सत्यता कसरी पछ्याउने (५) भाग चार
कामहरू गर्दा होसियार र गम्भीर हुनु
लापरवाही मानवताको एउटा अवगुण हो। त्यसोभए, कामहरू गर्दा होसियार र गम्भीर हुनु, साथै मुख्य, महत्त्वपूर्ण बुँदाहरूलाई बोध गर्न सक्नु, समस्याहरू कहाँ छन् भनी पहिचान गर्न सक्नु र समस्याहरूको सारलाई छर्लङ्ग देख्न सक्नु—के यो मानवताको गुण हो? (हो।) होसियार मानिसहरूको काम गर्ने मनोवृत्ति उचित नै हुन्छ; तिनीहरू काम गर्दा एकदमै होसियार र इमानदार हुन्छन्, तिनीहरूले आफूलाई शान्त पार्न सक्छन् र हतार गर्दैनन्—यो मानवताको गुण हो। मानवताको यो गुण भएको व्यक्तिले पूर्णकालीन काम गर्न सक्ने भए तापनि, यदि ऊ कामकुरा गर्नमा धेरै सुस्त छ र कामसम्बन्धी उसको दक्षता उच्च छैन भने, परिणामहरू त्यति राम्रा हुनेछैनन्। यसमा के समावेश हुन्छ? यसमा क्षमता समावेश हुन्छ, जुन जन्मजात अवस्थाहरूमध्येको एक हो। के तँलाई होसियार हुने जोकोहीले पनि राम्रो काम गर्न सक्छ भन्ने लाग्छ? यो दृष्टिकोण गलत छ। कतिपय मानिसहरू काम गर्दा यति धेरै होसियार हुन्छन् कि तिनीहरू अलिक सनकी बन्छन्। उदाहरणका लागि, तरकारी धुँदा, तिनीहरूले पातको अगाडिको भाग धुन्छन्, त्यसपछि पछाडिको भाग धुन्छन्, हरेक पहेँलो पात हटाउँछन्, र किराले खाएको हरेक प्वाल काटेर फाल्छन्, र तरकारी पूर्ण रूपमा सफा धोइएको छ भनी सुनिश्चित गर्छन्। कामकुरा गर्दा धेरै होसियार हुनु मानवताको गुण हो, तर यदि कुनै व्यक्ति सिद्धान्तनिष्ठ नहुने हदसम्म र अत्यधिक तुच्छ कुराहरू गर्ने हदसम्म होसियार हुन्छ भने, त्यो अनावश्यक र अदक्ष बन्छ। यसले कमजोर क्षमता हुनु, कामहरू पूरा गर्न नसक्नु, र काम वहन गर्न असक्षम हुनुलाई सङ्केत गर्छ। काम गर्दा होसियार हुने कतिपय मानिसहरूले सिद्धान्तहरू बोध गर्छन्, मुख्य, महत्त्वपूर्ण बुँदाहरू बोध गर्छन्, छिटो र फुर्तिलो ढङ्गले काम गर्छन्, तुरुन्तै निर्णय गर्छन्, र समस्याहरूलाई तुरुन्तै समाधान गर्न सक्छन्—यो राम्रो क्षमता हुनु हो। काम गर्दा होसियार हुनु भनेको काममा दक्ष हुनु होइन, न त यो काममा राम्रा परिणामहरू हासिल गर्नु बराबर नै हो। यसको अर्थ धैर्यतापूर्वक ध्यान केन्द्रित गर्न सक्नु, शान्त हुनु, हतार नगर्नु, र आडम्बरी नहुनु, र बेपरवाह नहुनु मात्रै हो। बढीमा, यो मानवताको गुण मात्रै हो, र यो राम्रो क्षमताको स्तरसम्म पुग्दैन। कतिपय मानिसहरू कामकुरा गर्दा एकदमै होसियार हुन्छन्, र तिनीहरू एकदमै गम्भीर, न हतार गर्ने न त आत्तिने, र एकदमै शान्त देखिन्छन्। तर, तिनीहरू मामलाहरूलाई सम्हाल्नमा अदक्ष हुन्छन्, र महत्त्व र अत्यावश्यकताका आधारमा कुराहरूलाई प्राथमिकता दिन सक्दैनन्। तिनीहरू कुनै महत्त्वहीन काममा अल्झन्छन् र अनन्तसम्म त्यसमा काम गर्छन्, जसले गर्दा अरूलाई चिन्ता र दिक्क लाग्छ, र तिनीहरूलाई जोडले लात्ती हान्न मन लाग्छ। तिनीहरू एकदमै ढिलो काम गर्छन्, र तिनीहरूमा अलिकति पनि दक्षता हुँदैन—तिनीहरू केवल केही न कामका हुन्! सामान्य रूपमा बाँच्ने सक्षमता भएको व्यक्तिले तिनीहरूभन्दा दश वा बीस गुणा छिटो काम गर्छ। तिनीहरू एकदमै ढिलो काम गर्छन्, र तिनीहरूले जति धेरै काम गरे पनि, तिनीहरूले कुनै विधि भेट्टाउन सक्दैनन्, सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, तिनीहरूसँग कुनै सीप हुँदैन, र तिनीहरूमा दक्षताको कमी हुन्छ। एक घण्टा लाग्ने काममा तिनीहरूले पूरै एक दिन लगाउन सक्छन्, एक दिन लाग्ने काममा तिनीहरूले पाँच दिन लगाउन सक्छन्, र पाँच दिन लाग्ने काममा तिनीहरूले दश दिन लगाउन सक्छन्, जसले गर्दा तिनीहरूलाई हेर्दा तँलाई रिस र झिजो दुवै लाग्छ। कतिपय महिलाहरू मामलाहरूलाई सम्हाल्नमा सुस्त हुन्छन्। आफू छिट्टै केही कामका लागि बाहिर जानुपर्छ भन्ने राम्ररी थाहा भए पनि, तिनीहरू आफ्नो कपाल धुन जिद्दी गर्छन्। कपाल धुँदा, तिनीहरूले कुनै विधि भेट्टाउन सक्दैनन्। आफ्नो सबै कपाल एकैचोटि धुनुको सट्टा, तिनीहरू त्यसलाई एक-एक त्यान्द्रो गरेर धुन्छन्, र आधा घण्टापछि पनि तिनीहरूले धोएर सिध्याएका हुँदैनन्। के तिनीहरू पागल होइनन् र? कपाल धोएको कारणले, तिनीहरूले गर्नुपर्ने कामहरूमा ढिलाइ गर्छन्। मामलाहरू जति जरुरी हुन्छन्, तिनीहरूलाई त्यति नै कम अत्यावश्यकता महसुस हुन्छ, र तिनीहरू ती महत्त्वहीन मामलाहरूलाई सम्हाल्नमा समेत ध्यान केन्द्रित गर्छन्, र चिन्तित वा तनावग्रस्त महसुस नगरी महत्त्वपूर्ण कुराहरूमा ढिलाइ गर्छन्। यदि तैँले तिनीहरूलाई कर गरिस् भने, तिनीहरूसँग बहानाहरूको थुप्रो नै हुन्छ: “मैले गर्नुपर्ने यी कामहरूलाई नगरीकन कसरी छोड्न सक्छु र?” जब तैँले यस्ता मानिसहरूलाई देख्छस्, तब तैँले मनमा के सोच्छस्? तँलाई तिनीहरूलाई जोडले लात्ती हान्न मन लाग्छ। के यस्ता मानिसहरू लात्ती खान लायक हुँदैनन् र? (हुन्छन्।) यस्ता मानिसहरूका हकमा, यदि गर्नुपर्ने काम छ भने पनि, तिनीहरूलाई त्यो काम गराउनु आवश्यक हुँदैन। तिनीहरू एकदमै सुस्त गतिमा काम गर्छन् र एकदमै अयोग्य हुन्छन्! जब तिमीहरूले यसरी शङ्खेकिराको गतिमा काम गर्ने मानिसहरूलाई देख्छौ, तब के तिमीहरूलाई चिन्ता लाग्छ? (लाग्छ।) तिनीहरू भन्छन्, “म आफ्नो काममा होसियार छु!” म भन्छु, “तेरो होसियारीको के काम? अरू पनि तँभन्दा कम होसियार त छैनन्, तर तिनीहरूले तैँले भन्दा धेरै काम गर्छन् र अझै राम्ररी गर्छन्। के तेरो होसियारीले परिणामहरू हासिल गर्न सक्छ? मुख्य कुरा यही हो। यदि तँ कामकुरा गर्दा होसियार हुन्छस् र तैँले दक्षता र राम्रा परिणामहरू पनि हासिल गर्छस् भने, त्यो होसियारीको मूल्य हुन्छ। तर यदि तँ कामकुरा गर्दा होसियार मात्रै हुन्छस् र अन्तमा न परिणाम हासिल गर्छस् न त दक्षता नै भने, के त्यो उपयोगी हुन्छ? त्यो बेकम्मा हुन्छ!” कतिपय मानिसहरू लुगा सिलाउनमा अत्यन्तै होसियार हुन्छन्, तर तिनीहरूले कहिल्यै सही नाप लिन सक्दैनन्। तिनीहरूले लुगा लगाउने व्यक्तिलाई त्यो सुहाउँछ कि सुहाउँदैन भनेर सही रूपमा लेखाजोखा गर्न सक्दैनन्, बाहुला धेरै लामो छ कि धेरै छोटो छ, वा लुगा धेरै कसिलो छ कि धेरै खुकुलो छ भनेर तिनीहरूले भन्न सक्दैनन्, तिनीहरूलाई बाहुलाको मानक चौडाइ थाहा हुँदैन, र कलर उपयुक्त छ कि छैन भनेर तिनीहरूलाई थाहा हुँदैन। यस्ता मानिसहरूले सिलाएका लुगाहरू निश्चय नै मानकअनुरूप हुनेछैनन्। यदि कोही होसियार र सिद्धान्तनिष्ठ दुवै छ भने, यो साँच्चै नै मानवताको गुण हो। तर यदि कोही होसियार मात्रै छ र ऊसँग कुनै सिद्धान्त छैन, उसले मुख्य बुँदाहरू बोध गर्न सक्दैन, र सधैँ सानातिना मामलाहरूमा बबाल मच्चाउँछ र निरर्थक रूपमा तिनमा चिन्तन गर्छ भने, यो दिक्कलाग्दो कुरा हो। “होसियार” भन्ने शब्दलाई धेरैजसो मानिसहरूले सामान्यतया सकारात्मक शब्द मान्छन्, तर होसियारीका सबै उदाहरणहरू गुण हुँदैनन्। यो परिस्थितिमा भर पर्छ। कतिपय मानिसहरू कुनै सिद्धान्तविना अन्धाधुन्ध रूपमा होसियार हुन्छन्। यो होसियारी नभई सनकी हुनु र मुख्य बुँदाहरू बोध गर्न नसक्नु हो; यसले कमजोर क्षमतालाई सङ्केत गर्छ, र यो कामकुरा गर्ने सीप भेट्टाउन नसक्नु र सिद्धान्तहरू बोध गर्न नसक्नु हो। त्यसकारण, मेरो दृष्टिकोणमा, होसियारी एउटा प्रकटीकरण वा काम गर्ने तरिकाका रूपमा मानवताको गुण भए पनि, तैँले व्यक्तिको क्षमतालाई पनि हेर्नुपर्छ। यदि क्षमतालाई ध्यानमा राखिएन भने, काम गर्दा होसियार मनोवृत्ति हुनु पनि राम्रो नै हो। यदि कसैसँग क्षमता र कामकुरामा दक्षता दुवै छ, र उसले सिद्धान्तहरूको पालना गर्न सक्छ, र त्यसमाथि ऊ होसियार पनि छ भने, यो होसियारी साँच्चै नै सुनमा सुगन्ध हो र साँचो रूपमा मानवताको गुण हो।
देखाउन मन पराउनु
अर्को प्रकटीकरणबारे कुरा गरौँ: देखाउन मन पराउनु। यो कुन किसिमको समस्याअन्तर्गत पर्छ? (भ्रष्ट स्वभाव।) उदाहरणका लागि, कतिपय मानिसहरू एकदमै छिटो टाइप गर्छन्। आफूसँग यो सामर्थ्य छ भनी अरूलाई थाहा दिनका लागि, तिनीहरूले जानाजानी किबोर्डलाई एकदमै ठूलो आवाजमा थिच्छन्, मानौँ तिनीहरू यसो भन्न खोज्दैछन्, “मेरो टाइपिङको लय मात्रै सुन त, अनि तिमीले म कति छिटो टाइप गर्छु भन्ने थाहा पाउनेछौ!” कतिपय मानिसहरू विश्वविद्यालयका स्नातकहरू हुन्छन्, त्यसकारण तिनीहरूलाई यस्ता कुराहरू भन्ने बानी हुन्छ, “हामी विश्वविद्यालयमा हुँदा,” “हाम्रा विश्वविद्यालयका प्राध्यापकहरू,” “हाम्रो विश्वविद्यालयको परिसर,” र यस्तै अन्य कुराहरू। यो कस्तो किसिमको प्रकटीकरण हो? (देखावटीपन।) यसलाई देखावटीपन भनिन्छ। कतिपय मानिसहरूले नयाँ गाडी किन्छन् र त्यो उच्च-स्तरीय प्रख्यात ब्रान्डको हो भनी अरूलाई थाहा हुँदैन कि भनेर डराउँछन्। गाडीबाट ओर्लिएपछि, तिनीहरू त्यहाँबाट जाँदैनन् बरु एक क्षणमा झ्यालमा औँलाको छाप छ कि भनेर हेर्छन्, र अर्को क्षणमा गाडीको रङमा कोतरिएको छ कि भनेर जाँच्छन्। तिनीहरू किन गाडीको वरिपरि घुमिरहन्छन्? तिनीहरू त्यो गाडी तिनीहरूको हो भनी अरूलाई थाहा दिनका लागि मात्रै यस्तो गर्छन्। यो कस्तो किसिमको प्रकटीकरण हो? (देखावटीपन।) कतिपय मानिसहरूसँग उच्च-स्तरीय फोन हुन्छ। अरूले त्यो देखून् भनेर, फोनमा चार्ज नहुँदा पनि, तिनीहरू फोनमा कुरा गरेजस्तो गर्छन्। यसलाई के भनिन्छ? (देखावटीपन।) तिनीहरू किन देखावटी गर्छन्? के यहाँ आडम्बरले काम गरिरहेको हुँदैन र? कतिपय मानिसहरूले मल्स्याप्रोको रौँको कोट लगाउँछन्, र एकदमै न्यानो कोठाभित्र पसेपछि पनि, तिनीहरूले त्यो फुकाल्दैनन्। जब कसैले तिनीहरूलाई “के तिमीलाई गर्मी भएको छैन?” भनेर सोध्छ, तब तिनीहरूले जवाफ दिन्छन्, “छैन। मैले मल्स्याप्रोको रौँको कोट लगाएको छु—यो एकदमै न्यानो हुन्छ!” तिनीहरूले अरूलाई यसबारे केही पनि थाहा छैन भनी मानिलिन्छन्! त्यो फुकाल्दा, तिनीहरूले त्यसको लेबल देखाउनै पर्छ, र मानिसहरूलाई यसो भन्दै देखाउँदै हिँड्छन्: “यो कोट मल्स्याप्रोको रौँको मात्रै होइन, यो त यस्तो-यस्तो, एउटा उच्च-स्तरीय डिजाइनर ब्रान्डको पनि हो। तिमीलाई त यो थाहा पनि छैन!” यदि अरूलाई थाहा छैन भने, तैँले किन देखावा गरिरहेको छस् त? के त्यो व्यर्थमा देखाउनु होइन र? कतिपय मानिस आफूलाई त मसामु प्रदर्शनसमेत गर्छन्, र भन्छन्, “तपाईँले हाँसको भुवाको ज्याकेट लगाउनुभएको छ? तपाईँले मल्स्याप्रोको रौँको कोट लगाउनुपर्छ—त्यो एकदमै न्यानो हुन्छ!” म भन्छु, “त्यो न्यानो त हुन्छ, तर त्यो कोट एकदमै गह्रौँ हुन्छ!” तिनीहरू मल्स्याप्रोको रौँको कोट लगाउँछन् र आफूलाई मेरो अगाडि प्रदर्शनसमेत गर्छन्। मलाई भन, के यसरी देखाउन मन पराउने मानिसहरू सतही हुँदैनन् र? तिनीहरूको मानवताको हिसाबमा, तिनीहरूमा दुईवटा समस्या हुन्छन्। एउटा त तिनीहरू निकै देखावटी हुन्छन्। जब तिनीहरूले खाने खाना, तिनीहरूले लगाउने लुगा, र तिनीहरूले प्रयोग गर्ने वस्तुहरू जस्ता बाहिरी सम्पत्ति र भौतिक वस्तुहरूको कुरा आउँछ, तब तिनीहरूले ती सबैको देखावा गर्न चाहन्छन्। तिनीहरूले देखावा गर्ने चाहनालाई दबाउन सक्दैनन् र सधैँ यी कुराहरू अरूलाई देखाउन चाहन्छन्, र तिनीहरूले लगाउने लुगा र प्रयोग गर्ने कुराहरू सबै उच्च-स्तरीय र असाधारण छन् भनी अरूलाई थाहा दिन चाहन्छन्। अरूलाई थाहा भएर के हुन्छ र? अरूले त्यो देखेर तिनीहरूबारे उच्च सोच नराखे पनि, तिनीहरूले त्यसलाई देखाइरहन्छन्। के यो सतही कुरा होइन र? (हो।) तिनीहरू सतही र केटाकेटी स्वभावका हुन्छन्—देखावा गर्न मन पराउने मानिसहरूको अर्को समस्या यही हो। मलाई भन, त्यसरी देखावा गरेर तिनीहरूले के पाउन सक्छन्? के यो केवल आफ्नो उपस्थिति महसुस गराउनका लागि हो? के यो जरुरी छ? के यो अनावश्यक छैन र? (छ।) सन् १९८० र १९९० को दशकमा, यदि कसैको छालाको जुत्ताको सोल एकनासले खिइएन भने, तिनीहरूले त्यसमा फलामको पाता ठोक्थे, जसले गर्दा हिँड्दा ठूलो आवाज आउँथ्यो। कतिपय मानिसहरूले त आफूसँग एक जोर छालाको जुत्ता छ भनी अरूलाई थाहा दिनका लागि मात्रै, लगाउनुभन्दा पहिले नै नयाँ छालाको जुत्तामा फलामको पाता ठोक्थे। यसले तिनीहरूलाई आत्मविश्वास दिन्थ्यो र आनन्दको अनुभूति गराउँथ्यो। तिनीहरूले यस्तो विश्वास गर्थे, “अरूको ध्यान पाउनु राम्रो कुरा हो। यसले मसँग आकर्षण छ र मेरो अस्तित्व प्रमाणित भएको छ भन्ने कुरा प्रमाणित गर्छ। त्यसकारण, मैले मेरा खुबीहरू, बलिया पक्षहरू, र मसँग भएका राम्रा कुराहरू सबैसँग बाँड्नुपर्छ।” के यो साँच्चै बाँड्नु हो? यसलाई धाक लगाउनु भनिन्छ। के यो संसारमा धाक लगाउन मन पराउने धेरै मानिसहरू छैनन् र? (छन्।) मानिसहरू सबैले यो एकदमै सामान्य कुरा हो भनी सोच्छन्, होइन र? त्यस्ता मानिसहरूलाई कसैले पनि तिरस्कार गर्दैन, न त कसैले तिनीहरूलाई अनौठो नजरले नै हेर्छ, किनभने संसार सबै किसिमका भौतिक र मौद्रिक सुखसयल, र हैसियतको सुखसयलमा लिप्त हुने मानिसहरूले भरिएको छ। त्यसकारण, यो संसारले यी कुराहरूलाई महिमा दिन्छ। परमेश्वरको घरमा, यस्ता मानिसहरूले अरूलाई घिन र हेय महसुस गराउँछन्। किन? परमेश्वरमा विश्वास गर्नेहरूले जग बसाल्ने सुरुवातदेखि लिएर बिस्तारै सत्यता र मानिस हुनुको मूल्य र अर्थ बुझ्दै जाँदा, भौतिक सुखसयल र संसारका केही सतही कुराहरूको कम वास्ता गर्न थाल्छन्। बाहिरी सम्पत्तिहरू पछ्याउने तिनीहरूको भित्री जोस घट्छ, तिनीहरूको पछ्याइका लक्ष्य र दिशाहरू परिवर्तन हुन्छन्, र तिनीहरूको भित्री संसारका आवश्यकताहरू फरक हुन्छन्। तिनीहरूले भौतिक आवश्यकताहरूप्रति फरक दृष्टिकोण विकास गर्छन्, र त्यस्ता कुराहरू सबै रित्ता छन् र तिनले तिनीहरूको हृदयका आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन् भन्ने महसुस गर्छन्। त्यसकारण, सबै किसिमका कुराहरूको देखावा गर्ने र धाक लगाउने तिनीहरूको प्रवृत्ति कम हुन्छ। परमेश्वरका विश्वासीहरूले बढीमा के-कस्ता कुराहरूको देखावा गर्न वा धाक लगाउन सक्छन्? तिनीहरूले आफ्ना सीप वा सामर्थ्यहरू जस्ता कुराहरूको धाक लगाउन सक्छन्। उदाहरणका लागि, गाउन मन पराउने कतिपय मानिसहरू सधैँ अरूले आफ्नो आवाज सुनून् भन्ने चाहन्छन्। तिनीहरूले यसो भन्छन्, “मेरो आवाज कति राम्रो छ, सुन त!” तिनीहरूलाई अरूले आफू राम्रो गाउँछु भन्ने थाहा पाउँदैनन् कि भन्ने डर हुन्छ, र तिनीहरू यस कुरामा निरन्तर आफ्नो देखावा गर्न चाहन्छन्। सारांशमा, देखावा गर्न मन पराउनु मानवताको अवगुण हो। यो मानवतामा भएको अपरिपक्वता, केटाकेटीपन, र सतहीपनको प्रकटीकरण हो। जब मानिसहरूले केही शब्द र धर्मसिद्धान्तहरू मात्रै बुझ्छन् र तिनीहरूले साँचो रूपमा सत्यता प्राप्त गरेका वा सत्यता वास्तविकतामा प्रवेश गरेका हुँदैनन्, तब तिनीहरूले देखावा गर्न मन पराउने त्रुटि प्रदर्शन गर्ने सम्भावना धेरै हुन्छ, र मानवताको यो अवगुणलाई जित्न सजिलो हुँदैन। किनभने, मानिसहरूले सत्यता प्राप्त गर्नुभन्दा पहिले, तिनीहरूले देखावा गर्न र धाक लगाउन सक्ने कुराहरू नै जिउनका लागि तिनीहरूको पूँजी र आत्म-आश्वासन हुन्। तेरो आत्मआचरणमा तँसँग आत्मविश्वास हुन्छ र काम गर्नमा उत्प्रेरणा हुन्छ, यो सबको कारण के हो भने, तँ रूप, आभा, सामर्थ्य, शिक्षाको स्तर, योग्यता, वा पेसागत सीपहरू जस्ता कुराहरूमा भर परेर जिउँछस्। त्यसकारण, धेरैजसो मानिसहरूले, फरक-फरक हदसम्म, देखावा गर्न मन पराउने त्रुटि प्रदर्शन गर्छन्, र यसलाई जित्न सजिलो हुँदैन, यसको विरुद्ध विद्रोह गर्न सजिलो हुँदैन। जब मानिसहरूले सत्यता बुझ्छन् र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्छन्, तिनीहरूसँग निश्चित कद हुन्छ, र तिनीहरूले सत्यतासँग असम्बन्धित कुराहरूको कम वास्ता गर्छन्, तब तिनीहरू के बुझ्न पुग्छन् भने, देखावा गर्नु वा धाक लगाउनु आवश्यक छैन, र यी कुराहरूले व्यक्तिमा मानवता छ भन्ने कुराको प्रतिनिधित्व गर्दैनन्, न त व्यक्तिसँग कद छ भन्ने कुराको नै प्रतिनिधित्व गर्छन्; र अवश्य नै, त्योभन्दा बढी, त्यसले व्यक्तिले मुक्ति पाएको छ वा ऊ सत्यता र परमेश्वरमा समर्पित हुन सक्छ भन्ने कुरालाई प्रतिनिधित्व गर्दैनन्। त्यसकारण, पहिले देखावा गर्न मन पराउने कतिपय मानिसहरूले सत्यता बुझ्दै र सत्यता वास्तविकतामा प्रवेश गर्दै जाँदा, तिनीहरूको यो चाहना बिस्तारै फिका हुँदै जान्छ, र मानवताको यो अवगुणलाई अनजानमै जितिन्छ र यो हराएर जान्छ। उदाहरणका लागि, अलिकति महँगो टिसर्ट लगाएको कुनै व्यक्तिलाई लिऔँ। जब त्यो गल्तीले अलिकति फोहोर हुन्छ, तब ऊ एकदमै चिन्तित हुन्छ। अर्को व्यक्तिले उसलाई भन्छ, “तिमी किन यति धेरै चिन्तित भएको? तिमीले त्यसलाई धोयौ भने सफा हुँदैन र?” उसले जवाफ दिन्छ, “के तिमीलाई यो सर्ट २०० युआनमा किनेको हो भन्ने कुरा थाहा छ?” उसले अरूलाई थाहा दिनका लागि त्यसको मूल्य उल्लेख गर्नमा जोड दिन्छ; त्यसपछि मात्रै उसलाई सन्तुष्टि महसुस हुन्छ। यदि त्यो व्यक्तिले सत्यता बुझ्छ भने, उसले फेरि त्यस्ता मामलाहरूको सामना गर्दा तिनलाई सही रूपमा लिन सक्छ। उसले मूल्य उल्लेख गर्नेछैन, र यस बिन्दुमा, उसको अभिमान केही हदसम्म नियन्त्रित हुनेछ। के यसले उसको मानवता तुलनात्मक रूपमा परिपक्व भएको छ र अब त्यति सतही वा केटाकेटी स्वभावको छैन भन्ने देखाउँदैन र? (देखाउँछ।) उसको देखावा गर्न मन पराउने बानी, उसको मानवताको यो अवगुणलाई, यसरी जितिनेछ।
गरिबलाई घृणा गर्नु र धनीको पक्ष लिनु
अर्को प्रकटीकरण गरिबलाई घृणा गर्नु र धनीको पक्ष लिनु हो। कतिपय मानिसहरूले जब कुनै धनी व्यक्तिलाई देख्छन्, तब तुरुन्तै यस्ता कुराहरू भन्दै उसको चापलुसी गर्न थाल्छन्, “तपाईँको अनुहारको छाला कति राम्रो छ। तपाईँ कति राम्रो देखिनुहुन्छ। तपाईँ यति कुलीन हुनुहुन्छ, तपाईँको थुक पनि हामी गरिब मानिसहरूभन्दा मूल्यवान् छ!” धनी मानिसहरू र पद र हैसियत भएकाहरूसँग बोल्दा, तिनीहरू विशेष गरी नरम हुन्छन्। तर जब तिनीहरूले कुनै किसानलाई देख्छन्, तब तिनीहरू सधैँ उसको खिल्ली उडाउन चाहन्छन्, र तिनीहरूका शब्दहरूले उसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तुच्छ देखाउँछन्। गरिब र धनीप्रतिको तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छ। तिनीहरू धनीहरूको आवश्यकता पूरा गर्न इच्छुक हुन्छन्, यहाँसम्म कि स्वेच्छाले तिनीहरूको दास बन्न पनि तयार हुन्छन्। तर गरिबहरूको हकमा, कुरा फरक हुन्छ—जब गरिबहरूले कठिनाइहरूको सामना गर्छन् र मद्दत माग्छन्, तब तिनीहरूले वास्ता गर्दैनन्। निम्न पद र निम्न सामाजिक हैसियत भएका मानिसहरूप्रतिको तिनीहरूको व्यवहार उच्च सामाजिक हैसियत भएकाहरूप्रतिको भन्दा पूर्ण रूपमा फरक हुन्छ। गरिबलाई घृणा गर्नु र धनीको पक्ष लिनु भनेको यही हो। यो कस्तो किसिमको समस्या हो? (मानवताको अवगुण।) के यो मानवताको अवगुण हो? यो मानवताभित्रको कस्तो किसिमको समस्या हो? (नीच चरित्र हुनु।) यो मानवताभित्रको चरित्रको समस्या हो—नीच चरित्र हुनु। जब तिनीहरूले धनी मानिसहरूलाई देख्छन्, तब तिनीहरूले अत्यधिक दासतापूर्ण व्यवहार गर्दै, आज्ञाकारी सेवकहरू बन्छन्। जब तिनीहरूले गरिब मानिसहरूलाई देख्छन्, तब तिनीहरू आफू मालिक भएजस्तो व्यवहार गर्न चाहन्छन्। तिनीहरू कस्ता किसिमका जन्तुहरू हुन्? मानिसहरूलाई यसरी व्यवहार गर्दा यसले तिनीहरूमा कुनै सिद्धान्त छैन भन्ने देखाउँछ! गरिब मानिसहरूसँग पैसा मात्रै अलिक कम हुन्छ र तिनीहरूको जिउने अवस्था अलिकति कमजोर हुन्छ—तिनीहरूले तँलाई कसरी चिढ्याएका छन् र? के गरिब मानिसहरूको मानवता अवश्यै खराब नै हुन्छ भन्ने छ र? के धनी मानिसहरूको मानवता अवश्यै असल नै हुन्छ भन्ने छ र? के गरिबलाई घृणा गर्ने र धनीको पक्ष लिने मानिसहरूले अरूलाई सत्यता सिद्धान्तहरूका आधारमा नाप्छन् र हेर्छन्? स्पष्ट रूपमै त्यसो गर्दैनन्। तिनीहरूले जोसँग पैसा छ ऊ कुलीन र महान् हुन्छ, र जो गरिब छ ऊ तुच्छ र निम्न हुन्छ भन्ने विश्वास गर्छन्। मानिसहरूलाई नाप्ने तिनीहरूको मानक पैसा हो। के यस्ता मानिसहरू असल मानिसहरू हुन्? तिनीहरूको मानवता कस्तो हुन्छ? (तिनीहरूको मानवता खराब हुन्छ।) जब तिनीहरूले कुनै धनी व्यक्तिलाई देख्छन्, तब तिनीहरू चापलुसी गर्दै मुस्कुराउँछन्; जब तिनीहरूले कुनै गरिब व्यक्तिलाई देख्छन्, तब तिनीहरूको अनुहार तुरुन्तै अँध्यारो हुन्छ—तिनीहरूको अनुहार कति छिटो परिवर्तन हुन्छ! तिनीहरू धनी व्यक्तिको लागि दिशा-पिसाब गर्ने भाँडो बोक्न समेत इच्छुक हुन्छन्, तर गरिब व्यक्तिका लागि एक गिलास पानी खन्याउन समेत अनिच्छुक हुन्छन्। तिनीहरू कस्ता किसिमका जन्तुहरू हुन्? के तिनीहरू नीच चरित्रका होइनन् र? (हुन्।) के यस्ता मानिसहरू अगुवा हुनु राम्रो हो? (होइन।) किन होइन? कुन-कुन हिसाबमा तिनीहरू अगुवाहरूको भूमिकाका लागि अयोग्य हुन्छन्? (तिनीहरूले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा कुनै सिद्धान्त हुँदैन, र तिनीहरूले मानिसहरूलाई छान्ने र प्रयोग गर्ने कुरा सत्यता सिद्धान्तहरूमा आधारित हुँदैन बरु कसैसँग सामाजिक हैसियत र पैसा छ कि छैन भन्ने कुरामा आधारित हुन्छ। यदि तिनीहरू अगुवा बने भने, तिनीहरूले हैसियत र पैसा भएकाहरूलाई प्रवर्धन गर्नेछन्। यदि प्रवर्धन गरिने यी मानिसहरू दुष्ट मानिसहरू हुन् भने, तब दुष्ट मानिसहरूले मण्डलीमा शक्ति हातमा लिनेछन्, र त्यो एउटा विपत्ति हुनेछ।) यस्ता मानिसहरू अगुवा हुन योग्य हुँदैनन्। एक हिसाबमा, तिनीहरू नीच चरित्रका हुन्छन्, र तिनीहरूले गर्ने काममा विवेकको कुनै मानक हुँदैन। अर्को हिसाबमा, यदि तिनीहरूलाई अगुवा बनाइयो भने, तिनीहरूले मण्डलीलाई समाजजस्तै बनाउनेछन्—तिनीहरूले अगुवाइ गर्ने मण्डली एउटा सामाजिक समूह बन्नेछ। तिनीहरूले धनी र प्रभावशाली, पद, हैसियत, र सम्पर्क भएका, र समाजमा फस्टाउनेहरूलाई प्रवर्धन गर्दै तिनीहरूलाई टोली अगुवा र सुपरिवेक्षकहरू बनाउनेछन्, जबकि असल मानवता, क्षमता भएका, र सत्यता पछ्याउने तर निम्न सामाजिक हैसियत भएका किसानहरू, गरिब मानिसहरू, र कम शिक्षित र मीठो-मीठो बोल्न नजान्नेहरूलाई खुट्टाले कुल्चिनेछन्। के यसले मण्डलीलाई समाजजस्तै बनाउँदैन र? के फरक हुनेछ र? समाजमा, धनी र हैसियत भएकाहरूकै हातमा शक्ति हुँदैन र? के पद, सम्पर्क, शक्ति, र प्रभाव भएकाहरूले नै समाजका सबै स्तर, क्षेत्र, र समूहहरूमा हैसियत राख्दैनन् र चर्चामा रहँदैनन् र? यदि परमेश्वरको घर समाजजस्तै हुन्थ्यो भने, के यो अझै पनि परमेश्वरको घर हुनेथ्यो र? यो उप्रान्त परमेश्वरको घर हुनेथिएन र यसलाई मण्डली भन्न सकिनेथिएन—यो एउटा सामाजिक समूह हुनेथ्यो। गरिबलाई घृणा गर्ने र धनीको पक्ष लिने मानिसहरू अगुवा बन्नुको परिणाम ठ्याक्कै यही हो। यस्ता मानिसहरू हैसियत भएको जोकोहीको पनि कारिन्दा बन्छन्। मलाई भन, के कारिन्दाजस्तै कार्य गर्ने मानिसहरूसँग कुनै सिद्धान्त हुन्छ? के तिनीहरूको आत्मआचरणमा कुनै सीमा हुन्छ? (हुँदैन।) यस्ता मानिसहरूको आत्मआचरणमा कुनै सिद्धान्त वा सीमा हुँदैन। खतरनाक वातावरणको सामना गर्दा, तिनीहरू यहूदा बन्न सक्छन्। यदि तिनीहरूको देश पतन हुने भयो भने, तिनीहरू देशद्रोही बन्नेछन्। यदि तिनीहरू सरकारी अगुवा बने भने, तिनीहरू राष्ट्रिय गद्दार बन्नेछन्। तिनीहरू ठ्याक्कै यस्तै किसिमका जन्तुहरू हुन्! त्यसकारण, तिनीहरू अगुवा हुन योग्य हुँदैनन्। किनभने तिनीहरूले वास्तविक काम गर्नेछैनन् र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याउनेछन्, र साँचो रूपमा सत्यता पछ्याउने र मानवता भएका सबैलाई खुट्टाले कुल्चिनेछन् जबकि दुष्ट मानवता भएका, समाजमा हैसियत राख्ने र प्रख्यात र प्रभावशालीहरूलाई प्रवर्धन गर्नेछन्; यो त मानिसहरूलाई प्रवर्धन गर्ने परमेश्वरको घरका सिद्धान्तहरूको ठीक विपरीत कुरा हो। यदि यस्ता मानिसहरूले परमेश्वरको घरमा शासन गरे र शक्ति हातमा लिए भने, के मण्डलीको काम सहज र निर्बाध रूपमा अघि बढ्न सक्छ? (सक्दैन।) यिनीहरूको हातमा मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरू बर्बाद हुनेछन्। यी मानिसहरूले एक-अर्कासँग मिलेमतो गर्नेछन्, एक-अर्कालाई प्रयोग गर्नेछन्, र एक-अर्कालाई समर्थन गर्नेछन्। सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई सीमान्तकृत र बहिष्कृत गरिनेछ—तिनीहरूलाई ख समूहमा समेत खटाइन वा निकालिन सक्छ, र तिनीहरूका लागि बाहिर निस्कने कुनै बाटो छोडिनेछैन। के यस्तो हुन सक्दैन र? (सक्छ।) यी मानिसहरूबीचको सम्बन्ध कस्तो हुन्छ? जब तिनीहरू एकसाथ हुन्छन्, तब तिनीहरू एक-अर्कालाई साथी भन्छन्, एक-अर्कालाई अङ्गालो हाल्छन्, र समाजमा आफ्नो गौरवशाली इतिहासबारे धाक लगाउँछन्, र तिनीहरूले एक-अर्काका लागि के गर्न सकिन्छ भनी कुरा गर्छन् र त्यसपछि अर्कोले आफ्नो लागि के गर्न सक्छ भनी सोध्छन्, र आपसी रूपमा एक-अर्कालाई प्रयोग गर्छन्। यी मानिसहरू समाजका मानिसहरूभन्दा कसरी फरक हुन्छन् र? जब तिनीहरू एकसाथ हुन्छन्, तब तिनीहरूले परमेश्वरको वचन खाने र पिउने गर्दैनन्, सत्यताबारे सङ्गति गर्दैनन्, आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइबारे सङ्गति गर्दैनन्, आफूलाई चिन्नेबारे कुरा गर्दैनन्, र आफ्ना भ्रष्ट स्वभावलाई चिरफार गर्दैनन्। बरु, तिनीहरूले समाजमा तिनीहरूका लागि कामहरू कति सफलतापूर्वक भएका छन्, तिनीहरूले गरेका कुन-कुन कुराहरूले तिनीहरूलाई चर्चामा ल्यायो, तिनीहरूको गौरवशाली इतिहास के हो, तिनीहरूले कुन-कुन अधिकारीहरूसँग खानपान गरे, तिनीहरूले कुन-कुन अधिकारीहरूको चापलुसी गरे भन्नेबारे मात्रै कुरा गर्छन्—तिनीहरूले यिनै कुराहरू मात्र गर्छन्। के यी मानिसहरू परमेश्वरका विश्वासीहरू हुन्? तिनीहरू हैसियत, पृष्ठभूमि, सक्षमता, र माध्यमहरूलाई लिएर एक-अर्कासँग प्रतिस्पर्धा गर्छन्, जबकि एक-अर्कासँग मिलेमतो र एक-अर्कालाई प्रयोग पनि गर्छन्—तिनीहरूको सम्बन्ध यस्तै हुन्छ। यदि तँ एक साधारण व्यक्ति वा किसान होस् जसले तिनीहरूका लागि केही गर्न सक्दैन भने, तिनीहरूले तँलाई बेकम्मा, पूर्ण रूपमा तिनीहरूको ध्यानको लायक नभएको व्यक्तिका रूपमा हेर्छन्, र तँलाई पाखा लगाउँछन्। तिनीहरू एकसाथ हुँदा के कुरा गर्छन्? तिनीहरूले कुन लुगाको ब्रान्डले नयाँ वस्तु निकालेको छ, कुन नयाँ गाडी बजारमा आएको छ, कसले धेरै क्यारेटको हीरा किन्यो, कसको सम्पत्ति लिलाम भयो, कसको सेयर घट्यो वा बढ्यो, कसको कम्पनी सार्वजनिक भयो, कसले सरकारी अधिकारीहरूको चापलुसी गर्यो, कसले कुन गिरोहसँग मिलेमतो गर्यो, कसले कुनै काम गराउन कति उपहार दियो र कति पैसा खर्च गर्यो भन्नेबारे छलफल गर्छन्—यी सबै यिनै कुराहरू हुन्। मलाई भन, के यो घिनलाग्दो छैन र? यदि तिनीहरू सधैँ मण्डलीमा यी कुराहरूबारे कुरा गरिरहन्छन् भने, के मण्डली जीवन र मण्डलीको कामलाई तिनीहरूद्वारा बाधा पुग्ने र बर्बाद हुने हुँदैन र? मलाई भन, के यस्ता मानिसहरूलाई अगुवाका रूपमा छान्न सकिन्छ? (सकिँदैन।) तिनीहरू अवसरवादीहरू हुन्। तिमीहरूले मण्डलीमा यस्ता मानिसहरूलाई पत्ता लगायौ भने, तिनीहरूलाई खुलासा गर्नुपर्छ र तिनीहरूलाई पखालेर खेदाउनुपर्छ—परमेश्वरको घरले यस्ता मानिसहरूलाई राख्दैन। परमेश्वरको घरमा अवसरवादीहरू केवल अल्याङटल्याङ गर्न र छलेर आशिष्हरू लिनका लागि मात्रै हुन्छन्। तिनीहरूले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् र कुनै पनि सकारात्मक कुराहरूलाई स्वीकार गर्दैनन्। यसबाहेक, यी मानिसहरूले कुनै इमानदारीविना आफ्नो कर्तव्य पूरा गर्छन्; तिनीहरू पटक्कै आफूलाई समर्पित गर्न चाहँदैनन् र केवल लाभहरू प्राप्त गर्न चाहन्छन्। यदि कुनै लाभ छैन भने, तिनीहरूले केही पनि गर्दैनन्। दाजुभाइ-दिदीबहिनीहरू आफ्नो कर्तव्य पूरा गर्न र लगनशीलताका साथ काम गर्नमा ध्यान केन्द्रित गरिरहेको बेला, तिनीहरूले आफ्नो कर्तव्यलाई पन्छाउँछन् र व्यक्तिगत मामलाहरूमा आफूलाई व्यस्त राख्छन्, यहाँसम्म कि खान, पिउन, र रमाइलो गर्नमा समेत लिप्त हुन्छन्। तिनीहरू प्रायजसो अनलाइन पनि जान्छन् र आफूलाई सबैभन्दा मन पर्ने वा चाहिने कुराहरू, जस्तै फेसन, सौन्दर्य र केशविन्यास, र उच्च-स्तरीय स्वास्थ्य उत्पादनहरू खोज्दै धेरै समय बिताउँछन्। तिनीहरूले जहाँ गए पनि, अहङ्कार गर्दै हिँड्छन् र अरूलाई छल्छन्; तिनीहरू आफ्नो किसिमका मानिसहरूलाई खोज्छन्, र जब तिनीहरूले आफूजस्तै कसैलाई भेट्टाउँछन्, तब तिनीहरू तुरुन्तै उनीहरूसँग घुलमिल हुन्छन्। तिनीहरू साँचो दाजुभाइ-दिदीबहिनीहरूसँग मिल्न सक्दैनन्, र मण्डलीमा तिनीहरू अमिल्दा र गैर-मानव हुन्छन्। जब तिमीहरूले यस्ता मानिसहरूलाई देख्छौ, तब तिमीहरू तिनीहरूबाट टाढा बस्नैपर्छ। यसबाहेक, यदि धेरैजसो मानिसहरू वा तिमीहरूका अगुवाहरूसँग कुनै खुट्ट्याउने क्षमता छैन र उनीहरूले अझै पनि तिनीहरूलाई साँचो रूपमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनीहरू मान्छन् भने, तिमीहरूले अगाडि बढेर तिनीहरूलाई खुलासा गर्नैपर्छ र तिनीहरूलाई पखालेर फाल्नैपर्छ। अब बुझ्यौ? यस्ता मानिसहरूलाई किन पखालेर फाल्नैपर्छ? (किनभने यस्ता मानिसहरूले मण्डलीमा सजिलै बाधा उत्पन्न गर्छन्, नकारात्मक वातावरण ल्याउँछन्, र अरूलाई आफ्नो कर्तव्य पूरा गर्न र सत्यता पछ्याउनमा प्रभाव पार्न सक्छन्।) ठ्याक्कै त्यही हो, तिनीहरूले मण्डलीको वातावरणलाई बिगार्छन्। तिनीहरू आफै पनि सत्यता पछ्याउँदैनन् र अरूलाई पनि प्रभाव पार्छन्, र तिनीहरूलाई पछि तान्छन्। एक डलर बराबरको काम गर्नका लागि, तिनीहरूले दश डलर ज्याला माग्छन्। यस्ता मानिसहरूलाई प्रयोग गर्नु त कुकुर पाल्नु जति पनि सार्थक हुँदैन। कम्तीमा एउटा कुकुरले घरको रखवाली गर्न र आफ्नो मालिकप्रति बफादार हुन सक्छ! यसले पर्दा पछाडि गोप्य चालहरू चाल्दैन, र यसले पछि तँलाई समस्या निम्त्याउँछ कि भनेर तैँले चिन्ता लिनु पर्दैन। यदि मण्डलीले गरिबलाई घृणा गर्ने र धनीको पक्ष लिने मानिसहरूलाई अनुमति दियो भने परिणामहरू के हुनेछन्? के तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई मद्दत गर्न सक्छन्? के तिनीहरू अरूका लागि लाभदायक हुन सक्छन्? (सक्दैनन्।) तिनीहरूलाई प्रकाश गरिएपछि र अरूले छर्लङ्ग देखेपछि, पखालेर फालिनुपर्छ। यदि तिनीहरूलाई रहन दिइयो भने, तिनीहरूले केवल अवरोध गर्ने र बाधा दिने मात्रै गर्नेछन्, समस्या मात्रै सिर्जना गर्नेछन्, र मण्डलीमा विनाश मात्रै ल्याउनेछन्। यदि तैँले तिनीहरूले ठूलो विपत्ति निम्त्याउञ्जेल पर्खिस्, र त्यसपछि बस फोहोर सफा गरिस् भने, त्यो धेरै समस्याजनक हुनेछ। हामी समस्या चाहँदैनौँ; हामी बरु आफूलाई चिन्ताबाट बचाउन चाहन्छौँ। मानिसहरूले गर्नुपर्ने धेरै काम र कर्तव्यहरू हुन्छन्—यी समस्याहरूलाई ननिम्त्याऊ।