सत्यता कसरी पछ्याउने (८) भाग तीन

मानिसहरूको क्षमता मूल्याङ्कन गर्न तिनीहरूमा आत्मिक बुझाइ छ कि छैन भन्ने कुरा प्रयोग गर्नु

यदि हामीले यसरी सत्यता सिद्धान्तहरू प्रयोग गरेर मानिसहरूको क्षमता मूल्याङ्कन गर्‍यौँ भने, सम्बन्धित प्रकटीकरणहरू हामीले भर्खरै सङ्गति गरेका प्रकटीकरणहरू नै हुन्। त्यसकारण, यदि हामीले मानिसहरूको क्षमता मूल्याङ्कन गर्न तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन भन्‍ने तथ्यलाई प्रयोग गर्‍यौँ भने, हामीले यो कसरी गर्नुपर्छ? असल क्षमता भएका मानिसहरूमा निश्चित रूपमा नै आत्मिक बुझाइ हुन्छ, होइन र? (हो।) आत्मिक बुझाइ हुनुको अर्थ के हो भने तिनीहरूले सत्यता बुझ्न, सत्यता सिद्धान्तहरू बोध गर्न, र परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रियामा देखा पर्ने सत्यता सिद्धान्तहरूसँग सम्बन्धित विभिन्‍न समस्याहरूलाई सत्यता प्रयोग गरेर समाधान गर्न, साथै परमेश्‍वरको घरका विभिन्‍न आन्तरिक मामलाहरूलाई सम्हाल्न सत्यता प्रयोग गर्न सक्छन्। त्यसोभए बाहिरी संसारका विभिन्‍न मामलाहरू नि? असल क्षमता भएका मानिसहरूमा आत्मिक बुझाइ हुने हुनाले र तिनीहरूसँग विभिन्‍न मामलाहरू सम्हाल्ने सामर्थ्य हुने हुनाले, तिनीहरूले बाहिरी संसारका मामलाहरू सम्हाल्न तुलनात्मक रूपमा मानवता अनुरूप केही सिद्धान्तहरू वा सकारात्मक कुराहरूसँग नजिकका केही सिद्धान्तहरू पनि प्रयोग गर्न सक्छन्। सतही भिन्‍नताहरू भए पनि, विभिन्‍न कुराहरूका आधारभूत तत्त्वहरू एउटै हुन्छन्, र विभिन्‍न कुराहरू अन्तर्गतका सिद्धान्तहरू असल क्षमता भएका मानिसहरूले बोध गर्न सक्‍ने कुराहरू नै हुन्, त्यसकारण असल क्षमता भएका मानिसहरूमा आत्मिक बुझाइ हुन्छ भनेर सामान्यतया भन्‍न सकिन्छ। आत्मिक बुझाइ हुनुको अर्थ आत्मिक क्षेत्रसँग कुराकानी गर्न सक्नु होइन; बरु, यसको अर्थ व्यक्तिले विभिन्‍न कुराहरूका आधारभूत नियम र सिद्धान्तहरू बोध गर्न सक्छ भन्‍ने हुन्छ। यसलाई व्यक्त गर्ने सीधा, सरल, र स्पष्ट तरिका यही हो। बाहिरी संसारका आधारभूत नियमहरू र सत्यता समावेश गर्ने सिद्धान्तहरू बुझ्न सक्‍नु असल क्षमता भएका मानिसहरूको प्रकटीकरण हो। त्यसोभए, हामी औसत क्षमता भएका मानिसहरूमा आत्मिक बुझाइ छ कि छैन भन्‍ने आधारमा तिनीहरूको प्रकटीकरणलाई कसरी मापन गर्न सक्छौँ? औसत क्षमता भएका मानिसहरूमा आधा कुराका बारेमा आत्मिक बुझाइ हुन्छ तर अर्को आधा कुराका बारेमा हुँदैन, र तिनीहरूले कतिपय भागहरू बुझेका हुन्छन् जबकि अरू भागहरू बुझेका हुँदैनन्। तिनीहरूसँग आत्मिक बुझाइ भएका भागहरू तिनीहरूको क्षमताले भ्याउन सक्‍ने भागहरू हुन्। परमेश्‍वरमाथिको विश्‍वाससँग सम्बन्धित विभिन्‍न सत्यताहरूका बारेमा सङ्गति सुनेपछि, तिनीहरू ती कुरा बुझ्न सक्छन्, र कसैको निर्देशनविना पनि, तिनीहरूले तीभित्र बोध गरिनुपर्ने सिद्धान्तहरू पत्ता लगाउन सक्छन्। तिनीहरूसँग कुनै आत्मिक बुझाइ नभएका भागहरू तिनीहरूको क्षमताले भ्याउन नसक्‍ने भागहरू हुन्। अरूको मार्गदर्शन र निर्देशनविना, तिनीहरूसँग अभ्यासका कुनै सिद्धान्तहरू हुँदैनन्, तिनीहरूले आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न वा समस्याहरू समाधान गर्न सक्दैनन्, र काम कसरी गर्ने र समस्याहरू कसरी सम्हाल्ने भनेर जान्‍नका लागि तिनीहरूलाई मलजल, मार्गदर्शन, र निर्देशन चाहिन्छ—तिनीहरूमा कुनै आत्मिक बुझाइ नहुनुका प्रकटीकरणहरू यिनै हुन्। औसत क्षमता भएका मानिसहरूसँग आधारभूत रूपमा आत्मिक बुझाइ हुन्छ भनेर भन्‍न सकिन्छ, तर असल क्षमता भएका मानिसहरूको तुलनामा तिनीहरूको आत्मिक बुझाइको स्तरको कमी हुन्छ—तिनीहरू आधा मात्रै बुझ्छन्। यो कहाँ कमी हुन्छ? तिनीहरूले सत्यता सिद्धान्तहरू बोध गर्ने हदमा कमी हुन्छ—तिनीहरूले स्वतन्त्र रूपमा कामका विभिन्न पक्षहरू पूरा गर्न सक्दैनन्। अब, यदि हामीले कमजोर क्षमता भएका मानिसहरूलाई तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन भनेर मूल्याङ्कन गर्‍यौँ भने, यो कसरी गर्नुपर्छ? के यो मूल्याङ्कन गर्न सजिलो छ? के कमजोर क्षमता भएका मानिसहरूसँग आत्मिक बुझाइ हुन्छ? (हुँदैन।) तैँले कमजोर क्षमता भएका मानिसहरूको प्रकटीकरणलाई हेरेर मात्रै पनि तिनीहरूसँग कुनै आत्मिक बुझाइ हुँदैन भनेर भन्न सक्छस्, किनभने तिनीहरू प्रावधानहरू मात्रै पालना गर्छन्। क्षमताविनाका मानिसहरूमा वास्तवमा मानव आत्मा हुँदैन, र मानव आत्मा नहुनुको अर्थ तिनीहरू पशुहरू जस्तै आत्मिक बुझाइविहीन हुन्छन् भन्‍ने हुन्छ। त्यस्ता मानिसहरूका हकमा, तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन भनेर मूल्याङ्कन गर्नु अनावश्यक हुन्छ। जब आत्माविनाको व्यक्तिले कुनै पनि मामलालाई हेर्छ वा विभिन्‍न मानिसहरूसँग व्यवहार गर्छ, तब उसले तिनीहरूलाई मूल्याङ्कन गर्न सक्दैन, र सकारात्मक वा नकारात्मक कुराहरूका बारेमा तिनीहरूसँग कुनै दृष्टिकोण हुँदैन। तिनीहरूसँग आफ्नै हितहरूको रक्षा गर्ने र घाटाबाट जोगिने केही हिसाब-किताबहरू मात्रै हुन्छन्। जब तँ कुनै दृष्टिकोण व्यक्त गर्छस्, तब यदि तिनीहरू तँसँग परिचित छन् र तँसँग असल क्षमता र विशुद्ध बुझाइ छ, र तँ सकारात्मक व्यक्ति होस् भन्‍ने तिनीहरूलाई थाहा छ भने, तिनीहरू तेरो दृष्टिकोणसँग सहमत हुन्छन्। तर यदि तिनीहरू तँसँग परिचित छैनन् भने, तिनीहरूले तँलाई हेयको दृष्टिले हेर्छन्। तेरो दृष्टिकोण जति नै सही भए पनि वा यो सत्यता सिद्धान्तहरूसँग जति नै मिल्ने भए पनि, तिनीहरू यसलाई स्वीकार गर्दैनन्। तिनीहरूलाई यो सही छ भन्‍ने थाहा हुँदैन, यो मानिसहरूले स्वीकार गर्नुपर्ने कुरा हो भन्‍ने थाहा हुँदैन, र यो असल दृष्टिकोण तिनीहरूका लागि कति फाइदाजनक हुन सक्छ वा यसले तिनीहरूलाई कति धेरै सहयोग प्रदान गर्न सक्छ भन्‍ने थाहा हुँदैन—तिनीहरूलाई यो सबै कुराका बारेमा थाहा हुँदैन। जबकि, जब कुनै नकारात्मक व्यक्तिले नकारात्मक दृष्टिकोण अघि सार्छ, तब यदि यो नकारात्मक व्यक्तिले प्रभुत्व जमाइरहेको छ र यो व्यक्ति तिनीहरूले आदर र सम्‍मान गर्ने व्यक्ति हो भने, नकारात्मक दृष्टिकोण स्विकारेपछि त्यसले तिनीहरूलाई हानि गर्नेछ भन्‍ने थाहा पाए पनि तिनीहरूले त्यसलाई स्वीकार गर्छन्। तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन्? (कुनै क्षमता नभएका व्यक्ति।) तिनीहरू कुनै क्षमता नभएका व्यक्ति हुन्, जसको अर्थ तिनीहरूसँग कामकुराहरू खुट्ट्याउने सामर्थ्यको कमी हुन्छ। तिनीहरूले जुनसुकै परिस्थिति सामना गरे पनि, त्यसलाई छर्लङ्ग देख्‍न सक्दैनन् र तिनीहरूले कायम राख्नुपर्ने कुनै पनि सिद्धान्तहरू तिनीहरूलाई थाहा हुँदैन; यस्ता प्रकारको व्यक्तिले खराब वा दुष्ट मानिसहरूलाई पछ्याउँदा खराब कार्यहरू गर्न सक्छन्, र तिनीहरूले असल मानिसहरूलाई पछ्याउँदा केही असल कुराहरू गर्न सक्छन्—तिनीहरूमा कामकुराहरू खुट्ट्याउने क्षमताको कमी हुन्छ। त्यसकारण म तिनीहरू आत्मा नभएका मृत व्यक्ति हुन् भनेर भन्छु। कमजोर क्षमता भएका मानिसहरू, असल क्षमता भएका मानिसहरू वा सकारात्मक व्यक्तिहरूसँगसँगै धेरै वर्ष बिताएपछि, तिनीहरूले सुनेको र देखेको कुराले प्रभावित हुन सक्छन्, र तिनीहरूले केही राम्रा कुराहरू सिक्न, केही राम्रा प्रावधानहरू पालना गर्न, र केही सकारात्मक भनाइ र व्यवहारका तरिकाहरू वा सकारात्मक विचार र दृष्टिकोणहरू पालना गर्न सक्छन्। तर, आत्माविनाका मृत मानिसहरूले सकारात्मक विचार र दृष्टिकोणहरू, व्यवहार गर्ने असल तरिका र प्रावधानहरू, असल विचारको शृङ्खला, वा दैनिक जीवनका केही सकारात्मक जीवनशैली र सकारात्मक आम ज्ञानहरू सिक्न वा पालना गर्न समेत सक्दैनन्। जब तिनीहरू स्वतन्त्र रूपमा जिउन थाल्छन्, तब तिनीहरूको जिउने परिस्थिति—जुन अन्योलमा परेको व्यक्तिको जस्तो हुन्छ—पूर्ण रूपमा खुलासा हुन्छ। आत्मा नभएका मृत मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्।

आत्मिक बुझाइ भएका मानिसहरूसँग कम्तीमा पनि औसत क्षमता हुन्छ। यदि सत्यता तिनीहरूको पहुँचमा छ र तिनीहरूले त्यो बुझ्न सक्छन् भने, तिनीहरू असल क्षमता भएका मानिसहरू हुन्। आत्मिक बुझाइ नभएका मानिसहरू निश्चित रूपमा नै या त कमजोर क्षमता भएका मानिसहरू हुन् अथवा कुनै क्षमता नभएका मानिसहरू हुन्—यी दुई प्रकारका मानिसहरूमा निश्चित रूपमा नै आत्मिक बुझाइको कमी हुन्छ। असल क्षमता भएका मानिसहरूमा मात्रै पूर्ण आत्मिक बुझाइ हुन्छ भनेर भन्‍न सकिन्छ, जबकि औसत क्षमता भएका मानिसहरूमा औसत स्तरको आत्मिक बुझाइ हुन्छ। अर्थात्, धेरै मामलाहरूमा तिनीहरूको क्षमतामा कमी हुन्छ र तिनीहरू आत्मिक बुझाइ हासिल गर्न सक्दैनन्। तिनीहरूले साधारण मामलाहरूमा मात्रै आत्मिक बुझाइ हासिल गर्न र स्वतन्त्र रूपमा कामकुराहरू सम्हाल्न सक्छन्। जब तिनीहरूले जटिल मामलाहरू वा बहुमुखी काम सामना गर्छन्, तब तिनीहरू यी कुराहरूलाई स्वतन्त्र रूपमा सम्हाल्न सक्दैनन् किनभने त्यसमा समावेश हुने सत्यता सिद्धान्तहरू तिनीहरूको पहुँच र बुझाइभन्दा बाहिर हुन्छन्। त्यसकारण, तिनीहरूको आत्मिक बुझाइको स्तर निकै औसत हुन्छ। कमजोर क्षमता भएका मानिसहरूको विशेषता के हो भने सत्यता सिद्धान्तहरू तिनीहरूको बुझाइभन्दा बाहिर हुन्छन्, र तिनीहरू प्रावधानहरू मात्रै पालना गर्छन्, किनभने तिनीहरू सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनन्, र सत्यता सिद्धान्तहरूको अवधारणा के हो भन्‍ने समेत बुझ्दैनन्, र सत्यता सिद्धान्तहरू प्रावधानहरू मात्रै हुन् भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, यस प्रकारका मानिसहरूमा कुनै आत्मिक बुझाइ हुँदैन भन्‍ने कुरा अत्यन्तै स्पष्ट छ। तिनीहरूको आत्मिक बुझाइको कमीको एउटा मुख्य विशेषता के हो भने तिनीहरूले विभिन्‍न मानिस, घटना, र कामकुराहरूका बारेको बुझाइमा प्रकाश गर्ने विचार र दृष्टिकोणहरू सबै विकृत हुन्छन्। यहाँ “विकृत” शब्दलाई कसरी बुझ्नुपर्छ? यसको अर्थ सामान्य मानवताको सोचाइको गतिपथबाट पूर्ण रूपमा अलग हुनु र सामान्य मानवताका आवश्यकताहरूको गतिपथबाट पूर्ण रूपमा अलग हुनु हो—यो विकृत हुनु हो। जब तैँले यी मानिसहरूले भन्ने कुराको सोचाइको तर्क सुन्छस्, तब तँलाई त्यो अनौठो लाग्छ, र हरेक पटक तैँले तिनीहरूले कुनै कुराबारे दृष्टिकोण व्यक्त गरेको वा कुरा गरेको सुन्दा, तँ छक्क पर्छस्। “छक्‍क पर्नु” को अर्थ के हो? यसको अर्थ जब तैँले तिनीहरूले भनेको कुनै कुरा सुन्छस्, तब तँलाई यो अविश्‍वसनीय लाग्छ र तँ मनमनै सोच्छस्, “तिनीहरूमा कसरी यस्तो विचार आउन सक्छ? यो किन सामान्य मानिसहरूले सोच्ने कुराभन्दा यति फरक छ? यो विचार अत्यन्तै अनौठो छ—यो किन अलिक वाहियात लाग्दो छ?” तेरो हृदयमा, तँलाई यो कुरा निकै अप्ठ्यारो र हास्यास्पद लाग्छ। सधैँ अरूलाई छक्क पार्ने शब्दहरू बोल्ने मानिसहरू विकृतितर्फ ढल्किने मानिसहरू हुन्—विशेष गरी यस्ता मानिसहरू। उदाहरणका लागि, तँ तिनीहरूलाई सोध्छस्, “के तिमीले केही खायौ?” तिनीहरू जवाफ दिन्छन्, “आज निकै चिसो छ।” के यी दुई कुराहरूको बीचमा कुनै सम्बन्ध छ? (छैन।) तँ भन्छस्, “आज किन यति थोरै लुगा लगाउनुभएको?” तिनीहरू भन्छन्, “आज मैले एक कप अदुवा चिया पिएँ।” के तिनीहरूको जवाफको तेरो प्रश्‍नसँग कुनै जरुरी सम्बन्ध हुन्छ? के तिनीहरूका उत्तरमा सामान्य सोचाइ र तर्क समावेश हुन्छ? (हुँदैन।) सामान्य सोचाइ र तर्क भएको व्यक्तिले कसरी जवाफ दिनुपर्छ? तिनीहरूले यसो भन्‍न सक्छन्, “भित्र धेरै गर्मी भएकोले मैले यति थोरै लुगा लगाएको हुँ, त्यसबाहेक, बाहिर निकै घाम लागेको छ र तापक्रम तुलनात्मक रूपमा उच्च छ।” वा तिनीहरू यसो भन्‍न सक्छन्, “मैले भर्खरै कसरत गरिसकेको र मलाई गर्मी भएकोले मैले यति थोरै लुगा लगाएको हुँ।” तर यदि कसैले “तिमीले किन यति थोरै लुगा लगाएको?” भनेर सोध्यो भने, तिनीहरू “किनभने आज मैले न्यानो जुत्ता लगाइरहेको छु,” भनेर प्रतिक्रिया दिए भने, यो उत्तरसँग प्रश्‍नको कुनै सम्बन्ध हुँदैन। तिनीहरूको विचार शृङ्खला र तिनीहरूले सोच्दा तिनीहरूले पछ्याउने तर्क सामान्य मानवताको सोचाइ र तर्क अनुरूप हुँदैन। यो सामान्य मानवताको सोचाइ भएको कुनै पनि व्यक्तिले उत्पन्न नगर्ने अत्यन्तै अनौठो विचार र अत्यन्तै अनौठो विचार शृङ्खला हो। त्यसकारण, तिनीहरूको उत्तर सुनेपछि, तँलाई त्यो अप्ठ्यारो खालको छ भन्ने लाग्छ। तँ तिनीहरूसँग कुराकानी गर्न चाहन्छस्, तर तँ तिनीहरूसँग जोडिनै सक्दैनस्—तिनीहरू सधैँ अप्रासङ्गिक उत्तर दिन्छन्, जसले गर्दा कुराकानीलाई जारी राख्‍न असम्भव हुन्छ। उदाहरणका लागि, एकजनाले लुगा सिलाउन सिकिरहेकी थिई, र मैले उसलाई सोधेँ, “लुगा सिक्‍ने काम कस्तो प्रगति भइरहेको छ? के तँ भुवादार लुगा बनाउन सक्छेस्?” सामान्य सोचाइ र तर्क अनुरूपको प्रतिक्रिया के हुनेथियो? (कि त “सक्छु” वा “सक्दिनँ।”) त्यसले सामान्य सोचाइ र तर्क प्रतिबिम्बित गर्नेथियो। अथवा उसले यसो पनि भन्‍न सक्थी, “कहिलेकहीँ मेरो काम अलिक राम्रो हुन्छ, र मेरो प्रशिक्षकले यो ठीक छ, मुस्किलले स्वीकार्य छ भनेर भन्‍नुहुन्छ। तर अझै जटिल भागहरू बनाउँदा, मेरो काम अपर्याप्त हुन्छ र त्यो फेरि गर्नुपर्ने हुन्छ।” के यी प्रतिक्रियाहरू सामान्य सोचाइ र तर्क भएको व्यक्तिका हुन्? (हुन्।) सामान्य सोचाइ र तर्क नभएकी यो व्यक्तिले कसरी प्रतिक्रिया दिई? मैले सोधेँ, “के अहिले तँ यस्तो भुवादार लुगा बनाउन सक्छेस्?” उसले प्रतिक्रिया दिई, “म यहाँ पहिलो पटक आउँदा म यस्तो लुगा बनाउन सिक्दै थिएँ।” मैले सोधेँ, “त्यसोभए के तँ अहिले बनाउन सक्छेस् त?” उसले अझै पनि यस्तो प्रतिक्रिया दिई, “म यहाँ पहिलो पटक आउँदा म यस्तो लुगा बनाउन सिक्दै थिएँ।” मैले मनमनै सोचेँ, “मैले बुझिनँ। तँ पहिलो पटक आउँदा यस्तो लुगा बनाउन सिक्दै थिइस्, त्यसोभए के तँ अहिले यो बनाउन सक्छेस् त? मैले किन यो कुरा पत्ता लगाउन सकिनँ?” उसको प्रतिक्रिया सुनेपछि, मलाई अप्ठ्यारो लाग्यो। म उसले यस्तो लुगा बनाउन सक्छे कि सक्दिन भनेर सोधिरहेको थिएँ, र उसले पहिलो पटक आउँदादेखि नै यो लुगा बनाउन सिक्दै आइरहेको छु भनेर भनी। ऊ कसरी त्यस विषयतर्फ मोडिन सफल भई भन्‍ने मलाई थाहा नै भएन—उसले यो कुरा गर्न सक्छे कि सक्दिन भन्‍ने कुरासँग यसको के सम्बन्ध थियो र? मैले मनमनै सोचेँ, “म यस विषयतर्फको मोडाइ बुझ्नै सक्दिनँ।” मैले “त्यसोभए अहिले बनाउन सक्छेस् त?” भनेर दुई-तीन पटक सोध्दा पनि, उसले यसो भन्दै जवाफ दिई, “म यहाँ पहिलो पटक आउँदा म यस्तो लुगा बनाउन सिक्दै थिएँ, र मेरा प्रशिक्षकले मलाई यो बनाउन मार्गदर्शन गरिरहेका थिए—म मुख्य रूपमा यसैमा लागिरहेको छु।” मैले अझै पनि आफूले खोजेको उत्तर प्राप्त गरिनँ, र आजसम्म, उसले त्यो बनाउन सक्छे कि सक्दिन भन्‍ने मलाई अझै थाहा छैन। उसका शब्दहरूको पछाडि रहेको तर्क र उसले किन यसरी बोली भनेर विश्लेषण गर। (उसको प्रतिक्रिया प्रश्‍नसँग अलिक अप्रासङ्गिक थियो। यो कुरा सुन्‍ने मानिसहरूले उसको भनाइको अर्थको अनुमान लगाउने प्रयास गर्नेछन्, तर उसले साँच्‍चै त्यो बनाउन सक्छे कि सक्दिन भन्‍ने तिनीहरूलाई अझै थाहा हुनेछैन।) उसले मलाई थाहा दिन चाही कि चाहिन? के ऊ मलाई सटीक उत्तर दिन चाहन्थी? यहाँ, उसले सङ्केत दिइरहेकी थिई: “मैले तपाईंलाई भनिसकेँ, म पहिलो पटक आउँदा, मैले मुख्य रूपमा यो बनाउन सिकिरहेकी थिएँ, र अहिले एक हप्ता भएको छ—त्यसकारण अवश्य नै म यो बनाउन सक्छु। के तपाईंले मेरो अर्थ बुझ्न सक्नु पर्दैन र? तपाईंले कसरी बुझ्न सक्नुहुन्न र?” के तिमीहरूले उसको प्रतिक्रियाबाट यो अर्थ बुझ्न सक्छौ? (सक्दैनौँ।) यदि उसको प्रतिक्रियाले तँलाई सटीक उत्तर बुझ्ने तुल्याउँथ्यो र उसले त्यो काम गर्न सक्छे कि सक्दिन भन्‍ने कुरा तँलाई थाहा हुन्थ्यो भने, उसको प्रतिक्रिया तर्कसङ्गत हुनेथियो। तर उसको प्रतिक्रियाले तँलाई अस्पष्ट अर्थ मात्रै दिन्छ र उसले त्यो काम गर्न सक्छे कि सक्दिन भन्‍ने कुरा साँचो रूपमा थाहा दिँदैन। सधैँ यसरी बोल्ने मानिसहरू—के तिनीहरू अत्यन्तै अलमल्ल हुँदैनन् र? यदि तिनीहरूले जानी-जानी यसरी प्रतिक्रिया दिइरहेका छन् भने, यो चरित्रको कुरा हो। यदि तिनीहरूले जानी-जानी यसो गरिरहेका छैनन् र तैँले प्राप्त गर्ने प्रयास गरिरहेको उत्तरसँग तिनीहरूको प्रतिक्रियाको कुनै जरुरी सम्बन्ध हुँदैन भने, तिनीहरूको सोचाइ र तर्कमा समस्या छ। यदि तिनीहरूको सोचाइ र तर्कमा समस्या छ भने, के यसको अर्थ तिनीहरूको क्षमता कमजोर छ भन्‍ने हुँदैन र? के तिनीहरू विकृतितर्फ ढल्किँदैनन् र? (ढल्किन्छन्।) यो विकृतितर्फ ढल्कन सक्‍ने अवस्थाको प्रकटीकरण हो। त्यो व्यक्तिले सोचेको थियो, “म तपाईँलाई भनिरहेकी छु, म पहिलो पटक आउँदा यो काम गर्न सिकिरहेको थिएँ, त्यसकारण अपरिहार्य परिणाम के हो भने म यो काम गर्न सक्छु।” ऊ “म गर्न सक्छु” भन्‍ने उत्तर दिन चाहन्थी। तर, सामान्य सोचाइ भएका मानिसहरूले यो सुनेपछि सही उत्तर प्राप्त गर्दैनन्। त्यसकारण, “म पहिलो पटक आउँदा यो काम गर्न सिकिरहेकी थिएँ” भन्‍ने उसको प्रतिक्रियाको उसले यो काम गर्न सक्छे भनेर बताउन चाहेको कुरासँग कुनै तार्किक सम्बन्ध थिएन। त्यसोभए, के तिनको प्रतिक्रिया अन्योलग्रस्त शब्दहरू थिएनन् र? (थिए।) म राम्रोसँग कुराकानी गर्न सक्छु र मैले पहिले नै प्रश्‍नको उत्तर दिइसकेँ भन्‍ने सोच्दै अन्योलग्रस्त शब्दहरू बोल्नु—के यसले कमजोर क्षमतालाई प्रतिबिम्बित गर्दैन र? (गर्छ।) यो कमजोर क्षमताको एउटा प्रकटीकरण हो। त्यस व्यक्तिसँग सामान्य मानवताको सोचाइ र तर्क हुँदैन। तैँले चाहे जसरी सोधे पनि, उसले समस्याको जड के हो वा तँ किन एउटै कुरा सोधिरहन्छस् भन्‍ने कुरा महसुस गर्न सक्‍नेछैन। जब तँ तेस्रो पटक सोध्छस्, तब उसले अझै पनि उस्तै प्रतिक्रिया दिनेछे र उसलाई अधीर समेत महसुस हुनेछ, र ऊ सोच्नेछे, “तपाईँ किन सोधिरहनुहुन्छ? मैले तपाईँलाई पहिले नै बताइसकेकी छु, र पनि तपाईँ बुझ्नुहुन्न र सोधिरहनुहुन्छ!” तीन पटक सोधिएपछि पनि, उसलाई आफ्‍नो उत्तर अस्पष्ट छ र अर्को व्यक्तिले जान्‍न खोजेको कुरा त्यो होइन, उसले आफ्नो शब्द-शैली परिवर्तन गर्नुपर्छ र उसले त्यो काम गर्न सक्छे कि सक्दिन भनेर स्पष्ट रूपमा बताउनुपर्छ, र अर्को व्यक्तिलाई अनुमान गर्न लगाउनु हुँदैन भन्‍ने कुरा महसुस गर्न सक्‍नेछैन। उसले अरूलाई उसका शब्दहरूले कस्तो महसुस गराउँछन् वा अरूले ती शब्द सुनेपछि कसरी प्रतिक्रिया दिन्छन् भन्‍ने कुरा महसुस गर्न सक्दिन—ऊ यीमध्ये कुनै पनि कुरा महसुस गर्न सक्दिन। यसले ऊसँग कुनै क्षमता छैन भन्‍ने देखाउँछ। तैँले चाहे जति पटक सोधे पनि, उसले उही प्रतिक्रिया दिनेछे र उसले भनेको कुरा निष्कपट छ र त्यो झूटो होइन भन्‍ने समेत महसुस गर्नेछे, र यस्तो सोच्नेछे, “तपाईँले एउटै कुराबारे जति पटक सोधे पनि, मैले एउटै उत्तर दिएकी छु—म इमानदार व्यक्ति बन्‍ने अभ्यास गरिरहेकी छु, र म मेरो मनमा जे छ त्यही भन्छु।” के यो कमजोर क्षमताको प्रतिबिम्ब होइन र? (हो।) जब तैँले रामका बारेमा सोध्छस्, तब यस्तो प्रकारको व्यक्तिले सधैँ सिता र हरीका बारेमा कुरा गर्छ। जब तैँले सिता र हरीका बारेमा सोध्छस्, तब ऊ सधैँ रामका बारेमा कुरा गर्छ। सामान्य सोचाइविनाका मानिसहरूका विचारहरू अन्योलग्रस्त हुन्छन्, र तिनीहरूको सोचाइ गज्याङगुजुङ हुन्छ। यो कमजोर क्षमताको एउटा प्रमुख प्रकटीकरण हो। समग्रमा, फरक-फरक क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। तैँले तिनीहरूको क्षमतालाई सत्यता सिद्धान्तहरू बुझ्ने र तिनलाई लागू गर्ने तिनीहरूको क्षमता वा तिनीहरूको अशक्तताको आधारमा मूल्याङ्कन गरे पनि, वा तिनीहरूमा आत्मिक बुझाइ छ कि छैन भन्‍ने आधारमा मूल्याङ्कन गरे पनि, प्रकटीकरणहरू यिनै हुन्। हामीले केही हदसम्‍म साधारण शब्दहरूमा कुरा गरेका भए पनि, के तिमीहरू मूलतः मेरा वचनहरूलाई वास्तविक जीवनसँग मिलाउन सक्दैनौ र? (सक्छौँ।) त्यसोभए, के हामीले क्षमताको विषयलाई लगभग सारांश गरिसकेका छैनौँ र? (छौँ।) क्षमताको विषयमा रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।