सत्यता कसरी पछ्याउने (७) भाग चार

समग्र रूपमा मानिसहरूको क्षमताको मूल्याङ्कन कसरी गर्ने

हामीले अब व्यक्तिको क्षमताको मूल्याङ्कन गर्ने एघार वटा सामर्थ्यमध्ये अन्तिम सामर्थ्य अर्थात् नवप्रवर्तनको सामर्थ्यबारे छलफल सिद्ध्याएका छौँ। यी एघार वटा सामर्थ्यमा सङ्गति गरेपछि, के तिमीहरू आफ्नो क्षमताबारे धेरथोर प्रस्ट भएका छौ? (छौँ।) त्यसोभए, के तिमीहरू त्यसको मूल्याङ्कन गर्न सक्षम छौ? के तिमीहरू साँच्चिकै आफ्नो क्षमता के हो भनी सही रूपमा मूल्याङ्कन गर्न सक्छौ? तेरो आफ्नो क्षमता राम्रो, औसत, वा कमजोर छ, वा छँदै छैन भनी निर्धारण गर्ने सम्बन्धी मापनको एउटा मानक हुन्छ—तैँले एउटै मात्र पक्ष हेर्नु हुँदैन; त्यसको समग्र रूपमा मूल्याङ्कन गर्न जरुरी हुन्छ। त्यसोभए, कुनै व्यक्तिको क्षमता के हो भनी मूल्याङ्कन गर्नका लागि कुन-कुन पक्षहरू हेरिनुपर्छ? हामीले सङ्गति गरेका एघार वटा सामर्थ्यका प्रकटीकरणहरूलाई हेर्दा, कुनै व्यक्तिमा राम्रो क्षमता छ भनी मूल्याङ्कन गर्नका लागि, कम्तीमा पनि, उसमा केही तुलनात्मक रूपले महत्त्वपूर्ण सामर्थ्य हुनैपर्छ। एकछिन विचार गर्: एघार वटा सामर्थ्यहरूमध्ये कुनै व्यक्तिमा राम्रो क्षमता छ भनी देखाउन सक्ने मुख्य सामर्थ्यहरू कुन-कुन हुन्? के तँ यसलाई मापन गर्न सक्छस्? यसको क्रम अन्तिम सामर्थ्यबाट पहिलो सामर्थ्यतर्फ अघि बढ्नुपर्छ: राम्रो क्षमता भएको व्यक्तिमा कम्तीमा नवप्रवर्तनको सामर्थ्य हुनैपर्छ; अर्को भनेको कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य, निर्णय गर्ने सामर्थ्य, र परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य हो; त्यसपछि आउँछ कामकुराको परख गर्ने सामर्थ्य, तजबिज गर्ने सामर्थ्य, र संज्ञानात्मक सामर्थ्य; अन्त्यमा आउँछ कामकुरा स्विकार्ने सामर्थ्य, बोध सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, र सिक्ने सामर्थ्य। क्रम यस्तो छ। क्रमलाई किन उल्टो पारिएको हो? हामीले सुरुमा मिलाएको क्रम निम्नदेखि उच्च थियो, तर कुनै व्यक्तिमा राम्रो क्षमता छ कि छैन भनी मूल्याङ्कन गर्नका लागि, त्यसलाई उच्चदेखि निम्न गरेर मिलाइएको हो। राम्रो क्षमता भएको व्यक्तिमा कम्तीमा नवप्रवर्तनको सामर्थ्य हुनैपर्छ। यसमा पहिले नै निर्णय गर्ने सामर्थ्य, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य, र कामकुराको परख गर्ने सामर्थ्य भएको आधारमा पुगिन्छ। यदि तँ कामकुराबारे संज्ञान राख्न, तिनको परख र तजबिज गर्न सक्षम छस्, साथै तँ कामकुरा बुझ्ने सामर्थ्य पनि राख्छस्, र त्यसपछि नवप्रवर्तन गर्न सक्छस् भने, त्यसले तँलाई राम्रो क्षमता भएको व्यक्ति बनाउँछ। त्यस्ता मानिसहरू नेतृत्व सामर्थ्य भएका, निर्णय गर्ने तहमा प्रवेश गर्न सक्षम मानिस हुन्; तिनीहरू अगुवा बन्‍नमा प्रतिभाशाली हुन्छन्, र कुनै निश्चित कार्यक्षेत्रको जिम्मा सम्हाल्न सक्छन्। यिनीहरू राम्रो क्षमता भएका मानिस हुन्। औसत क्षमता भएका मानिसहरू ती हुन्, जसको नवप्रवर्तनको सामर्थ्यदेखि सिक्ने सामर्थ्यसम्मका सबै पक्षमा औसत सामर्थ्य हुन्छ। कामकुरा गर्नमा तिनीहरूका दक्षता र नतिजाहरू दुइटै औसत हुन्छन्। यिनीहरू औसत क्षमता भएका मानिस हुन्। औसत क्षमता भएका मानिसहरूको प्रमुख प्रकटीकरण के हो? त्यो के हो भने, सिद्धान्तहरूसम्बन्धी तिनीहरूको बोध र बुझाइमा गहनता हुँदैन र ती खासै सटीक हुँदैनन्। कार्यान्वयन र अभ्यास गर्दा सधैँ छिद्र र विचलनहरू हुन्छन्। तिनीहरू सधैँ केही न केही छुटाइरहेका हुन्छन्, कहिले यो त कहिले त्यो बिर्सन्छन्, र सबै कुरालाई समग्र रूपमा ध्यान दिन सक्दैनन्। उदाहरणका लागि, तिनीहरू मण्डली अगुवाका रूपमा चुनिन्छन् तर समग्र रूपमा कामका सबै पक्षहरूको जिम्मेवारी लिन सक्दैनन्। तिनीहरू सुसमाचारको कामका लागि जिम्मेवार हुँदा सुसमाचारको काममा मात्र केन्द्रित हुन्छन् र अन्य काममा ध्यान पुर्‍याउन सक्दैनन्। तिनीहरूले सुसमाचारको काम चलायमान राख्लान् तर तिनीहरूसँग लेखन-पठनको काम वा चलचित्र निर्माणको कामबारे प्रश्न सोध्ने समय नै हुँदैन। यस्तो किन हुन्छ? किनभने तिनीहरूको क्षमता पूर्णतया औसत हुन्छ र तिनीहरूले कामको एउटा पक्ष मात्र सम्हाल्न सक्छन्; तिनीहरू मुस्किलले एउटा कार्यक्षेत्रमा योग्य हुन सक्छन्, तर जब तिनीहरूलाई अन्य काममा पनि ध्यान पुर्‍याउन भनिन्छ, तब तिनीहरूले चर्को रूपमा गुनासो गर्न थाल्छन् र अत्यधिक दबाबमा पर्छन्, जसका कारण कुनै पनि काम राम्रोसँग गर्न सक्दैनन्। तिनीहरूको काममा सधैँ कसैले सुपरिवेक्षण गर्नुपर्ने, सम्झाइदिनुपर्ने, निरीक्षण र जाँच गर्नुपर्ने हुन्छ। तिनीहरूका छेउमा सधैँ कोही हुनैपर्छ जसले तिनीहरूलाई साथ देओस्, सत्यता सङ्गति गरोस्, कामका सिद्धान्तहरू र सम्भावित विचलन र छिद्रहरूलाई बारम्बार जोड देओस्। तिनीहरूलाई सधैँ कसैले सम्झाइरहनुपर्छ। तिनीहरूलाई किन सधैँ कसैले सम्झाउनु र निर्देशनहरू दिनुपर्छ? त्यो तिनीहरूको कार्य अनुभव पर्याप्त नभएकाले नभई तिनीहरूको क्षमता औसत भएकाले हो। तिनीहरूले उत्पन्‍न हुने सम्भावना भएका परिस्थिति र समस्याहरूको पूर्वानुमान गर्न सक्दैनन्, वा तिनीहरूले पूर्वानुमान गर्न सक्ने कुरा निकै सीमित हुन्छ। त्यसकारण, तिनीहरूलाई मार्गदर्शन, जाँच, र अनुगमन गर्न छेउमा सधैँ कोही हुनैपर्छ, जसले बारम्बार तिनीहरूको कामको प्रगतिबारे सोध्नुपर्ने हुन्छ। कामको प्रगतिबारे सोध्दा, तिनीहरूले कि त एउटा काम गरेकै हुँदैनन्, कि अर्को काम बिर्सेका हुन्छन्; नत्र, तिनीहरूले कुनै पक्षलाई बेवास्ता गरेका हुन्छन् वा तिनीहरूलाई कसरी अगाडि बढ्ने भन्‍ने थाहा हुँदैन, तैपनि तिनीहरू अझै पनि कसलाई सोध्ने वा कसरी खोज्ने भन्‍ने जान्दैनन्, र अझै पर्खिरहेका हुन्छन्। छोटकरीमा भन्‍नुपर्दा, कामका लागि योग्य हुने तिनीहरूको सामर्थ्य धेरै औसत हुन्छ। यो “औसत” को तिनीहरूसँग कति सङ्कल्प छ, तिनीहरू कति बलिया छन्, काम गर्न कति मन पराउँछन्, वा कति कठिनाइ सहन र मूल्य तिर्न सक्छन् भन्‍नेसित कुनै सम्बन्ध हुँदैन—यीसँग त्यसको कुनै सम्बन्ध हुँदैन। बरु, यसले तिनीहरूको कार्य सक्षमता औसत हुनुलाई मात्र जनाउँछ। अर्कोतिर, राम्रो क्षमता भएका मानिसहरूले मूलतः आफ्नो काममा ठूला गल्तीहरू गर्दैनन्। तिनीहरूले पालना गर्ने सिद्धान्त, दिशा, र वृहत् कार्यविधि मूलतः सही हुन्छन्। तिनीहरूले अक्सर सानातिना विवरणहरू छुटाउन सक्ने भए पनि, यी विवरणहरूले समग्र कामका प्रभावकारिता र नतिजाहरूलाई असर गर्दैनन्। यिनीहरू राम्रो क्षमता भएका मानिस हुन्। कुनै पनि मानव सिद्ध त अवश्यै हुँदैन। राम्रो क्षमता भएका मानिसहरूको काममा पनि सानातिना छिद्रहरू हुन सक्छन्, तिनीहरूले कहिलेकाहीँ क्षणिक रूपमा केही कुरा छुटाउँछन्, वा हालसालै अर्को काममा व्यस्त भएका कारणले कुनै एउटा कामलाई थोरै बेवास्ता गर्छन्। तर, तिनीहरूको क्षमताका हिसाबले मात्र भन्‍ने हो भने, तिनीहरूले झट्टै परिस्थितिलाई उल्टाएर त्यसलाई व्यवस्थापन र नियन्त्रण गर्न सक्छन्, जसले गर्दा समग्र काम सारगत रूपमा त्रुटिरहित हुने, र समग्र काम सामान्यतः सत्यता सिद्धान्तहरू, कार्य बन्दोबस्तहरू, वा प्रशासनिक आदेशका प्रबन्धहरूसँग मेल खाने गरी व्यवस्थित तरिकाले अघि बढ्ने सुनिश्चित हुन्छ। ख्रीष्टविरोधी वा दुष्ट मानिसहरूले तिनीहरूको कामको दायराभित्र बाधाहरू निम्त्याउँदा पनि, तिनीहरूमा परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य हुने भएकाले, तिनीहरूले परिस्थितिलाई झट्टै सम्हाल्नेछन्। तिनीहरूले अवसर पाउनेबित्तिकै उक्त मामलालाई सम्हाल्नेछन् र हल गर्नेछन्, जसले गर्दा मण्डलीको काम चाँडै सही बाटोमा आउने र दाजुभाइ-दिदीबहिनीहरूका लागि आफ्नो कर्तव्य निर्वाह गर्ने वातावरण प्रभावित नहुने सुनिश्चित हुन्छ। अनपेक्षित परिस्थितिहरू उत्पन्‍न हुँदा पनि, राम्रो क्षमता भएका मानिसहरूले तिनलाई सम्हाल्न जानेका हुन्छन्। तिनीहरूले पहिले त्यस्ता परिस्थितिहरू नसम्हालेका भए पनि, सिद्धान्तहरू खोज्न जानेका हुनेछन्। तिनीहरूसँग कामकुरा परख गर्ने, तजबिज गर्ने, र तिनका बारेमा संज्ञान राख्ने सामर्थ्य हुने भएकाले, तिनीहरूले तुरुन्तै समस्याहरूलाई सिद्धान्तहरूअनुसार समाधान गर्नेछन्। तिनीहरूसँग समस्याहरू समाधान गर्ने सामर्थ्य अवश्यै हुन्छ। कामकुराको परख गर्ने, परिस्थितिहरूलाई सम्बोधन गर्ने, र तजबिज गर्ने तिनीहरूका सामर्थ्यहरूले तिनीहरूलाई अनपेक्षित परिस्थितिहरूलाई छिट्टै साम्य र शान्त पार्न सक्षम तुल्याउँछन्, जसले गर्दा मण्डलीको कामको सामान्य र व्यवस्थित प्रगतिको र परमेश्‍वरका घरका हितहरूको रक्षा हुन्छ, जसले त्यस्ता परिस्थितिहरू नदोहोरिने वा लामो समयसम्म असाम्य नरहने सुनिश्चित गर्छ। सँगसँगै, तिनीहरूले कामकुरा सम्हाल्दा प्रयोग गर्ने सिद्धान्तहरू र हासिल गर्ने अन्तिम नतिजाहरू दुवैले परमेश्‍वरका घरका हितहरूको रक्षा गर्नमा टेवा पुर्‍याउँछन्। उच्च प्रभावकारिता र राम्रा नतिजा नै राम्रो क्षमता भएका मानिसहरूले आफ्नो काममा हासिल गर्न सक्ने कुराहरू हुन्। तर, जब औसत क्षमता भएका मानिसहरूले मण्डलीको काम वा दैनिक जीवनमा आइपर्ने समस्याहरू सम्हाल्छन्, तब तिनीहरू अलि दबाबमा पर्छन् र तिनीहरूलाई त्यो अलि कठिन लाग्छ। तिनीहरूले समस्याहरू सम्हाल्ने तरिका प्रायः अप्रभावकारी र निकै सुस्त हुन्छ। जुन समस्याहरू एक वा दुई दिनमा समाधान गर्नुपर्ने हो, तिनीहरूले ती छर्लङ्गै देख्न नसक्ने भएकाले, तिनीहरूले प्रतीक्षा गर्नुपर्ने हुन सक्छ, र तीनदेखि पाँच दिनसम्म मनन गर्नुपर्ने हुन सक्छ। तिनीहरू परिस्थितिलाई उल्टाउनका लागि निर्णायक निर्णय गर्न सक्दैनन् बरु असहाय हुन्छन्, र परिस्थितिलाई निरन्तर बिग्रन दिन मात्र सक्छन्। तिनीहरूले तथ्यहरू पुष्टि गर्ने, परिस्थितिबारे सम्बन्धित मानिसहरूलाई सोध्ने, वा समस्याहरू वर्गीकरण गर्ने र माथिल्लो तहमा तिनको रिपोर्ट गर्ने जस्ता केही सामान्य कार्यहरू मात्र सम्हाल्न सक्छन्। अरूले दुई दिनमा समाधान गर्न सक्ने समस्याहरू समाधान गर्न तिनीहरूलाई आधा महिना लाग्न सक्छ। समस्याहरू अन्ततः समाधान भए पनि, लामो ढिलाइले मण्डलीको काममा केही क्षति पुर्‍याउँछ। यो समयमा, कतिपय मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्न सक्छन्, भेटीहरू हराउन सक्छन्, वा समस्याहरू तत्काल समाधान नगरिएकाले निश्चित कामहरूले क्षति बेहोर्न सक्छन्। त्यसपछि क्षतिपूर्ति वा राहत प्रदान गरिने, र तह लगाइनुपर्ने मानिसहरूलाई अन्त्यमा तह लगाइए पनि, नतिजा र दक्षता निकै औसत हुन्छन्। यो आगो निभाउने काम जस्तै हो: राम्रो क्षमता भएका मानिसहरूमा आगो निभाउने कला हुन्छ, जसले राम्रा नतिजाहरू दिन्छन् र आर्थिक क्षतिबाट जोगाउँछन्। तर, औसत क्षमता भएका मानिसहरूले अनुचित विधिहरू अपनाउने, आपत्‌कालीन उपाय नहुने, सुस्त तरिकाले कार्य गर्ने, अनि तिनीहरूसँग समस्या समाधान गर्नका लागि निर्णायक निर्णयहरू गर्ने र मुख्य कुराहरू बुझ्ने सामर्थ्य नहुने हुनाले, उनीहरू अझ ठूला क्षतिहरू निम्त्याउँछन्। कतिपय मानिसहरू “म आफूले पुर्‍याएका क्षतिहरूका लागि क्षतिपूर्ति प्रदान गर्न इच्छुक छु” भन्छन्। यदि त्यो आर्थिक क्षति मात्र हो भने, क्षतिपूर्तिले समस्या हल हुन सक्छ। तर यदि ठूलो रातो अजिङ्गरको पक्राउको सामना गर्दा तैँले त्यसलाई उचित रूपमा सम्हाल्न सकिनस्, जसले गर्दा मण्डलीको काममा क्षति पुग्यो भने, के तैँले त्यसको क्षतिपूर्ति तिर्न सक्छस्? के तैँले ढिलो भएको काम र गुमेको समयको क्षतिपूर्ति तिर्न सक्छस्? अनपेक्षित घटनाहरू आइपर्दा, औसत क्षमता भएका मानिसहरूको परिस्थितिहरूलाई सम्बोधन गर्ने, तजबिज गर्ने, कामकुराको परख गर्ने, र निर्णय गर्ने सामर्थ्य समेत सबै औसत हुने भएकाले, तिनीहरूले समस्याहरू सुस्त रूपमा र अत्यन्तै कम दक्षता साथ सम्हाल्छन्, र तिनीहरूका आपत्‌कालीन उपायहरू अप्रभावकारी हुन्छन्, जसको फलस्वरूप अन्त्यमा कामका नतिजाहरू असन्तोषजनक हुन्छन् र केही क्षति पुग्छ। समस्याहरू अन्ततः समाधान भए पनि, लामो समय ढिलाइ हुने र दक्षता घट्ने हुनाले, यसलाई क्षति नै मानिन्छ। त्यसकारण, यी मानिसहरूलाई औसत क्षमता भएको भनी चित्रण गरिन्छ। कतिपय मानिसहरू भन्छन्, “त्यो न्यायोचित होइन। तिनीहरूले पनि मेहनत लगाएका छन्, कडा परिश्रम गरेका छन्, र समस्याहरू समाधान गरेका छन्। तपाईँले अझै पनि तिनीहरूको क्षमता औसत छ भनेर कसरी भन्‍न सक्नुहुन्छ?” त्यस्ता मामलाहरूलाई भावना वा संवेगमा आधारित भएर मूल्याङ्कन गर्न मिल्दैन। वस्तुगत र न्यायोचित रूपमा, साथै कुनै व्यक्तिको क्षमताले हासिल गर्न सक्ने स्तरको हिसाबले भन्‍नुपर्दा, तेरो क्षमता औसत नै हो। त्यो किन औसत हो? किनभने तेरोभन्दा उच्च क्षमता भएका मानिसहरू छन्; तिनीहरूको मानवता लगभग तेरो जस्तै भएको परिस्थितिमा, राम्रो क्षमता भएका मानिसहरूले तेरोभन्दा राम्रो दक्षता र नतिजाका साथ समस्याहरू सम्हाल्छन्, र क्षतिहरू तेरोभन्दा साना हुन्छन्। त्यसकारण, तेरो क्षमतालाई औसतका रूपमा मात्र वर्गीकृत गर्न सकिन्छ। बुझिस्? (बुझेँ।) त्यस्ता मानिसहरूलाई औसत क्षमता भएको भनेर चित्रण गर्नुको कारण के हो भने, आफ्ना कार्यहरूमा तिनीहरूले भन्दा राम्रा दक्षता र नतिजाहरू हासिल गर्ने राम्रो क्षमता भएका मानिसहरू हुन्छन्। त्यसकारण, तिनीहरूको क्षमता औसत नै हो। यो व्याख्या न्यायोचित र मनासिब छ। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूमा इमानदारी छ, र तिनीहरूले यो कार्यमा मन लगाएका छन्; तिनीहरूले धेरै कठिनाइ सहेका छन् र तिनीहरूले सानो मूल्य चुकाएको होइन।” त्यसो भन्‍नुको के काम? के त्यसको अर्थ तिनीहरूमा राम्रो क्षमता छ भन्‍ने हो? तिनीहरूका मानवता, भावना, वा इच्छाहरू जस्तोसुकै भए पनि, तिनीहरूको क्षमताका हिसाबले मात्र भन्‍ने हो भने, यी औसत क्षमता हुनुका प्रकटीकरणहरू हुन्।

कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? विभिन्‍न क्षमताहरूका दृष्टिकोणबाट हेर्दा, कमजोर क्षमता भएका मानिसहरूले तुलनात्मक रूपमा केही सिक्ने क्षमता र कामकुरा बुझ्ने क्षमता राख्छन्। जब तिनीहरूले निश्चित ज्ञान, मत, व्यावसायिक सीप, वा शैक्षिक विषयहरू सिक्छन्, तब तिनीहरूले तिनलाई मजबुत र सटीक रूपमा सम्झन सक्छन्, र मुख्य बुँदाहरू आफ्नो नोटबुकमा टिप्छन्। तिनीहरूले शिक्षा प्राप्त गरेका हुनाले, तिनीहरूको कामकुरा बुझ्ने सामर्थ्य ज्यादै कमजोर हुँदैन; त्यो औसत स्तरमा पुग्न सक्छ। तर, तिनीहरूमा कामकुरा स्विकार्ने सामर्थ्य र कामकुराको परख गर्ने सामर्थ्यजस्ता बोध सामर्थ्यपछि आउने सामर्थ्यहरू हुँदैनन्। भन्‍नुको मतलब, तिनीहरूको सामर्थ्य मत, ज्ञान, प्राविधिक सीप, वा व्यवसायहरूलाई पाठ्य स्तरमा सिक्न र बुझ्नमै सीमित रहन्छ। वास्तविक जीवनमा मानिसहरूलाई हेर्ने, मामलाहरू सम्हाल्ने, समस्याहरू समाधान गर्ने, र कार्य बन्दोबस्तहरू कार्यान्वयन गर्ने सम्बन्धमा तिनीहरू पछि पर्छन्। तिनीहरूको सामर्थ्य सिक्ने सामर्थ्य र कामकुरा बुझ्ने सामर्थ्यमा नै सीमित रहन्छ; तिनीहरूले बोध सामर्थ्य हासिल गर्न सक्छन्, तर तिनीहरू कामकुरा स्विकार्ने सामर्थ्यमा पछि पर्छन्। कामकुरा स्विकार्ने सामर्थ्य राख्ने मानिसहरूले यी सिद्धान्तहरू, मतहरू, र आधारभूत तत्त्वहरू वास्तविक जीवनका कुन कुराहरूसँग मेल खान्छन्, साथै कुन-कुन व्यावहारिक र लागु गर्न मिल्ने छन्, कुन-कुन व्यावहारिक छैनन्, र आफ्ना लागि कुन-कुन उपयुक्त छन् र कुन-कुन उपयुक्त छैनन् भनेर थाहा पाउन सक्छन्। तर, कमजोर क्षमता भएका मानिसहरूले यी कुराहरू छर्लङ्गै देख्न सक्दैनन्। उदाहरणका लागि, अनलाइनमा विभिन्‍न स्वास्थ्यसम्बन्धी ज्ञान र सुगठन तालिमसम्बन्धी सामग्रीहरू उपलब्ध छन्। कमजोर क्षमता भएका मानिसहरूले पनि यी स्रोतहरूबाट व्यायाम गर्ने र आफ्नो हेरचाह गर्ने तरिकाहरू सिक्न सक्छन्। तिनीहरूले सिक्ने सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, र बोध सामर्थ्य राख्छन्, र तिनीहरू आफूलाई मन पर्ने चीज खोज्न पनि जान्दछन्। तर, यीमध्ये कुन कुराहरू व्यावहारिक, प्रभावकारी, र मानिसहरूलाई साँच्चिकै चाहिने हुन् भन्‍ने सम्बन्धमा, कमजोर क्षमता भएका मानिसहरूले यो कुरा पहिचान गर्न सक्दैनन्। तिनीहरू कामकुरा स्विकार्ने सामर्थ्यमा पछि पर्छन्। आज अनलाइनमा तोफुसँग उमालेको पालुङ्गो अत्यन्त पौष्टिक हुन्छ भनेर लेखिएको छ, त्यसैले तिनीहरूले त्यो हरेक दिन खान्छन्। तर त्यो केही समयसम्म खाएपछि, तिनीहरूले त्यसका प्रभावहरू कस्ता छन् वा त्यसले अनलाइनमा दाबी गरिएजस्तो प्रभाव पारेको छ कि छैन भनेर केही थाहा पाउँदैनन्। पछि, अनलाइनमा पालुङ्गो र तोफु सँगै पकाउन हुँदैन भन्‍ने लेखिएको हुन्छ, अनि यो सुनेपछि, तिनीहरूले फेरि कहिल्यै पालुङ्गो र तोफु मिसाएर पकाउँदैनन्। पालुङ्गो र तोफु साँच्चिकै अत्यन्त पौष्टिक हुन्छन् कि ती सँगै पकाउन मिल्दैन भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन र तिनीहरूले सोध्दा पनि सोध्दैनन्; तिनीहरू अन्धाधुन्ध पालना गर्न मात्र जान्दछन्। आजकाल सूचना अत्यन्तै विकसित भएको छ; विभिन्‍न समाचारहरू अत्यन्तै जटिल हुन्छन्। तिनीहरूले के ठीक र के बेठीक वा के सही र के गलत हो भनेर चिन्‍न सक्दैनन्। तिनीहरू सबथोक पढ्छन् र सुन्छन्, जुन कुरा पहिले सुनिएको छैन, जुन नयाँ लाग्छ वा गहन देखिन्छ, त्यो राम्रो नै हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। उदाहरणका लागि, चकलेट खानु मुटुका लागि राम्रो हो भनेर अनलाइनमा भनिएको हुन्छ, त्यसैले तिनीहरू हरेक दिन चकलेट खान्छन्। फलस्वरूप, तिनीहरूको भित्री ताप बढ्छ, तिनीहरूको मुखमा घाउ आउँछ, आँखा राता हुन्छन्, र तिनीहरूलाई कान बज्ने समस्या हुन्छ। वास्तवमा, सन्तुलित मात्रामा चकलेट खाँदा मुटुका लागि राम्रो हुन्छ भनेर भनिएको थियो, तर तिनीहरूले “सन्तुलित मात्रामा” भन्‍ने शब्दहरू सम्झेनन्। तिनीहरू मुख्य बुँदा बुझ्न असमर्थ हुन्छन् र अन्त्यमा आफूलाई नै हानि गर्छन्। केही दिनपछि, अब अनलाइनमा भनिएको हुन्छ: “चकलेट खानु मुटुका लागि नराम्रो हो, र धेरै खाँदा तौल पनि बढ्न सक्छ।” पहिचान गर्न सक्ने मानिसहरूले धेरै खानु शरीरका लागि नराम्रो हो, तर सन्तुलित मात्रामा खानु राम्रो हो भनेर थाहा पाउँछन्। तर, तिनीहरूले यो पहिचान गर्न सक्दैनन्; यो सुनेपछि, तिनीहरूले चकलेट खान पूरै बन्द गर्छन्। तिनीहरू एउटा चरमदेखि अर्को चरमतिर झुल्छन्, कि त अत्यधिक बायाँतिर कि अत्यधिक दायाँतिर झुक्छन्, तैपनि तिनीहरू आफू आधुनिकताको अग्रपङ्‌क्तिमा रहेको ठान्छन्: “हेर, इन्टरनेटले जे राम्रो हो भन्छ, म त्यो खान्छु; त्यसले जे नराम्रो हो भन्छ, म त्यो खान्नँ। म समयको प्रवृत्तिसँगै चल्ने व्यक्ति हुँ।” वास्तवमा, तिनीहरू कामकुराको परख गर्ने सामर्थ्य नै नभएका मानिस हुन्, अलमल्ल परेका व्यक्ति हुन्, जो अन्धाधुन्ध भीडका पछि लाग्छन्। अनलाइनमा सबै प्रकारका जानकारीहरू हुन्छन्, र धेरैजसो दाबी सही हुँदैनन्। थोरै मात्रामा सही जानकारी र दाबीहरू पनि अवश्यै हुन्छन्। तैँले तिनको परख गर्न सक्नुपर्छ। कस्तो जानकारी स्विकार्ने भन्‍ने सन्दर्भमा, तैँले त्यसलाई आफ्ना आवश्यकताहरूअनुसार, त्यो तेरा लागि लाभदायक छ कि छैन, र जानकारी सकारात्मक छ कि छैन भनी मापन गर्नुपर्छ। कमजोर क्षमता भएका मानिसहरूमा त्यस्ता कुराहरूको परख गर्ने सामर्थ्य हुँदैन। तिनीहरू कामकुरा स्विकार्ने सामर्थ्यको स्तरदेखिका सबै सामर्थ्यमा पछि पर्छन्। तिनीहरू कामकुरा पाठ्य, सैद्धान्तिक, र ज्ञानको स्तरमा सिक्नमा र बुझ्नमा नै सीमित रहन्छन्, र तिनीहरूमा केही बोध सामर्थ्य हुन्छ। तर, जहाँसम्म विभिन्‍न दाबी सही हुन् कि होइनन् र ती मूल्यवान् र अर्थपूर्ण छन् कि छैनन् भनी थप परख गर्ने कुरा छ, कमजोर क्षमता भएका मानिसहरूमा यो कुराको तजबिज गर्ने र परख गर्ने सामर्थ्य हुँदैन। अनि त्यसपछि परिस्थितिलाई सम्बोधन गर्ने सामर्थ्यको कुरा आउँछ, र कमजोर क्षमता भएका मानिसहरूमा त्यो पनि हुँदैन। जब वास्तविक जीवनमा वा अस्तित्वको मार्गमा आइपर्ने विभिन्‍न समस्याहरूको कुरा आउँछ, तिनीहरू आफूलाई थाहा भएका वा आफूले बोध गरेका सत्यता सिद्धान्तहरूका आधारमा तिनलाई सम्हाल्न सक्दैनन्। तिनीहरूले जतिसुकै शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्ने भए पनि, यी खोक्रा र अव्यावहारिक हुन्छन्। आफ्ना वरपर वा अस्तित्वको मार्गमा देखा पर्ने समस्याहरूलाई निराकरण गर्न तिनीहरू आफ्नै तुच्छ चालबाजीहरूमा भर पर्छन्; तिनीहरू केवल घाटा बेहोर्नबाट बच्ने कोसिस गर्छन्, बस त्यतिमै सीमित हुन्छन्, जबकि आफूले बुझेका सिद्धान्तहरू अनुभव गर्ने, बोध गर्ने, वा पुष्टि गर्ने तहमा पुग्न सक्दैनन्। अझ, कमजोर क्षमता भएका मानिसहरूमा संज्ञानात्मक सामर्थ्य पनि हुँदैन। भन्‍नुको मतलब, कुनै समस्या उत्पन्‍न हुँदा तिनीहरू कुनै पनि निष्कर्ष निकाल्न वा मामिलाकै सार, त्यसपछाडिको मूल कारण, वा त्यसले भविष्यमा निम्त्याउन सक्ने परिणामहरू नै चिन्‍न सक्दैनन्। कमजोर क्षमता भएका मानिसहरूलाई यी कुराहरूबारे कसरी सोच्ने भनेर बिलकुलै थाहा हुँदैन, झन् आफूले बुझेका सत्यता वा विभिन्‍न कुराका सिद्धान्त र व्यवस्थाहरूलाई त्यस्ता समस्याहरू सामना गर्न र सम्हाल्नका लागि लागु गर्नु त परको कुरा हो। तिनीहरूको क्षमता कमजोर हुने हुनाले तिनीहरूको सोचाइ सरल र सतही हुन्छ, र मामिलाहरूबारे तिनीहरूको दृष्टिकोणमा विचलनहरू हुन्छन्। अझ भन्‍नुपर्दा, झनै बढी समस्याजनक कुरा त के छ भने, तिनीहरू कुन दृष्टिकोणबाट कामकुरालाई सही रूपमा हेर्न सकिन्छ भनेर जान्दैनन्। त्यसकारण, तिनीहरूले कुनै पनि कुराको सार छर्लङ्गै देख्न सक्दैनन्, न त कुनै पनि कुराको सहीपन अथवा ठीक वा बेठीक मूल्याङ्कन गर्न नै सक्छन्। तजबिजबिना, तिनीहरू परख गर्न सक्दैनन्; त्यसोभए, अवश्य पनि तिनीहरूसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य पनि हुँदैन, निर्णय गर्ने सामर्थ्य त झन् परको कुरा हो। कतिपय मानिसहरू भन्छन्, “कमजोर क्षमता भएका मानिसहरूले पनि हरेक दिन के खाने र के लाउने भन्‍ने जानेका हुन्छन्, र आफ्ना दैनिक जीवन व्यवस्थापन गर्न सक्छन्।” क्षमता हुनुको अर्थ त्यो होइन। क्षमता हुनुले जीवनमा र अस्तित्वको मार्गमा सामना गरिने विभिन्‍न सारगत समस्याहरूलाई आफूले बुझ्ने सत्यता सिद्धान्तहरूअनुसार सम्हाल्न सक्नुलाई जनाउँछ। जीवनमा सामना गरिने विभिन्‍न समस्याहरूमा व्यक्तिको मूल्याङ्कन गर्नु, मामला सम्हाल्नु, आदि पर्छन्। अस्तित्वको मार्गमा आइपर्ने समस्याहरूमा सही र गलतका ठूला विषयहरू सामना गर्ने, तेरा लागि परमेश्‍वरद्वारा खडा गरिएका वातावरणहरू, परमेश्‍वरको सार्वभौमिकता, भविष्य र गन्तव्यसँग सम्बन्धित मामलाहरू र अगाडिको मार्ग चुन्ने तरिका, आदि पर्छन्—यी सबै अस्तित्वसँग सम्बन्धित समस्याहरूमा पर्छन्। यदि कसैसँग जीवनमा वा अस्तित्वको मार्गमा आइपर्ने समस्याहरू सम्हाल्ने सामर्थ्य छैन भने, यसको अर्थ उसमा निर्णय गर्ने सामर्थ्य छैन। त्यस्ता मानिसहरू मानसिक रूपमा शून्य हुन्छन्, त्यसैले तिनीहरूका सन्दर्भमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यबारे कुरा गर्नु अलिक अनुचित हुन्छ। अन्तिम सामर्थ्य, अर्थात् नवप्रवर्तनको सामर्थ्य, अवश्य पनि कमजोर क्षमता भएका मानिसहरूको पहुँचभन्दा अझ बाहिर हुन्छ। यो पशुहरूको राजा सिंह हो कि बाघ हो भनेर छलफल गर्नु जस्तै हो। कम्तीमा पनि, दुवै योग्य उम्मेदवार हुन्, किनभने सिंह र बाघ दुवैमा पशुहरूमाझ शासकका रवैया र सामर्थ्यहरू हुन्छन्। तिनको आ-आफ्नो बल हुन्छ, र एक अर्कासँग तुलना गर्दा, तिनीहरू बराबर हुन सक्छन्, जसले तिनीहरूलाई पशुहरूको राजाको उपाधिका लागि प्रतिस्पर्धा गर्न योग्य तुल्याउँछ। यदि तैँले पशुहरूको राजा को हो भनी निर्णय गर्नका लागि हरिण, जरायो, वा याकलाई सिंह र बाघसँग तुलना गरिस् भने, मानिसहरू तँलाई हेरेर हाँस्नेछन्। तिनीहरू तँलाई हेरेर किन हाँस्नेछन्? (किनभने यी जनावरहरू तुलनीय छैनन्।) तिनीहरू एउटै स्तरमा छैनन्, तिनीहरू एउटै तौल वर्गमा पनि पर्दैनन्; तिनीहरू तुलनीय छैनन्। त्यसैगरी, कमजोर क्षमता भएका मानिसहरूमा कुनै विचार हुँदैन, र तिनीहरूसँग मानसिक तहमा कुनै पनि व्यक्ति, घटना वा कामकुराको मूल्याङ्कन वा कदर गर्ने सामर्थ्य हुँदैन। त्यसकारण, त्यस्ता मानिसहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने क्षमता हुन्छ कि हुँदैन भन्‍नेबारे कुरा गर्नु पनि बेकारको कुरा हो। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य तुलनात्मक रूपमा उन्नत कुरा हो र यो राम्रो क्षमता भएका मानिसहरूमा लागु हुन्छ। झन् नवप्रवर्तनको सामर्थ्य त अझ बढी, राम्रो क्षमता भएका मानिसहरूमा लागु हुन्छ। नवप्रवर्तनको सामर्थ्य भनेको वास्तविक जीवनमा कुनै पनि कुरालाई व्यावहारिक रूपमा सम्हाल्ने व्यक्तिको सामर्थ्यद्वारा मूल्याङ्कन गरिन्छ। कमजोर क्षमता भएका मानिसहरूमा आफूले गर्ने कुनै पनि कुरामा सोच र चरणहरूको मात्र कमी हुने होइन, तिनीहरूसँग काम सम्पन्‍न गर्ने सामर्थ्य पनि हुँदैन, त्यसैले तिनीहरूमा कुनै नवप्रवर्तनको सामर्थ्य छ भन्‍न मिल्दैन। त्यसोभए क्षमता नभएका मानिसहरूमा कस्ता सामर्थ्यहरू हुन्छन्? क्षमता नभएका धेरैजसो मानिसहरूको एउटा साझा विशेषता हुन्छ: तिनीहरूको कुनै बलियो पक्ष हुँदैन। अभिव्यक्तिको सामर्थ्यका हिसाबले, तिनीहरूमा केही पनि हुँदैन; कुनै प्राविधिक र व्यावसायिक सबल पक्षका हिसाबले पनि तिनीहरूमा केही पनि हुँदैन; यहाँसम्म कि सरसफाइ जस्तो सबैभन्दा सरल काम गर्न पनि तिनीहरूसँग कुनै शीघ्र र स्पष्ट समाधानहरू हुँदैनन्, कुनै उपायहरू हुँदैनन्, र कुनै क्रमबद्धता हुँदैन। कुनै सरल काम निर्वाह गरेबाट नै तैँले क्षमता नभएका मानिसहरूका विशेषताहरू के-के हुन् भनी देख्न सक्छस्। क्षमता नभएका मानिसहरूको सबैभन्दा प्रस्ट विशेषता के हो भने, हरेक पक्षमा तिनीहरूसँग सामर्थ्य हुँदैन। सरल रूपमा भन्‍नुपर्दा, तिनीहरू आफ्नै मानव जीवन वा सबैभन्दा आधारभूत आवश्यकताहरू समेत व्यवस्थापन गर्न सक्दैनन्—यी सबै पूरै अव्यवस्थित हुन्छन् र तिनमा कुनै पनि सिद्धान्तहरू हुँदैनन्। क्षमता नभएका मानिसहरूको सबैभन्दा सटीक वर्णन भनेको तिनीहरू केही पनि हासिल गर्न सक्दैनन् र आफ्ना आधारभूत दैनिक आवश्यकताहरू पूरा गर्नका निम्ति मात्र जिउँछन् भन्‍ने हो—त्योभन्दा बढी केही पनि होइन। विभिन्‍न स्तरका क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू, साथै तिनीहरूका क्षमता र सामर्थ्यका विशेषताहरू सबै प्रस्ट रूपमा व्याख्या गरिएका छन्। यदि तिमीहरूले बुझेका छौ भने, तिमीहरूले फरक-फरक क्षमताका मानिसहरूलाई कसरी खुट्ट्याउने र व्यवहार गर्ने भनेर सिक्न सक्नेछौ।