सत्यता कसरी पछ्याउने (५) भाग पाँच
शक्तिमा हुनेहरूको चापलुसी गर्नु
अर्को प्रकारको व्यक्ति पनि हुन्छ: शक्तिमा हुनेहरूको चापलुसी गर्न मन पराउनेहरू। शक्तिमा हुनेहरूको चापलुसी गर्ने मानिसहरू असल हुन् कि खराब? (खराब हुन्।) कुन-कुन हिसाबमा तिनीहरू खराब हुन्? यस्तो व्यक्ति अत्यन्तै पद र हैसियत हेरेर व्यवहार गर्ने हुन्छ। जब तिनीहरूले हैसियत भएको कसैलाई देख्छन्, तब तिनीहरू निरन्तर उसको चापलुसी गर्न हर प्रयास गर्छन्; तिनीहरू आफै अग्रसर भएर तिनीहरूसँग बोल्छन् र आफ्नो मनको कुरा खोल्छन्, तिनीहरूलाई खाना पस्किदिन्छन्, तिनीहरूका लुगा धोइदिन्छन्, र तिनीहरूका लागि सफा गरिदिन्छन्। तिनीहरूले गर्न नचाहने कुनै कुरा नै हुँदैन। यदि तँसँग कुनै हैसियत छैन भने, तिनीहरूले तँलाई नदेखेको जस्तो गर्छन्, र यदि तैँले आफै अग्रसर भएर तिनीहरूकहाँ जाने कोसिस गरिस् भने, जब तिनीहरूले तँलाई देख्छन्, तब तिनीहरूको अनुहार तुरुन्तै बिग्रिन्छ। के त्यस्ता मानिसहरू असल हुन्? यस्तो समस्या कस्तो पक्षअन्तर्गत पर्छ? (यस्तो व्यक्ति नीच चरित्रको र खराब मानवता भएको हुन्छ।) तिनीहरूको मानवता खराब हुन्छ र तिनीहरूको चरित्र नीच हुन्छ। तिनीहरूको मानवता कुन हदसम्म खराब हुन्छ? (तिनीहरूसँग निष्ठा वा इज्जत हुँदैन।) के सक्रिय रूपमा शक्तिमा हुनेहरूको चापलुसी गर्ने मानिसहरू असल मानिसहरू हुन्? (होइनन्।) त्यसोभए तिनीहरू कस्ता मानिसहरू हुन्? शक्तिमा हुनेहरूको चापलुसी गर्न मन पराउने मानिसहरूको चरित्र कस्तो हुन्छ? एउटै व्यक्तिसँग व्यवहार गर्दा तिनीहरूका दुईवटा फरक-फरक अनुहार हुन्छन्। अरूले तिनीहरूलाई छर्लङ्गै देख्लान् भन्ने कुरादेखि तिनीहरू डराउँदैनन् र तिनीहरूले आफ्ना यी पक्षहरूलाई स्वतन्त्र रूपमा प्रकट हुन समेत दिन्छन्। के यी मानिसहरूसँग लाजको कुनै बोध हुन्छ? (हुँदैन।) के लाजको कुनै बोध नभएका यी मानिसहरूलाई दुष्ट मानिसहरूका रूपमा वर्गीकरण गर्न सकिन्छ? (सकिन्छ।) तिनीहरूलाई किन दुष्ट मानिसहरूका रूपमा वर्गीकरण गर्न सकिन्छ? तिनीहरूले अरूलाई व्यवहार गर्ने तरिकामा दुईवटा फरक-फरक अनुहार हुन्छन्। हामी यी दुई फरक-फरक अनुहारको जडको विश्लेषण गरौँ। यी मानिसहरूले विशेष गरी हैसियत मन पराउँछन्, र तिनीहरूले पद र शक्ति भएका मानिसहरूलाई मन पराउँछन्। जब तिनीहरूले हैसियत भएका मानिसहरूलाई देख्छन्, तब तिनीहरू बनावटी हाँसो हाँस्छन्, पूर्ण रूपमा आज्ञाकारी हुन्छन्; तिनीहरू विना कुनै सङ्कोच तिनीहरूको चापलुसी र चाकरी गर्छन्, र निर्लज्ज भएर तिनीहरूलाई फुर्क्याउँछन्। तिनीहरूको लक्ष्य ती मानिसहरूको चापलुसी गर्नु भए पनि, वा तिनीहरूमा मूल्यवान् ठानिने र बढुवा पाउने गुप्त मनसाय भए पनि, अरूप्रतिको तिनीहरूको मनोवृत्ति समस्याग्रस्त हुन्छ र त्यसले सत्यता सिद्धान्तहरूलाई उल्लङ्घन गर्छ। त्यसोभए, हैसियत भएका मानिसहरूप्रति तिनीहरूको यस्तो मनोवृत्ति किन हुन्छ? (तिनीहरूका आफ्नै हितका खातिर।) यसले तिनीहरूले विशेष गरी हैसियत मन पराउँछन् भन्ने प्रमाणित गर्छ। तिनीहरू आफैमा सक्षमताको कमी हुन्छ, वा तिनीहरूसँग हैसियत प्राप्त गर्ने योग्यता, अनुकूल अवस्था, वा अवसरहरू हुँदैनन्। तर, हैसियत भएकाहरूको चापलुसी गरेर अनि तिनीहरूको नजिक भएर, तिनीहरूले हैसियत पाउने आफ्नो चाहनालाई पूरा गर्न सक्छन्। त्यसकारण, तिनीहरूले विना कुनै सङ्कोच वा लाज अरूको चापलुसी गर्न र अरूलाई फुर्क्याउन सक्छन्। तिनीहरूको चरित्र निकै नीच हुन्छ। हैसियत भएको व्यक्ति कस्तो किसिमको व्यक्ति हो भन्ने कुराबारे तिनीहरूले वास्ता गर्दैनन्, न त तिनीहरूले यो व्यक्तिको मानवता असल छ कि खराब छ, वा यो व्यक्ति दुष्ट छ कि छैन भनेर नै खुट्ट्याउँछन्। यो व्यक्तिसँग हैसियत वा पैसा छ भने, ऊ दुष्ट व्यक्ति भए पनि, तिनीहरूले उसको चापलुसी गर्नेछन्। के तिनीहरू पूर्ण रूपमा सिद्धान्तविहीन हुँदैनन् र? (हुन्छन्।) तिनीहरूका लागि, हैसियत भएका मानिसहरूले जे भने पनि त्यो सही र असल हुन्छ, र तिनीहरूले जुनसुकै तरिकाले बोले पनि त्यो स्वीकार्य हुन्छ। कसैसँग हैसियत छ भने, तिनीहरूले त्यो व्यक्तिसँग राम्रो व्यवहार गर्छन्। तिनीहरूमा पूर्ण रूपमा सिद्धान्तको कमी हुन्छ र तिनीहरूले त्यो व्यक्तिसँग अस्वाभाविक रूपमा राम्रो व्यवहार गर्छन्। तिनीहरूसँग साँच्चै नै लाजको कुनै बोध हुँदैन। अरूले तिनीहरूलाई कसरी हेर्छन् वा मूल्याङ्कन गर्छन् भन्ने कुराको तिनीहरूले वास्ता गर्दैनन्। अरूले तिनीहरूका बारेमा के सोच्छन् भन्ने कुराबारे तिनीहरूलाई कुनै मतलब हुँदैन। तिनीहरूले मनमनै सोच्छन्, “मलाई हैसियत भएका मानिसहरू मन पर्छ। म तिनीहरूसँग राम्रो व्यवहार गर्न चाहन्छु। हैसियत हुनुमा के नै खराबी छ र? हैसियत नभएका तिमीहरू मेरो दयाको लायक छैनौ!” यस्ता मानिसहरूसँग कुनै सिद्धान्त वा इज्जत हुँदैन। अरूले तिनीहरूलाई कसरी हेर्छन् भन्ने कुराको तिनीहरूलाई वास्ता हुँदैन, न त तिनीहरू परमेश्वरले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्ने कुराको नै वास्ता गर्छन्। यी नीच चरित्रका मानिसहरू हुन्। यसरी कार्य गर्दा, तिनीहरूको विवेकले केही महसुस गर्दैन, र तिनीहरूको समझसँग मूल्याङ्कन गर्ने कुनै मानक हुँदैन। तिनीहरूसँग कुनै न्यूनतम मानक हुँदैन, र तिनीहरूसँग आफूलाई आचरणमा ढाल्ने तरिकामा कुनै दृढता हुँदैन। हैसियत भएको कसैलाई भेट्दा, तिनीहरू तुरुन्तै खुम्चिन्छन् र घुँडा टेक्छन् र दासजस्तै बन्छन्, र आफ्नो समर्पित अधीनस्थको स्थान ग्रहण गर्छन्। जोसँग हैसियत हुन्छ, उही नै तिनीहरूको मालिक बन्छ। के त्यस्ता मानिसहरूसँग निष्ठा वा इज्जत हुन्छ? (हुँदैन।) तिनीहरू हैसियत भएका मानिसहरूप्रति सबैभन्दा घिनलाग्दो चापलुसीमा संलग्न हुन समेत सक्षम हुन्छन्, र तिनीहरूले जतिसुकै मानिसहरूको अगाडि पनि त्यसो गर्ने आँट गर्छन्। तिनीहरू अरूको दृष्टिकोण वा अरूले तिनीहरूलाई कसरी हेर्छन् भन्ने कुराको वास्ता गर्दैनन्, र तिनीहरूको लक्ष्य आफ्नै चाहनाहरूलाई पूरा गर्नु मात्रै हुन्छ। हैसियत भएका मानिसहरूप्रति तिनीहरू यसरी नै व्यवहार गर्छन्। तर जब हैसियत भएको व्यक्तिले त्यो गुमाउँछ, तब के हुन्छ? तब तिनीहरूले आफ्नो अनुहार फेर्छन्। तिनीहरूले त्यस व्यक्तिलाई कस्तो व्यवहार गर्छन् त? (तिनीहरूले तुरुन्तै उसलाई बेवास्ता गर्न थाल्छन्।) तिनीहरूको अनुहार तुरुन्तै अँध्यारो हुन्छ, र तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा फरक बन्छ: “तैँले आफ्नो हैसियत गुमाइस्, र तँ अझै पनि मैले तँसँग राम्रो व्यवहार गरेको चाहन्छस्? सपनामा पनि नसोच्!” यदि हैसियत गुमाएको व्यक्तिले तिनीहरूलाई एक गिलास पानी खन्याइदिन भन्यो भने, तिनीहरूले उसलाई वास्ता गर्दैनन्। यदि उसले तिनीहरूलाई सहयोग गर्न भन्यो भने, तिनीहरूले उसलाई वास्ता गर्दैनन्। यदि उसले तिनीहरूसँग मनको कुरा गर्न चाह्यो भने, तिनीहरूले भन्छन्, “के तँ योग्य छस्? के तँसँग मसँग बोल्ने योग्यता छ? तँ आफूलाई को हुँ भन्ठान्छस्?” तिनीहरूको स्वभाव कति क्रूर हुन्छ! के हैसियत नहुनु अपराध हो? के कुनै व्यक्तिलाई उसको आधिकारिक पदबाट हटाइएपछि ऊ परिवर्तन हुन्छ र? के ऊ उही व्यक्ति रहँदैन र? किन ऊ अब त्यस्ता मानिसहरूसँग बोल्न अयोग्य हुन्छ? किन त्यस्ता मानिसहरूले उसलाई सहयोग गर्न सक्दैनन्? यदि कुनै जनावरलाई कठिनाइ परेर मानिसको सहयोग चाहियो भने पनि, विवेकको भावनाले, मानिसहरूले अझै पनि त्यसलाई सहयोग गर्नुपर्छ, नम्र रूपमा त्यसको हेरचाह गर्नुपर्छ, र त्यसको स्याहार गर्नुपर्छ—त्यसोभए मानिसका लागि त झन् कति धेरै गर्नुपर्छ? तैपनि तिनीहरूमा मानवीय दयाको यो सानो अंश पनि हुँदैन। यी प्रकटीकरणहरू बाहेक, कतिपय मानिसहरू अझै अघि बढ्छन्। तिनीहरूले मनमनै सोच्छन्, “पहिले, म तँलाई राम्रो व्यवहार गर्थेँ किनभने तँसँग हैसियत थियो। अब तैँले आफ्नो हैसियत गुमाएपछि, तँ अझै पनि म तँलाई आदर गरूँ र तँलाई आफ्नो इज्जत जोगाउन दिऊँ, कुराकानीको क्रममा तँलाई अप्ठ्यारो स्थितिमा पार्नबाट जोगिऊँ, र पहिलेको जस्तै तेरा आदेशहरू पालन गरूँ भन्ने अपेक्षा गर्छस्? त्यो त हुनै सक्दैन! मैले तँलाई नकुल्चेकोमा चाहिँ तँ कृतज्ञ हुनुपर्छ!” आखिर तिनीहरू कस्ता जन्तुहरू हुन्? जब कुनै व्यक्ति कठिनाइमा हुन्छ, तिनीहरूले उसलाई वास्ता नगर्ने मात्र होइन, तिनीहरूले उसको पिठ्युँ पछाडि उसलाई कुल्चन्छन्, र उसलाई धम्काउने र दमन गर्ने अवसरहरू खोज्छन्। तिनीहरू कस्ता मानिसहरू हुन्? (तिनीहरू दुष्ट मानिसहरू हुन्।) दुष्ट मानिसहरूका रूपमा तिनीहरूको साँचो अनुहार यसरी नै देखा पर्छ, होइन र? हैसियत भएका मानिसहरूप्रति, तिनीहरूले समर्पित अधीनस्थहरूले जस्तै व्यवहार गर्छन्, अत्यन्तै उचित व्यवहार गर्छन्, र तिनीहरूलाई मुस्कुराएर अभिवादन गर्छन्। तिनीहरू अरूको चापलुसी गर्दै सहमति जनाउनमा सिपालु हुन्छन्। यदि कुनै अधिकारीले चन्द्रमामा आलु फलाउन सकिन्छ भन्यो भने, तिनीहरूले हो मा हो मिलाउँदै भन्नेछन्, “चन्द्रमामा फलेको आलु त साँच्चै नै स्वादिष्ट हुन्छ!” तर जब त्यो अधिकारीले आफ्नो हैसियत गुमाउँछ, तब तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा परिवर्तन हुन्छ। अब त्यो पूर्व अधिकारीले जे भने पनि, त्यो सही नै भए पनि, तिनीहरूले सुन्नेछैनन्। यदि यो पूर्व अधिकारीसँग साँचो बुझाइ भए पनि, तिनीहरूले त्यसलाई वास्ता गर्दैनन् र स्वीकार गर्न मान्दैनन्, र तिनीहरूले उसलाई अप्रिय ठान्छन्। तिनीहरूले हृदयमा सोच्छन्, “तँसँग हैसियत छैन, त्यसैले तैँले भनेको कुनै पनि कुराको कुनै वजन हुँदैन। तैँले भनेको कुरा सही भए पनि, त्यसको के काम? तँसँग सत्यता वास्तविकता भए पनि, म तँलाई मन पराउँदिनँ। मलाई हैसियत नभएका मानिसहरूलाई कुल्चन मन पर्छ—यदि मैले तिनीहरूलाई कुल्चिनँ भने, त्यो अवसर खेर जान्छ!” तिनीहरू कस्ता जन्तुहरू हुन्? यदि तँसँग हैसियत छैन भने, तिनीहरूले तँलाई अप्रिय ठान्छन्। तैँले तिनीहरूसँग जतिसुकै राम्रो व्यवहार गरे पनि, त्यो व्यर्थ हुन्छ। तैँले तिनीहरूलाई आफूसँग समान स्तरमा राखेर सिद्धान्तअनुसार व्यवहार गरे पनि, त्यसले तँप्रतिको तिनीहरूको मनोवृत्तिलाई परिवर्तन गर्न सक्दैन। के त्यस्ता मानिसहरूसँग मानवता हुन्छ? (हुँदैन।) तिनीहरूको मानवताको कमीको प्रकटीकरण के हो? के यो क्रूरता होइन र? (हो।) शक्तिमा हुनेहरूको चापलुसी गर्न मन पराउने मानिसहरूको स्वभाव अत्यन्तै क्रूर हुन्छ, र मलाई त्यस्ता मानिसहरू निकै घिनलाग्दा लाग्छन्। त्यस्ता मानिसहरूको नजरमा, जब तँसँग हैसियत हुन्छ, तब तेरा त्रुटि र अवगुणहरू सबैलाई गुण र सबल पक्षको रूपमा हेरिन्छ। तर जब तँसँग हैसियत हुँदैन, तब तेरा सबल पक्ष र गुणहरू सबैलाई त्रुटि र कमीकमजोरीका रूपमा हेरिन्छ। तैँले भनेको कुनै पनि कुराको कुनै वजन हुँदैन, र तिनीहरूले तँबारे सबै कुरालाई अप्रिय ठान्छन्। तिनीहरू सधैँ तँलाई हेप्न, कुल्चन, र दमन गर्न चाहन्छन्। तिनीहरूको स्वभाव क्रूर हुन्छ, होइन र? (हो।) तिनीहरूले हैसियत नभएकाहरूलाई आफूले चाहे जसरी हेप्छन्। तिनीहरूलाई नम्र मानिसहरूलाई नधम्काउनु पाप हो जस्तो लाग्छ। तैँले तिनीहरूलाई नउक्साए पनि, तिनीहरूले सक्रिय रूपमा गल्ती खोज्नेछन्, तँलाई हेप्नेछन्, र तँलाई कुल्चनेछन्, र तँलाई अत्यन्तै तिरस्कारले हेर्नेछन्। मानौँ हैसियत नहुनु पाप हो, जसले तँलाई जिउन वा तिनीहरूको उपस्थितिमा रहन अयोग्य बनाउँछ; मानौँ यदि तँसँग हैसियत छैन भने तैँले आफैमाथि समस्या ल्याएको छस् र तँ दुर्भाग्यको लायक छस्। तिनीहरू कस्ता जन्तुहरू हुन्? के त्यस्ता मानिसहरूलाई मण्डलीमा रहन दिनु हुन्छ? (हुँदैन।) के विशेष गरी शक्तिमा हुनेहरूको चापलुसी गर्न मन पराउने मानिसहरूलाई अगुवाका रूपमा छनोट गर्न सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? तिनीहरूले हैसियत भएका मानिसहरूप्रति यसरी नै व्यवहार गर्छन्—यदि तिनीहरू आफैले हैसियत प्राप्त गरे भने, के तिनीहरू आफूलाई सर्वोच्च बनाउँदै अधिनायकवादी बन्नेथिएनन् र? त्यो विनाशकारी हुनेथियो! तिनीहरूले परमेश्वरको घरको कामका प्रबन्ध, मण्डलीको प्रशासनिक आदेश, र दाजुभाइ-दिदीबहिनीहरूको सुझावलाई बेवास्ता गर्नेथिए, र हैसियत नभएकाहरूले जे भने वा गरे पनि तिनीहरूलाई दमन समेत गर्नेथिए। मण्डली तिनीहरूद्वारा बर्बाद पारिनेथियो। यस्ता मानिसहरूसँग शक्तिको अत्यन्तै बलियो चाहना हुन्छ, र तिनीहरूले आफूले चाहेको कुरा पाएपछि, परिणामहरू अकल्पनीय हुन्छन्। शक्तिमा हुनेहरूको चापलुसी गर्ने मानिसहरू विशेष गरी क्रूर र असाध्यै नीच चरित्रका हुन्छन्। तिनीहरूको भ्रष्ट स्वभावका मुख्य विशेषताहरू के-के हुन्? (क्रूरता।) दुष्टता, क्रूरता, र सत्यताप्रतिको वितृष्णा। विशेष गरी दुष्ट कुरा के हो भने, तिनीहरूले एउटै व्यक्तिसँग व्यवहार गर्न पूर्ण रूपमा दुई फरक-फरक अनुहार प्रयोग गर्छन्, र तिनीहरू अत्यन्तै छिटो परिवर्तन हुन्छन्। के यो दुष्टता होइन र? (हो।) हैसियत नभएका मानिसहरूले तिनीहरूलाई नउक्साए पनि, तिनीहरूले आफै अग्रसर भएर उनीहरूलाई आक्रमण गर्नेछन्, हेप्नेछन्, र कुल्चनेछन्। के यो क्रूरता होइन र? (हो।) अर्को व्यक्तिसँग हैसियत भए पनि वा नभए पनि, तिनीहरूले सिद्धान्तअनुसार कार्य गर्न वा ऊसँग निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनन्। जब तैँले तिनीहरूलाई, “परमेश्वरको घरमा, सत्यताको शासन हुन्छ, र मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गरिन्छ” भनेर भन्छस्, तब के तिनीहरूले यो स्वीकार गर्छन्? (गर्दैनन्।) तिनीहरूले एक कानले सुनेर अर्को कानले उडाइदिन्छन्, र तिनीहरूले यस्तो सोच्छन्, “केको निष्पक्षता? मानिसहरू त उच्च वा नीच, कुलीन वा तुच्छ मात्रै हुन्छन्। हैसियत भएकाहरू कुलीन हुन्; हैसियत नभएकाहरू रद्दी हुन्!” मानिसहरूलाई हेर्ने र व्यवहार गर्ने तिनीहरूको तर्क र सिद्धान्त यही हो। तिनीहरूले सत्यता सिद्धान्तहरूलाई स्वीकार गर्दैनन् र अझै पनि आफ्नो विकृत तर्क बोल्छन्। के तिनीहरू सत्यताप्रति वितृष्ण हुँदैनन् र? (हुन्छन्।) तिनीहरू हैसियत र शक्तिलाई संसारसँग व्यवहार गर्ने आफ्नै तर्क र सिद्धान्तहरू, र संसारसँग व्यवहार गर्ने आफ्नै दृष्टिकोणहरू प्रयोग गरेर व्यवहार गर्छन्, र मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारेमा परमेश्वरको घरका माग र सिद्धान्तहरूको सट्टामा यी मामलाहरूलाई सम्हाल्न संसारसँग व्यवहार गर्ने आफ्नै सिद्धान्त र विधिहरू प्रयोग गर्छन्। के यो सत्यतालाई स्वीकार नगर्नु, खुलेआम सत्यताको विरोध गर्नु होइन र? तिनीहरूले हृदयमा सोच्छन्, “यदि तँसँग हैसियत छ भने, मेरो हृदयमा तँ नै मालिक होस्।” परमेश्वर र सत्यताका लागि तिनीहरूको हृदयमा कुनै स्थान हुँदैन। यो कस्तो स्वभाव हो? यति दबदबापूर्ण र यति मूर्खतापूर्वक हठी हुनु—के यो सत्यतालाई स्वीकार नगर्नु होइन र? के यो सत्यताप्रति वितृष्णा राख्नु होइन र? (हो।) यो ठ्याक्कै त्यस्तै स्वभाव हो। तिनीहरूको मानवताको हिसाबले मात्रै हेर्दा, त्यस्ता मानिसहरू नीच चरित्रका, पूर्ण रूपमा घिनलाग्दा, र सङ्गत गर्न लायक नभएका हुन्छन्। तर तिनीहरूको स्वभावको हिसाबले हेर्दा, यो तिनीहरू सङ्गत गर्न लायक छन् कि छैनन् भन्ने कुरा मात्रै होइन। यी मानिसहरूसँग क्रूर, दुष्ट स्वभावहरू हुन्छन्, र तिनीहरू मुक्तिको लागि लक्षित हुँदैनन्। तिनीहरू सबैलाई दण्ड दिइनेछ र तिनीहरू मर्नेछन्; तिनीहरूका कार्यहरू मृत्युदण्ड पाउने अपराध बराबर हुन्छन्। यी मानिसहरूले अन्धाधुन्ध शक्तिमा हुनेहरूको चापलुसी गर्छन् र चाटुकार कुकुरको जस्तो दासतापूर्ण व्यवहार देखाउँछन्, जुन घिनलाग्दो कुरा हो। मण्डली अगुवाहरूको पदमा, त्यस्ता मानिसहरू खतरा हुन्। यदि तिमीहरूले त्यस्ता मानिसहरूलाई मण्डली अगुवाका रूपमा छान्यौ भने, तिमीहरू विनाशमा पर्नेछौ। केही जिल्ला अगुवाहरू मूर्ख हुने हुनाले र तिनीहरूले मानिसहरूलाई छर्लङ्ग देख्न नसक्ने हुनाले, यस प्रकारको व्यक्तिलाई मण्डली अगुवाको उम्मेदवारका रूपमा समेत मनोनयन गर्छन्, जसको परिणामस्वरूप मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू धोकामा पर्छन्। यस प्रकारका मानिसहरू, जो अरूको खुसामद गर्न, र शक्तिमा हुनेहरूको चापलुसी गर्न सिपालु हुन्छन्, र जो बाहिरी रूपमा धेरै जोसिला देखिन्छन् र अगुवाहरूको हरेक वचन पालन गर्छन्, तिनीहरू सजिलै उम्मेदवारका रूपमा छानिन्छन्। किनभने केही अगुवा र कामदारहरूलाई आफ्नो खुसामद गर्ने, र चाकरी गर्नेहरू मन पर्छ, र यस प्रकारको पाखण्डी व्यक्ति अगुवा बनेपछि उसले मण्डलीमा कस्ता परिणामहरू ल्याउनेछ भन्ने कुरा तिनीहरूले छर्लङ्ग देख्न सक्दैनन्। प्रायजसो, त्यस्ता मानिसहरू छानिएपछि र तिनीहरूले हैसियत पाएपछि, तिनीहरूको दुर्भावपूर्ण पक्ष तुरुन्तै बाहिर आउँछ र तिनीहरूले मण्डलीमा बाधा दिन थाल्छन्। तिनीहरूलाई छान्ने अगुवाहरूले आफूले छानेका मानिसहरू दुष्ट मानिसहरू हुन् भन्ने देख्दा पछुताउँछन्, तर तिनीहरूले आफ्नो कार्यले मण्डलीमा ल्याएका परिणामहरूलाई सुधार्न सक्दैनन्। यो पूर्ण रूपमा अगुवा र कामदारहरूमा भ्रष्ट स्वभाव हुनु र सिद्धान्तविना कार्य गर्नुको परिणाम हो। हैसियत र शक्तिलाई श्रद्धा गर्नेहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन्। तिनीहरूले हैसियत हुने जोकोहीको चापलुसी गर्छन्, र जब तिनीहरूले अगुवा र कामदारहरूलाई देख्छन्, तब तिनीहरूले चापलुसीपूर्ण मुस्कान दिन्छन्। केही अगुवाहरूले यो प्रलोभन सहन सक्दैनन्; तिनीहरू मानिसहरूले चापलुसीपूर्ण मुस्कान दिएको देख्दा अत्यन्तै खुसी हुन्छन् र तिनीहरूले आफ्नै सक्षमताको देखावा गर्न तिनीहरूलाई बढुवा गर्न चाहन्छन्। वास्तवमा, जब ती मानिसहरूले तिनीहरूको चापलुसी गर्छन् र तिनीहरूलाई चापलुसीपूर्ण मुस्कान दिन्छन्, तब तिनीहरूसँग दुर्भावपूर्ण मनसाय हुन्छ, तर यी अगुवाहरूले ती मानिसहरू साँच्चै नै असल छन् भन्ने सोच्छन्। ती मानिसहरू अगुवा बनेपछि, तिनीहरू कसैको अधीनमा बस्दैनन्, र तिनीहरूले आफूलाई बढुवा गर्ने अगुवाहरूलाई नै बेवास्ता गर्छन्। तब मात्रै ती अगुवाहरूले यी मानिसहरू असल होइनन्, र तिनीहरूले गलत मानिसहरूलाई बढुवा गरेछन् भन्ने महसुस गर्छन्। यस्तो अवस्थामा, के गर्नुपर्छ? के यो अवस्थालाई सुधार्नु पर्दैन र? (पर्छ।) यसलाई कसरी सुधार्नुपर्छ? (तिनीहरूलाई तुरुन्तै खुलासा गरिनुपर्छ र त्यसपछि बर्खास्त गरिनुपर्छ।) यी मानिसहरूले वास्तविक काम गर्न सक्दैनन्; तिनीहरू केवल अन्योलमा परेका मानिसहरू हुन् जसलाई शक्तिमा हुनेहरूको चापलुसी गर्न र चाकरी गर्न मात्रै आउँछ। अगुवाहरूले तिनीहरूलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ, र त्यस समयमा तिनीहरू आँखा र हृदय दुवैमा अन्धा भएकोमा र तिनीहरूले मानिसहरूलाई खुट्ट्याउन नसकेकोमा, र गलत मानिसहरू छानेकोमा पछुताउनुपर्छ। अब, तुरुन्तै परिस्थिति सुधार्न अझै समय हुन्छ। के तिमीहरू अब शक्तिमा हुनेहरूको चापलुसी गर्ने त्यस्ता मानिसहरूलाई छर्लङ्ग देख्न सक्छौ? (सक्छौँ।) त्यस्ता मानिसहरू असल हुँदैनन्।
असाधारण स्मरणशक्ति हुनु
अब, हामी जन्मजात अवस्थाहरू समावेश भएका प्रकटीकरणहरूका बारेमा कुरा गरौँ। असाधारण स्मरणशक्ति हुनु—यो प्रकटीकरण कुन पक्षअन्तर्गत पर्छ? (जन्मजात अवस्थाहरू।) निकै राम्रो स्मरणशक्ति हुनु, कुराहरूलाई सही रूपमा याद गर्नु, लेखहरू, परमेश्वरका वचनहरूका खण्डहरू, भजनहरू, वा कामको प्रबन्धलाई निकै स्पष्ट र सही रूपमा याद गर्नु—यो कुन पक्षअन्तर्गत पर्नुपर्छ? (राम्रो क्षमता—एक जन्मजात अवस्था।) यो एक जन्मजात अवस्था हो। यो जन्मजात अवस्थाहरूको कुन विशिष्ट पक्षमा पर्छ भन्ने कुराको हकमा भन्दा, मलाई लाग्छ यो क्षमताअन्तर्गत पर्नु हुँदैन। यदि यो केवल राम्रो स्मरणशक्ति हुनु, कुराहरू याद गर्न सक्नु, धेरै कुरा याद गर्नु, सही रूपमा याद गर्नु, र कुराहरूलाई दृढतापूर्वक याद गर्नु मात्रै हो भने, यो बढीमा जन्मजात सामर्थ्य, प्रतिभा, र सक्षमताहरूको श्रेणीमा पर्छ। कसैको क्षमता राम्रो छ कि छैन भन्ने कुराको हकमा भन्दा, त्यो तिनीहरूको बोध सामर्थ्य कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ। यदि कसैको स्मरणशक्ति असाधारण रूपमा राम्रो छ, उसले गीतको एक खण्ड, ज्ञान र धर्मसिद्धान्तको एक अंश, वा कुनै व्यावसायिक सीपलाई निकै राम्रोसँग, निकै छिटो, र निकै दृढतापूर्वक याद गर्न सक्छ, तर उसले याद गर्ने कुराहरू केवल केही निर्देशात्मक र अटल कुराहरू हुन्, जसमा सत्यता सिद्धान्तहरू समावेश हुँदैनन् र जसलाई वास्तविक जीवन वा काममा लागू गर्न वा कार्यान्वयन गर्न सकिँदैन—यदि ऊसँग राम्रो स्मरणशक्ति मात्रै छ भने—यो उसको जन्मजात अवस्थाहरूभित्रको सबल पक्ष र सामर्थ्य मात्रै हो, यो कुरा उसको क्षमता समावेश हुने स्तरमा पुग्दैन। हामीले पहिले छलफल गरे अनुसार, क्षमता भनेको के हो? (कामकुराहरू गर्दाको दक्षता र प्रभावकारिता।) यदि तँसँग राम्रो स्मरणशक्ति र राम्रो क्षमता पनि छ भने, तँसँग कस्ता प्रकटीकरण र विशेषताहरू हुनुपर्छ? ती के हुन् भने, तैँले सुन्ने कुराहरूका हकमा, सही रूपमा याद गर्न सक्ने आधारमा, तैँले मुख्य बुँदाहरूलाई पनि बोध गर्न सक्छस्, सिद्धान्तहरू पत्ता लगाउन सक्छस्, अभ्यासको मार्ग र कार्यान्वयनको योजना पत्ता लगाउन सक्छस्, त्यसपछि वास्तविक जीवन र काममा यी कुराहरूलाई वास्तवमा नै लागू गर्न सक्छस्, र कुशलतापूर्वक र प्रभावकारी रूपमा कामहरू गर्न सक्छस्। यसको अर्थ तैँले याद गरेका परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू सैद्धान्तिक स्तरमा नरही तेरा कर्तव्य निर्वाहमा कार्यान्वयन हुन्छन् र तेरो सत्यता वास्तविकता बन्छन्, जसले मानिसहरूले देख्न सक्ने काममा परिणामहरू उत्पन्न गर्छन् र कामको दक्षतामा सुधार गर्छन्। यो राम्रो स्मरणशक्ति हुनु मात्र नभई राम्रो क्षमता हुनु पनि हो। राम्रो स्मरणशक्ति हुनु राम्रो क्षमता हुनु बराबर हो भन्नेचाहिँ होइन। बरु, बोध सामर्थ्य हुनु, तँमाथि कुराहरू आइपर्दा सत्यताको खोजी गर्न र सत्यता अभ्यास गर्ने सिद्धान्तहरू पत्ता लगाउन सक्नु, र विचलनविना कामलाई कार्यान्वयन गर्नु र त्यो काम सही, छिटो, र प्रभावकारी रूपमा गर्नु—यसलाई मात्रै राम्रो क्षमता हुनु भनिन्छ। राम्रो क्षमता भनेको केही धर्मसिद्धान्तहरू बुझ्नु र त्यसपछि तीमध्ये धेरै कुरा फलाक्न सक्नु होइन। बरु, यो त केही सत्यता सिद्धान्त बुझ्नु र बोध गर्नु, र त्यसपछि तेरो काम र कर्तव्यमा तिनलाई लचिलो रूपमा लागू गर्न सक्नु, तिनलाई तेरो वास्तविक जीवनको एक हिस्सा बनाउनु, र तिनलाई अवधारणाबाट वास्तविकतामा रूपान्तरण गर्नु हो, जसले सत्यता सिद्धान्तहरूलाई मानिसहरूमा प्रभाव पार्न र परिणामहरू हासिल गर्न दिन्छ, र मानिसहरूलाई लाभ र फाइदाहरू दिन्छ। क्षमता हुनु भनेको यही हो। यदि तँ शब्द र धर्मसिद्धान्तहरू बुझ्ने स्तरमा अड्किन्छस् र तैँले कामलाई कार्यान्वयन गर्न सक्दैनस्, र तैँले सिद्धान्त वा माध्यमहरू पत्ता लगाउन सक्दैनस्—अर्थात्, यदि सत्यता सिद्धान्तको यो पक्ष तेरा लागि सधैँ एक अवधारणा मात्रै रहन्छ, र तँसँग त्यसलाई वास्तविकतामा परिणत गर्ने कुनै उपाय, कुनै विधि, र कुनै मार्ग हुँदैन भने—यसलाई नै क्षमता नहुनु वा कमजोर क्षमता हुनु भनिन्छ। तेरो स्मरणशक्ति जतिसुकै राम्रो भए पनि, यदि यो साधारण मानिसहरूको भन्दा पनि बढी भएर लगभग एक असाधारण सामर्थ्यको बिन्दुमा पुगे पनि, त्यसको अर्थ तँसँग राम्रो क्षमता छ भन्ने हुँदैन। राम्रो क्षमताले केलाई जनाउँछ? क्षमतालाई कसरी मूल्याङ्कन गरिन्छ? (यो कुनै व्यक्तिले कामका सिद्धान्तहरू बुझ्न सक्छ कि सक्दैन र ती सिद्धान्तहरूलाई परिणामहरू हासिल गर्न ठीक तरिकाले कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने कुराद्वारा मूल्याङ्कन गरिन्छ।) यसलाई दक्षता र प्रभावकारिताद्वारा मूल्याङ्कन गरिन्छ, होइन र? (हो।) कतिपय मानिसहरूले कामका प्रबन्धहरू छिटो र सही रूपमा याद गर्न सक्छन्, र तिनीहरूले तिनलाई सैद्धान्तिक रूपमा पनि बुझ्न सक्छन्। तर, कार्यान्वयनको कुरा आउँदा, यदि कसैले तिनीहरूलाई, “यो काम कसरी गर्नुपर्छ? के तिमीसँग विचार, योजना, वा चरणहरू छन्?” भनेर सोध्यो भने, तिनीहरूले जवाफ दिन्छन्, “छैन, मलाई यो कसरी गर्ने भन्ने थाहा छैन।” यो क्षमता हुनु होइन। बढीमा, यो केवल एक क्षेत्रमा भएको सामर्थ्य हो। मलाई याद छ, जब हामीले पहिलो पटक यस विषयमा सङ्गति गरेका थियौँ, तब हामीले यो समस्याबारे छलफल गरेका थियौँ। तिमीहरूले बिर्सेका हुन सक्छौ, र यस पटक तिमीहरूले फेरि असाधारण स्मरणशक्तिलाई क्षमताअन्तर्गत वर्गीकरण गर्यौ। सधैँ कुनै व्यक्तिको सामर्थ्य र प्रतिभालाई गलत रूपमा बुझ्नु, र सधैँ कुनै निश्चित सामर्थ्य वा प्रतिभालाई राम्रो क्षमताअन्तर्गत वर्गीकरण गर्नु, एक गम्भीर गल्ती हो। यदि यो समस्या समाधान भयो र तिमीहरूले सबल पक्ष के हो, प्रतिभा वा सामर्थ्य के हो, र साँचो क्षमता के हो भन्ने कुरा बुझ्यौ भने, यो मानिसहरूलाई खुट्ट्याउनका लागि र तिमीहरूको आफ्नै जीवन वृद्धिका लागि लाभदायक हुनेछ। कम्तीमा, यसले तिमीहरूको अहङ्कारी स्वभावलाई अलिकति नियन्त्रण गर्न मद्दत गर्न सक्छ, ताकि तिमीहरूले उप्रान्त आफू गाउन वा नाच्न सक्ने भएकाले नै आफूसँग उत्कृष्ट क्षमता छ भनी गल्तीले विश्वास नगर। त्यसोभए के तिमीहरूले अझै पनि यस मामलालाई यसरी मूल्याङ्कन गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए, गाउन सक्ने मानिसहरूसँग राम्रो क्षमता हुनका लागि वास्तवमा के हुनुपर्छ? (तिनीहरूसँग बोध सामर्थ्य हुनुपर्छ, तिनीहरूले कुन तरिकाले गाउनु सिद्धान्तअनुरूप हुन्छ भनी जान्नुपर्छ, र पारखीपन पनि हुनुपर्छ।) पारखीपन धेरै महत्त्वपूर्ण छ। हेर् त, यी सबै मानिसहरूलाई केही सङ्गीत सिद्धान्त थाहा हुन्छ, तर तिनीहरूको गायनको प्रभाव फरक-फरक हुन्छ। कतिपय मानिसहरूले गाउने तरिका महसुस गर्न र खोज्न सक्छन्। तिनीहरूले विभिन्न गीतहरू, फरक-फरक धुनहरू, र विभिन्न मानिसहरूका फरक-फरक गायन शैलीहरू सुन्छन्, र कुन गायन तरिकाहरूले मन छुन्छन् र आनन्द दिन्छन् भनी सुन्छन्। तिनीहरूले यस प्रक्रियाबाट एक निश्चित अनुभूति पाउँछन् अनि त्यसपछि त्यो अनुभूतिको आधारमा अन्वेषण र तालिम जारी राख्छन्। केही समयपछि, तिनीहरूले आफ्नो गायनमा सुधार भएको महसुस गर्छन्, र अरू पनि त्यो सुन्न इच्छुक हुन्छन्। बिस्तारै, तिनीहरूले यसलाई सिद्धान्तहरूसँग तुलना गर्छन् र अभ्यासको यो मार्ग सही छ भनी पुष्टि गर्छन्। तिनीहरूले आफ्नो गाउने तरिका परिवर्तन गर्न र आफ्ना अघिल्ला गलत गायन विधिहरूलाई सुधार्न अभ्यासको मार्ग पत्ता लगाउन सक्षम हुन्छन्। त्यसपछि तिनीहरूले आफूले पत्ता लगाएका असल, सही, सकारात्मक तत्त्वहरूलाई आफ्नो गायनमा थप कार्यान्वयन र लागू गर्न सक्छन्। तिनीहरूले कुन गाउने तरिका सही छ र कुन तरिका गलत छ, र कुन गाउने तरिकाले राम्रो अनुभूति उत्पन्न गर्छ र कुन तरिकाले नराम्रो अनुभूति उत्पन्न गर्छ भनी बोध गर्न सक्छन्। यो राम्रो क्षमता हुनु हो। यदि तिनीहरूसँग केवल सैद्धान्तिक ज्ञान छ तर तिनीहरूले सिद्धान्तलाई आफ्नो वास्तविक गायनसँग जोड्न सक्दैनन्, र तिनीहरूको बुझाइ विकृत छ भने, तिनीहरूको क्षमता राम्रो हुँदैन। गाउने केही मानिसहरूलाई हेर—जब अरूले तिनीहरूले झुटो स्वर प्रयोग गरिरहेका छन् भनी औँल्याउँछन्, तब तिनीहरूले त्यसलाई स्वीकार गर्न सक्छन् र, एक वा दुई वर्षको तालिमपछि, त्यसलाई सच्याउँछन्। तिनीहरू अझै पनि गाउनमा धेरै निपुण नभए पनि, तिनीहरूले पहिले नै आफ्नो वास्तविक लय र स्वरमा गाइरहेका हुन्छन्। अर्कोतर्फ, कतिपय मानिसहरू झुटो स्वरमा गाउँछन्, र यो कुरा सुन्ने जोकोहीलाई पनि स्पष्ट हुन्छ, तर तिनीहरू अझै पनि आफूले आफ्नो साँचो स्वर, आफ्नो वास्तविक लय र स्वरमा गाइरहेको छु भनी सोच्छन्, र भिन्नता खुट्ट्याउन सक्दैनन्। यसले क्षमताको अभाव र पारखीपनको अभाव, कुराहरू बोध गर्न सक्ने असक्षमतालाई देखाउँछ। क्षमता र सामर्थ्यबीचको भिन्नता यही हो। यदि तँ गाउनमा प्रतिभाशाली छस् भने, त्यो तेरो सामर्थ्य हो; यो एक जन्मजात अवस्था हो। तर, तँ राम्रोसँग गाउन सक्छस् कि सक्दैनस् र यस क्षेत्र, यस पेसामा सार, सिद्धान्त, र आवश्यक कुराहरू बोध गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा क्षमतासँग सम्बन्धित हुन्छ। यदि तैँले सार, आवश्यक कुराहरू, र सिद्धान्तहरू बोध गर्न सक्छस् भने, तँ एक गायक, एक पोख्त गायक बन्न सक्छस्। यदि तँलाई गाउन मन पर्छ, तँ छिटो सिक्छस्, र धुन, ताल, र स्वरमा सही रूपमा निपुणता हासिल गर्छस् भने, यसलाई एक जन्मजात सामर्थ्य र यो विशेष व्यावसायिक सीपमा राम्रो हुनु मात्र भन्न सकिन्छ। तर, तेरो धेरै औसत र सीमित क्षमताका कारण, तँ सधैँ यसमा राम्रो हुनुमा मात्रै सीमित रहनेछस्। तँ आवश्यक कुराहरूमा निपुणता हासिल गर्ने स्तरमा पुग्न सक्नेछैनस् र तँ एक साँचो गायक र पोख्त गायक बन्न सक्नेछैनस्। यो तेरो क्षमताले लगाएको सीमा हो। राम्रो क्षमता भएका मानिसहरूसँग विकासको सम्भावना र ठाउँ हुन्छ, जबकि औसत वा कमजोर क्षमता भएकाहरूसँग विकासको कुनै सम्भावना वा ठाउँ हुँदैन। त्यसैले, तेरा सामर्थ्यहरू जुनसुकै क्षेत्रमा भए पनि, यदि तेरो क्षमता कमजोर छ भने, तँ अनिवार्य रूपमा तेरो क्षमताद्वारा सीमित हुनेछस्। तँ कुनै निश्चित क्षेत्रमा जतिसुकै प्रतिभाशाली भए पनि, तँलाई त्यो जतिसुकै मन परे पनि, वा तेरो रुचि जतिसुकै ठूलो भए पनि, तेरो कमजोर क्षमताका कारण तँसँग विकासको कुनै सम्भावना हुनेछैन, किनभने तैँले आफ्नो क्षमतालाई पार गर्न सक्दैनस्। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) अब मैले यो भनिसकेपछि, के तिमीहरूले गाउनमा आत्मविश्वास गुमाउनेछौ? म केवल क्षमता र सामर्थ्यबीचको भिन्नताबारे सङ्गति गर्न तिमीहरूको एउटा सामर्थ्यलाई उदाहरणका रूपमा प्रयोग गर्दै यो मामलाका बारेमा बोलिरहेको छु। तर, परमेश्वरको घरले तिमीहरू साँचो पोख्त गायक बन्नुपर्ने, तिमीहरूले एक निश्चित उच्च स्तरको परिशुद्धताका साथ गाउनुपर्ने, एक विशेष गायन शैली विकास गर्नुपर्ने, वा गायनमा ठूलो सफलता हासिल गर्नुपर्ने माग गर्दैन। यी कुराहरू आवश्यक छैनन्। केवल आफ्नो विद्यमान क्षमता र सामर्थ्यको राम्रो उपयोग गर—त्यति भए पुग्छ। यदि साँचो भावना र इमानदारीको अभिव्यक्ति हुन्छ भने, त्यो नै पर्याप्त हुन्छ। अब, मैले तिमीहरूमध्ये कतिपयको क्षमता कमजोर छ वा विकासका लागि थोरै ठाउँ भएको धेरै औसत क्षमता छ भनेर भनेका कारण निराश नहोओ वा हरेस नखाओ। त्यो अनावश्यक छ। के तिमीहरू निराश हुनेछौ? (अहँ।) तिमीहरूले यस मामलालाई सही रूपमा लिनैपर्छ। यदि मैले तिमीहरूका परिस्थितिहरूलाई उदाहरणका रूपमा प्रयोग नगरेको भए, तिमीहरूले यो बुझ्न सक्ने थिएनौ होला, तिमीहरूसँग पूर्ण बुझाइ हुने थिएन होला, र मैले जे भने पनि तिमीहरूले त्यसलाई हृदयमा लिने थिएनौ। तिमीहरूलाई राम्ररी बुझ्न मद्दत गर्न, मैले केही उदाहरणहरू दिनुपर्यो ताकि सबैले अझ राम्रोसँग बुझ्न सकून्। यसरी, क्षमता र सामर्थ्यबीचको भिन्नताबारे तिमीहरूको बुझाइ पनि अझ सही हुनेछ। के तिमीहरूलाई यसरी सङ्गति गरेकोमा आपत्ति छ? (अहँ, हामीलाई आपत्ति छैन।) तिमीहरूलाई आपत्ति छैन भने राम्रो भयो। यसलाई सही रूपमा लेओ। तिमीहरूले जसरी अभ्यास गर्नुपर्छ त्यसरी नै गर। यसमा आफ्नो हृदय लगाउनु, र राम्रो लक्ष्य र दिशातिर अभ्यास गर्नु त प्रगति नगर्नु वा आफ्नो पुरानो तरिकामा अड्किनुभन्दा सधैँ राम्रो हुनेछ। तेरो क्षमता सीमित वा कमजोर भए पनि, तैँले अझै पनि अभ्यास गर्नमा प्रयास लगाउनुपर्छ र तेरो सीमित क्षमताको दायराभित्र आफूले सक्दो हासिल गर्न कोसिस गर्नुपर्छ। हामीले हाम्रो सारा हृदय र सारा प्रयास अर्पित गर्नैपर्छ, यो कर्तव्य र यो कामलाई जिम्मेवारी र बफादारीको मनोवृत्तिका साथ गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने अभ्यासको सिद्धान्त यही हो। तेरो सामर्थ्यमा विकासको सम्भावना छैन र भविष्यमा तँ चर्चामा आउन सक्नेछैनस् भन्दैमा तँ नकारात्मक बन्नु वा तैँले हरेस खानु हुँदैन। त्यो स्वीकार्य छैन, र यो स्पष्ट रूपमा यस मामलालाई लिँदा तैँले पछ्याउनुपर्ने सत्यता सिद्धान्त होइन। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।)
यी तीनवटै क्षेत्रहरू—जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूभित्र—धेरै निश्चित विवरणहरू छन् जसलाई बुझ्न आवश्यक छ। के हामीले यी मामलाहरूमा सङ्गति गर्नु आवश्यक छ? (छ।) धेरै पक्षहरूका हकमा, मानिसहरूसँग केवल सतही बुझाइ हुन्छ र तिनीहरूले तिनलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। तिनीहरूसँग केही सामर्थ्यहरू हुन सक्छन् र त्यसपछि तिनीहरू आफू कुलीन चरित्रको हुँ भन्ने सोच्छन्, र आफूलाई असल मानवता र उच्च क्षमता भएको, सम्माननीय र भ्रष्ट स्वभावहरूबाट मुक्त भएको व्यक्ति ठान्छन्। यो सबै मानिसहरूको यी विभिन्न समस्याहरूलाई स्पष्ट रूपमा खुट्ट्याउन नसक्ने असक्षमताबाट उत्पन्न हुन्छ। यस्ता किसिमका समस्याहरूमा विवरणहरू जति समावेश हुन्छन्, त्यति नै सङ्गति गर्नुपर्ने कुराहरू हुन्छन्; यसलाई केवल एक वा दुई सत्रमा समेट्न सकिँदैन, यसका लागि धेरै सङ्गतिहरू आवश्यक पर्छ। ल ठीक छ, आजका लागि हामी सङ्गति यहीं रोक्नेछौँ। छुटौँ है त!
अक्टोबर १४, २०२३