सत्यता कसरी पछ्याउने (६) भाग पाँच

नम्बर ८: परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य

यसपछि, हामी आठौँ सामर्थ्य, अर्थात् परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यका बारेमा छलफल गर्नेछौँ। परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य भनेको व्यक्तिले कुनै मामलालाई कसरी सम्हाल्छ भन्‍ने कुरा हो—यो मामला आइपरिसकेको भए पनि, वा यो मामला अचानक आइपर्ने भए पनि, वा यस मामलाका विभिन्‍न कारक परिवर्तन भएका भए पनि, व्यक्तिले यस मामलालाई कसरी सम्हाल्छ भन्‍ने कुरा परिस्थितिहरूलाई सम्बोधन गर्ने उसको सामर्थ्य हो। त्यसोभए परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यले मुख्य रूपमा केलाई जनाउँछ? यसले कुनै मामलाको परख गर्ने, तजबिज गर्ने, लिने र सम्हाल्ने तेरो सामर्थ्यलाई जनाउँछ। जब तैँले कुनै व्यक्ति, घटना, वा कामकुराको सामना गर्छस्, तब त्यसको प्रकृति के हुन्छ? त्यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? यस्तो कुरालाई कसरी सामना गर्नुपर्छ र सम्हाल्नुपर्छ? जब अचानक यस्तो हुन्छ, तब के-कस्ता पाठहरू सिक्‍नुपर्छ? परमेश्‍वरका असल अभिप्रायहरू के-के हुन्? यदि यस्तो कुराले मण्डलीको काममा हानि गर्न सक्छ भने, यसलाई सिद्धान्तहरू अनुरूप, र भएको क्षतिका परिणामहरूलाई निवारण गर्ने, उपरान्त मण्डलीको काममा हानि गर्न नदिने, साथै नकारात्मक प्रभावलाई निरन्तर विकास हुनबाट रोक्ने गरी कसरी सम्हाल्नुपर्छ? कुनै व्यक्ति, घटना, वा कामकुराको सामना गर्दा, यदि तैँले आफूले बुझेका खुट्ट्याउने क्षमताका सिद्धान्तहरू र आफूले जानेका सत्यता सिद्धान्तहरूका आधारमा त्यस्ता मामलाहरूको सार र जड, र तिनलाई सम्हाल्ने सिद्धान्त र योजनाको सटीक रूपमा तजबिज गर्न सक्छस् भने, तँ परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य भएको व्यक्ति होस्, जसको अर्थ तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्ने पनि हुन्छ। उदाहरणका लागि, जब तेरो अगाडि अचानक कुनै मामला आइपर्छ, तब तैँले यसलाई कसरी सामना गर्नुपर्छ? पहिलो, तैँले यो कुन दिशामा विकसित हुन सक्छ, यो विकसित भइरह्यो भने यसले के-कस्ता परिणामहरू ल्याउनेछ, यो उत्पन्न हुनुको जड कहाँ छ, यसको सार के हो भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍नुपर्छ—तैँले यी सबै कुराहरूलाई खुट्ट्याउन र स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्छ। खुट्ट्याउने क्षमताद्वारा मामलालाई चित्रण गर्, त्यसपछि त्यसलाई सम्हाल्ने योजना तुरुन्तै खोज्। यस मामलालाई कसरी सम्हाल्नुपर्छ, नाइके को हो, अनुयायीहरू को हुन्, प्राथमिक रूपमा जिम्मेवार पक्ष को हो, प्राथमिक जिम्मेवारी कसले लिनुपर्छ, जिम्मेवार पक्षहरूलाई कसरी सम्हाल्नुपर्छ—तँमा यी सबै समस्याबारे स्पष्टता हुनैपर्छ। यसको साथै, समस्याहरू सम्हाल्दा, तैँले घाटाहरूलाई न्यूनीकरण गर्नैपर्छ र कर्मचारीहरूलाई पुनः व्यवस्थित र समायोजन पनि गर्नैपर्छ। यसरी मात्रै गल्तीहरूलाई तुरुन्तै सच्याउन, समस्याहरूलाई पूर्ण रूपमा समाधान गर्न, र परिस्थितिलाई निवारण गर्न सकिन्छ, जसले गर्दा कामकुरा सही र फाइदाजनक दिशामा विकसित हुन सक्छ। छोटकरीमा भन्दा, यदि तैँले यस मामलामा संलग्‍न सबै विभिन्‍न कारकहरूलाई ख्याल गर्न सक्छस्, त्यसपछि त्यसलाई सम्बोधन गर्ने सही तरिका, यसलाई सम्हाल्ने सही र सटीक सिद्धान्तहरू पाउन सक्छस् भने, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य हुनु भनेको यही हो, र यसको अर्थ तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्‍ने हुन्छ। अवश्य नै, यस मामलालाई सम्बोधन गर्ने यो विधि र यसलाई सम्हाल्ने सिद्धान्तहरू परिस्थितिका बारेमा थाहा भएका मानिसहरूसँग सम्पर्क र सङ्गति गरेर वा सबैसँग सहकार्य र छलफल गरेर तैँले निकाल्ने निष्कर्ष र परिभाषाहरू हुन सक्छन्। यदि तैँले वास्तविक परिस्थितिको घटनाक्रमलाई हेरेर यस्तो मामला बुझेका दाजुभाइ-दिदीबहिनीहरूको सुझाव मागेपछि, बल्ल परिभाषा बनाउन, निष्कर्ष निकाल्न, समाधान निर्धारित गर्न, र समस्यालाई उचित रूपमा सम्हाल्न, कर्मचारीको हेरफेर पूरा गर्न, यस मामलाले ल्याएका घाटाहरूको पूर्ति गर्न, अनि त्यसपछि मण्डलीको कामलाई हानिकारक दिशामा विकसित हुन नदिनका लागि त्यसलाई समायोजन गर्न सक्छस् भने, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य हुनु भनेको यही हो। यदि तैँले मामलाहरूलाई यो स्तरमा सम्हाल्न सक्छस् भने, तँसँग राम्रो क्षमता छ भनेर मान्न सकिन्छ। अवश्य नै, राम्रो क्षमता हुनुको अर्थ व्यक्तिले कुनै मामलाको सामना गर्दा, तुरुन्तै त्यसलाई छर्लङ्गै देख्‍न, तत्कालै निर्णयहरू गर्न, र त्यसलाई विस्तृत र उचित तरिकाले सम्हाल्न सक्छ भन्‍ने हुँदैन—यस्तै नै हुन्छ भन्ने हुँदैन। मानिसहरूले समस्याहरू सम्हाल्नका लागि एउटा प्रक्रिया चाहिन्छ; तिनीहरूले कामकुराको सारलाई देख्‍नका लागि यस मामलाका विभिन्‍न पक्षहरू बुझ्नु जरूरी हुन्छ। मानिसहरू देह र रगतले बनेका हुन्छन्, तिनीहरूले मानवताको दायराभित्र रहेर कामकुरा गर्छन्, र एउटा प्रक्रिया चाहिन्छ नै। यो परमेश्‍वरको आत्माले काम गर्नुभन्दा फरक हो—परमेश्‍वरको आत्माले सारा पृथ्वीलाई गर्नुहुने छानबिन सर्वव्यापी हुन्छ; परमेश्‍वरले सधैँ सबै कुरा र समस्याहरूको सार र जडलाई देख्‍न सक्‍नुहुन्छ। जब मानिसहरूले मामलाहरूको पछाडि लुकेका कुराहरूलाई छर्लङ्ग देख्‍न सक्दैनन्, तब तिनीहरू सजिलै छलमा पर्छन् र अन्धा हुन्छन्। यही कारणले गर्दा नै, मानिसहरूले मामलाहरूको पछाडि रहेका कुराहरूको साँचो स्थितिलाई गहन रूपमा हेर्नु आवश्यक छ। कुनै मामलाको पछाडि लुकेका वास्तविक परिस्थितिहरू बुझेपछि, यदि तैँले तुरुन्तै समस्याहरू सम्हाल्न, विचलनहरूलाई समाधान गर्न, प्रत्यक्ष रूपमा इन्चार्ज रहेका मानिसहरू र काम गर्ने कर्मचारीहरूलाई उचित रूपमा समायोजन गर्न, र कामको सामान्य सञ्चालनको प्रत्याभूति दिन सक्छस् भने, यसले तँसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। विशेष गरी अचानक आइपर्ने घटनाहरूको सामना गर्दा, यदि तैँले सिद्धान्तहरू अनुसार विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्न सक्छस् भने, यसले तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्‍ने कुरालाई प्रमाणित गर्छ। परिस्थितिहरूलाई सम्बोधन गर्ने औसत सामर्थ्य भएका मानिसहरूले नियमित र आम परिस्थितिहरूको सामना गर्दा, प्रक्रियाहरूअनुसार, र नियमित रूपमा केही कामकुरा पूरा गर्न सक्छन्, तर तिनीहरूले प्राप्त गर्ने परिणामहरू औसत हुन्छन्—तिनीहरूले कुनै फड्को मार्दैनन्, न महत्त्वपूर्ण प्रगति नै गर्छन्। विशेष परिस्थिति वा अचानक आइपर्ने घटनाहरूको सामना गर्ने बित्तिकै, तिनीहरू अन्योलमा पर्छन् र तिनलाई सम्हाल्न सक्दैनन्। उदाहरणका लागि, जब कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्छन्, तब तिनीहरूले सामान्य परिस्थितिहरूमा हरेक महिना केही मानिसहरूलाई विश्‍वासमा ल्याउन सक्छन्। यसले औसत क्षमतालाई प्रतिबिम्बित गर्छ, र तिनीहरूले गर्ने सुसमाचार प्रचारका परिणामहरू पनि औसत हुन्छन्, खासै राम्रा हुँदैनन्। यदि मण्डलीमा ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने घटना अचानक उत्पन्न भयो भने, यी सुसमाचार प्रचारकहरू अन्योलमा पर्छन् र तिनीहरूलाई के गर्ने भन्ने थाहा हुँदैन। सुसमाचारको काम रोकिन्छ, र तिनीहरूलाई प्रचारलाई जारी राख्‍नुपर्छ कि कामका बन्दोबस्तहरू पर्खनुपर्छ भन्‍ने थाहा हुँदैन। तिनीहरू सुसमाचार प्रचारको कामका सिद्धान्तहरू खोज्न जान्दैनन्। परमेश्‍वरको घरका कामका बन्दोबस्तहरूमा, प्रायजसो, “सुसमाचारको काम कुनै पनि बेला वा कुनै पनि परिस्थितिमा रोकिनु हुँदैन” भन्ने गरिन्छ। तैपनि, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने घटनाको सामना गरेकै कारण तिनीहरूले सुसमाचारको काम रोक्छन्। के तिनीहरूले बफादारी साथ आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्? तिनीहरू यो कुरामा चुक्छन्। के तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित भइरहेका हुन्छन्? तिनीहरू यो कुरामा पनि चुक्छन्। जब तिनीहरूले लापरवाहीपूर्वक कुकर्म गरिरहेका र बाधा र अवरोधहरू ल्याइरहेका ख्रीष्टविरोधीहरू वा झूटा अगुवाहरूलाई भेट्छन्, तब तिनीहरू अन्योलमा पर्छन्। तिनीहरू आफूले सामना गरेको यो मामलालाई कसरी सम्हाल्नुपर्छ भनेर सत्यता बुझेका मानिसहरूलाई सोध्न जान्दैनन्, र परमेश्‍वरका वचनहरूमा अभ्यासका सिद्धान्तहरू र अभ्यासको मार्गको खोजी गर्नु त परको कुरा हो। तिनीहरूमा परिस्थितिहरूलाई सम्बोधन गर्ने यो सामर्थ्यको कमी हुन्छ। जब कतिपय मण्डली अगुवाले ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउनका लागि भ्रमहरू फैलाएको देख्छन्, तब तिनीहरूलाई भ्रमहरूको खण्डन गर्न कसरी सत्यतामा सङ्गति गर्ने भन्‍ने थाहा हुँदैन। तिनीहरूलाई के गर्ने भन्‍ने थाहा हुँदैन तर तिनीहरू यसो भनेर प्रार्थना गरिरहन्छन्, “हे परमेश्‍वर, कृपया शैतानलाई बाँधेर राख्‍नुहोस्, कृपया शैतानको मुख बन्द गर्नुहोस्, र मानिसहरूलाई बहकाउन भ्रमहरू फैलाउनबाट त्यसलाई रोक्‍नुहोस्। बिन्ती छ, ती अज्ञानी र मूर्ख मानिसहरूलाई बचाउनुहोस्, र तिनीहरूलाई ख्रीष्टविरोधीको बहकाउमा पर्नबाट रोक्‍नुहोस्। हे परमेश्‍वर, कृपया तिनीहरूलाई फर्काउनुहोस्!” केवल प्रार्थना गर्ने र सत्यताको खोजी नगर्ने—के यसले समस्या समाधान गर्न सक्छ? यदि मानिसहरू सहकार्य गर्दैनन् र आफ्नो कर्तव्य पूरा गर्दैनन् भने, त्यो व्यर्थ हुन्छ। मानिसहरूले गर्नुपर्ने धेरै कुरा छन्। पहिलो, तिनीहरूले यो ख्रीष्टविरोधीको पृष्ठभूमि कस्तो छ, उसले के-कस्ता विशेषताहरू प्रदर्शन गर्छ, र मानिसहरूलाई बहकाउन ऊ के कुरामा भर पर्छ भनेर हेर्नुपर्छ; तिनीहरूले बहकाउमा परेका मानिसहरूका बीचमा सत्यतालाई स्वीकार गर्न सक्‍ने असल क्षमता भएका मानिसहरू छन् कि छैनन् भनेर पनि हेर्नुपर्छ, र तिनीहरूलाई तुरुन्तै फर्काउनुपर्छ। सुरुमा गर्नुपर्ने काम यही हो। तर यी मण्डली अगुवाहरूलाई यो कुरा थाहा हुँदैन, र तिनीहरू यसरी काम गर्न जान्दैनन्। तिनीहरू खाली अन्योलमा पर्छन्, र चिन्ताले खुट्टा ठटाउँछन्। कतिपय व्यर्थका व्यक्तिहरू त चिन्ताले रुने पनि गर्छन्। रुनुको के फाइदा? के रुवाइले बहकाउमा परेकाहरूलाई फिर्ता ल्याउन सक्छ? रुनु भनेको काम गर्नु होइन, न त यसले तैँले बोझ उठाउँछस् भन्‍ने कुराको प्रतिनिधित्व नै गर्छ। यो अयोग्यताको प्रकटीकरण हो। क्षमता भएका मानिसहरू यस्ता कुराहरूको सामना गर्दा सुरुमा शान्त हुन्छन्। प्रार्थना गरेपछि, खोजी गरेपछि, विश्लेषण गरेपछि, र तजबिज गरेपछि, अनि त्यसपछि सङ्गति गरेपछि, तिनीहरूले अन्ततः निर्णय गर्छन्। कमजोर क्षमता भएका मानिसहरू मामलाहरूको सामना गर्दा अन्योलमा पर्छन्: तिनीहरूलाई प्रार्थना र खोजी गर्नुपर्छ भन्‍ने थाहा हुँदैन, न त तिनीहरूलाई सङ्गति गर्नका लागि सत्यता बुझ्ने केही मानिस खोज्‍न नै आउँछ; तिनीहरू निष्क्रिय रूपमा प्रतीक्षा मात्रै गर्छन्। यसले मामलामा सबैभन्दा बढी ढिलाइ गर्छ। तँसँग कुनै समाधान छैन, तर सायद अरूसँग हुन सक्छ—किन अरूबाट सहयोग नखोज्ने? चलाख मानिसहरूले प्रतीक्षा गर्ने क्रममा पनि आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न बिर्सँदैनन्। कर्तव्य र जिम्मेवारी पूरा गर्नु निष्क्रिय कार्य नभई सक्रिय कार्य हो। यो परमेश्‍वरले आदेश जारी गर्न वा परिस्थितिलाई परिवर्तन गर्नका निम्ति परमेश्‍वरले व्यक्तिगत रूपमा काम गर्न पर्खनु होइन। बरु, यो त त्यो प्रतीक्षाको अवधिमा फर्काउन सकिनेहरूलाई फर्काउन सक्दो प्रयास गर्नु हो। जहाँसम्म फर्काउन नसकिने मानिसहरू—जस्तै भ्रमित मूर्खहरू, दुष्ट आत्मा लागेका मानिसहरू, र लहै-लहैमा लागेर र सित्तैमा खानका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्ने अविश्‍वासीहरूको कुरा छ—तिनीहरूको मतलब गर्नु हुँदैन। अन्धो नभएकाहरूका हकमा भन्दा, तिनीहरूसँग सत्यतामा सङ्गति गर्न र ख्रीष्टविरोधीलाई खुट्ट्याउने बारेमा कुरा गर्न लगाउनका लागि तुरुन्तै कसैको बन्दोबस्त गर्नुपर्छ। के यो परिस्थितिलाई सम्हाल्ने योजना होइन र? यो प्रतिक्रियाको उपाय हो। कमजोर क्षमता भएका मानिसहरूमा त्यस्तो प्रतिक्रियाका उपायहरू हुँदैनन्; तिनीहरूलाई रुन र गुनासो गर्न मात्रै आउँछ। यो परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यको कमी हुनु हो। यदि साधारण परिस्थितिहरूमा, व्यक्तिले सामान्य रूपमा काम गर्न सक्छ, तर उसले विशेष परिस्थितिहरूको सामना गरेपछि, ऊ चकित हुन्छ र अन्योलमा पर्छ भने, परिस्थितिहरूलाई सम्बोधन गर्ने यस्तो व्यक्तिको सामर्थ्य बढीमा औसत हुन्छ। यदि कसैले साधारण परिस्थितिहरूलाई समेत सम्हाल्न सक्दैन भने, यस्तो व्यक्तिसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने कुनै सामर्थ्य हुँदैन। उदाहरणका लागि, यदि तिनीहरूलाई मण्डली अगुवाको निर्वाचन आयोजना गर्न मण्डलीमा पठाइयो भने, तिनीहरूलाई कस्तो व्यक्ति छनौट गर्ने वा मानिसहरूलाई कसरी भेला गरेर निर्वाचन आयोजना गर्ने भन्‍ने थाहा हुँदैन। तिनीहरूले निर्वाचनका आधारभूत प्रक्रियाहरू समेत बुझ्दैनन्। यसमाथि, मण्डलीमा गम्भीर भ्रष्ट स्वभाव भएका केही मानिसहरू हुन्छन्—हेपाहा, बदमास, र नीचहरूको वर्गमा पर्ने मानिसहरू—र यी मानिसहरूले मौकाको फाइदा उठाएर निर्वाचनलाई बिथोल्छन्। यस्तो परिस्थितिमा, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य नभएका मानिसहरू त्यसलाई सम्हाल्न झनै असमर्थ हुन्छन्, तिनीहरू त्यतिकै बन्दी बनाइन्छन् र आत्मसमर्पण गर्छन्। अन्त्यमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई यसो मात्रै भन्‍न सक्छन्, “तपाईँहरू आफै छनौट गर्नुहोस्। तपाईँहरूले जोसुकैलाई निर्वाचित गर्नुभए पनि हामी मान्छौँ।” तिनीहरू कस्ता प्राणी हुन्? के तिनीहरू बेकामे होइनन् र? यो परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य नहुनु हो। परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य नभएका मानिसहरूमा कार्य सक्षमताको कमी पनि हुन्छ। चाहे सामान्य परिस्थितिमा होस् वा विशेष परिस्थितिहरूमा होस्, जब केही हुन्छ, तिनीहरू ढल्छन् र पछि हट्छन्; जब केही हुन्छ, तिनीहरू अन्योलमा पर्छन् र रुन थाल्छन्। जब केही हुँदैन, तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन्, तर जब केही हुन्छ र तिनीहरूलाई समस्या सम्हाल्न लगाइन्छ, तब तिनीहरूले त्यसो गर्न सक्दैनन्। उदाहरणका लागि, जब कतिपय व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा व्यवहार गर्छन्, तब परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य नभएका मानिसहरूलाई यस विषयमा तिनीहरूसँग छलफल गर्न मात्रै आउँछ, र तिनीहरूले यसो भन्छन्: “कृपया झाराटारुवा नहुनुहोस्—कृपया आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुहोस्!” के यसले ती व्यक्तिहरूको समस्या समाधान गर्न सक्छ? तिनीहरूले ती व्यक्तिहरूसँग झाराटारुवा हुनुको समस्याका बारेमा सङ्गति गर्नुपर्छ। यदि ती व्यक्तिहरूले सत्यता बुझ्दैनन् र आफ्नो समस्यालाई पहिचान गर्न सक्दैनन् भने, तिनीहरूले उनीहरूसँग सत्यतामा सङ्गति गर्नुपर्छ। यदि ती व्यक्तिहरूले यो गलत छ भन्‍ने थाहा पाएर पनि यसरी व्यवहार गर्छन् भने, तिनीहरूले उनीहरूलाई चिरफार र काटछाँट गर्नुपर्छ। यदि यो अरू कुनै समस्याका कारणले आएको हो भने, तिनीहरूले त्यस समस्याका आधारमा सङ्गति गर्नुपर्छ। तिनीहरूले पैदा भएको समस्याका आधारमा उचित कार्यविधि निर्धारित गर्नुपर्छ, अनि त्यसपछि सोहीअनुसार कार्य गर्नुपर्छ। यदि तँ यसो गर्न सक्दैनस् भने, तँसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यको कमी छ। बुझिस्? (बुझेँ।) यदि तैँले कुनै मामलाको सामना गर्दा तँसँग यसको कुनै समाधान, यसलाई सम्बोधन गर्ने कुनै तरिका, र यसलाई सम्हाल्ने कुनै सिद्धान्त हुँदैन भने, तँसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यको कमी हुन्छ। के त्यस्ता मानिसहरूमा परिस्थितिहरूलाई सम्बोधन गर्ने सबैभन्दा कमजोर सामर्थ्य हुँदैन र? (हो।)

परिस्थितिहरूलाई सम्बोधन गर्ने सबैभन्दा राम्रो सामर्थ्य भएका मानिसहरू विशेष मामला वा अचानक आइपर्ने परिस्थितिहरूको सामना गर्दा, तिनलाई तुरुन्तै तजबिज गर्न र परख गर्न, अनि त्यसपछि तिनलाई सम्हाल्ने तुलनात्मक रूपमा उचित योजनाहरू बनाउन सक्‍ने मानिसहरू हुन्। परिस्थितिहरूलाई सम्बोधन गर्ने औसत सामर्थ्य भएका मानिसहरूले साधारण र नियमित मामलाहरूको सामना गर्दा तिनलाई सम्हाल्न सक्छन्। तिनीहरूले परिस्थितिलाई कायम राख्‍न र व्यवस्थापन गर्नका लागि प्रक्रियाहरू अनुसार काम गर्न सक्छन्, वा कर्मचारीलाई समायोजन र प्रतिस्थापन गर्न सक्छन्—तिनीहरू यस्तो काम गर्न सक्छन्। तर जब तिनीहरूले अचानक आइपर्ने परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूले तिनलाई सम्हाल्न सक्दैनन्। तिनीहरूलाई सिद्धान्तहरू बताइए पनि, तिनीहरूले तिनलाई लागू गर्न सक्दैनन्; तिनीहरूलाई अख्तियार दिएर मामलालाई सम्हाल्न लगाइयो भने पनि, तिनीहरूले त्यसो गर्न सक्दैनन्। यो परिस्थितिहरूलाई सम्बोधन गर्ने औसत सामर्थ्य हुनु हो। परिस्थितिहरूलाई सम्बोधन गर्ने कमजोर सामर्थ्य भएका मानिसहरूले नियमित मामलाहरूलाई समेत राम्ररी सम्हाल्दैनन्। तिनीहरू धर्मसिद्धान्तहरू बोल्न र प्रावधानहरू पालना गर्न मात्रै जान्दछन्, र अन्त्यमा, समस्याको मूल कारण पटक्‍कै समाधान हुँदैन। मानिसहरूलाई बाधा दिने र बहकाउने ख्रीष्टविरोधीको कार्य नै तिनीहरूलाई सुसमाचार प्रचार गर्न छोड्न लगाउनका लागि पर्याप्त हुन्छ; झूटा अगुवाले बकवास कुराहरू बोल्ने कार्य पनि तिनीहरूलाई सुसमाचारको काम रोक्न लगाउनका लागि पर्याप्त हुन्छ। के यी मानिसहरू परमेश्‍वरको इच्छा पछ्याउनेहरू हुन्? तिनीहरू यसमा चुक्छन्। परिस्थितिहरूलाई सम्बोधन गर्ने त्यस्ता मानिसहरूको सामर्थ्य अत्यन्तै कमजोर हुन्छ। जस्तोसुकै परिस्थिति पैदा भए पनि, परिस्थितिहरूलाई सम्बोधन गर्ने कमजोर सामर्थ्य भएका मानिसहरूले त्यसलाई सम्हाल्न सक्दैनन्। उदाहरणका लागि, यदि कुनै कोठामा आगो लाग्यो भने, तिनीहरू आत्तिन्छन् र तुरुन्तै अग्‍नि-नियन्त्रक यन्त्र खोज्छन्। अग्‍नि-नियन्त्रक यन्त्र भेट्टाएपछि, तिनीहरू त्यसलाई प्रयोग गर्न जान्दैनन् र तिनीहरूले निर्देशनहरू खोज्नुपर्छ। परिणामस्वरूप, आगो बढ्दै जान्छ। तिनीहरूलाई अग्‍नि-नियन्त्रक यन्त्र कसरी प्रयोग गर्ने भन्‍ने थाहा नभएकाले यस्तो हुन्छ र यसरी तिनीहरूले कामकुरामा ढिलाइ गर्छन्, र परिस्थितिहरूलाई सम्बोधन गर्ने तिनीहरूको सामर्थ्यको कमीको कारणले पनि यस्तो हुन्छ। तिनीहरूले आगलागी जस्तो आपतकालीन परिस्थितिलाई समेत समाधान गर्न सक्दैनन्; यो परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यको कमी हुनु हो। अर्को उदाहरण दिनुपर्दा, यदि खाना खाँदा कुनै बच्‍चाको घाँटीमा खाना अड्क्यो, र उसले सास फेर्न सकेन र आँखा पल्टायो भने, यी मानिसहरू आत्तिन्छन्। उसलाई अस्पताल लैजाने कि नलैजाने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, र उसलाई पानी पिउन दिने कि नदिने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू यति आत्तिन्छन् कि तिनीहरू पसिनाले भिज्छन् र तिनीहरूको अनुहार रातो हुन्छ, तर तिनीहरूलाई के गर्ने भन्‍ने थाहै हुँदैन। केही समयपछि, बच्‍चाले एक-दुई पटक खोक्छ र उसले बल्ल फेरि सास फेर्न सक्छ। तिनीहरू यति लामो समयसम्म आत्तिए तर तिनीहरूसँग समस्यालाई सम्बोधन गर्ने कुनै समाधान थिएन। भाग्यवश, त्यो बच्‍चा भाग्यमानी थियो; नत्र भने, त्यो बच्‍चा तिनीहरूकै हेरचाहमा हुँदै गर्दा मर्ने थियो। कमजोर क्षमता भएका मानिसहरूसँग कुनै सामर्थ्य हुँदैन र तिनीहरूले केही पनि राम्ररी गर्न सक्दैनन्। तिनीहरूले बुझेका केही धर्मसिद्धान्तहरू प्रावधान र नाराहरू बाहेक केही पनि हुँदैनन्। सामान्य परिस्थिति र विशेष परिस्थितिहरू दुवैका हकमा भन्दा, तिनीहरू तिनलाई सम्हाल्न वा सम्बोधन गर्न उत्तिकै असमर्थ हुन्छन्। त्यसकारण, परिस्थितिहरूलाई सम्बोधन गर्ने तिनीहरूको सामर्थ्यका हिसाबमा भन्दा, त्यस्ता मानिसहरूमा यो कुराको झनै कमी हुन्छ—तिनीहरूमा यो कुरा हुँदै हुँदैन। तिनीहरूले जुनसुकै परिस्थितिको सामना गरे पनि, त्यसलाई सम्बोधन गर्न वा सम्हाल्न सक्दैनन्—तिनीहरूले यी कुराहरू बुझ्न सक्दैनन्। तिनीहरू केही शब्द र धर्मसिद्धान्तहरू बोल्न र केही नाराहरू चिच्याउन सक्‍नु नै पर्याप्त हुन्छ, यसको अर्थ तिनीहरूसँग पूँजी छ र तिनीहरू आफ्नो जीवनमा सन्तुष्ट छन् भन्‍ने सोच्छन्। वास्तवमा, जब केही हुन्छ, तब तिनीहरूले जानेका धर्मसिद्धान्तहरू कुनै काम लाग्दैनन्। तैपनि, यसले कमजोर क्षमतालाई प्रतिबिम्बित गर्छ भन्‍ने कुरा तिनीहरूले बुझ्न सक्दैनन्—तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, तर तिनीहरू आफैलाई यसबारे थाहा हुँदैन। के यो अत्यन्तै कमजोर क्षमता होइन र? (हो।) के त्यस्ता मानिसहरू मूर्ख हुँदैनन् र? (हुन्छन्।) मूर्ख मानिसहरू अक्कल नभएका मान्छे हुन्। “अक्कल नभएको मान्छे” ले केलाई जनाउँछ? यसको अर्थ के हुन्छ भने, तिनीहरूले जति धेरै धर्मसिद्धान्त बुझे पनि वा जति धेरै प्रावधानहरू पालना गर्न सके पनि, जब केही हुन्छ, तब यीमध्ये कुनै पनि प्रावधान वा धर्मसिद्धान्तले वास्तविक समस्या समाधान गर्न सक्दैन। तैपनि तिनीहरूले अझै पनि यो कुरा बुझ्न सक्दैनन्, र सोच्छन्, “यी धर्मसिद्धान्त र प्रावधानहरू किन प्रभावकारी छैनन्?” तिनीहरूले आफ्नो दिमाग खियाए पनि, त्यो कुनै काम लाग्दैन—तिनीहरूले जसरी विचार गरे पनि, समस्यालाई कसरी सम्हाल्ने वा समाधान गर्ने भनेर पत्ता लगाउन सक्दैनन्। कतिपय मानिसहरूले ख्रीष्टविरोधी घटनाहरू सम्हाल्दा, सुरुमा ख्रीष्टविरोधीहरूले बहकाएका मानिसहरूको उद्धार गर्दैनन्, न त तिनीहरूले ख्रीष्टविरोधीहरूको बहकाउका कारण नकारात्मक र भेला हुन अनिच्छुक बनेकाहरूलाई सहयोग नै गर्छन्। तिनीहरूले सुरुमा के गर्छन्? तिनीहरूले ख्रीष्टविरोधीहरूमा कुन-कुन प्रकटीकरणहरू हुन्छन्, ख्रीष्टविरोधीहरू कस्ता मानिसहरू हुन्, ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका बीचमा के-कस्ता भिन्‍नताहरू छन्, ख्रीष्टविरोधीहरूलाई ठ्याक्‍कै कसरी खुट्ट्याउने, ख्रीष्टविरोधीहरूको स्वभाव भएकाहरूलाई कसरी खुट्ट्याउने भन्‍ने बारेमा कुरा गर्न ठूल्ठूला भेलाहरू आयोजना गर्छन्—तिनीहरूले यो सबै कुरामा सङ्गति गरिसक्दासम्म, ख्रीष्टविरोधीहरूले बहकाएका कतिपय मानिसहरूले धेरै पहिले नै मण्डली छोडिसकेका हुन्छन्, र कतिपय नकारात्मक र कमजोर मानिसहरू भेलाहरूमा सहभागी हुन छोड्छन्। तिनीहरूले यी मानिसहरूको उद्धार गर्ने सबैभन्दा राम्रो समय गुमाएका हुन्छन्, जसले गर्दा उनीहरूलाई साँच्‍चै नै ठूलो हानि हुन पुग्छ! सारांशमा भन्दा, कमजोर क्षमता भएका मानिसहरूमा पनि परिस्थितिहरूलाई सम्बोधन गर्ने तिनीहरूको सामर्थ्यका हकमा ठूलो कमीकमजोरी हुन्छ—तिनीहरूमा पूर्णतः यो कुराको कमी हुन्छ। कुनै व्यक्ति बोल्न कति सिपालु छ वा उसले सामान्य परिस्थितिहरूमा कति राम्ररी शब्द र धर्मसिद्धान्तहरू बोल्न र धर्मशास्त्रका बारेमा कुरा गर्न सक्छ भन्‍ने कुरालाई नहेर—ऊसँग वास्तविक परिस्थितिहरूको सामना गर्दा समस्याहरू सम्हाल्ने सामर्थ्य छ कि छैन भनेर मात्रै हेर; विशेष गरी अचानक आइपर्ने घटनाहरू उत्पन्न हुँदा, ऊसँग तजबिज गर्ने सामर्थ्य र कामकुराको परख गर्ने सामर्थ्य छ कि छैन, ऊसँग समस्याहरू सम्हाल्ने र समाधान गर्ने योजनाहरू छन् कि छैनन् भनेर हेर। यदि ऊसँग ती कुरा छन् भने, यसले ऊ आफ्नै राय भएको र कुराहरूका बारेमा कसरी सोच्ने भनेर थाहा भएको व्यक्ति हो भन्‍ने कुरा प्रमाणित गर्छ। तर यदि ऊसँग कामकुराको परख गर्ने र तजबिज गर्ने सामर्थ्यको कमी छ, र केही हुँदा ऊ आत्तिन्छ र चिन्तित हुन्छ, र उसले भव्य धर्मसिद्धान्तहरू बोल्न र नाराहरू लगाउन मात्रै सक्छ भने, यो व्यक्तिले समस्याहरू समाधान गर्न सक्दैन र ऊ काम नलाग्ने व्यक्ति हो। अरू कसैसँग जति नै धेरै कठिनाइ, समस्या, वा त्रुटिहरू भए पनि, यो व्यक्तिले तिनलाई व्याख्या गर्न र सम्बोधन गर्न एकै थरीका सिद्धान्तहरू प्रयोग गर्छ, र यसरी नै ऊसँग सङ्गति गरिरहन्छ, तर समस्याहरू कहिल्यै समाधान गर्न सक्दैन—यो कामकुराहरूलाई सम्बोधन गर्ने सामर्थ्यको पूर्णतः कमी हुनु हो। समस्याहरू सम्हाल्ने सामर्थ्यको कमी हुनु भनेको कामकुराहरूलाई सम्बोधन गर्न नसक्‍नु नै हो। कामकुराहरूलाई सम्बोधन गर्ने सामर्थ्य नभएका मानिसहरूसँग क्षमताको कमी हुन्छ। सामान्य शब्दमा भन्दा, तिनीहरू मूर्ख, बेवकुफ, र मानसिक रूपमा अशक्त हुन्। तिनीहरूले जति धेरै धर्मसिद्धान्तहरू बोल्न सके पनि, त्यो कुनै काम लाग्दैन—तिनलाई प्रयोगमा ल्याउनै सकिँदैन। आठौँ सामर्थ्य, अर्थात् कामकुराहरूलाई सम्बोधन गर्ने सामर्थ्यबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।