरू के हुनेथिए? यदि तैँले दुष्ट मानिसहरूलाई पछ्याइस् भने के तँ दुष्कर्म गर्नबाट जोगिन सक्नेथिइस्? मानौँ तैँले दुष्ट मानिसहरूलाई पछ्याउँछस्, बफादार ढङ्गले तिनीहरूको सेवा गर्छस् र तिनीहरूको अधीनस्थका रूपमा काम गर्छस्। तिनीहरूले तँलाई फाइदाको हिस्सा दिन्छन् होला, र तँ तिनीहरूलाई अरूमाथि थिचोमिचो गर्न र सबैभन्दा राम्रो खानपान गर्न, ठूलो आनन्द लिन, हेपिनबाट जोगिन, र यस जीवनमा अरूमाझ हैसियत प्राप्त गर्नका लागि पछ्याउन सक्छस्। तर यी कुराहरूको आनन्द लिनका लागि तैँले धेरै दुष्कर्म गर्नुपर्छ! तैँले कति प्रतिफल र कति गम्भीर दण्ड प्राप्त गर्नेछस् भन्ने तँलाई थाहा छ? के यो सही मार्ग हो? (होइन।) त्यसोभए, के तिमीहरू अझै पनि असक्षम व्यक्ति नबन्नका खातिर र हेपिनबाट जोगिनका लागि दुष्कर्म गर्ने र दण्ड भोग्ने बलिदान दिन तयार छौ त—यो जीवनमा आनन्दको बदलामा आफ्नो गन्तव्य र नियति त्यागेर दुष्कर्म गर्ने र दण्ड पाउने छनौट गर्न तयार छौ? के तिमीहरूको सोचाइ र दृष्टिकोण यही हो? कतिपय मानिसहरू वास्तवमा नै यस्तो दृष्टिकोण राख्छन्—तिनीहरू असक्षम र हेपिने व्यक्ति बन्नुका सट्टा दुष्ट मानिसहरू बन्न रुचाउनेथिए। के यो दुष्ट मानिसहरूको मार्गमा हिँड्न चाहनु होइन र? असक्षमता मानवताको एउटा खराबी मात्रै हो—त्यसमा त्यति नराम्रो के छ र? के अरूलाई हेप्नु र दुष्कर्म गर्नु साँच्चै नै राम्रो विकल्प हो? यदि परमेश्वरले तँलाई भोकै मर्न दिनुहुन्न र खानेकुरा प्रदान गर्नुहुन्छ भने, के तँ साँच्चै नै भोकै मर्न सक्छस्? यदि परमेश्वरले तँलाई हर्ष, स्वतन्त्रता, खुसी, प्रसन्नता, र शान्तिमा जिउन दिनुभयो भने, तँमा यीमध्ये कुनै कुराको कमी हुनेछैन। त्यसैले अरूले तँलाई हेपे के भयो त? कसैले पनि तँबाट यी कुराहरू खोस्न सक्दैन—परमेश्वरले तँलाई जे दिनुहुन्छ, त्यो कसैले पनि खोस्न सक्दैन। यदि तँ दुष्ट मानिसहरूलाई पछ्याउँछस् र दुष्ट मानिसहरूको मार्गमा हिँड्छस् भने, तैँले आनन्द उठाउने सुखहरू सबै पापपूर्ण सुख हुनेछन्। यसको साथै, तैँले दुष्कर्म गरेर प्राप्त गर्ने कुनै पनि पैसा वा भौतिक आनन्द जबरजस्ती कब्जामा लिइएको हुनेछ, तैँले यस जीवनमा अनुभव गर्ने आनन्द परमेश्वरले तँलाई दिनुभएको कुराभन्दा बढी हुनेछ र त्यसकारण तैँले भविष्यमा यसका लागि कैयौँ जीवनकालले ऋण तिर्नुपर्नेछ। यस जीवनमा देहका सुखहरू प्राप्त गर्नु र त्यसको मूल्य स्वरूप दण्ड पाउनु—के यो सही मार्गमा नहिँड्नु होइन र? तिमीहरू हेपिनुभन्दा दुष्ट मानिसहरू बन्न रुचाउनेथियौ—यसले तिमीहरूको आत्माको गहिराइमा रहेको दुष्टताप्रतिको तिमीहरूको धारणा र मोहलाई प्रतिबिम्बित गर्छ। त्यसोभए, असक्षम हुनुमा के कुरा यति खराब छ र? यसलाई मानवताको दृष्टिकोणबाट हेर्दा, यो एक प्रकारको खराबी हो, तर यो जन्मजात अवस्था पनि हो, जुन मानिसहरूले परिवर्तन गर्न नसक्ने कुरा हो। असक्षम मानिसहरू आफ्नै निर्णयद्वारा असक्षम बनेका थिएनन्। यो एउटा खराबी भए पनि, यो भ्रष्ट स्वभाव होइन, यो व्यक्तिको चरित्रको समस्या होइन। त्यसोभए यसमा यति खराब के छ र? यदि, तेरो असक्षमता र न्यून हैसियतका कारण, तँलाई प्रायजसो हेपिन्छ र तैँले यस संसारको अन्याय र दुष्टता र यस समाजको अन्धकारलाई गहन रूपमा बुझ्न सक्छस्, र नतिजास्वरूप परमेश्वरको सार्वभौमिकतालाई स्वीकार गर्न परमेश्वरको अघि इमानदारीका साथ आउँछस्, र परमेश्वरको प्रभुत्व र योजनाबद्ध कार्यहरूमा स्वेच्छाले समर्पित हुन्छस्, र परमेश्वरलाई आफ्नो नियतिको मालिक हुन दिन्छस् भने, के यो असक्षमता तेरा लागि सुरक्षाको एउटा रूप होइन र? असक्षमता नकारात्मक कुरा होइन; यो मानवताको एक प्रकारको खराबी मात्रै हो। खराबीले केलाई जनाउँछ? यसको अर्थ अपर्याप्तता, सानो समस्या, दाग हुनु हो—यो त अपूर्णता, कहिँकतै अभावग्रस्त हुनु हो, पूरै चित्तबुझ्दो नहुनु, वा आदर्श नरहेको कुरा मात्रै हो, तर यसले पतित वा खराब चरित्रलाई सङ्केत गर्दैन। त्यसोभए तिमीहरूले किन यो सानो खराबीलाई सहन सक्दैनौ? यति मात्र होइन, यो सानो खराबीले तेरो जीवन प्रवेशमा ठूला फाइदाहरू ल्याउन सक्छ। वा कतिपय मानिसहरूमा मानवताको यो खराबी, यो जन्मजात अवस्था भएकोले, तिनीहरू परमेश्वरलाई अन्त्यसम्मै सारा हृदयले पछ्याउन अझै धेरै सक्षम हुन्छन् भनेर भन्न सकिन्छ। अन्ततः तिनीहरूले सत्यता स्वीकार गर्न सक्ने, तिनीहरू परमेश्वरमा समर्पित हुन सक्ने, र तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय हुने हुनाले, तिनीहरूले आफ्नो भ्रष्ट स्वभावलाई फाल्न र मुक्ति प्राप्त गर्न सक्छन्। यस दृष्टिकोणबाट हेर्दा, यो आशिष् हो—मानिसहरूले असक्षम हुन इन्कार गर्नु हुँदैन। असक्षम हुनुमा यति नराम्रो के छ र? असक्षमताका कारण व्यक्तिको भ्रष्ट स्वभाव झन् खराब हुनेछैन। परमेश्वरले कुनै व्यक्ति असक्षम भएकोले उसलाई हेयका दृष्टिले हेर्नुहुनेछैन वा मुक्ति दिन इन्कार गर्नुहुनेछैन, न त असक्षमताले उसको सत्यता स्वीकार वा मुक्ति प्राप्तिलाई असर गर्नेछ। त्यसकारण, तिमीहरूको सोचाइ र दृष्टिकोण परिवर्तन हुनुपर्छ—यो अझै पनि निकै पर छ। कतिपय मानिसहरू भन्छन्, “म असक्षम व्यक्ति बन्नुभन्दा दुष्ट व्यक्ति बन्न मन पराउनेथिएँ। असक्षम मानिसहरूको कुनै भविष्य हुँदैन, तिनीहरूलाई सबैले हेयका दृष्टिले हेर्छन्, र तिनीहरू आफैले समेत आफूलाई हेयका दृष्टिले हेर्छन्। असक्षम व्यक्ति बन्नु व्यर्थ हुन्छ; दुष्ट व्यक्ति बन्नु गज्जब हुन्छ—आफूलाई जे मन लाग्यो त्यही गर्न सकिन्छ, जोलाई हेप्न सजिलो देखिन्छ उसलाई हेप्न सकिन्छ, र कसैले पनि प्रतिरोध गर्ने आँट गर्दैन। त्यसरी जिउनु कति शानदार कुरा हो!” शानमा के फाइदा हुन्छ? यदि तैँले संसारमा समृद्धि पाउँछस् र तँ शानदार रूपमा जिउँछस् भने, तेरो भविष्य र गन्तव्य बर्बाद हुनेछन्। तँ उप्रान्त परमेश्वरको अघि आउन सक्षम हुनेछैनस्, र तँलाई उप्रान्त परमेश्वरसँगको लगाव महसुस हुनेछैन; परमेश्वरप्रति तँलाई उप्रान्त आकर्षण हुनेछैन, र परमेश्वरको घरको जिउने वातावरण र काम गर्ने वातावरणले तँलाई उप्रान्त आकर्षित गर्नेछैन। तैँले परमेश्वरलाई त्याग्नेछस् र आफ्ना सबल पक्षलाई प्रयोग गर्न र आफ्नो मूल्य साकार पार्न सक्ने किसिमको जिउने वातावरण खोज्नेछस्। परमेश्वरको घरले मानिसहरूको दुष्कर्मलाई प्रतिबन्धित गर्छ, र कुनै पनि दुष्ट व्यक्ति परमेश्वरको घरमा कहीँ पनि पुग्न वा दृढ रहन सक्दैन। यदि तँलाई दुष्ट मानिसहरू मन पर्छ र तँ तिनीहरूमध्ये एउटा बन्न चाहन्छस् भने, के तँ अझै पनि परमेश्वरको घरमा रहन सक्छस्? ढिलो-चाँडो, तँलाई पखालेर निकालिनेछ। तैँले राम्रो गन्तव्य प्राप्त गर्न नसक्ने मात्र होइन, तर मृत्युपछि, तैँले गरेको दुष्टताका लागि दण्ड पनि प्राप्त गर्नेछस्। त्यसकारण, असक्षमता मानवताको खराबी भए पनि, यो भ्रष्ट स्वभाव होइन, न त यसको अर्थ व्यक्तिको मानवता दुष्ट छ भन्ने नै हुन्छ। कसमा केही न केही कमीकमजोरी हुँदैन र? असक्षमता त कतिपय मानिसहरू जन्मैदेखि भकभके हुन्छन् वा कतिपय मानिसहरूको जन्म अलिक कुरूप रूपमा हुन्छ भन्ने जस्तै हो—यी सबै जन्मजात खराबीहरू हुन्। मानवका छालाका रङ फरक-फरक हुन्छन्—कतिपय मानिसहरू गोरा, कति गहुँगोरा, र कति काला छाला लिएर जन्मिन्छन्। यो जन्मजात अवस्था हो। गहुँगोरा छाला भएका मानिसहरू त्यति स्वस्थ नभएका, र त्यति राम्रो वर्ण नभएका मानिसहरू जस्ता देखिन्छन् होला—यो सानो खराबी हो। कालो छाला भएका मानिसहरू अझै दह्रिला देखिन्छन्, तैपनि कसैले पनि कालो छाला चाहँदैन। सेतो छाला भएका मानिसहरूलाई सामान्यतया डाहा गरिन्छ, तर तिनीहरूमध्ये पनि, कतिलाई अत्यन्तै गोरो हुनु राम्रो होइन भन्ने लाग्छ, त्यसकारण तिनीहरू आफ्नो छालालाई काँसको रङ्गमा सेक्न मन पराउँछन्, किनभने यसले तिनीहरूलाई स्वस्थ देखाउँछ र छालालाई चम्किलो बनाउँछ भन्ने तिनीहरू विश्वास गर्छन्। देखिस्, असक्षमता पनि मानिसहरूका विभिन्न जन्मजात अवस्थाहरू जस्तै हो—यति मात्रै हो कि यो एक प्रकारको खराबी हो। त्यसोभए, के यो ठूलो समस्या हो? (होइन।) त्यसकारण, यो समस्या मानवताको खराबी भए पनि, यसले सत्यतालाई तैँले गर्ने स्वीकार वा सत्यताप्रतिको तेरो बुझाइमा असर गर्दैन। त्यसोभए, के तिमीहरूले अझै पनि असक्षम व्यक्ति बन्नुलाई प्रतिरोध गर्छौ? (अबदेखि गर्दैनौँ।) के तिमीहरू अझै पनि असक्षम मानिसहरूलाई देख्दा हेप्नेछौ? (हेप्नेछैनौँ।) तैँले तिनीहरूलाई निकै नै हेप्ने गर्थिस्, होइन र? अहिले, जब तैँले असक्षम मानिसहरू देख्छस्, तब के तैँले अझै पनि तिनीहरूलाई हेयका दृष्टिले हेर्नेछस् र होच्याउनेछस्? (होइन।) यदि तँ आफै असक्षम व्यक्ति होस् भने, तैँले आफूलाई त झनै हेयको दृष्टिले हेर्नुहुँदैन। यदि तँ असक्षम छस् भने, होस् न त—परमेश्वरका वचनहरू अनुसार इमानदार व्यक्ति बन्ने अभ्यास गर्। तँ असक्षम भए पनि, तँ इमानदार हुनुपर्छ र छली हुनु हुँदैन, र परमेश्वरले यस्तो व्यक्तिलाई मन पराउनुहुन्छ। परमेश्वरलाई के मन पर्छ? यो तेरो असक्षमता होइन। के हो भने तेरो असक्षमताका कारण, तँ इमानदार व्यक्ति बन्न इच्छुक हुन्छस्; तँलाई हेयको दृष्टिले हेरिने र मानिसहरूले तँलाई निगाह नदिने हुनाले, तँ परमेश्वरलाई खुसी पार्न र परमेश्वरलाई सन्तुष्ट पार्न इमानदार व्यक्ति बन्ने तरिकाहरू सोच्छस्, र परमेश्वरले जे भन्नुहुन्छ त्यही गर्छस्। यसरी, तेरो असक्षमता एउटा फाइदा बन्छ, होइन र? (हो।) के अब तिमीहरूको दृष्टिकोण परिवर्तन भएको छ? (छ।) अवश्य नै, सबै असक्षम मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन् नै भन्ने हुँदैन। कतिपय मानिसहरूको मानवतामा असक्षमताको खराबी हुनुको साथै, तिनीहरूको चरित्रमा पनि समस्याहरू हुन्छन्। यसलाई सामान्यीकरण गर्न सकिँदैन। आफैमा, असक्षमता ठूलो समस्या होइन, तर तैँले कसैको चरित्र कस्तो छ भनेर पनि हेर्नुपर्छ। यदि कुनै व्यक्ति छली छ वा उसको चरित्र दुष्ट छ भने—यदि ऊ लाज पचाउँदै अटेरी छ, उसमा शङ्का गर्ने प्रवृत्ति छ, ऊ संवेदनशील छ, ढिपी गर्छ, वा उसमा क्रूर स्वभाव समेत छ भने—त्यो व्यक्ति असल होइन। त्यसकारण, असक्षम व्यक्ति असल चरित्र भएको व्यक्ति नै हो भन्ने हुँदैन। हुन्छ, असक्षमताबारे हाम्रो छलफलमा त्यति नै हो।