सत्यता कसरी पछ्याउने (७) भाग पाँच
कसरी आफ्नो क्षमतालाई ठीक तरिकाले लिने
क्षमता भनेको के हो, साथै मानिसहरूको क्षमताको स्तर र प्रकारलाई कसरी विभाजन गर्ने भन्नेबारे सङ्गति गरेर तिमीहरूले सुनिसकेपछि, के तिमीहरूलाई कुनै फाइदा भयो? (भयो।) के तिमीहरूलाई आफ्नो क्षमता कमजोर छ भन्ने साँच्चिकै थाहा छ? (छ।) क्षमता नभएका कतिपय मानिसहरू यसो भन्छन्: “मसँग कसरी कुनै पनि क्षमता नभएको? मेरो क्षमता औसत वा कमजोर भएको भए पनि ठिकै हुनेथियो।” कुनै पनि क्षमता नभएको, बेकुफ, मूर्ख, वा बेकामे व्यक्ति भएको स्तरमा झर्न कोही पनि इच्छुक हुँदैन, तर संयोगवश, कतिपय मानिस आफ्ना प्रमुख प्रकटीकरणहरू र यी वर्षहरूमा आफ्नो कर्तव्य निर्वाह गर्नुका नतिजाहरूका आधारमा आफ्नो मूल्याङ्कन गर्दा, तिनीहरू साँच्चिकै क्षमता नभएका मानिसका स्तरमा पर्छन्। के यसले कतिपय मानिसहरूलाई नकारात्मक बनाउँछ? जब धेरै कुराहरू प्रस्ट पारिँदैनन्, तब मानिसहरू मूर्खतापूर्वक “मसँग सक्षमता छ, मसँग सामर्थ्य छ, म बुद्धिमान् छु, मेरो क्षमता खराब छैन, म कुलीन हुँ, म परमेश्वरका राज्यमा कोही हुँ, म एउटा स्तम्भ, एउटा मुख्य आधार हुँ” भन्ने सोच्छन्, मूर्खतापूर्वक आफ्ना स्वैरकाल्पनिक सपनाहरूमा टाँसिएर अत्यन्तै राम्रो, अत्यन्तै आत्मविश्वासी महसुस गर्छन्, र आफूमा सम्भाव्यता र आशा छ भन्ने सोच्छन्; तिनीहरू नकारात्मक हुँदैनन्, र उद्देश्य बोकेर जिउँछन्। तर, तिनीहरूले साँचो तथ्यहरू थाहा पाएपछि, तिनीहरू “के यसको अर्थ मैले मुक्ति प्राप्त गर्ने आशा छैन भन्ने होइन र?” भन्ने सोचेर दुःखी बन्छन् र नकारात्मक स्थितिमा पर्छन्। यी कुराहरू प्रस्ट नपारिएमा मानिसहरू मूर्खतापूर्वक अहङ्कारी बन्छन्; कुनै व्यक्ति जति मूर्ख छ, ऊ त्यति नै अहङ्कारी हुन्छ, र त्यति नै उसको अहङ्कार असीमित बन्छ। जो चलाख छन्, तिनीहरूले यतिका वर्षमा सत्यताको आपूर्ति स्विकारेपछि, चिन्तन र आत्मजाँच गर्नेछन्, सत्यतालाई आफूसँग तुलना गर्नेछन्, तिनीहरूको अहङ्कारी स्वभावका प्रकटीकरणहरू क्रमिक रूपमा कम हुँदै जानेछन्। एउटा व्यक्तिको क्षमता जति कमजोर हुन्छ, ऊ त्यति नै मूर्खतापूर्वक अहङ्कारी हुन्छ। एउटा यस्तो भनाइ छैन र: “तिनीहरू केही होइनन्, तर कसैका अगाडि झुक्दैनन्”? यो भनाइ अत्यन्तै सुहाउँदो छ; जो केही पनि होइनन्, तिनीहरू कसैका अगाडि झुक्दैनन्। किन? किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। कुन हदसम्म? कुनै पनि बौद्धिकता नहुने, आफ्नो सामर्थ्यको हद थाहा नहुने, आफ्नो बौद्धिकताको माप थाहा नहुने, सधैँ आफूभन्दा राम्रा मानिसहरू हुन्छन् भनेर थाहा नहुने, र राम्रो क्षमता भनेको के हो भनेर थाहा नहुने हदसम्म। अनि तिनीहरूको अहङ्कार कुन हदसम्म पुग्छ? त्यो हेर्दा मानिसहरूलाई घिन र वाकवाक लाग्ने हदसम्म—यो मूर्खतापूर्ण अहङ्कार हो। “तिनीहरू केही होइनन्, तर कसैका अगाडि झुक्दैनन्” भन्नुको मतलब तिनीहरूले केही पनि हासिल गर्न सक्दैनन्, तिनीहरूको आफ्नै जीवनका मामलाहरू पूरै अस्तव्यस्त हुन्छन्, तिनीहरूले केही पनि छर्लङ्गै देख्न सक्दैनन्, तिनीहरूका कुनै विचार वा दृष्टिकोणहरू हुँदैनन्, तिनीहरूले अरूका दृष्टिकोणहरू सही र सटीक छन् कि छैनन् भनेर भन्न सक्दैनन्, र तिनीहरू यस्तो सोच्दै मूर्खतापूर्वक आफ्नो अहङ्कार कायम राख्छन्, “मसँग क्षमता छ, मसँग सामर्थ्य छ, म बुद्धिमान् छु, म अरूभन्दा राम्रो छु!” भन्ने हो। ल भन, के तिनीहरूलाई कसैका अगाडि नझुक्ने मूर्ख रूपमा अहङ्कारी मानिस हुन दिनु राम्रो हो, कि तिनीहरूको क्षमता कमजोर छ, तिनीहरू केही होइनन्, मूर्ख, बेकामे, र मानसिक रूपमा कमजोर मानिस हुन् भनेर तिनीहरूलाई थाहा दिनु राम्रो हो, ताकि तिनीहरू नकारात्मक बनून्? तिमीहरू कुन रोज्छौ? (तिनीहरूलाई नकारात्मक हुन दिने, किनभने यदि तिनीहरू मूर्ख रूपमा अहङ्कारी भएमा, तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन हुने कामकुरा गर्ने सम्भावना हुन्छ, र तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्याउन सक्छन्।) यदि तिनीहरू नकारात्मक बनेमा, तिनीहरू मानवताको समझमा फर्कन र अझ शिष्ट बन्न सक्छन्, तिनीहरूले बाधा र अवरोध पुर्याउने कामकुरा कम गर्न सक्छन्। यो तिनीहरूका लागि एउटा सुरक्षा हो। तिनीहरूले अरूलाई फाइदा हुने धेरै कामहरू नगरेका भए पनि, बाधा र अवरोध पुग्ने कामकुरा कम गर्नुको मतलब तिनीहरूले धेरै कम अपराध र दुष्ट कार्यहरू गर्नेछन्, र तिनीहरू भविष्यमा दण्डित हुने सम्भावना कम हुनेछ भन्ने हो, होइन र? (हो।) तिनीहरूले मुक्ति प्राप्त गर्न सक्नु तुलनात्मक रूपमा टाढाको कुरा भएकाले, त्यो विषयमा प्रवेश नगरी, के तिनीहरूले परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने र परमेश्वरको स्वभाव चिढ्याउने सम्भावना कम हुनेछ? अनि के तिनीहरू बाँच्ने सम्भावना बढ्नेछ? (बढ्नेछ।) यी लाभहरूको दृष्टिकोणबाट हेर्दा, मानिसहरूलाई आफ्नै क्षमता चिन्न र अन्त्यमा तिनीहरूमा कुनै क्षमता नभएको महसुस गराएर नकारात्मक बन्न दिनु वास्तवमा राम्रो कुरा हुन्छ। नत्र, जब मानिसहरूले “तिमी केही होइनौ, तैपनि कसैका अगाडि झुक्दैनौ—यो मूर्ख अहङ्कार हो!” भनेर भन्दा, तिनीहरूले त्यो छर्लङ्गै देख्न वा चिन्न सक्दै सक्दैनन्; तिनीहरूले अवज्ञा गर्छन् र अझै सोच्छन्, “मेरो क्षमता कमजोर छैन! अनि तिमी मलाई मूर्ख रूपमा अहङ्कारी भन्छौ। म मूर्खभन्दा धेरै राम्रो छु!” यसले तिनीहरू साँच्चिकै मूर्ख हुन्, तिनीहरूको बौद्धिकता अत्यन्तै न्यून छ, र तिनीहरूले आफूमा कुनै क्षमता नभएको तथ्यलाई अझ बढी स्विकार्नुपर्छ भन्ने कुरालाई अझ बढी प्रमाणित गर्छ। यो तथ्य स्विकार्नुका फाइदाहरू के-के छन्? यो तँलाई नकारात्मक बनाउनका लागि नभई आफूलाई सही तरिकाले व्यवहार गर्न र मूर्खतापूर्ण तरिकाले कार्य नगर्न मद्दत गर्नका लागि हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुने र कुनै पनि प्रकारको आत्मज्ञान नहुने भएकाले तिनीहरू अहङ्कारी हुन्छन्। तर, कतिपय मानिसहरूको अहङ्कार सामान्य अहङ्कार हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरूसँग जेल बसेको वा कष्ट सहेको पुँजी हुन्छ, तिनीहरूले मण्डलीलाई निश्चित तरिकाले योगदान गरेका हुन्छन्, वा तिनीहरूसँग त्यस्ता वरदानहरू हुन्छन्, जसले तिनीहरूलाई अरूभन्दा राम्रा बनाउँछन्; तिनीहरूसँग केही पुँजी हुनुका साथै एउटा अहङ्कार स्वभाव पनि हुने भएकाले, तिनीहरूले अहङ्कार प्रकट गर्नुलाई अझै पनि बुझ्न सकिने कुरा मान्न सकिन्छ। तर यदि तँ केही होइनस्, यदि तैँले मूलभूत रूपमा केही पनि हासिल गर्न सक्दैनस्, कुनै योगदानहरू गरेको छैनस्, र तँसित बलिया पक्षहरू त झनै छैनन्, तैपनि तँ अझै अहङ्कारी छस् भने, यसले अर्थ राख्दैन—यसमा चेतनाको कमी छ। अब यो कुरा तँलाई प्रस्ट पारिएको छ: तँसित कुनै क्षमता छैन, तँ केही पनि होइनस्, र तँसित कुनै पनि प्रकारका बलिया पक्षहरूसमेत छैनन्। तेरो दिमाग खोक्रो छ, र विचार भएका मानिसहरूसँग तुलना गर्दा, तेरो दिमागमा सारतत्त्व छैन। तँ पनि मानव नै भए पनि, तँ तिनीहरूभन्दा निकै पछि परेको छस्; परमेश्वरको विचारमा, तैँले मानव हुनुको मानक पूरा गर्दैनस्। त्यसोभए, तँ अझै के कुराबारे अहङ्कारी भइरहेको छस्? परमेश्वरका वचनको मापनअनुसार, तैँले मानव हुने मानक पूरा गर्दैनस्। परमेश्वरका नजरमा, तँलाई मानवका रूपमा व्यवहार गरिनु हुँदैन। तर परमेश्वरको अनुग्रह विशाल भएकाले परमेश्वरले तँलाई उच्च पार्नुभएको छ, चुन्नुभएको छ, मानवका रूपमा व्यवहार गर्नुभएको छ, र तँलाई परमेश्वरका घरमा कर्तव्य पूरा गर्न दिनुभएको छ। के परमेश्वरले तँलाई मानवका रूपमा व्यवहार गर्नुको उद्देश्य तैँले परमेश्वरलाई र परमेश्वरले आपूर्ति गर्नुहुने सत्यतालाई यस्तो मूर्ख रूपमा अहङ्कारी तरिकाले व्यवहार गरेको हेर्नका लागि हो? तैँले आफ्नो कर्तव्य र जीवनलाई यसरी व्यवहार गरेको हेर्नका लागि हो? होइन। परमेश्वरले तँलाई मानवका रूपमा व्यवहार गर्ने र मानवले बुझ्नुपर्ने विभिन्न सत्यताहरू बताउनुहुने हुनाले, उहाँले तँ साँचो मानव बन्न सक्छस् भन्ने आशा गर्नुहुन्छ, तँ मानवमा हुनुपर्ने विचारहरू स्विकार्न सक्छस् र मूर्ख रूपमा अहङ्कारी हुनेछैनस् भन्ने आशा गर्नुहुन्छ। त्यसकारण, नकारात्मक हुनु गलत हो—तँ नकारात्मक हुनु हुँदैन। परमेश्वरले तँलाई तेरो क्षमताका आधारमा व्यवहार वा बेवास्ता गर्नुभएको छैन, बरु तँलाई सामान्य व्यक्तिका रूपमा व्यवहार गर्नुभएको छ र यस तरिकाले प्रयोग गर्नुभएको छ, त्यसैले तँ परमेश्वरको यो अनुग्रहको लायक बन्नुपर्छ र तैँले परमेश्वरलाई निराश पार्नु हुँदैन। तँसँग जस्तो क्षमता छ र तैँले जे काम गर्न सक्छस्, त्यो काम मात्र राम्रोसँग गर्। ठूला-ठूला विचारहरू फलाक्ने कोसिस नगर्, व्यक्तिले गर्न नहुने काम नगर्, र व्यक्तिले बोक्न नहुने अत्यधिक विचार वा महत्त्वाकाङ्क्षाहरू नबोक्। व्यक्तिले गर्नुपर्ने काम गर् अनि परमेश्वरको बढाइको योग्य बन्। के यो उचित होइन र? के यसले नकारात्मक हुने समस्या समाधान गर्दैन र? (गर्छ।)
फरक-फरक क्षमता भएका मानिसहरूका विभिन्न प्रकटीकरणहरू खुट्ट्याउनु र यी विशिष्ट उदाहरणहरू दिनुको उद्देश्य तँलाई तीसँग परस्पर सम्बन्ध बनाउन मद्दत गर्नु हो। यो तैँले आफ्नो स्थानलाई सही रूपमा चिन्न, आफ्नो क्षमता र विभिन्न अवस्थाहरूलाई विवेकपूर्ण रूपमा लिन, र परमेश्वरले गर्नुभएको तेरो खुलासा, न्याय, र काटछाँट, वा तेरा लागि बन्दोबस्त गरिएको कामलाई विवेकपूर्ण रूपमा लिन सक्, र तैँले प्रतिरोध र विकर्षण देखाउनुभन्दा हृदयको गहिराइदेखि नै समर्पित र कृतज्ञ हुन सक् भन्नका लागि हो। जब मानिसहरूले आफ्नो क्षमतालाई विवेकपूर्ण रूपमा लिन र त्यसपछि आफ्नो पदलाई सही रूपमा चिन्न सक्छन्, परमेश्वरले चाहनुभएझैँ सृजित प्राणीका रूपमा व्यावहारिक तरिकाले व्यवहार गर्छन्, आफ्नो अन्तर्निहित क्षमताका आधारमा आफूले गर्नुपर्ने काम उचित रूपमा पूरा गर्छन्, साथै आफ्नो बफादारी र सारा मेहनत समर्पित गर्छन्, तब तिनीहरूले परमेश्वरलाई सन्तुष्ट तुल्याउँछन्। परमेश्वरले तँलाई यो क्षमता र यी अवस्थाहरू दिनुभएकाले, परमेश्वरले तँलाई कठिन लाग्ने कामकुरा जबरजस्ती गराउनुहुनेछैन, उहाँले माछालाई जमिनमा जिउन बाध्य पार्नुहुनेछैन। परमेश्वरले तँलाई जति दिनुभएको छ, उहाँले तँलाई त्यति मात्र अर्पण गराउनुहुन्छ। परमेश्वरले तँलाई जे दिनुभएको छैन, उहाँले त्यो अत्यधिक माग गर्नुहुनेछैन। यदि तँ निरन्तर आफूबाट अत्यन्तै उच्च मागहरू गर्छस्, बलियो व्यक्ति, अतिमानव, असाधारण व्यक्ति बन्न खोज्छस् भने, यसले तँसित एउटा भ्रष्ट स्वभाव छ भन्ने सङ्केत गर्छ—यो महत्त्वाकाङ्क्षा हो। यदि तेरो क्षमता राम्रो छ भने, तैँले बढी कामको जिम्मेवारी लिन्छस्; यदि तेरो क्षमता औसत छ भने, तैँले कम कामको मात्र जिम्मेवारी लिन सक्छस्। तैँले जस्तो कर्तव्य पूरा गर्न सक्ने भए पनि, त्यसमा आफ्नो सबथोक लगा, आफ्नो बफादारी लगा, र सिद्धान्तहरूअनुसार कार्य गर्—ठूला-ठूला विचारहरू फलाक्ने कोसिस नगर्। सधैँ तँ साधारण व्यक्ति होइनस् भनेर प्रमाणित गर्न चाहनु, सधैँ अरूले तँलाई उच्च ठानून् भन्ने चाहनु—यो गलत हो। यसले तँमा आत्म-सचेतनाको ठूलो अभाव रहेको, तँलाई आफ्नो औकात थाहा नभएको देखाउँछ। यदि तँ आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूअनुसार पछ्याइरहन्छस् भने, तेरा लागि परिणामहरू राम्रा हुनेछैनन्। त्यसकारण, कमजोर क्षमता भएका मानिसहरूले सधैँ अगुवा, टोली प्रमुख, वा सुपरिवेक्षक बन्ने आकाङ्क्षा राख्नु हुँदैन; तिनीहरूले अति उच्च लक्ष्य राख्नु हुँदैन। यदि तेरो क्षमता कमजोर छ भने, कमजोर क्षमता भएका मानिसहरूले गर्न सक्ने कामकुरा मात्र कर्तव्यनिष्ठ भएर गर्। यदि तँमा सोचहरू छैनन् र तैँले कुनै पनि काम सम्हाल्न सक्दैनस् भने, जबरजस्ती नगर्—परमेश्वरले तँलाई त्यो क्षमता दिनुभएको छैन, त्यसैले उहाँले तँबाट धेरै उच्च मागहरू गर्नुभएको छैन। जहाँसम्म सत्यता सिद्धान्तहरूको कुरा छ, तैँले जति मात्रामा बुझ्न र स्विकार्न सक्छस्, त्यति मात्रामा ती अभ्यास गर्—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। परमेश्वरले तँलाई जे दिनुभएको छ, तँ त्यति मात्रै बुझ्न सक्छस्। के तैँले यी कुराहरू आफ्नो कर्तव्यमा वा परमेश्वरले तँलाई सुम्पनुभएको आज्ञामा लागु गरेको छस्? यदि तैँले ती लागु गरेको छस् भने, तैँले आफ्नो सबथोक दिएको र बफादारी अर्पण गरेको छस्। परमेश्वर सन्तुष्ट हुनुहुनेछ, र तँ सृजित प्राणीका रूपमा मानकअनुरूपको हुनेछस्। यदि तेरो क्षमता कमजोर छ भने, परमेश्वरले तँबाट राम्रो क्षमता भएका मानिसहरूको मानकअनुसार कुनै मागहरू गर्दै गर्नुहुनेछैन। परमेश्वरले त्यसो गर्नुहुनेछैन। जसको क्षमता छैन, तिनीहरू सबैभन्दा तल्लो स्तरको क्षमताका मानिसमा पर्छन्। यदि परमेश्वरका केही विश्वासीहरूमा कुनै क्षमता छैन भने, तिनीहरूले कसरी अभ्यास गर्नुपर्छ? के तँ परमेश्वरलाई पछ्याउन चाहन्छस्? के तँ मानिससम्बन्धी सबथोकमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भनेर स्वीकार गर्छस्? के तँ तेरा लागि परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहन्छस्? यदि तँ स्विकार्न र समर्पित हुन इच्छुक छस् भने, आफ्नो हृदयलाई शान्त पार् अनि तेरा लागि परमेश्वरका सारा बन्दोबस्तहरू स्विकार्। तेरो क्षमताअनुसार, तैँले त्यस्ता केही कामहरू मात्र गर्न सक्छस्, जसका लागि शारीरिक मेहनत आवश्यक पर्छ, जुन देखिँदैनन्, जसलाई मानिसहरूले हेयको नजरले हेर्छन् र सम्झिँदैनन्—यदि तेरो परिस्थिति यस्तै छ भने, तैँले त्यो परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ र गुनासाहरू पाल्नु हुँदैन, र अझ बढी, तैँले आफ्नै इच्छाका आधारमा कर्तव्यहरू छनौट गर्नु हुँदैन। परमेश्वरको घरले तेरा लागि जे बन्दोबस्त गर्छ, त्यही गर्, र यदि त्यो तेरो क्षमताभित्रै पर्छ भने, तैँले त्यो राम्रोसँग गर्नुपर्छ। उदाहरणका लागि, यदि तँलाई सुँगुरपालनमा खटाइयो भने, तैँले तिनलाई राम्रोसँग खुवाउनुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले राम्रो सुँगुरको मासु खान पाऊन्। यदि तँलाई कुखुरापालनमा खटाइयो भने, तैँले तिनलाई राम्रोसँग खुवाउनु र व्यवस्थापन गर्नुपर्छ ताकि अण्डा पार्ने समयमा तिनले सामान्य रूपमा अण्डा पारून्, साथै तैँले तिनलाई अन्य जनावरबाट पनि जोगाउनुपर्छ, ताकि तैँले पालेका कुखुरा देख्ने सबैले ती राम्ररी पालिएका रहेछन् भनून्। यसले तँ परमेश्वरले सिर्जना गर्नुभएका सबै कुरालाई प्रिय ठान्छस्, र तैँले तिनलाई राम्रोसँग व्यवस्थापन गर्न सक्छस् भन्ने प्रमाणित गर्छ; यसले चाहे त्यो जस्तो किसिमको प्राणी वा जनावर होस्, तैँले त्यसलाई आफ्नो जिम्मेवारी र आफूले निर्वाह गर्नुपर्ने कर्तव्यका रूपमा लिएर प्रिय ठान्न र राम्रोसँग व्यवस्थापन गर्न सक्छस् भन्ने प्रमाणित गर्छ। तैँले अरू काम गर्न नसक्ने, मण्डलीका काममा प्रमुख र निर्णायक भूमिका खेल्न नसक्ने, र तैँले उल्लेखनीय योगदानहरू नगरेको भए पनि, यदि तैँले कुनै मामुली काममा आफ्नो पूरै मेहनत र बफादारी लगाउन सकिस् र परमेश्वरलाई सन्तुष्ट तुल्याउन मात्र खोजिस् भने, त्यो नै काफी हुन्छ। यो परमेश्वरले गर्नुभएको तेरो बढाइलाई खेर नफाल्नु हो। काम फोहोर वा थकाइलाग्दो पो छ कि, तैँले ती काम गर्दा अरूले देख्ने हुन् कि, ती काम गरेकोमा मानिसहरूले तँलाई प्रशंसा गर्नेछन् कि हेयका नजरले हेर्नेछन् भन्ने आधारमा काम रोज्न नखोज्। यी कुराहरूबारे नसोच्; खालि त्यो परमेश्वरबाट आएको भनी स्विकार्न, समर्पित हुन, र आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नतिर लाग्। क्षमता नभएका मानिसहरूका प्रकटीकरणहरूबारे सङ्गति गर्दा, मैले तँ मूर्ख, बेकामे व्यक्ति होस्, र तँ मानसिक रूपमा कमजोर छस् भनेर भनुँला। तर, यदि तैँले आफूलाई सुम्पिएको कामको जिम्मेवारी लिन सक्छस्, र अन्त्यमा परमेश्वरले गर्नुभएको तेरो बढाइ वा परमेश्वरले प्रदान गर्नुभएको तेरो जीवनको सासलाई निराश पार्दैनस्, तँ व्यर्थमा जिउँदैनस् वा खाँदैनस्, परमेश्वरले मानवजातिका लागि आपूर्ति गर्नुहुने कुनै पनि भौतिक कुराहरू तैँले व्यर्थमा उपभोग गर्दैनस्, र तँ परमेश्वरको मुखबाट निस्केका वचनहरूअनुरूपको हुनबाट चुक्दैनस् भने, त्यो नै पर्याप्त हो। क्षमताका हिसाबले तँ पूर्ण व्यक्ति हुने खालको नभए पनि, यदि तैँले यो बफादारी र इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्न सक्छस् र आफ्नो काम गर्न सक्छस् भने, कम्तीमा, परमेश्वरको हृदयमा, तँ सृजित प्राणीका रूपमा मानकअनुरूपको छस्। परमेश्वरले चाहनुहुने भनेकै यो बफादारी र इमानदारी हो; उहाँ त्यस्तो सृजित प्राणी चाहनुहुन्छ, जो मानकअनुरूप होस्। परमेश्वरको घरले तेरा लागि जस्तो कर्तव्य बन्दोबस्त गरे पनि, तैँले त्यो परमेश्वरबाट आएको भनी स्विकार्छस्, अनि स्विकार्न र समर्पित हुन सक्छस्। यो नै सबैभन्दा मूल्यवान् कुरा हो। यदि तैँले परमेश्वरले तँबाट जे माग गर्नुहुन्छ त्यो गरेको छस्, र आफूले सक्ने सबै कुरा अर्पण गरेको छस् भने, के परमेश्वरले अझै पनि तँबाट उच्च मागहरू गर्नुहुनेछ? यदि तेरो इमानदारी र बफादारी परमेश्वरका नजरमा मूल्यवान् देखिन्छन् भने, तेरो जीवनको मूल्य छ। के यो बुझाइ राम्रो छ? (छ।)
कतिपय मानिसहरू भन्छन्: “मलाई अझै पनि म त्यो बुझ्दिनँ जस्तो लाग्छ। परमेश्वर किन मानिसहरूमा सबै प्रकारका क्षमताहरू हुने पूर्वनियोजन गर्नुहुन्छ? परमेश्वर मानिसहरूले उहाँका लागि गवाही दिऊन्, सत्यता अभ्यास गरून्, र आफ्ना भ्रष्ट स्वभावहरू फालून् भन्ने चाहनुहुने हुनाले, उहाँले मानिसहरूलाई राम्रो क्षमता दिन किन सक्नुहुन्न? के मानिसहरूलाई राम्रो क्षमता दिन परमेश्वरलाई अत्यन्तै गाह्रो पर्छ र? यदि परमेश्वरले मानिसहरूलाई सबै क्षेत्रका सामर्थ्यहरू—संज्ञानात्मक सामर्थ्य, तजबिज गर्ने सामर्थ्य, कामकुराको परख गर्ने सामर्थ्य, परिस्थितिलाई सम्बोधन गर्ने सामर्थ्य, निर्णय गर्ने सामर्थ्य, नवप्रवर्तनको सामर्थ्य, र अझ बढी, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य राख्ने तुल्याउनुभएको भए—मानिसहरूलाई सबै क्षेत्रका सामर्थ्यहरू दिनुभएको भए, के मानिसहरूको क्षमता राम्रो हुनेथिएन र? उहाँले मानिसहरूलाई औसत क्षमता नै दिनुभएको भए पनि, के तिनीहरू सत्यतालाई औसत तहमा बुझ्न सक्षम हुनेथिएनन् र? यदि मानिसहरूले सत्यता बुझ्न सक्छन् भने, के तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुनेथिएनन् र? अनि के तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू फालेर मुक्ति हासिल गर्न सक्षम हुनेथिएनन् र?” मानिसहरूले यी विचारहरू राख्नुमा के समस्या छ? मानिसहरू परमेश्वरले किन तिनीहरूलाई यति औसत क्षमता दिनुहुन्छ भन्ने बुझ्दैनन्। राम्रो क्षमता भएका अगुवाहरू भेट्टाउन कठिन छ, र मण्डलीको काम राम्रोसँग गर्न अत्यन्तै गाह्रो छ। मानिसहरू सोच्छन्, “यदि परमेश्वरले मानिसहरूलाई राम्रो क्षमता दिनुभएको भए, के अगुवाहरू भेट्टाउन सजिलो हुनेथिएन र? के मण्डलीको काम गर्न सजिलो हुनेथिएन र? परमेश्वरले मानिसहरूलाई राम्रो क्षमता किन दिनुहुन्न?” त्यसलाई परमेश्वरको घरको समग्र कामको दृष्टिकोणबाट हेर्दा, अवश्य पनि, यदि राम्रो क्षमता भएका मानिसहरू अझ धेरै भएका भए, मण्डलीको काम वास्तवमै सजिलो हुनेथियो। तर, एउटा आधार हुन्छ: परमेश्वरका घरमा, परमेश्वर आफ्नै काम गरिरहनुभएको हुन्छ, र मानिसहरूले निर्णायक भूमिका खेल्दैनन्। त्यसकारण, मानिसहरूको क्षमता राम्रो, औसत, वा कमजोर छ भन्ने कुराले परमेश्वरको कामका नतिजाहरू निर्धारण गर्दैन। हासिल गर्नुपर्ने अन्तिम नतिजाहरू परमेश्वरले पूरा गर्नुहुन्छ। सबथोकको अगुवाइ परमेश्वरले नै गर्नुहुन्छ; सबथोक पवित्र आत्माको काम हो। परमेश्वरको कामको दृष्टिकोणबाट, यो मामलालाई यसरी व्याख्या गरिनुपर्छ—यो एउटा कारण हो। अर्को कारण पनि छ: शैतानद्वारा भ्रष्ट पारिएपछि, मानिसहरूले शैतानका भ्रष्ट स्वभावहरूलाई आफ्नो जीवनको सारका रूपमा बोकेका हुन्छन्; अर्थात्, तिनीहरू सबै आफ्ना भ्रष्ट स्वभावअनुसार जिउँछन्, र तिनीहरूको जीवन तिनीहरूका भ्रष्ट स्वभावहरूद्वारा शासित हुन्छ। यसको साथै, यदि कुनै व्यक्तिले राम्रो वा असाधारण क्षमता राख्छ, र सबै क्षेत्रमा उसका सामर्थ्यहरू पूर्ण, सिद्ध र खोटरहित छन् भने, यसले उसका भ्रष्ट स्वभावहरूलाई बढावा दिनेछ। यसले उसका भ्रष्ट स्वभावहरूको असीमित रूपमा बढोत्तरी गर्नेछ, तिनलाई अनियन्त्रित बनाउनेछ, र त्यस व्यक्तिलाई अझ बढी अहङ्कारी, हठी, छली, र दुष्ट बनाउनेछ। उसले सत्यता स्विकार्नुको कठिनाइ बढ्नेछ, र उसका भ्रष्ट स्वभावहरू समाधान गर्ने कुनै उपाय हुनेछैन। यो अर्को कारण हो। यसका साथै, परमेश्वरले मानिसहरूलाई त्यस्तो क्षमता दिनुहुन्छ, किनभने परमेश्वरले जुन मानवजातिलाई मुक्ति दिन चाहनुहुन्छ, त्यो अन्तर्निहित रूपमा अपूर्ण मानवजाति हो, जोसँग सबै पक्षहरूमा औसत र त्रुटिपूर्ण सामर्थ्यहरू हुन्छन्। यसबाहेक, परमेश्वरका वचनहरू र सत्यता जान्ने काम विभिन्न सामर्थ्य प्रयोग गरेर मात्र हासिल हुँदैन; त्यसका लागि एउटा प्रक्रिया आवश्यक पर्छ। यो प्रक्रियामा के-के पर्छन्? यसमा वातावरणमा आउने परिवर्तन, व्यक्तिको उमेर वृद्धि, जीवन अनुभव र ज्ञानको वृद्धि, र विभिन्न वातावरणहरूमार्फत प्राप्त भएको अनुभव पर्छन्, जसले मानिसहरूलाई तिनीहरूको अन्तर्निहित क्षमता र जन्मजात प्रवृत्तिहरूका आधारमा, परमेश्वरका वचनहरूमा भएको सत्यताले वास्तवमा के जनाउँछ भनी क्रमिक रूपमा बुझ्ने र जान्ने तुल्याउँछन्; त्यसपछि, तिनीहरूले परमेश्वरका वचनहरू स्विकार्छन् र अभ्यास गर्छन्। त्यस्तो प्रक्रियामार्फत, परमेश्वरका वचनहरूमा भएको सत्यतालाई कुनै व्यक्तिमा ढालेर त्यसलाई उसको जीवन बनाइन्छ—त्यो जियाइको सिद्धान्त वा जियाइको दर्शन र माध्यम बन्दैन; बरु, परमेश्वरका वचनहरू उसको अस्तित्वका जग बन्छन्। त्यस्तो व्यक्ति नयाँ व्यक्ति, भर्खरै जन्मिएको जीवन हो। यो अत्यावश्यक प्रक्रिया हो। सबै पक्षमा तेरा क्षमता र सामर्थ्यहरू अत्यन्तै राम्रा र उच्च भए पनि, यी प्रक्रियाहरूलाई छुटाउन मिल्दैन। एक सृजित मानवका रूपमा, परमेश्वरका वचनहरूलाई अन्ततः तेरो जीवनमा रूपान्तरित गर्दा, अनुभव गर्नैपर्ने पूरै प्रक्रियाको कुनै पनि चरणलाई कसैले पनि छोड्न मिल्दैन। अर्थात्, सबैले परमेश्वरप्रति धारणा, कल्पना, प्रतिरोध, विरोध, र विद्रोह विकास गर्नेछन्। तिनीहरू सबैले झटका, असफलता, ठेस, बर्खासी, काटछाँट, न्याय, र सजाय भोग्नेछन्, विभिन्न वातावरणहरू अनुभव गर्नेछन्, विभिन्न प्रकारका मानिसहरू र त्यस्तै अन्य प्रक्रियाहरू सामना गर्नेछन्। चाहे तेरो क्षमता जति राम्रो वा उच्च होस्, अथवा सबै पक्षमा तेरा सामर्थ्यहरू जति बलिया होऊन्, यी प्रक्रिया वा चरणहरूमध्ये कुनैलाई पनि छोड्न मिल्दैन। त्यसकारण, यदि परमेश्वरले तँलाई अति नै उच्च क्षमता र सामर्थ्यहरू दिने हो भने पनि, त्यो अझै पनि खेर जानेथ्यो। तँ साधारण, औसत व्यक्ति बन्नु नै उत्तम हुन्छ। तेरो मानवतामा केही खोटहरू हुन सक्लान्, तर तैँले परमेश्वरको काम अनुभव गर्न, परमेश्वरका वचनहरू सुनेपछि ती बुझ्न, र आफ्ना कमजोरी र खोटहरू चिन्न सक्छस्। यसरी, पहिलो कुरा, तैँले प्राप्त गर्ने कुरा बढी व्यावहारिक हुन्छ, र तैँले परमेश्वरबाट बढी प्राप्त गर्छस्; अर्को कुरा, तैँले आफ्ना प्राकृतिक सामर्थ्यहरू अझ सही रूपमा चिन्छस्, र तँ अझ बढी विवेकी बन्छस्। त्यसैले परमेश्वरले सबैलाई राम्रो क्षमता दिने अभिप्राय राख्नुहुन्न—उहाँले मानिसहरूलाई औसत क्षमता दिनुहुन्छ।