सत्यता कसरी पछ्याउने (८) भाग पाँच

रिसाहा हुनु

रिसाहा हुनु, आक्रोशित हुनु—यो कुन पक्षमा पर्छ? (मानवताको खराबीमा।) रिसाहा हुनुलाई आक्रोशित हुनु पनि भनेर भन्‍न सकिन्छ—के यो मानवताको खराबीका रूपमा गन्ती हुन्छ? (हुँदैन।) यसलाई कसरी हेर्नुपर्छ? त्यति रिस नगर्ने व्यक्तिले, मुस्कानको पछाडि आफ्नो द्वेष लुकाउने, सधैँ कोमल र मैत्रीपूर्ण शैलीमा बोल्ने, कसैसँग कहिल्यै बहस नगर्ने, र सधैँ अरूले सुन्‍न चाहेको कुरा बोल्ने गर्छ—के यो असल कुरा हो? (होइन।) यदि कसैले यो व्यक्ति खरो छ भनेर भन्यो भने, ऊ यसो भन्छ, “खरो हुनु राम्रो कुरा हो; खरो मानिसहरूले समस्या पैदा गर्दैनन्।” यदि कसैले उसलाई तालुखुइले भनेर भन्यो भने, ऊ यसो भन्छ, “तालुखुइले हुनु राम्रो कुरा हो; तालुखुइले मानिसहरू चलाख हुन्छन्।” अर्थात्, अरूले चाहे जे भने पनि वा अरूले ऊसँग जसरी व्यवहार गरे पनि, ऊ कहिल्यै रिस देखाउँदैन वा रिसाउँदैन—के यस्तो प्रकारको व्यक्ति असल हुन्छ? (हुँदैन।) जब उसले वास्तवमा कुन मानिसहरूलाई मन पराउँछ, असल मानिसहरू र असल कामकुराहरू र दुष्ट मानिसहरू र दुष्ट कामकुराहरूका बारेमा उसको विचार र दृष्टिकोण के-के हुन्, र उसले असल मानिसहरूलाई अनुमोदन गर्छ र दुष्ट मानिसहरूलाई घृणा गर्छ कि, दुष्ट मानिसहरूलाई अनुमोदन गर्छ र असल मानिसहरूलाई घृणा गर्छ भन्‍ने कुरा आउँछ, यी कुराहरूका बारेमा ऊसँग कुनै स्पष्ट दृष्टिकोण वा अडान हुँदैन, र उसले कुनै पनि कुरामा टिप्पणी गर्दैन। उसले जुनसुकै मामला सामना गरे पनि, सधैँ मुस्कुराउँदै यसलाई पन्छाउँछ, र ऊ विशेष रूपमा मिलनसार हुन्छ र उसमा कुनै रिस हुँदैन। के यो मानवताको असल गुण हो? (होइन।) रिस नगर्नु मानवताको असल गुण होइन, त्यसोभए के रिसाहा हुनु मानवताको खराबी हो त? के व्यक्ति रिसाहा हुनु वा उसले रिस नगर्नुले उसको मानवता कस्तो छ भनेर निर्धारित गर्न सक्छ? (सक्दैन।) उदाहरणका लागि, कतिपय मानिसहरूले कसैले आफ्नो कर्तव्यमा झाराटारुवा व्यवहार गरिरहेको देख्छन् र वास्ता गर्दैनन्, कसैले मण्डलीको काममा बाधा दिइरहेको देख्छन् र तिनीहरूलाई आक्रोश महसुस हुँदैन; अनि तिनीहरू यसो समेत भन्छन्, “ठीक छ, तिमी सुध्रिनेछौ—जति समय लाग्छ, लगाऊ। परमेश्‍वरले हाम्रो लागि श्रमसाध्य अभिप्रायहरू राख्‍नुहुन्छ; हामीले परमेश्‍वरको प्रेम र उहाँको अनुग्रह तिर्नुपर्छ, र हामी झाराटारुवा हुनु हुँदैन। अर्को पटक यस कुरालाई ध्यान देऊ।” के यी मानिसहरू धेरै रिस नगर्ने हुन्छन्? (हुन्छन्।) कतिपय मानिसहरूले, कसैले परमेश्‍वरको घरका हितहरूको संरक्षण नगरिरहेको देख्दा, यसो भन्छन्, “के तिमीले परमेश्‍वरको घरका हितहरूको संरक्षण गर्ने प्रयास गर्न सक्छौ? यदि तिमीले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गरेमा अत्यन्तै राम्रो हुनेथियो। हामी असल मानिसहरू बन्‍नुपर्छ—हामी असल मानिसहरू भएनौँ भने, परमेश्‍वरले हामीलाई मन पराउनुहुनेछैन। हामीले आफूलाई आचरणमा ढाल्‍ने तरिकामा, कम्तीमा पनि, हामीले परमेश्‍वरको घरका हितहरूको संरक्षण गर्नुपर्छ—भविष्यमा यस कुरालाई ध्यान देऊ।” के यसमा रिस देखाइएको छ? (छैन।) तिनीहरूले रिस देखाएका हुँदैनन्, होइन? कतिपय मानिसहरू जेसुकै भए पनि कहिल्यै रिसाउँदैनन्। जब तिनीहरू सुसमाचार प्रचार गर्दा कतिपय मानिसहरूले माथिलाई र परमेश्‍वरको घरलाई छल गर्नका लागि, प्रायजसो मानिसहरूको झूटो सङ्ख्या रिपोर्ट गरेका देख्छन्, तब तिनीहरू यसो भन्छन्, “यदि अधिकांश मानिसले यस्तै झूटो सङ्ख्या रिपोर्ट गरिरहेका छन् भने, यो पवित्र आत्माको कामको प्रवाह हो—हामी यसमा समर्पित हुनैपर्छ!” कसैले यसो भन्दै तिनीहरूलाई खण्डन गर्छ, “झूटो सङ्ख्या रिपोर्ट गर्नु भनेको परमेश्‍वरसँग झूट बोल्नु र उहाँलाई छल गर्नु हो; म त्यसो गर्न सक्दिनँ।” तिनीहरू जवाफ दिन्छन्, “किन सक्दैनौ? अरूले झूटो सङ्ख्या रिपोर्ट गर्छन्, र खराब होइन असल समाचार मात्रै रिपोर्ट गर्छन्। तिमी किन यति मूर्ख भइरहेको छौ?” जब तिनीहरू मानिसहरूले झूटो सङ्ख्या रिपोर्ट गरिरहेका देख्छन्, तब तिनीहरू खुसी हुन्छन्। जब तिनीहरू कतिपय मानिसहरूले सिद्धान्तहरू कायम गरिरहेका र झूटो सङ्ख्या रिपोर्ट गर्न नमानेका देख्छन्, तब तिनीहरू रिसाउँछन् र क्रोधित हुन्छन्, टेबल ठटाउँछन्, र भन्छन्, “तिमीले किन झूटो सङ्ख्या रिपोर्ट गरिरहेका छैनौ? के तिमी पवित्र आत्माको प्रवाहको विरुद्धमा जान चाहन्छौ? यदि तिमीले झूटो सङ्ख्या रिपोर्ट गरेनौ भने, म तिमीलाई बर्खास्त गर्नेछु! म तिमीलाई निकाल्‍नेछु!” तिनीहरू यसरी रिसाउने बारेमा तिमीहरूलाई के लाग्छ? (यो खराब कुरा हो।) यो दुष्ट रिसको विस्फोटन हो। रिस गर्नु पर्ने बेलामा नरिसाउनु र रिस नगर्नु पर्ने बेलामा जथाभाबी रिसाउनु, दुष्ट कुराहरूलाई जायज भन्‍नु, झूटो सङ्ख्याको रिपोर्टलाई पवित्र आत्माको प्रवाह भन्‍नु र यसलाई अत्यन्तै प्रशंसा गर्नु, र यसलाई प्रवर्धन समेत गर्नु—के यो दुष्ट कुरा होइन र? (हो।) जब तिनीहरूले कसैले झूटो सङ्ख्या रिपोर्ट गर्न नमानेको देख्छन्, तब तिनीहरू उसलाई बर्खास्त गर्न वा निकाल्‍न चाहँदै टेबल ठटाउँछन्, रिसाउँछन्, र खाउँला झैँ गरी हेर्छन्—यो त “गर्जन जस्तो क्रोध” हो! ठूलो रातो अजिङ्गरको “गर्जन अभियान” छ; त्यो दियाबलसको त्यो शक्ति प्रदर्शनलाई “गर्जन अभियान” भनिन्छ, र यो यी मानिसहरूको “गर्जन जस्तो क्रोध” हो। यदि तँ झूटो सङ्ख्या रिपोर्ट गर्न मान्दैनस्, र उसले टेबल ठटाउँछ र तेरो विरुद्ध आफ्नो गर्जन जस्तो क्रोध पोख्छ भने, के यस्तो परिस्थितिमा, के तिमीहरू सिद्धान्तहरू पालना गर्ने, वास्तविक सङ्ख्याहरू मात्रै रिपोर्ट गर्ने र झूटो सङ्ख्या रिपोर्ट गर्न इन्कार गर्ने आँट गर्नेथियौ? के तिमीहरू खडा भएर यसो भन्दै तिनीहरूलाई आलोचना गर्ने र खुलासा गर्ने आँट गर्नेथियौ: “तिमी मानिसहरूलाई झूटो सङ्ख्या रिपोर्ट गर्न जबरजस्ती गरिरहेको छौ—तिमी दियाबलस हौ! झूटो सङ्ख्या रिपोर्ट गर्नमा ख्रीष्टविरोधीहरूलाई पछ्याउनुलाई तिमी पवित्र आत्माको प्रवाह समेत भन्छौ। के यो पवित्र आत्माको निन्दा गर्नु र परमेश्‍वरको निन्दा गर्नु होइन र? तिमी सही र गलतको बीचमा भिन्‍नता छुट्याउँदैनौ र पवित्र आत्माको निन्दा गर्छौ, र तैपनि तिमीले आफूलाई न्यायवान् स्वर्गदूत ठान्छौ। झूटो सङ्ख्या रिपोर्ट गर्ने तिम्रो मागविरुद्ध कसैलाई पनि जान दिँदैनौ, र तिमी रिससमेत पोख्छौ। तिमीसँग अलिकति पनि इन्साफको बोध छैन। तिमीले दुष्ट कुराहरूलाई खुलासा नगर्ने र दोषी नठहराउने मात्र होइन, तर सत्यतामा लागिरहने र झूटो सङ्ख्या रिपोर्ट गर्न नमान्ने मानिसहरूप्रति आफ्नो रिस पनि पोख्छौ, र तिनीहरूमाथि आफ्नो ‘गर्जन जस्तो क्रोध’ समेत पोख्छौ। के यो परमेश्‍वरको घरको काममा जानी-जानी अवरोध गर्नु र बाधा दिनु होइन र? के यो व्यवहारको प्रकृति ठूलो रातो अजिङ्गरको व्यवहारसरह छैन र?” त्यसकारण, रिसाहा हुनु साँच्‍चै नै मानवताको खराबी हो कि मानवताको असल गुण हो भनेर फेरि हेर्दा, यसलाई सामान्यीकरण गर्न सकिँदैन। यो, कुन-कुन परिस्थितिहरूले व्यक्तिलाई रिस उठाउँछ र कुन-कुन परिस्थितिहरूले रिस उठाउँदैन, साथै त्यो व्यक्ति सामान्यतया किन रिसाहा छ भन्‍ने कुरामा निर्भर हुन्छ। यो कुरा त्यो व्यक्तिले के पछ्याइरहेको छ, त्यो व्यक्तिसँग आत्म-आचरणका सिद्धान्तहरू छन् कि छैनन्, र सत्यताप्रतिको उसको मनोवृत्ति ठ्याक्कै कस्तो छ, साथै परमेश्‍वर, परमेश्‍वरको काम, परमेश्‍वरको घरका हितहरू, र मण्डलीको कामप्रतिको उसको मनोवृत्ति कस्तो छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि सत्यता सिद्धान्तहरू पालना गर्न, परमेश्‍वरको घरका हितहरूको संरक्षण गर्न, र परमेश्‍वरको घरको कामको संरक्षण गर्नका लागि, उसले विभिन्‍न दुष्ट मानिसहरू, घटनाहरू, र कामकुराहरूको सामना गर्दा निरन्तर कडा रिस देखाउँछ भने, यो उसको मानवताको असल गुण हो। तर यदि ऊ विभिन्‍न दुष्ट कुराहरू वा परमेश्‍वरको प्रतिरोध गर्ने कामकुराहरूको सामना गर्दा ऊसँग त्यसको कुनै सम्बन्ध नै नभएको जस्तो गरी ऊ कहिल्यै क्रोधित हुँदैन वा रिसाउँदैन भने, यो उसको मानवताको खराबी होइन—यो खराब मानवता हो, इन्साफको बोधको पूर्ण कमी हो, र अवश्य नै यो भ्रष्ट स्वभावहरूको वर्गमा पर्छ। त्यसोभए, रिसलाई कसरी हेर्नुपर्छ? व्यक्तिले रिस गर्दैन भन्‍नुको अर्थ उसको मानवता असल नै छ भन्‍ने हुँदैन, र कुनै व्यक्ति रिसाहा छ भन्‍नुको अर्थ उसको मानवता खराब नै छ भन्‍ने हुँदैन—यो उसको कडा रिस केतर्फ लक्षित हुन्छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि उसको कडा रिस दुष्ट, अन्धकारमय, र सत्यता अनुरूप नभएका कुराहरूप्रति लक्षित छ भने—यदि यो परमेश्‍वरको घरका सिद्धान्तहरू उल्लङ्घन गर्ने, परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने, र मण्डलीको काममा अवरोध र बाधा दिने कुराहरूप्रति लक्षित छ भने—अनि यी कुराहरूबारे बेचैनी, व्याकुलता, र चिन्ता महसुस गरेकोले ऊ बारम्बार रिसाउँछ र रिस पोख्छ भने, यो खराब मानवता होइन। यो परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नु हो, यो मानवताको असल गुण हो। यसविपरीत, यदि यी नकारात्मक कामकुराहरू सामना गर्दा, उसले कुनै रिस देखाउँदैन, परमेश्‍वरको घर वा परमेश्‍वरको गवाहीका हितहरूको संरक्षण गर्न अघि बढ्दैन, र सत्यता सिद्धान्तहरू कायम राख्दैन र यी कुराहरूलाई रोक्न वा प्रतिबन्धित गर्न अघि बढ्दैन, बरु यी अवरोध र बाधाहरूलाई बिना रोकटोक बढ्न र फैलिन दिन्छ भने, त्यस्ता मानिसहरू त्यति नरिसाउने जस्ता देखिए पनि, वास्तवमा, तिनीहरूको चरित्र दुष्ट हुन्छ। के कुरा यही होइन र? (हो।) कडा रिसको समस्यालाई कसरी हेर्नुपर्छ? यो कुरा व्यक्तिको कडा रिस के कुरातर्फ लक्षित हुन्छ भन्‍ने कुरामा निर्भर हुन्छ; तैँले त्यो व्यक्तिको चरित्र कस्तो छ, उसले के पछ्याउँछ र ऊ कुन मार्गमा हिँड्छ, र सत्यताप्रति, परमेश्‍वरप्रति, परमेश्‍वरको घरको कामप्रति, र परमेश्‍वरको घरका हितहरूप्रति उसको मनोवृत्ति कस्तो छ भनेर हेर्नुपर्छ। के यसलाई हेर्ने यो तरिका सही छ? (छ।) यदि कुनै व्यक्तिमा इन्साफको कुनै बोध छैन तर ऊ आफ्नो दैनिक जीवनमा मानिसहरूसँग सङ्गत गर्दा रिसाहा हुन्छ, सजिलै क्रोधित हुन्छ, र अत्यन्तै गरम मिजासको हुन्छ, प्रायजसो रिसले चूर हुन्छ, र सानातिना मामलाहरूबारे अरूसँग बारम्बार मुखामुख झगडा र भनाभन गर्छ, फोहोरी भाषा समेत प्रयोग गर्छ भने, यो मानवताको खराबी होइन—यो दुष्ट चरित्र हो। यसलाई भ्रष्ट स्वभावहरूका हिसाबमा हेर्दा, यो व्यक्तिको स्वभाव क्रूर हुन्छ, र कसैले पनि उसलाई उक्साउने आँट गर्दैन। उसले जायज कुराहरूको संरक्षण गर्न, सकारात्मक कुराहरूको संरक्षण गर्न, सत्यता सिद्धान्तहरू पालन गर्न, वा परमेश्‍वरको घरका हित र कामहरूको संरक्षण गर्नका लागि आफ्नो रिस पोख्दैन, बरु आफ्ना सबै हितहरू, आफ्नो प्रतिष्ठा, हैसियत, अभिमान, भौतिक सम्पत्ति, पैसा, इत्यादि कुराहरूको संरक्षण गर्नका लागि रिस गर्छ। त्यस्तो व्यक्तिको रिसाहापनलाई दुष्ट चरित्रका रूपमा वर्गीकरण गर्न सकिन्छ। कसैको कडा रिस केतर्फ लक्षित छ र त्यसपछाडिका अभिप्रायहरूलाई ख्याल गर्दै परिस्थितिका आधारमा कडा रिसलाई हेर्नुपर्छ। यदि, आफ्नै हितहरूको संरक्षण गर्न वा आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्नका लागि, उसले साँच्‍चै नै एउटा टिप्पणीका कारण रिस र क्रोध पोख्न सक्छ भने, उसको चरित्र दुष्ट हुन्छ। यदि तिनीहरू आफ्नो व्यक्तिगत हितहरूसँग सम्बन्धित मामलाहरूमा सामान्यतया निकै उदार हुन्छन् भने—उदाहरणका लागि, जब मानिसहरूले कहिलेकहीँ तिनीहरूलाई लक्षित गर्ने र तिनीहरूको अभिमानलाई अलिक चोट पुर्‍याउने टिप्पणीहरू गर्छन्, वा तिनीहरूको अलिकति फाइदा उठाउँछन्, तब तिनीहरू प्रायजसो त्यसलाई जान दिन्छन् र रिस गर्दैनन्—यदि तिनीहरू सानातिना कुराहरूबारे किचकिच गर्दैनन् र अरूसँग सङ्गत गर्दा सम्झौता गर्न सक्छन्, तैपनि कसैले मण्डलीको काममा अवरोध र बाधा दिइरहेको र परमेश्‍वरको घरका हितहरूमा हानि गरिरहेको देख्दा तिनीहरूले रिस गर्छन् भने, यो खराब चरित्र होइन। बरु, यो मानवतामा हुनुपर्ने इन्साफको बोध हो; यो मानवताको असल गुण हो।

ठुस्किने प्रवृत्ति हुनु

ठुस्किने प्रवृत्ति हुनु—यो कस्तो प्रकारको समस्यामा पर्छ? (मानवताको खराबीमा।) यो मानवताको खराबी हो। कस्तो प्रकारका मानिसहरूमा ठुस्किने प्रवृत्ति हुन्छ? (सङ्कीर्ण मानिसहरू।) सङ्कीर्ण मानिसहरू, संवेदनशील मानिसहरू, र केटाकेटी सबैमा ठुस्किने प्रवृत्ति हुन्छ। जब तिनीहरू कुनै सानो समस्या सामना गर्छन्, तब तिनीहरू झडङ्ग रिसाउँछन्, तँसँग बोल्न मान्दैनन्, तँलाई भेट्न मान्दैनन्, र तेरो फोन उठाउँदैनन्। तँ अनजानमा तिनीहरूलाई चोट पुऱ्याउने कुरा बोल्छस्, अनि तिनीहरू ठुस्किन थाल्छन्, तँलाई लामो समयसम्म बेवास्ता गर्छन्, र यसबारे सोधियो भने पनि, तिनीहरू केही भन्दैनन्। तँ तिनीहरूलाई सोध्छस्, “के भयो? यदि समस्या छ भने, यसलाई समाधान गरौँ न। यदि म तिमीप्रति कुनै कुराको ऋणी छु भने, म त्यसको पूर्ति गर्नेछु। यदि मैले भनेको कुनै कुराले तिमीलाई चोट पुर्‍याएको छ भने, म माफी माग्छु, र तिमीले मलाई जे गर्न लगाउँछौ त्यही गर्न सक्छु।” तैपनि तिनीहरू अझै पनि मौन बस्छन्, र ठुस्किन्छन्। के त्यस्ता मानिसहरू समस्याजनक हुँदैनन् र? (हुन्छन्।) यो असामान्य मानवता हो। चरित्रसँग सम्बन्धित समस्याहरूको स्तरमा नउठ्ने मानवतासँग सम्बन्धित समस्याहरू सबै, मानवताका खराबीहरूमा पर्छन्। खराबीको अर्थ कुनै व्यक्तिमा, सामान्य मानवतामा हुनुपर्ने कुनै कुराको कमी छ भन्‍ने हुन्छ—आफूलाई आचरणमा ढाल्‍ने र मामलाहरू सम्हाल्ने व्यक्तिको मनोवृत्ति वा शैली असामान्य वा अपरिपक्‍व हुन्छ र यसले सामान्य मानवताको समझको मानक पूरा गर्दैन भन्‍ने हुन्छ। यो एउटा खराबी हो। एक हिसाबमा, ठुस्किने प्रवृत्तिले, अरूलाई झर्को लगाउँछ, र तिनीहरूलाई त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्न मन पर्दैन। यसका साथै, ठुस्किने प्रवृत्ति हुनु केटाकेटी जस्तो अपरिपक्‍व हुनु हो। सामान्यतया, लगभग दश वर्षको उमेरका केटाकेटीले मात्रै यस्तो व्यवहार गर्छन्—वयस्कहरूमा यी प्रकटीकरणहरू हुँदैनन्। जब तँसँग त्यस्तो व्यक्तिको सम्बन्ध राम्रो हुन्छ, तब तिमीहरू दुई जना अविभाज्य हुन्छौ। तर जब तिमीहरूका बीचमा परिस्थितिहरू खराब हुन्छन्, तब ऊ शत्रुवत् बन्छ, ठुस्किन्छ, तँसँग बोल्न मान्दैन, तैँले उसलाई दिएको सबै कुरा फर्काउँछ, र तँसँग सधैँका लागि सम्बन्ध तोड्छ। तैपनि, कसलाई थाहा हुन्छ र—एक दिन तिनीहरू पहिलेको जत्तिकै मिल्न र नजिक हुन सक्छन्। यी अपरिपक्‍वताका प्रकटीकरणहरू हुन्। अपरिपक्‍वताका यी सबै प्रकटीकरणहरूलाई मानवताका खराबीहरू भनिन्छ। ठुस्किने प्रवृत्ति हुनु मानवताको खराबी हो। ठुस्किने प्रवृत्ति भएका मानिसहरूले कर्तव्य निर्वाह गर्दा काममा ढिलाइ गर्ने सम्भावना सबैभन्दा बढी हुन्छ। कसैले तिनीहरूलाई चोट पुऱ्याउने कुरा भनिदिएका कारण तिनीहरू कहिले कैयौँ दिनसम्‍म ठुस्केर बस्‍न सक्छन् भन्‍ने तँलाई कहिल्यै थाहा हुँदैन। कर्तव्य चाहे जति नै महत्त्वपूर्ण भए पनि, तिनीहरू केही नबोली काम गर्न रोक्न सक्छन्। तैँले अझै पनि तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेका छन् भन्‍ने सोच्लास्, तर वास्तवमा, तिनीहरूले आफ्नो काम गर्न धेरै पहिले नै रोकेका हुन्छन्। त्यसकारण, ठुस्किने प्रवृत्ति भएका मानिसहरूलाई कहिल्यै महत्त्वपूर्ण काम नसुम्पनु अत्यावश्यक हुन्छ, विशेष गरी निर्णायक चरणका कामहरू, किनभने तिनीहरू अत्यन्तै स्वेच्छाचारी, सधैँ भावनात्मक हुन्छन्, र तिनीहरूमा ठुस्किने प्रवृत्ति हुन्छ, र समझको कमी हुन्छ, जसले गर्दा तिनीहरूले सजिलै आफ्नो कर्तव्य निर्वाह गर्ने अवधिमा आफ्नो काम त्याग्‍न सक्छन्। यदि त्यो काम तिनीहरूले नै पूरा गर्नु नै पर्छ वा तिनीहरूलाई प्रतिस्थापन गर्न अरू कोही पनि छैन भने, तिनीहरूलाई काम खटाउँदा, तैँले कसैलाई तिनीहरूको कामको सुपरिवेक्षण गर्न लगाउनुपर्छ। यदि तिनीहरूको स्थान अरू कसैले लिन सक्छ भने, तिनीहरूलाई तुलनात्मक रूपमा महत्त्वपूर्ण काम खटाइनु हुँदैन। उदाहरणका लागि, कतिपय मानिसहरूसँग थोरै क्षमता हुन्छ र तिनीहरूले मण्डली अगुवाको काम सम्हाल्न सक्छन्, तर जब कुनै दाजुभाइ-दिदीबहिनीले तिनीहरूलाई चोट पुऱ्याउने कुरा भन्छ, तब तिनीहरू ठुस्किन्छन्: “मैले छोडेँ! तिमीहरूले जसलाई चाहन्छौ उसैलाई अगुवा बनाउन सक्छौ। म आफ्नो जीवन जिउन घर फर्केर जाँदैछु—मलाई पुग्यो!” तिनीहरू ठुस्किन थालेपछि, तिनीहरू आफ्नो कर्तव्य त्यागेर जान सक्छन्, र तिनीहरू कहिले फर्केर आउनेछन् कसलाई थाहा हुन्छ र। के त्यस्ता मानिसहरू भरपर्दा हुन्छन्? (हुँदैनन्।) तिनीहरूले आफ्नो कर्तव्य र मण्डलीको काममा आफ्नो रिस पोख्छन्, र कुनै पनि बेला आफ्नो कर्तव्य त्याग्छन्। के यो अपरिपक्‍वताको प्रकटीकरण होइन र? (हो।) तिनीहरूले कर्तव्य र मण्डलीको कामलाई बच्‍चाको खेल जस्तै, भाँडाकुटी खेलेको जस्तै ठान्‍नु—त्यो अपरिपक्‍वताको प्रकटीकरण हो। जब केटाकेटी भाँडाकुटी खेल्छन्, तब त्यो त खेल मात्रै हुन्छ—तिनीहरू उदास भए भने, तिनीहरू खेल्न छोड्छन्; त्यसले कुनै कुरामा ढिलाइ गर्दैन। तर मण्डलीको काम वा कुनै कर्तव्यलाई केटाकेटीको भाँडाकुटी खेलेजस्तै व्यवहार गर्नु, आफूलाई जहिले मन लाग्छ त्यही बेला छोड्नु—के त्यसले कामकुरामा ढिलाइ गर्दैन र? यसले तिनीहरूको आफ्नै मामलामा मात्रै ढिलाइ गर्दैन—यदि तिनीहरू मण्डली अगुवा हुन् भने, तिनीहरूले मण्डलीको काममा ढिलाइ गर्छन्। यदि तिनीहरू महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेका छन् भने, त्यो महत्त्वपूर्ण कर्तव्यमा ढिलाइ हुन्छ। त्यसकारण, प्रयोग गर्नका लागि मानिसहरूलाई छनौट गर्दा, तैँले तिनीहरूमा ठुस्किने प्रवृत्तिको समस्या छ कि छैन भन्‍ने कुरालाई विचार गर्नुपर्छ। यदि तिनीहरूमा यो समस्या छ भने, के यो गम्भीर छ? यो कति गम्भीर छ? के तिनीहरूले आफ्नो काम त्याग्‍नेछन्? जब तिनीहरू ठुस्किन्छन्, तब के तिनीहरू रुष्ट हुन्छन्, तिनीहरू घर जान्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्न छोड्छन्, र तिनीहरूलाई चाहे जसले बोलाए पनि फर्केर आउन मान्दैनन्? यस्ता खालका मानिसहरूलाई सम्हाल्न निकै गाह्रो हुन्छ। तिनीहरूलाई कहिल्यै प्रयोग नगर्—तिनीहरू चिढचिढे खालका हुन्छन्। तिनीहरूलाई फकाउँदा पनि हुँदैन, तिनीहरूलाई अनुशासित गर्दा पनि हुँदैन, र तैँले सत्यताबारे चाहे जसरी सङ्गति गरे पनि, तिनीहरूलाई त्यो स्वीकार गर्न गाह्रो हुन्छ। तिनीहरूले आफै पत्ता लगाएपछि र यो कुरा आफै बुझेपछि मात्रै तिनीहरू ठिक हुन र सामान्य समझमा फर्केर आउन सक्छन्। त्यसकारण, यदि कसैको मानवतामा भ्रष्ट स्वभाव हुनुको साथै, धेरै खराबी वा त्रुटिहरू पनि छन् भने, उसले कुनै अप्रिय कुरा सामना गरेपछि, यो कुराले उसलाई यति नकारात्मक बनाउन सक्छ कि ऊ ठिक हुन नै सक्दैन। ऊसँग केही सङ्कल्प भए पनि र ऊ मुक्ति प्राप्त गर्नका लागि सत्यता पछ्याउन इच्छुक भए पनि, र ऊसँग आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र सृजित प्राणीका रूपमा मानकअनुरूप हुने मन भए पनि, जब कठिनाइ वा अप्रिय अवस्थाहरू देखा पर्छन्, तब ऊ उप्रान्त अघि बढ्न नै सक्दैन। त्यसकारण, यदि व्यक्तिले सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छ भने, उसले आफ्नो मानवतामा हुन सक्‍ने कुनै पनि खराबी वा त्रुटिहरूलाई समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। यदि तँसँग परमेश्‍वरको अत्यन्तै कामना गर्ने हृदय छैन वा सत्यताको तृष्णा गर्ने हृदय छैन, र तँ मानवताका यी खराबीहरूलाई जित्न अनिच्छुक छस् वा तँसँग त्यसो गर्ने पर्याप्त सङ्कल्प छैन भने, तैँले सामना गर्ने चुनौतीहरू कैयौँ हुनेछन्। यदि तैँले यी व्यक्तिगत खराबीहरूलाई समेत परिवर्तन गर्न वा जित्न सक्दैनस् भने, तेरो भ्रष्ट स्वभाव फाल्न अझै गाह्रो हुनेछ।

फाइदा लिन मन पराउनु

अब हामी “फाइदा लिन मन पराउने” बारेमा कुरा गरौँ—यो कस्तो प्रकारको समस्या हो? (मानवताको खराबी।) के यो मानवताको खराबी हो? फाइदा लिन मन पराउनु चरित्रको समस्या हो। यदि कसैले हरेक परिस्थितिमा, तरकारी, कागजको टुक्रा, वा पानीको सानो बोतल जस्ता सानो कुरामा समेत फाइदा लिन्छ भने, यो उसको चरित्रको समस्या हो—उसको चरित्र दुष्ट हुन्छ। यो मानवताको खराबी होइन। बुझ्यौ? (बुझ्यौँ।) त्यस्ता मानिसहरूमा दुष्ट चरित्र हुन्छ र कुनै निष्ठा हुँदैन। जब तिनीहरू पसलमा किनमेल गर्छन्, तब तिनीहरू सधैँ मोलतोल गर्ने प्रयास गर्छन् र छुट माग्छन्। जब तिनीहरू बजारमा सागसब्जी किन्छन्, तब तिनीहरू एक पैसाका लागि निरन्तर बहस गर्छन्। जब तिनीहरू होटलमा बस्छन् र तिनीहरूले एक पटक प्रयोग गर्न सकिने तौलिया, ब्रस, र दंतमन्जन जस्ता सित्तैका सामानहरू देख्छन्, तब तिनीहरू केही छुटाउँछु कि भन्‍ने डरले, एउटा पनि सामान नछोडी सबै घर लैजान्छन्। कतिपय मानिस भन्छन्, “के तिनीहरू गरिब भएकाले तिनीहरू फाइदा लिन मन पराउँछन्?” होइन, यस्तो प्रकारको व्यक्तिको चरित्र नै यस्तै खालको हुन्छ। उसको परिवारमा पैसाको कमी हुँदैन, तर पनि ऊ फाइदा लिन जिद्दी कस्छ। परमेश्‍वरमा विश्‍वास गरेपछि, यस्तो प्रकारको व्यक्तिले परमेश्‍वरको घरबाट समेत फाइदा लिन्छ। कतिपय मानिसहरू आफ्नो घरमा खाना खाँदैनन् बरु सधैँ सित्तैँमा खान अतिथि सत्कारक निवासमा जान्छन्, र तिनीहरू त्यहाँ अतिथिसेवा गर्नेलाई काम सघाउन गएका हुन् भन्‍ने ढोँग गर्छन्। तिनीहरू कसैले नदेख्ने गरी दाजुभाइ-दिदीबहिनीहरूको सामान प्रयोग गर्छन्। तिनीहरू आफ्नै सामानहरू प्रयोग गर्नबाट पन्छिन्छन् र सधैँ अरूका सामानहरू प्रयोग गर्छन्। तिनीहरू आफ्नै लुगा लगाउँदैनन् र सधैँ अरू कसैको लुगा लगाउँछन्। जब तिनीहरू कसैले लुगा धोइरहेको देख्छन्, तब उनीहरूले धोइरहेको बेला तिनीहरूको पनि केही लुगा धोइदिन आग्रह गर्छन् र उनीहरूलाई सात-आठ वटा लुगा धुन लगाउन पुग्छन्—यो स्पष्ट रूपमा नै फाइदा लिनु हो। तिनीहरूको चरित्र बस यस्तै हुन्छ। तिनीहरूको परिवारसँग स्पष्ट रूपमा नै पैसा भए पनि, तिनीहरू अझै पनि दाजुभाइ-दिदीबहिनीहरूबाट पैसा सापट लिन्छन्। तिनीहरूले कहिले पैसा तिर्नेछन् भनेर सोधियो भने, तिनीहरू यसो भन्छन्, “पैसा भएपछि फिर्ता दिइहाल्छु। यदि मसँग पैसा छैन भने, म कसरी तिर्न सक्छु र? मसँग पैसा नै छैन—खालि मेरो ज्यान छ!” यी शब्दहरूको अर्थ के हो? तिनीहरू स्पष्ट रूपमा नै पैसा तिर्न चाहँदैनन् र तिनीहरूले पैसा तिर्ने कहिल्यै अभिप्राय राखेका थिएनन्—तिनीहरू फाइदा लिन, अरूको पैसा आफ्‍नो आनन्दका लागि प्रयोग गर्न र स्वतन्त्र रूपमा खर्च गर्न मात्रै चाहन्छन्। तिनीहरूको उद्देश्य यही हुन्छ। जब तिनीहरू कसैले नयाँ सामान किनेका देख्छन्, तब तिनीहरूलाई निकै चासो हुन्छ र तिनीहरू निरन्तर त्यो सापट लिने बारेमा सोच्छन्। यदि सामानको धनीलाई आवश्यकता छ र ऊ त्यो कुरा अरूलाई सापट दिन चाहँदैन भने, तिनीहरूले जसरी भए पनि जबरजस्ती मागेरै छाड्छन्। तिनीहरू यसलाई पुरानो भइञ्जेल वा भाँचिञ्जेल प्रयोग गर्छन् र पनि फर्काउँदैनन्, यसलाई आफ्नै सामान जस्तो गर्छन्। यस्तो प्रकारको व्यक्तिले जताततै फाइदा लिन्छ, सामानहरू सापट लिन्छ र कहिल्यै फर्काउँदैन। के यो मानवताको खराबी हो? (होइन।) यो कुनै निष्ठा नहुनु र दुष्ट चरित्र हुनु हो। के तिमीहरूले कहिल्यै यस्तो प्रकारको व्यक्ति देखेका छौ? (छौँ।) यस्ता मानिसहरू धेरै छन्। मलाई भन, के यस्तो व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? (सक्दैन।) यीमध्ये धेरैजसो मानिसहरू कस्ता प्रकारका मानिसहरू हुन्? के तिनीहरू बदमासहरू होइनन् र? तिनीहरू अरूबाट जति नै धेरै फाइदा लिए पनि, तिनीहरूको विवेकले कुनै आत्म-दोष महसुस गर्दैन। मलाई भन, के तिनीहरूसँग विवेक हुन्छ? (हुँदैन।) विवेक नभएका मानिसहरू कस्ता प्रकारका व्यक्ति हुन्? तिनीहरू असल मानिसहरू हुन् कि दुष्ट मानिसहरू हुन् भनेर नभनौँ—कम्तीमा पनि, तिनीहरूसँग सत्यता अभ्यास गर्नका लागि चाहिने मानवताको सबैभन्दा आधारभूत मानक र सर्तहरू हुँदैनन्। हामीले यसअघि के सङ्गति गरेका थियौँ भने सत्यता अभ्यास गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक हुनुपर्छ। व्यक्तिको विवेकमा लाजको बोध समावेश हुन्छ। के विवेकमा कुनै आत्म-दोष महसुस नगरी सधैँ अरूबाट फाइदा लिइरहने मानिसहरूमा लाजको बोध हुन्छ? (हुँदैन।) के लाजको बोध नभएका मानिसहरू सत्यता अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरू केही महसुस नगरी अनि विवेकको कुनै हप्की महसुस नगरी दुष्कर्म गर्छन्। त्यसकारण, इन्साफपूर्ण कार्यहरू गर्नु र सही मार्गमा हिँड्नुमा तिनीहरूलाई कुनै चाख हुँदैन किनभने तिनीहरूको मानवतालाई त्यस्ता कुराहरूको आवश्यकता हुँदैन। तिनीहरूका आवश्यकताहरू के-के हुन्? अरूका हितहरू लिनु अनि आफ्नो सेवाका लागि तिनलाई प्रयोग गर्दै आफ्ना हितहरूमा कुनै पनि घाटा हुनबाट रक्षा गर्नु नै तिनीहरूको आवश्यकता हो। तिनीहरूको मानवतामा यस्तो व्यवहारका कारण कुनै हप्की वा आत्म-दोषको बोध हुँदैन, न त कुनै लाजको बोध नै हुन्छ। त्यसकारण, यस्तो व्यक्तिलाई सत्यता अभ्यास गर्न निकै गाह्रो हुन्छ। आफूलाई आचरणमा ढाल्‍ने तिनीहरूको संहिता यस्तो हुन्छ: चाहे भौतिक हिसाबमा होस् वा मनोवैज्ञानिक अर्थमा होस्, तिनीहरूका लागि फाइदाजनक हुने कुनै पनि कुरालाई अलिकति पनि त्याग्‍नु हुँदैन। अरूका असल र बहुमूल्य कुराहरूका हकमा भन्दा, तिनीहरू सधैँ ती कुराहरू प्राप्त गर्न, हडप्न, वा जबरजस्ती खोस्‍न समेत चाहन्छन्। तिनीहरूले मौका पाएपछि, अरूका असल कुराहरू आफ्नो लागि हडप्नेछन्। तिनीहरूले आफूलाई अवसर गुमाउन दिन पटक्‍कै सक्दैनन्, र तिनीहरूले अवसर गुमाए भने, जीवनभरि त्यसबारे पछुतो गर्नेछन्। तिनीहरूले आफूलाई आचरणमा ढाल्‍ने तरिका सम्बन्धी तिनीहरूको संहिता यही हो। तिनीहरू यो संहिताद्वारा शासित हुने भएकाले, अरूबाट फाइदा लिँदा र अरूका फाइदाहरूलाई आफ्‍नो भनी दाबी गर्दा तिनीहरूलाई जायज लाग्छ र सहज महसुस हुन्छ, र तिनीहरूले उपलब्धिको ठूलो अनुभूति गर्छन्। यदि तिनीहरू फाइदा लिन असफल भए वा तिनीहरूले त्यसो गर्ने अवसर गुमाए भने, तिनीहरूलाई आफू असफल भएको भन्‍ने लाग्छ र तिनीहरू आफूलाई मूर्ख ठान्छन्। जब तिनीहरू फाइदा लिन्छन्, तब तिनीहरूलाई राम्रो, प्रसन्न, र शान्ति महसुस हुन्छ। तर जब तिनीहरू फाइदा लिने मौका देख्छन् र लिँदैनन्, तब तिनीहरूलाई उदासी र बेचैनी हुन्छ: “यदि मैले यो फाइदा लिइनँ भने, यो खेर गएको हुनेछ। यदि अरू कसैले यो लियो भने, के मलाई नै घाटा हुनेछैन र?” हेर त—के यो संहिताद्वारा शासित व्यक्ति असल व्यक्ति बन्‍ने प्रयास गर्न सक्छ? (सक्दैन।) सत्यता अभ्यास गर्दा, मानिसहरूले आफूले बहुमूल्य ठानेको अभिमान, हैसियत, र अरू मनोवैज्ञानिक कुराहरू, साथै केही भौतिक कुराहरू जस्ता धेरै कुराहरू त्याग्‍नुपर्छ। यी सबै व्यक्तिगत हितहरूसँग सम्बन्धित हुन्छन्, र सत्यता अभ्यास गर्नका लागि मानिसहरूले यी कुराहरू विरुद्धमा विद्रोह गर्नुपर्छ, तिनलाई जित्नुपर्छ, फ्याँक्‍नुपर्छ, र त्याग्‍नुपर्छ। फाइदा लिन मन पराउने मानिसहरूले यीमध्ये कुनै पनि कुरा पटक्‍कै गर्न सक्दैनन्। तिनीहरू आफ्नो अभिमान वा हैसियत त्याग्‍न सक्दैनन्, र तिनीहरू कुनै पनि भौतिक हितहरू त्याग्‍न त अझै कम सक्षम हुन्छन्। सत्यता अभ्यास गर्दा, तिनीहरू यीमध्ये कुनै पनि कुरा गर्न सक्दैनन्। त्यसोभए, के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) त्यसकारण, तिनीहरूलाई सत्यता अभ्यास गर्न अत्यन्तै गाह्रो हुन्छ। तिनीहरू सबै मनोवैज्ञानिक र भौतिक असल कुराहरू आफ्नै लागि राख्‍न चाहन्छन् र तिनलाई कहिल्यै त्याग्‍न सक्दैनन्, जुन सत्यता अभ्यास गर्ने सिद्धान्तहरूसँग सीधै बाझिन्छ र त्यसको विपरीत जान्छ। त्यसकारण तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्। फाइदा लिन विशेष रूपमा मन पराउनेहरूलाई हेर त—तिनीहरू कुन हदसम्म जान्छन्? कसैको घरमा जाँदा, तिनीहरू जानुभन्दा पहिले उसको पानी अलिकति पिएर अनि केही खानेकुरा खाएरै छाड्छन्। मलाई भन, के यस्तो प्रकारको चरित्र भएका मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) सबै कुरा मापन गर्ने तिनीहरूको मानक तिनीहरूले फाइदा लिन र लाभहरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने सिद्धान्तमा आधारित हुन्छ। व्यक्तिगत लाभ नै तिनीहरूले सबै कुरा मापन गर्ने सिद्धान्त हुन्छ। तिनीहरूको आफ्नो आचरण अरूबाट फाइदा लिने कार्यमा मात्रै केन्द्रित हुन्छ। तिनीहरूले घाटा नभोगेसम्म र फाइदा लिन सकेसम्म, तिनीहरूलाई त्यो सार्थक लाग्छ। तिनीहरू के विश्‍वास गर्छन् भने आफूलाई आचरणमा ढाल्दा, व्यक्तिले फाइदा लिन सक्‍नुपर्छ, र व्यक्तिले बारम्बार फाइदा लिएको छ भने मात्रै ऊ तीक्ष्ण-बुद्धिको र चलाख हुन्छ—यदि कसैलाई कसरी फाइदा लिने भन्‍ने थाहा छैन भने, त्यो व्यक्ति मूर्ख हो! आफूलाई आचरणमा ढाल्‍ने तिनीहरूको मानक भनेको फाइदा मात्रै लिनु र कहिल्यै घाटा नभोग्‍नु भन्‍ने हुन्छ। तिनीहरू यो शैलीलाई आफूलाई आचरणमा ढाल्‍ने मानकका रूपमा लिन्छन्—के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) के तिनीहरूका हृदयमा सत्यताका लागि कुनै ठाउँ हुन्छ? के यसले तिनीहरूका हृदयमा शक्ति लिन सक्छ? (सक्दैन।) त्यसोभए तिनीहरू के-कस्ता सत्यताहरू अभ्यास गर्न सक्छन्? (कुनै पनि सक्दैनन्।) तिनीहरू कुनै पनि सत्यता अभ्यास पटक्‍कै गर्न सक्दैनन्—तिनीहरूको चरित्र अत्यन्तै नीच हुन्छ, जसले गर्दा अरूले तिनीहरूलाई घृणा गर्छन्। कतिपय मानिस परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्छन्; परमेश्‍वरको घरले तिनीहरूलाई दैनिक प्रयोगका लागि केही सामग्री प्रदान गर्छ, र तिनीहरू त्यो सामग्री सकियो भन्‍ने बहाना बनाउँदै बारम्बार थप सामग्रीको माग गर्छन्, जबकि वास्तवमा तिनीहरूसँग अझै केही सामग्री बाँकी हुन्छ। तिनीहरू किन सधैँ थप माग गर्छन्? तिनीहरू सोच्छन्, “यदि मैले यो कुराको फाइदा लिइनँ र अरू कसैले लियो भने, के मलाई नै घाटा हुँदैन र?” हेर त—यो कस्तो प्रकारको चरित्र हो? यस्तो व्यक्तिले सबै कुरा मापन गर्न प्रयोग गर्ने मानक उसले फाइदा लिन र लाभहरू प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने सिद्धान्तमा आधारित हुन्छ। उसको हृदय पूर्ण रूपमा हितहरू सम्‍बन्धी विचारहरूले भरिएको हुन्छ। तैँले ऊसँग सकारात्मक कुराहरू वा सत्यताबारे चाहे जसरी सङ्गति गरे पनि, ऊ यसलाई स्वीकार गर्न मान्दैन, जुन उसको क्षमता वा उसले बुझ्न सक्छ कि सक्दैन भन्‍ने कुरासँग सम्बन्धित नै हुँदैन—उसले आफूलाई आचरणमा ढाल्‍ने तरिकाबारे रहेको उसको संहिता समस्याजनक हुन्छ। उसले सकारात्मक कुराहरूलाई पटक्‍कै स्वीकार वा अभ्यास गर्दैन, न त उसले सत्यता सिद्धान्तहरू नै पालना गर्छ। उसको चरित्र अत्यन्तै नीच हुन्छ। मलाई भन, के यस्तो प्रकारको व्यक्तिसँग सत्यताबारे सङ्गति गर्नु अत्यावश्यक हुन्छ? (हुँदैन।) किन हुँदैन? (किनभने उसले कहिल्यै सत्यता अभ्यास गर्नेछैन।) उसको मानवतामा विवेकको कमी हुन्छ र ऊसँग सत्यता अभ्यास गर्ने आधारभूत सर्तहरू हुँदैनन्। उसको हृदय फाइदा लिने र लाभहरू प्राप्त गर्ने कार्यमा मात्रै केन्द्रित हुन्छ। यस्तो प्रकारको व्यक्ति बस सत्यता सुन्न लायक हुँदैन र मुक्ति प्राप्त गर्ने सम्बन्धी प्रवचनहरू सुन्‍न लायक हुँदैन भनेर भन्‍न सकिन्छ। हेर त, फाइदा लिन मन पराउनु भनेको कस्तो समस्या हो भन्‍ने कुरा तिमीहरूले पूर्ण रूपमा बुझेका थिएनौ, थियौ त? तिमीहरूले यसलाई मानवताको खराबी समेत ठानेका थियौ। के यो मानवताको खराबी हो? (होइन।) अब तिमीहरू बुझ्छौ, होइन त? यो कस्तो समस्या हो? (यो चरित्रको समस्या हो—यस प्रकारको व्यक्तिको चरित्र नीच हुन्छ।)

परोपकार गर्ने प्रवृत्ति

अब हामी परोपकार गर्ने प्रवृत्तिका बारेमा कुरा गरौँ। यदि परोपकार गर्ने कुनै व्यक्तिको प्रवृत्तिको पछाडि कुनै मनसाय छैन, र यो उसको दैनिक जीवनको व्यवहार वा सामान्य अभ्यास मात्रै हो भने, परोपकार गर्ने यो प्रवृत्तिलाई मानवताको असल गुणका रूपमा लिनुपर्छ। जे भए पनि, दिनु भनेको लिनुभन्दा असल कुरा हो। कम्तीमा पनि, परोपकार गर्ने प्रवृत्ति भएको व्यक्तिमा अरूसँग सहानुभूति जनाउने हृदय हुन्छ, र उसको मानवताभित्र दयाको तत्त्व हुन्छ, र ऊ कन्जुस हुँदैन र उसले भौतिक कुराहरूलाई त्यति महत्त्व दिँदैन। यसका साथै, जब ऊसँग तुलनात्मक रूपमा प्रशस्त भौतिक सम्पत्ति हुन्छ, तब उसले आफ्नो अतिरिक्त सामान, वा आफूले प्रयोग नगर्ने तर अरूलाई प्रयोग गर्नका लागि उपयुक्त रहेका सामानहरू अरूलाई दिन्छ, जसले अरूको जीवन अलिक सहज वा सुविधाजनक बनाउँछ। यी कार्यहरूका पछाडि रहेको मनसायको आधारमा मूल्याङ्कन गर्दा, कम्तीमा पनि, परोपकार गर्ने प्रवृत्ति भएका मानिसहरूमा दयालु मानवता हुन्छ, र तिनीहरूले अरूसँग सहानुभूति जनाउने र अरूलाई दया गर्ने सारगत प्रकटीकरणहरू देखाउँछन्—यो तिनीहरूको मानवताको असल गुण हो। त्यस्ता मानिसहरूको चरित्र तुलनात्मक रूपमा असल हुन्छ, अरूबाट फाइदा लिन र अरूको सम्पत्ति स्वेच्छाचारी ढङ्गले हडप्न मन पराउने दुष्ट मानिसहरूको भन्दा यो निकै असल हुन्छ—तिनीहरूमा अलिक बढी निष्ठा हुन्छ। तिनीहरूले बदलामा केही नखोजी, अरूबाट प्रशंसा नखोजी वा राम्रो प्रतिष्ठा कायम राख्न नचाही परोपकार गर्छन् र अरूलाई सहयोग गर्छन्। यो तिनीहरूको आत्मआचरणको मनोवृत्ति, वा जीवनशैली मात्र हो। उदाहरणका लागि, जब तिनीहरूले कसैसँग लाउने लुगाको कमी छ भन्‍ने देख्छन्, तब तिनीहरू त्यस व्यक्तिलाई लगाउनका लागि आफ्नो फाल्टो लुगा तुरुन्तै दिन्छन्। जब तिनीहरूले अर्को व्यक्तिको परिवार गरिब छ र प्रायजसो खानका लागि पर्याप्त खानेकुरा पाउँदैनन् भन्‍ने देख्छन्, तब तिनीहरूले आफ्नो परिवारका केही चामल दिन्छन् ताकि उनीहरूले पनि पर्याप्त मात्रामा खान पाऊन्। जब तिनीहरू नयाँ कम्प्युटर किन्छन् र अरूको कम्प्युटर प्रयोग गर्न नसकिने अवस्थामा पुग्‍न लागेको छ भन्‍ने देख्छन्, तब तिनीहरू आफ्नो पुरानो कम्प्युटर त्यो व्यक्तिलाई प्रयोग गर्न दिन्छन्। तिनीहरू बदलामा केही नखोजी परोपकार गर्छन्—तिनीहरूको चरित्र नै यस्तै हुन्छ। यो मानवताको असल गुण हो र यसलाई असल चरित्रको प्रकटीकरणका रूपमा पनि वर्गीकरण गर्न सकिन्छ। परोपकार गर्ने प्रवृत्ति राख्‍ने व्यवहार बिलकुलै खराब हुँदैन, तर कतिपय मानिसहरूमा, परोपकार गर्ने प्रवृत्ति हुने हुनाले, तिनीहरू प्रायजसो यसो सोच्छन्, “म दयालु छु, म श्रेष्ठ छु, म उदार छु। मेरो परोपकार र सहयोग प्राप्त गरेपछि धेरै मानिसहरूको जीवन सुधार भएको छ। म परमेश्‍वरको मुक्तिको पात्र हुँ। यदि परमेश्‍वरले म जस्तो व्यक्तिलाई मुक्ति दिनुभएन भने, उहाँले कस्तो व्यक्तिलाई चाहिँ मुक्ति दिनुहुनेछ त?” तिनीहरू प्रायजसो आफूलाई “परोपकार गर्ने प्रवृत्ति भएको असल व्यक्ति” का रूपमा लिन्छन्। मानौँ कसैले तिनीहरूलाई यसो भन्छ, “तिम्रो मानवता असल छैन। तिमीले सत्यता विरुद्ध जाने धेरै कुराहरू गर्छौ, र तिमी सत्यतालाई प्रेम गर्दैनौ।” यो सुनेपछि, तिनीहरू रिसाउनेछन्। यहाँ समस्या के हो? कतिपय मानिसहरूको परिवार तुलनात्मक रूपमा समृद्ध हुन्छन्, र तिनीहरूसँग उठबस गर्ने दाजुभाइ-दिदीबहिनीहरू सबैले तिनीहरूबाट निगाहहरू प्राप्त गरेका हुन्छन्। त्यसकारण ती मानिसहरू प्रायजसो मनन गर्छन्, “मैले मण्डलीका यी मानिसहरूलाई निकै राम्रो व्यवहार गरेको छु—तिनीहरू सबैले मबाट केही न केही सहयोग पाएका छन्। के यी मानिसहरूका हृदयमा मेरो प्रतिष्ठा र हैसियत छैन र? के मण्डलीमा सर्वोत्तम क्षमता र सबैभन्दा असल मानवता भएको व्यक्ति म नै होइनँ र? के म अगुवा हुनु पर्दैन र? के सबै दाजुभाइ-दिदीबहिनीहरूले मेरो कुरा सुन्‍नु पर्दैन र?” यो कस्तो समस्या हो? के यो भ्रष्ट स्वभावको समस्या होइन र? (हो।) तिनीहरूले अलिकति असल व्यवहार गर्ने भएकाले, तिनीहरूलाई उप्रान्त आफ्नो साँचो मापन थाहा हुँदैन, तिनीहरू यो व्यवहारलाई पुँजीका रूपमा लिन्छन्, सधैँ मण्डली अगुवा बन्‍न चाहन्छन्, र आफूलाई असाधारण ठानेर तिनीहरूको अहङ्कार फुल्छ। तिनीहरू परमेश्‍वरका वचनहरूले खुलासा गरेका विभिन्‍न भ्रष्ट स्वभावहरूलाई आफूसँग जोड्दैनन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, परोपकार गर्ने तिनीहरूको प्रवृत्तिको अर्थ तिनीहरू असल व्यक्ति हुन्, तिनीहरूमा कुनै भ्रष्ट स्वभाव छैन, तिनीहरूले गर्ने सबै कुरा सही हुन्छ, र तिनीहरू मण्डलीमा अगुवा र उदाहरण हुनुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरू सबैले तिनीहरूको अनुकरण गर्नुपर्छ। यी केका प्रकटीकरणहरू हुन्? (भ्रष्ट स्वभावका।) यो भ्रष्ट स्वभावको स्तरमा पुगेको हुन्छ। परोपकार गर्ने प्रवृत्ति मानवताको असल गुण भए पनि, यदि कसैले यसका कारण आफूलाई मुक्ति पाउन निश्‍चित भएको असल व्यक्तिका रूपमा मूल्याङ्कन गर्छ भने, के यस्तो प्रकारको सोचाइ र दृष्टिकोण सही हुन्छ? उनीहरूले परोपकार गर्ने प्रवृत्ति देखाउने आफ्‍नो असल व्यवहारलाई असल चरित्र र कुलीन निष्ठा हुनु भन्ने ठान्छन्, र यसलाई सत्यता अभ्यास गरेको र परमेश्‍वरमा समर्पित भएको भनेर समेत भन्ठान्छन्। यो ठूलो गल्ती हो। यो अहङ्कार र आत्म-धार्मिकता हो, र आत्म-सचेतनाको पूर्ण कमी हो। परोपकार गर्ने प्रवृत्तिलाई असल व्यवहार भन्‍न सकिन्छ। बढीमा, परोपकार गर्ने प्रवृत्ति भएको व्यक्तिको चरित्र तुलनात्मक रूपमा असल हुन्छ, फाइदा लिनेहरूका भन्दा निकै असल हुन्छ। तर, तँमा परोपकार गर्ने प्रवृत्ति रहेको यो असल व्यवहार छ भन्दैमा, तैँले तँ असल व्यक्ति होस्, तँसँग कुनै भ्रष्ट स्वभाव छैन र तँसँग सत्यता वास्तविकता छ, र तँ मण्डली अगुवा बन्‍न र अरूभन्दा माथि खडा भएर हुकुम चलाउन योग्य छस् भनेर दाबी गर्न सक्दैनस्। यो अहङ्कारी स्वभाव हो। हुन त तँमा परोपकार गर्ने र अरूलाई सहयोग गर्ने जस्ता असल व्यवहारहरूमध्ये केहीमा संलग्न हुने प्रवृत्ति छ, जुन मानवताको असल गुण हो, तर यसले तँमा कुनै भ्रष्ट स्वभाव छैन भन्‍ने प्रमाणित गर्दैन। यदि तैँले परोपकार गर्ने र अरूलाई सहयोग गर्ने आफ्नो प्रवृत्तिलाई पुँजीका रूपमा लिन्छस् र मण्डली अगुवा बन्‍ने र आफूलाई अरूभन्दा माथि उठाउने महत्त्वाकाङ्क्षा विकास गर्छस् भने, यो भ्रष्ट स्वभावको समस्या हो। के अहिले तँ भिन्‍नता देख्‍न सक्छस्? असल चरित्र हुनुको अर्थ व्यक्तिमा कुनै भ्रष्ट स्वभाव छैन भन्‍ने हुँदैन। कतिपय मानिसहरू आधारभूत रूपमा अरूसँग निकै राम्ररी अन्तरक्रिया गर्छन् र सङ्गत गर्छन्—तिनीहरू अरूबाट फाइदा लिँदैनन् र तिनीहरू परोपकार समेत गर्छन् र अरूलाई सहयोग समेत गर्छन्—तिनीहरूसँग केही मानवताका गुणहरू हुन्छन्। तर, तिनीहरूसँग केही समय बिताएपछि, तँ तिनीहरू अत्यन्तै अहङ्कारी छन्, तिनीहरूलाई धाक लगाउन मन पर्छ, र तिनीहरू कहिलेकहीँ झूट समेत बोल्छन् र तिनीहरू निकै छली छन् भन्‍ने पत्ता लगाउँछस्। यदि तैँले तिनीहरूको आलोचना गरिस् भने, तिनीहरू त्यसलाई स्वीकार गर्न मान्दैनन् र अलिक क्रूर हुन्छन्, र यसो भन्दै टेबल समेत ठटाउँछन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको यति धेरै वर्ष भयो—मबाट कसले परोपकार प्राप्त गरेको छैन र? दाजुभाइ-दिदीबहिनीहरूलाई सोध—के मैले कहिल्यै कसैबाट फाइदा लिएको छु? के मैले कहिल्यै कसैलाई हानि गरेको छु वा चोट पुर्‍याएको छु?” के अरूलाई हानि नगर्दैमा त्यसले तँलाई असल व्यक्ति बनाउँछ? के अरूलाई हानि नगर्नु भनेको व्यक्तिले गर्नुपर्ने न्यूनतम कुरा होइन र? तँसँग घमण्ड गर्ने के कारण छ? कसैलाई हानि नगर्नु वा चोट नपुऱ्याउनु त व्यक्तिले गर्नुपर्ने कुरा हो—यो पुँजी होइन। अरूबाट फाइदा नलिँदैमा तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्छस् भन्‍ने हुँदैन। तैँले आत्म-चिन्तन गर्न सिक्‍नुपर्छ र अरूको आलोचना र सहयोग स्वीकार गर्न सक्नुपर्छ—त्यसपछि मात्रै तँ समझ भएको व्यक्ति बन्‍नेछस्। तैँले भ्रष्ट स्वभाव प्रकाश गरेकोले र तेरा कार्यहरू सत्यता अनुरूप नभएकाले अहिले तँलाई काटछाँट गरिएको हो। यो परोपकार गर्ने प्रवृत्तिको तेरो असल व्यवहार सकारात्मक कुरा हो भन्‍ने तथ्यलाई इन्कार गर्नु, वा तेरो चरित्रलाई इन्कार गर्नु होइन। बरु, तैँले गल्ती गरेकोले र सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेकोले काट-छाँट र खुलासा अभ्यास गरिएका हुन्। यदि तँ यसलाई स्वीकार गर्न सक्छस् भने, तँ सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्न सक्‍ने व्यक्ति होस्। यदि तँ यसलाई स्वीकार गर्दैनस् भने, परोपकार गर्ने तेरो प्रवृत्ति, बढीमा, मानवताको असल गुण मात्र हो। तर तेरा भ्रष्ट स्वभावहरूभित्र रहेको अहङ्कार, क्रूरता, र दुष्टताले तँमा प्रभुत्व जमाउने हुनाले, तँ सत्यता स्वीकार गर्न सक्दैनस्, त्यसकारण तँ अत्यन्तै नीच छस्, र तँ व्यर्थ छस्। काट-छाँट सामना गर्दा, यस्ता प्रकारका मानिसहरू ठूलो भाँडभैलो गर्छन्, आफ्‍ना योग्यताहरूका बारेमा कुरा गर्छन्, र आफू संलग्‍न रहेका थोरै असल व्यवहारबारे धाक लगाउँछन्। तिनीहरू पागल कुकुरहरूले जस्तै व्यवहार गर्छन्, झोक्किन्छन्। अलिकति भएको तिनीहरूको त्यो असल छवि पूर्ण रूपमा बिलाउँछ, र तिनीहरूको प्रकृति पूर्ण रूपमा खुलासा हुन्छ। सबैले यो कुरा स्पष्ट रूपमा देख्छन् र भन्छन्, “यो व्यक्तिमा गम्भीर भ्रष्ट स्वभाव छ—ऊ दुष्ट व्यक्ति, र झगडालु व्यक्ति हो! धन्‍न तिनीहरूलाई मण्डली अगुवाका रूपमा छनौट गरिएन। यदि तिनीहरू मण्डली अगुवा बनेका भए, तिनीहरूले अलिकति पनि आलोचना सहन सक्नेथिएनन्—यदि कसैले तिनीहरूलाई बर्खास्त गर्ने प्रयास गऱ्यो भने, तिनीहरूले त्यो व्यक्तिलाई कहिल्यै छोड्नेथिएनन् र उसका विरुद्धमा मृत्युसम्मै लडाइँ गर्नेथिए। त्यो विनाशकारी हुनेथियो!” यदि तैँले तिनीहरूको एउटा असल व्यवहार वा तिनीहरूको मानवताको एउटा गुणलाई मात्रै हेरिस् भने, तैँले तिनीहरूका भ्रष्ट स्वभाव कस्ता छन्, सत्यताप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ, वा तिनीहरू सत्यतामा समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा देख्‍न नै सक्दैनस्। जब तिनीहरू भ्रष्ट स्वभाव प्रकट गर्छन्, त्यसपछि तिनीहरू खुलासा र काटछाँटबाट गुज्रन्छन्, तब सत्यताप्रति तिनीहरूको मनोवृत्ति अलि अलि गर्दै देखा पर्नेछ र खुलासा हुनेछ। त्यसकारण, व्यक्तिको चरित्र, वा उसको मानवताको असल गुण र कमीकमजोरीहरूले, उसले सत्यता स्वीकार गर्छ कि गर्दैन भन्‍ने कुरालाई पूर्ण रूपमा निर्धारित गर्न सक्दैन। उसको चरित्र वा मानवताको असल गुण र कमीकमजोरीहरूलाई हेर्दा, सत्यताप्रतिको उसको मनोवृत्ति कस्तो छ भनेर देख्‍न पनि असम्भव हुन्छ। उसले भ्रष्ट स्वभाव प्रकाश गर्दा मात्रै, वा उसले खुलासा र काट-छाँट सामना गर्दा मात्रै, सत्यताप्रतिको उसको मनोवृत्ति प्रकाश हुनेछ, त्यसपछि मात्रै ऊ सत्यतालाई प्रेम गर्छ कि गर्दैन, सत्यताको अभ्यास गर्न सक्छ कि सक्दैन, र अन्तमा मुक्ति पाउने उसको आशा कति छ भन्‍ने कुरा थाहा पाउन सकिन्छ। त्यस्ता मानिसहरूको परोपकार गर्ने र अरूलाई सहयोग गर्ने प्रवृत्तिबाट, तिमीहरूले तिनीहरूमा मानवताका के-कस्ता असल गुण र खराबीहरू छन् भन्‍ने कुरा देख्‍न सक्छौ। त्यसपछि, तिनीहरूको समस्याहरूको शृङ्खलाबाट—जस्तै तिनीहरू अहङ्कारी र आत्म-धर्मी बन्‍नु, र परोपकार गर्ने र अरूलाई सहयोग गर्ने तिनीहरूको प्रवृत्तिका आधारमा अगुवा बन्‍न र अरूभन्दा माथि उठ्न चाहनुबाट—तैँले सत्यताप्रति तिनीहरूको मनोवृत्ति स्पष्ट रूपमा देख्‍न सक्छस्; अनि सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिबाट, तैँले तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छस्। यी व्यवहारहरूद्वारा, तैँले तिनीहरूको मानवताको असल गुण र खराबीहरूलाई खुट्ट्याउन, तिनीहरूको चरित्रलाई खुट्ट्याउन सक्छस्, साथसाथै मानवता र भ्रष्ट स्वभावको बीचमा भिन्‍नता छुट्याउन सिक्न सक्छस्, तर तिनीहरूले अन्ततः मुक्ति पाउन सक्छन् कि सक्दैनन् वा तिनीहरूको नतिजा कस्तो हुनेछ भनेर तँ पूर्ण रूपमा भन्‍न सक्दैनस्। कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भनेर मूल्याङ्कन गर्नु अलिक जटिल कुरा हो—तिनीहरूले भ्रष्ट स्वभाव प्रकाश गर्दा सत्यता स्वीकार गर्न, आत्म-चिन्तन गर्न, र साँचो पश्चात्ताप गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरालाई पनि हेर्नुपर्छ; यसलाई यी पक्षहरूका आधारमा मूल्याङ्कन गर्नुपर्छ।