सत्यता कसरी पछ्याउने (६) भाग एक

व्यक्तिको क्षमता मूल्याङ्कन गर्नका लागि ११ वटा मानक

पछिल्लो भेलामा, हामीले सत्यताको पछ्याइसँग सम्बन्धित एउटा मुख्य विषय, अर्थात् “आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने” भन्ने बारेमा सङ्गति गर्‍यौँ। यो मुख्य विषयभित्र, हामीले परमेश्‍वरको कामसँग सम्बन्धित मानव धारणा र कल्पनाहरू त्याग्‍ने बारेमा कुरा गर्‍यौँ, जसमा मानिसहरूको जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावसँग सम्बन्धित विषयहरू परेका थिए, र यी विषयहरूभित्र, क्षमतासँग सम्बन्धित समस्याहरूका बारेमा उल्लेख गरिएको थियो। हामीले पछिल्लो पटक क्षमतासँग सम्बन्धित समस्याहरूका बारेमा अलिकति सङ्गति गर्‍यौँ, र मानिसहरूका केही धारणाहरूलाई समाधान गर्‍यौँ। यो सुनेपछि, के तिमीहरूले क्षमता भनेको के हो भन्‍ने कुराको सटीक परिभाषा प्राप्त गरेका छौ? क्षमता वास्तवमा के हो? क्षमतालाई कसरी बुझ्नुपर्छ? व्यक्तिको क्षमता राम्रो छ, औसत छ कि खराब छ भनेर कसरी मूल्याङ्कन गर्न सकिन्छ? यसलाई कुन-कुन पक्षहरूका आधारमा मूल्याङ्कन गर्नुपर्छ? के तिमीहरूले यी प्रश्‍नहरूका बारेमा खोजी र मनन गरेका छौ? (मैले तिनका बारेमा थोरै मनन गरेको छु। पछिल्लो भेलामा, परमेश्‍वरले व्यक्तिको क्षमताको मूल्याङ्कन गर्नका लागि हामीले काम गर्ने उसको कार्यकुशलता र प्रभावकारितालाई हेर्नुपर्छ भनेर सङ्गति गर्नुभयो। यसभन्दा पहिले, मसँग यस विषयमा त्यति धेरै बुझाइ थिएन र म क्षमता र सामर्थ्यलाई लिएर झुक्किन्थेँ। उदाहरणका लागि, जब म कसैले विशेष रूपमा राम्रा शैक्षिक नतिजाहरू हासिल गरेको वा ऊ धेरै भाषाहरूमा पोख्त भएको देख्थेँ, तब मलाई यसले उसको क्षमता राम्रो छ भन्‍ने कुरालाई जनाउँछ भन्‍ने लाग्थ्यो। परमेश्‍वरको सङ्गति सुनेपछि मात्रै मैले साँचो रूपमा राम्रो क्षमता के हो र कुन-कुन कुरा चाहिँ केही सामर्थ्य मात्र हुन् भन्‍ने कुराका बारेमा स्पष्ट बुझाइ प्राप्त गरेँ। यदि कुनै व्यक्ति बाहिरी रूपमा निकै चलाख देखिन्छ तर उसको कर्तव्य पूरा गर्ने कार्यकुशलता अत्यन्तै न्यून छ र उसले सधैँ सत्यता सिद्धान्तहरू बुझ्न सक्दैन भने, उसको क्षमता तुलनात्मक रूपमा कमजोर हुन्छ।) काम गर्ने कार्यकुशलता र प्रभावकारिता अनुसार व्यक्तिको क्षमताको मूल्याङ्कन गर्नु—यस कुरालाई भन्‍ने सामान्य तरिका यही हो। व्यक्तिको काम गर्ने कार्यकुशलता र प्रभावकारितालाई हेर्ने बाहेक, उसको क्षमतालाई मूल्याङ्कन गर्ने निश्‍चित मानकहरू पनि छन्: पहिलो, तिनीहरूको सिक्ने सामर्थ्य। दोस्रो, तिनीहरूको कामकुरा बुझ्ने सामर्थ्य। तेस्रो, तिनीहरूको बोध सामर्थ्य। चौथो, तिनीहरूको कामकुराहरू स्विकार्ने सामर्थ्य। पाँचौँ, तिनीहरूको संज्ञानात्मक सामर्थ्य। छैटौँ, तिनीहरूको तजबिज गर्ने सामर्थ्य। सातौँ, तिनीहरूको कुराहरूको परख गर्ने सामर्थ्य। आठौँ, तिनीहरूको परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य। नवौँ, तिनीहरूको निर्णय गर्ने सामर्थ्य, जसलाई तिनीहरूको कार्यान्वयन गर्ने सामर्थ्य पनि भन्‍न सकिन्छ। दशौँ, तिनीहरूको कुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य। एघारौँ, तिनीहरूको नवप्रवर्तनको सामर्थ्य। के तिमीहरूले तिनलाई मनमा राख्यौ? (राख्यौँ।) जम्मा कति वटा छन्? (एघार वटा।) तिनलाई ठूलो स्वरमा पढ। (एक, सिक्ने सामर्थ्य। दुई, कामकुरा बुझ्ने सामर्थ्य। तीन, बोध सामर्थ्य। चार, कामकुराहरू स्विकार्ने सामर्थ्य। पाँच, संज्ञानात्मक सामर्थ्य। छ, तजबिज गर्ने सामर्थ्य। सात, कामकुराको परख गर्ने सामर्थ्य। आठ, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य। नौ, निर्णय गर्ने सामर्थ्य। दश, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य। एघार, नवप्रवर्तनको सामर्थ्य।) सामान्य रूपमा, व्यक्तिको क्षमताको मूल्याङ्कन गर्नका लागि, तैँले यी दुई पक्षहरूलाई हेर्नुपर्छ: उसको काम गर्ने कार्यकुशलता र प्रभावकारिता। विशिष्ट रूपमा भन्दा, तिनीहरूको काम गर्ने कार्यकुशलता र प्रभावकारितालाई मूल्याङ्कन गर्नका लागि, तैँले यी एघार वटा मानकहरूका आधारमा विस्तृत निर्धारण गर्नुपर्छ। यसरी, तैँले व्यक्तिको क्षमता वास्तवमा कस्तो छ भनेर सटीक रूपमा मूल्याङ्कन गर्न सक्‍नेछस्। अवश्य नै, व्यक्तिको क्षमताको मूल्याङ्कन गर्नका लागि, पहिलो चरण भनेको विभिन्‍न पक्षमा रहेका उसका समग्र सामर्थ्यहरूलाई हेर्नु हो, त्यसपछि उसको काम गर्ने कार्यकुशलता र प्रभावकारितालाई हेर्नु हो। यदि तिनीहरूसँग विभिन्‍न पक्षमा क्षमता र सामर्थ्य छ भने, तिनीहरूले अवश्य नै कार्यकुशलता र प्रभावकारिता दुवैको साथ काम गर्नेछन्। यदि व्यक्तिको काम गर्ने कार्यकुशलता उच्च छ र उसको प्रभावकारिता राम्रो छ भने, जब तैँले एघार वटा मानकअनुसार हरेक क्षेत्रमा उसका सामर्थ्यको मूल्याङ्कन गर्छस्, तब ती अवश्य नै राम्रा हुनेछन्। यी एघार वटा सामर्थ्यमध्ये कुनै पनि सामर्थ्यलाई छुट्टाछुट्टै लिँदा, व्यक्तिको क्षमता राम्रो छ कि छैन भनेर पूर्ण रूपमा निर्धारित गर्न सकिँदैन—यसलाई व्यापक रूपमा मूल्याङ्कन गर्नुपर्छ। अवश्य नै, यी एघार वटा सामर्थ्यमध्ये, सबैभन्दा महत्त्वपूर्ण कुन कुन हुन्? सबैभन्दा महत्त्वपूर्ण भनेको तजबिज गर्ने सामर्थ्य, कामकुराको परख गर्ने सामर्थ्य, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य, र निर्णय गर्ने सामर्थ्य हुन्—यी कुराहरू कुनै निश्‍चित सिद्धान्त बुझेपछि व्यक्तिले कार्य गर्ने सामर्थ्यसँग सम्बन्धित हुन्छन्। बाँकी सामर्थ्यहरू बोध र सिकाइसँग सम्बन्धित छन्, जुन मानव मस्तिष्कसँग सम्बन्धित हुन्छ। यसपछि, हामी यी एघार वटा सामर्थ्यका बारेमा एक-एक गरी सङ्गति गर्नेछौँ।

नम्बर १: सिक्ने सामर्थ्य

पहिलो सिक्ने सामर्थ्य हो। सिक्ने सामर्थ्यले ज्ञानको एउटा क्षेत्र सिक्‍नुलाई मात्रै जनाउँदैन; यसमा भाषा सिक्‍नु, निश्‍चित प्राविधिक सीप सिक्‍नु, कुनै नयाँ कुरा सिक्‍नु र स्वीकार गर्नु, इत्यादि कुराहरू पनि समावेश हुन्छन्—यी सबै सिक्ने सामर्थ्यको दायराभित्र पर्छन्। उदाहरणका लागि, कुनै प्राविधिक सीप सिक्दा, सामान्य परिस्थितिहरूमा, व्यक्ति आधारभूत रूपमा यसमा छ महिनाभित्र पोख्त हुन सक्छ अनि त्यसपछि ऊ स्वतन्त्र रूपमा यसमा संलग्‍न हुन सक्छ। यदि तँ पनि छ महिना सिकेपछि यसमा पोख्त हुन र स्वतन्त्र रूपमा संलग्‍न हुन सक्छस् भने, यसलाई सिक्ने सामर्थ्य भएको मानिन्छ। यदि तँलाई यो सिक्न औसत व्यक्तिलाई भन्दा दुई गुणा बढी समय लाग्छ भने—यदि छ महिनापछि पनि तँ यसमा अझै पोख्त भएको छैनस् र तँलाई सिक्न थप छ महिना लाग्छ भने—यसले कमजोर क्षमतालाई जनाउँछ। अर्थात्, सिक्ने सामर्थ्यका हकमा भन्दा, यदि तैँले सामान्य समय सीमाभित्र प्राविधिक सीप वा ज्ञान राम्ररी सिक्‍न सक्छस् भने, यसको अर्थ तेरो क्षमता औसत छ वा औसतभन्दा माथि छ भन्‍ने हुन्छ। तर, यदि तैँले यो समय सीमालाई नाघ्छस् र प्राविधिक सीप वा ज्ञान सिक्न अरूको भन्दा दुई गुणा वा तीन गुणासमेत समय लिन्छस् भने, तेरो क्षमता कमजोर छ। यदि तैँले औसत व्यक्तिले भन्दा दुई-तीन गुणा बढी समय बिताउँछस् र पनि तैँले यो कुरा सिक्न सक्दैनस्, र तँमा सिक्‍ने सामर्थ्यको कमी छ भने, यसले तेरो क्षमताका बारेमा के भन्छ? सिक्ने सामर्थ्यबिना, तैँले सामान्य मानव क्षमता हुनुको सामान्य मानकसमेत पूरा गर्दैनस्। तँ कमजोर क्षमता हुनुभन्दा खराब छस्—तँसँग कुनै क्षमता नै छैन। कुनै क्षमता नहुनु कुन वर्गमा पर्छ? कुनै क्षमता नहुनुको अर्थ व्यक्ति मानसिक रूपमा कमजोर र मूर्ख, र कुनै सिक्ने सामर्थ्य नभएका मानिसहरूको वर्गमा पर्छ भन्‍ने हुन्छ। सिक्ने सामर्थ्यमा यही कुरा समावेश हुन्छ।

नम्बर २: कामकुरा बुझ्ने सामर्थ्य

दोस्रो, कामकुरा बुझ्ने सामर्थ्य हो। कामकुरा बुझ्ने सामर्थ्यले आफूले देख्‍ने वा प्रायजसो सामना गर्ने कुराभित्रका सिद्धान्तहरू र कौशल पत्ता लगाउने व्यक्तिको शक्तिलाई जनाउँछ। उदाहरणका लागि, कुनै व्यावसायिक सीप सिक्दा, यदि तैँले सैद्धान्तिक निर्देशन सुन्छस् र व्यावहारिक प्रदर्शनहरू अवलोकन गर्छस्, र सामान्य समय सीमाभित्र तैँले यो सीपसँग सम्बन्धित कौशल र सिद्धान्तहरू पत्ता लगाउन सक्छस् भने, यसलाई राम्रो क्षमता र कामकुरा बुझ्ने निश्‍चित सामर्थ्य हुनु मानिन्छ। यदि तैँले यसलाई तुरुन्तै बुझ्न सक्दैनस्, र कसैले तँसँग फेरि सङ्गति गरे पनि, तैँले अझै पनि बुझ्न सक्दैनस्; अनि तिनीहरूले तँलाई बारम्बार इसारा गरे पनि, तैँले यो काम गर्ने कौशल के हो र यसमा संलग्न सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरा बुझ्न सक्दैनस् भने—तेरो कामकुरा बुझ्ने सामर्थ्य कमजोर छ। सायद केही समयपछि, तैँले वास्तविक अभ्यासमा बिस्तारै छामछामछुमछुम गरेर थोरै कुरा सिक्लास्, तर यो त्यतिमै सीमित हुन्छ। यदि तैँले जति समय बिताए पनि—चाहे त्यो तीन वर्ष होस् वा पाँच वर्ष—तैँले बुझ्न सक्‍ने कुरा सीमित दायराभित्र नै सीमित हुन्छ, र कामकुरा गर्दा, तैँले सम्बन्धित आधारभूत कुराहरू बुझ्न र तिनलाई वास्तविक अभ्यासमा लागू गर्न नसकी निश्‍चित प्रावधान र नियमहरू मात्रै पालना गर्छस् भने, यसको अर्थ कामकुरा बुझ्ने तेरो सामर्थ्य कमजोर छ भन्‍ने हुन्छ; यस्ता मानिसहरूको क्षमता कमजोर हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले मण्डलीको काम गर्छन् र तैँले तिनीहरूसँग सत्यता सिद्धान्तहरूका बारेमा सङ्गति गरेपछि, तिनीहरूलाई तैँले भनेका सबै कुरा सही छ भन्‍ने लाग्छ र तैँले सङ्गति गरेको कुरामा कुनै शङ्का हुँदैन। तर, तिनीहरूले किन यसरी काम गर्नुपर्छ भन्‍ने कुरा बुझ्नै सक्दैनन् र संलग्‍न सिद्धान्तहरू बुझ्न सक्दैनन्। विशेष गरी वास्तविक जीवनमा विभिन्‍न समस्या वा विशेष परिस्थितिहरूको सामना गर्दा वा आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूलाई सिद्धान्तहरू कसरी लागू गर्ने वा आफूले सामना गर्ने समस्याहरूलाई सिद्धान्तहरू अनुसार कसरी लिने र सम्हाल्ने भन्‍ने थाहा हुँदैन। यसले कामकुरा बुझ्ने सामर्थ्यको कमीलाई जनाउँछ। कामकुरा बुझ्ने सामर्थ्य नभएका मानिसहरूले सत्यताका बारेमा सङ्गति सुनेपछि बुझ्दैनन् र सधैँ “के तपाईँ अर्को उदाहरण दिन सक्‍नुहुन्छ?” वा “के यसलाई अझै विस्तृत रूपमा व्याख्या गर्न सक्‍नुहुन्छ?” भन्ने जस्ता अनुरोधहरू गर्छन्। तैँले उदाहरण दिएपछि र विस्तृत रूपमा व्याख्या गरेपछि मात्रै तिनीहरूले थोरै कुरा बुझ्न सक्छन्। तर यदि तैँले अझै गहन कुराबारे सङ्गति गरिस् भने, तिनीहरूले फेरि पनि बुझ्न सक्दैनन् र अर्को उदाहरण दिन लगाउनेछन्। तिनीहरूले किन तँलाई उदाहरणहरू दिन बारम्बार अनुरोध गर्छन्? तँलाई वास्तविक जीवनका यस्तै परिस्थितिहरूलाई उदाहरणहरूमार्फत व्याख्या गर्न लगाउनका लागि, ताकि तिनीहरूले निश्‍चित तौरतरिका वा प्रावधान मात्रै याद गर्न सकून्। तिनीहरूले किन यसो गर्छन्? किनभने तिनीहरूको कामकुरा बुझ्ने सामर्थ्य अत्यन्तै कमजोर हुन्छ—तिनीहरूमा कामकुराहरू बुझ्ने सामर्थ्य नै हुँदैन भनेर पनि भन्‍न सकिन्छ; तिनीहरूलाई वास्तविक जीवनमा वा आफ्नो कर्तव्य पूरा गर्दा कसरी सिद्धान्तहरू लागू गर्ने भन्‍ने थाहा हुँदैन। तैँले तिनीहरूसँग जसरी सङ्गति गरे पनि, तैँले जति नै धेरै निश्‍चित उदाहरणहरू दिए पनि र जति नै धेरै सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गरे पनि, विशेष परिस्थितिहरूलाई सम्हाल्ने सिद्धान्तहरूलाई समेत सम्बोधन गरे पनि, तिनीहरूले दिनभरि सुन्‍न सक्छन् तैपनि यो कुरा बुझ्दैनन्। तिनीहरूलाई तैँले भनेको कुरा सिद्धान्त मात्रै हो भन्‍ने लाग्छ र वास्तविक जीवनमा तिनीहरूले सामना गर्ने विभिन्‍न समस्या कसरी सम्हाल्ने भन्‍ने तिनीहरूलाई अझै थाहा हुँदैन। यसले कामकुरा बुझ्ने सामर्थ्यको कमीलाई जनाउँछ। अरूले तिनीहरूलाई कुराहरू जसरी व्याख्या गरे पनि, कामकुरा बुझ्ने सामर्थ्य नभएका मानिसहरूले यो कुरा बुझ्न सक्दैनन्—यो कमजोर क्षमता हुनु हो। के कमजोर क्षमता भएका मानिसहरूको काम गर्ने कार्यकुशलता र प्रभावकारिता पनि कमजोर हुन्छ? (हुन्छ।) यदि व्यक्तिको कामकुरा बुझ्ने सामर्थ्य कमजोर छ भने, उसको काम गर्ने कार्यकुशलता र प्रभावकारिता अवश्य नै कमजोर हुनेछ; उसले कुनै कुराको सामना गर्दा कुन-कुन सिद्धान्तहरू समावेश हुन्छन् भन्‍ने कुरा उसलाई थाहा हुनेछैन, र उसलाई वास्तविक जीवनमा सिद्धान्तहरू कसरी लागू गर्ने भन्‍ने थाहा हुनेछैन। यसले कमजोर क्षमतालाई जनाउँछ। अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जो अरूको सङ्गति जति विस्तृत र निश्‍चित हुन्छ, त्यो कुरा बुझ्न नसकेर त्यति नै भ्रमित हुन्छ। उदाहरणका लागि, जब परमेश्‍वरको घरले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने बारेमा सङ्गति गर्छ, तब तिनीहरूले सुनेपछि भन्छन्, “मैले किन यो कुरा बुझ्न सकिरहेको छैनँ? सिद्धान्तहरूका बारेमा सङ्गति गरिन्छ, उदाहरणहरू दिइन्छ, र विशेष परिस्थितिहरू सूचीकृत गरिन्छ, तर यो सबै कुरा मलाई गन्जागोल भए जस्तो लाग्छ। यहाँ वास्तवमा के भनिएको हो? हामीले कस्तो प्रकारका मानिसहरूलाई सम्हाल्नुपर्ने हो? हामीले झूटा अगुवाहरूलाई सम्हाल्नुपर्ने हो, कि ख्रीष्टविरोधीहरूलाई? के हाम्रो मण्डली अगुवा ख्रीष्टविरोधी हो? त्यो व्यक्ति अलिक दुष्ट देखिन्छ—उसको प्रकटीकरण भ्रष्ट स्वभावका कारण भएको हो कि खराब मानवताका कारण भएको हो? ऊ हुन चाहिँ के हो, झूटा अगुवा कि ख्रीष्टविरोधी? मैले अझै पनि बुझेको छैनँ।” तैँले सङ्गति गर्ने सत्यता सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरा समेत तिनीहरूले बुझ्दैनन्; तिनीहरूले जति सुन्छन्, तिनीहरू त्यति नै भ्रमित हुन्छन्। तिनीहरूले यी सत्यता सिद्धान्तहरूलाई वास्तविक परिस्थितिहरूसँग जोड्न नसक्‍ने मात्र होइन, तिनीहरू यति भ्रमित पनि हुन्छन् कि तैँले भनेको विषयवस्तु के हो भन्‍ने समेत तिनीहरूलाई थाहा हुँदैन। के यसले कामकुरा बुझ्ने सामर्थ्यको कमीलाई देखाउँदैन र? (देखाउँछ।) उदाहरणका लागि, कल्पना गरौँ, सबै जना एउटै विषयवस्तुमा सङ्गति गर्न भेला भएका छन्, र हरेक व्यक्तिले आफ्नो विचार प्रस्तुत गरेको छ। तैँले आफ्नो बुझाइका बारेमा सङ्गति गर्छस्, म यसबारे आफ्नो बुझाइ व्यक्त गर्छु; एउटा व्यक्तिले एउटा प्रश्‍न गर्छ, अर्को व्यक्तिले फरक प्रश्‍न उठाउँछ—सबै यस विषयवस्तुमा केन्द्रित हुन्छन्। क्षमता नभएका मानिसहरूले यस्तो छलफल सुन्छन् र यो बुझ्नै सक्दैनन्। तिनीहरूले हृदयमा सोच्छन्, “तिमीहरूले के कुरा गरिरहेका छौ? म किन यो कुरा बुझ्न सक्दिनँ?” तिनीहरू भ्रमित हुन्छन्। तिनीहरूले अरूले उठाएका उचित प्रश्‍नहरूभित्रको तर्कको वा किन ती प्रश्‍नहरू उठाइरहेका छन् भन्ने कुराको भेउ पाउन सक्दैनन्—तिनीहरूले यसको पछाडि रहेका कारणहरू पत्ता लगाउन सक्दैनन्; तिनीहरू दर्शक भन्दा पनि खराब हुन्छन्। क्षमता भएका मानिसहरूले, छेउबाट अवलोकन गरेर नै को सही छ र को गलत छ, कसैले निश्‍चित प्रश्‍न किन सोध्छ, प्रश्‍नहरू गहन छन् कि सतही छन्, प्रश्‍नहरूको उत्तर कसरी दिइँदै छ भनेर बताउन सक्छन्—तर क्षमता नभएका मानिसहरूले यीमध्ये कुनै पनि कुरा बुझ्न सक्दैनन् र यसभित्रको आधारभूत तर्कलाई बुझ्न सक्दैनन्। यसले तिनीहरूसँग कामकुरा बुझ्ने सामर्थ्य छैन भन्ने कुरा देखाउँछ। जब अरूले कुनै कुराका बारेमा सङ्गति गर्छन्, तब तिनीहरूले सुनेपछि यो कुरा खुट्ट्याउन सक्दैनन्। भनिएको कुरा साँचो र वस्तुगत हो कि होइन भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, न त तिनीहरूले मामलाको पृष्ठभूमि र सारलाई छर्लङ्ग देख्‍न नै सक्छन्—तिनीहरू पूर्ण रूपमा अन्योलमा पर्छन्। यो विषयवस्तुबारे किन छलफल भइरहेको छ, यस विषयवस्तुमा संलग्‍न सिद्धान्तहरूलाई किन बारम्बार जोड दिइनुपर्छ, साथै यी सिद्धान्तहरूसँग कसका प्रश्‍नहरू सम्बन्धित छन् र कसका सम्बन्धित छैनन् भन्‍ने कुराको हकमा भन्दा, तिनीहरूले यीमध्ये कुनै पनि कुरा बुझ्न वा जान्‍न सक्दैनन्। सुन्दै जाँदा, तिनीहरू निन्द्राले झपक्क हुन्छन्; तिनीहरूले आफूलाई यो सङ्गतिको दर्शकका रूपमा मात्रै लिन थाल्छन्, र तिनीहरूको हृदय धमिलो हुन्छ। अरू मानिसहरूका हकमा, सत्यता सिद्धान्तहरूमा जति धेरै सङ्गति गरिन्छ, तिनीहरूको मस्तिष्क त्यति नै स्पष्ट र प्रस्ट हुन्छ। तर क्षमता नभएका मानिसहरूका हकमा भन्दा, तिनीहरूले जति सुन्छन्, तिनीहरू त्यति नै भ्रमित हुन्छन्, र तिनीहरूको विचार त्यति नै धमिलो हुन्छ। यसले कामकुरा बुझ्ने सामर्थ्यको कमीलाई जनाउँछ। के यसले अत्यन्तै कमजोर क्षमतालाई जनाउँदैन र? त्यस्ता मानिसहरूलाई कुनै क्षमता नभएका मानिसहरू पनि भनेर भन्‍न सकिन्छ। क्षमता नभएका मानिसहरू कस्ता मानिसहरू हुन्? (मानसिक रूपमा कमजोर मानिसहरू।) मानसिक रूपमा कमजोर, बेवकुफ, मूर्खहरू—सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूको वर्ग यही हो। दोस्रो पक्ष यही हो: कामकुरा बुझ्ने सामर्थ्य।

नम्बर ३: बोध सामर्थ्य

तेस्रो पक्ष बोध सामर्थ्य हो। बोध सामर्थ्य पनि कामकुरा बुझ्ने सामर्थ्य जस्तै हो, तर यो अझै एक कदम अगाडि जान्छ। तीबीचको भिन्‍नता के हो? बोध सामर्थ्यले सत्यताका सिद्धान्तहरू र अभ्यासका मार्गहरूलाई वास्तविक जीवनका विभिन्‍न समस्याहरूसँग कसरी मिलाउने र यी सिद्धान्त र मार्गहरूलाई बुझेपछि र तिनमा पोख्त भएपछि तिनलाई वास्तविक काममा कसरी लागू गर्ने भन्‍ने कुरामा बढी ध्यान दिन्छ। भिन्‍नता यहीँ हुन्छ। बोध सामर्थ्य भएका मानिसहरूले कुनै कुराका आधारभूत कुरा र सिद्धान्तहरू बुझेपछि, तिनीहरूको हृदयमा अभ्यासको मार्ग, र सटीक दायरा, दिशा, र उद्देश्य हुन्छ। तिनीहरूलाई यी आधारभूत कुरा र सिद्धान्तहरू कसरी लागू गर्ने भन्‍ने थाहा हुन्छ र तिनीहरूलाई निश्‍चित विशेष परिस्थितिहरूसँग सम्बन्धित अभ्यासका सिद्धान्तहरू पनि थाहा हुन्छ। मानौँ, कुनै व्यक्तिले केही सत्यता सिद्धान्तहरूमा सङ्गति सुनेपछि, केही समस्याहरूको सारलाई पहिचान गर्न सक्छ र त्यसपछि वास्तविक जीवनमा केही वास्तविक समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्छ। अर्थात्, उसले यी सिद्धान्तहरू सुनेपछि, पहिलेको परिस्थितिमा कसरी अभ्यास गर्नुपर्ने थियो भन्‍ने कुरा तुरुन्तै बुझ्छ, र जब परिस्थितिहरू फेरि उत्पन्न हुन्छन्, तब तिनीहरूलाई ती कुराहरूलाई लिन कसरी सिद्धान्तहरू लागु गर्ने भन्‍ने पनि थाहा हुन्छ, र तिनीहरूको हृदयमा तुरुन्तै अभ्यासको मार्ग हुन्छ; सिद्धान्त र आधारभूत कुराहरूबारेको तिनीहरूको बुझाइले मार्गदर्शन गर्ने ज्योतिले जस्तै काम गर्छ, जसले गर्दा तिनीहरूले जीवनका वा कामका विभिन्‍न समस्याहरूलाई कसरी सम्हाल्ने भनेर तुरुन्तै जान्न सक्छन्, र यसले तिनीहरूलाई अभ्यासको मार्ग, दिशा, र सिद्धान्तहरू प्राप्त गर्न सक्षम तुल्याउँछ। त्यस्तो अवस्थामा, त्यस्तो व्यक्तिमा बोध सामर्थ्य हुन्छ, जुन अवश्य नै राम्रो क्षमताको प्रकटीकरण हो। मानौँ कुनै व्यक्तिले सत्यता सिद्धान्तहरूमा गरिएका केही सङ्गति सुनेपछि, उसले आफ्नो वास्तविक जीवनका आम र विश्‍वव्यापी कुरा वा आफूले अनुभव गरेका कुराहरूलाई कसरी अभ्यास गर्नुपर्छ र सम्हाल्नुपर्छ भन्‍ने कुरा जान्दछ। तर, तिनीहरूलाई आफूले अनुभव नगरेका विशेष, जटिल परिस्थितिहरू, अप्रत्याशित परिस्थितिहरू, वा असामान्य समस्या र घटनाहरूमा यी सत्यता सिद्धान्तहरूलाई कसरी लागू गर्ने भन्‍ने थाहा हुँदैन, र तिनलाई कसरी सम्हाल्ने र समाधान गर्ने भन्‍ने थाहा पाउनुभन्दा पहिले अझै पनि सटीक उत्तर वा अभ्यासको निश्‍चित योजना प्राप्त गर्न खोजी र सोधपुछ गर्नुपर्छ। नत्र भने, सत्यता सिद्धान्तहरू सुनेपछि पनि, तिनीहरूलाई त्यस्ता मामला वा समस्याहरूलाई कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन। यसले तिनीहरूमा औसत बोध सामर्थ्य हुन्छ भन्‍ने कुरालाई सङ्केत गर्छ; वा, त्यस्तो व्यक्ति औसत क्षमता भएको व्यक्ति हो भनेर पनि भन्‍न सकिन्छ। कतिपय मानिसहरूले दश-बीस वर्ष काम गरेका हुन्छन्, र परमेश्‍वरको घरका सत्यता सिद्धान्तहरूमा स्पष्ट सङ्गतिका साथै केही कामको अनुभव प्राप्त गरेपछि, तिनीहरूलाई सामान्य परिस्थितिहरूलाई कसरी सम्हाल्ने भन्‍ने थाहा हुन्छ, र तिनलाई यसरी सम्हाल्नु सही कुरा हो भन्‍ने कुराको पुष्टि प्राप्त भएको हुन्छ। तर, जब तिनीहरूले आफ्नो काममा कहिल्यै अनुभव नगरेका निश्‍चित जटिल, विशेष, र असामान्य समस्याहरूको सामना गर्छन्, तब तिनीहरूलाई तिनलाई कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन र तिनलाई सम्हाल्न सुरु गर्नुभन्दा पहिले सोधपुछ गरेर स्पष्ट उत्तर प्राप्त गर्नुपर्ने हुन्छ। यदि परिस्थिति परिवर्तन भयो र यो तिनीहरूले कल्पना गरेको भन्दा वा तिनीहरूलाई थाहा भएका परिस्थितिहरूभन्दा जटिल भयो भने, तिनीहरू अन्योलमा पर्छन्, त्यसलाई कसरी सामना गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, र त्यसलाई सिद्धान्तहरू अनुरूप कसरी अभ्यास गर्ने र सम्हाल्ने भन्ने त झनै थाहा हुँदैन। जब तिनीहरूलाई कसरी अभ्यास गर्ने भन्‍ने थाहा हुँदैन, जब तिनीहरूले आफ्नो कल्पना, आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू अनुसार काम गर्छन्, वा त्यसलाई पन्छाएर बेवास्ता गर्छन्—तिनीहरूले जसरी काम गरे पनि—यस्तो परिस्थितिको सामना गर्दा तिनीहरू अन्योलमा पर्छन् र त्यसलाई सम्हाल्नका लागि सिद्धान्तहरू लागू गर्न जान्दैनन् भन्‍ने तथ्यले तिनीहरूको क्षमता अत्यन्तै औसत छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। यदि व्यक्तिले सामान्य परिस्थितिहरूलाई सम्हाल्न सक्छ तर विशेष परिस्थितिहरूलाई सम्हाल्न जान्दैन भने, यसले औसत क्षमतालाई जनाउँछ। यदि केही विशेष परिस्थितिहरूको सामना गर्दा तिनीहरू यति अन्योलमा पर्छन् कि तिनीहरूले सामान्य रूपमा सम्हाल्न सक्‍ने समस्याहरूलाई समेत सम्हाल्न सक्दैनन् भने, यसले कमजोर क्षमतालाई जनाउँछ। कमजोर क्षमता भएको व्यक्तिको बोध सामर्थ्य पनि कमजोर हुन्छ। के कमजोर बोध सामर्थ्य भएको व्यक्ति र पर्याप्त बोध सामर्थ्य भएको व्यक्तिका बीचमा भिन्‍नता हुन्छ? (हुन्छ।)

कतिपय मानिसले अरूले जसरी सङ्गति गरे पनि, सिद्धान्तहरू बोध गर्न सक्दैनन्। तिनीहरूले धर्मसिद्धान्त र प्रावधानहरू मात्रै बुझ्छन्, र केही नाराहरू मात्रै फलाक्न सक्छन्, तर तिनीहरू वास्तविक काम गर्न र समस्याहरू समाधान गर्न जान्दैनन्। हेर् त, सङ्गति सुनेपछि, तिनीहरूले साँच्‍चै बुझेका छन् जस्तो गरी अत्यन्तै स्पष्टता र संरचनाको साथ बोल्छन्। तर वास्तवमा, तिनीहरूले भनिएको कुरा पटक्‍कै बुझेका हुँदैनन्। जब ठोस काम गर्ने कुरा आउँछ, तब तिनीहरू अन्योलमा पर्छन्, र कहाँ सुरु गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। समस्याहरूको सामना गर्दा, तिनीहरू तिनलाई समाधान गर्न जान्दैनन्। तिनीहरूले अझै पनि ठोस काम गर्न सक्दैनन्। विभिन्‍न मानिस र मामलाहरूलाई व्यवहार गर्ने र सम्हाल्ने क्रममा, तिनीहरूमा अझै पनि सिद्धान्तहरूको कमी हुन्छ। तिनीहरूले हृदयमा सोच्छन्, “प्रवचनहरू सुन्दा मैले सत्यता सिद्धान्तहरू बुझेँ—म किन तिनलाई वास्तविक जीवनका वातावरणहरूमा लागू गर्न सक्दिनँ? मैले बुझ्ने र प्रायजसो कुरा गर्ने गरेको कुराले किन काम गर्दैन?” तिनीहरू फेरि अकमक्‍क पर्छन्। कमजोर क्षमता भएका मानिसहरूलाई धर्मसिद्धान्तहरूका बारेमा कसरी कुरा गर्ने र प्रावधानहरू कसरी पालना गर्ने भन्‍ने मात्रै थाहा हुन्छ, तर परिस्थितिहरूको सामना गर्दा, तिनीहरूले ती कुरालाई स्पष्ट रूपमा देख्‍न सक्दैनन्, तिनीहरूले बोल्न सक्‍ने धर्मसिद्धान्तहरू पूर्ण रूपमा व्यर्थ हुन्छन्, तिनीहरूले प्रावधानहरू समेत पालना गर्न सक्दैनन्, र तिनीहरूले कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरू कठिनाइहरू उत्पन्न हुँदा अभ्यास गर्न जान्दैनन्। उदाहरणका लागि, जब कसैले केही उटपटाङ कुराहरू भन्दै मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँछ, तब तिनीहरूले यस मामलाको प्रकृति के हो भनेर खुट्ट्याउन सक्दैनन्। तिनीहरूलाई कुन-कुन कुराहरू बाधा र अवरोधहरू मानिन्छन् वा तिनको प्रकृति के हो भन्‍ने थाहा हुँदैन; समस्यालाई कसरी समाधान गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा हुनु त परको कुरा हो। कसैले तिनीहरूलाई सोध्छ, “के तिमीहरू दुष्ट मानिसहरूलाई खुट्ट्याउन जान्दैनौ र? दुष्ट मानिसहरूलाई सम्हाल्ने विषयमा तिमीहरूमा किन सिद्धान्तहरूको कमी हुन्छ?” तिनीहरूले यस्तो जवाफ दिन्छन्, “म यी धर्मसिद्धान्तहरू बुझ्छु, तर मलाई ती कुन-कुन समस्याहरू समाधान गर्नका लागि उपयुक्त छन् वा कुन-कुन मानिसहरूमा लागू गर्नका लागि उपयुक्त छन् भन्ने कुरा थाहा छैन।” यसले बोध सामर्थ्यको कमीलाई जनाउँछ, होइन र? (हो।) हेर् त, सिद्धान्तहरू सुनेपछि, तिनीहरूले तिनलाई तिनको शाब्दिक अर्थ अनुसार बुँदागत रूपमा राम्ररी सारांशित गर्न सके, तिनलाई निकै सटीक रूपमा याद गरे र एक शब्द पनि नछुटाइ तिनलाई कण्ठ गरेर सुनाए। तर, दुर्भाग्यवश, वास्तविक जीवनमा, मानिस र परिस्थितिहरूलाई हेर्ने र आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने कार्यका हकमा, तिनीहरूसँग अभ्यासको कुनै मार्ग हुँदै हुँदैन, तर तिनीहरू नाराहरू चिच्याउन, धर्मसिद्धान्तहरूका बारेमा कुरा गर्न, र प्रावधानहरू पालना गर्न मात्रै जान्दछन्। चाहे वास्तविक जीवनमा होस् वा आफ्नो कर्तव्य पूरा गर्दा होस्, तिनीहरूले जेसुकै कुराको सामना गरे पनि, तिनीहरूलाई सत्यताको खोजी कसरी गर्ने वा सिद्धान्तहरू अनुसार अभ्यास कसरी गर्ने भन्‍ने थाहा हुँदैन। यसले बोध सामर्थ्यको कमीलाई जनाउँछ। बोध सामर्थ्य नभएका मानिसहरूले प्रायजसो परमेश्‍वरका वचनहरू पढ्न त सक्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूमा भएको सत्यता के हो वा तिनका सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरा बुझ्न सक्दैनन्। त्यसकारण, जब कुनै कुरा घट्छ, तब तिनीहरूले त्यसलाई खुट्ट्याउन र समाधान गर्नका लागि परमेश्‍वरका सान्दर्भिक वचनहरू भेट्टाउन सक्दैनन् र तिनीहरूले अरूलाई तिनीहरूका लागि उपयुक्त परमेश्‍वरका वचनहरू खोज्‍न लगाउनैपर्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा सधैँ के कुरामा ध्यान दिन्छन्? तिनीहरूले यस कुरालाई व्याख्या गर्नका लागि निश्‍चित उदाहरणहरू छन् कि छैनन् भनेर खोज्छन्। यदि उदाहरणहरू छैनन् भने, तिनीहरूले परमेश्‍वरका वचनहरूको अर्थ बुझ्न सक्दैनन्। उदाहरणका लागि, मानिसहरूको प्रकृति सारलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूका हकमा भन्दा, यदि कुनै उदाहरणहरू प्रदान गरिएन भने, तिनीहरूले ती कुरा बुझ्न सक्दैनन्। तिनीहरूले आफ्नै स्थितिलाई परमेश्‍वरका वचनहरूसँग तुलना गरेर खुट्ट्याइ अभ्यास गर्न सक्दैनन्। कसैले सत्यतामा सङ्गति गर्‍यो र तिनीहरूको वास्तविक स्थितिअनुसार तिनीहरूलाई खुट्ट्यायो र चिरफार गर्‍यो भने मात्रै तिनीहरूले बुझ्न सक्छन्। त्यस्तो सङ्गतिविना, तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्दैनन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्दा सधैँ यसो भन्दै गुनासो गर्छन्, “किन निश्‍चित उदाहरणहरू छैनन्? मैले यसलाई कसरी आफूसँग जोड्ने? यी वचनहरू बुझ्न अत्यन्तै गाह्रो छ; मैले तिनलाई जसरी पढे पनि, म तिनलाई आफूसँग तुलना गर्न सक्दिनँ!” यसले के देखाउँछ भने, तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्दैनन्, सत्यता बुझ्न वा परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनमा ल्याउन सक्नु त परको कुरा हो। तिनीहरूले सरल धर्मसिद्धान्त र प्रावधानहरू मात्रै बुझ्छन्, तर यी धर्मसिद्धान्त र प्रावधानहरू वास्तविक जीवनमा व्यर्थ हुन्छन्। जब कामकुराहरू घट्छन्, तब तिनीहरूसँग अझै पनि अभ्यासको कुनै मार्ग हुँदैन। यसले तिनीहरूसँग बोध सामर्थ्य छैन भन्‍ने कुरालाई जनाउँछ। के बोध सामर्थ्य नभएका मानिसहरू कमजोर क्षमताका हुन्छन्? (हो।) सबैभन्दा कमजोर क्षमता भएका मानिसहरू कुनै क्षमता नभएका मानिसहरू हुन्; त्यस्ता मानिसहरूले आफूले सुनेका विभिन्‍न सिद्धान्तहरूलाई बुझ्न सक्दैनन्; यस्ता-त्यस्ता उदाहरणहरू किन दिइन्छ, किन निश्‍चित कुराहरू भनिन्छन्, वा मानिसहरूमा किन निश्‍चित प्रकटीकरणहरू हुन्छन् भन्‍ने तिनीहरूलाई थाहा हुँदैन—तिनीहरूले त्यस्ता कुराहरू बुझ्न सक्दैनन्, यी कुराहरू तिनीहरूको समझभन्दा बाहिरका कुराहरू हुन्। तैँले तिनीहरूलाई केही उदाहरण दिए पनि, तिनीहरूलाई तैँले कथा वा चुट्किला मात्रै भनिरहेको छस् भन्‍ने लाग्छ, मानौँ तिनीहरू कथा सुन्‍ने र त्यसलाई रोचक र मनोरञ्जक ठान्‍ने बच्चाहरू हुन्। यदि कसैले तिनीहरूलाई तिनीहरूले सुनेको कुरा बुझ्छन् कि बुझ्दैनन् भनेर सोधे भने, तिनीहरूले बुझ्छौँ भनेर भन्छन्, र तिनीहरूले अरूका शब्दहरूको ठट्टाको समेत नक्कल गर्न वा तिनीहरूले मानिसहरूलाई कसरी हप्काउँथे भन्‍ने कुराको पनि अनुकरण गर्न सक्छन्। यदि तैँले तिनीहरूलाई “मानिसहरूले पालना गर्नुपर्ने सान्दर्भिक सिद्धान्तहरू तिमीलाई थाहा छ?” भनेर सोधिस् भने, तिनीहरूले यस्तो जवाफ दिन्छन्, “हजुर? सिद्धान्तहरू छन्? मैले त्यो कुरा बुझिनँ।” के त्यस्ता मानिसहरूमा बोध सामर्थ्य हुन्छ? (हुँदैन।) तिनीहरूमा बोध सामर्थ्यको कमी हुन्छ र तिनीहरू परमेश्‍वरका वचनहरू बुझ्न सक्दैनन्। बोध सामर्थ्य नभएका मानिसहरूले हरेक दिन नियमित रूपमा र कार्यतालिकाअनुसार परमेश्‍वरका वचनहरूका केही खण्ड वा अध्याय खान्छन्-पिउँछन्, र तिनीहरू निर्धारित समयमा भजनहरू सिक्छन् र भेलाहरूमा पनि सहभागी हुन्छन्। तर तिनीहरूले आफ्नो पुस्तक बन्द गरेपछि वा आफ्ना भजन रेकर्डिङहरू बन्द गरेपछि, तिनीहरूले खाएको र पिएको कुराबाट “परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ,” र “सबै कुरामा परमेश्‍वरमा समर्पित हुनुपर्छ”; वा “मानिसको नियति परमेश्‍वरले तय गर्नुहुन्छ,” र “परमेश्‍वरलाई प्रेम गर्ने अभ्यास मात्रै गर्नुपर्छ” जस्ता मानिसहरूले प्रायजसो भन्‍ने गरेका केही आत्मिक वाक्यांशहरू र केही मृत शब्दहरू मात्रै याद गर्छन्। कष्ट भोगाइका वास्तविक परिस्थितिहरूमा, तिनीहरूले “मैले भावनाहरूका कारण कष्ट भोगिरहेको छु” वा “मैले देहका कारण कष्ट भोगिरहेको छु” भन्ने जस्ता झूटा आत्मिक वाक्यांशहरू मात्रै बोल्न सक्छन्। आत्मआचरण, दैनिक जीवन, काम, र सत्यताका अरू विभिन्‍न सिद्धान्तहरूसँग सम्बन्धित कुनै पनि सिद्धान्तहरूका हकमा भन्दा, तिनीहरूलाई तीमध्ये कुनै पनि कुरा थाहा हुँदैन र तिनीहरूले तीमध्ये कुनै कुरा बुझ्दैनन्। तिनीहरूको हृदयमा यी कुराहरू हुँदैनन् र तिनलाई तिनीहरूभित्र राख्‍न सकिँदैन। यी कुराहरूलाई किन राख्‍न सकिँदैन? किनभने, तिनीहरूको क्षमताका हिसाबमा भन्दा, त्यस्ता मानिसहरूले यी सत्यता सिद्धान्तहरू बुझ्नै सक्दैनन्, र यी सत्यता सिद्धान्तहरू तिनीहरूको समझभन्दा बाहिर हुन्छन्; त्यसकारण, यी कुराहरूले तिनीहरूको हृदयमा जरा गाड्न सक्दैनन्। व्यक्तिभित्र के छ र उसले के स्वीकार गर्न सक्छ भन्ने कुराले उसले के बुझ्न सक्छ र के उसको समझभन्दा बाहिर छैन भन्‍ने कुरा प्रमाणित गर्छ। यदि कुनै व्यक्तिमा कुनै क्षमता नै छैन, ऊसँग बोध सामर्थ्यको कमी छ, र उसलाई स्वर्गमा वा तेस्रो स्वर्गमा राखिए पनि उसले परमेश्‍वरका वचनहरूको सटीक अर्थ बुझ्न सक्दैन भने, के उसले परमेश्‍वरका वचनहरू बुझ्न सक्छ? के उसले सत्यता अभ्यास गर्न सक्छ? के ऊ परमेश्‍वरमा समर्पित हुन सक्छ? (सक्दैन।) ऊ जस्ताको त्यस्तै रहन्छ। उसको क्षमता सधैँ रहिआएजस्तै रहनेछ। कमजोर क्षमता भएका मानिसहरूले अत्यन्तै सीमित दायराभित्रका कुराहरू मात्रै बोध गर्न सक्छन्। राम्रो क्षमता भएका मानिसहरूले अझै गहिराइमा र अझै उच्च स्तरमा अझै धेरै कुरा बोध गर्न सक्छन्। औसत क्षमता भएका मानिसहरूले राम्रो क्षमता भएका मानिसहरूले भन्दा निकै कम बोध गर्छन्; तिनीहरूले बोध गर्न सक्‍ने कुरा औसत दायराभित्र सीमित हुन्छ, र तिनीहरूलाई आफ्‍नो क्षमताले सीमित गर्ने हुनाले त्यो कुरा यो दायराभन्दा बाहिर जान सक्दैन। सबैभन्दा खराब त क्षमता नै नभएका मानिसहरू हुन्। त्यस्ता मानिसहरूको क्षमताको हिसाबमा मात्रै हेर्दा पनि, तिनीहरूसँग कुनै बोध सामर्थ्य हुँदैन। त्यसकारण, तिनीहरूको वास्तविक जीवनको र आफ्नो कर्तव्य पूरा गर्दाको प्रकटीकरण के हो भने, तिनीहरूले केही बुझ्दैनन्; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको दश वर्ष भएको भए पनि, बीस वर्ष भएको भए पनि, वा तिनीहरूले वृद्ध अवस्थामा पुग्दा समेत विश्‍वास गरेका भए पनि, परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धी धर्मसिद्धान्तहरू र तिनीहरूले कुरा गर्ने आत्मिक वाक्यांशहरू अझै पनि तिनीहरूले विश्‍वास गर्न थाल्दा बुझेका पुराना कुराहरू नै हुन्छन्। तिनीहरूले जति वर्षदेखि विश्‍वास गरेका भए पनि, कुनै प्रगति गर्दैनन्। तिनीहरूले किन प्रगति गर्दैनन्? किनभने तिनीहरूसँग कुनै बोध सामर्थ्य हुँदैन, र तिनीहरूले जति वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूले बुझ्न सक्‍ने कुराहरू ती मृत शब्दहरू मात्रै हुन्छन्। धेरै वर्ष विश्‍वास गरेपछि पनि, तिनीहरूको सिक्ने सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, बोध सामर्थ्य, र अरू सामर्थ्यहरूमा सुधार हुँदैन। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू अत्यन्तै कमजोर क्षमता भएका मानिसहरू हुन्। तिनीहरूको क्षमता कमजोर हुने हुनाले र तिनीहरूका विभिन्‍न सामर्थ्यमा सुधार नहुने हुनाले, त्यस्ता मानिसहरू चालीस, पचास, साठी, वा सत्तरी वर्षसम्म जिए पनि, आफ्नो हेरचाह गर्ने तिनीहरूको क्षमता अझै पनि अत्यन्तै कमजोर हुनेछ। तिनीहरूको बाँच्ने सामर्थ्य र आफ्नो हेरचाह गर्ने तिनीहरूको सामर्थ्यलाई अवलोकन गरेर, तैँले त्यस्ता मानिसहरूको क्षमता कस्तो छ भनेर बताउन सक्छस्। यस्तो व्यक्ति मानसिक रूपमा कमजोर, बेवकुफ, र मूर्ख हुन्छ, र आफ्नो हेरचाह गर्ने उसको क्षमता अत्यन्तै कमजोर हुन्छ। आफ्नो हेरचाह गर्ने उसको क्षमता कमजोर हुन्छ भनेर मैले किन भनेँ? उसको सिक्ने सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, र बोध सामर्थ्य सबै कमजोर हुने हुनाले, उसले जीवनमा प्राप्त गर्ने कुराहरूसम्बन्धी उसको अनुभव, सामान्य समझ, ढाँचा, र कौशल अत्यन्तै सीमित हुन्छ। साठी-सत्तरी वर्षको उमेरमा पनि, ऊ उस्तै रहन्छ। राम्रो क्षमता भएका मानिसहरूले उमेरमा तीसको दशकमा पुगेपछि जीवनमा र आफ्नो जीवनको मार्गमा सामना गर्ने विभिन्‍न समस्याहरूका बारेमा केही ज्ञान विकास गरिसकेका हुन्छन्, र यी कुराहरूका बारेमा केही बुझाइ, अन्तर्ज्ञान, र अनुभव प्राप्त गरिसकेका हुन्छन्। यो अनुभवबाट, तिनीहरूले अझै राम्रो जीवन जिउन र आफूलाई अझै प्रभावकारी रूपमा रक्षा गर्नका लागि विभिन्‍न समस्याहरूको सामना गर्दा के गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। तर, कमजोर क्षमता भएका मानिसहरूका हकमा, सबै पक्षमा तिनीहरूको सामर्थ्य कमजोर हुने हुनाले, तिनीहरू उमेरमा जति नै भए पनि, तिनीहरूको बाँच्ने सामर्थ्य अत्यन्तै कमजोर नै रहन्छ। यो कति कमजोर हुन्छ? यो यति कमजोर हुन्छ कि तिनीहरूसँग स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। कतिपयले यसो भन्‍न सक्छन्, “हेर त, तिनीहरूले मनग्‍गे खान्छन्, राम्ररी सुत्छन्, र तिनीहरूको शारीरिक स्वास्थ्य राम्रो छ—तिनीहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी छ भनेर कसरी भन्‍न सकिन्छ?” हामीले कुरा गरिरहेको बाँच्ने सामर्थ्यले कसैले खान वा सुत्न सक्छ कि सक्दैन भन्‍ने कुरालाई जनाउँदैन। यदि कुनै व्यक्तिलाई खाने समयमा खान समेत आउँदैन भने, त्यो सामान्य व्यक्ति नभई मानसिक रूपमा अशक्त व्यक्ति हो—यस्ता मानिसहरूको क्षमताका बारेमा विचार गर्नु त झनै आवश्यक छैन। मानिसहरूको क्षमतालाई मूल्याङ्कन गर्ने हाम्रो दायरामा मुख्य रूपमा बाहिरी रूपमा सामान्य मानिने मानिसहरू पर्छन्। यसमा शारीरिक अशक्तता, मानसिक अशक्तता, मानसिक रोग भएका, वा आफ्नो हेरचाह गर्ने सामर्थ्य नभएका मानिसहरू पर्दैनन्। हामीले प्रायजसो कतिपय मानिसहरू देख्छौँ, जसले आफ्नो खाना, लुगा, बास, र यातायात व्यवस्थापनको काम गर्ने कुनै ढाँचा, सिद्धान्त, वा कौशल समेत भेट्टाउन सक्दैनन्। तिनीहरू उमेरमा जति नै भए पनि, तिनीहरूलाई जीवनका यी पक्षहरूलाई सिद्धान्तहरू र मानवता अनुरूप कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन। उदाहरणका लागि, तिनीहरूलाई फरक-फरक मौसमका लागि कुन-कुन लुगा सबैभन्दा उपयुक्त हुन्छन् भन्‍ने थाहा हुँदैन र तिनीहरूले अरूले जे गर्छन् त्यसैको सिको गर्छन्। बाहिर चिसो हुँदा, तिनीहरूले अत्यन्तै पातलो लुगा लगाउँछन् र तिनीहरूलाई चिसो लाग्छ, तैपनि तिनीहरूलाई किन यस्तो हुन्छ भन्‍ने थाहा हुँदैन; वा, तिनीहरूले अस्वस्थकर खाने कुरा खाएर बिरामी पर्छन्, तर तिनीहरूलाई त्यसको कारण थाहा हुँदैन। तिनीहरूले यी अनुभवहरूबाट कुनै निष्कर्ष निकाल्न सक्दैनन्। के तिनीहरू मानसिक रूपमा अशक्त हुँदैनन् र? के तिनीहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुँदैन र? (हो।) तिनीहरू जति नै उमेरका भए पनि, तिनीहरूलाई कसरी जिउने भन्‍ने थाहा हुँदैन र तिनीहरू अन्योलमा जीवनभरि यताउता अल्झिरहन्छन्। सामान्य व्यक्तिका हकमा भन्दा, जब उसले पहिलो सन्तान जन्माउँछ, तब ऊसँग अनुभवको कमी हुन सक्छ, तर उसले दोस्रो सन्तान जन्माएको समयसम्ममा आफ्नो सन्तानको हेरचाह र पालनपोषण गर्ने बारेमा केही अनुभव प्राप्त गरेको हुनेछ। तर कतिपय मानिसहरूसँग दुई-तीन जना छोराछोरी जन्माएपछि पनि कुनै अनुभव हुँदैन। तिनीहरूले आफ्ना छोराछोरीलाई कसरी हेरचाह गर्छन् भनेर सोधियो भने, तिनीहरूले भन्छन्, “मलाई थाहा छैन, मैले त यसोत्यसो गरेरै हुर्काएँ। जे भए पनि, जब छोराछोरी भोकाउँछन्, तब म तिनीहरूलाई खुवाउँछु, र तिनीहरू अघाएपछि भइहाल्छ।” तिनीहरूको हातमा परेको कुनै पनि बच्‍चा बाँच्यो भने त्यो सौभाग्यको कुरा हुनेछ। तिनीहरूको बाँच्ने सामर्थ्यको स्तरका आधारमा, तिनीहरूको हेरचाहमा एउटा पनि बच्‍चा बाँच्‍ने थिएन। कतिपय मानिसहरूले जीवनमा वा अस्तित्वमा उत्पन्न हुने विभिन्‍न समस्याहरूलाई कसरी सम्हाल्ने भन्‍ने कुरा बुझ्दैनन्। त्यस्ता मानिसहरूमा बाँच्ने सामर्थ्यको कमी हुन्छ। उदाहरणका लागि, जब एकै समयमा दुई वटा समस्या उत्पन्न हुन्छन्, तब तिनीहरू अन्योलमा पर्छन् र तिनीहरूलाई के गर्ने वा सुरुमा कुन समस्यालाई सम्हाल्ने भन्ने थाहा हुँदैन। तिनीहरू व्याकुल, नर्भस, र भयभीत हुन्छन्, र यसो भन्दै गुनासो गर्छन्, “यी दुई वटा समस्याहरू किन एकै समयमा आइपरे? अब मैले के गर्ने?” तिनीहरू यति चिन्तित हुन्छन् कि खान वा सुत्न सक्दैनन्। तिनीहरू उमेरमा तीसको दशकमा यस्तो हुन्छन्, र साठीको दशकमा पनि तिनीहरूको कद उस्तै हुन्छ। जब परिस्थितिहरू उत्पन्न हुन्छन् र तिनीहरूले समाधान भेट्टाउन सक्दैनन्, तब तिनीहरू रुन थाल्छन्। अरूले भन्छन्, “तिमी किन रोएको? यो ठूलो कुरा होइन—यी सबैभन्दा आम समस्याहरू हुन्। तिमीले केवल तिनलाई प्राथमिकता दिनुपर्छ र महत्त्वका आधारमा तिनलाई सम्हाल्नुपर्छ।” यदि कसैले यी कुराहरू सम्हाल्न सक्दैन, र यसका लागि भोक-निद्रा त्याग्छ, वा उसले आफ्नो जीवन समाप्त गर्ने बारेमा समेत विचार गर्छ भने, के ऊ अत्यन्तै दुर्बल होइन र? तिनीहरूले यसो भनेर समेत गुनासो गर्छन्, “अरूलाई किन यस्तो आइपरेन? किन मलाई नै यस्तो आइपर्‍यो?” यो तँलाई आइपरेको छ, त्यसकारण यसलाई सम्हाल्। यदि तँ यसलाई सम्हाल्न सक्दैनस् भने, तेरो वरिपरिको बुझ्ने कुनै व्यक्तिलाई सोध्। तैँले समस्यालाई स्पष्ट पारेपछि, तँलाई यसलाई कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन र? जब केही भइरहेको हुँदैन, तब त्यस्ता मानिसहरू बोल्न निकै सिपालु हुन्छन्, र एकपछि अर्को गरी धर्मसिद्धान्तहरू प्रस्तुत गर्छन्। तर जब केही हुन्छ, तब तिनीहरू आत्तिन्छन्, अन्योलमा पर्छन्, सुँकसुकाउन थाल्छन्, तिनीहरूको मन रित्तो हुन्छ, र तिनीहरूको विचार सबै गन्जागोल हुन्छ—तिनीहरूलाई के गर्ने थाहा हुँदैन। यदि कुनै व्यक्ति जवान छ, उसले जीवनमा त्यति धेरै कुरा भोगेको छैन र ऊसँग अनुभवको कमी छ भने, परिस्थितिहरू आइपर्दा ऊ नर्भस हुनु र डराउनु सामान्य कुरा हो। तर, तिनीहरू तीस-चालीस वर्षको उमेरमा पुगेपछि, संसारका धेरै कुराहरूबाट गुज्रेपछि अनि अनुभव प्राप्त गरेपछि, तिनीहरू तुलनात्मक रूपमा परिपक्‍व र अनुभवी बन्छन्, र तिनीहरूले अझै बढी स्थिरता र आत्मविश्‍वासका साथ मामिलाहरू सम्हाल्छन्। यो कुरा देख्‍ने जवान मानिसहरू प्रभावित हुन्छन्, र त्यस्ता मानिसहरूमा भर पर्न सकिन्छ भन्‍ने सोच्छन्। यदि कुनै व्यक्तिमा क्षमता र बाँच्ने सामर्थ्यको कमी छ भने, उसमा आफ्नो हेरचाह गर्ने सामर्थ्यको पनि कमी हुन्छ। तिनीहरूका वरिपरि तिनीहरूलाई सहयोग र सुपरिवेक्षण गर्ने वयस्क वा अनुभवी मानिसहरू छैनन् भने, तिनीहरूले सम्हाल्ने सबै कुरा पूर्ण रूपमा अस्तव्यस्त हुन्छ। त्यस्ता मानिसहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। कतिपय मानिसहरूको क्षमता कतिसम्म कमजोर हुन्छ? उदाहरणका लागि, धेरै जनाको परिवारलाई खाना खानका लागि कति चामल वा कति वटा परिकार चाहिन्छ भन्‍ने थाहा नहुने कतिपय गृहिणीहरूलाई लिऊँ—कतिपयले खाना पकाएको बीस-तीस वर्ष भएको हुन्छ र अझै पनि हरेक छाकका लागि कति तयार गर्नुपर्छ वा खानामा कति नुन हाल्‍नुपर्छ भन्‍ने थाहा हुँदैन, र कहिलेकाहीँ खाना राम्ररी पाकेको छ कि छैन भन्‍ने कुरा समेत थाहा हुँदैन। तिनीहरूको क्षमता यतिसम्म कमजोर हुन्छ। के त्यस्ता मानिसहरूमा काम गर्ने मस्तिष्कको कमी हुँदैन र? तिनीहरूमा सुँगुरको जस्तो दिमाग हुन्छ! त्यस्ता मानिसहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। तिनीहरूसँग कुनै पनि काम गर्नका लागि कुनै बाटो हुँदैन र तिनीहरूले सजिलै गल्तीहरू गर्छन्। जब केही हुन्छ, तब यदि तिनीहरूका लागि कामकुराको रेखदेख गर्ने कोही छैन भने, तिनीहरूले गर्ने सबै कुरा पूर्ण अस्तव्यस्ततामा परिणत हुन्छ, र सबै कुरा पूर्ण रूपमा गन्जागोल हुन्छ। तिनीहरू मूर्ख र मानसिक रूपमा अशक्त हुन्छन्। सबैभन्दा खराब बोध सामर्थ्य भएको यस्तो व्यक्तिका हकमा भन्दा, उसले सत्यता सिद्धान्तहरूका बारेमा जति धेरै सङ्गति सुने पनि, धर्मसिद्धान्तहरू मात्रै बुझ्छ। वास्तविक जीवनमा, उसलाई अझै पनि यी सिद्धान्तहरू कसरी लागू गर्ने भन्‍ने थाहा हुँदैन। अर्को शब्दमा भन्दा, उसले बुझ्ने धर्मसिद्धान्तहरूले उसलाई वास्तविक जीवनमा कुनै उद्देश्य, दिशा, वा मार्ग प्रदान गर्न सक्दैनन्। सबैभन्दा कमजोर बोध सामर्थ्य भएका मानिसहरू यिनीहरू नै हुन्। बोध सामर्थ्य, अर्थात् तेस्रो सामर्थ्यका बारेमा हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।