सत्यता कसरी पछ्याउने (९) भाग दुई

संवेदनशीलता

यसपछि, हामी संवेदनशीलताबारे कुरा गरौँ। हटाउने विधिबाट सुरु गर्दै, यसलाई वर्गीकरण गर्न सबैभन्दा सरल तरिका प्रयोग गरौँ। के संवेदनशीलता जन्मजात अवस्था हो? (होइन।) त्यसोभए, के यो भ्रष्ट स्वभाव हो? (होइन।) यदि कसैमा संवेदनशीलताको प्रकटीकरण छ भने, के यो भ्रष्ट स्वभावको प्रकटीकरण हो? (होइन।) संवेदनशीलताले निश्‍चित प्रकारको खाना खाएपछि चिलाउने, वा निश्‍चित गन्ध सुँघेपछि हाछ्युँ आउने र आँसु झार्ने अनुभवलाई जनाउँदैन; यसले परागको एलर्जी, बदामको एलर्जी, वा प्रिजरभेटिभ्स वा रासायनिक यौगिकहरूबाट हुने कुनै पनि एलर्जीलाई जनाउँदैन—यसले शारीरिक संवेदनशीलतालाई जनाउँदैन। शारीरिक संवेदनशीलताले निश्‍चित बाहिरी हानिकारक गन्ध वा पदार्थहरूले पैदा गर्ने एलर्जी हुन प्रवृत्त संवेदनशील संरचना हुनुलाई जनाउँछ—यो शारीरिक संवेदनशीलता हो। शारीरिक संवेदनशीलता भनेको व्यक्तिका जन्मजात अवस्थाहरूमध्ये एउटा जन्मजात प्रवृत्ति मात्रै हो—यो व्यक्तिको जन्मजात संरचनाको एउटा भाग हो। तर, यहाँ छलफल भइरहेको संवेदनशीलताले यस कुरालाई जनाउँदैन। जन्मजात अवस्थाहरूलाई पन्छाउँदा, र यस्तो संवेदनशीलता सामान्यतया भ्रष्ट स्वभावको स्तरमा पुग्दैन भन्‍ने कुरालाई ख्याल गर्दा—अर्थात् भ्रष्ट स्वभावको कुनै निश्‍चित प्रकटीकरण हुँदैन भन्‍ने कुरालाई ख्याल गर्दा—यो संवेदनशीलता कस्तो समस्या हो? (यो मानवताको समस्या हो।) यो मानवताको गुण हो कि कमजोरी हो? (यो मानवताको कमजोरी हो।) यो स्पष्ट रूपमा मानवताको कमजोरी हो—यदि तँ यो समेत देख्‍न सक्दैनस् भने, तँ अत्यन्तै अज्ञानी होस्। संवेदनशील हुनु राम्रो हो कि होइन? यो मानवताको कमजोरी भएको हुनाले, यो निश्चित रूपमा राम्रो होइन। संवेदनशीलता भनेको के हो? यसलाई आफ्नै शब्दहरूमा भन। (अति संवेदनशील मन हुनु।) के अति संवेदनशील मन हुनु मानसिक रोग हो? मलाई भन, के मानिसहरूका स्नायुहरू सामान्यतया अति संवेदनशील बन्छन्? स्नायुहरू मानव मांसपेशीको तन्तुभित्र हुन्छन् र ती बाहिरी हावा, धूलो, वा अरू पदार्थहरूको सम्पर्कमा आउँदैनन्—त्यसोभए ती कसरी अति संवेदनशील हुन सक्छन्? यदि व्यक्ति सधैँ संवेदनशील हुन्छ भने, के यो उसको विचारको समस्या होइन र? यदि उसको विचारमा समस्या छ भने, के यसको अर्थ उसको मनमा समस्या छ भन्‍ने हुन्छ? (हुन्छ।) मनको समस्या तिनीहरूका विचारद्वारा निर्देशित हुन्छ, र यदि यो तिनीहरूका विचारद्वारा निर्देशित हुन्छ भने, यो तिनीहरूको मानवतासँग सम्बन्धित समस्या हो। जब कसैको हेराइ, शब्द, वा वाक्यांश छनौटको कुरा आउँछ, वा जब तिनीहरूले कुनै वातावरण वा कुनै प्रकारको परिस्थितिको सामना गर्छन्, तब तिनीहरूले यसलाई बढाइ-चढाइ अर्थ लगाउँछन्, यसलाई आफूसँग जोड्छन्, त्यसपछि तिनीहरू बेचैनी, दबाब, उदासी, र दिक्दारीका भावनाहरूमा पर्छन्, कहिलेकाहीँ नकारात्मकतामा समेत पर्छन्, वा अझै खराब कुरा त, बदला लिन खोज्ने, शत्रुता, इत्यादि कुराका नकारात्मक प्रकटीकरणहरू देखाउँछन्। यी प्रकटीकरणहरूले संवेदनशीलता मानवताको एक प्रकारको खराबी हो भन्‍ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छन्। खराबीको अर्थ यदि तँसँग यस्तो समस्या छ भने, तैँले प्रकट गर्ने मानवता असामान्य हुन्छ भन्‍ने हो। यो समस्या तेरो विचार, मानसिक स्थिति, समझ, वा कुनै सन्दर्भमा रहेका निश्‍चित धारणा र दृष्टिकोणहरूले पैदा गरेका भए पनि, जे भए पनि, यो तेरो मानवताभित्रको खराबी हो। यसले तैँले प्रकाश गर्ने मानवतालाई असामान्य तुल्याउँछ, सामान्य मानवताको चेतना र विवेक अनुरूप नहुने तुल्याउँछ, अनि सामान्य मानवताको सोच्ने ढाँचाले पैदा गर्ने विचार र दृष्टिकोणहरू, वा अरूसँग अन्तरक्रिया गर्दा र मामलाहरू सम्हाल्दा व्यक्तिमा हुनुपर्ने मनोवृत्ति अनुरूप नहुने तुल्याउँछ। सारांशमा भन्दा, मानवताको यो पक्षमा प्रकाश हुने कुरा सारभूत रूपमा असामान्य मानसिक स्थिति हो। उदाहरणका लागि, कतिपय मानिसहरू अनजानमा कसैले तिनीहरूलाई एक झलक हेरेकाले नै अति संवेदनशील बन्छन्—त्यो व्यक्तिले तिनीहरूलाई हेयको दृष्टिले हेरेको भन्ठान्छन्, र तिनीहरू बेखुस हुन्छन् र यसको तनावले रुने समेत गर्छन्। मलाई भन, के यो असामान्य मानसिक स्थिति होइन र? के यो मानसिक रोग होइन र? के मैले भनिरहेको कुरा सही छ? (छ।) ठ्याक्कै भन्दा, मानवताको यो प्रकटीकरण मानसिक रोग हो। अरूले तिनीहरूलाई केही गर्दैनन्, तैपनि तिनीहरू धेरै दिनसम्म अनियन्त्रित रूपमा रुन्छन् र तिनीहरूले यो कुरालाई जान दिनै सक्दैनन्। यो मानवताको खराबी हो। जब तेरा वरिपरि यस्ता मानिसहरू हुन्छन्, तब तँलाई विशेष रूपमा दमनमा परेको र रोकिएको महसुस हुन्छ, तैँले तिनीहरूबाट कहिले समस्या निम्त्याउन वा आफूलाई नै कहिले समस्यामा पार्न सक्छस् भन्‍ने तँलाई थाहा हुँदैन, र तिनीहरूको अगाडि बोल्दा तँ अत्यन्तै सतर्क हुनुपर्छ, र आफ्ना शब्दहरूलाई बारम्बार ख्याल गर्नुपर्छ: “यदि मैले यो शब्द बोलेँ भने, के तिनीहरूले मैले तिनीहरूलाई हेयको दृष्टिले हेरिरहेको छु भन्‍ने सोच्नेछन्? यदि मैले तिनीहरूसँग कुरा गरिनँ भने, के तिनीहरूले म तिनीहरूबारे निश्‍चित रायहरू राख्छु भन्‍ने सोच्नेछन्? यदि मैले तिनीहरूलाई केही शब्दहरू भनेँ भने, के तिनीहरूले मेरो कुनै गुप्त मनसाय छ भन्‍ने सोच्नेछन्? व्यवहार गर्ने उचित तरिका ठ्याक्कै के हो?” अन्त्यमा, तँ यस्तो निष्कर्षमा पुग्छस्: यस्ता मानिसहरू बस मानसिक रूपमा बिरामी हुन्छन्—साँच्चै समस्याजनक हुन्छन्! तैँले तिनीहरूसँग चाहे जसरी व्यवहार गरे पनि, त्यो कहिल्यै सही हुँदैन; तैँले चाहे जे भने पनि, वा तैँले चाहे जे गरे पनि, तिनीहरू त्यसलाई कहिल्यै सही रूपमा लिँदैनन्। तिनीहरूको मानवता अत्यन्तै असामान्य हुन्छ। त्यस्ता मानिसहरूसँग लामो समय बिताएपछि, तँ बस तिनीहरूसँग दूरी कायम गर्न र तिनीहरूबाट पन्छिन चाहन्छस्, र थप सम्पर्क चाहँदैनस्। यस्ता खालका मानिसहरूमा सामान्य मानवताको सोचाइ हुँदैन—तिनीहरू मानसिक रूपमा बिरामी हुन्छन्। संवेदनशीलताले यी प्रकटीकरणहरूलाई जनाउँछ; यो मानवताको एउटा खराबी हो। यो मानवताको खराबी भए पनि, यो भ्रष्ट स्वभावभन्दा सरल छैन। यदि कुनै व्यक्तिमा मानवताको खराबी वा समस्या छ भने, उसले अरूसँग सङ्गत गर्दा धेरै समस्याहरू पैदा हुनेछन्; ऊसँग मिलेर बस्न गाह्रो हुनेछ, र उसलाई सच्याउन पनि गाह्रो हुनेछ। यो मानवताको एउटा प्रकटीकरण हो।

ढिपी

हामी अर्को प्रकटीकरण—ढिपीका बारेमा कुरा गरौँ। यो कस्तो समस्या हो? (यो मानवताको खराबी हो।) पहिलो, जन्मजात अवस्थाहरूलाई पन्छाऔँ—ढिपी निश्चित रूपमा नै जन्मजात अवस्था होइन, यो परमेश्‍वरले दिनुभएको हुँदैन। यसको साथै, ढिपी भ्रष्ट स्वभावको स्तरमा पुग्दैन। त्यसकारण, यो मानवताको खराबी हो। ढिपीका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? के ढिपी र बेतुकताबीच निश्‍चित परस्पर सम्बन्ध हुन्छ? (केही सम्बन्ध हुन्छ।) निश्‍चित हदसम्म, एउटा परस्पर सम्बन्ध हुन्छ। त्यसोभए, ढिपीका प्रकटीकरणहरू के-के हुन्? एउटा उदाहरण देओ। कस्तो प्रकारका मानिसहरूमा ढिपी हुने प्रवृत्ति हुन्छ? कुन-कुन शब्द र व्यवहारहरू ढिपीका प्रकटीकरणहरू हुन्? (ढिपी गर्ने मानिसहरू निश्‍चित मानिस, घटना, र कामकुराहरूको सामना गर्दा एकोहोरिने गर्छन्।) कामकुराहरूमा एकोहोरिनु एउटा पक्ष हो। एउटा उदाहरण देओ—तिनीहरू कस्ता मामलाहरूमा एकोहोरिन्छन्? (जब कसैले तिनीहरूका समस्याहरू औँल्याउँछ, तब तिनीहरूलाई बहानाहरू बनाउन र भ्रामक तर्कहरू प्रयोग गर्न मन पर्छ। तिनीहरू सधैँ आफ्नो प्रतिरक्षा गर्न कुनै वाक्यांश वा शब्दहरूको छनौटमा टाँसिइरहन्छन्, सत्यता वा काटछाँट स्वीकार गर्न मान्दैनन्। तिनीहरूले आफूलाई जायज साबित गर्नका लागि आफ्नो तर्कमा जिद्दी गरिरहन्छन्, आफ्नो कार्यको पछाडि रहेका कारणहरू व्याख्या गर्छन्।) जब अरूले तिनीहरूलाई काटछाँट गर्छन् वा सत्यता सिद्धान्तहरूका बारेमा तिनीहरूसँग सङ्गति गर्छन्, तब तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्। बरु, तिनीहरूले आफ्ना गल्तीहरूलाई पटक्‍कै पहिचान नगरी, आफ्ना अभिप्रायहरू सही छन् भनेर दाबी गर्दै आफ्नै बहाना र स्पष्टीकरणहरूलाई निरन्तर जोड दिन्छन्। यो त एकोहोरिनुको एउटा प्रकटीकरण हो। कतिपय मानिसहरू लापरवाह दुष्कर्म गर्छन् र तिनीहरूलाई बर्खास्त गरिन्छ, तर तिनीहरू आत्म-चिन्तन गर्दैनन्। बरु, तिनीहरू भन्छन्, “जे भए पनि, परमेश्‍वरले मलाई मन पराउनुहुन्‍न, र म सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनँ, यति हो—प्रगति गर्ने प्रयास गर्नुको कुनै अर्थ छैन।” कसैले तिनीहरूलाई यस्तो सल्लाह दिन्छ, “तिमी यति नकारात्मक हुनु हुँदैन। तिम्रो क्षमताले तिमीलाई सत्यता बुझ्ने तुल्याउँछ—तिमीले प्रगति गर्ने प्रयास गर्नुपर्छ!” तिनीहरू जवाफ दिन्छन्, “यदि तिमीले राम्रो गन्तव्य प्राप्त गर्नेछैनौ भनेर परमेश्‍वरले नियोजन गर्नुभएको छ भने, तिमीले प्रगति गर्ने प्रयास गरे पनि, त्यो व्यर्थ हुन्छ। तिमीले चाहे जति धेरै मेहनत गरे पनि वा तिमीले जति राम्ररी गरे पनि, त्यो व्यर्थ हुन्छ।” तिनीहरू हृदयमा निरन्तर परमेश्‍वरलाई गलत रूपमा बुझ्छन् र उहाँसँग होड गर्छन्। अरूले चाहे जे भने पनि, तिनीहरूले त्यो स्वीकार गर्न मान्दैनन्। तैँले भनेको कुरा तिनीहरूको स्थितिसँग चाहे जति नै मिले पनि वा त्यसले तिनीहरूलाई परिवर्तन हुन र केही वृद्धि हासिल गर्न जति नै सहयोग गर्न सके पनि, तिनीहरू यसलाई स्वीकार गर्दैनन्। तिनीहरू आफ्नै विचारहरू सही छन् भन्‍ने कुरामा विश्‍वस्त हुन्छन्। के यो ढिपीको प्रकटीकरण हो? (हो।) तिनीहरू एकचित्त र दृढ रूपमा यस्तो विश्‍वास गर्छन्: “परमेश्‍वरले मलाई मन पराउनुहुन्‍न। मैले चाहे जे गरे पनि, परमेश्‍वरले मलाई अनुग्रह देखाउनुहुनेछैन—परमेश्‍वरले मलाई पन्छाउनुभएको छ। म सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनँ भन्‍ने मलाई थाहा छ, त्यसकारण प्रगति गर्ने प्रयास गर्नुको कुनै अर्थ छैन। यदि म कुनै कर्तव्य पूरा गर्न सक्छु भने, म थोरै मात्रै गर्नेछु। यदि मलाई श्रमिक भनिन्छ भने, ठिकै छ। जे भए पनि, म केवल सँगसँगै पछि लाग्नेछु। जबसम्‍म आशाको एउटा सानो किरण बाँकी हुन्छ, तबसम्‍म म छोडेर जानेछैनँ।” वास्तवमा, तिनीहरूको क्षमता र अरू विभिन्‍न परिस्थितिहरूका आधारमा हेर्दा, तिनीहरू यति नकारात्मक हुनु हुँदैन—तिनीहरूले अझै पनि केही बहुमूल्य कामकुराहरू गर्न सक्छन्, र आफ्नो कर्तव्य पूरा गर्दा केही नतिजाहरू हासिल गर्न सक्छन्। तर, तिनीहरूको ढिपीका कारण, तिनीहरू प्रगति गर्न मान्दैनन्, तिनीहरूले आफ्नो मार्ग बदल्दैनन्, र पश्चात्ताप गर्दैनन्; तिनीहरू हृदयमा परमेश्‍वरले तिनीहरूलाई अनुग्रह देखाउनुहुनेछैन भन्‍ने विश्‍वास गर्छन्। अरूले विभिन्‍न हदको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्छन् र उनीहरूलाई परमेश्‍वरले प्रायजसो केही अनुग्रह देखाउनुहुन्छ, तर तिनीहरू यसलाई महसुस गर्न सक्दैनन्, त्यसकारण तिनीहरूले हृदयमा परमेश्‍वरप्रति केही रिस पाल्छन्। के यो ढिपी हो? (हो।) कतिपय मानिसहरू सोच्छन्, “परमेश्‍वरको घरमा प्रवर्द्धन र संवर्धन गरिने मानिसहरू सबै बोल्न सिपालु, वरदान र सबल पक्ष भएका, र आफूलाई प्रस्तुत गर्न सिपालु मानिसहरू हुन्। आफूलाई कसरी प्रस्तुत गर्ने भन्‍ने थाहा नभएका र बोल्न सिपालु नभएका हामी जस्ता मानिसहरूलाई परमेश्‍वरको घरले बेवास्ता गर्छ। परमेश्‍वरले हामीलाई कुनै अवसर दिनुहुन्‍न। हामीसँग प्रतिभा भए पनि, त्यो व्यर्थ हुन्छ। हामीसँग क्षमता र बोध सामर्थ्य भए पनि, त्यसले केही फरक पार्दैन—हामी अझै पनि अलग्गै रहनुपर्छ। विशेष गरी हामी गरिब पृष्ठभूमिबाट आएका हुनाले, हामी औसत रूपका भएकाले, र हामीलाई कसरी राम्ररी लुगा लगाउने थाहा नभएका हुनाले, हामी कहिल्यै कहीँ पनि पृथक् देखिनेछैनौँ। हाम्रो सम्पूर्ण जीवन बस यस्तै हुनेछ—संसारमा हाम्रो कुनै हैसियत हुँदैन र परमेश्‍वरको घरमा कुनै हैसियत हुँदैन।” के यो ढिपीको प्रकटीकरण हो? (हो।) यी दुई वटा उदाहरणहरूबाट, के तिमीहरूले ढिपी भनेको के हो भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छौ? (आफ्ना विचारहरूमा अडिग रहनु र कसैको कुरा सुन्‍न नमान्नु।) (आफ्नो कट्टर दृष्टिकोणमा अडिग रहनु।) बोलचालको भाषामा भन्दा, यसलाई आफ्नो कट्टर दृष्टिकोणमा अडिग रहनु भनिन्छ, तर त्यसका सबै रूपहरू ढिपी हुन् भन्‍ने हुँदैन—यो तिनीहरूले पक्रिरहेका कट्टर दृष्टिकोण सही छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि व्यक्तिले पक्रिरहने कट्टर दृष्टिकोण सही छ भने, यो स्वीकार्य नै हुन्छ। उदाहरणका लागि, यदि कुनै व्यक्तिले “जहिले पनि, व्यक्तिले विवेकको साथ काम गर्नुपर्छ” भनेर भन्दै आफ्‍नो कट्टर दृष्टिकोणलाई पक्रिरहन्छ भने, यो दृष्टिकोण तुलनात्मक रूपमा सकारात्मक हुन्छ। तर यदि उसले पक्रिरहने कट्टर दृष्टिकोण गलत छ र यो तथ्यहरूअनुरूप छैन, तैपनि ऊ यसलाई त्याग्‍न मान्दैन र जसले जे भने पनि कसैले उसलाई आफ्ना विचार र दृष्टिकोणहरू परिवर्तन गर्न लगाउन सक्दैन भने, यो ढिपी हो। ढिपी भनेको बुझाइको विकृत तरिका हो—मानिसहरूले जिद्दी भएर विकृत विचार र दृष्टिकोणहरूलाई पक्रिराख्दा यस्तो हुन्छ। यो मानवता वा सामान्य समझ अनुरूप हुँदैन, यो परमेश्‍वरका मागहरूअनुरूप त झनै हुँदैन; अवश्य नै, सत्यतासँग पनि यसको कुनै सम्बन्ध हुँदैन। ढिपी भनेको आफ्नो मानवताको उग्रता र संवेगहरूको प्रभुत्वमा रहेको विकृत विचार र दृष्टिकोणहरूमा जिद्दी हुनु हो। यस्ता प्रकटीकरणहरू देखाउने मानिसहरू ढिपी गर्ने मानिसहरू हुन्। उदाहरणका लागि, कतिपय मानिसहरू काट-छाँटलाई स्वीकार गरेपछि र आफूलाई चिनेपछि, यस मामलामा तिनीहरू गलत थिए र तिनीहरूले पश्चात्ताप गर्नुपर्छ भन्‍ने महसुस गर्छन्। तिनीहरूले यसलाई अपराधका रूपमा हेर्छन् र काट-छाँटमा पर्नु सही कुरा हो, भाग्यवश काट-छाँट समयमा नै आयो, र यो नभएको भए ठूलो गल्ती हुनेथियो भन्‍ने विश्‍वास गर्छन्। तैपनि, ढिपी गर्ने मानिसहरू यसरी सोच्दैनन्। तिनीहरू भन्छन्, “मलाई काट-छाँट गर्नु भनेको मलाई हेयका दृष्टिले हेर्नु हो—तिनीहरूले मलाई अप्रिय ठानेकाले मलाई निसाना बनाउनु हो। सायद म कसैको गडबडीको बीचमा परेँ र दुर्भाग्यमा परेँ। तिनीहरूसँग रिस पोख्ने ठाउँ कहीँ नभएकोले पो, तिनीहरूले मलाई काट-छाँट गरेर आफ्‍नो रिस पोखेका हुन्।” अरूले भन्छन्, “यो तपाईंले सोचेको जस्तो होइन। तपाईंले के गलत काम गर्नुभयो भनेर किन जाँच्‍नुहुन्‍न? के तपाईंले त्यो मामलालाई सिद्धान्तहरू अनुसार सम्हाल्‍नुभयो? के तपाईंले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्नुभयो?” तिनीहरू यी कुराहरू जाँच्दैनन्। बरु, तिनीहरू संवेग र उग्रताको साथ मामलाहरूको विश्लेषण गर्छन्, त्यसलाई बुझ्छन्, र लिन्छन्। सारांशमा भन्दा, ढिपी गर्ने मानिसहरू अधिकांश मामलाहरूमा, सकारात्मक कुराहरूलाई वा सत्यतालाई स्वीकार गर्दैनन्—तिनीहरू सकारात्मक विचार र दृष्टिकोणहरूलाई समेत स्वीकार गर्दैनन्। तिनीहरूमाथि जेसुकै आइपरे पनि वा तिनीहरूले जस्तोसुकै वातावरणको सामना गरे पनि, यस कुरालाई ढिपीको साथ लिन्छन् र पूर्ण निश्‍चितताको साथ यसलाई पक्रिराख्छन्। तैँले तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा पनि, तिनीहरू त्यसलाई स्वीकार गर्दैनन् र तिनीहरूले पक्रेर राख्ने कुरा पूर्ण रूपमा तथ्यहरू अनुरूप छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू प्रायजसो के भन्छन्? “सुनेको कुरा भरपर्दो हुँदैन; देखेको कुरा मात्रै वास्तविक हुन्छ। मैले देखेका कुराहरू त तथ्यहरू हुन्। तपाईँले भन्‍नुहुने कुरा सत्यता भए पनि, तपाईँले यो कुरा देख्‍नुभएको छैन भने, तपाईँसँग यस विषयमा बोल्ने कुनै अधिकार छैन।” तिनीहरू आफूले देखेका कुरा तथ्यहरू हुन्, र यी तथ्यहरू सतहमा जस्ता देखिन्छन् ती वास्तवमा त्यस्तै हुन्छन् भन्‍ने विश्‍वास गर्छन्। जब तँ सत्यताबारे कुरा गर्छस्, तब त्यो व्यर्थ हुन्छ—तिनीहरूका नजरमा, सत्यता एउटा देखावटी रूप, बाहिरी खोल, र कर्णप्रिय शब्दहरू मात्रै हो। त्यसकारण, तिनीहरू यसलाई स्वीकार गर्दैनन्। तिनीहरू अन्धाधुन्ध यस्तो विश्‍वास गर्छन्, “मैले भनेको कुरा साँचो हो—यो झूट होइन—किनभने मैले तथ्यहरूको सत्यता देखेको छु। मैले तथ्यहरू उजागर हुने प्रक्रिया देखेको छु।” उदाहरणका लागि, जब ढिपी गर्ने व्यक्तिले एक दम्पती तर्क गरिरहेका, श्रीमान-श्रीमती दुवैले सम्बन्ध विच्छेद गर्ने बारेमा चिच्याइरहेका देख्छ, तब तिनीहरूले अवश्य नै सम्बन्ध विच्छेद गर्नेछन् भनेर उसले निष्कर्ष निकाल्छ। अरूले भन्छन्, “तपाईंले तिनीहरूलाई सम्बन्ध विच्छेदका बारेमा तर्क गरिरहेका देख्‍नुभए पनि तिनीहरूले साँच्‍चै नै सम्बन्ध विच्छेद गर्न चाहन्छन् भन्‍ने हुँदैन। मानिसहरू रिसाउँदा कठोर शब्दहरू बोल्छन्। वास्तवमा, यो जोडीले प्रायजसो एकअर्कालाई अत्यन्तै प्रेम गर्छन्—तिनीहरूको सम्बन्धको जग बलियो छ। तिनीहरूले आफ्नो जीवनभरि झगडा गरेका भए पनि, तिनीहरू एक-अर्काविना बस्‍न सक्दैनन्। परिस्थितिका बारेमा थाहा भएको कुनै व्यक्तिलाई त्यस श्रीमतीले तिनीहरूको सम्बन्ध विच्छेद असम्भव छ भनेर बताएकी थिइन्। त्यसकारण, यी तथ्यहरू र तिनीहरूको सामान्य जीवनशैलीका आधारमा हेर्दा, तिनीहरूले सम्बन्ध विच्छेद गर्ने सम्भावना छैन।” ढिपी गर्ने व्यक्तिले यो कुरामा विश्‍वास गर्दैन। पछि, ऊ जाँच गर्न जान्छ र यो जोडीले वास्तवमा सम्बन्ध विच्छेद गरेको छैन भन्‍ने देख्छ, तर ऊ अझै पनि जिद्दी हुँदै यस्तो विश्‍वास गर्छ, “तिनीहरूले बाहिरी रूपमा मात्रै सम्बन्ध विच्छेद गरेका छैनन्; गोप्य रूपमा, तिनीहरूले पहिले नै सुटुक्क सम्बन्ध विच्छेद गरिसकेका छन्। तिनीहरूले छोराछोरीका खातिर मात्रै यस कुरालाई सार्वजनिक गरेका छैनन्।” देखिस्, ऊ अझै पनि जिद्दी भएर यस मामलालाई पक्रिरहन्छ। ऊ आफ्नो आँखाले देख्ने कुरामा र आफ्नै तजबिजमा मात्रै विश्‍वास गर्छ, र आफ्नो तजबिज र आफ्ना विचार र दृष्टिकोणहरू सही छन् भनेर हठपूर्वक जिद्दी गर्छ। तथ्यहरू त्यस्ता नभए पनि वा समस्याको सार र जड त्यस्ता नभए पनि, ऊ अझै पनि कुरा त्यही हो भन्‍ने विश्‍वास गर्छ। सबै मामलाप्रतिको उसको बुझाइ उसका आफ्नै पूर्वाग्रह, उग्रता, र संवेगहरूमा मात्रै निर्भर हुन्छ—ऊ तथ्यहरूको प्रकृति वा समस्याको जडका आधारमा तजबिज गर्दैन। परिस्थिति परिवर्तन भए पनि, उसको बुझाइको तरिका र उसका विचार र दृष्टिकोणहरू अपरिवर्तित नै रहन्छन्। यी ढिपी गर्ने मानिसहरूका प्रकटीकरणहरू हुन्।

जब ढिपी गर्ने मानिसहरूले निश्‍चित समस्याहरूको सामना गर्छन्, तब समस्याहरूलाई सम्हाल्ने तिनीहरूको तरिका र तिनीहरूले प्रकाश गर्ने स्वभावमा एउटा भ्रष्ट स्वभाव समावेश हुन्छ। ढिपी मानवताको एउटा प्रमुख खराबी हो। अवश्य नै, यो चरित्र वा निष्ठाको स्तरमा पुग्दैन—यो तिनीहरूले अरूसँग गर्ने अन्तरक्रिया र मामलाहरू सम्हाल्ने मनोवृत्ति, सोचाइ, र दृष्टिकोणसँग मात्रै सम्बन्धित हुन्छ। यदि कुनै व्यक्ति ढिपी गर्ने छ भने, उसको मानवतामा खराबी छ भन्‍ने कुरा देखाउन त्यो नै पर्याप्त हुन्छ। जब निश्‍चित मामलामा यो खराबी प्रकाश हुन्छ, तब उसले प्रकाश गर्ने कुरा उप्रान्त मानवताको खराबी मात्रै रहँदैन। यदि, निश्चित परिस्थितिमा, उसले आफ्नो विकृत बुझाइ र दृष्टिकोणहरू सत्यताअनुरूप छन् भन्‍ने विश्‍वास गर्दै, त्यसमा जिद्दी भएर जोड दिन्छ, र सत्यताबारे ऊसँग जोसुकैले सङ्गति गरे पनि ऊ यसलाई आत्मसात् गर्न सक्दैन—र केही ढिपी गर्ने व्यवहार र भनाइहरू समेत विकास गर्छ भने—यो उप्रान्त उसको मानवताको समस्या मात्रै रहँदैन। यो उसको स्वभावको समस्या हुने स्तरमा पुगिसकेको हुन्छ—यो भ्रष्ट स्वभावको स्तरमा पुगेको हुन्छ। उदाहरणका लागि, काट-छाँटलाई स्वीकार गर्ने मामलामा, यदि उसले काम गर्दा सिद्धान्तहरू उल्लङ्घन गर्छ र लापरवाह दुष्कर्म गर्छ भने, उसले काट-छाँट स्वीकार गर्नुपर्छ। उसले काट-छाँट स्वीकार नगरे पनि, अझै पनि सम्बन्धित दण्ड र ताडनालाई स्वीकार गर्नुपर्छ। तर, उसले यसलाई सही रूपमा बुझ्नुको सट्टा, आफ्नो खराब भाग्यबारे गुनासो गर्छ, र भन्छ, “म त संयोगवश आगोको अगाडि पुगेछु। मलाई काट-छाँट गर्ने व्यक्ति रिसाएको मात्रै थियो र ऊसँग रिस पोख्ने ठाउँ थिएन—यति मात्र हो कि उसले यो मेरो मामला देख्‍न पुग्यो, अनि मलाई काट-छाँट गर्‍यो।” काट-छाँटप्रति उसको सोचाइ, दृष्टिकोण, र मनोवृत्ति एउटा भ्रष्ट स्वभावको प्रकटीकरण हो। कस्तो भ्रष्ट स्वभाव? (हठीपन र सत्यताप्रतिको वितृष्णा।) सत्यताप्रति वितृष्ण हुनु र हठी हुनु। मानिस र परिस्थितिहरूप्रतिको उसको विचार र दृष्टिकोण उसको मानवताको ढिपीमा पर्छ, तर यी ढिपी गर्ने विचार र दृष्टिकोणहरूलाई जन्म दिने भ्रष्ट स्वभावहरू हठीपन र सत्यताप्रतिको वितृष्णा हुन्। यसले समस्याको सारलाई गम्भीर बनाउँछ—यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्। ढिपी मानवताको एउटा खराबी हो। यसमा समावेश हुने भ्रष्ट स्वभावहरूका मुख्य विशेषताहरू के-के हुन्? हठीपन र सत्यताप्रति वितृष्ण हुनु—यसले त्यसलाई भ्रष्ट स्वभावको स्तरमा पुर्‍याउँछ। यसबाट तिमीहरू के देख्‍न सक्छौ? मानिसहरूले आचरण र व्यवहार प्रस्तुत गर्ने विचार, दृष्टिकोण, र मनोवृत्तिहरूसँग सम्बन्धित मानवताका केही खराबी भ्रष्ट स्वभावमा परिणत हुन सक्छन्। उदाहरणका लागि, भकभकाउनु मानवताको एउटा खराबी हो। भकभकाउने व्यक्तिले जे भने पनि ऊ भकभकाउने नै छ। भकभकाउनु आफैमा भ्रष्ट स्वभाव होइन र यो भ्रष्ट स्वभावको स्तरमा पुग्दैन। तर, यदि भकभकिएर बोलिने शब्दहरूमा निश्‍चित विचारहरू हुन्छन्, र यी विचारहरू भ्रष्ट स्वभावको प्रभुत्वमा पैदा भएका हुन्छन् भने, व्यक्तिले प्राकृतिक रूपमा भकभकाउने भए पनि वा नभए पनि, उसका शब्दहरूको पछाडि रहेका विचारहरूमा भ्रष्ट स्वभाव समावेश हुन्छ। भकभकाउनु बोलीको एउटा समस्या हो—भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध हुँदैन। तर, बोल्ने भकभकिने शैली प्रयोग गर्नुको पछाडि रहेका विचार र दृष्टिकोणहरू भ्रष्ट स्वभावले उत्पन्न गरेका वा पैदा गरेका हुन्छन्। त्यसकारण देखिस्, जब मानवताको खराबीमा जन्मजात अवस्थाहरू समावेश हुन्छन्, तब भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध हुँदैन। तर जब मानवताको खराबीमा व्यक्तिको चरित्रका दुष्ट, विकृत, वा नकारात्मक तत्त्वहरू समावेश हुन्छन्, तब यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ। बुझ्यौ? (बुझ्यौँ।)

सम्बन्धित विषयवस्तु