सत्यता कसरी पछ्याउने (६) भाग तीन

नम्बर ५: संज्ञानात्मक सामर्थ्य

पाँचौँ सामर्थ्य भनेको संज्ञानात्मक सामर्थ्य हो। संज्ञानात्मक सामर्थ्यले केलाई जनाउँछ? यसको मुख्य जोड कामकुराहरूप्रतिको व्यक्तिको आफ्नै बुझाइको स्तरमा हुन्छ। व्यक्तिको संज्ञानात्मक सामर्थ्यलाई मूल्याङ्कन गर्नका लागि, कुनै कुराबारेको उसको बुझाइको स्तर र कुराको सारको बुझाइ हासिल गर्नका लागि उसलाई चाहिने समयसीमालाई हेर्नुपर्छ। यदि उसलाई चाहिने समयसीमा अत्यन्तै छोटो छ र उसको बुझाइको स्तर पर्याप्त रूपमा गहन छ, र कुराको सारलाई बुझ्ने स्तरमा पुगेको छ भने, ऊसँग संज्ञानात्मक सामर्थ्य हुन्छ। यदि कुनै व्यक्तिले कुनै कुरा बुझ्न आवश्यक पर्ने समयसीमा सामान्य दायराभित्र पर्छ, र उसले यस कुराको सारलाई बुझ्न सक्छ, भित्रका समस्याहरूका कारण र परिणामहरू, र जड र सारलाई स्पष्ट रूपमा देख्‍न सक्छ, अनि त्यसपछि उसले आफ्नो हृदयमा यो कुराको बुझाइ प्राप्त गर्छ भने—अनि अझै राम्रो कुरा, उसले यस कुराको परिभाषा दिन र निष्कर्ष निकाल्न सक्छ भने—यसैलाई नै असल क्षमता हुनु भनिन्छ। अर्थात्, तँ पुरुष भए पनि वा महिला भए पनि, तँ भर्खरै वयस्कतामा पुगेको भए पनि वा तँ अधबैँसे भइसकेको वा वृद्ध अवस्थामा पुगिसकेको भए पनि, सामान्य मानवताको सोचाइ भएको सामान्य व्यक्तिका रूपमा, यदि यो कुराको सारबारे तेरो बुझाइ सामान्य समयको दायराभित्र हासिल हुन्छ भने, तेरो क्षमतालाई राम्रो मानिन्छ। यदि तैँले यो कुरा बुझ्न आवश्यक पर्ने समयसीमा सामान्य व्यक्तिको भन्दा तीन-चार गुणा बढी हुन्छ भने—अर्थात्, यदि राम्रो क्षमता भएको व्यक्तिलाई तीन दिन लाग्छ, तर तँलाई दश दिन वा एक महिना समेत लाग्छ भने—अनि, तैँले यस मामलाको सम्पूर्ण घटनाक्रमलाई स्पष्ट रूपमा पत्ता लगाइसकेपछि, र यस मामलाले ल्याउने हानि र नकारात्मक परिणामहरू देखा परिसकेपछि मात्रै, तैँले यस मामलाको गम्भीरता र यसको जड र सार के हो भन्‍ने कुरा बुझ्छस् भने, बढीमा तेरो क्षमता औसत हुन्छ। अर्को शब्दमा भन्दा, यदि यो मामलाले गम्भीर परिणामहरू ल्याइसकेको छैन तर केही नकारात्मक परिणामहरू निरन्तर देखा पर्न थालिसकेका छन्, र यो प्रक्रियाको अवधिमा मात्रै तँलाई यस मामलाको जड र सारका बारेमा क्रमिक रूपमा थाहा हुन्छ, तैँले परिभाषा दिन्छस् र निष्कर्ष निकाल्छस् भने, तेरो क्षमतालाई औसत मानिन्छ। तर यदि यो मामलाले नकारात्मक वा गम्भीर परिणामहरू ल्याएपछि मात्रै तैँले अचानक यो मामलाको प्रकृति के हो भन्‍ने महसुस गर्छस् र बुझ्छस् भने, तेरो क्षमता अत्यन्तै कमजोर छ। यदि यो मामलाले नकारात्मक परिणामहरू ल्याइसकेको छ र तँलाई अझै पनि यस मामलाको समस्या के हो वा समस्याको जड के हो भन्‍ने थाहा छैन, र तैँले अझै पनि यसबारे निष्कर्ष निकाल्न सक्दैनस् भने, तँसँग कुनै क्षमता छैन। संज्ञानात्मक सामर्थ्यलाई यी चार स्तरमा विभाजित गरिएको छ। पहिलो राम्रो क्षमता भएका मानिसहरू हुन्। अर्थात्, जब कुनै कुरा भर्खरै देखा परेको हुन्छ र यसका लागि तैँले तुरुन्तै केही घण्टाभित्र निष्कर्ष निकाल्नुपर्ने हुन्छ—अनि यो अत्यावश्यक परिस्थिति हुन्छ, जहाँ, यदि तैँले तुरुन्तै मूल्याङ्कन गरिनस्, मामलालाई सम्हाल्ने र समाधान गर्ने योजना बनाइनस्, वा यसको थप वृद्धिलाई रोक्न घाटा नियन्त्रण गर्ने योजना समेत बनाइनस् भने, नकारात्मक परिणामहरू हुनेछन्—यदि, यस समयावधिभित्र तँलाई यस मामलाको जड थाहा भयो, र तैँले तुरुन्तै र निर्णायक रूपमा सही मूल्याङ्कन गर्न, सटीक रूपमा निर्णय गर्न र निष्कर्ष निकाल्न, अनि त्यसपछि यसलाई सम्हाल्ने उचित योजना बनाउन सक्छस् भने, यसको अर्थ तँसँग राम्रो क्षमता छ भन्‍ने हुन्छ। तर, मानौँ तँलाई यस मामलामा केही समस्या छ भन्‍ने मात्रै लाग्छ, तर तँलाई समस्या कहाँ छ वा यसको जड के हो भन्‍ने थाहा छैन, र यस मामलालाई सम्हाल्ने सामान्य समयावधिभित्र, तँसँग यसलाई सम्हाल्ने कुनै निष्कर्ष, फैसला, वा योजनाहरू छैनन्। बरु, तँ निष्क्रिय रूपमा प्रतीक्षा गर्छस् र यसको थप विकासलाई अवलोकन गर्छस्, र यसको थप वृद्धिद्वारा मात्रै तैँले यस मामलाको सार वास्तवमा के हो भनेर पहिचान गर्ने र त्यति सटीक नहुने मूल्याङ्कन गर्ने प्रयास गर्छस्, त्यसपछि तैँले प्रतीक्षा र अवलोकन गरिरहन्छस्, र मामला पूर्ण रूपमा विकास हुनुभन्दा पहिले नै, तैँले समस्याको सारलाई बल्‍ल-बल्‍ल छर्लङ्ग देख्‍न वा समाधान खोज्न सक्छस्, तर तैँले यसलाई अझै पनि तुरुन्तै सम्हाल्दैनस्। यदि त्यसो हो भने, तेरो क्षमता अत्यन्तै औसत छ। यदि यो मामला पूर्ण रूपमा विकसित भएको छ र परिणामहरू देखा परिसकेका छन्, समस्याको सार पूर्ण रूपमा देखा परिसकेको छ, अनि त्यसपछि मात्रै तैँले यो मामला खराब छ भन्‍ने बुझ्छस्, र यसको भित्री जड के हो भन्‍ने देख्छस्—वा सायद तैँले जडलाई पटक्‍कै देख्‍न सक्दैनस् तर यस मामलाको अन्तिम परिणामलाई निष्क्रिय रूपमा भोग्छस् वा सामना गर्छस् भने—यसको अर्थ तेरो क्षमता कमजोर छ भन्‍ने हुन्छ। कमजोर क्षमता भएका मानिसहरूको अर्को प्रकटीकरण के हो भने, यदि त्यस्ता कुराहरू फेरि भए भने, तिनीहरूको मनोवृत्ति अझै पनि उस्तै हुन्छ, त्यसलाई सम्हाल्ने उस्तै विधि हुन्छ, र तिनीहरूले त्यसलाई उही गतिमा सम्हाल्छन्। अर्थात्, जब-जब त्यस्ता कुराहरू घट्छन्, तब-तब तिनीहरूले सधैँ तिनलाई यसरी नै, उही गति र कार्यकुशलताको साथ सम्हाल्छन्। जति धेरै कुराहरू घटे पनि, तिनीहरूले तिनको सारलाई खुट्ट्याउन सक्दैनन्, न त तिनीहरूले सांसारिक मामलाहरूका बारेको आफ्नो कुनै पनि विचार वा दृष्टिकोणलाई सोहीअनुसार परिवर्तन नै गर्छन्। तिनीहरू कमजोर क्षमता भएका मानिसहरू हुन्। तिनीहरू कमजोर क्षमता भएका मानिसहरू भएकाले नै, तिनीहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ; अर्थात्, तिनीहरूमा अस्तित्व वा जीवनका बारेमा कुनै दृष्टिकोण हुँदैन। यो कमजोर क्षमता हुनुको सङ्केत हो। क्षमता नभएका मानिसहरूको प्रकटीकरण यस्तो हुन्छ: जब कुनै मामला देखा परिसकेको हुन्छ, र परिणामहरू समेत देखा परेका हुन सक्छन्, तब पनि तिनीहरूलाई के भएको हो भन्‍ने थाहा हुँदैन, मानौँ तिनीहरूले सपना देखिरहेका छन्। यो कुनै क्षमता र कुनै संज्ञानात्मक सामर्थ्य नहुनु हो। बुझ्यौ? (बुझ्यौँ।) संज्ञानात्मक सामर्थ्यले मुख्य रूपमा विभिन्‍न मानिस र घटनाको सार र तिनका समस्याहरूको जडलाई बुझ्‍नुलाई जनाउँछ; संज्ञानात्मक सामर्थ्य भनेको यही हो। यसको अर्थ जब तैँले निश्‍चित प्रकारका मानिसहरूको प्रकटीकरण, प्रकाश, र मानवता देख्छस्, तब तैँले तिनीहरूले सामना गरिरहेका समस्याहरू, तिनीहरू जिउने वातावरणमा रहेका तिनीहरूको समस्याहरूको जड के हो, साथै तैँले अहिले अवलोकन गरिरहेका घटनाहरूको सार के हो र तीभित्र रहेका समस्याहरूको जड कहाँ छ भन्‍ने कुरा जान्न सक्छस्। संज्ञानात्मक सामर्थ्यले मुख्य रूपमा दुई वटा पक्षलाई जनाउँछ: मानिस, घटना, र कामकुराहरूको सारलाई छर्लङ्ग देख्‍नु, र तिनीहरूको समस्याहरूको जडलाई छर्लङ्ग देख्‍नु। संज्ञानात्मक सामर्थ्यका बारेमा तिमीहरूले अरू के बुझ्न सक्छौ? के कसैले यसलाई ज्ञान बुझ्ने र सिक्‍ने सामर्थ्यका रूपमा बुझ्छ? (अहँ।) हामीले कुरा गरिरहेको संज्ञानात्मक सामर्थ्यमा मुख्य रूपमा मानिस र घटनाहरूलाई हेर्ने सामर्थ्य समावेश हुन्छ। यदि तैँले मानिसहरू र घटनाहरूलाई हेर्ने मानक अत्यन्तै न्यून छ, तेरो बुझाइ अत्यन्तै सतही छ, वा तैँले कुनै पनि मानिस, घटना, वा कामकुराहरूको सारलाई बुझ्न सक्दैनस् भने, तेरो संज्ञानात्मक सामर्थ्य अत्यन्तै कमजोर छ, वा अस्तित्वमा समेत छैन। यदि तेरो वरिपरिका मानिसहरूले जति नै स्पष्टतः गलत शब्दहरू वा गलत दृष्टिकोणहरू व्यक्त गरे पनि, तिनीहरूले जति नै धेरै गलत कदम चाले पनि, वा तिनीहरूले जति नै स्पष्ट भ्रष्टता प्रकट गरे पनि, तैँले समस्याको सार पत्ता लगाउन सक्दैनस्, तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्, तिनीहरू सही मानिसहरू हुन् कि होइनन्, तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन्, तिनीहरूको चरित्र कस्तो छ, वा त्यस्ता मानिसहरूको सार के हो भन्‍ने तँलाई थाहा हुँदैन भने—यदि तँलाई यीमध्ये कुनै पनि कुरा थाहा हुँदैन भने—तँसँग कुनै संज्ञानात्मक सामर्थ्य छैन। कुनै पनि व्यक्ति वा मामलाको सामना गर्दा, तँसँग मूल्याङ्कनको कुनै मानक हुँदैन। मामला बितेर गएपछि, तँसँग त्यस्ता समस्याहरूको सारका बारेमा कुनै निष्कर्ष हुँदैन, र योभन्दा पनि बढी तँसँग यसबारे बुझाइ हुँदै हुँदैन; अनि, अवश्य नै, तँसँग त्यस्ता मामलाहरूलाई सम्हाल्ने कुनै सिद्धान्त वा तिनका लागि अभ्यासका मार्गहरू हुँदैनन्—संज्ञानात्मक सामर्थ्य नहुनु भनेको यही हो। संज्ञानात्मक सामर्थ्यले मुख्य रूपमा मानिस, घटना, र कामकुराहरूलाई बुझ्ने व्यक्तिको सामर्थ्यलाई जनाउँछ। यो सामर्थ्यबारे हाम्रो छलफल यहीँ समाप्त हुन्छ।

नम्बर ६: तजबिज गर्ने सामर्थ्य

छैटौँ सामर्थ्य भनेको तजबिज गर्ने सामर्थ्य हो। तजबिज गर्ने सामर्थ्य भनेको कुनै मामलाको सामना गरेपछि, तैँले यो सही छ कि गलत छ, ठीक छ कि बेठीक छ, र सकारात्मक छ कि नकारात्मक छ भनेर तजबिज गर्न सक्नु, त्यसपछि त्यसलाई लिन र सम्हाल्नका लागि उचित तरिका निर्धारित गर्न आफ्नो तजबिज प्रयोग गर्नु हो। जब व्यक्तिले सामान्यतया कुनै मामलाको सामना गर्छ, चाहे त्यो उसले पहिले देखेको कुरा होस् वा नदेखेको कुरा होस्, पहिले अनुभव गरेको कुरा होस् वा नगरेको कुरा होस्, र मामला तुलनात्मक रूपमा सकारात्मक होस् वा नकारात्मक होस्, उसले त्यसप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? उसले त्यसलाई इन्कार गर्नुपर्छ कि अँगाल्नुपर्छ र स्वीकार गर्नुपर्छ? यदि तैँले यसलाई स्पष्ट रूपमा देखेपछि, तँसँग आफ्नै अडान हुन्छ र सत्यता सिद्धान्तहरू अनुरूपका सटीक दृष्टिकोणहरू हुन्छन् भने, यसले तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्‍ने प्रमाणित गर्छ। उदाहरणका लागि, जब तैँले कुनै व्यक्तिले कुनै कुरा भनेको सुन्छस्, तब त्यसबारे विचार गरेपछि, तैँले त्यसको अर्थ के हो, बोल्ने व्यक्तिले कुन उद्देश्य हासिल गर्न चाहन्छ, उसले किन यी शब्दहरू बोल्छ, उसले किन त्यस्तो शब्द र लवज प्रयोग गर्छ, र त्यो कुरा भन्‍ने क्रममा उसको आँखामा किन निश्‍चित भाव हुन्छ भनेर निर्धारित गर्न सक्छस्। तैँले उसले भन्ने कुराको पछाडि रहेका अन्तर्निहित अभिप्राय, उद्देश्य, र मनसायहरू देख्‍न सक्छस्। तैँले पछि यी अन्तर्निहित अभिप्राय र मनसायहरूलाई जसरी सम्हाले पनि, तैँले घटना घट्नुको पछाडि रहेका केही अन्तर्निहित समस्या तुरुन्तै बुझ्न सक्छस्। ऊ के गर्न चाहन्छ, ऊ किन यसरी गर्न चाहन्छ, ऊ के उद्देश्य हासिल गर्न चाहन्छ, ऊ आफ्ना शब्दहरूद्वारा कस्तो प्रभाव पार्ने अभिप्राय राख्छ भन्ने कुरा, र यसमा संलग्न गुप्त माध्यम, युक्ति, र षड्यन्त्रहरू तँलाई थाहा हुन्छ। तैँले केही सङ्केतहरू देख्‍न सक्छस्, यहाँको समस्या साधारण होइन भन्‍ने कुरा थाहा पाउन सक्छस्, र तेरो हृदयमा सतर्कताको बोध समेत हुन सक्छ। यसले तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। यदि तँसँग तजबिज गर्ने सामर्थ्य छ भने, यसको अर्थ तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्‍ने हुन्छ। कसैका शब्दहरू जति नै कर्णप्रिय सुनिए पनि, धर्मसिद्धान्तका हिसाबमा ती सत्यतासँग जति नै मिल्ने भए पनि, उसको मनोवृत्ति अरूको नजरमा जति नै सिधा देखिए पनि, वा उसको उद्देश्य जति नै गहन रूपमा लुकेको भए पनि, तँ अझै पनि उसको बाहिरी प्रकटीकरण, घटना, वा उसले भन्ने कुराबाट समस्याको तजबिज गर्न सक्छस्—यसले तँसँग राम्रो क्षमता छ र तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। उदाहरणका लागि, कुनै मामलाको सामना गर्दा, यो मामला जति नै हदसम्‍म विकसित भएको भए पनि, तैँले यस मामलाको प्रक्रियालाई बुझेर यस मामलाको सार र समस्याको जडलाई छर्लङ्ग देख्‍न सक्छस्। यो तजबिज गर्ने सामर्थ्य हुनु हो। उदाहरणका लागि, जब ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले मण्डलीमा बाधा र अवरोध ल्याइरहेका हुन्छन्, तब यी मानिसहरूमध्ये नाइके को हो, अनुयायीहरू को हुन्, यस मामलामा कसले मुख्य भूमिका खेल्छ, र को निष्क्रिय छ, साथै यो मामलाले मानिसहरूमा कस्तो प्रभाव पार्नेछ, र यो मामला अझै विकसित भयो भने के-कस्ता प्रतिकूल परिणामहरू देखा पर्नेछन् भन्‍ने कुराका बारेमा भन्दा, तैँले यस मामलाका आधारभूत परिस्थितिहरू बुझेर समग्र परिस्थितिबारे तजबिज गर्न सक्छस्। त्यो बेलाको तेरो तजबिज मामलाको परिणाम अन्ततः कस्तो हुन्छ भन्‍ने कुराभन्दा केही हदसम्‍म फरक भए पनि, कम्तीमा पनि, तँसँग यस मामलालाई सम्हाल्ने दृष्टिकोण, मनोवृत्ति, र सटीक सिद्धान्तहरू हुन्छन्। तँसँग यस विषयमा तजबिज गर्ने सामर्थ्य छ भन्‍ने कुरा प्रमाणित गर्न यो नै पर्याप्त हुन्छ। अर्थात्, तँसँग कुनै मामलाको नाइके वा उक्साउने व्यक्ति को हो, वा भविष्यमा यो मामला कति हदसम्‍म विकसित हुनेछ, र यसलाई सम्हाल्‍न र यसलाई प्रतिकूल परिणामहरू ल्याउनबाट रोक्नका लागि तैँले कस्तो मनोवृत्ति र सिद्धान्तहरू प्रयोग गर्नुपर्छ भनेर तजबिज गर्ने सामर्थ्य हुन्छ। तँसँग तजबिज गर्ने सामर्थ्य छ, तेरो तजबिजको तर्क र विधि सही छ, र तेरो तजबिजको आधार कम्तीमा पनि मानवताअनुरूप छ, वा अझै राम्रो त, सत्यता सिद्धान्तहरूअनुरूप छ भने, यसले तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्‍ने कुरा प्रमाणित गर्छ। तेरो तजबिज र मामलाका बीचमा केही हदसम्‍म भिन्‍नता भए पनि, तेरो तजबिजको एउटा आधार छ भने, तेरो तजबिज मामला आफै कसरी विकसित हुन्छ भन्‍ने ढाँचाहरूअनुरूप हुन्छ, र उस्तै वा समान समस्याहरूको जड र सार अनुरूप हुन्छ—अनि, यसबाहेक, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ—तँसँग तजबिज गर्ने सामर्थ्य छ भनेर पनि भन्‍न सकिन्छ। तजबिज गर्ने सामर्थ्य हुनुले तैँले समस्याहरूका बारेमा सोच्न सक्छस् भन्‍ने कुरा प्रमाणित गर्छ। यदि तेरा तजबिजहरू मामलाको जड, सार, र अरू सबै पक्षसँग मिल्छन् भने, यसले तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्‍ने कुरालाई प्रमाणित गर्छ।

व्यक्तिले जुनसुकै मानिस वा मामलाहरूको सामना गरे पनि, व्यक्तिमा सही सोचाइ छ भने मात्रै, र कुनै मामला सही छ कि गलत छ, ठीक छ कि बेठीक छ, वा यो सकारात्मक छ कि नकारात्मक छ भनेर तजबिज गर्ने आधारमा मात्रै, उसले यसलाई सम्हाल्ने र समाधान गर्ने पछिको योजना बनाउन सक्छ। यदि व्यक्तिलाई समस्याहरूका बारेमा कसरी सोच्ने भन्‍ने थाहा छैन भने—विशेष गरी भन्दा, यदि उसले समस्याहरूको तजबिज गर्न सक्दैन भने—उसले समस्याहरू सम्हाल्न पनि सक्दैन, अर्थात्, उसमा समस्याहरू सम्हाल्ने सामर्थ्यको कमी हुन्छ। समस्याहरू सम्हाल्ने जोकोहीले कुनै मामला सही छ कि गलत छ भनेर तजबिज गर्ने आधारमा त्यसो गर्छ; नत्र, समस्या समाधान गर्ने उसको योजना र उसको अभ्यासको मार्गमा आधारको कमी हुनेछ। उदाहरणका लागि, कसैले तँलाई निश्‍चित मण्डलीमा मण्डली जीवन राम्रो छैन भनेर रिपोर्ट गर्छ; धेरैजसो मानिस नकारात्मक र उदासीन हुन्छन्, र तिनीहरू भेला हुन वा आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन्। तँ यस्तो परिघटनाको तजबिज गर्छस्? के यो वास्तविक जीवनको समस्या हो? (हो।) यो वास्तविक जीवनको समस्या भएको हुनाले, तैँले यसलाई सम्हाल्न र समाधान गर्न अभ्यासको निश्‍चित योजना बनाउनुपर्छ। समस्या समाधान गर्नुभन्दा पहिले, के तैँले यो समस्याको जड र सार के हुन्, र कुन-कुन मानिसहरूले यसलाई पैदा गरिरहेका छन् भनेर तजबिज गर्नु पर्दैन र? के तैँले यी कुराहरूको तजबिज गर्नु पर्दैन र? (पर्छ।) सोचेर मात्रै तँ तजबिज गर्न सक्छस्, र तजबिज गरेपछि मात्रै तँ समस्याको जड पहिचान गर्न सक्छस्, अनि समस्याको जड र सारका आधारमा, तैँले त्यसपछि समस्यालाई सम्हाल्ने उचित र उपयुक्त विधिहरू र समाधान गर्ने योजनाहरू निर्धारित गर्न सक्छस्। यदि तँलाई निश्‍चित मण्डलीको मण्डली जीवन राम्रो छैन भन्‍ने थाहा पाएको तर तँलाई त्यसको कारण थाहा नभएको भए, तैँले समस्याको जड कहाँ छ भनेर कसरी तजबिज गर्नेथिइस्? (म सुरुमा यो समस्या सीधै मण्डली अगुवासँग सम्बन्धित छ भन्‍ने सोच्ने थिएँ। यदि मण्डली अगुवासँग आत्मिक बुझाइ छैन, उसले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भएको छ तर उसले सत्यता बुझ्दैन, उसले सामना गर्ने कुनै पनि समस्यालाई सम्हाल्न सक्दैन, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन वा सत्यताबारे सङ्गति गर्न अगुवाइ गर्न जान्दैन भने, त्यस्तो झुटो अगुवा भएको मण्डलीमा अवश्य नै राम्रो मण्डली जीवनको कमी हुन्छ।) यो एउटा तजबिज हो। सामान्यतया, सरल समस्याहरूका हकमा भन्दा, यदि एउटा तजबिज सही छ भने, यसले तँलाई समस्याको जड बोध गर्न सहयोग गर्न सक्छ। तर, कतिपय समस्या जटिल हुन्छन्, र यदि तैँले बुझेको जानकारी पूर्ण छैन भने, तेरो एकल तजबिजले तँलाई समस्याको जड बोध गर्न नदिने सम्भावना हुन्छ। त्यसोभए, के दोस्रो र तेस्रो तजबिज पनि हुन्छ? (हुन्छ।) तीन वटा तजबिज गरेपछि, यीमध्ये एउटा सबैभन्दा सटीक हुन सम्भव छ। त्यसोभए तिमीहरू अरू के-कस्ता तजबिजहरूबारे सोच्न सक्छौ? (म के सोच्न सक्छु भने, यस मण्डलीका मानिसहरूको क्षमता सामान्यतया कमजोर छ र सत्यता बोध गर्ने तिनीहरूको सामर्थ्य कमजोर छ, र तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। त्यसकारण त्यहाँको मण्डली जीवनका नतिजाहरू कमजोर छन्।) के यो परिस्थितिको वास्तविकताअनुरूप छ? यो दोस्रो तजबिज हो। के अरू कुनै तजबिजहरू छन्? (म यस मण्डलीमा दुष्ट मानिसहरूले बाधा दिइरहेका छन् कि छैनन् भन्‍ने बारेमा पनि विचार गर्छु।) यो तेस्रो तजबिज हो। यी तीन वटा तजबिजमध्ये कुन वास्तविक परिस्थितिसँग बढी मिल्छ र बढी यथार्थपरक छ, र कुन खोक्रो छ? (मलाई दोस्रो तजबिज अलिक खोक्रो लाग्छ। वास्तवमा, यदि मण्डलीमा कामका लागि जिम्मेवार अगुवाका रूपमा उपयुक्त व्यक्ति छ भने, मण्डली जीवनका नतिजाहरू राम्रा हुनेछन्। परमेश्‍वरका वचनहरू खाएर-पिएर र सत्यता बुझेर, दाजुभाइ-दिदीबहिनीहरूले अवश्य नै आफ्नो कर्तव्य निर्वाह गर्ने उत्प्रेरणा प्राप्त गर्नेछन्। मलाई पहिलो र तेस्रो तजबिजहरू बढी यथार्थपरक छन् जस्तो लाग्छ।) दोस्रो तजबिज खोक्रो धर्मसिद्धान्त हो। पहिलो र तेस्रो तजबिजहरू वास्तविक परिस्थितिसँग मिल्छन् र ती सटीक छन्। एक हिसाबमा, यी दुई वटा तजबिजले तार्किक सोचाइ लागू गर्छन्; अर्को हिसाबमा, ती वास्तविक जीवनमा सामान्य रूपमा पाइने केही घटनामा आधारित छन्। यदि तँ आम घटनाहरू बोध गर्न सक्छस् भने, यसले तेरो सोचाइ सही छ र यो तर्कअनुरूप छ भन्‍ने प्रमाणित गर्छ। यदि तँ वास्तविक परिस्थिति बोध गर्न सक्दैनस्, र तेरो तजबिज वास्तविक जीवनबाट अलग छ भने, यसले तेरो सोचाइमा तर्कको कमी छ र यसमा समस्याहरू छन्, र तँ समस्याहरूलाई अवास्तविक र गैर-वस्तुगत तरिकाले हेर्छस् भन्‍ने प्रमाणित गर्छ। पहिलो र तेस्रो तजबिज वस्तुगत छन्। एउटा परिस्थिति के हुन सक्छ भने, मण्डली अगुवालाई काम कसरी गर्ने भन्‍ने थाहा हुँदैन। ऊ आफैसँग जीवन प्रवेशको कुनै मार्ग हुँदैन, त्यसकारण मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवाइ गर्नका लागि ऊसँग झनै कम मार्ग हुन्छ। परिणामस्वरूप, त्यहाँको मण्डली जीवनमा सुधार आउँदैन। वास्तवमा, मण्डलीका धेरैजसो मानिसहरूले परमेश्‍वरमा इमानदारी साथ विश्‍वास गर्छन् र तिनीहरूमा उत्प्रेरणा हुन्छ, तर मण्डली जीवनले वास्तवमा कुनै फल दिँदैन। हरेक भेलामा एउटै दिनचर्या पछ्याइन्छ: गाउने, प्रार्थना गर्ने, परमेश्‍वरका वचनहरू पढ्ने, अनि त्यसपछि अगुवा वा डिकनले केही सतही बुझाइ वा धर्मसिद्धान्तहरू बाँड्छन्। त्यहाँका कमै मानिसहरूले वास्तविक अनुभवात्मक बुझाइका बारेमा कुरा गर्न सक्छन्। यसमाथि, मण्डली अगुवाको क्षमता कमजोर हुन्छ र उसको अनुभव सतही हुन्छ, र उसले समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्न सक्दैन। त्यसकारण मण्डली जीवन नीरस देखिन्छ र आनन्ददायी देखिँदैन। धेरै भेलाहरू भएका हुन्छन् तर तीबाट कसैले पनि केही प्राप्त गरेका हुँदैनन्, त्यसकारण धेरैजसो मानिसहरूलाई त्यस्ता भेलाहरूमा सहभागी हुनु घरमा परमेश्‍वरका वचनहरू पढ्नुभन्दा कम फाइदाजनक हुन्छ भन्‍ने लाग्छ, र तिनीहरू सहभागी हुन अनिच्छुक हुन्छन्। कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको एक-दुई वर्ष भएपछि र केही सत्यता बुझेपछि, कर्तव्य पूरा गर्न चाहन्छन्। तर, कतिपय मण्डली अगुवाहरूलाई कुन मानिसहरू कुन कर्तव्यका लागि उपयुक्त छन् वा तिनीहरू कस्तो कामका लागि उपयुक्त छन् भन्‍ने थाहा हुँदैन। तिनीहरूले मानिसहरूलाई उचित रूपमा बन्दोबस्त गर्न वा मानिसहरूलाई प्रयोग गर्न सक्दैनन्, न त तिनीहरूले मानिसहरूलाई साथ दिन र तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न मद्दत गर्नका लागि आफ्ना अनुभवहरू प्रयोग गर्न नै सक्छन्। यसले गर्दा कतिपय मानिसहरू नकारात्मक बन्‍न सक्छन् र आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हुन सक्छन्। वास्तवमा, आफ्नो कर्तव्य पूरा गर्न इच्छुक हुने धेरैजसो मानिसहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्; तिनीहरूलाई साथ र सहयोगको कमी मात्रै हुन्छ। यदि मण्डली अगुवा र डिकनहरूले परमेश्‍वरका वचनहरू अनुसार मानिसहरूलाई साथ दिन र सहयोग गर्न सक्छन् भने, मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न इच्छुक मानिसहरूको सङ्ख्या बढ्नेछ, र तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्‍नेछन्। मण्डली अगुवा र डिकनहरूलाई काम कसरी गर्ने भन्‍ने थाहा नभएकाले नै मण्डली जीवनले खराब परिणामहरू दिन्छ र कतिपय समस्याहरू लामो समयसम्म समाधान हुँदैनन्, र केही समयपछि, धेरै मानिसहरू नकारात्मक बन्छन् र तिनीहरूमा कुनै जोस हुँदैन; यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको कर्तव्य निर्वाह गर्ने कार्यमा असर गर्छ। यदि मण्डली जीवनका परिणामहरू कमजोर छन् भने, मुख्य रूपमा मण्डली अगुवा र डिकनहरूलाई मण्डलीको काम कसरी गर्ने भन्‍ने थाहा नभएर यस्तो हुन्छ। यो एउटा परिस्थिति हो। अर्को परिस्थिति के हो भने, ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले शक्ति हातमा लिँदा र मण्डलीमा बाधाहरू पैदा गर्दा यस्तो हुने गर्छ, र यस्तो बेला-बेला भइरहने गर्छ। जब मण्डली अगुवाहरूलाई काम कसरी गर्ने भन्‍ने थाहा हुँदैन, र शक्ति हातमा लिएका, निरन्तर गुटबन्दी गर्ने, स्वतन्त्र राज्यहरू स्थापना गर्ने, र अरूलाई कष्ट दिने र दमन गर्ने ख्रीष्टविरोधी र दुष्ट मानिसहरू पनि हुन्छन्, तब यसले गर्दा परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक कतिपय दाजुभाइ-दिदीबहिनीहरू दमन, कष्ट, र निष्कासनमा पर्छन्। तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न त चाहन्छन् तर तिनीहरूसँग कुनै अवसर हुँदैन, जसले गर्दा तिनीहरू नकारात्मक र कमजोर हुन्छन्। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने यी मानिसहरूलाई ख्रीष्टविरोधीहरू र तिनीहरूको समूहसँग भेला हुँदा कुनै आनन्द हुँदैन। ख्रीष्टविरोधीहरूले सधैँ शक्ति हातमा लिन र आफूलाई स्थापित गर्न चाहन्छन्। जब परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू भेलाहरूमा सहभागी हुन्छन्, तब तिनीहरूले अझै धेरै सत्यता बुझ्न र आफ्ना अनुभवहरू बाँड्न चाहन्छन्, तर ख्रीष्टविरोधीहरूले तिनीहरूलाई दमन गर्छन् र तिनीहरूलाई मौका दिँदैनन्। परिणामस्वरूप, मण्डली जीवन अव्यवस्थित बन्छ; मानिसहरू अस्तव्यस्त भएर टुक्रिन्छन् र भेलाहरू त्यसउप्रान्त रमाइला हुँदैनन्। मानिसहरूमा भएको थोरै उत्साह र प्रेम हराउँछ, र तिनीहरू त्यसउप्रान्त आफ्नो कर्तव्य पूरा गर्न इच्छुक हुँदैनन्। मण्डली जीवनका खराब नतिजाहरू यीमध्ये कुनै पनि कारणले आएका हुन सक्छन्। तिमीहरूले सोच्न र तजबिज गर्न सक्‍ने कुरा यही हो। यदि तैँले तजबिज गरेर निकालेको निष्कर्ष वास्तविक परिस्थितिसँग सम्बन्धित छ भने, यो आंशिक रूपमा मात्रै सम्बन्धित भए पनि वा यसले कुनै सम्भावित समस्या पहिचान मात्रै गरे पनि, यो अझै पनि तजबिज गर्ने सामर्थ्य हुनुको प्रकटीकरण हो। कम्तीमा पनि, तैँले तजबिज गरेर निकाल्ने निष्कर्ष र विचार धर्मसिद्धान्त, खोक्रो वा कहिल्यै अस्तित्वमा नहुने कुरासँग नभई वास्तविक परिस्थितिसँग सम्बन्धित हुन्छन्। यसले तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्‍ने कुरा प्रमाणित गर्छ। यदि तैँले हरेक मामलाबारे निकाल्ने निष्कर्षहरू कामकुराहरू कसरी विकसित हुन्छन् वा वास्तविक जीवनमा कुनै पनि मामला कस्तो भएर निस्कन्छ भन्‍ने सामान्य ढाँचाहरूसँग मिल्दैनन्, र ती पूर्ण रूपमा कल्पना गरिएको, खोक्रा, अवास्तविक, र झुटा हुन्छन्, र वास्तविक परिस्थितिहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन भने, यसको अर्थ तँसँग तजबिज गर्ने सामर्थ्य छैन वा तँ तजबिज गर्दा बारम्बार गल्ती गर्छस् भन्‍ने हुन्छ। त्यसोभए तिमीहरूले अघि उल्लेख गरेको दोस्रो तजबिज, अर्थात् मण्डली जीवनका कमजोर नतिजाहरू यस मण्डलीका मानिसहरूको क्षमता कमजोर भएकाले र तिनीहरूले सत्यतालाई प्रेम नगरेकाले आएका हुन् भन्‍ने कुराका बारेमा के भन्‍ने—यो कस्तो तजबिज हो? (यो तजबिजमा गरिएको गल्ती हो।) यसलाई तजबिज गर्दा गल्ती गर्नु भनिन्छ। यदि तँ त्यस्ता मामलाहरूमा प्रायजसो देखा पर्ने परिस्थितिहरू—अर्थात्, देखा पर्ने सबैभन्दा बढी सम्भावना भएका केही परिस्थिति—पूर्ण रूपमा बुझ्न सक्दैनस् र तँ तजबिजमार्फत एउटा परिस्थिति मात्रै अघि सार्छस्, वा तँ सम्भावित परिस्थितिहरूका बारेमा सोच्न त सक्छस् तर असम्भव परिस्थितिहरूका बारेमा पनि सोच्छस् भने, यसले के प्रमाणित गर्छ? यसले तेरो तजबिज गर्ने सामर्थ्य औसत छ भन्‍ने कुरा प्रमाणित गर्छ। तजबिज गर्ने औसत सामर्थ्य भएको व्यक्तिले कुनै मामलाबारे केही विचार त गर्छ तर ऊ निश्‍चित हुन सक्दैन। त्यस्ता परिस्थितिहरूमा, उसले गर्ने तजबिज सटीक हुँदैन। यदि कुनै व्यक्तिका तजबिजहरू कहिलेकाहीँ सही हुन्छन् र कहिलेकाहीँ गलत हुन्छन्, र कतिपय तजबिज वास्तविक परिस्थितिसँग मिल्छन् अनि अरू मिल्दैनन्, तर असटीक तजबिजहरू तुलनात्मक रूपमा बढी हुन्छन् भने, यसले उसको तजबिज गर्ने सामर्थ्य कमजोर छ भन्‍ने कुरालाई जनाउँछ। मानौँ उसले तजबिजमार्फत निकाल्‍ने निष्कर्षहरू पूर्ण रूपमा खोक्रा हुन्छन्, कामकुराहरू विकसित हुने ढाँचाहरूसँग पटक्‍कै मिल्दैनन्, र ती सामान्यतया वा बारम्बार हुने घटनाहरूसँग मिल्दैनन्, र तथ्यहरूसँग पूर्ण रूपमा असम्बन्धित हुन्छन्। उसका तजबिजहरू कल्पनाहरू बाहेक केही पनि हुँदैनन्, कामकुराहरू कसरी विकसित हुन्छन् भन्ने कुराका ढाँचाहरू वा मानवताको सारसँग तिनको कुनै सम्बन्ध हुँदैन, र ती वास्तविक जीवनको प्रसङ्ग र वरपरको वातावरणसँग पूर्ण रूपमा अमिल्दा हुन्छन्। अर्थात्, मानौँ उसको तजबिज वास्तविकतासँग जोडिएको छैन—उसले तजबिजमार्फत निकाल्‍ने कुरा वास्तविक जीवनमा कहिल्यै हुन सक्दैन, र उसले बताउने कुरा समस्याको सार पटक्‍कै हुँदैन। यदि त्यसो हो भने, यस व्यक्तिसँग तजबिज गर्ने कुनै सामर्थ्य हुँदैन।

कुनै व्यक्तिमा तजबिज गर्ने सामर्थ्य छ कि छैन भनेर जाँच्नका लागि, मुख्य कुरा भनेको विभिन्‍न प्रकारका मानिसहरू र विभिन्‍न प्रकारका कुराहरूबारे उसका तजबिजहरू सटीक छन् कि छैनन् भनेर हेर्नु हो। उदाहरणका लागि, मानौँ तैँले कुनै व्यक्ति रोइरहेको देख्छस् र तँलाई ऊ किन रोएको हो भन्ने थाहा छैन। ऊ अत्यन्तै पीडाको साथ र अत्यन्तै दुःखको साथ रोइरहेको छ, र उसले बेला-बेलामा प्रार्थना गरिरहेको र परमेश्‍वरका वचनहरू पढिरहेको पनि छ, र ऊसँग बोल्ने कसैलाई उसले जवाफ दिँदैन भन्‍ने कुरा तैँले देख्‍न सक्छस्। तँलाई यस व्यक्तिलाई के भइरहेको हो भनेर तजबिज गर्न लगाइन्छ, र तँ भन्छस्, “उसलाई घरको याद आएको होला। उसकी आमा केही समय पहिले बिरामी परिन्, त्यसकारण ऊ घर जान चाहन्छ।” के यो तजबिज सही छ? कतिपय मानिसहरूले भन्छन्, “उसलाई नकारात्मक महसुस भइरहेको हुन सक्छ। प्रायजसो जब मानिसहरू रुन्छन्, तब तिनीहरूको भावनामा चोट पुगेको हुन्छ। उदाहरणका लागि, हेपाइमा पर्दा वा ठगिएपछि मानिसहरू रुन्छन्। जब उसले कुनै समस्याको सामना गर्छ र उसलाई अन्यायपूर्ण व्यवहार गरिएको हुन्छ, तब ऊ सधैँ रुन्छ, र ऊ अरूसँग बोल्न वा अन्तरक्रिया गर्न अनिच्छुक हुन्छ। यो नकारात्मक महसुस हुनुको प्रकटीकरण हो।” अरूले यस्तो तजबिज गर्छन्: “ऊ प्रायजसो बाहिर गएर सुसमाचार प्रचार र आफ्नो कर्तव्य निर्वाह गर्ने गर्थ्यो, तर अहिले उसले लामो समयदेखि घरभित्र आफ्नो कर्तव्य निर्वाह गर्दै आइरहेको छ, र ऊ यसमा अभ्यस्त नभएको हुन सक्छ र उसलाई दबिएको महसुस भएको हुन सक्छ।” के अरू कुनै सम्भावनाहरू छन्? कतिपय मानिसहरूले भन्छन्, “सायद उसले हिजो मासु खान पाएको थिएन, जसले गर्दा ऊ दुःखी भयो, त्यसैले ऊ रोइरहेको छ।” अरूले भन्छन्, “हिजो ऊ मसँग कुरा गर्न आएको थियो। मलाई ऊ कतै गइरहेको मात्रै होला भन्ने लाग्यो, त्यसकारण मैले ऊतिर नजर लगाएँ तर केही पनि भनिनँ। के त्यसले उसलाई रिस उठाएको हुन सक्छ? के ऊ यसको कारण रोइरहेको हुन सक्छ?” यस मामलालाई वास्तविक परिस्थितिअनुरूप हुने गरी कसरी तजबिज गर्नुपर्छ? के यो कुरालाई तजबिज गर्न सजिलो छ? (म केही तजबिज गर्न सक्छु। भर्खरै उल्लेख गरिएका केही कारण—घरको याद आउनु, भावनामा चोट पुग्‍नु, वा उदास र दबाबमा परेको मुड—यी सबै स्थितिले व्यक्तिलाई रुवाउन सक्छन्। तर, मासु खान नपाउनु वा कसैसँग बोल्दा बेवास्ता गरिनु जस्ता सानातिना कुराहरू व्यक्तिलाई रुवाउनका लागि पर्याप्त हुँदैनन्।) व्यक्तिलाई साह्रै रुवाउने कारणहरू के-के हुन्छन्? गुनासो, दुःख, कसैको वा कुनै कुराको याद आउनु, ऋणीपनको बोध। त्यसकारण, तैँले उसलाई सोध्नुपर्छ, “तिमी किन रोइरहेको? तिमीलाई अन्यायपूर्ण व्यवहार गरिएकाले र तिमीलाई दुःख लागेकाले तिमी रोइरहेका हौ कि तिमीले आत्मचिन्तन गरिरहेको र तिमीले परमेश्‍वरप्रति धेरै ऋणी भएको छु भन्‍ने महसुस गरेकाले तिमी रोइरहेका हौ?” ऊसँग यसरी हार्दिक कुराकानी गरेर, ऊ किन रोइरहेको छ भन्‍ने कुरा तँलाई थाहा हुनेछ। छोटकरीमा भन्दा, उसले अघाउञ्जेल खान नपाएकाले वा मासु खान नपाएकाले ऊ रोइरहेको हुन सक्छ भन्‍ने कुरा असम्भव छ, न त अरूले उसलाई बेवास्ता गरेकाले वा उसलाई देखेर आँखा फर्काएकाले नै ऊ रोएको हुन सक्छ। अवश्य नै, सामान्य परिस्थितिहरूमा, थोरै कठिनाइ भोग्दा व्यक्ति रुँदैन, र कहिलेकाहीँ खराब मुडमा हुँदा पनि उसलाई रुन आउँदैन। व्यक्तिलाई रुवाउने कुराहरू प्रायजसो माथि उल्लेख गरिएका केही परिस्थितिहरू मात्रै हुन्। ऊ किन रोइरहेको छ भनेर तैँले ती सधैँका परिस्थितिहरूका आधारमा तजबिज गर्न सक्छस्, अनि त्यसपछि तैँले सधैँजसो र निरन्तर देखिने उसका प्रकटीकरणहरूका आधारमा तजबिज गर्न सक्छस्—जस्तै उसले दुःखको कुरा वा पीडा बल्झाउने कुराको सामना नगरेसम्म ऊ रुँदैन, उसले सजिलै आँसु झार्दैन, र ऊ विशेष रूपमा दुःखी बनाउने कुराहरू र उसको प्राणलाई विशेष रूपमा छुने कुराहरूका बारेमा कुरा गर्दा मात्रै रुन्छ, वा उसले कुनै गलत काम गरेको हुन्छ वा गम्भीर गल्ती गरेको हुन्छ र उसले आफू परमेश्‍वरप्रति ऋणी भएको भन्‍ने महसुस गर्छ भने मात्रै ऊ रुन्छ—यस प्रसङ्गका आधारमा तजबिज गर्दा, तैँले ऊ किन रोइरहेको छ भन्‍ने कुरा लगभग पत्ता लगाउन सक्छस्। एउटा परिस्थिति के हो भने, यदि परिवारको कुनै सदस्य गम्भीर रूपमा बिरामी भयो वा बित्यो भने ऊ रुन्छ, अर्को अवस्था के हो भने, उसलाई नै गम्भीर रोग लागेको छ र ऊ सन्तप्त भएको छ भने ऊ रुन्छ। अर्कोतिर, उसले कुनै गलत काम गरेको र तसर्थ अपराध गरेको हुनाले, र उसले परमेश्‍वरप्रति ऋणी छु भन्‍ने महसुस गरेर उसले आफ्नो मार्ग परिवर्तन गर्न सक्दो गर्न चाहेको तर अझै पनि उसमा कमजोरीहरू रहेको र उसले तिनलाई जित्न नसकेको भएर पनि ऊ रोएको हुन सक्छ; यी मिश्रित जटिल भावनाहरूले गर्दा ऊ रुन्छ। यी तजबिजहरू वास्तविक परिस्थितिसँग तुलनात्मक रूपमा मिल्छन्। उसका निरन्तरका प्रकटीकरणहरू र उसको व्यक्तित्वका विशेषताहरूका आधारमा तजबिज गरेर, तैँले अहिले ऊ किन रोएको हो भन्ने कुराको जड पत्ता लगाउन सक्छस्। यसरी, तजबिज तुलनात्मक रूपमा बढी सटीक हुनेछ। एक हिसाबमा, त्यस्ता मानिसहरूको कद र तिनीहरूले अहिले अनुभव गरिरहेका केही समस्याहरू, र अर्को हिसाबमा, तिनीहरूको मानवताका त्रुटिहरू, साथै तिनीहरूले प्रायजसो प्रकट गर्ने केही भ्रष्टता र कमजोरीहरूलाई बुझेर, तैँले आधारभूत रूपमा दायरालाई सीमित गर्न, र यही दायराभित्र यस व्यक्तिको समस्याको जड के हो भनेर तजबिज गर्न सक्छस्। यसरी तजबिज गर्नु तुलनात्मक रूपमा सटीक हुनेछ।

हामीले अब राम्रो क्षमता भएका, औसत क्षमता भएका, र कमजोर क्षमता भएका मानिसहरूको तजबिज गर्ने सामर्थ्यका प्रकटीकरणहरूका बारेमा सङ्गति समाप्त गरिसकेका छौँ, होइन र? (हो।) सबैभन्दा खराब क्षमता भएका मानिसहरूको वर्ग पनि छ। जेसुकै भए पनि वा कसैले जे गरेको तिनीहरूले देखे पनि, त्यस्ता मानिसहरूलाई कसरी तजबिज गर्ने भन्‍ने थाहा हुँदैन। किन थाहा हुँदैन? किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, तिनीहरूमा तजबिज गर्ने कुनै सामर्थ्य हुँदैन, र तिनीहरूलाई कामकुराहरूको तजबिज कसरी गर्ने भन्‍ने थाहा हुँदैन। उदाहरणका लागि, मानौँ तिनीहरूले कसैले नकारात्मक कुरा भनेको सुन्छन्। यो नकारात्मक अभिव्यक्तिको सार र प्रकृति के हुन् भन्‍ने कुराको हकमा भन्दा, तिनीहरूलाई आफ्नो तजबिज केमा आधारित गर्ने भन्‍ने थाहा हुँदैन, र तिनीहरूलाई यसको अत्तोपत्तो हुँदैन। समस्याहरूका बारेमा कसरी सोच्ने र कामकुराहरूको तजबिज कसरी गर्ने भनेर थाहा नहुनु भनेको यही हो। जब तिनीहरूले कसैले कुनै काम गरेको देख्छन्, तब तिनीहरूले यस मामलाको प्रकृति के हो, वा यो व्यक्तिको चरित्र कस्तो छ भनेर मामलाको सारका आधारमा तजबिज गर्न सक्दैनन्; तिनीहरूलाई आफूलाई आचरणमा ढाल्नुको अनुभवका आधारमा यी कुराहरूलाई कसरी तजबिज गर्ने भन्‍ने थाहा हुँदैन, अनि परमेश्‍वरका वचनहरूका आधारमा कसरी तजबिज गर्ने भन्ने थाहा हुनु त परको कुरा हो। त्यसकारण, तिनीहरूसँग तजबिज गर्ने सामर्थ्य हुँदैन। कामकुराहरूको तजबिज गर्न नसक्‍नुको जड के हो? त्यसको जड के हो भने, यस्तो व्यक्तिलाई समस्याहरूका बारेमा कसरी सोच्ने भन्‍ने थाहा हुँदैन, र मानिसहरू र कामकुराहरूलाई हेर्ने मामिलामा, तिनको कुन पक्षलाई हेर्ने, तिनलाई कसरी हेर्ने, वा तिनलाई कुन आधारमा हेर्ने भन्‍ने उसलाई थाहा हुँदैन। अनि, तिनीहरूलाई पछि के-कस्तो निष्कर्ष निकाल्ने, कसरी निष्कर्ष निकाल्ने, वा निष्कर्षमा पुगेपछि यस्तो व्यक्ति वा मामलालाई कसरी लिने र सम्हाल्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। उसको मन या त खोक्रो हुन्छ या त धमिलो हुन्छ। यो तजबिज गर्ने सामर्थ्यको कमी हुनु हो। तजबिज गर्ने सामर्थ्य नभएका मानिसहरूको मुख्य समस्या के हो भने, तिनीहरू कुनै पनि सिद्धान्त बुझ्दैनन् वा जान्दैनन्, र तिनीहरूमा आफूलाई आचरणमा ढाल्ने अनुभव समेत हुँदैन। त्यसकारण, जब तिनीहरूले विभिन्‍न प्रकारका मानिसहरूसँग अन्तरक्रिया गर्छन्, तब तिनीहरूलाई कुन-कुन प्रकारका मानिसहरू सङ्गत गर्न लायक हुन्छन् र कुन-कुन प्रकारका मानिसहरू लायक हुँदैनन् भन्‍ने थाहा हुँदैन; तिनीहरूलाई कुन-कुन मानिसहरू तुलनात्मक रूपमा दयालु छन् र आफ्‍ना कमीकमजोरीहरूलाई पूर्ति गर्नका लागि आफूले सिक्न सक्‍ने केही सबल पक्षहरू पनि भएका मानिसहरू को-को हुन् र आफूलाई कसले सहयोग र फाइदा दिन सक्छ भन्‍ने थाहा हुँदैन; कुन-कुन प्रकारका मानिसहरूलाई सहन सकिन्छ र मन नलागी-नलागी मिल्न सकिन्छ; र कुन-कुन प्रकारका मानिसहरूमा यति दुष्ट मानवता हुन्छ कि तिनीहरूसँग सङ्गत गर्दा सजिलै समस्या वा विवाद पैदा हुन सक्छ, त्यसकारण तिनीहरूलाई टाढा राख्‍नुपर्छ भन्‍ने तिनीहरूलाई थाहा हुँदैन—तिनीहरू यी सबै कुराबारे अनजान हुन्छन्। छोटकरीमा भन्दा, तजबिज गर्ने सामर्थ्य नभएका यी मानिसहरूलाई केही थाहा हुँदैन र तिनीहरू कुनै पनि व्यक्ति वा मामलाको तजबिज गर्न सक्दैनन्। तर तिनीहरूसँग आफ्नै तौरतरिका पनि हुन्छ, र तिनीहरूले पालना गर्ने निश्‍चित नियम हुन्छ। तिनीहरूले भन्छन्, “मैले जोसुकैसँग कामकुरा सम्हालिरहेको वा बोलिरहेको भए पनि, म ठट्टा गरेर उसलाई टार्छु। म कसैप्रति शत्रुता राख्दिनँ। तिनीहरू असल व्यक्ति भए पनि वा खराब व्यक्ति भए पनि, तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरे पनि वा नगरे पनि, तिनीहरूले सत्यतालाई प्रेम गरे पनि वा नगरे पनि—म तिनीहरूसँग मिलेर बस्छु, र म कसैलाई चिढ्याउँदिनँ। जब म दुष्ट मानिसहरूलाई देख्छु, तब म तिनीहरूबाट टाढा बस्छु; जब म नम्र मानिसहरूलाई देख्छु, तब म तिनीहरूलाई हेप्छु।” तिनीहरूको दुष्ट तर्क यही हो। तिनीहरूलाई कुन प्रकारका मानिसहरूसँग सङ्गत गर्नुपर्छ, कुन प्रकारका मानिसहरूबाट टाढा बस्‍नुपर्छ, र कुन प्रकारका मानिसहरूसँग कहिल्यै सङ्गत गर्नु हुँदैन वा कहिल्यै व्यवहार गर्नु हुँदैन भन्‍ने थाहा हुँदैन। तिनीहरूले अलिकति पनि खुट्ट्याइ प्रयोग गर्दैनन् र तिनीहरूले सबैलाई उस्तै ठान्छन्, र सबैसँग समान व्यवहार गर्छन्। व्यक्ति जोसुकै भए पनि, तिनीहरूसँग त्यो व्यक्तिका बारेमा अनुकूल राय छैन भने, तिनीहरूले उसलाई बाहिरी व्यक्ति वा शत्रुका रूपमा लिनेछन्। कुनै व्यक्ति जति नै असल भए पनि, त्यस व्यक्तिले तिनीहरूलाई कुनै फाइदा दिँदैन भने, तिनीहरूले त्यो व्यक्तिसँग सतर्कताका साथ व्यवहार गर्नेछ। तिनीहरूले कसैको अघि आफ्नो हृदय खोल्दैनन् र तिनीहरूले सबैसँग सतर्कताका साथ व्यवहार गर्छन्। त्यस्ता मानिसहरू असल क्षमता भएका मानिसहरू हुन् कि कमजोर क्षमता भएका मानिसहरू? (कमजोर क्षमता भएका।) तिनीहरूको क्षमता कमजोर भएको हुनाले, तिनीहरूमा कसरी त्यस्ता विचारहरू हुन सक्छन्? त्यस्ता मानिसहरू सानो मनका मानिसहरू मात्रै हुन्। क्षमता नभएका मानिसहरू र मानसिक रूपमा अशक्त मानिसहरूको बीचमा के भिन्‍नता हुन्छ? क्षमताविनाका मानिसहरू मानसिक रूपमा कमजोर र मूर्ख हुन्छन्। आफ्नो गाँस-बासको जोहो गर्ने, इज्जत कायम राख्‍ने, र फाइदा लिन र कुनै घाटा नभोग्न केही युक्ति राख्ने बाहेक, तिनीहरूसँग कुनै क्षमता हुँदैन। अर्कोतर्फ, मानसिक रूपमा अशक्त मानिसहरूमा आफ्नै हितहरूको रक्षा गर्ने वा फाइदा लिने बारेमा समेत कुनै युक्ति हुँदैन—तिनीहरूसँग कुनै विचार नै हुँदैन। मानसिक रूपमा कमजोर र मूर्ख मानिसहरूसँग केही युक्ति गर्ने कार्य बाहेक, बाँच्ने कुनै सामर्थ्य, क्षमता, र तजबिज गर्ने कुनै सामर्थ्य हुँदैन। त्यसकारण, तिनीहरूले कुनै पनि व्यक्तिलाई कसरी व्यवहार गर्छन् भन्ने कुराका कुनै सिद्धान्त हुँदैनन्; तिनीहरूले आफ्ना भावनाहरू अनुसार मात्रै चल्छन्। तिनीहरूलाई तैँले तिनीहरूसँग राम्रो व्यवहार गर्दैनस् भन्‍ने लाग्छ भने, तिनीहरू तँबाट टाढा बस्‍नेछन्, तँप्रति प्रतिरोधी महसुस गर्नेछन् र हृदयमा तँलाई घृणा गर्नेछन्, र इन्कार गर्नेछन्। तिनीहरूप्रति तँसँग जति नै शुभेच्छा भए पनि वा तैँले तिनीहरूलाई जसरी सहयोग गरे पनि, तिनीहरूले यसलाई स्पष्ट रूपमा बुझ्न सक्दैनन् भने, तिनीहरूले तँ तिनीहरूप्रति मैत्रीपूर्ण छस् वा तँ तिनीहरूका लागि पटक्‍कै हानिकारक छैनस् भन्‍ने महसुस गर्नेछैनन्। तिनीहरूले मानिस, घटना, र कामकुराहरू सही छन् कि गलत छन्, ठीक छन् कि बेठीक छन्, सकारात्मक छन् कि नकारात्मक छन् भनेर परख गर्न सक्दैनन्—तिनीहरू यी कुराहरूको तजबिज गर्न सक्दैनन्। तिनीहरूसँग केही युक्ति मात्रै हुन्छ। जब तिनीहरूले फाइदा लिएका हुन्छन्, तब तिनीहरूलाई खुसी लाग्छ; जब तिनीहरूले फाइदा लिएका हुँदैनन्, तब तिनीहरूलाई घाटा भोगेको, अरूले तिनीहरूलाई अन्यायपूर्ण व्यवहार गरेको, र गिल्ला गरेको महसुस हुन्छ, र तिनीहरूले अर्को पटक अरूलाई फाइदा लिन नदिने, वा अरूलाई आफ्‍नो अगाडि धाक लगाउन वा आफूमाथि हाबी हुन नदिने—तिनीहरूले अरूलाई कुनै अवसर नदिने सङ्कल्प गर्छन्। मलाई भन, के तिनीहरूले मनमा यी युक्तिहरू राखेको आधारमा नै तिनीहरूलाई क्षमता भएको व्यक्ति मानिन्छ? यो मानसिक रूपमा अशक्त हुनुभन्दा अलिक राम्रो मात्रै हो, तर सामर्थ्यको हकमा भन्दा, तिनीहरूसँग कुनै सामर्थ्य हुँदैन—तिनीहरूसँग विभिन्‍न प्रकारका मामलाहरू सम्हाल्ने कुनै पनि फरक-फरक सामर्थ्य हुँदैन। तिनीहरू केवल मूर्ख र मानसिक रूपमा अशक्त हुन्छन्। त्यस्ता मानिसहरूमा कुनै क्षमता हुँदैन। बुझ्यौ? (बुझ्यौँ।) मानसिक रूपमा अशक्त मानिसहरूमा नभएको तर ती मानिसहरूमा भएको एउटै मात्र कुरा भनेको यी युक्तिहरू हुन्; मानसिक अशक्त मानिसहरूमा तीसमेत हुँदैनन्। जब त्यस्ता मानिसहरूले यो सुन्छन्, तब तिनीहरू विश्‍वस्त हुँदैनन्; तिनीहरू भन्छन्, “के तिमी मसँग तजबिज गर्ने सामर्थ्य छैन भनेर दाबी गर्छौ? केही अमेरिकी डलर र सुन एकसाथ राख, र मैले तिनलाई पहिचान गर्न सक्छु कि सक्दिनँ हेर। म तिनलाई छुट्याउन सक्छु! सुन पहेँलो हुन्छ, र अमेरिकी डलर कागजको पैसा हो! प्लेटिनम र चाँदीलाई एकसाथ राख, अनि म तजबिज गर्न सक्छु कि सक्दिनँ हेर! प्लेटिनम र चाँदी सेतो रङ्गका फरक-फरक प्रकार हुन्—मलाई थाहा छ!” के यो मूर्खता होइन र? यो निकै मूर्खतापूर्ण कुरा हो। तिनीहरूले यी कुराहरूका बीचमा मात्रै भिन्‍नता छुट्याउन सक्छन्, तैपनि तिनीहरूले यसबारे धाक लगाउन र तिनीहरू मूर्ख होइनन् भन्‍ने कुरा प्रमाणित गर्न चाहन्छन्। तिनीहरूले यति धेरै मूर्ख कुराहरू गरेका हुन्छन्, क्षमताको कमी देखाउने धेरै कुराहरू गरेका हुन्छन्—तिनीहरूले किन ती कुराहरूका बारेमा कुरा गर्दैनन् र तिनलाई बुझ्ने प्रयास गर्दैनन्? तिनीहरूमा क्षमताको कमी भएकाले, तिनीहरूको क्षमता अत्यन्तै कमजोर भएकाले, र तिनीहरूले यी कुराहरूको परख गर्न वा तिनलाई छुट्याउन नसक्‍ने हुनाले नै, तिनीहरूले आफू मानसिक रूपमा अशक्त नभएको, आफूमा केही बुद्धि र क्षमता भएको कुरालाई प्रमाणित गर्नका लागि मानसिक रूपमा अशक्त मानिसहरूले गर्न नसक्‍ने एक-दुई वटा कुराहरू उठाउँछन्। के यो मूर्खता होइन र? यसले तिनीहरूको मूर्खतालाई थप प्रमाणित गर्छ। कुनै क्षमता नभएका मानिसहरूका प्रकटीकरणहरूका बारेको हाम्रो सङ्गति पनि अब पूरा भएको छ। कुनै व्यक्तिमा तजबिज गर्ने सामर्थ्य छ कि छैन भन्‍ने कुराको प्राथमिक मापदण्ड के हो? उसमा सामान्य मानवताको सोचाइ छ कि छैन भन्‍ने कुरा हो। यदि तँमा सामान्य मानवताको सोचाइ छैन भने, तैँले कुनै कुराको तजबिज गर्न सक्‍नेछैनस्। यदि तँमा सामान्य मानवताको सोचाइ छ भने, तेरो तजबिज अझै पनि असटीक हुन सक्छ, तर कम्तीमा पनि, यसले तँमा तजबिज गर्ने सामर्थ्य छ र तँमा सामान्य मानवताको सोच्ने सामर्थ्य छ भन्‍ने देखाउँछ। तैँले गर्ने तजबिजहरू अनुमान, मान्यता, परिकल्पना होइनन्, न त ती निगमन नै हुन्। बरु, ती कुनै पनि मामलाका सबै पक्षलाई विचार गरेर निकालिएका फरक-फरक निष्कर्ष र दृष्टिकोणहरू हुन्। तजबिज गर्ने सामर्थ्य भनेको यही हो।