सत्यता कसरी पछ्याउने (७) भाग दुई

कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यका विषयमा कुरा गर्नुपर्दा, त्यो भ्रष्ट स्वभावहरू फाल्नका लागि सत्यता पछ्याउने मामलासँग सम्बन्धित नभए पनि, मानव जीवनकै सन्दर्भमा, यदि तैँले कामकुराको कदर गर्ने सामर्थ्य राख्दैनस् भने, तँसित तैँले देख्ने कुनै पनि कुराबारे कुनै दृष्टिकोण हुँदैन, न त वैचारिक तहमा कुनै राय नै हुन्छ—तँ हरेक कुरालाई यसरी हेर्छस् मानौँ तेरा आँखामा एक-पत्रे पट्टी लागेको छ, जसका कारण तैँले त्यहाँ कुनै समस्या छ भनी देख्न सक्दैनस्—र तँलाई पूरै घटनाक्रम वा संलग्न मानिस, घटना र कामकुराहरू मात्र थाहा छ, तर तँलाई समस्याको सार के हो, वा मानिसहरूका सम्बन्धित विचार दृष्टिकोणहरू के हुन् भन्‍ने कुरा थाहा छैन भने, यसले तँ कमजोर क्षमता भएको व्यक्ति भएको जनाउँछ। किनभने तँसित आफ्नो जीवनका सारा समस्याहरूका सम्बन्धमा कुनै पनि विचारहरू छैनन्। तँ वैचारिक तहमा समस्याहरूबारे विचार गर्न, सोच्न, वा तिनलाई परिभाषित गर्न जान्दैनस्। तँ आफ्नै उमेर, आफ्नो मानवताको परिपक्वता, वा विगतका आफ्ना अनुभवहरूका आधारमा कुनै कुरा वास्तवमा कस्तो किसिमको समस्या हो, तैँले त्यसबाट के सिक्नु र आत्मसात् गर्नुपर्छ, त्यसले तँमाथि कस्तो प्रभाव पार्छ, त्यसले तँलाई कस्ता पाठहरू सिकाउँछ, यस प्रकारको समस्यालाई तैँले कुन दृष्टिकोणबाट हेर्ने र सम्हाल्ने गर्नुपर्छ, वा फेरि यस्तो मामला सामना गर्नुपर्यो भने तैँले कसरी व्यवहार गर्नुपर्छ र के कुराबाट जोगिनुपर्छ भन्‍ने कुरा विचार गर्न जान्दैनस्। तँमा यी सबै चिन्तनहरू छैनन्। तँमाथि जेसुकै आइपरे पनि, तँ जनावर जतिकै बोधो छस् र तँसित कुनै दृष्टिकोण छैन। तँ जतिसुकै उमेरसम्म बाँचे पनि वा तैँले जतिसुकै अनुभव बटुलेको भए पनि, तँ अझै समस्याहरूबारे सोच्न जान्दैनस्। तँ विभिन्‍न पक्षहरूका समस्याहरूमाथि चिन्तन गर्नका निम्ति विगतका आफ्नै अनुभवहरू, आफ्नो ज्ञान, र आफूले सिकेका कुरालाई प्रयोग गर्न जान्दैनस्। यस्ता मानिसहरू कमजोर क्षमता भएकाहरू हुन्। कमजोर क्षमता भएका मानिसहरू सत्यतामा प्रवेश गर्ने त परै जाओस्—दैनिक जीवनका सानातिना कुरामा समेत तिनीहरू कुनै पनि ढाँचा निकाल्न सक्दैनन्। तिनीहरू चालीस-पचास वा सत्तरी-असी वर्षसम्म बाँचे पनि कुनै पनि अनुभवहरू बाँड्न नसक्ने अन्योलग्रस्त मानिस नै रहन्छन्। त्यस्ता व्यक्तिहरू मन्द बुद्धिका मानिस हुन्, जोसँग कुनै विचार हुँदैन। तिनीहरूको क्षमता कमजोर हुने र तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य नहुने भएकाले, त्यस्ता मानिसहरू जति वर्षसम्म बाँचे पनि, तिनीहरूले कहिल्यै कुनै पनि कुरालाई वैचारिक तहमा हेर्दैनन्। तिनीहरू कामकुरालाई कसरी हेर्ने भनी जान्दैनन् र कुनै पनि कुरा छर्लङ्गै देख्न सक्दैनन्। त्यसकारण, कसैको क्षमता, विशेषगरी उसमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छ कि छैन भनी लेखाजोखा गर्दा, उसको उमेर वा उसका विगतका अनुभवहरू नहेर्। त्यसको सट्टामा, तैँले के हेर्नुपर्छ? (हामीले ऊसँग विचारहरू छन् कि छैनन् भनेर हेर्नुपर्छ।) भन्‍नुको मतलब, चालीस वा पचास वर्षसम्म विभिन्‍न मानिस, घटना र कामकुराहरू अनुभव गरिसकेपछि उसले वैचारिक तहमा कुनै व्यक्तिगत बुझाइ प्राप्त गरेको छ कि छैन, साथै उसका विगतका अनुभवहरूमा मानव जीवनको मूल्य, मानिसहरूले लिने मार्ग, वा मानव सोचाइको गहिराइ र तिनीहरूको आत्मिक संसारसँग सम्बन्धित कुराहरू समावेश छन् कि छैनन् भन्‍ने कुरा हेर्नुपर्छ। यदि उसका अनुभवहरू निश्चित मामलाहरूसँग मात्र सम्बन्धित छन् र तिनमा वैचारिक तहका कुराहरू समावेश छैनन् भने, उसले कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य राख्दैन। उदाहरणका लागि, कतिपय मानिसहरू प्रायः यसो भन्छन्, “हाम्रो पुस्तामा, हामीलाई हातमुख जोड्न धौधौ पर्थ्यो। राम्रो कुरा खान पाउनु सजिलो थिएन; हामीले नयाँ वर्षमा वा अन्य चाडपर्वमा मात्र केही मासु खान सक्थ्यौँ। हाम्रो पुस्ताका मानिसहरू अत्यन्तै सरल र निष्कपट हुन्थे, र हामी अत्यन्तै साधारण लुगा लगाउँथ्यौँ।” तिनीहरू यस्तै कुरा गरिरहन्छन्। त्यसमा अरूले यसो भन्छन्, “तिमीहरूको पुस्ता किन त्यस्तो सम्झन लायक छ? के त्यस्ता कुनै कुराहरू छन्, जसबाट हामी युवाहरूले सिक्न सकौँ र जसका बारेमा हामीले वैचारिक तहमा कुराकानी गर्न सकौँ?” तिनीहरू यस्तो जबाफ दिन्छन्, “हाम्रो पालामा, जब हामी लडाइँ गर्न युद्धभूमिमा जान्थ्यौँ, हामी दिनौँसम्म सुत्दैनथ्यौँ किनभने हामी निरन्तर अघि बढिरहनुपर्थ्यो। कहिलेकाहीँ त हामीले दिनभरि एक छाक खाना पनि खान पाउँदैनथ्यौँ। जब हामी क्याम्पमा पुग्थ्यौँ, नयाँ भर्ती भएकाहरू सिधै सुत्न जान्थे, तर हामी पुराना सैनिकहरू पहिले खाना खाएर त्यसपछि सुत्न जान्थ्यौँ। नत्र, खाना खाने समय सकिएपछि हामीले फेरि यात्रा गर्नुपर्थ्यो, र हामी बाटोमा भोकै हुनेथियौँ।” अरूले भन्छन्, “यो त एउटा घटना मात्र हो; यो वैचारिक तहको कुरामा गनिँदैन। हामी युवाहरूले सिक्नलायक केही कुरा सुनाऊ, अथवा केही पाठहरू सुनाऊ, जसले हामीलाई घुमाउरो बाटो नअपनाउन र मूर्खताका कारण गल्तीहरू नगर्न वा निम्न स्तरका भुलचुक नगर्न मदत गर्न सकून्।” तिनीहरू भन्छन्, “त्यस समयमा, हामी आजकालका अल्छी, घिचुवा, र सहजता मन पराउने तर कामलाई घृणा गर्ने युवाहरू जस्ता थिएनौँ। त्यस बेलामा, हामी अझ बढी कठिनाइ सहन, अझ बढी काम गर्न, र राम्रो कार्यप्रदर्शन गर्न मात्र चाहन्थ्यौँ, ताकि हामीले हाम्रा अगुवाहरूको ध्यान आकर्षित गर्न र बढुवा पाउन सकौँ।” के यी शब्दहरूमा वैचारिक तहको केही कुरा छ? (छैन।) यो सुनेपछि, के तँलाई यी कुनै आत्मिक गुरुका शब्द हुन्, गैरविश्‍वासीहरूले भन्‍ने गरेका प्रेरणादायी कुरा हुन् भन्‍ने महसुस हुन्छ? के यसले तेरो सोचलाई फराकिलो बनाउने, तेरो सोचाइको स्तर बढाउने, कामकुराबारे तेरो संज्ञानात्मक सामर्थ्य बढाउने, वा तँलाई केही नयाँ कुरा वा तैँले यसअघि कहिल्यै नसोचेका सही विचार र दृष्टिकोणहरू पत्ता लगाउन मदत गर्ने गर्छ? (गर्दैन।) त्यसोभए के त्यस्ता मानिसहरूसँग कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुन्छ? तैँले तिनीहरूलाई वैचारिक तहसँग सम्बन्धित मामलाहरूबारे जसरी सोधे पनि, तिनीहरूबाट केही पनि पाउनेछैनस्। वास्तवमा तिनीहरू बोल्न अनिच्छुक भएको होइन; यति मात्र हो कि तिनीहरूभित्र केही पनि हुँदैन। कमजोर क्षमता हुनु भनेको यही हो। तिनीहरूको उमेर पचास वा साठी वर्ष पुग्दा पनि तिनीहरूसित कुनै विचार वा दृष्टिकोणहरू हुँदैनन्; तिनीहरू यसरी नै अल्याङटल्याङ गर्दै जीवन बिताउँछन्। तिनीहरूलाई थाहै हुँदैन कि जिउनु भनेको भावी अवसरहरू, असल परिवार, राम्रो जागिर, वा राम्रो जीवन पछ्याउनु मात्र होइन, बरु वैचारिक तहका त्यस्ता मामलाहरू पनि छन्, जसलाई हृदयको गहिराइमा चिन्तन, मनन, र निरन्तर मन्थन गर्न आवश्यक हुन्छ। तिनीहरूलाई मानव जीवनको मार्गमा मानिसहरूले धेरै अज्ञात कुराहरूको सामना गर्नेछन् भन्‍ने कुरा थाहै हुँदैन, न त तिनीहरूले त्यसलाई कसरी सामना गर्नुपर्छ भन्‍ने नै थाहा हुन्छ। जब तिनीहरूमाथि केही पनि आइपरेको हुँदैन, तिनीहरू घुमाउरो बाटो नहिँड्न वा गलत मार्गमा नजान अग्रिम रूपमा सोच्ने वा मनन गर्ने गर्दैनन्। तिनीहरूले अनुभव गरेका केही कुराहरूमा तिनीहरूले किन निश्चित तरिकाले व्यवहार गरे, त्यसरी व्यवहार गर्नु ठीक थियो कि बेठीक, वा खुसीसाथ जिउन, शान्त मनले जिउन, र व्यर्थको नभई मूल्यवान् जीवन जिउन तिनीहरू अगाडिको बाटोमा कसरी हिँड्नुपर्छ भन्‍ने पनि तिनीहरूलाई थाहा हुँदैन। त्यस्ता मानिसहरूमा कमजोर क्षमता हुने भएकाले तिनीहरू यी मामलाहरूबारे सोच्दैनन्। जब यी मानिसहरू साठी वर्षका हुन्छन्, तिनीहरू केवल विगतलाई सम्झिँदै बस्छन्, र यसो भन्छन्, “म जवान छँदा सुन्दर र प्रतिभाशाली थिएँ; धेरै मानिसहरू मेरा पछि लाग्थे! आह, जवानीमा…।” तिनीहरू जहिले पनि आफ्ना गौरवमय दिनहरूका कथाहरू मात्र सुनाउँछन्, ती कुरा जुन उल्लेख गर्न लायक पनि हुँदैनन्। कमजोर क्षमता भएका मानिसहरू जति वर्षसम्म बाँचे पनि मानव जीवन, मानिसहरूले लिने मार्ग, वा मानिसहरूले जिउनुपर्ने तरिकासँग सम्बन्धित मामलाहरूबारे सोच्दैनन्। तिनीहरू मानिसहरूले विभिन्‍न मामलाहरू सम्हाल्ने क्रममा कस्ता प्रकारका दृष्टिकोणहरू अपनाउनुपर्छ भन्‍नेबारे सोच्दैनन्। फलस्वरूप, तिनीहरू जसरी जिए पनि तिनीहरूको सोचाइको स्तरमा सुधार आउनेछैन, तिनीहरूका विचारमा गहनता हुनेछैन, तिनीहरूको आत्मिक संसार दरिद्र रहनेछ, र तिनीहरूले साँचो जीवन अनुभव पाउनेछैनन्। कमजोर क्षमता हुनु भनेको यही हो। त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्दा, बिस वर्षको उमेरमा, तिनीहरू अत्यन्तै बचकाना र सरल हुन्छन्, तिनीहरू आवेगी र अत्यन्तै रिसाहा हुन्छन्। तिनीहरू तीस वर्ष पुगेपछि पनि त्यस्तै खराब हुन्छन्। पचास वर्षको उमेरमा, तिनीहरूको बोल्ने तरिका उही स्तरको हुन्छ—तिनीहरूले थोरै सरल वाक्यांशहरू मात्र भन्‍न जानेका हुन्छन्। तिनीहरूको मुहारमा अझ धेरै चाउरीपना र बुढ्यौलीका दागहरू हुन्छन्, र तिनीहरूको कपाल झन् धेरै फुलेको हुन्छ। तिनीहरूको उमेर ढल्केको प्रस्टै हुन्छ, तर तिनीहरूसँग कुनै विचार वा दृष्टिकोणहरू हुँदैनन्। अरूसँग कुराकानी गर्दा, तिनीहरूसँग भन्‍नलाई कहिल्यै केही पनि हुँदैन। तिनीहरूको जीवनको यतिका वर्ष खेर गएका हुन्छन्, र तिनीहरूले कुनै प्रगति गरेका हुँदैनन्। कमजोर क्षमता भएका मानिसहरू जीवनमा यस्तै हुन्छन्, र यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तिनीहरूका प्रकटीकरणहरू सुरुदेखि अन्त्यसम्म उस्तै हुन्छन्। उमेरमा बिसका दशकमा पहिलो पटक परमेश्‍वरमा विश्‍वास गर्दा तिनीहरू यस्तै हुन्छन्। तीस वा पचास वर्ष पुग्दा पनि तिनीहरू अझै यस्तै हुन्छन्, तिनीहरूले बिलकुलै प्रगति हासिल गरेका हुँदैनन्। तिनीहरू अझै पनि पहिलेकै जस्तै कुरा गर्छन्। यति मात्र हो कि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा केही कुराहरू अनुभव गरेका हुन्छन्, केही शब्द र धर्मसिद्धान्तहरू बुझेका हुन्छन्, र तिनीहरूले आत्मिक शब्दावलीहरू अझ पूर्ण रूपमा बोल्न सक्छन्। तर, तिनीहरूसँग कुनै वास्तविक अनुभवात्मक बुझाइ हुँदैन। तिनीहरूका विचारहरूमा अझै पनि गहनता हुँदैन, कामकुराबारे तिनीहरूका दृष्टिकोणहरू बदलिएका हुँदैनन्, परमेश्‍वर र सत्यतासम्बन्धी तिनीहरूको ज्ञान बढेको हुँदैन, र तिनीहरूको आत्मज्ञान वृद्धि भएको हुँदैन। तिनीहरूमा कुनै परिवर्तन आएको हुँदैन, होइन त? (हो।) स्मरण गरेर वा समयको प्रभावमार्फत केही शब्द र धर्मसिद्धान्तहरू वा आत्मिक शब्दावलीहरू सञ्चित गर्नु परिवर्तन होइन, त्यो प्रगति होइन, र त्यो पक्कै पनि प्राप्ति होइन। कमजोर क्षमता भएका मानिसहरूको प्रकटीकरण ठ्याक्कै यही हो। तिनीहरूले जति ठूला उतारचढावहरू भोगे पनि, वा जतिसुकै झट्का, असफलता, वा कुण्ठाहरू अनुभव गरे पनि, तिनीहरूले कुनै पाठ सिक्दैनन् वा कुनै अनुभव हासिल गर्दैनन्, र लाभदायक कुरा केही पनि प्राप्त गर्न सक्दैनन्। एक पटक कुनै कुरा समाप्त भएपछि, तिनीहरूका लागि त्यो पूरै समाप्त भएको हुन्छ—तिनीहरूले प्रक्रिया मात्र पूरा गर्छन् र अन्त्यमा केही पनि हासिल गर्दैनन्। यस्ता मानिसहरूलाई अत्यन्तै दयनीय भनेर वर्णन गर्न सकिन्छ। त्यस्ता मानिसहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने क्षमता नहुने भएका कारणले नै हामी तिनीहरूमा अत्यन्तै कमजोर सामर्थ्य हुन्छ भनेर भन्छौँ। तिनीहरूमा सत्यता बुझ्ने सामर्थ्य हुन्छ भनेर त झन् भन्‍नै मिल्दैन, न त तिनीहरूमा कुनै परिवर्तन आएको छ भनेर नै भन्‍न मिल्छ।

कमजोर क्षमता भएका मानिसहरूका हकमा भन्‍नुपर्दा, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यका हिसाबले, तिनीहरू योग्य हुँदैनन्। क्षमता नै नभएकाहरूको कुरा गर्नुपर्दा, तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य झनै हुँदैन—तिनीहरू कामकुराको कदर गर्न सक्दैनन्, र तिनको मूल्याङ्कन गर्न त झनै सक्दैनन्। जब तैँले केही कुराबारे आफ्ना विचार र दृष्टिकोणहरू राख्छस्, तब कमजोर क्षमता भएका मानिसहरू त्यो सुनेर स्तब्ध हुन्छन् र कुनै प्रतिक्रिया देखाउँदैनन्। हृदयमा तिनीहरू यस्तो सोच्छन्, “यसमा विचार र दृष्टिकोणहरू छन् रे? मैले यो कुरा किन नबुझेको त?” तिनीहरूले तेरो कुरा थोरै बुझ्न सक्ने भए पनि, तिनीहरूले त्यसलाई शब्द र धर्मसिद्धान्त वा सूत्रका रूपमा मात्र सुन्‍न सक्छन्। जहाँसम्म क्षमता नै नभएका मानिसहरूको कुरा छ, जब तिनीहरूले केही कुराभित्रका विचार र दृष्टिकोणहरू, वा समस्याको सार र त्यस सम्बन्धमा मानिसहरूले लिनुपर्ने अडानबारे अरूले सङ्गति गरेको सुन्छन्, तिनीहरूले त्यो बुझ्नै सक्दैनन्। तिनीहरूलाई त्यो कुरा अलि गहन छ भन्‍ने मात्र लाग्छ, तर त्यो तिनीहरूले बुझ्नै नसक्ने हुन्छ। तैँले विचार र बुझाइबारे जति बढी सङ्गति गर्छस्, तिनीहरू उति बढी अलमलमा पर्छन्। तिनीहरू यस्तो महसुस गर्छन्, “यो साधारण मामला कसरी जटिल बन्यो? मैले किन विचार, दृष्टिकोण, वा अडानहरूबारे केही पनि बुझ्न नसकेको? कस्तो अडान? हामीले केवल परमेश्‍वरमा राम्ररी विश्‍वास र आफ्ना कर्तव्य राम्ररी पूरा गरे मात्र पुग्छ, त्यसपछि परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ। किन कसैले जति लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गर्छ, त्यति नै कुरा झन् जटिल बन्छ? तपाईँको कुरा सुन्दा त राज्यमा कोही पनि प्रवेश गर्न सक्दैन जस्तो लाग्यो!” के तँ त्यस्ता मानिसहरूसँग कुराकानी गर्न सक्छस्? (सक्दिनँ।) तैँले तिनीहरूसँग कुराकानी गर्न नसक्ने मात्र होइन, तिनीहरूले केही अविवेकी कुराहरू पनि भन्‍न सक्छन्: “के तपाईँले उल्लेख गर्नुभएका ती विचार र दृष्टिकोणहरू वास्तवमै अत्यन्तै राम्रा र अत्यन्तै सही छन्? मलाई त त्यस्तो लाग्दैन! मानिसहरू कहिल्यै पैसाविना रहन सक्दैनन्। मानिसहरूलाई जहिले पनि राम्रो खानु र राम्रा कुराहरू उपभोग गर्नुपर्छ। खर्च गर्नका लागि पैसा र खानका लागि राम्रो खाना छैन भने, कसैले आफ्नो कर्तव्य कसरी पूरा गर्न सक्छ?” यो कस्तो खालको तर्क हो? तिनीहरू यसो भन्छन्, “तपाईँ सधैँ मानव जीवनबारे, मानिसका मूल्य, विचार, र दृष्टिकोणहरू अनि मानिसहरूले लिने मार्गबारे कुरा गरिरहनुहुन्छ। तपाईँ किन खाने र लाउनेबारे कुरा गर्नुहुन्‍न? तपाईँ किन आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकियोस् भन्‍नका लागि कसरी आफ्नो शरीरको ख्याल राख्ने भन्‍नेबारे कुरा गर्नुहुन्‍न?” तिनीहरू यी कुराहरूबारे सोचिरहेका हुन्छन्—के तिनीहरूले अझै पनि सत्यता बुझ्न सक्छन्? तैँले यस्ता मानिसहरूसँग कुराकानी गर्न सक्दै सक्दैनस्। जब तैँले तिनीहरूसँग कुरा गर्ने प्रयास गर्छस्, तिनीहरू पैसा कमाउने बारेमा मात्र कुरा गर्छन्। तिनीहरू पैसा कमाउने, आफ्नो जीवन जिउने, संसार पछ्याउने, र खाँदै, पिउँदै र रमाउँदै जीवन बिताउने कुरालाई मानव जीवनका ठूला मामलाहरू र मानिसहरूले जीवनमा हिँड्नुपर्ने मार्गका रूपमा लिन्छन्। जहाँसम्म मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर पछ्याउनु र प्राप्त गर्नुपर्ने चीजको कुरा छ, यी कुराहरू त तिनीहरूका विचार वा चेतनामा नै हुँदैनन्। तिनीहरू विश्‍वास गर्छन् कि मानिसहरूले परमेश्‍वरमा जति वर्ष विश्‍वास गरे पनि, तिनीहरूले अझै पनि खानु र जिउनु नै पर्छ, र पैसाविना राम्रोसँग जिउनु सम्भव नै हुँदैन—पैसा हुनु भनेको राम्रो जीवन हुनु हो, र पैसा छैन भने जीवन चल्न सक्दैन। यो नै तिनीहरूको तर्क हो; त्यस्ता मानिसहरूमा विकृति आउने सम्भावना हुन्छ। विकृति आउने सम्भावना भएका मानिसहरूमा सही विचार वा दृष्टिकोणहरू हुँदैनन्; तिनीहरू प्राणविनाका मानिस जस्तै हुन्। त्यस्ता मानिसहरूको जीवन र सुँगुर वा कुकुरको जीवनबीच के भिन्‍नता छ? (कुनै भिन्‍नता छैन।) यदि तैँले एउटा कुकुर वा बिरालोलाई आज्ञाकारी बनाउन र अनुशासित बच्चा जस्तो व्यवहार गराउनका लागि शिक्षा दिने कोसिस गरिस् भने, के त्यसले बुझ्न सक्छ? (सक्दैन।) एउटा कुकुरले बढीमा के बुझ्न सक्छ? यदि तैँले त्यसलाई “बस्” भनिस् र त्यसपछि एक टुक्रा मासु दिइस् भने, त्यसलाई याद हुनेछ। त्यसपछि, तैँले “बस्” भन्‍नेबित्तिकै, चाहे त्यो जतिसुकै टाढा होस्, त्यो तुरुन्तै भुइँमा बस्छ र तैँले मासु दिन्छस् कि भनेर पर्खन्छ। कुकुरले यो यान्त्रिक कार्य सम्झन सक्छ; यदि तैँले त्यसलाई भुइँमा बस्दा इनाम पाइन्छ भन्‍ने थाहा दिइस् भने, त्यसले आज्ञापालन गर्नेछ। त्यसका सोचाइहरू त्यति सामान्य हुन्छन्। त्यसोभए, क्षमता नभएका मानिसहरूको र जनावरहरूको सोचाइबीच कति ठूलो भिन्‍नता हुन्छ? (उल्लेखनीय भिन्‍नता हुँदैन।) हरेक दिन खाना खाइसकेपछि जनावरहरू बाहिर खेल्न जान्छन्। जब फेरि खाने समय आउँछ र तैँले तिनीहरूलाई बोलाउँछस्, तब तिनीहरू तुरुन्तै दौडेर आउँछन्। चाहे तैँले तिनीहरूलाई बाँधेर राख् वा भुइँमा बस्न लगा, तिनीहरूले मान्‍नेछन्। त्यस्तो किन हुन्छ? किनकि तिनीहरूले खाना खान पाउँछन्। त्यो थोरै खानाका निम्ति तिनीहरू खुसीसाथ तेरा आदेशहरू पालन गर्न तयार हुन्छन्। जनावरहरूको सोचाइ यति सामान्य हुन्छ। तिनीहरूका लागि, आफूलाई फाइदा हुने कुनै प्रावधान वा सूत्र पालना गर्नु नै पर्याप्त हुन्छ; तिनीहरू अरू धेरै कुरा सोच्दैनन्। परमेश्‍वरले जनावरहरूलाई दिने जन्मजात प्रवृत्तिहरू यी कुराहरूमै सीमित हुन्छन्, जुन तिनीहरूको अस्तित्व टिकाइराख्न पर्याप्त हुन्छ, र परमेश्‍वरले तिनीहरूलाई कुनै आज्ञा गर्नुभएको हुँदैन, त्यसैले जनावरहरूले जीवन, भविष्य, आफ्नो गन्तव्य, वा आफ्ना जिम्मेवारी र दायित्वहरूको ख्याल गर्नुपर्दैन। तिनीहरूले कुन मार्ग लिने भन्‍नेबारे वा अर्थपूर्ण जीवन पछ्याउने, आदि कुराहरूको पनि ख्याल गर्नुपर्दैन। तर मानिसहरू फरक हुन्छन्। परमेश्‍वरले मानिसहरूलाई विभिन्‍न जन्मजात प्रवृत्तिहरू प्रदान गर्नुभएको छ र तिनीहरूको जीवनका रूपमा सत्यता पनि प्रदान गर्नुभएको छ। त्यसकारण, परमेश्‍वरसित मानिसहरूका लागि माग गरिएका मानकहरू हुन्छन्। तसर्थ, मानिसहरूले यी मामलाहरूबारे सोचविचार गर्नुपर्छ; यसो गर्नु मात्र तिनीहरूले जीवनका रूपमा सत्यता प्राप्त गर्नका लागि लाभदायी हुन्छ। यो मानिसहरूले लिनुपर्ने जिम्मेवारी र दायित्व हो, र यो अवश्यै तिनीहरूको अधिकार पनि हो। तर यदि तैँले यो अधिकार अभ्यास गर्न सक्दैनस् वा तँसित समस्याहरूबारे सोच्ने यो सामर्थ्य छैन भने, यसले तेरो क्षमता निकै कमजोर छ भन्‍ने प्रमाणित गर्छ। मानवहरूको तहका जीवित प्राणीहरूमध्ये तँ कमजोर क्षमता भएकाहरूको श्रेणीमा पर्छस्। तँ आफैले सोच्न सक्दैनस्, र अरूले तँलाई कामकुराहरू बुझाउँदा पनि तँ बुझ्न सक्दैनस्। अझ गम्भीर अवस्थामा त तँ अरूलाई प्रतिरोध, गिल्ला, उपहास, वा आलोचना समेत गर्छस्। यदि तेरो क्षमता यो हदसम्म कमजोर छ भने, त्यसको अर्थ तँसित कुनै क्षमता छँदै छैन भन्‍ने हुन्छ। उदाहरणका लागि, क्षमताविनाको व्यक्तिले एउटा अनुभवात्मक गवाही लेख पढ्छ, र तैँले उसलाई सोध्छस्, “के यो लेख राम्रो छ?” उसले भन्छ, “यो निकै राम्रो छ। प्रत्येक अनुच्छेद सही तरिकाले छुट्याइएको छ, र विरामचिह्न धेरैजसो सही छ। पहिलो अनुच्छेदले समय र स्थानको व्याख्या गर्छ, दोस्रो अनुच्छेदले पात्रहरूको पृष्ठभूमिको व्याख्या गर्छ, तेस्रो अनुच्छेदले कथाको सिलसिला वर्णन गर्न थाल्छ, र त्यसपछि त्यो उत्कर्ष र निष्कर्षतर्फ अघि बढ्छ।” यदि तैँले त्यसपछि उसलाई लेखकका विचार र दृष्टिकोणहरू के हुन् भनेर सोधिस् भने, उसले भन्छ, “विचार र दृष्टिकोणहरू छन् र? लेखकले उद्धृत गरेका परमेश्‍वरका वचनहरूको खण्डले उसका विचार र दृष्टिकोणहरू व्यक्त गर्छ।” तैँले सोध्छस्, “के उसले उद्धृत गरेका परमेश्‍वरका वचनहरू सान्दर्भिक छन्? के उसले व्यक्त गर्न चाहेका विचार र दृष्टिकोणहरू सही छन्?” उसले थाहा छैन भन्छ। त्यसपछि तैँले यस्ता प्रश्नहरू सोध्छस्, “के लेखकले बाँडेको बुझाइ साँचो र व्यावहारिक छ? के उसले बुझेको कुरा धर्मसिद्धान्त हो, कि त्यो वास्तविकताको नजिक छ? के यसले अरूको आत्मिक उन्नति गराउँछ वा तिनीहरूका लागि यसको मूल्य छ? के यसले पाठकहरूलाई सहयोग वा लाभ प्रदान गर्छ?” उसलाई यीमध्ये केही पनि थाहा हुँदैन र उसले यो बुझ्न सक्दैन। निकै कमजोर क्षमता हुनु भनेको यही हो। यदि तैँले ऊसँग लेखमा भएका विचार र दृष्टिकोणहरूका त्रुटिहरूबारे, कुन-कुन भाग व्यावहारिक छन् र कुन-कुन छैनन् भन्‍नेबारे सङ्गति गरिस् भने, उसलाई अझै पनि थाहा हुँदैन र उसले त्यसलाई लेखसँग जोड्न सक्दैन। के यसले क्षमताको कमी देखाउँछ? (देखाउँछ।) भएका समस्याहरूबारे अरूले सङ्गति गर्दा पनि उसलाई अझै थाहा हुँदैन। के यसले क्षमताको कमी देखाउँदैन र? यो कतिपय मण्डली अगुवाहरू जस्तै हो: जब दुष्ट मानिस वा अविश्‍वासीहरू मण्डलीमा देखा पर्छन्, उनीहरूलाई कसरी तह लगाउने भनेर तिनीहरूलाई थाहा हुँदैन। तैँले तिनीहरूसँग सत्यता सिद्धान्तहरू सङ्गति गरेपछि, तिनीहरूले बुझ्दैनन् र तँलाई उदाहरण दिन लगाउँछन्। तैँले एउटा उदाहरण दिएपछि, तिनीहरूले अझै पनि उनीहरूलाई तह लगाउन जान्दैनन्। तिनीहरू यसो भन्छन्, “कृपया मलाई सिकाउनुहोस्। म त्यो व्यक्तिलाई ठ्याक्कै कसरी तह लगाऊँ? के म उसलाई साधारण मण्डलीमा राखूँ, समूह ‘ख’ मा राखूँ, कि निकालूँ? म त्यो व्यक्तिसँग कसरी सङ्गति गरूँ? कृपया मलाई एक-एक शब्द बुझाउनुस्। म त्यो रेकर्ड गर्नेछु र त्यसपछि त्यसलाई हुबहु पालना गरेर परिस्थितिलाई सम्हाल्नेछु—त्यसरी म गर्न सक्छु।” तिनीहरू नै यस्ता भएपछि तिनीहरूसँग सिद्धान्तहरू सङ्गति गर्नुको के अर्थ? तैँले उदाहरणहरू दिँदा पनि तिनीहरूले बुझ्दैनन् र मामलालाई सम्हाल्न सक्दैनन्। त्यस्ता मानिसहरूमा बोध सामर्थ्य हुँदै हुँदैन। अन्त्यमा, तिनीहरू अझै सोध्छन्, “भन्‍नुस्, यो वर्तमान समस्याबारे मैले के गर्नुपर्छ, अनि म गरिहाल्छु।” तैँले तिनीहरूलाई उक्त मामला सम्हाल्न कहाँ जाने, त्यो काम फत्ते गर्न कसलाई के भन्‍ने, र त्यो मामलालाई कुन हदसम्म सम्हालेपछि त्यसलाई पूर्ण रूपमा समाधान भएको मानिन्छ भनेर भन्छस्। तैँले बुझाइसकेपछि, तिनीहरूले बुझेजस्तो देखिन्छ, तर तिनीहरूले अझै पनि त्यसलाई सम्हाल्न सक्दैनन्, र त्यो पूरा गर्न तैँले तिनीहरूसँग सहकार्य गर्ने कोही खोज्नुपर्छ। त्यस्ता मानिसहरू साह्रै मन्द बुद्धिका हुन्छन् र तिनीहरूसँग क्षमता हुँदैन। उदाहरणका लागि, मानौँ तैँले नृत्य सिक्दै गरेका मानिसहरूलाई कुनै निश्चित नृत्यका चालहरू निकै राम्रा छन् भनेर भन्छस् र तिनीहरूलाई ती सिक्नका लागि एउटा भिडियो देखाउँछस्। केही दिनपछि, जब तैँले तिनीहरूलाई कति प्रगति भयो भनेर सोध्छस्, केही मन्द बुद्धिका मानिसहरूले कुन चालहरू राम्रा हुन् भनी चिन्‍न सकिनँ भनेर भन्‍नेछन्। तिनीहरूसँग शिक्षण सामग्रीहरू भए पनि तिनीहरूले त्यो सिक्न सक्दैनन्। तिनीहरूले कुन चालहरू राम्रा छन् वा कुन चालहरू उपयोगी छन् भनेर थाहा पाउँदैनन्, र तिनीहरू छान्‍न जान्दैनन्। तिनीहरूले अन्त्यमा के गर्छन्? तिनीहरूले एउटा जुक्ती लाउँछन्; तिनीहरू यसो भन्छन्, “सिक्नका लागि मलाई केही नृत्य चालहरू छानिदिनुहोस्, अनि म तिनलाई पछ्याउँछु—कुरै सकिन्छ।” तिनीहरूसँग यस्तो सीप हुन्छ; तिनीहरूले सिद्धान्तहरू त बुझ्दैनन्, तर तिनीहरूमा थोरै भए पनि चतुराइ हुन्छ। के तिनीहरू ठ्याक्कै यन्त्रमानव जस्तै होइनन् र? तिनीहरूसँग ज्ञान र शिक्षा होला, तर तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुँदैन—क्षमता नहुनु भनेको यही नै हो। तिनीहरूलाई तैँले सिक्न भनेको कुरा किन सिक्नुपर्छ भन्‍ने थाहा हुँदैन। तैँले तिनीहरूलाई जे कुरा नसिक्न भन्छस्, तिनीहरूलाई ती कुरामा के समस्या छ वा तिनीहरूले ती किन सिक्नु हुँदैन भन्‍ने थाहा हुँदैन। बताइसकेपछि पनि तिनीहरूले त्यो अझै देख्न सक्दैनन्। ल भन्, के त्यस्ता मानिसहरूमा क्षमता हुन्छ? (हुँदैन।) कामकुराबारे संज्ञानात्मक सामर्थ्य नहुनु, र स्वतन्त्र रूपले सही र गलतको परख गर्ने र तजबिज गर्ने सामर्थ्य नहुनु—कुनै क्षमता नहुनु भनेको यही हो। गाईवस्तु वा घोडालाई जस्तै तिनीहरूलाई पनि डोर्‍याउन सधैँ कोही न कोही चाहिन्छ—त्यसोभए, के तिनीहरू साधन मात्र होइनन् र? यदि तँसित क्षमता भएको भए, के तँलाई अझै पनि कसैले डोर्‍याउनुपर्थ्यो र? त्यसोभए, तेरो दिमाग केका लागि हो? तेरो दिमागको काम छैन। किटेरै भन्‍नुपर्दा, तँसित कुनै क्षमता छैन। तैँले अरूका कुरा सुन्‍नुपर्छ र तँ तिनीहरूद्वारा डोर्‍याइनुपर्छ—तँ एउटा साधन मात्र होस्। यस्ता मानिसहरूले जति लामो समयसम्म कुनै निश्चित पेसा अध्ययन गरे पनि वा तिनीहरूले त्यससँग सम्बन्धित जतिसुकै सिद्धान्तहरू सुने पनि, तिनीहरूले अझै ती बुझ्न वा बोध गर्न सक्दैनन्। अन्त्यमा, तिनीहरूले यी सिद्धान्तहरू लागु वा कार्यान्वयन गर्न जान्दैनन्। यिनीहरू सबैभन्दा कमजोर क्षमता भएका मानिस हुन्—जसमा कुनै क्षमता हुँदैन। कतिपय मानिस भन्छन्, “तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छैन र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ तिम्रो अगुवाइ पछ्याउँछन् भन्दैमा त्यसको अर्थ तिनीहरूमा कमजोर क्षमता छ भन्‍ने नसोच्नू। वास्तवमा, तिनीहरूमा सत्यता बुझ्ने सवालमा मात्र क्षमता नभएको हो। जब तिनीहरूका आफ्नै हितसम्बन्धी मामलाहरूको कुरा आउँछ, तिनीहरू सधैँ आफूलाई घाटा हुनबाट जोगिनका लागि भएभरका उपायहरू सोच्छन्। यी कुराहरूमा तिनीहरू तेजिला हुन्छन्—तिनीहरू पक्कै पनि मन्द बुद्धिका मानिस होइनन्। मण्डलीमा, तिनीहरू मन्द बुद्धिका जस्ता देखिन्छन्, तर यदि तिनीहरू संसारमा फर्कने हो भने, तिनीहरू मन्द बुद्धिका हुनेथिएनन्। तिनीहरूलाई रमाइलो लाग्ने कुरामा, तिनीहरूसँग विचारहरू हुन्छन् र तिनीहरूले कृतिहरू सिर्जना गरेका हुन्छन्; सायद तिनीहरूले केही सफलता प्राप्त गर्न सक्छन्।” मण्डलीमा त्यस्ता मानिसहरू पनि छन्, जसले लापरवाह दुष्कर्महरू गर्छन्, र सबैले तिनीहरूमा कमजोर क्षमता छ भन्छन्, तर तिनीहरू आफै विश्‍वस्त हुँदैनन्: “तिमी ममा कमजोर क्षमता छ भन्छौ, तर यदि म गैरविश्‍वासी संसारमा हुन्थेँ भने, म अझै पनि पैसा कमाउन र जीविका चलाउन सक्थेँ। म अझै पनि फस्टाउन सक्थेँ—मैले अरूले भन्दा नराम्रो गर्नेथिएँ भन्‍ने निश्चित छैन!” के गैरविश्‍वासी संसारले सबथोक सत्यता सिद्धान्तहरूद्वारा मापन गर्छ? के त्यो जगका रूपमा परमेश्‍वरका वचनहरूमा भर पर्छ? यदि पर्दैन भने, तिनीहरूका सिर्जित कृतिहरू गैरविश्‍वासी संसारमा मान्य हुन सके भने पनि, यसले तिनीहरूमा क्षमता छ भन्‍ने प्रमाणित गर्दैन। उदाहरणका लागि, कतिपय मानिसहरूले चित्र बनाउँछन्, र पहिलो नजरमा, रङ्ग, संरचना, प्रकाश, आकृतिहरूको अनुपात, र तिनीहरूको चित्रका अन्य पक्षहरू निकै राम्रा देखिन्छन्। तर, जब तिनीहरूले परमेश्‍वरका घरमा केही प्राचीन सन्तहरूको चित्र बनाउँछन्, तब समस्याहरू उत्पन्‍न हुन्छन्। म भन्छु, “यो चित्रकारका कृतिहरू गैरविश्‍वासीहरूमाझ धेरै बिक्री हुने गर्थे, र मानिसहरूले तिनको प्रशंसा गर्थे। तर मलाई किन उसले गरेका अब्राहाम, अय्यूब, र नोआका चित्रणहरू अनौठा लाग्छन्? फरक-फरक युगका यी तीन जना मानिसहरू कसरी एउटै परिवारका जस्ता देखिने भए? तिनीहरू प्राचीन इस्राएली थिए, र तिनीहरूको मुहारको हाड संरचनाले त्यस जातीय समूहका विशेषताहरू प्रतिविम्बित गर्नुपर्छ। तिनीहरूलाई हरेक पात्रको व्यक्तित्व थाहा नभए पनि, कम्तीमा, तिनीहरूले त्यो जातिका अस्थिपञ्जरका संरचना र विशेषताहरू कस्ता हुन्छन् भनेर बुझ्नुपर्छ। तिनीहरूले चित्र बनाइरहेको व्यक्ति जुन युगको भए पनि, उसको कपाल, अनुहारका विशेषता, आँखाको रङ्ग, र अनुहारको आकृतिमार्फत उसका जातीय विशेषताहरूलाई जोड दिइनुपर्छ र प्रस्ट पारिनुपर्छ।” तैपनि कसरी तिनीहरूले चित्रित गरेका विभिन्‍न युगका व्यक्तित्वहरू फरक-फरक उमेरका भए पनि, तिनीहरू सबैका हाड संरचनाहरू तिनीहरूका जातीय समूहसँग मिल्ने देखिँदैनन्? तिनीहरू सबैका मुहार आयताकार छन्; कान्छाहरू थोरै मात्र चाउरी परेका छन् र तिनीहरूको कपाल बढी गाढा छ भने जेठाहरू धेरै चाउरी परेका छन्, तिनीहरूको छाला बढी गाढा छ र कपाल धेरै फुलेको छ। यी व्यक्तित्वहरूका विशेषताहरू मूलतः उस्तै छन्: फराकिलो, आयताकार मुहार, अग्लो कद, र अत्यन्तै बलियो शारीरिक संरचना। म भन्छु, “यी सबै व्यक्तित्वहरू किन उस्तै देखिन्छन्? तिनीहरू अत्यन्तै मिल्दाजुल्दा छन् र तिनीहरूलाई छुट्ट्याउने विशेषताहरू छैनन्।” चित्रकार आफैले उक्त समस्या देखेको हुँदैन। सायद उसले यस प्रकारका धेरै चित्र बनाएको छ, उसको शिल्प अत्यन्तै परिष्कृत भइसकेको छ, र उसको शैली स्थिर भइसकेको छ। जब उसले व्यक्तित्वहरूका चित्र बनाउँछ, पुरुषहरूको मुहारको आकार लगभग सधैँ उस्तै हुन्छ, र उसले भिन्‍न पात्रहरूका मुहारका अद्वितीय विशेषताहरू उतार्न सक्दैन। के कामकुराको मूल्याङ्कन र कदर गर्ने उसको सामर्थ्य अलि कमजोर होइन र? (हो।) चित्र बनाइसकेपछि, उसलाई चित्रित गरेका मुहारका विशेषताहरू त्यस जातीय समूहका हाड संरचनासँग मेल खान्छन् कि खाँदैनन् भनेर थाहा हुँदैन; ऊ ती विशेषताहरूबारे निश्चित हुँदैन। के तिमीहरू यस क्षेत्रमा उसको क्षमता औसत छ भन्छौ कि कमजोर छ भन्छौ? (कमजोर।) के अरूले सुझावहरू दिएपछि उसले तिनलाई सच्याउन सक्छ? एक पटक, मैले उसलाई सुझाव दिएँ, तर पछि उसको काम देख्दा, त्यो अझै उस्तै थियो। त्यस बिन्दुमा, थप केही भन्‍नु आवश्यक हुँदैन—थप व्याख्या गरे पनि त्यो उसको बुझाइको दायराभन्दा बाहिर हुनेछ।

मानिसहरूको कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यसँग सम्बन्धित समस्याहरूका बारेमा कुरा गर्नुपर्दा, विभिन्‍न स्तरका क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। राम्रो क्षमता भएका मानिसहरूले कामकुराको कदर गर्न मात्र नभई तिनको मूल्याङ्कन गर्न पनि सक्छन्। अझ राम्रो क्षमता भएकाहरूले सही विचार र दृष्टिकोणहरू भेट्टाएपछि, तिनका लागि वकालत गर्नेछन् र ती अरूलाई बाँड्नेछन् वा प्रदान गर्नेछन्, अनि गलत विचार र दृष्टिकोणहरू भेटिएमा तिनीहरूले तिनको परख गर्न र सच्याउन सक्छन्। औसत क्षमता भएका मानिसहरूमा कामकुराको कदर गर्ने निश्चित सामर्थ्य हुन्छ तर कामकुराको मूल्याङ्कन गर्ने सामर्थ्य हुँदैन—तिनीहरूले वैचारिक तहका कुराहरूको परख गर्न सक्दैनन्। कमजोर क्षमता भएका मानिसहरूले वैचारिक तहका कुराहरू बुझ्दैनन्, त्यसैले तिनीहरूमा कुराहरू परख गर्ने कुनै सामर्थ्य हुन्छ भन्‍न मिल्दैन। क्षमता नभएका मानिसहरूले यी कुराहरू बिलकुलै बुझ्न सक्दैनन्। कसैले तिनीहरूलाई यी कुराहरू बुझाए पनि, तिनीहरूले अझै पनि वास्तवमा कस्ता विचार र दृष्टिकोणहरूबारे छलफल गरिँदै छ भनी बुझ्न सक्दैनन्। तिनीहरूका लागि, यो अर्को ग्रहबारे कथा सुनेझैँ हुन्छ—यो पूर्ण रूपमा तिनीहरूको बुझाइभन्दा बाहिर हुन्छ। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यका सन्दर्भमा फरक-फरक क्षमता भएका मानिसहरूले देखाउने फरक-फरक विशेषताहरू यिनै हुन्।